Thursday 30 June 2022

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

१७ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।



source https://www.onlinekhabar.com/2022/07/1150856

शिवसेनाका नेता एकनाथ शिन्दे : अटो रिक्सा चालकदेखि मुख्यमन्त्रीसम्म

१७ असार, काठमाडौं । शिवसेनाका वागी नेता एकनाथ शिन्दे भारत महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार मुख्यमन्त्री पदको सपथ लिए ।

यसअघि शिवसेनाकै नेता उद्धव ठाकरे मुख्यमन्त्री थिए । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल भएका छन् । शिन्देको पक्षमा रहेका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए । कोश्यारीले बिहीबार विशेष अधिवेशन आह्वान गर्दै ठाकरेलाई बहुमत सिद्ध गर्न भनेका थिए । तर ठाकरेले त्यसअघि नै राजीनामा दिएपछि शिवसेनाकै एकनाथ शिन्दे मुख्यमन्त्री बनेका हुन् ।

शिन्देलाई भाजपाका देवेन्द्र फडणविसले साथ दिएका थिए । ठाकरेको राजीनामापछि फडणविस मुख्यमन्त्री बन्ने चर्चा थियो तर उनी उपमुख्यमन्त्री बनेका छन् । निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले नयाँ मुख्यमन्त्री शिन्देलाई बधाईसमेत दिएका छन् ।

कुनै बेला अटो रिक्सा चलाउँथे शिन्दे

अहिले मुख्यमन्त्री बनेका शिवसेनाका प्रभावशाली नेता एकनाथ शिन्दे पहिले अटो रिक्सा चालक थिए । उनले १८ वर्षको उमेरदेखि आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । ठाणे नगर निगममा विपक्षी नेताको रुपमा काम गरेपछि उनी सन् २००४ मा पहिलो पटक विधायक बने ।

त्यसपछि सन् २००९ देखि लगातार कोपरी–पचपाखडी विधानसभा क्षेत्रबाट उनी विधायक चुनिंदै आएका छन् । सन् २०१५ देखि २०१९सम्म उनी प्रदेशको लोक निर्माण मन्त्री बनेका थिए ।

हाल उनी शहरी विकास मन्त्रीका साथै ठाणे जिल्लाको प्रभारी मन्त्री पनि थिए ।



source https://www.onlinekhabar.com/2022/07/1150853

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

१७ असार, काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/07/1150846

सर्वोच्चले किन बदर गर्यो निजगढ विमानस्थलका कामकारवाही ?

१७ असार, काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन सरकारका नाममा आदेश जारी गर्यो । एकसाथ तीन निर्णय गरेर अहिलेसम्मका प्रक्रिया खारेज गरेको उसले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनी सरकारले २९ फागुन २०७१ मा गरेको निर्णय खारेज भएको छ । ३० चैत २०७१ मा विमानस्थलको चार किल्ला तोक्ने भनी गरेको निर्णय र राजपत्रमा प्रकाशित सूचना बदर भएको छ । वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन र त्यस आधारमा भएको रुख कटान लगायतका निर्णय पनि बदर भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पर्याप्त भएको अवस्थामा तीन दशकअघि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको खोजी हुनुको कारण दुई ठूला हवाई दुर्घटना हुन् । १६ साउन २०४९ मा थाई एयरवेजको विमान नुवाकोटको घ्याङफेदीमा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो । दुई महिना लगत्तै १२ असोज २०४९ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना हुँदा १६७ जनाको मृत्यु भयो । चारैतिर डाँडाकाँडाले ढाकिएको र भौगोलिक रुपमा कठिन काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को विमानस्थल हुनुपर्ने भनी त्यसपछि बहस र अध्ययन हुन थाल्यो ।

सन् १९९५ (२०५१ साल)तिर नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सर्भिस सेन्टर लिमिटेड नामक कम्पनीले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । उसको अध्ययन प्रतिवेदनमा २ किलोमिटर चौडाइ र ५ किलोमिटर लम्बाइ गरी १० वर्गकिलोमिटर जग्गा विमानस्थल निर्माणका लागि आवश्यक हुने उल्लेख थियो । तर त्यो प्रतिवेदन तत्काल अघि बढेन ।

करिव १५ वर्षपछि २०६५ पुसमा सरकारले फेरि सम्भाव्यता अध्ययन गर्ने भयो । त्यसका लागि ल्याण्डमार्क वर्ल्डवाइड कम्पनीसँग विस्तृत सम्भावना अध्ययनबारे सम्झौता भयो । २०६८ सालमा उसले प्रतिवेदन बुझायो । प्रतिवेदनमा जमिन उपयोग हुने क्षेत्रका लागि एयरसाइड, ल्याण्डसाइड र एयरपोर्ट सिटी भनी २ करोड ४० लाख ४५ हजार वर्गमिटर (करिव २४ वर्ग किलोमिटर र २४ सय हेक्टर जमिन) जग्गा प्रयोग हुने उल्लेख थियो ।

यिनै प्रतिवेदनका आधारमा सरकारले ३० चैत २०७१ मा राजपत्रमा सूचना प्रकाशित गरी तत्कालिन गढीमाई नगरपालिका र निजगढ नगरपालिकाको केही भागलाई चार किल्ला तोकी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल घोषणा गरेको थियो । त्यो प्रस्तावमा जग्गाको क्षेत्रफल करिव ८० वर्ग किलोमिटर(८ हजार ४५ हेक्टर) हुने उल्लेख थियो ।

२५ फागुन २०७३ मा सरकारले विमानस्थलमा पहुँचमार्ग (पेरीफेरी) सडक बनाउने भनी रुख कटानी गर्ने र नेपाली सेनाबाट सुरक्षा निगरानी गराउने भनी निर्णय गरेको थियो । ६ महिनापछि नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबिच रुख कटानी र सुरक्षा निगरानी सम्बन्धी सम्झौता नै भयो ।

सरकारले विमानस्थलको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढायो । ९ जेठ २०७५ मा जीईओसीई नामक परामर्शदाता कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वातावरण मन्त्रालयबाट स्विकृत भयो । त्यसबेलासम्म विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन उपलब्ध गराइएको थिएन भनी ईआईए प्रतिवेदनमा नै उल्लेख छ ।

विमानस्थल निर्माणका लागि भनेर आर्थिक वर्ष २०७२/७३ देखि निजगढमा कार्यालय स्थापना भयो । विमानस्थल क्षेत्रको ७७ मध्ये ५५ किलोमिटरमा तारबार लगाइएको छ । करिव ११० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्नेमा ६४ विगाहा जग्गा अधिग्रहण भई प्राधिकरणको नाममा आइसकेको छ । सरकारले त्यहाँ अर्बौं लगानी भइसकेको भन्दै कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप नगर्न आग्रह गर्दै सर्वोच्च अदालतमा प्रतिवाद गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको र अहिलेसम्म केही अर्ब रुपैयाँ लगानी भएको परियोजनालाई सर्वोच्च अदालतले रोक्नुका केही आधार छन् । व्याख्याका क्रममा केही फरक मत राखे पनि सर्वोच्च अदालतको बृहत पूर्ण इजलासका पाँच जना न्यायाधीशहरु अहिलेको प्रक्रिया खारेजीमा एकमत छन् र त्यसको आधार पनि समान छ ।

सर्वोच्च अदालतले निम्न पाँचवटा आधारमा अहिलेसम्मका कामकारवाही माथि प्रश्न उठाउँदै तिनलाई खारेज गर्न आदेश दिएको देखिन्छ ।

१. प्रतिवेदन विश्वसनीय भएन

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन शुरुदेखि नै विवादित थियो । प्रतिवेदन तयार पार्नका लागि १५ भदौ २०७४ मा सिमराको इच्छा होटलको सभाकक्षमा सार्वजनिक सुनुवाइ गर्ने भनी सूचना निकालेको थियो । त्यो भेलामा कति जना थिए र कोको सहभागी भए प्रतिवेदनमा खुलेन । छलफलको विषयवस्तु पनि सार्वजनिक भएन ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रकृयामा गरिने सार्वजनिक छलफल र प्राप्त हुने जनसहभागिताको माध्यमबाट विकास कार्यको स्वीकार्यता नै वृद्धि हुने हो । कुनै आयोजनाको कार्य अगाडि बढाउनुभन्दा अगावै अनिवार्य रुपमा वातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको पाइन्छ’ सर्वोच्च अदालतले आफ्नो निर्णयमा भनेको छ, ‘निजगढ विमानस्थल निर्माण सम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिएको र स्वीकृत भएको भएपनि यस सम्बन्धमा विविध कोणबाट प्रश्नहरु उठेका देखिन्छन् ।’

वन तथा वातावरण मन्त्रालयले ९ जेठ २०७५ मा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्विकृत गरेको थियो । तर त्यसभन्दा अघि नै कुनै अध्ययन नगरी सरकारले २९ फागुन २०७१ मा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गरेको थियो । अनि ३० चैत २०७१ मा त विमानस्थलको चार किल्ला समेत तोकिसकेको थियो । लगत्तै नेपाली सेनाले वरपरको सडक बनाउने र काठ काट्ने जिम्मेवारी पायो ।

प्रतिवेदन तयार हुनुअघि नै पूर्वाधार निर्माणको तयारी भएको भन्दै सर्वोच्च अदालतले प्रश्न उठाएको हो । ‘विवादित स्थानमा विमानस्थल निर्माण गर्ने भनी नेपाल सरकारले निर्णय गरेको लगभग ३ वर्षपछि प्रतिवेदन तयार गरी/गराई स्वीकृत भएको अवस्था छ’ फैसलामा भनिएको छ, ‘यसलाई सुसंगत तबरको अर्थात विधि, पद्धती र प्रकृया अनुशरण गरी भएको काम कारवाही रहेछ भनी मान्न मिल्ने अवस्था देखिँदैन ।’

विमानस्थल निर्माण गर्दा न्यूनतम क्षती हुने कुराको विकल्पको खोजी नगरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिएको भन्दै सर्वोच्च अदालतले उक्त प्रतिवेदनमा वन विनाशका कारण हुने असरवारे मूल्यांकन नै नभएको औंल्याएको छ । फैसलामा भनिएको छ, ‘पूर्व निर्देशित, इच्छित वा प्रायोजित कुरालाई कानुनी औपचारिकता पुरा गरेको देखाउने अभिप्रायले तयार गराइएको प्रतिवेदन हो भनी रिट निवेदकको जिकिर तथ्यसंगत नै देखिन्छ ।’

प्रतिवेदनभित्रको तुलनात्मक अध्ययन शिर्षकमा जलविद्युत आयोजनासँग सम्बन्धित व्यहोरा उल्लेख थियो । सर्वोच्च अदालतले त्यो प्रतिवेदन मौलिक र वस्तुगत नभई केही भाग अन्यत्रबाट सारिएको निष्कर्ष निकाल्यो । विमानस्थलको चार किल्ला तोकिएपछि पर्सा वन्यजन्तु आरक्षणको क्षेत्र विस्तार गर्ने काम भयो । यसले सरकारका निकायहरू बीच समन्वय भएको देखिएन । वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले पनि आरक्ष विस्तारको विषयमा व्याख्या गरेन ।

‘यो केवल रीत पुर्याउने वा औपचारिकता निर्वाह गर्ने दस्तावेज होइन, यसको कानूनी र व्यवहारिक महत्व रहेको हुन्छ,’ फैसलामा भनिएको छ, ‘यसरी ग्रहण गरिएका आधारहरु वस्तुगत र कानूनसम्मत् छन् वा छैनन् भन्ने कुरा अवश्य नै न्यायिक परीक्षणको विषय बन्दछन् । उल्लिखित दृष्टिले हेर्दा विवादित प्रतिवेदनलाई त्रुटिरहित रहेछ भनी मान्न सकिने स्थिति देखिएन ।’

सर्वोच्च अदालतको फैसला अनुसार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको बिस्तृत प्रतिवेदन (डीपीआर) तयार गरिएको देखिदैन । लागत कति लाग्ने हो? त्यसको लागि आर्थिक व्यवस्थापन कसरी जुटाउने हो ? भन्ने कुनै वस्तुगत विश्लेषण वा खाका पनि तयार भएको थिएन । अनुमानित लागत, आयोजनाबाट प्राप्त हुन सक्ने लाभ तथा सम्भावित जोखिम वा नोक्सानीका सम्बन्धमा तथ्यपरक विश्लेषण समेत भएको थिएन ।

‘विमानस्थलको सम्भावित निर्माण लागतको आकलनमा निश्चित दृष्टिकोण तयार भैसकेको नदेखिए तापनि केही खर्ब रूपैयाँ लागत पर्ने कुरामा विवाद छैन,’ फैसलामा भनिएको छ, ‘आयोजनाका विविध पक्षमा निश्चित योजना र दृष्टिकोण निर्माण नहुँदै रुख काट्ने र वन जंगल क्षेत्र खाली गर्ने कार्य राष्ट्रका लागि जोखिमपूर्ण पनि हुन सक्तछ ।’

२. रुख काट्न हतारिने, वृक्षरोपणको योजना नबनाउने

८ हजार ४५ हेक्टरको प्रस्तावित विमानस्थल हुने ठाउँमा ७ हजार ९९० हेक्टर जग्गा वन पर्छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा नै २४ लाख ठूला रुख काट्नुपर्ने उल्लेख छ । त्यसका आधारमा सर्वोच्च अदालतले ‘विवादित आयोजनास्थलमा वातावरणीय विनासको अवस्था रहेनछ भनी मान्न मिल्ने देखिदैन’ भन्ने निष्कर्ष निकालेको हो ।

१२ मंसिर २०७६ मा पर्यटन मन्त्रालयले वातावरण मन्त्रालयलाई लेखेको पत्रमा पहिलोमा १३ सय र दोस्रोमा ६ सय गरी कूल १९ सय हेक्टर जमिनमात्रै प्रयोग हुने उल्लेख थियो । त्यसका लागि कुल ५ लाख रुख काट्नुपर्ने थियो, त्यसमध्ये एक लाख ३५ हजार रुख ठूला आकारका थिए । त्यहाँ २ सय वर्ष पुरानो भीम सखुवाको ठूलो रुख समेत रहेको विवरण पेश भएको थियो । पूर्णपाठमा भनिएको छ, ‘यस प्रकारका सम्पदाको विनासबाट पर्न सक्ने प्रभावको वैकल्पिक व्यवस्थापन सम्बन्धी पर्याप्त तार्किक आधार वातावरण प्रभाव मूल्यांङ्कन प्रतिवेदनमा खुलाइएको देखिएन ।’

त्यतिबेला कुनै परियोजना निर्माणका क्रममा एउटा रुख काटेपछि २५ वटा विरुवा लगाउनुपर्ने मापदण्ड थियो । निजगढ विमानस्थलको सन्दर्भ अगाडि आएपछि; नेपाल सरकारले मापदण्डमा संशोधन गरी एउटा रुख काटेपछि १० वटामात्रै विरुवा रोपे हुने भनी मापदण्ड परिवर्तन गर्यो ।

१ रुख बराबर १० विरुवाको अनुपातलाई हेर्दा पनि कहाँ, कुन ठाउँमा वृक्षरोपण गर्ने हो भन्ने कुनै योजना निर्धारण नगरिएको सर्वोच्चको ठम्याइ छ । फैसलामा भनिएको छ, ‘यसबाट वन ऐन, नियमद्वारा निर्दिष्ट प्रावधानका आधारमा नेपाल सरकार स्वयंले निर्धारण गरेको मापदण्डको पालना भएको वा हुने अवस्था रहेछ भनी मान्न सकिने अवस्था देखिदैन ।’

रुख विरुवा क्षतिपूर्तिका लागि ६ करोड १२ लाख ७० हजार विरुवा हुर्काउनुपर्छ । त्यसका लागि ३८ हजार हेक्टर जमिन चाहिन्छ जुन, त्यतिबेला चार किल्ला तोकेको भन्दा करिव ५ गुणा बढी जमिन हो । सर्वोच्चको फैसला अनुसार, विरुवा लगाउने र हुर्काउने स्थान (जमिन) र सो सम्बन्धी योजना प्रतिवेदनमा खुलाइएको देखिदैन ।

३.विश्वको तेस्रो ठूलो विमानस्थल किन चाहियो ?

निजगढ अन्तराष्ट्रिय विमानस्थलको क्षेत्रफल ८०४५ हेक्टरको हुने भनिएको थियो । सर्वोच्च अदालतको व्याख्या अनुसार, विमानस्थल क्षेत्रका लागि कति जग्गा आवश्यक पर्ने हो भन्ने सम्बन्धमा कुनै तर्कपूर्ण र वस्तुगत मापदण्ड अपनाएको देखिएन । सर्वोच्च अदालतले अन्य मुलुकका केही ठूला विमानस्थलको क्षेत्रफलको तुलनात्मक अध्ययन गर्यो । निजगढलाई एसियाको एयरपोर्ट हब बनाउने भनिए पनि सम्भाव्यता अध्ययन प्रतिवेदन लगायतका विश्वसनीय र बस्तुगत आधार समावेश भएको थिएन ।

विश्वका ठूला विमानस्थल र तिनको क्षेत्रफल

विमानस्थलको नाम र देश क्षेत्रफल (हेक्टरमा)
हिथ्रो विमानस्थल, बेलायत १२२७
हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, हङकङ १२५५
एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका १९०२
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, भारत २०६६
फ्रयाङकफर्ट विमानस्थल, जर्मनी २३००
दुवई अन्तर्राष्ट्रिय विमानस्थल, युएई २९००
शिकागो अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका ३०८९
पेरिस अन्तर्राष्ट्रिय विमानस्थल, फ्रान्स, ३२३७
सुवर्णभूमि विमानस्थल, थाइल्याण्ड ३२४०
कायरो अन्तर्राष्ट्रिय विमानस्थल, इजिप्ट ३६२५
सांघाई अन्तर्राष्ट्रिय विमानस्थल, चीन ३९८८
जर्ज बुश अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका ४४५१
डालस अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका ४८५६
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल ८०४५
किङ फद अन्तराष्ट्रिय विमानस्थल, साउदी अरेविया ७७६००
डेनभर अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका १३५७१

पहिलो सम्भाव्यता अध्ययनमा निजगढ विमानस्थलका लागि केवल १० वर्गकिलोमिटर क्षेत्रफल भए पुग्ने भनिएको थियो । दोस्रोमा बढाएर २४ वर्गकिलोमिटर भए हुने भनियो । अध्ययन प्रतिवेदनमा नै १० वर्गकिलोमिटर जग्गामा एयरपोर्ट सिटी बनाउन पुग्ने भनी औंल्याइएको छ । सरकारले अदालतमा जवाफ दिंदा समेत ८ हजार हेक्टरमध्ये १९ सय हेक्टरमात्रै जग्गा विमानस्थललाई आवश्यक पर्ने भनी बताएको थियो ।

अहिले ८० वर्गकिलोमिटर क्षेत्रफलको वन मासेर किन विश्वकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्यो भनी सर्वोच्च अदालतले औचित्यमाथि प्रश्न उठाएको हो । ‘परिणामतः विमानस्थलका लागि भनी ८,०४५.७९ हेक्टर जग्गा छुट्याइएको कुराको औचित्यमा गम्भीर प्रश्न खडा हुन पुगेको छ’ फैसलामा भनिएको छ, ‘हराभरा वन जंगलको जग्गा विमानस्थलका लागि भनी छुट्याउनु पर्ने कुनै वैध, उचित, तार्किक वा वस्तुगत कारण खुल्न आएको देखिदैन ।’

सुनुवाइका क्रममा इजलासमा पुगेका हवाई उडान विज्ञले अन्तर्राष्ट्रिय हवाई उडानका दृष्टिले निजगढमा विमानस्थल निर्माण गरिँदा हवाई उडान सम्बन्धी समस्या आउन सक्ने औंल्याएको फैसलामा उल्लेख छ । प्रस्तावित स्थान हवाई उडानका दृष्टिले प्राविधिक रुपमा कति उपयुक्त छ भन्ने प्रश्न कायम नै रहेको देखिन्छ । सम्बन्धित विषय–विज्ञहरुबाट विस्तृत अध्ययन भई निजहरुबाट पेश भएको राय प्रतिवेदनलाई आधार मानेर आयोजना निर्माणस्थल छनौट गरिएको रहेछ भनी मान्न सकिने भरपर्दो अवस्था नरहेको फैसलामा उल्लेख छ ।

वन क्षेत्रको कटान गरी केवल विमानस्थलको पूर्वाधार मात्रै बनाउने नभई विमानस्थल शहर नै बसाउन खोजिएको भन्दै सर्वोच्चले विश्वकै तेस्रो ठूलो विमानस्थल हुनेगरी प्रस्ताव भएको निष्कर्ष निकाल्यो । भइरहेको वन क्षेत्रको प्रयोग गरी यति ठूलो विमानस्थल नेपालको सन्दर्भमा आवश्यक हुन्छ वा हुँदैन भन्ने कुराको कुनै अध्ययन तथा विवेचना समेत भएको थिएन ।

सर्वोच्च अदालतका अनुसार, विश्वका विभिन्न भागमा रहेका ठूला र व्यस्त विमानस्थलहरु २ हजार हेक्टरभन्दा कम क्षेत्रफलका छन् । सर्वोच्चले हाम्रो कुन आवश्यकता पूर्ति वा अभिष्ट प्राप्तिको लागि ८ हजार हेक्टर जग्गा छुट्याई ठूलो परिमाणको वन पैदावार मासेर विश्वकै तेस्रो ठूलो र विशाल विमानस्थल निर्माण गर्नुपर्ने ?’ भनी प्रश्न गरेको हो ।

अन्य कतिपय मुलुकका आयोजनाको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने भन्दै सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामकारवाही राष्ट्रिय हित अनुकूल र वस्तुगत यथार्थमा आधारित रहेको विश्वास गर्न नसकिने भनी निष्कर्ष निकालेको हो । फैसलामा भनिएको छ, ‘विश्वका व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलहरू समेत प्रस्तावित विमानस्थलको क्षेत्रफल भन्दा धेरै कम क्षेत्रफलमा चुस्तरूपमा सञ्चालनमा रहेको भन्ने हुँदा वन समेत ८ हजार हेक्टर क्षेत्रफलमा विमानस्थल शहर निर्माण गरिँदा पर्यावरणमा प्रतिकूल असर पुग्न जाने देखिन आयो ।’

४. पर्यावरण र जैविक विविधताको चिन्ता

सुनुवाइका क्रममा सर्वोच्च अदालत पुगेका केही विज्ञहरुले निजगढको वनक्षेत्र हात्ती लगायतका कतिपय वन्यजन्तुको जैविक मार्गमा पर्ने औल्याए । प्रस्तावित ठाउँको वन फँडान गरी विमानस्थल निर्माण गर्दा जैविक मार्गमा अवरोध हुन्थ्यो । त्यसबाहेक विमानस्थल क्षेत्रको करिब ७ किलोमिटरमा पर्सा वन्यजन्तु आरक्ष पर्छ । आईकाओको मान्यता अनुसार संरक्षित क्षेत्रसँग जोडेर विमानस्थल निर्माण गर्नु उचित ठानिदैन ।

पूर्व वन सचिव डा. कृष्णचन्द्र पौडेलका अनुसार, विमानस्थलका लागि वन नास गर्दा २ खर्ब ३१ अर्ब रुपैयाँ बराबर तत्काल नोक्सान हुने देखिन्छ । वन फडानी गरेपछि तत्काल करिव १५ अर्ब रुपैंयाँजति आम्दानी देखिए पनि त्यसको तुलनामा वातावरणीय विनास ठूलो थियो ।

५ सय प्रजातीका चराहरु, ३३३ प्रजातिका वनस्पति र ३३ प्रजातीका स्थनधारी प्राली र २२ लोपोन्मुख प्रजातीलाई नोक्सान हुने भनी विज्ञहरुले इजलासमा प्रस्तुति दिएका थिए । त्यसबाट करिव ४ हजार हेक्टर खेतीयोग्य जमिन र माछापालनमा असर पुग्थ्यो । २ साझेदारी वनका २७ हजार उपभोक्तालाई असर पर्ने बताए । कार्बन शोषण बापत ८ देखि ७५ अर्ब रुपैयाँसम्म नोक्सान हुने चेतावनी पनि दिए ।

उनीहरुले वनविनाशबाट वार्षिक २ खर्ब ३१ अर्ब रुपैयाँसम्म क्षति हुने चेतावनी दिए । उनीहरुका अनुसार, जङ्गली हात्तीहरूको पुर्खौली आहार–विहार गर्ने तथा हिँड्ने बाटोमा अवरोध पैदा हुन्छ भने जैविक विविधता, वातावरण, वन्यजन्तु एवं वनस्पतिमा नकारात्मक असर पर्ने देखिन्छ । निजगढको जंगलक्षेत्र दुर्लभ मानिने बाघ, हात्ती, गैंडा जस्ता महत्वपूर्ण जनावरहरूको जैविक मार्ग हो । वनविनाशबाट भूमिगत जलस्रोतको पुनर्भरण, सिँचाइ र कृषिमा असर पर्ने सर्वोच्चको ठम्याई हो ।

पर्यावरणलाई अनावश्यक रुपमा विनास हुनबाट जोगाउन सम्भावित सवै विकल्पहरुको खोजी हुनुपर्ने भन्दै सर्वोच्च अदालतले हचुवाका भरमा महत्वपूर्ण आयोजनाबारे निष्कर्ष निकाल्न नहुने औंल्याएको छ । ८ हजार क्षेत्रफलमध्ये ९० प्रतिशत हिस्सा वनजंगल रहेकाले निजगढलाई आयोजना निर्माणस्थल भनी तोकिनु उचित, तर्कसंगत र मनासिव नहुने ठहर गरेको हो ।

उक्त वन क्षेत्रको नोक्सानी भएको अवस्थामा तल्लो भूभागको प्राकृतिक र भौगर्भिक जलाशय/पानी आपूर्तिमा प्रतिकूल असर भन्दै सर्वोच्चले प्रस्तावित विमानस्थलमा उपयोग हुने वन क्षेत्रको आकार, क्षेत्रफल, रुख विरुवाको संख्या तथा जैविक वासस्थान तथा जैविक–मार्ग रहेको वन क्षेत्रको विनास भएमा ‘वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने’ निष्कर्ष निकालेको हो ।

विमानस्थल निर्माण गर्ने, ठूलो संख्यामा रुख कटान गर्ने विषयमा मधेश प्रदेशको सरकारले समेत असहमती जनाएको थियो । संविधानमा नै ‘प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन’ सम्बन्धी विषयको अधिकार प्रदेश सरकारलाई रहेको भन्दै सर्वोच्च अदालतले उसको माग पनि सुनुवाई हुनुपर्ने औंल्याएको हो । फैसलामा भनिएको छ, ‘प्रदेश सरकारले अगाडि सारेको मनासिव माफिकको दृष्टिकोणलाई अन्देखा गर्नु र सम्बन्धित प्रदेश सरकारसंग सामान्य रुपमा पनि समन्वय कायम नगरी निर्णय गरिनु मनासिव देखिदैन ।’

५. वन मासेर शहर बनाउने ?

सर्वोच्च अदालतले वन क्षेत्रको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न रोक लगाइएको वन ऐन, २०४९ मा भएको प्रावधान औंल्याएको छ । उक्त ऐनको दफा ६८ अनुसार, अरु कुनै विकल्प नभएमा र योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने भएमा मात्रै वनक्षेत्रमा राष्ट्रिय प्राथमिकताको योजना सञ्चालन गर्न मिल्छ । सर्वोच्चले ‘विवादित निजगढ विमानस्थल निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएको भनी निष्कर्ष निकाल्न सकिने वस्तुगत आधार प्रस्तुत हुन आएको देखिएन’ भनी निष्कर्ष निकालेको छ ।

‘लाखौं संख्यामा रुख भएको, अनेकौं जैविक विविधताले भरिपूर्ण वन क्षेत्रमा विमानस्थल निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने भनी कसरी निष्कर्षमा पुग्न सकिने हो ? भन्ने प्रश्नको पनि कुनै तथ्ययुक्त आधार सहित खण्डन प्रस्तुत हुन आएको पाइएन’ फैसलामा भनिएको छ, ‘यसरी हेर्दा प्रस्तावित (विवादित) विमानस्थल निर्माण आयोजना सम्बन्धमा गरिएको निर्णय तथा काम कारवाहीले न्यायिक वैधता प्राप्त गर्न सक्ने अवस्था देखिन आउँदैन ।’

सर्वोच्च अदालतले प्रस्तावित परियोजनाको रुपरेखा वा खाका हेर्दा जंगल काटेर निजगढमै एयरपोर्ट शहर बसाल्ने मनसाय देखिने औंल्याएको छ । केही प्रतिवेदनमा छुट्याइएको ८ सयमध्ये ६ सय हेक्टर जग्गा एयरपोर्ट शहरका लागि रहेको भनी उल्लेख गरेका थिए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वन मासेर स्मार्ट सिटी निर्माण गर्ने काम नगर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनी निर्णय गरेको थियो ।

‘वन मासेर ‘एयरपोर्ट सहर’ बनाउने कुराको कुनै कानूनी तथा तार्किक औचित्य देखिदैन’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘ठूलो परिमाणमा वन मासेर एयरपोर्ट शहर बनाउने कुरा मनासिव होइन । यी र यस्ता विषयतर्फ सरकारको वाञ्छित र विवेकपूर्ण दृष्टि पुगेको देखिन आएन ।’ शहर बसाउन खोजिएको निजगढ जंगलको ९० प्रतिशत भागमा घना वनक्षेत्रले ढाकेको छ, त्यहाँ ५२ प्रतिशत सालका रुख छन् । वनमध्ये पनि १० प्रतिशतभन्दा बढी भूभाग संरक्षित वनक्षेत्र छ ।

विवाद शुरु भएपछि र चौतर्फी प्रश्न उठेपछि सरकारले १९ सय हेक्टर क्षेत्रफलमा मात्रै जंगल काट्न खोजिएको भनी प्रतिक्रिया दियो । १२ मंसिर २०७६ मा पर्यटन मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाई लेखेको पत्रमा पनि १९ सय हेक्टर जंगल काट्ने भनी उल्लेख भएको छ । तर वातावरण प्रभाव मूल्यांकन र चारकिल्ला तोक्ने कामले सबै ८ हजार हेक्टर क्षेत्रलाई नै विमानस्थल भनी परिभाषित गरिएको र त्यो क्षेत्रको वनविनाश हुनसक्ने भन्दै सर्वोच्चले सबै निर्णय बदर गराएको हो ।



source https://www.onlinekhabar.com/2022/07/1150830

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

१७ असार, दाङ । दाङमा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुुई जनाको मृत्यु भएको छ ।

सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुुकुन्द प्रसाद रिजालले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाई्कलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।



source https://www.onlinekhabar.com/2022/07/1150834

पूँजीगत खर्च बढाउन असारमा धमाधम रकमान्तर

१६ असार, काठमाडौं । महिनौंदेखि अर्थ मन्त्रालयमा थन्किएका रकमान्तरका फाइलहरु स्वीकृत हुन थालेको छ । रकमान्तर नगर्ने भनेर रोकिएका फाइल अर्थले धमाधम स्वीकृत गरेर भुक्तानीको बाटो खोल्न थालेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लाग्दा मन्त्रालयमा रकमान्तरको चटारो छ । महिनौंदेखि रोकिएको रकमान्तर गरेर काम भइसकेका आयोजनामा भुक्तानी गराउन विकासे अड्डाका अधिकारीहरु पनि अर्थ मन्त्रालय धाइरहेका छन् ।

सडक विभागले मात्रै करिब १० अर्ब रकमान्तरको माग गरेको छ । अर्थले समयमै रकमान्तर स्वीकृत नगर्दा सडक विभागमा भएका कामहरुकै पनि भुक्तानी रोकिएका थिए । ‘एकसाथ ८–९ सय पुल बनिरहेका हुन्छन्, सबैमा पर्याप्त बजेट हुँदैन, कुनैमा राखिएको बजेटभन्दा बढी भएको कामको भुक्तानी गर्नुपर्ने हुन्छ,’ विभागका प्रवक्ता भीमार्जुन अधिकारी भन्छन्, ‘अर्थमा गएका फाइलको भुक्तानी अहिले दैनिकजसो भइरहेको छ ।’

सिँचाइ विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी विभाग, रेल विभागसहित विभिन्न विकासे मन्त्रालय अन्तरगतका आयोजनाहरुले पनि रकमान्तर मागेका छन् ।

विकास खर्च नभएर सकसमा परेको सरकारले आवको अन्त्यमा रकमान्तर गरेर भुक्तानी तीव्र बनाएको छ । वर्षभरि काम भएर बिल पेश भएका आयोजनाहरुको पनि भुक्तानी गर्ने क्रम तीव्र भएको छ ।

मंगलबारसम्म सरकारले १ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । ३ खर्ब ७८ अर्बको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा ३९.७८ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ ।

१५ दिन अघिससम्म सरकारले गरेको पुँजीगत खर्च १ खर्ब ३७ अर्ब ९६ करोड थियो । असार लागेपछि १० अर्ब पुँजीगत खर्च भएको तथ्यांकमा देखिन्छ ।

१ खर्ब ८९ अर्ब वित्तीय खर्च गर्ने लक्ष्य राखेको सरकारले मंगलबारसम्म कूल ९१ अर्ब ३७ करोड खर्च गरेको छ । यसअनुसार वित्तीय खर्च ४८.२४ प्रतिशत मात्रै भएको देखिन्छ ।

२३ जेठसम्म ८३ अर्ब १० करोड मात्रै पुँजीगत खर्च भएको थियो । करिब १५ दिनमा सरकारले ८ अर्ब वित्तीय खर्चको भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयको तथ्यांकमा देखिन्छ । अब धमाधम रकमान्तर गरेर पुँजीगत खर्चको दर ५० प्रतिशत नघाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसबाट सरकारले असारको अन्तिम १० दिनमा विकास खर्चमा ‘क्रान्ति’ गर्ने शैली कायम राख्ने देखिएको छ । विगतमा जस्तै चालु आवमा पनि खर्चको अधिकांश हिस्सा असारकै भेलमा खन्याइएको छ ।

यो वर्ष पनि धेरैजसो विकास निकायले पहिलो चौमासिक (साउन–कात्तिक) सकिँदासम्म ठेक्का प्रक्रिया सुरु गरेका थिएनन् । दोस्रो, तेस्रो चौमासिकमा ठेक्का लगाएर वर्षायाम सुरु भएपछि धमाधम काम गर्ने तयारी अनुरुप नै प्रक्रिया अघि बढेका थिए ।

आर्थिक कार्यविधि नियमावलीअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने कार्य प्रथम चौमासिक अवधिमा गरिसक्नुपर्नेमा असार कुर्ने प्रवृत्ति कतिसम्म छ भन्ने तथ्यांकबाटै पुष्टि हुन्छ ।

आव ०७६/७७ भरिमा संघीय सरकारी निकाय, मन्त्रालय अन्तर्गतकाका विभिन्न कार्यालय र आयोजनाबाट कूल ६७ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ बराबरको २ हजार ९८९ ठेक्का लागेका थिए । त्यसमध्ये ५२ अर्ब ८१ करोड ४० लाख रुपैयाँ (७७.६६ प्रतिशत) को २ हजार ३९४ ठेक्का (८०.०९ प्रतिशत) दोस्रो चौमासिक (मंसिर–असार)मा लागेको देखिन्छ ।

सो वर्ष १६ अर्ब ८० करोड २१ लाख रुपैयाँको ६२३ ठेक्का असार महिनामात्र नै लगाइएको छ । यो तथ्यांकले करिब २० प्रतिशत मात्र ठेक्का पहिलो चौमासिकमा लगाउने गरेको देखाउँछ ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार २०७४ असारमा १ खर्ब ८ करोड ४१ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो । २०७५ को असारमा ९० अर्ब ९ करोड रुपैयाँ, २०७६ को असारमा ६५ अर्ब ७१ करोड रुपैयाँ, २०७७ असारमा ८५ अर्ब २१ करोड र २०७८ असारमा ८६ अर्ब रुपैयाँ खर्च भएको थियो ।

कानुन मिचेर रकमान्तर

असारमै खर्च गर्ने विकृति बढाउने मुख्य निकाय अर्थ मन्त्रालय नै हो । असारसम्म विकास खर्च नभएकोमा सधै आलोचना खेप्ने मन्त्रालयले असारमा रकमान्तर गरेर जथाभावी खर्च गर्न प्रोत्साहन गर्ने गरेको छ ।

बजेट सिद्धान्त विपरीत जथाभावी रकमान्तर गर्ने, अर्थ विविध शीर्षकबाट बजेट विनियोजन गरी पटके निर्णयको आधारमा निकासा दिने, सम्बन्धित कार्यक्रम र शीर्षकमा विनियोजन नै नगर्ने वा कम गर्ने लगायत परिपाटी विगतदेखि नै कायम छ । चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको दर नबढेपछि अर्थमन्त्री जनार्दन शर्मा त्यही रकमान्तरको भुत्ते अश्त्र प्रयोग गर्दैछन् ।

कानुन मिचेरै गरिने रकमान्तरका कारण असार ताकेरै विकास बजेट खर्चिने अवस्था आएको देखिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० मा कुनै एक अनुदान संकेत अन्तर्गतको बजेट उपशीर्षकमा रकम अपुग भए सोही ऐनमा तोकिएको कुनै एक वा एकभन्दा बढी अनुदान संकेत अन्तर्गतको उपशीर्षकमा बचत हुने रकममध्येबाट ‘विनियोजन ऐन’मा तोकिएको सीमाभित्र रहेर अर्थले रकमान्तर गर्न सक्ने व्यवस्था छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७६/७७मा ३ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँ (कूल बजेटको २१.७८ प्रतिशत) मनलाग्दी रकमान्तर भएको थियो । सोमध्ये असारमा मात्र ८५ अर्ब ८३ करोड रकमान्तर भएको थियो । त्यसमा असार २५ गतेपछि ३१ अर्ब ३९ करोड रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा लगिएको थियो । जबकी, विनियोजन ऐन, २०७६ को दफा ३ (ग) अनुसार कुनै पनि शीर्षकमा विनियोजन भएको रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन । तर, ५१५ प्रतिशतसम्म रकमान्तर गरेको देखिन्छ ।

असारमा खर्च गराउन बजेट कितावमा शीर्षक नै नभएको कार्यक्रममा समेत सरकारले बजेट दिने गरेको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियमले भन्छ– स्वीकृत बजेटको रकम एक बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकबाट अर्को बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकमा रकमान्तर गर्न सकिन्छ । तर, आव ०७६/७७ मा शुरुमा बजेट व्यवस्था नै नगरी कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम र बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललगायत ६ कार्यक्रममा १२ करोड ८५ लाख ३५ हजार खर्च गरेको भेटिन्छ ।

छुट्याएको रकम सोही प्रयोजनमा खर्च गर्नुपर्ने विनियोजन ऐन छल्न बजेट उपशीर्षकमा ‘अर्थ विविध’ कायम गरेर ठूलो रकम अवण्डामा राख्ने गरिएको छ । आव ०७६/७७ मा यो शीर्षकमा ७७ अर्ब ५ करोड ५ लाख रुपैयाँ विनियोजन गरेर ३१ अर्बभन्दा बढी बजेट रकमान्तर गरियो ।

बजेट सिद्धान्त विपरीत जथाभावी रकमान्तर गर्ने, अर्थ विविध शीर्षकबाट बजेट विनियोजन गरी पटके निर्णयको आधारमा निकासा दिने, सम्बन्धित कार्यक्रम र शीर्षकमा विनियोजन नै नगर्ने वा कम गर्ने लगायत परिपाटी विगतदेखि नै कायम छ । यसरी थपघट गरेको बजेट सम्बन्धमा संसदलाई जानकारी नहुने तथा नियन्त्रण कमजोर हुने अवस्था छ । अनुगमन गर्न कठिनाइ हुने, पारदर्शिता नहुने र अभिलेखनमा समेत समस्या पर्ने गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा

चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको दर नबढेपछि अर्थमन्त्री जनार्दन शर्मा त्यही रकमान्तरको भुत्ते अश्त्र प्रयोग गर्दैछन् । विनियोजित रकम खर्च गर्न अनेकन बहनाबाजी गरिरहेका विकासे मन्त्रालयहरु पनि रकमान्तरकै लागि मन्त्रालय धाइरहेका छन् ।

सरकारले छुट्याएको शीर्षकको बजेटको लागि ठेक्का लगाउने लगायत प्रक्रिया अघि बढेको भन्दै उनीहरुले मुआब्जा लगायत शीर्षकमा ठूलो रकमान्तर मागेका छन् ।

योजना छान्ने तहबाटै समस्या

विकास खर्च कमजोर र विकृत शैलीमा हुनुमा एउटा मात्रै कारण छैन । पूर्वाधार विज्ञहरुका अनुसार योजना निर्माणकै तहदेखिको समस्याले पुँजीगत खर्च पर्याप्त, छिटो र मितव्ययी बन्न सकेको छैन ।

पूर्वाधारविद सूर्यराज आचार्य पूर्वतयारीका काम सकेर मात्र निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा ठेक्का लगाइहाल्ने र मिल्नेजति लाभ लिइहाल्ने प्रवृत्ति झांगिएको बताउँछन् । उनका अनुसार, लागत र लाभ हेरेर विश्लेषण गर्दै आयोजना बैंक तयार गरेर प्रतिफलयुक्त आयोजनामात्र कार्यान्वयन गर्ने परिपाटी बसेको छैन ।

निश्चित सूचक र मापदण्डको आधारमा आयोजनाहरु घोषणा गर्ने तथा तोकिएको समय र लागतमा दक्षतापूर्वक कार्यान्वयन गर्नेतर्फ सरकारले चासो दिएको छैन । निर्माण स्थलको पर्याप्त अध्ययन, डिजाइन, ‘क्लियरेन्स’ जस्ता पक्ष पनि बेवास्तामा पर्दै आएको छ ।

त्यस्तै, आयोजना कार्यान्वयनको लागि अन्तर निकाय समन्वय प्रभावकारी छैन । आयोजनाको अनुगमन र मूल्याङ्कनका लागि आधुनिक विधिहरु प्रयोग गरिदैन । ‘आयोजना व्यवस्थापन सूचना प्रणाली’ नै छैन ।

आयोजनाका अधिकारीहरुको कार्य सम्पादन र करार प्रणालीलाई वृत्ति विकाससँग जोडिएको पनि छैन । महालेखा परीक्षकको प्रतिवेदन–२०७८ यो समस्याबारे पनि बोलेको छ । उसले खरिद कार्यलाई व्यवस्थित गर्न सके विकास खर्च सुध्रने सुझाव सरकारलाई दिएको छ ।

उपभोक्ता समितिबाट हुने निर्माण कार्यलाई निर्देशिका बनाएर व्यवस्थित गर्न महालेखाले सिफारिस छ । ‘निर्माण व्यवसायीको क्षमता मूल्याङ्कन गरी खरिद सम्झौता गर्ने व्यवस्था गर्नुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘निर्माणका नम्र्समा समयानुकूल सुधार एवं संशोधन गर्नुपर्छ ।’

खरिद सम्झौताअनुसार नगर्ने संयुक्त उपक्रम (जेभी)का सबै साझेदार निर्माण व्यवसायीलाई कसुर अनुसारको अवधिसम्मको लागि कालोसूचीमा राख्ने व्यवस्था गर्न महालेखाको सुझाव छ ।

अर्थविद डा. डिल्लीराज खनाल सिंगो योजना, बजेट, खर्च व्यवस्थापन र वित्तीय व्यवस्थापन प्रणाली नै समस्यामा रहेको बताउँछन् । वर्षौंदेखि यथास्थितिमै रहँदा अर्थतन्त्रका आधारभूत र संरचनात्मक समस्या समाधान र पुनर्संरचनाको आधार तयार गर्न नसकिएको उनको भनाइ छ ।

पुँजीगत खर्च बढाउने सन्दर्भमा हुने बहस ‘तेल पेल्ने कोल’ जस्तो जताबाट घुमाए पनि मिल्ने गरेको डा. खनालको टिप्पणी छ । ‘जिम्मेवार तहका व्यक्तिहरुलाई साँच्चै जिम्मेवार बनाइनुपर्छ,’ उनी भन्छन्, ‘त्यसमा हस्तक्षेप आवश्यक छ ।’



source https://www.onlinekhabar.com/2022/06/1150288

Wednesday 29 June 2022

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित

१६ असार, काठमाडौं । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ ।

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।

लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।

भन्सार एजेन्टमा नाम निकाल्न सफल उम्मेदवारको सूची



source https://www.onlinekhabar.com/2022/06/1150309

भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

१६ असार, काठमाडौं । भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।

सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले भने, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’ ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन् । त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए । ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताएका छन् ।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहीबार बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे ।

शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेपछि ठाकरेलाई विधानसभामा बहुमत देखाउनुपर्ने चुनौती थियो तर उनले बहुमत सिद्ध नगरी राजीनामाको बाटो रोजे ।

यसैबीच अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ ।



source https://www.onlinekhabar.com/2022/06/1150306

पर्खाल भत्किएर पुरिँदा भक्तपुरमा एक जनाको मृत्यु   

१६ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका-१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

आज साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको उनले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/06/1150303

पुँजीगत खर्च बढाउन असारमा धमाधम रकमान्तर

१६ असार, काठमाडौं । महिनौंदेखि अर्थ मन्त्रालयमा थन्किएका रकमान्तरका फाइलहरु स्वीकृत हुन थालेको छ । रकमान्तर नगर्ने भनेर रोकिएका फाइल अर्थले धमाधम स्वीकृत गरेर भुक्तानीको बाटो खोल्न थालेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लाग्दा मन्त्रालयमा रकमान्तरको चटारो छ । महिनौंदेखि रोकिएको रकमान्तर गरेर काम भइसकेका आयोजनामा भुक्तानी गराउन विकासे अड्डाका अधिकारीहरु पनि अर्थ मन्त्रालय धाइरहेका छन् ।

सडक विभागले मात्रै करिब १० अर्ब रकमान्तरको माग गरेको छ । अर्थले समयमै रकमान्तर स्वीकृत नगर्दा सडक विभागमा भएका कामहरुकै पनि भुक्तानी रोकिएका थिए । ‘एकसाथ ८–९ सय पुल बनिरहेका हुन्छन्, सबैमा पर्याप्त बजेट हुँदैन, कुनैमा राखिएको बजेटभन्दा बढी भएको कामको भुक्तानी गर्नुपर्ने हुन्छ,’ विभागका प्रवक्ता भीमार्जुन अधिकारी भन्छन्, ‘अर्थमा गएका फाइलको भुक्तानी अहिले दैनिकजसो भइरहेको छ ।’

सिँचाइ विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी विभाग, रेल विभागसहित विभिन्न विकासे मन्त्रालय अन्तरगतका आयोजनाहरुले पनि रकमान्तर मागेका छन् ।

विकास खर्च नभएर सकसमा परेको सरकारले आवको अन्त्यमा रकमान्तर गरेर भुक्तानी तीव्र बनाएको छ । वर्षभरि काम भएर बिल पेश भएका आयोजनाहरुको पनि भुक्तानी गर्ने क्रम तीव्र भएको छ ।

मंगलबारसम्म सरकारले १ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । ३ खर्ब ७८ अर्बको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा ३९.७८ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ ।

१५ दिन अघिससम्म सरकारले गरेको पुँजीगत खर्च १ खर्ब ३७ अर्ब ९६ करोड थियो । असार लागेपछि १० अर्ब पुँजीगत खर्च भएको तथ्यांकमा देखिन्छ ।

१ खर्ब ८९ अर्ब वित्तीय खर्च गर्ने लक्ष्य राखेको सरकारले मंगलबारसम्म कूल ९१ अर्ब ३७ करोड खर्च गरेको छ । यसअनुसार वित्तीय खर्च ४८.२४ प्रतिशत मात्रै भएको देखिन्छ ।

२३ जेठसम्म ८३ अर्ब १० करोड मात्रै पुँजीगत खर्च भएको थियो । करिब १५ दिनमा सरकारले ८ अर्ब वित्तीय खर्चको भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयको तथ्यांकमा देखिन्छ । अब धमाधम रकमान्तर गरेर पुँजीगत खर्चको दर ५० प्रतिशत नघाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसबाट सरकारले असारको अन्तिम १० दिनमा विकास खर्चमा ‘क्रान्ति’ गर्ने शैली कायम राख्ने देखिएको छ । विगतमा जस्तै चालु आवमा पनि खर्चको अधिकांश हिस्सा असारकै भेलमा खन्याइएको छ ।

यो वर्ष पनि धेरैजसो विकास निकायले पहिलो चौमासिक (साउन–कात्तिक) सकिँदासम्म ठेक्का प्रक्रिया सुरु गरेका थिएनन् । दोस्रो, तेस्रो चौमासिकमा ठेक्का लगाएर वर्षायाम सुरु भएपछि धमाधम काम गर्ने तयारी अनुरुप नै प्रक्रिया अघि बढेका थिए ।

आर्थिक कार्यविधि नियमावलीअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने कार्य प्रथम चौमासिक अवधिमा गरिसक्नुपर्नेमा असार कुर्ने प्रवृत्ति कतिसम्म छ भन्ने तथ्यांकबाटै पुष्टि हुन्छ ।

आव ०७६/७७ भरिमा संघीय सरकारी निकाय, मन्त्रालय अन्तर्गतकाका विभिन्न कार्यालय र आयोजनाबाट कूल ६७ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ बराबरको २ हजार ९८९ ठेक्का लागेका थिए । त्यसमध्ये ५२ अर्ब ८१ करोड ४० लाख रुपैयाँ (७७.६६ प्रतिशत) को २ हजार ३९४ ठेक्का (८०.०९ प्रतिशत) दोस्रो चौमासिक (मंसिर–असार)मा लागेको देखिन्छ ।

सो वर्ष १६ अर्ब ८० करोड २१ लाख रुपैयाँको ६२३ ठेक्का असार महिनामात्र नै लगाइएको छ । यो तथ्यांकले करिब २० प्रतिशत मात्र ठेक्का पहिलो चौमासिकमा लगाउने गरेको देखाउँछ ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार २०७४ असारमा १ खर्ब ८ करोड ४१ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो । २०७५ को असारमा ९० अर्ब ९ करोड रुपैयाँ, २०७६ को असारमा ६५ अर्ब ७१ करोड रुपैयाँ, २०७७ असारमा ८५ अर्ब २१ करोड र २०७८ असारमा ८६ अर्ब रुपैयाँ खर्च भएको थियो ।

कानुन मिचेर रकमान्तर

असारमै खर्च गर्ने विकृति बढाउने मुख्य निकाय अर्थ मन्त्रालय नै हो । असारसम्म विकास खर्च नभएकोमा सधै आलोचना खेप्ने मन्त्रालयले असारमा रकमान्तर गरेर जथाभावी खर्च गर्न प्रोत्साहन गर्ने गरेको छ ।

बजेट सिद्धान्त विपरीत जथाभावी रकमान्तर गर्ने, अर्थ विविध शीर्षकबाट बजेट विनियोजन गरी पटके निर्णयको आधारमा निकासा दिने, सम्बन्धित कार्यक्रम र शीर्षकमा विनियोजन नै नगर्ने वा कम गर्ने लगायत परिपाटी विगतदेखि नै कायम छ । चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको दर नबढेपछि अर्थमन्त्री जनार्दन शर्मा त्यही रकमान्तरको भुत्ते अश्त्र प्रयोग गर्दैछन् ।

कानुन मिचेरै गरिने रकमान्तरका कारण असार ताकेरै विकास बजेट खर्चिने अवस्था आएको देखिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० मा कुनै एक अनुदान संकेत अन्तर्गतको बजेट उपशीर्षकमा रकम अपुग भए सोही ऐनमा तोकिएको कुनै एक वा एकभन्दा बढी अनुदान संकेत अन्तर्गतको उपशीर्षकमा बचत हुने रकममध्येबाट ‘विनियोजन ऐन’मा तोकिएको सीमाभित्र रहेर अर्थले रकमान्तर गर्न सक्ने व्यवस्था छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७६/७७मा ३ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँ (कूल बजेटको २१.७८ प्रतिशत) मनलाग्दी रकमान्तर भएको थियो । सोमध्ये असारमा मात्र ८५ अर्ब ८३ करोड रकमान्तर भएको थियो । त्यसमा असार २५ गतेपछि ३१ अर्ब ३९ करोड रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा लगिएको थियो । जबकी, विनियोजन ऐन, २०७६ को दफा ३ (ग) अनुसार कुनै पनि शीर्षकमा विनियोजन भएको रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन । तर, ५१५ प्रतिशतसम्म रकमान्तर गरेको देखिन्छ ।

असारमा खर्च गराउन बजेट कितावमा शीर्षक नै नभएको कार्यक्रममा समेत सरकारले बजेट दिने गरेको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियमले भन्छ– स्वीकृत बजेटको रकम एक बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकबाट अर्को बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकमा रकमान्तर गर्न सकिन्छ । तर, आव ०७६/७७ मा शुरुमा बजेट व्यवस्था नै नगरी कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम र बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललगायत ६ कार्यक्रममा १२ करोड ८५ लाख ३५ हजार खर्च गरेको भेटिन्छ ।

छुट्याएको रकम सोही प्रयोजनमा खर्च गर्नुपर्ने विनियोजन ऐन छल्न बजेट उपशीर्षकमा ‘अर्थ विविध’ कायम गरेर ठूलो रकम अवण्डामा राख्ने गरिएको छ । आव ०७६/७७ मा यो शीर्षकमा ७७ अर्ब ५ करोड ५ लाख रुपैयाँ विनियोजन गरेर ३१ अर्बभन्दा बढी बजेट रकमान्तर गरियो ।

बजेट सिद्धान्त विपरीत जथाभावी रकमान्तर गर्ने, अर्थ विविध शीर्षकबाट बजेट विनियोजन गरी पटके निर्णयको आधारमा निकासा दिने, सम्बन्धित कार्यक्रम र शीर्षकमा विनियोजन नै नगर्ने वा कम गर्ने लगायत परिपाटी विगतदेखि नै कायम छ । यसरी थपघट गरेको बजेट सम्बन्धमा संसदलाई जानकारी नहुने तथा नियन्त्रण कमजोर हुने अवस्था छ । अनुगमन गर्न कठिनाइ हुने, पारदर्शिता नहुने र अभिलेखनमा समेत समस्या पर्ने गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा

चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको दर नबढेपछि अर्थमन्त्री जनार्दन शर्मा त्यही रकमान्तरको भुत्ते अश्त्र प्रयोग गर्दैछन् । विनियोजित रकम खर्च गर्न अनेकन बहनाबाजी गरिरहेका विकासे मन्त्रालयहरु पनि रकमान्तरकै लागि मन्त्रालय धाइरहेका छन् ।

सरकारले छुट्याएको शीर्षकको बजेटको लागि ठेक्का लगाउने लगायत प्रक्रिया अघि बढेको भन्दै उनीहरुले मुआब्जा लगायत शीर्षकमा ठूलो रकमान्तर मागेका छन् ।

योजना छान्ने तहबाटै समस्या

विकास खर्च कमजोर र विकृत शैलीमा हुनुमा एउटा मात्रै कारण छैन । पूर्वाधार विज्ञहरुका अनुसार योजना निर्माणकै तहदेखिको समस्याले पुँजीगत खर्च पर्याप्त, छिटो र मितव्ययी बन्न सकेको छैन ।

पूर्वाधारविद सूर्यराज आचार्य पूर्वतयारीका काम सकेर मात्र निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा ठेक्का लगाइहाल्ने र मिल्नेजति लाभ लिइहाल्ने प्रवृत्ति झांगिएको बताउँछन् । उनका अनुसार, लागत र लाभ हेरेर विश्लेषण गर्दै आयोजना बैंक तयार गरेर प्रतिफलयुक्त आयोजनामात्र कार्यान्वयन गर्ने परिपाटी बसेको छैन ।

निश्चित सूचक र मापदण्डको आधारमा आयोजनाहरु घोषणा गर्ने तथा तोकिएको समय र लागतमा दक्षतापूर्वक कार्यान्वयन गर्नेतर्फ सरकारले चासो दिएको छैन । निर्माण स्थलको पर्याप्त अध्ययन, डिजाइन, ‘क्लियरेन्स’ जस्ता पक्ष पनि बेवास्तामा पर्दै आएको छ ।

त्यस्तै, आयोजना कार्यान्वयनको लागि अन्तर निकाय समन्वय प्रभावकारी छैन । आयोजनाको अनुगमन र मूल्याङ्कनका लागि आधुनिक विधिहरु प्रयोग गरिदैन । ‘आयोजना व्यवस्थापन सूचना प्रणाली’ नै छैन ।

आयोजनाका अधिकारीहरुको कार्य सम्पादन र करार प्रणालीलाई वृत्ति विकाससँग जोडिएको पनि छैन । महालेखा परीक्षकको प्रतिवेदन–२०७८ यो समस्याबारे पनि बोलेको छ । उसले खरिद कार्यलाई व्यवस्थित गर्न सके विकास खर्च सुध्रने सुझाव सरकारलाई दिएको छ ।

उपभोक्ता समितिबाट हुने निर्माण कार्यलाई निर्देशिका बनाएर व्यवस्थित गर्न महालेखाले सिफारिस छ । ‘निर्माण व्यवसायीको क्षमता मूल्याङ्कन गरी खरिद सम्झौता गर्ने व्यवस्था गर्नुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘निर्माणका नम्र्समा समयानुकूल सुधार एवं संशोधन गर्नुपर्छ ।’

खरिद सम्झौताअनुसार नगर्ने संयुक्त उपक्रम (जेभी)का सबै साझेदार निर्माण व्यवसायीलाई कसुर अनुसारको अवधिसम्मको लागि कालोसूचीमा राख्ने व्यवस्था गर्न महालेखाको सुझाव छ ।

अर्थविद डा. डिल्लीराज खनाल सिंगो योजना, बजेट, खर्च व्यवस्थापन र वित्तीय व्यवस्थापन प्रणाली नै समस्यामा रहेको बताउँछन् । वर्षौंदेखि यथास्थितिमै रहँदा अर्थतन्त्रका आधारभूत र संरचनात्मक समस्या समाधान र पुनर्संरचनाको आधार तयार गर्न नसकिएको उनको भनाइ छ ।

पुँजीगत खर्च बढाउने सन्दर्भमा हुने बहस ‘तेल पेल्ने कोल’ जस्तो जताबाट घुमाए पनि मिल्ने गरेको डा. खनालको टिप्पणी छ । ‘जिम्मेवार तहका व्यक्तिहरुलाई साँच्चै जिम्मेवार बनाइनुपर्छ,’ उनी भन्छन्, ‘त्यसमा हस्तक्षेप आवश्यक छ ।’



source https://www.onlinekhabar.com/2022/06/1150288

‘नागरिकता लगायतका महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने अभिभारा छ’

१६ असार, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा आफू सामू रहेको बताएका छन्  । ‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

सन्देशमा लेखिएको छ, ‘दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको छ । हामी सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नु पर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा छ ।’

संसद दिवसले लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि संघीय संसदका सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत सभामुखले लिएका छन् ।

संसद दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोह-अवरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसदसँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको समेत सभामुखले बताएका छन् ।

नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा यस दिनलाई संसद दिवसका रुपमा मनाउने प्रचलन रहि आएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1150297

Tuesday 28 June 2022

नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा

१५ असार, काठमाडौं । उच्च मागका कारण  अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ जुन हालसम्मकै नेपाली रुपैयाँको कमजोर अवस्था हो ।

रुस युक्रेन युद्धका कारण महँगो भइरहेको डलरको भाउका कारण पछिल्लो तीन महिनायता डलरको मूल्य बढ्ने क्रम तीव्र देखिएको छ ।

पछिल्लो साता हालसम्मकै उच्च डलरको बिक्री दर १२५ रुपैयाँ ६६ पैसा थियो । तर झण्डै एक साता केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेर नयाँ कीर्तिमानीमा पुग्यो ।

डलरको भाउ बढ्दा भारतीय रुपैयाँ प्रत्यक्ष रुपमा अवमूल्यन भइरहेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँसँगै प्रभावित बनिरहेको छ ।

डलरको मूल्य आकासिदा अध्ययन तथा भ्रमण  र आयातका लागि नेपालीले खर्च गर्नुपर्ने रकमको भार थपिने छ ।  डलर सञ्चिती र शोधानान्तर घाटा झेलिरहेको नेपालको अर्थतन्त्रलाई रुपैयाँको अवमूल्ययन अर्को एउटा प्रमुख चुनौती हुने विज्ञाहरू बताउँछन् ।



source https://www.onlinekhabar.com/2022/06/1149786

बर्खासँगै कास्कीमा विपद् सुरु, व्यवस्थापनको तयारी कस्तो ?

१५ असार, पोखरा ।  लगातारको झरीले आधा दर्जन बढी ठाउँमा पहिरो जाँदा कास्कीको पोखरादेखि मादी गाउँपालिकाको सिक्लेस जाने बाटो एक हप्तादेखि बन्द छ ।

पहिरोकै कारण मादी गाउँपालिका १, खिलाङको जनसेवा टोल उच्च जोखिममा छ । मादी–१, खिलाङको माथिबाट पहिरो जान सुरु गरिसकेकाले गाउँ नै जोखिममा रहेको र त्यसमा पनि जनसेवा टोल बढी जोखिममा रहेको वडाध्यक्ष देवीजंग गुरुङ बताउँछन् ।

उनका अनुसार जनसेवा टोलमा ५० घरधुरी छन् । ‘अहिले तत्काललाई त्यहाँ रहेका परिवारलाई सुरक्षित ठाउँमा सर्न भनेका छौं । गाउँको स्कुल केही सुरक्षित रहेको र बिदा पनि भएकाले त्यहाँ स्थानान्तरण हुन भनेका छौं,’ वडाध्यक्ष गुरुङले भने, ‘यसबारे पालिका प्रमुख र सीडीओ साबलाई पनि जानकारी गराइसकेका छौं ।’

पहिरोकै कारण मादी गाउँपालिका–६ मा एक हप्तादेखि नै बिजुली बत्ती बल्न सकेको छैन । विद्युत आपूर्ति बन्द हुँदा गाउँ नै सञ्चार सम्पर्कविहीन बन्ने अवस्थामा पुगेको छ । सुरक्षित ठाउँमा सारिएका परिवारलाई खाना, बस्नको लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिनेछ ।

पहिरोले बाटोमा क्षति पुर्याउँदा आउजाउ पूर्णरुपमा बन्द छ । जसका कारण गाउँपालिकाका बिरामी, वृद्धवृद्धालाई पोखरा आउजाउ गर्न समस्या भएको वडाध्यक्ष देवीजंग गुरुङ बताउँछन् । पोखरादेखि सिक्लेस जाने सीधा बाटो पूर्ण रुपमा बन्द भएपछि ताङतिङलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गरिएको छ । ‘तर, त्यो बाटो पनि मादीबाट लामो र घुमाउरो हिँड्नु परेको छ,’ उनी भन्छन् ।

असार १० गते राति परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका–२५ सुइखेत पूर्णरुपमा डुबानमा पर्यो । सुइखेत क्षेत्र डुबान पर्दा करिब २ सय परिवार प्रत्यक्ष प्रभावित बने भने पहिरोले २ वटा घरसहित केही पशुफार्मसमेत बगायो ।

पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनाका अनुुसार डुबान प्रभावित क्षेत्रमा पानीको बहाव कमी भएसँगै केही परिवार आफ्नै घरमा फर्किसकेका छन् भने अधिकांश अझै फर्किन सक्ने अवस्था छैन । ‘डुबेका घरहरु सफा गर्ने काम चलिरहेको छ । केही फर्किनु भयो । तर, पहिरोले बगाएका र अन्य अति प्रभावितहरु अझै फर्किन सक्ने अवस्था बनिसकेको छैन,’ उनले भने, ‘अझै केही दिन लाग्छ ।’

देशभरमै सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीमा मनसुन सुरु भएसँगै विभिन्न विपद्का घटना हुन थालेका छन् । सुरुआती अवस्थामा मानवीय क्षति नभए पनि बाटो, पुल लगायतमा करोडौंको भौतिक क्षति भने पुगिसकेको छ ।

पोखरा-सिक्लेस सडकमा गएको पहिरो

पूर्वतयारी

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले विपद् व्यवस्थापनका लागि महानगर तयारी अवस्थामा रहेको जानकारी दिइन् । मनसुनको सुरुआतमै पोखरा २५ डुबानमा परेको र त्यहाँका प्रभावितलाई राहत व्यवस्थापनका लागि वडास्तरबाट सुरु भइसकेको उनले सुनाइन् । ‘विपदमा पहिलेबाटै निश्चित कोष खडा गरेरै काम गरिरहेका छौं । प्राविधिक टोलीहरु पनि तैनाथ हुनुहुन्छ । उहाँहरुले क्षति पुगेको ठाउँमा कति क्षति पुग्यो, के भयो भन्ने तथ्यांक ल्याउनुहुन्छ,’ उपप्रमुख गुरुङले भनिन्, ‘त्यसपछि हामी तत्काल राहतको व्यवस्था गर्नेछौं ।’

पोखरा महानगरले अघिल्लो आर्थिक वर्षमा १ करोड रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गरेको थियो । तर, उक्त रकममध्ये आधाभन्दा बढी रकम रकमान्तर गर्दै विभिन्न खुद्रे योजनामा हालेको थियो ।

त्यो कोषबाटै मस्तिष्कघातबाट पीडित बनेका निवर्तमान मेयर मानबहादुर जिसीलाई १० लाख रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको थियो । ‘आर्थिक वर्ष सकिन लाग्यो भनेर रकमान्तर गरिएको थियो । तत्काललाई कोषमा धेरै छैन,’ उनले भनिन्, ‘आगामी आर्थिक वर्षमा कति हाल्ने भन्ने नगरसभामा फाइनल भइसकेको छैन ।’

सीडीओ कार्यालय एलर्ट

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रशासन तयारी अवस्थामा रहेको जानकारी दिए । उनले सहायक सीडीओको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमै रहेको जानकारी दिए ।

शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी, कास्की

सहायक सीडीओ रिजालका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि ६ जना गोताखोरसहित १७९ जना जनशक्ति तयारी अवस्थामा छन् । जसमध्ये सशस्त्र प्रहरीका ४० जना, नेपाल प्रहरीका ६९ जना र नेपाली सेनाका ७० जना जनशक्ति छन् । ‘अहिले तत्काल मनसुनजन्य विपदबाट मानवीय क्षति भएको अवस्था हामीसँग छैन । तर हामी एलर्ट नै छौं,’ सहायक सीडीओ रिजालले अनलाइनखबरसँग भने, ‘समन्वयात्मक रुपमा विपद् व्यवस्थापनका लागि सहायक जिल्ला अधिकारीको संयोजकत्वमा सबै सुरक्षा निकायसँग जोडिएर हामीले रेस्क्यु टिम बनाएका छौं ।’

रिजालले पहिरोका कारण बन्द भएको सिक्लेसको बाटो र जोखिममा परेको मादीकै खिलाङ गाउँलाई सुरक्षित बनाउन ‘नेटवर्क’ विस्तार गरिसकेको सुनाए । उनले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई पनि तत्काल राहत र उद्दारका लागि सूचना जारी गरिसकेको बताए । ‘त्यसबाहेक पनि अरु ठाउँमा विपद् नआउने भन्ने हुँदैन । एकपटक भएको ठाउँमा दोहोरिन पनि सक्छ, त्यसमा पनि हामी गम्भीर छौं,’ सहायक सीडीओ रिजालले भने, ‘त्यसका लागि जल तथा मौसम विज्ञान विभागबाट जारी भएका सूचनाहरु र सचेतनाहरु सबैसम्म पुर्याउन एकदमै एलर्ट छौं ।’



source https://www.onlinekhabar.com/2022/06/1149763

पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि मौसममा सुधार

१५ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा  भएको छ ।

शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ ।

मौसमविद पौडेलका अनुसार कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्यूठान, पाल्पा र रौतहटमा अति भारी वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा कास्कीमा १६४ मिलिमिटर, पाल्पामा १४८ मिलिमिटर, नेपालगञ्जमा १४५ मिलिमिटर प्युठानमा १४० मिलिमिटर, दाङमा १३५ मिलिमिटर र रौतहटमा १०६ मिलिमिटर वर्षा मापन भएको छ । कैलालीमा ६ घण्टामै १०० मिलिमिटर वर्षा मापन भएको छ भने भैरहवामा पनि अहिले भारी वर्षा भइरहेको मौसमविद पौडलले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि कैलाली, कन्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । कान्द्रा, मोहना, खुटिया लगायत नदीमा बाढीको बहाव बढेको छ । कैलालीको कान्द्रा नदीले सतर्कताको तह पार गरेको छ । त्यसैले आज बिहान १० बजेसम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी जाजरकोट र आसपासका क्षेत्रहरुमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएका बाढी र पहिरोग्रस्त क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै रौतहटको गौर र आसपासको क्षेत्रहरुमा भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज बेलुकासम्मै सतर्कता अपनाउनुपर्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबारदेखि भने मौसम तुलनात्मक रुपमा केही सुधार हुने मौसमविद् वरुण पौडेलले बताए ।



source https://www.onlinekhabar.com/2022/06/1149781

कर्णालीमा आज सार्वजनिक बिदा

१५ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/06/1149779

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।

दहीच्युराको संस्कृति

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।



source https://www.onlinekhabar.com/2022/06/1149776

Monday 27 June 2022

भारी वर्षाले हवाई सेवा प्रभावित

१४ असार, काठमाडौं ।देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने खुला रहेका छन् ।

अहिले देशभर मौसम फैलिरहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार नै विशेष बुलेटिन जारी गरी मंगलबारदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको थियो ।



source https://www.onlinekhabar.com/2022/06/1149295

कैलालीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

१४ असार, धनगढी । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।



source https://www.onlinekhabar.com/2022/06/1149275

बर्खा आयो, मल आएन

१४ असार, पोखरा । पोखरा महानगरपालिका २५ हेमजामा खेती किसानी गर्दै आएका हरिप्रसाद तिमिल्सिना यसपटक खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने सोचमा छन् । करिब ८ रोपनी क्षेत्रफलमा उनी धान रोप्ने तयारीमा छन् । तर, समयमै मल नपाइने निश्चितजस्तै भएपछि उनी प्राङ्गारिक मलतिर सोझिएका हुन् ।

‘घरमा वस्तुभाउ पनि पालेको छु । तिनीहरुको मलमुत्र नै योपालि खेतबारीमा प्रयोग गर्ने सोच बनाएको छु । अर्को मल (रासायनिक) आउने नआउने थाहै भएन,’ तिमिल्सिना भन्छन्, ‘आलु, कोपीलगायत तरकारीमा भने त्यै मल हाल्छु ।’

गाईवस्तु पालेकै कारण तिमिल्सिनालाई मलको अभाव नहुने भए पनि पोखराका अन्य किसानसँग भने बिकल्प छैन । पोखरा फूलबारीमा करिब ४ रोपनी क्षेत्रफलमा धानबाली लगाउँदै आएका कृष्ण गुरुङलाई मल नपाएपछि चिन्ताले सताएको छ ।

‘धान लगाउनेबेला भइसक्यो । मल नै पाइएन । यसपालि कुखुरा, गाईभैंसीको मल पनि नपाइएलाजस्तो भयो,’ गुरुङले भने, ‘मल नभएकै कारण चैते धान पनि राम्रो हुन पाएन । किन्न भनेर जाँदा पनि छैन भनेर पठाउँछन् ।’

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया पनि बर्खा लागेसँगै किसानहरु मल अभावको गुनासो लिएर आउन थालिसकेको बताउँछन् । ‘कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले मल उपलब्ध गराएपछिमात्रै किसानले मल पाउने हुन् । तर, अहिले दुवैले कहिले ल्याउँछन् भन्ने नै थाहा छैन,’ उनले भने ।

कृषि सामग्री केन्द्रका प्रमुख ठाकुरप्रसाद बास्तोला ।

तर, यस वर्ष पोखरामात्रै होइन, गण्डकी प्रदेशका सबै जिल्लामा रासायनिक मल अभाव हुने कृषि सामग्री केन्द्र पोखराले जनाएको छ । प्रदेशभर ५ हजार मेट्रिक टनभन्दा बढी मल माग भइरहेकोमा केन्द्रले आधा पनि माग पुर्‍याउन नसकिरहेको केन्द्रका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । उनले देशैभर रासायनिक मलको अभाव रहेकाले गण्डकीमा पनि त्यसको प्रभाव पर्न गएको बताए ।

‘अहिले हामीसँग पोटासबाहेक अन्य मल छैन । सबै नील छ । तर, किसानबाट माग हुन छोडेको छैन,’ कृषि साम्रगी केन्द्र पोखरा प्रमुख बास्तोला भन्छन्, ‘देशैभरि मलको अभाव भइरहेकोबेला गण्डकीमा नपुग्नु स्वभाविक हो ।’

केन्द्रका अनुसार गण्डकी प्रदेशमा ५ हजार मेट्रिक टन युरिया, २ हजार ५ सय मेट्रिक टन डीएपी मलको माग छ । तर, केन्द्रले युरिया ३ हजार ८० र डिएपी १ हजार ३२० मेट्रिक टन मलमात्रै पुर्‍याउन सकिएको जानकारी दिए । ‘हामीसँग अहिले पोटासमात्रै १ सय ४२ मेट्रिक टन मौज्दात छ । अरु मलको मौज्दात छैन,’ उनले भने, ‘गण्डकीको माग पूरा गर्न अझै २ हजारभन्दा बढी मेट्रिक टन मल चाहिन्छ ।’

रासायनिक मल नेपालमा उत्पादन नहुने भएकैले तेस्रो मुलुकबाट ग्लोबल टेन्डरबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा मल ल्याउन कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनले जिम्मा पाएका छन् । मल ल्याउनसरकारले निश्चित बजेट छुट्याएर अनुदान दिँदै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारले १७ अर्ब अनुदान दिएको थियो भने आगामी आर्थिक वर्षका लागि १५ अर्ब छुट्याएको छ । तर, बढ्दो महंगीसँगै मलको खरिद मूल्य पनि आकाशिँदै जाँदा आगामी दिनमा रासायनिक मलको अभाव अझै बढ्ने केन्द्र प्रमुख बास्तोला बताउँछन् ।

‘पहिले ३ सय डलरमा पाइने मल अहिले १२ सय डलरसम्म पुगिसक्यो । सरकारले उपलब्ध गराएको अनुदानको भर पर्ने हो भने आधा मल ल्याउन पनि पुग्दैन,’ बास्त्ाोला भन्छन्, ‘आगामी आर्थिक वर्षको न्यून अनुदानले झन् मल अभावको समस्या पूर्ति गर्न नसक्ने देखिन्छ ।’

बफर स्टकबाट बाँडेपछि केही राहत

केन्द्रका अनुसार नेपालमा वीरगञ्ज, भैरहवा र विराटनगर नाकाबाट रासायनिक मलखाद भित्रिन्छ । जसमा प्रत्येक नाकाबाट भित्रिने मलमध्ये १० प्रतिशत ‘बफर स्टक’का रुपमा राखिन्छ । गण्डकीमा वीरगञ्ज र भैरहवाबाट मल आउने गर्दछ । गण्डकी प्रदेशभरमा सबैभन्दा बढी मल वितरण नवलपुर (कावासोती), पोखरा र दमौली क्षेत्रबाट हुने गरेको छ ।

कृषि सामग्री केन्द्र पोखरा प्रमुख बास्तोलाका अनुसार किसानबाट मलखादको अत्याधिक माग भएकाले २-३ दिनभित्रै ‘बफर स्टक’को वितरण गर्ने तयारी छ । ‘केही दिनअघि बोर्ड मिटिङ थियो । त्यसमा बफर स्टकबाट वितरण गरौं । किसानले २-४ किलो वा २-४ बोरा भएपनि मल पाउँछन् भन्ने कुरा उठेको थियो,’ केन्द्र प्रमुख बास्तोलाले भने, ‘केन्द्रका अध्यक्षज्यू बाहिर जानु भा’छ उहाँ आएलगत्तै त्यो निर्णय हुन्छ ।’

‘बफर स्टक’ बाट मलखाद वितरण थालेपछि गण्डकीमा करिब ६० टन मेट्रिक टन मल आउने केन्द्रले जनाएको छ । उक्त मल अबको एक हप्ताभित्रै आउने भएकाले किसानलाई केही राहत पुग्ने विश्वास केन्द्रको छ ।

किसानले प्रांगारिक मलको मललाई विश्वास गरेनन्

रासायनिक मल अभावलाई कम गर्न केन्द्रले केही वर्षअघि प्रांगारिक मलको बिक्री वितरणसमेत थालेको थियो । तर, उक्त मललाई किसानले नै विश्वास नगर्दा असफल हुन पुगेको केन्द्रका पोखरा शाखा प्रमुख ठाकुरप्रसाद बास्तोला बताउँछन् ।

‘किसानलाई मल भनेकै युरिया भन्ने परेको छ । उनीहरुले डीएपी र पोटासलाई पनि राम्रोसँग चिन्दैनन्,’ बास्तोलाले भने, ‘हामीले ल्याएको कम्पोस्ट मल विश्वासै गरेनन् । जबर्जस्ती वितरण गर्न सकेनौं ।’ केन्द्रले विभिन्न सहकारीमार्फत मलखाद बिक्री वितरण गर्दै आएको छ ।

किसानलाई राज्यका तीनवटै तहले प्राङगारिक मलबारे बुझाउन नसके वर्षेनी रासायनिक मल अभावको समस्या दोहोरिरहने बास्तोलाको भनाइ छ । ‘राज्यको माथिल्लो तहदेखि तल्लोतहका निकाय नै किसानलाई जागरुक, उत्प्रेरित गराउनुपर्छ । प्रचारमुखी अभियानै चलाउनु पर्छ । नत्र मल भनेकै युरिया भन्ने भइरहन्छ,’ उनले भने ।



source https://www.onlinekhabar.com/2022/06/1149266

नेपाली परिवेशको प्रशिक्षण मापदण्ड बनाउँदै राखेप

१४ असार, काठमाडौं । एसियाली खेलकुदमा सहभागिताको हिसाबमा सात दशक लामो अन्तर्राष्ट्रिय इतिहास बोकेको नेपाली खेलकुदमा खेलाडी प्रशिक्षणका लागि अहिलेसम्म आफ्नै मापदण्ड बनेको छैन । नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ ।

राखेपले आसन्न १९औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका २३ खेलका ५१५ खेलाडीमध्ये उपत्यकामा उपलब्ध ३९८ जना खेलाडीको शारीरिक परीक्षण गरेको छ । यसबाट संकलित तथ्यांकको विश्लेषण र आवश्यकताअनुसार अन्य खेलाडीको पनि परीक्षण गरेपछि नेपालले आफ्नै प्रशिक्षण मापदण्ड तयार गर्नेछ ।

गत मंसिरमा राखेप सदस्यसचिव नियुक्त भएलगत्तै टंकलाल घिसिङले राष्ट्रिय टिमको स्तरोन्नतीमा आधारित ‘हाई पर्फमेन्स कमिटी’ बनाएका थिए । सोही कमिटीले खेलाडीको शारीरिक परीक्षणका साथै आफ्नै परिवेशअनुसार प्रशिक्षण मापदण्ड निर्माणको तयारीमा जुटेको हो । ‘खासमा यो सदस्य सचिवज्यूकै अवधारणा हो । राष्ट्रिय टिमको स्तर विकासमा वैज्ञानिक प्रशिक्षण प्रणाली अहिलेको आवश्यकता भइसकेको छ,’ हाई पर्फमेन्स कमिटीका प्रवक्ता हिमाल दाहालले अनलाइनखबरसँग भने, ‘अहिले एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीको स्तर परीक्षण गरेर हामीले यो प्रक्रियाको सुरुवात गरेका हौं ।’प्रवक्ता दाहालका अनुसार एसियाड अगाडि प्रशिक्षणमा रहेका यी खेलाडीको तीनपल्ट परीक्षण हुनेछ । हरेक परीक्षणबाट खेलाडीको स्तर पहिचान गर्दा प्रशिक्षकलाई आफ्नो लक्ष्यअनुसार खेलाडीलाई तयार गर्न सजिलो हुने उनले बताए ।

राखेपअन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठान (सान)की खेलविज्ञ रीता प्रजापतिले तीन चरणको तथ्यांक संकलन र विश्लेषणपछि नेपालले आफ्नै परिवेश सुहाउँदो प्रशिक्षण मापदण्ड तयार गर्ने बताइन् । तर, यो आजको भोलि नै सम्पन्न हुने परियोजना होइन । ‘मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीय स्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ,’ टेबलटेनिसकी पूर्व राष्ट्रिय खेलाडीसमेत रहेकी प्रजापतिले भनिन् ।

राखेपले एसियाड लक्षित गरी आफ्ना खेलाडीको प्रारम्भिक तथ्यांक संकलनका लागि ‘बायो मोटर एविलिटी एसेसमेन्ट’ कार्यक्रम सन्चालन गरेको हो । ८ दिन लगाएर मंगलबार सम्पन्न यो कार्यक्रमबाट संकलित तथ्यांक विश्लेषण गरिने छ । सानले यसअघि पनि खेलाडीको फिटनेस परीक्षण गर्ने गरेको थियो । तर विश्लेषण गरी आवश्यक सुझाव दिने गरेको थिएन । त्यसले गर्दा यो कार्यक्रम प्रभावहीन देखिएको थियो ।

एसियाली खेलकुदका लागि नेपालले २३ खेल समावेश गर्ने निर्णय गरेको छ । २३ खेलका १५० जना खेलाडीले चीनको ह्वाङझोउमा हुने एसियाली खेलकुदमा सहभागिता जनाउने अनुमान राखेपको छ । त्यसका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुनेभन्दा तीन गुणा बढी खेलाडीलाई प्रशिक्षण गराइएको छ ।

यसपालि हाई पर्फमेन्स कमिटीले सानका विज्ञहरुसँग परामर्श गरी राष्ट्रिय टिमको स्तर बढाउन आवश्यक कार्यक्रम मागेको थियो । त्यहीअनुसार विज्ञले दिएको सुझाव राखेपले कार्यान्वयन गरेको हो ।

योभन्दा अगाडि १३औं दक्षिण एसियाली खेलकुद आयोजनाको एक महिना अगाडि पनि राखेपले खेलाडीका लागि यस्तै परीक्षण गरेको थियो । तर, तीनपल्ट गर्नुपर्ने प्रस्ताव कार्यान्वयन नभएकाले त्यो परीक्षण प्रभावहीन भएको प्रजापतिले बताइन् । उनले भनिन्, ‘हामीले तीन चरणमा परीक्षण गर्नुपर्छ भनेर प्रस्ताव गरेका थियौं । सरोकारवालाले यो विषयको महत्व नबुझिदिँदा हाम्रो प्रस्ताव कार्यान्वयन भएन । तीन चरणमा परीक्षण गर्न पाएको भए सुरुदेखिको डेटा विश्लेषण गरेर तुलना गर्न सकिन्थ्यो र त्यसले प्रशिक्षण र तयारीमा सजिलो हुन्थ्यो ।’

खेलाडीको प्रदर्शन सुधार्न वैज्ञानिक परीक्षण : रीता प्रजापति, खेलविज्ञ, राखेप

यो खेलाडीको प्रदर्शन क्षमता बढाउन वैज्ञानिक रुपमा परीक्षण गरी आवश्यक सुझाव दिने कार्यक्रम हो । योभन्दा अगाडि पनि सानले गरिराखेको थियो । फिटनेस टेष्टहरु गरे पनि त्यसको विश्लेषण गरेर खेलाडीको प्रदर्शन र क्षमता अभिवृद्धिका लागि आवश्यक सुझावहरु दिने गरी काम भएको थिएन ।

यसपल्ट चाहिं हामीले फिटनेस परीक्षण गरेर खेलाडीको बलियो र कमजोर पक्षमाथि विश्लेषण गरेर कमजोरी सुधार गर्न र बलियो पक्षलाई झनै राम्रो बनाउन आवश्यक प्रशिक्षणहरु सिफारिस गर्नेछौं ।

यसबाहेक अहिलेसम्म हामीले हाम्रो खेलकुदमा खेलअनुसार मापदण्ड तयार गरेका छैनौं । यो परीक्षण र विश्लेषणपछि खेलअनुसार प्रशिक्षणको मापदण्ड तयार हुनेछ । अहिलेसम्म हामीले विदेशीले विदेशी परिवेशमा बनाएको मापदण्ड प्रयोग गरेर खेलाडीलाई प्रशिक्षण गर्दै आएका छौं । अब चाहिं हाम्रै परिवेशमा एउटा खेलको खेलाडीले कसरी र कस्तो प्रशिक्षण गर्नुपर्छ भनेर पनि सिफारिस गर्दैछौं । त्यसका लागि यही डाटा विश्लेषण गर्नेछौं ।

उदाहरणका लागि एउटा खेलाडीले ६० पटक पुसअप गर्न सक्छ भने त्यो खेलका लागि उसको स्तर कस्तो हो भनेर निर्धारण हुनेछ । तर, मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीयस्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ ।

एसियन गेम्सको बन्द प्रशिक्षणमा रहेका खेलाडीको परीक्षण गरिरहेका हौं । हामीले ५ सय १५ जना खेलाडीको परीक्षण गर्नुपर्नेमा काठमाडौं उपत्यकामा उपलब्ध ३९८ जनाको परीक्षण गरेका छौं । अरु खेलाडीहरु उपत्यका बाहिर र केही देश बाहिर भएको हुनाले सबैलाई समावेश गर्न नसकिएको हो ।

खेलाडीको फिटनेस परीक्षणलाई हामीले आठ भागमा विभाजन गरेका छौं । यसमा जनरल स्ट्रेन्थ, फ्लेक्जिविलिटी टेष्ट, एविलिटी टेष्ट, एक्प्लोसिभ स्ट्रेन्थ, स्पिड, जनरल इण्डोरेन्सलगायत छन् । यो पहिलोपल्ट भएको हुनाले सबै खेललाई उपयुक्त हुने गरी मापदण्ड बनाएका थियौं । अर्को चरणदेखि खेलको प्रकृति हेरेर मापदण्ड निर्माण गरी सोहीअनुसार परीक्षण गर्ने हाम्रो तयारी छ । जस्तै टेवलटेनिसका लागि आवश्यक शारीरिक सन्तुलन वा लचकता तेक्वान्दोलाई नचाहिन सक्छ नि ।

एसियाली खेलकुदको मिति अझै निर्धारण भएको छैन । त्यसैले हामीसँग पर्याप्त समय हुनेछ । अहिले यो शारीरिक परीक्षण भयो । त्यसबाहेक अर्को एउटा छ, फङ्सनल मुभमेन्ट स्क्रिनिङ । त्यसमा खेलाडीले जसरी मुभमेन्ट गरिरहेको छ त्यो एउटा मानव शरीरले गर्ने मुभमेन्टसँग मिल्छ कि मिल्दैन भनेर हेरिन्छ । फरक–फरक खेलका खेलाडीको फरक–फरक ‘कोर पार्ट’ हुन्छ । जस्तै बक्सिङका लागि हात र टाउको मुख्य भाग हुनेछ । त्यस्तो भाग सञ्चालनको सही तरिका सिकाइन्छ । यो चाहिं नेपालमै पहिलोपल्ट हुन लागेको हो ।

हामीले लगभग चार सय जनाको तथ्यांक संकलन गर्नुपर्ने छ । यो कार्यक्रममा हामी तीन जनाले नेतृत्व लिइरहेका छौं । एउटै टिम बनाएर गर्दा १५ दिनसम्म लाग्ने भएकाले एक/दिनमा दुई वा तीन खेलको टिम एकै स्थानमा राखेर लगभग ४० जनाको हाराहारीमा खेलाडीको तथ्यांक लिइरहेका छौं । ८ दिनमा सम्पन्न हुन्छ ।

मंगलबारसम्म हामीले खेलाडीको तथ्यांक संकलन गरिसक्छौं । यो प्रारम्भिक काममात्र हो । त्यसको हामीले लागू गर्दै आएको मापदण्डसँग तुलना गरेर उनीहरुको तत्कालको स्तर पत्ता लगाउनेछौं । उनीहरुबीच तुलना गर्दा कुन खेलका खेलाडीहरु उत्कृष्ट छन् भनेर प्रतिवेदन बनाएर पेश गर्नेछौं ।



source https://www.onlinekhabar.com/2022/06/1149226

काठमाडौंमा हैजाले सतायो ? ११८० मा फोन गर्नुस्

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर काठमाडौं महानगरपालिकाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र महानगरपालिकाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । जनस्वास्थ्यको सवालमा महानगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।

विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए । ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ’, बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भने ।

त्यस्तै काठमाडौं महानगरपालिकाले पानीको पाइपलाइन तथा  ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1149257

Sunday 26 June 2022

अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन

१३ असार, काठमाडौं । अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ । साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकामा गर्भपतनको कानुनी अधिकार थियो । महिलालाई गर्भपतनबारे निर्णय लिने संवैधानिक हक थियो । सो ५० वर्ष पुरानो सो कानुनी अधिकार सर्वोच्चले उल्टाइदिएको हो ।

यससँगै महिलालाई गर्भपतनको कानुनी हक हुने कि नहुने भनेर अमेरिकी राज्यहरुले आ-आफ्नै अलग नियम बनाउन सक्ने छन् ।

अमेरिकाका धेरैजसो राज्यहरुले गर्भपान कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाका १३ राज्यहरुले यसअघि नै गर्भपतनलाई गैरकानुनी मान्ने यस्तै कानुन बनाइसकेका छन् ।



source https://www.onlinekhabar.com/2022/06/1148700

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

१३ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।

पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशाबारे उल्लेख छ । सो प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् ।
बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले गर्नेछन् ।



source https://www.onlinekhabar.com/2022/06/1148696

मैवाखोला गाउँपालिकाले एमबीबीएस पढाउन २० लाख सहयोग गर्ने

१३ असार, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले डाक्टर (एमबीबीएस) पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ ।

गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए ।

आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए ।

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।

उनले भने, ‘एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।’ सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पु¥याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1148692

झापामा विपन्नका लागि ६३० घर निर्माण

१३ असार, बनियानी । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् ।

गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिए ।

‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’ उनले भने , ‘केही घर निर्माणका क्रममा छन् ।’ सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।

संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको उल्लेख गरे ।

सहारा नेपालका लेखा अधिकृत राजु गिरीले परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिँदै आएको जानकारी दिए । एउटा घर निर्माणमा एक लाख ८५ हजार लाग्ने उनले बताए ।

सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाअन्तर्गत आवास निर्माण गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1148684

एक महिलाको पेटमा १३ वटा बच्चा !

आम रुपमा मानवजातिमा महिलाले एउटा बच्चा जन्माउँछन् । कसै कसैले जुम्ल्याहा बच्चा जन्माउने भएता पनि ३ र सो भन्दा धेरै बच्चा जन्माउने महिलाको संख्या निकै कम हुन्छ ।

विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् ।

यसको अर्थ विश्वमा हालसम्म कुनैपनि महिलाले एउटा गर्भबाट ८ भन्दा बढी बच्चा जन्माएको छैन । तर अब यो रेकर्ड मेक्सिकोकी एक महिलाले भंग गर्नेवाला छिन् । यदि डाक्टरहरुको कुरा पत्याउने हो भने ती महिलाको गर्भमा अहिले एकसाथ १३ वटा बच्चा हुर्किरहेका छन् ।

मेक्सिकोको इक्सटापलूकामा बस्ने मारित्जा हर्नान्डेज मेन्डेज नामक ती महिलाले यसअघि नै ६ वटा बच्चा जन्माइसकेकी छिन् । ६ बच्चामध्ये दुईवटा जुम्ल्याहा, तीन वटा तिम्ल्याहा हुन् भने एउटा बच्चामात्र एक्लै जन्मिएको हो ।

जुम्ल्याहा र तिम्ल्याहासमेत जन्माइसकेकी मारित्जा फेरि आमा बन्न लागेकी छिन् । यो पटक त उनले इतिहास नै रच्दैछिन् । उनको चेकजाँचका क्रममा पेटमा १३ वटा बच्चा हुर्किरहेको तथ्य डाक्टरहरुले पत्ता लगाएपछि सबै परिवारजन मात्र होइन डाक्टरहरू पनि तीनछक परेका छन् ।

अहिले आफूसँग रहेका ६ वटा बच्चाको लालनपालनकै लागिसमेत आर्थिक सहयोग मागिरहेका मारित्जा र उनका पति एन्टोनियो अब १३ वटा बच्चा एकसाथ जन्मिन थालेको जानकारी पाउँदा चिन्तित बनेका छन् ।

१९ वटा बच्चाको लालनपालन गर्ने आर्थिक हैसियत उनीहरुको छैन । त्यसैले उनीहरुले स्थानीइ नेता तथा अधिकारी र आम मानिसहरुसँग सहयोगका अनुरोध गरेका छन् ।

एजेन्सी



source https://www.onlinekhabar.com/2022/06/1148689

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

१३ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए । साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन् ।

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौंको डेपुटी चीफ अफ मिशन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल समेत भएका थिए । त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन् ।

उनी आफ्नो करियरको सुरुवातमा बंगलादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा र त्यसपछि इजिप्टको कायरोमा रहेको अमेरिकी दूतावासमा भाइस कन्सुलरका रूपमा समेत कार्यरत थिए ।

बेरीसँगै राष्ट्रपति बाइडेनले अन्य विभिन्न मुलुकका लागि समेत नयाँ राजदूतहरू नियुक्त गरेका छन् । उनीसँगै नेपालस्थित राजदूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर समेत ताजिकस्तानका लागि राजदूत बनेर जाने भएका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालका अनुसार राजदूत ¥यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त भएका छन् । ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन ।

हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए ।

मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए । त्यसबाहेक पनि विभिन्न मुलुकमा रहेका अमेरिकी नियोगहरूमा उनले लामो अनुभव बटुलेका छन् ।



source https://www.onlinekhabar.com/2022/06/1148683

त्रिविको छात्रावास भवनमा कतै क्याम्पस, कतै अस्पताल

१३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरुको सहजताको लागि छात्रावास (होस्टल) व्यवस्था गरिएको छ । टाढा टाढाबाट उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थी, जो डेरा लिएर बस्न सक्दैनन्, लाई सहजताको लागि होस्टलमा बस्ने सुविधा हुन्छ । तर अहिले होस्टलको भवन विद्यार्थीको लागि भन्दा अरु नै प्रयोजनमा प्रयोग भइरहेको छ । त्रिवि छात्रावासका भवन आँखा अस्पताल, ललितकला क्याम्पस र सेवा आयोगले प्रयोग गरिरहेका छन् ।

त्रिविका छात्रावासका लागि बनाइएका पुराना भवनहरु मध्ये ‘घ’ र ‘ग’ ब्लकमा ०७२ को भूकम्पले धेरै क्षति पु¥याएको थियो । त्यसपछि त्यहाँ विद्यार्थी राख्न सक्ने स्थिति बनेन र खाली गराइयो । त्रिवि केन्द्रीय कार्यालयले मर्मत सम्भार गरेर विद्यार्थीको लागि उपयोग गर्न भन्दा पनि मर्मत गरेर उपयोग गर्ने सर्तमा आँखा अस्पताल र ललितकला क्याम्पसलाई प्रयोग गर्न दियो । तिनै भवनहरुमध्ये ‘ग’ ब्लकमा ललितकला क्याम्पस र ‘घ’ ब्लकमा कीर्तिपुर आँखा अस्पताल बसेका छन् ।‘ङ’ ब्लककी होस्टेल वार्डेन सरला लुइँटेलका अनुसार २०७२ को भूकम्प अघिसम्म त्यहाँ ५५ जति विद्यार्थी बस्ने गरेका थिए ।

त्रिवि केन्द्रीय कार्यलय र नेत्रज्योति संघबीच सम्झौता गरेर राखेको पाइएको त्रिवि प्रिन्सिपल ध्यानेन्द्र राईले जानकारी दिए । उनले भने ‘त्यसबेला त्रिवि केन्द्रीय कार्यालय र नेत्र ज्योती संघ बीच भएको सम्झौतामा नेत्र अध्ययन केन्द्र हुने, त्रिविको लोगो पनि रहने गरी, शिक्षक कर्मचारीलाई सहुलियत दिने र नेत्र ज्योतिको भवन बनेपछि स्थानान्तरण गर्ने भनिएको रहेछ ।’

त्रिवि केन्द्रीय कार्यालयले गरेको सम्झौता भएकोले त्रिवि केन्द्रीय कार्यलयले नै सम्झौता अनुरुप काम भए÷नभएको अनुगमन गर्ने अधिकार रहने उनको भनाइ छ । प्रिन्सिपल राईले भने ‘यो त्रिवि केन्द्रीय कार्यालयले गरेको सम्झौता हो । त्यसैले हामीले केही गर्न मिल्दैन, हामीले चासो भने राखिरहेका छौं ।’

तत्कालीन उपकुलपति हिरा बहादुर महर्जनले छात्रावासको भवनमा आँखा अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका थिए । उपकुलपतिले विद्यार्थीको लागि नभई स्वार्थ समूहको हितमा सम्झौता गरेको एक विद्यार्थी आरोप लगाउँँछन् ।

ललितकला क्याम्पस बसेको ‘ग’ ब्लक भने अत्यन्तै जीर्ण अवस्थामा रहेको उनको भनाइ छ । भोटाहिटीमा रहेको ललितकला क्याम्पसको भवन भूकम्पले भत्काएपछि उक्त होस्टलमा मर्मत सम्भार गरेर सरेको थियो । त्रिवि प्रिन्सिपल राई भन्छन् ‘ललितकला दुखैले बसिरहेको छ । आफ्नो भवन लगभग सकाएको छ । सरेपछि पनि तत्काल विद्यार्थीहरु राख्न सकिने अवस्था छैन ।’

अर्को ‘क’ र ‘ख’ ब्लक जीर्ण हुँदै जान थालेपछि त्यसको सट्टा अर्को भवन बनाइएको छ । करिब सय जना विद्यार्थी क्षमता बराबरको उक्त भवनमा पनि सेवा आयोग आएर बसेको छ । भूकम्पले सेवा आयोगको भवनमा क्षति पु¥याएपछि उक्त नवनिर्मित छात्राबासको भवनमा सेवा आयोग बसेको छ ।

छात्रवासमा पनि क, ख, ग, घ गरी चार ब्लकमध्ये ख ब्लकमा पूर्ण रुपमा क्षति पुगेको छ । बाँकी रहेको भवन पनि जीर्ण रहेको होस्टल वार्डेन नारायण तिमिल्सिना बताउँछन् । ‘ख’ ब्लक पुनर्निर्माणको लागि भारतीय सरकार र नेपाल सरकारबीच सम्झौता भइसकेको छ । भारतीय एक्जिम बैंकको लगानी गर्ने सम्झौता भएपनि पुनर्निर्माण हुन सकेन । अब शिक्षा मन्त्रालयले हेर्ने गरी प्रक्रिया अगाडि बढिरहेको प्रिन्सिपल ध्यानेन्द्र राईले बताए ।

होस्टल नबन्दा विद्यार्थीहरु मर्कामा

छात्रावासका क र ख ब्लक पनि जीर्ण भइसकेकाले केही कोठा प्रयोग गर्नै नसक्ने अवस्थामा भएको होस्टल वार्डेन झुपा कुमारी बुढाथोकी बताउँछिन् । अहिले ७० जना विद्यार्थी बस्छन् यो ब्लकमा । उनी भन्छिन् ‘करिब ९० जना बढी विद्यार्थी क्षमता बराबरको हो यो ब्लक । कुनै बेला सय जना विद्यार्थी पनि बसेका थिए भन्ने सुनिन्छ । तर, अहिले कुनै कुनै कोठा बस्ने सक्ने अवस्थाका छैनन् । त्यसले कुनैमा चाबी छ कुनैमा स्टोर रुम बनाएका छौं ।’ क र ख ब्लकमा पहिलो र दोस्रो सेमेस्टरका विद्यार्थी राखिन्छ । त्यसपछि ‘ङ’ ब्लकमा राखिन्छ । जुन नयाँ भवन हो ।

छात्रावासमा बस्नको लागि मेरिट प्रकृयाको आधारमा विद्यार्थी छनौट गरिन्छ । त्रिविको यो होस्टल दुरदराजबाट पढ्न आउने, आर्थिक अवस्था कमजोर भएकाका लागि बनाइए पनि पर्याप्त नहुँदा लक्षित विद्यार्थी मध्ये न्यूनले मात्रै सुविधा पाएको वार्डेन बुढाथोकी बताउँछिन् । भन्छिन् ‘करिब तीन सय विद्यार्थीको आवेदन पर्छ तर के गर्नु ७० जना भन्दा बढी छनोट गर्न सकिँदैन ।’

विद्यार्थी बन्दना शर्मा भएका होस्टलका भवन मर्मत सम्भार गरेर विद्यार्थीकै लागि उपयोग हुनुपर्ने बताउँछिन् । भन्छिन् ‘विद्यार्थीको लागि बनाइएका भवन भत्केपनि मर्मत सम्भार गरेर चलाउनुपर्छ नि । मर्मत सम्भार गर्नै नसक्ने भन्ने पनि होइन होला ।’

‘स्वार्थ समूहको हितमा सम्झौता’

तत्कालीन उपकुलपति हिरा बहादुर महर्जनले छात्रावासको भवनमा आँखा अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका थिए । उपकुलपतिले विद्यार्थीको लागि नभई स्वार्थ समूहको हितमा सम्झौता गरेको एक विद्यार्थी आरोप लगाउँँछन् । उनी भन्छन् ‘भुकम्पपछि झन् विद्यार्थी समस्यामा थिए । होस्टलको भवन मर्मत गरेर विद्यार्थीको लागि चलाउनुको साटो अस्पताललाई दिनु उपकुलपतिले गर्ने काम होर ? स्वार्थ समूहको हितमा हुनेगरी गर्नाले अहिले विद्यार्थीहरु मर्कामा छन् ।’

‘ङ’ ब्लककी वार्डेन सरला लुईंटेल सबै छात्राबासकै लागि निर्मित भवनहरु त्यहि प्रयोजनको लागि प्रयोग गर्न सके धेरै विद्यार्थी लाभान्वित हुने बताउँछिन् । भन्छिन् ‘यी सबै भवनहरु होस्टलकै लागि प्रयोग गर्न सकिए त होस्टलको आवश्यकता भएका धेरै विद्यार्थीलाई व्यवस्थापन गर्न सकिन्थ्यो ।¬’ होस्टलमा बसेर पढ्दा धेरै फरक पर्ने उनको अनुभव छ । भन्छिन् ‘होस्टल बसेर पढ्दा धेरै फरक पार्छ ।  म आफै पनि होस्टल बसेर पढेको भएर बस्न चाहनेलाई व्यवस्थापन गर्न पाए हुने भने जस्तो लाग्छ ।’

छात्रवास करिब दुई सय क्षमता बराबरको भवन हो । तर, ६६ सीट क्षमता बराबरको ‘ख’ ब्लक भत्काइएको छ भने बाँकी रहेको भवन पनि जीर्ण भएकाले कोठाहरु प्रयोग गर्न सकिने अवस्थाका छैनन् । वार्षिक रुपमा होस्टल बस्ने चाहाना राखेर तीन सय जना जत्तिले आवेदन दिन्छन् तर कोठाको अभावको कारण अहिले ७५ जना मात्रै लिने गरिएको होस्टल वार्डेन नारायण तिमिल्सिना बताउँछन् । उनी भन्छन्, ‘भएका पनि जीर्ण छन् । भत्किएका पनि पुनर्निर्माण हुन नसक्दा साँच्चिकै आवश्यकता भएका विद्यार्थीहरुलाई पनि व्यवस्थापन गर्न सकिएको छैन ।’ भत्किएको भवन भने निर्माणको प्रकृया अगाडि बढिरहेकाले थप विद्यार्थी व्यवस्थापन गर्न सकिने अपेक्षा व्यक्त गरे ।

त्रिविको होस्टलमा ४ हजार २२४ रुपैयाँ तिरेपछि विद्यार्थी एक वर्ष बस्न पाउँछन् । छात्रावासमा विद्यार्थी आफैंले मेस चलाउँछन् ।



source https://www.onlinekhabar.com/2022/06/1148675

Saturday 25 June 2022

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा लोक सेवाको विधेयक

१२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को सम्भावित कार्यसूचीसमेत छ ।

यी दुबै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधि सभामा प्रस्तुत हुने छन् । त्यसअघि प्रधानमन्त्रीको तर्फबाटै लोक सेवा आयोगको ६२ औं वाषिर्क प्रतिवेदन पेश हुने छ ।
यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1148107

कर छुट गर्न एमाले सहमत नभएपछि फलेवासको नगरसभा हुन सकेन   

१२ असार, पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो ।

नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो ।

नगर प्रमुख गङ्गाधर तिवारीले कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रमका सबै विषयसहितको प्रस्ताव पेश नगरेको आरोप एमालेका प्रतिनिधिले लगाएका छन् भने नेपाली कांग्रेसका प्रतिनिधिले कर छुट दिने र फलेवासमा नगरबस सञ्चालन गर्ने विषयमा एमालेले असहमति जनाएका कारण नगरसभा हुन नसकेको दाबी गरेका छन् ।

शुक्रबार भएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बुँदागतरूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि एमालेका प्रतिनिधिले लिखितरूपमै सबै नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित गर्न माग गरेका थिए ।

एमालेका प्रतिनिधिले कार्यपालिका बैठक र सभा व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि विषयगत समितिको बैठक राख्ने, राजस्वका दरका बारेमा निर्णय गर्नुपर्ने, नगरसभामा पेश गर्ने प्रस्ताव नगर कार्यपालिकाले पास गर्नुपर्नेमा नगरप्रमुखले कार्यपालिका बैठकमा पेश नै बनगरेको तथा नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गरी स्वीकृत गर्नुपर्नेमा कार्यपालिकामा प्रस्तुत र छलफल नै नभएको आरोप लगाएका छन् ।

कार्यपालिकाका सदस्य नेत्रबहादुर विश्वकर्माले भने ‘कार्यपालिकामा नीति तथा कार्यक्रमलाई घनिभूतरूपमा छलफल गर्नुपर्ने र सुझावसहित तयार पार्नुपर्छ ।’

फलेवास नगर प्रवक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू कार्यपालिकामा प्रस्तुत गरेको बताए । उनले नगरपालिकाले नगरबस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्य बाहिर गएको दाबी गरे । उनले भने, ‘नगरप्रमुखले सहमतिका लागि आउनुस्भन्दा पनि बहुमतको दम्भ देखाएर उहाँहरू हिँड्नुभयो ।’

नगरप्रमुख र उपप्रमुख गठबन्धनले जितेको छ भने कार्यपालिका र नगरसभामा एमालेको बहुमत छ । प्रवक्ता तिवारीले बहुमतले जहिले सहमतिका लागि आउँछन् त्यही समयमा नगरसभा हुने जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्छ ।



source https://www.onlinekhabar.com/2022/06/1148101

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More