Monday 19 December 2022

खेलकुदमय पोखरा

५ पुस, पोखरा । राष्ट्रिय खेलकुद परिषद्ले गर्दै आएको वृहत् राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशले आयोजना गर्ने मौका पायो ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रदेश राजधानी पोखरामा भएको राष्ट्रिय प्रतियोगिताले गण्डकी गर्मायो ।

वृहत् राष्ट्रिय खेलकुदको सुरुआती संस्करणबाट सधैं पदक बागमतीकै वरिपरि घुम्दै आएको थियो । तर, यसपटकको प्रतियोगितामा गण्डकीले राम्रो खेल प्रदर्शनमात्रै दिएन बागमतीलाई उछिन्दै पहिलो पटक प्रदेशतर्फ सर्वोत्कृष्ट बन्न सफल भयो ।

वृहत् राष्ट्रिय खेलकुदमा राम्रो खेल प्रदर्शन गरेको गण्डकी प्रदेशमा अहिले एकपछि अर्को साना ठूला खेलकुदका गतिविधि हुन थालेका छन् ।

भर्खरैमात्र पोखरा रंगशालास्थित टेनिस कोर्टमा अन्तर्राष्ट्रियस्तरको जुनियर टेनिस प्रतियोगिता सकियो । मंसिर १३ गतेदेखि दुई सातासम्म चलेको उक्त प्रतियोगितामा विभिन्न ९ देशका ९८ जनाभन्दा बढी खेलाडी सहभागी थिए ।

पोखरामै केही समयको अन्तरालमै मोफसलकै चर्चित आहारारा गोल्डकपदेखि टाइगरकप, टुर दी पोखरा, पोखरा म्याराथनलगायत ठूला राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता हुँदैछन् ।

बुधबारदेखि पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो मेयर कप साइकल प्रतियोगिता हुँदैछ ।

५० किलोमिटर दूरीमा विभिन्न तीन विधामा हुने साइकल दौडमा सहभागी हुन कास्कीसहित करिब एक दर्जन जिल्लाका खेलाडीहरु पोखरा आउन लागेको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

साइकल दौडलगत्तै पुस ९ गते नै साइकल सिटी पोखराको आयोजनामा ‘टुर दी पोखरा’ हुँदैछ । छैटौं संस्करणसम्म आइपुग्दा साइकल सिटीले बागलुङ र पर्वतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित बागलुङ कालिका मन्दिरदेखि पोखरासम्म र्‍याली पनि हुने आयोजना गर्ने कार्यक्रम संयोजक राजन गोंगजुले जानकारी दिए ।

यही महिनामै २ दशकभन्दा बढी समयदेखि मोफसलमा अन्तर्राष्ट्रिय टोली उतारेर आफ्नो छुट्टै शाख बनाउन सफल आहारारा गोल्डकप पुस १४ गतेबाट पोखरा रंगशालामा हुँदैछ ।

सहारा क्लबले आयोजना गर्दैै आएको प्रतियोगितालााई २२ औं संस्करणमा नाम परिवर्तन गरिएको छ । क्याराभान कपबाट सुरु भएको प्रतियोगिता यसपटकदेखि ‘आहारारा पोखरा गोल्डकप’मा परिणत भएको छ ।

बर्सेनि आयोजना हुँदै आएको आहारारा पोखरा गोल्डकपमा पनि दर्शक उल्लेख्य सहभागी हुँदै आएका छन् । मोफसलकै सबैभन्दा बढी रुचाइएको राष्ट्रियस्तरको प्रतियोगिता भएकाले पनि देशभरका खेलकुद अझ त्यसमा पनि फुटबल प्रेमीको ध्यान खिच्न सफल हुँदै आएको छ ।

त्यस्तै, मोफसलबाटै भलिबलको सबैभन्दा चर्चित प्रतियोगिता बनेको ‘टाइगर कप’ पनि पोखरामै हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने टाइगर कपले गण्डकीमा छुट्टै पहिचान बनाउन सफल छ । टाइगर ग्रुप अफ पोखराले उक्त प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

दैनिक हजारौं दर्शक उतारेर गण्डकीमा भलिबलको सदाबहार क्रेज देखाउन टाइगर कप सफल छ । भलिबलबाट राष्ट्रिय महिला तथा पुरुष दुवै टोलीको कप्तानीको भूमिका गण्डकीकै खेलाडीले निभाउँदै आएका छन् । पुरुष राष्ट्रिय टोलीका कप्तान मानबहादुर श्रेष्ठ कास्की र महिला राष्ट्रिय टोली कप्तान अरुणा शाही म्याग्दीका हुन् ।

भूतपूर्व खेलाडी मञ्चले बर्सेनि आयोजना गर्दै आइरहेको पोखरा म्याराथन यस वर्ष फागुन पहिलो साता हुँदैछ । अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी हुने भए पनि अघिल्ला संस्करणमा आधिकारिकता विवाद हुँदै आए पनि यसवर्षदेखि त्यो विवाद अन्त्य भएको छ । हालै मात्र म्याराथनको रुटले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे पछि यसको रौनक झनै बढ्ने मञ्चको दाबी छ ।

राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा लगालग खेल हुँदा गण्डकीको खेल क्षेत्रमात्रै नभएर अर्थतन्त्रलाई पनि सघाउ पुग्ने खेल सरोकारवाला बताउँछन् । ‘खेलकुद भनेको सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण पाटो पनि हो,’ गण्डकी खेलकुद परिषद् निवर्तमान सदस्यसचिव तेज गुरुङ भन्छन्, ‘अहिले विश्व परिवेशमा खेलकुद केवल मनोरञ्जन वा जित र हारमामात्रै सीमित छैन । अहिले समाज र अर्थसँगै जोडिन्छ ।’

गण्डकीमा निरन्तर खेल हुँदा पोखरालाई खेलकुदको राजधानी बनाउन पनि सहयोग पुग्ने गुरुङको भनाइ छ । ‘हामीले पोखरालाई स्पोर्टस्को राजधानी भन्दै आएका छौं । यस्ताखालका मेघा इभेन्टले झनै सहयोग पुर्‍याउँछ । हाम्रो समाजलाई नै माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।

पोखरामा खेलकुद गतिविधिमात्रै नभएर सरकारी तवरबाटै खेलकुद पढाइ हुने भएकाले पनि गतिविधि बढाउन सहयोग पुगेको गुरुङको भनाइ छ । गण्डकी विश्वविद्यालयले ब्याचलर्स इन स्पोर्टस् पढाइ हुँदै आएको छ ।

पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका गुरुङले गण्डकीमा खेल क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरेका छन् । ‘खेलकुद भनेको लैंगिक समानताको विषय पनि हो । त्यसले यसमा लगानी गर्दा कसैलाई घाटा हुँदैन,’ उनले भने, ‘खेलकुद एकता बनाउने एउटा माध्यम पनि हो ।’



source https://www.onlinekhabar.com/2022/12/1234754

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More