Saturday 31 December 2022

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो ।

अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तयारीप्रति ढुक्क छु ।’

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । पेजेन्टमा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् ।

यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

सोफियाले आफूलाई साथ दिन सबै नेपालीसँग आग्रह पनि गरेकी छिन् । गत अगस्टमा काठमाडौंको याक एण्ड  यति होटलमा भएको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।



source https://www.onlinekhabar.com/2023/01/1240862

बढ्दो खाद्य असुरक्षा र अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३

कोभिड-१९ महामारीको अन्त्य नहुँदै सुरु भएको रसिया-यूक्रेन युद्ध असरको कारण सन् २०२३ मा समेत विश्वव्यापी रूपमा खाद्यान्न उत्पादन घट्यो। साथै, आपूर्ति श्रृङ्खलामा अवरोध कायम नै रहने भई खाद्यान्नको मूल्य वृद्धि हुने प्रक्षेपण भइरहेका छन्। यस्तो अवस्थाबाट नेपाल जस्तो सानो अर्थतन्त्र भएको गरिब मुलुक अझ बढी प्रभावित हुने बारे दातृ निकाय एवं अन्तर्राष्ट्रिय एड एजेन्सीहरूले चिन्ता व्यक्त गरिरहेका छन्। यसको अतिरिक्त जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा नकारात्मक असर पर्ने क्रम बढ्दै जाँदा खाद्य सुरक्षामा प्रत्यक्ष असर पर्दै गएको विषय अब नयाँ रहेन।

गत वर्षको बेमौसमी वर्षाको कारण धान बालीमा भएको ठूलो क्षति यसको एउटा ज्वलन्त उदाहरण हो। यस वर्ष पनि समयमा हिउँदे वर्षा नहुँदा हिउँदे बालीको उत्पादनमा कमी आउने हो कि भन्ने संशय पैदा भएको छ। यस्तो अवस्थामा आगामी दिनमा खाद्य तथा कृषि आयात र परनिर्भरता अझै बढ्न सक्ने सम्भावना देखिएको छ। त्यसैगरी हालै प्रकाशित राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस, २०२२) ले पाँच वर्ष मुनिका बालबालिका र महिलामा रक्तअल्पताको दर क्रमशः ४३ प्रतिशत र ३४ प्रतिशत रहेको देखाएको छ जुन विश्वकै खराबमध्ये पर्छ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार नसर्ने रोगको तीव्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा पर्दै गएको छ। यसो हुनुमा अस्वस्थकर खानपान र आधुनिक जीवनशैली विशेष जिम्मेवार रहेको पाइएको छ।

यी समस्याको सम्बोधनको लागि बहुआयामिक एवं बहुपक्षीय प्रयास आवश्यक हुने भएतापनि कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि एक व्यावहारिक रणनीति हुनसक्ने देखिन्छ।

कोदोजन्य बाली समूहमा सामान्यतया १० थरीका बालीहरू बढी प्रचलनमा रहेतापनि नेपालमा कोदो, चिनो, कागुनो र जुनेलो बढी खेती गरिनेमा पर्छन्। फापर र लट्टे पनि दानाको आकार–प्रकार, पोषण सम्बन्धी गुण र उपभोगको तरिकामा रहेका केही समानताको कारण कोदोजन्य बालीअन्तर्गत नै राख्ने गरिन्छ।

डा. रामकृष्ण श्रेष्ठ

विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि आधुनिक जीवनशैली र सोसँगै खाने बालीमा आएको परिवर्तनलगायतका कारण कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ। खाद्य तथा कृषि प्रणालीमा देखा परेको समस्या एवं चुनौतीबीच पछिल्लो समय कोदोजन्य बालीप्रति विश्वव्यापी रूपमा नै आम चासो बढ्दै गएको पाइन्छ। कोदोजन्य बालीहरूमा विद्यमान खाद्य सुरक्षा, स्वास्थ्य तथा पोषण एवं जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन सम्बन्धी गुणलगायतले यस्तो भएको हो।

कतिपय देशहरूले त्यस्ता बालीहरूको प्रवर्द्धनको लागि राष्ट्रिय अभियान नै संचालन गरेका उदाहरण पनि छन्। यसै सन्दर्भमा मित्रराष्ट्र भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघ साधारणसभाको पचहत्तरौं सेसनले पारित गरे बमोजिम सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाइँदैछ।

मूलतः कोदोजन्य बालीहरूको महत्व बारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइँदैछ। यसको अलावा उक्त वर्षको अवसरमा कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवं मूल्य अभिवृद्धि, बजार एवं व्यापार विस्तार, स्थानीय एवं रैथाने जातको संरक्षण र त्यस्ता बालीहरूको प्रवर्द्धनको लागि नीतिगत सुधारलगायतका विषयमा संगठित र व्यक्तिगत पहलकदमी समेत हुने अपेक्षा गरिएको छ।

नेपालमा कोदोजन्य बालीको प्रवर्द्धन किन ?

नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ। धान तथा गहुँ जस्ता बालीहरूको तुलनामा प्रायः छोटो अवधिमा नै तयार हुने भएकाले ती बालीहरूको खेती विस्तारमार्फत उत्पादन बढाई चामलमाथिको अत्यधिक निर्भरता कम गरी खाद्य सुरक्षा र आत्मनिर्भरतामा प्रत्यक्ष टेवा पुर्‍याउन सम्भव छ। कोदोजन्य उत्पादन प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतको राम्रो स्रोत भएकाले शरीरको लागि आवश्यक पोषणको आपूर्ति गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।

खासगरी अस्वस्थकर खानपिनको कारण बालबालिका र युवायुवतीमा व्याप्त कुपोषणको समस्या कम गर्न यस्ता उत्पादनले प्रत्यक्ष योगदान पुर्‍याउन सक्छन्। उदाहरणको लागि बालबालिका र युवती एवं महिलामा विद्यमान रक्तअल्पता कम गर्न कोदोजन्य उत्पादनको ठूलो महत्व हुनसक्छ। यसको अलावा मोटोपन, मधुमेह र मुटु रोगको जोखिम कम गर्न समेत त्यस्ता बालीहरूको उत्पादन उपयोगी हुने प्रमाणित भएका छन्।

जलवायु परिवर्तन समग्र कृषि उत्पादन र खाद्य सुरक्षाको लागि ठूलो चुनौती बन्दै गइरहेको बारे हामी सबै जानकार छौं। हाम्रो जस्तो उच्च जलवायुजन्य जोखिमताको अवस्थामा रहेको देश जलवायु परिवर्तनको कारण बढी प्रभावित हुने अध्ययनहरूले देखाइसकेका छन्। जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन्। यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन्। यस्ता बालीहरू रासायनिक मलखाद र विषादिको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने प्रकारमा हुने हुँदा हानिकारक हरित ग्याँस उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोगी छन्।

त्यसैगरी अन्य बालीहरूको तुलनामा यी बालीहरूमा कम सिंचाइ भएमा पनि खेती गर्न सकिने र सुक्खा, खडेरी तथा उच्च तापक्रम बढी सहन सक्ने गुणहरू विद्यमान भएकोले जलवायु परिवर्तन अनुकूलनको दृष्टिले पनि उपयुक्त छन्।

यसको अलावा कोदोजन्य बालीको उत्पादन, मूल्य अभिवृद्धि र बजारीकरणमा ग्रामीण महिला तथा युवाहरूको संलग्नता बढाउन सकिन्छ। ग्रामीण क्षेत्रमा रोजगारीको अवसर एवं पारिवारिक आयमा वृद्धिमार्फत कृषि पेशाबाट युवाशक्ति पलायन हुने क्रम रोकी ग्रामीण क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरणलाई सम्भव तुल्याउन समेत कोदोजन्य बालीको प्रवर्द्धन अभियानले मद्दत पुर्‍याउन सक्ने देखिन्छ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष र गतिविधि

कोदोजन्य बालीको माथि उल्लेख गरिए जस्तै बहुआयामिक महत्वको बारेमा आम उपभोक्ता र सरोकारवालाहरूमा कम जानकारी रहेको पाइएको छ। त्यसैगरी अझै पनि कतिपय क्षेत्रमा कोदोजन्य उत्पादनलाई गरिबको खानाको रूपमा हेला गर्ने र सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने गरेको पाइन्छ। यस वर्ष मूलतः त्यस्ता बालीहरूको महत्वबारे जनचेतना अभिवृद्धिको साथै गलत सामाजिक मान्यता हटाउनको लागि विभिन्न प्रचारात्मक र सचेतनामूलक गतिविधि सञ्चालन गरिने छन्।

यसको लागि खाद्यवस्तु तथा परिकारसहितको मेला, प्रदर्शनी आयोजना, भेला, गोष्ठी जस्ता प्रत्यक्ष स्थलगत कार्यक्रमको आयोजनाको अलावा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको व्यापक उपयोग गरिनेछ।

कोदोजन्य उत्पादनबाट बन्ने तयारी एवं प्रशोधित खाद्य परिकारमा विविधता ल्याउन सकेमा तिनको उपभोग र उद्यमशीलता विकास गर्न सहज हुने देखिन्छ। वर्तमानमा त्यस्ता उत्पादनमा आधारित सीमित खाद्य परिकारको उपलब्धताको कारण बालबालिकादेखि अन्य उमेर समूहका उपभोक्ताहरूलाई पनि धेरै आकर्षित गर्न सकिएको छैन। खाद्य परिकारमा विविधीकरण, उपभोग्य वस्तुहरूको विकास (प्रोडक्टस् डेभलपमेन्ट), मूल्य अभिवृद्धि र व्यापार प्रवर्द्धन सम्बन्धमा युवायुवतीलाई इन्कुवेशन सेवा उपलब्ध गराई स्टार्टअप व्यवसाय सञ्चालनको लागि स्टार्टअप फण्ड र अन्य आवश्यक सहयोग गर्नु जरुरी देखिन्छ। अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको अवसरमा यस दिशामा ठोस पहल हुनुपर्ने आवश्यकता छ।

त्यसैगरी कोदोजन्य अर्गानिक उत्पादन एवं खाद्य वस्तु र भौगोलिक संकेतसहितको उत्पादनको लागि अन्तर्राष्ट्रिय बजारको खोजी र पहुँचको लागि पनि यस वर्ष हामीले काम गर्नुपर्नेछ। साथै, भारतलगायतका देशहरूले कोदोजन्य बालीहरूको जातीय सुधार, मूल्य अभिवृद्धि र मूल्य श्रृङ्खला विकासमा हासिल गरेको उपलब्धिहरूबाट सिक्न र फाइदा लिन कूटनीतिक संयन्त्रहरूको परिचालन गरी जर्मप्लाज्म साटासाट, क्षमता विकास एवं अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार जस्ता विषयमा उपयोग गर्नु जरुरी देखिन्छ।

यसको अलावा कोदोजन्य बाली प्रवर्द्धनको लागि केही नीतिगत व्यवस्थाको सुरुआत एवं सुधारको पहल पनि यस वर्ष गर्नुपर्नेछ। केही त्यस्ता प्रमुख विषयहरूमा प्रमुख कोदोजन्य बालीहरूको उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खरिद गरी बजारीकरण गर्ने एवं सार्वजनिक वितरण प्रणालीमा समावेश गर्नुपर्ने देखिन्छ। विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध कोदोजन्य बालीमा आधारित परिकारलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ। कोदोजन्य बालीको उत्पादन, संरक्षण तथा रेसिपी तयारी सम्बन्धी विषय विद्यालयको स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्छ। सरकारी एवं सार्वजनिक निकायहरूले आयोजना गर्ने बैठक, तालिम तथा गोष्ठी र अन्य सार्वजनिक कार्यक्रमहरूमा खाजाको रूपमा स्थानीयस्तरमा उपलब्ध कोदोजन्य बालीमा आधारित परिकार एवं तयारी खाद्य वस्तु उपभोगलाई अनिवार्य गर्नुपर्छ।

नेपाली क्यालेन्डर वर्षको कुनै दिनलाई राष्ट्रिय कोदोजन्य बाली दिवसको रूपमा घोषणा गरी नियमित रूपमा मनाउने बारे निर्णय गर्नेलगायतका विषय हुनसक्छन्। त्यसैगरी यसै वर्ष कोदोजन्य बाली प्रवर्द्धनको लागि पाँचवर्षे कार्ययोजनासहितको राष्ट्रिय मिसन तर्जुमा समेत गर्नु वाञ्छनीय हुनेछ।

यसको अतिरिक्त लोपोन्मुख रैथाने जात एवं जंगली प्रजातिको खोजी, पहिचान र संरक्षण एवं जातीय दर्ता, कोदोजन्य बालीको पोषण प्रोफाइलिङ र तथ्याङ्क अद्यावधिक तथा कोदोजन्य बालीसँग सम्बन्धित परम्परा र खाद्य संस्कृतिको खोज, प्रवर्द्धन एवं जगेर्ना गर्नेलगायतका विषयमा समेत पहल हुनेछ।

उल्लेखित नीतिगत व्यवस्थाले त्यस्ता बालीहरूको उत्पादन र उपभोगमा सकारात्मक प्रभाव पर्ने भएकोले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको सफलताको लागि तीनै तहका सरकार र अन्य सरोकारवाला निकायको संयुक्त पहल र सक्रिय सहभागिता अपरिहार्य छ। यस दिशामा खासगरी प्रदेश सरकार र स्थानीय तह/पालिकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने देखिन्छ।

त्यसैगरी कोदोजन्य बालीको विकास र संरक्षण एवं प्रवर्द्धनमा संलग्न गैरसरकारी एवं निजी क्षेत्रमा सक्रिय व्यक्ति एवं निकायहरूको समेत उल्लेखनीय भूमिका हुनेछ। साथै चालु आर्थिक वर्ष २०७९/८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारको निर्णय भएबमोजिम कोदोजन्य बालीको संरक्षण र प्रवर्द्धनको लागि दुवै वर्षहरू एकआपसमा परिपूरक हुने गरी मनाइनु आवश्यक देखिन्छ।

नेपाल सरकारको तर्फबाट कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनमा विगत केही वर्षदेखि देशव्यापी रूपमा पहल एवं प्रयासहरू भइरहेका छन्। प्रादेशिक सरकार र स्थानीय तहसँगको सहकार्यमा कोदोजन्य बालीलाई केन्द्रमा राखी रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ। ती प्रयासहरूको केही सकारात्मक नतिजा पनि प्राप्त हुन थालेका छन्।

हासिल उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्दै मूलतः तीनै तहका सरकारहरूको कृषि नीति एवं कार्यक्रममा कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनलाई मूलप्रवाहीकरण गर्ने दिशामा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष कोसेढुंगा सावित हुने अपेक्षा गर्न सकिन्छ।

खाद्य पोषण सुरक्षामा विश्वव्यापी रूपमा नै देखिएको संकटोन्मुख अवस्थाका बीच संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ लाई पोषण तथा स्वास्थ्यको दृष्टिले कोदोजन्य बालीहरूको महत्व उजागर गरेको छ। साथै ती बालीहरूमा निहित जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलन सम्बन्धी गुणबारे प्रचारप्रसार गरी आम सरोकारवालाबीच यसबारे सचेतना अभिवृद्धि मार्फत यी बालीको उत्पादन, उपभोग र मूल्य श्रृंखला विकासमा टेवा पुर्‍याई दिगो र उत्थानशील खाद्य तथा कृषि प्रणालीको विकासमा योगदान पुर्‍याउने अवसरको रूपमा उपयोग गर्नु सबैको कर्तव्य हो। तसर्थ खाद्य पोषण सुरक्षा, वातावरण र ग्रामीण रुपान्तरणको लागि कोदोजन्य बालीको प्रवर्द्धन हेतु अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ लाई सफल पार्नु हामी सबैको नागरिक दायित्व हो।

(लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हुन्।)



source https://www.onlinekhabar.com/2023/01/1240823

एमाले–माओवादी एकताको तितो स्वाद

हुन त खुसीका अनेक प्रकार हुन्छन् । गाई ल्याउँदा दूध खान पाउने खुसी, गाई मर्दा घाँस काट्नु नपर्ने खुसी … । ३ जेठ २०७५ मा एउटा खुसीमा मैले मैनबत्ती जलाएँ, राष्ट्रिय सभागृहको बाहिर । सभागृहभित्र बृहत् कम्युनिष्ट एकताको घोषणा हुँदैथियो, जेट प्लेनका दुई पाइलटको खुसीमा हामी हाम्रो खुसी भेटिरहेका थियौं ।

२३ फागुन २०७८ मा अर्को खुसीमा मैनबत्ती जलाएँ, प्रधानमन्त्री निवास बालुवाटारको परिसरमा । अदालतले दुवै पाइलटलाई आफ्नो आफ्नो प्लेन चलाउन आदेश गरेको थियो ।

यी दुई वटा घटना एकापसमा विल्कुलै फरक थिए, एउटाले एकताको उद्घोष गरेको थियो, अर्कोले विभाजनको घोषणा… । तैपनि खुसी कुनैमा कम थिएन । यी दुई घटनाको बीचमा हाम्रो देशको राजनीतिमा कुन स्तरको खिचडी पाक्यो, सबैलाई थाहै भएको कुरा हो ।

नेपाली राजनीतिमा आज फेरि कोर्स दोहोरिने तरखर भइरहेको छ, एमाले र माओवादी बीच पुनः एकता हुनुपर्ने किसिमका आवाज सुनिन थालेका छन् ।

लक्ष्मण गाम्नागेको एउटा कवितांश छ :

मुख फेरी फेरी खाऊ प्रिय

अहिले आलु र मुला पकाऊ

भरे मुला र आलु पकाऊ

एमाले र माओवादीको एकतामा मुला र आलु हामीले खाएकै हो । यतिबेला भान्सामा आलु र मुला पाकेको छ, हामी मुख फेरी–फेरी खान उद्यत भएका छौं । उही भान्से, उही तरकारी, उही मसला, उही भान्सा …, नयाँ स्वाद आउने कुनै आधार छैन, निश्चित जस्तै छ कि ढिलोचाँडो उही पुरानै स्वादको पुनरावृत्ति हुनेछ ।

मोहन सङ्ग्राम

कहिलेकाहीं बदाम खाँदै गर्दा मिठो भइरहेकै बेला बिग्रेको बदाम चपाइन्छ र मुखभरीको सबै बदाम थुक्ने अवस्था आउँछ, ठिक वाम एकताजस्तै । उत्साह… उत्साह… उत्साह…, विवाद… विवाद… विवाद…, पश्चात्ताप… पश्चात्ताप… पश्चात्ताप … ।

राजनीतिक अस्थिरताले हामी यति विक्षिप्त भएका छौं कि हामीलाई हरेक पटक आशा जाग्छ र हरेक पटक कुठाराघात हुन्छ । हिजोको तितो स्वाद हामीले बिर्सिसक्यौं, त्यही तत्वबाट नयाँ स्वाद आउँछ कि ? भन्ने अपेक्षा गरिरहेका छौं ।

इतिहासबाट पाठ सिक्ने हो भने एमाले र माओवादीको एकता भइहालेमा पनि सफल हुँदैन । कम्युनिष्ट पार्टी भनेर मात्र हुँदैन, एमालेलाई लाग्ने गरेका आरोपहरू माओवादीले खेप्न सक्दैन न त माओवादीलाई लाग्ने गरेका आरोपहरूको जिम्मा नै एमालेले लिन सक्छ ।

सबैभन्दा उत्तम विकल्प भनेको यी दुई पार्टीहरूले एकअर्कासँग कार्यगत एकता गर्ने र कम्युनिष्ट शक्तिलाई बलियो बनाउने नै हो । पार्टी एकता भन्ने बित्तिकै कार्यकर्ता व्यवस्थापनको चुनौती सबैभन्दा अगाडि आउँछ, अध्यक्षमा कुरा मिलाउन नसकेर दुई जना अध्यक्ष राख्ने नेतृत्वले तल कार्यकर्ता पंक्तिमा एकताको भावना दिलाउन सक्छ भनेर पत्याउने ? पार्टी भनेको संगठन पनि हो, झन् कम्युनिष्ट पार्टी भन्ने बित्तिकै तल्लो इकाइसम्म बलियो संगठन बनाएको पार्टी भनिरहन पर्दैन ।

समय हिजोको जस्तो रहेन; पद, लाभ केही नभनी ज्यान हत्केलामा राखेर लड्ने नेताहरू त अहिले लाभको लोभमा लिप्त छन्, झनै अलि अलि काम गरेको हिसाब देखाउँदै लाभको दाबी गर्ने नयाँ कार्यकर्ता पंक्तिलाई मिलाउने कुनै मन्त्र भेट्न सम्भव नै छैन ।

कसैले पनि न्यायपूर्ण व्यवस्थापन गर्नै सक्दैन न त लोकतान्त्रिक पद्धतिबाट मिलाउने कुरा नै न्यायसंगत हुन्छ । लोकतान्त्रिक पद्धति अपनाउने मात्र हो भने माओवादी विलय नै हुन्छ ।

बेला–बेला एमाले महासचिव शंकर पोखरेलको तर्क सुनिन्छ— ‘हामीले नेताहरूको टाउको जोडेर वाम एकताको प्रयास गर्यौं र असफल भयौं, अब कार्यकर्ताको भावना जोडेर एउटै सिंगो कम्युनिष्ट पार्टी निर्माण गर्ने संकल्प लिएर हामी अघि बढ्छौं ।’

पोखरेलको कुरा सुन्दा मीठो लाग्छ, यसको अन्तर्य माओवादीका कार्यकर्तालाई एमालेमा ल्याउने भन्ने हुन्छ तर हिजो प्रचण्डका लागि मर्न तयार भएको एउटा समूहले सजिलै प्रचण्ड छोडेर आउँछ ? यो कल्पनै नगरौं ।

अर्कोतर्फ यसरी आए भने पनि उनीहरूको व्यवस्थापनको चुनौती त रहन्छ नै, बादल समूहको व्यवस्थापनको विषयमा समेत एमालेमा हजार प्रश्न उठेका छन् ।

अर्को एउटा कोणबाट हेरौं–

अहिले बनेको एमाले र माओवादीबीचको सहज अवस्था कम्युनिष्ट आन्दोलन जोगाउने भावबाट प्रेरित भएर बनेको हैन । देउवाले गरेको चिची–पापाको लोभ, प्रचण्डको प्रधानमन्त्री मोह, ओलीको प्रचण्डलाई झुकाउनैपर्ने इगो जस्ता तमाम कुराहरूले यो परिस्थिति आउनुमा महत्वपूर्ण भूमिका खेलेका छन् । बगलीमा छुरा बोकेर कम्युनिष्ट एकता गर्नु भनेको सिंगो कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउनुबाहेक केही पनि हैन ।

एकअर्काको नेतृत्वप्रतिको यो स्तरको अविश्वासले जस्तो अवस्थामा पनि शंका जन्माउँछ, दुवै नेतृत्व स्वच्छ भावनासहित एकतामा जाने हो भने पनि कार्यकर्ता पंक्तिले यसलाई स्वीकार गर्न सक्ने अवस्था छैन, अझ भनौं कार्यकर्ता बिजुली चम्किंदा तर्सिने अवस्थामा छन् । यसो भनिरहँदा एकले अर्कोलाई सधैं धारेहात लगाउने भन्ने हैन, एकअर्का मुद्दाहरूमा सहकार्य आवश्यक छ ।

दुई पार्टीको संरचना नै एक बनाउनका लागि सिंगो पार्टी पंक्तिमा त्यागको भाव चाहिन्छ जुन दुवैभित्र छैन, र यसको बीउ दुवै पार्टीका नेतृत्वले रोपेका हुन् ।

अव्यवस्थित पार्टी संगठन, निराशा, द्विविधा र निष्क्रियता, चरम गुटबन्दी, आरोप–प्रत्यारोप यी सबै सबैदेखि पहिल्यै दिक्क भइसकियो । सहकार्य गरौं, वाम एकताको रटान छोडौं । कांग्रेसको पछि लाग्न छोडौं । राप्रपालाई पछि लगाउन छोडौं ।

यत्ति गरियो भने मुलुकमा कम्युनिष्ट शक्ति बलियो बन्छ, संगठनलाई खोलाजस्तो बग्न दिऊँ, पोखरी जस्तो जमाएर राखेको नभुलौं ।

एकता सम्झिंदा अहिले पनि मुख तितो हुन्छ ।

(लेखक एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी खोटाङका अध्यक्ष हुन् ।)



source https://www.onlinekhabar.com/2023/01/1240805

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन, चीनले दियो बधाई

१७ पुस, काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ ।

अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’



source https://www.onlinekhabar.com/2023/01/1240786

‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखलामा उपासना पक्का, यस्तो छ फस्टलुक

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माताले फिल्मको ‘पोस्ट-क्रेडिट’मार्फत सिक्वेलको घोषणा गरेका हुन् ।

युरोपेली मुलुक चेक रिपब्लिकको राजधानी प्रागमा छायांकन गरिएको दृश्यलाई पनि समेटिएको छ जहाँ उपासनासिंह ठकुरीलाई चित्रण गरिएको छ ।

जसको अर्थ, सिक्वेलमा उपासना हुने निश्चित छ । तर, आर्यन सिग्देल हुने वा नहुने बारेमा संकेत दिइएको छैन । ‘तिमीले महसुस गर्नेछौं, म अहिले पनि जीवितै छु’ लेखिएको पत्र प्राप्त गरेपछि उपासना अचम्मित भएको दृश्यसँगै ‘डिसेम्बर फल्स’ सकिएको छ ।

सन् २०२३ को डिसेम्बरमा फिल्म रिलिज हुने समेत त्यहाँ उल्लेख छ । चेक रिपब्लिकको प्रागमा फिल्मलाई सिक्वेलको सेटिङको रुपमा प्रस्तुत गरिएको छ । प्रवीण झा निर्देशित फिल्मले नर्सको व्यवसायिक जीवनमा अन्जानवश हुने दुर्घटनापछि उसले भोग्नुपर्ने बदलाको कथा भन्छ ।



source https://www.onlinekhabar.com/2022/12/1240777

Friday 30 December 2022

सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

१६ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/12/1240620

परिकल्पना

मनमा उत्पन्न हुने अनेक द्विविधाको स्रोतमध्ये आफूले बोकी हिंडेको परिकल्पना पनि एक हो। परिवर्तनशील परिस्थितिमा परिकल्पना स्थिर रहिरहन सक्दैन। भनिन्छ जे परिवर्तन हुँदैन, त्यो शायद ईश्वर मात्र हो। यतिसम्म कि ईश्वर पुज्ने तरिकाहरूमा पनि परिवर्तन भइरहेको देखिन्छ।

जीवनको एउटा परिस्थितिमा राखेको लक्ष्य समय र परिस्थिति बदलिएपछि अप्राप्य र असान्दर्भिक हुनसक्छ। कतिबेला लक्ष्य असान्दर्भिक भयो भनेर यकिन गर्न भने कठिन हुन्छ। तथापि यो वस्तुगत अवस्था र विषयगत मूल्यांकनको समिश्रणबाट केही अनुमान गर्न सकिन्छ। यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने परिकल्पना परिपक्व नभई बारम्बार बदल्दा अस्थिरता उत्पन्न भई परिकल्पना प्राप्त नहुने अवस्था हुन सक्छ।

परिकल्पना निर्माण गर्दा के कस्ता आधारमा गर्ने भन्ने अर्को महत्वपूर्ण प्रश्न हुन सक्दछ। इच्छाशक्ति र क्षमता दुवैको सन्तुलन कायम गरी परिकल्पना निर्माण गर्दा बढी व्यावहारिक हुन्छ। तात्कालिक क्षमता मात्र हेरेर परिकल्पना निर्माण गर्दा इच्छाशक्तिको अभावमा क्षमता विकास गर्न कठिन हुन्छ। इच्छाशक्तिको आधारमा मात्र परिकल्पना बनाउँदा अव्यावहारिक चाहनाको सगरमाथा ठडिन सक्छ।

संस्थागत परिकल्पना निर्माणका आफ्नै तौरतरिका हुन्छन्। यहाँ चर्चा गर्न खोजिएको परिकल्पना निर्माण व्यक्तिगत जीवनको परिकल्पना हो। कतिपय मानिस के भन्दछन् भने जीवन सरल र सहज जिउनुपर्छ, बगेको खोलाजस्तै हुनुपर्छ। यस तर्कमा तुक अवश्य नै छ तर मानिस विवेकशील प्राणी हुनुको नाताले उसँग भविष्यको बारेमा सोच्ने, कल्पना गर्ने कार्य गर्ने क्षमता र धैर्य हुन्छ। तसर्थ मानवमात्रमा विकसित मस्तिष्कको प्रयोग नगर्ने भन्ने हुँदैन।

विद्यालय, बाबुआमा र समुदाय सबैले व्यक्तिको परिकल्पना उजागर हुन सकारात्मक वातावरण निर्माण गरिदिनुपर्दछ। तब मात्र समुदाय र देशकै विकासका लागि यसले योगदान दिन सक्छ

जीवन वास्तवमा छनोटका आधारमा गरिने कर्म हो। परिकल्पना निर्माणले कर्महरुको श्रृङ्खलाको छनोट यकिन गर्छ। यसले जीवनलाई अनुशासित र अर्थपूर्ण बनाउँछ। लक्ष्य विनाको यात्री हावामा उडिरहेको पतिङ्गर हो भन्ने गरिन्छ। जो उडेर कहाँ कतिवेला पुग्छ थाहा नै हुँदैन। सबैभन्दा खराब कुरा त यो छ कि परिकल्पना वा लक्ष्यविहीन मानिस खराब कुरामा फस्ने संभावना बढी हुन्छ। खाली दिमाग शैतानको घर भन्ने त उखान नै छ।

हुन त हाम्रो समाजमा बालबालिकालाई तिमी भविष्यमा के बन्ने भनेर नसोधिने होइन तर त्यो पर्याप्त छैन। अक्सर बाबुआमाहरु आफ्नो इच्छानुसार बालबालिकालाई के बनाउने निर्धारण गरिदिन्छन् वा भन्न लगाउँछन्। व्यक्तिगत जीवनमा परिकल्पना गरिएका इच्छा, क्षमता र वातावरणसँगको अन्तरक्रियाबाट अन्वेषण र विकास गरिने कुरा हो न कि लाद्ने वा नक्कल गर्ने विषय। यहाँनेर अन्वेषण र विकास किन भनिएको हो भने यो पत्ता लगाउन समय लाग्न सक्छ र पत्ता लागिसकेपछि त्यसलाई विकास गर्न दृढता चाहिन्छ। धेरै मानिस परिकल्पना गर्छन् तर पछ्याउन सक्दैनन्।

कतिपय मानिस के पनि भन्छन् भने आफ्नो परिकल्पना कसैलाई भन्नुहुँदैन किनकि मानिसले त्यसमा नकारात्मक टिप्पणी गरिदिन सक्छन् साथै निराशा पैदा हुनसक्छ। जे भए पनि कुनै पनि भ्रूण परिपक्व नहुन्जेल ढाकिएको नै हुन्छ। यो कुरा शायद व्यक्तिगत परिकल्पना निर्माणमा पनि उत्तिकै लागू हुन्छ।

परिकल्पना विभिन्न स्तरका हुनसक्छन्। व्यक्तिगत जीवनका सुखसयलदेखि संसार बदल्नेसम्मका हुनसक्छन्। त्यो छनोट गर्ने काम पनि स्वयं व्यक्तिकै हो। परिकल्पना महान नै हुनुपर्छ भन्ने चाहिं छैन। यति हो कि परिकल्पना व्यक्ति वा समाजका लागि हानिकारक वा खराब चाहिं हुनुहुँदैन।

यसबाट के कुरा थाहा हुन्छ कि बालबालिकालाई परिकल्पना दिने होइन कि परिकल्पना निर्माण कसरी हुन्छ भनेर सिकाउने हो। खासगरी महान व्यक्तित्वहरुले कसरी परिकल्पना निर्माण र प्राप्त गरे भनेर उदाहरण बताइदिने हो। अर्थात् माछा मार्न सिकाइदिने हो। माछा मार्ने काम स्वयं बालबालिकाको नै हो।

अन्त्यमा बुझ्नुपर्ने कुरा के छ भने विद्यालय, बाबुआमा र समुदाय सबैले व्यक्तिको परिकल्पना उजागर हुन सकारात्मक वातावरण निर्माण गरिदिनुपर्दछ। तब मात्र समुदाय र देशकै विकासका लागि यसले योगदान दिन सक्छ।

-म्याग्दे , तनहुँ



source https://www.onlinekhabar.com/2022/12/1240607

उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा मिसाइल प्रहार

१६ पुस, काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् ।

जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ ।

तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ ।

मन्त्रालय र समाचार संस्थाका अनुसार यी मिसाइलहरू जापानको समुद्री क्षेत्र तर विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेका छन् ।

 



source https://www.onlinekhabar.com/2022/12/1240603

मतदातालाई पराजित उम्मेदवार पोखरेलको सम्बोधन

१६ पुस, महोत्तरी । पुसको पहिलो साताको एक दिन । अपरान्ह १ बजे युवा, महिला, बालबालिका, वृद्धवृद्धाको ठूलै समूह महोत्तरीको गौरीडाँडास्थित ‘आधारशिला कम्युन’मा भेला भएर नेकपा (माओवादी केन्द्र)का नेता गिरीराजमणि पोखरेलका कुरा सुनिरहेका छन् ।

उनले डेढ दशक अगाडि आफ्नो पैतृक सम्पत्ति पार्टीकरण गरेर बनाएका हुन्- आधारशिला कम्युन । कम्युन होमको धुरीमा हँसिया-हथौडा अंकित रातो झण्डा पुस महिनाको लोसे हावामा फर्फराइ रहेको छ । शान्त मुद्रामा अशान्त मन लिएर उनलाई सुनिरहेका छन्, महोत्तरीको गौरीडाँडावासी ।

गत ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ बाट उठेर पराजित नेताप्रति स्रोतामा पर्याप्त सहानुभूति देखियो । उनले चाहिँ मलिन अनुहारका स्रोतालाई हाँसिहाँसी सम्बोधन गर्न थाले ।

पोखरेललाई उनीहरूले २०६४ र ०७० सालको निर्वाचनमा जिताएर संविधान निर्माण गर्न पठाएका थिए । संविधानसभाबाट संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि ०७४ मा भएको पहिलो आमनिर्वाचनमा पनि महोत्तरी-१ का मतदाताले उनैलाई विजयी बनाए ।

खोटाङका पोखरेललाई उनी आबद्ध एकता केन्द्र मसाल (जनमोर्चा, नेपाल) ले ०६४ मा चुनाव लड्न महोत्तरी पठाएको थियो । ०६५ मा जनमोर्चा नेपाल तत्कालीन नेकपा (माओवादी)सँग एकीकृत भयो । पोखरेल पनि शिक्षामन्त्री, स्वास्थ्यमन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा पुगे ।

चौथो पटकको चुनावी प्रतिस्पर्धामा हारेका पोखरेलले आफ्ना मतदातालाई गरेको सम्बोधन :

राति सुत्दा मतले अग्रता लिएको भए पनि बिहान उठ्दा परिणाम विपरीत भएबाट तपाईंहरूमा बेचैनी, छट्पटाहट भयो भन्ने बुझेको छु । बहुमतको फैसला शिरोधार्य गर्दै मुस्कानसहितको धन्यवाद ज्ञापन कार्यक्रम पनि थालिएको छ ।

मतले हारे पनि तपाईंहरूको मनबाट माया पाएको छु । तपाईंहरू पनि दुःखी नहुनुस्, चुनावी परिणामलाई सकारात्मक रूपमा लिनुस् र अरु मतदातालाई मुस्कानसहित धन्यवाद दिनुस् ।

खासमा हामीले अंगालेको निर्वाचन प्रणाली नै ठीक छैन । उम्मेदवार छान्दा र टिकट वितरण गर्दा नै गडबड गरिन्छ । निर्वाचनमा कुखरा, माछा, साडी, पैसा बाँडियो । आचारसंहिता पालना र अनुगमन एकदमै कमजोर बनेको छ ।

मैले साडी, रक्सी दिन्छु, पेट्रोल हालिदिन्छु, मोबाइल रिचार्ज गर्दिन्छु, भोट देउ भन्न हुन्छ कि हुँदैन ? यस्ता प्रश्नहरू तपाईंहाम्रा अगाडि छन् । तर, यस्तै निर्वाचनलाई विकास वा परिवर्तनको बाहक मानिएको छ ।

अमेरिकी अभियन्ता डेयिनल हन्टरले भनेका छन्, ‘देश बदल्ने एक मात्र औजार मतदान हो भन्ने झुठमा म कहिल्यै विश्वास गर्दिनँ ।’ म यो भनाईबाट प्रभावित छु ।

हामीले परिवर्तनका लागि सामाजिक, सांस्कृतिक, आत्मिक अभियान सञ्चालन गर्नुपर्दछ र त्यही अभियानको अनुमोदन मात्रै निर्वाचनले गर्नुपर्छ, तर त्यसका लागि पहिले निर्वाचन प्रणाली बदल्नुपर्छ ।

यही प्रणालीलाई निरन्तरता दिएर अगाडि बढ्नु भनेको भावी दिनमा पार्टीलाई थप क्षति पुर्‍याउनु हो ।

स्थानीय तहको निर्वाचनमा लागेको ऋणबाट मुक्त नभएका उम्मेदवारले ५ वर्षपछि पुनः चुनाव लड्ने योजना कसरी बनाउन सक्छ ? ? पैसा नहुने किसान, मजदुर, दलित, महिला उम्मेदवार हुन पाउने कि नपाउने ? ५ वर्ष एउटा पार्टीको हुने अनि निर्वाचनका दिन अर्काे पार्टीको हुने कहिलेसम्म ? यी प्रश्नको जवाफ खोजिरहेको छु म ।

हामीले संविधान जारी गर्नैपर्ने बाध्यताले गर्दा अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा सहमति जनाउनुपर्‍यो । म आफैं संविधान मस्यौदा समिति सदस्य थिएँ । बाध्यताले सम्झौता गर्न पर्‍यो ।

राज्य सत्तामा पुरानै मानसिकता छ । वामपन्थीहरूमा पनि यस्तै चेत देखिनु चिन्ताको विषय हो । समाजवाद उन्मुख र यथास्थितिवादी संसदवादी दृष्टिकोणबीचको अन्तर यो चुनावबाट प्राप्त गरेको छु ।



source https://www.onlinekhabar.com/2022/12/1240595

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने

१५ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ ।

केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्टीले उल्लेख्य सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धि हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने जस्ता सुझाव दिएका छन् ।



source https://www.onlinekhabar.com/2022/12/1240589

‘अवतार २’ ले नेपालमा कुल १० करोड कमाइ गर्ने प्रक्षेपण, ‘स्पाइडरम्यान’लाई उछिन्यो

काठमाडौं । जेम्स क्यामरुन निर्देशित साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ यस वर्ष नेपालमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ ।

१३ वर्षअघि नेपालमा समेत रिलिज भएको फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले दुई सातामा नेपालमा आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

अंग्रेजी नयाँवर्ष २०२३ को छेको र पछिल्लो सप्ताहन्तमा फिल्मको कमाइ अझै स्थिर हुने आशा आफूले लिएको एप्पलले बताएको छ । ‘यो ऐतिहासिक कमाइ हो । यो विकेन्डमा पनि फिल्मले अझै धेरै कमाइ गर्न सक्छ,’ एप्पलकी जेनिशा पहारीले भनिन् ।

फिल्मको नेपालमा लाइफटाइम कलेक्सन १० करोड हाराहारीमा हुने प्रक्षेपण आफूहरुले गरेको एप्पलले जनाएको छ । पुस १ गते रिलिज भएको फिल्म अहिले पनि आक्रामक अकुपेन्सीसहित मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।

‘अवतार २’ले यस वर्षको सुरुवातमा रिलिज भएको हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’को नेपालको कमाइलाई पनि उछिनेको छ । टम हल्याण्ड स्टारर उक्त फिल्मले नेपालमा ७ करोड ३० लाख रुपैयाँ लाइफटाइम कलेक्सन गरेको थियो । यसैवर्ष रिलिज भएको अर्को हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्टेन्ज इन द मल्टिभर्स अफ म्याडनेसले नेपालमा ४ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

विश्वकप फुटबलको सेमिफाइनल खेल चलिरहँदा रिलिज भएको अवतार २ ले रिलिजको समय होइन कन्टेन्ट महत्वपूर्ण भएको सन्देश दिएको छ । हलहरु सुनसान भएको बेला र विश्वकप फुटबलको माहोलबीच लागे पनि यसले आक्रामक सप्ताहन्त ओपनिङ गरेको थियो ।



source https://www.onlinekhabar.com/2022/12/1240231

Thursday 29 December 2022

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

१५ पुस, काठमाडौं । भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५.३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए । रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको प्रहरीलाई उद्धृत गर्दै भास्करले खबर लेखेको छ ।

उत्तराखण्डका प्रहरी अधिकारीहरूले कार चलाउँदा पन्त निदाएकाले उनको कारले नियन्त्रण गुमाएको जानकारी दिएका छन् । दुर्घटना हुँदा पन्त गाडीमा एक्लै थिए । दुर्घटनापछि पन्त जलिरहेको कारको झ्याल फुटाएर बाहिर निस्केका थिए । पन्तको टाउको, ढाड र खुट्टामा चोट लागेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।

चिकित्सकले एमआरई गरेपछि मात्रै उनको घुँडाको कुन हड्डी भाँचिएको हो थाहा हुने बताएका छन् । उनीहरूले पन्तको शल्यक्रिया गर्नुपर्ने पनि बताएका छन् ।

दुर्घटनापछि ऋषभको कार


source https://www.onlinekhabar.com/2022/12/1240159

मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज

१५ पुस, जनकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको थियो ।

प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।

जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

१०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् । उनले आज बाँकी १०६ जना प्रदेश सांसदलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।



source https://www.onlinekhabar.com/2022/12/1240103

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

१५ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’



source https://www.onlinekhabar.com/2022/12/1240084

फुटबलका महान खेलाडी पेलेको निधन

१५ पुस, काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।

१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए ।

पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।

उनले फुटबल खेल्न भने १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका थिए । डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । त्यसपछि १९ वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे । यद्यपि सेन्टोस क्लबले भने क्लबका लागि पेलेले एक हजार भन्दा बढी गोल गरेको दाबी गर्दछ । यसमा मैत्रीपूर्ण खेलको गोल पनि समावेश छ ।

उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/12/1240074

Wednesday 28 December 2022

कर्णाली प्रदेश सभाकाे अधिवेशन १८ पुसमा

१४ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गते सुरु हुने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते साेमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठककाे पहिलाे दिन १८ गते प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद अधिवेशन आह्वान पत्र पढेर सुनाउने र दलीय धारणा राख्ने कार्यतालिका रहेकाे सचिवालयले जनाएको छ । सचिव बुढाथोकीका अनुसार अर्काे बैठककबाट सभामुख र उपसभामुख चुनिने छन् ।

प्रदेश सभा सदस्यहरुले पुस ११ गते पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरिसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना सांसद रहेका छन् ।



source https://www.onlinekhabar.com/2022/12/1239631

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

काठमाडौं । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् ।

अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ ।

साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि भिडियोसँगै पठाउनुपर्नेछ । ६ वर्षदेखि १४ वर्षसम्म उमेरका बालबालिकाले मात्र शोमा भाग लिन पाउने भएका छन् ।

डिजिटल अडिसनपछि भौतिक रुपमै उपस्थित भएर प्रतिस्पर्धीले फिजिकल अडिसन दिनुपर्नेछ । यसबाट छानिएका प्रतिस्पर्धीले ब्लाइण्ड अडिसनमा भाग लिने मौका पाउनेछन् । आगामी एक महिनासम्म ब्लाइण्ड अडिसन सुरु हुने भएको छ ।

रियालिटी शो निर्देशक लक्ष्मण पौडेलले द भ्वाइस किड्स संस्करणको दोस्रो सिजनमा पनि उत्साहजक सहभागिता भइरहेको बताए । अघिल्लो सिजनमा २२ हजार जनाले आवेदन दिएका थिए । द भ्वाइस किड्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।



source https://www.onlinekhabar.com/2022/12/1239595

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड

१४ पुस, काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् ।

प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले भने, ‘मैले हेर्ने गरेको अध्यक्ष प्रचण्डको व्यक्तिगत ट्वीटर हो । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको पनि छैन । कसले, किन अकाउन्ट लक्ड गर्यो हामी बुझ्दैछौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ । प्रचण्डको फोटो अपडेट पनि आफूहरुबाट नभएको शर्माले बताए ।

प्रचण्डको सचिवालयका अर्का एक सदस्य शिव खकुरेलले पनि ट्वीटर अकाउन्ट लक्ड हुनुको कारणबारे बुझिरहेको बताए । ‘हामी हिजो बेलुकामात्रै बालुवाटार आएका छौं, सबै कुरा मिलाउनै बाँकी छ,’ खकुरेलले भने, ‘यसबारे पनि बुझ्दैछौं ।’



source https://www.onlinekhabar.com/2022/12/1239562

लाइन हटाउन सक्ने सिस्टम छन्, प्रशासक तयार छैनन्

१३ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को ११ पुसमा बसेको पहिलो बैठकले राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुगम, सरल, कम खर्चिलो र झञ्झटमुक्त बनाउने निर्णय गर्‍यो । मन्त्रिपरिषद् बैठकले यसमा देखिने गरी सुधारका काम तत्काल आरम्भ गर्ने पनि निर्णय गरेको छ ।

हिजोआज राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय, विद्युतीय राहदानी बनाउन राहदानी विभाग र लाइसेन्स बनाउन प्रदेशका यातायात कार्यालयहरुमा लामो लाइन बस्नुपर्छ । तीमध्ये कतिपय कार्यालयको सेवा लिन धेरै दिन लगातार धाउनुपर्छ भने विचौलियाको समेत भर पर्नुपर्ने बाध्यता छ ।

तर ती कार्यालयमा लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने विषयमा हालसम्म सरकारी स्तरबाट सार्थक पहल भएको पाइएको छैन । प्रचण्ड सरकारको यो निर्णय विगतको जस्तै कर्मकाण्डी हो कि साँच्चिकै काम गर्नकै लागि हो भन्ने केही समयभित्रै थाहा हुनेछ ।

सूचना प्रविधि क्षेत्रका विज्ञहरु भने सरकारले चाहने हो भने सबैजसो सरकारी सेवा अनलाइनबाटै दिन सकिने र नागरिकले घर-कार्यालयमै बसेर बिना झन्झट काम लिन सक्ने बताउँछन् । यसका लागि सरकारी कार्यालयमा न्यूनतम पूर्वाधार तयार भइसकेको पनि बताउँछन् ।

लाइन नलागी सरकारी सेवा लिन सकिन्छ भन्ने प्रभावकारी प्रमाण हो, ‘क्यूआर कोड’सहितको कोभिड-१९ को खोप लगाएको प्रमाणपत्र लिने व्यवस्था । अहिलेसम्म १९ लाख ८८ हजार जनाले अनलाइनबाटै यस्तो प्रमाणपत्र बुझिसके । यसका लागि लाइन बस्नै परेको छैन । अनलाइनबाट आवेदन दिएका भरमा यस्तो डिजिटल प्रमाणपत्र जारी गरिन्छ, जसलाई नागरिकले अनलाइनबाटै डाउनलोड गर्छन् र साथमा राख्छन् ।

यो मात्रै होइन, वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिने व्यवस्था पनि अब पूर्णतयाः अनलाइन प्रणालीमै गइसक्यो । विदेश जाने युवाले अहिले लाइन लागेर श्रम स्वीकृति लिने झञ्झट व्यहोर्नुपर्दैन । अनलाइन प्रणाली सुरु नहुँदा विगतमा काठमाडौंस्थित वैदेशिक रोजगार कार्यालयले रातभर कार्यालय खुलै राखेर लाइन बसेकाहरुलाई श्रम स्वीकृति दिनुपर्ने अवस्था थियो ।

सरकारी कार्यालयहरुले कर, सेवा शुल्क र महसुल अनलाइन माध्यमबाट उठाउन सक्छन् । तर धेरै सरकारी कार्यालयले सेवा शुल्क र महसुल लिन नागरिकलाई कार्यालयबाहिर लाइनमा उभ्याइरहेका छन् ।

विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यालयमा सर्वसाधारण अघिल्लो रातदेखि नै लाइन लाग्छन् । राहदानी विभागले अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपनि फोटो खिचाउन तथा विद्युतीय औंठाछाप (बायोमेट्रिक) दिन लाइन बस्नैपर्ने बाध्यता छ । सवारी चालक लाइसेन्स बनाउन, नवीकरण गर्न र सवारी साधन दर्ता गर्न लाइन नबसी सुखै छैन ।

सूचना प्रविधि विज्ञ मनोहर भट्टराई एउटा सरकारी कार्यालयले खिचेको फोटो, लिएको बायोमिटि्रक र संकलन गरेको विवरण अर्को कार्यालयको प्रणालीसँग जोड्नसके सेवाग्राहीले कार्यालयपिच्छे लाइन बस्नुनपर्ने बताउँछन् ।

‘लाइन हटाएर प्रभावकारी अनलाइन प्रणाली प्रयोगमा ल्याउन सबैभन्दा ठूलो कुरा राजनीतिक-प्रशासनिक प्रतिवद्धता चाहिन्छ’, उनी भन्छन्, ‘यसलाई कार्यरुप दिन संस्थागत क्षमता वृद्धि र दक्ष जनशक्ति आवश्यक पर्छ । तर प्रशासनिक र राजनीनिक तहमा इच्छाशक्ति देखिएन ।’

कतिपय सरकारी कार्यालयको अनलाइन सेवा सञ्चालन प्रणाली डिजाइनमै समस्या देखिएको पनि भट्टराई बताउँछन् । ‘सबै सरकारी निकायले आआफ्नो किसिमले सिस्टम डिजाइन गर्दा समस्या हुन्छ, त्यसो हुन नदिन एउटा राष्ट्रिय अवधारणा चाहिन्छ’, उनी भन्छन्, ‘राति ४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता राष्ट्रिय एकीकृत प्रारुपमा आधारित सिस्टम डिजाइन नगर्दाको परिणाम हो ।’

कतिपय कार्यालयको अनलाइन प्रणालीमा फारम भर्न कोटा तोकिएको हुन्छ । त्यसमाथि बेलाबेला ‘सर्भर डाउन’ हुने समस्याका कारण पनि सेवाग्राही लाइनमा बस्न बाध्य छन् ।

अहिले धेरै सेवा दिने कार्यालयले प्रक्रिया झन्झटिलो बनाएर सेवाग्राहीबाट अतिरिक्त लाभ लिनेदेखि विचौलियालाई फाइदा हुने काम गरिरहेका छन् । उपलब्ध प्रणालीको सहीसँग प्रयोग भइदियो भने सेवा लिन सरकारी कर्मचारीको अनुहार नै हेर्नुनपर्ने सूचना प्रविधिविज्ञ अलीको दाबी छ

सूचना प्रविधि विज्ञ भट्टराई प्रणालीमा आउने समस्याको जिम्मा कसैले नलिने हुनाले सेवाग्राही मर्कामा परेको बताउँछन् । ‘कतिपय अनलाइन सेवाका प्रणाली सीमित विचौलियाको कम्प्युटरमा मात्रै खुल्छ भनिन्छ’, उनी भन्छन्, ‘यदि बदमासी गर्नेलाईर् छुट दिइयो र सम्बद्ध अधिकारी र सेवाप्रदायकलाई जवाफदेही बनाइएन भने अनलाइन प्रणालीले मात्रै पनि समाधान दिंदैन ।’

यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे अनलाइन प्रणालीबाट सेवा दिएर लाइन हटाउन सकिने स्वीकार्छन् । तर, त्यसका लागि सरकारी प्रणालीहरु एकीकृत गर्न र सेवा दिने कार्यालयहरुको क्षमता र दक्षता बढाउन आवश्यक रहेको उनी बताउँछन् ।

लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्न आफूहरुसँग पूर्वाधार रहेको र त्यसको प्रयोगलाई प्रभावकारी बनाउन प्रयास भइरहेको पाण्डेको भनाइ छ ।

थन्क्याइएको नागरिक एप

२ माघ २०७५ मा सरकारले सरकारी प्रणालीहरुलाई सेवाग्राही आफैंले जोड्न सक्ने गरी नागरिक एप सार्वजनिक गरेको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेको एप अहिले पनि सार्वजनिक पहुँचमा छ । तर, यसमार्फत सेवाग्राहीले सेवा लिन सक्ने गरी सरकारले प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गरेको छैन ।

एकीकृत प्रणालीको अवधारणामा आधारित ‘नागरिक एप’ को प्रयोग बढाउन सरकारले पहल गर्ने हो भने धेरैजसो सरकारी कार्यालयबाट लाइन हटाउन सकिने सूचना प्रविधि क्षेत्रका विज्ञहरु बताउँछन् ।

अहिले अनलाइन फारम भराएर कागज रुजु गर्न कार्यालयहरुले सेवाग्राहीलाई भौतिक रुपमा उपस्थित हुन बाध्य गराइरहेका छन् । सूचना प्रविधि विज्ञ अस्गर अली प्रणालीको सही प्रयोग गरेमा अधिकांश कार्यालयमा सेवाग्राहीलाई बोलाएर दुःख दिनुनपर्ने बताउँछन् ।

‘चाह्यौं भने परिवर्तन गर्न सकिन्छ भन्ने त प्यान नम्बर लिने प्रणालीबाटै प्रष्ट हुन्छ’ उनले भने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञ भएर काम गर्दा स्थायी लेखा नम्बर लिन नागरिकता लिएर हस्ताक्षर गर्न कर कार्यालय जानुपर्ने व्यवस्था हटाएको उनी बताउँछन् ।

अहिलेसम्म करिब ४ लाख ६ हजार जनाले नागरिक एपबाटै फारम भरेर कर कार्यालय नपुगी स्थायी लेखा नम्बर लिइसकेका छन् । १ लाख १३ हजार जनाले प्रहरीबाट असल चालचलनको चारित्रिक प्रमाणपत्र बुझिसकेका छन् । लोकसेवा परीक्षाको फारम भर्नेदेखि लाइसेन्स तथा सवारी नवीकरणसम्मका सेवा यसमा जोडिएका छन् ।

अलीका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा जस्तै अरु सरकारी सेवा प्रदायक कार्यालयले नागरिक एप प्रणालीलाई नै अपनाएमा लाइन लाग्ने समस्या हटाउन सकिन्छ । अधिकांश सरकारी सेवा लिंदा नागरिकता, फोटो, शुल्क तिरेको रसिद र व्यक्तिको हस्ताक्षर अनिवार्य हुन्छ । नागरिक एपलाई सरकारले कानुनी मान्यता दिए लाइन बस्ने प्रणाली अन्त्य गर्न सकिने अलीको तर्क छ ।

१६ वर्ष पुगेर नागरिकता बनाएका २ करोड ५० लाखभन्दा बढी नागरिकको विवरण गृह मन्त्रालयको विवरणमा छ । ८० लाख भन्दा बढीले राहदानी लिएका छन् । राहदानी दिँदा नै प्रमाणित गरेर तीनपुस्ते विवरण प्रणालीमा राखिएको छ ।

१ करोड ८० लाखभन्दा बढीले मतदाता नामावलीमा नाम छ । निर्वाचन आयोगमा उनीहरुको फोटो र हस्ताक्षरसमेत छ । ती सबै सरकारी निकायबाटै प्रमाणीकरण भइसकेका विवरण हुन् । अरु सरकारी कार्यालय र निकायमा पनि कुनै न कुनै सफ्टवेयर प्रणाली छन् ।

आन्तरिक राजस्व कार्यालयमा करदाताको विवरण राख्ने आफ्नै सफ्टवेयर छ, वैदेशिक रोजगार विभागमा विदेशिने श्रमिकको विवरण राख्ने एकीकृत प्रणाली छ । परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरुमा शैक्षिक योग्यताको विवरण राख्ने प्रणाली छन् ।

यातायात विभागमा सवारी धनी र सवारी चालकको विवरण राख्ने प्रणालीहरु छन् । नेपाल टेलिकम, विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग ग्राहकको विवरण छ ।

धेरै सरकारी निकायमा व्यक्तिको विवरण भए पनि एउटा कार्यालयको प्रणालीलाई अर्को कार्यालयको प्रणालीले चिन्दैन । सवारी चालक लाइसेन्स, राहदानी, बैंक खाता, मतदाता परियापत्र, कम्पनी दर्ताजस्ता सेवा प्रणाली नागरिकता नम्बरमा आधारित हुन्छ ।

यो प्रणालीमा प्रत्येक नागरिकको नागरिकता, राहदानी, स्थायी लेखा नम्बर, शैक्षिक योग्यताको प्रमाणपत्रसहितका विवरण नागरिक आफैंले एपमार्फत एक अर्कामा जोड्न सक्छन् ।

जस्तै स्थायी लेखा नम्बर लिन सेवाग्राही पहिले नागरिक एपमा जान्छ । स्थायी लेखा नम्बर बनाउन एपमार्फत अनुरोध पठाउँछ, त्यसो गर्नासाथ मेरो गृहमा भएको नागरिकताको विवरण आन्तरिक राजस्व विभागमा स्वतः जान्छ, निर्वाचन आयोगमा भएको फोटो पनि त्यहाँ पुग्छ । अर्थात् नागरिकले झञ्झट बिनै सेवा पाउँछ भने सबै नागरिकले लिएका सेवाको एकीकृत डिजिटल रेकर्ड तयार हुनसक्छ ।

सूचना प्रविधि विज्ञ अली नागरिक एपको प्रयोग गरिए लाइसेन्सको लागि लागेको लाइन समेत हटाउन सकिने बताउँछन् । ‘लाइसेन्सको प्रणालीमा यो नम्बरको नागरिकता भएको व्यक्तिले फारम भर्न चाहिरहेको छ भन्ने रेकर्ड दिने हो । मान्छेले बोकेको नागरिकता ठीक छ कि छैन, फोटो सही छ कि छैन भन्ने जाँच गर्न मान्छेलाई त्यहाँ बोलाएर लाइनमा राखिएको हो’ उनी भन्छन्,’तर, एपबाट गृह मन्त्रालयको रेकर्ड सिधै लाइसेन्सको प्रणालीमा जान सक्छ भने किन मान्छेलाई लाइनमा बोलाउने ?’

तर, बिडम्बना के छ भने अहिलेसम्म सरकारी खर्चमा तयार भएको यो एपमा सबै सेवा एकीकृत गरिएको छैन । यहाँ राखिएको नागरिकको दस्तावेजको गोपनीयताबारे पनि प्रश्न उठेको छ । सरकारले पनि नागरिक एपबाटै नागरिकले उपस्थित भएसरह मञ्जुरी दिन सक्ने गरी कानुनी व्यवस्था गरेको छैन ।

अहिले धेरै सेवा दिने कार्यालयले प्रक्रिया झन्झटिलो बनाएर सेवाग्राहीबाट अतिरिक्त लाभ लिनेदेखि विचौलियालाई फाइदा हुने काम गरिरहेका छन् । उपलब्ध प्रणालीको सहीसँग प्रयोग भइदियो भने सेवा लिन सरकारी कर्मचारीको अनुहार नै हेर्नुनपर्ने सूचना प्रविधिविज्ञ अलीको दाबी छ ।

‘सेवाग्राहीको रेकर्ड ठीक भए/नभएको सिस्टमले नै मूल्यांकन गर्नसक्छ, सिस्टमले नै सेवाग्राहीलाई त्यसको जानकारी दिन्छ । हाम्रो सरकार यति गर्न सक्ने अवस्थासम्म आइसकेको छ’ उनी भन्छन् । यो प्रणालीले नागरिकले चहेर एपमार्फत स्वीकति दिएको अवस्थामा मात्रै एउटा सेवाका लागि अर्को प्रणालीबाट तथ्यांक तान्छ ।

अहिले नागरिक एपबाट ‘क्यूआर कोड’ स्क्यान गरेर दुई मिनेटमा बैंक खाता खोल्न सकिने अली बताउँछन् । सरकारी कार्यालयहरुले आफ्नो सेवालाई स्क्यान प्रणालीबाट राखे भने एपमार्फत सेवाग्राहीले स्क्यान गरेर आफ्नो विवरण कार्यालयसम्म पठाउन सक्छन् ।

‘मेरो गाडीको कर तिर्न म किन लाइन लाग्ने ? मेरो बैंक खाताको पैसा सरकारको खातामा जम्मा गराउन सकिने अवस्था हुँदा हुँदै किन लाइन लगाइन्छ ?,’ विज्ञ अली भन्छन्, ‘त्यो लाइन हटायौं भने त्यहाँ भ्रष्टाचार रोकिन्छ ।’

नागरिक एप प्रणालीको प्रयोग भए एउटा नागरिकले कति कर तिर्छ, कतिसम्म ऋण लिने क्षमता राख्छ भन्ने कुरा सरकारले थाहा पाउन समेत सक्छ । त्यसका आधारमा तयार हुने तथ्यांकले नीति निर्माणमा पनि सहयोग पुग्न सक्छ, राज्यमा सुशासन कायम गर्न पनि मद्धत पुग्छ ।

नागरिक एपमार्फत प्रणालीहरु लिंक गर्दा नागरिकको तथ्यांक सुरक्षित हुने थप कानुनी तथा प्राविधिक व्यवस्था गरेर यसको विश्वसनीयता बढाउन सकिने विज्ञहरु बताउँछन् ।

तर, सरकारले नागरिक एपबाट जनताले आफैं सेवा लिने प्रणाली अघि बढाउन खासै चासो दिएको छैन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेल सरकारले कानुनमार्फत नागरिक एप प्रणालीको प्रयोगलाई वैधानिकता दिए सरकारी कार्यालयको अनलाइन सेवा प्रभावकारी हुने बताउँछन् । ‘अहिले पनि धेरै सेवाग्राही एपमा जोडिनुभएको छ’, उनी भन्छन्, ‘यसको प्रयोगलाई प्रवर्द्धन गर्ने हो भने प्रविधिमार्फत दिइने सरकारी सेवा धेरै हदसम्म प्रभावकारी हुन्छ ।’

सूचना प्रविधि विज्ञ भट्टराई सरकारले चाहेमा विश्वको जुनसुकै ठाउँबाट केही समयमै उत्कृष्ट प्रविधि भित्र्याउन सक्ने बताउँछन् । ‘तर, नेता र प्रशासकमा त्यसो गर्ने इच्छाशक्ति ल्याउन भने हामीले सकेनौं,’ उनी भन्छन् ।



source https://www.onlinekhabar.com/2022/12/1239533

कर्णालीको मुख्यमन्त्री यामलाल कंडेल कि राजकुमार शर्मा ?

१४ पुस, सुर्खेत । राष्ट्रिय राजनीतिमा सत्ता समीकरणमा फेरबदल भएसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकार बन्ने भएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।

आफूले सरकारको नेतृत्व पाउँनुपर्ने दाबी गर्दै दुवै दलका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

अहिले जसले दाबी गरे पनि गठबन्धन दलहरुबीच हुने सहमति अनुसार नै यहाँको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसी बताउँछिन् ।

‘प्रदेश सभामा एमालेभन्दा हाम्रो सिट बढी भएकाले माओवादी कै नेतृत्वकै प्रदेश सरकार बन्नुपर्छ भन्ने शीर्ष नेतृत्वसँग हाम्रो सशक्त माग छ,’ अध्यक्ष केसीले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘तर अन्तिम टुंगो भने केन्द्रीय नेतृत्वले नै लगाउने भएकाले हाम्रो हातमा केही छैन् ।’

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रले १३ र एमालेले १० सिट जितेको छ । राप्रपाको एक सिटसहित सत्ता गठबन्धनसँग २४ सिट हुन्छ । जबकि प्रदेश सरकार बनाउन २१ सिट भए पुग्छ ।

१४ सिट जितेको नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षी दलको सिटमा बस्नेछ । नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदको एक/एक सिट छ । यी दुई जनाको साथ पाए पनि कांग्रेसले सरकार बनाउन सक्ने स्थिति छैन् ।

कर्णालीमा अब एमालेले नेतृत्व गरेको गठबन्धनकै सरकार बनाउन एमालेका केही नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रदेश सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताए । ‘तत्कालीन नेकपा हुँदा ०७४ मा एमाले एक्लैले २० सिट जित्दा १३ सिट जितेको माओवादीलाई सरकारको नेतृत्व छाडेको थियो, यो पटक माओवादीले छाड्नु पर्छ,’ अध्यक्ष शाहले भने, ‘केन्द्रका शीर्ष नेताहरुसँग पनि सोही अनुसार छलफल भइरहेको छ ।’

को बन्ला मुख्यमन्त्री ?

कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा र नेकपा एमालेका यामलाल कंडेलमध्ये एक जना मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

यी दुवै नेता बुधबार मात्रै सर्वसम्मत दलको नेतामा चएन भएका छन् । दलको नेता नै मुख्यमन्त्री हुने भएकाले माओवादीको भागमा परे शर्मा र एमालेको मागमा परे कंडेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण फेरबदल भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा दोहोरिने सपनामा ब्रेक लागिसकेको छ ।

१४ सिटसहित प्रदेशमा पहिलो दलको हैसियत बनाएको कांग्रेस अब संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामै बस्नु पर्नेछ ।

 कंडेललाई जुरेको अर्को अवसर

गत कात्तिक १८ मा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कंडेलले कर्णालीको भावी मुख्यमन्त्रीमा आफूलाई प्रस्तुत गरेका थिए । तर, १० जना सांसदसहित प्रदेश सभामा गएका कंडेललाई प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा हेरिएको थियो ।

आइतबार बनेको नयाँ सत्ता समीकरणले कंडेललाई सरकारको नेतृत्वमा पुग्ने अवसर दिएको छ । ०७४ मा नेकपा माओवादीसँग वाम गठबन्धन गर्दा कर्णालीमा एमाले पहिलो राजनीतिक शक्ति बनेको थियो । तर मुख्यमन्त्री भने माओवादीको भागमा परेपछि महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने ।

त्यतिबेला नै मुख्यमन्त्री बन्न ठूलो कसरत गरेका कंडेललाई अहिले अर्को अवसर जुरेको छ । कंडेल यो अवसर गुमाउँन चााहँदैनन् । ‘सरकारको नेतृत्वका लागि विगतमै हाम्रो दाबी थियो, समीकरणले पुनः एक ठाउँमा ल्याएको छ,’ कंडेलले भने, ‘यो पटक पनि सरकारको नेतृत्वमा दाबी स्वाभाविक रुपमा रहन्छ नै ।’

उनले माओवादीसँग सर-सल्लाह गरेपछि मात्रै सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा टुंगो लाग्ने बताए ।

यता माओवादीले भने अन्य प्रदेशको तुलनामा कर्णालीमा आफना सांसदहरू पनि बढी भएको र जनआधार पनि राम्रो भएकाले सुरुमा माओवादीकै नेतृत्वमा सरकार बनाउने गरी गृहकार्य भै रहको बताएको छ ।

शर्माको राजनीतिक छलाङ्ग

माओवादीले आगामी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्दै रुकुम पश्चिम प्रदेश सभा (ख)बाट निर्वाचित राजकुमार शर्मा (आर्ट)लाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

मुख्यमन्त्री माओवादीको भागमा परे पहिलो पटक संसदीय राजनीतिमा आएका शर्मा पहिलो पटक नै मुख्यमन्त्री बन्न पाउने छन् ।

०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका उनी जनयुद्धका बेला साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका थिए ।

०४६ मा मोटो मसालको पार्टी सदस्यता प्राप्त गरेका शर्मा ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका थिए ।

शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका उनी यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए ।



source https://www.onlinekhabar.com/2022/12/1239526

Tuesday 27 December 2022

एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउन प्रचण्डले थाले पहल, माधव र उपेन्द्रसँग छलफल

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको स्रोतले बतायो ।

आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आएका छन् । प्रचण्डले असन्तुष्ट पक्षलाई फकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको सो पार्टीका नेताहरु बताउँछन् ।

नेकपा माओवादी केन्द्रका एक नेताले यही पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनसक्ने बताए । ती नेताले भने, ‘अध्यक्षले अहिले पार्टी भित्र र बाहिर पनि छलफल चलाइरहनु भएको छ । यसैक्रममा माधव नेपाल र उपेन्द्र यादवसँग छलफल भयो । संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार छलफल अघि बढेको छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

सरकारमा नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।

यसैगरी एमालेकी ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमा राई र जनमत पार्टीका अब्दुल खान मन्त्री छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।

अन्य दलहरुलाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि उनीहरुको मन्त्रालय तोकिने स्रोतले बतायो ।



source https://www.onlinekhabar.com/2022/12/1239023

कैलालीमा ९ किलो चरेससहित युवक पक्राउ

१३ पुस, धनगढी । कैलालीमा ९ किलो लागुऔषध चरेससहित युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ बसपार्कस्थित नवीन होटलबाट   बझाङको  दुर्गाथली गाउँपालिका  ७ काँडा का ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार विशेष सूचनाका आधारमा  प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो ।

अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



source https://www.onlinekhabar.com/2022/12/1239018

सुर्खेतमा ब्राउन सुगरसहित चार पक्राउ

१३ पुस, कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए ।

सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2022/12/1238977

प्रचण्डलाई टोपबहादुरको घोचपेच : यो त हुनु नै थियो

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिदा दौरासुरुवालमा थिए ।

पदमा हुँदा होस् वा नहुँदा, औपचारिक कार्यक्रममा सधैं टाइसुट र भादगाउँले टोपी लगाउने उनी यसपटक दौरा सुरुवालमा देखिदा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

टिकाटिप्पणी यसकारण भइरहेको छ कि माओवादी नेताहरुले दौरा सुरुवाललाई ‘सामन्ती पहिरन’ भन्ने गरेका थिए ।

सोमवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद र गोपनीयताको शपथ लिइसकेपछि प्रचण्डलाई बधाई दिने लाइनमा हाल नेकपा (एमाले) का सचिव रहेका पूर्वमाओवादी टोपबहादुुर रायमाझी पनि थिए ।

उनले तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका आफ्ना पूर्वपार्टी नेतालाई फूलसहित बधाई दिदै पहिलेजसरी दह्रोसंग हात मिलाए ।

बधाई दिएर हिँड्नै आँटेका उनलाई रोक्दै प्रचण्डले भने, ‘अहो, टोपबहादुरजी फेरि एकै ठाउँमै भइयो है ।’

रायमाझीले पनि भनिहाले, ‘ये तो होना ही था ।’ (यो त हुनु नै थियो)

त्यतिकैमा माओवादीका अरु नेताहरुले उनलाई जिस्काउँदै भने, ‘फूल मात्र ल्याउनु भएछ, खै त माला ?’

‘माला त कति लगाइयो–लगाइयो, त्यसैले फूल मात्रै’, रायमाझीले भने ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि रायमाझी केपी शर्मा ओलीसँग नजिकिएका थिए । ५ पुस २०७७ मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई ध्रुबमा विभाजित भएको थियो ।

ओली पक्षको बैठक बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको भेला बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको थियो । ७ पुसमा भएको उक्त भेलामा अनुपस्थित भएर रायमाझीले प्रचण्डसंगको लामो सहकार्य टुटाएका थिए ।

उनीसंगै रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायत नेताले प्रचण्डको साथ छाडेका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा ओलीले गरेको संसद विघटन र नेकपा एकता समेत बदर गर्दै नेकपा एमाले र माओवादीलाई पुरानै ठाउँमा फर्कादियो ।

त्यसपछि एमालेमै रहेका बादल, रायमाझी, भट्ट लगायतलाई पार्टीमा फर्किन माओवादीले आह्वान गर्‍यो । फर्किन अस्वीकार गरेपछि माओवादीले कारबाही गरेर उनीहरुको संसद पद खारेज गरिदियो । त्यसपछि उनीहरु संवाद–सम्बन्धमा थिएनन् ।

त्यसयता प्रचण्डसंग रायमाझीको पहिलो बोलचाल नै सोमवार राष्ट्रपति भवनमा भएको थियो । त्यसबेला उनीहरुसंगै रहेका एक माओवादी नेताले अनलाइनखबरसंग भने, ‘टोपबहादुरजीले घुमाउरो पारामा आखिर तपाई पनि हाम्रै ठाउँमा आइपुग्नुभयो भन्नुभयो ।’

संसद विघटन प्रकरणपछि अलग भएका ओली–प्रचण्ड करिब डेढ बर्षपछि एकै ठाउँमा आइपुगेका छन् । ओलीको साथ र सहयोगबाट प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

तिक्ततापूर्ण अवधिमा प्रचण्डले ओलीलाई प्रतिगमनकारी, दक्षिणपन्थी भनेका थिए । ओलीले पनि प्रचण्डलाई षड्यन्त्रकारी भन्थे ।

सत्ता संघर्षको क्रममा नाटकीय रुपमा मिल्न पुगेका ओली र प्रचण्ड अहिले कुनै तुष नभएको भागभंगीमामा छन् । एउटै सरकार र गठबन्धनमा रहेकाले अब अरु माओवादी–पूर्व माओवादी नेताहरुले पनि वहुतै ‘कमरेडी’ देखाउनुपर्ने अवस्था आइलागेको छ ।



source https://www.onlinekhabar.com/2022/12/1238922

गण्डकीको प्रदेश सभा अधिवेशन १८ पुसमा

१२ पुस, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन् ।

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई बुधबार शपथ खुवाउने र बिहीबार बस्यालले अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । पर्वतबाट चुनाव जितेका एमालेका बस्यालले बुधबार प्रदेश प्रमुखबाट सपथ लिनेछन् । त्यसको भोलिपल्टै अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम छ ।

बस्यालकै अध्यक्षमा १८ गतेको बैठक बस्ने छ । प्रदेश सभा अधिवेशन सुरु भएलगत्तै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।

‘१८ गतेबाट अधिवेशन सुरु हुन्छ । त्यसलगत्तै सरकार गठनको लागि आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन्’, प्रदेश प्रमुख स्रोतले भन्यो, ‘नयाँ सरकार गठनका लागि २० गते कट्दैन ।’

प्रदेश प्रमुख पृथ्वीमानले भने कहिले सरकार गठनका लागि आह्वान गर्ने भन्ने विषयमा छलफलमै रहेको बताए । ‘म आन्तरिक छलफल र तयारीमै छु तर मिति तय भइसकेको छैन’, प्रदेश प्रमुख गुरुङले भने । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि संविधानको धारा १६८ बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

१६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि एमाले नेतृत्वमा सरकार बन्ने देखिएको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद मिलेर गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र माओवादी ८ सांसद मिल्दा सजिलै सरकार बन्न सक्थ्यो तर एमाले नेतृत्वमा माओवादी, राप्रपा गठबन्धन बन्दा ३२ जना सांसद हुने छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङ) एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एमालेबाट मुख्यमन्त्री बन्न योजनाकै साथ खगराज संघबाट कास्की–१ (१)मा झरेका थिए । एमालेले खगराजलाई आइतबार सर्वसम्मत दलको नेता बनाइसकेको छ । अधिकारीले तत्काल सरकार गठनका लागि आह्वान गर्नुपर्ने र अब बिलम्ब गर्न नहुने बताए । ‘सरकार गठनको लागि आह्वान भएसँगै मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु गर्छु’, उनले भने, ‘शीर्ष नेताहरुले प्रदेशको टुंगो पनि लगाइसकेका छैनन् ।’

नेपाली कांग्रेसको बुधबार संसदीय दलको नेता चुन्दै छ । गोरखामा प्रचण्डकै क्षेत्रबाट मुख्यमन्त्री बन्ने योजनाका लागि प्रदेशमा उठेर चुनाव जितेका सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका आकांक्षी थिए ।

त्यो सम्भावना नदेखिएपछि अब प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्ने पाण्डेले बताइसकेका छन् । तर, पाण्डे अहिलेसम्म दलकै नेता बन्न सर्वसम्मत हुने सम्भावना भने देखिएको छैन । उनकै विचार समूहका मन्त्री विन्दुकुमार थापा, महेन्द्रध्वज जिसी र भोजराज अर्याल पनि आकांक्षी छन् । तर, कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्ने सम्भावना नदेखिएकाले सर्वसम्मत गराउने कोशिस भइरहेको कांग्रेस गण्डकीका उपाध्यक्ष मेखलाल श्रेष्ठले बताए ।

माओवादीको पनि संसदीय दलको निर्वाचन भइसकेको छैन । दलको नेतामा आफू निर्विकल्प भएको पूर्व मन्त्रीसमेत रहेको हरिबहादुर चुमानले आफू निर्विकल्प रहेको बताउँछन् ।

हेर्नुहोस् पत्र : 



source https://www.onlinekhabar.com/2022/12/1238882

देउवाले भोलि बालुवाटार छोड्ने, धुम्बाराहीमा भाडामा बस्ने

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सर्न लागेका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् । बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ ।

देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, उनले भने ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए । त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ ।

धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४÷५ वटा गाडी पार्किङमा अटाउन सक्ने ठाउँ छ ।



source https://www.onlinekhabar.com/2022/12/1238719

Monday 26 December 2022

राति ११ बजेपछि फिल्म देखाउन हललाई अनुमति, चार दिनअघि सेन्सर सिफारिस लिनुपर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले एक साताअघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

यसैबीच, राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ । ‘उक्त समयमा फिल्म प्रदर्शन गर्नु परे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ,’ जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि राति ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

चलचित्र क्षेत्रका समस्याको समाधानका सम्बद्ध निकायसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड तत्पर रहेको समेत अध्यक्ष भुवन केसीले बताएका छन् । फिल्म सेन्सर र रात्रिकालीन शोका कुरालाई लिएर चलचित्र संघले आन्दोलन घोषणा गरेको छ । यो सन्दर्भमा बोर्डको बैठकले संघको माग पूरा गर्नेतर्फ महत्वपूर्ण निर्णय लिएको हो ।



source https://www.onlinekhabar.com/2022/12/1238580

कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

१२ पुस, धनगढी । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका-१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका-१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/12/1238514

राजेन्द्र लिङ्देनलाई प्रश्न : प्रचण्डलाई समर्थन गर्न अप्ठ्यारो लागेन ?

११ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भाषणपिच्छे माओवादी केन्द्रको विरोध गर्न छुटाउँदैनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगुवाई गरेकैले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता आएको र यसले देश कमजोर पारेको राप्रपाको बुझाइ छ ।

तर त्यही राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन दियो । यसअघि सरकारमा गएकै कारण राप्रपाका पूर्वनेता कमल थापा दलभित्रका अरु नेताबाट आलोचित थिए ।

लिङ्देन त्यही बाटोमा आइपुगेका छन् । यस सन्दर्भमा अनलाइनखबरले गरेको संक्षिप्त वार्ता:

तपाईंहरुले प्रचण्डको सरकारलाई समर्थन गर्नुभयो, सहभागी हुनुभएन । किन ?

स्वभाविक छ । हामीले यो सरकारलाई समर्थन गर्ने नीति लिएका थियौं । तर क्याबिनेटमा जाने नजाने भन्नेबारे पछि निर्णय गर्ने भनेर निर्णय गरेका थियौं । पहिले भन्नाले हिजो निर्णय गरेका थियौं । त्यसै अनुरुप निर्णय भएको छ ।

किन आयो त्यस्तो निर्णय ?

सरकारमा जाने नजाने भन्नेमा राजनीतिक स्थिरताको विचार गर्दै पछि निर्णय गर्ने कुरा गर्यौं । खासगरि न्यूनतम साझा कार्यक्रम बन्दा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास, सेवा प्रवाह जस्ता कुरामा विगतका सरकार भन्दा फरक ढंगले अगाडि जान्छ र हाम्रो कुरा मिल्छ भने त्यो बेला सरकारमै सहभागिताबारे सोच्न र छलफल गर्न सकिन्छ ।

अन्यथा अहिले सरकार निर्माण भयो । एउटा प्रक्रिया अघि बढ्यो । हामी चाहिँ सकारात्मक प्रतिपक्ष बन्न सक्छौं । ठीक, बेठीकको आधारमा समर्थन र विरोध गर्ने ।

एमालेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाएकाले तपाईंहरुले असहज महसुस गर्नुभएको हो ?

त्यस्तो होइन, हामी प्रारम्भदेखि नै बैकल्पिक सरकार निर्माणमा थियौं । कोही व्यक्तिको कुरा भएन, एजेन्डाको कुरा हो । एजेन्डाका हिसाबले हाम्रा लागि सबै पार्टी उस्तै छन् । खासगरि सुशासनको दृष्टिकोणले कति फरक पार्न सकिन्छ भन्ने हो । प्रचण्डले पनि त दौरा सुरुवाल लगाउनु भयो क्यारे (हाँस्दै) ।

तपाईंहरुले भनेको जस्तो अवस्था बनेन भने ३० दिनमा समर्थन फिर्ता लिनुहुन्छ ?

हामी विश्वासको मत दिएर प्रतिपक्षमा बस्न सक्छौं ।

विश्वासको मत दिएपछि त सत्ता पक्ष भइहालियो नि ?

हामीले समर्थन गरेर हाम्रो प्रस्तावबाट बनेको सरकार हो । तुरुन्तै समर्थन फिर्ता लिएर अस्थिरताको कारक बन्ने काम राप्रपा गर्दैन । त्यसपछि पनि सरकारको क्रियाकलाप भने हेर्छौं ।

मागेका मन्त्रालय नपाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने योजना त छैन नि ?

यस्तो काम राप्रपाले गर्दैन, त्यस्तो हुँदैन ।

न्यूनतम साझा कार्यक्रमका अलावा क्याबिनेटमा तपाईंहरुको के माग छ ?

मन्त्री र मन्त्रालय हामीले प्राथमिकता राखेका छैनौं । मुल कुरा सरकारले दिने सेवा प्रवाह हो । ‘डेलिभरी’ कस्तो दिन्छ भन्ने हो । त्यसमा सहमति भए अरु तपशीलका कुरा हुन् ।

तपाईंहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रणालीको विरोधमा हुनुहुन्छ । प्रचण्ड चाहिँ यी मुद्दा उठाएर नेता बनेको व्यक्ति हुन् । समर्थन दिन अप्ठ्यारो त लागेको छैन नि ?

गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा हाम्रो असहमति छ भन्ने सार्वजनिक नै छ । यसमा कुनै विवाद छैन । असहमति राख्न पाउने सुविधा हामीलाई संविधानले नै दिएको छ ।

जुन बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गर्न सक्ने गरी बहुमत प्राप्त गर्न सक्छ वा अरु राजनीतिक पार्टीलाई सहमतिमा ल्याएर संविधान संशोधन गर्न सक्छ, त्यो बेला आफ्नो एजेन्डा लागू गर्ने कुरा त छँदैछ । यो बाहेक सुशासनका मुद्दा छन् । विकास निर्माण, सेवा प्रवाह, राष्ट्रियतासम्बन्धी विषय छन् । त्यस्ता विषयमा हामी राजनीतिक दलहरुसँग सहकार्य गरेर जान सक्छौं ।

प्रचण्ड मात्रैको चाहनाले देशका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आउँदैनथ्यो । त्यसका लागि कांग्रेस, एमाले लगायतका अन्य पार्टीहरु पनि उत्तिकै जिम्मेवार छन् । माओवादी एजेन्डाको भरीया कांग्रेस नबनेका थियो भने सायद यो देशमा यस्तो राजनीतिक परिवर्तन आउने थिएन ।

अहिले रवि लामिछाने लगायत उपप्रधानमन्त्री बनेको र अरु कोही मन्त्री बनेकोमा केही टिप्पणी त छैन ?

म त खुसी छु । किनभने हामी सबै बसेर यो बैकल्पिक सरकार निर्माण गर्ने क्रममा सँगै हस्ताक्षर गर्‍यौं । सँगै सल्लाह गरेर नै हामी प्रक्रियामा सहभागी भएका हौं ।

तपाईंलाई यो सरकारको शक्तिशाली उपप्रधानमन्त्रीका रुपमा देख्न पाउँछौं कि केपी ओलीकै सरकार कुर्नु पर्ने हो ?

त्यस्तो केही कल्पना गरेको छैन । किनभने उपप्रधानमन्त्री, मन्त्री हुने बाटो खुला छँदै छ नि ! किनभने सबै साथीहरुले आजै जाउ भन्नु भएकै थियो । हामीले ‘बार्गेनिङ’ गर्नेभन्दा पनि मुख्य गरी हाम्रो एजेन्डालाई प्राथमिकता दिएका छौं ।

भनेपछि सरकारमा जाने सम्भावना छ ?

अहिलेलाई मैले त्यस्तो कुनै सम्भावना देखेको छैन ।

सरकारमा जाने सम्भवना छैन तर तत्काल समर्थन फिर्ता हुँदैन ?

त्यस्तो केटाकेटी काम राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दैन । आज समर्थन गरेर भोलि फिर्ता लिँदैन ।



source https://www.onlinekhabar.com/2022/12/1238459

कर्णालीका सांसदहरुले लिए शपथ

११ पुस, सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।

शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर अध्यक्षता ग्रहण गर्ने छन् ।

४० सदस्यि कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १÷१ जना सांसद रहेका छन् । एक जना स्वतन्त्र सांसद छन् ।

हेर्नुहोस् तस्वीरहरु : 



source https://www.onlinekhabar.com/2022/12/1238211

शुभेच्छालाई ‘फिल्मी शैली’मा प्रेमीले राखे विवाह प्रस्ताव

काठमाडौं । अभिनेत्री तथा मिस नेपाल इन्टरनेसनल-२०१२ शुभेच्छा खड्काले आफ्नो प्रेम जीवन सार्वजनिक गरेकी छन् ।

आइतबार चितवनको बाराही जंगल लजमा आयोजित बर्थडे पार्टीमा शुभेच्छालाई प्रेमी आश्वासन जोशीले घुँडा टेकेरै विवाह प्रस्ताव राखे । इन्स्टाग्राममा यसबारे जानकारी दिंदै शुभेच्छाले आफूले सरप्राइज पाएको भन्दै औंठी पनि देखाएकी छन् ।

विवाह प्रस्ताव राखेपछि यी दुईले चुम्बनसहितका रोमान्टिक तस्वीर पनि सेयर गरेका छन् । ‘उसको बर्थडे थियो तर मैले सरप्राइज पाएँ,’ उनले पोस्टमा लेखेकी छन् ।

आश्वासन चाहिं बर्थडेकै लागि भनेर अमेरिकादेखि नेपाल आएको जनाइएको छ । चार वर्षअघि शुभेच्छाको फिल्म ‘रणवीर’ प्रदर्शनमा आएको थियो तर यसले बक्स अफिसमा जादू देखाउन सकेन । शुभेच्छाले पछिल्लो समय मोडलिङलाई निरन्तरता दिंदै आएकी छन् ।



source https://www.onlinekhabar.com/2022/12/1238216

मधेश प्रदेश सरकारमा एमाले, जसपा र जनमतको दाबी

११ पुस, जनकपुरधाम । केन्द्रमा भएको सत्ता समीकरण हेरफेरको प्रत्यक्ष असर मधेश प्रदेशमा पनि परेको छ ।

संघमा सुरु भएको राजनीति समीकरण अनुसार मधेश प्रदेशमा राजनीतिक कोर्ष अघि बढ्ने छ । मधेश प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न कसरत गर्दै थियो ।

मुख्यमन्त्रीको दौडमा कांग्रेस सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव प्रवल दाबेदार थिए ।

समीकरण फेरबदलले उनीहरुको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।

अब यो प्रदेशमा संघमा हुने भागवण्डाको सहमति अनुसार नै कुन दल नेतृत्वको सरकार बन्ने तय हुने नेताहरु बताउँछन् ।

यहाँ नेकपा एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सरकारमा दाबी गरेका छन् । संघीय सरकारलाई समर्थन गरेका जसपा र जनमत पार्टी दुबै मधेशका निर्णायक दल हुन् । त्यसैले यी दुईमध्ये एक दलको नेतृत्वमा सरकार बन्ने संभावना बलियो छ ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट छ । प्रदेशसभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ । सरकार निर्माणको लागि आवश्यक बहुमतको लागि ५४ सिट आवश्यक पर्छ ।

प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल हो । दोश्रो २२ सिटसहित कांग्रेस, १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल छ ।

६ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सिट छ ।

केन्द्रमा भएको तालमेलबीच अनुसार मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा सदस्यको संख्या जोड्छ ६२ पुग्छ ।

मधेश प्रदेशमा चारवटा दलले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । एमाले, जसपा, जनमत र माओवादी केन्द्र नेतृत्वको लागि लविङ् थालेका छन् ।

एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले ठूलो दलको हैसियतले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताए । ‘मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमाले छ । स्वभाविक रुपमा अब एमालेले सरकारको नेतृत्व गर्छ’, उनले भने । यद्यपी केन्द्रमा दलहरुबीच हुने सहमति अनुसार कोर्ष अगाडि बढ्ने उनको भनाइ छ ।

मण्डल एमालेबाट दलको नेताका दाबेदार छन् । उनका अलावा सरोज यादव, हरिनारायण महतो र राजकुमार लेखी पनि एमालेको दलको नेताका आकांक्षी हुन् ।

मधेशमा सरकार नेतृत्वको दोश्रो सम्भावित दल जसपा हो । सत्ता समीकरण फेरिएपछि यो प्रदेशमा जसपा निर्णायक दल बनेको छ । अन्य प्रदेशहरुमा पनि जसपाको उपस्थिति छ । तर कमजोर छ । बलियो उपस्थिति मधेश प्रदेशमा भएकाले सरकारको नेतृत्व आफूहरुले नै गर्न पाउनु पर्ने प्रदेश सांसद रामअशिष यादवको तर्क छ ।

‘जसपा मधेश प्रदेशमा निर्णायक दल हो । अन्य प्रदेशमा हाम्रो उपस्थिति कम छ । बढी यो प्रदेशमै भएकाले अन्य ठाउँमा सहयोग गरेर यहाँ हामीले नेतृत्व गर्ने हाम्रो दावी रहन्छ’, जसपाका निवर्तमान संसदीय दलका उपनेतासमेत रहेका यादवले भने । उनीसहित जसपमा यसपटक मुख्यमन्त्री लालबाबु राउत पुनः दलका नेताका आकांक्षी छन् ।

मधेश प्रदशसभामा जसपापछिको दोश्रो निर्णायक दल हो जनमत । देउवा नेतृत्वकै गठबन्धनदेखि जनमतले मधेश प्रदेशमा मुख्यमन्त्रीको लागि बार्गेनिङ गर्दै आएको छ । कांग्रेस र एमालेका शीर्ष नेतालाई भेटेर डा. सिके राउतसहित जनमतका नेताहरुले मधेश प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने शर्त राख्दै आएका छन् । एक पद मात्रै भए पनि मधेश प्रदेशमा जनमतलाई मुख्यमन्त्री जसरी पनि चाहिने प्रदेश सांसद बसन्त कुशवाहा बताउँछन् ।

‘एमाले अध्यक्ष ओलीसँग पनि हाम्रो कुराकानी भएको छ । मधेश प्रदेशको मुख्यमन्त्री हामीलाई चाहिन्छ । यसमा हाम्रो कुनै कम्परमाइज हुँदैन’ प्रदेश सांसद बसन्त कुशवाहाले भने, ‘अरु जसलाई जे लिनु छ लियोस् । तर मुख्यमन्त्री देओस् ।’

जनमतमा कुशवाहा पनि दलका नेताका दाबेदार हुन् । उनका अलावा प्रदेश सांसद शतिस सिंह, चन्दन सिंह, त्रिभुवन साह, सञ्जय यादव पनि दलका नेताका दाबेदार छन् ।

माओवादीले यो प्रदेशमा नेतृत्वको दाबेदार छ । माओवादीका निवर्तमान संसदीय दलका नेता समेत रहेका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आफ्नो पार्टीको पनि नेतृत्वको दाबी रहेको बताए ।

यद्यपी संघमा हुने भागवण्डा अनुसार नै यहाँ सरकारको नेतृत्व कुन दलले गर्ने तय हुने उनको भनाइ छ । यो प्रदेशमा चार दलले नेतृत्वको दावी गरे पनि जसपा र जनमत पार्टीको नेतृत्वको बढी सम्भावना रहेको देखिन्छ । अन्य प्रदेशमा यी दुई दलको न्युन र यो प्रदेशमा बढी रहेकाले आलैपालो भए पनि दुबै दलले सरकारको नेतृत्व गर्ने गरी संघमा सहमति हुने प्रवल सम्भावना रहेको माओवादीका एक प्रदेश सांसदको तर्क छ ।

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ हुन बाँकी नै छ । कहिले सपथ ग्रहण समारोह राख्ने भन्ने विषयमा टुंगो लगाउन सोमबार प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै छ ।

सम्भवत: शुक्रबार सपथ ग्रहणको समय तय हुने सम्भावना रहेको नेताहरु बताउँछन् । सपथ समारोह एकदिन अघि प्रदेशसभा मध्येका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोविन्दबहादुर न्यौपानेलाई सपथ ग्रहण गराइने प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसपछि उनले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने तयारी छ ।



source https://www.onlinekhabar.com/2022/12/1238005

Sunday 25 December 2022

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

११ पुस, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् ।

प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।

सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/12/1237831

Saturday 24 December 2022

सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरुको छुट्टै छलफल

१० पुस, काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कांग्रेसको अडानबारे छलफल भएको एक नेताले जानकारी दिए ।

सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।



source https://www.onlinekhabar.com/2022/12/1237303

परिवार पाल्न ९ महिना बगरमा बास

१० पुस, दोधारा चाँदनी । कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछिन् । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो ।

नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छिन् । ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु यहाँ आउन थालेको आठ वर्ष भयो’, उनले भनिन्, ‘भारत गएर काम गर्न सकेनौँ, यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।’

उनले महाकाली नदीको नदीजन्य पर्दाथ नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत बनेको बताइन् । ‘यही गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौँ, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो’, उनले भनिन्, ‘नौ महिना हामी यही बगरमै बसेर काम गर्छौं ।’

उनीजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन् ।

महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन् ।

भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहाले पनि परिवारको जोहो गर्न बगरमा सङ्घर्ष गर्नुपरेको छ ।

परिवारको खर्च जुटाउनका लागि आफूहरूसँग यसको विकल्प नभएको उनले सुनाए । ‘हाम्रो जातिको सुन छान्ने परम्परागत पेसा भए पनि अहिले हामी नदी किनारमा गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौं’, उनले भने, ‘यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।’

उनले आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न हरेक दिन महाकाली नदीको बगरमा आउने गरेको बताए ।

उनले परिवारका सबै मिलेर मासिक २५ हजारसम्म कमाउने गरेको बताए । ‘चामल किन्नेदेखि छोराछोरीको स्कुलको शुल्कसमेत यही कमाइले व्यर्होनुपर्छ’, उनले भने, ‘दिनभर बगरमा काम नगरे साँझ– बिहान घरमा चुल्हो बाल्न मुस्किल पर्छ ।’

पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्किएका अशोक सोनाह पनि बगरमै गिट्टी, बालुवा छान्न व्यस्त छन् । ‘हाम्रो तीन पुस्ताले बगरमै गिट्टी, बालुवा छानेर परिवारको जोहो गरेको छ’, उनले भने, ‘सरकारले हाम्रा लागि सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।’

अहिले महाकालीमा नदीमा प्रतिट्रली बालुवा एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुने गरेको छ ।

महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दा बढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेका छन् । अधिकांश परिवारसहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।

लामो समयदेखि यहाँका स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी छानेर जीविकोपार्जन गर्ने नागरिक धेरै छन् । यहाँका विपन्न समुदायका लागि महाकाली नदी आयआर्जनको मुख्य स्रोत बनेको छ ।



source https://www.onlinekhabar.com/2022/12/1237272

सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

१० पुस, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिंदै छ ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।

दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन । यद्यपि, एकीकृत समाजवादीका माधव नेपालसहित आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनेको स्रोतको दाबी छ ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास गरेको छैन । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेस गरिने बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/12/1237267

आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।

२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2022/12/1237261

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

९ पुस, काबुल । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।

सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ ।

महिलालाई काम नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई सूचना पठाइएको छ । समाचार संस्था एएफपीले प्राप्त गरेको उक्त सूचनाको एक प्रतिमा भनिएको छ, ‘इस्लामी हिजाबको पालन नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनहरूको बारेमा गम्भीर गुनासोहरू आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको छ ।’

अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघसंस्थासँग आग्रह गरेको छ । सिन्ह्वा



source https://www.onlinekhabar.com/2022/12/1237256

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More