Monday 31 May 2021

ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् ।

प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् ।

संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेपनि बोहराले दिएका छैनन् ।

शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् । पुनः प्रदेशसभा दलको निर्णयको उल्लंघन गरेमा थप कारवाही हुने चेतावनी दिइएको छ ।

बोहराले गत बुधबार बसेको प्रदेशसभा संसदीय दलले स्थायी कमिटीको निर्देशन विपरीत निर्णय गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका थिए ।

एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि प्रदेश संसदीय दलले तत्काल कायमै राख्ने निर्णय गरेको थियो । सो निर्णय गरेको दुई दिनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका ३ मन्त्रीलाई राजीनामा दिन लगाएर एमालेकै ७ जना नयाँ मन्त्री नियुक्त गरेका थिए । जसमा ४ जना मन्त्री र ३ राज्यमन्त्री छन् ।

एमालेको प्रदेश कमिटीले सरकारमा सहभागी ७ मन्त्री, २ जना पूर्वमन्त्री र सचेतकलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न स्थायी कमिटीलाई सिफारिस गरेको छ ।



source https://www.onlinekhabar.com/2021/06/963100

बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५:30 बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ ।

यस्तै टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 



source https://www.onlinekhabar.com/2021/06/963097

सर्वोच्चको आदेश कुर्दै विपक्षी गठबन्धन, बनेन आन्दोलनको खाका

१८ जेठ, काठमाडौं । ६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । कानुनी लडाइँ सर्वोच्च अदालतमा पुगिसके पनि राजनीतिक रुपमा गर्ने भनिएको संघर्षको खाका बनाउन दलहरुले सकेका छैनन् ।

दोस्रो लहरको कोरोना महामारीको प्रतिकूल परिस्थितिको कारण अघिल्लो पटकको जस्तो सडकमा उत्रिन नसकेका विपक्षी दलहरु सर्वोच्च अदालतकै भरोसामा छन् । त्यसैले अहिलेको ध्यान सडकभन्दा सर्वोच्चतिर छ । सर्वोच्चले लिने फैसलाले नेपालको राजनीतिक कोर्सलाई डोहोर्‍याउने छ ।

‘गठबन्धन बन्नु नै उपलब्धि’

विपक्षी गठबन्धनका नेताहरुले संसद विघटनविरुद्ध मोर्चा बन्नु नै तत्कालको राजनीतिक लडाइँको उपलब्धि मानेका छन् । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर)ले भने, ‘राजनीतिक लडाइँ भनेको गणतन्त्र, लोकतन्त्र र संविधान विरोधीहरुसँग सबै क्षेत्रमा सबै प्रकारले प्रतिवाद गर्ने हो । अहिले मोर्चा बन्नु पनि त्यसविरुद्धको लडाँ हो ।’

केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिन राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आग्रह गरेकी थिइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका १४९ सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

तर विपक्षीले दाबी गर्नुअघि नै प्रधानमन्त्री ओलीले पनि आफूलाई १५३ सांसदहरुको समर्थन रहेको भन्दै दाबी प्रस्तुत गरेका थिए । तर समर्थनमा कीर्ते हस्ताक्षर भएको भन्दै दुबै पक्षको दाबीमा प्रश्न उठाउँदै राष्ट्रपति भण्डारीले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचन घोषणा गरिदिइन् ।

विपक्षी गठबन्धनले आफूहरुको दाबी पुगेको तर त्यसलाई बेवास्ता गरिएको भन्दै कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन् । उनीहरुले १४६ सांसदहरुको हस्ताक्षरसहित संसद व्युँताउन र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (४)लाई छलेर एकैपटक उपधारा ५ मा फड्को मार्नु असंवैधानिक हुनजाने जिकीरसमेत गरिएको छ ।

विपक्षीहरु र अन्य कानुन व्यसायीको रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनवाइ जारी छ ।

सडकमा उत्रिएलान् ?

अघिल्लो पटक गत पुस ५ मा पनि सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा दलहरुले सडक र सर्वोच्चबाटै लडाइँ लडेका थिए । सर्वोच्चले सो संसद विघटन असंवैधानिक ठहर गरेपछि संसद व्युँतिएको थियो ।

दलहरुले संसद विघटनको विरोधमा राजधानी केन्द्रीय काठमाडौंसहित देशभर ठूला सभा र र्‍यालीसहित प्रदर्शन गरेका थिए । त्यतिबेला कोरोना संक्रमण केही मत्थर भएको बेला थियो । तर कोरोनाको दोस्रो लहरको बेला विकसित पछिल्लो राजनीतिक घटनाक्रमविरुद्ध सडक संघर्षमा उत्रिन दलहरुलाई अनुकूल छैन ।

विपक्षी गठबन्धनमा आबद्ध नेकपा एमालेका एक नेता युवराज ज्ञवाली पनि सडक आन्दोलनका लागि अहिले समय अनुकूल नभएको बताउँछन् । ‘कोरोना महामारीको अवस्थामा ठूलो भिड सडकमा नआओस् भनेर हामी सचेत छौं । यो महामारी नियन्त्रणमा हामी पनि उत्तरदायी हुनुपर्छ भनेर सडकमा आएका छैनौं,’ उनले भने ।

यद्यपि सडक संघर्षबाटै प्रतिवाद गर्न आफूहरु सक्षम रहेको उनको भनाइ छ । माधव नेपाल पक्षीय नेता ज्ञवालीले भने, ‘नत्र हामीले एक सिटी फुक्नासाथ लाखौं मान्छे सडकमा उत्रिसक्थे । त्यो खालको संरचना, पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु हामीसँग छन् । तर अहिले संयमित हुने बेला छ ।’

सरकारको गलत कामको प्रतिवाद गर्न सबै शक्तिलाई एकै ठाउँमा ल्याउन प्रयास जारी राख्ने उनले बताए । सरकारको गलत प्रवृत्तिविरुद्धको लडाइँमा सकारात्मक परिणाम निस्कनेमा ज्ञवाली विश्वस्त देखिन्छन् ।

‘राष्ट्रव्यापी रुपमा लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आउँदैछौं । त्यसको एउटा ज्वलन्त उदाहरण भनेको पाँच दलीय गठबन्धन हो । यसले धेरै महत्वपूर्ण संकेत गरेको छ,’ ज्ञवाली भन्छन्, ‘देशमा आइपर्ने कुनै पनि खतराको चुनौतिको सामना गर्न हामी फेरि एकपटक एकताबद्ध भएका छौं । जसरी ६२÷६३ मा एकताबद्ध भएर परिणाम निकाल्यौं, त्यसैगरी अहिले पनि ढिलोचाँडो परिणाम निकाल्छौं ।’

गठबन्धन कहिलेसम्म ?

अघिल्लो पटकको संसद विघटनविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा जान आनाकानी गरेको कुरा छिपेको छैन । सभापति शेरबहादुर देउवाले सडक आन्दोलन गरेर न्यायालयलाई दबाव दिन नहुने सार्वजनिक अभिव्यक्ति पटक पटक दिएका थिए । तर रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष तथा अधिकांश युवा नेताहरुको दबावमा कांग्रेसले देशभर विरोध प्रदर्शनको औपचारिकता पूरा गरेको थियो ।

यदि अहिले सर्वोच्च अदालतले संसद पुनःस्थापना नगरी चुनावमै जाने बाटो खोलिदियो भने कांग्रेसको अहिलेको भूमिका परिवर्तन हुन सक्ने अनुमान छ । एमाले ओली र नेपाल पक्षमा विभाजित भएको अवस्थामा चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुने बुझाइ एकथरि नेताहरुको छ ।

तर, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल अहिले कांग्रेसले सत्तामा जाने बाटो नहेरेको बताउँछिन् । वर्तमान सरकारले अहिले व्यवस्था नै खतरामा पारेकाले त्यसलाई बचाउनु नै अहिलेको मुख्य कार्यभार बनेर आएको उनको भनाइ छ ।

‘हालसम्म प्राप्त उपलब्धिलाई बचाउने, संविधानको पालना गर्ने कुरालाई साझा मुद्दा बनाएर हामीहरु अघि बढेका छौं । अर्को कुरा सरकारका अलोकतान्त्रिक काम, कमिसनखोर, भ्रष्टाचार, मानव अधिकार, जनजीविकाका सवाललाई राजनीतिक रुपमा उठाएका छौं,’ उनले भनिन् ।

नेकपा एमालेका नेता ज्ञवालीले पनि दलगत स्वार्थ हेरेर अघि बढ्नुभन्दा गणतन्त्र, संघीयता लगायतका हालसम्मका उपलब्धिको रक्षालाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।

पाँच दलीय गठबन्धन कहिलेसम्म कायम रहन्छ भन्ने एकीन छैन । कतिपयले आगामी चुनावसम्मै यही गठबन्धन कायम रहने आँकलन गरे पनि माओवादी नेता जनार्दन शर्मा भने त्यसबारे अहिले नै भन्न नसकिने बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘विपक्षीहरुको गठबन्धन तत्कालीन परिस्थितिको अवस्था हो । राजनीतिक परिस्थितिले यो अवस्थालाई कहिलेसम्म लम्बाउँछ थाहा छैन। निर्वाचनसम्मै जान पनि सक्छ, नजान पनि सक्छ । तर अहिले नै निर्वाचनसम्मै यसैगरी जाने सहमति, समझदारी भएको जस्तो मलाई लाग्दैन ।’

तर कांग्रेस नेतृ भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउँदै मुलुकलाई समृद्ध बनाउने कुरालाई दलहरुको साझा मुद्दा बन्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘हालको व्यवस्था रहेमात्र हामी दलहरु रहन्छौं । त्यसैले सिस्टमलाई बचाउने र दिगो विकास गर्ने विषयलाई बढी भन्दा बढी दलहरुको साझा मुद्दा बनाएर गयो भने मुलुक र जनताका लागि राम्रो हुन्छ ।’



source https://www.onlinekhabar.com/2021/06/963095

एमालेमा फेरि ओली र नेपाल समूहको वार्ता प्रयास

१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।

लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन् ।

सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ ।

‘व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने ।

उनका अनुसार पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी नेताहरु सहमत देखिएका छन् । ‘जेठ २ को वरिपरि कुरा भएको छ, तर कुनै ठोस कुराकानी भएको छैन,’ भेटमा सहभागी अर्का नेताले बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच ३० वैशाखमा भेटवार्ता भएपछि विभाजन उन्मुख रहेको एमालेका एकता प्रयास सुरु भएको थियो ।

२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनाएको थियो । तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलिएको थियो ।



source https://www.onlinekhabar.com/2021/06/963091

संवैधानिक इजलासमा पुरानैलाई निरन्तरता !

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन गरिएको छैन ।

यद्यपि श्रेष्ठ र केसीले मंगलबारको इजलासमा आफूहरु रहने कि नरहने भनेर प्रष्टाउने बताइसकेका छन् ।

नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका छन् ।

यही विषयमा प्रश्न उठेपछि शुक्रबार र आइतबारको सुनुवाइ प्रभावित भएको थियो ।

सर्वोच्च बारका प्रतिनिधिहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेरै इजलास पुनर्गठनको विषयमा सुझाव दिँदैछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि १४ जेठमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा  दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहितको संवैधानिक इजलास गठन गरिएको थियो ।



source https://www.onlinekhabar.com/2021/06/963080

इजलास पुनर्गठनको माग गर्दै सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भेट्दै

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सर्वोच्च बारका प्रतिनिधिहरुले भेटवार्ता गर्दैछन् । संवैधानिक इजलास पुनर्गठनको सुझाव दिन सर्वोच्च बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने समय तय भएको जानकारी दिए ।

यसअघि नेपाल बार एशोसिएसन र सर्वोच्च बारका प्रतिनिधिहरुले संयुक्त रुपमा प्रधानन्यायाधीशलाई भेट्ने तयारी गरेका थिए ।

तर नेपाल बार एशोसिएसनका पदाधिकारीमध्ये दुई जना कोरोनाबाट संक्रमित भएकाले भेट्न नसक्ने भएकाले सर्वोच्च बारका प्रतिनिधिले मात्र भेट्न लागेको शाक्यले बताए ।

संसद विघटनविरुद्धका मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । तर न्यायाधीशहरुको वरिष्ठताको क्रम मिचेर इजलास गठन गरिएपछि त्यसको पुनर्गठनको माग उठेको छ ।

इजलासमा एमाले र माओवादीको एकता रद्द गर्न आदेश दिएका बमकुमार श्रेष्ठ र सो आदेश पुनरावलोकन नहुने फैसला गरेका तेजबहादुर केसीलाई पनि राखिएपछि कानुन व्यवसायीहरुले विरोध गरेका छन् ।

रिटमा बहस गर्ने क्रममा कानुन व्यवसायीहरुले श्रेष्ठ र केसीलाई इजलासबाट हटाउन माग गरे पनि प्रधानन्यायाधीश जबराले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।



source https://www.onlinekhabar.com/2021/06/963077

बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम गलत : नेफेज

१८ जेठ, काठमाडौं । नेपाल वातावरण पत्रकार समूहले सरकारले बजेटमा उल्लेख गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानिजजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम उचित नभएको बताएको छ ।

नेफेजले मंगलबार विज्ञप्ति जारी गर्दै वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेको उल्लेख गरेको छ ।

वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा ल्याइएको संरक्षणबिरोधी यस कार्यक्रमको नेफेज विरोध गर्दछ ।‘निर्माण सामग्री निकासी गरेर बजेट घाटा न्यूनीकरण गर्ने गलत तथ्य अघि सारेर सरकारले गलत कार्यक्रम ल्याएको छ ।

बजेटमा चुरे वा सिवालिक पर्वत भन्ने शब्द उल्लेख नगरिएको भए तापनि यस्ता पदार्थको निकासीको सबैभन्दा ठूलो प्रभाव चुरे क्षेत्रमा नै पर्ने विगतका अध्ययनबाट पुष्टि भइसकेको छ,’ नेफेजले भनेको छ,‘ अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले निकासी गर्ने निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा समेत छुट दिन गरेको व्यवस्था पनि स्पष्ट छैन।’



source https://www.onlinekhabar.com/2021/06/963075

कुवेतमा नेपाली टोलीको प्रशिक्षण (फोटो फिचर)

१८ जेठ, काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो ।

त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । नेपालले काज्मा स्पोर्ट्स क्लबमा प्रशिक्षण गरेको हो ।

सन् २०२२ मा हुने कतार विश्वकप र २०२३ मा हुने चीन एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतमा समूह बीको बाँकी ३ खेल खेल्नेछ ।

नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

फोटो  : एन्फा



source https://www.onlinekhabar.com/2021/06/963051

कोरोनाले अर्थशास्त्री गोविन्द थापाको निधन

१८ जेठ, काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो ।

थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला उनलाई सरकारले एशियाली विकास बैंकमा काम गर्ने अवसर दिएको थियो ।

नेकपा एमालेको अर्थ योजना, अनुसन्धान विभागको पाण्डे अध्यक्ष र थापा सचिव रहेका थिए । पूर्व अर्थमन्त्री पाण्डेले पार्टी र देशले एउटा राम्रो व्यक्ति गुमाएको बताए । ‘म भर्खरै झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएर पशुपतिबाट फर्कँदैछु, उहाँ एउटा देशभक्त र पार्टीको बफादार कार्यकर्तासमेत हुनुहुन्थ्यो,’ उनले भने ।

पोखरामा जन्मिएका थापाका श्रीमती, एक छोरा र एक छोरी छिन् ।



source https://www.onlinekhabar.com/2021/06/963069

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१८ जेठ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने बताए । ‘आज बस्ने बैठकमा कोरोनाको हालको अवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर आवश्यक निर्णय लिन्छौं,’ पराजुलीले अनलाइनखबरसँग भने ।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।

कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ । तर कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/06/963052

शेखर कोइराला भन्छन : न्यायालयप्रति ओलीको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन ।

मंगलाबार बिहान एक ट्विट गर्दै नेता कोरालाले ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारको मानसिकताको उपहार र गण तन्त्रको अवमूल्यन भएको समेत उल्लेख गरेका छन् ।

सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधान न्यायाधीशरुलाई वर्तमान न्यायलयका काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गरेको टिप्पणी गरेका थिए । साथै, उनले कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ भन्दै आक्रोश व्यक्त गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/06/963042

कोरोना भाइरसविरुद्ध २८५ वटा खोप विकास, १५ वटा प्रयोगमा

१८ जेठ, काठमाडौं । कोभिड १९ को संक्रमण रोक्ने खोपको विकास तथा उत्पादनमा विश्वभरका वैज्ञानिकहरु अभूतपूर्वरुपमा काम गरिरहेका छन् ।

सन् २०१९ को डिसेम्बरमा नोवेल कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएयता अहिलेसम्म एक दर्जनभन्दा धेरै भ्याक्सिन प्रयोगमा आइसकेका छन् । कैयन् भ्याक्सिनहरु चिकित्सा परीक्षणको विभिन्न चरणमा छन् र निकट भविष्यमै आम प्रयोगमा आउने तयारीमा छन् ।

तथ्यांकअनुसार अहिले विश्वमा विभिन्न १०१ वटा कोभिड-१९ खोप क्लिनिकल ट्रायलमा रहेका छन् भने अन्य १८४ वटा खोपहरु चिकित्सा परीक्षण पूर्वको अवस्था अर्थात् प्रिक्लिनिकल डेभलपमेन्टको अवस्थामा छन् । क्लिनिकल ट्रायलको अन्तिम अवस्थाका १५ वटा खोपहरु आम प्रयोगमा आइसकेका छन् ।

वास्तवमा कुनै पनि खोप मानिसको आम प्रयोगमा आउनु अगाडि चिकित्सा परीक्षण अर्थात् क्लिनिकल ट्रायलको विभिन्न चरणबाट गुज्रिनु पर्दछ र त्यस्तो परीक्षणमा प्रभावकारी तथा हानीरहित देखिएपछि मात्र विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका निकायहरुले प्रयोगका लागि स्वीकृति प्रदान गर्दछन् । मानिसमै गरिने त्यस्तो क्लिनिकल ट्रायलमा विभिन्न ४ चरण हुन्छन् ।

पहिलो चरणमा मुख्यतया भ्याक्सिन कत्तिको सुरक्षित छ ? यसको मात्रा कति दिनुपर्छ ? तथा यसका साइड इफेक्टहरु के के हुनसक्छन् भनेर मानिसहरुको सानो समूहमा परीक्षण गरिन्छ ।

दोश्रो चरणको ट्रायलमा भ्याक्सिनको सुरक्षाका विषयमा थप अन्वेषण गरिन्छ र मानिसको ठूलो समूहमा यसको प्रभावकारिताको परीक्षण गरिन्छ ।

तेश्रो चरणको परीक्षण अर्थात् फेज थ्री ट्रायल्स अलिक वृहत हुन्छ । वास्तवमा भ्याक्सिनका धेरै उम्मेदवारहरु पहिलो तथा दोश्रो चरणबाटै असफल हुन्छन् र निकै कममात्र तेश्रो चरणमा पुग्दछन् । यो चरणमा हजारौँ तथा लाखौँ मानिसमा खोपको परीक्षण गरिन्छ । यस क्रममा भ्याक्सिनको प्रभावकारिता पुष्टि गर्ने तथा मूल्यांकन गर्ने काम हुन्छ । साथै वृहत समूहमा परीक्षण गर्दा भ्याक्सिनले देखाउने कुनै दुर्लभ साइड इफेक्टहरु भएमा पत्ता लगाइन्छ ।

चौथो चरणको परीक्षण अन्तिम परीक्षण हो । कुनै पनि मुलुकको राष्ट्रिय नियामक निकायले स्वीकृति दिएपछि मात्र यो परीक्षण गरिन्छ । यसमा लामो समयसीमाभित्र ठूलो जनसंख्यामा खोप लगाएर भ्याक्सिनको प्रभावकारिताको बारेमा थप अनुगमन गर्ने काम हुन्छ । यसमा खोपको बजारीकरण पछिको अनुगमन तथा निगरानी पनि गरिएको हुन्छ ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनबाट स्वीकृति पाएका, प्रयोगमा आइरहेका तथा क्लिनिकल ट्रायलको विभिन्न चरणमा रहेका कोभिड-१९ भ्याक्सिनको विवरणचाहिँ यस्तो छ :

१. चौथो चरणमा रहेका : विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकको स्वीकृति पाएर प्रयोगमा आइरहेका विभिन्न ५ वटा भ्याक्सिनहरुलाई यो चरणमा राखिएको छ । यसमा अमेरिकी खोप मोडेर्ना, बेलायती खोप अक्सफोर्ड एस्ट्राजेनिका, जर्मन खोप फाइजर बायोएनटेक, चिनिया खोप सिनोभ्याक तथा अर्को चिनिया खोप क्यानसाइनो बायोलोजिक्स रहेका छन् । चौथो चरणको ट्रायलमा विभिन्न ५ वटामात्र खोप रहेको भएपनि विश्वमा अहिले विभिन्न १५ वटा कोभिड १९ खोप प्रयोग भैरहेका छन् ।

२. तेश्रो चरणमा रहेका खोपहरु : यो चरणमा रहेका खोपहरुको संख्या २५ छ । यी खोपहरु व्यापक अन्तराष्ट्रिय परीक्षणका क्रममा रहेका छन् । यसमध्ये कतिपय त आम प्रयोगमा पनि आइसकेका छन् । तेश्रो चरणको परीक्षमा रहेका खोपहरुमा चिनियाँ खोप सिनोफार्म पनि रहेको छ । भेरोसेलको नामबाट यो खोप चीनका साथै नेपाल लगायतका विभिन्न मुलुकहरुमा आम प्रयोगमा आइसकेको छ । यो खोप विश्व स्वास्थ्य संगठनले स्विकृति दिएको पहिलो चिनिया खोप पनि हो । सिनोफार्मको चौथो चरणको परीक्षण पनि सुरु भएको बताइए पनि त्यसको कुनै विवरण चिनियाँ कम्पनीले नदिएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

त्यस्तै विश्वका विभिन्न देशमा प्रयोग भैसकेको रुसी खोप स्पुतनिक फाइभ पनि तेश्रो चरणकेा परीक्षणमै रहेको छ । यसका साथै वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रडक्ट्सले उत्पादन गरेको अर्को चिनिया खोप पनि तेश्रो चरणमा छ ।

भारतीय खोप कोभ्याक्सिन, अमेरिकी खोप जोन्सन एण्ड जोन्सन, अमेरिकी खोप नोभाभ्याक्स, भारतीय जिडुस कादिला कम्पनीको खोप, जर्मनीको क्योरभ्याक, फ्रान्सको सानोफी पास्चर तथा भ्याल्नेभा, रुसको इपिभ्याक कोरानालगायतका विभिन्न २५ वटा खोपहरु तेश्रो चरणको क्लिनिकल ट्रायलमा रहेका छन् ।

तेश्रो चरणको क्लिनिकल ट्रायलमा रहेका खोपहरुको सूची यस्तो छ :

३. दोश्रो चरणमा रहेका खोपहरु : विश्वका विभिन्न देशका कम्पनीहरुबाट उत्पादित ३६ वटा खोपहरु परीक्षणको दोश्रो चरणमा छन् । दोश्रो चरणमा खोप परीक्षण गरिरहेका कम्पनीहरु निम्न छन् :

उल्लेखित मध्ये कतिपय खोपहरु दोश्रो चरणको क्लिनिकल ट्रायल सम्पन्न गरी तेश्रो चरणमा प्रवेश गर्ने क्रममा छन् भने कतिपयले दोश्रो र तेश्रो ट्रायल एकसाथ अगाडि बढाइरहेका छन् ।

४. पहिलो चरणमा रहेका खोपहरुः विभिन्न कम्पनीहरुबाट उत्पादित ३५ वटा भ्याक्सिनहरु पहिलो चरणको चिकित्सा परीक्षणमा रहेका छन् । त्यसमा निम्न छन्-

त्यस्तै पहिलो चरणको अन्तिम तथा दोश्रो चरणको सुरुवातमा खोप परीक्षण गरिरहेका कम्पनीहरुको सूची यस्तो छ :

यस बाहेक विभिन्न १ सय ८४ वटा भ्याक्सिनहरु चिकित्सा परीक्षण पूर्वको चरण अर्थात् पि्र क्लिनिकल फेजमा छन् । अर्थात् ती भ्याक्सिनहरु प्रयोगशाला विकाश भैसका छन् र प्रयोगशाला तथा विभिन्न जनावरहरुमा परीक्षण गरिएका छन् । यी भ्याक्सिनहरु निकट भविष्यमा क्लिनिकल ट्रायलमा जानेछन् ।

श्रोतः ग्लोबल एलाएन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन (गाभी)



source https://www.onlinekhabar.com/2021/06/963016

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

१८ जेष्ठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।



source https://www.onlinekhabar.com/2021/06/963007

ढुंगा, गिट्टी, बालुवा निर्यातको घोषणा : चुरे मासिने र तराई मरुभूमि बन्ने खतरा

१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

सरकारको यो घोषणालाई प्रकृति संरक्षणको क्षेत्रमा काम गरिरहेकाहरुले संशयका दृष्टिले हेरेका छन् । स्थानीय शासन विज्ञ, वातावरणविद् तथा पूर्वसचिवले सरकारको यो अपारदर्शी घोषणा सत्तारुढ दलका लागि स्वार्थप्रेरित र वातावरणीय हिसाबले घातक हुनसक्ने भनेका छन् । बजेटले गरेको घोषणा झट्ट सुन्दा आकर्षक भएपनि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् र बिक्री वितरणको वर्तमान प्रवृत्तिलाई केलाउँदा फाइदाभन्दा बढी हानि गर्न सक्ने उनीहरूको मत छ ।

दशकदेखि रोकिएको निकासी

अहिले नेपालबाट भारतमा ढुंगा गिट्टी बालुवा निकासीमा गर्न पाइँदैन । २०६७ सालसम्म नेपालबाट भारतको विहारसहितका अन्य केही राज्यमा ढुंगा, गिट्टी, बालुवा निकासी हुन्थ्यो । भैरहवा, कृष्णनगर, वीरगञ्ज र विराटनगर लगायतका नाकाबाट ठूलो मात्रामा भारतमा दैनिक ढुंगा, गिट्टी, बालुवा बाहिरिन्थ्यो । २०६० सालपछि सुरु भएको यस्तो निकासी ०६२/६३को दोस्रो जनआन्दोलनपछि आकाशिएको थियो ।

पूर्व वातावरण तथा अर्थसचिव युवराज भुसालका अनुसार निर्यातमा रोक नलाग्दासम्म भारतमा लगातार ढुङ्गा, गिट्टी, बालुवाको माग बढिरहेको थियो ।

‘यतिसम्म कि यहाँका आयोजनाले ढुंगा, गिट्टी, बालुवा नै पाएनन्, त्यतिबेला यहाँ जनताले किन्छु भन्दा पनि पाउँदैन थिए,’ उनी भन्छन्,‘भारतमा बेच्दा यहाँको उच्च नाफा हुने भएपछि दैनिक सयौं ट्रिपर क्रसरजन्य सामग्री भारत जान्थ्यो, देशभित्र त क्रसरले बेच्न नै नमान्ने खालको अवस्था थियो ।’

त्यतिबेला बिहारमा ठूला राजमार्गहरु निर्माण भइरहेका थिए । नेपालबाट निर्यात सुरु हुनुअघि ढुङ्गा, गिट्टी, बालुवामा बिहार, उत्तरप्रदेश वा पश्चिम बंगालमा निर्भर हुनुपर्ने अवस्थामा थियो । नेपालको खोलाबाट झिकिएका गुणस्तरीय ढुङ्गा, गिट्टी, बालुवाको माग बढ्दै गएपछि नेतादेखि कार्यकर्तासम्म यो व्यवसायमा होमिएका थिए । नव धनाढ्यदेखि पुराना व्यवसायीसम्म यो व्यवसायमा हात फिँजाएका थिए ।

तर, भारत निर्यातले आन्तरिक आपूर्ति व्यवस्थामा नै असर परेर आयोजनाहरु प्रभावित भएपछि भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तरगतका आयोजनाहरुले थप क्षेत्रमा उत्खनन अनुमति जारी गर्न दबाव दिएका थिए । त्यस्तो अवस्थामा वन मन्त्रालयले भने भारतमा हुने निकासी रोके समस्या समाधान हुने प्रस्ताव गरेको थियो ।

त्यतिबेला संसदीय समितिहरुमा पनि भारतमा भइरहेको निकासीबारे बहस चर्किएको थियो । सर्बोच्चसहित विभिन्न उच्चअदालतमा त निकासी रोक्न माग गर्दै मुद्दा नै चलेका थिए ।

आन्तरिक बजारमा अभाव चुलिएको बेला क्रसरहरुले खोलानाला मनलाग्दी खोतलेको भन्दै ठाउँ–ठाउँमा स्थानीयले प्रतिकार गर्न थालेका थिए । २०६६ पुस २० गते संसदको प्राकृतिक स्रोत साधन समितिले निकासी बन्द गर्न निर्देशन दिएको थियो ।

सर्बोच्च अदालतमा निकासी बन्द गर्न माग गर्दै परेको रिटमा २०६६ पुस २१ गते अदालतले कानुन विपरित सञ्चालित क्रसर उद्योगबाट हुने निकासी रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

फेरि संसदीय समितिले पुस २७ गते तत्कालीन सांसद चन्द्रदेव जोशीको नेतृत्वमा संसदीय उपसमिति बनाएर ढुंगा गिट्टी, बालुवाको उत्खखनको अवस्थाबारे अध्ययन गराएको थियो । सरकारले समेत तत्कालीन योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

त्यसपछि तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव संयोजकत्वको कार्यदलले पनि यसबारे अध्ययन गरेको थियो । समस्या समाधानका लागि वन मन्त्रालय, तत्कालीन स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयबीच बैठक बसेपछि भारतमा हुने निकासी रोक्ने सहमति जुटेको थियो ।

तत्कालीन स्थानीय विकास मन्त्रालयले भारतमा हुने निकासी रोक्दा वर्षमा ६० करोड बराबरको राजस्व तत्कालीन जिल्ला विकास समितिहरुले गुमाउने प्रतिवेदन पेश गरेको थियो । सो रकम बराबरको क्षतिपूर्ति अर्थ मन्त्रालयले दिने सहमति भएपछि ढुङ्गा, गिट्टी, बालुवाको निर्यात रोक्ने निर्णय भएको तत्कालीन वनसचिव युवराज भुसाल बताउँछन् । २०६९ सालमा क्रसरहरुलाई व्यवस्थित गर्न कार्यविधि नै जारी भएको थियो ।

गैरकानी उत्खननसहित भारतमा हुने निकासी रोक लगाउने निर्णयपछि वन मन्त्रालयले निकुञ्ज र आरक्षहरुबाट पनि ढुङ्गा, गिट्टी, बालुवा निकाल्न थप कडाइ गरेको थियो । वन क्षेत्रमा रहेका क्रसर उद्योग सार्नुपर्ने निर्णय पनि त्यसैबेला भएको थियो । कडाइपछि कतिपय क्रसर उद्योग बन्द भएर पश्चिम नेपालका कतिपय आयोजनाहरुलाई ढुङ्गा, गिट्टी, बालुवाको अभाव कायमै रहने अवस्था आएको थियो ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा नै आयोजनाहरुमा ढुङ्गा, गिट्टी, बालुवाको अभाव भएकोबारे छलफल भएको थियो ।

‘समस्या चर्किएपछि खानी विभागमार्फत अध्ययन गराएर देशका सम्भाव्य ठूला ढुंगा तथा बालुवाखानी व्यवसायिक तवरमा सञ्चालन गर्ने योजना बनाइएको थियो,’ पूर्वा सचिव भुसाल स्मरण गर्छन् ‘त्यसका लागि अध्ययन गर्दा बर्दियाको घैयाबारी, पाल्पाको सिद्धबाबा लगायतका क्षेत्रका डाँडामा वातावरणीय विनास कम गर्ने गरी सय वर्षसम्म पुग्ने ढुङ्गा, गिट्टी, बालुवाको खानी चलाउन सकिन्छ भन्ने निष्कर्ष निकालेका थियौं ।’

त्यतिबेला व्यवसायिक खानी सरकारले नै चलाउने र इच्छुक भएर निजी क्षेत्रलाई पनि निश्चित क्षेत्र तोकेर क्रसर सञ्चालनको अनुमति दिने योजना बनेको थियो ।

तर, त्यो योजना कार्यान्वयनमा नजाँदै राजनीतिक उथलपुथल भइरहे । जसले ठूला खानी चलाउने भन्दा खोलानालाबाट मनलाग्दी तवरले ढुङ्गा, गिट्टी, बालुवा झिक्ने क्रम बढ्दै गयो । अहिले क्रसरहरुले गरेको दोहनले धेरै स्थानीयको जीवनमा सकस थपेको थप्यै छ ।

वातावरणविदको चिन्ता

वातावरणविद भुषण तुलाधर भारतबाट नजिक भएकाले ढुङ्गा, गिट्टी, बालुवाको निकासी खुलेमा सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमै पर्ने र त्यसले तराईमा पानीको संकट चर्काउने बताउँछन् । केही वर्षअघि वातावरणीय जोखिमका कारण निकासी रोकिएको ढुङ्गा, गिट्टी, बालुवाको निकासी केका आधारमा फेरि खोल्न खोजिएको हो भन्ने सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको पक्ष सुध्रनेभन्दा थप बग्रिँदै गएको अवस्थामा सरकारले फेरि कुन आधारमा त्यसलाई खुलाउने भनेको होर जवाफ दिनुपर्ने उनको मत छ । ‘भएका मापदण्डहरु पलना भएका छैनन्, नदीनाला र खानीको सदुपयोगभन्दा बढी दोहन भएको छ, र पनि बेला–बेलामा हाम्रै देशमा ढुङ्गा, गिट्टी, बालुवाको अभाव भइहरन्छ,’ उनी भन्छन्,‘ अब निकासी गर्ने भनेपछि यो क्रम थप बढ्ने हो ।’

उनले सरकारको यो घोषणा हानीकारक भएको टिप्पणी गर्दै पहिला ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा भएका विकृत पक्षहरुमा सुधार गर्नुपर्ने बताए । वातावरणीय अध्ययनहरु प्रभावकारी नभएको र भएको अध्ययन अनुासर पनि उत्खनन नभएको भन्दै तुलाधरले वातावरणीय प्रभाव अध्ययन गर्ने घोषणाले मात्रै प्रतिफल नदिने बताए ।

‘ब्यापार घाटा घटाउन त्यसो गरिएको हो भने कति ब्यापार घाटा घट्छ र त्यसले कति लाभ दिन्छ भनेर भएको अध्ययन कता छ ?’ उनले भने,‘यो त हचुवाको भरमा वा कसैको दबावका भरमा भएको घोषणा जस्तो देखिन्छ ।’

फितलो अनुगमन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका पूर्व सहसचिव पुरुषोत्तम नेपाल खोला किनार, वस्ती, विद्यालय, पुल र धार्मिक क्षेत्रभित्र मापदण्डविपरित चलेका क्रसर उद्योग सार्ने २०६८ सालको निर्णय अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउँछन् ।

‘ढुङ्गा, गिट्टी, बालुवा राजनीति मात्रै हैन, राजनीतिज्ञ र तीनका चन्दादाता नै घुसेका छन्,’उनी भन्छन्,‘यसले गर्दा यो व्यवसायलाई अनुशासनमा ल्याउन सकिएको छैन ।’

पूर्व सहसचिव नेपाल पनि खपत भएर बढी भएको निर्माणजन्य सामग्री निकासी गर्ने योजना सैद्धान्तिक रुपमा सकारात्मक भएको बताउँछन् । तर, अहिले ढुङ्गा, गिट्टी, बालुवाको उत्खखन, ढुवानी र बिक्री वितरणमा देखिएको विकृतिले सरकारको योजनाले अपेक्षित परिणाम दिनेमा उनी पनि विश्वस्त छैनन् ।

‘वातावरणीय अध्ययनपछि २५ घनमिटर खन्न भनेर ठेक्का लागेको ठाउँबाट सय घनमिटर जथाभावी खनेर निकालिन्छ,’ पूर्व सहसचि नेपाल भन्छन्,‘जहाँबाट मन लाग्यो त्यहीबाट डोजर घुसाएर जति मन लाग्छ त्यति निकालिन्छ, यसलाई अनुगमन र नियन्त्रण गर्नसक्ने ल्याकत अहिलेको कुनै पनि तहका सरकारहरुमा देखिँदैन ।’

अहिलेकै अवस्थामा भारतमा निकासीको अनुमति दिएमा विकृत प्रवृत्ति अझै बढेर यसको थप मूल्य वातावरण, पर्यावरण र स्थानीयबासीहरुले चुकाउनुपर्नेतर्फ सचेत हुनुपर्ने उनको मत छ । पनि ठूला खानीहरुबाट नै ढुङ्गा, गिट्टी, बालुवा निकालेर बेच्न र नदीनालाका प्राकृति स्रोतलाई वैज्ञानिक तवरबाट मात्रै उपयोग गर्नुपर्ने नेपाल बताउँछन् ।

‘अहिलेको दोहनको दृश्यले नै ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको पाटोमा धेरै प्रश्न खडा गरेका छन्,’ उनी भन्छन्,‘यसको दीर्घकालीन समाधान नखोजी अरु नति लिँदा समस्या बढ्ने निश्चित छ ।’

यस्ता प्राकृतिक स्रोतसाधनको संरक्षणकर्ता स्थानीय तह भएको र यसको उपयोग र नीतिगत पक्ष बढी प्रदेशसँग जोडिने भन्दै उनले यस्ता नीति ल्याउनुअघि उनीहरुसँग पनि छलफल गर्नु उचित हुने उनको भनाइ छ ।

भारतको दबावमा निर्णय !

एक पूर्वसचिव सरकार तीनै तहमा क्रसर चलाउनेहरु पुगेकाले यस विषयमा सँधै राजनीतिक नेतृत्व हावी हुने गरेको बताउँछन् ।

‘ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको घोषणा भारतीय सरकार र भारतीय व्यपारी तथा नेपालका राजनीतिज्ञ र नेपालका क्रसर डनहरुको योजनामा घुसेको हो,’ ती सचिव दार्वी गर्दै भन्छन्,‘यसअघिदेखि निकासी गर्ने व्यवस्था गराउन भारतको मात्रै दबाव थिएन, नेपालका क्रसर उद्योगीको पनि उत्तिकै जोडबल थियो, योपटक सबै पक्षको आन्द्रा जोडियो ।’

वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने भनेर सरकारले वातावरणप्रति संवेदनशील रहन खोजेको देखाएपनि व्यवहारमा के हुन्छ भन्ने हेर्नुपर्ने उनको तर्क छ ।

‘अहिले पनि वातावरणीय अध्ययन हुन्छ, त्यस्तो अध्ययन कागजी प्रक्रिया मात्रै हो,’ ती पूर्वसचिव भन्छन्,‘तर, प्रतिवेदनका आधारमा कतै पनि खनिँदैन, नियम मिचेबापत कुनै क्रसर र ठेकदार कारवाहीमा पनि पर्दैनन्, कारवाही गर्ने आँट देखाएमा त्यस्ता कर्मचरीको एक रातमा सरुवा भइहाल्छ ।’

सरकारको पछिल्लो घोषणा कार्यान्वयन भएमा चुरे विनासको श्रृङ्खला बढाउने र तराईलाई मरुभूमीकरण गर्न पृष्ठपोषण गर्ने जोखिम रहेको ती पूर्वसचिवको भनाइ छ । चुरेको कमजोर धरातल र नदीनालाका संवेदनशील भूभागमा अहिले पनि क्रसरहरुको ‘ताण्डव’ मच्चाइरहेको टिप्पणी गर्दै उनले सरकार त्यसलाई थप मलजल गर्न लाग्नु दुःखको विषय भएको बताए ।

पूर्व मुख्यसचिव बिमल कोइराला कामचलाउ सरकारले गरेको यो निर्णय राजनीतिक भएको बताउँछन् ।

‘व्यवस्थित ढंगबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न सकिए राम्रै हो,’ उनी भन्छन्,‘तर, अहिलेको जस्तै जथाभावी रुपले नदीनाला खोतल्ने र ठेकदार पोस्न लागि यस्तो नीति लिएको भए त्यसले वातावरणीय प्रतिकुलता मात्रै सिर्जना गर्छ, देश र जनताले लाभ हैन, उल्टै दुःख पाउँछन् ।’

उनले सुरुमा ढुंगा गिट्टीलाई ‘सेतो सुन’ समेत भनिएको स्मरण गर्दै नतिजा उल्टो आएपछि आम्दानीको आसमा चेलिबेटीलाई भारत पठाउनु र ढुंगा गिट्टी बालुवा निकासी गरेर कमाउँछु भन्नु एउटै भएको निष्कर्ष निकालेर निकासी रोकिएको दावी गरे ।

‘चुरे संरक्षण विकास समितिका अध्यक्ष समेत बनेका पूर्वाअर्थसचिव रामेश्वर खनालज्युले एउटा सार्वजनिक आलेख (सेतोपाटीमा प्रकाशित)मै यो कुरा उल्लेख गर्नुभएको छ,’ उनी भन्छन्,‘उनी रोप–वे बनाएर भारत पठाउने योजनाले त झन सत्ता निकटका सीमित पुँजीपतिलाई यसमा संलग्न गर्न खोजिएकोजस्तो देखिन्छ ।’

सरकार भन्छ: वातावरणको माया छ

अर्थसचिव शिशिरकुमार ढुंगाना वातवरणीय अनुकुलता कायम गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा भारत वा तेस्रो मुलकमा बेच्न पाइने घोषणा गरिको बताउँछन् ।

‘निकासी गर्न वातावरणीय दृष्टिकोणबाट अनुमति प्राप्त हुन्छ भने त्यस्ता वस्तुहरुलाई पनि हामीले निकासीयोग्य बस्तुका रुपमा राख्नु पर्छ भनेर राखिएको हो,’ उनले भने,‘ यसको अर्थ चुरेको सबै प्राकृतिक स्रोत झिक्न खोजेको भन्ने होइन, यसबारे एउटा निर्देशिका बन्छ, कुन क्षेत्र, कुन ठाउँ, कुन ठाउँबाट निकाल्दा उपयुक्त हुन्छ भन्ने विषय वन तथा वातावरण मन्त्रालयले निक्र्यौल गर्छ ।’

विज्ञहरुको सिफारिसको आधारमा यसो गर्न खोजिएको भन्दै तत्कालै निकासी नखुल्ने बताए । उनले नदीजन्य नभनी खानीजन्य ढुंगा, गिट्टी बालुवा निकासी गर्ने भनिएको भन्दै अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको बताए ।

पर्यावरण संरक्षणमा सरकार पनि सचेत रहेको भन्दै उनले तुलनात्मक लाभ हुन सक्ने क्षेत्रमा हचुवामा नभई अध्ययनका आधारमा काम अघि बढाउन खोजिएको प्रष्टीकरण दिए ।



source https://www.onlinekhabar.com/2021/06/963012

सरकारलाई सुझाव : कोरोना खोपमा राउटे र चेपाङलाई प्राथमिकता दिनुपर्छ

१८ जेठ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमा विभिन्न देशबाट आउँदै गरेको खोप जोखिमयुक्त एवं स्वास्थ्य सुविधामा पछि परेको समुदायलाई प्राथमिकतामा राखेर लगाउनु पर्ने सुझाव दिएका छन् ।

डा. राजभण्डारीले समयमा नै स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन मुस्किल भएका दुर्गम क्षेत्र एवं स्वास्थ्य मापदण्डबारे जानकारी नपुगेका समुदायलाई खोप लगाउँदा प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । जाजरकोट लगायतका जिल्लामा गाउँभरि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिँदा पनि अस्पतालभन्दा धामीलाई देखाउन जाने गरेका समाचारहरू प्रकाशित हुने गरेका छन् ।

उनले पश्चिम नेपालको जंगली भेगमा बसोबास गर्ने राउटे, धादिङ, चितवन जस्ता जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने चेपाङ जस्ता समुदायमा भौतिक दूरी कायम गर्ने लगायत स्वास्थ्य मापदण्ड कम पालना हुने भन्दै त्यो समुदायमा कोरोना फैलियो भने यसले समस्या जटिल बन्ने भएकोले खोप लगाउँदा उनीहरुलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

‘सामाजिक दूरी कायम नहुने भएकोले उनीहरुमध्ये एउटामा कोरोना सर्‍यो भने सिँगै समुदायमा फैलिन सक्छ र त्यसले जटिल समस्या निम्त्याउन सक्छ’ डा. राजभण्डारीले भने ‘अब खोप दिँदा स्वास्थ्य मापदण्डप्रति त्यति चासो पनि नहुने र बिरामी भइहालेमा तत्काल अस्पताल ल्याउन पनि मुस्किल रहेका यी क्षेत्र र समुदायलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ ।’

उनले अहिले आउने खोप सबैलाई दिन पर्याप्त नभएकोले ६० देखि ६४ वर्षबीचका ज्येष्ठ नागरिक र जोखिम क्षेत्र एवं समुदायलाई समेत प्राथमिकता दिनु आवश्यक देखिएको बताउँछन् । उनले सवारी चालक र निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुलाई पनि खोपमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस गाउँभरिका बिरामीमा कोरोनाको लक्षण, धामी र जडीबुटीकै भर

source https://www.onlinekhabar.com/2021/06/963004

कर्णालीमा ९५ प्रतिशत कोरोना सङ्क्रमित निको भए

१८ जेठ, कर्णाली (सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

‘पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ’, निर्देशक डा खड्काले भने, ‘कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।’ मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक रहेको उनले बताए ।

उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका ६ जना भेन्टिलेटरमा, ५३ जना आईसीयूमा, ३७० जना आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन् ।

कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मृत्यु हुने क्रम रोकिएको छैन । सोमबारसम्म २४७ जना व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/06/962997

खोपबारे बाबुराम भट्टराई भन्छन्- राष्ट्रपतिलाई भिख माग्न लगाउने ?

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् ।

भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन,’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’



source https://www.onlinekhabar.com/2021/06/962985

नेपालमा पनि पुष्टि भएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो

१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले  नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो । भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।

यो पनि पढ्नुहोस ‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन यो पनि पढ्नुहोस नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

 

 



source https://www.onlinekhabar.com/2021/06/962977

डार्बिनमा ‘मिनी नेपाल’

डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति । अझै विभिन्न जातजाति र भेषभुषा झल्कने नेपाली संगीतसँगै नृत्य प्रस्तुत हुँदा विदेशीहरु पनि मोहित देखिन्थे। कोही नेपाली फुड स्टलहरुमा नेपाली परिकारको साथमा रमाउँदै थिए। शनिबार अष्ट्रेलियाको डार्बिनमा सम्पन्न नेपाल महोत्सवको यो दृश्य देख्दा डार्बिन सहर ‘मिनी नेपाल’ जस्तै देखिन्थ्यो।

एनआरएनए नर्दन टेरीटोरीको आयोजना तथा स्थानीय सरकारको समेत सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु लगायत एनआरएन केन्द्रीय तथा स्थानीय संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो।

कार्यक्रममा अष्ट्रेलियामा नै जन्मेका र यतै हुर्केका नेपाली बालबालिकाहरुको विशेष प्रस्तुतिसमेत राखेका थियो । उक्त अवसरमा नेपाल चिनाउने तथा पर्यटकीय गन्तव्यहरुको परिचय गराउने भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

संसारभर कोरोना महामारीको त्रास फैलिरहेको बेला प्रवासको नेपाली समुदायमा आयोजना भएको यो सम्भवत: सवैभन्दा ठूलो कार्यक्रम हो। सामाजिक दूरी कायम गर्दै कार्यक्रममा १० जनासम्म बस्न मिल्नेगरी स्टल तयार पारिएको थियो।

नेपाली मेला सम्पन्न गर्नका लागि डार्बिन ब्वाइजमा ५० जना स्वयंसेवकहरु परिचालन गरिएको थियो। कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा एनआरएनए नर्दन टेरिटोरीको संयोजक हेम पुनले नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/06/962966

बजेटमा रजगजः प्रधानमन्त्रीसहित पाँच नेताको क्षेत्रमा ओइरो

१८ जेठ, काठमाडौं । बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि उनीहरु बजेट ‘म्यानुपुलेसन’ गर्न चाहन्छन् ।

यो पटक राजनीतिक परिस्थिति फरक थियो । प्रतिनिधिसभा विघटन गरेर कात्तिक ७ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भइसकेको थियो । पूर्वअर्थमन्त्री लगायतले कामचलाउ मात्र बजेट ल्याउन आग्रह गरेका थिए भने पूर्व निर्वाचन आयुक्तहरुले पनि निर्वाचनलाई प्रभावित गर्ने कार्यक्रमहरु बजेटमा नराख्न आग्रह गरेका थिए ।

तर सरकारले चुनावलाई हेरेर लोक रिझाउने बजेट मात्र ल्याएन, प्रधानमन्त्री र उनी निकट नेताहरुको गृह जिल्लाले बजेटमा राम्रै स्थान पाएको छ । ‘बजेट म्यानुपुलेट गर्ने प्रवृत्ति नांगो रुपमा आयो । पहुँच भएकाहरुले आफ्नै पोल्टा बढी भरेको देखियो’ पूर्व मुख्यसचिव विमल कोइराला भन्छन् ।

‘आफ्नो हात जगन्नाथ’

अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फर्त ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा रुपन्देहीका लागि दर्जनौं कार्यक्रम समावेश छ । रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्दि्रत छ ।

जस्तो, बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आहृवान गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिका लागि आईभिएफ सेवा विस्तार गर्ने, नारायणगढ-बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल-कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने आदि ।

बुटवल-काठमाडौं दूरी छोट्याउन दुम्कीबास-बर्दघाट सुरुङमार्गको अध्ययन गर्ने, बुटवल-लमही-कोहलपुर-अत्तरिया प्रसारणलाइन खण्ड निर्माणको पूर्व तयारी गर्ने, रुपन्देहीको कर्साघाटमा कृषि उपजको थोक बजार बनाउने, रुपन्देहीकै मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने काम दुई वर्षमा सक्ने, बुटवल-भैरहवा लुम्बिनीसहितका ठूला सहरमा निजी क्षेत्रले ठूला विद्युतीय बस सञ्चालन गरे थप प्रोत्साहन अनुदान दिने पनि बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाले पनि अघिल्ला वर्षहरुमा झैं यो वर्ष पनि राम्रै बजेट पाएको छ । दमकमा अन्तर्राष्ट्रियस्तरको रंगशालादेखि सिटी पार्कसम्मका योजना बजेटमा समावेश छन्

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई स्मार्ट सिटी बनाउने, सिद्धार्थनगर लगायत शहरीकरण भइरहेका नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वयन गर्ने, रूपन्देहीको बेलहिया नाकामा २ हजार मालवाहक सवारीसाधन अट्ने पार्किङ यार्ड बनाउने, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, बुटवलको जितगढी संरक्षण गर्न विस्तृत अध्ययन गर्ने, तिनाउ-दानव नदी नियन्त्रण आयोजना निर्माण गर्न पनि बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ ।

बुटवल-भैरहवासहित नगरपालिकाहरूलाई मेगा सिटीमा विकास गर्ने गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिने, भैरहवामा क्रिकेट मैदान र बुटवलका लागि झुम्साखोला खानेपानी आयोजनालाई निरन्तरता दिइने लगायतका विषय पनि बजेटमा परेको छ ।

समग्रमा, अर्थमन्त्री पौडेलले आफ्नो गृहजिल्लातिर बजेटको डाडु बढी कोल्ट्याएर ‘आफ्नो हात जगन्नाथ’ भन्ने उखान चरितार्थ गरेको देखिन्छ ।

झापामा बजेटको ओइरो

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाले पनि अघिल्ला वर्षहरुमा झैं यो वर्ष पनि राम्रै बजेट पाएको छ । दमकमा अन्तर्राष्ट्रियस्तरको रंगशालादेखि सिटी पार्कसम्मका योजना बजेटमा समावेश छन् ।

दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण थाल्ने बजेटमा उल्लेख छ । सुरुमा कमल गाउँपालिकामा बन्न लागेको आदिवासी जनजाति रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्न खोजिएको थियो । त्यसको विरोध भएपछि प्रधानमत्री ओलीले अर्को स्थानमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेका थिए । अर्थमन्त्री पौडेलले त्यसका लागि बजेट छुट्याएको बताएका छन् ।

दमकमा निर्माण थालिएको औद्योगिक क्षेत्रको पूर्वाधार दुई वर्षभित्र बनाइसक्ने, दमकमै बहुतले बसपार्कसहित सिटीपार्क र बालबालिकाका लागि ‘चिल्ड्रेन प्याराडाइज’ बनाउने, बिर्तामोड-भद्रपुरमा प्रदेश र स्थानीय तहको साझेदारीमा विद्युतीय बस सञ्चालन गर्दा थप प्रोत्साहन अनुदान दिने घोषणा पनि बजेटले गरेको छ ।

वायो इञ्जिनियरिङ प्रविधिबाट भद्रपुर बजारलाई नदी कटानबाट जोगाउने, चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, चन्द्रडाँगीमा कृषि फार्मलाई दुई वर्षभित्र ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गर्ने पनि बजेटमा उल्लेख छ । बिर्तामोड, चन्द्रगढी लगायत नगरपालिका र गौरीगञ्ज गाउँपालिकालाई मेगा सिटी बनाइने, दमकमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने, भद्रपुर नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जन पार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सहरी पूर्वाधार आयोजना सञ्चालन गरिने भएको छ ।

भारतको सिलिगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनका लागि पनि बजेट विनियोजन गरिको छ । मदनभण्डारी राजमार्गको झापा खण्ड समेटिएको शान्तिनगर-धरान खण्ड निर्माण सुरु गनर्ेे, हुलाकी राजमार्गको झापा खण्डमा बनिरहेका कन्काइ, रतुवा, बिरिङ लगायत खोलाका पुल पनि आगामी वर्ष सक्ने, पूर्वपश्चिम राजमार्गको काकडभिट्टा-इनरुवा खण्डको डिजाइन सकेर आगामी वर्षभित्र ४ लेनको बनाउने गरी निर्माण थाल्ने घोषणा पनि आगामी आ.ब. को बजेटमा छ ।

काँकडभिट्टा-इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सकेर बाँकी काम थाल्ने घोषणा पनि बजेटमा छ । सिँचाइ सुविधा विस्तार गर्न स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान गर्ने योजनामा झापा पनि समेटिएको छ ।

दाङसहितका जिल्लामा उस्तै

अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशका विभिन्न जिल्लालाई पनि बजेटमा प्राथमिकता दिएको देखिन्छ । विशेषगरी दाङ, बाँके र पाल्पा बढी प्राथमिकतामा परेका छन् ।

दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो । त्यहाँ विमानस्थल सञ्चालनमा ल्याउने, लक्ष्मीपुरमा औद्योगिक क्षेत्र र लमहीमा क्रिकेेट मैदान बनाउने योजना बजेटमा छ । बृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि बजेट दिइएको छ भने तुल्सीपुरलाई स्मार्ट सिटी बनाउन बजेट छुट्याएको छ ।

दाङको नारायणपुरमा विमानस्थल निर्माण प्रारम्भ गर्न, भालुबाङदेखि सिक्टासम्म जल यातायातको सम्भाव्यता अध्ययन गर्न, प्रगन्ना र बड्कापथ सिंचाइ आयोजना निर्माण गर्न र बृहत दाङ उपत्यकाका लागि पनि बजेट छुट्टयाइएको छ ।

दाङका स्थानीय सरकारलाई विभिन्न अनुदान शीर्षकअन्तर्गत चार अर्ब ५६ करोड सात लाख रुपैयाँ छुट्याइँदा सबैभन्दा बढी घोराही उपमहानगरपालिकाले पाएको छ ।
अर्थमन्त्री पौडेलको पुरानो निर्वाचन क्षेत्र समेत भएको पाल्पाको बर्तुङ लिफ्ट खानेपानी आयोजना र सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । यसैगरी सिद्धार्थ राजमार्गलाई डेडिकेटेड राजमार्गका रूपमा विस्तार गर्ने घोषणा पनि बजेटले गरेको छ । पाल्पा-तम्घास सडकको जोर्तेमा सुरुङमार्गको सम्भाव्यता अध्ययनका बजेट दिइएको भने पाल्पामा मौसम मापन गर्न राडर स्थापना हुने भएको छ ।

गुल्मीको सिमीचौरमा नियमित उडान गर्ने र अर्घाखाँचीमा पनि विमानस्थल बनाउने बजेटमा उल्लेख छ । अर्घाखाँचीमा कृषि भण्डारण र एकीकृत वस्ती बनाउने योजना पनि छ । गुल्मीको रुरु क्षेत्रको धार्मिक पर्यटकीय पूर्वाधारको विकास गर्ने घोषणा भएको छ ।

यसबाहेक राष्ट्रिय गौरबका आयोजनाहरु सिक्टा सिँचाइ, बबई सिँचाइ, भेरी बबई डाइभर्सन, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष लगायतका आयोजनाले नियमित बजेट पाएका छन् ।

प्रधानमन्त्री निकट एमाले नेताद्वय गोकुल बास्कोटाको जिल्ला काभ्रे र महेश बस्नेतको जिल्ला भक्तपुरले पनि बजेटमा राम्रै स्थान पाएको देखिन्छ

लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने र अन्तर्राष्ट्रिय स्तरका योजनाविदद्वारा लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी वृहत लुम्बिनी विकास गुरुयोजना तयार गर्ने घोषणा पनि बजेटले गरेको छ । यसका लागि १ अर्ब ५० करोड विनियोजन भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाउने योजना पनि घोषणा भएको छ ।

कालीगण्डकी डाइभर्सन, भेरी-बबई डाइभर्सनका साथै बाँकेको नेपालगञ्जमा क्रिकेट मैदान निर्माणका लागि पनि बजेट राखिएको छ । कोहलपुर-नेपालगञ्ज विद्युतीय बस सञ्चालनका लागि अनुदान दिइने भएको छ ।

भक्तपुर र काभ्रेलाई प्राथमिकता

प्रधानमन्त्री निकट एमाले नेताद्वय गोकुल बास्कोटाको जिल्ला काभ्रे र महेश बस्नेतको जिल्ला भक्तपुरले पनि बजेटमा राम्रै स्थान पाएको देखिन्छ ।

बजेटले भुक्तपुरको चाँगुनारायाण नगरपालिकाको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न सुविधासम्पन्न अस्पताल निर्माण गर्ने घोषणा दोहोर्‍याएको छ ।
‘तीन वर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्यसम्पन्न गरिनेछ । भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चाालनमा ल्याइनेछ,’ बजेटमा भनिएको छ ।

यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । काठमाडौंको जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार-चार लेनको करिडोर सडक बनाउने घोषणा पनि बजेटबाट भएको छ ।

यसैगरी, बजेटले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालसहित बिपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताललाई त्यस मातहत सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

एकीकृत जग्गा विकास कार्यक्रमका लागि पनि भक्तपुर रोजिएको छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी तथा काठमाडौंको शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका चार ठाउँमा विदेशी लगानी समेत आकषिर्त गरी सार्वजनिक निजी साझेदारीमा नयाँ शहर निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।

घरेलु हिंसा पीडित महिलालाई संरक्षण गर्न भक्तपुरकै सूर्यविनायकमा मङ्गला-साहना पुनःस्थापना केन्द्र निर्माण गर्ने घोषणा भएको छ । बालसुधार गृह सञ्चालन गर्ने सूचीमा मोरङ, कास्की, तनहुँ, बाँके र भक्तपुर जिल्ला छन् ।

काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली सुधार गरेर भक्तपुरमा वितरण प्रभावकारी बनाउने योजना पनि बजेटमा छ । त्यसका लागि पाइपलाइन विस्तार गर्न रु.४ अर्ब ७९ करोड विनियोजन भएको छ ।

भक्तपुरको ताथलीबाट छाप हुँदै काभ्रेको रविओपी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन र जिल्ला अदालत भवन निर्माणको लागि पनि बजेट छुट्याइएको छ । त्यस्तै, गुन्डुलाई स्मार्ट सिटी बनाउन पनि बजेट विनियोजन भएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको डीपीआर बनाउन १ अर्ब ५५ करोड विनियोजन भएको छ । तिमालमा लिफ्ट खानेपानी र काभ्रे उपत्यका स्मार्ट सिटी आयोजनाले पनि बजेट पाएको छ ।

बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गर्ने घोषणा बजेटले गरेको छ । त्यस्तै, काभ्रेमा व्यवसायिक कागती खेती विस्तार गर्न पनि बजेट दिइएको छ । अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नती तथा विस्तार गर्न १ अर्ब १३ करोड बजेट व्यवस्था गरिएको छ । त्यस्तै पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मानचौर लगायत क्षेत्रमा शहरी पूर्वाधार विकास गरिने भएको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ भने चुनाव गर्ने घोषणा भएपछि सबै दलहरुले मैदानमा समान खालको -लेभल प्लेइङ फिल्ड) हुनुपर्ने बताउँछन् । उनले शक्तिमा रहने र नरहनेका लागि उस्तै वातावरण तयार गर्नुपर्ने भन्दै बजेटले मतदाता प्रभावित गरिए त्यो गलत हुने बताए । ‘पहुँचमा रहेका र नरहेकाले समान खालको चुनावी मैदान पाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले नै वातावरण तयार गर्ने हो ।’



source https://www.onlinekhabar.com/2021/06/962972

राष्ट्रिय सभाको उपचुनाव : मतपेटिकाभित्र पीसीआर रिपोर्ट खसालियो

१८ जेठ, काठमाडौं । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो ।

निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि बुझ्दै जाँदा एक जना मतदाताले मतपत्रको ठाउँमा आफ्नो पीसीआर परीक्षण रिपोर्ट खसालेर गएको भेटिएपछि त्यो विवाद त्यहीँ सल्टिएर मतपरिणाम घोषणा गरिएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको कागज मतपेटिकामा भेटिएको छ । सो कागज स्थानीय तहका प्रतिनिधिले भोट खसाल्ने बाकसमा भेटिएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले कुल २९७ जनाले मतदान गरेकोमा एउटा मतपत्रबाहेकको ‘अन्य’ कागज भेटिएको जानकारी दिए । ‘हामीले कुल सदर मतलाई मात्रै मान्यता दिने भएकाले मतपरिणाम २९६ जनाको मात्रै आयो, एउटा मतपत्र कहाँ गयो भनेर खोजी गर्दै जाँदा एउटा अन्य पत्र भेटिएको हो,’ कुँवरले अनलाइनखबरसँग भने ।

सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । निर्वाचनमा पाण्डेयले चार हजार एक सय ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका थिए ।



source https://www.onlinekhabar.com/2021/06/962961

धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवतरुपमा उद्घाटन गरे ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको थियो ।

‘फिल्ड हस्पीटल’ नाम दिइएको उक्त अस्पतालमा नेपाली सेना, सेवानिवृत्त सैनिक र उनीहरुका परिवारका सदस्यलाई उपचार दिइने सुदूरपश्चिम पृतनाले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितको समेत उपचार भइरहेको छ ।

यस्तै प्रधान सेनापति थापाले सुदूरपश्चिम सैनिक शिविरको समेत उद्घाटन गरेका छन् । उक्त शिविरमा खेलकुद कम्प्लेक्स, क्लब, ठूलो दर्जाका सैनिक परिवारसहित बस्न मिल्ने अपार्टमेन्ट लगायतका संरचना निर्माण हुनेछन् । सुदूरपश्चिम पृतनाले केही संरचना निर्माण भइसकेको र केही निर्माणकै चरणमा रहेको जनाएको छ ।

 



source https://www.onlinekhabar.com/2021/06/962962

नेपाल एयरलाइन्समार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/06/962956

Sunday 30 May 2021

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

१७ जेठ, बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बिहान साढे नौ बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गरेका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको र मतदान सकिएलगत्तै गणना शुरु हुने कुँवरले बताए । प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने उनले बताए ।

लामबद्ध मतदाता । तस्वीर : प्रदेश निर्वाचन कार्यालय

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।

यो पनि पढ्नुहोस लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन : सरकारी गठबन्धनलाई सकस !

source https://www.onlinekhabar.com/2021/05/962517

ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले भारत सरकार विरुद्ध मुद्दा हालेको छ । भारतले लागू गरेको नयाँ नियमले सोसल मिडियामाथि आम निगरानीको अवस्था सिर्जना हुने र प्रयोगकर्ताका निजी डाटाहरु सरकारलाई दिनका सोसल मिडिया प्लाटफर्महरुलाई लागि बाध्य पार्ने भन्दै ह्वाट्सएपले त्यस्तो नियममा रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो ।

बुधबार देखि लागू हुने भनिएको सोसल मिडियासम्बन्धी नयाँ नियम लागू हुन नदिने प्रयासमा ह्वाट्सएपले अदालतको ढोका ढक्ढकाएको बताइएको छ । नयाँ नियमानुसार भारतमा क्रियाशील कम्पनीहरुले स्थानीय कानून पालना गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने तथा कानून कार्यान्वयन गराउने निकायसँग सम्पर्कमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । साथै सोसल मिडिया प्लाटफर्महरुले आंशिक तथा पूर्णरुपमा नग्नता समावेश भएका सामाग्रीहरु हटाउनुपर्ने विषय पनि नयाँ नियममा रहेको छ ।

ह्वाट्सएपले चाहिँ अर्को एक नियममा पनि कडा आपत्ति जनाएको छ । जस अनुसार सरकारी निकायले मागेको खण्डमा सोसल मिडिया कम्पनीहरुले सोसल मिडिया प्लाटफर्ममा प्रेषित मेसेजहरु सर्वप्रथम प्रवाहित गर्ने प्रयोगकर्ता पत्ता लगाएर जानकारी गराउनुपर्नेछ ।

यसले हरेक च्याटको ट्रयाकिंग गर्नुपर्ने हुनाले त्यसबाट प्रयोगकर्ताको गोपनियता हनन हुने ह्वाट्सएपको भनाइ छ ।

ह्वाट्सएप प्रवक्ताका अनुसार मेसेजिंग एपलाई च्याट ट्रेसिंग गर्न लगाउनु भनेको ह्वाट्सएपमा पठाइएका हरेक मेसेजको औँठाछाप राख्न लगाउनु जस्तै भएको र यसले एण्ड टू एण्ड इनक्रिप्सनलाई भंग गर्ने र मानिसहरुको गोपनीयताको अधिकार आधारभूत रुपमा उल्लंघन हुनेछ । साथै उनले प्रयोगकर्ताको गोपनियताको उल्लंघनको विरोधका लागि आफुहरु विश्वभरको नागरिक समाज तथा विज्ञहरुसँग निरन्तर सँगसँगै रहेको बताएका छन् ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले चाहिँ ह्वाट्सएपले दायर गरेको मुद्दा नयाँ नियमलाई कार्यान्वयन हुनबाट रोक्नका लागि अन्तिम समयमा भएको दुर्भाग्यपूर्ण प्रयास भएको बताएको छ ।

साथै मन्त्रालयले मुलुकको सार्वभौमिकता, सुरक्षा तथा अखण्डता, सार्वजनिक व्यवस्था, बलात्कार, बाल यौन दुव्र्यवहार तथा अश्लील सामग्रीहरु लगायतका अति गम्भीर अपराधहरुको अनुसन्धान तथा रोकथामका लागि आवश्यक पर्दामात्रै प्रयोगकर्ताका निजी डाटाहरु उपलब्ध गराउनका लागि सोसल मिडिया प्लाटफर्महरुलाई अनुरोध गरिने प्रष्ट पारेको छ ।

मेसेजिंग एप ह्वाट्सएपका लागि भारत सबैभन्दा ठूलो बजार हो । भारतमा ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन् ।

ह्वाट्सएपले सन २०१६ देखि इण्ड टू इण्ड एनक्रिप्सन लागू गरेको छ जसका कारण ह्वाट्सएपमा गरिने कल तथा पठाइने मेसेज, फोटो, भिडियो तथा भ्वाइस लगायतका सामाग्रीहरु प्रापकले बाहेक कसैले पनि (स्वयं ह्वाट्सएपले पनि) हेर्न पाउँदैन । यदि भारत सरकारको नयाँ नियम पालना गर्नेहो भने ह्वाट्सएपले आफ्नो इण्ड टू इण्ड इनक्रिप्सन हटाउनु पर्दछ र हरेक मेसेजको विशाल डाटाबेस राख्नु पर्दछ ।

सिएनएनबाट



source https://www.onlinekhabar.com/2021/05/962513

कस्तो होला झलनाथ–माधव विनाको एमाले ?    

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना नगर्दा एमाले विभाजन उन्मुख भएको अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूले आरोप लगाउने गरेका छन् । ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नेदेखि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेसम्मका घटनाले पार्टी विभाजनको अवस्थामा पुगेको हो’, ओली निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा भन्छन् ।

पार्टी निर्णय विपरीतका गतिविधि र निर्णयमा संलग्न भएको आरोपमा ओलीले पूर्वप्रधानमन्त्रीहरू खनाल र नेपालसहित एघार जनालाई एमालेको साधारण सदस्यबाट समेत निष्कासन गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव (७ जेठ)मा खनाल–नेपाल समूहका २६ जनाले हस्ताक्षर गरेका थिए । त्यसमध्ये ११ जनालाई ओलीले १० जेठमा स्थायी कमिटीको बैठक बोलाएर कारबाही गरेका हुन् ।

तर जवाफमा खनाल–नेपाल समूहका १५ जना स्थायी कमिटी सदस्यहरूले ओली विरुद्ध ‘एकताबद्ध संघर्ष’को खाँचो रहेको निष्कर्ष सार्वजनिक गरेका छन् । अर्थात् पार्टी सदस्यबाट निष्कासनको निर्णयले थोरै पनि नझस्किएको सन्देश यो समूहले दिन खोजेको देखिन्छ । ‘…आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौं’— १२ जेठमा सामूहिक वक्तव्य मार्फत आह्वान गरिएको छ ।

खनाल–नेपाल समूह २८ फागुनयता ओलीले गरेका कुनै पनि निर्णय मान्न तयार छैनन् । त्यही अडानमा कर्णाली प्रदेशमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा अलग उम्मेद्वार, ओलीलाई विश्वासको मत नदिनेदेखि वैकल्पिक सरकार बनाउन हस्ताक्षर संकलन समेत गरेका छन् ।

यो समूहको अडान छ– २३ फागुनको सर्वोच्च अदालतको फैसला अनुसार २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरिनुपर्छ । तर ओली भने खनाल–नेपाल समूहको अस्तित्व स्वीकार्न तयार छैनन् । उनको प्रष्ट मानक छ– प्रतिनिधिसभा विघटन गर्ने ५ पुसको निर्णयमा साथ नदिने समूहसँग समूहगत रूपमा मिल्न सकिन्न ।

११ फागुनमा सर्वोच्च अदालतले बदर गरिदिएको संसद् विघटनको निर्णयमा साथ नदिएका खनाल–नेपाल समूहका नेताहरूलाई ओलीले २८ फागुनमै भूमिकाविहीन बनाएर एक्लौटी यात्रा थालेका थिए । उनले संसद् विघटनको निर्णयमा साथ दिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत माओवादी पृष्ठभूमिका नेतालाई जिम्मेवारी दिएका छन् । माओवादी पृष्ठभूमिका नेताहरूको मन जित्न ओलीले एमालेको विधान संशोधनदेखि नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्वसम्म विघटन गरेका छन् ।

७ जेठमा आफ्नै निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा पनि ओलीले माओवादी सहितको एमालेको नेतृत्व गरिरहेको बताए । ‘हाम्रो एकता कायमै थियो । अदालतले नाम अरूसँग मिल्यो भनेर अर्को राख्न भनेको थियो । साथीहरूलाई मन परेन । तर हामीले नाम एमाले राखे पनि एकता प्रक्रियाबाट आएको पार्टी हो’, ओलीको भनाइ थियो ।

अर्थात् एमालेभित्र देखिएको समस्या साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कायम सिर्जित विवादकै निरन्तरता हो । अदालतले नेकपाको एकता प्रक्रिया भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरे पनि ओलीले भने त्यसबेला आफूमाथि गरिएको अपमान सम्झिने गरेका छन् । ११ माघमा पुष्पकमल दाहाल प्रचण्ड सहितको नेकपाबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएकाले एकताबद्ध एमाले संभव हुन नसकिरहेको ओली निकट नेताहरूले बताउने गरेका छन् ।

पूर्व प्रधानमन्त्रीहरू खनाल र नेपालविहीन एमाले बनाउने ओलीको अभियानलाई अहिले धेरैले आम चासोका साथ हेरिरहेका छन् । हुन पनि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भइरहेको र झापा विद्रोहका नेताहरू पनि निष्क्रिय बनिसकेको अवस्थामा कम्युनिष्ट एकताको झण्डा उठाउने अगुवाइ खनाल र नेपाल लगायतका नेताहरूले गरेका थिए

तर खनाल–नेपाल समूहले भने ओलीले एकलौटी रूपमा गुटगत र अवैधानिक निर्णय कायमै राखेकाले पार्टी पुनर्मिलनमा समस्या देखिएको बताउँछन् । अदालतको फैसला सम्झाउँदै यो समूहले ओलीको एकलौटी निर्णय वैधानिक नहुने जानकारी निर्वाचन आयोगलाई पनि दिएको छ । तर न आयोगले कुनै ‘एक्सन’ लिएको छ, न त ओलीको निर्णय रोकिएको छ ।

खनाल–नेपाल समूहले पनि ४–५ चैतमा आफू निकट अगुवा नेता–कार्यकर्ताको राष्ट्रिय भेला गरेर समानान्तर गतिविधि, संगठन र निर्णय गरिरहेको छ । दुवै समूहको अडान कायमै रहँदा सिर्जित समस्याको शृङ्खलामा खनाल र नेपाल सहित नेताहरू निष्कासन गरिने तहसम्म पुगेको छ ।

राजनीतिक विश्लेषक नारायण ढकाल एमालेभित्र देखिएको संकटले दुवै समूह अप्रासंगिक हुने खतरा बढेर गएको बताउँछन् । ‘केपी ओलीहरू कम्युनिष्ट आन्दोलनबाट लगभग बाहिर गइसके । तर झलनाथ र माधवहरू पनि ओलीको प्रतिक्रियामै सीमित रहिरहे भने दुवै सिद्धिन्छन्’, ढकाल भन्छन् । इतिहास बलियो भएर मात्रै पार्टीको लिगेसी नजोगिने भएकाले जनताको आकांक्षासँग संगठन विस्तार, विचार निर्माण र कम्युनिष्ट आचरण कायम गरिनुपर्ने उनको भनाइ छ ।

इतिहासमाथि दाबी

एमालेभित्र अल्पमतमा रहेको खनाल–नेपाल समूहमाथि ओलीले लगातार अभिव्यक्ति मार्फत अपमान, निर्देशन नमानेको भन्दै स्पष्टीकरण सोधिरहेका छन् ।

१६ चैतमा माधव नेपाल र भीम रावल तथा १९ चैतमा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महीना निलम्बन गरेका ओली संवाद मार्फत सहमति खोज्ने पक्षमा देखिन्नन् । एकपछि अर्को गरी ओलीले कारबाही प्रक्रिया नरोक्दा खनाल–नेपाल समूह भने संकटमा परेको छ ।

किनभने एमालेभित्र ओलीको बहुमत छ र उनको एकल निर्णय रोकिएको छैन । कर्णाली प्रदेशका पाँच सांसदलाई पदमुक्त गरेर ओलीले आफूइतरमा उभिने सांसदले जुनसुकै बेला पद गुमाउन तयार हुनुपर्ने जनाउ दिएका छन् ।

७ जेठको मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको मिलेमतोमा दोस्रो पटक विघटन गरिएको संसद् पुनर्स्थापनाको माग सहित सर्वोच्चमा रिट दायर गर्ने २३ एमाले सांसदलाई कारबाही शुरू गरिसकेका छन् । तर अझै पनि ओलीइतरमा एमालेको ठूलै पंक्ति कायमै देखिन्छ ।

विशेषगरी नेपाल कम्युनिष्ट पार्टीभित्र एमाले धार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरू लगभग सबै ओलीइतर पक्षमा उभिन पुगेका छन् । ‘आजको एमाले निर्माणको जग खडा गरेका कोही पनि नेता केपी ओलीको पक्षमा हुनुहुन्न । झापामै पनि ओलीलाई साथ दिने भेटिन्नन्’ झापा विद्रोहका एक संस्थापक नेता मुकुन्द न्यौपाने भन्छन् ।

उनी एमाले स्थापित भएको अवधि २०२७ देखि २०४७ सम्म मान्छन् । ‘त्यसपछि त एमाले चुनावदेखि चुनावसम्म सीमित छ । तर त्यो दुई दशकमा एमालेको देशव्यापी संगठन बन्यो, नेतृत्व स्थापित भयो र सिद्धान्त निर्माण पनि भयो’, न्यौपाने सम्झन्छन् । पूर्व कोशी प्रान्तीय कमिटीबाट २०२७ मा विद्रोह गरी झापा जिल्ला कमिटी गठन गर्ने नेतामध्ये एक हुन्, न्यौपाने ।

नवौं महाधिवेशनसम्म साथ दिएका वामदेव गौतम, प्रदीप नेपाल र न्यौपाने पनि अलग भएपछि ओली र उनले नेतृत्व गरेको समूह एमाले इतिहासबाट विच्छेदित हुन पुगेको अर्का नेता वेदुराम भुसाल बताउँछन् । पञ्चायतमा ओली बराबर नै जेल बसेका भुसाल र झापा संघर्षअघिकै नेता न्यौपाने खनाल–नेपाल समूहमा छन् ।

त्यसो त ओली समूहमै लागेका नेताहरू पनि एमाले निर्माणको कठिन समयका नेताहरू अर्कातिर लागेको स्वीकार्छन् । तर नयाँ नेतृत्व स्थापित हुनेमा उनीहरू आशावादी छन् ।

‘पार्टी विभाजन हुँदा एउटा पंक्ति बाहिरिन्छन् नै । तर इतिहासको नजिर के हो भने त्यसको ठाउँमा नयाँ नेतृत्वको उदय हुन्छ । मलाई आशा छ– विभाजनले एउटा पंक्तिको कत्लेआम गरे पनि नयाँ लीडरसिपले फेरि पार्टीलाई एकताबद्ध बनाउँछ’, विदेश विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । उनी परम्परागत नेतृत्वको बहिर्गमन पछि आउने नेतृत्वले पार्टीको ‘लिगेसी’ बोक्नेमा विश्वस्त छन् ।

तर पूर्व प्रधानमन्त्रीहरू खनाल र नेपालविहीन एमाले बनाउने ओलीको अभियानलाई अहिले धेरैले आम चासोका साथ हेरिरहेका छन् । हुन पनि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भइरहेको र झापा विद्रोहका नेताहरू पनि निष्क्रिय बनिसकेको अवस्थामा कम्युनिष्ट एकताको झण्डा उठाउने अगुवाइ खनाल र नेपाल लगायतका नेताहरूले गरेका थिए । ‘छिन्नभिन्न अवस्थामा रहेको कम्युनिष्ट पार्टी र आन्दोलनलाई एकताबद्ध बनाउँदै यहाँसम्म ल्याइपुर्‍याउने जग कोकेले बनायो’ न्यौपाने सम्झन्छन्, ‘कोकेका संस्थापकहरूमध्ये हामी चार जना एमालेमा छौं ।’

जिल्ला, क्षेत्र, समूह र नेताको थरका नाममा समेत कम्युनिष्ट पार्टी बनिरहँदा आठ नेता मिलेर कोर्डिनेसन केन्द्र बनाएका थिए । त्यसमध्ये माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा र मुकुन्द न्यौपाने एमालेमा छन् । अहिले चारै जना ओलीइतर पक्षमा उभिएका छन् । बाँकी चार जनामध्ये सीपी मैनालीले २०५४ सालपछि एमाले छोडे, मणिराम राई र गोविन्द न्यौपाने सक्रिय राजनीतिमा छैनन् । अर्का सदस्य भारतीय नागरिक थिए, जो उतै फर्किए ।

कोकेपछि एमालेको जग बलियो बनाउने काम गरेको थियोे– मुक्ति मोर्चाबाट आएका नेताहरू सहितको नेकपा मालेले । मुक्ति मोर्चामा मदन भण्डारी, वामदेव गौतम, मोदनाथ प्रश्रित, जीवराज आश्रित लगायत थिए । २०३५ पुसमा मदन भण्डारीकै गाउँ इटहरामा नेकपा माले जन्मिएको थियो ।

अलग–अलग भूमिका र पार्टीमा रहेका युवा नेताहरू संलग्न माले जबर्जस्त समाजमा स्थापित हुन पुग्यो । झापा विद्रोह, कोके, सन्देश समूह, रातो झण्डा, हर्रेबर्रे, मुक्ति मोर्चा, माले मार्क्सवादी गण्डक, किसान आन्दोलन, विद्यार्थी आन्दोलन जस्ता आन्दोलनहरूको एकीकृत रूप नेकपा माले बन्न पुगेको थियो ।

मुक्ति मोर्चाबाट आएका मदन भण्डारी मालेको नेतृत्वमा आएपछि कम्युनिष्ट आन्दोलन झनै एकीकृत र एकताबद्ध हुँदै गयो । २०४७ चैतमा माले र मार्क्सवादी एकता गरेर एमाले बन्दा बलराम उपाध्याय, साहना प्रधान, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, गोविन्द ज्ञवाली लगायत पुष्पलालको ‘लिगेसी’ बोक्ने अनुभवी पंक्ति थपिए ।

२०४६ सालको जनआन्दोलनमा वाम मोर्चा र लगत्तै एमाले बन्ने अवस्थासम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन लगभग एकीकृत हुन पुगेको थियो । तर त्यो कठिन समयमा पार्टीको नेतृत्व गरेका नेताहरूमध्ये ईश्वर पोखरेल बाहेक लगभग पूरै पंक्ति ओलीसँग अलग भइसकेको स्थायी कमिटी सदस्य वेदुराम भुसाल बताउँछन् । ‘अस्ति चैत ५ गते देख्नुभएन ? एमालेको इतिहास कसले बोक्छ भन्ने’, उनी प्रश्न गर्छन् ।

त्यो भेलामा खनाल–नेपाल समूहले अग्रज नेताहरू मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली लगायतलाई मञ्चमा उभ्याएका थिए । धेरैजसोलाई सम्बोधनको अवसर पनि दिइयो । सिंह र कोइराला त कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका ‘एक्का’ भनेर चिनिने नेता हुन् ।

यसबाहेक नरेश खरेल, घनेन्द्र बस्नेत, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, युवराज ज्ञवाली, नेत्र पौडेल, बद्री खतिवडा लगायत ठूलो पंक्ति आफ्नो पक्षमा उभिएको खनाल–नेपाल समूहले दाबी गरेको छ ।

नेतृत्वमा खनाल–नेपाल 

विभाजनको घोषणा मात्रै हुन बाँकी एमालेमा खनाल र नेपाल त्यस्ता नेता हुन्, जसले झण्डै २७ वर्ष नेतृत्व गरेका छन् । अनेक आन्दोलन र समूहको नेतृत्व गरेका नेताहरू जोडिएर बनेको माले (पछि एमाले) मा खनालले पटक–पटक नेतृत्व गरेका थिए । मालेका संस्थापक महासचिव सीपी मैनालीपछि २०३९ मा खनाल नेतृत्वमा आएका थिए ।

नेता घनश्याम भुसालका बुझाइमा, खनालले त्यस्तो समय पार्टी नेतृत्व गरे, जुन समय वैचारिक संघर्ष र पार्टी निर्माणको महत्वपूर्ण समय थियो । वैचारिक संघर्षकै स्पर्धा जितेर मदन भण्डारी चौथो महाधिवेशनबाट नेतृत्वमा आएका थिए । २०४९ को पाँचौं महाधिवेशनमा भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) एमालेको मार्गदर्शक सिद्धान्तकै रूपमा विकसित गरिएको छ । राजनीतिक कार्यक्रमका रूपमा प्रस्तुत जबज छैटौं र सातौं महाधिवेशनसम्म आइपुग्दा मार्गदर्शक सिद्धान्त मानिएको थियो । २०५० मा मदन भण्डारीको निधन भएपछि नेतृत्वमा आएका नेता नेपालले २०६४ सम्म एमालेको नेतृत्व गरेका थिए ।

‘२०५९ को सातौं महाधिवेशनमा पार्टी पंक्तिमा झण्डै ८५ प्रतिशत होल्ड माधव नेपालको थियो । पुराना र नयाँ पुस्ता दुवैले उनलाई साथ दिएका थिए’ नेपाल निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘त्यसबेला नेतृत्वकै दाबी गर्ने केपी ओलीसँग १५ प्रतिशत महाधिवेशन प्रतिनिधि थिए होलान् ।’

तर २०६५ को आठौं महाधिवेशनमा अध्यक्ष पदमा ओली झलनाथ खनालसँग पराजित भए ।

खनाल र नेपालको ‘केमेस्ट्री’ भने पहिलेबाटै मिल्दै आएको देखिन्छ । माले बन्दा पार्टी वरीयतामा सीपी, नेपाल र अनि मात्रै खनाल थिए । तर नेपाल नभएर खनाल महासचिव बने । खनाललाई महासचिव बनाउन नेपालले भूमिका नै खेलेका थिए । पछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि नेपालले नैतिकताका आधारमा राजीनामा दिए । फेरि खनाल नेतृत्वमा आए ।

२०७१ साउनमा सम्पन्न नवौं महाधिवेशनमा पुराना नेताहरू वामदेव गौतम, मुकन्द न्यौपाने, प्रदीप नेपाल र ईश्वर पोखरेलको साथ पाएपछि ओली नेतृत्वमा आए । समयान्तरमा एकैठाउँ उभिएर ओलीको आलोचना गरिरहेका खनाल–नेपाललाई पार्टीबाटै निष्कासित गरिएको छ ।

१४ वर्षे जेलजीवनपछि बहुदलीय व्यवस्था स्थापना हुँदै गर्दा पार्टी केन्द्रीय कमिटीमा आएका ओलीले एमालेको एकतामा खनाल–नेपाल समस्या बनेको निष्कर्ष नै सुनाएका छन् । ८ जेठको बालुवाटार बैठकमा ओलीले ‘अब झलनाथ खनाल र माधवकुमार नेपालसँग मिलेर जाने संभावना सकिएको’ ब्रिफिङ गरेका थिए ।

त्यसदिनको बैठकपछि एकताबद्ध एमालेको संभावना सकिएको बताउने ओली निकट एक नेता भन्छन्, ‘नयाँ पुस्तक किन्न निकै पैसा लाग्छ । तर पुरानो भएपछि त्यही पुस्तक जोखेर किलोमा बिक्री हुन्छ ।’ खनाल–नेपाल सहित पुराना नेताहरूको जगमा एमाले बनेको भए पनि अहिले उनीहरू पुराना पुस्तकको उपादेहितामा पुगिसकेको ती नेता बताउँछन् ।

तर खनाल–नेपाल समूहका नेताहरू भने यो विभाजनले पार्टीलाई एमाले निर्माण अगाडिकै अवस्थामा लैजाने बताउँछन् । ‘मालेका युवा नेताहरूमा विचारमाथि मन्थन गर्ने जोशिलो चेत र संगठन गर्ने ऊर्जा थियो । तर पुष्पलालसँग लिगेसी जोडिएका मार्क्सवादीका अनुभवी नेताहरूसँग एकता गरेपछि नै एमालेको आयतन र स्वीकार्यता आम रूपमा फैलियो’, नेता भुसाल सम्झन्छन् ।

ओली भने विशेषगरी सातौं महाधिवेशन (२०५४) पछि पार्टी नेतृत्वमा आएका नेताहरू साथमा लिएर अघि बढेका छन् । सातौं महाधिवेशन अघि उनीहरू जनसंगठन वा अन्य मातहतको भूमिकामा थिए ।

विश्लेषक नारायण ढकाल ओली अहिले जसरी अगाडि बढेका छन्, त्यो बाटो धेरै टाढा नपुगिने बताउँछन् । उनको तर्क छ– राजनीति, सिद्धान्त र जनउत्तरदायित्व तीनै कुराले ओलीका पछाडि उभिएकाहरूमा कम्युनिष्ट पार्टी र एमाले लिगेसी धेरै टाढा लैजाने संभावना देखिन्न ।

यो पनि पढ्नुहोस इतिहास ओलीसँग रहेन यो पनि पढ्नुहोस जहाँ केपी ओली, त्यहीं मूल प्रवाह

source https://www.onlinekhabar.com/2021/05/962471

इतिहास ओलीसँग रहेन

अहिले नेकपा एमालेमा वामपन्थ होइन, ‘रामपन्थ’ हावी हुने खतरा छ । त्यसैले जो–जो केपी ओलीलाई एकल नेता मान्न तयार हुन्छन्, उनीहरू मात्रै पार्टीमा रहन्छन् भन्ने सोच विकास भएको छ । जबकि एउटा कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्छ । त्यो भनेको केन्द्रीय कमिटीको सर्वोच्चता, सबै सदस्य केन्द्रीय कमिटीको मातहत, व्यक्ति संगठनको मातहत र एउटा महाधिवेशनको निर्णय अर्को महाधिवेशनले मात्रै परिवर्तन गर्न सक्छ ।

तर एमालेको हविगत एक रूसी कविले भनेजस्तै भएको छ– तिमी आफू गद्दार छौ भने अरूलाई गद्दारीको आरोप लगाइदेऊ । तिमी आफू गडबड छौ भने अरूलाई औंला ठड्याइदेऊ ।

नत्र, नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व र विधान कायमै हुनेथियो । कसैलाई पार्टी विभाजनको आरोप लगाइरहनुपर्ने अवस्था नै निम्तने थिएन । यो संकटको प्रमुख कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘सम्मानको लिप्सा’ हो । उहाँ जरा काटेर हरियो रूखको सपना देखिरहनुभएको छ ।

म बारामा १६ महीना हलो जोतेर बसें । साथीहरू भूमिगत बस्न नसक्ने अनि श्रम गर्ने जाँगर पनि नभएका । मोहनचन्द्र र केपी दिनभर भलिबल खेल्नु हुँदोरहेछ

झापा विद्रोह र अन्तरसंघर्ष 

आजको नेकपा एमालेको संगठन, विचार, नेतृत्व निर्माण २०२७ देखि २०४७ को अवधिमा निर्माण भएको हो । त्यसपछि त हामी चुनावदेखि चुनावमा छौं । तर जुन बेला हामीले एमाले धार निर्माणको राजनीतिक सक्रियता र पहलकदमी शुरू गरेका थियौं त्यसबेला कम्युनिष्ट पार्टीहरू विभाजित थिए– पुष्पलाल समूह, मसाल समूह, पूर्वकोशी मनमोहन समूह इत्यादि । पूर्व कोशी प्रान्तीय समूहबाट २०२८ साल भदौमा हामी फुट्यौं । फुट्ने विवाद एक वर्ष अगाडि नै शुरू भएको थियो । झापा जिल्ला कमिटी बन्यो ।

तर हामीबीच विवाद भयो– मान्छे मार्नेबारे । नक्सलपन्थीबाट प्रभावित भएकाले चारु मजुमदारलाई नेता मान्थ्यौं । चारु मजुमदार हाम्रो नेता हुन्न, हाम्रै देशका नेता हुन्छन् भन्ने विषय उठ्यो । मान्छे मारेर क्रान्ति हुँदैन, त्यो बाटो नै गलत छ भन्ने र त्यही गर्नुपर्छ भन्ने विवाद भयो ।

त्यसै बेला भारतका कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नौ बुँदे सुझाव गयो । सीपीसीले क्रान्तिको बाटो र नेताबारे पनि सुझाव पठाएको थियो । सीपीसीको भनाइ थियो– ‘तिमीहरूको क्रान्ति होइन, व्यक्ति हत्याले क्रान्ति हुँदैन र चीनको अध्यक्ष, हाम्रो पनि अध्यक्ष भन्ने नारा गलत छ । एउटा देशको अध्यक्ष, अर्को देशको अध्यक्ष हुँदैन ।’

यो विषय हामीले पनि उठायौं । रामनाथ ज्ञवाली, मोहनचन्द्र अधिकारी, केपी ओली र म त्यो लाइनमा थियौं । तर आरके र सीपी मैनालीहरू सहमत हुनुभएन । शुरूमै दुई लाइन संघर्ष भयो । धर्मप्रसाद ढकाल मारिएपछि कोर्स अगाडि बढ्यो, पार्टीभित्र द्वन्द्व चर्कियो ।

मोरङका विद्यार्थीले भूमिगत बस्ने मान्छे खोज्न आएकाले २०२९ मा म मोरङको सचिव भएँ । जोगवनीमा माधव नेपालसँग भेट भयो । उता, झापामा सीपीहरूले मोहनचन्द्रलाई टिक्न दिएनन् । हत्याको बाटोले पार्टी बन्दैन भन्ने हाम्रो बुझाइ थियो ।

अनि मोहनचन्द्र र हामीहरूले सल्लाह गर्‍यौं– पार्टी बनाउन म नारायणी पुगें । मोहनचन्द्र, पुष्पलालसँग सल्लाह गर्छु भनेर हिंड्नुभयो । तर सम्पर्कमा उहाँ आउनुभएन । रामनाथ पक्राउ परेपछि केपी ओली हराउनुभयो । पछि मोहनचन्द्र र केपी ओली माधवकुमार नेपालको सम्पर्कमा आउनुभएछ । माधव नेपालले रौतहटका कृष्णप्रसाद भण्डारी (वरिष्ठ अधिवक्ता) को सहयोगमा रौतहटमा राख्नुभयो ।

म बारामा १६ महीना हलो जोतेर बसें । साथीहरू भूमिगत बस्न नसक्ने अनि श्रम गर्ने जाँगर पनि नभएका । मोहनचन्द्र र केपी दिनभर भलिबल खेल्नु हुँदोरहेछ ।

मोहनचन्द्रसँग वीरगञ्जमा मेरो भेट भएको एक सातापछि पक्राउ पर्नुभयो । मधेशको गाउँमा भलिबल खेल्न गएपछि पहिचान गर्न सजिलो हुनेथियो । वीरगञ्जको भेटमा मोहनचन्द्रसँग मेरो विवाद नै भयो । मोहनचन्द्र र केपी जेल बस्नुभयो, १४ वर्षपछि छुट्दा कम्युनिष्ट घटकहरू गोलबन्द भएर सशक्त र एकताबद्ध पार्टी निर्माण भइसकेको थियो ।

मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, ईश्वर पोखरेल लगायत जेल बाहिर रहेका नेताहरू (कहिले पक्राउ पर्ने र छुट्ने गर्दै) संगठन, विचार र नेतृत्व निर्माणमा क्रियाशील हुनुभयो ।

कोकेको एकता यात्रा

२०३२ सालमा फेरि हामी आठ जना जुटेर कोर्डिनेसन केन्द्र बनाऔंं– सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने, मणिराम राई, गोविन्द न्यौपाने र एक जना भारतीय नागरिक थिए । गोविन्द न्यौपाने र मणिराम राई राजनीतिबाट अलग हुनुहुन्छ । भारतीय नागरिक उतै गए ।

तर सीपी, गोविन्द न्यौपाने, माधव नेपाल, झलनाथ खनाल एकपछि अर्को गर्दै पक्राउ पर्नुभयो । बाँकी रहेका नेताहरूले साथीलाई छिपाउने र संगठन निर्माणमा जोड दिइरहे । कोके बनेको एक वर्षपछि मणिलाल राई, म र ईश्वर पोखरेल बाहिर थियौं । कार्यकर्ता जोगाउनुपर्ने दायित्व थियो । कसैलाई धनुषा र कसैलाई बारा पठाउने गरियो ।

२०३३ सालको अन्तिमतिर सीपीहरू जेल तोडेर निस्किनुभो । माधव नेपाल छुट्नुभयो । २०३४ सालमा मुक्ति मोर्चाका नेताहरू मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतमहरू आउनुभयो । उहाँहरू पुष्पलालबाट फुट्नुभएको थियो ।

२०३५ साउनको धनुषा बैठकले कोके र मुक्ति मोर्चा एकता गर्ने भन्ने भयो । त्यसैमा पूर्वको रातो झण्डा पनि आयो । २६ डिसेम्बर (माओत्सेतुङको जन्मदिन पारेर) २०३५ मा मदन भण्डारीको गाउँ मोरङको इटहरामा नेकपा माले गठन भयो । कार्यविभाजन भयो– मदन भण्डारी कोशी, जीवराज आश्रित लुम्बिनी, माधव नेपाल जनकपुर, ईश्वर पोखरेल सगरमाथा, झलनाथ खनाल मेची, अमृत बोहोरा वागमती लगायत ।

अन्तरसंघर्ष, एकता र सफलता

२०३६ सालको जनमतसंग्रहमा कांग्रेसले भाग लियो । वाम शक्तिहरूले बहिष्कारको नीति लियौं । त्यो बेला पार्टीभित्र अन्तरसंघर्ष देखियो । तर बहिष्कारकै नीति लिए पनि हामीलाई पार्टी निर्माणको ठूलो अवसर प्राप्त भयो । लुकेर हिंड्नुपर्ने बाध्यतालाई दिउँसै संगठन गर्ने बाटो खुल्यो ।

कांग्रेसले सभाहरू गर्थे । हामी त बहिष्कारको नीतिमा थियौं । तर सांस्कृतिक अभियान देशभर पुग्यो । संकल्प परिवार सांस्कृतिक कार्यक्रम लिएर देशभर निस्कियो । कुनै कुनै ठाउँमा पाँच हजारसम्मको समेत सहभागिता भयो । भित्ताहरूमा मालेको पोष्टर देखिन थाल्यो । जनसमर्थन र कार्यकर्ता पंक्तिको निर्माण तीव्र भयो ।

तर पार्टीभित्र अन्तरसंघर्ष चर्कियो । प्रधान अन्तरविरोध राजासँग नभनेर सीपी मैनाली दलाल पूँजीवाद यस्तै शब्द के–के भन्नुहुन्थ्यो । शान्ति क्षेत्रको राजाको प्रस्ताव समर्थन गर्नुपर्छ भन्ने सीपीको कुराले हामीमा शंका भयो– ‘कतै राजासँग मिल्न लागेको त होइन !’

२०३९ सालसम्म सीपीले चार पटक राजीनामा बुझाइसक्नुभएको थियो । जेलमा भएका आरके मैनाली सहितका नेताहरू पनि सीपीको विपक्षमा उभिनुभएको थियो । अतः २०३९ मा सिन्धुली र महोत्तरीको बीचमा पर्ने कालापानी बैठकबाट सीपीलाई हटाएर झलनाथ खनाललाई महासचिव बनायौं । मालेको वरीयतामा माधव नेपाल दोस्रो र झलनाथ खनाल तेस्रो वरीयतामा हुनुहुन्थ्यो ।

झलनाथ नेतृत्वमा आएपछि नीति बदलियो । खुला संघर्षलाई उपयोग गर्ने लेनिनको नीति अपनाइयो । त्यो नीतिले माले देशव्यापी संगठन भएको पार्टी बन्यो । मुख्यगरी २०४३ मा जनपक्षीय उम्मेद्वार खडा गरेपछि जनपक्षीय उम्मेद्वारहरूकै पार्टी माले बन्यो । प्रधानपञ्च र वडाध्यक्षहरू झण्डै एक हजार निर्वाचित भए । भूमिगत रहने नेताहरूको सेल्टर अब प्रधानपञ्चको घर बन्न पुग्यो । वैधानिक मञ्च उपयोग गरेर सुरक्षित ढंगले मालेको उपस्थिति र आकार बढाइयो ।

राष्ट्रिय राजनीतिमा हस्तक्षेप राख्ने पार्टी बन्यो– माले । कांग्रेससँग वार्ता चल्न थाल्यो । वाम मोर्चा निर्माणतिर पहल भयो । जनआन्दोलनको पृष्ठभूमि निर्माणमा माले निर्णायक शक्ति बनिसकेको थियो । जेलमा भएका केपी ओलीहरू त्यही समयमा बाहिर निस्किनुभएको हो ।

जनआन्दोलन सफल भयो । पार्टी नेतृत्वमा मदन भण्डारी आउनुभएको थियो । मार्क्सवादीसँग पार्टी एकता भयो । एमाले बन्यो । पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) पाँचौं महाधिवेशनबाट पारित भयो । जबज पारित हुने बेलासम्म पार्टीभित्र सघन वैचारिक बहस भयो । वैचारिक अन्तरविरोधले पार्टीलाई झनै सशक्त र बलियो बनाउने काम गरेको थियो । तर आज एमालेको यो इतिहास र इतिहास बनाएका नेता ओलीसँग रहेनन् ।

र, केपी ओली

जेलमा रहेका साथीहरूले पार्टी निर्माणको कठिन दिनहरूको अनुभव गर्न पाउनुभएन । जेल बसेका साथीहरूसँग जनताको बीचमा बसेर संगठन निर्माण गरेको अनुभव भएन । उत्पादन संघर्ष, सामाजिक संघर्ष र वैज्ञानिक प्रयोग ज्ञान निर्माणका आधारभूत कुरा हुन् । तर उहाँहरूमा सामाजिक आन्दोलनको गहिरो ज्ञान भएन । किनभने त्यसरी समाजमा बस्नै परेन । संगठन बनाउनु नै परेन । त्यसैले अहिले भटाभट गल्ती देखिन थालेको छ ।

(न्यौपानेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीमा आधारित ।)

यो पनि पढ्नुहोस कस्तो होला झलनाथ–माधव विनाको एमाले ?     यो पनि पढ्नुहोस जहाँ केपी ओली, त्यहीं मूल प्रवाह

source https://www.onlinekhabar.com/2021/05/962476

जहाँ केपी ओली, त्यहीं मूल प्रवाह

नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो ।

कुनैबेला आफ्नै टाउकोको मूल्य तोक्ने र आधा प्रतिगमन सच्चियो भनेर ज्ञानेन्द्र शाहको राज समर्थन गर्ने शेरबहादुर देउवालाई उपयोग गर्दै अगाडि बढेका पुष्पकमल दाहाल प्रचण्डका निम्ति अहिले माधवकुमार नेपाल शिखण्डी बन्न पुग्नुभएको छ । तर केपी ओलीले प्रचण्डको त्यो दाउपेच पहिले नै राम्रोसँग बुझ्नुभएको थियो । उहाँ प्रचण्डको उपयोगवादी, सर्वसत्तावादी र कब्जावादी चिन्तन विरुद्ध उभिनुभएको थियो ।

पक्कै पनि केपी ओलीसँग कमजोरीहरू छन् । लामो समय जेल बस्नुभयो, स्वास्थ्यले साथ दिएन । तर जेलभित्रै हुँदा पनि पार्टीभित्र वैचारिक, सांगठनिक र राजनीतिक दृष्टिकोण प्रष्ट रूपमा राख्नुभयो । झापा संघर्ष, नेकपा मालेको संकट र एमालेभित्र देखा परेका समस्यामा उहाँ (केपी ओली) ले राख्नुभएको अडान सधैं सही सावित हुँदै आएको छ ।

सीपीमाथि अन्याय

‘को–अर्डिनेशन केन्द्र’ र मुक्ति मोर्चा बीच एकता भएर बनेको नेकपा मालेमा २०३७ सालपछि गम्भीर संकट देखा परेको थियो । पार्टी नै कता जान्छ भन्ने अनुमान गरिन्नथ्यो । महासचिव सीपी मैनालीले अन्तर्राष्ट्रिय सम्बन्ध बारेमा गोपनीयता भंग गरेको आरोपमा माधव नेपालहरू उहाँ विरुद्ध उभिनुभएको थियो । मुक्ति मोर्चाबाट आउनुभएका मोदनाथ प्रश्रित, मदन भण्डारी, जीवराज आश्रितहरू अलिकति लोकतान्त्रिक र उदार सोचको हुनुहुन्थ्यो । तर सीपी मैनालीलाई पोलिटब्यूरोमा समेत नराखी प्रवासको जिम्मेवारी दिएर केन्द्रीय सदस्यमा घटुवा गरियो ।

सातौं महाधिवेशनमा त केपी ओलीलाई माधव नेपालले रसातलमै भसाउने योजना बनाउनुभएको थियो । जबकि संविधानसभाको कार्यनीतिक नारा बनाउँदा सशस्त्र हिंसामा संलग्न माओवादीलाई मूल प्रवाहमा ल्याउन र दमनकारी नीति बोकेको दरबारलाई एक्ल्याउन सकिन्छ भन्ने नीति केपी ओलीले अगाडि सार्नुभएको थियो

त्यसबेला पार्टी स्वतन्त्रताको पक्षमा सीपी र केपी ओली एकैठाउँमा हुनुहुन्थ्यो । मदन भण्डारी पनि यही लाइनमा हुनुहुन्थ्यो । तर बाहिर आफ्नो कुरा राख्नुभएन । सीपी मैनालीलाई निर्मम कारबाही गरेर झलनाथ खनाललाई पार्टीको नेतृत्वमा ल्याइयो । तर झलनाथ खनाल मनोवैज्ञानिक रूपमै कमजोर भएकाले पार्टी चल्ने अवस्था रहेन । चौथो महाधिवेशनबाट मदन भण्डारी नेतृत्वमा आउनुभयो ।

मदनलाई ओलीको साथ

मदन भण्डारी मालेको महासचिव निर्वाचित भएपछि पार्टीभित्र वैचारिक र सांगठनिक क्रियाशीलता, विचार र संगठनको तादाम्यता अद्भुत रूपमा देखियो । २०४७ सालको जनआन्दोलनको जग नै निर्माण भयो । जबकि माधव नेपाल जनआन्दोलन सफल बनाउन भारतीय हतियार प्रयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । तर मदनले मान्नुभएन ।

मदनको तर्क थियो– नैतिक समर्थन जसले पनि गर्न सक्छ । तर भारतीय हतियार त कुरै छोड्नुहोस्, उनीहरूको उपस्थिति पनि हामी सहँदैनौं । यो हाम्रो आन्तरिक कुरा हो । यो राजनीतिक स्वतन्त्रतासँगै राष्ट्रिय स्वाभिमानसँग पनि जोडिएको छ । त्यसैले आफ्नै सामथ्र्य र बुतामा लड्नुपर्छ । राधाकृष्ण मैनालीले लेख्नुभएको पुस्तकमा यो पढ्न सकिन्छ ।

माले मदन भण्डारीकै लाइनमा उभियो । वाम मोर्चा बन्यो । नेपाली कांग्रेससँग संयुक्त जनआन्दोलनको पृष्ठभूमि बन्यो । तर, धेरैले नसुनेको, तर बैठकमा सहभागीलाई राम्रोसँग थाहा पाएको तथ्य हो– मदन नेतृत्वमा आउने महाधिवेशन भाँडिनबाट केपी ओलीले जोगाउनुभएको थियो ।

तत्कालीन कार्यनीति बनाउनेबारे पार्टीभित्र विवाद भयो । नारा तय गर्न समस्या भयो । मोदनाथ प्रश्रितले संविधानसभा, झलनाथ खनालले नयाँ जनवादी व्यवस्था र मदन भण्डारीले बहुदलीय व्यवस्थाका निम्ति लड्नुपर्छ भन्ने प्रस्ताव ल्याउनुभयो । महाधिवेशन नै भंग हुने अवस्था आयो । तर महाधिवेशन भंग हुन नदिन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

जनआन्दोलन शुरू भइसकेपछि बल्ल मालेले तत्कालीन कार्यनीति बहुदलीय व्यवस्था बनाउने निर्णय लियो । महाधिवेशनले नसकेपछि मालेको केन्द्रीय कमिटी बैठकबाट बहुदलीय व्यवस्थाको नीति पारित गरिएको थियो । त्यसबेला ओली मदन भण्डारीले लिएकै नीतिका पक्षमा हुनुहुन्थ्यो । त्यही नीतिले बनाएको वाम मोर्चा र कांग्रेस सहितको संयुक्त जनआन्दोलनले पञ्चायत व्यवस्था अन्त्य गरेको थियो ।

अलमलमा पार्टी, ओली प्रष्ट

पाँचौं महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । सैद्धान्तिक कार्यक्रम प्रष्ट भयो– जनताको बहुदलीय जनवाद (जबज) । मदन भण्डारी नै नेतृत्वमा आउनुभयो । तर मदन भण्डारीको निधन पछि पार्टीभित्र अस्पष्टता देखिन थाल्यो ।

जस्तो– २०५१ को सरकार गठनमै पनि दुईमत देखा परे । कांग्रेस प्रमुख प्रतिस्पर्धी मान्ने हो भने राप्रपालाई साथमा लिएर बहुमतको सरकार गठन गर्ने पक्षमा केपी ओली उभिनुभयो । तर झलनाथ खनाल, मनमोहन अधिकारी, साहना प्रधान, मुकुन्द न्यौपाने लगायत विपक्षमा उभिनुभयो । अल्पमतका सरकार बन्यो ।

अल्पमतको सरकार नौ महीना चल्यो । तर पछि एमाले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकारमा सामेल भयो । पहिले विरोध गर्नेहरू (झलनाथ खनाल र मुकुन्द न्यौपाने) सरकारमा सामेल हुनुभयो । सहयोगी शक्ति मान्न तयार नहुनेहरूले नै राप्रपाको नेतृत्व माने । लाइन त केपी ओलीकै ठीक थियो ।

यसपछिका अनेक मोडहरूमा पनि पार्टी घुमिफिरी केपी ओलीकै लाइनमा आएको छ । तर, मदनले ल्याएको वैचारिक स्तरलाई संगठनमा कायम गराउने भूमिका निर्वाह गरेका ओलीलाई सिध्याउने खेलहरू भइरहे । माधव नेपालले छैटौं महाधिवेशनमा केपी ओली र वामदेव गौतम दुवैलाई कार्यनीति लेख्ने जिम्मेवारी दिनुभयो । बैठकबाट केपी ओलीलाई जिम्मेवारी दिइयो, तर वामदेवलाई खुशी पार्न माधवले यसो गर्नुभएको रहेछ । पछि त्यो विवादकै कारण एमाले विभाजित भयो ।

सातौं महाधिवेशनमा त केपी ओलीलाई माधव नेपालले रसातलमै भसाउने योजना बनाउनुभएको थियो । जबकि संविधानसभाको कार्यनीतिक नारा बनाउँदा सशस्त्र हिंसामा संलग्न माओवादीलाई मूल प्रवाहमा ल्याउन र दमनकारी नीति बोकेको दरबारलाई एक्ल्याउन सकिन्छ भन्ने नीति केपी ओलीले अगाडि सार्नुभएको थियो । सातौं महाधिवेशन माधव नेपालले एक प्रकारले कब्जा नै गर्नुभयो ।

तर केपी ओली धैर्यपूर्वक बस्नुभयो । पार्टी बाहिर जाने कल्पना पनि गर्नुभएन । महाधिवेशनको प्रतिनिधि छनोटमै उपद्रो भएको केपी ओलीलाई थाहा थियो । फेरि आठौं महाधिवेशनमा केपी ओलीलाई हराउन निर्वाचन मण्डलमै कांग्रेसको मान्छे राखिएको थियो । माधव नेपालले सर्वसहमत नेतृत्वको प्रस्ताव अगाडि सार्नुभयो । जबकि २०६४ को निर्वाचनमा पार्टी तेस्रो हुने गरी पराजित भएपछि उहाँ नेतृत्वबाट भाग्नुभएको थियो ।

अनेक षडयन्त्र गरेर आठौं महाधिवेशनमा पराजित गरिए पनि मदन भण्डारीले अगाडि बढाएको राजनीतिक कार्यक्रमलाई संगठनसँग जोड्ने केपी ओलीको प्रस्ताव महाधिवेशन हलबाट पारित भयो । जबजले वैचारिक स्वतन्त्रताको कुरा गरेको छ, आठौं महाधिवेशनबाट संगठनात्मक लोकतन्त्रीकरण लागू भयो । यो नीतिले पार्टीमा समावेशी, समानुपातिक र सबै क्षेत्रको सहभागिता सुनिश्चित ग¥यो ।

अर्थात् चौथो महाधिवेशन माले–एमाले केपी ओलीकै लाइनमा हिंडेको छ । अब पनि उहाँ जहाँ उभिनुहुन्छ, एमालेको मूल प्रवाह त्यहीं हुन्छ । अहिलेसम्मको घटनाक्रमले त्यो पुष्टि हुन्छ । दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहको राज्याभिषेकमा जाने र प्रतिगमन सच्चियो भन्ने जस्ता निर्णयका पछाडि केपी ओली हुनुहुन्नथ्यो । तिखो रूपमा कुरा राख्नुभयो तर एमाले छोडेर अर्को पार्टी बनाउने कल्पना समेत गर्नुभएन ।

पार्टीको हितमै उभिनुभयो । माओवादीसँग सरकार बनाउने मनसायमा झलनाथ खनाल उभिनुभयो । घनश्याम भुसालले सातबुँदे प्रस्ताव तयार पार्नुभएछ । तर ‘पार्टी अध्यक्षको चाहना हो’ भनेर केपी ओलीले सहमति जनाउनुभयो । कतिपयको बुझाइ जस्तो अवस्था आएन, उहाँले तीन मिनेटमै समर्थन गर्नुभयो । माओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो ।

तर अवस्था कस्तो बन्यो भने कार्यकर्ता मारिंदा पनि श्रद्धाञ्जली व्यक्त गर्न सकिने अवस्था रहेन । यसको वैचारिक तरिकाले केपी ओलीले प्रतिवाद गर्नुभएको हो । माधव नेपालको चरित्र दुवैतिर लाग्ने । आठौं महाधिवेशनमा केपी ओलीलाई समर्थन गरेको भन्ने, तर झलनाथ खनालसँग मिलेर पोलिटब्यूरो र स्थायी कमिटी बनाउने ।

सीपी मैनालीलाई पुनस्र्थापित गराउन, मदन भण्डारीको नेतृत्वलाई सार्थक बनाउनदेखि अनेक आयाममा केपी ओलीको भूमिका महत्वपूर्ण छ । त्यसैले फेरि पनि उहाँकै निर्णय मूलप्रवाह भएर अगाडि बढ्नेछ ।

अहिले माधव नेपाल अवसरवादीहरूको जालमा फस्दै जानुभएपछि लिगेसी गुमाउँदै हुनुहुन्छ । असंसदीय र जबजले निर्दिष्ट गरेको सिद्धान्त बाहिर जाँदै हुनुहुन्छ । हिमानी शाहको यज्ञमा ब्रत बस्ने (मोहनचन्द्र अधिकारी) देखि दरबारका मन्त्री (आरके मैनाली) लाई समेत उहाँले उभ्याउनुभएको छ ।

हामीले सम्मान गर्ने बुढापाका सिद्धिलालहरूको पनि भेला गर्नुभएको छ । तर त्यहाँ उहाँहरूको योगदानको अवमूल्यन भइरहेको छ । निहित स्वार्थ निम्ति आफ्नो इतिहास कमजोर पार्ने काम गर्दै हुनुहुन्छ ।

तर केपी ओलीमा अरू नेता जस्तो अवसरवादी चिन्तन छैन । अदम्य क्षमता छ । अब माओवादीभित्र लोकतन्त्र पक्षहरूको ध्रुवीकरण हुन्छ र केपी ओलीको नेतृत्वमा मूल प्रवाहको एमाले अगाडि बढ्छ ।

(अनलाइनखबरकर्मी सइन्द्र राईसँगको कुराकानीमा आधारित ।)

यो पनि पढ्नुहोस इतिहास ओलीसँग रहेन यो पनि पढ्नुहोस कस्तो होला झलनाथ–माधव विनाको एमाले ?    

source https://www.onlinekhabar.com/2021/05/962477

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More