Sunday 31 May 2020

रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर : कांग्रेस

१९ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना छानबिनका लागि संसदीय समिति गठन नगरिए कडा संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । निष्पक्ष छानविनका लागि दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मानबहादुर विश्वकर्माले भने, ‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस् ।’

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सांसद विश्वकर्मालाई धारणा राख्न दिएका थिए । उनले गृहमन्त्रालयले गठन गरेको छानविन समितिले न्यान दिन नसक्ने दाबी गरे ।

सांसद विश्वकर्माले भने, ‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन । हामीलाई समितिको मान्यता पनि छैन । यस हत्याकाण्डलाई फितलो बनाउन जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट ।’

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएपछि भागाभाग भएको थियो । केही युवाहरु ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् ।

सो घटनाको संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेस सांसद विश्वकर्माले उनीहरु आफैं हाम फालेको नभई हत्या गरेर फालिएको जिकीर गरे । सांसद विश्वकर्माले भने, ‘पोस्टमार्टमा गर्दा ती मृतकका पेटबाट पानी आएको छैन । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नआउनुको कारण तिनीहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो ।’’



source https://www.onlinekhabar.com/2020/06/869341

विदेशमा लाखौं नेपाली विद्यार्थीको भविष्य संकटमा

चीनको वुहान शहरबाट सुरु भई अहिले विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस संक्रमणले मानव जगतलाई नै संकटमा धकेलेको छ । स्वदेशमै रहेका हुन् या विदेशमा रहेका हुन् नेपालीहरु पनि यो संकटबाट मुक्त छैनन् ।

करिब चालीस लाख नेपालीहरु संसारका विभिन्न देशमा रोजगारी, व्यवसाय, अध्ययन लगायत विविध क्षेत्रमा छरिएर रहेका छन् । मुख्यतः रोजगारको गन्तव्य मानिने खाडी मुलुकहरुलाई अपवाद मान्ने हो भने अधिकांश देशहरुमा नेपाली विद्यार्थीहरु उल्लेखनीय संख्यामा छन् । नेपाली विद्यार्थीहरु भिसा आवेदन दिँदाको बखत आफ्नो परिवारको यथेष्ट सम्पति भएको र त्यही सम्पतिले नै आफू विदेशमा विद्यार्थी रहँदाको बखत जीवनयापन गुजारा गर्ने दावी गर्दछ । यद्यपि यथार्थचाहिँ अधिकांश विद्यार्थीहरु ऋण, सापटी लिएर विदेश जाने र विदेशमा नै काम गरेर आफ्नो कलेजको शुल्क तिर्नुका साथै दैनिक खर्च चलाउने गर्दछन् । अझ सम्भव भएसम्म आफ्नो बचतको पैसा नेपालमा आफन्तलाई रेमिट्यान्स मार्फत् पठाउने पनि गर्दछन् । कोरोनाको महामारीबाट संसारको कुनै पनि देश अछुतो रहन नसकेको यो संकटकालीन स्थितिमा विद्यार्थीहरु सबैभन्दा धेरै मारमा परेको सहजै अनुमान गर्न सकिन्छ ।

संसारभर विद्यार्थीहरु अध्ययनको लागि जाने क्रम वृद्धि भएसँगै पछिल्ला वर्षहरुमा अति विकशित देशहरु मध्येको एक जापान पनि नेपाली विद्यार्थीहरुको लागि प्रमुख आकर्षक अध्ययनको गन्तव्य बनेको छ । सामान्यत प्लस टु भन्दा माथिको विद्यार्थीहरु सामान्य जापानी भाषाकोे ज्ञान भएपछि अध्ययनको लागि जान सक्ने भएपनि त्यहाँ पुगिसकेपछि भने भाषागत कठिनाइ अनवरत झेल्नुपर्छ । जापानमा अध्ययन गर्नुको आकर्षक पाटाहरु अनेक भए तापनि विदेशी विद्यार्थीहरुले भोग्नु पर्ने कठिनाइ र समस्याहरुलाई नजरअन्दाज गर्न भने सकिँदैन । अंग्रेजी भाषा चल्ने अन्य देशको तुलनामा कतिपय जापानी भाषा नजान्ने नेपाली विद्यार्थीहरुका लागि भाषाकै कारणले जापानको जीवन कष्टप्रद हुन सक्छ । फलस्वरूप भाषाकै समस्याले समग्र जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्टिगत कठिनाइ अन्य धेरै देशको तुलनामा केही फरक प्रकृतिको रहन सक्ने हुनाले संसारभरका नेपाली विद्यार्थीहरुको समस्यालाई समेत ध्यानमा राख्दै यस लेखलाई केही हदसम्म जापानमा रहेका नेपाली विद्यार्थीहरुको समस्याप्रति केन्द्रित गरिएको छ ।

जापानको कुरा गर्दा चीनको वुहान शहरको भ्रमण गरेर ६ जनवरी, २०२० मा जापान फर्केका ३० वषर्ीय जापानी युवक कोरोनाभाइरस संक्रमित भएको कुरा जापान सरकारले १६ जनवरीमा पहिलो केसका रूपमा सार्वजनिक गरेको थियो । त्यसको एक हप्तापछि वुहान भ्रमणबाट फर्केर आएका अरू दुई जना कोरोनाभाइरस संक्रमित जापानी भेटिए । यसरी संक्रमणको शिलशिला सुरु भएको जापानमा यो आलेख तयार गर्दैगर्दा झन्डै १७ हजार ४९३ जना संक्रमित रहेका छन् । जसमा मृत्यु हुनेको संख्या ८८३ नाघेको छ भने ठीक भएर घर फर्किनेहरुको संख्या १४ हजार ८०१ छ । पछिल्लो एक हप्ताबाट जापान सुधारको क्रममा अगाडि बढीरहेको छ ।

नरेन्द्र बस्नेत (दिनेश)

जापानको सन्दर्भमा संक्रमित विरामीको संख्या फैलिनबाट कम हुन जापानी परम्परागत व्यवहार, सरसफाइ र वैज्ञानिक अनुसन्धानमा आधारित सरकारी नीति, अत्याधुनिक प्रविधियुक्त स्वास्थ्य पद्दति लगायतले प्रभावकारी भूमिका खेलेको अनुमान लगाइन्छ ।

जापान सरकारको २०१९ डिसेम्बरको आधिकारिक तथ्यांकलाई हेर्दा जापानमा नेपालीहरुको संख्या ९२ हजार ८०४ रहेको छ । यद्यपि वर्तमान परिस्थितिमा यो संख्या १ लाखको हाराहारीमा पुगेको अनुमान लगाउन सकिन्छ । तथ्यांकलाई केलाउँदा विद्यार्थीहरुको संख्या २८ हजार २६८, डिपेनडेन्ट २७ हजार ७९२, स्किल भिषा, कुक पेशालगायत अन्य १२ हजार ६३९, इन्जिनियर मानव संसाधन तथा अन्तर्राष्ट्रिय व्यापारमा ११ हजार १४८ जापानको स्थायी भिषा भएका ४ हजार ६७२ व्यवस्थापन अर्थात व्यापारमा १ हजार ५३८ र अन्य भिषामा ६ हजार ७४७ जना रहेको देखिन्छ । यद्यपि वर्तमान परिस्थितिमा यसमा केही संख्यात्मक तलमाथि हुनसक्छ । यो संख्या हेर्दा सबैभन्दा बढी ३०.४६ प्रतिशत विद्यार्थीको संख्या देखिन्छ जुन जापानमा रहेका विदेशी विद्यार्थीहरुमा चीन, भियतनामपछि तेश्रो ठूलो संख्यामा पर्न आउँछ ।

सुन्दर सपनाको परिकल्पनासहित जापानको यात्रा तय गर्नेहरुमध्ये अधिकांशको सुरुवाती बाटो जापानी भाषा विद्यार्थीको रुपमा नै हुन्छ । यद्यपि अहिले एकाध कलेजहरुमा सीधै अंग्रेजी माध्यमबाट पनि पढाइ भने हुने गर्दछ । अधिकांश छात्रवृत्तिमा पढ्ने नेपाली विद्यार्थीहरु अंग्रेजी माध्यमबाट पढाइ हुने विश्वविद्यालय र कलेजहरुमा पढ्ने भएकाले उनीहरुलाई आर्थिक तथा जापानी भाषाको समस्या भने तुलानात्मक रुपमा कम नै हुने गर्दछ । जापानमा अध्ययन गर्ने अधिकांश नेपालीहरु भने भाषा विद्यालय, सेन्मोन गाक्को (भोकेसनल कलेज), दाइगाकु, दाइगाकुइन लगायत अन्यमा पर्छन् ।

कलेज फीको चिन्ता

अधिकांश विद्यार्थीहरुले पार्टटाइम काम गरेर कलेज फी तिर्ने, दैनिक जीवनयापन गर्ने गर्छन् । जापानमा नयाँ रोजगारी र नयाँ सेसनको अध्यापन सुरु हुने समय अपि्रल महिना हो । यो वर्षको अपि्रल संसारिक महामारीको चपेटामा रहेकाले विद्यार्थीहरुको पढाइ संचालन हुन नसकेको अवस्था छ । पढाइ सकेर जागिर सुरु गरेकाहरु कतिपयको कम्पनी डुबेर पहिलो गासमै ढुंगा भने जस्तो स्थिति भएको छ ।

टोक्यो, ओसाका, फुकुओका, ओकिनावा, क्योटो, ओकायामालगायतका केही विद्यार्थीहरुसँग बुझ्दा कुनै-कुनै कलेजहरुले एक-दुई ओटा क्लासहरु लिएका छन् । तर अधिकांशको क्लास ठप्प भएको स्थिति छ । कम्तिमा ६ महिनाको शुल्क अगि्रम लिइसकेका कलेजहरुले त्यो शुल्क आगामी दिनमा आउने पछिल्लो सेमेस्टरको लागि मिलाइदिएमा ठूलो राहत हुने, यदि त्यसो नभएमा फेरि अक्टोबरदेखि उताको शुल्क माग्न थाल्ने भएकाले यसले अकल्पनीय स्थिति आउन सक्ने विद्यार्थीहरुको चिन्ता छ ।
यद्यपि विद्यार्थीहरुलाई लक्षित गरी थप १ देखि २ लाखसम्म सहयोग गर्ने जापान सरकारको मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी आएको छ ।

कोरोनाबाट कसरी जोगिने भन्ने चिन्ता

अधिकांश नेपाली विद्यार्थीहरु पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न होटल, रेस्टुरेन्ट, कन्विनियन्स स्टोर लगायत ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुने ठाउँहरुमा कार्यरत छन् । यीमध्ये अधिकांश ठाउँहरु अहिले बन्द रहेकाले आर्थिक रुपमा संकट आउने अवस्था बढ्दै गएको छ । केही चलिरहेका ठाउँहरुमा भने धेरै थोरै नियमित काम भइरहेको छ । सम्भावित आर्थिक संकटबाट जोगिन फेस टु फेस सम्पर्क गर्नुपर्ने ठाउँहरु भए पनि आवस्यक सावधानीका उपायहरु अपनाएर काम जारी राख्नुपर्ने बाध्यतामा नेपालीहरु छन् ।

यतिखेर कलेज बिदाको समय मिलाएर नेपाल गएका धेरै विद्यार्थीहरु नेपालको लम्विदो लकडाउनका कारण समयमै आ-आफ्नो कर्म देश फर्किन नसकि नेपालमा नै भिषा सकिएर आउन नसक्ने स्थिति छ । यो समस्या जापानको विद्यार्थीहरुको मात्रै नभएर नेपाल गएर समयमा फर्किन नपाएका अधिकांश नेपालीहरुको हो ।

यस्तो समस्यालाई समाधान गर्नका लागि गैह्रआवासीय नेपाली संघले नेपाल गएर समयमा आफ्नो कर्मथलो फर्किन नपाइ संकटमा पर्न लागेका र सम्बन्धित देशबाट आफ्नो देश जान इच्छुकहरुको तथ्यांक संकलन गरी पररास्ट्र मन्त्रालयमार्फत पहलकदमी अगाडि बढाइरहेको छ । यसै सन्दर्भमा गैह्रआवासीय नेपाली संघ जापानले पनि नेपालबाट आउन नपाएकाहरु तत्काल आउनु पर्नेहरु र जापानबाट नेपाल फर्किनु पर्नेहरुको सर्वेक्षण फारम भरि त्यसको आधारमा नेपाल सरकारको सम्बन्धित ठाउँमा अनुरोध गरेको थियो । त्यसलाई मध्यनजर गर्दै केही ट्राभल एजेन्ट हरु को व्यवस्थापनमा नेपालबाट चार्टर उडानमार्फत जापान आउने क्रम सुरु भएको छ । यद्यपि नेपाल सरकारले जापानबाट नेपाल फर्किन इच्छुकहरुलाई अनुमति नदिएको कारण धेरै नेपालीहरु आफ्नो देश फर्किनबाट बन्चित भएको अवस्था छ ।

एनआरएन र विदेशस्थित दूतावासको भूमिका

एनआरएनएले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी देशमा रहेकालाई र विदेशमा रहेका नेपालीलाई विविध तरिकाले सहयोग गरिरहेको छ । जसको पछिल्लो उदाहरण जापानमा चार्टर उडान मार्फत नेपालबाट आएका नेपालहरुलाई गरिएको सहयोग छ । नेपालबाट जापान आएका ती नेपालीहरुलाई जापान सरकारको नियम अनुसार सार्वजनिक सवारी साधन ट्रेन, बस, ट्याक्सी लगायत प्रयोग गर्न अनुमति थिएन । त्यसैले यहाँ सक्रिय एनआरएन जापानका क्षेत्रीय समितिहरु स्वतस्फुर्त आफ्नो जीवन जोखिममा राखी टोक्योदेखि ओसाका, फुकुओका लगायत जापानभरिका ठाउँहरुमा व्यवस्थापकीय कार्यमा खटिए । नेपालीहरुलाई घर-घरमा पुर्याइदिएर सहयोग गरे ।

जापानमा उच्च अध्ययनको लागि अप्रिल सेसनको अनुमति -भिषा प्राप्तिको लागि अत्यावस्यक प्रमाणपत्र(सीईओ) पाएर कोरोनाको कारण जापान आउन नपाएको हजारौं विद्यार्थीहरु जसले कलेज अनुसार ६ महिनादेखि एक वर्षको शुल्क बुझाइ सकेका हुन्छन् । यो अवस्थाको विद्यार्थीहरुलाई जापान इमिग्रेसनले जापान प्रवेश गर्न मान्य अवधि बढाएर ६ महिनासम्ममा प्रवेश गर्न पाउने प्रावधान बनाएको छ । यद्दपि वर्तमान परिस्थितिमा भोलिको दिन अत्यन्तै अन्योलपूर्ण रहेकाले अध्ययन बिना अध्यापन शुल्क के हुने हो भन्ने अन्योलपूर्ण स्थिति छ ।

त्यसैगरी जापानमै अध्ययन गरिरहेका विभिन्न तहका विद्यार्थीहरु जसले कम्तिमा ६ महिनाको शुल्क अगि्रम बुझाइसकेको र अध्यापन हुन नसकेको यो अवस्थामा नेपाली राजदूतावास जापानले नेपाल सरकारको सहयोग लिएर सम्बन्धित ठाउँहरुमा परामर्श गरी यसको समाधानको लागि तत्काल कदम चाल्नु पर्ने देखिन्छ । सरकारी तहबाट मात्रै सम्भव हुने यो समस्या जापान मात्रै नभएर अन्य देशको विद्यार्थीहरुमा पनि मिल्दोजुल्दो रहेको बुझिएको छ ।

कोरोना संक्रमित नेपाली बढ्ने सम्भावना

हालसम्म जापानमा ७ जना नेपालीहरु कोरोना संक्रमित भएको र सबैजना ठीक भएर फर्किसकेको भनिएको छ । जापानमा अहिले कोरोना संक्रमितलाई हस्पिटलमा ठाउँ नभएको अवस्थामा सरकारले कोरोना उपचार संयन्त्र अन्तर्गत व्यवस्था गरेको होटलहरुमा राखेर प्रत्यक्ष निगरानी गर्ने गर्दछ । कतिपय अवस्थामा त विरामीहरुलाई घरमा नै बसेर स्वास्थलाभ लिन सुझाव पनि दिएको छ ।

कतिपयहरु संक्रमित भएर पनि आफ्नै घरमा बस्दा स्वाभाविक रुपमा परिवारको सदस्यहरुमा यो सर्ने खतरा अत्यधिक रहन्छ । संक्रमित भएर पनि समाज र साथीभाइ आफन्तबाट अपहेलित हुनु पर्छ कि भन्ने डरले कतिपयले रोग लुकाएको भन्ने बुझ्नमा आएकाले यस्तो सोच राखेर संक्रमितहरु खुल्मखुल्ला दैनिक क्रियाकलाप गर्दा अन्जानमा अन्य नेपालीहरु संक्रमित हुने सम्भावना त्यत्तिकै बढ्दै गएको छ । यसर्थ यो रोग लुकाउँदा तपाईंको परिवार वरपरको समेत यसबाट संक्रमित हुने डर भएकाले मनोबल दरो बनाएर जानकारी गराएमा तपाईं आफूसँगै अरुको पनि जीवन रक्षामा पनि भूमिका खेल्न सक्नु हुन्छ । सशंकित नबनौं, सुसूचित रहौं, सहयोगी बनौं, सुरक्षित रहौं ।

(बस्नेत एनआरएन जापानका सल्लाहकार हुन् ।)



source https://www.onlinekhabar.com/2020/06/869346

फोटो पत्रकारलाई ग्लोबल आइएमई बैंकद्वारा प्रेस ज्याकेट सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ ।

आइतबार एक कार्यक्रमका बीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरे ।

बैंकमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए ।

उनले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गरे ।

नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए ।
उनले ज्याकेट सहयोगको लागि बैंकलाई धन्यबाद समेत ज्ञापन गरे ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा महासंघका पदाधिकारीहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



source https://www.onlinekhabar.com/2020/06/869352

क्रिएशन र कोका-कोलाको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट

क्रिएशन नेपालले द कोका-कोला फाउण्डेशनको सहयोगमा आयोजना गरेको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरुमा सफलतापूर्वक दोस्रो हप्ताको राहत वितरण सम्पन्न भएको छ ।

उक्त टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाइकर्मीहरुलाई रक्षात्मक जमसुट र राशन प्याकेजहरु वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सबीन प्रधानको उपस्थीतिमा वितरण गरिएको थियो । सोही दिन काठमाडौंमा राष्ट्रिय सभा गृहमा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको उपस्थीतिमा दोस्रो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनहरुमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानिलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाइकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुट सहित २५२ भन्दा बढि राशन प्याकेजहरु र १७५ रक्षात्मक सामग्रीहरु प्रदान गरएको छ । यी वितरण कार्यक्रमहरु हाम्रा पार्टनरहरु वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरुको सहयोगमा सफलतापूर्वक संचालन भइसकेका छन् ।

सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो जसमार्फत हालसम्म ११०० भन्दा बढि सफाइकर्मीहरु राशन प्याकेजहरु र रक्षात्मक सामग्री साथ-साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् ।

यो परियोजना नेपालभरका ३२०० सफाइकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड-१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको थियो । यो परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाइकर्मीको उथानमा मदत पुर्याउने छ ।

यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले कोभिड-१९ महामारीको वर्तमान अवस्थामा समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाइकर्मीहरुको योगदानलाई महसुस गर्न पर्ने बताए । उनले उनीहरुले सामना गरिरहेको चुनौति र कठिनाइहरुका बाबजुद पनि आफ्नो काम जारी राखेकोले उनीहरु पनि अन्य व्यवसायी-डाक्टर र सुरक्षा गार्डहरु जस्तै समान रुपमा अग्रपंतिमा रहेको बताए । द कोका-कोला फाउण्डेशनको सहयोगमा यो पहल सफाइकर्मीहरुको सेवाप्रति कृत्रिज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास भएको र यसले उनीहरुको जीवनमा परिवर्तन ल्याउने बताए ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी सबै अग्रपंतिका शाहसी सफाइकर्मीहरुलाई हार्दिक आभार प्रकट गर्दछौं । हामी सबै सफाईकर्मीहरुको साथमा छौं र क्रिएशनसँगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाइकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्दछौं ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले राष्ट्रको रुपमा अझ मजबुत बन्नेबारे सुनिश्चित गर्न यो चालू परिस्थितिमा हामी सबैको सहयोग र योगदान आवश्यक रहेको बताए । यो परियोजना वर्तमान स्वास्थ्य संकटको बाबजुद अग्रपंतिमा रहेका सफाइकर्मीहरुलाई सहयोग गर्ने महत्वपूर्ण प्रतिक्रिया भएको पनि बताए । उनले नेपालभरका समुदायहरुलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनी जनाए ।



source https://www.onlinekhabar.com/2020/06/869350

यामाहा फेस्सिनो १२५ एफआई अब नेपालमा

एमएडब्लु इन्टरप्राइजेज प्रालि, नेपालको लागि यामाहा टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरकद्वारा क्लासिक युरोपियन स्टाइलको फेस्सिनो १२५ सिसिको बिक्री शुभारम्भसँगै आफूहरु १२५ सिसि स्कूटरको समुहमा प्रवेश गरेको घोषणा गरेको छ ।

यो नयाँ स्कूटर उत्साहजनक नयाँ विशेषताहरु, प्रविधिहरुका साथ प्रस्तुत गरिएको छ र यो विभिन्न चित्ताकर्षक रङ्गहरुमा उपलब्ध भएको छ ।

सम्पूर्ण नयाँ फेस्सिनोले १२५ एफआइ इन्जिनका साथ प्रभावकारिता सिर्जना गर्दछ, जुन बिएस-भिआइ कम्लियन्ट, फूयल इन्जेक्टेड (एफआइ)द्वारा सशक्त छ भनें जसबाट पावर क्षमता प्लस ३० प्रतिशत उत्पादन गर्छ र इन्धन खपत प्लस १६ प्रतिशत ज्यादा गर्छ । यो ९९ केजी तौलको छ जसलाई सजिलै चलाउन सकिन्छ र यो जस्तै समूहमा यो अत्यन्त हलुका स्कूटर पनि हो ।

फेस्सिनो १२५ रोक्ने र चलाउने प्रणालीमा आधारित भएकोले यसले इन्जिन निष्क्रिय हुनलाई रोक्छ र पछि तुरुन्तै थ्रटलको एकल मोडका साथ चल्छ, जसले हाँक्ने वातावरणको पहुँचमा पुग्न सेन्सरहरुको प्रयोग गर्दछ ।

नयाँ फेस्सिनो १२५एफआइ मा स्मार्ट मोटर जेनेरेटर (एसएमजि) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई एक दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट-अफ स्वीच पनि यसमा रहेको छ ।

यो स्कूटरले एकीकृत ब्रेकिङ्ग प्रणाली (युबिएस) र अग्र डिस्क ब्रेक का साथ लगातार ब्रेकिङ्ग शक्तिको पनि प्रयोग गर्दछ । फेस्सिनोको डिजाइन ती व्यक्तिहरुलाई लक्षित गरेर बनाइएको छ जो आफूले सवारी चलाउँदा उनीहरुको व्यक्तित्वको सही प्रतिनिधित्व त्यसमा देखियोस् र यसले उच्च माइलेज रेकर्डका साथ उत्कृष्ट पर्फरमेन्स प्रदान गरोस् भन्ने चाहन्छन् ।

नवीन विशेषताहरु र प्रविधिहरुका साथसाथै फेस्सिनो १२५एफआइ को बनावट क्लासिक युरोपियन स्टाइलमा टड्कारै देख्न सकिन्छ, जसमा यसले सम्पूर्ण नयाँ बाह्य डिजाइन, हेडलाइट, गेज र अरु विशेषताहरु प्राप्त गरेको छ, जसबाट सुन्दरताको अनुभूति जगाउँछ । फेस्सिनो १२५एफआइ ५ भिन्न भिन्न रङ्गहरुमा आएका छन् ।

‘फेस्सिनो अझै पनि यामाहा परिवारमा हामीले सुन्दै आएको एक ख्यातिप्राप्त नाम हो । हामीले फेस्सिनोलाई एक शक्तिशाली इन्जिनका साथ सुसज्जितमात्र गरेका छैनौ साथमा प्रमुख स्टाइलहरुमा पनि परिमार्जन गरेका छौं । योसँगै नयाँ फेस्सिनो १२५ एफआइले यसका अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ र आजका पुस्ताका बढ्दो आवश्यकताहरुलाई पूरा गर्न सक्नेछ,’ यामाहा नेपालका बजार प्रमुख श्री विक्रम शर्मा पौडेलले भने ।

वर्तमानमा घरमै बस्नुपर्ने अवस्थालाई मध्यनजर राखेर एम। ए। डब्लुु ले नेपालभरका लागि अनलाइन सर्भिसमार्फत् सेवा पुर्‍याउन आफ्ना ग्राहक सहायता टिमलाई बुकिङ्गमा सहयोग प्रदान गर्न परिचालन गरिसकेको छ ।



source https://www.onlinekhabar.com/2020/06/869348

किन घट्यो चकलेटको आयातमा कर ?

१९ जेठ, काठमाडौं । बजेटले विदेशबाट आयात हुने कोका मिसाइएका चकलेट/चुइङ्गममा भन्सार घटाएको छ । कर कम गरिएसँगै अब विदेशबाट नेपालमा आउने कोका चकलेट तथा चुइङ्गम सस्तिनेछ । यसअघि यस्तो चकलेटमा ४० प्रतिशत भन्सार लाग्दै आएको थियो । अब यसमा सरकारले १० प्रतिशत भन्सार घटाएर ३० प्रतिशतमा झारेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाटै चकलेट र चुइङ्गम ३० प्रतिशत रहेहको भन्सारलाई ४० प्रतिशत पुर्‍याएको थियो ।

तर, आयात कम भए पनि बजारमा चकलेट खपत कम नभएको निष्कर्ष निकालेर सरकारले भन्सार दर घटाएको हो । महँगा चकलेट तस्करी हुन थालेको र त्यसले भन्सार राजस्वमा नकारात्मक असर पारेको निष्कर्ष निकालेर नै कर बढाइएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

चिनीबाट बनेका चकलेटमा भन्सार यथावत राखेर महँगा मूल्यका चकलेटमा सरकारले भन्सार घटाइदिएपछि असन्तुष्टिका स्वर सुनिन थालेको छ। तर, स्वदेशमै चकलेट उत्पादन गरिरहेका उद्योग सञ्चालकहरूले पनि सरकारी निर्णयको विरोध गरेका छन् ।

‘केही चकलेट आयातकर्तालाई पोस्ने गरी यस्तो निर्णय भएको छ, यसले स्वदेशमै चकलेट उत्पादन गरिरहेका हामीलाई निरुत्साहित गरेको छ,’ एक उद्योगीले भने,’बजेटपछि यसवर्ष हामीलाई चकलेट उत्पादनमा थप प्रोत्साहन मिल्छ भन्ने सोचेका थियौं, ठिक उल्टो भयो ।’

तर, सरकारले भने चकलेट आयातमा कमी भएपछि वैधानिक बाटोबाटै आउन प्रोत्साहन गर्ने र थप चकलेट आयात भएर भन्सारमा पनि योगदान हुने निष्कर्ष निकालेर भन्सार घटाएको बताएको छ ।

नेपालमा करिब ५० लाख किको कोका मिसाइएको चकलेट आयात हुन्छ । चिनीबाट बनेका चकलेटको करिब ७५ लाख किलो आयात हुन्छ ।

करिब साढे ३ अर्ब रुपैयाँका चकलेट आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले करिब दुई अर्ब बराबर राजस्व उठाउँछ । यो वर्षको करिब १० महिनामा मात्रै एक अर्ब ३० करोड मूल्य बराबरको कोका चकलेट आयात भएको छ ।



source https://www.onlinekhabar.com/2020/06/869344

घर–आँगनमा रोपौ, औषधिय गुणले भरिपूर्ण यी वनस्पति 

हाम्रो घर-आँगन वा आसपासमा त्यस्ता अनेक वनस्पति छन्, जो औषधिय गुणले भरिपूर्ण छन् । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यक्ता परेको बखत सेवन गर्न सक्छौं । जस्तो कि, पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधिय महत्वका छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफुले सहजै प्रयोग गर्ने स्थानमा रोप्न र संरक्षित गर्न सकिन्छ । यसो गर्नाले प्रत्यक्षत केही लाभ मिल्छ ।

एक, आफुले दैनिक खानेकुरामा समावेश गरिन्छ, जसले शरीरलाई रोग निरोधक बनाउन सहयोग गर्छ ।

दुई, औषधिय मूल्यका वनस्पतिको संरक्षण हुन्छ ।

तीन, आफ्ना सन्तती वा भावी पुस्ताले समेत यसको गुण सहजै थाह पाउनेछन् ।

चार, कुनै शारीरिक समस्या परेको बखत सहजै उपलब्ध हुनेछ ।

यसरी घर आसपासमा के कस्ता औषधिय वनस्पति रोप्न सकिन्छ त ?

बोझो

बोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्छौ । पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ ।

यो ओसिलो स्थानमा फस्टाउँछ । सिमसार त बोझोको लागि अनुकुल स्थान नै भयो । कति ठाउँमा यो आफै उम्रन्छ । कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ । बोझो रोपेको एक बर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन ।

बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आर्युवेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ ।

पुदिना

पुदिना खासगरी पेटको समस्यामा उपयोगी मानिन्छ । त्यस्तै रगत शुद्धिकरणमा पनि यसले सघाउ पु¥याउँछ । पुदिना हामी औषधीको रुपमा पनि प्रयोग गर्छौ । यो बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ ।

यसलाई हामी सलाददेखि अचारसम्ममा प्रयोग गर्न सक्छौ । यसलाई सलादमा सजाएर सर्भ गर्न सकिन्छ, अचार बनाएर खान सकिन्छ । जुसमा यसको फ्लेवर राख्न सकिन्छ । यसको वास्ना र स्वाद दुबै स्वादिलो हुन्छ । त्यससँगै यसको औषधिय महत्व पनि छ । निम्न शारीरिक समस्यामा पुदिनाको सेवन लाभदायक हुन्छ ।

पेट खराब भएमा वा पेट फुुलेमा पुदिनाको सेवन गर्नाले तुरुन्तै आराम मिल्छ । छातीमा कफ जम्दा वा बाडुली लाग्दा  पुदिनाको पत्तालाई तातो पानीमा हालेर खानाले पनि शरीरमा लाभ हुन्छ । महिनावारी गड्बडी हुदाँ पुदिनाको चिया बनाएर सेवन गर्नाले पनि लाभ मिल्छ । पखालामा पुदिना, प्याज वा कागतीको रस पिउनाले पनि लाभ मिल्छ । पाचन शक्ति बढाउँछ । मुख गन्हाउने समस्या भएकाहरुलाई माउथ फ्रेस्नरको काम गर्छ ।

घिउकुमारी

घिउकुमारी अति उपयोग वनस्पति हो । औषधिय गुणको घिउकुमारी आर्युवेदमा पनि प्रयोग हुन्छ । यो स्वास्थ्य र सौन्दर्य दुबैमा प्रयोग गर्न सकिन्छ । राम्रो कुरा त के भने, घिउकुमारी घर, बगैंचामा सजिलै लगाउन सकिन्छ ।

भनिन्छ, घिउकुमारीले रातको समयमा अक्जिन प्रवाह गर्छ । यसले गर्दा हाम्रो आसपासमा घिउकुमारी छ भने, त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ ।

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ । यसको काँडायुक्त पातहरुलाई काटेर पेस्ट निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी लाभदायक हुन्छ । यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

तुलसी

सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपायोगी मानिन्छ । के पनि सुनिन्छ, भने तुलसीले दूषित वायुमण्डललाई शुद्धिकरण गर्छ । त्यसैले घरको झ्याल छेउमा तुलसीको बिरुवा लगाउनु उत्तम हुन्छ भनिन्छ ।

हुन त हामीले तुलसीलाई घर–आँगनमा मठ बनाएर रोप्ने गरेका छौ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै, घरको वातावरण राम्रो बनाउँछ ।

तुलसीको एक,दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसो वा रुँघा ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केहि टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुँघा ज्वरो ठिक हुन्छ । यस्ता थुप्रै उपचार विधी छ तुलसीसँग जोडिएको ।

तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ । तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।  सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ ।

अरुपनि खोजौं

यसबाहेक पाखनबेद, चमेली लगायतका अनगिन्ती वनस्पति छन्, जसलाई घर आसपासमा रोप्न सकिन्छ । यस्ता वनस्पति खोज्न, पहिचान गर्न र संरक्षण गर्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2020/06/869342

बाँके दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक

१९ जेठ, काठमाडौं । नेपाल प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक गरेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको घाइतेहरुको नामावली

  • दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
  • दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
  • दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
  • दाङ जिल्लाका २० वर्षीय भरत थापा
  • रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
  • ऐ. का २० वर्षीय वीरेन्द्र परियार
  • ऐ. का १८ वर्षीय पुरन परियार
  • रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
  • रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
  • सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
  • सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
  • सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
  • सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
  • सल्यान जिल्लाका शिव भण्डारी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
  • ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
  • ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।


source https://www.onlinekhabar.com/2020/06/869339

संविधान संशोधन विधेयक जनताको जानकारीका लागि सार्वजनिक

१९ जेठ, काठमाडौं । प्रतिनिधि सभामा पेश भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको छ ।

संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक प्रकाशन गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार नेपाल राजपत्रमा प्रकाशन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

अब सर्वसाधारण जनताले उक्त विधेयकमाथि आफ्नो प्रतिक्रिया दिन सक्छन् । जनताको प्रतिक्रियालाई सांसदहरुले लिएर संशोधनमार्फत् राख्न सक्छन् । ‘हाम्रो नियमावलीमा सार्वजनिक गर्ने भन्ने छ । जनताले जनप्रतिनिधिमार्फत आफ्ना कुरा राख्न सक्छन्,’ संसद सचिवालयका महासचिव भरतराज गौतमले भने ।

विधेयकमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा संविधानको अनुसूची ३ मा उल्लेख गरिएको निशान छापसँग सम्बन्धित विषय मात्रै उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गरिएको थियो । आइतबारको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक संसदमा पेश गरेकी थिइन् ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो ।

जसपा आन्तरिक छलफलमा

सरकारले संविधानको दोस्रो संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउने प्रयास गरिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संसदमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी यस विषयमा छलफलमा छन् ।

दुवै देलका केही नेताहरु आइतबार सिंहदरवारस्थित समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा केहीबेर छलफलमा बसेका थिए । समाजवादीका नेता उमाशंकर अरगरियाका अनुसार केही दिनमा अब कसरी जाने भन्ने विषयमा पार्टीले औपचारिक टुङ्गो लगाउनेछ ।

राजपा नेपाल र समाजवादी मिलेर जनता समाजवादी पार्टी बनिसकेको छ । तर, संसद सचिवालयमा राजपा एक्लैले संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेको थियो । अब त्यसमा समाजवादी पार्टीबाट केही बुँदा थपेर दर्ता गरिने जनाइएको छ ।

तत्कालीन राजपा नेपालको संसदीय दलको बैठकले नेकपाले आफूहरुले माग गरेको विषयमा संविधान संशोधन गर्न सहयोग नगरे सरकारको प्रस्तावमा सहयोग नगर्ने निर्णय गरिसकेको छ । तर, त्यस विषयमा समाजवादीका नेताहरु मौन छन् ।

फास्ट ट्र्याकमा जुटेन सहमति

फास्ट ट्र्याकमा संविधान संशोधन विधेयक पास गर्न सभामुख अग्निप्रसाद सापकोटा र कानुनमन्त्री डा. तुम्बाहाङ्फेले विपक्षी दलहरुसँग निरन्तर प्रयास गरेका छन् । तर, प्रक्रियामा गएर पास गर्नुपर्ने प्रमुख विपक्षीको अडानका कारण सहमति जुट्न सकेन ।

संसद सचिवालयका अनुसार अब संविधान संशोधन विधेयक प्रक्रिया अनुसार नै पास हुनेछ । तर, प्रक्रियालाई केही छोटो बनाएर यही जेठ महिनाभित्र प्रतिनिधि सभाबाट पारित गराउने विषयमा मोटामोटी सहमति जुटेको नेताहरुले बताएका छन् ।

संसद सचिवालयका अनुसार यही जेठ २३, २४ र २५ गते बजेटको मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ ।

सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको सात दिनपछि मात्रै बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न सकिने व्यवस्थाअनुसार जेठ २५ वा २६ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि बैठकमा विधेयकमाथि सामान्य छलफल हुन्छ । र ७२ घण्टाको समय दिएर सांसदहरुलाई विधेयकमाथि संशोधन प्रस्ताव दर्ता खुला गरिन्छ ।

७२ घण्टालाई कम गरेर २४ घण्टामा झार्ने विषयमा कुराकानी भइरहेको संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

सांसदहरुका सबै संशोधनलाई एकीकृत गरेर सभामुखबाट प्रमाणित गराएर सदनमा छलफलका लागि पेश गर्नुपर्ने हुन्छ । संशोधन प्रस्तावमाथि छलफल गरी बैठकमा प्रतिवदेन प्रस्तुत गर्न सभामुखले विशेष समिति गठन गर्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

अन्य विधेयकहरु संसदीय विषयगत समितिमा छलफलका लागि जान्छन् । तर, संविधानको हकमा संसदीय समितिमा लैजाने व्यवस्था छैन । संसदले नै छिनोपानो गर्नेछ ।

संविधान संशोधन विधेयक संसदको दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ । प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रियसभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पास गर्ने प्रक्रिया प्रतिनिधिसभामा जस्तै हुन्छ ।

राष्ट्रिय सभाले पनि दुई तिहाई मतले पारित गर्नुपर्छ । प्रतिनिधिसभाबाट पारित विधेयकलाई राष्ट्रियसभाले जस्ताको तस्तै स्वीकार गरेर पारित गर्न सक्छ र संशोधन पनि गर्न सक्छ ।

राष्ट्रिय सभाले संशोधन गरेको भए त्यसलाई प्रतिनिधि सभाले स्वीकार गर्नुपर्ने हुन्छ । स्वीकार गरेको खण्डमा पुनः पारित भएर अगाडि बढ्छ । स्वीकार नगरेको खण्डमा संयुक्त बैठक बसेर टुङ्ग्याउने व्यवस्था छ ।

दुवै सदनबाट पारित भई, प्रतिनिधि सभाले पुनः पारित गरेपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नेछन् ।

यसरी गएको संविधान संशोधन विधेयक राष्ट्रपतिले प्राप्त भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । प्रमाणीकरण भएको मितिदेखि संविधान संशोधनको औपचारिकता पूरा हुन्छ ।



source https://www.onlinekhabar.com/2020/06/869333

महाराष्ट्र सरकारले दियो सुटिङको अनुमती

भारतको महाराष्ट्र सरकारले विभिन्न स्थानमा छायांकनका लागि अनुमती दिएको छ । तर, यसका लागि छायांकन यूनिटले विभिन्न शर्तहरुको पालना गर्नुपर्नेछ ।

भारतमा लामो समयदेखिको लक डाउनका कारण चलचित्र, सिरियल, रियालिटी शो लगायतको छायांकन रोकिएको थियो । अब, विस्तारै छायांकन सुरु गर्ने तयारीमा निर्माताहरु लागेका छन् ।

राज्यको संकृती मन्त्रालयले जारी गरेको शर्त अनुसार नै निर्माताले काम गर्नुपर्नेछ । नियम पालना नगरेको खण्डमा छायांकन रोक्न सकिने मन्त्रालयले बताएको छ ।

नयाँ नियम अनुसार, छायांकन सेटमा ३३ जना मात्र सदस्यहरु रहनुपर्नेछ । निर्माताहरुलाई महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेशन, दादा साहेब फाल्के चित्रनगरीको साथै मुम्बई बाहिर छायांकनका लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिनुपर्नेछ ।

महाराष्ट्र सरकारले १६ पेज लामो गाइडलाइन प्रस्तुत गरेको छ । जसमा, छायांकनको समयमा मास्क लगाउनुपर्ने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, छायांकन सेटमा सामाजिक दुरी कायम गर्नुपर्ने, छायांकनको समयमा भीड जम्मा गर्न नपाइने, छायांकन सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, गर्भवती कलाकारलाई छायांकनमा ल्याउन नपाइने, ६५ बर्ष भन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायांकनमा काम गराउने नपाइने लगायतका नियम छन् ।



source https://www.onlinekhabar.com/2020/06/869334

यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

बेलाबखत श्रीमान–श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो । पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरुको मत मिल्दैन, मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीत हुने यस्ता झगडाले उनीहरुलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लान्छ ।

यद्यपि यो स्थिति सधै कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिदैन । दम्पतीबीच हुने मनमुटाव एवं झगडा उनीहरुमा मात्र सीमित हुँदैन । त्यसले सबैभन्दा बढी उनीहरुका बालबच्चालाई पिरोल्छ, त्यसपछि आमाबुवालाई । परिवारका सदस्य, आफन्त, इष्टमित्रलाई समेत असर गर्छ ।

घर–व्यवहार चलाउने क्रममा सानोतिनो विवाद हुन्छ । तर, कतिपय दम्पतीको प्रवृत्ति नै झगडालु हुन्छ । उनीहरु स–सानो निहँु निकालेर झगडा गर्न खोज्छन् । कुनैपनि कुरामा सम्झौता गर्दैनन्, संयम अपनाउँदैनन् । मुखमा जे आयो, त्यही बोल्छन् । आपसमा झगडा हुन्छ । आफ्नो झगडाले गर्दा परिवारमा कति अशान्ति छाएको छ भन्ने समेत हेक्का राख्दैनन् ।

त्यसबाहेक पनि कतिपय स–साना कुरा हुन्छन्, जसले दम्पतीबीच आशंका वा बेमेलको स्थिति बनाइरहन्छ । जस्तो कि, एकले अर्काको कुरा सुन्दै नसुन्ने । कुनैपनि कुराको निर्णय गर्दा एकले अर्काको बेवास्ता गर्ने । आफुखुसी हिँडडुल गर्ने । आफ्नो कुनैपनि कुरा सुनाउँदै नसुनाउने ।

हुन त कतिपयको स्वभाव के हुन्छ भने खुलेर नबोल्ने । उनीहरु आफ्ना श्रीमान वा श्रीमतीसँग मात्र होइन, अरु कसैसँग पनि खुलेर कुरा गर्दैनन् । एकलौटी निर्णय लिने गर्छन् । तर, जानीबुझी आफ्ना श्रीमती वा श्रीमानसँग खुल्न नचाहनु, केही कुरा लुकाउनु, कुनैपनि कुरा साझेदार नगर्नु भनेको एक हिसाबाले भावनात्मक अत्याचार हो ।

श्रीमान वा श्रीमती दुबैजना एकै प्रवृत्तिका हुँदैनन् । उनीहरुमध्ये एक जनाले पारिवारिक मर्यादा बुझेका हुन्छन् । दाम्पत्य कलहले पार्न सक्ने असरबारे सचेत हुन्छन् । सामाजिक प्रतिष्ठा कायम राख्ने सोंच हुन्छ । त्यसैले उनीहरु पार्टनरको खराब बानीलाई पनि ढाकछोप गरेर बस्छन् । आफैभित्र लुकाएर बस्छन् । अरुको सामुन्ने व्यक्त गर्दैनन् । वा आफ्नै पार्टनरसँग पनि खुलेर बिरोध गर्दैनन् । सहन्छन् । चुपचाप बस्छन् । तर, अर्का पार्टनरले यसलाई नै कमजोरी ठान्छन् । यही कमजोरीमा टेकेर अरु अत्याचार गर्न थाल्छन् ।

आफ्ना जीवनसाथीसँग कुनैपनि कुरा साझेदार नगर्नु वा उनको हरेक कुरामा असहमत हुनु पनि भावनात्मक अत्याचार मानिन्छ । अत्याचार भन्नसाथ कुटपिट वा शारीरिक रुपमा कुनै हिसाबले यातना दिनुलाई मानिन्छ । तर, भावनात्मक अत्याचार शारीरिक यातनाभन्दा बढी पीडादायी हुन्छ ।

त्यसैगरी कतिपय श्रीमान वा श्रीमतीको बानी हुन्छ, पार्टनरलाई होच्याउने । कुनैपनि कुरामा आफु मात्र जान्ने छु भन्ने र पार्टनरको हरेक कुरामा टिप्पणी गर्ने प्रवृत्ति हुन्छ । कोहीपनि मान्छे आफैमा पूर्ण हुँदैनन । हरेकको आफ्नै गुण हुन्छ र दोष पनि । पार्टनरलाई आफुजस्तै देख्न खोज्नु वा उनमा पूर्णता खोज्नु पनि एक किसिमको अत्याचार नै हो ।

दाम्पत्य जीवनमा भौतिक सुख–सुविधा मात्र पर्याप्त छैन । अक्सर श्रीमान कमाई गरेर ल्याएको छु, खाना दिएको छु, लगाउन दिएको छु, किनमेल, घुमफिर, मनोरञ्जन सबै कुरा पुरा गरिदिएको छु् भनेर सोच्छन् । यसैगरी अक्सर श्रीमती भान्साको काम सम्हालेकी छु, बालबच्चा स्यहारसुसार गरेकी छु, लुगाफाटो धुने, घर सफा गर्ने सबै काम भ्याएकी छु भनेर सोच्छन् । दाम्पत्य जीवनमा यस किसिमको व्यवहारिक तालमेल चाहिन्छ । तर, यो आफैमा पर्याप्त छैन ।

दाम्पत्य सम्बन्धलाई अरु प्रगाढ बनाउनका लागि एकअर्काबीच भावनात्मक साथ र सहयोग पनि आवश्यक हुन्छ । श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुराकानी गर्नु आवश्यक हुन्छ । घर–व्यवहारको कुरामा मात्र होइन, भावनात्मक कुरा पनि ।

धेरैजसो अवस्थामा श्रीमान वा श्रीमतीले एकअर्काको रुची, चाहना, इच्छा, आकंक्षाबारे त्यती खुलेर वहस गर्दैनन् । व्यक्त नगरेपनि आफ्नो कुरालाई पार्टनरले बुझेका छन् वा बुझ्नुपर्छ भन्ने धारणा राख्छन् । आफ्ना स–सना रुचीको कुरा मात्र होइन, घर–व्यवहारको कुरामा पनि उनीहरु यस्तै सोचाई राख्छन् । सामान्य लागेपनि यही कुराले दम्पतीबीच मनमुटाव ल्याउँछ ।

त्यसैले दम्पतीबीच यस्ता कुरामा आपसी संवाद हुन जरुरी छ । उनीहरुले आफ्नो व्यक्तिगत रुची, धारणादेखि पारिवारिक योजनासम्मका कुराहरु एकअर्कासँग साट्नु आवश्यक छ । यसरी भावनात्मक रुपमा एकढिक्का भएपछि मात्र व्यवहरिक तालमेल मिलाउन सहज हुन्छ ।



source https://www.onlinekhabar.com/2020/06/869332

दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

१९ जेठ, दाङ । दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् ।

गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताए ।

जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु छन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/06/869330

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको प्रयोगशाला संयोजक पुनको भनाइ छ ।

योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ भने कर्णाली प्रदेशभर १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

 



source https://www.onlinekhabar.com/2020/06/869328

हमाल भन्छन्–‘कायर व्यक्तिले मात्र जात र वर्गको आधारमा विभेद गर्छ’

नायक राजेश हमालले भिडियो मार्फत आफ्नो भनाइहरु सार्वजनिक गर्न थालेका छन् । कोरोना भाइरसको बिषयमा होस् या सरकारले नयाँ नेपालको नक्शा सार्वजनिक नै गरेपछि किन नहोस्, नायक हमालले फेसबुकमा भिडियोमार्फत नै आफ्नो भनाई सार्वजनिक गरेका थिए ।

उनै, हमालले जाजरकोट घटनाको बिषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । हमालले भनेका छन्–‘कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले जात, धर्म, समुदाय, वर्गको आधारमा विभेद गर्ने अधिकार छैन । यदि, कुनै व्यक्तिले यस्तो सोचले विभेद गर्छ भने उ कायर हो ।’

हमालले भने–‘जातिय विभेदलाई हामीले निरन्तर दिइराख्यौ र यसलाई जरैदेखि उखाल्न सकेनौ भने यसले समाजलाई अगाडि बढ्न दिदैन ।’

हमालले, यस्तो जडबाट जन्मिएको फोहोरी राजनीतिले राष्ट्रको हित हुन नसक्ने पनि बताएका छन् । नायक हमालले नेपालीहरुमा रहेको आपसी भाइचारलाई निरन्तरता दिन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

समाजमा जरो गाडेका कुविचारहरुलाई हटाएको खण्डमा राजनीति पनि शुद्ध हुने उनको तर्क छ ।



source https://www.onlinekhabar.com/2020/06/869329

बाँके दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको सनाखत

१९ जेठ, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु भएकाहरुमध्ये दुई जनाको सनाखत भएको छ ।

गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो । अरु १० जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी गएराति करिब १२ बजेतिर सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

मृतक र घाइते सबैलाई भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ ।



source https://www.onlinekhabar.com/2020/06/869326

[अपडेट] बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

१९ जेठ, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताए ।

मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताए । उनले भने, ‘सनाखत गर्ने क्रम चलिरहेको छ । टिकट काटेर गाडी चढेको जस्तो भए सनाखत गर्न छिटो हुने थियो ।’



source https://www.onlinekhabar.com/2020/06/869317

भावुक तर विवादित करिश्मा

नायिका करिश्मा मानन्धरलाई आफू भावूक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ । सामाजिक संजालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ । करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले विवादित छु । आत्मीय गुण छ त्यसैले फरक छु ।’

करिश्माले सामाजिक संजालमा लेख्ने गरेका कतिपय स्टाटसहरुको आलोचना पनि हुने गरेको छ । उनी आफू भावूक भएका कारण मनमा लागेको कुरालाई सामाजिक संजालमा व्यक्त गर्ने गरेको बताउँछिन् ।

उनी भन्छिन्–‘यदि तपाई आफूलाई प्रेम गर्न सक्नुहुन्न भने कुनै पनि कुरालाई प्रेम गर्न सक्नुहुन्न ।’

नायिका मानन्धरले लक डाउनपछि सामाजिक संजालमा व्यक्त गरेका कतिपय कुराहरुले प्रशंसा पाएका छन् भने कतिपय कुराहरु विवादित बनेका छन् ।

चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय यी नायिका विशेषगरि, राजनीतिमा लागेपछि विवादित बन्न थालेकी हुन् ।

राजनीतिमा लागेपछि उनले गर्ने राजनीतिक टिप्पणीले पनि चर्चा बढी नै पाउने गरेका छन् । करिश्मा लक डाउनका कारण घरमै रमाइरहेकी छिन् भने सामाजिक सेवामा पनि सक्रिय छिन् ।



source https://www.onlinekhabar.com/2020/06/869318

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ ।

वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनलाई एक साता अगाडि कोरोना पोजिटिभ पुष्टी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साजिद–वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन् । इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाई भाई’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो ।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

वाजिदको निधनले सिंगो बलिउड नै स्तब्ध बनेको छ । केही साता अगाडि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आइतबार राती अर्का चर्चित संगीतकार वाजिद खानलाई गुमाएको छ ।



source https://www.onlinekhabar.com/2020/06/869314

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना पुष्टि

१९ जेठ, काठमाडौं । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा हुन् । यस्तै विनयत्रिवेणी गाउँपालिकाको संक्रमित १४ वर्षीय किशोर हुन् । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।

उनीहरुलाई पूर्वीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/06/869313

फुटबल अब उस्तै हुने छैन : मेसी

१९ जेठ, काठमाडौं । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फुटबल अब उस्तै नहुने बताएका छन् । कोभिड १९ को कारणले धेरैले आफ्ना नजिकका साथी गुमाएकोमा दु:खी हुँदै मेसीले यसको असर आगामी वर्षमा पर्ने विचार व्यक्त गरे । कोरोनाभाइरस महामारीले गर्दा फुटबल जीवन अब फेरि उस्तै नहुने मेसीको धारणा छ ।

‘हामीमध्ये धेरै जना अहिले शंकामा छौँ कि यो घटनापछि अबको विश्व कस्तो हुनेछ । एकान्तवास र हामीलाई आश्चर्यमा पार्ने यस अवस्था बाहेक धेरै मानिसले कठिन समयको सामना गर्नुपर्‍यो किनकी यस परिस्थितिले कुनै न कुनै रुपमा उनीहरुलाई असर गर्‍यो । धेरैले परिवार साथी गुमाए, कतिले हेर्न समेत पाएनन्,’ मेसीले एल पाइससँग भने, ‘यस संकटमा मेरो विचारमा धेरै नकारात्मक विषयहरु भए तर त्यहाँ तपाईँको प्रिय व्यक्ति गुमाउनुभन्दा खराब कुरा अरु केही हुँदैन । त्यसैले मलाई धेरै निराश बनाएको छ र मेरोलागि यो सबैभन्दा अन्यायपूर्ण विषय बनेको छ ।’

उनले थपे, ‘सामान्य जीवन जस्तै फुटबल पनि मेरो विचारमा कहिल्यै उस्तै हुने छैन ।’

कोभिड१९ को कारण विश्वमा हजारौँ मानिसले ज्यान गुमाएका छन् । धेरै देशमा सामूहिक भेला हुन बन्द गरियो जसले गर्दा केही हप्ता भाइरससंग जुध्नकै लागि फुटबल पनि बन्द गरियो । यही समयमा सुरक्षाको उपायहरु अपनाउ ला लिगा जुन ११ देखि फेरी शुरु हुँदैछ ।

मेसीको कप्तानीमा रहेको बार्सिलोनाले रियल मड्रिडलाई अंक तालिकामा २ अंकले पछि पारेको छ र फेरि फुटबल शुरु हुँदा उक्त अग्रता कायम राख्न चाहन्छ ।



source https://www.onlinekhabar.com/2020/06/869311

क्वारेन्टिनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू : सर्वोच्च

१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरु तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्रीहरु पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्नू/गराउनू ।’

आदेशमा क्वारेन्टिनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पिसिआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्नु, क्वारेन्टिनमा राखिएको व्यक्तिको हकमा निजलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउन भनिएको छ ।

‘सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टेलगायतबाट हुनसक्ने सङ्क्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न एवं क्वारेन्टिनको अवधिभर क्वारेन्टिनमा बसेका व्यक्तिलाई निःशुल्क भोजनको व्यवस्था गर्नू’, आदेशमा भनिएको छ ।

आदेशमा आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकका रुपमा रही निःशुल्क भएको, सरुवा रोगलाई आधारभूत सेवाभित्र पारी निःशुल्क रहने भन्ने कुरा जनस्वास्थ्य सेवा ऐनमा उल्लेख भएको र कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधिहरु उपलब्ध गराउन भनिएको छ । साथै, मास्क र चिकित्सकीय मास्कहरु गुणस्तरीय ह्यान्ड सानिटाइजार निःशुल्क रुपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गर्न आदेशमा भनिएको छ ।



source https://www.onlinekhabar.com/2020/06/869310

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अनलाइनखबरसँग भने, ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको मृत्यु भयो । चार–पाँच जनाको अवस्था गम्भीर छ ।’

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/06/869304

किरा फट्यांग्राका लागि पनि मास्क बनाउँदै रुसी कलाकार

१९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।

अहिले घरबाट बाहिर निस्किँदा धेरै मानिसहरुले मास्क लगाएर निस्किने गर्छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको सुरक्षाको लागि पनि मास्क आवश्यक हुन्छ होला ? यो प्रश्न सुन्दा धेरैलाई वाहियात लाग्नु स्वाभाविक हो । तर, रुसका एक कलाकारले भने स–साना कीराहरुको सुरक्षाका लागि भन्दै सुक्ष्म मास्क निर्माण गरिरहेका छन् ।

रुसी कलाकार एनाटोली कोनेकोले अहिले बारुलो, फट्यांग्रा, ड्र्यागनफ्लाई (गाइने किरा) र गंगटोका लागि उपयुक्त हुने मास्क बनाइरहेका छन् । उनले कीराहरुलाई पनि बचाउनु आवश्यक रहेको सन्देश दिन यस्तो मास्क निर्माण गरिरहेको बताएका छन् ।

उनले अहिलेको कठिन समयमा मानिसहरुले मानिसहरुलाई मात्र कसरी बचाउने भन्ने विषयमा नभई जनावरहरु र कीराहरुको सुरक्षाको विषयमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘त्यसैले मैले कीराहरुलाई पनि बचाउनु जरुरी छ भन्ने सन्देश दिन केही मास्कहरु बनाइरहेको छु ।’ मानिसहरुले उनीहरुलाई पनि बिर्सिनु नहुने उनको धारणा छ ।

कोनेको सुक्ष्म सामग्री निर्माणको क्षेत्रमा चर्चित व्यक्ति हुन् । उनले यसअघि सबैभन्दा सानो किताब बनाएर गिनिज बुकमा आफ्नो नाम दर्ता गरिसकेका छन् ।

हेर्नुहोस् यो भिडियो



source https://www.onlinekhabar.com/2020/06/869302

Saturday 30 May 2020

रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थल प्रस्थान

१८ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो ।

टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ ।

यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।

तर दुई पक्षबीच झडप भएपछि भागाभाग भयो । केहीले ज्यान जोगाउन भेरी नदीमा हामफाले । घटनामा नवराज विकसहित पाँच जनाको मृत्यु भयो भने एक जना अझै वेपत्ता छन् ।
पीडित पक्षको किटानी जाहेरीको आधारमा प्रहरीले केटी पक्षका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



source https://www.onlinekhabar.com/2020/05/869034

वर्षा भन्छिन्–‘म पानी पर्दा मुस्कुराउने युवती बन्न चाहन्छु’

नायिका वर्षा राउतका लागि गतसाता सुखद् बन्न सकेन । यसको कारण हो, उनले बोलेको एक भनाइले चर्को आलोचना मात्र भएन, वर्षालाई जथाभावी गाली पनि गरियो ।

वर्षालाई तल्लो स्तरको शब्द प्रयोग गरेर गालीगलौजमा समेत केही फेसबुक प्रयोगकर्ता उत्रिएका थिए । यसले आफूलाई ठूलो तनाव दिएको वर्षाले बताउँदै आएकी छिन्।

केहीदिन अगाडि मात्र नायक संजोग कोइराला र नायिका वर्षा राउतले जारी गरेको एक विज्ञप्तिमा पनि आफूहरू शतप्रतिशत ठिक नभएको तर यो घटनाले पूर्ण रुपमा तनाव नदिएको पनि बताएका थिए ।

उनै, वर्षाले आफू पानी पर्दा मुस्कुराउने युवती बन्न चाहेको लेखेकी छिन् । सामाजिक सञ्जालमा आफूलाई यो समयमा माया गर्ने, आशीर्वाद दिने सबैलाई धन्यवाद लेख्दै वर्षाले आफूले पाएको मायाले आफूलाई स्वस्थ राख्न र सुरक्षित राख्न सहयोग गर्ने बताएकी छिन् ।



source https://www.onlinekhabar.com/2020/05/869038

संसदमा संविधान संशोधन विधेयक पेश

१८ जेठ, काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।



source https://www.onlinekhabar.com/2020/05/869033

रुकुम घटनाको विरोध गर्न झापामा संघर्ष समिति

१८ जेठ, झापा । पश्चिम रुकुममा जातीय भेदभावका कारण भएको हत्याको विरुद्ध संघर्ष गर्न झापामा संघर्ष समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

समितिमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर, छविलाल विश्वकर्मा, वीर बहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी, हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोक राम लगायत छन् ।

समितिका संयोजक हुकुमसिंह नेपालीले जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने बताए ।



source https://www.onlinekhabar.com/2020/05/869032

कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान लियोः लालबाबु पण्डित

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’

पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले क्वारेन्टिनहरू चिन्ताजनक अवस्थामा रहेको बताए । क्वारेन्टिन व्यवस्थापनका लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।



source https://www.onlinekhabar.com/2020/05/869030

सुदर्शन थापाः जसले यी कलाकारलाई स्टार बनाए

नायक प्रदिप खड्का ‘स्केप’ नामक चलचित्रमा अभिनय गरेपछि निराश बने । उनी, अष्ट्रेलिया जाने तयारीमा समेत लागेका थिए । तर, चलचित्र ‘प्रेमगीत’का लागि नायकको खोजी भएको थाहा पाएपछि उनी यो चलचित्रको टिमको सम्पर्कमा आए । यो चलचित्रले उनलाई स्टार बनाइदियो । चलचित्रका निर्देशक थिए सुदर्शन थापा । सुदर्शन लभ स्टोरी चलचित्र बनाउन माहिर मानिन्छन् । सुदर्शनको यो लभ स्टोरी चलचित्रले प्रदिपलाई स्टार बनायो ।

नायक पल शाह चलचित्र ‘नाई नभन्नु ल ४’बाट उदाए । म्यूजिक भिडियोमै उनको क्रेज गज्जब थियो । यो चलचित्रले उनलाई चलचित्र क्षेत्रमा पाइला राख्न ठूलो सहयोग गर्यो । तर, जब उनले चलचित्र ‘म यस्तो गीत गाउँछु’मा अभिनय गरे, यसपछि भने उनको क्रेज चुलियो ।

चलचित्रले राम्रो कलेक्शन गर्दा पलको क्रेज हलमा देखियो । यो चलचित्रका निर्देशक थिए, सुदर्शन थापा । थापाको निर्देशनमा बनेको चलचित्रले पललाई स्टार नायक बनाइदियो । उनले, यसपछि ‘जोनी जेन्टलम्यान, वीर विक्रम २’ जस्ता चलचित्रमा काम गरेपनि उनलाई खासै फाइदा भएन । चलचित्र ‘शत्रु गते’को बम्पर व्यापारमा उनको योगदान खासै देखिएन । उनै, पल फेरि निर्देशक थापाकै निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिजको प्रतिक्षामा छन् ।

नायिका पूजा शर्माले चलचित्र ‘थ्री लभर्स, मेरो बेष्ट फ्रेन्ड’ जस्ता चलचित्रमा काम गरेकी थिइन् । दुबै चलचित्रमा उनी नोटिस भइनन् । यसपछि, उनको टिमअप निर्देशक सुदर्शन थापासँग भयो । थापासँग उनले ‘मधुमास र चंखे शंखे पंखे’मा काम गरेपनि हिट हुन सकिरहेकी थिइनन् ।

उनै, सुदर्शनले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत’ले पूजालाई स्टार बनायो । यसपछि, पूजाले सुदर्शनसँग निरन्तर सहकार्य गरिरहेकी छिन् । ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्रमा पूजा र सुदर्शनको सहकार्य जारी छ । पूजा चलचित्र क्षेत्रमा आज सर्वाधिक व्यस्त नायिकको रुपमा पर्छिन् ।

नायक आकाश श्रेष्ठले चलचित्र ‘म त तिम्रै हुँ, ब्ल्याक’ जस्ता चलचित्रमा काम गरेपनि सफल हुन सकेका थिएनन् । यसपछि, आकाशले निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘रामकहानी’मा काम गरे । यसपछि भने उनी चलचित्र क्षेत्रमा नोटिस भए । आज आकाशको हातमा चलचित्रको अभाव छैन । ‘पोई पर्यो काले, सम्हालिन्छ कहिले मन, संझना विर्सना’ लगायतका चलचित्रमा उनले काम गरेका छन् ।

नायक आर्यन सिग्देल चलचित्र ‘किस्मत’बाट उदाएका थिए । यी चकलेटी नायकले यो चलचित्रबाट दर्शकको माया राम्रो पाएका थिए । जब उनले चलचित्र ‘मेरो एउटा साथी छ’मा काम गरे, यसपछि उनको डिमाण्ड रातारात चुलियो । आर्यन चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने र रोजिने नायक बने । यो चलचित्रले आर्यनलाई स्टार मात्र बनाएन, अभिनय राम्रो गर्न सक्ने कलाकारको रुपमा पनि चिनायो । सुदर्शन थापा निर्देशित यो लभ स्टोरी चलचित्रले नयाँ आयाम कायम गर्यो । चलचित्र क्षेत्रमा आर्यनको बलियो पकड बन्न पुग्यो ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक थापाले केही कलाकारलाई स्टार बनाएका छन् । उनीसँग काम गर्न आजपनि कलाकारहरु लालयित हुने गरेका छन् ।

मैले स्टारसँग काम गरेको छैनः सुदर्शन
निर्देशक सुदर्शन थापा आफूले अहिलेसम्म स्टार कलाकारसँग काम नगरेको बताउँछन् । उनले भने–‘मैले अहिलेसम्म स्टार कलाकारसँग काम गरेको छैन । जतिपनि कलाकार छन् उनीहरुलाई स्टार बनाएको छु ।’

सुदर्शनले कुनै पनि कलाकारमा अरुले नदेखेको गुण आफूले देखेपछि नै चलचित्रमा लिने गरेको सुनाए । उनले भने–‘मैले कुनै पनि कलाकारको लुक्स र उसको अनुहारमा भएको अभिनयको संभावना देखेपछि मात्र काम गर्छु । केही असफल कलाकार भित्र पनि हिट हुने पक्ष हुन्छ । उसले, सही निर्देशन पायो भने काम गर्न सक्छ भनेपछि मैले काम गरेको छु ।’ अरुले नदेखेको गुण आफूले देखेपछि नै कुनै कलाकारसँग काम गर्ने गरेको सुदर्शनले बताए ।



source https://www.onlinekhabar.com/2020/05/869029

च्याम्पियन साल्जवर्गको अनौठो ट्रफी सेलेब्रेसन

१८ जेठ काठमाडौं । रेडबुल साल्जवर्गले अष्ट्रिय लुस्टेनाउलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रियन कप फुटबलको उपाधि रक्षा गर्न सफल भएको छ । साल्जवर्गका लागि डोमिनिक सोबोस्जलाई, डोमिनिक स्टुमबर्गर, नोएह ओकाफर, मजिद अशिमेनु र सेकोउ कोइटाले गोल गरे ।

खेल जितेपछि साल्जवर्गले अनौठो तरिकाले ट्रफी सेलेब्रेसन गर्यो। अहिले कोरोना भाइरस महामारीको कारण सबैतिर सामाजिक दूरी कायम गर्ने चलन छ ।

साल्जवर्गले पनि ट्रफी जितेपछि सामाजिक दूरी कायम गर्दै खुशी मनाए ।

अन्य बेला उपाधि जित्दा दर्शक पनि मानमा हुने भएकोले छुट्टै खालको वातावरण हुन्थ्यो । यसपटक महामारीले गर्दा खेल हेर्न कुनै दर्शक उपस्थित नभएकाले साल्जवर्गका खेलाडीले पनि आफ्नो दर्शक अघि उपाधि उठाउने मौका पाएनन् ।

अहिले बोरुसिया डर्टमण्डबाट खेलिरहेका युवा स्टार एर्लिन हल्याण्डको पूर्व क्लब साल्जवर्गले सातौँ पटक अष्ट्रियन कप उपाधि जितेको हो । २०११-१२ मा पहिलो पटक अष्ट्रियन कप जितेको साल्जवर्गले त्यसयता २०१२-१३ र २०१७-१८ मा बाहेक उपाधि जित्दै आएको छ ।



source https://www.onlinekhabar.com/2020/05/869026

बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

१८ जेठ, कैलाली । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए,’ उनले भने, ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’

१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताए । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताए ।  बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको उनले बताए । ‘सुधार भएको थिएन । स्वास फेर्न कठिन थियो मुटुको चाल बढेको थियो,’ उनले भने । शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको उनले बताए ।

‘आइतबार दिउँसोसम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘शव यहीँ छ । पोजेटिभ आयो भने डिस्पोज गर्छौं, नेगेटिभ आयो भने परिवारलाई जिम्मा लगाउँछौं ।’



source https://www.onlinekhabar.com/2020/05/869021

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित



source https://www.onlinekhabar.com/2020/05/869015

१ जुनदेखि घरेलु खेलकुद सञ्चालन गर्न बेलायत सरकारको अनुमति

१८ जेठ, काठमाडौं । बेलायत सरकारले जुन १ तारिखबाट क्लोज डोरमा घरेलु खेलकुद प्रतियोगिता शुरु गर्न अनुमति दिएको छ । तेस्रो चरणको निर्देशनअनुसार मध्य मार्चयता स्थगित घरेलु खेलकुद प्रतियोगिताहरु सोमबारदेखि शुरु गर्न लागिएको हो ।

हर्स रेसिङ र स्नुकर प्रतियोगिताहरु सोमबारदेखि शुरु हुनेछन् भने प्रिमियर लिग फुटबल १७ मार्चदेखि शुरु हुनेछ । ‘प्रतिक्षाको समय सकियो । सुरक्षित र सावधानीपूर्वक नियन्त्रित वातावरणमा बेलायतको खेलकुद गतिविधि विस्तारै फर्किनेछ,’ डिजिटल, संस्कृति, मिडिया र खेल राज्य सचिव ओलिवर डोडेनले भने ।

‘यो मार्गनिर्देशनले खेलकुदलाई क्लोज डोरमा पुनः सुरू गर्न सुरक्षित रूपरेखा प्रदान गर्दछ । अब यो व्यक्तिगत खेलहरूमा निर्भर हुन्छ कि उनीहरूले यी प्रोटोकलहरू पूरा गर्न सक्दछन् र यो पुनः सुरु गर्नका लागि उचित छ कि छैन भनेर निर्णय गर्न सक्छन्,’ बेलायत सरकारको दैनिक कोरोनाभाइरस ब्रिफिङमा बोल्दै डोडेनले भने, ‘फुटबल, टेनिस, घोडा दौड, फार्मुला १, क्रिकेट, गल्फ, रग्बी, स्नूकर र अन्य सबै हाम्रो स्क्रीनमा छिट्टै फर्कने छन् ।’

प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले सरकारी निर्णयको स्वागत गरेका छन् । प्रिमियर लिगका क्लबहरुले दोस्रो चरणको ट्रेनिङ शुरु गरिसकेका छन् । जहाँ कन्ट्याक्ट ट्रेनिङ हुन्छ ।

‘हामीले १७ जुनबाट प्रिमियर लिग शुरू गर्ने भनेर तयारी थालेका थियौं। सुरक्षित वातावरण सुनिश्चित गर्नका लागि अझै केही काम गर्न बाँकी छन्। तर, हामी दुई साताभित्र स्थगित सिजन शुरू गर्न सक्षम हुनेछौं,’ मास्टर्सले भने ।

प्रिमियर लिले बिहीबार र शुक्रवार ११३० जनाको परीक्षण गर्दा कसैमा पनि पोजेटिभ नेदेखिएको शनिवार सार्वजनिक गरेको थियो । अहिलेसम्म ३८८२ जनामा परिक्षण हुँदा १२ जनामा पोजेटिभ देखिएको थियो ।



source https://www.onlinekhabar.com/2020/05/869013

लकडाउनले शान्त निकुञ्ज, प्रशन्न पशुपंछी

१८ जेठ, चितवन । कोरोना भाइरसको त्रास एवम् लकडाउनले मानिसहरू घरभित्र र वरपर सीमित छन् । पर्यटक बनेर निकुञ्जमा जंगल सफारी गर्न जाने त धेरै परेको कुरा बन्यो । तर, निकुञ्जमा पर्यटक जान बन्द भएपछि जीवजन्तु र पशुपंछीमा भने स्वतन्त्रता र उन्मत्त खुसी देखिन्छ ।

लकडाउन अघिसम्म निकुञ्जमा दैनिक सयौं पर्यटक बोकेका जीपहरू ओहोरदोहोर गरिरहेका हुन्थे । निकुञ्जले दैनिक ४२ वटा जीपलाई चल्न अनुमति दिएको छ । गाडी र पर्यटकको हल्लाखल्लाले जनावरहरूसमेत भाग्ने, डराएजस्तो गर्ने गर्थे ।

कोरोना संक्रमण रोकथामका लागि गरिएको  लकडाउनले विगत ६५ दिनदेखि चितवन राष्ट्रिय निकुञ्ज शान्त छ । जीव जनावरहरू निर्धक्क भएर आनन्दपूर्वक रमाइरहेका देखिन्छन् । निकुञ्जभित्र पर्यटकीय गतिविधि नहुँदा आम्दानी त घटेको छ तर जीव जनावर र पशुपंछीहरु निष्फिक्री रमारहेका देखिन्छन् ।

गत वर्ष ३० करोड आम्दानी गरेको निकुञ्जको आम्दानी यसपटक २० करोडको हाराहारीमा झर्ने देखिएको छ । लक्ष ३८ करोडको थियो । आम्दानी घटे पनि निकुञ्जमा वन्यजन्तुको भने स्वतन्त्र विचरण बढेको देख्दा चित्त प्रशन्न हुने निकुञ्जका अधिकारीहरू बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जनाबरहरु हिँजोआज मान्छे देख्ने वित्तिकै आक्रामक हुने, कुनै भाग्ने गर्न थालेको बताए । निकुञ्जभित्र शान्त वातावरण हुँदा वन्यजन्तुहरु ससाना बच्चाहरुसँग रमाइरहेका देख्न सकिन्छ । मृगका बथान, विश्वकै दुर्लभ एक सिङे गैँडा, मयूरहरु आफ्नै संसारमा रमाइरहेको देख्दा मन रोमाञ्चित बन्छ ।

राप्ती नदीमा पाइने विश्वकै दुर्लभ घोडियाल गोही माछा ढुकेर बसिरहेको छ । निकुञ्जको सिमसार क्षेत्रमा पाइने चराहरूको बेग आफ्नै छ । चितवनमा बढ्दै गरेको गर्मीमा धापिएका चराहरू नदीमा पौडिएर पानी छर्कर्दै उडिरहेको हेर्दा निकै रमाइलो लाग्छ ।

चैत, बैशाख र जेठ महिना चराहरुको प्रजनन् समय पनि हो । शान्त वातावरण पाए उनीहरू गुँड लगाउने र प्रजनन् कार्यमा व्यस्त बन्छन् । चराहरुको बच्चा हुर्काउने समय पनि हो, यतिबेला । निरन्तर पानी परिरहेकाले जंगलमा डढेलो पनि छैन । गोही पनि अण्डा कोरल्न थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गैंडाको चरनका लागि पाँच सय हेक्टर जति घाँसे मैदान तयार गरेको छ । अझै एक सय हेक्टर मैदान बनाउने तयारी भैरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती बताउँछन् । घाँसे मैदानमा सिरुघाँस गैंडा नदेखिने गरी बढेको छ । निकुञ्जले ठाउँठाउँमा बाटोहरू बनाउने, कुकाठहरु हटाउने काम गरिरहेको छ । निकुञ्जभित्र पूर्वाधारका कामहरु भैरहेको बताउँछन्, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेती ।

घाँसे मैदानलाई निकुञ्जले प्राथमिकतामा राखेको छ । घाँस काट्ने मेशिन नै ल्याएर यसपटकबाट मैदान बनाउने काम गरिएको रुपाखेतीले जानकारी दिए । उनले पाँच सय हेक्टरमा घाँसे मैदान, १५० किलोमिटर जति निर्माण र सुधार गरिएको जानकारी दिए ।

निकुञ्जभित्र कयौं जलाशय, पोखरी र तालतलैयाहरु सुकेपछि थपिएको चुनौतीको व्यवस्थापन गर्न पनि निकुञ्ज लागिपरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीको दावी छ । ‘चालु आर्थिक वर्षमा मात्रैं १० भन्दा बढी पोखरी बनायौं,’ रुपाखेतीले भने, ‘पुराना ३५ वटा पोखरीहरुको मर्मत सुधार गरिएको छ ।’

गैँडा लगायतका बन्यजन्तुका लागि खाने र रमाउने पानी पोखरी अनिवार्य भएकाले निकुञ्जले लकडाउनका बीचमा पनि यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ ।

लकडानका बेलामा सबैको ध्यान कोरोनाको संक्रमणबाट कसरी जोगाउने भन्नेतिर हुँदा निकुञ्जभित्र चोरी शिकार गर्ने अपराधीहरु प्रवेश गर्ने र जंगली जनावर मार्न सक्ने हुँदा सुरक्षा सर्तकता पनि बढाइएको छ । यो लकडाउनको अवधिमा अनाधिकृत रुपमा निकुञ्ज प्रवेश गर्ने, जीव जनावर माथि आक्रमण गर्ने झण्डै एक हजार व्यक्तिहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । नेपाली सेनाको बटुकदल गणले निकुञ्जको सुरक्षा गरिरहेको छ ।

अहिले विश्वको मानव जाति कोरोना भाइरस संक्रमणको त्रासमा छ । विश्वका अधिकांश देशमा फैलिएको कोरोना भाइरसका कारणले मानिसहरु घर भित्र नै लकडाउन भनेर बस्नुपरेको छ । तर, अन्य जीव जनावरलाई भने मानवलाई जति संकट छैन । निकुञ्जमा जीव जनावर र पशुपंछीको निस्फक्री उल्लास देख्दा मानिसका लागि यो सुविधा कहिले आउला भन्ने अनुभूति हुन्छ ।

तस्वीरहरू : कोमलचन्द्र भगत



source https://www.onlinekhabar.com/2020/05/869005

कर्णालीमा कोरोना संक्रमित १०५ पुगे

१८ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा सल्यानका २६, कालिकोटका १७ जना, दैलेखका १५ र सर्खेतका १ जना गरी  ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमितहरु चार वर्षीया बालिकादेखि ६० वर्षीया जेष्ठनागरिक समेत रहेको जनस्वास्थ्य प्रमुख कँडेलले बताए ।

कर्णालीका दश जिल्लामध्ये कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अहिलेसम्म कर्णालीका चार जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमित सबै भारतबाट आएका हुन् । लामो समयसम्म कर्णालीमा कोरोना संक्रमण शून्य थियो, तर भारतबाट मानिसहरु आउने क्रम बढेपछि संक्रमितहरु पनि बढ्न थालेका छन् ।



source https://www.onlinekhabar.com/2020/05/869002

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका बालकको मुत्यु

१८ जेठ, डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् ।

गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । ‘उहाँहरू राति पुगेपछि क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो,’ प्रनाउ न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं ।’

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।

ती बालकले ज्वरोको उपचार गराइरहेको बुझिएको उनले बताए । यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए । ‘रिपोर्ट आएपछि मात्र दाहसंस्कार गर्ने कि भन्ने कुरा चलेको छ,’ विष्टले भने, ‘यस विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।’



source https://www.onlinekhabar.com/2020/05/868999

भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

१८ जेठ, काठमाडौं । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गर्नु परेको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।



source https://www.onlinekhabar.com/2020/05/868989

अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा

१८ जेठ, काठमाडौं । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ ।

मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु हुन्छ ।

भिडियोमा देखिएअनुसार फ्लोयड र वरीपरी रहेका अन्य प्रहरी अधिकारीले उनलाई छाड्नका लागि अनुरोध गरेका थिए । घाँटीमा घुँडाले थिचिएका फ्लोयडले भनिरहेका थिए, ‘मैले सास फेर्न सकिरहेको छैन, प्लिज’ । यो उनको अन्तिम शब्द बन्न पुग्यो ।

यो घटनाको विषयमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म यो घटनाको विषयमा विस्तृत जानकारी पनि पत्ता लागेको छैन । फ्लोयडको घाँटीमा घुँडाले थिच्ने प्रहरी अधिकारी डेरेक शाविनलाई गिरफ्तार गरी उनीमाथि हत्याको आरोप लगाइएको छ । यो भिडियो आएपछि मानिसहरुले यसबारे आक्रोश व्यक्त गरिरहेका छन् । मिनेसोटालगायतका सहरहरुमा यसबारे ठूलो प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले दर्जनौं गाडीहरुमा आगजनी गरेका छन् । सुरक्षाकर्मीलाई प्रदर्शन नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।

लस एन्जलसमा गाडीमा लगाइएको आगो निभाउँदै अग्नि नियन्त्रक

अहिले भइरहेको प्रदर्शनको विषयमा मिनेसोटाका गभर्नरले आन्दोलन हिंसात्मक बन्दै गइरहेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले आन्दोलन नियन्त्रणमा लिनका लागि सैन्य प्रहरी परिचालन गर्न सकिने चेतावनी दिएका छन् ।

घटना दुःखद : पूर्वराष्ट्रपति ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त घटना दुःखद रहेको बताएका छन् । यसले आफूलाई क्षतविक्षत बनाएको उनको भनाइ छ । अहिलेको अवस्थामा पनि यो कुनै पनि हिसाबमा सामान्य घटना नभएको उनको भनाइ छ ।

यो घटनाले अमेरिकी समाजमा हुने गरेको नस्लीय भेदभावलाई उजागर गरेको छ । अमेरिकामा प्रहरी अधिकारीको हातबाट कसैको ज्यान जाँदा सधैँ नै ठूलो मुद्दा बन्ने गर्छ । त्यसमा पनि कुनै जातिलाई लक्षित गरी भएको घटना भने झन् ठूलो हुनु स्वाभाविक हो । अमेरिकामा जातीय भेदभावको मुद्दा पनि अहिलेदेखिको होइन । निकै लामो समयदेखि चल्दै आएको यो मुद्दाको विषयमा बेलाबेलामा अमेरिकामा चर्चा हुने गरेको छ ।

अमेरिकामा नस्लीय हिंसाको इतिहास

नेशनल एसोसिएसन फर द एडभान्टेज अफ कलर्ड पीपलले एक विज्ञप्ति जारी गरेर यस किसिमको हर्कत सामाजमा कालाजातिका मानिसविरुद्धको भेदभावको एक नमुना रहेको बताएको छ । यो घटना नस्लीय भेदभाव, जेनोफोबिया र पूर्वाग्रहबाट प्रेरित रहेको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी अझै धेरै मर्न चाहँदैनौँ ।’

यो घटनापछि अमेरिकामा नस्लीय हिंसाको इतिहासको चर्चा पनि शुरु भएको छ । काला जातिका मानिसविरुद्ध प्रहरीको बर्बरताको विषयलाई लिएर मानिसको आक्रोश बढिरहेको छ ।

लस एन्जलसमा प्रदर्शनकारी

अमेरिकामा सन् २०१३ देखि २०१९ को बीचमा प्रहरीको हातबाट भएको ९९ प्रतिशत हत्याको मामिलामा प्रहरी अधिकारीमाथि कुनै पनि आरोप लगाइएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारलाई सान्त्वना दिएका छन् । तर, उनको एक टिप्पणीको भने आलोचना भइरहेको छ । उनले लेखेका छन्, ‘जब मानिस लुट गर्न शुरु गर्छ भने त्यसपछि शुट गर्न पनि शुरु हुन्छ । यसैकारण मिनेपोलिसमा बुधबार राति एक व्यक्तिलाई गोली हानी हत्या गरिएको हो ।’ यद्यपि ट्रम्पले यो आफ्नो अभिव्यक्ति नभई तथ्य भएको भन्दै यसको आफ्नो बचाउ गरेका थिए ।

अमेरिकामा कुनै कालाजातिको मानिसको हत्या भएको यो पहिलो घटना भने होइन । यसअघि फेब्रुअरी २३ मा हतियारधारी गोरा जातिका मानिसले २५ वर्षीय आर्बेरीको पिछा गर्ने क्रममा उनलाई गोली हानी हत्या गरेका थिए । मार्च १३ मा ब्रेओना टेलरलाई एक गोरा जातिका प्रहरीले उनकै घरमा छापा मार्ने क्रममा गोली हानी हत्या गरेका थिए ।

मिनेपोलिसका मेयरले अमेरिकामा कालाजातिका मानिस हुनु मृत्युको सजायजस्तो हुनु नहुने बताएका छन् ।

प्रहरी आँकडा के भन्छ ?

सन् २०१५ को जनवरीमा वाशिङटन पोस्टले प्रहरीले गोली हानेर गरिएको हत्याको तथ्यांक राख्न शुरु गरेको थियो । त्यसयता अहिलेसम्म चार हजार चार सय घातक मुद्दा दर्ता भएको छ । यो तथ्यांक अनुसार अमेरिकामा प्रहरीले कालाजातिका मानिसलाई निर्दयी ढङ्गले हत्या गर्ने गरेका छन् । अमेरिकामा कालाजातिका मानिसको संख्या केवल १३ प्रतिशत छ । तर, यो तथ्यांक अनुसार एक चौथाइ कालाजातिका मानिस मारिने गरेका छन् ।

तथ्यांक अनुसार कुनै निहत्था गोरा मानिसको तुलनामा निहत्था कालाजातिका मानिसको मृत्यु प्रहरीको हातबाट हुने सम्भावना चार गुणा धेरै छ ।

सन् २०१५ देखि अहिलेसम्म अमेरिकामा प्रहरीको गोलीबाट औसतमा दैनिक तीन जनाको मृत्यु हुने गरेको छ । सन् २०१९ मा पनि अमेरिकामा एक हजार ९९ जनाको मृत्यु प्रहरीको हातबाट भएको थियो ।



source https://www.onlinekhabar.com/2020/05/868990

क्वारेन्टाइनबाट भागेर आत्महत्या

१८ जेठ, गुल्मी । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको वडा अध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए ।

उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।

वडाअध्यक्ष न्यौपानेले घटनाबारे दिएको जानकारी यस्तो छ–

शनिबार क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका थिए । हामी व्यस्त थियौं । शनिबार साँझ करिब साढे ६ बजेतिर शौचालय जान्छु भनेर कोठाबाट निस्किनु भएछ ।

स्वास्थ्य जाँच्दै जाने क्रममा एक जना मान्छे खै ? शौचालय गएको चन्द्रबहादुर खै ? भनेर खोजी सुरु भयो । क्वारेन्टाइनमा नभेटिएपछि भागेको थाहा भयो । वरपर खोज्दै जाँदा स्कुलभन्दा करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा भेटियो । करिब एक घण्टाको बीचमा हामीले शव फेला पार्यौं ।

आत्महत्या गर्नुको कारण थाहा छैन । प्रहरीले मुचुल्का उठाएर अनुसन्धान जारी राखेको छ ।



source https://www.onlinekhabar.com/2020/05/868986

हत्या आरोपमा २ जना पक्राउ

१८ जेठ, धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको शव फेला परेको थियो ।

उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले कमलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

पक्राउ परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा कमललाई प्लटिङ जग्गामा लगेर लाठीले टाउको तथा शरीरका संवेदनशील अङ्गमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/05/868985

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More