Wednesday 30 November 2022

समूह ई प्रिभ्यु : जर्मनीलाई जीत आवश्यक, जापान अर्को अप्रत्यासित नतिजाको खोजीमा

१५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा समूह ईका स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीचको २ खेल आज एउटै समय राति पौने १ बजे हुने छ । जारी विश्वकपको यो नै एउटा त्यस्तो समूह हो जसमा दुई पूर्व विजेता छन् ।

विश्वकपअघि २०१० को च्याम्पियन स्पेन र २०१४ को च्याम्पियन जर्मनीलाई यस समूहबाट नकआउट चरण पुग्ने टिमको रुपमा हेरिएको थियो । तर समूह चरणमा हरेक टिमले दई दुई खेल खेलेपछि यस समूहको खेल रोमाञ्चक बनेको छ ।

यो समूहको पहिलो खेलमै जर्मनी जापानसँग स्तब्ध भयो, स्पेनले कोस्टारिकाको पोष्टमा ७ गोल गर्‍यो भने अर्को खेलमा कोस्टारिकाले जापानलाई हरायो ।

आज अन्तिम खेल खेल्न लागेका यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम छ ।

आजराति स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीच हुने खेलपछि अगाडि बढ्ने र बाहिरिने टिमको टुङ्गो लाग्नेछ । यस समूहमा एक जित र एक बराबरीबाट ४ अंकसहित स्पेन शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको समान ३ अंक छ र क्रमश: दोस्रो र तेस्रो स्थानमा छ । दुवैले एक खेल जित्दा एक खेल हारेका थिए । यस्तै एक बराबरीबाट १ अंक जोडेको जर्मनी पुछारमा छ ।

यस समूहबाट स्पेन सहज अवस्थामा देखिन्छ भने जर्मनीलाई धेरै दबाब छ । जापान र कोस्टारिका भने आफू अनुकुल नतिजाको पर्खाईमा छन् ।

कसलाई के नतिजा चाहिन्छ?

स्पेनको लागि जापानसँग जित वा बराबरीले अन्तिम १६ मा स्थान बन्नेछ । जापानलाई पराजित गरेमा स्पेन समूह विजेता नै बन्नेछ । जापानसँग पराजित भए पनि स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । त्यसका लागि जर्मनी र कोस्टारिकाले बराबरी खेल्नुपर्छ कि जर्मनीले हार टार्नुपर्छ । जापानसँग हार बेहोरेको र कोस्टारिकाले जर्मनीलाई हराएको स्थितिमा स्पेन आउट हुनेछ ।

जापानको लागि भने अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनुपर्नेछ । स्पेनसँग पराजित भएमा भने जापान समूह चरणबाट बाहिरिनेछ । स्पेनसँग बराबरी भएमा भने जापानले अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ । पहिलो खेलमा कोस्टारिकालाई ७-० ले हराएको स्पेन दोस्रो खेलमा जर्मनीसँग १-१ को बराबरीमा रोकिएको थियो । पहिलो खेलमा जर्मनीलाई २-० ले स्तब्ध पारेको जापान दोस्रो खेलमा भने कोस्टारिकासँग स्तब्ध भयो । जापान फेरि जर्मनीसँगको खेलको जस्तै अर्को अप्रत्यासित नतिजाको खोजीमा छ ।

अर्को खेलमा कोस्टारिका र जर्मनी खेल्दा दुवैको लक्ष्य जित नै हुनेछ । जर्मनीलाई पराजित गरेमा कोस्टारिका अन्तिम १६ मा पुग्नेछ । यस्तै जर्मनीसँग बराबरीले पनि कोस्टारिका अघि बढ्न सक्छ तर त्यसका लागि स्पेनले जापानलाई हराउनुपर्नेछ । दुवै खेल बराबरी भएमा र जर्मनीसँग पराजित भएमा कोस्टारिका बाहिरिनेछ ।

जर्मनीको लागि नकआउट चरणमा स्थान बनाउने हो भने कोस्टारिकाविरुद्धको खेल जसरी पनि जित्नैपर्नेछ । अर्को खेलमा स्पेनले जापानलाई पराजित गरेमा जर्मनी आफ्नो खेल जित्दै अन्तिम १६ मा पुग्नेछ ।

यदी जापानले स्पेनलाई हराएमा भने जर्मनी र स्पेनको समान ४ अंक हुनेछ यसमा गोल अन्तर निर्णायक हुनेछ । जर्मनीको लागि सबैभन्दा राम्रो समीकरण भनेको आफ्नो खेल जित्ने अनी स्पेनले पनि जापानलाई हराउनुपर्छ । बराबरी वा हारले भने जर्मनी समूह चरणबाटै बाहिरिनेछ ।



source https://www.onlinekhabar.com/2022/12/1226922

बैतडीमा युवती हत्या प्रकरण : अनुसन्धानका लागि धनगढीबाट पनि खटियो प्रहरी टोली

१५ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि प्रहरीटोली खटाइएको छ । बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पठाइएको जानकारी दिए । एसएसपी रावलले घटनाको अनुसन्धान सफलतातर्फ उन्मुखभएको पनि बताएका छन् ।

मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । नेहापनि घाँटी रेटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर अवस्थाकी उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक माया म्यादी प्रहरी पनि भएको खुलेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिए पछि उनी घर फर्किएकी थिइन् । मायाको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत एक युवकको संलग्न रहेको हुन सक्ने प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । उनी हाल फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

ती प्रहरी जवानको परिचय भने गोप्य राखिएको छ । अनुसन्धानपछि मात्र थप कुरा खुल्ने बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले बताए ।



source https://www.onlinekhabar.com/2022/12/1226920

ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले दियो फिफामा उजुरी

१५ मंसिर, काठमाडौं । फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो ।  उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १-० ले पराजित भएको थियो ।

एजुकेसन सिटी स्टेडियममा ट्युनिसिया विरुद्ध एक गोलले पछि परेको अवस्थामा ग्रिजमनले इन्जुरी टाइमको अन्तिम तथा आठौं मिनेटमा गोल गरेका थिए । तर रेफ्री म्याथ्वु कोङ्गरले भीएआरको सहयोगपछि उक्त गोललाई अफसाइड दिएका थिए । जसले गर्दा फ्रान्स पराजित भयो । चुवामेनीले बल क्रस गर्दा ग्रीजमन अफसाइडमा देखिएका थिए । तर बल आइसकेपछि उनी अनसाइडमा देखिएका थिए ।

एफएफएफले खेल सकिएको २४ घण्टा भित्रमा फिफामा उजुरी हाल्न पाउने जनाएको छ । यसबारे अन्य केही जानकारी भने आएको छैन । साविक विजेता फ्रान्सले सन् २०१४ मा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएयता विश्वकपमा पहिलो पटक पराजित भएको हो । हारका बावजुत पनि समूह ‘डी’ मा ६ अंक जोड्दै फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । फ्रान्सले अब समूह ‘सी’ को उपविजेता पोल्याण्डसँग खेल्नेछ ।



source https://www.onlinekhabar.com/2022/12/1226900

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

१४ मंसिर, काठमाडौं । विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।  मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

 



source https://www.onlinekhabar.com/2022/12/1226869

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो

१४ मंसिर, काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा रिले म्याग्रेको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १-० ले पराजित हादै बाहिरिएको थियो । पछि इटलीले नै त्यस विश्वकप जितेको थियो ।

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो ।

पहिलो खेलमा फ्रान्ससँग ४-१ ले पारजित भएको अष्ट्रेलियाले त्यसपछिको दुई खेलमा ट्युनिसिया र डेनमार्कलाई पराजित गरेको हो ।

अष्ट्रेलियाले अब समूह सी को विजेतासँग अन्तिम १६ मा खेल्नेछ । समूह डी मा दोस्रो हार बेहोरेको डेनमार्क भने १ अंक जोड्दै पूछारमा रहेर बाहिरियो ।

 



source https://www.onlinekhabar.com/2022/11/1226857

Tuesday 29 November 2022

समूह डी बाट फ्रान्ससँगै को अगाडि बढ्ला ?

१४ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।

यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ ।

अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ र ट्युनिसिया विरुद्ध जित वा बराबरीले फ्रान्स समूह विजेता बन्नेछ ।

अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेमा फ्रान्स पराजित भए पनि समूह विजेता बन्नेछ । यदी फ्रान्स ट्युनिसियासँग पारजित भएमा र अष्ट्रेलियाले डेनमार्कलाई पराजित गरेमा दुवैको समान ६ अंक हुनेछ र गोलअन्तरका आधारमा समूह विजेता निर्धारण हुनेछ ।

दुई खेलबाट १ अंक मात्र जोडेको ट्युनिसियाको लागि भने अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्नका फ्रान्सलाई हराउनैपर्नेछ भने डेनमार्क र अष्ट्रेलियाको खेल बराबरी हुनुपर्नेछ ।

अर्को खेलमा डेनमार्कसँग खेल्ने अष्ट्रेलिया जित हात पारे अन्तिम १६ मा पुग्नेछ । अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ र यदी फ्रान्सले ट्युनिसियालाई हराएमा डेनमार्कसँग बराबरी खेल पनि अष्ट्रेलिया अन्तिम १६ मा पुग्नेछ । ट्युनिसिया समान १ अंक रहेको डेनमार्कको लागि भने अष्ट्रेलिया विरुद्धको खेल जित्नैपर्नेछ भने फ्रान्सले ट्युनिसिया विरुद्ध हार टार्नुपर्नेछ ।



source https://www.onlinekhabar.com/2022/11/1226462

मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

१४ मंसिर, पोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो ।

दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका  विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।

‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा धनुषवाण (आर्चरी), छेलोलगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ । ‘महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछ,’ पाण्डेले भने ।

यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा बहस पनि गरिनेछ ।

संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी र वाल क्लाइम्बिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा निःशुल्क प्रवेश गर्न पाइने छ ।

निर्देशक जिनेसका अनुसार यसपटक महोत्सवमा स्थानीलाई नै जिम्मेवारी दिएर अपनत्वबोध बनाउन खोजिएको छ । ‘पर्वतीय क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्छौं, जुन बजारमा आएको छैन,’ उनले भने, ‘प्रचारप्रसार नभएका बस्तुहरु स्टलमा राख्दा त्यहाँ आउने दर्शकहरुले जानकारी पाउनुहुन्छ जसले गर्दा बिक्री वितरण र उत्पादनमा सहयोग गर्छ ।’

महोत्सवको सहसंयोजकमा संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र सदस्य सचिवमा निर्मला न्यौपाने छिन् । मूल आयोजक समिति सदस्य सचिव न्यौपानेले महोत्सवले जनमानसमा पर्वतारोहण पर्यटन सम्बन्धी चेतना अभिवृद्धि गराउन मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । संघका सल्लाहकार गणेश गुरुङले पर्वतीय महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा बौद्धिक बहसमा महत्वपूर्ण भूमिका निभाउने बताए ।

महोत्सव मूल आयोजक समिति सदस्य तथा पोखरा पर्यटक परिषद् अध्यक्ष पोखरामा पर्यटकको संख्या बढाउन पनि महोत्सवले भूमिका खेल्ने बताए । उनले भने, ‘तीन वर्षमा हामीले पर्यटन कसरी डबल बनाउन सकिन्छ भन्ने विषयमा पनि बहसमूलक कार्यक्रम सन्चालन हुँदैछ,’ उनले भने, ‘यस्ता महोत्सव पोखराकै गहनाका रुपमा लिनुपर्छ ।’

यसपटकको अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ राखिएको छ । जसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ ।



source https://www.onlinekhabar.com/2022/11/1226444

अदालतले न्याय दिएन, मतदाताले चुनेर पठाए

१४ मंसिर, काठमाडौं । सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीले ४७६१ मतले कांग्रेस प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गरिन् । चौधरीले ३२ हजार ४१७ मत ल्याउँदा भ्रष्टाचारको आरोपमा निलम्बित समेत पाएका गच्छदारले २७ हजार ६५६ मतमात्रै पाए ।

काठमाडौं–५ मा नेपाल कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निटकतम प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले भन्दा करिव ५ हजार बढी(१५,२६९) मत ल्याएर निर्वाचित भए । पोखरेलले १० हजार १९० मतमात्रै ल्याएका थिए । संखुवासभा–१ मा कांग्रेसका दीपक खड्काले ३२ हजार १५८ मत ल्याई कांग्रेसका राजेन्द्र गौतमलाई करिव साढे ५ हजार मतले पराजित गरे ।

यी तीन जना बीच एउटै समानता छ, झिनो मतान्तर तथा निर्वाचन विवादका क्रममा अघिल्लोपटक पराजित उनीहरुले ५ वर्षसम्म धाँउदा समेत अदालतबाट न्याय पाएका थिएन् । उनीहरु अहिले भारी मतान्तरका साथ निर्वाचित भएका छन् । पौडेल बाहेक अरु दुई उम्मेदवारले त अघिल्लोपटक अदालतमा गएर प्रश्न उठाएका प्रतिस्पर्धी उम्मेदवारलाई नै पराजित गरेका छन् ।

कांग्रेसका पौडेल : पाँच मतले पराजित थिए

कांग्रेस नेता प्रदीप पौडेल अघिल्लोपटक तनहुँ–२(१)बाट प्रदेशसभामा उम्मेदवार थिए । उनी ५ मतको फरकमा पराजित भएका थिए । माओवादी केन्द्रकी आशा कोइरालाले १६ हजार ६४६ मत पाउँदा उनले १६ हजार ६४१ मत पाएका थिए । उनको दावी अनुसार, पाँचवटा मतदान केन्दमा २ हजार ३२८ मत खसेकोमा पछि गणना गर्दा २ हजार ३७० भेटियो ।

कांग्रेस नेता प्रदीप पौडेल

गणना गरिसकेका र गोलाकार भित्र हसिया हथौडा भएका ४२ मत थपेर माओवादी उम्मेद्वार आशा कोइरालालाई निर्वाचित गरिएको उनको दावी थियो । उनले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा भनेका थिए, ‘मतगणना भएपछि राखिएका मतहरु फेरी गन्न तयार भएका मतहरुमा मिसाई गणना गरी आशा कोइरालालाई निर्वाचित गराइएको…।’

उनले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोग विरुद्ध मुद्दा हालेपनि पाँच वर्षसम्म अदालतबाट फैसला भएन । कार्यकाल सकिने भएपछि मुद्दाको औचित्य समेत रहेन । अहिले काठमाडौं–५ बाट उम्मेदवार बनेका उनी भारी मतान्तरले प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

संखुवासभाका दीपक खड्का : छापमाथि विवाद

संखुवासभा–१ का कांग्रेस उम्मेदवार दीपक खड्का पनि अघिल्लो पटक सर्वोच्च अदालत गएका थिए । उनको दावीअनुसार, एमाले उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई धाँधली गरेर निर्वाचित गराइएको थियो र निर्वाचन अधिकृतको कार्यालयको त्यो निर्णय बदर हुनुपर्ने थियो ।

कांग्रेस उम्मेदवार खड्काको रिट निवेदन अनुसार, अघिल्लोपटकको मतगणनामा त्यहाँ मतपत्रमा छाप लगाउने क्रममा आधाजस्तो घेरा आउने देखिएमा त्यो मत सदर गर्ने सहमती बनेको थियो । उनले रुखमा खसेको मत सदर नगरी बदर गरेको आरोप लगाएका थिए । आफ्नो प्रतिनिधिविना मतगणना गरिएको, केरमेट गरी अन्तिममा संख्या मिलाइएको लगायत उनको आरोप थियो ।

२३ हजार ७६९ मत पाएका एमाले उम्मेदवार राजेन्द्र प्रसाद गौतमसँग खड्का १ हजार १३० मतले पराजित थिए । आफूले अदालतमा प्रश्न उठाएका प्रतिस्पर्धीसँग नै खड्का यसपाली पनि निर्वाचनमा भिडे । उनले अहिले फराकिलो मतान्तरले गौतमलाई पराजित गरेका छन् । पाँच वर्षअघि उनले सर्वोच्च अदालतमा पु¥याएको निर्वाचन नतिजा विवाद अहिले पनि विचाराधिन छ । अब भने त्यो मुद्दाको औचित्य सकिएको छ ।

भगवती चौधरी : मिल्दा पराजित, एक्लै जीत

सुनसरी–३ मा अघिल्लोपटक एमाले उम्मेदवार भगवती चौधरीलाई माओवादी केन्द्रको पनि साथ थियो । माओवादी केन्द्रको समेत साथ पाउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् । कांग्रेस उम्मेदवार गच्छदारले त्यतिबेला ३८ हजार ९७२ मत पाएका थिए ।

त्यतिबेला उनी गच्छदारसँग ३२१ मतले पराजित थिइन् । अहिले भने एमाले एक्लै प्रतिस्पर्धामा हुँदा उनले ३२ हजार ४१७ मत ल्याइन । माओवादी केन्द्रको समेत साथमा हुदा गच्छदारले २७ हजार ६५६ मतमात्रै पाए । गच्छदारमाथि भ्रष्टाचारको आरोप लागेकाले उनको लोकप्रियता खस्केको थियो ।

२०७४ सालको निर्वाचनमा समेत चौधरीले आफूले निर्वाच जित्ने दावी गरेकी थिइन् । गच्छदारले  राज्यशक्तिको दुरुपयोग भएको, धाँधली गरिएको अनि मतगणनामा भेदभाव भएको भनी उनले सर्वोच्च अदालतमा मुद्दा हालिन् । सूर्य चिह्नमा मत हालेका, मसी कम भएका, पूरा स्वस्तिक छाप नभएका थुप्रै मत बदर भए । उनले कतिपय ठाउँमा मतपेटिकामा सुरक्षण सील नभेटिएको, कतिपयको कागजात बेवारिसे भएको आरोप लगाएकी थिइन् ।

सुनसरी–३ मा ३ हजार ६५५ मत बदर भएकोमा सूर्य चिह्नमा लागेर बदर भएको मतमात्रै करिव १६ सय रहेको उनको दावी थियो । जब कि उनलाई निर्वाचित हुन ३२२ मतमात्रै आवश्यक थियो । उनले निवेदनमा भनेकी थिइन्, ‘यसरी मैले प्राप्त गरेको वैध मतलाई कानून विपरीत बदर भनेर मतगणना गरी विजयकुमार गच्छदारलाई जिताउने काम भयो ।’

उनले ११ पुस २०७४ मा सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्, जुन अहिलेसम्म पनि सुनुवाइ भएन । आधा कार्यकाल सकिदै गर्दा निर्वाचित सांसद गच्छदार भ्रष्टाचार मुद्दाका कारण निलम्बन भई पदबाट निष्कृय भए । अदालतले पाँच वर्षको अवधिमा पनि यो विवाद निरुपण गरेन । मुद्दा नटुंगिदै उनी अर्को निर्वाचनबाट पुरानै प्रतिस्पर्धी गच्छदारलाई पराजित गरेर सांसद बनेकी हुन् । अदालतबाट नपाएको न्याय उनले मतदाताबाट पाइन् र निर्वाचित भइन् ।



source https://www.onlinekhabar.com/2022/11/1226422

विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक अवसरबाट चुक्यो इरान

१४ मंसिर, काठमाडाैं । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ ।

खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । यस प्रक्रियामा उनी इरानका गोलरक्षक अलिरेजा बेरन्बन्दसँग जुध्न पुग्दा धेरै समयसम्म मैदानमै उपाचार गर्नुपरेको थियो । उनलाई पहिलो हाफपछि सब्स्टिच्युड गरिएको थियो ।

यो यस्तो खेल थियो जहाँ दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । अन्तिम १६ मा पुग्न इरानका लागि बराबरी नै काफी थियो । तर, खेल अबधिभर उनीहरुले एकपल्ट मात्र अमेरिकाको पोष्टमा आक्रमण गर्न सके ।

दोस्रो हाफमा सुधारिए पनि इरानले गोल गर्न सकेन । खेलको इन्जूरी समयमा इरानले सबैभन्दा राम्रो अवसर पाएको थियो । मुर्तजा पौरालिगान्जीको फ्रिकक प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

अन्तिममा इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपमा नकआउट चरणमा पुग्यो । अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान अहिलेसम्म पहिलो चरणबाट माथि उठ्न सकेको छैन । यसपल्ट उनीहरुका लागि सबैभन्दा सहज र ठूलो अवसर थियो । किनभने समूहचरणको खेलमा इरान इंग्ल्याण्डसँग हारे पनि वेल्सलाई २(० गोलले हराएको थियो । अन्तिम खेलमा बराबरीकै नतिजा उसका लागि पर्याप्त थियो ।



source https://www.onlinekhabar.com/2022/11/1226407

‘एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्ने निर्णयमा सहमति छैन’

१३ मंसिर, काठमाडौं । चुनावी नतिजा सार्वजनिक भइरहँदा सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले फेरि पार्टी एकताको सम्वाद थालेका छन् । सोमबार मात्र दुई दलका शीर्ष नेताहरुबीच पूर्व सहमतिअनुसार पार्टी एकता प्रक्रिया अघि बढाउन छलफल भएको छ ।

तर माओवादीसँग पार्टी एकता गर्ने नेतृत्वको तयारीप्रति एकीकृत समाजवादीमा असन्तुष्टि देखिएको छ ।

पार्टीमा तेस्रो वरियतामा रहको नेता मुकुन्द न्यौपाने, एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्न नहुने बताउँछन् । देशमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उनले भने, ‘त्यसरी (एकता) गर्ने हो भने ठिकै छ, नत्र एमालेलाई किन बाहेक गर्ने ?’

यदि आफूहरुको मतलाई नसुनि एकता गरे आफू चाहिँ माओवादीसँग नजाने न्यौपानेले बताएका छन् ।

प्रस्तुत छ, एकीकृत समाजवादीका नेता न्यौपानेसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं आजको पार्टी बैठकमा किन नजानुभएको ?

एकदमै छोटो समयको अन्तर पारेर मोबाइलमा म्यासेज पठाइयो । त्यसरी त मिटिङमा जाने समय नै पुग्दैन । हेटौंडा आउनुपर्ने भएकाले म पनि हिँडे ।

तपाईं केही समयदेखि पार्टी नेतृत्वभित्र असन्तुष्ट हो ?

निर्णय गर्दाखेरि नेतृत्वले धेरै कुरा विचार पुर्‍याउनुपर्छ । अहिले जुन गठबन्धनमा बस्ने काम भइरहेको छ, यसलाई मैले ठगबन्धन भन्ने गरेको छु । किनभने कांग्रेसमाथि भरोसा गर्न सकिँदैन भनेर मैले पहिल्यै भनेको थिएँ । माओवादीको पनि एउटा पक्षमाथि भरोसा गर्न सकिँदैन ।

मेरो कुरा सुन्ने काम भएन । उल्टै स्थानीय चुनाव सकिएपछि एकीकृत समाजवादीले एमाले बाहेकका कम्युनिस्टहरुसँग एकता गर्ने निर्णय भयो । जुन पार्टीमा मनमोहन अधिकारीदेखि मदन भण्डारीसम्म एक ठाउँ आएर पार्टी चलाए, त्यो पार्टीलाई बाहेक गरेर कम्युनिस्ट एकता कसरी हुन्छ ? मेरो भनाइ एमाले, माओवादीसहित सबै कम्युनिस्टसँग एकताको लागि कुरा गरौं । तर मलाई मिटिङको थाहै नदिई खुसुक्क एमालेबाहेक मिलाएर एकता गर्ने भन्ने पास गरेछन् साथीहरुले । आम कार्यकर्ताको गुनासो थियो, स्थानीय चुनावमै हामीलाई माओवादीबाट असहयोग भयो । अहिले आम कार्यकर्तालाई थाहै नभई पार्टी एकता भन्दै हिँड्न हुन्छ ?

त्यसैले तपाईँ बैठकमा नजानुभएको ?

खबरै ढिलो आउँछ भन्या । कसरी मिटिङ भ्याउन सकिन्छ ? पार्टीको बैठक भन्ने कुरा पनि अकस्मात् बस्ने कुरो हो र !

तपाईंका अरु असन्तुष्टि के हुन् ?

समानुपातिकको सूची बनाउँदा पनि ध्यान पुर्‍याइएको छैन । घनेन्द्र बस्नेत, केदार न्यौपानेजस्ता तीसको दशकमा नेता भइसकेकाहरुको नाम समानुपातिकको दुई र तीनमा पठाइयो, प्रमेश हमालजीलाई अगाडि राख्ने काम हुन्छ यहाँ । त्यो पनि मलाई जानकारी नगराई भएको हो । अनि स्थायी कमिटीका कतिपय मान्छे र प्रदेश इन्चार्जलाई नै थाहा नदिई यस्तो काम गर्ने हो साथीहरुले ?

कम्युनिस्ट पार्टीमा यस्तो चलिरहन्छ नि, होइन ?

झापामा सीपी मैनालीले यस्तै अपारदर्शी गरे, व्यक्तिवादी भयो भनेर यो बाटो छाडौं भनियो । केपी ओलीजीहरुले समेत साथ छाडेकै हो नि ! व्यक्तिवादी हुन भएन भन्दाभन्दै फेरि ओलीजीको विरोध गर्नुपर्ने स्थिति आयो । तर ओली हुन नपाएर पो पार्टी फुटाएका हुन् कि हाम्रा साथीहरुले ? आजभोलिको परिस्थिति हेर्दा त्यस्तै लाग्छ । एकीकृत समाजवादी भित्रको विधि पद्दति के हो ? एमालेको २७ लाखजति भोट नाघ्न आँटिसक्यो, हाम्रो तीन लाख पुर्‍याउनै यत्रो धौ धौ छ । खोई हाम्रो समीक्षा ?

यस्तै कारणले गर्दा माओवादीसँग एकता गर्ने छलफल चलिरहेको हो ?

त्यही दुईवटा अध्यक्ष बनाउने, अनि चलाउने भन्ने होला । त्यो चल्दैन । नेकपा बनेकै बेला दुईवटा अध्यक्ष बनाउने भनेपछि स्थायी कमिटी बैठकमा मैले पन्चतन्त्रको भारुण्ड पंछीको कथा सुनाइदिएको थिएँ ओली र प्रचण्डलाई । टाउका दुईटा, जीउ एउटा गर्दा हामी समेतको पखेटा सबै झर्नेछ भनेको थिएँ । अहिले त्यस्तै भयो । त्समाथि माओवादीसँगको एकता पब्लिकले समेत रुचाउँदैनन् । मैले पहिल्यै पार्टीमा यो कुरा राखेको थिएँ । तर चुनावपछि माओवादीसँग एकता गर्ने भनेर सकुर्लर पठाएछन् । हुन त जसको बुद्धि जति छ, त्यसले त्यति नै गर्ने हो ।

माओवादीसँग पहिले मिल्दा हुने, अहिले मिल्न किन नहुने हुन्छ र ?

एउटा देश, एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्छु म । त्यसरी गर्ने हो भने ठिकै छ । नत्र एमालेलाई किन बाहेक गर्ने ? उसलाई एकतामा ल्याउने हो भने मेरो समर्थन हुन्छ ।

तपाईंको फरक मत हुँदाहुँदै एकता भयो भने ?

साथीहरु कसरी जान्छन्, हेरौं न । म चाहिँ माओवादीसँग जानेवाला छैन ।



source https://www.onlinekhabar.com/2022/11/1226387

Monday 28 November 2022

फेस्टिभलका प्रमुख जुरीले ‘कश्मीर फाइल्स’लाई प्रपोगाण्डा र अश्लील भनेपछि बलिउडमा तरंग

काठमाडौं । विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला पुनः चर्चामा छ ।  फिल्म निर्माता नदाव लेपिड र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (आईएफएफआई)का प्रमुख जुरीले फिल्मलाई ‘भल्गर प्रपोगाण्डा’ बताएपछि बलिउड तरंगित बनेको छ ।

भारतका लागि इजरायली राजदूतले समेत यो फिल्म प्रपोगाण्डा भएको बताएका छन् । ‘द कश्मीर फाइल्स’ले ९० को दशकमा कश्मीर घाँटीमा त्यहाँका हिन्दू पण्डितमाथि भएको बर्बरता र पलायनको घटनालाई चित्रण गर्छ । बलिउडमा यो फिल्म यस वर्षकै सर्वाधिक नाफा कमाउने फिल्म समेत बनेको छ ।

गोवामा आयोजित ५३ औं फिल्म फेस्टिभल समापन कार्यक्रममा बोल्दै नदाव लेपिडले उक्त बयान दिएका थिए । उनले बोलिरहँदा मञ्चमा केन्द्रीय मन्त्री अनुराग ठाकुरसहित केही ठूला नेता उपस्थित थिए ।

नदाव लेपिडले भने, ‘द कश्मीर फाइल्स हेरेपछि हामी स्तब्ध र डिस्टर्ब थियौं । यो फिल्म हामीलाई भल्गर र प्रपोगाण्डाजस्तो लाग्यो । यति ठूलो फिल्म फेस्टिभललाई यो फिल्म ठीक थिएन । म आफ्नो भावनालाई खुलेर बाँडिरहेको छु । हामी आलोचनालाई स्वीकार्छौं र त्यसमाथि चर्चा पनि गर्छौं । यो इभेन्टमा कश्मीर फाइल्सबाट हामी सबै चिन्तित भयौं । यो सबैलाई हैरान बनाउने फिल्म थियो ।’

यतिबेला सामाजिक सञ्जालमा लेपिडको भिडियो भाइरल बनिरहेको छ । अभिनेता अनुपम खेरदेखि अशोक पण्डितसम्म उक्त अभिव्यक्तिको विरोधमा उत्रिएका छन् । दर्शन कुमारले फिल्म अश्लीलतामाथि नभएर वास्तविकतामा आधारित भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि द कश्मीर फाइल्सको प्रशंसा गरेका थिए । उनले यस्तो खालका फिल्म बन्न जरुरी भएको भन्दै यसले सत्य बाहिर आउने बताएका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1226007

त्रिभुवन विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी चालकको प्रदर्शन

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार बिहान विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन् ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।

पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी ८० रुपैयाँ पुर्याइएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन् । प्रदर्शनको नेतृत्व जिफन्टसँग आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गरेको छ ।

त्रिभुवन विमानस्थलमा मल्होत्राको कम्पनीको रजगज



source https://www.onlinekhabar.com/2022/11/1225950

झापामा प्रदेशभन्दा प्रतिनिधि सभातर्फको बदर मत बढी   

१३ मङ्सिर, झापा । झापामा प्रतिनिधि सभाको भन्दा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् ५.८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् ५.४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधि सभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।

उgले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७.८१ मतमध्ये ५.९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव ६५ मतमध्ये ६.९९ प्रतिशत, क्षेत्र नं ६७.५२ मतमध्ये ४.६४ मत बदर भएको छ ।

यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव ५६ मतमध्ये ६.२१ प्रतिशत, क्षेत्र नं ५ मा ६४.१६ प्रतिशत मत खसेकामा ५.४५ प्रतिशत गरी प्रतिनिधि सभामा कुल मत बदर प्रतिशत ५.८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ (१)मा खसेको ६७ दशमलव ८० मतमध्ये ५.७२ प्रतिशत, (२) मा खसेको ६७.८२ मतमध्ये ५.२७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं २ को (१)मा ६५ दशमलव नौ प्रतिशत खसेको मतमा ९.४६ प्रतिशत, (२) मा खसेको ६५.२३ मतमध्ये ६.६९ मत बदर भएको छ । क्षेत्र नं ३ को (१) खसेको ६७.३६ प्रतिशत मतमध्ये ४.३४ मत, (२)मा खसेको ६८.६४ मतमध्ये ४.३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ ।

यसैगरी क्षेत्र नं ४ को (१) का ६२.५१ प्रतिशत मतमध्ये ५.८ प्रतिशत (२) मा खसेको ६६.७ प्रतिशतमध्ये ५.२७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४.८४ मत र (२) मा खसेको ६३.९७ प्रतिशत मतमध्ये ४.१२ मत बदर भएको कार्यालय प्रमुख निरौलाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/11/1225924

मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी   

१३ मङ्सिर, म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।

मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० भएको छ । सरदर प्रतिकिलो ११० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् ।

जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए । ‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो’, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’

कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए ।

यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् ।

यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकुल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताए । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी, समूह, निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।

समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ ।

उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन् ।



source https://www.onlinekhabar.com/2022/11/1225922

विश्वकपः पोर्चुुगल अन्तिम-१६ मा, उरुग्वे समूहबाटै बाहिरिने खतरा

१२ मंसिर, काठमाडौं । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले बल आफ्नो टाउकोलाई छोएर गोल भएको दावी गरे पनि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नोले नै गोलकर्ताको मान्यता पाए ।

खेलमा पोर्चुगल हावी भए पनि उरुग्वेले बराबरीको केहि अवसर गुमाएको थियो । पहिलो हाफमा रोड्रिगो बेन्टाकरको उत्कृष्ट प्रहार पोर्चुगिज गोलरक्षक डिओगो कोस्टाले बचाएका थिए । दोस्रो हाफमा म्याक्सी गोमेजको प्रहार पोष्टमा लागेपछि उरुग्वेले बराबरीको सुन्दर मौका गुमाएको थियो ।

इन्जूरी समयमा पोर्चुगलले पेनाल्टी पायो । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले उरुग्वेका जोसे जिमिनेजले बक्सभित्र ह्याण्ड गरेको भन्दै दिएको पेनाल्टीलाई बुर्नोले गोलमा परिणत गरेका थिए ।

खेलको अन्तिम सेकेण्डमा बुर्नो आफ्नो पहिलो विश्वकप ह्याट्रिकबाट चुके । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

यो खेलको दोस्रो हाफमा बहुरंगी झण्डासहित एक व्यक्ति मैदान प्रवेश गरेका थिए । उनले सेभ युक्रेन, इरानी महिलाका लागि सम्मानजस्ता नारा लेखिएको टी-शर्ट लगाएका थिए ।

यो हारपछि दुईपल्ट विश्वकप जितेको उरुग्वे यसपल्ट समूह चरणबाटै घर फर्किने खतरा बढेको छ । नकआउट चरणमा प्रवेश पाउन उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नुपर्नेछ भने पोर्चुगलले दक्षिण कोरियालाई हराउनुपर्नेछ ।



source https://www.onlinekhabar.com/2022/11/1225917

बालेनको प्रतिरोध गरिरहेको सुकुम्बासी बस्ती

१२ मंसिर, काठमाडौं । आफ्नो बसेरा भत्काउन अघि बढेको सरकारी डोजर रोक्न बस्ती छिर्ने बाटोको मुखैमा टायर बालिएका छन् । बस्ती भत्काउन डोजर लिएर आएको नगर प्रहरीको प्रतिरोध गर्न बस्तीवासीले ढुंगा–इँटाका टुक्रा थुपारेका छन् । बस्तीका बलिया पुरुष, महिला सडकमा खटिएका छन् । बाँकी रहेकाहरू बस्तीको रक्षार्थ तैनाथ छन् ।

सरकारको नजर अवैधानिक हो, थापाथलीको बागमती किनारमा रहेको बस्ती । बागमती सभ्यता विकास समितिको नजरमा यसले शहरको सभ्यतामाथि फोहोर पारेको छ । यहाँ बस्नेहरूका लागि भने यो बस्ती फोहोर होइन, घर–बसेरा हो । त्यही घर बसेरामा डोजर चलाउ बालेन शाह मेयर रहेको काठमाडौं महानगरपालिका र र बागमती सभ्यता विकास समिति कस्सिएको छ ।

डोजर रोक्ने नाममा सुकुम्बासी बस्तीमा बसेकाहरु भने पेट्रोल बम बनाइरहेको समेत देखियो । एक हुल युवासँग मिलेर बोतलमा पेट्रोल खन्याइरहेका कमल लामा आक्रोशित सुनिन्छन्, ‘बस्तीको भोट चाहिने, हामी नचाहिने ?’

हुन पनि चुनाव सकिएको एक साता नबित्दै सुमुम्बासी बस्तीको दृश्य बदलियो । चुनावको बेला हरेक उम्मेदवार दुई हात जोड्दै भोट माग्दै आएका थिए । सुकुम्बासी समस्याको दिर्घाकालीन समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए । चुनावको मत गणना सकिँदा नसकिँदै घर टहरा भत्काउन डोजर आएको छ ।

१७ वर्षदेखि यही बस्तीमा बसिरहेको बताउने लामाले बस्तीको रक्षार्थ एक हातमा ढुंगा र अर्को हातमा लट्ठी समाएका छन् । ५६ वर्षे लामा बोतलमा पेट्रोल भरिरहेका युवालाई निर्देशन दिंदै भन्छन्, ‘तयार भएर बस है केटा हो ।’

जोडर लिएर आएको नगर प्रहरीलाई अवरोध गर्न भनेर आफ्नै घरको छानामाथि राखिएका पुराना टायर निकालेर सल्काइरहेका छन्, युवाहरू । घरको छानो उजाडेर, पेट्रोल बमको खतरा मोलेर बस्ती जोगाउने यो संघर्षमा महिला, पुरुष, युवा, बालबालिका सबै दत्तचित्त भएर लागेका छन् ।

सुन्तली राईको २१ वर्षीय दाजु, बुबाको अन्त्येष्टि रोकेर बस्ती बचाउन भन्दै घरमा भएको खन्ती (गल) बोकेर हिँडेका छन् ।

उनीहरूका  बुबा भीमको आइतबार राति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । रातिदेखि सुन्तलीकी आमा मनमाया अस्पतालमै छिन्, बुबाको अन्त्येष्टिका लागि आफन्तहरु पनि बोलाएकी थिइन् । ‘विहानैबाट डोजर चल्ने हल्लाले दाइ अस्पताल गएको छैन, बुबा अन्त्येष्टि पनि भएको छैन,’ सुन्तलीले गहभरी आँसु पार्दै भनिन्, ‘दाइ र म मिलेर सबै सामान बाहिर ल्याएर राखेका छौं ।’

सन्तली जस्तै पीडा, आक्रोश र राज्यले बारम्बार गरेको अपमानविरुद्ध असन्तुष्टि ओकलिरहेका छन् महिलाहरू । स्कुल गएका आफ्ना केटाकेटीलाई साँझ कहाँ राख्ने भनेर चिन्ता गर्दैछन्, आमाहरू । ‘हामीलाई धपाएर के पाउने रै’छ त्यसले’ महानगरका मेयर बालेन साहको नाम लिंदै, प्रमिला भन्छिन्, ‘मनमा हरि नभएको !’

उनले घरभित्रबाट ओढ्ने, ओछ्याउने, खाने, पकाउने सबै सामान निकालिसकिन् । घर भत्काइहालेमा ती सामान कहाँ लगेर राख्ने ? कहाँ ओत लाग्ने ? प्रमिला मात्र होइन यो बस्तीमा कसैसँग जवाफ छैन ।

काँधमा बोकेको झोला भुईंमा बिसाउँदै उनले नागरिकता देखाउँदै प्रश्न गरिन्, ‘मैले यो देशमा बस्न नपाउनु ? म यो देशको मान्छे होइन ?’ यो प्रश्नसँगै उनका आँखाबाट आँशु पनि झरे ।

अनि त्यसपछि उनले प्रश्न होइन एकोहोरो गाली गरिन् । गाँस, बास र कपास मान्छे भएर जन्मिएपछि पाउनुपर्ने आधारभूत अधिकार हो । प्रमिला र उनी जस्तै सयौं मानिसले बासको अधिकार खोज्दै चिच्याउन थालेको वर्षौं भयो । आफ्नो चिच्याहट कसैले नसुनेपछि यो बस्ती यतिखेर गालीगलौजमा उत्रिएको छ ।

यो बस्तीका लागि सनातनी ‘उपहार’ हो, पीडा । राज्यदेखि सबैतिरबाट यो बस्तीले पाउने अपमान मात्रै हो । छाक टार्न मजदुरी गरेर साँझ फर्किंदा घर भत्किसकेको हुन्छ कि भन्ने त्रासमा घाम डुब्छ यहाँ । यो त्रासले घाम मात्र होइन मान्छेको ज्यानै पनि लिन्छ ।

८ दिन भयो मनोज नेपालीको बुवा बितेको । मनोज कि आमा पवित्रा र मनोज किरियामा बसेका छन् । मनोजका बुवा भक्तबहादुर नेपाली प्रेसरका रोगी थिए । सरकारले २५ कात्तिकमा १० दिनभित्र बस्ती भत्काउँछु भनेपछि भक्तबहादुरको तनाव बढ्यो । मनोज भन्छन्, ‘त्यो सूचना आएपछि बुवा तनावमा हुनुहुन्थ्यो । घर भत्काएपछि के गर्ने, कसो गर्ने भनेर बुवा चिन्ता मानिरहनुहुन्थ्यो ।’

‘त्यही चिन्ताले लग्यो उहाँलाई’, पवित्रा नेपालीको बोली अवरुद्ध भयो । ८ जनाको परिवार छ, मनोजको ।

दिनभर त जसोतसो गरेर बस्ती जोगाएका छन् । ‘डर त रातिको छ’ सञ्जिता कुईंकेल चिन्ता सुनाउँछिन्, ‘राति डोजर ल्याउँछ भन्ने सुनेका छौं । राति त लड्न पनि सकिँदैन ।’ घर जोगाउन भनेर यो बस्ती रातभर बिउँझै बस्नेछ ।

स्थानीयका अनुसार थापाथलीको ‘सुकुम्बासी बस्ती’ मा ५० जिल्लाका नागरिक छन् । राज्यको आधारभूत सेवा–सुविधाबाट वञ्चित यो बस्तीलाई डर भनेकै राज्यसँग हो । काठमाडौंको शहरी रौनकमा ‘आउटसाइडर’ बनेको यो बस्ती समावेशिता र एकताको गज्जब दृष्टान्त पनि हो ।

यहाँ विभिन्न जात, समुदाय र धर्मका मानिस एकआपसमा घर मात्रै होइन, मन पनि जोडेर बसेका छन् । किनभने सबैको बाध्यता, दैनिकी र भोगाइ उस्तै छ । त्यसैले सरकारसँग जुध्न उनीहरू एकजुट भएर लागिरहेका छन् । ‘मरे मरौंला म छाड्दिँन’ कमल भन्छन् ।

दुई दशकदेखि बागमती किनारको थापाथलीमा छ, यो बस्ती । करिब डेढ करोड वर्गकिलोमिटर क्षेत्रफलको यो देशमा आफ्नो नाममा एक टुक्रा पनि जमिन नभएकाहरूको आश्रयस्थल हो, यो बस्ती । यो आश्रयस्थललाई डोजर आतंकले त्रसित बनाएको यो पहिलो पटक भने होइन ।

यो बस्ती हटाउन भनेर २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि डोजर चलाएका थिए । भट्टराई सरकारले इचंगुनारायणमा गरिब तथा सुकुम्बासीका लागि भन्दै अपार्टमेन्ट भवन बनाउन लगाएका थिए । तर, ती भवन अहिले ‘भूत बंगला’ भएका छन् ।

राज्यबाट अनागरिकको व्यवहार खेपिरहेको यो बस्तीले शहरी शोभा घटाएको दाबी गरिन्छ । ‘रामराज्य’मा यो बस्तीले व्यवधान खडा गरेको आरोप लगाइन्छ । तर, सञ्जिताको प्रश्न छ, ‘हामीले नै यिनका घर बनाउन मजदुरी गर्दिनुपर्छ । यिनका घर बनाउन हामीले नै नङ्ग्रा खियाउनुपर्छ । हामी जस्ता गरिब नहुने हो भने कसले गर्छ यिनको काम ?’

सरकारी सुविधाको नाममा बिजुली मात्र बाल्न पाउँछ यो बस्तीले । बिजुलीले बस्ती उज्यालिए पनि महसुल तिर्ने समयमा भने अनुहार अँध्यारो हुन्छ । अरूले बिजुलीको शुल्क प्रतियुनिट १२ रुपैयाँ तिर्दा थापाथलीका सुकुम्बासीले भने २० रुपैयाँ तिर्नुपर्छ ।

नदी किनारमा बसोबास गर्ने भूमिहीनहरू राज्यको मूलधारबाट पनि किनारमै हुन्छन् । न्यूनतम सेवा–सुविधाबाट पनि वञ्चित हुन्छन् भन्दै ‘भुइयाँ’ पुस्तकमा पत्रकार यज्ञश लेख्छन्, ‘नेपालमा भूमिको उपयोग खालि खेतीका लागि मात्रै हुँदैन । यो सम्पत्ति र प्रतिष्ठाको पनि विषय हो । घर बनाउने वा वासस्थानका लागि पनि जमिन आवश्यक हुन्छ । जसको जमिन छैन, उसले खेती गर्न नपाउने मात्रै होइन, निश्चित वासस्थान पनि बनाउन सक्दैन ।’

नेपाल बसोबास बस्ती संरक्षण समाजको तथ्यांकअनुसार सन् २००५ सम्म काठमाडौं उपत्यकामा साना–ठूला गरी ६४ वटा सुकुम्बासी बस्ती थिए । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७३ सालमा सार्वजनिक एक प्रतिवेदनले काठमाडौंमा १ हजार ४६५ परिवार सुकुम्बासीका रूपमा बसिरहेको देखाउँछ । सुकुम्बासी समस्या समाधानका लागि भनेर सरकारले दर्जन बढी आयोग बनाइसक्यो ।

सुकुम्बासी बस्तीमाथि डोजर चलाउन सरकारले हरेक वर्ष कि जाडो मौसम रोज्छ कि बर्खा । २०७७ को पुसमा काठमाडौंको गैह्रीगाउँमा र सिरहामा रहेको बस्तीमा डोजर चलाइयो ।

२०७६ को फागुनमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल हेलिकप्टर चढेर सुकुम्बासी बस्ती भत्काउन महोत्तरी पुगेकी थिइन् । २०७६ को फागुनमै विराटनगरको सुकुम्बासी बस्तीमा डोजर चलाइयो ।

२०७७ को साउनमा चितवनको माडीमा रहेको बस्तीमा सरकारले आगो लगायो, हात्ती पसायो । २०७६ को असार अन्तिम साता कैलालीमा सुकुम्बासी बस्ती हटाउन सरकारी डोजरसँगै भाडाका गुण्डा परिचालन गरियो ।

कतिपयले भन्ने गर्छन्, ‘सरकारी जग्गामा घर बनायो भने भत्काइने खतरा त हुन्छ नै ।’

आधारभूत सेवा, सुविधा विनै यसरी छाप्रो बनाएर बस्नेहरू; पीडा र अपमान सहँदै टालटुल गरेर बनाइएका छाप्रामा जीवन हुर्काउनेहरू- जोसँग घर, रोजगार, पैसा केही पनि नभएका यी को हुन् ? किन आउँछन् यस शहरको सौन्दर्य बिगार्न ?

यीसँग केही छैन तर, एउटा कुरा छ— त्यो हो, न्यायको अधिकार । मानवीयताको अधिकार । यिनीहरूको त्यो अधिकार, नामको अगाडि ‘अधिकार’ झुण्ड्याएको बागमती सभ्यता एकीकृत विकास समिति मात्र होइन कसैले पनि खोस्न सक्दैन ।

आफ्नो त्यही अधिकारको रक्षा गर्दै ‘अभिभावक’ हुनुपर्ने राज्य बारम्बार जाइलाग्न थालेपछि सुकुम्बासी बस्ती प्रतिवाद गर्न बाध्य भएको हो ।



source https://www.onlinekhabar.com/2022/11/1225886

सुन र चाँदीको मूल्य घट्यो

१२ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय, तेजावी सुनको मूल्य ९७ हजार र चाँदीको मूल्य १ हजार २८५ कायम भएको छ ।

आइतबार सुनको मूल्य ९७ हजार ८ सय, तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ थियो ।



source https://www.onlinekhabar.com/2022/11/1225507

Sunday 27 November 2022

प्रतिनिधि सभामा विजयी रमेश रिजाललाई चाँदीको मुकुट

११ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका थिए । रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । उपाध्यक्ष मन्जु देवी पनि नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजेशमान सिंहलाई पनि तत्कालीन सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाइदिएका थिए ।

वि.सं. २०७४ को निर्वाचनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा प्रदीपलाई पनि विजय जुलुसका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा एक समर्थकले चाँदीको मुकुट लगाइदिएका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1225447

विश्वकपमा डेब्यू गोल गरे पनि क्यानडा समूह चरणबाट बाहिर

११ मंसिर, काठमाडौं । क्यानडा कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ ।

आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा विश्वकपको डेब्यू गोल गर्दै क्रोएसियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा क्यानडा ४-१ ले पराजित भयो ।

पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा लगातार दोस्रो हारपछि अंकविहीन छ ।

क्रामारिचको दुई गोल

पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेपछि दवावमा परेको साविक उपविजेता क्रोएसियाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्दा आन्द्रे क्रामारिचले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमै क्यानडाका अल्पोन्सो डेभिसको गोलबाट क्रोएसिया पछि परेको थियो । तर, क्रामारिकले इभान पेरिसिचको पासमा ३६ औं मिनेटमा बराबरी गोल फर्काए ।

५५औं मिनेटमा मार्कोलिभाजाले जुरानोभितको पासमा गोल गर्दै क्रोएसियालाई पहिलो हाफमै २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा क्रोएसियाले थप दुई गोल गर्‍यो । क्रामारिचले ७०औं मिनेटमा पेरिसिचकै पासमा व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी टाइममा लोभरो मेजरले माटेओ कोभासिसको पासमा गोल गर्द क्रोएसियालाई ४-१ को जित दिलाए ।

क्रोएसिया सहज स्थितिमा, बेल्जियमलाई कठिन

पहिलो खेलमा गोल गर्न नसकेको क्रोएसिया दोस्रो खेलमा जितपछि समूह एफमा दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । क्रोएसिया अन्तिम १६ मा पुग्नका लागि सहज अवस्थामा समेत छ ।

क्रोएसियाले अब अन्तिम खेलमा बेल्जियमसँग खेल्नेछ । उक्त खेलमा हार टारे मात्र पनि क्रोएसियाले अन्तिम १६ मा स्थान बनाउनेछ । आइतबारै भएको खेलमा मोरक्कोसँग २-० ले पराजित भएको बेल्जियमको दुई खेलबाट ३ अंक छ र तेस्रो स्थानमा झरेको छ ।

क्रोएसियाको जितपछि बेल्जियमलाई अन्तिम १६ मा पुग्न पनि कठिन हुने देखिएको छ । बेल्जियमले अब आफ्नो खेल जित्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । क्रोएसियासँग पराजित भए बेल्जियम समूह चरणबाटै बाहिरिनेछ ।

उता मोरक्को भने क्रोएसिया समान ४ अंक जोडेर दोस्रो स्थानमा छ । यदी क्रोएसिया र बेल्जियमले बराबरी खेलेमा मोरक्को पनि क्यानडासँग हार टार्ने अन्तिम १६ मा पुग्नेछ ।

डेब्यू गोलका बाबजुद विश्वकपबाट आउट

क्यानडाको लागि आइतबारको दिन मिश्रित रह्यो । विश्वकपमा डेब्यू गोल गरेको क्यानडा त्यही खेलपछि नै विश्वकपबाट बाहिरियो ।

यसअघि आयोजक कतार घरेलु मैदानमै लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिने पहिलो टिम बनिसकेको छ ।

विश्वकपका क्यानडा लागि पहिलो गोल गर्दे कीर्तिमान बनाएका अल्फोन्सो डेभिसले जारी विश्वकपमा सबैभन्दा छिटो गोल गरे । उनले ताजोन बुचानानको पासमा खेल सुरु भएको ६८ सेकेण्डमै हेडमार्फत गोल गरेका थिए ।

दोस्रो पटक विश्वकप खेलिरहेको क्यानडा पहिलो खेलमा बेल्जियमसँग १-० ले पराजित हुँदा डेभिसले डेभिसले नै पेनाल्टी गुमाएका थिए ।

सन् २००० मा घाना शरणार्थी शिविरमा जन्मेर ५ वर्षको हुँदा क्यानडा पुगेका डेभिसले क्यानडाका लागि विश्वकपमा पहिलो गोल गर्ने इतिहाससमेत रचे ।

क्यानडाले विश्वकपमा गोल खाता खोले पनि अहिलेसम्म जितविहीन छ । उसले विश्वकपमा एक अंक पनि जाेड्न सकेकाे छैन ।

सन् १९८६ मा पहिलो पटक विश्वकप खेल्दा क्यानडा समूहको तीनवटै खेल हार्दै बाहिरिएको थियो । उक्त विश्वकपमा फ्रान्स, शोभियत रुस र हंगेरीसँग क्यानडा पराजित भएको थियो ।

क्यानडाले जारी विश्कपमा अन्तिम खेल मोरक्कोसँग खेल्नेछ ।



source https://www.onlinekhabar.com/2022/11/1225424

विश्वकपमा क्यानडाको पहिलो गोल, ६८ सेकेण्डमै डेभिसले गोल गरे

काठमाडौं । क्यानडाले फिफा विश्वकप फुटबलमा आफ्नो पहिलो गोल गरेको छ । कतारमा जारी विश्वकप अन्तर्गत आइतबार क्रोएसिया विरुद्धको खेलको सुरुमै क्यानडाले गोल गर्दै अग्रता लिएको हो ।

अल्फोन्सो डेभिसले खेल सुरु भएको ६८ सेकेण्डमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका छन् । यो गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोल हो ।

दोस्रो पटक विश्वकप खेलिरहेको क्यानडा पहिलो खेलमा बेल्जियमसँग १-० ले पराजित भएको थियो । उक्त खेलमा क्यानडाका डेभिसले नै पेनाल्टी गुमाएका थिए ।

विश्वकपमा आफ्नो देशको लागि पहिलो गोल गर्ने खेलाडी पनि उनै डेभिस बने । त्यो पनि खेलको सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै इतिहास रचे । सन् १९८६ मा पहिलो पटक विश्वकप खेल्दा क्यानडा समूहको तीनवटै खेल हार्दै बाहिरिएको थियो । उक्त विश्वकपमा फ्रान्स, शोभियत रुस र हंगेरीसँग क्यानडा पराजित भएको थियो ।

 



source https://www.onlinekhabar.com/2022/11/1225411

आफ्नै भान्सामा यसरी बनाउन सकिन्छ मुस्ताङे आलु

बालबच्चालाई छिटो-छरितो खाजा बनाइदिनुपर्‍यो, के गर्ने ?

घरमा कोही आगन्तुकलाई सत्कार गर्नुपर्‍यो, के गर्ने ?

पारिवारिक जमघटमा कोही शाकाहारी छन्, के गर्ने ?

यी सबैको एकमुष्ट विकल्प हो, मुस्ताङे आलु । छिटो पनि मीठो पनि । न धेरै सरसामग्री जुटाउनुपर्ने, न त बनाउनका लागि झन्झट मोल्नुपर्ने । एकदमै सजिलो परिकार हो यो । त्यसो त अहिले रेस्टुरेन्टको मेनुमा पनि औधी रुचाइएको छ मुस्ताङे आलु ।

मुस्ताङे आलु कसरी तयार गर्ने ?

मुस्ताङे आलु भनेपछि त्यहींको माटो र हावापानीमा उत्पादित आलु नै हो । तर यस्तो आलु सर्वत्र पाउन सम्भव नहोला । यस्तो अवस्थामा मुडेको आलु, भुटाने आलु पनि प्रयोग गर्न सकिन्छ ।

सामग्री 

आलु, कर्नफ्लोर, मैदाको पिठो, नुन, बिरे नुन, धुलो खुर्सानी, ओरगानो, रोजमेरी, तेल, बटर, लसुन, प्याज, जिराको भुलो, मरीच, टिमुर, रातो धुलो खुर्सानी, हरियो धनियाँ । ओरगानो, रोजमेरी, तुलसीको पात आदि मार्टहरुमा सजिलै पाइन्छ ।

बनाउने तरिका

-मझौला आकारको आलु लिने । आलुलाई राम्ररी पखाल्ने र त्यसलाई चार टुक्रामा काट्ने र पानीमा डुबाएर राख्ने ।

-भाँडोमा एक लिटर पानी राखेर उमाल्ने र उम्लिएको पानीमा १ चिया चम्चा नुन हाल्ने ।

-काटेर राखिएको आलुलाई त्यो उम्लिएको पानीमा हालेर तीन मिनेटसम्म आधा पाक्ने गरी पकाउने ।

-एउटा भाँडोमा झिकेर राख्ने । त्यसमा अलिकति चिसो पानी हालेर छोड्ने ।

-एउटा कचौरामा तीन टेबल चम्चा कर्नफ्लोर र तीन टेबल चम्चा मैदा राख्ने । अब त्यसमा एक चिया चम्चाको एक चौथाइ नुन, एक चौथाइ बिरे नुन, धुलो खुर्सानी आधा चिया चम्चा, ओरगानो आधा चिया चम्चा, रोगमेरी आधा चिया चम्चा, घरमा रोजमेरी र ओरीगानो छैन भने त्यसको सट्टामा जिरा धनियाँको धुलो राख्न सकिन्छ ।

-यी सबै सामग्रीलाई पिठोमा हालेर राम्ररी मिश्रण गर्ने र त्यसअघि चिसो पानीमा राखिएको आलुलाई पिठोमा हालेर राम्ररी चलाएर तीन मिनेट छोडिदिने ।

-ग्याँसमा एउटा प्यान बसालेर त्यसमा ३०० एमएल तेल राख्ने त्यो आलुलाई तेलमा राखेर फ्राइ गर्ने र निकाल्ने ।

-ठूलो तीनवटा केस्रा लसुन, एउटा मध्यम आकारको प्याज, ४० ग्राम हरियो धनियाँलाई मसिनो गरी काट्ने ।

-फेरि अर्को प्यानमा एक टेबल चम्चा बटर राख्ने त्यसमा लसुन राख्ने र लसुनको काँचो बास्ना हराएर अलि अलि खैरो हुने गरी भुट्ने र त्यसपछि प्याज राख्ने प्याजलाई पनि हल्का खैरो हुने गरी भुट्ने ।

-अब त्यसमा एक चिम्टी नुन, एक चिम्टी बिरे नुन, एक चौथाइ मरीच, एक चौथाइ जिरा, एक चौथाइ रातो धुलो खुर्सानी र एक चौथाइ टिम्बुर पनि राख्ने अब त्यसलाई राम्ररी चलाएर धनियाँ राखेर आलु राख्ने ।

-त्यो आलुलाई मध्यम आगोमा एक छिन ‘टोस्ट’ एक छिन पकाउने । यसो गर्दा मसला आलुमा राम्ररी टाँसिन्छ ।

-बच्चाहरूको लागि यो मुस्ताङे आलु तयार गर्दै हुनुहुन्छ भने त्यसमा खुर्सानी र टिम्मुर अझै कम राख्ने ।

-लगभग ३० मिनेटमा यो मुस्ताङे आलु तयार भयो । अब यसलाई सर्भ गर्न सकिन्छ । यो खाजा बालबालिकादेखि वृद्धावृद्धालाई पनि मन पर्छ ।

(काठमाडौंको गहनापोखरीस्थित निम्बु रेस्टुरेन्टकी सञ्चालिका योगीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)



source https://www.onlinekhabar.com/2022/11/1225158

Saturday 26 November 2022

रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले विजयी

११ मंसिर, रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् ।

एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।

यस्तै, प्रदेश सभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ मत पाए । श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतान्तरले मतले पराजित गरेका हुन् ।

प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् ।

चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३ मत पाए ।

यसपटक रामेछापमा खसेको मतको चार हजार ७८१ मत बदर भएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1225080

मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

११ मंसिर, तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।

शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि धरान लैलाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।



source https://www.onlinekhabar.com/2022/11/1225054

भावी सरकारको नेतृत्वका लागि रामचन्द्रको कसरत

११,मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् ।

पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् ।

पौडेल निकट एक नेताका अनुसार उनको सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने ।

पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए । महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यसले सभापतिमा दबाब परेको छ,’ पौडेल निकट नेता भन्छन्,’आफ्नो विकल्पमा संसदीय दलमा रामचन्द्रलाई अघि सार्ने सम्भावना पनि छ ।’

नेता पौडेल र निधिबीच भएको संवादमा छलफल जारी राख्ने सहमति बनेको छ ।

पौडेल तनहुँ १ बाट निर्वाचित भई काठमाडौं आएसँगै भावी सरकारको नेतृत्वका लागि भेटघाट र छलफल अघि बढाएका छन् । नयाँ सरकारको नेतृत्वको चाहना पार्टीभित्र सभापति देउवा, महामन्त्री थापा, नेताहरु पौडेल, डा शेखर कोइराला, विमलेन्द्र निधि, डा शशांक कोइरालालगायत आकांक्षी छन् ।

शनिबार नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो । गठबन्धनकै सरकारलाई निरन्तरता दिने दुई नेताबीच सहमति बनेको थियो । साथै, सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक छिट्टै बोलाउने दुई नेताले निर्णय गरेका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटमा नेता पौडेलले माओवादीले धोका दिन्छ कि भन्ने आशंका राखेका थिए । माओवादी वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको देउवाले आश्वस्त पारेका पौडेल निकट नेताले जानकारी दिए ।

समाचार तयार पार्दासम्म मत गणनामा कांग्रेसले प्रत्यक्ष तर्फ ५२ सिटमा जितेको छ भने ४ क्षेत्रमा अग्रता लिइरहेको छ । आयोगले निकालेको पछिल्लो तथ्यांक अनुसार कांग्रेसले समानुपातिकतर्फ २१ लाख ७४ हजार ६०५ मत ल्याएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धन झिनो बहुमततिर अघि बढेको छ ।



source https://www.onlinekhabar.com/2022/11/1225049

सुनसरी १ मा रोचक प्रतिस्पर्धा, पुन: गोमाको अग्रता

११ मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ ।

मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाउने र तोड्ने क्रम चलिरहेको छ ।

यसअघि केही समय जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् ।

गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् ।

यस्तै,  समाचार तयार पार्दासम्म माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९९००, स्वतन्त्र मनोजकुमार मेयाङ्गबोले ६७२८ र राप्रपाका अशोक कुमार राई ५८९१ मत पाएका छन् । सुरुमा राप्रपाका अशोकले पनि अग्रता लिएका थिए ।

 

 

 



source https://www.onlinekhabar.com/2022/11/1225043

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित

१० मंसिर, इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।



source https://www.onlinekhabar.com/2022/11/1225036

Friday 25 November 2022

एमालेका कुसियैतभन्दा ज्ञानेन्द्रबहादुर कार्की १७६ मतले अगाडि

१० मंसिर, सुनसरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका हुन् ।

कार्कीले २२ हजार  ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए ।



source https://www.onlinekhabar.com/2022/11/1224835

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !

१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।

अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।

फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका रहेको छ ।

फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’

उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।

उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम)मा पनि शंका गरेको छ । ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फेाटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ । अरु ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न गरेको छ ।

फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् । ‘

हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्वीर प्रकाशित भएको थियो । उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।



source https://www.onlinekhabar.com/2022/11/1224820

मोरङ ३ भानुभक्तसँग बदला लिंदै कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

१० मंसिर, काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई पराजित गरेका थिए । यो पटक डाक्टर शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिए ।  शर्मा नोबेल मेडिकल कलेज विराटनगरको सञ्चालक हुन् ।
शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् । ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।  राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमै सीमित भइन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।
प्रदेश सभा  ३(१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् । एमाले उम्मेदवार दिलिप राईले १४ हजार ८१७ मत पाएका छन् ।

मोरङको ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समावादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरे । सुवेदीले १७ हजार ७२८ मत ल्याएका थिए । श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।

 



source https://www.onlinekhabar.com/2022/11/1224813

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

१० मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका शवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११  मत पाए ।



source https://www.onlinekhabar.com/2022/11/1224520

नयाँ संसदमा ५० वर्ष माथिकै नेताको बर्चस्व

९ मंसिर, काठमाडौं । काठमाडौं-२ बाट जितेकी २७ वर्षीया सोविता गौतम प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदमा सबैभन्दा कम उमेरकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी थिइन् । तर सत्ता गठबन्धन र विपक्षी एमालेका बलिया उम्मेदवारलाई पञ्छ्याउँदै गौतमले जितेकी हुन् ।

उनी भन्दा दुई वर्षले जेठा योगेश गौचन थकालीले मुस्ताङबाट प्रतिनिधिसभा सदस्य जितेका छन् । बुवा रोमीको उत्तराधिकारीका रुपमा योगेश नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए । योगेशले २०७४ सालमा बुवाका प्रतिस्पर्धी रहेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् ।

अहिलेसम्म निर्वाचित भएका मध्ये जुम्लाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही पनि कम उमेरकै नेताभित्र पर्छन् । राप्रपाका प्रवक्तासमेत रहेका शाही ३० वर्षका छन् । यसपछि ललितपुर–३ बाट जितेकी तोसिमा कार्की कम उमेरकी सांसद हुन् । उनी ३३ वर्षकी भइन् ।

बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक भएको १२८ मध्ये अरुणकुमार चौधरी (३७), हरि ढकाल (३९), रञ्जिता श्रेष्ठ (३९), अमनलाल मोदी (३७), ज्वालाकुमारी साह (४०) र महेश बर्तौला (४०) छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार, बाँकी सांसदहरु ४० वर्ष माथिका छन् ।

७० वर्ष नाघेकै सांसदहरुको संख्या ७ छ । अर्थात् ४० मुनिका सांसद र ७० नाघेका सांसदको संख्या झण्डै हाराहारी छ । केपी शर्मा ओली (७०), डा. शेखर कोइराला (७२), सर्वेन्द्रनाथ शुक्ला (७२), नवल किशोर साह सुडी (७३), ध्रुबबहादुर प्रधान (७३), शेरबहादुर देउवा (७७), रामचन्द्र पौडेल (७८), चित्रबहादुर केसी (८०) र महन्थ ठाकुर (८०) ले चुनाव जितेका छन् ।

सवैभन्दा धेरै सांसद भने ५० देखि ६० वर्ष उमेर समूहका छन् । १२८ मध्ये यो उमेर समूहका नेताको संख्या ५० जना छ । ४० देखि ५० वर्ष उमेर समूहका प्रत्यक्ष निर्वाचित सांसदको संख्या ३६ छ । ६० देखि ७० वर्षसम्मका सांसद संख्या ४२ छ ।

यदि ५० वर्षलाई मानक मान्ने हो भने ५० भन्दा बढी उमेर समूहका सांसद संख्या धेरै हुन्छ । १२८ मध्ये ९२ जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।

निर्वाचन आयोगको आंकडा अनुसार १२८ नवनिर्वाचित सांसदको उमेर समूह ।

उमेर (वर्ष)  सांसद संख्या
२५–३०
३१–४०
४१–५० २६
५१–६० ५०
६१–७० ३५
७१ र माथि
शुक्रवार अपरान्हसम्म १२८

यो चुनावमा प्रतिनिधिसभा तर्फको १६५ सदस्यका लागि २ हजार ४१२ जना उम्मेदवार थिए । त्यसमध्ये ७५९ जना ४० वर्ष मुनिका थिए । यो उमेर समूहका उम्मेदवार स्वतन्त्र धेरै थिए । दलहरुबाट ४०३ उम्मेदवार हुँदा स्वतन्त्र उम्मेदवार ३५६ थिए । तर उम्मेदवारी दिएकामध्ये शुक्रबार रातिसम्म यो उमेर समूहबाट १० जनाले मात्रै जितेका छन् ।

यो संख्या २०७४ मा जितेको भन्दा थोरै हो । त्यसबेला ४० वर्षमुनिका १४ जनाले प्रत्यक्ष जितेका थिए भने २२ जना समानुपातिकबाट आएका थिए । आयोगका अनुसार, ०७४ भन्दा यसपटक युवा उम्मेदवारी नै कम परेको थियो ।

०७४ को चुनाव भन्दा २०६४ को संविधानसभामा थोरै युवा आएका थिए । त्यो चुनावमा ३० वर्ष मुनिकै ५२ सभासद थिए । गोमा पाठक, गीता ठगुन्ना, उमा गोथे थकालीको उमेर ३० भन्दा कम थियो । पाठक र ठगुन्ना माओवादीबाट समानुपातिक सांसद हुँदा २५ वर्षकी थिइन् भने गोथे २६ वर्षकी ।

२०७० को चुनावमा भने ३० वर्षभन्दा कम उमेरका सांसद दुई जना मात्रै थिए, सरिताकुमारी यादव र पेम्बा गुरुङ (भोटे) । तत्कालीन मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक) कि समानुपातिक सांसद सरिताकुमारी यादव २५ वर्षकी थिइन् । त्यो चुनावमा प्रत्यक्ष निर्वाचित हुनेमा भने अभिशेकप्रताप साह थिएन । उनले ३१ वर्षकै उमेरमा जितेका थिए ।

त्यसबेला ४० वर्ष मुनिका ५७ सांसद थिए । ९ जना प्रत्यक्ष निर्वाचित भएका थिए । ४० देखि ५० वर्ष उमेर समूहका ५८ सांसद थिए भने ५० माथिका २०९ जना सांसद थिए । सभामुख ओनसरी घर्तीमगर सभामुख हुँदा ३६ वर्षकी मात्रै थिइन् ।

२०७४ को संसदमा भने दैलेखकी पार्वती विशंखे सवैभन्दा कम उमेरकी सांसद बनिन् । उनी सांसद हुँदा ३१ वर्षकी मात्रै थिइन् । एमालेकै विमला विक, माओवादीका अमनलाल मोदी र रामकुमारी चौधरी पनि कम उमेरका सांसद थिए । ४० वर्ष मुनिका सांसदमा शान्तिमाया पाख्रिन, गंगा चौधरी सतगौंवा, ओनसरी घर्तीमगर, विना मगर, सत्य पहाडी लगायत थिए ।



source https://www.onlinekhabar.com/2022/11/1224748

Thursday 24 November 2022

नवलपरासी-२ बाट राप्रपा ध्रुवबहादुर प्रधान निर्वाचित, देवेन्द्रराज कंडेल पराजित

९ मंसिर, नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

 



source https://www.onlinekhabar.com/2022/11/1224282

बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित

९ मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् ।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो भएका छन् ।

जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत पाएका छन् ।

 



source https://www.onlinekhabar.com/2022/11/1224234

काभ्रेबाट प्रदेशसभाका लागि चुनिए लामा र वादे

९ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोक १ र २ नम्बर निर्वाचन क्षेत्र ‘ख’का नतिजा सार्वजनिक भएका छन् । काभ्रे-१ बाट प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका तिर्थ लामाले ३ मतान्तरले जित हात पारे ।

उनले १९ हजार २८० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामाले १९ हजार २७७ मत पाएर पाराति हुनुपर्‍यो ।

यस्तै काभ्रे क्षेत्र नं २ प्रदेश सभा -ख) तर्फ कांग्रेसका कन्चनचन्द्र बादे ४ हजार ७८मतान्तरले विजयी भएका छन् । वादेले २६ हजार ३५ मत पाउँदा एमालेका कुमार थापाले २१ हजार ९६७ मत पाए ।



source https://www.onlinekhabar.com/2022/11/1224204

पर्सामा कांग्रेस–एमालेको कम्ब्याक, मधेसी दल कमजोर

८ मंसिर, वीरगञ्ज । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट पर्सामा नेपाली कांग्रेसले बिग्रँदो स्थितिमा सुधार गरेको छ । २०७४ को निर्वाचनमा ४ वटै निर्वाचन क्षेत्र गुमाएको कांग्रेसले यसपटक दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित्दै स्थितिमा सुधार गरेको हो ।

पर्सामा जनता समाजवादी पार्टी र एमालेले पनि एक/एक वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हात पारे ।

पर्सा–१ बाट जसपाका प्रदीप यादव, २ बाट कांग्रेसका अजय चौरसिया, ३ बाट एमालेका राजकुमार गुप्ता र ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित भए ।

८ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा नेपाली कांग्रेस र २ वटामा जसपाले जित्दा माओवादी केन्द्र, लोसपा र स्वतन्त्र उम्मेदवारले एक/एक वटा निर्वाचन क्षेत्र जिते । जसपाका दुई, लोसपा र नेपाली कांग्रेसका १/१ जना गरी ४ जना प्रदेश सभा सदस्य भने पुरानै दोहोरिएका छन् ।

पर्सा–१ (१) बाट माओवादी केन्द्रका रहबर अन्सारी, पर्सा–१ (२) बाट जसपाका लालबाबु राउत, पर्सा–२ (१) बाट कांग्रेसका श्याम पटेल, पर्सा–२ (२) बाट लोसपाका रमेशप्रसाद कुर्मी निर्वाचित भए ।

पर्सा–३ (१) बाट स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवाल, पर्सा–३ (२) बाट कांग्रेसका जनार्दन सिंह क्षेत्री, पर्सा–४ (१) बाट शंकर प्रसाद चौधरी र पर्सा–४ (२) बाट जनता समाजवादी पार्टीका सिंगासन साह कलवार निर्वाचित भएका छन् ।

मधेसी दल एक नहुँदा परिणाम उल्टियो

०७४ को निर्वाचनमा मधेश केन्द्रित दल तत्कालिन संघीय समाजवादी फोरम र राजपाले गठबन्धन गरेका थिए । जसका कारण प्रदेशसभाका ८ मध्ये ६ सिटमा उनीहरुले जित हासिल गरेका थिए भने २ सिट कांग्रेसले जितेको थियो ।

२०७९ सम्म अइपुग्दा मधेश केन्द्रित दलहरु आफैं एक ठाउँमा बस्ने स्थितिमा भएनन् । संघीय समाजवादी फोरम र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी बने पनि पछि विभाजन भएर जसपा र लोकतान्त्रिक समाजवादी नामका अलग अलग दुई पार्टी भए ।

नेताहरुबीचको विवादका कारण दुई दल आपसमा मिल्ने अवस्था भएन । त्यसैले जसपाले नेकपा एमालेसँग र लोसपाले सत्तारुढ गठबन्धनसँग आपसमा तालमेल गरे । जसले गर्दा उनीहरु आफ्नै प्रभाव क्षेत्रका कतिपय सिट ठूला पार्टीसँग भागवण्डा गर्नुपर्ने अवस्थामा पुगे ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट पर्सा–३ मा जितेका हरि नारायण रौनियार भ्रष्टाचार मुद्धा परेपछि निलम्बित भए । पर्सा–२ बाट निर्वाचित बिमल श्रीवास्तवले चुनाव नलड्ने घोषणा गरे ।

तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य जनत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिए । प्रल्हाद गिरी गोश्वामी लोसपा, एमाले हुँदै एकीकृत समाजवादी पार्टीमा गएर लडे ।

अब्दुल रहिम अन्सारी एमालेबाट उम्मेदवार बने । लोसपाका महानगर अध्यक्ष रहेका ओम प्रकाश सर्राफले हाम्रो नेपाली पार्टीमा गएर उम्मेदवारी दिए ।

मधेस केन्द्रित दलमा आवद्ध नेता कार्यकर्ताहरुमा पार्टी सिद्धान्त भन्दा व्यक्तिगत महत्वकांक्षा बढी देखिएकोले स्थिति बिग्रेको कतिपयको विश्लेषण छ भने कतिपयले मधेस केन्द्रित दलले गठबन्धन गर्दा ध्यान पुर्‍याउन नसकेको प्रतिक्रिया दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा उम्मेदवार हेरफेर गर्दा पार्टी कमजोर देखिएको बताउँछन् ।

‘पुरानै क्षेत्रमा उठ्दा प्रदेश सभा सदस्यमा रमेश कुर्मी दोहोरिएका छन्’, उनले भने ‘क्षेत्र नं ४ बाट १ मा आएका कारण पुराना नेता लक्ष्मणलाल कर्णले नराम्रो हार बेहोर्नुपर्‍यो ।’

जसपा पर्साका सचिव तवरेज अहमद अवस्था र परिस्थिति अनुसार गठबन्धन गरिएको भएपनि परिणाम उल्टो आएको बताउँछन् ।

‘एक्लै लड्दा सम्मानजनक मत ल्याउन सक्ने स्थिति थियो । एमालेसँग चुनावी तालमेल गरेपनि भोट परिवर्तन हुन सकेन ।

गठबन्धनको मत जोडेर ५० प्रतिशत मात्रै शक्ति सञ्चय गर्न सक्यौं’ उनले भने ‘एकातिर हतारमा गठबन्धन भयो, अर्कोतिर आन्तरिक कलहले पनि काम गर्‍यो । एमाले, कांग्रेसबाट आएका नेतालाई हराउनुपर्छ भन्ने मानसिकता पार्टीभित्रै देखियो ।’

राजनीति शास्त्रका पूर्व प्राध्यापक देवेन्द्र मिश्र पनि यसपटकको गठबन्धन मधेस विद्रोहबाट उदाएका मधेसकेन्द्रित दलका लागि अनुकुल नदेखिएको बताउँछन् ।

‘कम सिट दिएपछि जसपा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेतिर आयो । कहिले कता कहिले कता हुँदा मधेसवादी दल मधेसको मुद्दा सम्बोधन गराउन भन्दा सत्ताका लागि बढी लाग्छन् भन्ने जनमानसमा प¥यो’ उनले भने ।

उनी अघि भन्छन्, ‘यसपटकको गठबन्धन मधेसी दलका लागि अनुकुल थिएन, काँग्रेस, एमालेपनि मधेसवादी शक्ति कमजोर हुन भन्ने नै चाहन्थे ।’

जसपाको राजनीतिक समिति सदस्य समेत रहेका मिश्र कार्यकर्ता तहमा मधेसवादी दल एक हुनुपर्छ भन्ने आवाज उठेको भएपनि नेतृत्वको व्यक्तिगत अहमका कारण हुन नसकेको बताउँछन् ।



source https://www.onlinekhabar.com/2022/11/1224195

गण्डकीबाट प्रतिनिधि सभामा कांग्रेसको वर्चश्व, एमाले खुम्चियो

८ मंसिर, पोखरा । २०७४ सालमा गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एक सिटमा खुम्चिएको नेपाली कांग्रेसले यसपटक वर्चश्व कायम गरेको छ ।

शुक्रबार साँझसम्म प्राप्त मत परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसले ७ ठाउँमा जित निकालेको छ भने दुई ठाउँमा फराकिलो मतान्तरले अगाडि छ ।

२०७४ मा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव लडेको छ । २०७४ सालमा भने गण्डकी प्रदेशमा डा. शशांक कोइरालाले मात्र चुनाव जितेका थिए ।

कांग्रेसले मनाङ, मुस्ताङ, म्याग्दी तथा स्याङ्जा, नवलपुर, गोरखामा १÷१ सिट र तनहुँमा २ सिटमा जित निकालेको छ ।

नेपाली कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली, म्याग्दीमा खमबहादुर गर्बुजा, गोरखा–१ मा राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जित निकालेका छन् ।

अघिल्लो पटक गण्डकीबाट कांग्रेसको शाख जोगाएका शशांक कोइरालाले यसपटक पनि नवलपुर–१ मा जित दोहो¥याएका छन् । नवलपुर–२ मा पनि नेपाली कांग्रेसकै विष्णुकुमार कार्की निर्वाचित भएका छन् । स्याङ्जा–१ मा कांग्रेसका राजु थापाको अग्रता कायम छ ।

०७४ सालमा एमालेले जितेको तनहुँ १ र २ मा पनि नेपाली कांग्रेसले जित निकालेको छ । तनहुँ १ मा रामचन्द्र पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई हराउँदै छटौं जित निकाले । तनहुँ २ मा २८ वर्षपछि एमाले उम्मेदवारलाई हराउँदै कांग्रेसका शंकर भण्डारीले जित निकाले । २८ वर्षपछि एमाले गढ भत्काएको भन्दै उनलाई २८ किलोकै माला पहि¥याइएको थियो ।

अघिल्लो पटक प्रतिनिधि सभामा १० सिट जित्दै वर्चश्व राखेको नेकपा एमाल भने शुक्रबार साँझसम्म ३ सिटमा खुम्चिएको छ । बाँकी २ सिटमा अग्रता लिइरहेको छ । पछिल्लो नतिजाअनुसार नेकपा एमालेले लमजुङ, कास्की र पर्वतमा मात्रै आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ ।

लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराउँदै नेकपा एमालेका उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विजयी भए ।

कास्की २ मा विद्या भट्टराईले आफ्नो अघिल्लो विरासत जोगाउन सफल भइन् । त्यस्तै, पर्वतमा पदम गिरीले पनि आफ्नो जित दोहो¥याए । मत गणना भइरहेको कास्की क्षेत्र नं. १ र ३ मा नेकपा एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

अघिल्लो निर्वाचनमा ३ सिट पाएको नेकपा माओवादीले यसपटक २ सिटमा झरेको छ । गोरखा २ बाट नेकपामा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र बागलुङबाट शिक्षामन्त्री देवेन्द्र पौडेलले मात्रै आफ्नो सिट सुरक्षित गर्न सके । देवेन्द्र अघिल्लो पटक पनि सोही क्षेत्रबाट चुनाव जितेका हुन् ।

बागलुङ १ मा सत्ता गठबन्धन घटक राष्ट्रिय जनमोर्चाले एउटा सिट जितेको छ । उक्त क्षेत्रमा जनमोर्चाका चित्रबहादुर केसीले जित निकालेका हुन् ।

गण्डकीमा स्याङ्जा क्षेत्र नं. २ मा मात्रै मतगणना गर्न बाँकी छ । उक्त चुनाव क्षेत्रका ४ मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरी मृत्यु भइसकेको नाममा पनि मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ । उक्त ठाउँमा नेकपा एमालेकी पद्मा अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

पछिल्लो नतिजाअनुसार गण्डकी प्रदेश सभामा समेत नेपाली कांग्रेस पहिलो स्थानमा छ । २७ ठाउँको नतिजा आउँदा नेपाली कांग्रेस १४ स्थानमा जित निकालेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ७, नेकपा माओवादी ४, नेपाल समाजवादी र स्वतन्त्रले १÷१ ठाउँमा जित निकालेका छन् । ६० सिट भएको प्रदेश सभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक सिट छ ।



source https://www.onlinekhabar.com/2022/11/1224178

Wednesday 23 November 2022

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार आङ्बो दोस्रो पटक निर्वाचित

८ मंसिर, विराटनगर । पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको एकल दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए ।

एमाले उम्मेदवार नेम्वाङले १२ हजार ६०५ मत पाएका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1223519

माओवादी महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

८ मंसिर, लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए ।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ ।

निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो । कूल खसेकोमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1223474

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

८ मंसिर, डोटी । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी  ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

कुल १ लाख २४ हजार ८७० मतदाता रहेकामा ६३ हजार ५५२ मत खसेको थियो, जसमध्ये ४ हजार ९६९ मत बदर भए ।



source https://www.onlinekhabar.com/2022/11/1223475

खोटाङबाट प्रदेशसभामा एमालेका पाँचकर्ण राई निर्वाचित

खोटाङ, ७ मंसिर । खोटाङको प्रदेशसभा (१) बाट नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई निर्वाचित भएका छन् ।

संविधानसभा सदस्य रहिसकेका उनले नेकपा (एकीकृत समाजवादी) का बिरवलकाजी राईलाई १ हजार १९२ मतान्तरले पराजित गरे ।

पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाएका छन् । २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पाँचकर्ण राई २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने निर्वाचित भएका थिए ।

यो क्षेत्रमा नेपाली कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएक थिए । सत्तारुढ गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीका वीरबलकाजी राई भए पनि पोखरेलले बागी उम्मेदवारी दिए र ३ हजार १४५ मत ल्याए ।



source https://www.onlinekhabar.com/2022/11/1223468

रोल्पाबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित

८ मंसिर, काठमाडौं । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।

बुधबार राति सकिएको मतगणना अनुसार पुनले ४१ हजार ७१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।

यसअघि २०७४ सालमा रोल्पाबाट माओवादीका पुन नै निर्वाचित भएका थिए । एमालेबाट उम्मेदवार रहेका पूर्ण पनि पूर्व माओवादी नै हुन् ।



source https://www.onlinekhabar.com/2022/11/1223438

Tuesday 22 November 2022

गोरखा अपडेट : प्रदेश सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

उनले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५ को भारी मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १६ हजार ८८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ७६७ मत ल्याए । सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।



source https://www.onlinekhabar.com/2022/11/1222728

काठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् । उनले नेकपा एमालेका श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई पराजित गरेका हुन् ।



source https://www.onlinekhabar.com/2022/11/1222667

काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम निर्वाचित

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले ९ हजार ४४९ मत पाएकी छन् ।



source https://www.onlinekhabar.com/2022/11/1222664

दैलेखबाट प्रदेशसभामा कांग्रेसका खत्री निर्वाचित

७ मङ्सिर, कर्णाली । दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।

खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले  नेकपा (एमाले)का धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे ।

त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत पाए । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।



source https://www.onlinekhabar.com/2022/11/1222651

अन्तत: रोनाल्डोले युनाइटेड छाडे, सम्झौता रद्द

६ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तत: प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् ।

युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ ।

पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यहारले उनी विवादमा समेत तानिएका थिए ।

रोनाल्डोले केही समयअघि एक अन्तर्वार्तामा युनाइटेडले आफूलाई घात गरेको भन्दै क्लबको विपक्षमा बोलेका थिए । रोनाल्डो हाल कतारमा विश्वकप खेल्न पोर्चुगलको टिमसँगै कतारमा छन् ।

युनाइटेडले रोनाल्डोलाई दुई स्पेल ओल्ड ट्राफोर्डमा बिताएकोमा धन्यवाद दिएको छ । रोनाल्डोले युनाइटेडमा कूल ३४६ खेल खेल्दै १४५ गोल गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1222628

सुनसरी-४ मा झिनो मतान्तरले पछि परे मन्त्री कार्की

६ मंसिर, धरान । सुनसरी-४ मा सुरुवाती अग्रता लिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मंगलबार साँझदेखि नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले उछिनेका छन् र झिनो अग्रतालाई कायम राखेका छन् ।

यो क्षेत्रमा जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैत २५० मतान्तरले काङ्ग्रेसका उम्मेदवार कार्कीभन्दा अगाडि छन् ।

कोसी गाउँपालिकाको वडा नं ८ बाट मत गणना सुरु गर्दा कार्कीले अग्रता कायम गरेका थिए । पहिलो १ सय मत गणना गर्दा कार्कीले ४५ र कुसियैतले ३८ मत प्राप्त गरेका थिए ।

कोसीको १ हजार ९७७ मत गणना गर्दा कार्कीले ८५९ र कुसियैतले ६५५ मत पाएका थिए । कोसी-८ पछि इनरुवा नगरपालिका-३ को मतगणना गर्दा कुसियैतले मतान्तर घटाउँदै लगेका थिए । कार्कीले ९३९ मत पाउँदा कुसियैतले १ हजार ३७ मत प्राप्त गरेका थिए ।

रामधुनी नगरपालिका ४ को मतगणना सुरु भएपछि पुनः मन्त्री कार्कीले अग्रता बढाएका थिए । कुसियैतले १ हजार १९१ मत प्राप्त गर्दा कार्कीले १ हजार ३८७ मत पाएका थिए ।

रामधुनी ४ मा खसेको मत भन्दा १० मत बढी भएपछि किचलो हुँदा मत गणना रोकिएको थियो । सोही क्रममा बदर मत १ सय ७२ भएकामा पुनः गणना गरी रुजु गर्दा बदर मत बढेर २ सय २९ पुगेको थियो । किचलो मिलाउन जिल्लाका मुख्य निर्वाचन अधिकृतले उम्मेदवारहरु कुसियैत र मन्त्री कार्कीको दुई पक्षीय छलफल राखी समस्या समाधान गरेका थिए । रामधुनी ४ को मतगणनापछि भोक्राहा नरसिंह १ को मतपेटिका खोलिएको थियो ।

यहाँ मन्त्री कार्कीले २ सय मत प्राप्त गर्दा कुसियैतले ३९८ मत प्राप्त गरेका थिए । प्रभाव क्षेत्रका रुपमा रहेको भोक्राहा नरसिंहमा कुसियैतले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पहिलो चरणमा १२२, दोस्रो चरणमा २२२ र पछिल्लो मत परिणामलाई हेर्दा मन्त्री कार्कीलाई कुसियैतले २५० मतले पछि पारेका छन् ।

चुनावी अङ्क गणित

सुनसरी-४ मा बराहक्षेत्र नगरपालिकाका ६-११ वडा, इनरुवा नगरपालिकाका ३,४ र ८ रामधुनी नगरपालिकाको वडा नम्बर ४, हरिनगर गाउँपालिकाका १-७ वडा, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिका पर्छन्। यो क्षेत्रमा जम्मा ३२ वडा छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै कार्की यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

कांग्रेसका तर्फबाट उनले ३२ हजार ३४७ मत प्राप्त गरेका थिए। वाम गठबन्धनबाट उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश श्रेष्ठले जम्मा २५ हजार ७५० मत प्राप्त गरेका थिए ।  गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतअनुसार सुनसरी ४ कांग्रेसको पकड क्षेत्र हो ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २९ हजार ८१९ मत ल्याएका थिए । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीको ४ हजार २४९ र माओवादी केन्द्रको ३ हजार ९२५ मत रहेको छ। एमालेको २० हजार ९४० मत छ। एमालेसँग तालमेलमा रहेको जसपाको ८ हजार ४०५ मत छ । चुनावी अङ्क गणितलाई हेर्दा उम्मेदवार कार्की अनुकुलताको अवस्थामा देखिन्छन् ।

सुनसरी ४ को संसदीय इतिहास सुनसरी क्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ साल, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा विजय हासिल गरेका थिए । ०५३ सालको उपनिर्वाचनमा भने एमालेका उम्मेदवार कुसियैतले नै जितेका थिए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । ०७४ को निर्वाचनमा भने मन्त्री कार्की यसै क्षेत्रबाट विजयी भएका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1222625

Monday 21 November 2022

सुदूरपश्चिमका १३ क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?

६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । कैलालीसहित प्रदेशका ७ जिल्लाका १३ क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना भइरहेको हो ।

सबै क्षेत्रमा प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार प्रदेशका सत्तारुढ गठबन्धनले ८ क्षेत्रमा अग्रता लिएको छ । कैलाली-४, कञ्चनपुर- २ र ३ अछाम-१ र २, दार्चुला, बैतडी, डडेल्धुरा र डोटीमा सत्तारुढ गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

कैलाली-४ मा एमालेका लेखराज भट्टलाई पछि पार्दै कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरले २ हजार ३४० मतसहित अग्रता लिँदा भट्टले २ हजार ३०३ मतसहित पछ्याइरहेका छन् । कञ्चनपुर- २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता लिएका छन् । तीन हजार १५८ मतको गणनामा साउदले १ हजार ३२७ मत पाएका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले १ हजार २०९ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर-३  मा कांग्रेसकै रमेश लेखक ३ हजार ४०९ मत सहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेकी निरुदेवी पालले २ हजार २६ मत प्राप्त गर्दै पछ्याइरहेकी छन् । दार्चुलामा पनि कांग्रेसका दिलेन्द्रप्रसाद बडुले ४५३ मतसहित अग्रता लिएका छन् । बडुलाई एमालेका गणेशसिंह ठगुन्नाले ३२६ मतसहित पछ्याइरहेका छन् ।

डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा अघि छन् । उनले दुई हजार ७५६ मत प्राप्त गरेर अग्रता कायम राख्दा स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ५२४ मत ल्याएका छन् ।

डोटीमा भने सत्तारुढ गठबन्धनकै नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आलेको अग्रता छ । आलेले ६२२ मत प्राप्त गरेर अग्रता लिँदा एमालेकी गौरी ओली ३३२ मतसहित दोस्रो स्थानमा छन् । उता अछाम- १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले एक हजार ९३१ मतसहित अग्रता कायम राख्दा नेकपा एमालेका झपट बोहराले एक हजार ४५० मत प्राप्त गरेका छन् ।

अछाम- २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह २ हजार ४१६ मतसहित अघि छन् । शाहलाई पछ्याइरहेका नेकपा एमालेका यज्ञबहादुर बोगटीले एक हजार ९२३ मत पाएका छन् ।

कैलालीका तीन क्षेत्रमा भने नागरिक उन्मुक्ति पार्टीले मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेको छ । क्षेत्र नम्बर १ मा पार्टीकी अध्यक्ष पनि रहेकी रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठले सुरुदेखि अग्रता लिइरहेकी छन् । उनले एक हजार ८५७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले एक हजार १९९ मत प्राप्त गरेका छन् ।

यस्तै कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुण चौधरीले २८१ मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका भगत बडुवालले ९४ मतसहित पछ्याइरहेका छन् । कैलाली-३ मा पनि उन्मुक्ति पार्टीकै गंगा चौधरीको अग्रता छ । उनले दुई हजार ८३५ मत पाउँदा माओवादी केन्द्रका कृष्ण चौधरीले एक हजार ८८३ मत पाएका छन् ।

कञ्चनपुर-१ र बैतडीमा भने नेकपा एमालले अग्रता लिएको छ । कञ्चनपुर १ मा नेकपा एमालेका तारा लामा तामाङले एक हजार ७१ मत प्राप्त गरेर अग्रता कायम राख्दा माओवादी केन्द्रकी बिना मगरले ४५९ मत प्राप्त गरेकी छन् ।

बैतडीमा एमालेका दामोदर भण्डारीले एक हजार ८० मतसहित अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका नरेन्द्र कुँवरले सात सय ८५ मत ल्याएका छन् । अहिले पनि यी क्षेत्रमा मतगणना जारी छ ।

यी बाहेक कैलाली क्षेत्र नम्बर ५, बझाङ र बाजुरामा मतगणना भएको छैन ।



source https://www.onlinekhabar.com/2022/11/1221825

काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा निर्वाचित हुने निश्चित भएको छ ।

प्रदेश क्षेत्र १ मा मत गणना अन्तिम चरणमा पुगेको छ । तर गणना हुन बाँकीमतभन्दा बढी उनले अग्रता लिइसकेका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1221785

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ ।

आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी ४५० मत प्राप्त गरेका छन् ।

भक्तपुर-२ को मतगणना भक्तपुरको कोशल्टार र बोडेमा जारी छ ।



source https://www.onlinekhabar.com/2022/11/1221371

Sunday 20 November 2022

काठमाडौं-४ मा मतगणना सुरू

५ मंसिर, काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा  मतगण्ना सुरु भएको हो ।

काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1221219

कांग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ति बुथमा पुन मतदानको माग गरिएको छ ।

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दैछौं । उजुरीमा धाँधली गरिएको व्यहोरा छ ।’ निर्वाचन अधिकृत शर्माले भने ।

स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल लगायत उम्मेदवार छन् ।

 



source https://www.onlinekhabar.com/2022/11/1221064

भक्तपुर २ मा मतगणना जारी

५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

८ मतदान केन्द्रका मतपेटिकाका मतपत्र २ ठाउँमा मिसाएर मतगणना भइरहेको निर्वाचन अधिकृत पराजुलीले बताए ।

भक्तपुर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1221039

एक्जिट पोलको सन्देश : मतदाताले बजाए आक्रोशको घण्टी

एउटा शान्त लहर उठेर आएको छ ‘घण्टी’ को पक्षमा । गणतन्त्र स्थापनापछिको तेस्रो, अनि नयाँ संविधान जारी भएपछिको दोस्रो आम चुनावले परम्परागत संसदीय शक्तिहरुमा अक्षुण्ण रहेको मतभार अन्यत्र सर्दै गएको देखाएको छ ।

अनलाइनखबर डटकमले काठमाडौं उपत्यकाका केही र उपत्यकाबाहिरका केही क्षेत्रमा गरेको एक्जिट पोल तथा विशेष स्थलगत रिपोर्टिङमा नागरिकले व्यक्त गरेको भावनाले यसको प्रष्ट संकेत गरेको छ ।

विगतमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा भोट हाल्दै आएका मतदातामध्ये थुप्रैले यसपल्ट नयाँ पार्टी र उम्मेदवारतर्फ झुकाव देखाएका छन् । तीमध्ये कतिपयले स्वतन्त्र उम्मेदवारहरुलाई समेत अनुमोदन गरेका छन् । सम्भवतः अन्तिम परिणाम आइसक्दा नतिजाको ठूलो हिस्सा कांग्रेस र एमालेकै पोल्टामा हुन सक्ला । तर समानुपातिक प्रणालीतर्फ खसेका मतहरुको समेत सुरुवाती रुझान अध्ययन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो प्रभाव पार्ने प्रष्ट देखिन्छ ।
विगतमा कांग्रेस, एमाले र माओवादीलाई भोट हालेका थुप्रै मतदाताले यसपल्ट रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लाई अनुमोदन गरेका छन् । तुलनात्मक रुपमा एमालेले संगठित मतलाई संरक्षण गर्न सकेको देखिन्छ । तर उसको मत पनि विगतको भन्दा बाँडिएको हाम्रा तथ्यांकहरुले प्रष्टै देखाउँछन् ।

रवि लामिछाने नेतृत्वमा भर्खरै खुलेको यो दलले भ्रष्टाचारमुक्त समाज बनाउने, सुशासन र विकास दिने भनी गरेका वाचातर्फ जनलहर आकर्षित छ । अनि यसभन्दा अघि संसदमा ठूलो हैसियतमा रहेका एमाले, कांग्रेस, माओवादीप्रति नागरिकहरु चरम निराश र आक्रोशित भएको उनीहरुका जवाफले बताउँछ ।

ठूला तीन दलले एकलाई अर्कोको विकल्प भनी अहिलेसम्म अथ्र्याउँदै आएकोमा प्रारम्भिक मत संकेतले हरेक विकल्पको पनि विकल्प छ भन्ने सन्देश दिएको छ ।

विगतका चुनावभन्दा मतदाता अझै चलायमान देखिएका छन् । आ–आफ्ना चुनाव चिह्नलाई दलहरुले पवित्र आस्थाको अभिव्यक्तिका रुपमा प्रचार गर्दै आए पनि मतदाताले यस्तो तर्क मान्न छाडेको देखिन्छ । कतिपयले यसलाई राजनीतिक अस्थिरता र अराजनीतिक सोचसँग जोडेर व्याख्या गरे पनि त्यो आम नागरिकको न्यूनतम चेतनामाथिको अविश्वास ठहर्नेछ ।

काठमाडौं–४ मा पनि मण्डिखाटारस्थित काष्ठमण्डप स्कुल मतदान केन्द्रमा हामीसँग कुरा गर्दै एक स्थानीय महिलाले भनिन्, ‘प्रत्यक्षमा घण्टीका उम्मेदवार थिएनन्, त्यसैले मैले पहिलेकै पार्टीहरुबाट एउटा छानें । समानुपातिकमा चाहिँ घण्टीलाई भोट दिएँ ।’

काठमाडौं-४ कै गणेशस्थान चाबहिलस्थित मतदान केन्द्रमा भेटिएका एक पूर्वकर्मचारीले भने, ‘वर्षौंदेखि एउटै चिह्नमा हाल्ने बानी परेकालाई अर्को चिह्न खोजेर भोट हाल्न हात सर्दो रहेनछ, तर मैले नयाँ चिह्नमै हालें ।’ उनले आफ्नो समानुपातिक भोट घण्टीमा गएको हामीसँग बताए । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेस नेता गगन थापा, एमालेबाट राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा छ । अनलाइनखबरको एक्जिट पोल अनुसार कांग्रेस उम्मेदवार थापाले जित्ने निश्चित छ । यसबारे हामीले छुट्टै रिपोर्ट प्रकाशित गरिसकेका छौं ।

यसअघि ०७४ को चुनावमा ठूला तीन दलमध्ये दुई दल एमाले र माओवादी वाम गठबन्धन बनाएर सँगै चुनावमा गएका थिए । सोही वाम गठबन्धनले ल्याएको लहर अघिल्तिर कांग्रेस प्रत्यक्षतर्फ देशभरिमा तेस्रो बन्न पुगेको थियो ।यसपल्ट कांग्रेस र माओवादी मिल्दा भने मतदातामा सोही किसिमको अनुमोदन गर्ने प्रवृत्ति देखिएको छैन । किनभने ०६४ सालको पहिलो संविधानसभा चुनावयता क्रमशः माओवादी, कांग्रेस र एमालेलाई पालैपालो पहिलो ठूलो दल बनाएका मतदाताले यसपल्ट नयाँ शक्तिका रुपमा रास्वपाका उम्मेदवारलाई भोट हालेका प्रारम्भिक संकेतहरु छन् । संसदीय सिटमा जित निकाल्ने किसिमले मतगणनाको अन्तिमसम्म नतिजा के हुन्छ भन्न सकिँदैन, तर घण्टी चिह्नमा भोट हाल्नेहरुको संख्या निकै ठूलो मात्रामा छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीलगायत अरु दलहरुप्रतिको रुझान निकै कम संख्यामा देखिएको छ ।

सम्भवतः एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादी बनाएका माधव नेपालकै ‘राष्ट्रिय हैसियत’ खुम्चिन पनि सक्छ । अनि माओवादी अध्यक्ष प्रचण्डले दाबी गर्दै गरेको ‘निर्णायक तेस्रो’ हैसियतमाथि प्रश्न उठ्ने पर्याप्त ठाउँहरु ‘घण्टी’ बाहकहरुले राखिदिएका छन् ।

एक्जिट पोल लगायत देशभरि हामीले गरेका प्रारम्भिक सर्वेक्षणको रुझान हेर्दा चालु सत्ता गठबन्धनकै राजनीतिक औचित्यबारे आगामी दिनमा थप प्रश्नहरु उठ्न सक्नेछन् । विगतमा माओवादी र एमाले मिलेर वाम गठबन्धन बनाएको, अझ पार्टी एकता नै गरेको भए पनि प्रष्ट बहुमतको सरकार टिकाउन नसकेको, उल्टै देशलाई राजनीतिक अस्थिरताको शिकार बनाएको घटनाबाट मतदाताहरु वाक्क भएको देखिन्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको चारदलीय गठबन्धनमा भोट ट्रान्सफर हुन नसकेका दृष्टान्त समेत हामीले एक्जिट पोल सर्वेक्षणका क्रममा देख्न पायौं । माओवादी र एकीकृत समाजवादीमा भोट हाल्नेहरुले कांग्रेसको सिट भएका क्षेत्रमा भोट खसालेको, तर कम्युनिस्ट पार्टीका उम्मेदवारलाई कांग्रेस समर्थकले भोट नहालेको हाम्रो सर्वेक्षणका क्रममा प्रष्ट देखिएको छ । यसबारे एकैछिनमा फेरि चर्चा गरिनेछ ।

हामीले ग्लोबल इन्स्टिच्युट अफ् इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) सँग मिलेर एक्जिट पोल गरेका थियौं । एक्जिट पोलको विधिबारे यसअघिका रिपोर्टहरुमा उल्लेख भइसकेको छ ।

एक्जिट पोलका पाँच सन्देश

यस एक्जिट पोलका पाँच सन्देश स्पष्ट छन् ।

पहिलो– यसले आगामी प्रतिनिधिसभा कस्तो बन्नेछ भन्नेबारे पर्याप्त उत्सुकता जगाइदिने छ । दलहरुले चुनावअगाडि अनुमान गरेभन्दा भिन्न किसिमको संसद बन्ने प्रष्ट छ ।

जस्तो कि, चितवन २ बाट विगतमा जित्दै आएका एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई फराकिलो अन्तरले पछि पार्दै रास्वपाका सभापति रवि लामिछाने जित्ने स्पष्ट आँकडा छ । धेरै मतदातालाई स्थापित दलहरुप्रतिको वितृष्णा, अनि विकल्पको थोरै भए पनि अपेक्षाले रवि लामिछानेतर्फ डोर्‍याएको देखिन्छ ।

चुनावको मुखमा रास्वपाले रातारात रणनीति बनाउनुपरेकाले यो दलले पर्याप्त तयारी गर्न पाएन । नत्र प्रत्यक्षतर्फकै समग्र अवस्था उनीहरु स्वयंले कोशिस गरेभन्दा झन् फरक हुनेरहेछ भन्ने आकलन गर्न सकिन्छ ।

दोस्रो– भोट स्थानान्तरण सत्ता गठबन्धनले सोचेजस्तो गरी भएन । सत्ता गठबन्धनभित्रका दलहरुले सोचेझैं मतदाताहरु भोट स्थानान्तरण गर्न तयार देखिएका छैनन् । ललितपुर–३ यसको सबैभन्दा ठूलो उदाहरण हो ।

अनलाइनखबरले गरेको एक्जिट पोलमा धेरै मतदाताले विगतमा भोट हाल्दै आएको चिह्नमा यसपल्ट भोट नहालेको भनेका छन् । यसको अर्थ विगतमा रुखमा भोट हाल्नेले यसपल्ट त्यहाँकी उम्मेदवार पम्फा भुसालको चिह्न गोलाकारभित्रको हसिया हथौडामा भोट हाले भन्ने लाग्दैन ।

बरु विगतमा रुख, सूर्यलगायत चिह्नमा भोट हाल्नेले यसपल्ट विकल्पमा ‘घण्टी’ रोजेको देखिन्छ । यसपालि समेत समानुपातिकमा रुखमा भोट हाल्ने धेरै मतदाताले यसपल्ट प्रत्यक्षमा सत्ता गठबन्धनकी उम्मेदवार भुसाललाई भोट नहालेर रास्वपाकी तोसिमा कार्कीलाई भोट हालेको हाम्रो एक्जिट पोल सर्वेले देखाउँछ ।

कांग्रेसका उम्मेदवार गगन थापा उठेको काठमाडौं–४ मा हामीले भेटेकामध्ये केही माओवादी मतदाताले रुखमा भोट हालेको बताए । तर माओवादी उम्मेदवार पम्फा भूसाल उठेको ललितपुुर–३ मा कांग्रेसलाई विगतमा साथ दिँदै आएका मतदाताले घन्टी अनुमोदन गरेको देखिन्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले सत्ता गठबन्धन बनाएर प्रतिपक्षी एमालेलाई चक्मा दिने योजना बनाए पनि किन सोअनुरुप मत स्थानान्तरण भएको देखिँदैन त ? यो प्रश्न हामीले सोध्यौं, जीआईआईएसका प्रमुख कार्यकारी उत्तमबाबु श्रेष्ठलाई ।

श्रेष्ठले गठबन्धनभित्रैको दल माओवादी केन्द्रले आफ्ना उम्मेदवारका लागि गठबन्धनको मुख्य घटक कांग्रेससहितको दलको मत साटफेर गरी आफूतर्फ ल्याउन नसकेको विश्लेषण गरे ।

अनलाइनखबरको एक्जिट पोल तथ्यांक विश्लेषण गर्दै उनले थपे, ‘माओवादी तर्फका उम्मेदवारले पाउने ठानेको कांग्रेससमर्थकको ठूलो भोट विभिन्न उम्मेदवारलाई बाँडिएको देखिन्छ । ललितपुर–३ मा त अघिल्लो चुनावमा कांग्रेसलाई भोट हाल्ने ५० प्रतिशभन्दा बढीले घण्टीमा भोट हालेको तथ्यांकमा देखियो ।’

तेस्रो–एमाले तुलनात्मक रुपमा सुरक्षित छ । विगतका परम्परागत मतदातालाई यसले समेट्न सकेको देखिन्छ । यति हुँदाहुँदै पनि जसपा, राप्रपा, राप्रपा नेपाल, कांग्रेस बीपी र स्वतन्त्र (चितवन ३) का स्थानीय तालमेललाई छाडेर समग्रमा एक्लै लडेको एमालेको परम्परागत भोटलाई प्रारम्भिक मतसंकेतले केही क्षति पुर्‍याएको छ ।

युवा उद्यमीहरुसँग छलफलदेखि एलओडी पुगेर अध्यक्ष केपी ओलीले र्‍याप चुनावी गीत सार्वजनिक गर्नेजस्ता शहरी तन्नेरी तान्ने प्रयास गरे पनि त्यसले काम गरेको देखिँदैन । किनभने हाम्रो सर्वेक्षणले देखायो– एमालेले ५५ वर्षभन्दा माथिका मतदाताको उल्लेख्य भोट पाउँदै गर्दा २० वर्षदेखि ३५ वर्ष समूहमा यो दलप्रतिको आकर्षण खासै देखिँदैन । ललितपुर–३ र काठमाडौं–५ को मतरुझान हेर्दा यस्तो विश्लेषण गर्न सकिन्छ ।

काठमाडौं–४ र ललितपुर–३ मा प्रत्यक्षतर्फ सूर्यमा भोट हालेकाहरुले समानुपातिकतर्फ घण्टी चिह्नमा भोट हालेको हामीले पाएका छौं । एमाले तुलनात्मक सुरक्षित हुनुको एउटा कारण चाहिँ, गठबन्धन नबनाउनेबित्तिकै समर्थकहरु विकल्पविहीन हुन पुगेको अवस्थासमेत हो ।

चौथो– माओवादीको घट्दो मत । चितवन छाडेर गोरखा जाने चनाखोपन प्रचण्ड स्वयंको हो या कसैले उनलाई सिकायो, उनै जानुन् । तर उनले चितवन छाड्ने निर्णय उनको हितका लागि अनुकुल देखिन्छ । किनभने सर्वेक्षणले देखाइरहेको छ : माओवादी समर्थकको संख्या पहिलेभन्दा झन् घट्दो क्रममा छ । अघिल्लो चुनावमा प्रचण्ड लडेको चितवनमा माओवादी तर्फका थुप्रै मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएको देखिन्छ । यद्यपि उनी विगतमा लडेको चितवन–३ कै समग्र विवरण भने हेर्न बाँकी छ ।

माओवादीभित्र तुलनात्मक रुपमा कम विवादित मानिएकी र मन्त्रिपरिषद्मा जाँदा औसतभन्दा राम्रो कार्यक्षमता प्रदर्शन गरेर पनि पम्फा भुसालले मतदाताहरुलाई आश्वस्त बनाउन सकेकी छैनन् भन्ने हाम्रो एक्जिट पोलले देखाउँछ । अब गणतन्त्र र क्रान्तिकारी परिवर्तनका लागि शहादत दिएको, जेल गएको विगतको विरासत भजाएर राजनीति टिकाउन कठिन छ, नागरिक डेलिभरी चाहन्छन् भन्ने सन्देश स्पष्ट आएको छ, एक्जिट पोलमा ।

पाँचौं– मधेसमा मधेसकेन्द्रित पुराना शक्तिको गिर्दो आधार । अनलाइनखबर टिमले पहिलो मधेस आन्दोलनयता मधेस राजनीतिमा मुख्य रुपमा प्रभावी रहँदै आएका जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र सप्तरी २ मा मतदाताहरुको मन बुझ्ने प्रयास गर्‍यो । यादवविरुद्ध उठेका जनमत पार्टी अध्यक्ष सीके राउतले आफ्नो प्रभाव प्रष्ट देखिने गरी स्थापित गरेका छन् । हामीले सप्तरी २ मा एक्जिट पोल गरेका छैनौं, तर खुकुलो आयतनमा ठाउँ–ठाउँबाट टिपेका सूचनाहरुले सीके राउतको पल्ला बढ्ता देखिएको बताउँछन् । स्थानीय संवाददाता र नागरिक समुदायका प्रतिनिधिहरुसँग हामीले गरेको छलफलका आधारमा भन्न सकिन्छ, मधेसमा यसपल्ट विगतभन्दा भिन्न किसिमको परिदृश्य देखिन सक्छ ।

एक्जिट पोलको थप विश्लेषण तथा मतगणनाको विषयगत अध्ययन लिएर हामी तपाईंहरुसमक्ष आउने नै छौं । कृपया अनलाइनखबर पढ्दै गर्नुहोला ।

एक्जिट पोलको अध्ययन, तथ्यांक प्रशोधन तथा विश्लेषणमा हामीलाई सघाउने जीआईआईएसका प्रमुख कार्यकारी उत्तमबाबु श्रेष्ठसँगको कुराकानी हेर्नुहोस्



source https://www.onlinekhabar.com/2022/11/1221003

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More