मनमा उत्पन्न हुने अनेक द्विविधाको स्रोतमध्ये आफूले बोकी हिंडेको परिकल्पना पनि एक हो। परिवर्तनशील परिस्थितिमा परिकल्पना स्थिर रहिरहन सक्दैन। भनिन्छ जे परिवर्तन हुँदैन, त्यो शायद ईश्वर मात्र हो। यतिसम्म कि ईश्वर पुज्ने तरिकाहरूमा पनि परिवर्तन भइरहेको देखिन्छ।
जीवनको एउटा परिस्थितिमा राखेको लक्ष्य समय र परिस्थिति बदलिएपछि अप्राप्य र असान्दर्भिक हुनसक्छ। कतिबेला लक्ष्य असान्दर्भिक भयो भनेर यकिन गर्न भने कठिन हुन्छ। तथापि यो वस्तुगत अवस्था र विषयगत मूल्यांकनको समिश्रणबाट केही अनुमान गर्न सकिन्छ। यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने परिकल्पना परिपक्व नभई बारम्बार बदल्दा अस्थिरता उत्पन्न भई परिकल्पना प्राप्त नहुने अवस्था हुन सक्छ।
परिकल्पना निर्माण गर्दा के कस्ता आधारमा गर्ने भन्ने अर्को महत्वपूर्ण प्रश्न हुन सक्दछ। इच्छाशक्ति र क्षमता दुवैको सन्तुलन कायम गरी परिकल्पना निर्माण गर्दा बढी व्यावहारिक हुन्छ। तात्कालिक क्षमता मात्र हेरेर परिकल्पना निर्माण गर्दा इच्छाशक्तिको अभावमा क्षमता विकास गर्न कठिन हुन्छ। इच्छाशक्तिको आधारमा मात्र परिकल्पना बनाउँदा अव्यावहारिक चाहनाको सगरमाथा ठडिन सक्छ।
संस्थागत परिकल्पना निर्माणका आफ्नै तौरतरिका हुन्छन्। यहाँ चर्चा गर्न खोजिएको परिकल्पना निर्माण व्यक्तिगत जीवनको परिकल्पना हो। कतिपय मानिस के भन्दछन् भने जीवन सरल र सहज जिउनुपर्छ, बगेको खोलाजस्तै हुनुपर्छ। यस तर्कमा तुक अवश्य नै छ तर मानिस विवेकशील प्राणी हुनुको नाताले उसँग भविष्यको बारेमा सोच्ने, कल्पना गर्ने कार्य गर्ने क्षमता र धैर्य हुन्छ। तसर्थ मानवमात्रमा विकसित मस्तिष्कको प्रयोग नगर्ने भन्ने हुँदैन।
जीवन वास्तवमा छनोटका आधारमा गरिने कर्म हो। परिकल्पना निर्माणले कर्महरुको श्रृङ्खलाको छनोट यकिन गर्छ। यसले जीवनलाई अनुशासित र अर्थपूर्ण बनाउँछ। लक्ष्य विनाको यात्री हावामा उडिरहेको पतिङ्गर हो भन्ने गरिन्छ। जो उडेर कहाँ कतिवेला पुग्छ थाहा नै हुँदैन। सबैभन्दा खराब कुरा त यो छ कि परिकल्पना वा लक्ष्यविहीन मानिस खराब कुरामा फस्ने संभावना बढी हुन्छ। खाली दिमाग शैतानको घर भन्ने त उखान नै छ।
हुन त हाम्रो समाजमा बालबालिकालाई तिमी भविष्यमा के बन्ने भनेर नसोधिने होइन तर त्यो पर्याप्त छैन। अक्सर बाबुआमाहरु आफ्नो इच्छानुसार बालबालिकालाई के बनाउने निर्धारण गरिदिन्छन् वा भन्न लगाउँछन्। व्यक्तिगत जीवनमा परिकल्पना गरिएका इच्छा, क्षमता र वातावरणसँगको अन्तरक्रियाबाट अन्वेषण र विकास गरिने कुरा हो न कि लाद्ने वा नक्कल गर्ने विषय। यहाँनेर अन्वेषण र विकास किन भनिएको हो भने यो पत्ता लगाउन समय लाग्न सक्छ र पत्ता लागिसकेपछि त्यसलाई विकास गर्न दृढता चाहिन्छ। धेरै मानिस परिकल्पना गर्छन् तर पछ्याउन सक्दैनन्।
कतिपय मानिस के पनि भन्छन् भने आफ्नो परिकल्पना कसैलाई भन्नुहुँदैन किनकि मानिसले त्यसमा नकारात्मक टिप्पणी गरिदिन सक्छन् साथै निराशा पैदा हुनसक्छ। जे भए पनि कुनै पनि भ्रूण परिपक्व नहुन्जेल ढाकिएको नै हुन्छ। यो कुरा शायद व्यक्तिगत परिकल्पना निर्माणमा पनि उत्तिकै लागू हुन्छ।
परिकल्पना विभिन्न स्तरका हुनसक्छन्। व्यक्तिगत जीवनका सुखसयलदेखि संसार बदल्नेसम्मका हुनसक्छन्। त्यो छनोट गर्ने काम पनि स्वयं व्यक्तिकै हो। परिकल्पना महान नै हुनुपर्छ भन्ने चाहिं छैन। यति हो कि परिकल्पना व्यक्ति वा समाजका लागि हानिकारक वा खराब चाहिं हुनुहुँदैन।
यसबाट के कुरा थाहा हुन्छ कि बालबालिकालाई परिकल्पना दिने होइन कि परिकल्पना निर्माण कसरी हुन्छ भनेर सिकाउने हो। खासगरी महान व्यक्तित्वहरुले कसरी परिकल्पना निर्माण र प्राप्त गरे भनेर उदाहरण बताइदिने हो। अर्थात् माछा मार्न सिकाइदिने हो। माछा मार्ने काम स्वयं बालबालिकाको नै हो।
अन्त्यमा बुझ्नुपर्ने कुरा के छ भने विद्यालय, बाबुआमा र समुदाय सबैले व्यक्तिको परिकल्पना उजागर हुन सकारात्मक वातावरण निर्माण गरिदिनुपर्दछ। तब मात्र समुदाय र देशकै विकासका लागि यसले योगदान दिन सक्छ।
-म्याग्दे– ६, तनहुँ
source https://www.onlinekhabar.com/2022/12/1240607
0 comments:
Post a Comment