Thursday 31 December 2020

पूरा भएन डिसेम्बरमा दुई करोड मानिसलाई कोरोना खोप दिने अमेरिकाको लक्ष्य

१७ पुस, काठमाडौं । अमेरिकामा डिसेम्बर महिना सकिँदासम्म २८ लाख मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाले डिसेम्बर महिनामा दुई करोड मानिलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो । अमेरिकाको अन्य क्षेत्रका साथै नर्सिङ होममा पनि कोरोना खोप कार्यक्रम निकै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । जबकी फ्रन्टलाइनमा काम गर्ने मानिसमा कोरोनाको जोखिम बढी हुन्छ ।

अमेरिकाको लङ टर्म केयरमा एक लाख ७० हजारलाई कोरोना खोप दिइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले दिएको जानकारी अनुसार अहिलेसम्म २२ लाख खोप त्यहाँका मानिसहरुका लागि वितरण गरिसकिएको छ । अहिलेसम्म अमेरिकामा फाइजरको एक करोड ४० लाख डोज कोरोना खोप वितरण गरिएको छ । डिसेम्बर महिनामा फाइजरको २ करोड डोज खोप वितरण गर्ने लक्ष्य राखिएको थियो ।

अमेरिकी अधिकारीहरुले डिसेम्बर महिनाको अन्तिमसम्ममा चार करोड डोज कोरोना खोप उपलब्ध हुने बताएका थिए । एकजना मानिसलाई दुई डोज दिँदा यो खोपले दुई करोड मानिसलाई पुग्छ । स्थानीय अधिकारीहरुका अनुसार संघीय सरकारसँग कोरोना खोप वितरणको लागि पर्याप्त रकम नभएको कारण पनि अमेरिकामा कोरोना खोप कार्यक्रममा ढिलाइ भएको हो ।

यसअघि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले पनि अमेरिकामा खोप कार्यक्रम निकै सुस्त गतिमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/01/920473

प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१७ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड-नेपाल पक्षको दाबी छ ।

‘दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ,’ सांसद शत्रुघन महतोले भने, ‘आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ ।’

कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ तर हामीले आधाभन्दा बढी सांसद हस्ताक्षर गरिसकेका छौं,’ सांसद महतोले भने ।

आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले शुक्रबार पत्रकारहरु समक्ष बताएका छन् ।



source https://www.onlinekhabar.com/2021/01/920471

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् । प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।



source https://www.onlinekhabar.com/2021/01/920469

सन् २०२० मा प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना

१७ पुस, काठमाडौं । सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् ।

सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जनाएको छ ।

सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित १६६ जना पत्रकारहरु प्रभावित भएका छन् । कुल घटनामध्ये पचास प्रतिशत लकडाउनको समयमा भएको सो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष सबैभन्दा बढी उल्लंघनका घट बागमती प्रदेशमा भएको छ । ‘उल्लंघनका घट्नामा गत वर्षभन्दा केही कमी आए पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा भने खासै परिवर्तन आउन सकेन्, यो चिन्ताको विषय हो,’ फोरमका कार्यकारी प्रमुख दाहालले भने ।



source https://www.onlinekhabar.com/2021/01/920468

मिठाईमा नङ : किन हुन्छ मिसावट ?

१७ पुस, काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका थिए । जसमध्ये एउटा लड्डुमा नङ फेला पर्यो । सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो ।

प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ । नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताउँछन् ।

विगतका वर्षहरुमा मिठाईमा अखाद्य रङ्ग मिसाउने समस्या धेरै देखिएको थियो । अहिले रौं, नङ भेटिनु मानवीय असावधानी हुनसक्ने उनले बताए । ‘लड्डुमा नङ काटेर हाल्दै हिंड्ने त कसैले पनि गर्दैन, असावधानीले नै यस्तो भएको हुनसक्छ’, महर्जनले भने, ‘जुन कुनै कारणले भए पनि उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्ने छुट भने कसैलाई छैन ।’

मिठाईमा नङ भेटिएको घटनाका सम्बन्धमा आँगन स्वीट्सले भने प्रतिक्रिया दिन चाहेन ।

उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ भन्छन्- खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन् । विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ

अखाद्य वस्तु मिसावटको शृंखला

मंगलबार नै भटमासको तेललाई तिलको भनेर बिक्री गर्ने वीरगन्जका दुई जना व्यापारी पक्राउ परे । भटमासको तेललाई १५ लिटरको जर्किन र प्याकेटमा रि–प्याकिङ गरेर बेच्ने शिवशक्ति रि–प्याकिङ उद्योग सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रि–प्याकिङ उद्योगका राजन कुमार वर्णवाल हुन् ।

गत कात्तिक १ गते वाणिज्य विभागमा एक उपभोक्ताले पठाएको भिडियो गुनासोमा पानीको जारमा किराका बथान थिए । गुनासो सुनुवाई गर्न विभागले तत्कालै टोली खटाउँदा काठमाडौंको टोखास्थित शुभलक्ष्मी फूड एण्ड वेभरेज कम्पनीले गुणस्तरहीन पानी बिक्री गरेको पेला पार्यो । दर्ता नै नभएको उक्त पानी उद्योगले जमिन मुनिको पानी सामान्य फिल्टर गरेर उपभोक्तालाई बेचेको पाइएको विभागका तत्कालीन निर्देशक रवीन्द्र आचार्य बताउँछन् ।

केही प्रतिनिधि घटना मात्र हुन् यी । खाद्य वस्तु तथा पेय पदार्थमा उपभोक्ता ठगिने घटना दिनहुँ हुने गरेका छन् । क्षमताले भ्याएसम्म अनुगमन र कारबाही गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दावी छ ।

चालु आर्थिक वर्षको चार महिनामा देशभरबाट ११ सय ८९ उजुरीको नमूना संकलन गरिएकोमा ७० वटा नमूनामा अखाद्य मिसावट पाइएको विभागले जनाएको छ । यस्तै अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३४ उद्योग तथा व्यवसायको कारोबार रोक्का राखिएको, २६ वटा उद्योगबिरुद्ध मुद्दा दायर गरेको विागका प्रवक्ता महर्जन बताउँछन् ।

मुद्दा दायर भएकामध्ये खानेपानीको सबैभन्दा धेरै ५, खाने तेलका तीन, मिठाईका दुईसहित अन्य भएको उनले बताए ।

वाणिज्यमा पनि उजुरीको चाङ

उपभोक्ता हित बाहिरको काम गरेका उद्योग, व्यवसायी तथा फर्मविरुद्ध वार्षिक चार हजारभन्दा धेरै उजुरी आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

गत वर्ष ४४ सय उजुरी आएकोमा र चालु आवको पाँच महिनामा उपभोक्ता हित विपरीत काम भएका १२ सय उजुरी हटलाईनमार्फत आएको विभागका प्रवक्ता शिव सेंढाईले बताए । ‘आएका उजुरीमध्ये आधाभन्दा धेरै खाद्य पदार्थको गुणस्तर तथा मूल्यसँग सम्बन्धित छन्,’ उनले भने ।

दैनिक तीनदेखि चार वटासम्म टोलीले काठमाडौं उपत्यकामा अनुगमन गर्दा पनि पर्याप्त नभएको उनको स्वीकारोक्ति छ । उपभोक्ता संरक्षण ऐन अनुसार प्रदेश, स्थानीय तथा अन्य कानुनमा टेकेर जिल्ला प्रशासन कार्यालयमार्फत पनि अनुगमन बढाएको प्रवक्ता सेंढाईले बताए ।

उपभोक्ता अधिकारकर्मीको भनाइ

मिठाई लगायतका खाद्य वस्तुमा हुने मिसावट तथा अखाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रश्न उठेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । सरकारले खाद्य स्वच्छताको काम प्रभावकारी ढंगले अघि नबढाउँदा यस्ता समस्या बढेको उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ बताउँछन् ।

‘खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन्’, बानियाँ भन्छन्, ‘विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन प्रभावकारी नहुनु नै यसको मुख्य कारण भएको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘नियामक निकाय निरीह भयो, उपभोक्तामुखी भएन,’ तिमिल्सिनाले भने ।



source https://www.onlinekhabar.com/2021/01/920443

होबार्टको लागि खेल्न उत्साहित सन्दीप

१७ पुसऽ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अष्ट्रेलियामा भइरेको बिग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सको लागि खेल्न उत्साहित छन् ।

यसअघिका दुई सिजन लगातार मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्ने लागेका हुन् । ढिलो अष्ट्रेलिया गएका र त्यहाँको सरकारी नियमअनुसार १४ दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले सन्दीपले होबार्टको सुरुवाती ६ खेल गुमाएका थिए ।

नयाँ वर्ष २०२१ को बगमनसंगै सन्दीपले अब होबार्टका लागि खेल्ने लगभग पक्का छ । डिसेम्बर १६ मा अष्ट्रेलिया पुगेका सन्दीपले १४ दिनको क्वारेन्टिन सकाइसकेका छन् ।

सन्दीपले १४ दिनको क्वारेन्टिन सकाएको र टिममा जोइन भएको होबार्टले जनाएको छ ।

अब सन्दीपले २०२१ जनवरीमा २ मा होबार्टका लागि आफ्नो पहिलो खेल खेल्ने सम्भावना बढेको छ ।

संयोगवस सन्दीपले आफ्नै पूर्व टिम मेलवर्न स्टार्स विरुद्ध खेल्दै बीबीएलमा होबार्टका लागि डेब्यु गर्नेछन् । गत सिजन सन्दीपसँगै मेलवर्न स्टार्मा खेलेका पिटरह्याण्ड्सकम्ब अहिले होबार्टको कप्ताद्दी गरिरहेका छन् ।

होबार्टले स्टार्सविरुद्ध खेल्नका लागि घोषणा गरेको १७ सदस्यीय टोलीमा सन्दीप लामिछाने समावेश छन् । वेष्टइन्डिजका किमो पउलको स्थानमा सन्दीपलाई राखिएको होबार्टले जनाएको छ ।

यस सिजनदेखि बीबीएलमा एक खेलमा तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।

होबार्टले स्टार्स विरुद्ध खेल्ने टिमको लिस्ट सामाजिक सञ्जालमा राख्दै टिममा एक जना नयाँ नाम आएको जनाएको छ । त्यो नाम अरु कोही नभएर सन्दीप नै भएको प्रष्ट बुझ्न सकिन्छ ।

सन्दीपले पनि क्वारेन्टिन समय सकाएपछि बिहीबार ट्वीट गर्दै होबार्टको लागि पहिलो खेल खेल्न आफू तयार भएको जनाएका छन् । नयाँ टिमको सदस्य हुन प्रतिक्षारत रहेको जनाएका छन् ।

यस सिजन ६ खेल खेलिसकेको होबार्टले ४ जित र २ हारपछि १५ अंक जोडेको छ । दोस्रो स्थानको सिड्नी थण्डर समान १५ अंक भएपनि होबार्ट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/01/920462

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ ।

यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । तर प्रधानमन्त्री केपी ओलीले अकस्मात् संसद भंग गरेपपछि सो मितिमा भ्रमण हुन सकेन् । अब जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् ।

तर आगामी हप्ताबाट सर्वाेच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिती भने घोषणा नगरिने स्रोतले जानकारी दियो । ज्ञवाली संयुक्त आयोगको वैठकमा भाग लिनका लागि दिल्ली जान लागेका हुन् ।



source https://www.onlinekhabar.com/2021/01/920461

निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल हुँदैन : पुन

१७ पुस, बुटवल । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको पुनको भनाइ छ ।

नेता पुनले प्रधानमन्त्री ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको आरोप पनि लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए ।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभएको छ’, नेता पुनले भने, ‘राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौं ।’ ओली नेतृत्वको वर्तमान सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उनले गरे ।

नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणीसमेत गरे । ‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’

एक फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिह्न आफूहरुले पाउनेमा शंका नरहेको बताए ।



source https://www.onlinekhabar.com/2021/01/920445

माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् ।

ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् ।

राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो ।

तस्वीर : आर्यन धिमाल 

     



source https://www.onlinekhabar.com/2021/01/920452

नयाँ बर्षमा रणवीर र अनिलको ‘एनिमल’ घोषणा

अंग्रेजी नयाँ बर्षको अवसर पारेर नायक रणवीर कपुरको नयाँ चलचित्रको घोषणा भएको छ । चलचित्र ‘कबीर सिंह’को निर्देशन गरिसकेका निर्देशक संदिप रेड्डी वांगाले नयाँ चलचित्र ‘एनिमल’को घोषणा गरेका छन् । चलचित्रले बाबु र छोराको प्रेम र भावना प्रस्तुत गर्ने उनको भनाई छ ।

चलचित्रको सार्वजनिक टिजरमा नायक रणवीर कपुरको आवाज सुन्न सकिन्छ । जहाँ उनी अर्को जुनीमा आफ्नो पितालाई आफ्नो छोरा बन्न आग्रह गरिरहेका छन् । चलचित्रमा रणवीरको साथमा नायक अनिल कपुर, बबी देवल र नायिका परिणिती चोपडाको मुख्य भूमिका रहनेछ ।

चलचित्रको टिजर सार्वजनिक गर्दै नायक अनिल कपुरले उत्साह व्यक्त गरेका छन् । उनले, यो चलचित्रको छायांकनका लागि आफूले धेरै समय पर्खन नसक्ने पनि उल्लेख गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/01/920450

ऋचाले घोषणा गरिन् ‘कौसीद’

नायिका ऋचा शर्माले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन् । उनले, चलचित्र ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छिन् । केदार भुषाल निर्माता रहने चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्दैछन् । यो चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा लक्ष्मण बाँनिया सह–निर्माताको रुपमा छन् भने दीमेश श्रेष्ठको कार्यकारी निर्माताको रुपमा छन् । बैंकबाट ऋण लिने मानिसको कथामा यो चलचित्र बन्ने यसको फस्टलुकबाट अड्कल लगाउन सकिन्छ ।

नायिका ऋचा शर्माले आफ्नो प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई नयाँ जोश र उत्साहका साथ बनाउने बताएकी छिन् ।



source https://www.onlinekhabar.com/2021/01/920448

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’

निर्माण भएको केही बर्ष वितिसक्दा पनि रिलिज हुन नसकेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन मिति तय गरिएको छ ।

यो चलचित्रलाई माघको १ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । यदि, यसको निर्माणपक्षले भनेको समयमा नै यो चलचित्र रिलिज गर्न सक्यो भने, लकडाउनपछि रिलिज हुने पहिलो नयाँ नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ हुनेछ ।

चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रको पोष्टरमा नायक शिव श्रेष्ठ र नायिका प्रियंका कार्की एक अर्काको अंगालोमा बाँधिएका छन् ।

विके फिल्मस् र एफडी कम्पनीले यो चलचित्रको वितरण गर्नेछ । प्रेम र एक्सनको मिश्रणमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारले अभिनयग रेका छन् । चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयम दर्शनधारीले चलचित्र क्षेत्रमा पाइला राख्दैछन् ।

यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ ।



source https://www.onlinekhabar.com/2021/01/920446

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने सपना अधुरै छ । पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको तर नौ वर्ष बित्दासमेत पुल बन्न सकेको छैन । चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्ष बित्दासमेत एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ ।

निर्माण सुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका-३ का सीताराम चौधरी बताउँछन्  । ‘पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुङ्गा तर्नुपर्ने समस्या छ’, सीताराम भन्छन् , ‘‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुङ्गा चढ्नु ? पुल नहुँदा निकै दुःख पाइयो ।’

भजनी नगरपालिकाको वडा नं ५ र ७ का स्थानीयवासीलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ । नदी तर्न निकै समस्या हुने गरेको वडा नं ७ का श्यामलाल थारू बताउँछन्, ‘हामीलाई सबैभन्दा बढी पीडा नदी तर्नकै छ । दुःख बिमार हुँदा हामी भजनी जान सक्दैनौँ । आपतकालीन अवस्थामा रातिको समयमा नदी तर्न सकिँदैन’, श्यामलालले भन्नुभयो, “कसैलाई सुत्केरी व्यथा लागे हामी राति अस्पतालसम्म पुर्याउन सक्दैनौँ । पुल बन्ने आशा पनि मरेको छैन ।’

लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ । यसरी पटक-पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीय जयबहादुर बुढाको माग छ । ‘समयमै निर्माण सक्नुपर्ने हो, नौ वर्षसम्म पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्नुपर्छ’, उनी भन्छन्, ‘सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्छ । नागरिकलाई निकै कष्ट भएको समस्या समाधानमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।’

बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ । शुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

कोराना महामारीका कारण केही समस्या आए पनि यस आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावत बताउँछन् । ‘पहिलो वर्ष विवाद भएर काम गर्न सकिएन’, रावत भन्छन्, ‘यस वर्ष निर्माण सक्छौँ । यसअघि जेजे भयो, अब यस वर्ष सक्ने गरी काम थालेका छौँ ।’

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार रु चार करोड ४२ लाख लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याइएको छ । भौतिक पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याई कारवाही नगर्दासम्म यस्ता समस्या आइरहने स्थानीयवासी बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/01/920444

बुद्ध एअरको आरजु राइस मिल

१७ पुस, काठमाडौं । आन्तरिक उडानमा सबभन्दा बढी यात्रु बोक्ने बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत १५ वर्षयता हरेक वर्षायाममा खेतमा र्झछन् । कृषकहरुसँगै धान रोपाइँमा लाग्छन् र फर्कन्छन् ।

खेतीसँग बस्नेत परिवारको पुरानै सम्बन्ध छ । त्यसैले, २०६९ यता बुद्ध एयरले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल कृषि कम्पनी नै स्थापना गरेर मोरङका विभिन्न गाउँपालिकामा धान खेतीमा लगानी गरिरहेको छ । प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘बुद्ध एअरबाट हामी स्थापित भयौं, तर धरातल बिर्सनु हुँदैन भनेर धान खेती प्रवर्द्धन गर्न चाहेका हौं ।’

धान खेतीको यान्त्रीकरणमा करिब ७ करोड रुपैयाँ लगानी गरिसकेको बुद्ध एअर अब कृषि उद्यम थाल्ने तयारीमा छ । पछिल्लो १५ वर्षको अनुभवको आधारमा कृषिमा जोखिम उठाउन लागेको बस्नेत बताउँछन् । यो असफल भए आफू डुब्ने, सफल भए कम्तिमा २० हजार किसान उद्यमी बन्ने उनले बताए ।

धानमा बस्नेतले देखेको जोखिम र अवसर

धान खेती प्रवर्द्धनको लागि धेरै किसानका स-साना टुक्रा जमिन एकीकृत गरेर ठूला मेसिन प्रयोग गरिएका छन् । १५ वर्ष लगानी गरेको बुद्ध एअरले अब राइस मिल खोल्ने छ । बस्नेतले मिलको नाम आफ्नी जेठी छोरीको नामबाट जुराएका छन्- आरजु राइस ।

यसका लागि यसअघि जस्तै कृषकहरुलाई साथमा लिई चक्लाबन्दी प्रणालीमा धान खेती पनि गरिने छ । निश्चित क्षेत्रमा निश्चित जातको धान लगाइने छ । ती क्षेत्रहरुमा उत्पादन भएका सबै धान आरजु राइस मिलले किन्ने छ । त्यसका लागि बेलबारीको डाँगीहाटमा वार्षिक ६ हजार टन चामल उत्पादन गर्ने मिल राख्ने काम अगाडि बढेको बस्नेत बताउँछन् । डाँगीहाट बस्नेत परिवारको खेती भएको गाउँ पनि हो ।

मिल चलेपछि धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीचमा रहेका अनेकौं ‘ब्रोकरको चेन’ तोड्ने काम हुने बस्नेत बताउँछन् । उनी भन्छन्, ‘किसानको खेतबाट सीधै धान उठाउने र मिलबाट चामल उपभोक्तासमक्ष पुर्याउने अवधारणामा काम थालेका हौं ।’

यसबाट किसानले धानको उचित मूल्य र उपभोक्ताले तुलनात्मक रुपमा सस्तो मूल्यमा गुणस्तरीय चालम पाउने उनको विश्वास छ । ‘हामी कृषकलाई अधिकांश नेपालीको भान्सामा पाक्ने मसिनो जातको धान रोप्न भन्छौं, बस्नेत भन्छन्, ‘बजारमा कायम ‘ब्रोकर चेन’ छलेर हाम्रो चामल उपभोक्ताकोमा पुग्दा मूल्य स्वतः कम हुनेछ ।’

उनी गुणस्तरीय चामल बेच्न धेरै जोखिम देख्दैनन् । एउटा मिलले एक क्षेत्रभरका सयौं कृषकलाई एकीकृत गरेर समान जातको धान खेतीमा लगाउनु चाहिँ चुनौती मान्छन् । तर, १५ वर्षसम्मको सम्बन्ध र सहकार्यको अनुभवले आफूलाई त्यो जोखिम मोल्न हौसला दिएको उनी बताउँछन् ।

यसको सबै तयारी बुद्ध एयरकै भगिनी संस्था नेपाल कृषि कम्पनीबाट भइरहेको छ ।

प्रारम्भमै १५ करोड लगानी

कम्पनीले राइस मिलमा १५ करोड रुपैयाँ लगानी योजना बनाएको छ । प्रवन्ध निर्देशक बस्नेतको अनुसार, पाइलट प्रोजेक्टको रुपमा यो लगानी हुँदैछ । यसमा उनले व्यक्तिगत जोखिम लिँदैछन् । नयाँ काम भएकाले यसमा उनी सफल नै हुन्छन् भन्ने ग्यारेन्टी छैन, असफल हुने कारण पनि देख्दैैनन् ।

पहिलो चरणको एक सिजनमा दुई हजार मेट्रिक टन र त्यसपछि वार्षिक ६ हजार मेट्रिक टन चालम उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यती चामल उत्पादन गर्न पुग्ने धान खेती बेलबारीमै रहेको बताउँदै प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘यसका लागि १०-१२ हजार कृषकको सहभागिता चाहिन्छ ।’

उनका अनुसार, मोरङमा थोरै-थोरै खेत हुने किसान धेरै छन् । यो कारण पनि जग्गा चक्लाबन्दी गर्न चुनौती रहेको उनी बताउँछन् । तर, नेपाली कृषिमा उद्यमशीलता खोज्न आफूले यो जोखिम लिएको उनले बताए ।

बुद्ध एअरको यो योजनामा मेघा बैंक जोडिँदैछ । कृषकले यो बैंकबाट सहुलियतपूर्ण ऋण लिएर धान रोप्न सक्नेछन् । कृषकको धान मिलले उचित मोलमा किन्ने निश्चित भएपछि बैंकको कर्जा डुब्ने छैन । यसबाट तीनवटै पक्ष लाभान्वित हुने बस्नेतको बिचार छ ।

राइस मिलमा कृषकलाई शेयर

वार्षिक ६ हजार मेट्रिक टन चामल उत्पादन गर्ने योजना सफल भएपछि मिलको क्षमता विस्तार गरेर वार्षिक २० हजार मेट्रिक टन पुर्याउने प्रबन्ध निर्देशक बस्नेतको सोच छ । दोस्रो चरणमा मिलमा कृषकको पनि लगानी प्रोत्साहन गरिने उनले बताए ।

‘कुनै बीमा कम्पनीले आईपीओ माग्दा मागभन्दा तेब्बर आवेदन पर्छ’, बस्नेत भन्छन्, ‘हामीले त उद्यम गर्ने हो, यसमा सयौं कृषकलाई मिल मालिक बनाउन सक्छौं । समृद्धिको यो मोडल सफल पार्न हामी लागेका छौं ।’

भन्सार विभागको तथ्यांक अनुसार नेपालले वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीको खाद्यवस्तु आयात गर्छ । त्यसमा करिब ५० अर्ब धान र चामलको हिस्सा छ । यसलाई थोरै मात्र घटाउन सके पनि पर्याप्त बिजनेस देख्छन् बस्नेत ।

‘कृषिमा आधुनिकीकरण भनेको के हो ? एक बिघा मात्र खेत भएका हजारौं कृषकले खेतीमा चाहिने उपकरण आफैं कसरी किन्न सक्छन् ?’ बस्नेत प्रश्न गर्छन्, ‘सक्दैनन् भने कम्पनी मोडलमा खेती र उद्यम गरेर नाफा बाँड्ने होइन र ?’

यसबाट कृषीमा कम लगानीमा यान्त्रीकरण सहज हुनुको साथै कृषक र उपभोक्ता दुवै लाभान्वित हुने बस्नेतको भनाइ छ ।

मिलको चामल सीधै उपभोक्तामा

मिलबाट उत्पादन भएको चामल सीधै उपभोक्तालाई बेच्न देशभरका मुख्य शहरमा वितरण केन्द्र खोल्ने प्रबन्ध निर्देशक बस्नेत बताउँछन् । विद्युतीय भुक्तानी लिएर घरमै चामल डेलिभरी गर्ने प्रणाली पनि अपनाइने उनले बताए ।

‘१५ वर्ष खेतमा भिडेर देखेको सम्भावना हो, सपना हो । यसबाट मैले नाफाको आशा पनि गरेको छैन’, बस्नेत भन्छन्, ‘बुद्ध एयरको कमाइले मेरो भान्सा राम्रै चलेको छ, यो प्रयास हजारौं कृषकको मुहारमा खुसी ल्याउनको लागि हो ।’



source https://www.onlinekhabar.com/2021/01/920439

लोक सेवा आयोग : एक वर्षमा ३०४ जनामात्रै नियुक्ति सिफारिस

१७  पुस, काठमाडौं । लोक सेवा आयोगले एक वर्षको अवधिमा निजामती सेवातर्फ ३०४ जना उम्मेदवारहरु मात्रै स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगतका वर्षहरुमा ५–६ कर्मचारी नियुक्तिका लागि सिफारिस हुन्थे । तर यस वर्ष कोभिड महामारीको कारण परीक्षाहरु स्थगित गर्नु परेकाले सिफारिस संख्या कम देखिएको आयोगको भनाइ छ ।

स्थानीय सेवातर्फ भने प्रतिवेदन अवधिमा ८ हजार ६३९ उम्मेदवारहरु स्थायी नियुक्तिको लागि सिफारिस भएका आयोगको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

समावेशी पदपूर्तितर्फ यस अवधिमा कुल १०३ जना नियुक्तिका लागि सिफारिस भएका छन् । यस प्रतिवेदन अवधि सहितका १३ वर्षमा सबै समावेशी समूहबाट कुल २१ हजार ६४९ जना उम्मेदवारहरु सिफारिस भएका आयोगले जनाएको छ ।

सुरक्षा निकाय तथा संगठित संस्थातर्फ ४ वटा सुरक्षा निकाय र २९ वटा संगठित संस्थाका २० हजार ३७१ पदका लागि विज्ञापन गर्न सहमति दिइएकोमा लिखित परीक्षामा ४१ हजार ८२४ महिला र ७४ हजार ४७३ पुरुष गरी जम्मा १ लाख १६ हजार २९७ जना सम्मिलित भई ५ हजार ५०२ महिला र १२ हजार ५४७ पुरुष गरी जम्मा १८ हजार ४९ उम्मेदवारहरु अन्तरवार्ताका लागि छनौट भएका छन् ।

अधिकृत र सुब्बाको पहिलो चरणको परीक्षामा न्यून उत्तीर्ण

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन अनुसार एक वर्षको अवधिमा धेरै संख्यामा दरखास्त पर्ने शाखा अधिकृत र नायव सुब्बा वा सो सरहका पदका लागि लिइएको प्रथम चरणको परीक्षाबाट १४.२५ प्रतिशत उम्मेदवार मात्र दोस्रो चरणका लागि छनौट भएका छन् ।

आयोगका सूचना अधिकारी सुवेदीका अनुसार विगतमा सामान्यतया २५-३० प्रतिशत परीक्षार्थी दोस्रो चरणका लागि छनोट हुन्थे । यस वर्ष प्रश्नपत्र कडा आएको गुनासो रहेकाले पहिलो चरणमा कम परीक्षार्थी पास भएको अनुमान आयोगको छ ।

यसैगरी ८ वटा विज्ञापनमा कुल १२ पदका लागि लिइएको परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन् । स्थानीय तहका आठ पद र निजामती तहको चार पदमा यस्तो भएको हो ।

स्थानीय तहतर्फ सामान्य प्रशासनतर्फ लेखाको दलित र अपांग पदमा, सिभिल इन्जिनियरतर्फ महिला र अपांग पदमा तथा सिभिलतर्फकै असिस्टेन्ट सब इन्जिनयर पदमा पनि कुनै पनि परीक्षार्थी पास भएनन् ।

निजामती सेवातर्फ स्वास्थ्य सेवाको ११ औं तहको आन्तरिक प्रतिस्पर्धामा पनि कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन नसकेको लोक सेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सरकारसँग असन्तुष्टि

लोक सेवा आयोगले विशेष सेवा ऐन संशोधन गर्दा आफूहरुसँग परामर्श नलिइएको भन्दै सरकारसँग असन्तुष्टिसमेत जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बुझाइएको ६१औं वार्षिक प्रतिवेदनमा आयोगले आफ्ना असन्तुष्टिहरु स्पष्ट रुपमा उल्लेख गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘अरु कुरा त गोप्य हुन्छ हामी पनि मान्छौं तर कर्मचारी बढुवाका सिद्धान्तहरु र भर्नासँग सम्बन्धित कुराहरुमा त हामीसँग परामर्श लिनुपर्‍यो नि । त्यो नलिएकोमा कमेन्ट छ हाम्रो ।’

आयोगको परामर्शदायी भूमिकालाई औपचारिकताको रुपमा मात्र लिने वा परामर्श नै नलिने कार्यले संवैधानिक व्यवस्थाको बेवास्ता भयो भन्ने चिन्ता विगतका वार्षिक प्रतिवेदनहरुमा व्यक्त हुने गरेको थियो । त्यो कुरालाई आयोगले आफ्नो पछिल्लो प्रतिवेदनमा पनि उल्लेख गरेको छ ।

यसअघि राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि गोपनियतालाई कारण देखाउँदै निश्चित प्रतिशत कर्मचारी प्रधानमन्त्री कार्यालय आफैंले भर्नाको तयारी गरेको थियो । तर आयोगको विरोधपछि त्यो तयारी रोकिएको छ र कर्मचारी भर्नाको परीक्षा लोक सेवा आयोग आफैंले लिने गर्दछ ।

लोक सेवा आयोगले राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतको सहायक सूचक पदको परीक्षा यही माघमा सन्चालन गर्दैछ । आयोगका अध्यक्ष मैनालीका अनुसार करिब २ सय जनाका लागि खुलेको सो पदको विज्ञापनमा झण्डै ४० हजार जनाको दरखास्त परेको छ ।

 



source https://www.onlinekhabar.com/2021/01/920438

म्यानचेष्टर युनाइनेडका फरवार्ड कभानीलाई तीन खेलको प्रतिबन्ध

१७ पुस, काठमाडौं । म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै उरुग्वेका यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिमाना गरिएको हो ।

३३ वर्षिया फरवार्डले अपमानजनक र अनुचित शब्द प्रयोग गर्ने आरोपमा फुटबल एसोसियनले उनलाई दोषी ठहर गरेको छ ।

काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए तर विवादमा आएपछि काभानीले पोस्टलाई हटाउँदै माफीसमेत मागेका थिए ।

कभानीले उक्त कारवाहीमा अपिल नगर्ने बुझिएको गोल डटकमले जनाएको छ । प्रतिबन्ध र जरिवानापछि कभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ ।

कभानीको प्रतिबन्ध तत्काल लागू हुने छ । जसका कारण कभानीले तीन खेल गुमाउने छन् ।
उनले नयाँ वर्षको दिन शुने प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेलका साथै इएफएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध खेल गुमाउनेछन् ।



source https://www.onlinekhabar.com/2021/01/920436

समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्छ : प्रधानमन्त्री ओली

१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् ।

अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीको भनाइ छ ।

‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ ओलीले भनेका छन् ।

आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उनले उल्लेख गरेका छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गरेका छन् ।

‘यसका बाबजूद मुलुक निर्माणको प्रथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं,’ ओलीले भनेका छन् ।

आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उनले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने अपेक्षा पनि ओलीले गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/01/920434

कोभिड-१९ को खोपलाई अनुमति दिने भारतको तयारी, नेपालमा कहिले आउला ?

१७ पुस, काठमाडौं । भारतले कोभिड-१९ को खोपलाई छिट्टै अनुमित दिने भएको छ ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् ।
‘निश्चय नै नयाँ वर्ष २०२० हाम्रो खुसिको कुरा हुनेछ किनभने हामीले केही प्राप्त गर्ने छौ,’उनले भने ।

आज शुक्रबार यस सम्बन्धी महत्वपूर्ण बैठकको आयोजना गरिएको छ । आजको बैठकमा सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपत्कालीन प्रयोगका लागि अनुमति लागि यस अगाडि नै दुई पटक निवेदन दिइसकेको छ ।

दुई कम्पनीले सुरक्षा र प्रभावकारी सम्बन्धी पर्याप्त प्रमाणहरु पेस नगरेका कारण अनुमतिमा केही ढिलाइ भएको हो । बिहीबार नै अनुमति दिने अपेक्षा गरिए पनि यी कम्पनी पर्याप्त कागजात पेस गर्न नसकेका कारण केही ढिलाइ भएको हो ।

सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डको भ्याक्सिन ल्याउनको लागि साझेदारी गरेको छ । वेलायतमा सो भ्याक्सिनले प्रयोगका लागि अनुमति पाइसकेको छ ।

भारतमा अनुमति पाउनसाथ नेपालका पनि आपत्कालिन प्रयोगका लागि ल्याउन सरकारले पहल गरिरहेको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भने,’भारतका विभिन्न सम्बन्धी निकाय र खोप उत्पादन कम्पनीहरुसँग मैले कुराकानी गरिरहेको छु ।’

सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट किन्ने प्रक्रिया अगाडि बढाएको छ ।

यस अगाडि परराष्ट्र मन्त्रालयले भारतलाई एक औपचारिक पत्र नै पठाइसकेको छ भने अर्थ मन्त्रालयलाई वजेटको व्यवस्था गर्न समेत भनिएको छ ।

भारतबाट खोप खरिद गर्ने सम्बन्धमा बिहीबार स्वास्थ्यमन्त्री ह्दयश त्रिपाठीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले छलफल गरेका थिए ।

भेटमा खोपको खरिद र आपूर्तिमा सहकार्य गर्ने विषयमा विस्तृतमा छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

सरकारले भारतमा आपत्कालीन प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपालमा पनि खोप ल्याउने बताएको छ ।



source https://www.onlinekhabar.com/2021/01/920433

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१७ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ ।

आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ ।

अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।

अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।

यसबीचमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।

त्यसपछि आजको बैठकमा दलका नेताहरुले बोल्ने कार्यसूची पनि राखिएको छ ।

अन्तिममा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । यसबीचमा सानु शिवा, सूर्यबहादुर केसी, ओमकार प्रसाद गौचन, दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधन भएको थियो ।



source https://www.onlinekhabar.com/2021/01/920430

यो हो छेपारोले जस्तै रङ फेर्ने ५५ करोडको बिरालो !

चरित्र बदलिरहने मानिसलाई छेपारोको संज्ञा दिइन्छ । किनकि छेपारो यस्तो जीव हो जसले बाह्य वातावरणसँग मिल्ने गरी शरीरको रङ बदल्न सक्दछ ।

के बिरालोले पनि छेपारोले जस्तो रङ बदल्न सक्दछ ? सक्ने कुरै भएन । तर छिमेकी मुलुक भारतको गुजराँतमा रहेको एउटा बिरालोले चाहिँ शरीरको रङ बदल्न सक्दछ, छेपारोले जस्तै ।

गुजरातको अंकलेश्वरस्थित किशोर गायकवाड नामका व्यक्तिले घरमा पालेको बिरालो शरीरको रङ फेर्न माहिर छ ।

किशोरले सन् २०१३ मा मुम्बइस्थित एक मन्दिर बाहिर केटाकेटीहरुले कुटिरहेको अवस्थामा फेला पारेर उक्त बिरालोलाई आफ्नो घरमा ल्याएका थिए ।

घर ल्याएपछि मात्र उनले उक्त बिरालो अन्य आम बिरालोहरु भन्दा फरक रहेको चाल पाए । सो बिरालोले समय समयमा आफ्नो जीउको रङ बदल्न सक्दछ ।

किशोरका अनुसार उसको शरीरका भुत्लाहरुमा समय समयमा विभिन्न धार्मिक चिह्नसमेत देखा पर्दछन् ।

उनका अनुसार यो बिरालो किन्नका लागि धेरै मानिसहरुले इच्छा जाहेर गरेका छन् । यो बिरालोका लागि ५५ करोड भारुसम्म तिर्न केही मानिस तयार भएको दाबी किशोरको छ । एजेन्सी

 



source https://www.onlinekhabar.com/2021/01/920427

कुकुरलाई १५ रोपनी जग्गा अंश !

आफ्ना छोराछोरीको नाममा बाउआमाले पैत्रिक सम्पत्ति नामसारी गरिदिनु त स्वभाविकै हो तर छिमेकी मुलुक मध्यप्रदेशको छिन्दवाडामा चाहिँ एकजना किसानले घरमा पालेको कुकुरको नाममा आफ्नो १५ रोपनी जग्गा नामसारी गरिदिएका छन् ।

मध्यप्रदेशको बाडीबाडा गाउँमा बस्ने ओम नारायण नामका किसानले आफ्नो सम्पत्तिमध्ये आधा हिस्सा घरमा पालेको कुकुर ज्याकीको नाममा र बाँकी आधा हिस्सा आफ्नी पत्नी चम्पाको नाममा नामसारी गरिदिएका हुन् ।

ओम नारायणका आफ्ना छोराछोरी नभएको कारणले गर्दा कुकुरलाई सम्पत्ति दिएका भने होइनन् । वास्तवमा आफ्नो छोराको व्यवहारले दिक्क भएका कारण उनले सम्पत्ति आफ्नै छोरालाई दिनु पर्ने अंश पत्नी र कुकुरको बीचमा सम्पत्ति बाँडिदिएका हुन् । ओम नारायणसँग उनका छोराले दिनहुँ झैझगडा गर्ने गरेका कारण उनले छोरालाई सम्पत्ति दिएनन् ।

ओम नारायणले बकाइदा कानुनी बकसपत्र गरेर कुकुरलाई आफ्नो सम्पत्तिको वारेस बनाएका हुन् । उनले बकसपत्रमा लेखेका छन्, ‘मेरो सेवा मेरी पत्नी र मेरो घरपालुवा कुकुरले गर्दछन् । त्यसैले यी दुई मेरा लागि अधिक प्रिय छन् ।’

बकसपत्र अनुसार कुकुरको नाममा नामसारी गरिएको उक्त जग्गा उनको मृत्युपछि कुकुरको सेवा गर्ने मान्छेले पाउनेछ । अर्थात् ओम नारायणको मृत्युपछि जसले उक्त कुकुरको हेरचाह गर्नेछ उसले नै ओम नारायणले कुकुरको नाममा गरिदिएको सम्पत्ति पाउनेछ ।

एजेन्सी



source https://www.onlinekhabar.com/2021/01/920426

१२ वर्षे बालिकाले किन हालिन् टिकटकविरुद्ध मुद्दा

बेलायतमा एक १२ वर्षीया बालिकाले भिडियो शेयरिङ एप टिकटकविरुद्ध मुद्दा हालेकी छन् ।

नाम गोप्य राखिएकी ती बालिकाले टिकटकमाथि बालबालिकाका डाटाहरु अवैधानिकरुपमा प्रयोग गरिरहेको जिकिर गरेकी छिन् ।

ती बालिकालाई कानुनी लडाइँका लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ ।

टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी उनको छ ।

उता टिकटकले भने बालबालिकाको संरक्षणका लागि कम्पनीले दहि्रलो नीति अख्तियार गरिरहेको र १३ वर्षमुनिका बालबालिकाहरुलाई टिकटकमा खाता खोल्न बन्देज लगाइएको जनाएको छ ।

उता बालबालिका आयुक्त लंगफिल्डले भने टिकटकविरुद्ध १२ वर्षीया बालिकाले दायर गरेको मुद्दाले १६ वर्षमुनिका विश्वभरका टिकटक प्रयोगकर्ताहरुलाई टिकटकमा सुरक्षित राख्न सहयोग गर्ने दाबी गरेकी छिन् ।

उनका अनुसार टिकटकले आफ्नो भिडियो रेकोमेन्डेसन अल्गोरिदममा प्रयोग गर्न, दर्शनको ध्यान आकृष्ट गर्न तथा विज्ञापनबाट आय बढाउनका लागि बालबालिकाका डाटाहरु संकलन तथा प्रशोधन गर्ने गरेको छ ।

एक भिडियो लिंकमार्फत लण्डन हाइकोर्टलाई अनुरोध गर्दै उनले बालबालिकाका डाटाहरु डिलिट गर्नका लागि अदालतले टिकटकलाई आदेश दिएर नजिर स्थापित गर्ने अपेक्षा गरेकी छिन् ।

स्मरण रहोस् बालबालिकाका डाटाहरु संकलन तथा दुरुपयोग गरेको आरोपमा सन् २०१९ मा अमेरिकाको संघीय वाणिज्य आयोगले टिकटकमाथि ५७ लाख डलर जरिमाना गरेको थियो । गत वर्ष सन् २०२० मा दक्षिण कोरियाले पनि यस्तै मुद्दामा टिकटकमाथि जरिमाना गरेको छ । बीबीसी



source https://www.onlinekhabar.com/2021/01/920421

नयाँ वर्ष सन् २०२१ सुरु

१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुन्थे । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/01/920422

Wednesday 30 December 2020

कोरोनाको असर : अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढी नोक्सान

१६ पुस, बुटवल । कोरोना महामारीका कारण लामो समय होटेल-रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ ।

प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी भएको छ ।

लकडाउनले होटेल-रेष्टुेन्ट नखुल्दा मासु उत्पादन र बिक्री गर्न नपाउँदा ६ महिनाको अवधिमा पाँच करोड बढी नोक्सानी ब्यहोर्नुपरेको हो ।

प्रालिले उत्पादन गर्ने मासुको अधिकांश हिस्सा पर्यटक स्तरका होटेलमा खपत हुने गर्छ । मासु बिक्री नभएपछि मासु उत्पादनका लागि तयार भएका अस्ट्रिचलाई दाना खुवाएर पाल्नुपर्दा थप नोक्सानी भएको शर्माले बताए ।

मासु उत्पादन र बिक्री रोकिँदा प्रालिमा कार्यरत डेढ सयजना कर्मचारीलाई तलब खुवाउन समस्या परेको शर्माले बताए । खसीको मासुभन्दा दोब्बर महँगो भएकाले न्यून आय भएका परिवारमा अस्ट्रिचको मासु निकै कम मात्रामा खपत हुन्छ ।

अस्ट्रिचको मासु हाडसहितको प्रतिकिलो १४ सय ५० र हाडरहित प्रतिकिलो १९ सय ५० रुपैयाँ मूल्यमा बिक्री हुन्छ । ‘हुर्केका अस्ट्रिचबाट मासु उत्पादन गर्ने बेलामा लकडाउन भएपछि ६-७ महिनासम्म दाना खुवाएर पाल्नुपर्दा भारी मात्रामा अनावश्यक खर्च बढ्यो,’ शर्माले भने, ‘कोरोना कहिले अन्त्य हुने हो भन्ने यकिन नहुँदा यसपटक नयाँ चल्ला पाल्न पनि सकेनौं ।’

बिगत वर्षको तुलनामा ८० प्रतिशत उत्पादन र बिक्री घटेको शर्माले बताए । एउटा अस्ट्रिचबाट सरदर एक सय केजी मासु उत्पादन हुने गर्छ । दैनिक एक हजार क्वीन्टल मासु बिक्री हुने गरेकोमा लकडाउनका कारण बजारमा गएको मासुसमेत फिर्ता आएको प्रालिका कर्मचारी नारायण घिमिरेले बताए ।

‘चैतदेखि कात्तिकसम्म मासु उत्पादन बन्द भयो, बजारमा गएको मासु फिर्ता आउन थालेपछि दुई हजार मूल्यको मासु ब्रोइलर कुखुराको मूल्यमा तीन सय रुपैयाँ प्रति केजीका दरले बेच्न वाध्य भयौं,’ घिमिरेले भने, ‘अघिल्लो वर्ष दशैंमा दैनिक पाँच सय केजीका दरले मासु बिक्री हुन्थ्यो ।’

प्रालिले आफ्नै प्रशोधन उद्योगबाट अस्ट्रिच चराको मासु उत्पादन र प्याकेजिङ गरी देशभर पठाउने गर्छ । कोलेस्टोरको मात्रा निकै कम, बोसो नहुने र भिटामिन प्रशस्त पाइने भएकाले अस्ट्रिचको मासु अन्य मासुभन्दा स्वस्थवर्धक हुने डाक्टरहरु बताउँछन् ।

उच्च रक्तचाप, मुटुका रोगीहरूलाई पनि अस्ट्रिचको मासु लाभदायक हुने डाक्टरहरू बताउँछन् । अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

कात्तिकबाट मासु उद्योग सञ्चालनमा आएको र बिस्तारै बिक्रीले लय समाउन थालेको प्रालिले जनाएको छ । कच्चा पदार्थ आयातमा समस्या हुँदा आवश्यक मात्रामा दाना उत्पादन पनि गर्न नसक्दा उत्पादकत्व पनि घटेको प्रालिले जनाएको छ ।

अनुदान हैन, बैंक ब्याजमा सहुलियत होस्

नेपालमै नौलो व्यवसाय सुरुआत गरेका प्रालिका सञ्चालक शर्माले यस्ता उद्योगमा आइपर्ने समस्यामा सरकारले दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्ने बताउँछन् ।

अनुदान दिएर साध्य नहुने र उल्टो दरुपयोग हुने भन्दै बैंक ब्याज दरमा सहुलियत दिनुपर्ने उनको माग छ ।

प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक अस्थिरताले आफू जस्ता कृषि क्षेत्रमा ठूलो लगानी गरेका उद्यमीलाई निराश बनाएको शर्माले गुनासो गरे ।



source https://www.onlinekhabar.com/2020/12/920207

कृषकको अनुदान कि अनुदानको कृषक ?

सामान्य अर्थमा भन्ने हो भने किसान भन्नाले किनेर सामान नखाने भन्ने अर्थमा बुझ्न सकिन्छ । तर, हाम्रो देश नेपालमा किसान भन्नाले आफूसँग भएको जग्गामा आफ्नो सीप, ज्ञान, मिहेनत तथा आर्थिक लगानी गरी खेतीपाती/अन्नबाली, तरकारीबाली वा आफ्नो जीवनशैली पूरा गर्न आफूलाई आवश्यक पर्ने बाली उत्पादन गर्ने व्यक्तिलाई बुझिन्छ ।

प्रदेश १ सरकारको कार्यविधिअनुसार कृषि अनुदान भन्नाले प्रदेश सरकारबाट विनियोजित बजेट अनुसारको स्वीकृत कार्यक्रम बमोजिम कृषि उत्पादन, प्रशोधन, मूल्य अभिवृृद्धि, बजारीकरण, विविधिकरण वा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि कृषकलाई प्रदान गरिने नगद सहुलियत बुझ्नुपर्दछ ।

प्रदेश सरकारबाट कृषि व्यवसाय प्रवर्द्धनको लागि उपलब्ध गराइने अनुदानलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी, दिगो तथा प्रतिफलमा आधारित बनाउन वाञ्छनीय भएकाले, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं. १ सरकारले यो कार्यविधि बनाएको छ ।

म एक कृषि क्षेत्रको कर्मचारी भएको हुनाले मजस्ता अन्य कर्मचारी साथीहरूले पनि कृषिमा आमूल परिर्वतन कसरी गर्न सकिन्छ भनेर सोच्नु पर्दछ । आजभोलि धेरै व्यक्तिबाट मैले बसमा, भेलामा तथा सभाबाट सुन्ने गरेको छु कि, पाउनुपर्ने किसानले अनुदान नै पाएका छैनन् । यदि त्यस्तो हो भने अनुदान कसले पायो त ? अनुदान पाउनेजति सबै नक्कली किसान हुन त ! अनुदान पाएका किसानले पनि किन निरन्तर रूपमा काम गरेनन् ।

यस्ता विभिन्न प्रश्नहरूले मेरो मनमा डेरा जमाउँछ । अनि फेरि मनमा प्रश्न गर्दछु- यस्तो हुनुमा कर्मचारी, किसान, सरकार वा नीति-नियमको दोष हो कि ! तसर्थ अब हामी सबैले सही र सकारात्मक बाटो छानी अगाडि बढाउनु पर्दछ । सक्कली किसानले पनि अनुदान पाएको केही वर्षमात्र काम गर्ने प्रचलन रहेको छ भने नक्कली किसानले अनुदान पाएको वर्षमात्र काम गर्ने गर्दछन् ।

अर्को कुरा, हाम्रो कृषिसम्बन्धी नीति-नियम अति विपन्नवर्ग तथा असली कृषकलाई समेट्ने प्रकृतिको नै छैन । जग्गा कम भएका तर असली किसानहरूले हाम्रो कृषिको नीति-नियम अनुसार प्रस्ताव पेश नै गर्न सक्दैन्न् । तसर्थ जस्ले नीतिनियम अनुसारको कागजात पुराउन सक्छ उसले मात्र अनुदान पाउने गर्दछ ।

जसले गर्दा काम अपूरो तथा लक्ष्य अनुरूपको हुँदैन र कृषि तथा कृषि क्षेत्रका कर्मचारीलाई दोष आउने गर्दछ । र, कतिपय कर्मचारीले बजेट फिर्ता नहोस भनेर नियम पूरा गरेका कृषकलाई अनुदान दिने गर्दछन् । भने कतिपयले आर्थिक लोभ गरि मिलोमतोमा अनुदान दिने गर्दछन् ।

अर्को अचम्मको कुरा, किसानलाई उत्पादन गर्नुस् भन्दा उहाँहरूले भन्ने गर्छन् कि, हाम्रो उत्पादनले बजार नै पाउँदैन भनेर । तर, हामी बजारमा तरकारी किन्न जाँदा अति नै महंगो लाग्छ । किन यति महङ्गो भन्दा व्यापारीहरूले अभाव छ अनि इन्डियाबाट तरकारी आउँछ त्यही भएर हो भन्ने जवाफ हुन्छ ।

तसर्थ समग्र कृषि क्षेत्रको प्रगति तथा कृषकहरूको आर्थिक स्तरमा सुधार ल्याउन अब अनुदान भन्ने कार्यविधि नै हटाउनुपर्दछ । अब अनुदान होइन कृषकलाई ऋण दिनुपर्दछ । १० लाखभन्दा कम लगानी गर्ने कृषकलाई विनाधितो ऋण दिनुपर्दछ । उक्त ऋण पाँच वर्षभित्र तिर्नुपर्दछ र व्याज पनि तिर्न नपर्ने व्यवस्था हुनुपर्दछ र कम्तिमा तराईको हकमा १५ कट्ठा र पहाडको हकमा १० रोपनीमा खेती गर्नु पर्ने व्यवस्था हुनुपर्दछ ।

तर, दश लाखभन्दा माथि लगानी गर्ने ठूलो कृषकलाई धितो तथा ब्याज प्रक्रिया अन्तरगत ऋण दिने व्यवस्था हुनु पर्दछ र कम्तिमा तराईको हकमा ५ देखि १५ बिघा र पहाडको हकमा २० देखि ४० रोपनीमा खेति गर्नुपर्ने व्यवस्था हुनुपर्दछ । दश लाखभन्दा कम ऋण प्राप्त गरेका कृषकले पाँच वर्षसम्म निरन्तर काम गर्नुपर्ने र दश लाखभन्दा माथि ऋण प्राप्त गरेका कृषकले दश वर्षसम्म निरन्तर काम गर्नु पर्ने नीति-नियम बनाउनु पर्दछ ।

कृषकलाई सहज हुने नीति-नियम बन्न जरुरी छ यो होइन कि कृषकलाई अड्काउने तथा अप्ठ्यारो पर्ने प्रकृतिको नीति-नियम हुनु भएन । कागजात कम तर काम धेरै हुने तरिकाको नीति-नियम बनाउन अति नै आवश्यक छ । कृषकले उत्पादन गरेको वस्तुहरू सरकारले किन्न सक्नुपर्दछ वा बजार व्यवस्थापन गर्नु पर्दछ । ऋण प्राप्त गरेका कृषकहरूलाई निरन्तररूपमा प्राविधिक टिमले ज्ञान र सीप दिनु पर्दछ ।

प्राविधिक टिमले बनाएको कार्ययोजना अनुसार कृषकले काम गर्नुपर्दछ । हाल देशका विभिन्न स्थानहरूमा कृषि सम्बन्धी अध्ययन गराउने कलेज, क्याम्पस तथा शिक्षण संस्थाहरू दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । कृषिका विद्यार्थीले आफ्नोप्रमाणपत्रका आधारमा ऋण प्राप्त गरी कृषि पेशालाई सहज रूपमा अंगाल्ने व्यवस्था सरकारले मिलाउनु पर्दछ ।

स्थानीय सरकारले कृषकको समस्यालाई मध्यनजर गरी बाटो, पुल, बजार तथा संकलन केन्द्र, बिजुली बत्ति र सिँचाइको व्यवस्थापन गर्नुपर्दछ । कृषि क्षेत्र धेरै कुरामा निर्भर हुने गर्दछ । तसर्थ किसानको जोश जाँगर, कर्मचारीको सकारात्मक तथा दृढ सोच, सरकारको सहज नीतिनियम तथा विकासका कार्यक्रम, र बजारको राम्रो व्यवस्थापन भएमा मात्र समग्र कृषि क्षेत्रको विकास हुने गर्दछ ।

कृषक, व्यापारी, तथा होटल व्यवसाय बीचको सञ्जाल स्थापना गर्नुपर्दछ । आम नेपाली जनताले कृषिप्रधान देशको अस्तित्वलाई बचाउन आ-आˆनो योगदान निस्वार्थ र निश्पक्ष रूपमा सोचेर अगाडि बढ्नुपर्दछ अनि मात्र हाम्रो देश नेपालको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अहिलेको प्रमुख नाराको अर्थ रहन्छ ।

अनुदानग्राही भन्नाले यस कार्यविधि बमोजिम छनौट भएका कृषि उद्यमी, कृषक समूह, कृषि सहकारी, कृषि विकाससँग सम्बन्धित समिति र कृषि व्यवसायीलाई बुझ्नुपर्दछ । प्रदेश सरकारबाट अनुदानग्राहीलाई प्रदान गराइने रकम कार्यक्रमको प्रकृति हेरेर परियोजना लागत पाँच लाख रूपैयाँ वा सोभन्दा कम लागत भएका परियोजनालाई कुल लागतको पच्चहत्तर प्रतिशतभन्दा बढी हुने छैन ।

त्यसैगरी ५० लाखदेखि पाँच करोडसम्म लगानी भएको कृषि व्यवसायमा सम्बन्धित अनुदानग्राहीले प्राप्त गरेको अनुदान रकमको ५० प्रतिशत रकम प्रदेश सरकारलाई कार्यक्रमको प्रकृतिअनुसार सम्झौतामा तोकिएको अवधिभित्र फिर्ता गर्नुपर्दछ ।

नेपाल एक कृषिप्रधान देश भए तापनि कृषि क्षेत्रको गतिमा आम नेपाली कृषकले सोचेअनुरूप परिवर्तन नभएको पाइन्छ । देशको संरचना परिवर्तन भएलगत्तै प्रदेश सरकारअन्तर्गत ‘कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि, २०७६’ लागू भएको छ ।

मरुभूमिले मात्र घेरिएको देशमा कृषि क्षेत्रमा सोचेभन्दा चारगुणा सफलता हासिल भएको छ तर कृषि जैविक विविधतामा धनी र कृषिबाट नै जिविकोपार्जन गर्ने करिब ८० प्रतिशत जनता भएको नेपालको हालत निकै दयनीय छ ।

रूपैयाँ सयको तरकारी काट्नेबित्तिकै सकिन्छ अनि हजारको नोट साट्नेबित्तिकै सकिन्छ भनेझैं हाम्रो अवस्था छ ।

(लेखक कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख हुन् )



source https://www.onlinekhabar.com/2020/12/920202

शून्यमा झर्यो काठमाडौंको तापक्रम

१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।

आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।

मौसमविद प्रधानांगले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको बताए । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको पनि बताए । पानी पर्ने प्रणाली भने तत्काल नदेखिएको उनले बताए ।



source https://www.onlinekhabar.com/2020/12/920203

ओलीराजको उदय र अबको बाटो

मौजुदा संविधानभन्दा धेरै प्रगतिशील अन्तरिम संविधान धर्मनिरपेक्षयता, संघीयता र समावेशिताको बाटोमा गएपछि तिल्मिलाएको खसआर्य समुदायले नयाँ ‘नायक’ खोज्न थाल्यो जसले कम नोक्सानीमा यथास्थितिलाई बचाओस् । हिंसात्मक विगत माओवादीको कमजोर पक्ष रहेकै थियो, खुला राजनीतिमा आएपछि उनीहरूमा पनि अपि्रय परिवर्तन आयो । सबै सार्वजनिक संस्थालाई सकेसम्म भर्तिकेन्द्र बनाउने र राज्यसत्ता कब्जा गर्ने लालशा र छिट्टै धेरै अर्थोपार्जन गर्ने खेलमा लागेकाले माओवादीको नयाँ रूप र क्रान्तिकारिता सँगै जान सकेन ।

फलस्वरुपः दोस्रो संविधानसभामा आइपुग्दा प्रचण्ड र माओवादी आन्दोलनको पतन भयो । यता खड्गप्रसाद ओली जो गणतन्त्र, समावेशिता र संघीयताका घोर विरोधी थिए, उनले भने परम्परागत शक्तिशाली समुदायले खोजेको त्यो नायकको स्थान ग्रहण गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाए । यी प्रगतिशील मुद्दाहरू थोकमै खारेज गर्न नसकेपनि संविधान जारी गरिसक्दा धेरै हिसाबले भुत्ते बनाउने काम भयो ।

स्थान ग्रहणपछि आफ्नो शासनकाल भरी ओलीले त्यो ‘नायक’को अपेक्षाकृत काम गरिरहे । प्रदेशहरू संघका इकाइ हुन भन्नु उनले प्रतिनिधित्व गरेको विचारको सिधा अभिव्यक्ति हो । भलै सूर्यबहादुर तामाङ र मलार सदालाई भोकै मर्नबाट बचाउन नसक्ने शासन होस्, तर आफ्नो अपाङ्ग बालकलाई अवतारको रूपमा प्रचार गर्ने हिन्दु परिवारलाई ओलीले राज्यकोषबाटै अमेरिका सयर मात्रै गराएनन्, तिनकै नाममा स्थापित संस्थालाई करोडमा दान पनि दिलाए । अझ भगवान् राम ठोरीमा जन्मेको भन्ने अभिव्यक्तिले त झन पुरै भारत वर्षभरि तरङ ल्याए । यी सबै उनले अन्धविश्वासमा परेर भनेका र गरेका हैनन् । बरू यसो गरेर उनले परम्परागत हिन्दू समुदायले खोजेको हिन्दूत्वको वैध नायक मै हुँ भन्ने सन्देश दिएका हुन । गैँडालाई गैँडा नै भन्नुपर्छ ‘राइनो’ भन्न मिल्दैन भन्ने उनको ठट्टेउली पनि महेन्द्रीय नेपालीत्वको प्रबर्धन थियो ।

समृद्धिको हवाइ सपना

समावेशी राज्यप्रणाली र सुदृढ राजनीतिक र आर्थिक संस्थाहरू समृद्धिका अनिवार्य सर्त हुन । ओलीले सार्वजनिक संस्थाहरूलाई सुदृढ बनाउने केही पनि काम गरेनन । बरू सत्तामा पुगेदेखि नै ती संस्थाभन्दा आफ्नो व्यक्तित्वलाई ज्यादा महत्त्व दिँदै समृद्धिको हवाइ सपना देखाए ।

चुच्चे रेल, पानीजहाज र भ्यू टावर समृद्धिका सूचक मानिए । रेल र पानीजहाजको टिकट खुल्छ भन्दा पर्रर ताली पड्काउने जमात छँदै थियो, मलार सदा र सूर्यबहादुर जस्ताले टिकट कसरी काट्छन् भन्ने प्रश्न गायब भयो ।

नदी थुनेर जहाज चलाउने बहस त भयो तर यसो गर्दा कति ग्रामीण जनसंख्या विस्थापित हुन्छन्, वातावरणीय प्रभाव के हुन्छ कतै कुरै भएन । जहाज आउँछ भने फर्केर पनि जाँदो हो । फर्केर जाने जहाजमा के पठाउने हो बहसै भएन ।

नेपाली समाज र अर्थतन्त्रको आजको चुनौती के हो ? भोलि केके चुनौती आउलान् ? मानव अस्तित्वमाथि नै धावा बोलिरहेको भनिएको वातावरणीय परिवर्तनलाई कसरी सामना गर्ने हो ? तीव्र गतिमा भइरहेको प्रविधिको विकासले भविष्यमा रोजगारीका लागि मेसिनसँग प्रतिस्पर्धा गर्नुपर्ने र ब्यापक बेरोजगारी बढ्नाले बिदेशी श्रम बजारमा आधारित हाम्रो जस्तो अर्थतन्त्रलाई के हुन्छ ? यसले समृद्धिको सपनालाई के असर पर्छ ? त्यति परको चिन्तन ओलीलाई आवश्यक नै परेन ।

त्यसैले “नेपालीले चान्स पाए गर्छ” भन्दै हसाउँने ओलीको समृद्धिको हवाइ सपनामा श्रम बजारमा भोलि नेपालीले चान्स नै नपाउँदा के गर्ने भन्ने प्रश्नहरू सान्दर्भिक हुने कुरै भएन । जेले लोक तत्काल खुशी हुन्छ त्यही भन्ने लोकप्रियतावादी ओलीले उर्जा र प्राकृतिक स्रोतको सघन प्रयोगमा आधारित, दिगो नहुने मानिएको पश्चिमा बिकासको मोडललाई नै उछालिरहे ।

अधिनायकवादतर्फको यात्रा

२०१८ मा प्रकाशित पुस्तक ‘हाउ डेमोक्रेसी गाइज’मा लोकतन्त्रको अन्त्य र तानाशाहीको उदय कसरी हुन्छ भन्ने चाखलाग्दो विश्लेषण छ । लेखकद्वय स्टिभन लेवित्स्की र डानिएल जिब्लाटको विश्लेषणमा एकाइसौं शताब्दीमा तानाशाही पहिलेजस्तो सैनिकले सडकमा बुट बजार्दै आउँदैन । त्यो त निर्वाचित तर लोकपि्रयतावादी शासकले एकएक गर्दै सार्वजनिक संस्थहरूलाई क्षय गर्दै, थाहै नपाई ल्याउँछन् ।

रोचक के छ भने, यो यात्रा विस्तारै, महत्त्वहीनजस्तो लाग्ने क्रमिक चरणहरूबाट गुजि्रने हुनाले राजनीतिक हिसाबले जागरुक र बुद्धिजिबीवर्गले समेत थाहा पाउँदैनन् । बरू कैयन चरणमा पि्रयतावादी निर्णयहरू लिइने हुनाले, समर्थन पो जनाउँछन् ।

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्नेबित्तिकै शक्ति आफूमा केन्द्रित गर्न थालेदेखि, बेलामौकामा संसद छलेर ल्याएका अध्यादेश हुँदै, जस्केलाबाट संवैधानिक पदहरूमा नियुक्ती गरी, अन्तिममा संसद विगठन गरेर आफ्नो अधिनायकवादको यात्रालाई फत्ते गरी देखाएका छन् ।

यति गरिसक्दा धेरैले थाहै पाएनन्, केही थाहा पाउनेहरूले आवाज उठाइरहे तर त्यो झिनो आवाज ‘हनुमान’हरूको चर्को कीर्तनमुनि दबियो । अधिनायकवादका आउँदा मोडहरूमा ओली विरूद्धको मुद्दा हेर्न पहिले उनकै नियुक्ती खाएका र उनकै लागि काम गरेकाहरू न्यायाधीश बनेर पुग्नेछन् । भोलि ‘यती र ओम्नी’ काण्डको छानबिन गर्नैपर्ने अवस्था आए आफैंले जस्केलाबाट नियुक्त गरेकाहरूले नै गर्नेछन् ।

अबको बाटो

हिन्दु खस-आर्य समुदायको एकल-जातिवाद ओलीको शक्तिको मूल आधारस्तम्भ भएको हुनाले र समृद्धिको हवाइ सपना अघि बढाउँदा देखिएको बौद्धिक रिक्तताले उनमा समावेशी र समतामुलक समाज निर्माणको यात्रा तय गर्न चाहिने लोकतान्त्रिक नेतृत्व प्रदान गर्न सक्ने सिर्जनात्मक क्षमता छैन भन्ने पुष्टि भइसक्यो ।

तर कुरा यतिमै सकिन्न । ओलीमा बितण्डा गर्ने, ‘निहुँ खोजे देखाइदिने’ शक्ति अझै छ । यसलाई सायद अंग्रेजीमा प्रयोग हुने ‘न्युसेन्स भ्यालु’ भन्न सकिन्छ । निहुँ खोजे प्रदेशसभाको पनि संघीय संसदकै हालत बनाइदिने धम्की दिनु यसकै उदाहरण हो ।

२०६२-६३ सालको आन्दोलनपछि प्राप्त भएका ४ मूल उपलब्धीहरू संघियता, समाबेशी राज्यप्रणाली, गणतन्त्र र धर्मनिरपेक्ष्यता अझैसम्म राम्रोसँग संस्थागत भै सकेका छैनन तसर्थ यिनीहरूमाथि नदेखिएका धेरै खतराहरू हुन सक्छन् । तर तीमध्ये हालका प्रधानमन्त्री र राष्ट्रपति निःसन्देह प्रस्ट देखिएका प्रधान खतरा हुन् ।

तसर्थ आजको आवश्यक्ता ओलीलाइ सत्ताको डोलीबाट झार्नु र राष्ट्रपति जस्तो संस्थालाई प्रधानमन्त्रिको कार्यालय-सहयोगीको स्तरमा झार्ने बर्तमान राष्ट्रपतिलाई बिदा दिनु हो । नत्र हामीले मात्रै हैन हाम्रा सन्तानले पनि लोकतन्त्रका लागि लड्नु पर्दैन भन्न सकिन्न ।

नेकपा फुटेकाले चुनावमा बसी बसी तालुमा आलु फल्ने भो भन्ठान्ने संकेत देखाएको काङ्रेसले यो आन्दोलनको नेतृत्व गर्ने छाँट छैन । तसर्थ नेकपा कार्यकर्ता र समर्थकले ‘दाहाल-नेपाल समूहले ओलीलाई नटेरेर हाम्रो प्यारो पार्टी फुट्यो’ भन्ने भावनाले घायल भै ओली-भण्डारीको अधिनायकत्वकै निरन्तरतालाई ज्यादा महत्त्व दिन्छन् कि लोकतन्त्रको संरक्षणलाई, त्यो नै सर्वाधिक महत्त्वपूर्ण हुनेवाला छ ।



source https://www.onlinekhabar.com/2020/12/920200

युवामा छर्न खोजिएका तीन भ्रम

नेपाली राजनितिमा हरेक राजनीतिज्ञले आफ्नो स्वार्थ पूरा गर्न सबैभन्दा बढी युवा जमातलाई रोज्छन् । तर आजको युवा पहिलेभन्दा धेरै चेतनशील र अध्ययनशील भएकाले पहिलेजस्तो सजिलो भने छैन । तर, आज पनि विभिन्न ढंगले तिनै युवाहरूमा केही भ्रम फैलाउन खोजिएको छ ।

आज नेपाली राजनितिको आकाशमा मडारिएको कालो बादल के कस्ता कारण किन र कसरी उत्पन्न भयो भन्ने विषयमा केहि युवाहरूमा अत्यन्तै गलत सूचनाको माध्यमद्वारा भ्रम सृजना गर्न खोजिएको देखिन्छ । हामी युवाहरूमा अहिले यस्तो बानी बनिसकेको छ कि भित्री कुरा पढ्ने सामथ्र्य राख्दैनौं, विज्ञहरूका आलेखहरू पढ्ने आँटै गर्दैनौ र पत्र-पत्रिकाका सम्पादकीय त झन पढ्ने बानी नै छैन । बरू आफ्नो मनपर्ने नेताहरूको जस्तो भएनि अन्तर्वार्ता सुन्छौं र त्यसैअनुसार धारणा बनाउँछौं । विषय-विज्ञका अन्तर्वार्ताहरू सुन्ने समय नै हुन्न । यो प्रवृत्तिले आजका नेता र नेतृत्व जति असहिष्णु, अराजनीतिक र तर्कविहीन छ भोलिको नेतृत्व झन् तर्कहीन हुने हो कि भन्ने चिन्ता पनि सर्वत्र देखिन्छ ।

यस आलेखमा म युवा, समस्त पाठकमा पार्न खोजिएका भ्रम र मैले देखेका यथार्थपरक तथ्यहरूका आधारमा सत्य पहिल्याउन कोसिस गर्नेछु ।

भ्रम एकः

प्रधानमन्त्रीलाई काम गर्न नदिन घेराबन्दी गरियो, त्यसैले यो समयको उत्पत्ति भयो । सन्सारमा सायद कुनै मान्छे हुँदैन होला जो समस्याहरूले नघेरिएको होस् । त्यसैमा नेतृत्व यति गम्भीर र चुनौतीको केन्द्र हो जो चारैतिरबाट समस्याहरूले घेरिन्छ । जसले त्यी चुनौतीहरूलाई चिर्न सक्यो ऊ नेता र जननेता र राजनेता भएर निस्कछ तर जो त्यी चुनौतीसँग डराएर दुनियाँ बहाना बनाउँदै पन्छिन खोज्छ ऊ काँतर र सोतर बनेर निस्कन्छ ।

नेताको पहिलो योग्यता नै समस्याको व्यवस्थापन र सहयोद्धालाई विश्वास दिलाउन सक्नु नै हो । नेपाली राजनीतिज्ञहरू त झन् गुट उपगुटहरूले घेरिन्छन् नै । त्यसले के अहिलेका प्रधानमन्त्रीलाई के यो कुराको पहिले हेक्का थिएन र ?

धेरै कमजोरी घेरिएका प्रचण्डसँग एकता गर्नुपूर्व उहाँमा तीन वर्षपछि यस्तो हुन सक्छ भन्नेसम्मको ज्ञान थिएन भने उनलाई उनका जयजकार गर्नेहरूले कुन मुखले राजनेताको पगडी लगाएर हिँड्छन् । एक राजनेताले एक सताब्दीपछि के हुनेछ भन्ने कुराको आँकलन गर्न सक्नुपर्दछ । तर उहाले तीन वर्षपछि के हुनेछ भन्नेसम्मको आँकलन गर्न नसक्ने अनि घेरियो भन्न मिल्छ !

पार्टी एकता के को बलमा र केको सनकमा गर्नुभएको हो ? यो प्रश्न गर्न मिल्ने कि नमिल्ने ? २०७४ साल असोज १३ धुम्बाराहिमा बसेको नेकपा (एमाले) स्थायी कमिटी बैठकमा एक सदस्यले माओवादीसँग तालमेल गरेर जाउभन्दा तपाईं माओवादीको प्रतिनिधि हो ? यो कुरा हुन्न भन्ने केपी ओलिलाई ठिक दुई दिनपछि आफ्नै घर बालकोटमा बैठक बोलाएर माओवादीसँग तालमेल पनि गरौं र एकता पनि गरौं भन्ने आँट, त्यो बोली कसले ल्याइदियो उहाँमा ? त्यसबेला कसैले यो विषयमा अध्ययन गरेर मात्र अगाडि बढौँ भन्दा तपाईं एकता बिरोधी हो भन्ने त्यत्रो चामत्कारी परिवर्तन खड्गप्रसादमा कसको आड या उस्काहटमा पैदा भो यो कुराको वास्तविकता बिस्तारै आउँदै गर्ला तर केही न केही अदृश्य शक्ति या त मनभित्रको अत्यन्तै पद लोलुपदाबादी चिन्तन झल्केको हुनुपर्छ । जुन केही खुलेको छ केही इतिहासले बताउला ।

हाम्रो प्रधानमन्त्रीलाई २०५१ सालको मनमोहन सरकार, २०६६ को माधव नेपालको सरकारलाई पार्टीर्का नेताहरूले केकति सहयोग गरेका थिए भन्ने कुराको जानकारी नभएको हो र ! त्यसैमा २०६७ साअको झलनाथ खनालको सरकारलाई उहाले गर्नु भएको सहयोगको त समस्त जनता जानकार नै छन? के हामी यति चाडै इतिहास बिर्सिदै भ्रम छर्न मिल्छ । के त्यतिबेलाका चुनौतीहरू अहिलेको जत्ती मात्र थिय त ? सम्झिऔं त एकचोटी ती डरलाग्दा दिनहरू । ५ लाख जनता काठ्माडौ उतारेर माओवादी हरू आन्दोलन गर्दै थिय २२ वटा दलहरूको गठबन्धनमा बनेको सरकार कसरी बिस्वास जितिरहेको थियो ?

त्यत्रा २२ दल र आफ्नो दल मिलाउन सक्ने तागत भएका बहादुरहरू यही पार्टीर्मा छन् । के प्रधानमन्त्रीले कुनैदिन सोधे कामरेड कसरी सबैलाई विश्वासमा लिन सकिन्छ भनेर ? होइन बरू पार्टीर्को मार्गदर्शन सिद्धान्तसँग प्रधानमन्त्री पद साटेर ल्याइएका प्रचण्डसँग मिलेर बारबार अपमान र भित्तामै पुर्याउने कोसिस भो । अपमान एउटैलाई मात्र होईन उहालाई यो कमजोरी भो सच्याउनुस भन्नेहरू सबैलाई गर्नु भो । के अष्टलक्षीजस्तो सादगी, सलिन, अग्रणी महिला नेत्री माथि गरिएको अपमान बिर्सन मिल्छ ?

प्रिय युवा साथीहरू, यी त प्रतिनिधिमुलक घटना अनगिन्ती छन् । तर पनि पार्टी, आन्दोलनकै मायाले होला उहाँहरू अहिलेसम्म समाल्लिएर नै अगाडि बढेको देखिन्छ । लालबाबु पंडित र गोकर्ण बिष्ट जतिका मान्छेहरूलाई असफल भएको जस्तो प्रचार गरेर छापामार शैलीमा मन्त्रीबाट निकाल्दा माधव नेपालले एक शब्द पनि बोलेको देखिन्न । के यो उहाँलाई असयोग थियो त ? आफ्ना सहयोद्धाहरू माथि गरिएको अत्याचारसमेत सहेर हाँसीहाँसी सरकारमा कसलाई समेट्ने कसलाई निकाल्ने भन्ने अधिकार प्रधानमन्त्रीको हो भनेर केहि विरोध नगर्नु हाँसिहाँसी निर्णय स्विकार्नु घेराबन्दी हो ? पक्कै होइन, त्यो त्याग थियो, पार्टी र आन्दोलनप्रतिको ।

के पार्टीर्को केन्द्रीय कमिटिले एमसीसी सम्झौतासम्बन्धि निर्णय प्रधानमन्त्री नमान्दा पनि उहाको अनुकुल समयमा आन्नुहोला धेरै दबाब दिन हुन्न भनेर पार्टी यत्रो समय निर्णय सार्दै हिन्नु घेराबन्दी थियो? कि त २०६७ फागुनमा बसेको केन्द्रीय कमिटी बैटेकले लिम्पियाधुरा सम्मको नयाँ नक्सा जारी गर भनेर दिएको निर्देशन घेराबन्दी सम्झिनुभो !

त्यतिमात्र होइन भीम रावल लगायतका नेताहरूले बेलायती सैनिकमा नेपाली महिलाहरूलाई समेत भर्ती गर्ने कुराको खुलेर विरोध गर्नु भएकै हो । त्यसलाई घेराबन्दी ठानिएको हो भने मानिरहोस् । होलि वाइन प्रकरणमा गलत भो भन्ने कुरालाई घेराबन्दी ठान्नेहरूलाई त के भन्नु र खै ? झनै, निर्मला पन्तका हत्यारालाई कार्वाही गर भनेर उठाइएका आवाजहरूलाई घेराबन्दी ठान्नेहरूलाई त राम-रामबाहेक केही भन्न सकिन्न ।

तर अपसोच, यति महत्त्वपूर्ण सरकारलाई असफल बनाउने खालका, जनतामा अपि्रय हुनबाट जोगाउने खालका मुद्दाहरू नेताहरूले उठाउदै गर्दा केहिथान भाडाका अनलाईनहरूले प्रचार गरिरहे सरकार घेराबन्दीमा पार्न खोजियो ।

पार्टीभित्रैबाट असयोग भयो । सरकारका लागि यति सजिलो र सहयोगी प्रतिपक्ष सायदै इतिहासमै पाइन्न । जो सभापतिको सासूआमाको राजदूत पद जोगाउनैका अरू सबै मुद्धाहरू तिलान्जली दिन तयार छ र दिँदै आएको छ । त्यसैले, घेराबन्दी कसले गर्यो, कहाँ बाट भो ? सबैधानिक नियुक्ति गर्न असहयोग भयो रे ? के तीस दल हुँदा नियुक्ति गर्न सजिलो हुने आज तीन दल हुँदा किन अप्ठेरो भयो ?

अरूहरूलाई प्रश्न उठाउँदै गर्दा आफूतिरबाटै कुनै कमजोरी पो भयो कि नेतृत्व गर्ने नेताले सोच्ने कि नसोच्ने ? हामी युवा के यिनै अनलाइनका भ्रमपूर्ण समाचारहरू पढेर मात्रै धारणा बनाउने कि गहिरो अध्ययन र चिन्तन गर्ने । यो सबैभन्दा विचारणीय प्रश्न हाम्रासामू छ ।

तसर्थ, घेराबन्दी अरूले गरेका होइनन्, प्रधानमन्त्रीको वरिपरिकाहरूले गलत सूचना जनतामा छर्ने र गलत सुचना नै प्रधानमन्त्री सम्म पुर्याउनेहरूले नै गरेका हुन । जुन कुरा प्रधानमन्त्री न त बुझ्नु भो न त बुझ्ने कोसिस गर्नुभो । बरू सही सुचना प्रधानमन्त्रीसम्म पुर्याउन कोसिस गरेकै कारण विज्ञ व्यक्तित्व डा. कुन्दन अर्याललाई हटाएर सुर्य थापालाई प्रेस सल्लाहकार बनाइयो । थापा आएपछि केके भए जगतलाई नै अवगत छ । यो सानो निर्णय हो तर सबैकुरा यही एउटा निर्णले प्रष्ट पार्छ घेराबन्दी कसैले गरेका हुन् कि आफैंले रचेका हुन !

भ्रम दुई : अहिलेको समस्याको समाधान मध्यावधि चुनावले गर्नेछ ।

हाम्रोमा कोरोनाको खोप किन्न ६० अर्व रूपैया लाग्ने अनुमान सरकार नै गर्छ र बिश्व बैक, यसियाली बिकास बैक, विश्व स्वास्थ्य सँगठन लगाएतका बिदेशसँग कटौरा थाप्दैछ, खोप किन्न सहयोग गर । यता निर्वाचनको नौटङ्की गरिन्छ जस्का लागि सेतो धन मात्रै करिब २०र३० अर्व खर्च चाहिन्छ । पैसाले भोट किन्ने हरूले गर्ने अबैध खर्चको त हिसाब किताब नै नगरौ । यस्तोमा यो नौटङ्की रचिएको छ र भनिदैछ नयाँ जनादेशका लागि जनतामा जाउ ।

प्रिय युवाहरू, हामीले सोध्ने कि नसोध्ने, तीन वर्ष अगाडि दिएको जनमत के भो भनेर ? त्यस्को बैधता अझै २ वर्ष बाकी नै छ भनेर ? निर्वाचन गर्ने पैसाले हामीलाई कोरोनाको खोप किनेर ल्याउ भनेर भन्ने कि नभन्ने ? कि त मनपरेको मान्छेले जिन्दाबाद भनेकै भरमा जिन्दावाद भन्ने र मुर्दाबाद भनेजै भरमा मुर्दाबाद भन्ने ? साथै, चुनाब सबै समस्याको समाधान हो जस्तो गरेर भन्नेहरूले के निर्वाचन गर्नैका लागि भनिरहेका हुन त ? के निर्वाचन पछि सबैकुरा ठीकठाक हुन्छ त ? तर, यो हामीले अहिले नै एउटा प्रश्नको गम्भीर र तथ्यपरक जवाफ खोज्नै पर्छ । अब आउने सदन फेरि यसरी नै विघटन हुँदैन भन्ने स्पष्ट आधार के छ?

मैले स्पष्ट जवाफ भेटेको छैन बरू सबै सन्कीहरूले यसरी नै विघटन गर्न सक्छन भन्ने मान्यता स्थापित भएको छ । नयाँ सम्बिधान बनेपछिको पहिले चुनाबबाट निर्मित सदन लहडको भरमा दुई घण्टामा विघटन गरियको छ । यदि सर्वोच्च अदालतले यो प्रधानमन्त्रीको निर्णयलाई सदर गरिदियो भने त्यहिदिन देखि यो नेपालको सम्बिधान- २०७२ को मुख्य आधार भत्किने छ र अब आउने हरेक सरकारले आफुलाई असुरक्षित ठानेको खण्डमा जतिसुकै बेला पनि सन्सद विघटन गर्न सक्ने कुप्रथा स्थापित हुनेछ । जुन नेपाली राजनीति, विकास र समृद्धिको सबैभन्दा खतरानक माध्यम बन्नेछ ।

त्यसैले, हरेक सचेत युवाहरूले युवा भएर सोच्न जरुरी छ कि के हामी पछि हामिले नेतृत्व गर्ने नेपाल पनि अहिलेको जस्तै अस्थिर र अ-राजनितीक चाहान्छौ वा स्थिर र अन्य विश्व सङ प्रतिस्पर्धा गर्दै अघिबढेको नेपाल चाहान्छौ ? हरेक सचेत युवा अहिलेलाई होईन भविस्यलाई सझेर एकचोटी सोच्नै पर्छ नत्र भोलि आज जसरी हामी यो मुख्य नेतृत्वलाई गाली गर्दैछौ त्यसरी नै हाम्रो सन्ततिले हामिलाई गाली गर्ने धिक्कर्ने दिन न आउला भन्न सकिन्न । के हामी त्यो दिन भोग्न तयार हो ?

तसर्थ, यो छलछामका लागि घोषणा गरिएको चुनाब न त हुन्छ, न त सधै अस्थिरता पैदा गरिरहने छिमेकिले हुन नै दिन्छ । त्यसैले यस्को खुलेर बिरोध गरौ, सम्मानित सर्वोच्च अदालतलाई हाम्रो मतबाट निर्मित सन्सद पुनःस्थापनाका लागि हरेक माध्यमबाट दबाब सिर्जना गरौ ।
 

भ्रम तीन : शक्ति र सत्ताको भरमा सबैचिज प्राप्त गर्न सकिन्छ

नौजवानहरूमा एउटा अर्को अत्यन्तै आधारविहिन भ्रम फिँजाइएको छ । त्यो हो- ‘हाम्रो केपि बाले सबैतिर मिलाइ सक्नुभएको छ । निर्वाचन आयोगले पनि ओलिकै पार्टीर्लाई आधिकारिता दिन्छ र सर्वोच्च अदालतले पनि बाकै पक्षमा फैसला गर्नेछ, त्यसैले बाकै पक्षमा बोल नत्र तिमीहरूको राजनितिक भविस्य अन्धकार हुनेछ ।’

अन्तमा, युवा कुनैपनि राष्टको भविष्यको ऐना हो । हाम्रो आँखामा पार्न खोजिएका भ्रमका जालोहरू सफा गरौँ, एकले अर्काको अनुहारमा पोतिएका दागहरू सफा गरौँ । तबमात्र हाम्रो भविष्य सफा र उज्ज्वल देखिनेछ । जुन तपाईं, म, हामी हरेकले सफा गर्दा सफा हुनेछ । जालोहरू पार्दै दागहरू एकले अर्कालाई पोत्दै हिँड्यौं भने झन् धमिलो देखिनेछ । त्यसैले, समयलाई समयमै चिनौ्र, बुझौं र अगाडि बढौं । अन्यथाः समय कठोर भई बदलिने छ ।



source https://www.onlinekhabar.com/2020/12/920197

नेकपाको प्रतिक्रान्ति यात्रा

भूराजनीतिक हिसाबमा संवेदनशील र आन्तरिकरूपमा नेपालजस्तो फराकिलो अर्थ-सामाजिक उँच-नीचको अवस्था रहेको देशको राज्य स्वभाविक रूपमा जटिल र गम्भीर हुने गर्छ । अझ, नेपालजस्तो दुई परस्पर विरोधी शासन व्यस्वथा भएका छिमेकी बीचमा रहेको सानो, प्राकृतिक स्रोत-साधानले सम्पन्न र छिमेकी सुरक्षा चासोका हिसाबले महत्त्वपूर्ण देश आन्तरिक र बाहृय राज्य-कलामा औधि निपुण हुन जरुरी छ ।

कुटनीतिक सवालमा त नेपालजस्तो देश सामान्य अवस्थाका देशहरूभन्दा विशेष रूपमा प्रभावकारी हुन अति आवश्यक छ । तर, गणतान्त्रिक नेपालको पहिलो निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अपत्यारिलो रूपमा बलियो सरकारले नेपाली भू-राजनीतिक र आन्तरिक संवेदनशीलता अनुरूपको राज्य-कला अवलम्बन गर्न सकेन ।

नेपालको राजनीतिक इतिहासमा २०१५ सालको आमनिर्वाचनपछि अत्याधिक जनमतले २०७४ साल फागुनमा निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार यतिबेला आफ्नै पार्टीभित्रको कलहका कारण र अझ विशेषगरी नेतृत्वको अहंकार र घमण्डका कारण समाप्त भएको छ । गणतन्त्र स्थापनापछिको विगत र वर्तमानको संक्रमणबाट गुजि्ररहेको नेपाल एकातिर दुई ठूला मित्र राष्ट्रहरूको चेपुवामा परिरहेको छ भने अर्कोतिर सत्तासिन पार्टीको आन्तरिक खिचातानिले उक्त्त पार्टीको मात्र सर्वनाश हैन जनताको सर्वोच्च निकाय संघीय संसदको पनि विघटन भएको छ ।

गएको पुष ५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक प्रतिनिधिसभाकोे विघटन गरिदिए । असंवैधानिक रूपमा संघीय संसदको विघटनपछि एकातिर, नेपालको राजनीति फेरि एकपटक अनिश्चित अस्थिरतातिर भासिन पुगेको छ भने अर्कोतिर, ‘नेपालको संविधान २०७२’ कार्यान्वयनको तेस्रो वर्षमै हठातरूपमा घाइते भएको छ, धर्मनिरपेक्ष सहितको संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामाथि नै खतरा पैदा भएको छ ।

स्वभाविक रूपमा, क्रान्ति जतिको कठिन प्रतिक्रान्ति हुने गर्दैन । क्रान्तिका लागि जुन किसिमको राजनीतिक सिद्धान्त र संगठन आवश्यक पर्छ प्रतिक्रान्तिको लागि ती आवश्यक पर्दैन । राजनीनिक-समाजिक क्रान्तिका लागि जुन आम चेतनाको जरुरी हुन्छ । प्रतिक्रान्तिको लागि ती आवश्यक हुँदैनन् । प्रतिक्रान्तिको यात्रा सहज छ । प्रतिक्रान्ति गर्नलाई क्रान्तिले स्थापित गरेको मूल्य-मान्यतामा नरहे पुग्छ । विधि-विधानलाइ नमाने पुग्छ ।

‘नेपालको संविधान २०७२’ जारी भएपछिको पहिलो आम निर्वाचनमा वाम गठबन्धनको नेतृत्व गरेका केपी शर्मा ओली वाम गठबन्धनका तर्फबाट २०७४ फागुण ३ गते प्रधानमन्त्रीमा नियुक्त भए ।

तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दलहरूको समर्थन प्राप्त गर्न सफल ओली दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । लामो राजनीतिक संक्रमणपछि प्राप्त नयाँ संविधान र परिवर्तित राज्य व्यवस्था अनुरूप देशको शक्तिशाली प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले ऐतिहासिक जिम्मेवारी पाउनु चानचुने कुरा थिएन ।

यो जति महत्त्वको थियो, त्योभन्दा बढ्ता गहन र सघन पनि थियो । आम नेपाली अझ त्यसमा पनि विशेषगरि बामपन्थी राजनीतिमा विश्वास गर्नेहरूका लागि यो एउटा अभूतपुर्व उपलब्धि थियो । नेपाली समाज व्यवस्थाको इतिहासदेखि नै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा विभेदमा पारिएकाहरूका लागि नितिगत रूपमा न्यायको प्रत्याभूति गर्ने अद्भूत ऐतिहासिक अवसर थियो ।

तर, जसै सरकार निर्माण भयो केपी ओली नेतृत्वको सरकारले इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्नेभन्दा पनि आम रूपमा विगतमा गरेका सरकारहरूले भन्दा खासै उल्लेखनीय र विशेष केही गर्ने छनक देखाएन । समय फरक थियो, व्यवस्था परिवर्तन भएको थियो। तर, राज्यको चरित्र झनझन् परम्परावादी भइरहेको थियो । यसअर्थ के भन्न सकिन्छ भने, नेपाली समाजले अग्रगामि यात्रा तय गरिसकेको थियो ।

राजनीति निकै हदसम्म प्रगतिशील भइसकेको थियो तर नेपाली राजनीतिका प्रमुख पात्रहरूका प्रवृत्ति अझै परिवर्तित समाज र राजनीति अनुरूप भइसकेको थिएन । दश वर्षे माओवादी जनयुद्ध र २०६२-६३ को दोस्रो जनआन्दोलनले नेपाली राजनीतिलाई जुन क्रान्तिकारी मोडमा अवस्थित गराएको थियो । त्यसका लागि सरकारले जेजस्ता कामहरू गर्नुपर्थ्यो, ती त भएनन् नै, उल्टो सरकार प्रतिक्रान्तिकारी उडान भर्न लागिपर्‍यो ।

एकातिर, राजनीतिक क्रान्ति पूरा भयो भन्ने उद्घोष गरियो । अर्कोतिर, ऐतिहासिक रूपमा विभेदमा पारिएका दलित, महिला, जनजाति र मधेसका सवालमा सरकार, १० वर्षे माओवादी आन्दोलनलगायत नेपाली राजनीतिको प्रगतिशील आन्दोलनहरूले उठान गरेका मुद्दाहरूमा निरपेक्ष रहँदै गयो । नेपाली संवैधानिक इतिहासकै सबैभन्दा प्रगतिशील र क्रान्तिकारी संविधानलाई व्यवहारमै रूपान्तरित गर्ने सुरुवाति मौका पाएको ओली नेतृत्वको सरकार ऐतिहासिक जिम्मेवारिबाट विमुख हुँदै गयो ।

संविधानले परिकल्पना गरेअनुसारको न्यायपूर्ण र समावेशी राज्य निर्माणमा सरकारले जुन स्तरको पहलकदमी लिनुपर्थ्यो र जस्तो नीतिगत कार्य गर्नुपथ्र्यो, त्यसको सट्टामा सरकार परिवर्तित राजनीतिक अवस्थामा अझ बढी एकल जातीय पितृसत्तात्मक हुँदै गयो । समृद्धिको एकहोरो अलाप त हालियो तर नेपाली समाजमा विद्यमान समृद्धिविरोधी असमानता, विभेद, एकल भाषिक, जातीय र लैङ्गकि अवस्थाहरूको विरूद्ध कुनैपनि प्रभावकारी कार्यक्रम अवलम्बन गरिएन । शक्तिशाली सरकारले सम्पूर्ण शक्ति सरकार इतरको हुर्मत लिन र लोकतन्त्रका लागि आवश्यक स्वस्थ आलोचनालाई निषेध गर्ने कार्यमा निरन्तर प्रयोग गरियो ।

सरकारको कामलाई प्रभावकारी बनाउन निर्मित विभिन्न सरकारी संघ-संस्थाहरूमा क्षमता र समावेशी अवधारणाका अलवा आफ्ना निकट र सरकारको एकोहोरो बखान गर्नेहरूको नियुक्ति गरियो । सरकारको यी सबै रवैया क्रान्ति विरोधि थियो। उपलब्ध संविधानको भावना र आन्दोलनको विरूद्ध थियो जसका कारण आज नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच विगत लामो समयदेखि अघोषित युद्ध नै चलेको छ । र, यो अन्ततः नेकपाको नेतृत्वको सरकारको प्रतिक्रान्ति उल्झन हुन पुगेको छ ।

नेकपामा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधब समूहबाट त्यहि भइरहेको छ जुन प्रतिक्रान्तिको लागि आवश्यक थियो । आलोचनात्मक यथार्थवादको सिद्धान्तले भन्छ- सतहमा देखिएका कुनै पनि सामाजिक-राजनीतिक घटनाका पछाडि सामन्यरूपमा देख्न नसकिने अनेकन कारणहरू हुने गर्छन् । तसर्थ, नेकपाको प्रतिक्रान्ति यो यात्राका सतहमा नदेखिएका धेरै कारणहरू अवश्य छन् ।

नेपाल कम्युनिष्ट पार्टीको प्रतिक्रान्ति यात्रा त्यही बेलाबाट सुरु भयो, जुनबेला नेकपा नेतृत्वको सरकार केपी शर्मा ओलीको नेतृत्वमा बनिरहेको थियो । तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र)बीच पार्टी एकीकरण पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार एमाले र माओवादी (केन्द्र)को संयुक्त्त सरकारजस्तो प्रतित हुन्थ्यो ।

सरकार निर्माणका सुरूवाति दिनहरूमा सरकारको पूर्णताका लागि प्रधानमन्त्री केपी ओलीले झेल्नु परेको सकस पूर्वमाओवादी समूहको अझ भन्नु पर्दा कमरेड प्रचण्डको प्रतिक्रान्तिकारी उल्झन थियो । विगतमा पार्टी एकिकरणका दौरान भएका कतिपय गोप्य महत्त्वपूर्ण सहमति र सम्झौताहरू आफ्नो समूहगत र व्यक्तिगत फाइदा घाटाको हिसाबमा मोलमोलाईको अस्त्र बनाउनु प्रतिक्रान्तिकारी उल्झन नै थियो ।

स्मरण रहोस्, कुनै पनि राजनीतिक क्रान्ति सम्पन्न गर्नु एउटा कुरा हो तर संघर्षका उपलब्धिहरूलाई स्थापित गर्नु र तदनुरूप समाज रूपान्तरण गर्नु अर्को कुरा हो। जब, साँचो अर्थमा राजनीतिक-सामाजिक रूपान्तरणको अवस्था आँउछ, नेतृत्वको नेतृत्व क्षमता र परिपक्वता तेतिबेला परीक्षण हुन्छ । यस मानेमा नेकपाको दुबै समूहको नेतृत्व परीक्षणमा खरो उत्रिन सकेनन् ।

विगत लामो समयदेखि आन्तरिक कलहमा रूमल्लिएको नेकपाभित्रको समस्या नेतृत्वको व्यक्तिगत रूपमा एकाअपसमा रहेको तुष, महत्वकाँक्षा र समूहगत स्वार्थभन्दा माथि उठ्न सकेन । नेकपाभित्र सधैं आन्तरिक कलह भयो । समस्याका ठुला-ठुला पाहडको सिर्जना गरियो । तर, संविधानले व्यवस्था गरेका नागरिकका हक र अधिकारमाथिको बहस कहिले सघन भएन । संविधानले परिकल्पना गरे अनुसारको समतामुलक समावेशि समाज निर्माणकाको बहस प्रधान भएन । जातीय र लैङ्गकि विभेदका विरूद्द नेकपाले सरकारको खबरदारी गरेन ।

संविधानमा त समाजवादउन्मुख भनियो तर कस्तो समाजवाद र त्यसका लागि गर्नुपर्ने नितिगत र संस्थागत कार्यको विषयमा कहिले बहस छेडिएन।तत्कालिन चुनावि सहकार्य गर्दै एकीकरण पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी एउटा भीमकाय पार्टी त बन्यो तर समकालीन प्रगतिशील नेपाली समाजको चेतना अनुसारको संगठन र कार्यनीति अवलम्बन गर्न सकेन । लामो समयदेखि नेकपा पार्टी नेतृत्वको माथिदेखि तलसम्म वैचारिक स्खलनले व्याप्त रहृयो ।

विश्व कम्युनिष्ट आन्दोलनको इतिहासले भन्छ- कम्युनिस्टहरू अरूका कारणले सकिँदैनन्, आपसी शंका, आरोप-प्रत्यारोप र गुटगत अन्तर-पार्टी कलहका कारण नै कम्युनिष्ट आन्दोलन र पार्टी सकिएका छन् ।

नेकपामा जारी कलह पनि नेकपा आफैँमात्र हैन नेपालको आफ्नै मौलिकताको कम्युनिष्ट आन्दोलन तहसनहस पार्न पर्याप्त छ । अझ विशेषगरी, नेकपाको नेतृत्वमा देखिएको घमण्ड, कार्यकर्तामा देखिएको वैचारिक दरिद्रता र त्यसलाई उपयोग गर्न सफल दलाल पूँजीवादीहरूको रजगज देख्दा यो निश्कर्षमा पुग्न सकिन्छ कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिक्रान्तिकारी यात्रामा अगाडि बढेको छ । जसका कारण नेपाली कम्युनिष्ट आन्दोलन कालान्तरसम्म प्रभावित हुने लगभग पक्का छ ।

पार्टीभित्रको आपसी मतभेद र कलहका कारण संविधानवादको मूल्य र मान्यताविपरीत प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधान २०७२’ को विरूद्धमा रहेका देशी तथा विदेशी प्रतिक्रान्तिकारीहरूको प्रतिगामी रुझानलाई स्वागत गरिदिएका छन् ।



source https://www.onlinekhabar.com/2020/12/920196

अचेल म पनि ठूलो मान्छे भएको छु कमरेड !

धेरै समयको अन्तरालपछि बुधवार बिहान एकजना हितैसी मित्र भेटिए । साविकको नेकपा एमालेनिकट विद्यार्थी संगठन हुँदै पार्टीमा लामो समयसम्म सक्रिय रहेका उनी अनुशासित र इमानदार कार्यकर्ता हुन् । तर, पछिल्लो समयमा उनी ओझेलमा थिए । दुई पार्टी मिलेर नेकपा भएपछि त झन उनले कुनै सांगठनिक जिम्मेवारी नै पाएनन् ।

भेटका क्रममा लामो भलाकुसारी भयो । खासगरी वर्तमान राजनीतिक उथलपुथलका सवालमा । ‘अब के हुन्छ होला सर कम्युनिस्ट आन्दोलनको भविष्य ?’ करिब आधा घण्टाको भलाकुसारीमा उनले यही प्रश्न पटक- पटक दोहोर्‍याए । कतिबेला भावुक हुन्थे, कतिबेला सामान्य हुन्थे, कतिबेला आफैलाई धिक्कार्थे त कतिबेला नेताहरुलाई गाली गर्थे ।

‘मलाई करिब दुई वर्ष भयो, कुनै नेताले पनि फोन गरेको थिएन । पार्टीको कार्यक्रम भन्ने खबर पाएपछि आफैं जान्थें । तर, कसैले आधिकारिक रुपमा बोलाउथेनन्’ खिन्नता भरिएको मलिन अनुहारमा रुखो मुस्कान ल्याउने कोसिस गर्दै उनले भने ‘अचेल म ठूलै मान्छे भएको छु कमरेड, मलाई समस्या परेका बेलामा, दुःख परेका बेलामा समेत वास्ता नगर्ने नेताहरुले पनि हाम्रो गुटमा आउनुपर्‍यो भन्दै घरीघरी फोन गरिरहेका छन् ।’

उनले अर्को रोचक कुरा सुनाए ‘कसैकसैले त मेरो गुटमा नआउने भए मेरो हातमा पानी हाल भन्दैछन्, कसैले बरु मेरो मलामी नहुनु, तर मेरो गुटमा आइदिनुपर्‍यो, मेरो इज्जतको सवाल छ भनेर फोन गर्छन् ।’

उमेरले करिब ४५ कटेका ती ‘कमरेड’ अझै पनि झिनो आशा राख्छन्, कतै नेकपा एक भई पो हाल्छ कि !

उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिलेको नेकपाभित्र यस्ता धेरै कार्यकर्ताहरु छन्, जसले पार्टीकै लागि भनेर, संगठनकै लागि भनेर, क्रान्तिकै लागि भनेर देश र जनताकै लागि भनेर जीवनको उर्वरक समय बिताए । इमानदारीपूर्वक संगठनको र नेताहरुको निर्देशन माने, जिम्मेवारी पाएपनि नपाएपनि पार्टी कुरे । पार्टीकै कारण आफन्तहरुसँग भिड्नुपर्‍यो । जब-जब पार्टी सत्तामा पुग्न थाल्यो, ती इमानदार कार्यकर्ताहरु ओझेलमा पर्दै गए । अवसरका लागि हानाथाप गर्नेहरु, व्यक्तिगत स्वार्थमा रमाउनेहरुको पार्टीभित्र बोलबाला हुन थाल्यो । बैचारिक सैद्धान्तिक भन्दा पनि अमर्यादित व्यवहारहरु देखाउनेहरु अघि बढ्न थाले । नेताहरुले पनि त्यस्तै कार्यकर्ता रुचाउन थाले । कार्यकर्ता कार्यकर्ता भएनन्, दास भए । लुटेरा भए ।

कतै योजना, कतै पद, कतै जागिर, कतै पुरस्कार वितरण भइरहँदा पनि ती इमान्दार कार्यकर्ताहरुको विषयमा कसैले चासो राखेनन् । संगठनात्मक जिम्मेवारी, संसदीय जिम्मेवारी, राजनीतिक नियुक्तिहरु सबैमा बषौंंदेखिको संगठनात्मक अनुभव भएका, पार्टी सिद्धान्त र विचारप्रति ज्ञान राख्ने ती कार्यकर्ताहरु अयोग्य ठहरिए । उनीहरुको सट्टा नेताहरुका नातागोता, आर्थिकरुपमा हुनेखानेहरुले स्थान पाए ।

त्यस्ता व्यक्तिहरुका लागि संगठनात्मक अनुभवको कुनै बारबन्देज भएन । सायद उनीहरुको गणना पनि भएन । आफ्नो परिवार पाल्नका लागि सामान्य पेशा व्यवसायमा लागेका कार्यकर्ताहरुलाई ‘पूर्णकालीन’ देखेन पार्टीले । तर, करोडौंका मेसिन ल्याएर सडक खन्ने ठेक्कामा लागेकाहरुलाई भने अवसरको ओइरो लाग्यो । तर, पनि डग्मगाएनन् इमानदार कार्यकर्ताहरु । ‘हामी व्यक्तिगतरुपमा कुनै कुरा प्राप्त गरौंला भनेर लागेका थिएनौं, हामीलाई स्कुलिङ पनि त्यस्तो थिएन’ ती कार्यकर्ताले भने ‘जनताको मुक्तिका लागि भनेर लागेका हौं, त्यसैले व्यक्तिगतरुपमा केही प्राप्त गरेन भन्ने न गुनासो छ, न आत्मग्लानि ।’

यस्ता कार्यकर्ताहरुलाई आफ्नो भन्दा पनि आफूले समाजवादको स्वणिर्म सपना देखाएर संगठनमा आवद्ध गराएका सयौं मजदुरहरु, हजारौं किसानहरु, निमुखाहरुको चिन्ता छ । ती अनुहारहरु सम्झिँदा आफैं त्रसित हुनुपर्ने अवस्था आएको छ, ‘मैले देखाएको समाजवादको सपना, समृद्धिको सपना, वर्गीय मुक्तिको सपना, सपनामै सीमित रह्यो ।’

पछिल्लो चरणमा विकास भएको राजनीतिक घटनाक्रमले तिनै कार्यकर्ताहरुलाई चिन्तित बनाएको छ । अवसरका बेला जुकाझैं देखिनेहरुलाई पार्टी विभाजनप्रति रत्ति दुःख छैन । उनीहरु अहिले पनि कहाँ पद पाइन्छ, कहाँ जागिर पाइन्छ र कहाँ योजना पाइन्छ भनेर ‘बार्गेनिङ’ मा व्यस्त छन् । सडकमै सत्तोसराप गर्नेहरु पनि एकआपसमा घाँटी जोड्दैछन् । उनीहरुलाई पार्टी फुटोस् वा जुटोस् कुनै परवाह छैन । तर, वर्गीय मुक्तिका लागि भन्दै पार्टीकै निर्देशन अनुसार लड्दै आएका ती अनुहारहरु आज झनै मलीन भएका छन् ।

टुटफुटमै केन्दि्रत कम्युनिष्ट इतिहास अध्ययन गरेका उनीहरु २०७५ साल जेठ ३ गते दुई ठूला कम्युनिष्ट समूहहरु एक हुँदा प्रफुल्लित भएका थिए । आफ्नो चाउँरिदै गरेको अनुहारमा विजयमुस्कान ल्याएका थिए । अब दुई पार्टी मिलेर एक भए भने समृद्धि आउँछ, जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने कल्पना गरेका थिए उनीहरुले ।

तर, तर के गर्नु ? आज एकपटक फेरि ती इमानदार कार्यकर्ताहरुलाई आम जनताका बीचमा गएर ‘कम्युनिष्ट हुँ’ भन्न पनि लाज मान्नुपर्ने अवस्था आएको छ । फरक राजनीतिक पार्टीका कार्यकर्ताहरु देख्यो भने मुख लुकाएर भाग्नुपर्ने अवस्था छ । एक गुटका नेताहरुले अर्को गुटका नेताहरुलाई गाली गरेको, अपमानित गरेको, आरोप लगाएको सुन्दा मन कटक्क हुन्छ ती इमानदार सिपाहीहरुको ।

नेकपा विभाजन हुँदै गर्दा कसैलै केन्द्रीय सदस्य पाएको, कसैले जनसंगठनको जिम्मेवारी पाएको, कसैले मन्त्री पाएको खबर दिनहुँ सुनिरहँदा पनि कुनै सन्तोष नभएका उनीहरुलाई पनि यतिबेला आश्वासनको ओइरो लाग्दैछ । कसैले पद दिने, कसैले योजना दिने, कसैले छोराछोरी जागिर लाइदिने यस्तायस्तै आश्वासन उनीहरुका कानमा गुन्जिन्छन् ।

तर, अझै पनि चोइटिन लागेको नेकपाभित्र थुप्रै यस्ता इमानदार कार्यकर्ताहरुजो यस्ता ‘ललीपप’ सिधैं अस्वीकार गर्दैछन् । उनीहरुलाई आफ्नो पदको होइन, छोराछोरीको जागिरको होइन, पार्टीको चिन्ता छ । देशको चिन्ता छ । तमाम नेपाली जनताको चिन्ता छ । स्वीकारिरहेका छैनन् उनीहरु आश्वासन, प्रलोभन वा धम्की, जेसुकै होस् ।

त्यसको ठीक विपरीत अवसरवादीहरु स्वार्थको बार्गेनिङ्गमा जुटेका छन् । पार्टी सदस्य नभएकाहरु पनि ठुलै पदको दाबी गर्दैछन् । आफ्नो ठाउँमा योजना हालिदिनुपर्ने र त्यसको अध्यक्ष आफूलाई बनाइदिनुपर्ने ग्यारेण्टी गराउँदैछन् । कुनै सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको पत्रसँग गुटको ‘बार्गेनिङ्ग’ चलेको छ । त्यति भएपछि ‘फलानो जिन्दावाद !’ भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउँदैछन् । साँझ एउटा गुटको भएर पोष्ट्याउँछन्, बिहान उठ्दा अर्कै गुटको भएर निस्कन्छन् । हिजोसम्म आफैंले नेता मानेकाहरुलाई निकृष्ठ शब्दमा अपाच्य आरोप लगाउँदैछन् । त्यसैको बलमा नेताहरुबाट स्याबासी पाउँदैछन् । पदीय र पेशागत नैतिकतासमेत बिर्सेर गुटको ‘अन्धभक्त’ भएका छन् । अरुलाई मर्यादा, अनुशासन, नैतिकताको पाठ पढाउँदैछन्, आफू एकोहोरो रुपमा सीमाभन्दा बाहिर गएर बकबासपूर्ण अभिव्यक्ति दिँदैछन् ।

तर, ती कार्यकर्ताहरु जो आज पनि नेकपा चाहान्छन्, जो आज पनि पार्टीका नेताहरुले एकीकरण घोषणाको दिन गरेको बाचा पूरा भएको हेर्न चाहान्छन्, जो आज पनि गठवन्धनले चुनावमा गरेका बाचा पूरा गरेको हेर्न चाहान्छन्, उनीहरु आफ्नै नेताको हुर्मत गरेको सहन सक्दैनन् ।

यदि नेतृत्वले, गुटका ठेकदारहरुले त्यस्ता कार्यकर्ताहरुको भावना, आग्रह बुझिदिएको भए देशले अहिले राजनीतिक अस्थिरता झेल्नुपर्ने थिएन । भाइ-भाइ आपसमा लड्नुपर्ने थिएन कि ?



source https://www.onlinekhabar.com/2020/12/920191

मेयरको बुवाको निधनको शोकमा सार्वजनिक विदा

१६ पुस, काठमाडौं । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ ।

मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ ।

गणेशप्रसाद पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा चार पटकसम्म प्रधानपञ्च बनेका थिए ।

 



source https://www.onlinekhabar.com/2020/12/920194

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटको सुनुवाइ आज

१६ पुस, काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/12/920185

फेसबुक, प्रेमसम्बन्ध र दुर्घटना

‘मेरो नवीनसँग नाता कायम गरिदिनका लागि मुद्दा लडिदिनुपर्‍यो ।’ एउटा प्रतिष्ठित संस्थानमा काम गर्ने २४ वर्षीया नीताले काठमाडौंको एउटा संस्थामा आएर उजुरी हालिन् ।

कुरा बुझ्दै जाँदा दुबईमा काम गर्ने एकजना नेपाली युवकसँग फेसबुकमार्फत भेट भएपछि उनीहरूबीच केही समयपछि प्रेमको आदन-प्रदान हुन पुग्यो । दुबईबाट छुट्टीमा घर आएका बेलामा उनीहरू एउटै घरमा सँगै बसे । नवीनलाई नीताले २० हजार रूपैयाँ पनि दिइन् ।

दुबई फर्केर गएपछि नवीनले नीतालाई वास्ता गर्न छाडे । उनको फोन पनि उठ्न छोड्यो । फेसबुकबाट पनि नीतालाई हटाए । अहिले नीता अदालतबाट आफ्नो सम्बन्ध कायम गराइदिन संस्थामा धाइरहेकी छन् ।

‘नविनले, फेसबुकमा लेखेको प्रेमको कविता, सँगै घुम्न जाँदा अङ्गालो मारेर खिचाएका फोटाकोे आधारमा मात्रै कसरी हाम्रो संस्थाले अदालतमा नाता कायम गर्नका लागि मुद्दा हाल्न मद्दत गर्ला र ?’ संस्थाकी अध्यक्षले मलाई सोधिन् । यसबेला कानुनको विषयमा जान्न महिलासँग यस विषयमा छलफल गर्न उपयुक्त हुने सुझावमात्र दिन सकें मैले ।

तर, नीताको यो घटना/दुर्घटनाले चाहिँ धेरै कुरा सोच्न विवश गरायो ।

को मान्छे, कस्तो मान्छे भनेर चिन्दै नचिनेर फेसबुकबाट नै प्रेम गर्ने र भेट गर्ने, शारीरिक सम्बन्ध राख्ने अनि सँगै मर्ने-बाँच्ने कसम र केही समयपछि सम्बन्ध विस्तारै कम गरेर एक-अर्काको जिन्दगीबाट हराउने प्रवृत्तिले युवक-युवती किशोर किशोरीहरूलाई धेरै नकारात्मक असर परेको छ । प्रेम हुनु भनेको नै यौन सम्बन्ध हुनु हो भन्ने मानसिकताले अहिलेको युवा-समाजलाई बेस्सरी गाँजेको छ ।

यौन सम्बन्ध भएपछि गर्भ रहनु त स्वाभाविक भयो । तर, अविवाहित किशोरीहरूलाई यस्तो सम्बन्धपछि गर्भपतन गराउन डाक्टरहरूको क्लिनिकमा जान्छन् ।

‘मलाई त छक्क लाग्छ (१०-११) कक्षा पढ्ने किशोरीहरू पनि गर्भपतन गराउन आउँछन् । चुइङगम चपाउँदै साथीहरू लिएर हाँस्दै गर्भपतन गराइदिनुपर्‍यो भनेर आउने किशोरीहरू मकहाँ पनि आउँछन् । मैले गर्भपतन त गराइदिन्छु र उनीहरूलाई परिवार नियोजनका बारेमा केही सल्लाह पनि दिन्छु । तर, उनीहरूले मेरो सल्लाह सुनेजस्तो लाग्दैन ।

एकजना छात्रा त दुई वर्षमा तीनचोटि गर्भपतन गराउन आइन् । तेस्रोचोटि आउँदा त अब तिम्रो गर्भपतन गर्न सक्दिनँ भनेँ । मलाई दुःख लाग्छ, यस्ता किशोरीहरू देखेर । तर, के गर्ने होला ?’

अहिलेका किशोर किशोरीहरूलाई प्रेमको, यौनको बारेमा सानो उमेरदेखि नै थाहा हुन्छ । र १५-१६ वर्षको उमेरमा यौन सम्बन्ध हुनु अहिले अचम्म मानिँदैन । ‘पहिले बालविवाह भनेर सानै उमेरमा यौन सम्बन्ध हुन्थ्यो, अहिले विवाह नराई नै यौन सम्बन्ध हुनु अचम्म के भो र ?’ एकजना जिल्लाका शिक्षकले भने ‘हाम्रा स्कुलमा पनि केटाकेटीहरू सानैमा प्रेम गर्छन् र यौन सम्बन्ध राख्छन् । कतिजना त घरबाट भाग्छन् र फेरि फर्केर घरै जान्छन् । खोई के भएको हो यस्तो ?’

जिल्लाका स्कुलमा जाँदा यस्ता कुराहरू धेरै सुनिन्छन् । आमाहरूसँग कुराकानी गर्दा ‘मोबाइल फोनले गर्दा केटाकेटीहरू प्रेम गर्छन् र भाग्छन् । यसलाई रोक्न सरकारले कदम चलाउन सक्दैन र ?’ भनेको पनि सुनिन्छ ।

अहिलेको बदलिँदो समाजमा माथि भनेका घटना, यौन सम्बन्ध, प्रेम, भागेर विवाह गर्ने, गर्भपतन गराउने, सम्बन्ध टुट्नु आदि अहिले विभिन्न ठाउँमा भएका समस्या हुन् । तर, यिनका बारेमा कुनै सामाजिक अध्ययन-अनुसन्धान भने भइरहेको छैन ।

हामीलाई प्रायः के लाग्छ भने यस्ता समस्याहरू ठूला शहरका मात्र होलान् । तर, सुदुर पश्चिमदेखि सुदुर पूर्वका जिल्लामा जाँदा विभिन्न ठाउँमा यस्तै घटना धेरै सुनिए । आमाहरू र शिक्षकहरूले मोबाइल फोन रोकेपछि यस्ता समस्या समाधान हुन्छ भन्ने विचार पनि दिए । तर, मोबाइल फोन रोक्न सकिने कुरा हो र ? अहिले त कतिपय सुदुरपश्चिमका जिल्लाहरूमा घरमा शौचालय नभए पनि मोबाइल फोन त प्रायः हुन्छ नै ।

अहिलेको समाजमा प्रविधिलाई रोक्न होइन कि प्रविधिको राम्रो तरिकाले प्रयोग कसरी पो गर्ने भनेर किशोरकिशोरीलाई ज्ञान दिनुपर्छ । घरमा र स्कुलमा राम्रा मार्गदर्शन नहुँदा सायद किशोर किशोरीहरू यसरी नक्कली प्रेम, यौन सम्बन्धको धरापमा पर्छन् । यस्ता सम्बन्धहरू टुटेपछि कतिजना त मानसिकरूपमा नै डिप्रेसनमा पुग्छन् भने कतिजना प्रेम सम्बन्ध भएपछि आत्महत्यासम्म गर्छन् ।

समाजका आइरहेका यी सबै परिवर्तन आत्मसात गरेर किशोरकिशोरी र युवालाई परामर्श दिने स्कुलमा व्यवस्था गरिएको छैन । यो समस्याको छलफल पनि सुरु भएको छैन ।

नीताजस्ता धेरै युवती प्रेममा फसेर यौन सम्बन्ध राख्छन् । अनि विनाकुनै प्रमाण नाता सम्बन्ध कायम गराईपाउँ भनेर अदालतमा मुद्दा हाल्न चाहन्छन् । जो एकैछिनको आवेश वा मनलाई प्रेम ठान्छन् र सजिलैसँग कुनै बदमासको जालमा फसिहाल्छन् ।

एक वर्षअघि जति सुदुरपश्चिममा प्रजनन स्वास्थ्यका बारेमा स्कुलमा छलफल गर्दा किशोर अवस्थामा नै प्रेम सम्बन्ध राख्दा पर्ने समस्याहरूको बारेमा एकजना किशोरीले भनिन्, ‘हाम्रो शरीरमा हाम्रो अधिकार हुन्छ भनेर भन्ने अनि किशोरी अवस्थामा यौन सम्बन्ध राख्न हुन्न भन्ने ? यौन सम्बन्ध राख्नु के हाम्रो अधिकार होइन र ?’

ती किशोरीको कुरा सुनेर म छक्क परें र भनेँ, ‘अधिकार सँगसँगै दायित्व पनि आउँछ । अधिकारका बारेमा छलफल गर्दा आफूलाई हानी हुने गरेर अधिकारको प्रयोग गर्नु त भएन । किशोर अवस्थामा नै यौन सम्बन्ध राखेपछि हुने विभिन्न समस्या छन् । गर्भ रहन गयो भने, असुरक्षित गर्भ रहन गयो भने असुरक्षित गर्भपतनले गर्दा हुने समस्या हुन्छ । फेरि जोसँग प्रेम गरेर यौन सम्बन्ध भयो, त्यो पछिसम्म रहिरहन्छ भन्न सकिन्न । अपरिपक्व अवस्थामा भएको आकर्षणलाई प्रेम भन्न सकिन्न । पछि अन्यसँग प्रेम हुन सक्छ ।’

मैले भनेका कुराहरूले ती किशोरीको चित्त त कति बुझ्यो वा बुझेन भन्न गाह्रो छ, तर ती किशोरीको प्रश्नले मलाई सोच्न बाध्य गरायो । अहिले सायद अधिकारको बारेमा छलफल गरिरहँदा हामीले कर्तव्यबोध गराउने बिर्स्यौँ कि ?

पहिलेकै अवस्थामा यो समाज फर्कियोस् भनेर हामीले चाहना राख्न सक्दैनौं । तर, किशोर किशोरीलाई सम्बन्धको महत्त्व यौन सम्बन्ध राख्दा त्यो सँगै के-के दायित्व आउँछन् भनेर त बुझाउनुपर्छ । किशोरीहरूलाई गर्भपतन गराउनु कानुनीरूपमा मान्य भएता पनि गर्भवतन जथाभावी गराउनुचाहिँ शारीरिकरूपले हानी गर्ने सम्भावना छ भनेर बुझाउनैपर्छ । उनीहरूलाई ‘इमर्जेन्सी पिल’ भनेको चक्लेट खाएजस्तो होइन । यसको जथाभावी प्रयोगले हानी गर्छ भनेर बुझाउनैपर्छ । किशोरहरूले महिलाको शरीरलाई जसरी खेलाए पनि हुन्छ भन्ने मानसिकता नआओस् भनेर छलफल गर्नुपर्छ ।

अहिले नै फेसबुक प्रेम, यौन आकर्षक, प्रजनन स्वास्थयको बारेमा छलफल गरिएन भने थुप्रै किशोरीहरू डाक्टरकहाँ गर्भपतन गराउन आइ नै रहनेछन् । थुप्रै किशोरीहरू प्रेम, आकर्षण र यौन सम्बन्धको एउटै हो भन्ने ठानिरहन्छन् ।

अब त आमाबुबाले छोराछोरीलाई घरबाट नै यसबारेमा थाहा दिनुपर्ने बेला आएको छैन र ? स्कुल , कलेज आएका शिक्षक-शिक्षिकाहरूले परामर्श दिनुपर्ने बेला आएको छैन र ?



source https://www.onlinekhabar.com/2020/12/920188

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More