Sunday 28 February 2021

उद्योगहरुको अवस्था र क्षमताबारे अध्ययन हुने

१७ फागुन, काठमाडौं । उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्न उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालबीच आइतबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला क्षमताका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्नेछन् ।

यस्तै औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रर्वद्रधन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्वोधन गरिने पनि समझदारीपत्रमा उल्लेख छ ।

उक्त अध्ययनले एउटा तथ्यांक तयार गर्ने र सो बौद्धिक सम्पत्तिमा विभाग र महासंघबीच संयुक्त स्वामित्व रहने पनि समझदारीपत्रमा उल्लेख छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालन मार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनर्स्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने लगायतका विषय पनि समझदारीपत्रमा समेटिएको छ ।

साथै आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्थाको प्रतिनिधित्व रहने गरी विभागको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख छ ।



source https://www.onlinekhabar.com/2021/03/934492

‘बाबरी’मा तृप्तीका छोरासँग अदितीको रोमान्स

नेपाली चलचित्र क्षेत्रमा कुनै समय नायिका तृप्ती नाडकरको क्रेज गज्जब थियो । उनले अभिनय गरेका केही चलचित्रले ५१ र १०० दिन मनाएका छन् । उनै, तृत्ती लामो समयदेखि अभिनयमा सक्रिय छैनन् । दोश्रो बिहे गरेर भारतमा बस्दै आएकी तृप्तीले अब भने आफ्ना छोरा धिरज टोटलानीलाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेकी छिन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘बाबरी’बाट धिरजले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । नायिका तृत्ती आफ्ना छोराले पनि नेपाली चलचित्र क्षेत्रमा काम गरुन् भन्ने चाहन्थिन् । उनकै चाहना अनुसार धिरजले नेपाली चलचित्रमा अभिनय गर्न लागेका हुन् ।

यो चलचित्रमा नायिका अदिती वुढाथोकीसँग उनले रोमान्स गर्नेछन् । अदितीको यो दोश्रो चलचित्र हो । यसअघि अदितीले चलचित्र ‘कृ’मा अभिनय गरेकी थिइन् ।

चलचित्र ‘बाबरी’ अदितीकै होम प्रोडक्शनबाट बन्न लागेको चलचित्र हो । यो चलचित्रको छायांकन केही दिनमै सुरु गर्ने तयारी सुरेन्द्रको छ । लकडाउन अगाडि नै चलचित्रको छायांकन सुरु गर्ने योजना निर्माणपक्षको थियो । तर, कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।

यो चलचित्रको छायांकन काठमाण्डौ, सिक्किम लगायतका स्थानमा गरिनेछ । ४५ दिनको छायांकन सेड्यूलमा चलचित्र खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रमा अदिती र धिरजको साथमा नितेशजंग कुँवरको मुख्य भूमिका रहनेछ ।



source https://www.onlinekhabar.com/2021/03/934489

ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा, एक वर्षदेखि सट्टा दर्ता बन्द

१७ फागुन, काठमाडौं । संघीय सरकार र प्रदेश सरकार बीच तालमेल नमिल्दा ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा परेको छ । यातायात व्यवस्था विभागले २०७६ मंसिर २ गते जारी गरेको नयाँ मापदण्ड अझै लागू हुन सकेको छैन ।

यसले गर्दा एक वर्षदेखि ट्याक्सीको सट्टाभर्ना रोकिएको छ । २० वर्ष आयु पुगेका दर्जनौं ट्याक्सी धनीले नयाँ मापदण्डअनुसार ट्याक्सी किन्न नक्सने भन्दै पुरानै मापदण्डअनुसार ट्याक्सीको सट्टाभर्ना दिन निवेदन दिएका छन् ।

तर, साना ठूला सवारी कार्यालय एकान्तकुनाले संघीय सरकारले बनाएको मापदण्ड कार्यान्वयनमा ल्याउन बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निर्देशन प्राप्त हुनुपर्ने बताउँदै आएको छ । यो कार्यालय प्रदेश सरकार मातहत छ ।

कार्यालयका प्रमुख नेत्रप्रसाद भट्टराई मन्त्रालयलाई यसबारे जानकारी गराएर मापदण्ड लागू गर्ने/नगर्ने बारे सोधिएपनि जवाफ प्राप्त नभएको बताउँछन् । कार्यालयले नयाँ मापदण्डबाट अन्योल उत्पन्न भएको बताउँदै सट्टादर्ता रोकेको छ ।

नयाँ मापदण्डअनुसार पेट्रोल इन्जिन भएको गाडीलाई ट्याक्सीका रुपमा दर्ता गर्ने हो भने १२ सय सीसीको सेडान गाडी हुनुपर्छ । विद्युतीय गाडी किन्ने हो भने लिथियम आयन ब्याट्री र न्युनतम् ४० किलोवाट शक्ति उत्सर्जन गर्ने क्षमता भएको सेडान कार किन्नुपर्छ ।

नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एयर कन्डिसनर (एसी), डिजिटल मिटरसहितको पि्रन्टर, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिएको छ । एसीसहितका फिचर्स थपिँदा नयाँ ट्याक्सीको मूल्य निकै बढ्नेछ । फोर स्ट्रोकसहित ३ सिलिन्डर इन्जिनको सेडान गाडीमात्रै ट्याक्सी हुन सक्छ ।

तर, यो मापदण्ड लागू गर्न प्रदेश सरकारले चासो दिएको छैन ।



source https://www.onlinekhabar.com/2021/03/934487

ओली समूहका प्रमुख सचेतक भट्टराईको कार्यकक्ष तयार

१७ फागुन, काठमाडौं । नेकपा ओली समूहको प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ ।

दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालीन एमाले संसदीय दल रहेको ठाउँमा भट्टराईको कार्यकक्ष तयार गरिएको संसद सचिवालयले जनाएको छ । भट्टराईलाई गाडीसँगै ऐन अनुसारका अन्य सुविधा समेत प्रदान गरिएको छ ।

र, गुरुङलाई गाडी फिर्ता गर्नेबारे केही नभनिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार प्रचण्ड-माधव पक्षका देव गुरुङलाई हटाएर भट्टराईलाई मुख्य सचेतकमा नियुक्त गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/03/934482

सुरु भयो ‘चिसो मान्छे’को छायांकन, काठमाण्डौदेखि बाजुरासम्म खिचिने

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी दिइयो । शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालले भने–‘हामीले चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौ । चलचित्रको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’

यो चलचित्रले समाजका चिसो मानिसहरुको कथा भन्ने उनले बताए । चलचित्रलाई आफूले घाममा नखिच्ने उनले बताए ।

चलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले बताएको छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/03/934484

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-माधव समूहको निर्णय

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई अनुरोध गरेको छ । ‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिकतासम्बन्धी जो हाम्रो दाबी छ त्यसका बारेमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।



source https://www.onlinekhabar.com/2021/03/934479

बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, तर छिट्टै शल्यक्रिया गर्नु पर्ने

१७ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।

न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए ।

चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।

भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिइरहेका छन् ।

परीक्षण सकिएकोले भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने प्रेस सल्लाहाकार पाण्डेले जानकारी दिए।

 



source https://www.onlinekhabar.com/2021/03/934476

सिंहदरबारमा नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक शुरु भएको हो ।

संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।

अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् । तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठक बसेको एक नेताले बताए ।

सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनस्र्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ । यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।



source https://www.onlinekhabar.com/2021/03/934466

फेसबुकमा बेचिदै अमेजनको जङ्गल !

ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ ।

बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो ।

फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका लागि राखिएका कतिपय प्लटहरु १ हजारवटा फुटबल मैदान बराबर ठूलासमेत रहेका छन् ।

आफ्नो प्लाटफर्ममार्फत् विश्वकै निकै महत्वपूर्ण जङ्गलको अवैध कारोबार भैरहेको खुलासा भएसँगै फेसबुकले उक्त कार्य रोक्नका लागि स्थानीय अधिकारीहरुसँग सहकार्य गर्ने जनाएको छ । तर फेसबुकको प्लाटर्फममा भैरहेको अवैध व्यापार रोक्नका लागि आफैले स्वतन्त्र रुपमा कुनै कदम चाल्ने बारेमा खुलाएको छैन ।

फेसबुकका अनुसार उसको व्यापारिक नीतिमा क्रेता र बिक्रेताले अनिवार्य रुपमा कानुन तथा नियमहरुको पालना गर्नै पर्दछ ।

अमेजन जङ्गलको अवैध खरिद-बिक्रीबाट प्रभावित आदिवासी समुदायका अगुवाले भने त्यस्तो कार्य रोक्नका लागि कडा कदम चाल्न फेसबुकलाई आग्रह गरेका छन् ।

अभियानकर्मीहरुले चाहिँ संरक्षित अमेजन झङ्गलको सोसल मिडियामार्फत भैरहेको अवैध बिक्री रोक्न ब्राजिल सरकार नै इच्छुक नभएको आरोप लगाएका छन् ।

कसरी हुन्छ खरिद बिक्री ?

फेसबुकको मार्केट प्लेसमा गएर forest, native jungle, timber आदि शब्दलाई पोर्चिगिज भाषामा टाइप गरेर अमेजन जङ्गल क्षेत्रमा पर्ने कुनै पनि राज्यलाई लोकेसनको रुपमा हालेर सर्च गर्दा अमेजन जङ्गलका बिक्रीमा राखिएका प्रसस्तै त्यस्ता प्लटहरु भेटाउन सकिन्छ । कतिपय प्लटहरुमा त स्याटेलाइट तस्वीर र जीपीएस कोअर्डिनेट समेत दिइएको हुन्छ ।

यद्यपि यसरी फेसबुकमार्फत जग्गा किन्दा क्रेताले कुनै लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र भने पाउँदैनन् । त्यसैले अवैधरुपमा भैरहेको त्यस्तो खरिदमा संलग्न हुनु भनेको पैसाको बर्बादी बाहेक केही होइन ।

ब्राजिलको अमेजन जङ्गलमा पछिल्लो १० वर्षमा वन फडानी दर सबैभन्दा उच्च भएको छ । वन तस्करहरुका अनुसार सरकारी निकायबाट कुनै निरीक्षण नहुने भएकाले अमेजनको जङ्गल क्षेत्र बिक्रीमा कुनै डर छैन । उनीहरु जङ्गलका रुख काट्ने, आगो लगाउने गरेर ठाउँ खाली बनाउँछन् र तिनै प्लट बिक्रीका लागि फेसबुकमा हाल्दछन् ।

बीबीसी



source https://www.onlinekhabar.com/2021/03/934471

हुण्डाइले फिर्ता लियो ८२ हजार विद्युतीय कार, १ खर्ब रुपैयाँ घाटा

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाइले विश्व बजारबाट ८२ हजार विद्युतीय कारहरु फिर्ता लिने भएको छ ।

ब्याट्रीको समस्याका कारण १५ वटा कारमा आगो लागेको घटना सार्वजनिक भए पनि हुण्डाइले बजारमा पठाइसकेका ८२ हजार विद्युतीय कार फिर्ता लिने घोषणा गरेको हो । यसलाई कार फिर्ता लिने घटनामा अहिलेसम्मै सबैभन्दा महँगो मानिएको छ । यसले सानो मात्र कमजोरीले पनि विद्युतीय गाडी निर्माता कम्पनीले कति ठूलो मूल्य चुकाउनु पर्दछ भन्ने देखाएको छ ।

यस घटनाले हुण्डाईलाई १ ट्रिलियन कोरियन वन अर्थात् ९० करोड अमेरिकी डलर घाटा लागेको बताइएको छ । यो भनेको प्रतिकार ११ हजार डलर हो ।

फिर्ता लिइएका कारमा पूरानो ब्याट्री फेरेर नयाँ ब्याट्री हाल्नु निकै महँगो पर्दछ । यसको खर्च तथा काम भनेको परम्परागत पेट्रोलियम इन्धनवाला कारको पूरै इन्जिन फेर्नु सरह नै हुन्छ । जबकि यसरी फिर्ता गरिने पेट्रोलियम कारहरुमा पूरै इन्जिन फेर्नुपर्ने आवश्यकता निकै कम मात्र हुन्थ्यो ।

यसअघि पूरै इन्जिन फेर्नुपरेको यस्तै घटना सन् २०१४ मा भएको थियो । त्यतिबेला प्रोसे ९११ जीटीथ्री स्पोर्टस कार बजारबाट फिर्ता लिएर कम्पनीले पूरै इन्जिन फेरिदिएको थियो ।

त्यस्तै हालैमात्र जनरल मोटर्सले बजारमा रहेका ७० लाख गाडीहरुका टाकाटा एयरब्याग्स फेरिदिएको थियो र त्यसका लागि उसले १ अर्ब २० करोड डलर खर्च गरेको थियो । त्यसमा प्रति गाडी खर्च २ सय डलरभन्दा कम लागेको थियो ।

हुण्डाइका विद्युतीय गाडीको ब्याट्री फेर्नका लागि लाग्ने प्रतिकार लागत इतिहासकै उच्च मानिएको छ । यसले विद्युतीय गाडीको ब्याट्री पूरै कारको अनुपातमा कतिधेरै महँगो हुन्छ भन्ने पनि देखाएको छ ।

हुण्डाइका विद्युतीय कारमा भएका आगलागीका विभिन्न १५ घटनामा हालसम्म कोहीपनि घाइते नभएको बताइएको छ । अधिकांश कारमा बन्द गरिसकेपछि खाली रहेको अवस्थामा आगलागी भएको छ । हालसम्म अमेरिकामा त्यस्तो घटना भएको छैन । तथापि यसरी फिर्ता बोलाइने कारमध्ये ६ हजार ७ सय वटा कार हाल अमेरिकामा गुडिरहेको अनुमान छ।

हुण्डाइका अनुसार एलजी कम्पनीले बनाएका ब्याट्रीमा सर्ट सर्किटको समस्या हुँदा आगलागी भएको अनुसन्धानले देखाएको छ ।

फिर्ता बोलाइएका कारमध्ये २७ हजार दक्षिण कोरियामा छन् भने ५५ हजार विश्वका अन्य विभिन्न मुलुकमा रहेका छन् ।

सिएनएनबाट



source https://www.onlinekhabar.com/2021/03/934469

गर्लफ्रेण्डलाई गिफ्ट दिन उँट चोरेपछि…

गर्लफ्रेण्डलाई कस्ता कस्ता गिफ्ट दिनुहुन्छ तपाइँ ? कतिपय मानिसले त आफ्नी गर्लफ्रेण्डलालाई उपहार दिनका लागि मरुभूमिको जनावर उँट समेत चोर्दा रहेछन् ।

हालै युएइको दुबईमा एउटा यस्तै घटना भएको छ । दुबई प्रहरीले हालै एकजना व्यक्तिलाई निकै बहूमूल्य उँटको बच्चा चोरेको आरोपमा पक्राउ गरेको छ । ती व्यक्तिले गर्लफ्रेण्डलालाई उनको जन्मदिनमा उपहार दिनको लागि भन्दै उँटको बच्चा चोरेको बताइएको छ ।

आफ्नो उँट फार्मबाट उँटको बच्चा चोरी भएको भन्दै उँटधनीले एक महिना अघि नै प्रहरीमा उजुरी गरेका थिए । उक्त उजुरीपछि प्रहरीले खोजी अभियान तीव्र बनाए पनि चोरी भएको उँट फेला पार्न सकेको थिए ।

केही दिनपछि एकजना मानिसले प्रहरीलाई फोन गरेर आफ्नो फार्ममा एउटा नयाँ उँट आएर यताउता घुमिरहेको जानकारी दियो ।

प्रहरी तत्कालै उक्त उँट भएको ठाउँमा बस्यो । जब प्रहरीले फोन गरेर उँटको बारेमा जानकारी दिने व्यक्तिसँग सोधपुछ गर्‍यो तब उँट चोरीको रोचक कथाको खुलासा भयो ।

वास्तवमा फोन गरेर पुलिसलाई जानकारी दिने सोही व्यक्तिले नै आफ्नो गर्लफ्रेण्डलालाई उपहार दिनको लागि भन्दै बहुमूल्य नश्लको उँटको बच्चा चोरेका रहेछन् । उनी माउँ उँट नै चोर्ने चाहन्थे तर नसकेपछि उनले केही दिन अगाडि जन्मिएको बच्चा चोरेका रहेछन् ।

प्रहरीले उँट खोजी अभियान तीव्र बनाएको थाहा पाएर आफू पक्राउ परिने डर भएपछि मात्र उनले आफ्नो फार्ममा फिरन्ते नयाँ उँट आएर घुमिरहेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले उक्त उँटको बच्चा उसको धनीलाई फिर्ता गरेको छ भने उँट चोर्ने व्यक्ति र गर्लफ्रेण्डसमेतलाई चोरी तथा झुट्टो विवरण दिएको अभियोगमा पक्राउ गरेको छ ।

एजेन्सी

 



source https://www.onlinekhabar.com/2021/03/934467

क्रसर उद्योगले केराबारीको आमजुङ्गीमा उठीबासको त्रास

१७ फागुन, विराटनगर । ढुङ्गागिट्टी कारोबारमा लागेका जनप्रतिनिधि र क्रसर उद्योगीका कारण बस्ती नै उठीबास हुने अवस्था आएको भन्दै मोरङको केराबारी गाउँपालिका-८ आमजुङ्गीवासी आन्दोलनमा उत्रिएका छन् । तर जथाभावी उत्खनन् रोक्न स्थानीय प्रशासनले कुनै कदम चालेको देखिएको छैन ।

आमजुङ्गीबस्ती भएर खदम खोला बग्छ । खदम मोरङ जिल्लामा सबैभन्दा बढी ढुङ्गागिट्टी उत्खनन हुने खोला पनि हो । बस्तीमा करिब चार सय परिवारको बसोबास छ । बस्तीको सिरानमा (माथिल्लो भाग) महादेव मिनरल इन्ड्रष्टिज र शिवम् क्रसर उद्योगमा सञ्चालनमा छन् ।

दुई उद्योगले मनलाग्दी उत्खनन गरेपछि स्थानीय केही दिनयता आन्दोलनमा उत्रिएका हुन् । शनिबार महादेव मिनरल इन्ड्रस्टिजको कार्यालयमा तोडफोड गरेका स्थानीय आइतबार बिहान गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई भेट्न गाउँपालिकाको कार्यालय पुगे । नाराबाजीसहित पुगेका स्थानीयलाई प्रहरीले गेटमा रोक्यो । गाउँलेले अध्यक्षलाई छलफलका लागि बाहिर बोलाए । तर क्रसर उद्योग सञ्चालकसमेत रहेका कार्कीले स्थानीयलाई भेट्न मानेनन् । आफ्ना समस्या सुनाउन खोज्दा जनप्रतिनिधिले नमानेपछि आक्रोशित समूहले तोडफोडको प्रयास गर्‍यो ।

अध्यक्ष आफैं क्रसर उद्योगी रहेकाले आफ्नो माग सुनुवाइ गर्न चासो नदिएको स्थानीयको आरोप छ । अध्यक्ष कार्की कृष्ण क्रसिङ उद्योगका संस्थापक हुन् । महादेव मिनरल इन्ड्रष्टिजमा गाउँपालिका अध्यक्ष कार्की र ढुङ्गागिट्टी कारोबारी भीम पौडेललगायतको लगानी रहेको स्थानीयवासीको दाबी छ ।

दुई उद्योगले आफ्नो क्षेत्रमा पर्ने खदम खोलाभित्र उत्खनन गरिसकेका छन् । खोला धारमा १५ फिटभन्दा गहिरो खाल्डो छ । खोला बाहिरको निजी जग्गामा पनि १० फिटभन्दा गहिरो खनेर उत्खनन भएको स्थानीय जीतबहादुर बस्नेतले बताए । खोलाधार भन्दा गहिरो हुनेगरी निजी जग्गामा उत्खनन गरेपछि बर्खामा बाढीले गाउँ बगाउने जोखिम भएकाले आन्दोलन गर्नुपरेको उनले बताए ।

बस्ती बगाउने गरी उत्खनन सुरु भएपछि स्थानीयले केही दिनयता प्रदर्शन गरिरहेको उनले बताए । पटक-पटक उद्योग सञ्चालकलाई आग्रह गर्दा नमानेका कारण शनिबारयता प्रदर्शन गर्नुपरेको उनले बताए ।

‘निजी जग्गामा भन्दै मनोमानी रुपमा उत्खनन गर्दा गाउँ नै बगाएर लैजाने जोखिम हुन्छ,’ स्थानीय गोपाल खड्काले भने, ‘सबै सरकारी संयन्त्र ठेकदारको पछि लागेका छन् ।

हाम्रो समस्या सुनिदिने निकाय छैन ।’ गाउँपालिका अध्यक्षलाई अनाधिकृत उत्खननको स्थलगत अध्ययन गर्न आऊ भन्दा नआएको उनले बताए ।

गाउँपालिका घेराउ गर्न आएका स्थानीयवासी ।

स्थानीयको आन्दोलन यो पहिलो भने होइन । गत वर्ष पनि मनोमानी रुपमा उत्खनन भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए । ढुङ्गागिट्टी कारोबारी भीम पौडेलको प्रवेशले बस्ती नै उठिबास हुने जोखिममा रहेको स्थानीयको दाबी छ ।

सुनसरी-मोरङमा चलेका ढुङ्गागिटी कारोबारी पौडेलले महादेव मिनरल इन्ड्रष्ट्रिज सञ्चालन गर्छन् । दुई वर्षअघि केराबारी प्रवेश गरेका पौडेलका कारण आमजुङ्गीका स्थानीय विस्थापित हुनुपर्ने अवस्था रहेको स्थानीयले बताए ।

‘हामीले अनाधिकृत रुपमा उत्खनन नगर्नुहोस् भनेर पटक-पटक आग्रह गर्याैं,’ स्थानीय जीतबहादुर बस्नेतले भने, ‘तर उद्योग सञ्चालक भीम पौडेलले मानेनन्, गाउँलाई जोखिम पार्नेगरी उत्खनन गरिरहे ।’

भीम पौडेल भन्छन्- मिलाएर लेखिदिनु ल !

ढुङ्गागिट्टी कारोबारी भीम पौडेल भने आफ्नो उद्योगले ढुङ्गागिट्टी उत्खनन गर्दा बस्ती जोखिममा नपर्ने दाबी गर्छन् । आफ्नो निजी जमिनमा रहेको ढुङ्गागिट्टी उत्खनन गरेको बताउँदै उनले खोलाबाट आफूखुसी ढुङ्गागिट्टी निकाल्न नपाएकाहरुको अगुवाइमा प्रदर्शन भएको दाबी गरे । ‘हामीले निजी जग्गामा रहेको ढुङ्गा गिट्टी निकालेर क्रसरको माटो हालेर खेती गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘कुरा यिनै हुन् । समाचार मिलाएर लेखिदिनु ल ।’ पौडेलले चिसाङ खोलामा पनि क्रसर उद्योग सञ्चालन गरेका छन् । केराबारीमा जस्तै लेटाङमा पनि स्थानीय असन्तुष्ट छन् ।

केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलका अनुसार खदम खोलामा आमजुङ्गी बस्ती आसपास तीनवटा क्रसर उद्योग छन् । तीमध्ये माथिल्लो भागमा रहेको शिवम् क्रसर र महादेव मिनरल इन्ड्रष्ट्रिजको उत्खननका कारण बस्ती जोखिममा छ ।

नियम नमिच्न आग्रह गर्दा व्यावसायीले अटेर गर्ने गरेको उनेको गुनासो छ । निजी जग्गामा उत्खनन गर्दा प्रकृया पूरा गर्नुपर्ने भए पनि सञ्चालकले गाउँ नै जोखिममा पर्नेगरी मनपरी रुपमा उत्खनन गरेको गुनासो आएको उनले बताइन् ।

क्रसर व्यावसायीसँग प्रशासनको पनि मिलेमतो जस्तो देखिएको उनको भनाइ छ । ‘व्यावसायीको ज्याजती बल्झिरहन्छ, हामीले नगर्नुहोस् भनिरहेका छौं,’ उनले भनिन्, ‘केराबारीमा ढुङ्गा गिट्टी उत्खननले ठूलो समस्या निम्त्याएको छ ।’

गाउँपालिका अध्यक्ष रोहित कार्की भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिन पन्छिरहेका छन् । आइतबार कार्यालयमा पुगेका पत्रकारसँग उनले आन्दोलन चलिरहेकाले केही नबोल्ने बताए ।



source https://www.onlinekhabar.com/2021/03/934464

सोलु एफएममा आगलागी

१७ फागुन, सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ ।

आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट रु एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

वि.सं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/03/934446

इन्टर र एसी मिलान विजयी

१७ फागुन काठमाडौं । इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पार्दै उपाधि होडमा आफूलाई अगाडि राखेका छन् ।

आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३-० ले हरायो । इन्टरका लागि रोमेलु लुकाकले खेलको पहिलो मिनेटमै गोल गरे । यस्तै माटेओ डार्मिनले ६९औं र एलेक्सिस सान्चेजले ७९औं मिनेटमा गोल गरे ।

यस्तै अर्को खेलमा एसी मिलानले रोमालाई २-१ ले हरायो । रोमाको मैदानमा भएको खेलको ४३औं मिनेटमा फ्रान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिले अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जोर्डन भेरेटाउटले रोमाको लागि बराबरी गोल फर्काए । तर ५८औं मिनेटमा एन्टे रेबिकले गोल गर्दै एसी मिलानलाई जित दिलाए ।

जितपछि इन्टरको २६ खेलबाट ५६ अंक छ । समान खेलबाट ५२ अंक जोड्दै एसी मिलानले अंक दूरी ४ मा झारेको छ । रोमा २४ खेलबाट ४४ अंकसहित पाँचौ स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/03/934462

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’

दीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/03/934460

ट्रम्पले भने- मैले नयाँ पार्टी खोल्दिनँ

१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् ।

कन्जरभेटिम पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।

ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भने । उनले भने, ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’

कार्यक्रममा उनले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनको पनि आलोचना गरे । बाइडन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पले बताए ।

सीपीएसी कन्फ्रेन्स हरेक वर्ष हुने गर्दछ, जसमा अमेरिकाभरका रुढिवादी नेताहरुले भाग लिने गर्दछन् । फ्लोरिडामा आयोजित पछिल्लो कन्फ्रेन्सलाई टेक्सासबाट सिनेटर चुनिएका टेड क्रूज, ट्रम्पको छोरा ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/03/934459

अष्ट्रेलियामा कार्यरत पत्रकार टीका कार्की मृत भेटिए

सिड्नी । अष्ट्रेलियामा विगत दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् ।

कार्की हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो ।

नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।

एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।



source https://www.onlinekhabar.com/2021/03/934457

भियारियाललाई हराउँदै एट्लेटिकोले बनायो ५ अंकको अग्रता

१७ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले भियारियाललाई २-० ले पराजित गरेको छ । जितपछि एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ र एट्लेटिकोले अझै एक खेल कम खेलेको छ ।

भियारियालको मैदानमा भएको खेलमा एट्लेटिकोलका लागि जाओ फेलिक्सले एक गोल गरे । अर्को गोल एट्लेटिकोले उपहार पाएको थियो ।

२७औं मिनेटमा भियारियालका अल्फोन्सो पेड्राजाले आत्मघाती गोल गर्दा एट्लेटिकोले अग्रता बनाएको थियो । फेलिक्सले ६९औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितपछि एट्लेटिकोले २४ खेलबाट ५८ अंक जोडेको छ । २५ खेलबाट बार्सिलोनाको ५३ अंक छ ।

भियारियल २५ खेलबाट ३७ अंकसहित सातौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/03/934455

चार हारपछि लिभरपुलको पहिलो जित

१७ फागुन, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा लगातार चार हारको श्रृखंलालाई अन्त्य गर्दै शेफिल्ड युनाइटेड विरुद्ध जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० ले पराजित गरेको हो ।

लिभरपुलको जितमा युवा खेलाडी कर्टिन्स जोन्सले गोल गरे । यस्तै शेफिल्डका केन ब्रायन्सले एक आत्मघाती गोल गरे ।

दुवै गोल दोस्रो हाफमा भएको थियो । ४८औं मिनेटमा २० वर्षीय जोन्सले गोल गर्दै अग्रता दिलाएका थिए । जोन्सले प्रिमियर लिगमा गरेको यो दोस्रो गोल हो । ब्रायनले ६४औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

जितपछि २६ खेलबाट ४३ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा छ र चौथो स्थानको वेष्टहमसंग अंकदुरी २ मा झारेको छ ।

जनवरी अन्त्यमा वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गरेयता लिभरपुलले पहिलो जित हात पारेको हो ।



source https://www.onlinekhabar.com/2021/03/934452

म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे

काठमाडौं । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले खेलमा गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।

बराबरीपछि युनाइटेड र चेल्सीले समान १ अंक जोडे ।

२६ खेलबाट ५० अंक जोडेको युनाइटेड लिग लिडर म्यानचेष्टर सिटीभन्दा अझै १२ अंकले पछि छ । यस्तै आर्सनलसँग ३-१ ले पराजित भएको लेस्टर सिटी भन्दा युनाइटेड १ अंकले अघि छ ।

समान खेलबाट ४९ अंकसहित लेस्टर तेस्रो स्थानमा छ ।

चेल्सी भने २६ खेलबाट ४४ अंकसहित पाँचौ स्थानमै छ ।

यस्तै अर्को लण्डन क्लब टोटनहम हट्सपरले बर्नलीलाई ४-० ले पराजित गरेको छ । टोटनहमका लागि गारेथ बेलले २ तथा ह्यारी केन र लुकास माउराले समान एक गोल गरे । बेलले खेलको दोस्रो मिनेट र ५५औं मिनेटमा गोल गरे । केनले १५औं र माउराले ३१औं मिनेटमा गोल गरे ।

जितपछि २५ खेलबाट ३९ अंक जोड्दै टोटनहम आठौं स्थानमा उक्लेको छ ।



source https://www.onlinekhabar.com/2021/03/934450

प्रधानमन्त्रीको पोखरा दौडाहा : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म

१७ फागुन, पोखरा । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् ।

पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने छन् । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका सहइञ्चार्ज किरण गुरुङले जानकारी दिए ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिपि|mङ गर्ने छ । पोखरा रंगशाला निरीक्षणको तयारी मिलाइएको परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्वीमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमनत्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनु हुनेछ ।’

ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो ।

प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओराल्दै छ । संसद विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा आउन लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।

पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् । त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।



source https://www.onlinekhabar.com/2021/03/934449

छिमेकीको हत्या गरी मुटु निकालियो, आलुसँगै पकाएर परिवारले खाए

अमेरिकाको ओक्लाहोमामा एउटा अकल्पनीय दर्दनाक घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले छिमेकी महिलाको हत्या गरेर मृतकको मुटु बाहिर निकाले । त्यसपछि उक्त मुटु लिएर आफ्नो घरमा गई आलुको तरकारीसँगै पकाएर परिवारका अन्य दुईजना सदस्यलाई समेत खान दिए । त्यसरी खुवाइसकेपछि परिवारका ती दुई सदस्यको समेत उनले हत्या गरेका छन् ।

यो जघन्य अपराधका विषयमा अमेरिकी पुलिसले हाल अनुसन्धान गरिरहेको छ ।

लरेन्स पल एन्डरसन नामका ती पुरुषले ओक्लाहामा सिटीको दक्षिण पश्चिमस्थित चिकशामा बस्ने आफ्नी छिमेकी एन्ड्रिया लिन ब्लेंकेनसीपको उनकै घरमा गएर हत्या गरे ।

हत्या गरेसँगै उनले ती महिलाको छाति चिरेर मुटु बाहिर निकालेर घरमा ल्याए । घरमा ल्याएर उक्त मुटुलाई आलुसँगै पकाएर उनले आफ्ना काका काकीलाई तरकारीको रुपमा खानका लागि पस्किए ।

लरेन्स यत्तिमा मात्र रोकिएनन् । उनले आफ्ना काका र उनकी चार वर्षकी छोरीको पनि हत्या गरिदिए र काकीमाथि समेत घातक हमला गरेर गम्भीर घाइते बनाए ।

लरेन्स यसअघि पनि विभिन्न आपराधिक घटनामा दोषी ठहर भैसकेका व्यक्ति भएको बताइएको छ । उनी केही समयअघि मात्रै जेलबाट बाहिर निस्किएका रहेछन् ।

एजेन्सी

 



source https://www.onlinekhabar.com/2021/03/934447

५३ वर्षअघि अन्टार्कटिकामा हराएको पर्स हात परेपछि…

पाउल ग्रिसामको वालेट ५३ वर्षअघि संसारकै पिँध अर्थात् अन्टार्कटिकामा हराएको थियो । यति लामो समय बितिसक्दा त उनले त्यो हराएको पर्स पनि बिर्सिसकेका थिए ।

तर ५३ वर्षपछि उनले आफ्नो त्यो हराएको पर्स हात पारे । सान डिएगोमा बस्ने ९१ वर्षका पाउलको हातमा उनको हराएको पर्स मात्र परेन सन् १९६० को दशकमा १३ महिनासम्म अमेरिकी नौसेनाको मौसमविदका रुपमा अन्टार्कटिकामा काम गरेको स्मरणपत्रसमेत उनले प्राप्त गरे ।

शनिबार आफ्नो हराएको पर्स हात परेपछि पुराना दिन सम्झिँदै उनी भावुक बने । सान डिएगो युनियन ट्रिब्युन पत्रिकासँग कुराकानी गर्दै उनले भने, ‘म त झण्डै बेहोस भएको । मलाई फेला पारेर पर्स फिर्ता गर्नका लागि श्रृंखलाबद्ध रुपमा खटिएका रहेछन् ।

अन्टार्कटिकामा हराएको उनको वालेटमा उनको नौसेनाको परिचयपत्र, सवारी चालक परिचयपत्र, पकेट रेफरेन्स कार्ड थियो जसमा आणविक, जैविक तथा रासायनिक आक्रमणका बेला के गर्ने ? भन्ने जानकारी उल्लेख थियो । साथै पर्समा उनले कर चुक्ता कागज र पत्नीलाई पठाएको पैसाको भरपाइ पनि थियो ।

अमेरिकाको एरिजोनास्थित डगलसमा जन्मिएका ग्रिसाम सन् १९४८ मा नौसेनामा भर्ती भए । त्यहाँ उनी सुरुमा मौसम प्राविधिक र पछि मौसम पूर्वानुमानविद बने ।

अपरेसन डिप फ्रिज नामक अभियान अन्तर्गत उनी अन्टार्कटिकामा खटाइएका थिए । सन् १९६७ को अक्टोबरमा उनी अन्टार्कटिका गएका थिए । त्यसबेला उनको उमेर ३० वर्षको थियो र घरमा पत्नी र दुई बच्चा थिए ।

अन्टार्कटिकामा खटिएकै बेला उनको पर्स कतै हरायो र पछि उनले त्यो बिर्सिए ।

तर सन् २०१४ मा अन्टार्कटिकाको रोस टापुस्थित म्याकमुर्दो स्टेसनमा रहेको भवन भत्काउने क्रममा उनको पर्स फेला पर्‍यो । तर त्यो पर्सको धनी फेला पार्न भने निकै सकस पर्‍यो ।

वास्तवमा भवन भत्काउने क्रममा दुईवटा पर्स फेला परेका थिए । त्यसमध्ये एउटा पर्स ग्रिसामको थियो भने अर्को पर्सधनीको चाहिँ सन् २०१६ मै मृत्यु भैसकेको रहेछ ।

ग्रिसामले अमेरिकी नेभीको जागिरबाट सन् १९७७ मा अवकास लिएका थिए । पहिलो पत्नीको मृत्युपछि सन् २००३ मा उनले दोश्रो बिहे गरे र हाल दोश्रो पत्नीसँग बस्दै आएका छन् ।

एजेन्सी



source https://www.onlinekhabar.com/2021/03/934444

Saturday 27 February 2021

फर्किएला संचिताको फिल्ममा क्रेज ?

नायिका संचिता लुइटेलले आफू चलचित्र क्षेत्रमा आउँछु होला भनेर कहिले पनि नसोचेको बताएकी छिन् । काठमाण्डौको काठमाण्डौ मलमा संचालनमा आएको ‘डाडु पन्यू रेष्टुरेन्ट’को उद्घाटन गर्ने क्रममा संचिताले धेरै चलचित्र हेर्दा आफूलाई पर्दामा जे देख्यो त्यही बन्छु होला भन्ने लागेको बताइन् । तर, चलचित्रमा नै आउँछु होला भन्ने कहिले पनि नलागेको उनको तर्क छ ।

संचिताले उनका श्रीमान् नायक निखिल उप्रेतीले नै बनाउन लागेको चलचित्र ‘आयो भैरव’मा काम गर्ने चर्चा समेत चलेको थियो । तर, अहिले यो चलचित्र चर्चा सेलाएको छ । संचिताले भने आफूले एउटा चलचित्रको स्क्रिप्ट पढ्दै गरेको र मन परेको खण्डमा काम गर्ने उल्लेख गरेकी छिन् ।

‘अप्सरा’ चलचित्रबाट उदाएकी संचिता २ सन्तानलाई जन्म दिएपछि भने घरयासी काममा नै बढी व्यस्त देखिएकी छिन् । संचिताले केही चलचित्रमा काम गरेपनि उनको क्रेज भने फर्किएको छैन ।



source https://www.onlinekhabar.com/2021/02/934267

काठमाडौं महानगरपालिका कार्यालय अगाडि नागरिक आन्दोलनको धर्ना

१६ फागुन, काठमाडौं । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।

धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरेका छन् । स्थानीयलाई उठिबास लगाउने गरी सडक विस्तारको विरोध गर्दै आएका उनीहरुले सम्पदा संरक्षणमा समेत जोड दिएका छन् ।

शुक्रबार उनीहरुले काठमाडौंको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काइदिएका थिए ।



source https://www.onlinekhabar.com/2021/02/934253

मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन : प्रचण्ड

१६ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।

आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै सो प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत बताएका छन् ।

आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन भन्दै प्रचण्डले भनेका छन्, सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’

प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’



source https://www.onlinekhabar.com/2021/02/934241

क्रसर उद्योगले गाउँ नै जोखिममा परेपछि केराबारीमा प्रदर्शन

१६ फागुन, विराटनगर । मोरङको केराबारी गाउँपालिका- ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।

महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।

खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताए ।

गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिलेमतोमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन् । महादेव मिनरलमा उनको पनि लगानी रहेको स्थानीयको आरोप छ । अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकारसँग कुरा गर्न मानेनन् ।



source https://www.onlinekhabar.com/2021/02/934244

पदको भोको भएर ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन् : विष्ट

१६ फागुन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने उनको भनाइ छ ।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले भने, ‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन ।’

विष्टले नेकपाको आधिकारिताको पुष्टि आफूहरुतिर रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने पनि बताए । पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै उनले निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने विश्वास व्यक्त गरे । विगतमा पनि निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता दिने गरेको बताए ।



source https://www.onlinekhabar.com/2021/02/934240

धनुषामा युवकको शव फेला

१६ फागुन, जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/02/934238

अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत जाँदै

१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत जाँदै छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् । उनी केहीबेरमा सर्वोच्च पुग्दैछन् ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/02/934206

मंसिरमा चुनाव हुने अवस्था आउन सक्छ : डा. नारायण खड्का

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकारको समीकरणबारे विभिन्न कसरतहरु भइरहेका छन् । यहीबेला अर्को विषय पनि चर्चामा छ- फेरि संसद विघटन हुने र हिउँदमा ‘अर्ली’ चुनाव हुने ।

यदि नेपाली कांग्रेसलाई फाइदा हुने भयो र आगामी भदौमा महाधिवेशन सकियो भने कांग्रेसले मंसिरमा चुनाव गराउने भूमिका खेल्न सक्ने सो पार्टीका नेता डा. नारायण खड्काको स्वीकारोक्ति छ ।

वैचारिकरुपमा शेरबहादुर देउवासँग ‘केमेष्ट्री’ मिल्ने नेताका रुपमा परिचित डा. खड्काले अनलाइनखबरसँग भने, ‘सरकार बनाउने खेलहरु चल्दै जाँदा मंसिरतिर चुनावमा जाने अवस्था आयो भने त्यो पक्षमा कांग्रेस जान सक्छ । किनभने, भदौमा महाधिवेशन गर्छौं  र मंसिरमा चुनाव हुने अवस्था हुन सक्छ ।’

अब संसदमा भोटिङ हुँदा कांग्रेस तटस्थ बस्यो र अरु दलले सरकार बनाउन सकेनन् भने देश चुनावतर्फ जाने खड्काले बताए ।

कांग्रेसलाई प्रचण्ड-माधव समूहसँग भन्दा केपी ओलीसँगै गठबन्धन गर्न सहज हुने खड्का बताउँछन् । तर, केपी ओलीलाई चाहिँ प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने उनले स्पष्ट पारे ।

प्रस्तुत छ- कांग्रेस नेता डा. खड्कासँग समसामयिक राजनीतिमा केन्द्रित रहेर अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश –

यहाँलाई हामी शेरबहादुर देउवासँग नजिकको सम्बन्ध भएका नेताका रुपमा चिन्छौं । तपाईंले देउवाजीलाई नजिकबाट चिन्नुहुन्छ । केपी ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध आन्दोलन भइरहँदा सभापति देउवाचाहिँ ओलीको मतियारजस्तै हुनुभयो भन्ने आरोप लाग्यो । यस्तो हुनुको कारण के हो ? छर्लङ्ग पारिदिनुस् न ।

सबभन्दा पहिला तपाईंलाई एउटा करेक्सन गरिहालौं, शेरबहादुरजी र म सबभन्दा नजिकको साथी नै हो । तर, म कुनै गुटमा छैन । म पार्टीमा पनि ईस्युको मेरिट बेसिसमा बोल्छु । मैले त्यसरी बोल्दा कहिले शेरबहादुरजीले आँखा पल्टाएर हेरिराखेका हुन्छन्, रामचन्द्रजी खुशी हुन्छन् । कहिले रामचन्द्रजीलाई आलोचना गर्दा शेरबहादुरजी खुशी हुन्छन् । त्यसैले मलाई शेरबहादुरको गुटमा लाग्नु पनि छैन, म गुटको पोलिटिक्स गर्दा पनि गर्दिनँ ।

तपाईंले शेरबहादुरजीलाई हेर्नुभन्दा पहिले प्रधानमन्त्री ओलीलाई हेर्नुहोस् । उहाँले आन्तरिक पार्टीको व्यवस्थापन गर्न नसकेको एउटा कुरा भो । तर, पुस ५ गते बिहानै हतार-हतार मन्त्रिपरिषदको बैठक राखेर, मन्त्रीहरु पनि हस्याङ-फस्याङ गरेर आइनपुग्दै जोखिमपूर्ण निर्णय गरेर राष्ट्रपतिकहाँ जाने, त्यो निर्णय कसैले यत्तिकै अँध्यारोमा झटारो हान्दैन । यसमा कुनै कुराहरु मिलाएरै, वर्कआउट गरेरै गरेको हुन्छ ।

यो मेरो अनुमान मात्रै हो, प्रधानमन्त्री ओली कमन सेन्स राख्ने नेता पनि हुन् । प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास दुई/तीन मिनेटको दूरीमा छ । मास्क लगाएर बेलुकातिर को आयो, थाहै हुँदैन । यो एउटा फ्याक्टर हो । अर्को, प्रतिपक्षी दलको नेतालाई पनि केही न केही संकेत हुन सक्छ । त्यो ठाउँमा शेरबहादुरजी, रामचन्द्रजी वा मै भए पनि बाहिर थप्पडी त मार्दैन, तर भित्रभित्रै ल ठीकै छ भन्न सक्छ । यसो गर्दा कांग्रेसलाई पनि फाइदा हुन्छ भनेर प्रतिपक्षसँग पनि कुरा गर्नुभयो होला । मैले होला मात्रै भनेको ।

शेरबहादुरजी र मेरो विचारमा धेरै सामञ्जस्यता हुन्छ । शेरबहादुरजीले धेरै कुराहरु प्रकट नगरिरहँदाखेरि पुसको पहिलो साता बसेको नेपाली कांग्रेसको बैठकमा मैले लामो बोलेको छु । यो – ओलीको कदम) असंवैधानिक हुँदै हो । अलोकतान्त्रिक पनि हो । यसमा कता-कता अधिनायकवादको झल्को पनि आउन सक्छ । त्यसैले यसमा हामीले विरोध गर्ने नै हो । तर, असंवैधानिक हो, होइन भन्ने अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतले नै हो । हामीले बाहिर भन्दाखेरि यो असंवैधानिक कदम मूर्दावाद, यसलाई सच्याउन भन्ने नै हो । तर, यसको अन्तिम व्याख्याता अदालत नै हो । आन्दोलन गरिरहँदा पनि पनि हाम्रो छनोट पुनर्स्थापना नै हो । तर, त्यो आन्दोलन हाम्रो नियन्त्रणभन्दा बाहिर नजाओस् ।

अहिले त संसद पुनर्स्थापना नै भइसक्यो । मानिसहरुलाई चासोचाहिँ केमा छ भने देउवाजी किन यत्तिसाह्रो ओलीजीसँग नरम हुनुभएको ? अध्यादेश, संवैधानिक परिषदको नियुक्ति, सारा कुराहरुमा…

त्यो संवैधानिक नियुक्तिमा पनि अख्तियारमा उहाँले पहिला भनिराखेको एकजना मान्छे आए । त्यतिखेर ती विवादित कुराहरुमा सायद नपठाएको भए राम्रो हुन्थ्यो हामीले बाहिरबाट हर्दाखेरि । तर, व्यक्तिगतरुपमा चाहिँ पुष्पकमल दाहाल, माधव नेपाल र शेरबहादुर देउवाभन्दा पर्सनल केमेष्ट्री चाहिँ ओलीजी र शेरबहादुरजीमा बडो राम्रो केमेष्ट्री पहिलेदेखि नै विकसित भयो । जेलमा बस्दाखेरि र बाहिर अरुबेलामा पनि राति बाह्र बजेसम्म पनि गफ गर्ने, खाने पिउने ।

तर, मैले सुनेअनुसार शेरबहादुरजीको पनि आन्दोलन गर्नुहुँदैन भन्ने थिएन । तर, ठूलो आन्दोलनले भोलि हाम्रो मुख्य मुद्दा र सर्वोच्च अदालतलाई चाहिँ प्रभावित पार्ने गरी गर्नुहुँदैन भन्ने उनको भनाइ हो । रामचन्द्रजी चाहिँ अलि बढी एग्रेसिभ्ली आउनुभयो । त्यसरी शेरबहादुरजी नआएकै हो । उहाँको अलि माइल्ड थियो । शायद उहाँले अन्तिम फैसला सर्वोच्चले नै गर्ने भएकाले हामी एग्रेसिभ्लिी नजाऔं भनेको हुन सक्छ । त्यसैले, हामीले तीन चरणको आन्दोलन गरिसकेपछि पर्खेर हेरौं भन्ने कुरा मात्रै थियो उहाँको ।

संसद् विघटन गर्ने ओलीको कदममा सभापति देउवाको पनि सहमति थियो भन्ने आङ्का गरिएको छ । तपाईंको बुझाइ के छ ?

ओलीले त्यतिकैचाहिँ झटारो नहानेका होलान् । अनुमानका कुरा हुन्, तर ओली कति कन्पिmडेन्सका साथ बोल्ने गर्थे पहिले । फागुन ७ पछि संसद् पुनर्स्थापनाबारे अभिव्यक्ति फेरियो । ईश्वर पोखरेलबाट जे निर्णय आए पनि मान्छौं भन्ने अभिव्यक्ति आयो । ओलीले कहाँ-कहाँबाट आश्वासन पाएका थिए, त्यो सबै गयो । दुई महिना पनि ओलीको कन्पिmडेन्स र निर्णय टिकेन । म पनि ओली पूर्ण विश्वस्त भएरै यो झटारो हानेका होलान् भन्नेमा थिएँ ।

सेटिङ थियो भन्ने तपाईंलाई लाग्छ ?

यतिकै चाहिँ पक्कै गरेका होइनन् । बीचमा यो सबै कुरा बिगि्रयो । त्यसैले मैले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिनुपर्छ भनेको हो । हेर्नस्, ओली शुरुमा संसद् पुनर्स्थापना हुँदैन भन्नेमा थिए । तर, बहस नोट माग्न थालिएपछि उनको अभिव्यक्ति कमजोर हुँदै गयो । पहिले पनि भनेको थिएँ- नेपालको राजनीतिमा दुई तिहाइ त के तीन चौथाइ आए पनि त्यो सन्तुलन बिग्रियो भने जान्छ । अन्तर्राष्ट्रिय, धार्मिक, आर्थिक जुनसुकै सन्तुलन बिग्रिए पनि सत्ता जान्छ । बीपी कोइरालाको राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व र क्षमता कत्रो थियो ? तर, टिकेन । त्यसबेला ओलीले व्यङ्ग्यात्मक हाँसो मात्रै हाँसे ।

सन्तुलन बिग्रिएरै ओली संकटमा परेका हुन् ?निश्चय नै । आन्तरिक र अन्तर पार्टी सन्तुलन खल्बलियो । परराष्ट्र शक्ति सन्तुलन खल्बलियो । चीनको सम्बन्ध नेकपासँग घनिष्ठ हुँदै गएपछि सीमानाको कुरा आयो । कुनै पनि सन्तुलन राम्रो भएन ।

यहाँले भन्नुभएको केपीजी र देउवाजीको ‘पुरानो केमेष्ट्री’ अबचाहिँ काम लाग्छ कि क्या हो ? सरकार बनाउने बेलामा कांग्रेस र ओली समूह मिल्छन् ?

राजनीतिमा सबै सम्भावनाहरु हुन्छन् । बढी सम्भावना त्यो पनि हुन सक्छ । किनभने, जुनबेला हामीले प्रचण्डजीसँग सहकार्य गर्‍यौं, त्यतिबेला सन्तोषजनक सहकार्य हुन सकेन । त्यसैले, भोलिका दिनमा पनि अप्ठ्यारो हुन्छ कि ? ओलीजीले पनि बढी मात्रामा दाहालजीलाई नै दोष दिइरहनुभएको छ । दाहालजीको अलि अस्थिरखालको राजनीतिक व्यवहारले गर्दाखेरि त्यसको झल्को हामीमाथि पनि पर्ने हो कि भन्ने पनि कुराहरु छन् । यद्यपि हाम्रा केही मित्रहरु हुनुहुन्छ, उहाँहरु दाहाल-नेपाल समूहसँगै जानुपर्छ भनिरहनुभएको छ ।

तपाईंचाहिँ ओलीसँगै मिल्नुपर्छ भन्नुहुन्छ या प्रचण्ड-माधवसँग ?

म अलिकति नाफा र घाटामा हेर्नुपर्छ भन्छु । डिल कोसँग हुन्छ । पहिले त आधिकारिक नेकपा को हो, संख्या कोसँग बढी छ । संख्या बढी भएकोसँग स्थायित्व हुन्छ, कम भएकोसँग सम्झौताबाहेक केही हुँदैन । नेकपा दुईटा भएपछि त्यहीअनुसार होला ।

हामीलाई महाधिवेशन गर्नुपर्ने भएकाले चुनावको चाहना छैन । सरकार बनाउने खेलहरु चल्दै जाँदा मंसिरतिर जाने अवस्था आयो भने त्यो पक्षमा कांग्रेस जान सक्छ । किनभने, भदौमा महाधिवेशन गर्छौं र मंसिरमा चुनाव हुने अवस्था हुन सक्छ

संसद् विघटनलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक भन्यो । आन्दोलन गर्‍यो, कार्यकर्ताले कुटाइ खाए । अहिले अदालतले संसद पुनस्थापना गरिदिएको छ । अब फेरि ओलीसँगै सरकारको समीकरण गर्न कांग्रेसलाई कुन नैतिकताले दिन्छ ?

ओलीलाई प्रधानमन्त्री स्वीकार गरेमा त्यो घातक हुन्छ । त्यो सर्वोच्च अदालतको अपमान होला । तर, काँग्रेसको नेतृत्वमा सरकार बन्न पनि सक्छ । या ओली समूहको अरु कोही मान्छे पनि प्रधानमन्त्री त बन्न सक्छन् । ओलीलाई चाहिँ हामी प्रधानमन्त्रीमा कदापि मान्दैनौं । विश्वासको मत दिँदैनौं । संसदमा पनि ओलीलाई विश्वासको मत दिदैनौं । तर, त्यहाँभित्र अरु कोही आउँछ भने त ओलीको छायाँको रुपमा बुझ्दैनौं ।

संसदमा ओलीले विश्वासको मत लिने अवस्था आएमा कांग्रेसले साथ दिँदैन त ?

हामी तटस्थ बस्न पनि सक्छौं । नैतिकरुपले विश्वासको मत दिन सक्दैनौं ।

अनि, प्रचण्ड र माधव नेपालले अविश्वासको प्रस्ताव ल्याउँदा नि ?

त्यहाँ पनि हामी तटस्थ बस्न सक्छौं ।

त्यसो गर्दा त ओलीको प्रधानमन्त्री पद जोगिँदैन ?

ओली आफैंले विश्वासको मत लिन चाहेमा साथ दिदैनौं । प्रचण्ड र माधव समूहको प्रस्तावलाई पनि समर्थन गर्नुपर्छ भन्ने छैन । हामी तटस्थ बस्दा पनि प्रधानमन्त्री बनिरहन सके भने त्यो त उनीहरुको आन्तरिक कुरा भयो नि ।

अविश्वासको प्रस्ताव पारित हुने र नयाँ सरकार बन्ने अवस्थामा हुँदा तपाईंहरु जसले धेरै पद दिन्छ, उतै जानुहुन्छ ?

जोसँग सहज महशुस गर्छौं , उहीसँग सहकार्य गर्छौं । दुई वर्षसम्म झगडा नगरी चुनावसम्म पुग्ने सहकार्य खोज्छौं । तर, पावर सेयरिङमा दुई वर्षसम्म तिमी नै प्रधानमन्त्री खाऊ भन्ने व्यवहारिक हुँदैन । सायद, एक/एक वर्षको आलोपालो हुन सक्छ । तिमी नै खाउ हामी सहयोग गर्छौं भन्दैनौं ।

उसोभए ओली समूहसँगै काँग्रेसले सहज महशुस गरिरहेको छ ?

त्योचाहिँ डिलमा भर पर्छ । यद्यपि, दाहालसँग अलि बिच्केका छौं । उहाँसँग चुनाव अगाडिको सहकार्यमा हामीले साथ पाएका थिएनौं । त्योबेला सरकारमा पनि बस्ने, राजीनामा नगर्ने, सरकारलाई असहयोग गर्ने र एमालेसँग गठबन्धन गर्ने काम उहाँले गर्नुभयो । यसले फेरि अर्को झमेला दाहालले गर्छन् कि भन्ने डर चाहिँ छ ।

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताप्रति जस्तो संघर्ष गरेको छ । तपाईंको कुरा सुन्दा त लाभको पदमा बार्गेनिङ गर्ने पार्टी मात्रै हो कि जस्तो हुन्न र ?

पार्टीको निःशुल्क सेवा गर्न खोलिएको दोकान होइन । दुईजना भए पनि सत्तामा लैजाने उद्देश्य नै हुन्छ । सत्तामा जाने कुरामा कुनै दलको कुरै हुँदैन । कुनै दल निःशुल्क सेवा गर्न खोलिएको हुँदैन । कसरी सत्तामा जान्छ भन्ने मात्रै हो ।

तर, अहिले चलिरहेको राजनीतिक रस्साकस्सीमा राजनैतिक नैतिकताको कुरा कतै छैन ?

नैतिकताको कुरा आउँछ । जस्तो- ओलीलाई स्वीकार्न सकिन्नँ । तर, ओलीबाहेक अरु आउन त सक्छन् । सबैलाई प्रश्न गर्न सकिँदैन । ओलीले गरेको निर्णयमा त मन्त्रीहरुले पनि विरोध गरेका थिए नि । त्यसैले ओली बाहेकका व्यक्तिलाई त स्वीकार्न गाह्रो मान्न हुन्न ।

तपाईंहरु अहिलेसम्म प्रतिपक्षी दल हो, नेकपा फुटे पनि कांग्रेस त तेस्रो दल नै हुने होला । तेस्रो नै भए पनि कांग्रेसले अहिले प्रधानमन्त्री ताकेको हो ? कि अरुको नेतृत्वमा सरकारमा जान तयार हो ?

अब प्रचण्डजी र माधव नेपालजी ढोका ढक-ढक गरेर भित्र को हुनुहुन्छ भन्दै शेरबहादुरजीको घरमा छिर्नुभयो । आन्दोलन चलिरहँदाखेरि पनि उहाँहरुले प्रधानमन्त्रीको अफर गर्नुभयो । ओलीजीबाट प्रत्यक्ष अफर मैले सुनेको छैन । भित्रभित्र के छ, मलाई थाहा छैन । त्यसैले मलाई के लाग्छ भने सबैभन्दा पहिले आधिकारिक नेकपा को हो, संख्या के हो, हामीले आधिकारिक डिल कोसँग गर्छौं, प्रधानमन्त्रीको दुई वर्षको कार्यकाल छ, त्यसलाई हामी कसरी लान्छौं, यी सबै कुराहरुको हिसाब-किताब गर्दाखेरि हाम्रो पार्टीलाई जोसँग बढी फाइदा हुन्छ, त्यतातिर हामी जानुपर्छ भन्ने कुरा छ ।

तथापि व्यक्तिगतरुपमा भन्दाखेरि म संसदीय प्रणालीमा विश्वास राख्छु । संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएर हामीले गल्ती गर्‍यौं । म त प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकारसहितको संविधान संशोधन प्रस्ताव ल्याउनुपर्छ । पार्टी विभाजन गर्न ४० प्रतिशत पहिले छँदै थियो । तर, केन्द्रीय कार्य समितिमा पनि ४० प्रतिशत चाहिने थप्यौं, यो अनावश्यक थियो । त्यसलाई सच्याएर पार्टी विभाजन गर्न पाउनुपर्छ ।

उसोभए वैशाखमा प्रधानमन्त्रीले ल्याएको पार्टी फुटाउने अध्यादेश फेरि आउनुपर्छ ?

दलहरुलाई संविधानले बाँध्ने होइन, कानूनले बाँध्नुपर्ने हो । जस्तो- पाँच वर्षमा महाधिवेशन गर्नैपर्ने, कार्यकारी चुनिएको निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने कानूनमा व्यवस्था हुनुपर्ने हो । तर, संविधानमा राख्यौं । विगतको अनुभव हेरेर हामीले त्यसो गर्यौ । तर, राजनीति त्यसरी नजाने रहेछ । दुई तिहाइ आयो, त्यसरी पनि चलेन । मेरो बुझाइमा संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको भएदेखि अहिले नेकपालाई फाइदा हुन्थ्यो । किनभने, प्रचण्ड-माधव समूहले सम्झौता गर्थ्यो । ओलीले जुनसुकैबेला विघटन गर्लान् भन्ने डर हुन्थ्यो ।

तपाईं प्रधानमन्त्रीले जतिखेर चाहृयो, त्यतिबेला संसद् विघटन गर्न पाउनुपर्छ भन्ने पक्षमा हो ?

राजनीति त हामीले सोचेजसरी जाँदैन नेपालमा ।

तपाईंको विचारमा संसद विघटन गरेर प्रधानमन्त्री ओलीले सही काम गरेका हुन् त ?

संविधानमा अधिकार नभएकाले असंवैधानिक भयो । तर, संविधानमै राख्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो, म । किनभने, अहिले बिस्फोट त भयो नि । संविधानमा अधिकार भएको भए कम्प्रोमाइज हुन्थ्यो नि ।

यो तपाईंको व्यक्तिगत विचार हो कि काँग्रेसको ?

मेरो हो । मैले पार्टीमा पनि राखेको छु ।

त्यसोभए अब संसदलाई सरकार बनाउन नसक्ने बनाइदिने अनि चुनावमा जाने हो ? कांग्रेसले अब त्यही भूमिका खेल्छ ?

(हाँस्दै) त्यो बारेमा न शेरबहादुरले हामीलाई शेयर गर्नुहुन्छ, न ओलीसँग भेटघाट भएको छ । तर, राजनीति ओपन मञ्च हो । अनेक खेल हुन्छ । पछि हामीले कतै पनि जाँदैनौं भन्न सक्छौं । त्यो अवस्थामा चुनावमा जाने अवस्था पनि हुन्छ । किनभने, हामीबिना सरकार बन्दैन । प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । जसपालाई मात्रै लिएर मात्रै कुनै पक्षले सरकार बनाउन सक्दैन ।

तर, हामीलाई महाधिवेशन गर्नुपर्ने भएकाले चुनावको चाहना छैन । सरकार बनाउने खेलहरु चल्दै जाँदा मंसिरतिर जाने अवस्था आयो भने त्यो पक्षमा कांग्रेस जान सक्छ । किनभने, भदौमा महाधिवेशन गर्छौं र मंसिरमा चुनाव हुने अवस्था हुन सक्छ ।

के त्यसो गर्दा कांग्रेसलाई फाइदा हुन्छ ?

छलफल गरेका छैनौं। तर, फाइदा भयो भने गर्छौं पनि । लुकाउने कुरै छैन । फाइदाको राजनीति जसले पनि गर्छ । पहिलो त नेकपा विधिवत फुटेको छैन, यी सबै काल्पनिक कुरा हुन् ।



source https://www.onlinekhabar.com/2021/02/934227

प्युठान अस्पतालको ‘लापरबाही’ले सुत्केरीको मृत्यु

१६ फागुन, प्युठान । प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् ।

शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो । शिशु (छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृतकका श्रीमान सुदन थापाले बताए ।
उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको थापाको भनाइ छ ।

अनिसाको शवलाई प्युठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन समेत गरिएको छ ।



source https://www.onlinekhabar.com/2021/02/934226

निर्वाचन आयोग : संवैधानिक भूमिकाबाट च्युत हुँदै

१६ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संवैधानिक संकटको खतरा टरेको छ । तर, राजनैतिक संकट भने कायमै छ । अहिलेको यो राजनैतिक संकट निर्वाचन आयोगको अनिर्णयका कारणले निम्तिएको हो ।

निर्वाचन आयोगले गत ११ माघमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो । जब कि नेकपा औपचारिकरुपमै विभाजित भइसकेको छ र व्यवहारिकरुपमै दुई पार्टी प्रतिस्पर्धात्मक अभ्यासमा छन् । तर, आयोगको अभिलेख र निर्णयअनुसार भने नेकपा एउटै छ । संसदमा ६४ प्रतिशत सांसद रहेको दल वैधानिक रुपमा एउटै, तर व्यवहारिक रुपमा विभाजित भएकै कारण राजनैतिक संकट झनै गहिरिँदै गएको छ ।

संसद विघटनकै कारण विभाजित भएको नेकपामा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने अवस्था देखिन्न । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह नयाँ प्रधानमन्त्री बनाउने दौडधुपमा ११ फागुनबाटै लागेको छ । तर, सम्भव भइरहेको छैन । आफूलाई संसदीय दलको नेताबाट हटाउने सम्भावना देखेरै ओलीले भने प्रमुख सचेतक नै फेरि सकेका छन् । देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई उक्त जिम्मेवारी दिइएपछि अब संसदीय मोर्चाको पदाधिकारीमा प्रचण्ड-माधव समूह शून्य भएको छ । यसले राजनीतिक निकास दिन थप जटिलता सिर्जना गरेको छ ।

राष्ट्रियसभा सदस्य एवं नेकपा प्रचण्ड-माधव समूहका नेता रामनारायण बिडारी अहिलेको राजनैतिक संकटको प्रमुख कारण नै निर्वाचन आयोगको अनिर्णयलाई मान्छन् । ‘व्यवहारमा त विभक्त छौं, तर निर्वाचन आयोगले एउटै पार्टी भनिरहेको छ । जबसम्म निर्वाचन आयोगले एउटै पार्टी भन्छ, तबसम्म प्रतिनिधिसभामा एउटै पार्टीको मान्यता हुन्छ । अहिलेको प्रमुख समस्या यही हो’, उनी भन्छन् ।

तर, आयोग भने यो राजनैतिक संकटमा रमिते बनेर बसेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, नेकपा विवाद हल गर्नेबारे कुनै काम नभएको स्वीकार्छन् । ‘केही भएकै छैन, जस्ताको त्यस्तै छ । निर्णय भएकै छैन’, थपलिया भन्छन् ।

प्रमुख आयुक्त थपलियाका अनुसार, ११ माघपछि नेकपा विवाद हल गर्न आयोगले थप कुनै प्रक्रिया अगाडि बढाएको छैन । नेकपाको विधानको केही व्यवस्था बाहेक संविधान र दलसम्बन्धी कानुनसमेत नपढी गरिएको ११ माघको निर्णयपछिको एक महिनामा फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनस्र्थापनाकै फैसला गरिसकेको छ ।
संविधान, कानून र नेकपा विधानको व्यवस्था नहेरी ‘ओलीको दबाव’बाट निर्णय लिइएको भन्दै प्रचण्ड-माधव समूहले दल विभाजनसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार, २० माघमै निर्वाचन आयोगमा पत्र दर्ता गरेको छ । तर, यो निवेदनबारे आयोगले प्रक्रिया बढाएको छैन ।

आयोगको यो अनिर्णय देखेर पूर्वनिर्वाचन आयुक्तहरु नै चकित छन् । आयोगले संविधान, कानून र दलको विधान हेरेर पहिले निर्णय नलिनुले थप जटिलता देखिएको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । ‘दुई अध्यक्ष दुईतिर बसे पनि एउटातिर बहुमत थियो भन्ने कुरालाई सिद्ध गर भन्नेतिर आयोग प्रवेश गरेको भए हुने थियो’ उतनी भन्छन्, ‘त्यसरी प्रवेश गर्न मानेन, बुझेन अथवा चाहेन । आयोगलाई सोध्नुपर्ने कुरा हो, यो ।’

आयोगले पुस ५ यताको निर्णय अमान्य हुने भनेर दल विभाजनलाई मान्यता दिएको छैन । तर, प्रचण्ड-माधव समूहले ओलीलाई दलको नेता, पार्टी अध्यक्ष, सांसद मात्रै नभएर साधारण सदस्यबाट समेत हटाउने निर्णय आयोगमा बुझाइसकेको छ । विभाजन अगाडिको ४४१ मध्ये दुई तिहाइ बढी सदस्य भएकाले यो निर्णयले वैधानिकता पाउनुपर्ने दावी गरिरहेकै छ ।

अर्कातिर ओली समूहले पनि प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएर ओली प्रथम अध्यक्ष बनेको र त्यही हैसियतमा केन्द्रीय कमिटी संख्या विस्तार गरेर १५०१ पुर्‍याउने र त्यसलाई अनुमोदन गर्न दलको विधान संशोधन गरिएको निर्णय आयोगमा बुझाएको छ ।

तर, आयोगले भने नेकपाको बैठक बोलाउन दुई अध्यक्षको परामर्श हुनुपर्ने र महासचिवले बोलाएको बैठक मात्रै वैधानिक हुने निष्कर्ष निकाल्दै दुवै समूहको दावी अस्वीकार गरेको छ ।

एक पूर्वआयुक्त भने नेकपा विधानको कुनै हरफलाई मात्रै आधार नमानेर त्यो भन्दा माथिका कानून बेवास्ता गरिनु नै अनौठो भएको बताउँछन् । ‘आयोगले मिल्न दबाव दिने भनेको पनि कानूनी प्रक्रियाबाटै हो, अनिर्णय बनाउने होइन’, ती पूर्वआयुक्त भन्छन् ।

छापामार शैलीमा मिलाइएको अर्को विवाद

नेकपा विवाद शुरु भएको तीन दिनपछि मात्र निर्वाचन आयोगले नेकपाकै जस्तो अर्को एउटा विवाद हल गरेको नजिर निर्वाचन आयोगमा छ । पूर्वलडाकूहरुको माओवादी जनमुक्ति पार्टीले अध्यक्ष रामबहादुर गुरुङलाई हटाएर नयाँ अध्यक्ष बनाइएको निर्णय आयोगमा बुझाएको थियो । २३ सदस्यीय केन्द्रीय कमिटीमध्ये १७ जनाले हस्ताक्षर गरेर अध्यक्ष हटाइएको भन्दै अभिलेखीकरणको निवेदन पर्‍यो । आयोगले हटाउन मिल्दैन भनेन । बरू, विवाद निरुपणतिर लाग्यो ।

सबै केन्द्रीय सदस्यहरुलाई आयोगमा बोलाएर हटाउने वा नहटाउने पक्षमा हस्ताक्षर गर्न लगायो । गुरुङलाई अध्यक्षबाट हटाउने निर्णयमा पहिले १७ जनाको हस्ताक्षर थियो, तर पछि १२ जनाले मात्रै आयोग सामुन्ने हस्ताक्षर गरे । गुरुङको पक्षमा ८ जना उभिए भने बाँकी तटस्थ रहे । अध्यक्ष हटाउने पक्षमा २३ सदस्यीय केन्द्रीय कमिटीको बहुमत नपुगेकाले गुरुङको पद कायमै रहृयो ।

बितेका दुई महिनामा आयोगले ठीक उल्टो काम गर्‍यो । सर्वोच्च अदालतमा संसद् विघटन विरुद्धको मुद्दा विचाराधीन रहँदा निर्वाचनको काममा तदारुकता देखायो

उक्त विवाद हल गर्ने प्रक्रियामा सामेल आयोगका एक अधिकारी, दलसम्बन्धी ऐनका आधारमा त्यो निर्णय लिइएको बताउँछन् । उनी भन्छन्, ‘विवाद देखिइसकेपछि आयोगले हेर्ने भनेकै बहुमत हो, विगतको नजीर पनि यही हो ।’

कतिपयले भने नेकपा विवाद निरुपणमा आयोगको विलम्बलाई सर्वोच्चको फैसलासँग जोडेर हेर्छन् । तर, फैसला कुर्नुपर्ने आश्यकता नभएको पूर्वप्रमुख आयुक्त उप्रेती बताउँछन् । उनी भन्छन्, ‘नेकपा विवाद हल गर्न आयोगले सर्वोच्च अदालतको फैसला पर्खिनुपर्ने अवस्था थिएन । त्यो कुर्नेतिर लाग्दा झनै समस्या बढेर गएको देख्छु ।’

आयोगको अनिर्णयप्रति असन्तुष्ट प्रचण्ड-माधव समूहका नेता राजेन्द्र पाण्डे, आयोगले राजनैतिक संकट लम्ब्याउनु दुर्भाग्य भएको बताउँछन् । उनी भन्छन्, ‘आयोगले अदालतकै फैसला कुरेको हो भने त्यो पनि त्यो आइसक्यो, अब ढिलाइ गरिनु हुन्न ।’

अर्थात्, बितेका दुई महिनामा आयोगले ठीक उल्टो काम गर्‍यो । सर्वोच्च अदालतमा संसद् विघटन विरुद्धको मुद्दा विचाराधीन रहँदा निर्वाचनको काममा तदारुकता देखायो । जबकि अदालतमा विचाराधीन मुद्दाबारे आयोगले विचार गर्न सक्थ्यो । तर, त्यसो नगरी सरकारसँग ७ करोड बजेट मागेर चुनावी गतिविधिलाई तीव्र बनाएको थियो । अहिले निर्वाचनको च्याप्टर नै क्लोज भएको छ । राष्ट्रिय ढुकुटीको करोडौं रुपैयाँ चुनावको तयारीका नाममा खर्च भएको छ ।

आशंकाको श्रृङ्खला 

निर्वाचन आयोगले नेकपा विवाद निरुपण र निर्वाचनको तयारीको उल्टो तदारुकता देखाएर मात्रै नभएर अन्य थुप्रै कदम चालेको छ, जसप्रति प्रचण्ड-माधव समूहले आशंका गर्दै आएको छ । जस्तो- संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर रिक्त पदाधिकारी नियुक्त गर्ने कदमबाटै यो समूह प्रधानमन्त्रीको सेटिङमा आयोग चलेको आशंका गरेको थियो ।

संसदीय सुनुवाई नै नगरी नियुक्त भएका आयुक्त रामप्रसाद भण्डारीलाई दल विवाद हेर्ने महत्वपूर्ण जिम्मेवारी दिइयो । यसपछि त प्रचण्ड-माधव समूहका नेताहरुले खुलेरै आयोगलाई आरोप लगाउँदै आएका छन् । गएको २१ माघमा शपथ लिएका भण्डारीलाई पाँच दिनपछि यो जिम्मेवारी दिइएको थियो । आयोगले गर्ने दुई महत्वपूर्ण काम (निर्वाचन गराउने र दल व्यवस्थापन गर्ने) मध्ये यो एक महत्वपूर्ण काम हो ।

तत्काल नेकपा विवाद हेर्न पाउनेगरी नवनियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएका प्रमुख आयुक्त थपलियाले अरु पनि त्यस्ता काम गरेका छन्, जसले आशंका बढाउन मद्दत गरेको छ । कतिसम्म भने देखिने गरी अल्पमतमा रहेका ओलीलाई अनुकुल हुने निर्णय गराएका प्रमुख आयुक्त थपलिया संवैधानिक निकायको प्रमुखको हैसियतमा समेत नरहेको जस्तो देखिएको प्रचण्ड-माधव समूहका नेताहरुले आरोप लगाउने गरेका छन् ।

सूर्य चिन्ह र नेकपाको वैधानिकता दाबी गर्न निर्वाचन आयोग पुगेका ओलीसहितको ‘सिटिङ अर्डर’ पछि त झनै थपलियाको आलोचना भयो । २७ माघमा आयोग पुगेका ओली हटसिटमा बसे भने प्रमुख आयुक्तसहित पदाधिकारीहरु दायाँतिरको लहरमा बसे । ओलीसँगै गएका मन्त्रीहरु बायाँ लहरमा बसेका थिए । जब कि संवैधानिक निकायका प्रमुखले कार्यकारी प्रमुखलाई निर्देशन दिने हैसियत हुन्छ ।

यसअघि पनि आयोगको गतिविधि र निर्णय शङ्कास्पद रहेको थियो । जस्तो- नेकपाका दुवै समूहलाई दल विभाजनको दावी पेश गर्न पठाइएको पत्र तयार पार्ने राजनीतिक दल महाशाखाका सहसचिव लक्ष्मी गौतमको सरुवा । गौतमले दल विभाजनका लागि आवश्यक प्रमाण पुग्नेगरी पत्र तयार पारेकै कारण २८ पुसमा सरुवा गरियो ।

आयोगको महत्वपूर्ण महाशाखाका प्रमुख गौतमलाई कानून आयोगमा तानिनुलाई चासोका साथ हेरिएको थियो । पुस १७ मा प्रचण्ड-माधव समूहलाई दल विभाजनको दावी गर्न पत्र लेख्ने र ओली समूहलाई भने जानकारी पत्र दिइनुले पनि आयोगमाथि प्रश्न उठाइएको थियो ।

यसरी एकपछि अर्को आशंका गर्ने ठाउँ दिएको आयोगले नेकपा विवादलाई निरुपण गर्ने तदतारुकता नदेखाउँदा मुलुक राजनैतिक संकटतिर उन्मुख भएको छ । ‘वैधानिकताको माग दावी कानूनअनुसार पेश भएपछि त्यसको निरुपणतिर लाग्नु पर्ने हो, तर आयोगले त्यो काम गरेको छैन’, पाण्डे भन्छन् ।

आयोगको ११ माघको निर्णयप्रति ओली समूह भने सन्तुष्ट नै छ । यो समूहका नेताहरुले एकीकृत पार्टीकै पक्षमा आयोगले गरेको निर्णयलाई अब चलाउन हुन्न भन्ने अडान लिँदै आएका छन् ।

थपिँदै जलिटलता

तर, आयोगको विलम्बकै कारण राष्ट्रिय राजनीति मात्रै नभएर नेकपा विभाजनको जटिलता पनि बढेको छ । ‘पहिले केन्द्रीय कमिटीको संख्या मात्रै हेरे पुग्थ्यो, अब भने संसदको संख्या पनि हेर्नुपर्ने भएको छ’, पूर्वप्रमुख आयुक्त उप्रेती भन्छन् । आयोगसँगै कानूनअनुसार संवैधानिक भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउँदै उप्रेती भन्छन्, ‘नेकपा मिल्नु नै सबैभन्दा राम्रो हो, तर मिल्न सक्दैनन् भने निकास दिनुपर्छ ।’

आयोगमा नेकपाका दुई समूहको विवाद रहेकै बेला फेरि अर्को विवाद पनि सतहमा आएको छ । विहीबार मात्रै सर्वोच्च अदालतमा नेकपाको नाम विवादसम्बन्धी परेको मुद्दाको फैसला मिति तय गरिएको छ । एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको विवाद टुंगिएको थिएन ।

आयोगले कोष्ठमा नेकपा लेख्नेगरी ओली र प्रचण्डलाई नाम दिए पनि ऋषिराम कट्टेलले आफ्नो दलसँग मिल्ने नाम राख्न नहुने भन्दै उजुरी दिएका थिए । आयोगले त्यो उजुरी पन्छाएपछि कट्टेलले सर्वोच्चमा दिएको रिटको सुनुवाई गर्दै २० फागुनमा फैसलाको मिति तय भएको छ । अर्थात्, आयोगबाट भएको अनिर्णयले थप एकपछि अर्को राजनीतिक संकट थपिँदै गएको छ ।



source https://www.onlinekhabar.com/2021/02/934223

गुल्मीको मालिकामा प्याराग्लाइडिङ महोत्सव

१६ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो ।

यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने उदेश्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्याराग्लाइडिङ महोत्सव गरिएको छ ।

मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म चल्नेछ ।

मालिका गाउँपालिकाको वडानम्बर-४ को देउराली डाँडाबाट हुने उडानबाट मालिका गाउँपालिकासँगै मदाने लेक र अन्य यस क्षेत्रका पर्यटिकय संगै धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले प्याराग्लाइडिङ्गलाई निरन्तर संचालन गर्ने गाउँपालिका मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए ।

यहाँका युवाहरुलाई अब गाउँपालिकाले प्याराग्लाइडिङ्गको माध्यमबाट रोजगारको व्यवस्था गर्न सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ छ ।

प्याराग्लाइडिङ्गमार्फत गाउँपालिकामा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा लिएको छ । स्थानीयहरुले गाउँपालिकाले गाउँमा प्याराग्लाइडिङ्ग संचालन गरेकोमा खुशी व्यक्त गरेका थिए ।

उनीहरुले महोत्सवमा मात्र नभइ यस कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई अनुरोध गरेका छन् । याराग्लाइडिङको शुल्कप्रति व्यक्ति दुई हजार तोकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाउँपालिकाले केही समयअघि देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/02/934221

कहाँ पुग्यो सडकमै आपतकालीन धावनमार्ग बनाउने सरकारी योजना ?

१६ फागुन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वाषिर्क नीति तथा कार्यक्रममा एउटा अनौठो योजना घोषणा भयो, ‘राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रुपमा विस्तार गरिनेछ ।’

बजेट भाषण आउनुअघि नै विज्ञ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले यो योजनालाई हावादारी, अनावश्यक र असम्भव भनिसकेका थिए । फेरि बजेट भाषणमा यो योजना घुसाइयो र बनाउने अठोट लिइयो ।

तर, अहिलेसम्म सरकारले कुन राजमार्गको कुन ठाउँमा यस्तो धावनमार्ग बनाउने भनेर तय गर्न सकेको छैन । बजेटपछि सडक विभागलाई यस्तो पूर्वाधार बनाउनेबारे अध्ययन गर्न भनिएको थियो ।

यस्तो योजनाबारे न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भएको थियो न भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग नै । हवाई दुर्घटना कम गर्ने उपाय भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यो योजना घोषणा भएको थियो ।

‘प्रारम्भिक अध्ययन भइसक्यो’

राजमार्गमा आपतकालीन प्रयोजनको धावनमार्ग बनाउने योजना कार्यान्वयनका लागि विभागले प्रारम्भिक अध्ययन गरिसकेको विभागका पूर्वमहानिर्देशक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता महाशाखा प्रमुख केशवकुमार शर्माले बताए । यो प्रतिवेदन अहिले सडक विभागको दराजमा थन्किएर बसेको छ ।

सडक विभागले यो योजनामा अध्ययन गर्न नै चाहेको थिएन । तर, बजेटमा घोषणा भएकाले झारा टार्न मात्रै सो अध्ययन गरिएको थियो । स्रोतका अनुसार सो रिपोर्टमा पथलैया-जनकपुर र बुटवल-नारायणगढ खण्डमा यस्तो धावनमार्ग बनाउन सकिने उल्लेख छ ।

तर, यस्तो निष्कर्ष कुनै प्राविधिक अध्ययन, नापजाँच, विज्ञको सल्लाह अनुसार नभएर सडकको बनोट, भूगोललाई आधार मानेर अनुमानका आधारमा मात्रै निकालिएको हो ।
‘माथिबाट चासो व्यक्त भएमा सम्भावना के छ भनेर देखाउन मात्रै सानो प्रतिवेदन तयार भएको हो,’ विभागका एक अधिकारीले भने, ‘न यस्तो योजना आवश्यक छ, न यो कार्यान्वयन गर्न सकिने खालको नै हो ।’

प्रतिवेदनमा नेपालगञ्ज-कोहलपुर, बेलहिया-बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ र ४ लेनमा विस्तार भएका र हुँदै गरेका सडकहरुमा यस्तो धावनमार्ग बनाउन सकिने/नसकिनेबारे विश्लेषण गरिएको उनले बताए ।

‘६ लेनको सडकलाई ३ किलोमिटरभन्दा बढी खण्ड सम्पूर्ण रुपमा खाली राख्दा मात्रै यस्तो धावनमार्ग बन्न सक्छ,’ ती अधिकारी भन्छन्, ‘सडक बीचको डिभाइडर -मेडियन), छेउको पोल र वरपर प्रसरणलाइन हटाउनुपर्ने भएकाले सहजै त्यस्तो पूर्वाधार बन्दैन ।’

तर, सरकारले जसरी पनि बनाउने अडान राखेमा विभागले बुटवल-नारायणगढ र पथलैया-जनकपुर खण्डमा कतै यस्तो पूर्वाधार बनाउन सक्ने उनले बताए ।

उनका अनुसार पहाडी र हिमाली क्षेत्रमा भने सडकमा यस्तो पूर्वाधार बनाउनै सकिँदैन । तराईमा राजमार्गका आसपासमा दर्जनौं विमानस्थल रहेकाले आवश्यक नै भए/नभएको निर्क्यौल गर्न नसकिएको विभागको भनाइ छ । तराई क्षेत्रमा आपतकालीन अवतरण गर्नुपर्ने भएमा विमानसँग थुप्रै सहज विकल्पहरु रहेको विभागको निष्कर्ष छ ।

यसले गर्दा सडकको उपयोग धावनमार्गका रुपमा गर्ने/नगर्ने भन्ने गहन प्राविधिक विषय भएकाले उड्डयन विज्ञले मात्रे यसबारे बताउन सक्ने विभागको निचोड छ ।

अझ ठूला विमान अवतरण गराउन दैनिक प्रयोग भइरहेको सडकको क्षमताले धान्छ कि धान्दैन भन्ने विषय पनि सम्वेदनशील छ । ‘हाम्रो सडकले विमानको अवतरण गर्दा उत्पन्न हुने चाप थेग्न सक्छ कि सक्दैन भन्ने सवाल पेचिलो छ,’ विभागका अधिकारी भन्छन्, ‘यदि चाप थेग्ने गरी धावनमार्ग बनाइयो भने पनि बर्सेनि मर्मतसम्भारमा ठूलो रकम खर्चिनुपर्छ ।’

यो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले सुरुबाटै प्रश्न उठाइरहेका थिए । नेपालमा एयरपोर्ट र धावनमार्गको निर्माण हेर्ने निकाय नेपाल उड्डयन प्राधिकरण प्राधिकरणसँग यस्तो योजनाबारे हालसम्म सरकारले कुनै छलफल नै गरेको छैन ।

यस्तो सम्वेदनशील विषयमा सडक विभागलाई जिम्मा दिएर काम गर्न खोजिएकोमा उसको असन्तुष्टि पनि छ । यस्तो योजना आवश्यक नै नभए पनि सरकारले चाहँदा प्राधिकरण र सडक विभाग मिलेर नै यसको प्राविधिक अध्ययन गर्नुपर्ने विभागका एक अधिकारी बताउँछन् ।

विज्ञ भन्छन्- असम्भवप्रायः

जानकारहरुका अनुसार व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने -हाई-वे स्टि्रप) अभ्यास विश्वमा कतै छैन । आपतकालीन अवस्थामा भने विमानहरु राजमार्गमा अवतरण गरिएका केही उदाहरणहरु छन् । पूर्वसचिव तथा तत्कालीन हवाई विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम राजमार्गमा व्यवसायिक विमानहरु अवतरण गराउन सम्भव नहुने बताउँछन् ।

‘हाम्रा सडकको दायाँबायाँ बिजुलीका पोलहरु हुन्छन्, सडक पेटी हुन्छन्, सँगै रुखहरु हुन्छन्,’ गौतम भन्छन्, ‘विमान अवतरण गराउने कुरा धेरै संवेदनशील हो । राजमार्गलाई धावनमार्ग जस्तै बनाउने योजना ज्यादै खर्चिलो र प्राविधिक हिसावले असम्भव जस्तै हुन्छ ।’

विमान अवतरणको विषय हलुका ढंगको नहुने उनले बताए । अवतरणका लागि भनेर तोकेर निर्माण गरिने सडकलाई आपतकालमै खाली गराउन कठिन हुने उनको भनाइ छ ।

‘विमानलाई आपत परेको सडकमा कसरी खाली हुन्छ ?’ उनले भने, ‘यस्तो पूर्वाधार बन्यो नै भनेपनि आपतमा विमान अवतरण गर्दा अरु सवारीसँग ठोक्किने सम्भावनालाई नकार्न मिल्दैन ।’

यो पनि पढ्नुहोस ‘सडकमै विमान ओराल्ने’ कार्यक्रम सुनेर विज्ञ चकित !

विज्ञका अनुसार राजमार्गमा विमान अवतरण गराउने काम सजिलो हुँदैन । आपतकालीन अवतरण गराउनुअघि राजमार्ग मात्रै होइन, आकाश पनि खाली गर्नुपर्छ । यात्रु लिएर उडिरहेको विमानले आपतकालीन अवतरण गर्नु परे झनै बढी संवेदनशील हुनुपर्छ ।

सुरक्षा संवेदनशीता भएका अन्य देशले सैन्य तथा लडाकू विमान अवतरणका लागि यस्तो अभ्यास गरेका छन् । सैन्य प्रयोजनका लागि विभिन्न शक्ति राष्ट्रहरूले राजमार्गलाई धावनमार्ग बनाएका छन् । उनीहरुले युद्धका समयमा रणनीतिक हिसावले संवेदनशील क्षेत्रमा सेना र सैन्य सामग्री पुर्‍याउने उद्देश्सहित यस्तो धावनमार्ग बनाएका हुन् ।

सैन्य विमानमा आपकालीन अवतरण गर्न सहज हुने खालका प्रविधि र विशेषता हुन्छन् । तर, व्यवसायिक रुपमा उडान भर्ने विमानलाई आपकालमै पनि सडकमा ओराल्ने विषय सरकारले सोचेजस्तो सरल नभएको उड्डययन प्राधिकरणका अधिकारीहरु नै बताउँछन् ।

राजमार्गलाई धावनमार्ग बनाउँदा कत्रो आकारसम्मको जहाज अवतरण गर्न मिल्ने हो भन्नेदेखि सुरक्षा लगायतका धेरै कुरामा ध्यान दिनुपर्छ । हाल विश्वमा सेनाका साना विमान अवतरण गर्न सक्ने गरी मात्र राजमार्गमा धावनमार्ग विकास भएका छन् । थुप्रै यात्रु बोकेर उडेको विमान राजमार्गमा अवतरणका क्रममा दुर्घटना भए, त्यसले झन ठूलो क्षति गराउने उड्डयन अधिकारीहरु बताउँछन् ।

विदेशमा सैन्य प्रचलन मात्रै

अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने दोस्रो विश्वयुद्धको अन्त्यतिर जर्मनीमा यसको पहिलोपटक प्रयोग भएको मानिन्छ । दोस्रो विश्वयुद्धपछि सोभियत युनियन र संयुक्त राज्य अमेरिकाबीच शीतयुद्धका बखत सोभियत युनियनको पक्ष तथा विपक्ष दुबैतिरका विभिन्न युरोपेली मुलुकमा हाइवे स्टि्रपको अभ्यास भयो ।

हालसम्म सिंगापुर, उत्तर कोरिया, ताइवान, स्विडेन, फिनल्यान्ड, बुल्गेरिया, स्विजरल्यान्ड, पोल्यान्ड मात्र नभएर भारत, श्रीङ्का र पाकिस्तानमा समेत यस्तो प्रविधिको प्रयोग भइसकेको छ ।

भारतले उत्तर प्रदेशको यमुना एक्सप्रेस-वेमा सन् २०१५ मा यसको सफल परीक्षण गरेको थियो । सन् २०१६ मा भारतका यातायात मन्त्री नीतिन गड्करीले अब यो प्रविधिलाई व्यावसायिक स्तरमा अन्यत्र पनि विस्तार गरिने बताएका थिए ।

श्रीलंकामा सन् २००९मा गृहयुद्ध समाप्त हुनु अगाडिसम्म तमिल विद्रोहीले सडकलाई धावनमार्गको रुपमा प्रयोग गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/02/934218

बिमाले धानिएको अस्पताल

१६ फागुन, चितवन । रत्ननगरस्थित बकुलहर अस्पतालको गेट नजिकै घर भएका प्रताप डल्लाकोटी अस्पतालमा बिरामीको चाप बढेको देखेर छक्क पर्छन् । एक वर्षअघिसम्म सुनसान हुने अस्पतालमा अहिले विरामीको चाप थेगिनसक्नु छ । यसलाई उनी अस्पतालप्रति जनताको विश्वास बढेको भनेर बुझेका छन् ।

‘केही वर्षअघिसम्म यतिका धेरै विरामी आउँथेनन्, केही आउथेँ दिनभर जस्तो सुनसान नै हुन्थ्यो, तर अहिले अस्पतालको ओपीडी, फार्मेसी, ल्याव जहाँसुकै बिरामीको भिड देख्छु,’ डल्लाकोटी भन्छन्, ‘अस्पतालप्रति जनताको विश्वास जागेको छ ।’

हुन पनि अस्पतालको सेवा अहिले विस्तार भएको छ । सेवा विस्तार हुँदा सामान्य उपचारको लागि पनि जिल्ला सदरमुकाम भरतपुर धाउनुपर्ने बाध्यता हटेको छ । अस्पताल परिसर अहिले पहिलेको भन्दा सफा र सुन्दर छ । मूल भवनको तला पनि थपिएको छ । यससँगै विरामीको चाप पनि ह्वात्तै बढेको छ ।

पहिले दैनिक करिब २ सयको हाराहारीमा उपचारका लागि बिरामी अस्पताल पुग्ने गरेकोमा अहिले सो संख्या बढेर दैनिक औसत ४ सयको हाराहारीमा पुगेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. विश्वबन्धु बगाले बताउँछन् ।

‘अस्पतालमा बिरामीको संख्या बढ्नु खुसी हुने कुरा त होइन, तर अस्पतालले आफ्नो सेवालाई विस्तार र गुणस्तरीय बनाउँदै लगेपछि विरामीहरु आउन थाल्नुभयो, आशा र विश्वास जाग्यो,’ डा. बगाले भन्छन् ।

२०६५ सालदेखि १५ शय्यामा सञ्चालित अस्पताल हाल ४० शय्या क्षमताको छ । स्थानीय सरकार मातहत रहेर सञ्चालन हुँदै आएको अस्पताललाई हालैमात्रै प्रदेश सरकारले आफू मातहत सञ्चालन गर्ने निर्णय गरेको छ ।

अस्पताललाई कम्तीमा १ सय बेड सञ्चालन स्वीकृती लिने गरी पहल अघि बढाइएको मेसु डा. बगालेले बताए । ‘४० बेडले धान्न सक्ने अवस्था छैन, यो अवस्थाबारे हामीले प्रदेश सरकारलाई जानकारी गराएका छौं,’ डा. बगालेले भने, ‘कम्तीमा पनि एक सय बेड सञ्चालन गर्नुपर्छ अन्यथा चाप धान्न मुस्किल पर्छ ।’ अस्पतालबाट गत वर्ष मात्रै १ लाख ४८ हजार विरामीले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

डे-केयरजस्तो थियो अस्पताल

२०५३ सालको एसएलसी परीक्षामा बोर्ड फस्ट हुन् मेसु डा. विश्ववन्धु बगाले । उनी १० औं तहका चिकित्सक हुन् । डा. बगाले बकुलहर रत्ननगर अस्पतालको मेसु भएपछि नै अस्पतालले रूप फेर्न थालेको हो । सामान्य विरामी, सामान्य उपचार र सामान्य गतिविधिमा चलिरहेको अस्पताललाई अहिले डा. बगालेले पूर्वी चितवनका जनताको उपचार गर्ने भरपर्दो थलोका रुपमा विकास गर्दै लगेका छन् ।

‘म आउनु अघिसम्म चौबिसैै घण्टा आकस्मिक सेवा दिने भनिए पनि नियमित जस्तो थिएन । प्रसूति गराउनेबाहेकका बिरामी भर्ना गरेर राख्ने अवस्था थिएन, साधारणतया डे-केयर अस्पताल जस्तो थियो, मैले चिकित्सकसहित चौविसै घण्टा आकस्मिक सेवा र फार्मेसी सञ्चालनको व्यवस्थापन गरेँ,’ डा. बगालेले भने, ‘अन्तरंग सेवाको नियमितता र सृदृढीकरणमा मेरो विशेष ध्यान छ ।’

२०७६ साउनमा समायोजन भई भरतपुर अस्पतालबाट बकुलहर रत्ननगर अस्पतालको मेसु बनेका डा. बगाले आएपछि अस्पतालले भौतिक विकास, स्वास्थ्य सेवा थप, विरामी भर्ना जस्ता महत्वपूर्ण काम गरे । स्वास्थ्य बिमाको भुक्तानीलाई कडाइका साथ अपडेट गर्ने, सीमित स्रोत र साधनहरुको भरपुर उपयोग गरेर सेवा दिने नीति लिए । त्यसपछि नै अस्पतालप्रति आकर्षण बढ्दै गएको उनको अनुभव छ ।

बिमाबाट धानिएको अस्पताल

अस्पतालमा उपचार सेवा लिन आउने बिरामीले गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट अस्पताल धानिएको मेसु डा. बगाले बताउँछन् । अस्पताल विकास समितिबाट तलव भत्ता खाने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मुख्य आर्थिक स्रोत नै स्वास्थ्य बिमा कार्यक्रम हो ।

‘बिमा कार्यक्रमलाई राम्रोसँग सञ्चालन गर्न सक्यो भने त्यसले सजिलैसँग अस्पताल चलाउन सकिने रहेछ भन्ने उदाहरण यो अस्पताल बनेको छ,’ डा. बगाले भन्छन्, ‘हामीले अझै चार करोड रकम बिमाको लिन बाँकी छ, बिमाको उपचार रकम माग दावीलाई चुस्त बनाउन मेरो विशेष जोड छ । बीिमा नगरेका बिरामीसँग लिइने न्यून सेवा शुल्कबाट पनि केही भरथेग भैरहेको छ ।’ अस्पतालको त्यस्तो ठूलो आन्तरिक स्रोत केही पनि नभएको डा. बगाले बताउँछन् ।

अस्पताल विकास समितिलाई व्ययभार पर्ने गरी ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले काम गरिरहेका छन् । ‘अस्पताल सञ्चालन खर्च खासै आउँदैन, अस्पताल सदृढीकरण कार्यक्रमबाट वाषिर्क २० लाख आउँछ, त्यो रकमबाट सामान्य मर्मत र सामान्य सेवा सञ्चालन गर्न पुग्छ, अस्पतालको अरु स्रोत त्यस्तो केही छैन,’ डा. बगाले भन्छन् ।

जनशक्तिको उचित विन्यास

अस्पतालको मूल भवनमा विरामीको चाप निकै भएपछि जिल्ला समन्वय समिति चितवनको एक करोड रकम आर्थिक सहयोगमा एक तला थप गर्ने काम अहिले भैरहेको छ । यसमा १० बेडको आईसीयू, ५ बेडको एनआईसीयू, १० बेडको पोष्ट अपरेसन वार्ड, २ वटा मोडुलर अप्रेशन कक्ष, केही क्याबिन र प्रसूति कक्ष राख्ने योजना रहेको डा. बगालेले बताए ।

शान्ति मेड नामक संस्थाले अस्पतालको ‘बी’ ब्लक भवन बनाइदिएको छ । यसमा अहिले आकस्मिक कक्ष र ओपीडी सेवा चलिरहेको छ ।

प्रदेश सरकारको १ करोड ४४ लाखको लागतमा मातृ शिशु भवन बनाउन ठेक्का प्रकृया अघि बढेको छ । गर्भवती महिला, प्रसूति सेवा र नवजात शिशु सम्बन्धी एकीकृत सेवा यही भवनबाट दिइने मेसु डा. बगालेले बताए । ‘यसलाई ‘ए’ ब्लक भवनको पहिलो तल्लाको अप्रेसशन कक्षसँग जोडिने छ । मातृ शिशु भवनको भुइँ तलामा ओपीडि, सानो ल्याव, फार्मेसी, भर्ना सबै त्यहीँबाट हुनेछ,’ डा. बगालेले भने, ‘यसले बिरामीको उपचारमा सबैलाई सहज हुन्छ भन्ने विश्वास लिएका छौं ।’

अहिले भैरहेको फार्मेसी निकै सानो र कामचलाउ मात्रै भएकाले चौबिसै घण्टा सेवा दिन मिल्ने गरी १५ लाखको लागतमा नयाँ फार्मेसी भवन निर्माण अन्तिम चरणमा छ ।

अस्पतालमा मेडिसिन सेवा, सर्जरी, प्रसूति, बालबालिका, छाला, नाक/कान/घाँटी, रेडियोलोजी, अर्थोपेडिक, अल्ट्रासाउण्ड, एक्सरे लगायतका सुविधा उपलब्ध छन् । गएको भदौबाट ठूला अप्रेशन पनि सुरु भएको छ । केही सेवा अघिदेखि नै थिए भने, केही डा. बगाले आएपछि थप गरिएका हुन् ।

राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा अस्पतालमा अहिले ६ बेडको डायलायसिस सेवा पनि उपलब्ध छ । यसमा केही बेड थपेर रातिमा समेत सञ्चालन गर्ने योजना बनाएको डा. बगालेले सुनाए । प्रदेश सरकारसँग समन्वय गरेर डायलायसिस सेवा सञ्चालन सम्बन्धी तालिम तथा परामर्श केन्द्र बनाउने प्रस्ताव गरिएको मेसु बगालेले बताए ।

२०७६ साउनबाट बालरोग सेवा, २०७६ जेठबाट एमडीजीपी चिकित्सकसहित ओपीडि सेवा, २०७६ भदौबाट नाक, कान, घाँटी सेवा, २०७६ पुसबाट नियमित स्थायी बन्ध्याकरण सेवा, २०७७ फागुनदेखि २ पटक खोप सेवा सुरु भएको थियो ।

फागुनको पहिलो साताबाट माइक्रोवायोलोजी सेवा सुरु भएको छ । यसका लागि ५ लाख रकम खर्च भएको डा. बगालले बताए । रगत र पिसाबको कल्चर गराउन भरतपुर वा बाहिरका निजी क्लिनिकमा लैजानुपर्ने बाध्यता अहिले अन्त्य भएको डा. बगालेले बताए । अहिले प्रयोगशालामा १२ जना प्राविधिकहरुले काम गरिरहेका छन् ।

अस्पतालको चुनौती : जग्गा, जनशक्ति र पुँजी

बकुलहर रत्ननगर अस्पताल १९ कठ्ठा जग्गामा फैलिएको छ । अस्पतालसँग पर्याप्त जग्गा नहुँदा सवारी साधन पार्किङमा समस्या छ । अस्पताल परिसरमा नै पार्किङ गराउनुपर्ने बाध्यता छ । थप भौतिक पूर्वाधारको विकास गर्न पनि जग्गाको अभाव रहेको मेसु डा. बगाले बताउँछन् । उनी भन्छन्, ‘हामीसँग जग्गाको अभाव छ । अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि साँघुरो भएको अनुभूति हुन थालिसक्यो ।’

जग्गाका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको उनी बताउँछन् । रत्ननगर नगरपालिकाले अस्पतालका लागि एक विगाहा जग्गा उपलब्ध गराउने वचन दिएको छ ।
अस्पतालको अर्को चुनौती हो, सीमित जनशक्तिबाट सेवा प्रवाह । ‘सेवा थप वा विस्तार गर्दा जनशक्ति चाहिने तर त्यसका लागि दरवन्दी नहुँदा समस्या भएको छ,’ डा. बगाले भन्छन्, ‘अस्पताल विकास समितिबाट खर्च धान्न सकिँदैन, त्यसले ओएमएन सर्भे गरेर आवश्यक पर्याप्त दरवन्दी भए मन फुकाएर काम गर्न सकिन्छ, जनताले पनि सेवा पाउँछन् ।’

आकस्मिक ब्लड बैंक, थप विषेशज्ञ सेवा सञ्चालनका लागि उपकरण खरिद, डायलायसिस सेवा विस्तारका लागि उपकरण, प्रकोपजन्य रोगहरुको न्युनीकरणका लागि शिविरहरु सञ्चालन गर्ने योजना बनाए पनि रकमको अभाव हुने गरेको मेसु डा. बगाले बताउँछन् । ‘योजना मात्रै भएर भएन, पूँजी नै महत्वपूर्ण कुरा रहेछ,’ डा. बगालेले भने, ‘यद्यपि सबैसँगको सहकार्य र सहयोगमा पूर्वी चितवनको नमूना अस्पताल बनाउने मेरो लक्ष्य छ ।’

सबैको साथ पाएँ : डा. बगाले

सांसद विकास कोषको २० लाख र अस्पतालको ४ लाख गरी २४ लाखको लागतमा अस्पताल परिसरमा मोज्याक टाइल बिछ्याउने काम भएको छ । यसबाट अस्पताल सफा देखिएको छ । हिउँदमा धुलो र बर्खामा हिलो हुने समस्याबाट अस्पतालले मुक्ति पाएको छ । ठाउँ-ठाउँमा फूलको गार्डेनसमेत बनाइएको छ ।

अस्पताल विकास समिति र सरकारी गरी १२० जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी छन् । नेपाल सरकारका २७ जना स्थायी, करारका ४९ जना, शान्तिमेड नेपालले खर्च व्यहोर्ने गरी १६ जना र अस्पताल अन्तर्गत विभिन्न वडामा गरी १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु छन् । ‘अस्पतालले सेवा विस्तार गर्नु र जनशक्तिको उचित विन्यास गरेर काम गर्दा जनतामा भरोसा बढेको अनुभूति भएको छ,’ डा. बगालेले भने, ‘मैले एक्लै मात्रै सबै काम गरेको त होइन, रत्ननगर नगरपालिका प्रमुख, पूर्वअध्यक्षज्यूहरू सबैको साथ र सहयोगले अस्पताल अस्पताल जस्तो बन्दै गएको हो ।’

प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि अटोल्याब मेसिन ल्याइएको छ । दुई सय लिटर क्षमताको स्वचालित फोहोर प्रशोधित मेसिन जडान गरिएको छ।



source https://www.onlinekhabar.com/2021/02/934215

गलेश्वर मन्दिर पित्तलले छाइने

१६ फागुन, म्याग्दी । बेनी नगरपालिका-९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे ।

मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए ।

शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । पित्तलको छाना राख्न २५ लाख लागत अनुमान गरिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।

गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताए । सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी दुई करोड ८६ लाख २० हजार ७२८ आम्दानी र १९ लाख ६७ हजार ८१४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषको कूल बचत दुई करोड ६६ लाख ५२ हजार ९१३ बचत रहेको उनले बताए ।



source https://www.onlinekhabar.com/2021/02/934213

धार्चे गाउँपालिकाले दियो थप ३ दिन भ्रमण बिदा

१६ फागुन, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ ।

यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने छ ।

यसबाट कर्मचारीहरुले आफू कार्यरत गाउँपालिकाबारे जान्ने बुझ्ने मौका पाउने र सरुवा भएर अन्यत्र गएपछि पर्यटकीय क्षेत्रको प्रचार पनि गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

यसअघि केन्द्र सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरुलाई सातामा दुई दिन विदा दिन प्रस्ताव गरेको थियो । यद्यपि त्यसबारे निर्णय भने हुन सकेको छैन ।

 



source https://www.onlinekhabar.com/2021/02/934211

एमबाप्पेको दुई गोल, पीएसजीको सहज जित

१६ फागुन काठमाडौं । किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४-० ले पराजित गरेको हो ।

डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे । यस्तै मोइस किन र डानिलो पेरेइराले एक एक गोल गरे ।

एमबाप्पेले ३२औं र ५१औं मपनेटमा गोल गरे । त्यसअघि खेलको छैटौं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा डानिलोले पीएसजीको लागि चौथो गोल गरे ।

जितपछि २७ खेलबाट ५७ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर लिलेसँग अंकदूरी १ मा झारेको छ ।

एक खेल कम खेलेको लिले ५८ अंकसहित शीर्ष स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/02/934209

राष्ट्रसंघका लागि म्यानमारका राजदूत बर्खास्त, सैनिक शासकविरुद्ध अभिव्यक्ति दिएको आरोप

१६ फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूतलाई बर्खास्त गरेको छ । राष्ट्रसंघको महासभामा सैन्य ‘कू’को विरोध गर्दै उनले तत्काल अन्तर्राष्ट्रिय कारबाही गर्न माग गरेका थिए ।

म्यानमारको राष्ट्रिय टेलिभिजन च्यानलले शनिबार राजदूत बर्खास्तीबारे समाचार सार्वजनिक गरेको हो । सेनाले भनेको छ, ‘संयुक्त राष्ट्रसंघमा म्यानमारका राजदूतले देशलाई धोका दिएका छन् र आफूलाई अनाधिकारिक संस्थाको प्रतिनिधि बताएका छन् जो कि म्यानमार देशको प्रतिनिधित्व गर्दैनन् । उनले राजदूतको शक्ति र जिम्मेवारीलाई गलत प्रयोग गरेका छन् ।’

यही फेब्रुअरी एक तारिखमा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीलगायतलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । सैनिक ‘कू’को विरोधमा म्यानमारमा ठूला प्रदर्शनहरु हुँदै आएका छन् । विश्व समुदायबाट पनि म्यानमारको सैनिक नेतृत्वको आलोचना हुँदै आएको छ।

यसैबीच म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले राजनीतिक दलका प्रतिनिधिहरूसँग पछिल्लो निर्वाचन प्रक्रियाबारे छलफल गरेको त्यहाँका राज्य सञ्चालित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आयोगले यही फेब्रुअरी ५ तारिखदेखि गत वर्षको निर्वाचन परिणामबारे उठाइएका विषयहरूलाई समीक्षा गरिरहेको बताएको छ । आयोगले निर्वाचनबारे उठेका अनियमितताका मुद्दालाई सम्पन्न गरी मतदाताको नयाँ सूची तयार गर्ने र संविधानिक व्यवस्था बमोजिम स्वच्छ तथा स्वतन्त्र नयाँ निर्वाचन गर्ने बताएको छ ।

सेनाको निकट मानिने जुन्ता पार्टीले अनपेक्षित पराजयपछि निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाउँदै आएको छ ।

सन् २०२० को नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको एनएलडी पार्टीलाई स्पष्ट दुई तिहाइ बहुमत आएको र निर्वाचन कानून अनुसार यही फेब्रुअरी २ देखि नयाँ संसद बैठक बोलाइएको थियो । नयाँ संसद चालु हुनुभन्दा एक दिन पहिल्यै सेनाले सरकारको नेतृत्व आफ्नो हातमा लिई एक वर्षे संकटकाल घोषणा गरेको छ ।



source https://www.onlinekhabar.com/2021/02/934208

रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्स बराबरीमा रोकियो

१६ फागुन, काठमाडौं । इटालियन सिरी ए साविक विजेता युभेन्ट्स हेलास भेरोनासँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, ७७ औं मिनेटमा हेलास भेरोनाका एन्टोनियो बाराकले बराबरी गोल फर्काउँदै युभेन्ट्सलाइ जितबाट बन्चित गराए ।

यस बराबरीपछि युभेन्ट्स लिग लिडर इन्टरभन्दा ७ अंकले पछि परेको छ । २३ खेलबाट ४६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा यथावत छ ।

समान खेलबाट ५३ अंकसहित इन्टर पहिलो र ४९ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।

भेरोना ३५ अंकसहित नवौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/02/934204

जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा अनुमति, एक डोजमात्रै लगाए पुग्ने

१६ फागुन, काठमाडौं । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ ।

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ ।

यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो । यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप पि|mज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ ।

त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सस्तो हुने अनुमान गरिएको छ । यद्यपि यसको मूल्य सार्वजनिक भएको छैन । कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/02/934202

म्यानचेष्टर सिटीलाई १३ अंकको अग्रता

१६ फागुन, काठमाडौं । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित गर्दै १३ अंकको अग्रता बनाएको छ ।

शनिबार भएको खेलमा सिटीले वेष्टहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले गोल गरे ।

खेलको ३०औं मिनेटमा डियासले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा वेष्टहमका मिचेल एन्टोनियोले बराबरी गोल फर्काए ।

६८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

यो जितपछि सिटीले सबैखाले प्रतियोगितामा लगातार २०औं जित हात पारेको छ । प्रिमियर लिगमा भने सिटीको यो लगातार १४औं जित हो ।

जितपछि सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १३ अंकको अग्रता बनाएको छ ।

लिग लिडर सिटीले २६ खेलबाट ६२ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।

२६ खेलबाट ४५ अंकसहित वेष्टहम चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/02/934200

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

१६ फागुन, काठमाडौं । कप्तान लिओनल मेस्सीले गोल गर्नुका साथै गोलका लागि असिस्ट गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेभियालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० ले पराजित गरेको हो ।

सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान मेस्सी र ओसमाने डेम्बेलेले एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा मेस्सीकै पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८६औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

जितपछि २५ खेलबाट ५३ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । र लिग लिडर एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ ।

यद्यपि एट्लेटिकोले २३ खेल खेलेको छ । २४ खेलबाट ५२ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ ।

सेभिया ४८ अंकसहित चौथो स्थानमा रहेको छ ।



source https://www.onlinekhabar.com/2021/02/934198

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More