Thursday 30 November 2023

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताए ।

दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए ।

बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।

– रासस



source https://www.onlinekhabar.com/2023/12/1399182

Wednesday 29 November 2023

बाइकप्रेमीहरू जमघट गर्ने एउटा काइदाको क्याफे

काठमाडौं । ‘बाइकर्स क्याफे’ । नक्सालस्थित नारायणचौरको सम्मुखमा पुगेपछि तपाईंले यही नामको क्याफे फेला पार्नुहुनेछ, जो चलनचल्तीको भन्दा भिन्न छ ।

प्रवेशद्वारमा देखिन्छ, कतै यात्रामा निस्कन लागेको झैं लाग्ने पुरानो मोडलको हार्ले डेभिडसन । पहिलो र दोस्रो विश्वयुद्ध झेलेको यो बाइक आफैंमा एउटा इतिहास मात्र होइन, प्रतिष्ठाको अर्को नाम पनि हो ।

तर, टु ह्विलर्सको दुनियाँमा सबैलाई लोभ्याउने होर्ले डेभिडसनको कथा होइन यो । यहाँ हार्ले डेभिडसनको प्रसंग किन मात्र जोडिएको हो भने बाइकका सौखिनलाई यसले एकै झट्कामा आकर्षित गर्छ । र, बाइकर्स क्याफेको मूलढोकामा पुर्‍याउँछ ।

बाइकर्स क्याफे, नाम नै काफी छ ।

शहरमा भर्खरै खुलेको यो यस्तो क्याफे हो, जहाँ तपाईंले नितान्त फरक अनुभूत गर्नुहुनेछ । हिमालयन जाभाले सर्भ गर्ने तात्तातो कफी र परिकारसँगै मोटरसाइकलको संसारमा मनमग्न हुनुहुनेछ ।

खासमा मोटरसाइकल मान्छेको आवश्यकता हो कि सोख ? उत्तर हो, दुवै । छिटो–छरितो यात्राका लागि उपयोगी साधन हो मोटरसाइकल । साथसाथै धेरैका लागि यो सौख र सपना पनि ।

यस्तै सौख र सपनाले शहरमा थुप्रै बाइकर्स क्लब जन्माएको छ । उनीहरु आफ्नो रोज्जा बाइक संग्रह गर्न, स्टन्ट गर्न, बेपर्वाह हुइँकिन वा कतै यात्रामा निस्कन रुचाउँछन् । बाइकका बारेमा चर्चा–परिचर्चा गर्छन् । यात्राका नयाँ नौलो गन्तव्य पहिल्याउँछन् । एकअर्काको यात्रा अनुभव आदनप्रदान गर्छन् । आफ्ना रोज्जा मोटरसाइकल लिएर लामो यात्रामा निस्कनेहरु हुन् वा रेसिङ ट्र्याकमा बेपत्तासँग फन्को लगाउनेहरु नै, मोटरसाइकलसँग उनीहरुको खास लगाव र प्रेम हुन्छ । यस्तै सौखिनहरुका लागि काइदाको थलो हुनसक्छ, बाइकर्स क्याफे ।

‘बाइक लभर्स’लाई लक्षित गरेर सञ्चालनमा ल्याइएको क्याफे हो यो । बाइकका सौखिनहरुले यहाँ हार्दिकतासाथ भेटघाट र भलाकुसारी गर्न सक्छन् । उनीहरुलाई लोभ्याउने र बसौं–बसौं लाग्ने थुप्रै कुरा छन् क्याफेमा ।

बाहिरबाट झट्ट हेर्दा बाइक शोरुम र क्याफेको अनौठो संयोजन देखिन्छ । यसभित्रको साजसज्जा अनौठो अनि रोचक छ । क्याफेमा बाइकलाई आकर्षक ढंगले सजाइएको छ र त्यससँग जोडिएका सरसामग्री संग्रहित गरिएको छ । क्याफेको एकातिर ‘कवाच’ ब्रान्डको राइडिङ गियर्स देख्न सकिन्छ । यो नेपाली ब्रान्ड हो जसलाई महिलाहरुले उत्पादन गरेका हुन् । सुरक्षित यात्राका लागि प्रयोग गरिने यी ज्याकेट, पाइन्टको मूल्य पाँच हजारबाट सुरु हुन्छ ।

क्याफेको एकातिर नेपालका खाँटी बाइक लभर्सको फोटोहरु सजाइएको छ, जहाँ सौरभ ज्योतिदेखि महिला राइडर्स ग्रुप ‘दुई पाङ्ग्रे क्विन्स’सम्म समेटिएका छन् ।

अर्कोतिर साहसिक यात्रा गर्दै नेपालका विभिन्न गन्तव्यमा निस्केका बाइक राइडरहरुको फोटो संग्रह छ । बाइकका सौखिनहरुलाई आफ्नोपन महसुस गराउन हेलमेटदेखि बाइककै इन्जिनमा सजाइएको टेबलसम्मले यो क्याफेलाई पृथक् बनाएको छ । मोटरसाइकलको पार्टपुर्जालाई यसको साजसज्जामा अरु प्रयोग गर्ने योजना छ ।

भनिहालौं, यो गोल्छा ग्रुपले संचालनमा ल्याएको क्याफे हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले फरक अवधारणामा यो क्याफे सुरु गरेका हुन् । उनी भन्छन्, ‘बाइक क्रेता र बिक्रेतालाई अभिन्न रुपले जोड्नका लागि यसको अवधारणा ल्याएको हो । साथसाथै बाइकका सौखिनहरुले आपसमा भेटघाट गर्न, अनुभव आदानप्रदान गर्न पनि यो एउटा सहज जक्सन हुनसक्छ ।’

यस क्याफेबाट बाइक किनबेच पनि हुनेछ । खासगरी २०० सीसीभन्दा बढी क्षमताका बाइकहरु यहाँ छन् । पल्सरको एन एवं एनएस सिरिज र केटिएमका सबैजसो बाइक राखिएका छन् ।

बाइक खरिद गर्न चाहनेहरु हुन् वा बाइकका सेरोफेरोमा रमाउनेहरु नै, बाइकर्स क्याफे सजिलो गन्तव्य हुनसक्छ ।

फोटो–भिडियो : शंकर गिरी



source https://www.onlinekhabar.com/2023/11/1398649

रूसी सेनामा कसरी पुगिरहेका छन् नेपाली युवा ?

१३ मंसिर, काठमाडौं । बेलायत र भारतबाहेक अरु देशमा नेपालबाट सैनिक भर्ना पठाउने व्यवस्था छैन । तर आम जानकारीमै छ– फ्रान्स, रुस, अफगानिस्तान, युक्रेन लगायत देशमा नेपाली सैनिकहरु छन् । अमेरिकामै पनि कतिपय यस्ता सैनिक छन्, जसमध्ये धेरैले ग्रीनकार्ड लिए पनि आफूसँग नेपाली नागरिकता साथै राखेका सूचनाहरु छन् ।

यस्तैमा भर्खरै रुस–युक्रेन युद्धमा तीन नेपाली मारिएको पुष्टि भएको छ । शैक्षिक परामर्शदाताको माध्यमबाट, अनि स्वयंसेवी काम गर्न भनेर रुस पुर्‍याइएका उनीहरु युक्रेनको आक्रमणमा परेको देखिन्छ ।

गत असारमा पनि रुसी सेनामा रहेका एक नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा रहेको सूचना आएको थियो ।

सैन्य सम्झौता नै नभएको रुसी सेनामा नेपाली पासपोर्टधारी युवा कसरी सहभागी बने त ? रुस सरकारले पनि यसबारे कुनै औपचारिक धारणा दिन सकेको छैन । परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक टिप्पणीबाहेक सरकारले विस्तृत धारणा समेत दिन सकेको छैन ।

अनलाइनखबरसँग परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘नेपाली युवाको निधनले हामी पनि स्तब्ध भएका छौं । अहिले प्रारम्भिक सूचनाहरु संकलन गर्ने काम भइरहेकाले म सबै कुरा भन्न सक्ने अवस्थामा छैन । रुसी उच्च तहसँग संवाद गर्दैछौं । यथाशीघ्र सरकारको पोजिसन बाहिर आउँछ ।’

रुसी सेनामा नेपाली युवा कसरी पुगे भन्नेमा मस्कोस्थित नेपाली दूतावास नै आश्चर्यमा परेको बताउँछ । दूतावास उच्च स्रोतका अनुसार अरु विभिन्न क्षेत्रमा सहभागी हुने नेपालीहरुको बारेमा जानकारी रहे पनि सैन्यबलमा जाने युवाहरुबारे सूचना छैन ।

मस्कोस्थित नेपाली दूतावासका एक अधिकारीले अनलाइनखबरसँग बताए अनुसार रुसी सेनामा नेपाली सहभागी भएकोबारे कुनै औपचारिक आँकडा छैन ।

‘नेपाल सरकारले विदेश सेना, खासगरी युद्धग्रस्त सेनामा भर्ना नहुन अपिल गर्दागर्दै यो घटना भएको देखियो’, दूतावासका अधिकारीले बताए, ‘मानव तस्करहरु मार्फत पर्यटक भिसा या अन्य सेटिङबाट विद्यार्थी भिसामा आई सैनिक कन्ट्र्याक्टमा प्रवेश गरेको पाएका छौं । दूतावासको सम्पर्कमा आएकालाई तुरुन्त फिर्ता पनि पठाउन पहल गरेका छौं ।’

नेपालबाट विभिन्न सम्बन्धित व्यक्तिहरुले दूतावासमा सम्पर्क गरिरहेका छन् । युद्धमा मारिएका, अहिलेसम्म सम्पर्कमा नआएका व्यक्तिबारे काठमाडौंस्थित कन्सुलर अफिससँग मस्को दूतावासले कुरा गरिरहेको छ ।

सेनासँग सम्बन्धित विषय भएकाले सहजै सम्पर्क गर्न अप्ठेरो परेको ती अधिकारीले भने । टेलिफोन, इमेलको रेस्पोन्स नगर्ने, केवल टेलिग्रामबाट प्राप्त सूचनाको आधारमा काम चलाउनु परेको अधिकारीको भनाइ छ ।

युद्धग्रस्त क्षेत्रमा आउने जोखिम नलिनका लागि नेपालीहरुलाई ती अधिकारीले आग्रह गरे ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराई भने रुसमा घटना भएको दुई साता बित्दासम्म वास्तविक सूचना प्रवाह गर्न नसक्नुलाई सरकारको कमजोरी मान्छन् ।

रुसलगायत देशहरुमा सैन्य भर्ती भइरहेको विषयमा राज्य संवेदनशील बन्नुपर्ने उनको भनाइ छ । ‘सैन्य सम्झौता नभएको, अझ युद्धग्रस्त मुलुकमा नेपाली पुग्नु दुर्भाग्यपूर्ण छ, त्यसैले रुसको सरकारसँग यसबारे सरकारले जानकारी लिनुपर्छ’, भट्टराई भन्छन्, ‘श्रम रोजगारीका अरु विकल्पहरु दिनुपर्छ, युद्धग्रस्त देशहरुमा आफ्ना नागरिक मरेको विषयलाई सामान्य मान्न सकिंदैन । भर्ना लिने प्रक्रियाबारेमै सरकारी तहबाट प्रश्न उठ्नुपर्छ ।’

युद्ध सुरु भएपछि रुसले एक वर्ष सेवा गर्ने सेनालाई आफ्नो नागरिकता नै दिने घोषणा गरेको छ । त्योलगायत आकर्षक अफरहरु दिलाउने वाचा गरेको छ । साथै बीचैमा सम्झौता तोडेर सेना छाड्ने चाहने युवालाई भने उल्टै रकम उठाउने जस्ता कडा शर्तहरु पनि समावेश छन् । तर सैन्य भर्तीबारे कुनै पनि सम्झौता नेपाल सरकारसँग भएका छैनन् ।

गोर्खा भर्तीबारे शोध अनुसन्धान गर्दै आएका विश्लेषक झलक सुवेदी रुस घटनामा नेपाली मारिएको खबरले युद्धग्रस्त ठाउँमा नेपाल राज्यले आफ्ना नागरिक संरक्षण गर्न नसकेको सन्देश गएको बताउँछन् ।

बेलायतले गोर्खा सैनिकको भर्ना संख्या घटाउँदै गएको, तथा भारतमा समेत सैन्य भर्ती रोकिएको बेलामा नेपालीले आम्दानीका अवसर खोजिरहे पनि राज्यले उनीहरुलाई भरपर्दो विकल्प दिन नसक्दा यस्ता समस्या आइरहेको उनको भनाइ छ ।

‘पहिलेजसरी सैन्य सम्झौता नै हुनुपर्छ भनेर म भन्दिनँ’ सुवेदी भन्छन्, ‘तर युद्धको जोखिमग्रस्त क्षेत्रमा गएकाहरुको सही तथ्यांक, सम्भावित मृतक घाइते बेपत्ता आदिबारे पहिले नै के गर्ने, के नगर्ने भन्ने कुरा स्पष्ट गरेर मात्रै पठाउनुपर्छ । अहिले जे जसरी युवाहरु रुस युक्रेन लगायत देशमा सैनिक भएर गइरहेका छन्, यसले नेपाल राज्य उनीहरुका लागि केही पनि सक्षम छैन भन्ने दुखद दृष्टान्त पेश भइरहेको छ ।’



source https://www.onlinekhabar.com/2023/11/1398691

Tuesday 28 November 2023

गुगल ड्राइभमा समस्या, एकाएक हराए प्रयोगकर्ताका डेटा

यदि तपाईंको पनि गुगल अकाउन्ट छ र आफ्ना फोटो तथा भिडियोलगायतका सामग्रीहरुको ब्याकअप गुगल ड्राइभमा गर्नुभएको छ भने सतर्क हुनुहोस् । किनकि पछिल्लो पटक गुगल ड्राइभमा गम्भीर समस्या देखिएको छ । जसका कारण गुगल ड्राइभबाट प्रयोगकर्ताका डेटाहरु आफैं डिलिट भैरहेका छन् ।

विश्वभरका कैयन् प्रयोगकर्ताहरुले सोसल मिडियामा यसबारेमा गुनासो गरिरहेका छन् । गुगलले पनि कुनै बगका कारण यस्तो समस्या देखा परेको स्वीकार गरेको छ । साथै यस बारेमा अनुुसन्धान चलिरहेको पनि गुगलको भनाई छ । साथै यो समस्या समाधानका लागि छिटै नै एक नयाँ अपडेट जारी गर्ने पनि गुगलले जनाएको छ ।

गुगलले आफ्नो एक विज्ञप्तिमार्फत् केही प्रयोगकर्ताहरुका गुगल ड्राइभका डेटा डिलिट भएको जानकारी प्राप्त भएको जनाएको छ । यो समस्या अधिकतर गुगल ड्राइभका डेस्कटप प्रयोगकर्ताले भोगेका छन् ।

अब के गर्ने ?

गुगल ड्राइभमा आफूले संग्रहित गरेका सामाग्रीहरु डिलिट नहोउन् भन्नका लागि तपाईंले तत्कालै त्यहाँ रहेका डेटालाई डाउनलोड गरेर अन्यत्र राख्नुहोस् । यसो गर्नुभयो भने गुगल ड्राइभबाट ती डेटा डिलिट भएपनि तपाईंको कम्प्युटरमा सुरक्षित रहनेछन् ।



source https://www.onlinekhabar.com/2023/11/1398327

सीप सिकेर विदेश जानेहरु बढे, ४० प्रतिशत अझै अदक्ष

१३ मंसिर, काठमाडौं । पछिल्ला वर्ष वैदेशिक रोजगारीमा सीप सिकेर जाने क्रम बढेको छ । २०७८ देखि हालसम्म श्रम स्वीकृति लिएर १५ लाख ६८ हजार श्रमिक विदेश गएकामा सीप सिकेर जानेको संख्या १० लाख दुई हजार रहेको छ । जुन कुल संख्याको ६४ प्रतिशत हाराहारी हो । यद्यपि यो संख्या सन्तोषजनक मान्न नसकिने सरोकारवालाले बताएका छन् ।

सीप सिकेर जानेमध्ये सामान्य सीपमात्र सिक्ने ५५ प्रतिशत, सीप सिकेर अर्धदक्ष बन्ने ८.२ प्रतिशत, व्यवसायिक सीप सिक्ने ०.१३ प्रतिशत र उच्च दक्षको संख्या ०.०२ प्रतिशत छ । विगतमा सामान्य सीप पनि नसिकी जानेहरु धेरै हुने गरेकामा पछिल्ला वर्ष सामान्य सीप भए पनि सिक्ने क्रम बढेको विभागको भनाइ छ ।

आर्थिक वर्ष ०७९/०८० मा ७ लाख ७१ हजार श्रमिक वैदेशिक रोजगारीमा गएकामा २ लाख २ हजार ६१६ अदक्ष थिए । त्यस्तै सामान्य सीप सिकेर जाने ५ लाख ६ हजार ७४६, अर्धदक्ष बन्ने ६० हजार ५५५, व्यवसायिक सीप सिक्ने १ हजार १५३ र दक्ष जनशक्ति २५७ जना थिए ।

पछिल्लो समय सीप सिकेर जानुपर्छ भन्ने चेतना बढ्दै गएको विभागका महानिर्देशक मदन दाहाल बताउँछन् । ‘विश्व श्रम बजारमा दक्ष जनशक्तिको माग पनि बढिरहेको छ, त्यसैले वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानुपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने ।

त्यस्तै सीप सिकेर गएमा काम गर्ने क्रममा सुरक्षित भइन्छ र कमाइ बढी हुन्छ भन्ने चेतना पनि बढेको दहालको भनाइ छ । ‘कुनै पनि श्रमिकले सीप सिकेर जाँदा उसको मात्र आम्दानी बढेको हुँदैन, त्यसको लाभ मुलुकले पनि पाइरहेको हुन्छ’, उनले भने ।

नेपालले वैदेशिक रोजगारीका लागि विश्वका १११ मुलुक खुला गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार वैदैशिक रोजगारीमा सीप सिकेर जादा राम्रो काम र सेवा सुविधा पाइन्छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार बिना सीप विदेश जाँदा बढी जोखिम हुन्छ । ‘हातमा सीप नभएर गएकाहरुले श्रम पनि उत्तिकै कडा र जोखिमपूर्ण गर्नुपर्छ । त्यति गर्दा पनि कमाइ राम्रो हुँदैन ।’वैदेशिक रोजजारीमा मृत्यु हुने र अंगभंग हुनुको अधिक कारण पनि सीप बिना नै जानुलाई प्रमुख मानिन्छ ।

रोजगारदाताले पनि सीप सिकेकै खोज्छन्

वैदेशिक रोजगारीमा जाने करिब ८० प्रतिशत नेपाली खाडी मुलुक र मलेसिया जान्छन् । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामा मलेसियामा दुई लाख ५९ हजार, कतारमा एक लाख ८४ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) मा एक लाख १२ हजार ७७७ साउदी अरेबियामा एक लाख १२ हजार र कुवेतमा ४३ हजार ५०७ जना गएका थिए ।

खाडी मुलुक र मलेशियामा पनि सीप सिकेका जनशक्ति माग हुन थालेको वैदेशिक रोजगारी व्यवसायी सघंका अध्यक्ष भण्डारी बताउँछन् । ‘प्रविधिको प्रयोग र विकासक्रमले श्रमको प्रकृति फेरिन थालेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर श्रम बजारमा पर्न थालेको छ । खाडीमै पनि अहिले शिक्षित र सीपयुक्त जनशक्तिको माग बढ्न थालेको छ ।’

हालसम्म सीपयुक्त जनशक्ति पूर्वी युरोपका देश रोमानिया, क्रोएशिया आदि देशमा जाने गरेका छन् ।

यद्यपि पछिल्लो तीन वर्षमा १५ लाख ६८ हजार नेपाली श्रम स्वीकृति लिएर विदेश जाँदा ५ लाख ६६ हजार जना भने सीप नसिकी गएको पाइएको छ । सीप सिकेर जानेको संख्या बढे पनि अहिलेको संख्या पर्याप्त नभएको अध्यक्ष भण्डारी बताउँछन् ।

‘राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय बजारमा माग अनुसारको जनशक्ति उत्पादन बढाउन ध्यान दिनुपर्छ’, उनी भन्छन् ।

कोरोना महामारीका बेला घटेको विदेश जाने क्रम पछिल्लो ३ वर्षमा लगातार बढिरहेको छ । आर्थिक वर्ष ०७७/७८ मा ७२ हजार ८९ जना मात्र बिदेश गएकामा ०७८/७९ मा ६ लाख ३० हजार र ०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना बिदेश गएका विभागको तथ्यांक छ ।



source https://www.onlinekhabar.com/2023/11/1398325

Monday 27 November 2023

साथी अब गाउँ फर्क

पि्रय साथी, आरामै छौ होला भन्ने विश्वास लिएको छु । तर, केही दिनयता तिमीले सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूले तिमीलाई सञ्चो छैन कि भन्ने महसुस हुनुका साथै चिन्त्ाा पनि थपिएको छ । यो चिन्ता यस मानेमा कि म तिम्रो मिल्ने साथी न जो परें !

साथी, तिमी राजनीति मार्फत देश परिवर्तन गर्न चाहन्छौ । समाजको कायापलट गर्न चाहन्छौ । गाउँमा भत्केका मनहरूलाई जोड्न चाहन्छौ । यो कुरा तिमीले कुनै भेटमा भनेका थियौ । म तिम्रो त्यो बोलीको वास्तविकताको पर्खाइमा छु । तिमीलाई नियालिरहेको छु ।

तर, अहिले यो पत्र मार्फत म तिमीलाई केही कुरा लेख्दैछु । जुन कुरा तिम्रो राजनीतिक जीवनमा पटक-पटक ठोक्किन सक्लान् । सके कार्यान्वयन गर्नु, नसके महसुस गर्नु ।

साथी, जिन्दगी भने जस्तो छैन

शहरमा बसेर सामाजिक सञ्जालको राजनीतिले तिम्रो गाउँको रामे काकाले तिमीले भनेको कुरा थाहा पाउँदैनन् । किनकि त्यहाँ इन्टरनेट पहुँच छैन । इन्टरनेट मात्रै कहाँ हो र उहाँलाई फेसबुक चलाउन पनि आउँदैन । अझ भनौं उहाँसँग फेसबुक चल्ने हातमा मोबाइल पनि छैन । छ त केवल विदेशिएको छोराको एक बोली सुन्न एक हजार रुपैयाँमा किनेको साधा सेट मोबाइल । त्यो फोन कल गर्न पनि पल्लो घरको सानेको सहयोग लिनुपर्छ भन्ने विषय तिमीलाई राम्रोसँग थाहा छ ।

साथी, मन नदुखाऊ, एउटा कुरा भन्नै पर्ने भयो । कुनै कार्यक्रममा भेट भएर तिम्रो पार्टी सभापति र नेताहरूसँगका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने बित्तिकै तिम्रो गाउँको विकास हुन्छ ? अनि तिमी त्यही फोटो देखाउँदै तिम्रा धेरै साथीसँग आफ्नो पावरको कुरा गर्छौ । त्यो फोटोको पावरले हप्तौं हप्ता चार्ज नपाएको तिम्रो गाउँको रामे काकाको साधा सेट मोबाइल चार्ज हुन्छ जहाँ अझै बिजुली पुगेको छैन ! कि साँझ गाई दुहुन जाँदा टुकी बालेर गोठमा जाने उजेली फुपूले बत्ती पाउँछिन् ?

साथी, हुनत तिमी राजनीतिमा लागेको मान्छे । तिमीलाई परिवार, समाज, देश र देशको परिस्थितिको विषयमा राम्रोसँग थाहा हुनुपर्ने हो । तर, तिमीले सामाजिक सञ्जालमा राखेका स्टाटसले तिमीलाई देशको इतिहास थाहा छैन । तिमीले संविधान अध्ययन गरेका छैनौ । तिमीलाई तिम्रो अधिकार र कर्तव्य थाहा छैन भन्ने विषय मैले आत्मबोध गरिरहेको छु । तिमीलाई यो पनि थाहा छैन कि तिम्रो पार्टीले आज के निर्णय गर्‍यो ?

तर, तिम्रो दैनिकी म यो पार्टीको हुँ भन्दै छाती फुलाउँदै व्यवसायीलाई चन्दा माग्नमै बितेको देख्छु । मलाई योे कुरा पनि थाहा छ कि तिमी त्यो चन्दाले पाँचतारे होटलमा गएर मज्जाले मस्ती गर्छौ । तिम्रो त्यो मस्तीले तिम्रो गाउँको रामे र साने काकाहरूले राजधानीसम्म पुग्ने सडकमा यात्रा गर्न पाउलान् ?

साथी, तिमी गाउँमा जन्मेर शहरमा पढ्यौ । अहिले तिमीलाई गाउँभन्दा शहर प्यारो छ । कतै सुनेको तिमीलाई आजभोलि गाउँले हुँ भन्न पनि लाज लाग्छ रे ! तिम्रो बुबाले हातका नङ्ग्रा खियाएर तिमीलाई शहर पढाएको त्यही आफ्नो परिचय लुकाउनको लागि हो ? तिम्री आमाले गोरुको गोबर सोहोरेर तिमीलाई उच्च शिक्षा पढाएको त्यही गाउँको भाषा बोल्न आउँदैन भन्नैका लागि हो ? गाउँका हेडसरले सिस्नुपानी लगाउँदै पढ भनेको त्यही तिम्रो गाउँ, समाज र तिम्रो धरातल भुल्नका लागि हो ?

साथी, तिमी त शहरमा पढेको । मैले सोचेको थिएँ, केटो स्मार्ट होला । राजनीति पनि गर्ने भएकोले ठूलो आमसभालाई बोलीबाटै भए पनि प्रभावित पार्न सक्ला । तर, मेरो कल्पना र तिम्रो यथार्थताले मेल खान सकेन । एउटा सानो जमघटमा पनि कामेर बोल्ने, हड्बडाउने र लजाए जस्तो व्यवहार गर्ने बानीले तिम्रो राजनीति कहाँ पुग्ला ?

राजनीतिशास्त्र पढ्दै गर्दा देश तथा विदेशको राजनीति, भूगोल, इतिहासको अध्ययन गर । आर्थिक समृृद्धिको सपना देख । गाउँमा फर्केर बालबालिका, युवा अनि वृद्ध बा-आमाहरूसँग घुलमिल होऊ । वनपाखामा घाँस-दाउरा गर्दै विरहका गीत गाउने जमुना दिदीहरूका कथा सुन । वर्षभरि बारीमा तरकारी र अन्न उब्जाएर मल र बजार नपाएका तिम्रा बा-आमाहरूका पीडा सुन

मलाई अझै पनि सम्झना छ, २०७४ सालको चुनावमा तिमी गाउँ गयौ । दुई महिना अगाडि मात्रै गाउँ गए पनि तिम्रो पार्टीले चुनाव जित्यो । त्यो बीचमा तिमी फेरि शहरमै हरायौ । तिम्रो पार्टीलाई जिताएकोमा गाउँलेले पश्चात्ताप महसुुस गरे । २०७९ को चुनावमा पनि सोही व्यवहार देखायौ । चुनावको तयारी दुई महिनाले नै हुने रहेछ ठानेर फेरि चुनाव आउनु दुई महिनाअघि नै गाउँ गयौ । तर, सधैं तिमीले सोचे जस्तै कहाँ हुने रहेछ र ! चुनाव हार्‍यौ ।

अब त बुझ्यौ होला नि सबै कुरा आफैंले सोचे जस्तो नहुने रहेछ । एउटा गीत छ नि ‘सोचे जस्तो हुन्न जीवन !’ अब गाउँका जनता सचेत भइसकेका छन् । रामे र साने काकाहरू रेडियो सुनेर भए पनि सजग बनिसकेका छन् । तिम्रो पार्टीले चुनाव जितेर अघिल्लो पाँच वर्षमा के काम गर्‍यो ? अघिल्लो चुनावमा थुप्रै बनावटी नाराहरूलाई व्यवहारमा नउतार्दा २०७४ मा जितेको चुनाव २०७९ मा किन हार व्यहोर्नु पर्‍यो । तिम्रो पार्टीले बाचा गरेका कुरा धेरै थिए । गाउँमा बिजुली, पक्की सडक, घरघरमा खानेपानी । यी सबै कुरा फगत भए ।

एकछिन मनन् गर त ! तिम्रो गाउँका जनता कति सन्तुष्ट छन् ? गाउँलेले बिजुलीको सुविधा पाएका छन् ? तिमीले नै पढेको विद्यालयले राम्रो शिक्षक पाएको छ ? भएका शिक्षकहरूले तलब पाएका छन् ? गाउँलेले सडकको सुविधा पाए ? अहँ, केही पाएनन् । पाए त केवल अनियमितता, भ्रष्टाचार, सामाजिक विचलन र अभावै अभावको जिन्दगी ।

साथी, तिमीलाई पुनः पुरानो कुरा सम्झाउन मन लाग्यो । २०७४ को स्थानीय तहको चुनाव तिम्रो पार्टीको मान्छेले जितेपछि तिमीले फेसबुकमा लेख्यौ- ‘अब गाउँगाउँमा सिंहदरबार आयो, गाउँसम्म पक्की सडक पुग्यो, बेरोजगार युवाले रोजगारी पाए, जुन हाम्रो पार्टीको योगदान हो, आगामी चुनावमा पनि हाम्रो पार्टीलाई भोट दिएर अत्यधिक मतले जिताइदिनुहोला ।’

साथी, दुःखका साथ भन्नुपर्छ । त्यो भ्रम केका लागि ? तिमीले त्यस्तो स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्दै गर्दा तिम्रो गाउँमा भोकमरी थियो । गाउँमा पक्की सडक पुगेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिम्रा गाउँका युवा वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा जाँदैथिए । उनीहरूका आफन्तहरू विमानस्थलमा बिदाइका हातहरू हल्लाउँदै आँशु झारिरहेका थिए ।

तिम्रा गाउँका स-साना बालबालिकाको खुट्टामा चप्पल थिएन । पुसको कठ्याङ्रिदो जाडोमा लगाउने बाक्लो जाकेट पाएका थिएनन् ती बालबालिकाले ।

१५ वर्ष नपुग्दै विवाहबन्धनमा कति धेरै बाँधिए त्यो त सबैलाई अवगत नै छ, जुन समस्या अहिले पनि यथावत् नै छ । अशिक्षा, जनचेतनाको अभाव, बेरोजगारी, चोरी-डकैती, झै-झगडा, बहुविवाह, छाउपडी प्रथा, घरेलु हिंसा, कच्ची सडक, भोकमरीलगायत अभावहरू झेल्नु परेको तिम्रो गाउँलाई सिंहदरबार भन्ने साहस तिमीले कसरी गर्‍यौ ? तिम्री आमाले बारीमा जसोतसो उमारेको साग बेचौं भने पनि बजार पाएकी छैनन् । बजार पाइहाले पनि भने जस्तो मूल्य पाउँदिनन् । अनि तिमीले कसरी भन्न सक्यौ ? गाउँमा सिंहदरबार आयो भनेर ।

अँ, अर्को कुरा त लेख्नै बिर्सेछु, तिमी त गाउँको विकास गर्छु भनेर राजनीतिमा लागेको मान्छे । तर, विडम्बना ! पालिकाबाट विकासका लागि बनाइने योजनाहरूको कागजात मिलाएर तिम्रो पार्टीका कार्यकर्ता र कर्मचारीको मिलेमतोमा पैसा खाएको मैले प्रत्यक्ष देखेको छु । गाउँमा नातावाद र कृपावाद फस्टाएको छ । यसतर्फ सचेत बन्नु ।

साथी, हुनत तिमीलाई गाउँको धेरै कुुरा थाहा छ । तर, थाहा हुँदाहुँदै पनि तिमी कसैको परिबन्दमा पर्‍यौ वा तिम्रो अकर्मण्यता ! जे भए पनि अब तिमी राजनीतिको सपना बुनेको मान्छे । तिमी जस्तो युवाले गाउँको विकास गर्छु भन्ने सोच्नु नै राम्रो कुरा हो । नराम्रो त तिम्रो नामेट हो । तिमी अब ‘तिमी’ बन्न सिक । कसैको उक्साहट र परिबन्दको जालमा नपर । गाउँ बुझ, गाउँले बुझ । आफूलाई बुझ । आफ्नो विरासत र धरातल बुझ ।

राजनीति गर्न राजनीतिशास्त्र पढ । राजनीतिशास्त्र पढ्दै गर्दा देश तथा विदेशको राजनीति, भूगोल, इतिहासको अध्ययन गर । आर्थिक समृृद्धिको सपना देख । गाउँमा फर्केर बालबालिका, युवा अनि वृद्ध बा-आमाहरूसँग घुलमिल होऊ । वनपाखामा घाँस-दाउरा गर्दै विरहका गीत गाउने जमुना दिदीहरूका कथा सुन । वर्षभरि बारीमा तरकारी र अन्न उब्जाएर मल र बजार नपाएका तिम्रा बा-आमाहरूका पीडा सुन ।

हजारौं सपना बोकेर विदेशिएका तर लास बनेर फर्केका परिवारका मर्मस्पर्शी दुःखहरू सुन । वर्षौं वर्ष पढेर जागिर नपाएर मानसिक सन्तुलन गुमाएका साथीहरूका सपना सुन । साथी, शेक्सपियरले भनेका छन्- ‘काम जस्तो कुरा गर, कुरा जस्तो काम गर, झण्डामुनि बस तर दरबार नपस ।’

छबिस ६, पुजारी गाउँ, बझाङ



source https://www.onlinekhabar.com/2023/11/1397802

बझाङमा १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थसहित ३ जना पक्राउ

१२ मंसिर, धनगढी । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वषर्ीय राम गुरुङ रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।

शाहका अनुसार उनीहरुले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ ।

उनीहरुको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका ५ वटा बाटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिकसमेत बरामद गरिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/11/1397799

हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई (तस्वीर)

काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे ।

उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

‘जिन्दगीकै सबैभन्दा ठूलो उपलब्धिको रुपमा मैले यो जितलाई लिएको छु’ रोडिज विजेता घोषित भएपछि खुशि देखिएका राईले अनलाइनखबरसँग भने, ‘जीवनमा हार नखान, संघर्षलाई निरन्तरता दिन मेरो उमेरका सबै युवालाई आग्रह गर्छु ।’

लाहुरे बन्न निस्किएका सञ्जीव, त्यो सपना पुरा नभएपछि गायक बन्ने मोडतिर अघि बढेका थिए । र्‍याप गायक समेत रहेका उनले ४ वटा गीत सार्वजनिक गरिसकेका छन् । उपाधि जितेपछिको पहिलो प्रतिक्रियामा रोडिजमा प्रतिस्पर्धा गर्दाका चुनौतिपूर्ण टास्क र प्रतिस्पर्धीबारे स्मरण गरे ।

रोचक कुरा के छ भने, ग्रीन ग्याङ अर्थात टीम लाउरे दुबैजना प्रतिस्पर्धी उपाधिका लागि भिडेका थिए । हिमालय रोडिजको इतिहासमा एउटै समूहबाट दुईजना फाइनलिस्ट बनेको यो पहिलोपटक हो ।

फिनाले समारोहमा बोल्दै हिमालय टिभीका अध्यक्ष भुषालले रोडिजको छैटौं सिजन पनि ल्याउने तयारी भैरहेको बताए । पाँचौ सिजन हरेक सूचक र पक्षमा उत्कृष्ट रहेको पाइएको बताउँदै उनले आगामी सिजनको तयारीका लागि पनि आफूहरुलाई सजिलो भएको बताए ।

निर्देशक सिमोस सुनवारले पाँचौ सिजनलाई सफल बनाउन पर्दाअघि र पर्दा पछाडिका सबै सहयोगी हातको योगदान रहेको बताए । साउन १५ देखि प्रसारण सुरु भएको पाँचौ सिजनको डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागि थिए ।

‘पावर अफ फाइभ’को थिममा तयार भएको पाँचौ सिजनलाई चर्चित टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीले होस्ट गरेका थिए । र्‍यापर लाउरेसहित अभिनेता अनुपविक्रम शाही, अभिनेत्रीद्धय दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रुपमा थिए ।

सिजनको अन्तिम एपिसोडमा फाइनलिस्टलाई गह्रुँगो काठको मुडा र डोकोमा टायर बोकेर पोखरा फेवाताल नजिकको डाँडो चढ्नुपर्ने टास्क दिएको थियो । डाँडाको टुप्पोमा विश्वभन्दा सञ्जीप चाँडो पुगेका थिए । जसको आधारमा उनलाई विजेता घोषित गरियो ।

विजेता र उपविजेताको घोषणा फेवाताल किनारमा गरिएको थियो । उक्त अवसरमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेल र मुख्य प्रायोजक यामहा नेपालका व्यवस्थापन निर्देशक विष्णु अग्रवाल पनि उपस्थित थिए ।

पाँचौ सिजनको मुख्य प्रायोजक यामाहा नेपाल थियो । इन एसोसिएसनमा माउन्टेन ड्यु, स्टाइल बाईमा प्रोस्टाइल, एसोसिएट स्पोन्सरमा केएफसी, सफ्टारिका कलेज, युनाइटेड अजोड इन्स्युरेन्स र एचपी लुब्रिकेन्ट र मेडिकल पार्टनरको रुपमा स्टार अस्पताल र बजार व्यवस्थापन पार्टनर मिडिया सेन्स थिए ।

एमटीभी इन्डियाको फम्र्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो । हिमालय रोडिज हिमालय टिभी एचडीमा प्रसारण हुँदै आएको छ ।



source https://www.onlinekhabar.com/2023/11/1397775

Sunday 26 November 2023

एनएसएलमा आज २ नयाँ टिम झापा र इलाम भिड्दै

११ मंसिर, काठमाडौं । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् ।

काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।

नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भयो ।

उता झापाको लागि भने यो सिजन यो पहिलो खेल हुनेछ । यस्तै दुई टोलीका लागि यो पहिलो खेल हो ।

राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् । लकेन विश्वकप छनोटमा यूएईविरुद्ध घाइते भएका थिए । केही समयअघि घरेलु मैदानमा यमनविरुद्ध भएको खेल गुमाए ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ पनि यस टिममा छन् ।

सन्तुलित देखिएको झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन् ।

एनएसएल खेल्ने ९ टोलीमध्ये झापाले मात्र अफ्रिकन खेलाडी राखेको छैन । झापाको अन्य विदेशीमा सर्वियाका गोलकिपर स्टेफन क्युपिक, उज्वेकिस्तानका डिफेण्डर समादार ओचिलोभ र अमेरिकन धिरज थजाली मगर छन् ।

उता मेघराज केसीको प्रशिक्षणमा रहेको इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजन उनी च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान र मार्की थिए ।

यसपटक विकेश इलाम पुगे । यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ,  विमल पाण्डे र आशिष राई छन् ।

इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा पनि छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । यस्तै चर्च ब्वाइजबाट ए डिभिजन लिग जितेका फरवार्ड आशिष चापागाईं पनि इलाममा छन् ।

विदेशीतर्फ इलामा सेनेगलका एकेडेमीमा खेलेका युवा खेलाडीहरु फोडे कमारा, अब्दोउलाए बा, अमाथ एनड र इब्राहिम डीजेटे छन् ।



source https://www.onlinekhabar.com/2023/11/1397251

कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य     

११ मङ्सिर, गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।

‘इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन’, कार्यालय प्रमुख रिजालले भने, ‘अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।’

कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । ‘अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ’, कार्यालयको सूचनामा उल्लेख छ ।

प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।



source https://www.onlinekhabar.com/2023/11/1397247

Saturday 25 November 2023

२६ प्रहरी सम्पर्कविहीन

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।

जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।

लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।



source https://www.onlinekhabar.com/2023/11/1396830

Friday 24 November 2023

विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध

९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।

मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।

भेटका क्अरममा उनीहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/11/1396593

Thursday 23 November 2023

आजदेखि एनएसएल, काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबीच उद्घाटन खेल

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् ।

इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए ।

काठमाडौंको टिममा यसपटक धेरै पेरबदल भएको छ । पहिलो संस्करणको उपाधि जित्दाका डिफेण्डर अन्जन राई मात्र टिममा छन् ।

उता इलाममा भने काठमाडौंबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष गुरुङ र आशिष राई छन् ।

काठमाडौंमा कप्तानसहित युवा खेलाडीहरुको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरु छन् । गत सिजन चितवनका मार्की रहेका फरवार्ड भरत खवास पनि यस पटक इलाममा छन् । यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि इलामकै टिममा छन् ।

साविक विजेता भएकोले काठमाडौंको एक मात्र लक्ष्य उपाधि रक्षा नै रहेको छ । मुख्य प्रशिक्षक बालगोपालले यस सिजन पनि च्याम्पियन नै बन्ने उसको लक्ष्य छ । ‘हामी काठमाडौंको घरेलु टोली हौं । पहिलो सिजन जितेर एउटा तारा राख्यौं अब त्यसमा अर्को तारा थप्ने लक्ष्य छ,’ उनले भनेका छन् ।

त्यसैले नयाँ टोली इलामविरुद्धको पहिलो खेलमा सुखद नतिजासहित उपाधि रक्षा अभियान थाल्ने काठमाडौंको योजना छ । ‘पहिलो खेल सधैं महत्वपूर्ण हुन्छ । प्रिसिजनको तयारी र मैत्रीपूर्ण खेलको प्रदर्शन अनुसार पहिलो खेल खेल्दै राम्रो नतिजाबाट सुरुवात गर्न चाहन्छौं,’ बालगोपाल महर्जनले भने ।

उता डेब्यूटान्ट इलामका प्रशिक्षक केसीले साविक विजेता टोलीविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताएका छन् । ‘पहिलो खेलका लागि हाम्रो टिम तयार छ । हामी राम्रो फुटबल नेपाली दर्शकको माझ दिएर पहिलो जितसहित प्रतियोगिता सुरु गर्न चाहन्छौं ।’

यसपटक एनएसएलमा पाँच विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ । जसले गर्दा सहभागी टोलीहरु पनि उत्साहित छन् । काठमाडौंका प्रशिक्षक बालगोपालले त विदेशी खेलाडी नै धेरै हदसम्म निर्णायक बन्न सक्ने बताए । ‘विदेशी खेलाडीको संख्या बढाएर पाँच बनाइएको छ । जसले गर्दा फाइदा हुन्छ । उनीहरुबाट युवा खेलाडीबाट सिक्ने अवसर पनि हुन्छ । विदेशी खेलाडीको प्रदर्शन निर्णाक हुन सक्छ ।’

काठमाडौंको टिममा घरेलु फुटबलमा खेलिसकेका आन्द्रे निया र जुनिएर एनकुनगुएसहित क्यामरुनका तीन र उज्वेकिस्तानका पाँच खेलाडी छन् ।

पहिलो सिजन च्याम्पियन बन्दा मेसुके ओलोमोउ र स्टेफेन विनोङको जोडी खुबै जमेको थियो । यसपटक पनि विदेशी खेलाडी त्यस्तै प्रभावकारकी हुने हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

उता इलाममा भने सेनेगलका एकेडेमीबाट चार खेलाडी आएका छन् । उनीहरु क्षमतावान रहेको इलामका प्रशिक्षक केसीले बताए ।

काठमाडौं र इलामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोह हुनेछ । जहाँ विभिन्न सांगीत प्रस्तुति हुनेछन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार उद्घाटन समारोहमा गायकद्वय सुशान्त केसी र वाङ्गदेन शेर्पा तथा ट्वीनी गर्ल्स (प्रिन्सी र प्रिज्मा खतिवडा) को प्रस्तुति हुनेछ ।

कोभिड महामारीका कारण पहिलो संस्करण विना दर्शक आयोजना हादा दर्शकहरुले घरमै बसेर टेलिभिजनमा हेरेका थिए । यसपटक दर्शकसहितको एनएसएल हुँदा आयोजक, सहभागी क्लब र खेलाडी सबै उत्साहित छन् ।

यस्तै आयोजकले डिजे, चियरलिडरदेखि फुड स्टल समेत राख्ने जनाएको छ । मैदानमा एलइडी विज्ञापन बोर्ड पनि राख्ने आयोजकले जनाएको छ ।

एनएसएलमार्फत नेपाली फुटबलको स्तर विकास गर्ने र संस्कार फर्काउने प्रयास रहेको आयोजकले जनाएको छ ।

यस्तो छ खेल तालिका

यसपटक तीन नयाँ टोलीसहित कुल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागि छैन ।

यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन् ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

सिंगल राउण्ड रोविनमा हुने लिगमा लिगमा कूल ४० खेल हुनेछ । जसमा लिग चरणमा हरेक टोद्यीले एक आपसमा खेल्नेछन् र ३६ खेल हुनेछ । त्यसपछि प्लेअफमा चार खेल हुनेछ । जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

६ दिन दुई/दुई खेल हुनेछ । जसमा पहिलो पहिलो दिउँसो १ बजे सुरु हुनेछ र साँझको खेल साढे ५ बजे सुरु हुनेछ । दिउँसो जम्मा ६ खेल मात्र हुनेछ । बाँकी सबै खेल साँझ हुनेछ ।



source https://www.onlinekhabar.com/2023/11/1396207

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।

 



source https://www.onlinekhabar.com/2023/11/1396181

सरकार र प्रतिपक्षीले दुर्गा प्रसाईँलाई दिएको राजनीतिक स्पेश

७ मंसिर, काठमाडौं । मुलुकमा फेरि राजतन्त्र फर्काउने घोषणासहित दुर्गा प्रसाईँ नेतृत्वको समूहले आजबाट सुरू गरेको प्रदर्शनका सहभागीसँग नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच सामान्य मुठभेड भयो । प्रसाईँका समर्थकहरूलाई प्रदर्शन गर्न स्थानीय प्रशासनले बल्खु क्षेत्र छुट्याएको भएपनि निषेधित क्षेत्रतर्फ जान खोज्दा प्रहरीले अश्रुँग्यास र पानीको फोहरा हानेको थियो । त्यसक्रममा दुवैतर्फ केही घाइते भए ।

प्रहरीसँग मुठभेड हुनुअघि बल्खुमै एमालेका कार्यकर्ता र प्रसाईँका समर्थकबीच ढुंगा हानाहान भयो । एमाले निकट युवा–विद्यार्थीले तिनकुनेमा प्रदर्शन कार्यक्रम राखेकाले त्यसतर्फ गइरहेका प्रदर्शनकारी र प्रसाईँका समर्थकबीच केहीबेर ढुंगा हानाहान भएको थियो । तर प्रहरीले सहजै अवस्था नियन्त्रणमा लियो । यी दुई घटना बाहेक अरू अप्रिय केही भएन ।

तर राजधानी उपत्यका दिनभरजसो सुनसान भयो । न्यून संख्यामा चलेका सवारी साधन र लगभग ठप्पजस्तै मानवीय चहलपहलले सडक सुनसान हुँदा आमहड्तालकै आभास हुन्थ्यो । कयौं विद्यालयले पूर्वसूचना दिएरै विद्यार्थीहरूलाई घरमै बस्न भनेको थियो भने सार्वजनिक सवारी साधन नचल्ने अनुमानका साथ कलेजहरुले कक्षा सञ्चालन गरेका थिएनन् । ब्यापार व्यावसाय, वित्तीय संस्था लगायत बन्द गरिएको थियो ।

यसरी आमहड्तालकै अनुभूति हुने गरी राजधानी उपत्यका सुनसान हुनुमा सरकारी संयन्त्रकै उर्दी र सामाजिक सञ्जालमा गरिएको प्रचारले काम गरेको सहज अनुमान गर्न सकिन्छ । बुधबार साँझ मात्रै ट्राफिक प्रहरीले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सार्वजनिक सूचना जारी गरेको थियो ।

एमाले र प्रसाईँ समूहले एकअर्का लक्षित प्रदर्शनको आह्वान गरेकाले अवस्था नियन्त्रण बाहिर जानसक्ने भन्दै राजधानी उपत्यकामा एकीकृत सुरक्षा योजना लागू गरिएको थियो । त्यसअनुसार, नेपाली सेनासहित संयुक्त रुपमा सुरक्षा निकाय परिचालित गरिएको, ड्रोन र शादा पोशाकका सुरक्षाकर्मीबाट निगरानी गरिने सूचना सार्वजनिक भएको थियो ।

त्यसअघि मंगलबार (५ मंसिरमा) मात्रै माइतीघरदेखि नयाँ बानेश्वरसम्म र राष्ट्रपति तथा प्रधानमन्त्रीको निवास परिसरलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । आजको प्रदर्शनलाई लिएर सरकारले गरेको निर्णय यतिमै सकिंदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै १२ बुँदे सम्झौताका पक्षधर दलहरुको बैठक राख्ने, लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनेदेखि लगातार सुरक्षा संयन्त्रको बैठक राखेका थिए । अझ प्रमुख प्रतिपक्षी एमालेले व्यवस्था जोगाउने आन्दोलन सशक्त बनाएर लैजाने निर्णय बुधबारको केन्द्रीय कमिटी बैठकबाट गरेर कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको थियो ।

यी सबै गतिविधि र निर्णय प्रसाईँ नेतृत्वको समूहले गरेको राजतन्त्र फर्काउन लाखौं मानिस राजधानीमा उतार्ने दाबी थियो । तर आज दुवैतर्फ (एमाले र प्रसाईँ समूह) को प्रदर्शनमा सहभागी संख्या पुगनपुग १७ हजार जति रहेको गृह मन्त्रालयले अनुमान गरेको छ ।

तर तिनकुने र बल्खु सडकको केही भागमै समेटिएको प्रदर्शनलाई लिएर सर्वसाधरणमा राज्यबाटै त्रास सिर्जना गर्ने गलत काम भएको विश्लेषकहरू बताउँछन् । ‘जसरी प्रचार गरिएको थियो, र जति मान्छे आए । त्यो मिल्दो देखिएन’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘कुनै राजनीतिक लिगेसी नबोक्ने एउटा व्यापारीले भनेको भरमा राजा फर्कन्छ भन्ने कुरा पत्याउनु मुर्खता थियो ।’

तर तिनै प्रसाईको गतिविधिलाई सत्ता र प्रतिपक्षी दलले राजनीतिक मान्यता दिने काम गरेको उनी बताउँछन् । ‘मार्सीसँग नेताहरुले सिद्धान्त साट्यो । बैंकको ऋण तिर्न नसकेर भौतारिएका ब्यापारीलाई एउटा राजनीतिक कित्ताको मान्यता दियो’, विश्लेषक रोका भन्छन् । प्रदर्शनपछि सत्तारुढ गठबन्धनका नेताहरुले पनि प्रसाईँलाई आवश्यकता भन्दा बढी आँक्ने गल्ती भएको बताउँछन् । ‘माग राख्ने, विरोध र नाराबाजी गर्नु लोकतन्त्रको न्यूनतम मूल्य मान्यता हो । तर के के न गर्न लागेको जस्तो असहजता सरकारले गर्यो, त्यो आवश्यक देखिएन’, नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) भन्छिन् ।

सत्ताले ठाउँ दियो, प्रतिपक्षीले भाऊ

केही हिन्दू संघसंस्था, राजावादी अभियान्ता, लघुवित्त तथा सहकारीका ऋणी लगायत समेटेर आन्दोलन थालेका प्रसाईलाई राजनीतिमा जोड्ने काम भने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ वर्ष अगाडि गरेका थिए । २०७४ को चुनाव नजिकिंदै गर्दा प्रचण्ड र ओलीले झापास्थित प्रसाईँको घरमा खाना खाएको तस्वीर बाहिरिएसँगै आमसाधरणमा प्रसाईँ चिनिए ।

त्यो चुनावमा गठबन्धन गरेको एमाले र माओवादी केन्द्रबीच एकता हुँदा शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । त्यसअघि आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन भौतारिरहेका एक ब्यापारी अब ओली–प्रचण्डसँगै जोडिएर चर्चामा निरन्तर आइरहे ।
५ पुस ०७७ मा ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि नेकपा फुट्यो । त्यसबेला प्रसाईँले ओलीलाई साथ दिए । ‘हजुरबा’ सम्बोधन गर्दै प्रसाईले ओलीलाई महेन्द्र पछिको नेता समेत भने ।

त्यसको बदला ओलीले ०७८ मंसिरको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य बनाए । पार्टीभित्र एक्लौटी निर्णय गरिरहेका ओलीले त्यसबेला नरेश खरेल, टंक कार्की, धर्मराज निरौला, गोमा देवकोटा जस्ता इतिहास बोकेका नेताहरुलाई छुटाएर दुर्गा प्रसाईँलाई नेता बनाएका थिए ।

जबकी पञ्चायती शासकबाट ऋषि देवकोटा आजदको हत्या भएपछि निरन्तर राजनीतिमा रहेकी देवकोटाले केन्द्रीय सदस्यमा राख्न भन्दै ओलीलाई हलबाटै अनुनय गरेकी थिइन् । त्यसबेला ओलीले जानीजानी केन्द्रीय सदस्यमा नराखेको र अब सल्लाहकार भएर बस्न निर्देशन दिएका थिए ।

१७ वर्ष जेल जीवन बसेका र नख्खु जेल ब्रेक गरेका नरेश खरेल, पञ्चायत विरोधी विद्यार्थी आन्दोलनका नेता टंक कार्कीहरुको नाम केन्द्रीय सदस्यमा मत हाल्न नमिल्ने सूचीमा राख्दा दुर्गा प्रसाईँ सजिलै केन्द्रीय सदस्य र उद्योग विभागको सहइन्चार्ज बनेका थिए । तर यिनै प्रसाईँ गत मंसिरको चुनावपछि ओली र एमालेसँग टाढिए । प्रसाईँले १ फागुन २०७९ मा झापामै पूर्व राजा ज्ञानेन्द्रको परिवारलाई नै राखेर सार्वजनिक कार्यक्रम गरेपछि एमालेले केन्द्रीय सदस्यबाट हटायो ।

त्यसपछि झनै आक्रमक भएर प्रसाईँले राजा फर्काउने भन्दै गतिविधि गर्न थाले । आफ्नै सुरक्षा समूह बनाउने, लघुवित्त पीडितहरुलाई उक्साउने जस्ता गतिविधि गरिरहेका प्रसाईँले ओलीलाई ‘हत्या आरोपमा १४ वर्ष जेल सजाय काटेको, विदेशमा लगानी रहेको’ जस्ता तथानाम आरोप लगाउन थाले ।

पार्टी नेतृत्वमाथि आरोप लगाउँदै राजतन्त्र फर्काउने भनेर सामाजिक सञ्जाल केन्द्रित गतिविधि बढाएपछि एमाले कार्यकर्ताले गत २२ मंसिरमा मोसो दले । यो घटनापछि प्रसाईँले एमाले र ओलीविरुद्ध बोल्ने मात्रै नभएर राजतन्त्र फर्काउन निर्णायक आन्दोलन गर्ने घोषणा गरे । यसपछि त प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष ओलीसम्म एकैठाउँ उभिएर सार्वजनिक प्रतिवाद गर्न थाले । ‘दुर्गा प्रसाइँ न पूर्वपञ्च हुन्, न जुझारु एमाले, केही पनि होइन । बित्थामा राजनीतिक स्पेश दिने काम भयो’, राजनीतिक विश्लेषक रोका भन्छन् ।
विश्लेषक रोकाले भनेजस्तै केही समय यताको निर्णयहरू हेर्दा एउटा कित्ताको नेता प्रसाईँलाई बनाउनेगरी नै सत्तारुढ र प्रतिपक्ष एकताबद्ध हुन पुगेको छ । प्रधानमन्त्री प्रचण्डले गत २ मंसिरमा तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्ने क्रममा सार्वजनिक रुपमै प्रसाईँविरुद्ध एमालेले गर्ने आन्दोलनलाई समर्थन रहेको संकेत गरेका थिए । आफू नेतृत्वको सरकारलाई बद्नाम गराउन प्रतिगामी शक्ति लागिपरेको सुनाउँदै प्रचण्डले एमालेले त्यसविरुद्ध एक कदम अगाडि बढेर प्रतिवाद प्रदर्शन गर्न लागेको बताएका थिए । यद्यपि एमालेले प्रदर्शनका क्रममा सरकारको पनि आलोचना गरेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति मात्रै नभएर निर्णयहरुले पनि प्रसाईँविरुद्ध प्रमुख दलहरु एकठाउँ उभिएको पुष्टि हुन्छ । टिकटकमाथि प्रतिबन्ध र निषेधित क्षेत्र घोषणाको निर्णयले त्यसको बलियो उदाहरण हो ।

सामाजिक सद्भाव बिथोल्ने काम भएको भन्दै सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा एमालेले केही बोलेन । जबकी उक्त निर्णयमा संवैधानिक नभएर मनोगत तर्कलाई आधार मानिएको छ । तर दुर्गा प्रसाईँका समर्थकहरु टिकटकबाट बढिरहेको बुझाइकै कारण सरकारको उक्त निर्णयमा सर्वदलीय सहमति बन्न पुगेको बुझ्न सकिन्छ ।

सत्तारुढ गठबन्धनका एक नेता पनि सत्तारुढ र एमालेको निर्णयबाट प्रसाईँलाई राजनीतिक लाभ मिलेको स्वीकार्छन् । ‘दुर्गा प्रसाईँले भनेजस्तो राजा फर्काउने गरी मान्छे आएको देखिएन । तर गणतन्त्र जोगाउन भनेर जस्तो कदम चालियो, त्यसले राजावादी–हिन्दूवादीलाई एउटा कित्तामा उभ्याउने काम गरेको देखियो’ ती नेता भन्छन् । हुन पनि प्रसाईँले ५३ वटा समूहको समर्थन पाएको दाबी गरेको छ ।

कतिसम्म भने हिन्दूवादी–राजावादी पूर्वपञ्चहरुको पार्टी राप्रपा समेत यो प्रदर्शनले अप्ठ्यारोमा परेको देखिन्छ । पर्सि ९ मंसिरमा पूर्वराजा ज्ञानेन्द्रसँग झापाको एउटै कार्यक्रममा सहभागी हुने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कुनै निर्णय लिन सकेका छैनन् । जबकि उनका सांसद एवं पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले दुर्गा प्रसाईँको प्रदर्शनलाई समर्थन गर्दै बल्खुको सडकमा सम्बोधन गरे ।

एमालेका कतिपय नेताहरुले त आजको प्रदर्शनबाट नराम्रो सन्देश गएको तर्क गर्छन् । ‘एउटा विवादित ब्यापारीको गतिविधिलाई राजनीतिक हैसियत दिएर पार्टीपंक्ति उभिनु परेको छ । फेरि हाम्रो कार्यक्रममा सहभागी दाबी गरेजस्तो हुन सकेन’, एक नेता भन्छन् ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्त भने त्यस्तो निष्कर्षमा पुग्नु गलत हुने बताउँछन् । ‘गणतन्त्रविरुद्ध कोही सडकमा आउँछ भने कोही न कोही प्रतिवादमा आउनैपर्छ, हाम्रो युवा र विद्यार्थीले त्यस्तो काम थालेका छन्’, उनी भन्छन् ।

राजनीतिक विश्लेषक रोका, प्रसाईँको प्रतिवादमा दलहरु लाग्नु नै गलत हुने बताउँछन् । ‘सुल्टो बाटो भनेको जनतामा रहेको असन्तुष्टि सम्बोधन गर्नेतिर लाग्नुपर्छ । सामाजिक–आर्थिक अवस्था बुझेर सुधारमा जुट्नुपर्छ’, उनी भन्छन् ।



source https://www.onlinekhabar.com/2023/11/1396179

Wednesday 22 November 2023

धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

७ मंसिर, धनगढी । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा डोटीको सिखर  नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् ।

यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने २९ वर्षीय  मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार,  २८ वर्षका कमल सुनार र २२ वर्षीय  जयराम सुनार रहेको डीएसपी चन्दले बताए ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्नालगायत विषयमा प्रलोभनमा पारी  पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/11/1395671

मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

७ मंसिर, काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।



source https://www.onlinekhabar.com/2023/11/1395643

Tuesday 21 November 2023

क्रोएसिया युरोकपमा छनोट

६ मंसिर, काठमाडौं । क्रोएसिया अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । छनोट चरणको समूह ‘डी’ अन्तर्गत गएराति भएको खेलमा अर्नेनियालाई १-० ले पराजित गर्दै क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको हो ।

क्रोएसियाका लागि एनटे बुडिमिरले एकमात्र गोल गरे । जितपछि ८ खेलबाट १६ अंक जोडेको क्रोएसिया समूह उपविजेताको रुपमा छनोट भएको हो ।

समूह ‘डी’ बाट टर्की यसअघि नै छनोट भइसकेको छ । अर्को खेलमा टर्की र वेल्सले १-१ को बराबरी खेले । यस बराबरीपछि १७ अंक जोडेर टर्की समूह विजेता बन्यो ।

१२ अंक जोडेर तेस्रो स्थानमा रहेको वेल्सले भने प्लेअफ खेल्नुपर्नेछ ।



source https://www.onlinekhabar.com/2023/11/1395215

झापामा हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

६ मङ्सिर, झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए ।

साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।

यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ ।

स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2023/11/1395212

हरिबोधनी एकादशीको दिन रेसुङ्गा र गुल्मीदरबार गाउँपालिकामा सार्वजनिक बिदा

६ मंसिर, गुल्मी । रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार  सार्वजनिक  बिदा दिएका छन् ।

मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा २ वटा स्थनी तहले सार्वजनिक  बिदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल   र गुल्मीदरबार गाउँपालिका  अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।

मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक  संघ संस्थाहरुमा  बिदा दिने निर्णय गरेका हुन् ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारको काम भइरहेको छ ।

रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ ।

रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशीलगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

यस वर्ष रेसुङ्गा नगरपालिकाले पर्यटकको चहलपहल बढाउन भन्दै ‘जाऔं हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।



source https://www.onlinekhabar.com/2023/11/1395210

अर्थ व्यवस्थाप्रति बढ्दो निराशा चिर्ने प्रधानमन्त्रीको प्रयास

५ मंसिर, काठमाडौं । अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि सरकारले निजी क्षेत्रको विश्वास गुमाएको र जनअपेक्षा अनुसार काम गर्न नसक्दा सर्वसाधारणमा रहेको आक्रोशलाई अहिलेको राजनीतिक व्यवस्थाविरोधी शक्तिले भड्काउने प्रयास गरिरहेका बेला प्रधानमन्त्रीले मंगलबार ‘सर्वपक्षीय’ बैठक राखे ।

राजनीतिक दल, निजी क्षेत्र, अनि अर्थविदहरुलाई बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्याबारे आफू चिन्तित रहेको मात्र सन्देश दिएनन्, राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउनेहरुको मिलेर जवाफ दिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा भएको छलफलको सुरुमै उनले भनेका थिए, ‘अहिले गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं इन्डिकेटरहरु सकारात्मक देखिएका छन्, तर अर्थतन्त्र दबावमुक्त भयो भन्ने ठाउँमा पुगेको छैन ।’

जबकी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्वले अर्थतन्त्रमा देखिएको समस्या सुधार उन्मुख देखिएको जिकिर गरिरहेको छ । सोमबार भएको छलफलमा समेत अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको दाबी यो भन्दा फरक थिएन ।

सरकारी निकायहरुलाई एकठाउँमा राखेर साझा मत बनाउने प्रयास गरेका उनले मंगलबार सरकार, राजनीतिक दल र निजी क्षेत्र सबै मिलेर सामना नगर्ने हो भने संकट गहिरिन सक्ने निष्कर्षसहित सरकारले निरन्तर काम गरिरहेको बताए ।

साथै सहकारी, लघुवित्त, बैंक ब्याजका साथै व्यवसायीलाई कर्जा प्रवाहमा समस्या रहेको स्वीकार गरे । यो समस्या विविध कारणले पैदा भएपनि एकथरि मान्छेले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको उनको विश्लेषण छ ।

छलफलका एक सहभागीका अनुसार प्रधानमन्त्रीले दुर्गा प्रसाईहरुको नाम त लिएनन्, तर अराजक अभियानलाई छुट दिन नसक्ने बताए ।

बैठकले बाहिरको भ्रम चिर्नुका साथै समस्या समाधान गर्न सबै एक ठाउँमा छौं भन्ने सन्देश दिनसक्नुपर्ने प्रधानमन्त्रीले बताए । उनले भनेका छन्, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्न खोजेका छन् । त्यसलाई छुट दिन सकिँदैन ।’

आफैं लागेर सम्बोधन गर्ने प्रतिवद्धता

बैठकका सहभागीहरुका अनुसार उद्योग, व्यापार, रोजगारसहित समस्या रहेका क्षेत्रलाई देखाएर व्यवस्थाप्रति वितृष्णा फैलाउनेहरुलाई निरुत्साहित गर्न आर्थिक सुधारमार्फत जवाफ दिनुपर्ने ‘रिलाइजेनसन’ प्रधानमन्त्रीमा देखिएको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला अभ्यास भएको यस्तो सम्वाद फेरि सुरु हुनु नै सकारात्मक भएको उनीहरुको भनाइ छ । बैठकमा राप्रपाका नेता बुद्धिमान तामाङले आफू धेरै पटक मन्त्री भएपनि प्रधानमन्त्रीले नै अर्थतन्त्रबारे सबै पक्ष राखेर आर्थिक विषयमा छलफल चलाएको पहिलोपटक थाहा पाएको बताए ।

सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले थालेको पहलले अर्थतन्त्र सुधारको मार्गचित्र बनाउन सहयोग पुग्ने भन्दै निरन्तरताको सुझाव दिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आर्थिक समस्याबारे सरोकारवालाबीच पर्याप्त छलफल नै नहुने अवस्था तोडिने गरी प्रधानमन्त्रीले थालेको प्रयासले व्यवस्थालाई बलियो बनाउन सघाउने बताए ।

अर्थविद् रामेश्वर खनाल पनि प्रधानमन्त्रीले अर्थतन्त्रको अवस्थाबारे सबै पक्षको आवाज सुन्नु र सम्बोधनको लागि पहल लिनु सकारात्मक भएको बताउँछन् । ‘प्रधानमन्त्रीले म आफैं अर्थतन्त्रबारे चिन्तित छु, आफैं खटिएको छु भन्ने सन्देश दिन खोज्नुभएको देखियो’, मंगलबारको बैठकमा सहभागी पूर्वअर्थसचिव खनाल भन्छन्, ‘संघीयता तुहाउन खोज्नेहरु, व्यवस्थामाथि वितृष्णा जगाउन खोज्नेहरु र दुर्गा प्रसाईं र त्यस्ता प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीले आम रुपमा सकारात्मक सन्देश दिन खोज्नु भएजस्तो देखिन्छ ।’

सरकारको नेतृत्वले आर्थिक मामिलामा पर्याप्त ध्यान नदिएकाले अवाञ्छित शक्तिको उदय भएको भन्दै खनालले अगाडि भने, ‘त्यो पृष्ठभूमिबाट भएपनि प्रधानमन्त्रीले अर्थतन्त्रबारे सबैको कुरा सुनेर अघि बढ्न खोज्नुभएको हो भने सकारात्मक नै हो ।’

निजी क्षेत्रसँग सिधा सम्वाद

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय निजी क्षेत्रको विश्वास जित्न प्रयास गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्दा आफू सकारात्मक रहेको जवाफ समेत दिएका थिए ।

मंगलबारको छलफलमा प्रधानमन्त्रीले आयोग गठनबारे घोषणा गर्नसक्ने सरकारी अधिकारीहरुकै आशंका थियो । तर बैठकमा विज्ञहरुले हालकै सरकारी संयन्त्रहरु जिम्मेवार हुुनपर्ने भन्दै आयोग बनाउने गल्ती नगर्न सुझाव दिए ।

प्रधानमन्त्री प्रचण्डले पनि आयोग गठन गर्ने घोषणा गरेनन्, बरु उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्’लाई सक्रिय बनाएर निजी क्षेत्रसँग सिधा सम्वादमा बस्ने वचन दिएका छन् । ०७५ सालमै गठनको निर्णय भएको परिषद्को नेतृत्व प्रधानमन्त्रीले गर्ने र निजी क्षेत्रको सहभागिता रहने व्यवस्था छ । तर हालसम्म यो संयन्त्र निष्क्रिय छ । प्रधानमन्त्रीले छुट्टै आयोग बनाउनुको साटो परिषदलाई सक्रिय बनाउने प्रतिवद्धतापछि आफ्नो भूमिकालाई मिच्ने गरी अर्को संयन्त्र बन्ने त्रासमा रहेको अर्थ मन्त्रालयले पनि राहतको सास फेरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले खर्च गर्ने प्रवृत्ति बढाउँदै ठूला जलविद्युत् आयोजनाहरुमार्फत पूँजीगत खर्च बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गर्न सक्ने सहजीकरणको काम हुने भन्दै उनले निर्माण व्यवसायीले गरेको कामवापत भुक्तानी हुन बाँकी धेरै रकम फरफारक भइसकेको र बाँकी दायित्व सिर्जना भएको भए सम्बन्धित मन्त्रालयको सिफारिसमा तत्काल गर्ने समेत प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सहकारी र लघुवित्तमा समस्या समाधानका लागि अध्ययन प्रतिवेदन शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

निजी क्षेत्रको आत्मविश्वास बढाउँदै अर्थतन्त्रलाई ठीक अवस्थामा राख्न केही सहुलियत आवश्यक छ भन्ने निष्कर्षसहित बैठक टुंगिएको अर्थमन्त्री डा. प्रकाशशरण महत बताउँछन् ।

उनका अनुसार अर्थतन्त्रका सूचकांकहरु सुधारोन्मुख देखिएपनि संरचनात्मक समस्या छन् भन्ने बैठकको निष्कर्ष छ । जुन क्षेत्रमा साँच्चिकै समस्या छन्, त्यसको सहजीकरण गर्दै जाने प्रतिबद्धता सरकारले जनाएको उनले बताए ।

‘ऋण लिएर तिर्दै तिर्दैनौं भन्ने माग सुनुवाइ हुँदैन’, उनले भने, ‘तर विभिन्न क्षेत्रमा के गर्न सकिन्छ, ? आर्थिक स्रोतले कति भ्याउँछ ? त्यो गर्छौं भन्ने प्रतिवद्धता हाम्रो छ ।’

साना ऋणीको हकमा मौद्रिक नीतिले सम्बोधन गर्ने र यसमा नेपाल राष्ट्र बैंकले गृहकार्य गर्ने उनले बताए । ‘ऋण लिएर दुरुपयोग गर्नेले छुट पाउन्न,’ उनले भने, ‘तर जो साँच्चिकै समस्यामा छन्, उनीहरुलाई जे सम्भव छ, त्यो हेर्ने कुरा भएको छ ।’

बैठकमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट साना ऋणीको समस्या सहजीकरण गर्न सकिने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आन्तरिक अर्थतन्त्र गतिशील कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए । उनले छलफल सकारात्मक भएको र सबै क्षेत्रले त्यसका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको समय बताए ।

निजी क्षेत्रले माग्यो ‘कन्फिडेन्स’

बैठकमा निजी क्षेत्रका संघ संगठनका प्रतिनिधिहरुले अर्थतन्त्रभित्र निराशा छाएको भन्दै हटाउन सरकारले नै अग्रसरता लिनुपर्ने बताएका थिए ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले निजी क्षेत्र समस्यामा रहेको भन्दै लगानीकर्ताहरुलाई सँगै लिएर जान तयार रहेको बताए । ‘केही सहुलियत प्याकेज चाहिन्छ भनेका छौं, ऋणको पुनर्संरचना वा पुनर्तालिकीकरण गरेर मात्र हुँदैन, केही प्रभावित क्षेत्रका लागि पुनर्कर्जा दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव रह्यो,’ उनले भने । बैंकिङ प्रणालीमा स्रोत रहेको भन्दै त्यसका लागि लगानी गर्ने वातावरण बन्नु पर्ने बैंकर्स संघको धारणा रहेको उनले अनलाइनखबरसँग बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऋण लिएर साँच्चिकै अप्ठ्यारोमा परेका व्यवसायीलाई सहजीकरण गर्न राष्ट्र बैंकले काम गर्ने सहमति भएको जानकारी दिए ।

मौद्रिक नीतिको आगामी समीक्षामा केही विषय समेटिने अपेक्षा गरिएको उनको भनाइ छ । ढकालका अनुसार निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन ‘पब्लिक कन्फिडेन्स’ बढाउन आवश्यक रहेको विषय जोड दिएर उठाएको थियो ।

‘सरकारको तर्फबाट पब्लिकलाई सकारात्मक सन्देश दिनुपर्‍यो भन्ने हाम्रो माग थियो’, उनले भने, ‘यसमा सबै सरोकारवाला सकारात्मक हुनुभयो ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रमा रहेको नकारात्मक असरलाई सकारात्मक दिशामा लैजानेबारे छलफल भएको बताए । निजी क्षेत्रले नीतिगत स्थिरता र राज्यले गर्ने काम टाइम बाउन्ड र एक्सन प्लानमा आधारित हुनुपर्ने सुझाव दिएको उनले जानकारी दिए । ‘बोल्ने एउटा, व्यवहारमा अर्को काम नहोस् भन्ने हाम्रो माग हो’, उनले भने, ‘आर्थिक एजेण्डामा दलहरुको एउटै धारणा आउनुपर्छ भन्ने माग पनि गर्‍यौं ।’

अर्थतन्त्रलाई सही ट्र्याकमा लैजान सबै पक्ष एउटा निष्कर्षमा पुगेर सरकारबाट केही कदम चाल्नुपर्छ भन्नेमा निजी क्षेत्र विश्वस्त रहेको समेत उनले बताए । ५ वर्षे आवधिक योजनालाई सहयोग पुग्ने गरी अर्थनीति आउनुपर्ने र अर्थनीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउनु पर्ने निजी क्षेत्रको माग रहेको मल्लले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा दशक घोषणा गरेर जान सरकारलाई सुझाव दिए । उनले वन र भूमिसँग सम्बन्धित केही नीतिहरु निलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



source https://www.onlinekhabar.com/2023/11/1395190

Monday 20 November 2023

९१ वर्षकी काकीसँग बिहे गरेको दाबी गर्दै २३ वर्षीय युवकले गरे यस्तो माग

आमरुपमा बिहेका लागि उमेर सुहाउँदो जोडी खोजिन्छ । तर, दुनियाँमा उमेरमा आकाश पातलको अन्तर भएका विवाहित जोडी पनि छन् । यस्तै घटना अर्जेन्टिनामा भएको छ । त्यहाँ एकजना २३ वर्षीय युवकले ९१ वर्षकी वृद्धासँग बिहे गरेको घटना सार्वजनिक भएको छ ।

पेशाले वकिल रहेका मरिसिओले आफ्नी मृतक काकी योलान्डा टोरिसको पेन्सनमा दाबी गर्दै मुद्दा हालेका छन् ।

आफूले सन् २०१५ को फेब्रुअरीमा आफ्नी ९१ वर्षीया काकी योलान्डासँग बिहे गरेको उनको दाबी छ । योलान्डाको मृत्यु सन् २०१६ को अप्रिलमा भएको थियो । त्यसैले आफ्नी मृतक पत्नीको पेन्सनको हकदार भएको जिकिर उनले गरेका छन् ।

तर छानबिनका क्रममा मरिसियोका छिमेकीहरुले उनको बिहेको दाबी गलत भएको बताएपछि प्रशासनले उनको पेन्सनको दाबी खारेज गरिदिएको छ ।

अर्जेन्टिनाको उत्तर पश्चिमस्थित साल्टा सहरका बासिन्दा रहेका मरिसियो सन् २००९ मा आफ्ना बुवाआमाको डिभोर्स भएसँगै आमा, बहिनी, हजुरआमा र ठूली काकीसँगै बस्दै आएका थिए । सन् २०१६ मा उनकी काकी योलान्डाको मृत्यु भएपछि उनले काकीको पेन्सन पट्टा आफ्नो नाममा दर्ता गराउने कोसिस सुरु गरे । जसका लागि उनले काकीसँग आफ्नो एक वर्षअघि बिहे भएको झुटो दाबी प्रशासनमा पेस गरे ।

उनको दाबीमा शंका लागेपछि प्रशासनले छानबिन सुरु गर्‍यो र उनका छिमेकीलगायतसँग जानकारी लियो । जसमा छिमेकहीहरुले मरिसियो र योलान्डाबीच बिहे नभएको बताए । त्यसपछि प्रशासनले उनको दाबी खारेज गरिदियो ।

तर मरिसियो यत्तिमा रोकिनेवाला छैनन् । काकीसँग आफूले बिहे गरेको हुँदा आफ्नो नाममा पेन्सन सार्नका लागि सर्वोच्च अदालतसम्मै पुग्ने उनको भनाइ छ ।

स्थानीय एक पत्रिकासँग उनले भनेका छन्, ‘योलान्डा मेरो जीवनमा निकै ठूलो सहारा थिइन् र मसँग बिहे गर्ने उनको अन्तिम इच्छा थियो । मैले योलान्डालाई हृदयदेखि नै प्रेम गर्थें । उनको मृत्युको पीडा मलाई जीवनभर हुनेछ ।’

पेन्सनका लागि आफूले सबै आवश्यक कागजात बुझाएको भए पनि प्रशासनले पेन्सन दिनमा समस्या खडा गरिरहेको उनको भनाइ छ ।

पत्नी दाबी गरेको काकीका बारेमा बताउँदै उनी भन्छन्, ‘योलान्डाको उमेर भलै ९० वर्षभन्दा धेरै थियो तर उनको मन निकै जवान थियो । हाम्रो बिहेमा कुनै पनि कानूनी समस्या नहोस् भन्ने उनको चाहना थियो । योलान्डाले मेरो कानून विषयको पढाइ खर्चमा सहयोग गर्ने बताएपछि हामीले बिहे गर्ने निधो गरेका थियौं । जबकि बुवा आमा छुटि्टएपछि मैले पढाइ छाड्न चाहेको थिएँ ।’



source https://www.onlinekhabar.com/2023/11/1394716

न्यायाधीश नियुक्तिको अन्तिम तयारीमा न्याय परिषद्

५ मंसीर, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश सिफारिसको गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

लामो समयदेखि सर्वोच्च अदालतका न्यायाधीशको नाम सिफारिस गर्न नसकेको परिषद्ले सम्भवतः मंगलबार नै न्यायाधीशहरुको सिफारिस गर्नेछ ।

‘विभिन्न कारणले न्यायाधीशहरुको नाम सिफारिसमा ढिलाइ भइरहेको छ, सम्भवतः मंगलबार रिक्त पदहरुमा न्यायाधीशहरुको नाम सिफारिस हुनेछ,’ न्यायपरिषद् स्रोतले भन्यो, ‘एकाध विषयमा पदाधिकारीबीच मतभेद छन् । फरक मत राखेरै प्रक्रिया अघि बढाउने वा एउटा पद यत्तिकै राखेर ६ जनाको सिफारिस गर्ने, मंगलबार नै तय हुनेछ ।’

केही महिनाअघि न्यायाधीश विनोद शर्माको नियुक्तिलाई अपवाद मान्ने हो भने २०७८ जेठपछि सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस हुन सकेको छैन । हाल सर्वोच्च अदालतमा एक तिहाइ न्यायाधीश रिक्त छन् ।

२१ मध्ये ७ न्यायाधीश रिक्त भएकाले १४ जना न्यायाधीशले मात्रै नियमित काम गरिरहेका छन् । सोमबार अनौपचारिक रुपमा छलफलमा बसेका न्यायपरिषद्का सदस्यहरुले करिबकरिब नामावली टुंग्याएको र केही सामान्य मतभेदमात्रै समाधान गर्न बाँकी रहेको स्रोतले बतायो ।

न्यायपरिषद्का एक सदस्यका अनुसार, सिफारिसको चर्चामा रहेका एकाध व्यक्तिको हकमा सबै पदाधिकारीबीच सहमति छैन । उनी भन्छन्, ‘अरु पदाधिकारीहरुले उहाँलाई नै अघि बढाउन चाहने, तर केहीले फरक मत राखेकाले प्रक्रिया लम्बिएको हो, सम्भवत आज टुंगिन्छ ।’ उनका अनुसार, त्यसैका लागि मंगलबार बिहान ११ बजे परिषद्को औपचारिक बैठक डाकिएको छ ।

ती सदस्यका अनुसार, रिक्त सात मध्ये कानून व्यवसायीहरुबाट अधिकतम २ र न्याय सेवामै रहेका न्यायाधीशहरुबाट पाँच जनासम्म लैजाने गरी मोटामोटी खाका बनेको छ ।

पदाधिकारीबीच केही विषयमा मतभेद देखिए त्यो पद खाली राखेर अरुको हकमा सिफारिस गर्ने मौखिक सहमती भएको ती सदस्यले बताए । उनले भने, ‘समाधान निस्किएन भने बरु एउटा पद बाँकी राखेर ६ जनाको सिफारिस गर्ने कि भन्नेसम्मको तयारी छ ।’

संविधानमा संवैधानिक पदाधिकारी सहित सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर विभिन्न कारणले साढे दुई वर्षदेखि नियमित न्यायाधीश सिफारिस प्रक्रिया अवरुद्ध छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध कानून व्यवसायी र सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलित भएपछि न्यायपरिषद् र न्याय सेवा आयोग अवरुद्ध भएको थियो ।

केही महिनादेखिको अन्यौलका कारण १२ जेठ २०७८ मा अवकाश पाएका न्यायाधीश पुरुषोत्तम भण्डारीको ठाँउमा अर्को न्यायाधीशको नाम सिफारिस हुन सकेन ।

१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग दर्ता भएलगत्तै दीपककुमार कार्की कामू प्रधानन्यायाधीश भए र न्यायपरिषद् सक्रिय बनाउने बाटो खुल्यो । २०७९ साल लागेदेखि नै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको देखिन्छ ।

२ जेठ २०७९ मा वरिष्ठतम न्यायाधीश मीरा खड्का अवकाश हुनुभन्दा एक महिनाअघि नै उनको ठाँउमा अर्को न्यायाधीश सिफारिस हुनुपर्ने थियो । उनको अवकाशलगत्तै तेजबहादुर केसीले १९ जेठ २०७९ मा अवकाश पाए । दशैंविना लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाको अवकाशपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या सात पुगेको हो । सर्वोच्च अदालतसहित सात उच्च अदालतमध्ये ६ वटामा मुख्य न्यायाधीश नियुक्त हुन सकेको छैन ।



source https://www.onlinekhabar.com/2023/11/1394707

राष्ट्रसङ्घको चेतावनी- शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्छ

५ मङ्सिर, पेरिस । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्‍याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

प्रतिबद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा तापक्रम वृद्धि विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

दुबईमा महत्वपूर्ण कोप-२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ र यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलता उन्मुख रहेको उल्लेख गरेको छ ।

यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।’

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै यूएनईपीले भनेको छ, ‘पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा छ । विद्यमान नीति र उत्सर्जन कटौती प्रयासहरूको बाबजुद् विश्वव्यापी तापक्रम वृद्धि तीन डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ ।’

सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको युएनईपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी नोभेम्बर ३० देखि शुरु हुने कोप–२८ वार्तामा ‘नाटकीय जलवायु काययोजर्ना’को खाका प्रस्तुत गर्न आह्वान गरेका छन् ।

विश्व नेताहरूले अब पनि जलवायु परिवर्तनको मुद्दामा आफ्ना प्रतिबद्धतालाई पछि धकेल्न वा बेवास्ता गर्न नसक्ने उनले उल्लेख गरे । नेतृत्वको असफलता, कमजोर वर्गप्रतिको विश्वासघात र ठूलो अवसर गुमाएको उल्लेख गर्दै उनले भने, ‘हामी जलवायु परिवर्तनको मुद्दामा सही दिशाभन्दा बाहिर गएका छौं ।’

कोप–२८ को बैठकमा विश्वले निर्णायक कदम चाल्ने तयारी गरिरहेको स्पष्ट सङ्केत गर्दै विश्वले जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै यसलाई सच्याउनुपर्ने उनले बताए । एएफपी



source https://www.onlinekhabar.com/2023/11/1394708

Sunday 19 November 2023

इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३६ घाइते

४ मंसिर, मङ्गलबारे (इलाम) । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार धानुषाधाम नगरपालिका–९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनामा परी घाइते सोही ठाउँ बस्ने ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामाको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइते हुने अन्यमा ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीया सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीय सिद्धार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चान, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ र २८ वर्षीया कल्पनाकुमारी लामा हुनुहुन्छ । त्यसैगरी ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान, ४० वर्षीया तुल्मा लामा, ३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी रहेका छन् ।

साथै १५ वर्षीय करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ र ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा पनि दुर्घटनामा परी घाइते भएका छन् ।

घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2023/11/1394335

Saturday 18 November 2023

जिब्राल्टरको पोष्टमा फ्रान्सको १४ गोल

३ मंसिर, काठमाडौं । युरोकप २०२४ को छनोटमा फ्रान्स ले जिब्राल्टरमाथि कीर्तिमानी जित निकालेको छ ।

समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे ।

फ्रान्सले दुवै हाफमा ७-७ गोल गरेको थियो । फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो जित हो ।

खेलको तेस्रो मिनेटमै एथान सान्तोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लियो । लगत्तै चौथो मिनेटमा मार्कुस थुरामले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । वारेन जयर एमेरीले १६औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे ।

१८औं मिनेटमा सान्तोसले रातो कार्ड पाएपछि जिब्राल्टर दश खेलाडीमा समेटियो । त्यसको फाइदा फ्रान्सले उठायो र ११ गोल थप्यो ।

जसमा एमबाप्पेले ३०औं, ७४औं र ८२औं मिनेटमा गोल गरे । जोनाथन क्लसले ३४औं, किंग्सले कोमनले ३६औं र ६५औं, युसुफ फोफानाले ३७औं, एड्रिएन राबिओटले ६३औं, उसमान डेम्बेलेल ७३औं तथा ओलिभर जिरुडले ८९औं मिनेट र इन्जुरी टाइममा गोल गरे ।

फ्रान्सले खेलमा ३९ सट प्रहार गर्दा जिब्राल्टरले एक पनि प्रहार गर्न सकेन ।

फ्रान्सका वारेन जएर इमेरी फ्रान्सका लागि खेल्नै सबै भन्दा युवा खेलाडी बने । उनले १७ वर्ष ८ महिना ११ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाए ।

यसअघि नै अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्सले समूह बी मा ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमै कायम छ । लगातार ७ खेल हारेको जिब्राल्टर अंकविहीन छ ।



source https://www.onlinekhabar.com/2023/11/1393945

प्रधानमन्त्री सान्चेजलाई जेल हाल्न माग गर्दै स्पेनमा प्रदर्शन

३ मंसिर, काठमाडौं । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजलाई गद्दारको संज्ञा दिंदै जेल हाल्न माग गरेका छन् ।

समाजवादी नेता सान्चेज यसै साता स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका हुन् ।

प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले विजयको उत्सव मनाउने प्लाजा सिबेल्समा करिब एक लाख ७० हजार मानिस भेला भएका थिए ।

दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टीद्वारा वितरित स्पेनी र अन्य युरोपेली झण्डा बोकेका सबै उमेरका प्रदर्शनकारीहरूबाट ‘क्याटालोनिया स्पेन हो’, ‘सान्चेज, गद्दार हुन्’, ‘सान्चेजलाई जेल हाल,’ भन्ने नारा सुन्न सकिन्थ्यो ।

‘बास्क देश एकातिर र क्याटालोनिया अर्कोतिर होस् र केही भएन भन्नका लागि पेड्रो सान्चेज स्पेनलाई टुक्राटुक्रा पार्न चाहनुहुन्छ,’ मड्रिडबाट अवकाश प्राप्त ६५ वर्षीया प्रदर्शनकारी मारिया एन्जेल्स गालानले भनिन् ।

सन् २०१८ देखि सत्तामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज जुलाईमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी नेता अल्बर्टो नुनेज फेइजुपछि दोस्रो स्थानमा आएका थिए ।

बहुमतमा पुग्नका लागि आवश्यक पर्ने मतको बदलामा साञ्चेजले क्याटालोनियाको सन् २०१७ को पृथकतावादी प्रयासमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका पृथकतावादी नेता र कार्यकर्ताहरूका लागि विवादास्पद आममाफी विधेयक पारित गर्नेलगायत थुप्रै सहुलियतहरू स्वीकारेका थिए ।

‘मलाई लाग्छ, यो लडाइँ अब सुरु हुन्छ,’ प्रदर्शनमा सहभागी ५१ वर्षीय उद्यमी मारियानाले भनिन् ।

आफूलाई ‘समाजवादी तर सान्चेजस्तो व्यक्ति नभएको बताउने ६५ वर्षीय लुइस गैरिडोले प्रधानमन्त्रीले ‘यो (शर्त)मूल्य’ स्वीकार गर्न नहुने बताए । ‘म स्पेन यसरी विभाजित होस् भन्ने र डुबोस् भन्ने चाहन्नँ’, उनले भने ।

भीड मध्याह्नतिर जम्मा भएको केही क्षणको भाषणपछि शान्तिपूर्ण रूपमा तितरबितर भएको थियो ।

मड्रिडस्थित सोसलिस्ट पार्टीको मुख्यालय अगाडि विगत दुई हप्तादेखि हरेक दिन प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा केही विकृति देखिएका छन् भने दर्जनौं व्यक्ति पक्राउ परेका छन् । एएफपी



source https://www.onlinekhabar.com/2023/11/1393908

Friday 17 November 2023

मौसममा पश्चिमी वायुको प्रभाव, केही ठाउँमा हिमपातको सम्भावना

२ मंसिर, काठमाडौं । मौसममा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।

आज देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

केही ठाउँमा हिमपात हुने र चिसो बढिरहेकाले सतर्क रहन महाशाखाले सचेत गराएको हो ।



source https://www.onlinekhabar.com/2023/11/1393775

कैलालीमा अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

२ मंसिर, धनगढी । कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले २६ कात्तिकमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल ४३ नम्बर गण दार्चुलामा कार्यरत भण्डारी तालिमका लागि पोखरामा थिए । उनी तिहारको बिदामा आएका बेला धनगढी पुगेका थिए ।

स्वस्तिक अस्पतालको सीसीटीभी फुटेजमा ल्यापटप चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका असई भण्डारी रहेको खुलेपछि प्रहरीले सशस्त्र प्रहरीलाई पत्राचार गर्दै सहयोग मागेको थियो । प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा बिहीबार भण्डारी पक्राउ परेका हुन् ।

सीसीटीभी फुटेजमा भण्डारीले अस्पतालबाट कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटतिर ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2023/11/1393769

महाभूकम्पयता छठ छैन रानीपोखरीमा

१ मंसिर,काठमाडौं । सर्वसाधारणको लागि २८ फागुन २०७९ मा खुलेको रानीपोखरी वर्षौं देखि चलिआएको छठ पर्वको लागि भने अझै खुल्न सकेको छैन ।

२०६३ सालदेखि निरन्तर १० वर्ष रानीपोखरीमा छठपर्वको लागि स्थान उपलब्ध भए पनि भूकम्पपछि भने त्यो क्रम रोकिएको छ ।

‘८ वर्षदेखि रानीपोखरीमा छठ हुन छोडेको छ, अहिले कमलपोखरीमा बृहत रुपमा छठपर्व हुँदै आएको छ’, छठपर्व व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंह बताउँछन् ।

सिंहका अनुसार भूकम्पपछि रानीपोखरीमा रोकिएको छठपर्व जनप्रतिनिधि आएपछि रोक्ने निर्णय गरेका थिए । त्यसपछि उक्त स्थानमा मनाउने भक्तजनहरु कमलपोखरीमा आउने गरेका छन् ।

काठमाडौं महानगरका अनुसार भूकम्प गएपछि २ वर्षसम्म रानीपोखरीमा छठ मनाउने समितिले नै सर्वदलीय संयन्त्रको निर्देशनमा छठ पर्व हुन दिएन । त्यसपछि २०७४ सालको काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि भूकम्प पछिको पुनःनिर्माण सुरु भयो ।

लगभग ८ वर्ष पुनः निर्माण प्राधिकरणको स्वामित्वमा हुँदा रानीपोखरीमा एकचोटि पनि छठपर्व हुन सकेन । काठमाडौं महानगरपालिकाका अघिल्लो कार्यकालका प्रवक्ता रहेका १५ नम्बर वडाका वडाध्यक्ष इश्वरमान डंगोलले पहिलो कार्यकालमा पुनःनिर्माणको काम नै बाँकी भएकोले छठ हुन नसकेको बताए ।

‘भूकम्प पछिको पुनःनिर्माणको लागि काम भइरहेको बेला महानगरले छठ मनाउनको लागि सर्वसाधारणको लागि दिने कुरा भएन, अघिल्लो कार्यकालमा एकचोटी पनि छठ मनाइएन,’ डंगोलले भने ।

रानीपोखरी हस्तान्तरण गरिसकेपछि अहिले महानगरको पूर्ण स्वामित्वमा रानी पोखरी रहँदै आएको छ । महानगरका प्रवक्ता नविन मानन्धरले अहिले रानीपोखरीमा छठपर्व मान्नुपर्छ भन्ने माग नै नरहेको बताउँछन् । ‘हामीले कुनै पनि निर्णय गरेर रानीपोखरीमा छठपर्व मान्न पाइँदैन भनेका छैनौं, अहिले माग नै यहाँको लागि आएको छैन,’ मानन्धरले अनलाइनखबरसँग भने ।

अघिल्लो पटक रानीपोखरी छठपर्व व्यवस्थापन समितिका अध्यक्ष मदन साहले असनलगायतका क्षेत्रमा बस्ने व्रतालुहरुलाई सहज होस् भनेर छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको गुनासो गरेका थिए । तर यो पटक कुनै पनि माग नआएको मानन्धर बताउँछन् ।

‘अघिल्लो कार्यकालमा भौतिक पूर्वाधारको काम पुरा भएको थिएन, तर यो पटक निषेध गरिएको छैन,’ अनलाइखबरसँग मानन्धरले भने ।

काठमाडौं महानगरपालिकाको चाडपर्व र जात्रा व्यवस्थापनको जिम्मा नगर प्रहरीले लिँदै आएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्य स्थान पर्याप्त भएकोले उपलब्ध गराउन नपरेको बताउँछन् ।

‘एक त रानीपोखरी छठ मनाउने ठाउँ नै होइन, भूकम्पपछि अहिलेसम्म दिएको छैन । काठमाडौंमा छठ मनाउन अन्य स्थान पर्याप्त छ,’ उनले भने । पाण्डेले कमलपोखरी, गौरीघाट, बागमती नदिको किनार र बालाजु पार्क भित्र छठको लागि निशुल्क स्थान व्यवस्थापन गरिएको बताए ।

महानगरका मेयर बालेन्द्र साह(बालेन) रानीपोखरीमा आवश्यक परेमा स्थान दिने कुरामा सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ ।

‘अहिले वडामार्फत छठपर्वको स्थान छनोट गर्ने,उपलब्ध गराउने गरिएको छ । कमलपोखरीमा व्यवस्थित गरेर बनाएको ठूलो स्थान छ, यहाँको लागि कुरै भएन । महानगरले उपलब्ध नगराउने भन्ने कुरै छैन, तर अन्य स्थान पर्याप्त नै छ’, उनले भने ।

कमलपोखरी छठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंहका यो वर्ष निशुल्क स्थान उपलब्ध गराएको र महानगरले टेण्टको व्यवस्थापन गरदिएको बताए । ‘स्थानको कुनै समस्या छैन,महानगरका विभिन्न स्थानबाट आइरहेका छन्,’ सिंहले बताए ।

यस्तै गौरीघाटको छठ व्यवस्थापन समितिले अझै ३० भन्दा धेरै धेरै स्थान बाँकी रहेको जनाएको छ । ‘हामीसँग ५३० स्थान रहेकोमा ३० जति अझै बाँकी रहेको छ,’ समितिका सदस्य चन्द्रकान्त यादवले भने र यादवले प्रति स्थान १५ सय रुपैयाँ शुल्क उठाएको समेत बताए । तर महानगरपालिकाले शुल्क उठाउन नदिने निर्णय बारे उनले सबैलाई अनिवार्य नगरेको भन्दै विपन्न, असहायलाई निशुल्क स्थान दिएको बताए ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने पैसा उठाउन नदिने भन्दै तत्काल रोक्ने र फिर्ता गर्न लगाउने बताएका छन् । काठमाडौं महानगर प्रहरीले छठपर्वको सुरक्षाको लागि रात्रीकालिन सुरक्षा दिनको लागि नगर प्रहरी खटाउने भएको छ ।



source https://www.onlinekhabar.com/2023/11/1393758

Thursday 16 November 2023

छठ पर्व सुरु, आज नहाय खाय

१ मंसिर, जनकपुरधाम । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ ।

अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

तराई मधेशपासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।

छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ ।

अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गीत र भजनले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।



source https://www.onlinekhabar.com/2023/11/1393368

युएईसँग नेपाल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ।

बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियाे लिमाले एक-एक गोल गरे।

१५ हजार दर्शक क्षमता रहेको दुबईको अल मक्तुम स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो। यूएईका लागि खालिफा मुबारक अल्हाम्माडीले खेलमा गोलको खाता खोलेका थिए। अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै उनले यूएईलाई १-० ले अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। उनले पेनाल्टीमा युएइका लागि दोस्रो गोल गरेका थिए। त्यसैगरी खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि तेस्रो गोल गरे। पेनाल्टी बक्सभित्र दुई जनाले हेड मार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्यापेको बलले जाली चुमेको थियो।

त्यस्तै, खेलको इन्जुरी समयको पहिलो मिनेटमा फाबियो भर्जिनियाे लिमाले गोल गर्दै पहिलो हाफसम्म युएईलाई ४-० ले अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्स भित्र चिप गरेको बल गोलमा परिणत भएको थियो। उनले अबडाला रमादान बेखिटको क्रसमा नेपाली गोलरक्षक किरणलाई विपरीत दिशामा डाइभ गर्न लगाउँदै उक्त गोल गरेका थिए।

दोस्रो हाफको खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही खतरनाक आक्रमणलाई विफल पारेका थिए। खेलको ४७औं मिनेटमा नेपालका आशिष चौधरीले पहेंलो कार्ड बेहोरेका थिए। उनले युएईका गोलकर्ता फाबियो भर्जिनियाे लिमालाई फाउल गरेका थिए।

नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो। मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार युएईका गोलरक्षकले मुस्किलले बचाएका थिए।



source https://www.onlinekhabar.com/2023/11/1393364

राष्ट्रिय फुटबल टोलीबाट ३ खेलाडीको डेब्यु

१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट तीन खेलाडीले डेब्यु गरेका छन् ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको खेलमा युएई विरुद्ध नेपालका छिरिङ गुरुङ, योगेश गुरुङ र अन्जन राईले डेब्यु गरेका हुन् ।

बिहीबार राति दुबईको अल मोक्तोम स्टेडियममा भएको समूह एचको उक्त खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।

उक्त खेलमा पहिलो रोजाईँमा खेल्दै डिफेण्डर छिरिङले डेब्यु गरेका हुन् । जावलाखेल युथ क्लबबाट घरेलु फुटबल खेल्ने छिरिङले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका हुन् र पहिलो पटकमै उनले डेब्युको अवसर पाए ।

यस्तै थ्रीस्टारका युवा डिफेण्डर योगेश गुरुङ र नेपाल पुलिस क्लबबाट खेल्ने अर्का डिफेण्डर अन्जन राईले पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।

योगेश ४६औं मिनेटमा अमृत श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । यस्तै अन्जनले ८५औं मिनेटमा छिरिङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।

छिरिङ र योगेशसहित फरवार्ड राजेश परियार पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।

छनोट अन्तर्गत समूहको दोस्रो खेल नेपालले मंसिर ५ गते दशरथ रंगशालमा यमनसँग खेल्नेछ ।

 



source https://www.onlinekhabar.com/2023/11/1393361

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More