Thursday 31 October 2019

बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा

१५ कात्तिक, काठमाडौं । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएकी थिइन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आलु तथा मकै उपहार दिएर मत प्रभावित गराएको आरोप पनि उनीमाथि छ ।

श्रीमतीले निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको समाचार सार्वजनिक भएलगत्तै मन्त्री कावाईले उच्च नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा बुझाएका हुन् ।

यद्यपि, काबाईले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

लगातार दुई मन्त्रीको राजीनामा, प्रधानमन्त्रीलाई धक्का

काबाई एक सातामा मन्त्री पदबाट राजीनामा दिने दोस्रो व्यक्ति हुन् । गत शुक्रबार मात्रै आफ्ना सहयोगीलाई कानूनविपरीत नगद तथा उपहार वितरण गरेको आरोप लागेपछि त्यहाँका उद्योग मन्त्रीले पदबाट राजीनामा बुझाएका थिए ।

लगातार दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि जापानी प्रधानमन्त्री आवेमाथि धक्का लागेको छ । उनले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जनतासँग माफी मागेका छन् ।

 



source https://www.onlinekhabar.com/2019/11/807671

काठ मिलबाट ४५ क्युफिट सालको गोलिया बरामद

१५ कात्तिक, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ सखुवा प्रसौनी टोलमा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद भएको छ । अवैध रूख कटान गरी ल्याएर लुकाएर राखेको अवस्थामा सालको १२ थान गोलिया वनगस्ती टोलीले सेना र प्रहरीको सहायतामा बरामद गरेको हो ।

मधुवन मथौल सबडिभिजन कार्यालय बढनियारका सुबेदार प्रदीप तिमल्सिनाले सुदामा समिलबाट खर र काठको भुसले छोपेर राखेको अवस्थामा ४५ क्युफिट काठ बरामद गरिएको जानकारी दिए । काठको बजार मूल्य १ लाख ४० हजार अनुमान गरिएको छ ।

‘रंगपुरटाँडीले सूचना पाएनछ, मैले सूचना पाएपछि त्यहीँ पुगेर काठ बरामद गरियो,’ सुबेदार तिमल्सिनाले अनलाइनखबरसँग भने ।

बढनियारबाट रंगपुरटाँडीस्थित समिल करिब चार किलोमिटर दक्षिणमा पर्दछ । सो क्षेत्रमा रंगपुरटाँडी सबडिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीय बताउँछन् । तस्करीको काठ सखुवाप्रसौनी गाउँपालिकाको प्रसौनी, कौवाबनकटैयास्थित १ दर्जनभन्दा बढी फर्निचर उद्योगमा पुग्ने गर्दछ ।

मिल सञ्चालक जगलाल साह र मिस्त्री राजकिशोर साहले भने सो काठको बारेमा आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर, रंगपुरटाँडीस्थित जंगलबाट अवैध रूख कटान गरी ल्याएर समिलमा लुकाएर राखिएको दावी वनगस्ती टोलीले गरेको छ ।

मिल सञ्चालकसँग आवश्यक सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको सुबेदार तिमल्सिनाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2019/11/807661

बागलुङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

१५ कात्तिक, काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ ।

बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासीहरू त्रसित बनेका थिए । भूकम्पबाट क्षति भएको विवरण हालसम्म प्राप्त नभएको सरकारी अधिकारीहरूले जनाएका छन् ।



source https://www.onlinekhabar.com/2019/11/807663

सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

१५ कात्तिक, काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंस्थित निवासमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो ।

उनी बस्दै आएको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि छ । आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको उनले बताए । बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ ।

गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।

चोरी भएको जानकारी प्रहरीलाई गराएपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र नयाँबानेश्वर प्रहरी प्रमुखसहितको टोली गौतमको निवासमा पुगेको थियो । प्रहरीले चोरमा संलग्न कसैलाई पनि पक्रेको छैन । यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गौतम नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज हुन् ।



source https://www.onlinekhabar.com/2019/11/807629

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य

लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा-आराधना गरि मनाउने गरिन्छ । तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् :

सूर्यदेव र षष्ठी देवी दुबैको पूजा

छठको ब्रतमा कुन देवी-देवताहरुको पूजा गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । छठ पूजाको व्रतमा सूर्य देवताको पूजा आराधना गरिन्छ, जुन प्रत्यक्ष देखिन्छ र समस्त प्राणीहरुको जीवनको आधार पनि हो । सूर्यको साथै षष्ठी देवी अथवा छठ माताको पनि पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुको साथै उनीहरुलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन् ।

यस अवसरमा सूयदेवका श्रीमतीहरु उषा र प्रत्युषालाई पनि अर्घ दिएर प्रसन्न बनाइन्छ । छठ व्रतमा सूर्यदेव र षष्ठी देवी दुबैको पूजा संग-संगै गरिन्छ । त्यसैले छठ माताको पुजा आफैंमा विशेष रहेको छ ।

निःसन्तानहरुलाई सन्तान

सूर्यसंग त सबै परिचित नै छन, तर छठ कुन देवी हुन भन्ने पनि धेरैको मनमा कौतुहलता हुन सक्छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा प्रमुख अंशलाई देवसेना भनिन्छ । प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । षष्ठी देवीलाई ब्रम्हाको मानसपुत्री पनि भनिन्छ । पुराणहरुमा यी देवीको एउटा नाम काल्यायनी पनि हो । यी देवीको पूजा नवरात्रिमा षष्ठी तिथिमा गरिन्छ । षष्ठी देवीलाई नै स्थानीय बोलीको आधारमा छठ माता भनिएको हो, जसले निःसन्तानहरुलाई सन्तान दिन्छिन् र सबै बालबालिकाको रक्षा पनि गर्छिन् ।

छठ माताको पूजाको शुरुवात

छठ माताको पूजाको शुरुवात कसरी भयो र यसको पुराण कथा कस्तो छ भने प्रथम मनु स्वायम्भुवका पुत्र राजा पि्रयव्रतका कुनै सन्तान थिएनन्, जसका कारण उनी दुःखी थिए । महर्षि कश्यपले राजालाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए । राजाले यज्ञ गराए, यज्ञपछि महारानी मालिनीले एउटा पुत्रलाई जन्म दिइन् । तर दुर्भाग्य त्यो शिशु मृत जन्मेका थिए । राजाको दुःख देखेर एउटा दिव्य देवी प्रकट भइन् । उनले ती मृत बालकलाई जीवित गरिदिइन् । देवीको त्यस्तो कृपाले राजा धेरै खुशी भएर उनले षष्ठी देवीको स्तुति गरे । यहि समयदेखि छठ माताको पूजाको शुरुवात भयो ।

रावणलाई अन्तिम बाण

शास्त्रमा भगवान सूर्यलाई गुरु पनि भनिन्छ । पवन पुत्र हनुमानले सूर्यसंग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय भएका थिए ।

श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग

श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग लागेको थियो । त्यस समयमा उनले सूर्यको उपासना गरेर यो रोगबाट मुक्ति पाएका थिए । सूर्यको पूजा वैदिककाल भन्दा पनि पहिलेबाट भएको थियो ।

सूर्यको स्थान

त्यस्ता ६ प्रमुख देवी-देवताहरुमा सूर्यको स्थान रहेको छ, जसको पूजा सबैभन्दा पहिला गर्ने विधान रहेको छ । पञ्चदेवमा गणेश, दुर्गा, शिव, विष्णुका साथमा सूर्य पनि पर्छन् ।

सूर्यले सबैलाई उपकार गर्ने

भगवान सूर्यले सबैलाई उपकार गर्ने, अत्यन्त दयालु छन् । उनले आफ्ना भक्तहरुलाई आयु, आरोग्य, धन-धान्य, सन्तान, तेज, कान्ति, यश, वैभव र सौभाग्य प्रदान गर्छन् । उनले सबैलाई चेतना पनि प्रदान गर्छन् ।

सूर्यको उपासना

सूर्यको उपासना गर्नाले मनुष्यलाई सम्पुर्ण रोगहरुबाट छुटकारा प्राप्त हुन्छ । जसले सूर्यको उपासना गर्छ, उ दरिद्र, दुःखी, शोकग्रस्त र अन्धो हुँदैन । सूर्यलाई बम्हाको तेज पनि भनिन्छ । सूर्यले धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्नुको साथै सम्पुर्ण संसारको रक्षा पनि गर्छन् ।

जलको अर्घ

सूर्यको पूजा गर्दा उनलाई जलको अर्घ दिइन्छ । पवित्र नदीहरुको जलले सूर्यलाई अर्घ दिने र नुहाउनुको विशेष महत्व रहेकेा छ । वास्तवमा यो पूजा कुनै पनि सफा स्थानमा गर्न सकिन्छ ।

घरको आँगन र छतमा पनि छठको पूजा

यस्तो भिडबाट बच्नका लागि हिजोआज घरमा नै छठको पूजा गर्ने चलन बढ्दै गएको छ । धेरै मानिसहरु घरको आँगन र छतमा पनि छठको पूजा र व्रत बस्ने गर्छन् । व्रतालुहरुको सुविधालाई ध्यानमा राखेर घरमा नै छठ पुजाको व्यवस्था गरिन्छ ।

परिवारको कल्याणको कामना 

महिलाहरु अनेक कष्ट सहेर आफ्नो परिवारको कल्याणको कामना गर्न सक्छिन् । यसको साथै पूजाको हरेक विधी महिलाहरुले राम्रोसंग पुरा गर्न सक्छन् । यसलाई महिलाको त्याग-तपको भावनासंग सम्बन्धित भएको मान्न सकिन्छ ।

सन्तानको कामना

छठ पुजा जो कोहिले पनि गर्न सक्छ । यो पूजाको लागि महिला-पुरुष भन्ने हुँदैन । तर महिलाहरु सन्तानको कामना अथवा सन्तानको स्वास्थ र उनीहरुको दीघार्युको लागि समस्त विधि पुरा गर्दै पुर्ण श्रद्धाका साथ छठ पूजा गर्छन् ।

हरेक वर्ग र जातिमा गहिरो श्रद्धा

सूर्यले सबै प्राणिहरुलाई समान रुपले कृपा गर्छन् । उनले कुनै किसिमको भेदभाव गर्दैनन् । यो पूजामा वर्ण अथवा जातिको आधारमा भेद छैन । यो पूजाप्रति समाजको हरेक वर्ग र जातिमा गहिरो श्रद्धा देखिन्छ ।  सबै मिलेर संग-संगै यो पूजामा सहभागि हुन्छन् । हरेक जाति अथवा धर्मका मानिसले यो पूजा गर्न सक्छन् ।

अस्ताउँदै गरेको सूर्यको पूजा

सूर्य षष्ठी व्रतमा मानिसहरु उदाउँदै गरेको सूर्यको पनि पूजा गर्छन् भने अस्ताउँदै गरेको सूर्यको पूजा पनि उत्तिकै श्रद्धाका साथ गरिन्छ । यसमा विभिन्न किसिमको संकेत लुकेको छ ।

जातिय आधारमा कहि-कुनै भेदभाव छैन

यो पूजामा जातिय आधारमा कहि-कुनै भेदभाव छैन । समाजमा सबैलाई समान दर्जा दिइएको छ । सूर्य देवतालाई बाँसबाट बनेको सूप र डालोमा राखेर प्रसाद अर्पित गरिन्छ । ती कुराहरु सामाजिक रुपले अत्यन्त पिछडिएका जातिहरुबाट निर्मित हुन्छन् । त्यसले सामाजिक सन्देश कस्तो दिएको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

चैती छठ

कार्तिक महिना बाहेक यो पूजा-व्रत चैत्र शुक्ल पक्ष चतुर्थीदेखि सप्तमीसम्म पनि गरिन्छ । त्यसलाई सामान्य बोलीचालीको भाषामा चैती छठ भनिन्छ ।

कष्टी देना

यो पूजामा केही मानिस जमिनमा बारम्बार सुतेर, कष्ट सहँदै नदीको किनारमा जान्छन् । सामान्य बोलीचालीको भाषामा यसलाई कष्टी देना भनिन्छ । प्रायः त्यस्तो त्यहि समयमा हुन्छ, जब कसैले कुनै भाकल गरेको हुन्छ ।

शारीरिक र मानसिक तयारी

कार्तिक शुक्ल चतुर्थीबाट छठको व्रतको थालनी हुन्छ । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादको रुपमा ग्रहण गर्छन् । वास्तवमा यो तीन दिनसम्म छठ पूजाको लागि शारीरिक र मानसिक तयारी हो ।

सख्खरबाट बनेकेा खीर

दोस्रो दिन, कार्तिक शुक्ल पञ्चमीको दिन साँझमा मुख्य पूजा हुन्छ । यसलाई खरना भनिन्छ । प्रसादको रुपमा उखुको रस अथवा सख्खरबाट बनेकेा खीर चढाइन्छ । धेरै घरहमा चामलको पिठोबाट बनेको परिकार पनि बनाइन्छ । मानिसहरु छठको पूजा गरिएको घरमा गएर प्रसाद ग्रहण गर्छन् ।

नदीमा डुबेर सूर्यलाई अर्घ

तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । यो दिन व्रतालुसंगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् ।

चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेेको सूर्यलाई अर्घ दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ ।



source https://www.onlinekhabar.com/2019/11/807660

पुरुष पनि यौन उत्पीडनको शिकार ?

सेनामा यौन उत्पीडनको विषयमा अमेरिकी रक्षा मन्त्रालयले गरेको एक अध्ययनबाट महिलाकै अनुपातमा पुरुषहरु समेत पीडित रहेको विवरण सार्वजनिक पाइएको छ । पेन्टागनलाई उद्दृत गर्दे न्युयोर्क टाईम्सले तयार पारेको रिपोर्ट अनुसार अमेरिकी सेनामा महिला जस्तै पुरुषहरु समेत यौन उत्पीडनको शिकार बन्ने गरेको भेटिएको हो । यस्तो अवस्था झनै द्वन्द्वग्रस्त मुलुकमा धेरै देखिएको छ ।

पेन्टागनले महिलाहरुको यौन हिंसाको विषयमा अध्ययन गर्नको लागि एउटा टोली गठन गरेको थियो । सो टोलीले महिला र पुरुषहरुमा यौन हिंसाको घटना बराबर रहेको देखाएको छ । सो रिपोर्ट अनुसार प्रत्येक वर्ष अमेरिकी सेनामा करिब १० हजार पुरुषहरु नै यौन शोषणमा पर्ने गरेका छन् । सोही संख्यामा नै महिलाहरु समेत यौन हिंसामा पर्ने गरेका छन् । त्यस्ता पीडित युवाहरु निम्न-श्रेणीका धेरै छन् । उनीहरु हिंसाबारे आवाज बाहिर ल्याउन नसकिरहेको समेत रिपोर्टमा उल्लेख छ । जसका कारण यो कुरा सेना भित्र नै गुपचुप रहन्छ ।

जुनसुकै सेनाको क्याम्प भित्र पनि सामान्य मानिसहरुको मात्रै होइन, सरकारी अधिकारीहरुको समेत सहज प्रवेश हुँदैन । सुरक्षाको सवाल उठाएर भित्र भएका मानिसहरुको शोषणको बारेमा बाहिर ल्याउनको लागि या त कुनै साक्षीहरुको आवश्यकता पर्दछ । अन्यथा पीडितले नै बिद्रोह गर्न सक्नुपर्छ । जसमध्ये दोस्रो विकल्प कठिन छ । संगठन कमजोर हुने भयले त्यस्ता व्यक्तिका आवाजहरु भित्रै दबाउने गरिन्छ । आफूभन्दा माथिल्लो पदमा रहेका मानिसहरुले गरेको यौन हिंसाको बारेमा तल्लो दर्जाका सेनाहरु बोल्न पनि सक्दैनन् । जसका कारण यी घटनाहरु त्यसै गुपचुप हुने गर्दछ ।

युद्धको बेलामा सेनाहरु कत्तिका उन्मत्त हुन्छन् ? त्यसैमाथि अन्तर्राष्ट्रिय युद्धको समयमा पराजीत देशका मानिसमाथि विजयी देशका सेनाहरुले कस्तो व्यवहार गर्लान् ? त्यसको वास्तविक अनुमान यातना भोगेका मानिसबाहेक अरुले गर्न सक्दैनन् । दोस्रो विश्वयुद्धको समयमा युरोपमा रोमा र सिन्ती जातिका मानिसहरुमाथि सेनाले गरेको दुव्र्यवहारको फोटो कथा लन्डनको वियनर होलोकास्ट लाइब्रेरीमा यतिबेला प्रदर्शनमा छ । सो फोटो कथामा त्यो घटना भोगेर आएका साक्षीहरुको अनुभव समेटिएको छ ।

युद्धका सेना यौन पिपासु

मार्गरेट क्रस एक त्यस्तै पात्र हुन्, जसले विश्वयुद्धको समयमा सेनाको क्याम्प भित्र त्यस्तै आततायी घटनाको सामना गर्नुपरेको थियो । सन् १९४३ मा उनी १७ वर्ष पनि पुगेकी थिइनन् । त्योे समयमा उनी पूर्ण रुपमा यौनको लागि सक्षम थिइनन् । त्यसमाथि यौन पिपासु सेनाका जवानहरुको शिकार बन्न झनै उनको क्षमताले नै धान्ने थिएन ।

त्यतिबेला उनी चेकोस्लोभाकियाको घरबाट औश्विट्स पुर्‍याइएकी थिइन् । त्यति बेला उनी आफूलाई किन त्यहाँ पुर्‍याइएयो ? भन्ने बारेमा अपरिचित थिइन् । जब उनी त्यहाँ एक किसिमको यौन औजारको रुपमा काम गर्न बाध्य भईन् । त्यहीँबाट फर्किएपछि उनले भोगेको पीडा पनि त्यो फोटो कथामा समेटिएको छ ।

त्यो समयलाई उनले भोगेको नारकीय जीवनको बारेमा लन्डनको वियनर होलोकास्ट लाइब्रेरीमा फोटो कथा प्रदर्शन गरिएको छ । उनको त्यही कथा आफ्नो  घरमा ठूलो प्रलयबाट बचेपनि यौन पिपासु युद्धका सैनिकहरुबाट बच्न नसकेको कथा । उनलाई दैनिक ती सेनाहरुको यौन प्यास मेटाउने काममा लगाईएको थियो ।

को हुन् रोमा र सिन्ती जाति ?

रोमा र सिन्ती जाति युरोपमा रहेका मूल अल्पसंख्यक जनजाति हुन् । तत्कालीन समयमा कूल युरोपेलीहरुको २५ प्रतिशतभन्दा धेरै यस जातिका अल्पसंख्यकहरु थिए । अहिले उनीहरुको जनसंख्या मध्य र पूर्वी एशियामा मात्रै २ देखि ५ लाख छ । दोस्रो विश्व युद्धको समयमा नाजी र उनका सहयोगहरुले यी अल्पसंख्यकहरुमाथि धेरै ज्यादती गरेका थिए ।

प्रदर्शनीमा रोमा र सिन्ती नरसंहारको स्मरण गर्दै दोस्रो विश्वयुद्धको समयमा बेवास्ता गरिएका र बिर्साइएका पीडितहरुको पीडालाई उजागर गर्ने प्रयास गरिएको छ । यसमा युरोपमा रोमा समुदायमाथिको अत्याचार, नाजी शासनको समयमा उनीहरुमाथि लिएको नरसंहारको नीति, यसबारेमा सो समुदायको मान्यता र पुनस्र्थापनाको लागि चलिरहेको संघर्षको बारेमा अध्ययन गरेर फोटो कथा सार्वजनिक गरिएको छ ।

‘नाजीहरूले रोमा र यहूदीहरूलाई पनि लक्षित गरेको भन्ने कुराहरु धेरैलाई थाहा छ । ‘तर, यो लुकाइएको विषय हामीले खोजी गरेका हौं’ सो फोटो कथाकी परिकल्पनाकार क्युरेटर बारबरा वार्नोकलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ‘यो जातीयसंहार सम्बन्धी घटना सम्पूर्ण युरोपेलीहरुले रोमा विरुद्धको नीतिबाट नै प्रेरित भएर गरिएको हो भन्ने कुरा सो समुदायको बुझाई छ ।’

लामो समयसम्म यो नरसंहारलाई जातीय विभेदबाट गराईएको कुरा सरकारी तवरबाट स्वीकारिएको थिएन । फोटो प्रदर्शनी भनिएपनि यसमा यातना भोगेका रोमा र सिन्तीमध्ये बचेका साक्षीहरू एवं अन्य साक्षीहरूको बयानको आधारमा तयार पारिएको तस्वीरहरुको प्रयोग गरिएको छ । साथमा युद्धको समयमा र पछि पनि बेपत्ता पारिएका आफन्तहरुको खोजी गर्नको लागि गरिएका प्रयासहरुको बारेमा समेत विभिन्न अभिलेख सामग्रीहरुको समावेश गरिएको छ ।

यसको क्रममा भेटिएका प्रमाणहरु आफैंमा डरलाग्दा छन् । युद्धपछि दिइएको बयान अनुसार होलोकास्टमा बचेका एक यहुदीले अगस्त १९४४ मा औशविट्समा रहेको जिप्सी शिविरको बारेमा उल्लेख गरेका छन् । त्यहाँ इंकित गरिए अनुसार त्यहाँ शोषण गरिएका सबै कैदीहरुलाई ग्यास चेम्बरमा हालेर जलाइएको थियो ।

सोही प्रदर्शनीमा समावेश गरिएकामध्ये रोमा महिलाले त्यतिबेला आफूले भोगेको यौन हिंसाको विवरण सार्वजनिक गरेका छन् । युरोपियन रोमा राइट्स सेन्टरका संचार संयोजक जोनाथन लीले भनिन्, ‘धेरैजसो समूहहरूलाई नाजीहरूलेे लक्षित गरेका थिए, तर जर्मन र जातीय शुद्धताको रक्षाको लागि अन्तिममा उनीहरुको तार्गेट यहूदी र रोमा समूहमाथि परेको थियो ।’ उनका अनुसार लामो समसम्म जातीय विभेदबाट त्यो नरसंहार भएको कुराले मान्यता पाएन । इतिहासकारहरुले पनि वास्तविकता खोज्न चाहेनन् । त्यसैले नाजी शब्दावलीलाई प्रयोग गरेर रोमाको नरसंहारलाई जनाउन थालियो ।

युरोपेली काउन्सिलका मानवअधिकार आयुक्तको २०१२ को रिपोर्टले ‘रोमालाई सामूहिक रूपमा अपराधीको रूपमा कलंकित गरिएको छ’ भन्ने कुरा पत्ता लगायो । यस मुद्दालाई सम्बोधन गर्ने अन्य उपायमध्ये ‘रोमाविरूद्ध विगतका अत्याचारको इतिहासलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्दछ’ भनी प्रतिवेदनले सिफारिस गर्‍यो । दोस्रो विश्वयुद्धको क्रममा रोमा र सिन्टीको उत्पीडनको कारण उनीहरुमाथि गम्भीर भौतिक प्रभाव पर्‍यो भन्ने प्रतिवेदन पनि सार्वजनिक गर्‍यो ।

‘दोस्रो दोस्रो विश्वयुद्धपश्चात १९५० को दशकमा, उनीहरूलाई जातीय कारणहरूले गर्दा जेलमा हालेको थिएन, तर उनीहरू अपराधी थिए भन्ने आधारमा धेरै बहसहरु चलाइयो ।’ क्युरेटरले वार्नोकले भने। ‘मान्यता र पुनस्र्थापनाको सवालमा त्यो ठूलो समस्या थियो।’

सन् १९८२ मा, जर्मनीले रोमाको बिरूद्ध नरसंहार भएको कुरा स्वीकार्‍यो । युद्द पछिको दशकौ त्यसै बित्यो। २०११ मा, पोल्याण्डले आधिकारिक रूपमा अगस्त २ लाई रोमानी नरसंहारको स्मरण गर्ने दिनका रूपमा मनाउन थाल्यो ।



source https://www.onlinekhabar.com/2019/11/807645

हरिभक्त सिग्देल बने माछापुच्छ्रे बैंकको सञ्चालक

१५ कात्तिक, काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बाषिर्क साधारण सभा सम्मको लागि नियुक्त गरेको छ । नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंकले १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु म्ाार्फत बाट ग्राहहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।



source https://www.onlinekhabar.com/2019/11/807654

छठको ब्रत बस्ने महिलाले किन लामो सिन्दुर लगाउँछन् ?

कुनैबेला तराई क्षेत्रमा मात्र सिमित भएको छठ पर्व आज राजधानी काठमाडौंसहित पहाडी क्षेत्रमा समेत उत्तिकै आस्थाका साथ मनाउन थालिएको छ । हिजो बिहिबारदेखि प्रारम्भ भएको छठ पूजा भोलि शनिवारसम्म जारी रहन्छ ।

छठ पूजामा महिलाहरु छठ माताको पूजा गर्दै ३६ घण्टा लामो निर्जला व्रत बसेर आफ्ना सन्तानहरुको सुख-समृद्धि तथा सु-स्वास्थ्यको कामना गर्दछन् । यो पर्वमा पनि महिलाहरु अन्य पर्वहरुमा झैं सजिने र सिंगारिने गर्दछन् । छठ पर्वको महत्वपूर्ण कुरा के छ भने यो पूजा गर्ने बेलामा विवाहित महिलाहर नाकदेखि लिएर टाउकोको सिउँदोसम्म नै लामो सिन्दुर लगाउँछन् । झट्ट हेर्दा त्यो अनौठो देखिए पनि त्यसरी सिन्दुर लगाउनुका पछाडि थुप्रै प्रकारका मान्यताहरु जोडिएका छन् । केही मान्यताहरु यस्ता छन् :

सौभाग्यको निशानी मानिन्छ

छठ पूजाको व्रत कुलको रक्षाका साथै  श्रीमानको  सुरक्षाका लागि समेत बसिन्छ । सिन्दुर केवल श्रीमानको मात्र होइन सौभाग्यको निशानी समेत मानिन्छ । जसबाट हरेक घरमा खुशी तथा शान्ति पनि बनिरहन्छ ।

जति लामो सिन्दुर, उति लामो श्रीमानको आयु

छठ पूजाको क्रममा महिलाहरुले पहेंलो रंगको जति लामो अथवा गाढा सिन्दुर लगाउँछन्, त्यति नै लामो उनीहरुको श्रीमान्को आयू हुनेछ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

श्रीमानको मान-सम्मानका लागि

छठ पूजाको मान्यताका अनुसार सिउँदोको सिन्दुरलाई केशले छोपिदिन्छ, जसबाट श्रीमानको उन्नती तथा प्रगतिको मार्गमा वाधा-अवरोध उत्पन्न हुन्छ तथा उनको सम्मानमा पनि कमि आउँछ । त्यसैले छठ पूजाको क्रममा महिलाहरु लामो सिन्दुर लगाएर श्रीमान्को मान-सम्मानलाई कायम राख्न चाहन्छन् भने उनीहरुको उन्नतिको मार्गलाई पनि खुला राख्न चाहन्छन् ।

घरको सुख-समृद्धिका लागि

छठ पूजाको क्रममा महिलाहरुले आफ्नो सिउँदोमा लामो सिउँदो लगाउनाले श्रीमान्का साथ-साथै आफ्नो घरमा समेत सुख तथा समृति बनिरहन्छ । छठी माताको सदैव उनीहरुप्रति कृपा बनिरहन्छ तथा उनीहरुको सम्पूर्ण मनोकामनाहरु पनि पुरा हुन्छन् ।



source https://www.onlinekhabar.com/2019/11/807651

सांग्रिला डेभलपमेन्ट बैंकको १५औं वाषिर्कोत्सव

१५ कात्तिक, काठमाडौं । बालुुवाटार, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५औं वर्ष सफलतापूूर्वक पुुरा गरी १६औं बर्षमा प्रवेश गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औं बाषिर्क उत्सव मनाइएको हो । बिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वाषिर्कोत्सवको उपलक्ष्यमासबैलाई शुभकामना व्यक्त गरे ।

बाषिर्क उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान-जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार काठमाडौंमा शुक्रबार रक्तदान कार्यक्रम गर्ने र शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी रहेको छ ।



source https://www.onlinekhabar.com/2019/11/807652

ठूला बसमा आर्थिक संकट : साझादेखि मयूरसम्म उस्तै

१५ कात्तिक, काठमाडौं । काठमाडौंमा साझा यातायातलाई पछ्याउँदै ठूला र अत्याधिुनिक बस चलाउने होड जारी छ । सडकमा माइक्रोबसको सिन्डिकेट तोड्ने गरी आएका यस्ता बस सञ्चालन गर्ने कम्पनीहरु भने समस्याग्रस्त बन्न थालेका छन् ।

ठूलो लगानीमा भित्र्याइएका बसले अपेक्षित आर्जन गर्न नसकेको व्यवसायी बताउँछन् । व्यवस्थापनको अनुभवहीनताले पनि समस्या पैदा भएको पाइएको छ ।

काठमाडौंमा साझा यातायातले ठूला र लामा बसको सञ्चालन थाल्दा तत्कालीन यातायात संघ र समितिहरुले आफ्नो सिन्डिकेटको दबदबा रहेका रुटमा साझालाई रोक्न अनेकन तिकडम गरेका थिए । तर, यात्रुले ठूला बस रुचाएपछि उनीहरुको चलखेलले काम गरेन । पछिल्लो समयमा साझालाई पछ्याउँदै धेरै यातायात कम्पनीले ठूला बस भित्र्याउने क्रम चलिरहेको छ ।

काठमाडौंमा साझापछि निकै जोडतोडका साथ थुप्रै बस भित्र्याएको मयुर यातायातभित्र पनि अहिले चरम किचलो छ । तत्कालीन (हाल खारेज भएका) यातायात समितिहरुले सडकमा जमाएको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयुर यातायात अहिले विभाजनको संघारमा छ ।

कम्पनीका रुपमा आएको मयुरलाई कोटेश्वरपूर्व रुटमा इजाजत दिइएपछि पुराना व्यवसायीले त्यसका विरुद्ध आन्दोलन थालेका थिए । त्यसैबाट छेडिएको ‘सडक सिन्डिकेट’ को बहसले यातायात सम्बद्ध समितिहरुको अस्तित्व नै मेटिन पुग्यो ।

झण्डै चार दर्जन सेयर सदस्य रहेको मयुरले सुरुबाटै राम्रो आम्दानी गरेको थियो । तर, कम्पनीभित्र किचलो बढेपछि अहिले फुटको संघारमा छ ।

काठमाडौमा ठूला बस भित्र्याएर नेपाल यातायातको रुटमा सेवा थालेको सिटी मेट्रो यातायात अहिले हराइसक्यो । यो कम्पनीले काठमाडौंभित्र काँडाघारी–काटेश्वर–नयाँबानेश्वर–अनामनगर–पुतलीसडक–बालुवाटार लगायतका महत्वपूर्ण रुटमा सेवा थाल्दा यात्रु निकै खुसी भएका थिए । तर, अहिले यो कम्पनी अस्तित्वमा नै छैन ।

ठूलो बस चलाइरहेको बाबा गोकर्णेश्वर यातायात कम्पनी पनि अपेक्षित नाफा नभएको बताइरहेको छ । यो कम्पनीमा पनि एकपटक फुट आइसकेर ओम गोकर्णेश्वर नामको अर्को कम्पनी जन्मिएको छ ।

रिंगरोडमा चलिरहेको महानगर यातायात भने अन्य कम्पनीभन्दा बलियो देखिन्छ । तर, कम्पनीमा पनि बेला–बेलामा सेयर सदस्यबीचको किचलो बल्झिरहन्छ ।

नयाँ बसपार्क–सिनामंगल रुटमा चल्ने गरी सरकारले नै सहलियत ऋण र अनुदान दिएर स्थापना गराएको दिगो शहरी यातायात कम्पनीले पनि राम्रो नाफा गर्न नसकेको बताइरहेको छ । ट्याम्पो र माइक्रो हटाएर १७ वटा ठूला बस चलाइरहेको कम्पनीको सेवा पनि प्रभावकारी बन्न सकेको छैन ।

तत्कालीन समितिका पदाधिकारीलाई लाखौं रकम बुझाएर रुट लिनुपर्ने अवस्थाको अत्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका ठूला बस सञ्चालक कम्पनीहरु अहिले आन्तरिक किचलो तथा आर्थिक समस्यमा छन् ।

यस्तो कथा निजी कम्पनीको मात्रै छैन, सहकारीमार्फत सञ्चालन भइरहेको र मार्गदर्शक कम्पनी साझा यातायात पनि यस्तै समस्यामा फसेको छ । सार्वजनिक यातायात सेवामा यात्रुको मन जितेको साझा अझै सञ्चालन मुनाफा आर्जन गर्नसमेत असफल छ ।

आर्थिक वर्ष ०७४/७५ मा साझाले १ करोड ७८ लाख घाटा खाएको थियो । वासलातअनुसार साझाले ५१ वटा बस चलाएर १३ करोड ५४ लाख रुपैयाँ आम्दानी गर्दा १५ करोड १ लाख रुपैयाँ खर्च भएको थियो । त्योभन्दा अघिल्लो वर्ष पनि साझा १ करोड ८२ लाख घाटामा थियो ।

स्थानीय सरकारको सेयर लगानीबापतको रकममा बस भित्र्याइरहेको साझालाई बैंकको किस्ता तिर्नुपर्ने चिन्ता छैन । ७५ वटा बस निर्वाध गुडिरहेका छन् । फेरि पनि लगातार घाटामा छ ।

एडीबीको प्रतिवेदन अलपत्र

नेपाल यातायात व्यवसायी राष्ट्रिय माहसंघका महासचिव सरोज सिटौला सरकारले ठूला बसहरुका लागि उपयुक्त हुने वैज्ञानिक रुट निर्धारण नगर्दा यस्तो समस्या देखिएको बताउँछन् ।

यसका लागि अध्ययन भने नभएको होइन । तर, दाताले दिएको अध्ययन प्रतिवेदन दराजमा थन्क्याएर सरकार कम्पनीभित्रको समस्याको मूकदर्शक बनेको छ ।

अहिले ठूला बसहरुलाई विभागले दिने अवैज्ञानिक किसिमका रुटहरुमै चल्नुपर्ने बाध्यता छ । वैज्ञानिक रुपमा अध्ययन भएका रुटहरुलाई कार्यान्वयनमा ल्याउन सरकारले ढिलाइ गर्दा त्यसको असर कम्पनीहरुलाई परेको छ ।

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा गरिएको अध्ययनमार्फत काठमाडौं उपत्यकामा पहिचान भएका सडक, सवारी र यात्रुमैत्री वैज्ञानिक रुटहरुको कार्यान्वयनमा सरकार उदासीन छ ।

विस्तृत अध्ययन सकाएर काठमाडौंमा हाल कायम रहेको २ सयभन्दा बढी खण्ड–खण्डका छोटा सवारी रुटलाई एकीकृत गरी ६६ वटामा सीमित गर्न सकिने निष्कर्ष एडीबीको प्रतिवेदनमा छ । यसो गरिए अब्यवस्थित रुटहरुलाई ब्यवस्थित गर्न सकिने विश्वास गरिए पनि कार्यान्यवनमा लगिएको छैन ।

एडीबीको प्रतिवेदनले यात्रुको चाप, शहरी भौगोलिकता, दूरी, सार्वजनिक सवारीको वैज्ञानिक ब्यवस्थापनको मर्म लगायतका आधारमा सरकारले उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गरेर कार्यान्वयन गर्ने अवधारणा ल्याएको छ । विशेष गरी सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेन्डरी र टर्सरी गरी ३ भागमा विभाजन गरेर रुटहरु कायम गर्न प्रतिवेदनले भनेको छ ।

पहिचान भएका रुटहरु कार्यान्वयनमा ल्याउने नीतिगत निर्णय भएको छैन । सरकारले काठमाडौंभित्र ८ वटा प्राइमरी (प्राथमिक) रुटहरु पहिचान गरेको छ । अध्ययनले औंल्याएको सुझावअनुसार प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् । यो रुटमा सेमी फ्लोर बस पनि चल्न सक्छन् । अहिले साझाले चलाएका भन्दा पनि ठूला आकारका बस यो रुटमा चल्न सक्छन् ।

विशेषगरी रिंगरोड र रिंगरोडलाई रत्नपार्कसँग जोड्ने मुख्य विन्दुलाई प्राइमरी रुटमा राखिएको छ । यी रुट ठूला बस चल्न योग्य छन् । यात्रुको चाप र सडकको अवस्था हेरेर नै प्राथमिक रुटमा ठूला सवारी चलाउन सुझाव दिइएको छ ।

यात्रुको धेरै चाप हुने र सवारी उपलब्धता असहज भएको क्षेत्रलाई समेटेर प्राथमिक रुटहरु प्रस्ताव गरिएको छ । यी रुटमा ठूला बस हालेपछि अहिले जस्तो धेरै साना सवारी यी रुटमा नरहने परिकल्पना गरिएको छ ।

प्राइमरी रुटहरुको कार्यान्वयनमा जान नसके ट्राफिक जामको समस्या अझ भयावह हुने व्यवयायी बताउँछन् ।

अध्ययनमार्फत १६ वटा सेकेन्डरी रुटहरु प्रस्ताव गरिएका छन् । सेकेन्डरी रुटमा ६० जना यात्रु बोक्ने क्षमता भएकाका बसहरु चल्न सक्छन् । ४२ टर्सरी रुटहरुमा साना सवारीहरु चलाउन प्रस्ताव गरिएको छ । यो प्रतिवेदनमा प्रस्ताव गरिएका रुटमा केही परिमार्जन गरेर ठूला बसलाई नाफामा लैजान सकिने गरी रुट तोक्न व्यवसायीले माग गर्दै आएका छन् ।

तर, प्रतिवेदनलाई कार्यान्वयन गरेर यातायात व्यवसायलाई नाफामुखी बनाइदिन सरकारले चासो दिएको छैन ।

‘कुन रुटमा कति यात्रु छन्, कति सवारी छन्, विहान बेलुकी दिउँसो कति चाप छ, कस्ता बस उपयुक्त हुन्छन्, भन्ने वैज्ञानिक अध्ययन गरेर रुट निर्धारण नगरेसम्म ठूला बसलाई टिक्न मुस्किल हुन्छ,’ सिटौला भन्छन् ।

व्यवस्थापनमा समस्या

दैनिक लाखौं रकम कारोबार गर्ने कम्पनीहरुले बसको व्यवस्थापनमा ध्यान नदिँदा पनि समस्या भएको यातायात व्यवस्था विभागको भनाइ छ । कम्पनीहरुमा व्यवस्थापन विषयमा अध्ययन गरेका र अनुभवी व्यवस्थापक राख्न छैनन् ।

ठूला बस चलाउन एक्लो व्यक्तिको प्रयासले सम्भव हुँदैन । साझेदारीमा स्थापित कम्पनीहरु हिजोका समितिकै जस्तो व्यवस्थापनमा चल्न खोज्दा सञ्चालकहरुबीच मनमुटाव हुने क्रम चुलिएको छ ।

‘सेवामुखी यातायात कम्पनीलाई सञ्चालन गर्न अन्य कम्पनीकै जस्तो विधि र प्रक्रिया काम लाग्दैन, सरकारले ऐन नै संशोधन गरेर कम्पनीलाई व्यवस्थित गर्नुपर्छ,’ महासंघका महासचिव सिटौला भन्छन्, ‘अहिले विधि र प्रक्रियाले व्यवसायी अल्मलिएका छन् । यही व्यवस्था कायम रहेमा ठूला चलाउने मात्रै हैन, सबै खालका यातायात व्यवसायी टाट पल्टिन्छन् । ’

यात्रुले तिर्ने भाडा चुहावट हुने गर्दा पनि ठूला बस धनीहरुले समस्या भोग्नुपरेको यातायात विभागका अधिकारीहरुको निश्कर्ष छ ।

भाडा दिएर टिकट नलिने यात्रुको प्रवृत्तिको कारण आम्दानी गुमाइरहेको विषयमा सहमत छन् साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधर । अन्य ठूला बस चलाउने कम्पनीका बसमा सहचालकहरुले रकम अपचलन गरेमा त्यसलाई पत्ता लगाउने गरी कुनै विद्युतीय प्रणाली प्रयोगमा ल्याइएको छैन ।

‘भाडा लिएर टिकट नदिने प्रवृत्ति हटाउने योजनामा छौं । यसअघि परीक्षण गरिएको यात्रा कार्ड सफल भएपछि यसको व्यावहारिक प्रणाली विकास गर्ने काम भइरहेको छ,’ साझा यातायातका कार्यकारी निर्देशक तुलाधरले भने ।

ठूला बस घाटामा जानुमा अर्को कारण छ, आवश्यकभन्दा ठूलो इन्जिन क्षमता बस । काठमाडौंभित्र आवश्यक नभए पनि बस सञ्चालकहरुले सुरुमै ६ सिलिन्डरवाला बस ल्याएका थिए । ४ सिलिन्डरका बसले पुग्नेमा ६ सिलिन्डरवाला बस ल्याएपछि त्यसले इन्धन खर्च बढेको छ । साझाले पछिल्लोपटक केही साना इन्जिन क्षमताको बस ल्याएर गल्ति सच्याएको छ । अब कम तेल खर्च भएर घाटा पूर्तिमा मद्दत पुग्ने दाबी गरिएको छ ।

६ सिलिन्डरका धेरै डिजेल खपत गर्ने बस ल्याइरहेको साझाले नयाँ २० बस भने ४ सिलिन्डरको मात्रै ल्याएको हो । कार्यकारी निर्देशक तुलाधर ठूला बसको ४० प्रतिशत आम्दानी डिजेलमै खर्च हुने गरेको बताउँछन् ।

इन्धनमा बाहेक कम्पनीहरुले कर्मचारीको तलब, कार्यालय सञ्चालन र बैंकको किस्ता तिर्न ठूलो रकम खर्चिनुपर्छ । तर, आधा रकम इन्धनमै सकिएपछि ठूला बस चलाउनेहरुलाई समस्या पर्ने गरेको छ ।

महासंघका महसचिव सरोज सिटौला अस्वस्थ प्रतिस्पर्धाले पनि ठूला बसलाई समस्यामा परेको बताउँछन् । काठमाडौंमा चलेका गुणस्तरीय सेवा दिने ठूला बसको भाडादर वैज्ञानिक नभएको उनको भनाइ छ ।

‘ठूलो बसको खर्च पनि ठूलै छ । एसी, वाईफाईसहित विभिन्न सुविधा राखेर चलेका बसको भाडादर पनि अन्यको सरह नै छ,’ उनले भने, ‘राम्रो सेवा लिएपछि भाडा पनि अलि बढी तिर्न यात्रुलाई गाह्रो पर्दैन, त्यसैले शहरमा चल्ने ठूला बसको भाडा पनि वैज्ञानिक तवरले तोक्नुपर्छ । नत्र एक दिन ठूला बस चलाउनेहरु सबैको फोटो लिलामीको विज्ञापनमा छापिने दिन आउँछ ।’



source https://www.onlinekhabar.com/2019/11/807635

सी चिनफिङ अवतारमा मनोज गजुरेल कति सफल ?

१५ कात्तिक, काठमाडौं । आफ्ना प्रहसनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने हास्यव्यंग्यकर्मी मनोज गजुरेल पछिल्लोपटक चीनका राष्ट्रपति सी चिनफिङको हुलियामा प्रकट भए । सिस्नुपानी नेपालको हास्यव्यंग्यात्मक देउसी कार्यक्रममा उनको यो हुलिया पहिलोपटक सार्वजनिक भयो ।

अनुहारको जोडकोड हेर्दा सीभन्दा नितान्त भिन्न छन् गजुरेल । चिम्सा आँखा र थेप्चो नाक भएका मंगोलियनसँग बाहुनको छोराको अनुहार मिल्ने कुरा पनि भएन । त्यसैले यो भूमिकामा उनका लागि क्यारिकेचरभन्दा पनि अनुहारको रुपरंग मिलाउनु बढी चुनौतिपूर्ण थियो ।

गजुरेलले कसरी आफूलाई सीको रुपमा ढाले त ?

उनले भने, ‘सुरुमा त मैले अरु क्यारेक्टरमा जस्तै मेकअपकै बलमा सी बन्ने प्रयास गरेँ । तर, आँखा र नाकको फरकपनाले गर्दा त्यो सफल भएन । त्यसपछि मास्कको सहारा लिएँ ।’

सुरुमा उनले पूरै अनुहारमा मास्क लगाएर हेरे । तर, पटक्कै सुहाएन । त्यसपछि आँखा र नाक मात्रै छोप्ने गरी हाफ मास्क लगाएको गजुरेल बताउँछन् ।

‘आफ्नो अनुहार पुरै ढाकेपछि त गजुरेलले गर्नु र अरु कसैले गर्नुमा फरकै रहेन, त्यसैले हाफ मास्क मात्र प्रयोग गरेको हुँ,’ उनले भने ।

तर, मास्क तयार गर्न पनि सहज थिएन । यसमा उनलाई देवेन्द्र र अमृत भन्ने दुई कलाकारले सघाएका थिए । उनीहरुले गजुरेलको आँखा र नाकको नाप लिए र त्यसमा फिट हुने गरी सीको आँखा र नाकसँग मिल्ने मास्क तयार गरे ।

धेरैपटकको प्रयासमा यो मास्क बनाउन उनीहरु सफल भएका थिए ।

अनुहारको समस्या हल भएपछि भाषाको प्रयोगमा भने धेरै सकस नभएको गजुरेल बताउँछन् । आफूलाई पहिल्यै आउने करिब दुई दर्जन चाइनिज शब्दहरु उनले आफ्नो स्क्रिप्टमा प्रयोग गरेका छन् । तर, पनि नौलो पात्र भएकाले दर्शकलाई यसमा आकर्षण गर्न त चुनौति थियो नै ।

‘पञ्चलाइन’ कम

गजुरेलको प्रस्तुतिको विशेषता भनेको गेटअप र आवाजको हुबहु नक्कल मात्र होइन, गतिला पञ्चलाइन (हाँसो सिर्जना गर्ने चोटिला संवाद) पनि हुन् । हालै मात्र प्रदेश गाईजात्रामा सञ्चारमन्त्री गोकुल बास्कोटाको बेजोड क्यारिकेचर गरेका गजुरेलले सीको क्यारेक्टरमा चाहिँ पर्याप्त ‘पञ्चलाइन’ निकाल्न सकेका छैनन् ।

गजुरेल आफै पनि यो कुरा स्वीकार्छन् ।

उनले भने, ‘हो, यसमा पञ्चलाइन कम नै भयो । एक त क्यारेक्टर पनि नौलो थियो । अर्को चाहिँ समयको सीमा । हामीलाई सुरुमा १० मिनेट समय मात्र दिइएको थियो । तर, जति छोट्याउँदा पनि १८ मिनेट पुग्यो । थोरै समयमा धेरै कुरा अटाउन खोज्दा पन्चलाइन नपुगेको मलाई पनि महसुस भएको छ । आगामी प्रस्तुतिहरुमा अझै गृहकार्य गरेर अन्तर्राष्ट्रिय सन्दर्भहरु समेत समावेश गरी यो क्यारेक्टरलाई बलियो बनाउने छु ।’

सीको लवज आफूले ६० प्रतिशत मिलाएको गजुरेलले दाबी गरेका छन् । तथापि, चीनका राष्ट्रपतिलाई सकारात्मकरुपमै चित्रण गर्न खोजेकाले पनि हास्यको पाटो अलि खुकुलो भएको हुन सक्ने उनले बताए ।

‘चीनले नेपालका लागि नराम्रो केही गरेको छैन । दुई देशबीच सँगै सुमधुर सम्बन्ध रहेको छ । त्यसैले व्यंग्यमा उनीहरुलाई पेल्न खोजिएन,’ गजुरेल भन्छन् ।

यस प्रस्तुतिमार्फत आफूले छिमेकीसँग सँधै हात मात्रै थाप्ने प्रवृत्तिलाई व्यंग्य गर्दै विदेशीले देश बनाइदिँदैनन् भन्ने सन्देश दिन खोजेको उनले बताए ।

हाँसेनन् प्रधानमन्त्री

देउसी कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । आफैं सशक्त हास्यचेत भएका नेताका रुपमा चिनिन्छन् उनी । त्यसैले गजुरेलको प्रहसनले उनलाई कति हँसाउँला भन्ने कौतुहल थियो नै ।

तर, कार्यक्रम अवधिभरि प्रधानमन्त्री गम्भीर मुद्रामा पेश भए । गजुरेलको मात्र होइन, दुई घन्टाभन्दा लामो कार्यक्रममा कुनै पनि प्रस्तुतिमा उनी मुस्काएको सम्म देखिएन । अरुबेला खुलेर हाँस्ने प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य पनि ‘सिरियस’ नै देखिइन् ।

प्रधानमन्त्रीले हाँसो रोक्नुभएको हो कि तपाईंहरुले हँसाउन नसक्नुभएको ?

गजुरेललाई यो प्रश्न गर्दा उनले जवाफ दिए, ‘हामीले नै हँसाउन नसकेको भन्नुपर्छ । तर, शारीरिक अस्वस्थताका कारणले पनि प्रधानमन्त्री बढी गम्भीर देखिनुभएको पनि हुन सक्छ ।’

कार्यक्रममा प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीले ‘सिस्नुपानीलाई पनि बजारका हल्लाले प्रभावित बनाएको’ बताएका थिए । यद्यपि, उनले प्रस्तुतिको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओली अहिले स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । सिस्नुपानीको कार्यक्रममा जाँदा पनि उनी फ्रेस देखिएका थिएनन् ।

मिस भए शैलेन्द्र सिम्खडा

सिस्नुपानीको देउसीमा यसपालि हास्यकवि शैलेन्द्र सिम्खडा मिस भए । दुवै देउसीमा उनको प्रस्तुति दमदार थियो ।

सिम्खडाले ‘माथिको दबावमा’ आफूलाई कार्यक्रममा सहभागी नगराइएको गुनासो गर्दै आएका छन् । सत्ताधारीले आफ्नो कडा प्रहार सहन नसकेर सिस्नुपानीलाई दबाव दिएको उनको दाबी छ । यद्यपि, सिस्नुपानीले उनको यस्तो आरोपको खण्डन गरेको छ ।

चोटिला हास्यव्यंग्य कवितामार्फत लोकप्रियता कमाएका सिम्खडा यसअघि ०७३ र ०७४ सालका दुईवटा देउसीमा सहभागी थिए । यसपाली उनको अभाव कार्यक्रममा खट्कियो ।

त्यसो त अर्का हास्यकवि अर्जुन पराजुलीको कवितावाचन थियो । दोस्रो जनआन्दोलनका क्रममा खुबै चम्केका पराजुली पनि सशक्त व्यंग्यकवि हुन् । औसत प्रस्तुति दिएका उनले सिम्खडालाई बिर्साउन भने सकेनन् । उनको कवितावाचन छोटो पनि थियो ।

देउसी कति सन्तुलित ?
हरेक वर्षको तिहारमा एउटा परम्पराकै रुप लिइसक्यो सिस्नुपानीको देउसीले । सिस्नुपानी नेपालले आयोजना गर्ने यो हास्यव्यंग्यात्मक देउसी हेर्न शीर्ष तहका अधिकांश नेताहरु उपस्थित हुन्छन् । कलाकारहरुले आफैंमाथि गरेका कटु व्यंग्य सहजै पचाउने मात्र होइन, मरीमरी हाँस्छन् उनीहरु ।

सिस्नुपानीको देउसीमा प्रायः देशका जल्दाबल्दा विषयहरुमा व्यंग्य गरिएको हुन्छ । सत्ताधारी मात्र नभएर, प्रतिपक्षी दलहरु र समाजका विभिन्न अंगहरुलाई पनि ‘सिस्नुपानी लगाउने’ गरिएको छ । कहिलेकाहीँ यसरी व्यंग्य गर्दा सन्तुलन मिलाउन नसकेको आरोप पनि लाग्ने गर्छ ।

सिस्नुपानीको प्रमुख आक्रमण सधैं सत्ताधारीमाथि नै हुन्छ, जुन स्वभाविक पनि हो । यसपालिको देउसीमा उसलाई मसलाको कमी थिएन । महरा काण्ड र आलम काण्डले गर्दा सिस्नुपानीलाई सत्ताधारी र प्रतिपक्षीबीच सन्तुलन मिलाउन सजिलो भएको थियो ।

देउसीमा सबैभन्दा लोकप्रिय चाहिँ उही मनोज गजुरेलले क्वाइन गरेको ‘दुई तिहाई सरकारलाई हेप्नी ?’ भन्ने कुड्का नै रह्यो ।

सामाजिक सञ्जालमा भने देउसी कार्यक्रमको स्तर पहिलेभन्दा खस्केको प्रतिक्रिया पनि आइरहेको छ ।

कतिपयले चाहिँ सिस्नुपानीले तिहारमा यसरी गाईजात्रामा जस्तो हास्यव्यग्यांत्मक कार्यक्रम गर्नु संस्कृति अनुकुल हो कि होइन भन्ने बहस पनि निकालेका छन् ।



source https://www.onlinekhabar.com/2019/11/807628

कृष्णनगरको तनाव साम्य, मूर्ति विसर्जन, शव उठाइयो

१५ कात्तिक, बुटवल । लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ ।

बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको छ ।

वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए । ‘राति अबेर मात्रै सम्बन्धित पक्ष वार्तामा आउनुभयो र बिहान ३ बजेसम्मको वार्तापछि सहमतिमा पुग्यौं,’ उनले भने, ‘मृतकलाई क्षतिपूर्ति लगायतका मागहरु छन्, केही जिल्लास्तरबाट र केही केन्द्रबाट सम्बोधन गर्नुपर्ने खालका छन्, सबैभन्दा महत्वपूर्ण कृष्णनगरमा साम्प्रदायिक सदभाव कायम राख्ने कुरामा दुवै पक्ष एकमत भयौं ।’

कर्फ्यु कायमै

यद्यपि बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटाइएको छैन । बिहीबार मध्यान्ह कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा लगाइएको कर्फ्यू अर्को आदेश नभएसम्मका लागि जारी रहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । शुक्रबार मध्यान्हसम्म कर्फ्यु पनि हट्न सक्ने श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस कृष्णनगरमा तनाव, सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनको र्‍यालीलाई प्रहरीले मुस्लिम बाहुल्य बस्तीबाट नलैजान आग्रह गरेको विषयमा विवाद बढेको थियो । स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार कृष्णनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । कर्फ्युकै क्रममा प्रहरीले गोली चलाउँदा भारतको बढनी घर भइ कृष्णनगरमा व्यवसाय गर्ने १८ वर्षका सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

बिहीबार राति ११ बजेसम्म घटनासँग जोडिएका पक्ष नआएपछि सर्वपक्षीय वार्ता हुन सकेको थिएन । सुरक्षा स्थिति बिग्रन नदिन नेपाल प्रहरीका प्रदेश ५ प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशविक्रम शाहसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डीआईजी बिहीबार कृष्णनगर आएका थिए ।

कृष्णनगरमा गत वर्ष पनि मूर्ति बिसर्जनका क्रममा विवाद भएको थियो । हिन्दू र मुस्लिम समुदायसँग जोडेर विवाद बढ्दै जाँदा हिंसात्मक घटना हुने गरेका छन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य बसन्त गिरी राजनीतिक स्वार्थका लागि कृष्णनगरमा बारम्बार हिन्दु र मुस्लिम समुदायबीच विवाद गराउने र त्यसमा खेलेर आफ्नो निहीत स्वार्थ पूरा गर्ने काम जनप्रतिनिधिहरुले गर्दै आएको दाबी गर्छन् ।



source https://www.onlinekhabar.com/2019/11/807624

३७९ वर्ष पुरानो कात्तिक नाच आजदेखि

१५ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच आजदेखि सुरु हुँदैछ ।

३ सय ७९ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा १२ दिनसम्म नियमित देखाइन्छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको बताइन्छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख (लोक नाटक) १० दिन थपेर १५ दिनको पुर्याएको इतिहासकारहरुको भनाइ छ ।

यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।

२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइन्छ । विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो ।

कात्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच देखाउने तयारी कात्तिक नाच संरक्षण समितिले गरेको छ ।

अन्य नाच बेलुका ७ बजे सुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ । कात्तिक नाच पहिला एक महिना देखाइने गरिएको भए पनि आर्थिक अभावका कारण छोट्याएको थियो । पछिल्ला वर्षहरुमा भने १२ दिन देखाउन थालिएको छ ।



source https://www.onlinekhabar.com/2019/11/807625

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुंगो

१५ मंसिर, तम्घास । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन । कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए । तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो ।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए ।

वि.सं. २०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।

गुल्मीदरबार गाउँपालिका-७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।



source https://www.onlinekhabar.com/2019/11/807620

तराई-मधेसमा छठको रौनक, आज खरना 

१५ कात्तिक, वीरगञ्ज । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।

साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँछन् । उक्त ‘रसीआव रोटी’ चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् । त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् ।

जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।

कठोर व्रत गरेर मनाइने छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व विधिवत रुपमा बिहीबारबाट शुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी छठ पर्व मनाउने गरिन्छ ।

चार दिनसम्म चल्ने छठ पर्व बिहीबारबाट विधिवत शुरु भएको छ । अहिले काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा छठको विशेष रौनक छ । नदी, पोखरी र खोला किनारहरुमा बनाइएको छठ घाट झकिझकाउ छन् । छठीमाताको भक्तिगानले गुन्जिरहेका छन् ।

छठको पहिलो दिनलाई भोजपुरी भाषामा ‘नहाए खाए’ अर्थात ‘नुहाएर खानु’ भनिन्छ । नहाय खायको दिन महिलाहरु आँपको दतिउनले दाँत माझ्ने, हात खुट्टाको नङ्ग काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन् । पहिलो दिन व्रतालुले लसुन, प्याज र मसुरोको दाल विना खाँदैनन् । यसदिन अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्दछ । त्यसैले बजारमा बिहीबार लौका प्रतिगोटा ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस पर्वमा व्रतालु महिलाहरु नहाय खायको दिनदेखि शारीरिक शुद्धताको ख्याल गरी ब्रह्मचार्यको समेत पालना गर्दछन् । नहाय खायको दिनदेखी छठी माईको घरमा आगमन भएको धार्मिक मान्यता अनुसार छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरुले समेत शुद्ध शाकाहारी भोजन गर्दछन् ।

छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । यसदिन साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउदो सूर्यलाई अर्घ दिन्छन् । सूर्यसँग आफूले चिताएको कुरा माग्छन् । भाकल गरेकाहरुले त्यस दिन घरमा आएर छठी मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन् । यस दिनलार्ई ‘सँझीया घाटे’ पनि भनिन्छ ।

भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ । सप्तमी तिथिको उदाउँदो सूर्यलाई जलाशयमा गई अर्घ दिएर प्रार्थना गर्छन् । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्व छठमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।



source https://www.onlinekhabar.com/2019/11/807621

ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव तल्लो सदनबाट स्वीकृत

१५ कात्तिक, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । ट्रम्पका वकिलहरुको अधिकार क्षेत्र पनि तोकिएको यस प्रस्तावको ह्वाइट हाउसले भने निन्दा गरेको छ ।

महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी प्राप्त भएको होइन, बरु यसबाट ट्रम्पविरुद्धको जाँच सार्वजनिक चरणमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

डेमोक्रेट्सको बहुमत रहेको तल्लो सदनमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगका लागि समर्थन जुटाउने यो पहिलो औपचारिक कोसिस हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कथित भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ । अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् । उनले हालका राष्ट्रपति ट्रम्पलाई टक्कर दिने अनुमान कतिपयले गरेका छन् । त्यसैले उनलाई आफ्नो बाटोबाट हटाउन ट्रम्पले भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीलाई दबाब दिएको आरोप छ ।

ट्रम्पले भने युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको, तर भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाब भने नदिएको बताउँदै आएका छन् ।

हालसम्म अमेरिकाको कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर पदबाट हटाएको इतिहास छैन । ट्रम्पलाई पदमुक्त गर्न सत्तारुढ रिपब्लिकन पार्टीका २० सांसदको समर्थन चाहिन्छ । तर आफ्नै पार्टीबाट राष्ट्रपति चुनिएका ट्रम्पविरुद्ध रिपब्लिकन सांसदले विद्रोह गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ । अमेरिकी तल्लो सदनमा १४५ देखि २३५ जना डेमोक्रेट्स महाभियोगको समर्थनमा छन् ।

तर महाअभियोग प्रस्ताव तल्लो सदनबाट पास भए पनि रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन (सिनेट)बाट पास हुन भने मुस्किल देखिने विश्लेषण गरिएको छ ।



source https://www.onlinekhabar.com/2019/11/807615

शीर्ष स्थानमा उक्लिने मौका गुमायो ग्रानाडाले

१५ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका ग्रानाडाले गुमाएको छ ।

बिहीबार राति भएको खेलमा गेटाफेसँग ३–१ गोलअन्तरले पराजित हुँदै ग्रानाडा शीर्ष स्थानमा पुग्नबाट चुक्यो । पहिलो हाफमा दुई गोल खाएको ग्रानाडाले दोस्रो हाफमा एक गोल फर्काए पनि थप एक गोल खान पुग्यो ।

गेटाफेलाई पराजित गरेको भए ग्रानाडा २३ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिने थियो । तर, पराजयपछि ग्रानाडा तेस्रो स्थानमै यथावत् छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १० खेलबाट २२ अंक छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान १० खेलबाट २१ अंक छ । लिगको तेस्रो स्थानमा रहेको ग्रानाडाको ११ खेलबाट २० अंक रहेको छ ।



source https://www.onlinekhabar.com/2019/11/807618

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

१५ कात्तिक, म्याग्दी । जिल्लाको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२, बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–८, कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री खरिद गरी सात जना बाढीपीडितलाई प्रदान गरेका हुन् ।

१४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलन भएको रकमबाट दाल, चिनी, चियापत्ती, बिस्कुट, साबुनलगायतका सामान खरीद गरेर बाढीपीडितहरुलाई प्रदान गरेका बाढीपीडित राहत संकलन एवं व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजालले जानकारी दिए ।

गत असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीयवासी दीलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, माया परियार, रश्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणको काम भने सम्पन्न भइसकेको छ ।

बाढीबाट क्षति पुगेको व्यक्तिहरुको पुनःस्थापनाका लागि पहल भइरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको बताइएको छ । पूर्णरूपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् । उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढीपीडित आर्थिक सङ्कलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म रु तीन लाख ५२ हजार ३०० संकलन भएको संयोजक रिजालले बताए ।



source https://www.onlinekhabar.com/2019/11/807617

प्रतिबन्धपछि कप्तान मेस्सी अर्जेन्टिनी टिममा फर्किए

१५ कात्तिक, काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् ।

गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३-१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

त्यसपछि मेस्सीलाई कोपा अमेरिकाले तीन महिनाका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए ।

प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । त्यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्दैछ ।

अर्जेन्टिना टिम

गोलकिपर : अगुस्टिन मार्चेसिन, योहान मुसो, इमिलिनो मार्टिनेज, इस्टेबन अन्ड्राड

डिफेन्डर : योहान फयथ, रेनजो सरभिया, निकोलस वटामेन्दी, जेर्मन पेजिला, मार्कोस रोजो, वाल्टर कानेमान, निकोलस ट्याग्लाफिको, नेहुन परेज, गुइडो रोडि्रगुएज

मिडफिल्डर : जिओभानी लो सेल्सो, लेन्ड्रो परेडेस, निकोलस डोमिनगुएज, रोड्रिगो डे पाउल, मार्कोस एकुना, रोबेर्टो परेयरा, लुकास वकाम्पस

फरवार्ड : लियोनल मेस्सी (कप्तान), सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास अलरियो, लुउटारो मार्टिनेज र पाउल डिबला ।



source https://www.onlinekhabar.com/2019/11/807614

इस्लामिक स्टेटले गर्‍यो बगदादी मारिएको पुष्टि, अल हाशमी बने नयाँ नेता

१५ कात्तिक, काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ । इस्लामिक स्टेटले अबु इब्राहिम अल-हाशमीलाई नयाँ नेता चुनेको हो ।

यसअघि २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा बगदादी मारिएका थिए । इस्लामिक स्टेटले एक अडियो सन्देश जारी गर्दै आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि गरेको छ । उनको मृत्यु पनि अमेरिकी-कुर्द बलको सैन्य अपरेशनमा भएको हो ।

अबु हम्जा अल कुरैशी नयाँ प्रवक्ता चुनिएका छन् । उनले आईएसका नयाँ नेता अबु इब्राहिम अल-हाशमीसँग हात मजबुत बनाउन मुस्लिम समुदायलाई आह्वान गरेका छन् ।

बीबीसीका अनुसार अबु इब्राहिम अल-हाशमी अमेरिकी सुरक्षा बलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले पनि आफ्नो नयाँ नेतृत्वको बारेमा धेरै जानकारी दिएको छैन । उनको तस्वीर पनि सार्वजनिक गरिएको छैन । तर इस्लामिक स्टेटले भनेको छ, अल-हाशमी पुरानो जिहादी लडाकु हुन् र उनी पश्चिमाविरुद्ध धेरै लडाइँ लडिसकेका छन् ।

आईएस लडाकुलाई विद्रोहीहरुको समूहबाट पैदा भएको सबैभन्दा हिंस्रक आतंकवादी संगठन भनिन्छ । आईएस अल बगदादीको नेतृत्वमा अफि्रकाबाट अष्ट्रेलियासम्म आफ्नो पहुँच विस्तारको तयारीमा थियो । त्यही बेला अल बगदादीको मृत्युलाई पश्चिमा देशहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलै सफलताको रुपमा व्याख्या गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस त्यो १५ मिनेटको अपरेशन, जसमा कुकुरले लखेटेर बग्दादीलाई मार्‍यो   यो पनि पढ्नुहोस कुर्द बलले चोरेको थियो बग्दादीको भित्री बस्त्र

source https://www.onlinekhabar.com/2019/11/807613

संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा, तलब खुवाउनै समस्या

१५ कात्तिक, काठमाडौं । आजका पत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएको र निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध करणी प्रयासको मुद्दा अदालतमा दर्ता भएको विषय प्रमुख हेडलाइन बनेका छन् ।

यीबाहेकका समाचारलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा परेको र कर्मचारीलाई तलब खुवाउनै समस्या भएको समाचार छापेको छ । आर्थिक संकटमा परेपछि राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ ।

महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका समाचारमा उल्लेख छ ।

राष्ट्रसंघका विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रले शुल्क नबुझाएको र ती राष्ट्रहरुलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकलाई उद्धृत गर्दै अन्नपूर्णले समाचार लेखेको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको समाचार कान्तिपुरमा छ ।

राजधानी दैनिकमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको समाचार छापेको छ । औषधिजन्य उपकरण ३३ सय गुणा बढी लिएर बिक्री भइरहेको समाचारमा उल्लेख छ ।

कारोबार दैनिकका अनुसार वित्तीय भार बढेको बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्ने गरी पहिलोपटक यस्तो निर्णय गरेको हो ।

गोरखापत्र दैनिकमा विश्व बैंकले आर्थिक तथा संघीय व्यवस्थापनमा नेपालको प्रयास र उपलब्धीको उच्च प्रशंसा गरेको समाचार छ ।

नेपाल एयरलाइन्सले हङकङमा गर्ने उडान सधैं ढिला गरेर लापरवाही गरिरहेको समाचार नेपाल समाचारपत्र दैनिकमा पढ्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2019/11/807605

नेकपाले टुंग्यायो पाँचथरका गाउँपालिका र वडा अध्यक्ष उम्मेदवार

१४ कात्तिक, पाँचथर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचथरमा उपनिर्वाचन हुने तीनवटै तहका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेकपाले फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुम्बाङलाई उम्मेदवार बनाउने भएको छ ।

जिल्ला सचिवालयको बैठकले सोही गाउँपालिका इन्चार्जसमेत रहेका पूराना नेता कुरुम्बाङलाई अध्यक्षको एकल उम्मेदवार तय गरेको हो । उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन एमालेबाट उम्मेदवार बनी करीव ७ सय मतले कांग्रेसका अमर नेम्वाङसँग पराजित भएका थिए ।

सो गाउँपालिकामा तत्कालिन माओवादी ७ सय मत सहित तेस्रो स्थानामा थियो । फाल्गुनन्द गाउँपालिकामा कांग्रेसले औपचारिक उम्मेदवार टुंगो नलगाए पनि बृजहाङ आङदेम्बेलाई खडा गर्ने भएको छ । उनी कांग्रेसका जिल्ला सचिव हुन् ।

नेकपाले पाँचथरकै फिदिम नगरपालिका १ को वडाध्यक्षमा गजाधर भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । सो वडामा यसअघि कांग्रेसले जितेको थियो । निर्वाचित वडाध्यक्ष हर्क मोक्तानको निधन भएपछि सो ठाउँमा उपनिर्वाचन हुँदैछ । भट्टराई यसअघि मोक्तानसँग पराजित भएका थिए ।

त्यस्तै हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाले गेहनाथ रिजाललाई उम्मेदवार बनाउने भएको छ । यसअघि एमालेले नै जितेको सो वडाका वडाध्यक्ष तीर्थराज तिम्सिनाको निधनपछि रिक्त पदमा उपचुनाव हुँदैछ ।

नेपाली कांग्रेसले भने वडाध्यक्षको उम्मेदवार टुंगो लगाइसकेको छैन । यद्यपी हिलिहाङको वडाध्यक्षमा तिलविक्रम इधिङ्गोलाई उम्मेदवार बनाइने कांग्रेस नेताहरुले बताएका छन् ।

पाँचथरका उपचुनाव हुने तीनवटै तहमा नेकपा र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् । यसपटक सबै परिणाम आफ्नो पक्षमा पर्ने गरी प्रचार प्रसार र तयारीमा लागिएको नेकपा नेता तथा सांसद बसन्त नेम्वाङले बताए । कांग्रेस नेता बृहजहाङले पनि तीनमध्ये दुई स्थान विगतमा कांग्रेसले जितेको हुनाले ती ठाउँ गुमाउन नदिन तयारी भइरहेको बताए ।



source https://www.onlinekhabar.com/2019/10/807431

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

१४ कात्तिक, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबारसूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्काशित गरेको छ ।

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो ।

सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक विदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको कोषले जनाएको छ ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।



source https://www.onlinekhabar.com/2019/10/807429

कुटपिटबाट बर्दियामा एक युवकको मृत्यु   

१४ कात्तिक, धम्बोझी । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भाइटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशङ्कामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरी तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो । त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा सुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2019/10/807422

आगोले पोलेमा वा जलेमा के गर्ने ?

तिहारमा सेलरोटी पकाउँदा कतिको हात तातो तेलले पोलेका होलान् । दियो बत्ती बाल्दा पनि आगोले पोलेको हुनसक्छ । केटाकेटीले पटका पड्काउँदा पनि उनीहरुको हात पोलेको वा डढेको हुनसक्छ । यसरी तेलले, आगोले वा विद्युतिय झड्काले पनि हाम्रो हात, खुट्टा वा शरीरको कुनैपनि भाग जल्न पुग्छ ।

तिहारको बेला मात्र होइन, अरु बेला पनि खानेकुरा पकाउँदा, आगो सल्काउँदा, विद्युतिय उपकरणहरु चलाउँदा हात वा अन्य भाग जल्न सक्छ । डढ्न सक्छ । यस किसिमको जलन वा पोलाई निकै पीडादायक हुन्छ । साथसाथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहिरहन्छ ।

घरमा साना बालबालिका छन् भने यस्तो भय अरु बढी हुन्छ । बालबच्चाहरु खेल्ने क्रममा उम्लिरहेको पानीमा हात डुबाउन पुग्छन्, आगोमा हात हाल्न पुग्छन्, विद्युतिय उपकरण चलाउन पुग्छन् । यस्तो अवस्थामा उनीहरुको हात लगायत शरीरका अंग पोल्न, जल्न सक्छ ।

जलन वा पोलाई अप्रत्यासित हुने दुर्घटना हुन् । खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । यस्तो अवस्थामा घाइतेलाई तत्काल के गर्ने ? पूर्व तयारी र जानकारी हुनुपर्छ ।

हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ । आगोले पोल्ने, तातो तेल वा पानीले पोल्ने कुरामा सावधानीपूर्वक काम गर्नुपर्छ । विद्युतिय उपकरणको प्रयोग अघि पनि सावधानी अपनाउनुपर्छ । साथसाथै आगोले चाडै टिप्ने खालको पहिरन लगाउनु हुँदैन ।

श्रृजना जि.सी. खरेल

बालबच्चाको हकमा अरु बढी सावधानी अपनाउनुपर्छ । घरमा जथाभावी विद्युतिय उपकरणहरु राख्नु हुँदैन । बालबच्चाले चलाउने स्थानमा त्यस्ता उपकरण राख्नु हुँदैन । तातो पानी वा आगोको छेउछाउ खेल्न दिन हुँदैन ।

प्राथमिक उपचार

कुनैपनि आकस्मिक दुर्घटना हुँदा पीडितलाई तत्काल प्राथमिक उपचार गर्नुपर्छ । त्यसैले घरका सदस्यहरुलाई प्राथमिक उपचारको आधारभूत ज्ञान हुनु राम्रो हो । यदि प्राथमिक उपचारको ज्ञान छ भने कतिपय संभावित अप्ठ्याराबाट बच्न सकिन्छ ।

–     आगोले पोलेमा, तातो पानीले पोलेमा यदि छाला छेडिएको वा नष्ट भएको छैन भने सफा चिसो पानीमा डुबाउनुपर्छ ।

–     फोका उठेमा त्यसलाई नफुटाउने ।

–     घाउलाई सफा कपडाले छोप्ने ।

–     पीडितलाई प्रशस्त झोलिलो पदार्थ दिने ।

–     एसिडढले पोलेको भए सफा पानीले घाउ सफा गर्ने । उपलब्ध छ भने सामान्उ सलाइन वा नुनपानीले सफा गर्नुपर्छ ।

–     क्षारको पोलाइमा अमिलो र पानी बराबरी मिलाएर सफा गर्ने ।

–     घिउकुमारी अर्थात एलोभेराको जेल लगाउँदा पनि राम्रो गर्छ ।

यदि गम्भीर अवस्थाका घाइते भएमा तत्काल नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्‍याउनु पर्छ ।



source https://www.onlinekhabar.com/2019/10/807423

अस्पतालमा प्रधानमन्त्रीलाई भेटेर फर्किए उपप्रधानमन्त्री पोखरेल

१४ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार दिउँसो ग्राण्डी अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

बिहीबार विहान प्रधानमन्त्रीलाई भेटेर फर्किएका उनले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषणपछि डिस्चार्ज गर्ने जानकारी चिकित्सकहरुले दिएको बताए ।

सघन उपचार कक्षमा रहेका ओलीलाई उपप्रधानमन्त्री पोखरेलसहित सीमित व्यक्तिले मात्र भेट्न पाएका छन् । नेकपाका सचिवालय सदस्य सचिव नेता कार्यकर्ता अस्पतालमा छन् । पोखरेल भने प्रधानमन्त्रीलाई भेटेर निर्वाचन आयोगको बैठकमा पुगेका छन् । सो बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री स्वस्थ रहेको र कुराकानीसमेत भएको बताएका छन् । ओलीको उपचारमा निजी चिकित्सक डा.दिव्यासिंह शाह, दिलिप शर्मा सहित चक्रराज पाण्डे र प्रेम ज्ञवाली पनि संलग्न रहेका छन् ।



source https://www.onlinekhabar.com/2019/10/807424

६ महिना सिरिजले धान्यो, अब ६ महिना केले धान्ला ?

वि.सं २०७६ सालको असोज महिनासम्म चलचित्रको व्यापारिक रिपोर्ट हेर्दा, विशेषगरि सिरिज र ब्रान्ड नै चलेको देखिन्छ । ‘जात्रै जात्रा, कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै’को व्यापारले यही कुरा देखाएको छ । ६ महिनामा ३ वटा चलचित्र सुपरहिट हुँदा अबको ६ महिना नेपाली चलचित्रको व्यापार के होला भन्ने विश्लेषण गर्न आवश्यक छ ।

कात्तिकको दोश्रो सातामा चलचित्र ‘पोई पर्यो काले’ रिलिज भयो । यो चलचित्रको व्यापार सुखद छ, तर यसले लगानी उठाउन अझै केही हप्ता राम्रो कमाई गर्नुपर्छ ।

नेपाली चलचित्रका निर्माता पौष र माघमा खासै चलचित्र रिलिज गर्न चाहँदैनन् । यसैले, यो बर्ष पनि पौष र माघ महिनामा चलचित्रको घोषणा खासै भएको छैन । मंसिरमा भने आधा दर्जन चलचित्र रिलिज हुँदैछन् ।

यो बर्ष दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ फागुणको ९ गते रिलिज हुँदैछ । यो चलचित्रको कथावस्तुले दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यस्तै, नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि यो बर्षको अपेक्षित चलचित्र हो । यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ । ‘म यस्तो गीत गाउँछु’को सिरिज भएकाले पनि दर्शकले यो चलचित्र प्रतिक्षा गरेका छन् । सुदर्शन थापाको निर्देशनलाई दर्शकले यसअघि पनि विश्वास गर्दै आएका छन् ।

यही मितिमा रिलिज गर्ने तयारी गरिएको नायक विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग’ पनि यो बर्षको प्रतिक्षित चलचित्र हो । यो चलचित्रलाई विशाल सापकाटाले निर्देशन गरेका हुन् ।

शिवहरि पौडेल निर्देशित चलचित्र ‘लक्का जवान’लाई पनि यो बर्षको अर्को आशा गरिएको चलचित्रको रुपमा हेर्न सकिन्छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको चलचित्रले दर्शकको चाप हलमा बढाउन सक्छ ।

निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति यही बर्षलाई तोकेका छन् । रिलिज दिन नै नतोकेपनि यो चलचित्र यदि यो बर्ष रिलिज भएको खण्डमा यसले पनि दर्शकलाई हलसम्म तान्न सक्छ ।

यही बर्ष नै रिलिज हुने भनिएका ‘प्रेमगीत ३, धुपौरे’ लगायतका चलचित्रले पनि दर्शक तान्ने अपेक्षा गरिएको छ । यी बाहेक अन्य थुप्रै चलचित्र यो बर्ष रिलिज हुँदैछन् । माथि उल्लेखित चलचित्रहरु स्टार कलाकार, ब्रान्ड ब्यानर र सिरिजमै केन्द्रित छन् । यी बाहेक अन्य चलचित्रले व्यापारिक रुपमा सफलताको झन्डा गाड्न सकेको खण्डमा चलचित्र क्षेत्रका लागि पक्कै पनि फाइदाजनक हुनेछ ।

आधा बर्ष सिरिज र ब्रान्डले धानेको चलचित्र क्षेत्रलाई अबको आधा बर्ष केले धान्ला ? प्रतिक्षा गरौ ।



source https://www.onlinekhabar.com/2019/10/807426

कपिलवस्तुमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।

प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले बताए ।

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ

मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।



source https://www.onlinekhabar.com/2019/10/807419

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More