Tuesday 31 March 2020

कोभिड–१९ बाट अमेरिकामा २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्छ : ट्रम्प

१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या २ लाख ४० हजारसम्म पुग्नसक्ने बताएका छन् ।

कोरोना भाइरसका कारण अबको दुईसाता निकै संवेदनशील रहेको भन्दै उनले यसतर्फ सचेत रहन सबैलाई आग्रह समेत गरेका छन् ।

मंगलबार पत्रकारहरुसँगको कुराकानीका क्रममा ट्रम्पले अबको दुईदेखि तीन सातामा कोरोना भाइरसबाट अहिलेसम्म नदेखेको परिणाम भोग्नुपर्ने बताएको सीएनबीसीले जनाएको छ । अबको दुई सातासम्म अमेरिकामा मृत्यु हुनेको संख्या  उत्कर्षमा पुग्ने उनको भनाइ छ ।

अमेरिकामा अहिले विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा एक लाख ८४ हजार संक्रमित फेला परिसकेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म ७५ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् ।

यसअघि न्युयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले अबको तीन सातामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उत्कर्षमा पुग्ने बताएका थिए । उनले आफूहरुले सोचेभन्दा यो भाइरस निकै शक्ति र जोखिमपूर्ण रहेको बताएका थिए ।

ट्रम्पले मंगलबार बोल्दै आफूहरुले अहिलेसम्म देखेकोमध्ये सबैभन्दा कठिन तीन साताको सामना अमेरिकाले गर्नुपर्ने बताए । उनले आफू मृतकको संख्या सकेसम्म कममा लाग्न प्रयासरत रहेको पनि बताएका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849932

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

१९ चैत, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण देखिने नेपालीको संख्या नौ पुगेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरे । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849930

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ ।

कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारीहरूलाई यस्तो आग्रह गरेको हो ।

विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र सङ्क्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, सङ्क्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको बताए ।

‘सहकारीमा न्यून तथा मध्यम आय भएका व्यक्तिले थोरैथोरै गर्दै गाँस कटाएर भए पनि केही बचत गरेका हुन्छन् । उनीहरुको यो बचत भोलि आउने अप्ठ्यारोका लागि हो,’ विभागका उपनिर्देशक सुमन अधिकारीले भने, ‘अहिले शहरी गरिब तथा न्यून र मध्यम आय भएका परिवारलाई जीवन निर्वाह गर्न अप्ठ्यारो परेको छ । उनीहरुलाई खोजेर भए पनि जीवन निर्वाहका लागि सहयोग गर्नुस् ।’

उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ । हाल कामपामा करिब एक हजार ९०० सहकारी छन् ।



source https://www.onlinekhabar.com/2020/04/849929

लकडाउन उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

१९ चैत, काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय ५८ जनालाई उभ्याएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय ९० जना पुरुष छन् । यो अवधिमा एक सय ५३ वटा सवारीसाधन पनि होल्ड गरिएका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849928

लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ने

१९ चैत, काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ ।

कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो ।

दूतावासमा काम गर्ने अधिकांश कर्मचारीको आवास सोही भवनमा रहेको र पाँच दिनबाहेक अन्य समयमा आफूहरूले काम गर्दै आइरहे पनि महामारीका बेला दूतावास अझ बढी जिम्मबार हुनुपर्ने हुँदा सूचना नै जारी गरेर कार्यालय समय थपबारे जानकारी दिइएको दूतावासका उपनियोग प्रमुख शरद्राज आरणले बताए ।

दूतावासले आज जारी गरेको एक अपिलमा हाल नेपालबाट आई बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये केहीमा खानाको व्यवस्थापनलगायत समस्या परेकाले तिनलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसै गरी दूतावासले समस्या समाधानका लागि सम्बन्धित ठाउँमा कुराकारीसमेत भइरहेको जनाएको छ ।

उक्त अपिलमा वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीलाई आर्थिकलगायत अन्य सहयोग उपलब्ध गराउनु सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको हुँदा स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावलाई दूतावासमा सम्पर्क गर्न दूतावासका उपनियोग प्रमुख आरणको मोबाइल नं ०७४६०५९१८८ र दूतावासको इमेल भयल२लभउझदबककथ।यचन।गप उपलब्ध गराइएको छ । केही दिनदेखि नेपाली विद्यार्थी बेलायतमा खान बस्न पाएनन् भनी समाचार आइरहेका थिए भने मंगलबार केही विद्यार्थीले भिडियोमार्फत आफ्नो समस्या बाहिर ल्याएका थिए ।



source https://www.onlinekhabar.com/2020/04/849922

प्रदेश १ मा ३० जनाको रिर्पाट नेगेटिभ, १६ जनाको रिपोर्ट आउन बाँकी

१९ चैत, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ  । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना त्यसैगरी झापाबाट ५ जना,  मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, तेर्‍हथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको छ ।

नमुना संकलन गरिएका मध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका हुन् । जसमा सोलुमा १,  उदयपुरमा २,  पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आइसोलेसनमा भर्ना भएका हुन् । आइसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा. मेहताले बताए ।

प्रदेश १ मा हालसम्म  ३५ वटा अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849924

प्रदेश ५ मा कोरोना रोकथाम तथा उपचार कोष स्थापना

१९ चैत, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष स्थापना गरिएको छ ।

प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष सञ्चालनको निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि कोष स्थापना गरिएको हो ।

कोष सञ्चालनका लागि सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव रहनेछन् ।

कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आइसोलेसन अस्पताल स्थापना र सञ्चालनमा लाग्ने खर्चहरुको व्यवस्थापन गर्न, मानवीय क्षति नियन्त्रण र प्रकोपको कारणबाट प्रभावित व्यक्तिहरुको सहज परीक्षण तथा उपचारको व्यवस्था गर्न, उपचारमा आवश्यक पर्ने मेडिकल सामग्री औषधी उपकरणको लागि लाग्ने खर्चको प्रवन्ध गर्न खर्च गरिनेछ ।

निर्देशिकामा कोरोना भाइरसको नियन्त्रण तथा उपचार गर्न प्रदेश सरकारबाट निर्णय भए बमोजिमका अन्य खर्च गर्न र कोरोना भाइरसबाट ज्यान गुमाएका परिवारलाई दिने राहतको लागि खर्च गर्न सकिने व्यवस्था रहेको सामाजिक विकासमन्त्री बरालले जानकारी दिए ।

कोष सञ्चालक समितिको मंगलबार बसेको बैठकले ५ सदस्यीय प्राविधिक कार्यदल गठन गरेको छ । त्यस्तै स्वास्थ्य निर्देशक, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव, सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महशाखा प्रमुख, आयुर्वेद चिकित्सक, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र वायोमेडिकल इन्जिनियर सदस्य रहेको प्राविधिक कार्य टोली गठन गरिएको हो ।

बैठकले कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा सहयोग गर्न पनि अपिल गरेको छ ।



source https://www.onlinekhabar.com/2020/04/849918

तपाईं अरुका कुरा कत्तिको सुन्नुहुन्छ ?

मुलुकमा लकडाउन शुरु भएपछि हरेक व्यक्ति घरमा नै आइसोलेसनमा छन् । दिनभर दौडनुपर्ने व्यक्ति एकाएक घरमा थुनिएजस्तै गरी बस्नुपर्दा असजिलो त पक्कै पनि भएको होला । यसको विकल्प पनि छैन । अझ कति दिन बस्नु पर्ने हो भन्ने एकिन पनि छैन । आशा गरौँ यसबाट छिटै निकास पाइनेछ ।

हरेक घटनाबाट केही न केही सिक्न सकिन्छ । तर, हामीले के कति सिक्न सकिन्छ भन्ने मात्र हो । यी मध्ये कम बोल्न सकेमात्र पनि धेरै हुनसक्छ । तर कम बोल्ने कसरी अर्थात् अरुलाई बढीभन्दा बढी सुन्ने कसरी ? यसको लागि अभ्यास गर्ने उपयुक्त मौका अहिले हो । पछि यस्तो समय नपाइन सक्छ ।

अरुलाई सुन्ने बारेमा चर्चा गर्दा शुरुमा हाम्रो बानीका बारेमा कुरा गरौं ।

एक व्यक्ति दिनभरमा कति समय बोल्ने गर्छ होला ? हामीले सायदै विचार गरेका हौंला । धेरैलाई यसबारेमा खासै चासो नहुन पनि सक्छ । चासो राख्नेहरुले पनि बोल्ने समयमा यसलाई ध्यान दिन नसकेका हुन सक्छन् । कतिपयले यसमा सचेत भई सोअनुसारको व्यवहार गरेका पनि हुन सक्छन् ।

डा. हरिप्रसाद लम्साल

एकपटक आफूले बोलेको समय र अरुलाई सुनेको समय हिसाब गरेर हेर्ने हो भने बोल्ने हरेक व्यक्तिको पनि ऐनामा अनुहारजस्तै बोल्ने समयको तस्वीर बन्न सक्छ । हरेकले एकपटक मनमनै हिसाब गरौँ त कस्तो अवस्था आउला ।

कुनै कार्यपत्र प्रस्तुत गर्दा होस् वा कक्षाकोठामा अध्यापन गराउँदा होस् वा सोभन्दा बाहेकका अन्य समयमा अरुका कुरा सुन्नमा कति समय लगाउने गरिएको छ ? यो विषय हेर्दा सानो जस्तो देखिन सक्छ तर जीवनमा यसको दीर्घकालीन प्रभाव छ । व्यक्तिको व्यक्तित्व विकासमा यी र यस्तै पक्षले सहयोग गर्न सक्ने रहेछन् ।

प्रसिद्ध मनोविज्ञानवेत्ता जोर्डन बी. पिटरसनले ‘टुबेल्स् रुल फर लाइफ’ भन्ने आफ्नो प्रसिद्ध पुस्तकमा जीवनयापनका लागि उपयोगी १२ ओटा नियम बताएका छन् । सोमध्ये एउटा नियम ‘बी प्रेसाइज योर स्पीच’ शीर्षकमा व्याख्या गरिएको छ । यसको सार आफूले बोल्ने कुराहरूलाई जति सक्छौं संक्षिप्त बनाऊ भन्ने नै हो । यसका लागि आवश्यक भरपूर तयारी चाहिन्छ । भनाइलाई विशिष्टीकृत बनाउन अभ्यास गर्नुपर्छ । भनाइमा तथ्य र तथ्यांक एवम् प्रमाणको आवश्यकता पर्छ ।

जब–जब व्यक्तिले आफ्ना कुरा संक्षिप्त र विशिष्टिकृत बनाउन थाल्छ, संवादको क्रममा अरुको कुरा सुन्ने समय बढ्छ । आफूले समय कम लिनु भनेको अर्कोलाई समय दिनु नै हो । समय तन्काउन वा बढाउन सकिन्न । उपलब्ध वा भएको समय के कसरी सदुपयोग गर्ने भन्ने मात्र हो । सबै व्यक्तिका लागि प्रश्न यही हो कि आफूले कम बोल्न र समय अरुलाई सुन्नमा प्रयोग गर्न हामी के कति मात्रामा तयार छौं त ?

एकछिन विचार गरौँ, हामीमध्ये कोही कुनै बैठकमा भाग लिन जाँदैछौँ । त्यहाँ जानुभन्दा पहिला सो बैठक के कति समयका लागि हो भनेर हामीले सोच्ने गरेका छौँ ? त्यसका लागि कुनै तयारी गरेर जाने गरेका छौँ ? बैठकमा जाँदा मैले कति बोल्ने र अरुले कति समय बोल्ने भनेर सोचेका छौँ ? आफूले बोल्ने विषयलाई अझ संक्षिप्त बनाउन के गर्न सकिएला भनेर सोचेका छौँ ? एकपटक यी र यस्तै समयमा बारेमा विचार गरौँ त ।

यस पृथ्वीमा रहेका सबै मानवका लागि एक दिनमा जम्मा २४ घण्टाको समय उपलब्ध छ । यो समय भनेको एक हजार चार सय ४० मिनेट हो अर्थात् ८६ हजार चार सय सेकेण्ड हो । हरेक व्यक्तिलाई सबैथोक गर्नका लागि उपलब्ध हुने समय यही एक हजार चार सय ४०मिनेट नै हो । यसलाई थप तन्काउन सकिँदैन । अब यस समयमध्ये केही समयका लागि न्यूनतमरुपमा हरेक व्यक्तिलाई चाहिन्छ ।

सामाजिक सञ्जालका भित्तामा आफ्ना असन्तुष्टि पोख्न बानी परेका वा यस दुनियाँमा रमाउने लतमा परेको पुस्तालाई अरुलाई सुन्नुपर्छ भनेर त्यहाँबाट बाहिर निकाल्ने कसरी ? अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको यही नै हो

जस्तै खाने, बस्ने, सुत्ने, आराम गर्ने, मनोरन्जन गर्ने आदि । यसमा पनि कति समय चाहिन्छ भन्ने बारेमा एकरुपता त छैन, तर न्यूनतम समय सबैलाई चाहिन्छ । यसपछि बाँकी रहेको समयमात्र कति आफूले प्रयोग गर्ने र कति समय अरुलाई सुन्नमा प्रयोग गर्ने भन्ने हो । व्यक्तिमा देखिने भिन्नता यही समयको प्रयोगले गर्दा हुने हो । हरेक व्यक्तिको स्वभाव पनि यसैले जनाउने गर्दछ ।

अब भनौँ त यही एक हजार चार सय ४०मिनेटमा कति समय अरुको कुरा सुन्नमा प्रयोग भएको होला ? आफ्नो र अर्कोका लिएको समयको बीचमा तुलना गर्न सके त अझ राम्रो हुने थियो । अनुमानमात्र गर्न सके पनि आत्म प्रतिविम्वन गर्न सहयोग पुग्ने थियो ।

यहाँ अरुलाई सुन्नु भनेको स्वअध्ययन गर्नु, अन्तरकृयामा भाग लिँदा अरुका विचार सुन्नु, फेस टु फेस कुराकानीमा अरुलाई सुन्नु र बुझ्नु हो । यो मौन स्रोता हुने अवस्था होइन । आफू कम बोल्नु हो । आत्म मन्थन र चिन्तन गर्नु हो ।

यहाँ व्यक्तिको मात्र के कुरा । के हाम्रा सार्वजनिक संस्थाहरु अरुका कुरा सुन्नमा अभ्यस्त छन् त ? विश्वविद्यालय मात्र नभएर विद्यालय वा अन्य सामाजिक संघसंस्थाहरुले अरुलाई सुन्ने काम के कति मात्रामा गरेका होलान् ? घरमा के कस्तो वातावरण तयार हुँदैछ भनेर सोच्ने कसले ? साथीसँगीको बीचमा के कस्तो ढंगबाट अरुलाई सुन्ने गरिएको छ ?

यो सुन्नु भनेको कुनै एक दिन यसो गरें भनेर हुने पनि होइन । यसका लागि त संस्कार विकास हुनु आवश्यक छ । हाम्रा संस्थाहरूले यस्तो संस्कृति र संस्कार विकास गराउन सहयोग पुग्ने खालको क्रियाकलाप गराउने गर्छन् त ?

सामाजिक सञ्जालका भित्तामा आफ्ना असन्तुष्टि पोख्न बानी परेका वा यस दुनियाँमा रमाउने लतमा परेको पुस्तालाई अरुलाई सुन्नुपर्छ भनेर त्यहाँबाट बाहिर निकाल्ने कसरी ? अहिलेको सबैभन्दा ठूलो चुनौती यही नै हो । साँच्चै नै सबैमा अरुलाई सुनौँ भन्ने संस्कार कसरी बसाल्ने होला ? हाम्रा युवा पुस्तालाई सामाजिक जीवनको जीवन्त अन्तरकृयामा सहभागी कसरी गराउने होला ?

मानव जीवनमा अरुलाई बुझ्ने, अध्ययन गर्ने, स्वमनन् गर्ने जस्ता कार्यको अत्यन्त ठूलो महत्व छ, जसका लागि अरुलाई सुन्नु पर्छ भनेर कसरी सिकाउने होला ? ऋषिमुनिहरू ध्यान साधनामा त्यत्तिकै बसेका होइनन् होला ? सायद उनीहरूको साधना स्वअध्ययनका लागि थियो होला जुन अरुलाई मात्र नभएर स्वयम् आफ्नै आत्मालाई भित्रैबाट सुन्नु थियो कि ?

अरुका कुरा सुन्नु भनेको आवाज ग्रहण गर्ने मात्र होइन । आवाज ग्रहण गर्नु र सुन्नुमा पक्कै पनि फरक छ, ठूलो भिन्नता छ । जनवरी १०, २०२० (२०७६ पुस २५ गते शुक्रवार) को द न्यूयोर्क टाइम्स पत्रिकाको अंकमा केट मर्फीले ‘टक लेस, लिसन मोर, हिअर इज हाउ’भन्ने शीर्षकमा व्यक्तिले सुन्ने बानीको विकास के कसरी गर्न सक्छ ?, सुन्ने बानी विकासमा आउन सक्ने अवरोधहरू के–के हुन् ? र आवाज ग्रहण गर्नु र सुन्नुको बीचमा के कस्तो फरक छ ? भन्ने विषयलाई सुक्ष्म ढंगबाट केलाएका छन् ।

उनका अनुसार आवाज ग्रहण गर्नु मात्र सुन्नु होइन । अध्ययन गर्नु एवम् कुनै अन्तरकृयामा बोलिरहेको वा भाव व्यक्त गरिरहेको व्यक्तिसँग प्रतिक्रिया जनाउनु पनि सुन्नेभित्र पर्छ । यहाँ सुन्नुलाई अर्थ निकाल्नु वा बुझ्नुको रुपमा लिइएको छ । संवादमा सकृय कर्ताको रुपमा लिइएको छ ।

अरुलाई कसरी सुन्ने त ?

विश्वमा असल स्रोता कसरी बन्ने विषयमा धेरै लेख लेखिएका छन् । विभिन्न खालका टिप्सहरू पनि बताइएका छन् । सुन्नु भनेको निष्कृय भइ अरुका अगाडि खडा हुनु मात्र होइन । यो भौतिक उपस्थितिमात्र होइन । असल स्रोता हुनका लागि अरुसँग सहभागिता जनाउनु आवश्यक छ । यस्तो सहभागितामा भाव व्यक्त गरेर गर्न सकिन्छ, बडिल्याङ्वेजबाट व्यक्त गर्न सकिन्छ, प्रश्न सोधेर पनि व्यक्त गर्न सकिन्छ ।

जति मात्रामा असल खालका प्रश्न गर्न सकिन्छ, सुन्ने बानी पनि सोही मात्रामा विकास गर्दै लैजान सकिन्छ । यस्ता प्रश्नहरू ठीक वा बेठिक उत्तर आउनेखालका भन्दा पनि थप विचार सिर्जित हुने ढंगबाट सोध्न सक्दा अझ राम्रो हुन्छ भन्ने गरिन्छ ।

अन्तरकृयामा सहभागिता किन घट्छ भन्ने विषयमा हामीले असल र राम्रा प्रश्न गर्न नजानेर पनि हुन सक्छ भन्ने बारेमा पनि बुझ्नु आवश्यक छ । त्यही भएर भन्ने गरिन्छ असल स्रोता हुन असल प्रश्न गर्न सक्नुपर्छ ।

प्रश्न सोध्नुलाई हलुका ढंगबाट हेर्ने प्रचलन हामीकहाँ रहेको छ । तर, यो त्यति सजिलो विषय पनि होइन । यही प्रश्नले हाम्रो हैसियत जनाउने गर्छ र अरुसँगको व्यवहार पनि निर्धारण हुने गर्छ । सोधिने प्रश्नले व्यक्तिलाई सम्बन्ध विकास गर्नमा सहयोग गर्न सक्छ । सम्बन्ध बिगार्न पनि भूमिका खेल्छ भन्नेबारेमा पनि उत्तिकैसचेत हुनु आवश्यक छ ।

साथै, यही प्रश्नले व्यक्तिलाई विभिन्न वर्गमा वर्गीकरण गर्न पनि सक्छ भन्ने बारेमा हामीले नसोचेका पनि हुन सक्छौं । उदाहरणका लागि केही प्रश्न नमूनामा रुपमा यहाँ दिइएको छ ।

तपाईं कहाँ वा कुन स्थानमा बस्नुहुन्छ ? वा शहरको कुन भागमा बस्नु हुन्छ ? छोराछोरी कहाँ पढाउनुभएको छ ? किनमेल कुन पसल, सपिङ मल वा बजारमा गर्नुहुन्छ ? छोराछोरी स्वदेशमा छन् कि विदेशमा ? यी र यस्ता थुप्रै प्रश्नहरु हामी औपचारिक वा अनौपचारिकरुपमा समय समयमा सोध्ने गर्छौं, जसले विभेद गर्न सक्छ भन्नेमा ध्यान दिनमा चुक्छौं ।

किनकि, यस्ता प्रश्नले उत्तरकर्तालाई समाजको अमूक वर्गमा राख्ने निश्चित छ । अहिले छोराछोरी विदेशमा अझ अमेरिका वा यूरोप वा विकसित मुलुकमा छन् भन्ने भनाइलाई गर्वको रुपमा लिने प्रचलन छ । तर, खाडी वा अन्यत्र भएकाहरुले यसलाई गर्वको रुपमा लिन सक्दैनन् ।

सुन्नु भनेको त अझ सकृय हुनु हो, सकृय संवादमा लाग्नु हो । डुलिरहने मनलाई अनावश्यक विषयमा जान नदिइ सकारात्मक काममा मोड्नका लागि पनि व्यक्तिले सकृय रुपमा अरुलाई सुन्नु पर्छ

 

यी र यस्ता कैयौं प्रश्न हामीले जानेर–नजानेर सोधिरहेका हुन सक्छौं । यस्ता प्रश्नबाट कसैले छानविन गरी आवश्यक सूचना निकाल्ने काम त हुन सक्छ । तर, यसबाट सार्थक संवाद र सार्थक सुनाइ हुन सक्दैन । सूचना लिने–दिने सबै काममा सार्थक सुनाइ नहुन पनि सक्छ । हामी सूचना निकाल्ने काममा लागेका छौँ कि सुनाइको क्रममा छौँ भन्नेमा पनि उत्तिकै मात्रामा ध्यान दिन आवश्यक छ । सूचना निकाल्नु र अरुलाई सुन्नु फरक–फरक विषय हुन् ।

अर्काको बारेमा निर्णय दिनेखालका प्रश्नले पनि सार्थक संवाद र सुनाइ हुन सक्दैन । मलाई थाहा छ, तपाईं यो भन्न खोज्दै हुनुहुन्छ ? वा यसबारे मलाई पहिल्यै थाहा थियो वा त्यो त पहिल्यै थाहा भएको विषय हो आदिजस्ता प्रश्नले न त सुनाइ सीप हासिल हुने मौका दिन्छ न सार्थक संवाद नै ।

एकछिन विचार गर्नुहोस् त, हाम्रो एकदिनको संवादमा यस्ताखालका कति प्रश्न अरुतर्फ तेर्सिएका होलान् ? हामीले लेखेर राख्दैनौं । तसर्थ कतिवटा प्रश्न सोधें भन्ने अनुभव पनि नहुन सक्छ । सुन्ने बानीको विकास गर्न एकपटकमा यस्ता खालका के कतिवेटा प्रश्न मैले दिनभरमा गरेँ होला भनेर प्रतिविम्वन गर्ने कि ? अनि आफूलाई सुधार्न सजिलो हुन्छ ।

सुन्ने बानीका लागि प्रविधि र प्रविधिमा आधारित उपकरण पनि बाधक बनिरहेका हुन सक्छन् । हामीमध्ये कति जना त खाना खाने बेलामा पनि मोबाइल चलाएका हुन सक्छौं । खाने समयमा एकाग्रता खानातर्फ चाहिन्छ भन्छन् । सो हुन नसके पनि परिवारका बीचमा गरिने अन्तरकृयाको आफ्नै महत्व हुनेगर्छ । मोबाइलले अरुलाई सुन्ने काम निश्चित रुपमा घटाएको छ ।

माथिकै लेखकले उल्लेख गरेअनुसार फ्यामिली डिनर प्रोजेक्टले उपकरण मुक्त र सुनाइ केन्द्रित खाना भन्ने अभियान नै सन्चालन गरेको रहेछ । सार्थक संवाद र सुनाइका लागि यो आवश्यक मात्र नभएर अनिवार्य जस्तै भइसक्यो भन्ने मत लेखकको छ । तर, हामी मोबाइलमा कुरा गर्दै अरुलाई पनि सुन्ने नाटक गरिरहेका हुन्छौँ । यो निरर्थक प्रयास मात्र हो । यस्ता अन्य धेरै उदाहरण दिन सकिन्छ, जहाँ प्रविधिको सदुपयोग हो भन्नमा कठिन हुन्छ ।

व्यवहारिकरुपमा पनि कम बोल्नुका अरु पनि धेरै फाइदा छन् । जानेर वा नजानेर व्यक्त गरिएका शब्दहरू अरुका लागि तिखा वाणको रुपमा प्रवाहित भएका हुन सक्छन् । अरुका आलोचनामा खर्च भएका हुन सक्छन् । जति कम वाण चलायो, त्यति मात्रामा अर्कालाई कम चोट लाग्न सक्छ । चोट नलागेको व्यक्ति अरुप्रति त्यति आक्रामक नहुन पनि सक्छ ।

कतिपय सन्दर्भमा धेरै र अनावश्यक बोल्नेका लागि त सुन्ने बानी एक प्रकारको मेडिटेसन वा ध्यान सावित हुन सक्छ ।

हुन त आत्मकेन्द्रित बन्दा व्यक्ति मनोरोगी बन्ने सम्भावना हुन सक्छ भन्ने गरिन्छ । सुन्नु र आत्मकेन्द्रित हुनु भन्ने विषयमा फरक छ । सुन्नु भनेको त अझ सकृय हुनु हो, सकृय संवादमा लाग्नु हो । डुलिरहने मनलाई अनावश्यक विषयमा जान नदिइ सकारात्मक काममा मोड्नका लागि पनि व्यक्तिले सकृयरुपमा अरुलाई सुन्नुपर्छ । बोल्ने व्यक्तिप्रति ध्यान बढाउनु पर्छ । यसबाट विषयप्रति एकाग्रता बढाउन पनि सहयोग पुग्छ ।

र अन्तमा,

मानिसले बोल्ने भन्दा धेरै छिटो गतिमा दिमागले सोच्ने गर्दछ भनिन्छ । सोचेर बोल्दा उक्त भनाइ थप प्रभावकारी हुन्छ भन्ने हो । त्यही भएर अर्कालाई सुन्नु भनेको आफूलाई सोच्ने समय लिनु पनि हो । दोहोरी गीतमा कति राम्रो संयोजन गरिएको हुन्छ, बोल्ने र सुन्ने समय । अन्य संवादमा पनि यही चाहिन्छ ।

मानसिक सकृयताका लागि पनि सुन्ने बानीको विकास गर्नु अति आवश्यक छ । जब आफूले अरुलाई सुन्ने गरिन्छ वा यस्तो बानीको विकास हुन्छ, अरुले पनि उक्त व्यक्तिलाई सुन्ने प्रयत्न गर्नेछन् ।

यो संसारमा मूर्ख मान्छे मात्र छैनन्, सज्जनहरू पनि छन् । सामान्यतया बोल्नेले जस्तो व्यवहार गर्छ, सुन्नेले पनि सोहीखालको व्यवहार देखाउने गर्छ अपवाद बाहेक ।

तसर्थ, सुन्ने बानीको विकासले आफूलाई मात्र नभएर अरुलाई पनि सुधार्न वा बदल्न सहयोग गर्न सक्छ । तर, यसका लागि समय लाग्न सक्छ । अभ्यासबाट सुन्ने बानीको विकास गर्न सकिन्छ । अभ्यास गर्दै गएपछि अपेक्षित व्यवहार बढाउन सकिन्छ ।

(डा. लम्साल सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हुन् )



source https://www.onlinekhabar.com/2020/04/849917

कास्कीको रुपामा दुईभन्दा बढी भेटघाट बन्द

१९ चैत, चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए ।

ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे सोको व्यवस्था गाउँपालिकाले नै गर्ने जानकारी दिए ।

रुपा गाउँपालिका बाहिरबाट आएका खण्डमा स्वास्थ्यकर्मीको निगरानी र निर्देशनमा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र थप अवस्था देखिएमा गाउँपालिकाको निर्देशनअनुसार बस्नुपर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको छ । गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य र अन्य समस्या समाधानका लागि वडा कार्यालयमार्फत गाउँपालिकाले गर्नेछ ।

हाल २५ शैय्याको क्वारेन्टाइन गाउँपालिकाले आफ्नै खर्चमा निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा १४ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । यसअघि क्वारेन्टाइनमा २२ जना रहेका थिए भने एक जनाको मृत्यु भएको थियो । मृत्यु हुने व्यक्तिमा कोरोनाको संक्रमण नभएको टेकु अस्पतालको रिपोर्टले पुष्टि गरेको थियो ।



source https://www.onlinekhabar.com/2020/04/849919

कविज्यू कोही ध्यान सिक्दै, कोही खाँदै-पिउँदै

१९ चैत, काठमाडौं । लकडाउनको अवधिमा साहित्यकारहरूले फुर्सद पाएका छन् । हामीले काठमाडौंका केही कविहरुलाई लकडाउनमा के गर्दै हुनुहुन्छ भनेर सोध्दा उनीहरुले रमाइला कुरा सुनाए ।

अरु समयमा कार्यालयको काम र कार्यक्रमको चटारोमा रहने साहित्यकारले पढ्ने, लेख्ने र केही नयाँ सोच्ने समय पाएको बताएका छन् । लकडाउनको अवधि लम्बिएपछि कतिपय साहित्यकारले सूची नै बनाएर पढ्ने र लेख्ने काम थालेका छन् ।

कतिले भने घरमा खानेकुरा पकाउने, चित्र बनाउने, संगीत सिक्ने गरिरहेका छन् । कोही भिडियो कवितातिर लागेका छन् त कोही ध्यान सिक्नतिर ।

प्रस्तुत छ केही साहित्यकारको लकडाउन अनुभव :

सिस्नो, आलु र पुदिनाको तरकारी बनाउँछु : विप्लव प्रतीक

म मैतीदेवीस्थित आफ्नै घरमा बसेको छु । दिनचर्यामा पहिलाको जे रुटिन हो त्यही चलिरहेको छ तर कार्यक्रमको लागि घर बाहिर जान नपरेकाले फुर्सदिलो छु ।

मलाइ के लाग्छ भने, भाइरस आफैं घरमा आउँदैन । अनि यो घडी घरिघरि आउँदैन । यो बाध्यतालाई सेलिब्रेट गर्न नजाने घाटा हुन्छ । तर, पृथ्वीमा योभन्दा भयानक दिन आउने संकेत म सोचिरहेको छु ।

अहिलेको परिवेशमा म एउटै कुरामा फोकस हुन सकेको छैन । हिन्दी सायरी र भियस नयपालको ‘अमङ दी विलिर्भस’ दोहोर्‍याएर पढिरहेको छु । मन पर्ने गीत सुनिरहेको छु ।

पहिला पहिला बाहिर एक दुई पेग खाइन्थ्यो तर अहिले घरमै पिइरहेको छु । करेसाबारीमा पाइने साग, पुदिना र सिस्नो खाइरहेको छु । तर, मलाई हरेक दिन काम गरेर खानेहरूका लागि केही गर्न नसक्दा आफू पनि निरीह लागेको छ ।

मजदुरहरुको चिन्ता लागिरहेछ : श्रवण मुकारुङ

लकडाउनले फुर्सदिलो भएकाले घरमा परिवारसँगै बस्न पाइएको छ । म विगत एक सातादेखि काठमाडौं सामाखुसीमा सुरक्षित तवरले परिवारसँगै बसिरहेको छु ।

सँगै अहिले म फेसकुकमा भिडियोमार्फत् अग्रज कविका कविता नियमित पढिरहेको/सुनिरहेको छु । पुराना नेपाली कवितामा ध्यान दिइरहेको छु ।

तर, यस्तो बेला गम्भीर अध्ययन गर्न नसकिने रहेछ । यद्यपि लेखकहरूलाई यो अनुकूल समय हो । लकडाउन लम्बिएकाले आफ्नै केही कवितालाई पनि पूर्णता दिन प्रयास गरिरहेको छु । नयाँ लेख्ने पनि कोसिस जारी छ ।

सबैतिर सन्त्रास हुँदा मन भाँडिदोरहेछ । तर, हामी विचलित हुनुहुन्न । मलाई अहिले मजदुर वर्गले कसरी खाद्यान्न जुटाएका होलान् भनेर बढी चिन्ता लागिरहेको छ । यसैले, सरकारले मजदुर वर्गको समस्यालाई गम्भीरतापूर्वक लेओस् भन्ने चाहन्छु ।

ध्यान गर्न सिक्दैछु : उपेन्द्र सुब्बा

म ललितपुर नखिपोटमा बसिरहेको छु । खोला किनारको एरियामा बिहान एकैछिन मर्निङवाक जानेबाहेक घरबाट अन्त निस्केको छैन ।

यो एक सातामा कविता खुबै पढेँ । समकालीन र अग्रज सबै कविका कविता मन लगाएर पढ्दा आफैंलाई पनि लेख्न जाँगर चल्छजस्तो लागेको छ ।

सिनेमा सधैं हेरिहने भएकाले अलि कम गरेको छु । बरु सद्गुरुको भाषण र ध्यान गर्ने कला हेरेँ । त्यसैबाट ध्यान गर्न सिक्दैछु ।

यो एक सातामा बाहिरी कामको तनाव नभएकाले बडो फ्रेस फिल गरेको छु । पहिला सिनेमाको रिलिज गर्ने चटारो थियो, अब त्यो सर्ने हुँदा मनमा केही बोझ छैन ।

आखिर घरै बसेर यति धेरै योगदान गर्न पाउँदा को दंग नहोस् त !

परिवारसँग रमाएकी छु : सरिता तिवारी

म आफूलाई सोकल्ड पढ्ने मानिस देखाउन चाहदिनँ । तर, पनि मुख्य काम लेख्ने–पढ्ने नै भएकाले पत्रिकाका लागि स्तम्भ लेखेँ । केही पुराना हिन्दी पत्रिका र फुटकर रुपमा भेटिएका कविता पढेँ ।

म चितवन कृष्णपुरस्थित घरमा परिवारसँग बसिरहेको छु । परिवारका सबैजना सँगै हुँदा मन रमाएको छ । सानो छोरालाई चिया, नास्ता पकाउनेदेखि घरायसी सानातिना काम सिकाइरहेको छु । अरु बेला कार्यालय र साहित्यिक कार्यक्रममा व्यस्त हुँदा छोरालाई धेरै समय दिन पाएको थिइनँ ।

अब लकडाउन बढेको हुँदा पढ्ने समय पर्याप्त मिलेको छ ।



source https://www.onlinekhabar.com/2020/04/849907

मनकारी केरा व्यापारी   

१९ चैत, लम्की । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन् । चौधरीले मंगलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरेका हुन् ।

उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण गरेको छ । चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ‘‘यस्तो विपत्तिको समयमा मेरो पनि केही दायित्व हुन्छ भन्ने ठानेर क्वारेन्टाइमा बस्ने नागरिकका लागि दैनिक आवश्यक केरा उपलब्ध गराउन थालेको हुँ ।’’ चौधरीले भने, ‘‘दिनभरि कार्यक्षेत्रमा खटेका नागरिक र क्वारेन्टाइमा बसेकालाई विषादी प्रयोग नगरिएका केरा वितरण गर्न थालेको छु ।’’

नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइमा हाल ३३ नेपाली छन् । नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोगी चौधरीलाई धन्यवाद दिए । ‘‘चौधरी जस्ता मनकारीहरुले सहयोग पनि गर्न थाल्नुभएको छ । क्वारेन्टाइमा बसेकाका लागि हामीले मञ्जन, साबुनदेखि खानासम्म आवश्यक सबै प्रबन्ध मिलाएका छौं ।’’

क्वारेन्टाइमा बस्ने नागरिकको नगरपालिकाले दैनिक दुई पटक स्वास्थ्य परीक्षण गर्ने गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले जानकारी दिए । ‘‘कहिलेकाहीँ विशेषज्ञ चिकित्सकको सेवासमेत दिने गरेका छौँ तर अहिलेसम्म कोही नागरिकमा कोभिड–१९ को संक्रमणका कुनै लक्षण देखिएका छैनन् ।’’

विदेशबाट फर्किएकाको घरमा रातो झण्डा    

सरकारले हालै विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम कार्यान्वयनका लागि जानकी गाउँपालिका–९ ले आफ्नो वडामा हालै भारत तथा विदेशबाट आएकाको घरमा रातो झण्डा लगाएको छ । वडाले वडामा भारत तथा विदेशबाट आएका ३० घरमा रातो झण्डा लगाएको हो ।

विदेशबाट आएका घरमा, टोलछिमेकका अन्य व्यक्तिहरुको सम्पर्क हुन नदिन यो उपाय राम्रो रहेको स्थानीयवासी पदम परियारले बताए ।

लम्की चुहामा कोष स्थापना   

लम्कीचुहा नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम बढेपछि लकडाउनका कारण ज्यालादारी गर्न नपाएका निम्न आय भएका जनतालाई राहत दिनका लागि राहत तथा उद्धारकोषको स्थापना गरेको छ ।

मंगललबार बसेको कार्यपालिकाको बैठकले सो कोषमा नगरपालिकाले रु २० लाख रकम राख्ने निर्णय गरेको हो । यस्तै सो कोषमा सबै जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकसमेत सहयोगस्वरुप दिने निर्णय भएको नगर प्रमुख महादेव बजगाईँले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/04/849911

कोरोना दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

१९ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।

कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् ।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।

निम्न र मध्यमस्तरका देशलाई सघाउन राहत कोष

उनले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि दिएका छन् ।


उनले कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको पनि बताए । ‘कोभिड–१९ ठूलो परीक्षा हो । जुन संयुक्त राष्ट्रसंघ गठन भएयता सबै मिलेर सामना गर्दैछौं,’ महासचिव गुट्रेसले भनेका छन् ।

गुट्रेसले समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गरेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849906

मूर्ख दिवसका दिन धूर्तको कुरा

शत्रुबाट डराउनु पर्दैन, मूर्खबाट डराउनुस् भन्ने भनाइ फेरेर मूर्खबाट नडराउनुस्, धूर्तबाट जोगिनुस् भन्नुपर्ने बेला आएको छ । संकटका बेला धूर्तलाई चिन्नु र जोगिनु बुद्धिमानी काम हो ।

शत्रु बन्ने वा बनिने कुरा हो, शत्रु बन्न सक्छन्, नबन्न पनि सक्छन् । शत्रुलाई मित्र बनाउन कुनै बेर लाग्दैन । यो वैरभावसँग सम्बन्धित छ ।

मूर्ख मानसिक अवस्था हो । यसमा एकोहोरो सोचाइ र जिद्दीपनासहित अज्ञानताको अंश बढी हुन्छ । जसले मूर्खतापूर्ण ब्यवहारबाट आफू वा अरुलाई हानी नोक्सानी गर्न सक्छ ।

तर, धूत्र्याइँ मनुष्यको स्वभाव हो । धुर्तमा ज्ञानको अंश ज्यादा हुन्छ, छिटो सोच्न र कदम चाल्न सक्ने मानिसले क्षमताको दुरुपयोग गरेर अरुलाई हानीनोक्सानी पुर्याउन सक्छ । तर आफू हानी नोक्सानी र जोखिमवाट सर्लक्क किनारा लाग्न सक्छ ।

कुनै प्रतिक्रिया नजनाउने वा तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने स्वभावभन्दा कुरा बुझेर धैर्यताका साथ क्रिया वा प्रतिक्रिया गर्ने विवेकशील मानिसको खाँचो छ

 

धूर्तले अरुको चेतनामा अतिक्रमण गर्ने कला जानेको हुन्छ । आफ्ना कुरा भनेको भनै गरेर त्यसै हो भन्ने बनाउन सक्छ । र, आफ्नो भलाईलाई स्थापित गराई छाड्छ । त्यसैले भनिन्छ, हे भगवान ! मलाई धूर्तबाट बचाउनुस्, मूर्खबाट म आफैं बच्नेछु ।

मूर्ख सिधासाधा वा फुर्के हुन सक्छ । तर, धूर्त चतुर र बाठोपनासँग नजिक हुन्छ । प्रचलित चिनियाँ उखानले भन्छ, मलाई एकपटक मूर्ख बनायौ, तिमीलाई धिक्कार छ । तर, मलाई पटक– पट क मूर्ख बनायौ, मलाई नै धिक्कार छ । धूर्तले अरुलाई पटक–पटक मूर्ख बनाउँछ । कतै हाम्रो धूर्त र चतुर स्वाभावले अरु पीडित हुनुपरेको त छैन ? आत्मविश्लेषण गरौं ।

सुन्दा अर्थ उस्तै–उस्तै लाग्ने यी शब्दहरुमध्ये धूर्त अलि कडा र बहिर्मुखी स्वभाव होजस्तो लाग्छ । यस लेखमा कसैलाई धूर्त र कसैलाई सोझो भनेर छुट्याउन वा कुन ठीक/बेठीक भन्न खोजिएको हैन । तर, यदि हामीमा परिस्थितिहरुलाई आफ्नो बसमा पारेर आफू अनुकुल बनाउने स्वभाव वा मानसिक क्षमता छ भने त्यसको दुरुपयोग गरेर बरिपरिका साथीभाइ, सहकर्मी, आफन्त, बन्धुवान्धवलाई प्रत्यक्ष वा अप्रत्यक्ष दुःख पीडा पुगेको छ कि ! कसैलाई पिरमर्का पो परेको छ कि ! भनेर आफ्नै मनको कसीमा तौलेर धूर्त स्वाभावको चिरफार गर्ने प्रयास गरिएको छ ।

हामी कसैले केही राम्रो काम गर्यो, जिम्मेवारी वा भूमिका निभायो भने स्यावास् स्यावास् भन्न पछि पर्दैनौं । अरुले काँधमा बोकेको जम्मेवारीको भारी देखेर प्रशंसा गर्दै ताली बजाउन उदार हुने हामी आफैं त्यो जिम्मेवारी बहन गर्न तयार हुन्छौं कि हुन्नौं, मनन गर्नुपर्ने कुरा हो । धूर्तले अरुलाई फुर्क्याउन जानेको हुन्छ । अरुलाई राम्रो, ‘अति राम्रो भन्न पछि पर्दैन । तर, आफू भने जिम्मेवारी लिन अघि सर्दैन ।

कहिलेकाँही परिस्थितिअनुसार चलाखी गर्नु नराम्रो होइन । चलाख हुनु भन्नाले चनाखो हुनु, सजग हुनु वा होसमा रहनु भन्ने बुझिन्छ । कोही चलाख भएर कसैलाई हानी नोक्सानी हुँदैन । चलाख मानिसले संकटमा आफूसहित अरुलाई समेत जोगाउँछ । धूर्तले अरुलाई संकटमा धकेलेर आफू जोगिन्छ ।

अहिलेको समयमा मान्छेले आफ्नो मानसिक क्षमताको सदुपयोग कम, दुरुपयोग बढी गरेको छ । कुनै पनि घटना वा विषयवस्तुलाई सोझो मान्छेले भएको भन्दा कम बुझ्छ भने बाठो मान्छेले भएको भन्दा बढी बुझ्छ । कुनै पनि घटना वा विषयवस्तुलाई आ–आफ्नै मानसिक क्षमता अनुसार ब्याख्या र विश्लेषण गरिन्छ । तर, हामीलाई जे–जस्तो भएको छ, त्यसलाई त्यति मात्रै बुझ्ने सामान्य सरल मनुष्य चाहिएको छ ।

कुनै प्रतिक्रिया नजनाउने वा तुरुन्तै प्रतिकृया जनाइहाल्ने स्वभावभन्दा कुरा बुझेर धैर्यताका साथ क्रिया वा प्रतिक्रिया गर्ने विवेकशील मानिसको खाँचो छ । मान्छेको धुर्त्याइँ र चतुर्याइँले गर्दा मान्छेहरु मान्छेदेखि नै डराउन थालेका छन् ।

विकसित देशमा मानिसहरु आफन्त साथीभाइहरुसँग भन्दा घरपालुवा जनावरसँग संगत गर्न रुचाउँछन् । केटाकेटीहरु बाबुआमासँग बोल्नु भन्दा डिजिटल गेम खेल्न र भिडियो हेर्न र बयस्कहरु सामाजिक सञ्जालमा डुब्न मन पराउँछन । मान्छेहरु मान्छेदेखि नै वाक्क दिक्क हुनुको कारण धूर्ततालाई सहयोग गर्ने अनावश्यक प्रतिकृया, आशा, अपेक्षा, आशंका र नियन्त्रण हावी हुनु नै हो ।

नेपाली समाजमा धूर्त स्याल, चतुर काग, चनाखो कुकुर र चोर बिरालो भन्ने विशेषण जनावरलाई समेत लगाइएको छ । धूर्त स्यालले घरपालुवा पशुपंक्षी चोर्छ । रातको सन्नाटामा कराएर शान्ति भंग गर्छ । धूर्त चतुर मान्छेलाई कागको फूल चोर्नेजस्तो बाठो भनिन्छ ।

बाठोका रुपमा चिनिँदा हामी मख्ख पर्छौं । तर कागसँग दाजिँदा खुसी हुनुपर्ने ठाँउ छैन । चलाख कुकुर निन्द्रामा समेत चनाखो हुन्छ र आज्ञाकारी जनावरमा गनिन्छ । बिरालो म्याउँ म्याउँ गर्दै अपिल गर्न माहिर हुन्छ र मौका परे सुटुक्क घरभित्र पसेर खानेकुरा चोर्न बेर लगाउँदैन ।

जनावरका स्वभाव र दिइएको विशेषणबाट धूर्त, चतुर र चलाखमा भेद पाउन सकिन्छ । हाम्रा विचार, बोली र ब्यवहारमा धुर्त्याइँको अंश कति छ भन्ने थाहा पाउन तिनको स्रोतसम्म पुग्नुपर्ने हुन्छ । ती विचार, बोली र ब्यवहारहरु कुनै ईच्छा, आकांक्षा वा अपेक्षाबाट निर्देशित हुन् कि ? सुक्ष्म निरीक्षण गर्नुपर्ने हुन्छ ।

आफ्नो अहम पूरा गर्नैपर्ने, कुनै चीज वा वस्तु पाउनैपर्ने, अवसर लिनैपर्ने, कुनै लत पूरा गर्नैपर्ने, आफूले जित्नैपर्ने, जस वा फाइदा वा लाभ लिनैपर्ने, ठूलो पल्टिनैपर्ने र ईच्छा अभिष्ट पूरा गर्नैपर्ने स्वाभाव बनेमा तत् तत् कुराहरु पूरा गर्न जानी वा नजानी मानिसले धूत्र्याइँको सहारा लिन्छ ।

शब्दकोषमा धूर्त भन्नाले धोका दिने, झूठो बोल्ने, कपट र छलपूर्ण आचरण वा स्वभाव भएको ब्यक्ति भनिएको छ । यस्तो स्वभावमा जालझेल, दाउपेचवा प्रपञ्चद्वारा आफ्नो काम जसरी भए पनि गर्ने वा गराउने क्षमता हुन्छ, जुन कुरा अरुले भेउ पाउन वा नपाउन सक्छन् ।

धूर्तको दृष्टान्त रुपमा लिंदा यदि कसैले राज्यवाट अनेक दाउपेच परिपञ्च गरेर चुपचाप अर्बौं सुविधा लिन्छ । तर, हल्लाखल्ला गरेर केही हजार गरिव दीन दुःखीलाई सहायता गर्छ । लाखौं मानिसहरुलाई हानी पुर्याउनेखालका वस्तु र सेवा उपभोगको लत बसाइदिन्छ र पछि त्यही लत छुटाउने अस्पताल खोलेर दुबैतर्फवाट फाइदा लिन्छ ।

सामान्य मानिसहरुले यी कुरा आँकलन गर्न सक्दैनन् । कोही धूर्तहरु तन्त्र साधनामा सिद्धि हासिल गर्छन् र त्यसको दुरुपयोग गर्न थाल्छन् । यस्तो दुरुपयोग खासगरी अनुयायीहरुलाई बशमा पार्न, महिलाहरुलाई बशीकरण गर्न र ठूला मान्छेहरुलाई प्रभावमा पारी फाइदा लिने कार्य गर्छन् । यस्ता धुत्र्याइँ हरेक क्षेत्रमा हुन्छन् ।

मान्छेको धुर्त्याइँ र चतुर्याइँले गर्दा मान्छेहरु मान्छेदेखि नै डराउन थालेका छन्

 

धूर्तहरु खोज्न टाढा जानुपर्दैन । हामीले हाम्रै घरपरिवार, टोल, छिमेक, समूह, कार्यालय, संघसंस्थामा यत्रतत्र देखेका भोगेका हुन सक्छौं ।

धूर्त स्वभावका लक्षणहरु के कस्ता हुन्छन् त ? केलाउने प्रयास गरौं ।

केही काम गर्नु परे आफूलाई लाभ वा स्वार्थको केन्द्रमा राखेर मलाई के प्राप्त हुन्छ भन्ने शर्त राख्नु । अवसरमा एकपाइला अगाडि बढाउँदै मलाई खै भन्नु । जिम्मेवारी लिनेबेला एक कदम पछाडि सर्दै तलाई खै भन्नु । आफ्ना कुरा पहिले नै सुनाएर सहानुभूति लिइहाल्नु । सदा जित्ने हरकत गर्नु । जित्न वा प्राप्त गर्न साम, दाम, दण्ड भेद प्रयोग गर्नु । आफूलाई फाइदा हुने भए मरिमेटेर काम गर्नु, नहुने भए निष्कृयता देखाउनु । काम बन्यो या सफल भयो भने जस वा श्रेय लिन हतारिनु । काम बनेन या सफल भएन भने अरुलाई दोष देखाएर पन्छिनु । सप्रेको काम आफंैले सुनाउनु । बिग्रेको काम अरुको मुखबाट ओकल्न लगाउनु । अवसरमा गुपचुप सहभागी बन्नु र लिनु । जोखिमहरु सेयर गरेर साझा बनाउन खोज्नु । लाभ हुने देखे आफंै अग्रसर हुनु, हानी हुने देखे अरुलाई जिम्मेवारी पन्छाउनु । पटक –पटक बहाना बनाउनु आदि ।

यस्ता स्वभावहरु सामाजिक प्राणी मनुष्यका सामुहिक हित र उद्देश्यमा पूरा गर्नका लागि गरिने सहअस्तित्वको स्वीकार, सहकार्य, समन्वय र सुमधुर सम्बन्धमा बाधक बन्दछन् । उदाहरणका लागि कुराले अगाडि ठिक्क पार्ने, तर काम नगर्ने, चाकडी चाप्लुसी गर्ने र अरुलाई उचाल्न पछार्न पारंगत हासिल गरेको मान्छे घरपरिवारमा वा कुनै संगठनमा छ भने परिवारका सदस्यहरु, सहकर्मी कर्मचारीहरु पीडित बन्नुपरेको अनुभव प्रशस्तै छ ।

धूर्तहरु अरुका विचार, आइडिया, सिर्जना चोर्न माहिर हुन्छन् । खानाको सामग्री कसैले जुटाउँछ पकाउँछ, धूर्त डाडूपन्यू लिएर पस्किन पुग्छ । पद र पावरमा रहेका मानिससँग आफ्नो सम्बन्ध छ भन्ने देखाएर शक्तिशाली भएको भान पार्न खोज्नु र अरुलाई प्रभावमा पार्नु धुत्र्याइँको एउटा नमूना हो ।

धूर्त मानिस अस्थिरता र भयको अवस्थामा रहन्छ,कतै आफ्नो धूत्र्याइँले काम पो नगर्ने हो कि भनेर असुरक्षाको भावमा मनको शान्ति हरण भएको हुन्छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल विक्दैन, मेरी छोरी बाठी छे, घर गरी खान्छे वा छोरो बाठो छ, संसारलाई बेचेर खाइदिन्छ भन्ने जस्ता उखान टुक्काले चतुर र धुर्त स्वभावको प्रशंसा गरेको छ ।

धूर्त, बाठो वा चतुर भए सजिलो गरी छिट्टै उन्नति प्रगति हासिल गर्न सकिन्छ भन्ने आम विश्वास भएपछि मेहनत, परिश्रम र लगनशीलतामा आधारित कर्मबाट समुन्नति हासिल गर्न सकिन्छ भन्ने मान्यता कमजोर हुन्छ । सीधासादा मान्छे आफू धुर्त चतुर हुन नसकेको अभिसाप मानेर नैराश्यपूर्ण जीवन बिताउन बाध्य हुन्छ ।



source https://www.onlinekhabar.com/2020/04/849898

लकडाउनमा घरै बसेर ‘अफलाइन’ काम !

`१९ चैत, काठमाडौं । सरकारले लकडाउनका बेला घरमै बस्न भनेको छ । घरबाहिर जान नपाइने भएपछि अधिकाशंको दिनचर्या सामाजिक सञ्जालमा बित्ने गरेको छ । कोही तास खेलेर बसेका छन् । तर, मेहनती मानिसहरुले लकडाउनलाई सिर्जनात्मक काममा प्रयोग गरेका छन् ।

सामाजिक सञ्जालमा पानीको थोपा गनेर, पखां कतिचोटि घुम्छ जस्ता गणना गरेर क्वारेन्टाइनमा बसिरहेको भन्दै पोस्ट गर्नेहरु पनि छन् । तर, लकडाउनको समयलाई घरमै बसेर सही सदुपयोग गर्नेहरुको पनि कमी छैन ।

काठमाडौं जोरपाटीका कृष्ण सनमको आफ्नो घरदेखि केही पर सडकसँगैै जोडिएको कपडा सिलाउने टेलरिङ छ । गोकर्णेश्वर नगरपालिका –५ का सनमले २ बर्षअघि कोठा भाडामा लिएर कपडा सिलाउने व्यवसाय सुरु गरेका हुन् । परिवारकै सदस्यहरु मिलेर दिनभरि टेलरमै कपडा सिलाउँथे । लकडाउन भएपछि पसल खुल्ने अवस्था भएन ।

परिवारै फुसर्दिलो हुने भएपछि उनले लकडाउन सुरु भएकै दिन बिहानै ५ नबज्दै पसलमा भएका लुगा सिलाउने मेसिन घरमै ल्याए । अनि अर्डर दिएका लुगाका थान पनि घरमै ल्याए ।

आफनै घरमा लुगा सिलाउने मेसिन ल्याएपछि उनलाई लकडाउनका बेला बाहिर जानु पनि परेन । काम नभएर बेफुर्सदिलो पनि हुनुपरेन ।

कृष्ण भन्छन, ‘मलाई त यत्रो दिन के गरेर घरमा दिन कटाउने होला जस्तो भएको थियो । त्यही भएर लकडाउनकै दिन बिहानै गएर लुगा सिलाउने मेसिन घरमै ल्याएँ । यतिकै बस्नुभन्दा त काम पनि भयो नि त ।’

अब लकडाउन थपिए पनि घरमा के गरेर दिन कटाउने भन्ने उनको चिन्ता हटेको छ । उनले पहिले जस्तै दिनभरि लुगा सिलाएर दिन कटाउने गरेका छन् । परिवारका सदस्य पनि काममा जोडिएका छन् ।

उनले थपे, ‘यो लकडाउनले बेरोजगार भइन्छ भन्ने सोचेको थिएँ , अहिले घरमै मेसिन ल्याएर पहिले जस्तै सहज तरिकाले काम गरिरहेका छौं । परिवारसँगै बसेर काम गर्दा आनन्द पनि हुन्छ, तनाव पनि हुँदैन ।’

कृष्ण बिहानैदेखि लुगा सिलाउन व्यस्त हुन्छन् । श्रीमती पनि सर्टको बटम लगाउँछिन्, लुगाको छेउ टिप्छिन् ।

कृष्णकी श्रीमती पनि लकडाउनको फाइदा घरमै लिन सकेकोमा खुसी छिन् । भन्छिन, ‘पसलमा भए धेरै मान्छेको आउजाउ हुन्थ्यो, अहिले यहाँ आफ्नै पविार मात्रै छ । कोरानाबाट सुरक्षित भएर काम गरिरहेका छौ ।’

कष्ण सनमजस्तै आफ्नै कोठामा गलैचा बुनिरहेकी रामेछापकी सीता तामाङलाई पनि लकडाउनले काममा केही प्रभाव पारेको छैन ।

अचेल उनले घरभित्रै बसेर गलैंचा बुन्ने गरेकी छिन् । सीता भन्छिन्, ‘मलाई त लकडाउन लागे पनि फरक परेको छैन । आफ्नो काम गरिरहेकै छु । आफ्नो काम पनि भयो । लकडाउनको पालना पनि भयो ।’

सीताले तीन दिनमा एउटा गलैंचा तयार पारिन् । पहिले फयाक्ट्रीमा गएर गलंैचा बुन्थिन् । साहुले कोरोनाको सक्रंमण बाट बच्न भन्दै १० गतेबाट फयाक्ट्री बन्द गरेपछि अब घरमा के गर्ने भनेर चिन्ता थियो । पछि उनले यो समय सदुपयोग गर्दै गलैंचा बुन्ने तान घरमै लगाइन् । पहिले पनि घरमा तान लगाएर गलैंचा बुन्ने गरेकाले तान लगाउने सामान घरमै थिए ।

घरका अन्य सदस्यहरु गाउँ गएपछि खाली कोठामा तान लगाइन् र काम सुरु गरिन् ।



source https://www.onlinekhabar.com/2020/04/849903

कोरोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु

१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ ।

बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ ।

चीन र युरोपपछि कोरोनाको इपिसेन्टर बनेको चीनमा संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकाको कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849900

ग्यासको विकल्प खोज्नै पर्‍यो !

१९ चैत, काठमाडौं । नेपाल खाद्य संस्थानका कर्मचारीलाई यतिबेला भ्याइनभ्याइ छ । धेरैजसो दिन गफ गरेर काट्नु परेका कर्मचारीलाई अहिले विद्युतीय चुल्हो (इन्डक्सन) किन्न आउनेहरुले काममा व्यस्त बनाएका छन् ।

स्थलगत रिपोर्टिङका लागि मंगलबार संस्थानको थापाथली कार्यालय पुग्दा कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता पनि राम्रोसंग अपनाइएको थियो । काम भएकाले मात्र कार्यालय परिसरमा प्रवेश पाउने । प्रवेश पाएकाहरुले पनि करिब चार फिटको दूरी कायम गरेर लाइन लाग्न पर्ने । त्यसका लागि सेतो रंगले गोलाकार रेखांकन गरिएको रहेछ ।

पालो आएपछि एउटा इन्डक्सनका लागि चार हजारको विल काटेका ग्राहकबाट कर्मचारीले पैसा पनि सिधै नलिने । विल र पैसा नाङ्गलोमा राखेर लेनदेन हुने । एकै व्यक्तिले धेरै चुल्हो लैजान थालेपछि संस्थानले एक जनालाई एउटा मात्र दिन थालेको त्यहाँ खटिएकी एक कर्मचारी बताइन् ।

संस्थानले दाल, चामल लगायत खाद्य पनि बेचिरहेको छ । अहिलेको आकर्षण चाहिँ इन्डक्सन नै भएको उनले बताइन् । उनकाअनुसार, लकडाउन भएको आठौं दिनसम्म छ हजार इन्डक्सन बिक्री भइसक्यो ।

इन्डक्सन किन्न आएका सबैको एउटै भनाइ छ- भर नभएको ग्यासको विकल्प खोज्दै पर्‍यो । ‘चलाइरहेको ग्यास सकिएपछि पाइने भरोसा सरकारले दिन सकेन’ ललितपुर, धापाखेलका विशाल महर्जनले भने, ‘इनडक्सन चुल्हो भयो भने भोकै बस्नु पर्दैन भनेर किन्न आएको ।’

त्यस्तै काठमाडौं, टोखाका दधिराम लामिछाने भन्छन्, ‘अब त विद्युतकै समय हो, ग्यासको त भरै छैन ।’

हुन पनि, ग्यास अभाव हुने संकेत सरकारले दिएको छ । भारतमा ग्यासको उत्पादन घटेपछि नेपालमा सरकारले आधा सिलिण्डर बिक्री गर्ने तयारी गरेको छ । यसको प्रभाव इन्डक्सन बिक्रीमा परेको संस्थानका अधिकारीहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2020/04/849872

भोकले मर्ने कि कोरोनाले ?

सहर निद्रामा छ, एउटा सत्य हो । सहर जागा पनि छ, अर्को सत्य हो । एकान्तबासलाई सहरले फेसनका रूपमा लिँदै गएको जस्तो देखिन्छ ।

सामाजिक सञ्जालमा एकान्तबास शब्दको खुब प्रयोग भएको देख्नुहुन्छ । ट्रेन्डिङको जमाना छ । ट्रेन्डिङमै छ यो शब्द । कोरोना भाइरसले सामाजिक प्राणी मानिसलाई एकान्तजीवी बनाइदिएको छ ।

एकान्तबासको छैटौं दिन मैले पनि लकडाउन तोडेँ । बाध्यता पनि थियो । चामल र तरकारी सकिएको थियो । उधारो चल्ने किराना पसल पनि बन्द । बाँच्नलाई खोले नै भए पनि चाहिने यो मानव चोला ।

जसरी पनि दुई-चार किलो चामल, एक किलोजति दाल, चिया खाइरहनुपर्ने मान्छे एक केजीजति चिनी जोहो गर्नुपर्ने भयो । बौद्ध दर्शनका जानकार सूर्य गुरुले वचन दिनुभएको थियो– यो लकडाउन पार गराउने जिम्मा मेरो । उनैलाई भेट्न लकडाउन तोडियो । प्रहरीको त्रासदी मनभरि छँदै थियो ।

बाहिर सडकमा आउँदा स्वतन्त्रताको अनुभूति भयो । चराहरू कराइरहेका थिए । मानिसको लस्कर उस्तै थियोे । नयाँ बसपार्कको दैनिकीका अनेकौँ बान्कीहरू फेरिएका थिए । गाडीहरूको चर्को आवाज बन्द भएको थियोे । हतारहतार घर फर्किरहेका मान्छेहरूको बाक्लो हुल थिएन । सडक–पेटीका चिया दोकानहरू बन्द थिए । पाँच सय पचासमा आउने जुत्ताका स्टलहरू थिएनन् । मोबाइलमा फिल्म हालिदिने पसल बन्द थिए । पानी नछिर्ने घडी दुई सय पचासमा बेच्नेहरू पनि थिएनन् ।

होटेल चाहिएको हो भनेर सोधिरहने नुवाकोटको दलाल भाइ पनि थिएन । उहिले जनमुक्ति सेनाका जुझारु युवा प्रह्लादजीको चिया अखडामा घरजग्गा मिलाइदिनेहरूको घुइँचो थिएन ।

बाइबल सित्तैँमा बाँड्ने युवतीहरू पनि थिएनन् ।

एउटा कलम किनेर सहयोग गरिदिनुस् न भन्ने युवकयुवतीहरू थिएनन् ।

कहाँ गए होलान् त्यत्रा मान्छे ?

स्कुटीमा थियौँ । हामीलाई शोभाभगवती पुग्नु थियो । केहीबेरमा पुगेर फर्कियौँ पनि । फर्किंदा नयाँ बसपार्कको एउटा कुनामा भेटिए कालीकोटका रमानाथ जैसी । एउटा चिया पसलमा चिया खान छिरेका थियौँ । घुइँचो थिएन । उनी नजिक आएर सोधे– बाबु, तीस रुप्पे छ ?

मैले सोधेँ– किन होला ?

उनका आँखाबाट आँसु खस्दै थियोे । ओठ काम्दै थिए । उनी भन्दै थिए– अस्तिबाट ग्यास पनि सक्कियो बाबु । काम गर्ने ठाउँको साहू पनि घर गयो । कोरोनाले काम पनि पाइएन । पचास रुपैयाँको पाउरोटी किनेर दुई छाक गरेर खान्छु । यस्तो बन्द कति बेर हुने हो थाहा छैन । साह्रै पिर लाग्या’ छ । लौ बाबु त्यति सहयोग गर्नुस् ।

भगवान् नमान्ने एउटा भौतिकवादी म । मैले उनले भनेको भगवानको अर्थ बुझेँ । बेचैन मन बोकेर कोठा फर्किएँ । मेरो पनि उही हाल थियोे । केही किलो चामल त मलाई पनि किन्नु थियोे

 

मैले तीस रुपैयाँ दिएँ । अलि पर दोकानबाट उनले पाउरोटी लिएर आए । हाम्रा केही सवाल–जबाफ भए :

घर कहाँ तपाईंको ?

कालीकोट (पत्रकार जन्मदेव जैसीलाई चिन्नुहुन्छ भनेर सोध्न खोजेको थिएँ, सोधिनँ ।)

यहाँ कहाँ बस्नुहुन्छ ?

यही गुम्बाछेउ ।

कोरोनासँग डर लाग्दैन तपाईंलाई ?

लाग्दैन । भोको मान्छेलाई भोकबाहेक अरू केहीसँग पनि डर लाग्दैन । नपत्याए तपाईं भोको बसेर हेर्नुस् ।

यसरी पाउरोटी मात्र खाँदा असर होला नि ?

तपाईंले मलाई चामल नै किनिदिए पनि कहाँ पकाएर खाने ? छिमेकी छैन । घरधनी भाडा नदिएको भनेर ठुस्स पर्छ । अब यसै गरी चलाउनुपरेको छ जिन्दगी ।

भोक धेरै लाग्छ होला ?

लाग्छ, सुत्छु निद्रा लाग्दैन । आधा पेट खाएर निदाउन नसकिने रहेछ बाबू ।

जहानपरिवार कता छन् नि ?

उतै कालीकोटमा छन् । आउनू भनेर फुन गर्छन्, कसरी जानु ? न उडेर, न गुडेर !

चिया खाने कार्यक्रम सकियो । एककप चिया उनलाई पनि भनिदिएँ । उनी खुसी भए । जानेबेला भन्दै थिए उनी– त्यही मान्छे भगवान् हो, जो बाँडेर खान जान्दछ ।

भगवान् नमान्ने एउटा भौतिकवादी म । मैले उनले भनेको भगवानको अर्थ बुझेँ । बेचैन मन बोकेर कोठा फर्किएँ । मेरो पनि उही हाल थियोे । केही किलो चामल त मलाई पनि किन्नु थियोे ।

ल, एउटा कुरा भुलिएछ । बुढाको नम्बर टिप्न पाएको भए !

मानिसहरू भन्दा हुन् यो काल्पनिक कुरा हो । तपाईं सडकमा निस्कनुभयो भने यस्ता धेरै पात्र भेट्नुहुनेछ ।

घरमा आएर सामाजिक सञ्जाल अन गर्दा प्रहरीले भाटा हानेको फोटो भाइरल थियो । प्रहरीको कामको खुलेर प्रशंसा हुँदै थिय– लकडाउनको पूर्ण पालना नगर्नेलाई यस्तै हुनुपर्छ । सहरका वाम बुद्धिजीवीका समेत स्टाटस आउन थालेका थिए । लकडाउन गरेका कारण मान्छेहरू सरकारप्रति पूरै कृतज्ञ थिए । मानिलिनुस्– लकडाउन गरेकै दिन समाजवाद हाम्रो आँगनमै आयो । मलाईचाहिँ लकडाउन सामान्य लागेको थियो । चरम निरङ्कुश शासक ज्ञानेन्द्र शाहकै शासन भए पनि लकडाउन हुने थियो ।

केहीबेरमा अर्का साथी रत्नप्रसाद अनामणिले चटामरी खाएको तस्वीर अपलोड गरे । त्यहाँ पनि आउन थाले मज्जाका कमेन्ट– वाह सर । मलाई पनि है सर । हामीले त खाजा लोकल कुखुरा खाइयो नि । म पकौडा बनाउँछु भरे आदि ।

मैले ती जैसी बाजेलाई सम्झें । आफ्नु चामल सक्किएको बोरा हेरें । सामाजिक सञ्जालमा स्टाटस लेखेँ– श्रमजीवी वर्गले लकडाउन सहन सक्दैनन् भन्ने आसयको । फेरि फेसबुके बुद्धिजीवीहरूको गाली बर्सन थाल्यो । गालीको समाजशास्त्र बुझेँ । गालीमा मिसिएको वर्गपक्षधरता बुझेँ । घरमा बसेर फेसबुक चलाउँदै अनेकौँ परिकार खाँदाको मज्जा त्यो जैसी बाजेलाई कहाँ ?

यो त एउटा सानो उदाहरण हो ।

अहिलेको लकडाउन श्रमजीवीहरूका निम्ति महंगो छ । मान्छेलाई मर्नु त छँदैछ । कोरोनाले होइन, भोकले मर्नु नपरोस् भनेर चिन्ता गर्ने बुद्धिजीवीहरूको खडेरी छ । सरकार मौन छ । सामाजिक सञ्जालमा खासै कोही बोल्दैन ।

मध्यम वर्गको दुःख पनि कस्तो–कस्तो !



source https://www.onlinekhabar.com/2020/04/849894

आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै

१९ चैत, काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागिएको हो ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुई-दुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

सरकारले ग्यासको सट्टा विद्युतीय चुह्लो प्रयोग गर्दा सस्तो पर्ने भन्दै उपभोक्तालाई विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्दै आएको छ । विद्युतीय चुह्लो प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा छुट पनि दिएको छ । तर, उपभोक्ताहरुमा ग्यास सिलिण्डरको मोह घटेको छैन । काठमाडौं उपत्यकाका ग्यास बिक्री केन्द्रहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ ।



source https://www.onlinekhabar.com/2020/04/849892

‘लकडाउन’मा के गर्दैछन् संसारका नेपाली साहित्यकार ?

१९ चैत, वृन्दावन (भारत) । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । मानव जातिको अस्तित्वमै संकट आएको त होइन ? भन्ने अत्यन्त भयग्रस्त विचारहरू पनि आउन थालेका छन् । विश्वको सामाजिक र आर्थिक अवस्था डामाडोल उन्मूख छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपाली साहित्यकारहरूको के अवस्था छ ? के भोग्दैछन् र के सोच्दैछन् त उनीहरू ? यो चाखलाग्दो प्रसंग हुन सक्छ ।

यो पंक्तिकार आफैं पनि मार्चको १३ देखि १५ सम्म सम्पन्न हुन लागेको दक्षिण एशियाली साहित्य उत्सवमा सहभागी भएर २० मार्चमा काठमाडौं पुग्ने टिकट लिई भारत आइपुगेकोमा चैत २५ सम्म नेपाल प्रवेश गर्न नमिल्ने नेपाल सरकारको निर्णयले भारतमै अड्किनु परेको अवस्था छ । म अहिले बृन्दावनमा रोकिएको छु ।

यहाँ रहँदा मैले संसारभर छरिएर रहेका र नेपालकै पनि केही साहित्यकारहरूको अवस्था, सोच र चिन्तन जान्न चाहें । कतिपय साहित्यकारहरूले जवाफ तत्कालै दिनुभयो, कतिले मैले पठाएको सन्देश नै नपढेको देखें । कतिपयले जवाफ पठाउँंछु भनेर पनि पठाउन सक्नुभएन । कतिले खासै चासो नराखेको पनि बुझें ।

अघिल्लो साता मैले पाएका केही प्रत्युत्तरहरू पाठकहरूका लागि प्रस्तुत छन्–

ज्ञानेन्द्र गदाल, कोलोराडो, अमेरिका

विश्वभर फैलिरहेको कोभिड १९ नामक कोरोना भाइरसले हरेक मानिसको दैनिकीमा प्रतिकूल प्रभाव पारेको छ । यो खÞतरनाक रोगबाट बच्न सतर्कता अपनाउनु बाहेक अरू उपचार पाइएको छैन । यसका लागि भिडबाट टाडा रहने, मानिसहरुको संसर्गबाट अलग बस्ने, तातोपानी बारम्बार पिउने, साबुन पानीले हात धोइरहने बानी परिसक्यो अब ।

अफिस जान बन्द, घरबाटै काम जारी छ । पसलहरूमा खाद्यपदार्थ, ट्वाइलेटपेपर, स्यानिटाइजर, साबुन आदिको अभाव बढ्दो छ । साथीभाइसँगको प्रत्यक्ष भेटघाट फोनमा सीमित छ । सडक सुनसान प्रायः छ । यो संकटपूर्ण अवस्था कतिसम्म लम्बिने हो, निश्चित छैन । हरेक मानिसका लागि सर्वप्रीय आफ्नो ज्यान रहेछ । यसको रक्षार्थ खाने कुराको जोहो नै मुख्य रहेछ भन्ने यथार्थ अमेरिकामा समेत आजको परिस्थितिले देखाएको छ ।

जीवा लामिछाने, जर्मनी

अहिले घरमै सेल्फ इम्पोज्ड क्वारेण्टाइनमा बसेकाले दैनिकीमा अलि फरक परेको छ । लेखपढ गर्ने समय केही बढी रहेको छ । म प्रत्येक दिनको कोभिड१९ डायरी ल्यापटपमा लेखिरहेको छु । विश्वभरि यो कसरी फैलिएर जाँदैछ भनेर, मेरो निजी रेकर्डका लागि ।

सुरेन उप्रेती, क्यानडा

कोरोनाले जीवन अस्तव्यस्त बनाएको छ । खाना संकलन र भण्डार गर्ने, सेनेटाइजर, मास्क, पञ्जा जुटाउने क्रम जारी छ । देश–विदेशबाट आएका समाचार र दुःखद घटनाले चिन्तित र विचलित बनाएको छ । आफ्नो दैनिक जीवनलाई धेरै प्रभाव पारेको छ  ।

आफू स्वास्थ क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले अझ बढी होशियारी र सम्वेदनशील भएर बन्नु परेकाले लेखन कार्य लगभग शून्यको अवस्थामा झरेको छ ।

कृष्ण बजगाईं, बेलायत

कोरानाको महामारीले मेरो दैनिकीमा अलिकति परिवर्तन ल्याएको छ । बेलायत सरकारले दिएको सूचना र स्वास्थ्यसम्बन्धी चेतनालाई ध्यानमा राखेर भेटघाट र घुमघामको कार्य हाललाई स्थगित गरेको छु ।

पहिले नै तय भएका लन्डनका विभिन्न साहित्यिक र अन्य कार्यक्रमहरु समेत रद्द भएकाले लेखपढमा अलि समय मिलेको छ । समाचारले कसरी मानिसको जीवनमा तनाव निम्त्याउँछ, समाचार पढ्न छाडेपछि प्राप्त हुने खुसी र शान्त जीवनका बारेमा लेखिएको रोल्फ डोबेल्लीको ‘स्टप रिडिङ दि न्युज’ भन्ने पुस्तक पढिरहेको छु । एउटा नियात्रा पनि लेखिरहेको छु । अहिले कोरोनाको विषयमा कुनै सिर्जना गरेको छैन ।

हिक्मत थापा, नाइजेरिया

म नाइजेरियामा बस्छु । यहाँ कोरोनाको प्रभाव त्यति परिसकेको छैन । कार्यालय र जनजीवन अहिलेसम्म सामान्य नै छन् । तर, सरकार र नागरिकले नियन्त्रणका प्रारम्भिक प्रयास थालेका छन् ।

वसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका

कोरोनाको आतंकले कैदी बनाउन सुरू गरेको छ । अध्ययन र लेखन नै आफ्नो रूचि भएका कारणले त्यसैमा समय खर्चिने विचार गरेको छु ! ‘प्रयास’ का लागि एउटा लेख भर्खर लेखेर सकेको छु ।  घरदेशमा साहित्यिक मन्थन नेपाल भ्रमणको सन्दर्भमा लेखिएका कारणले फेरि नेपाल झलझली सम्झें ।  दुई÷चार पुस्तक छन्, समय पर्खेर बसेका, सक्ने विचारमा छु ।

विमल अधिकारी, कोलोराडो, अमेरिका

म कोलोराडोको अरोरामा बस्छु । बजारमा सामान पाउन छोड्यो । बिहान गए पाइने । अरू सामानमध्ये सेनिटाइजर, ट्वाइलेट पेपर छैन । जताततै सुनसान छ । ग्यास स्टेशन, मल सब सुनसान । रेस्टुरेण्ट बन्द प्रायः छन् । जनता त्रसित छन् । सबैको मुखबाट क्रेजी कोरोना भाइरस भन्ने सुनिन्छ । यही ताल हो भने निकै जटिल हुनेछ संसार । स्कुलहरू बन्द छन् । जनता अन्योलमा छन् । भगवान भरोसा भन्ने पनि छन् ।

सुनिल संगम, पोर्चुगल

निश्चय नै केही परिवर्तन भएको छ । घरबाहिर निस्किन, भेटघाटहरु र कामकाज सबै छोडिएको अवस्था छ ।  मार्केटतिर अति आवश्यक सामान लिन जानेबाहेक आउन–जान सबै रोकिएको छ । सकेसम्मको सावधानी अपनाइएको छ । तर, पनि त्रास छँदैछ ।

यो त्रास र महामारीमा जबरजस्ती घर बस्ने फुर्सद भने मिलेकै छ । परिवारसँग बस्ने र लेख्ने समय प्रशस्त मिलेको छ । यतिबेला केही मुक्तक र गीतहरु तयार गर्दैछु । निश्चय नै ती रचनाहरुलाई विश्वभरि फैलिएको महामारी कोरोनाले धेरैथोरै छोएको छ ।

नीलम कार्की (निहारिका), अमेरिका

हर पल समाचारमा जान मन लाग्छ । पढ्न खोज्छु । ४२५ पृष्ठको किताब सुरू गरेको धेरै दिन भयो, २०० पुग्दैछु । ट्राभल गरी आएकाले १४ दिनको सेल्फ क्वारेनटाइन बल्ल सकियो । लेखन छैन । अब कोसिसमा भने छु ।

भक्त घिमिरे, पेन्सिलभेनिया, अमेरिका

कोरोनाले परिवर्तन अवश्य ल्याएको छ । बढी अनलाइनमा काम गर्ने भएकाले कामै ठप्प त भएको छैन । तर, खानेकुरा लिन बजार जाने हिम्मत छैन । लेखनमा अन्य बाधा नभए पनि आँखाले नदेखेको कोरोना भाइरस दिमागमा भने घुमेको घुमेकै छ । कोरोनाकै सम्बन्धमा कुनै लेख लेख्न भ्याएको छैन । एउटा ‘धन्यवाद कोरोना’ भन्ने शीर्षकको भावना यही फेसबुकको स्टाटसमा पोखेको छु । स्टाटसमा भेट्नु हुने छ ।

जीवन खत्री, दक्षिण कोरिया

कोरोना महामारीले विश्व नै तर्सिरहेका बेला हामीलाई प्रभाव नपर्ने भन्नै कुरा नै छैन । हरेक क्षेत्रमा असर परिरहेको छ । संक्रमितहरूमा त उसै पनि असर परेकै छ । संक्रमण नभएकाहरूमा पनि कतिबेला के हुने हो भन्ने पिरै पिर छ । देशमा के हुने हो ? समाज र आफन्तहरू के हुने हुन् ? संक्रमण भैहालेमा कसरी उपचार होला । आर्थिक कुराहरू कसरी सहज होला ? यही पिरले सताइरहँदा लेखनमा असर पर्नु अस्वाभाविक हैन । केही लेख्न खोज्दा पनि यही पिरले दिमाग एकत्रित हुन सकिरहेको छैन ।

प्रकाश पौडेल (माइला), जापान

आकस्मिकरुपमा विश्वव्यापी संक्रमण फैलिएको ‘कोरोना’ को कारणले केही फुर्सद मिलेको छ । दैनिक गरिने काम र कार्यतालिकामा फेरबदल भएको छ । कोरोनाकै विषयमा केही नलेखेता पनि यो समयमा केही सामाजिक कथा लेख्नको निम्ति केन्द्रित भएको छु । जापानमा हुने साना तथा ठूला जमघटहरु हुनै छाडेका छन् । पारिवारिक भेटघाट र स्थानीय भ्रमण पनि शुन्य प्रायः छ । त्यसैले बाँकी समय सामाजिक सञ्जाल, न्युज साइट टहल्ने र केही पुस्तक पल्टाउँदै बितिरहेको छ ।

नीरू त्रिपाठी, अष्ट्रेलिया

यहाँको सरकारले यात्रा कम गर्न र सामाजिक गतिविधिमा सरिक नहुन सचेत तुल्याइसकेको अवस्था छ । मेरो अफिसले पनि अर्को सूचना जारी नहुन्जेल घरबाटै काम गर्न भनेको छ । यसले निश्चितरूपमा मेरो दैनिकीमा फरक पारेको छ । तर, यसले मेरो लेखनमा असर पारेको छैन । अहिलेको वर्तमान अवस्थाका बारेमा छिट्टै केही लेख्ने सोच बनाएकी छु ।

विश्वासदीप तिगेला, बेलायत

कोरोनाको महामारीले मेरो दैनिकीमा परिवर्तन अवश्य ल्याएको छ । अध्ययनमा छु । कक्षाका लेक्चरहरु बन्द भए । शोधपत्रमा मात्र ब्यस्त छु । कोरोनाले धेरै असर ग¥यो । लेखनमा भने खासै परेको छैन । समय अभावका कारण लेखेको छैन । तर, यो विकराल हेरेर लेख्न सक्छु ।

डेन्जोम साम्पाङ, टेक्सास, अमेरिका

कोरोनाको महामारीमा काम चलिरहेकै छ । तर, आफू सर्वसाधारणसँगसँगै काम गर्नुपर्ने हुनाले रोग सर्ला कि भन्ने चिन्ताले निक्कै सोचनीय बनाएको छ । विद्यालय लगायत कार्यालयहरु सबै बन्द छन् । स्थानीय दोकानहरु बिक्रीका सामानविहीन छन् । लेखन भने कोरोनाको असरभन्दा पनि काम, व्यवसायको तनाव र व्यस्तताको कारण समय मिलाउन सकेको होइन । कोरोनाको विषयमा कुनै रचना लेखेको छैन ।

नवराज कार्की, क्यालिफोर्निया, अमेरिका

घरबन्दी छु । लेखनमा केही फरक पारेको छैन । मैले केही मुक्तक लेखेको छु । केही फेसबुकमा राखें, केही नोटबुकमै छन् ।

केदार सुनुवार, अफगानिस्तान

कोरोनाको महामारीले काम ठप्प । खाना सकिएको छ ।  लेखन भने निरन्तर चलेको छ । कोरोनाको विषयमा कुनै रचना लेखेको छैन ।

डा.कविता लामा, सिक्किम, भारत

सिक्किम हिमाली राज्यमा आजको मितिसम्म कोरोना भाइरसले संक्रमित एकैजना व्यक्तिको नाम समाचारमा नआएता पनि यसको प्रभाव मेरो दैनिक जीवनमा अत्यन्त गहिरोरूपले परेको छ । समाचारको माध्यमद्वारा अनि सामाजिक सञ्जालको माध्यमद्वारा यसबारे जेजति समाचारहरू सुन्नमा र जान्नमा आइरहेका छन्, त्यसले यहाँको शान्तिमय परिवेशमा एक प्रकारको आंतकको परिवेश सृष्टि भएको छ ।

मन र तन दुवै स्वस्थ नभएपछि यसले मेरो अध्ययन र लेखनमा प्रभाव पारिरहेको छ । कारण मन अस्थिर रÞ अधीर छ । मन सञ्च छैन । यद्यपि यसबारे मैले कुनै लेख वा रचना लेखेकी छैन ।

ज्ञानेन्द्र खतिवडा, सिलिगुडी, भारत

कोरोनाले नअत्याएको स्थिति कसलाई होला र ? इतिहासमा ठ्याक्कै सय वर्ष नाघेको स्पेनिस फ्लु यतिबेलै घरीघरी सेतो कात्रो ओडेर आइरहन्छ । विज्ञान पनि साह्रै ढिलो हिँडेको जस्तै लाग्छ । अझ पनि धामी र झाँक्री खोज्दै हिँड्ने साउथ इस्ट एसियाली मानिसहरू र उनीहरूको ढटुबारे नेतृत्वको अधीनमा रहनुपर्ने बाध्यता र परीक्षणको किट अमेरिकाजस्तो विकसित देशमा कम भएर चीनले पठाएको घटनाले त झन् ज्यादा आतंकित पार्दो रहेछ । आफंै आफ्नो सुरक्षाको जिम्मा लियो, घरै बस्यो ।

कृष्ण धरावासी, काठमाडौं

म प्रायः घरै बस्ने हुनाले बाहिरफेर निस्केको छैन । घरमा कोही अस्वस्थ छैनन् । खाद्य सामग्री पनि अनावश्यक संग्रह गरिएको छैन । वास्तवमा यस रोगबारे जति हल्ला गरिएको छ, नेपालमा त्यस्तो असर देखिएको छैन । लेख्ने कामभन्दा पनि केही महत्वपूर्ण कृतिहरूको सम्पादन गरिरहेको छु । नयाँ कृतिको खासै तयारी छैन । कोरोना बारेमा त्यस्तो केही लेखेको छैन । लेख्नुपर्ने विषय पनि नभेटिएर होला ।

अविनाश श्रेष्ठ, काठमाडौं

कोरोना भाइरसको महामारी तीन महिनाअघि चीनमा थालिँदा यसले यति भयावह स्वरूप ग्रहण गर्ला भन्ने मलाई लागेकै थिएन । दिनहरू बित्दै जाँदा कोरोना भाइरसले आफ्नो प्रभाव विस्तार गर्दै जान थाल्यो । मैले डायरीमा बेला–बेला कोरोनाको कहरबारे टिपोट गरिरहें र गरिरहेको छु ।

आफ्नो सामान्य लेखनकार्यलाई कोरोनाको त्रासले कुनै प्रभाव नपारेको उल्लेख गर्न चाहन्छु । म अहिले आफ्ना पूर्वप्रकाशित दुई कविता संग्र्रहलाई पुनः प्रकाशित गर्ने काममा जुटिरहेको छु र केही नयाँ काम थाल्ने योजना पनि बनाइरहेको छु, कुन विश्वासका साथ भने मानव समाज र संसार कोरोना भाइरसको सांघातिक प्रहार र कहरबाट छिट्टै नै मुक्त हुनेछ । हामी फेरि पहिलेजस्तै सामान्य जीवनमा फर्कन सफल हुने नै छौं ।

अशेष मल्ल, काठमाडौं

सर्वनाम थिएटरमा निरन्तर सञ्चालित अभिनय कक्षा रोक्नुपरेको छ । बिहान घरमै बित्ने गरेको छ । नयाँ गीति नाटकको तैयारी पनि रोकियो । मेरा विद्यार्थीहरुका रिहर्सल रोकिए । सर्वनामका सबै नियमित कार्यक्रमहरु रोकिएका छन् । एकाएक फुर्सदै फुर्सदको स्थिति सिर्जना भयो । तर, पनि गीति नाटकको सिर्जनात्मक कतिपय पक्षमाथि काम गर्दैछौँ । लेख्दालेख्दै रोकिएका सिर्जना अब पूरा गर्छु । चुप लागेर बस्न सक्दिनँ ।

देवेन्द्रप्रताप शाह, काठमाडौं

घरबाट निस्किन सरकारले बन्देज लगाएपछि हिँडडुल बन्द छ । सोसलाइजेसन छैन । साथीभाइसँग कुरा गर्दै रमाइलो मान्ने अवस्था भएन । नातेदारहरूसित फोनमा कति कुरा गर्नु ? टीभीले काम पाएको छ । पहिला टीभी हेर्दैनथें, अब शुरू भएको छ ।

पवन आलोक, काठमाडौं

कोरोनाका कारणले लेखन र सिर्जनामा मलाई परेको असरबारे भन्नु पर्दा कुनै साहित्यिक समारोह वा अन्य विभिन्न सामाजिक गतिविधिमा जानु नपर्दा साहित्य अध्ययन, सिर्जना र लेखनलाई  समय मिलेको छ । समय व्यवस्थापन गर्न गाह्रो परिरहेको अवस्थामा निकै राहत मिलेको महसुस गरेको छु । यस अर्थमा खुसी पनि छु ।

यो महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा खुसी हुने अवस्था त होइन नै । यो छिट्टै विश्वबाटै निर्मुल होस् भन्ने कामना गरिरहेको छु । म यो समयलाई सक्दो उपभोग गर्नेछु र मेरो नियात्रा संग्र्रहको बाँकी काम पूरा गर्ने योजनामा छु । कोरोनाकै बारेमा त लेखेको भने छैन ।

शैलेन्द्र साकार, काठमाडौं

अहिले आफैं हातखुट्टा र सम्पूर्ण अवयवप्रति ठूलो अविश्वास बढेको छ । कसरी भाइरस मुक्त हुने ? जो अदृश्य छ, तर छ भयानक ।

विवश पोखरेल, बिराटनगर

कोरोना सन्त्रासले मानसिक सिथिलता थपेको छ । कुनै उत्साह, ऊर्जा छैन सिर्जनामा । कोरोनासम्बन्धी के लेख्नु ? लेख्नेहरूको पढ्दै अघाइएको छ । कोरोनाको भयसँगै कोही–कोही यस विषयलाई ठट्टाको विषय पनि बनाउँछन्  । सचेतना अहिलेको आवश्यकता हो । यस प्रकोपसँग कसरी सुरक्षित हुने, यसबारे सचेत रहन सकौँ ।

राम्जी तिमिल्सिना, इटहरी

घरमा बसेर सामाजिक सन्जालको प्रयोग बढाउँदै चेतना प्रवाहमा सरिक भइएको छ । बाँकी रहेका अनुसन्धानात्मक लेखनलाई गति दिइएको छ ।



source https://www.onlinekhabar.com/2020/04/849889

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण

बार्सिलोना । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ४ जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले बताएका छन् ।

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ । बिगत चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन् । उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन् । संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन् ।

एक सातादेखि आईसीयूमा उपचार गराइरहेका एक नेपालीको स्वास्थ्यमा भने सुधार आएको छ । एनआरएनए स्पेनका पूर्वअध्यक्ष भिष्मकुमार गुरुङ (अनिल)ले दिएको जानकारी अनुसार उनलाई मंगलबारदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ । गुरुङले भने, ‘दिनको एकपटक डाक्टरले फोन गरेर जानकारी दिने गरेको छ । उहाँको स्वास्थ्यमा सुधार आएको छ ।’

स्रोतका अनुसार संक्रमितहरु ६ वटा छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए ।

स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ ।

गत १४ मार्चदेखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । मंगलबारसम्म ९४ हजार ४१७ जना संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयले ८ हजार १८९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर झण्डै २० हजार मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849886

अप्रिल फूल नमनाउने गुगलको निर्णय

काठमाडौं । आज अप्रिल १ गते अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् ।

तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन गरेको छ र यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको छ ।

समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने आफ्नो परम्परालाई थाँति राखेको बताएका छन् ।

इमेलमा भनिएको छ, ‘सामान्य अवस्थामा अप्रिल फूल गुगलको परम्परा हो । यसले गुगल परम्परागत ढर्राको कम्पनी होइन र रमाइलो पनि गरिन्छ भन्ने देखाउँदछ । तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेकाहरुको सम्मानमा हामीले यो परम्परालाई थाँति राख्दैछौँ । अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसहरुको सहयोगी बन्नु हो । त्यसैले हाम्रा ठट्टाहरु अर्को अप्रिलका लागि जोगाई राखौँ । त्यतिबेला निश्चित रुपमा अहिले भन्दा निकै रमाइलो हुनेछ ।’

गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ ।

तर यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ । कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

एक ब्लग पोष्टमा कम्पनीका सिइओ सुन्दर पिचाइले म्यागिड ग्लोभ एण्ड सेफ्टी कम्पनीसँग मिलेर गुगलले २० देखि ३० लाखसम्म मास्क उत्पादनका लागि काम गरिरहेको बताए । साथै निकै महत्वपूर्ण चिकित्सा उपकरण तथा पिपिइको उत्पादन क्षमता बढाउनका लागि समेत आर्थिक सहयोग गरिने उनको भनाइ छ ।

त्यस्तै गुगलले विश्व स्वास्थ्य संगठन तथा विभिन्न सरकारी निकायहरुलाई २५ करोड डलर बराबरको नि:शुल्क विज्ञापन प्रकाशन गरिदिनेछ भने स्वास्थ्य क्षेत्रमा क्रियाशील साना तथा मध्यमस्तरका व्यवसायलाई ३४ करोड डलर बराबरको विज्ञापन ऋण सहायता प्रदान गर्नेछ ।

– एजेन्सीको सहयोगमा 



source https://www.onlinekhabar.com/2020/04/849884

दुनियाँको यस्तो शहर, जहाँका मानिस एकाएक पत्थर बने

काठमाडौं । कुनै मान्छे तथा रुखलाई कसैले छुनेबित्तिकै ढुंगा बन्ने गरेका कहानीहरु कतिपय लोककथामा सुनिएको थियो । तर यो दुनियामा यस्तो शहर छ, जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीवजन्तु तथा बोटविरुवाहरु एकाएक सर्वनाश भएर अन्ततः पत्थर बनेका थिए ।

मान्छे तथा सबै जीवजन्तु र वनस्पती ढुंगा बनेको शहर इटालीमा छ । उक्त शहरमा अहिले पनि पत्थर बनेका ती मानिस तथा जीवजन्तुका आकृति देखिन्छन् । झ्वाट्ट हेर्दा ती कुनै मूर्तिजस्ता लाग्दछन् । तर ती मूर्ति नभै साँच्चिकै पत्थर मानव हुन् । जसको पछाडि निकै भयानक इतिहास लुकेको छ ।

उक्त शहरको नाम पोम्पई हो । जहाँ आजभन्दा झण्डै साढे १९ सय वर्षअघि १५ हजार मानिसको बसोबास थियो । सन् ७९ मा त्यहाँ एउटा भयानक घटना भयो । एकै झट्कामा पूरा शहर ध्वस्त भयो । वैज्ञानिकहरुले उक्त शहरको भग्नावशेषबाट यस्ता तथ्यहरु उत्खनन गरेका छन्, जसका कारण उक्त प्रलयबाट शहरमा त्यसबेला कोही पनि जिउँदो रहन नपाएको अनुमान गर्न सकिन्छ ।

पोम्पई करिब १७० एक्कड क्षेत्रफलमा फैलिएको छ । त्यहाँ रहेका खण्डहरुहरुका आधारमा त्यस समय उक्त शहरमा ११ हजारदेखि १५ हजार मानिसको बसोबास भएको अनुमान गरिएको छ । केही वर्षअघि उत्खननका क्रममा पुरातत्वविदहरुले त्यहाँ एउटा घोडाको शरीर तथा त्यसको कवच फेला पारे, जुन पत्थर बनिसकेको थियो । साथै मान्छेको खप्पर पनि फेला पर्यो, जुन सिसा बनिसकेको थियो ।

वास्तवमा पोम्पइको नजिकै पर्ने नेपल्सको खाडीस्थित माउन्ट वेसुवियसमा सन् ७९ मा भयानक ज्वालामुखी विस्फोट भयो । उक्त ज्वालामुखी विस्फोटबाट ठूलो मात्रामा लाभा, खरानी तथा ग्यास निस्किएर शहरलाई छोप्यो । शहरका कुनै पनि मानिस भाग्न सकेनन् । शहरका मानिस, जीवजन्तु तथा रुखविरुवा समेत ज्वालामुखीको लाभाले पुरिए । जब लाभा सेलाउन थाल्यो तब ठोस अवस्थाको लाभामा लपेटिएर मान्छे र जनावरका लासहरु चट्टान जस्तै भए ।

पोम्पइजस्तै उक्त ज्वालामुखीले अर्को सानो शहरलाई पनि विध्वंस गरेको थियो । त्यसको नाम हर्कुलेनियम हो । सो सहरका सबै मानिस ज्वालामुखीमा परेर मरेका थिए । सो सहरको भग्नावशेषबाट पनि पुरातत्वविदहरुले चट्टानी मानव शरीरहरु फेला पारेका छन् ।

इटालीका यी दुवै शहरहरु युनेस्कोको विश्व सम्पदा सूचिमा रहेका छन् ।

-एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/04/849881

भोकको आगोले पोल्दा…. (फोटो फिचर)

साँघुरो गल्लीमा मेरो चोक छ ।

यहाँ के छैन ? सबथोक छ ।

असंख्य रोग छ, अनन्त भोक छ,

असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ ।

साँघुरो गल्लीमा मेरो चोक छ ।

–भूपि शेरचन

२०१७ सालको परिवर्तित राजनीतिक परिस्थितिको समयमा भूपि शेरचनले एउटा साँघुरो गल्लीको बारेमा लेखेको एउटा कविताले त्यतिबेलाको विश्वको परिदृष्यलाई बोलेको थियो । भूपिले त्यतिबेला एउटा सीमित समुदायको मनलाई साँघुरो गल्लीसँग जोडेर कविता लेखे । तर, अहिले भूपिले भनेका सबै गल्लीहरु साँघुरा भएका छन् । बजारका सबै मनहरुको संकुचन धेरै हदसम्म भएको देखिन्छ ।

सृष्टिका परिचायक केवल मानिसहरु मात्रै होइन । तर, यही सृष्टिका परिचायकहरु माथि संकटको बादल मडारिएको छ । पलपल मरेर बाँचिरहेको छ काठमाडौंको एउटा मान्छे इतरका प्राणीहरुकाे समुदाय । बस्, मान्छेहरु घरमा आरामसँग बसिरहेको छ, एउटा पेट पाल्नकै लागि ठूलो संघर्षमा दिन गुजार्दै छन् काठमाडौंका जीव एवं पशुपंक्षीहरु।

माथि उल्लेख गरिए जीवहरुको दर्दनाक अवस्थालाई शव्दमा उतार्नको लागि अहिले भूपि जीवित छैनन् । तर, उनले देखाएको सानो गल्लीको पीडादायी कथाले उनको याद दिलाइरहेको छ । फरक प्रसंगमा उनले लेखेका थिए ‘मरेर शहीद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ !’ त्यही झनै गाह्रो परिस्थितिमा छन् यतिबेला काठमाडौंका मानिस इतरका जीवहरु ।

यही गाह्रो जिन्दगी जिएर बसेका जीवजन्तुहरु यतिबेला कोरोनाको कारण आफ्नो संघर्षपूर्ण जीवनलाई जेनतेन चलाइरहेका छन् । गल्ली झनै साँघुरिए छन् । घरहरु आकाशिए । तर, काठमाडौंबासीको मन झनै भूपिले भनेकोभन्दा साँघुरिँदै गएको छ ।

अहिले एक पुरिया बिस्कुट दिएर फोटो खिचाउने जमात समेत अहिले आउन छाडे । पहिले दैनिक आउने जानेहरुले दिने सीमित खानेकुराको समेत स्रोत अहिले टुटेको छ । एक जना मान्छे आयो भने ती सबै जनावरहरुमा आशाको किरण उदाउँछ । सबै गुरुरु त्यही मान्छे भएको तिर आउँछन् । जति दिन्छन् त्यसैमा चित्त बुझाउँछन् । यो काठमाडौंका सबै जीवहरुले भोगेको एउटा दुखद् घटनाको चरम सीमा हो ।

भोक लाग्छ । त्यही भुईंमा मुल्टो लडाउँछन् । अति नै भएपछि माटो खोस्रिन्छन् । त्यतिमा पनि केही नभेटिएपछि वागमती नदीमा कसैले फालेको कुरा बगाएर आएको छ कि ? भनेर हुल बाँधिएर नदीमा प्रवेश गर्छन्, यो दुखद् कथा पशुपतिका बाँदर र कुकुरहरुको हो ।

वागमतीको साथ पाएकाहरुले अरु केही नभएपनि भनेको बेलामा पानीसम्म त पिउन सकेका छन् । अति नै भएको बेलामा पानी पिएरै भएपनि संघर्षमा उत्रिएलान् । तर, त्यही पानी समेत भनेको बेलामा पिउन नपाउने जीवहरुको दर्दनाक कथा पनि यही काठमाडौंको गल्लीहरुमा भेटिन्छ । मानिसको लागि बरु केही नभएपनि सरकार छ । तर, यी जीवहरुको लागि त त्यही पनि छैन । कसले हेर्ने यिनीहरुलाई ।

कतै परेवाहरुको लागि फ्याँकेको चामलको दाना भेट्दा समेत खुशी हुन्छन् बाँदरहरु । खानेकुरा नपाएर निन्याउरो अनुहार लगाएका कुकुरहरुको क्यामरामा कैद गरिएको फोटोले समेत पक्कै पनि दुनियाँलाई भावुक बनाउन सक्ला । यिनै तश्वीरहरुले देखाएका छन् लकडाउनको समयमा भोगेका पीडाहरु ।

 



source https://www.onlinekhabar.com/2020/04/849824

Monday 30 March 2020

२०७७ सालमा कहिले–कहिले पर्‍यो सार्वजनिक विदा ?

१८ चैत, काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।

सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पाउने साप्ताहिक विदा हो ।

वर्षभर पर्ने ५२ वटा शनिबार, दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशभर सार्वजनिक विदा हुनेछ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक विदा हुनेछ ।

यी हुन् सार्वजनिक विदा हुने दिन

शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ ।

यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ । होलीको दिन चैत १६ गते विदा पाउने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् ।

सम्वन्धित धर्म, संस्कृति र भौगोलिक आधारमा १६ दिन विदा

सम्वन्धित धर्म, संस्कृति र भौगोलिक क्षेत्रका आधारमा मात्र १६ दिन विदा दिने निर्णय सरकारले गरेको छ । जसअनुसार बैशाख २५ गते बिहीबार उभौली पर्व, भदौ १० गते गौरा पर्व, मुस्लिम समुदायले मनाउने इदुल फित्र र बकर इद तथा मंसिर पाँच गते छठ पर्वको विदा सरकारले दिएको छ ।

यसैगरी, कात्तिक २५ गते मंगलबार परेको फाल्गुनन्द जयन्ती र मंसिर १५ गते सोमबार परेको गुरु नानक जयन्तीको दिन सम्बन्धित धर्मावलम्बीहरुले मात्र विदा पाउने छन् ।

यसैगरी, डिसेम्बर २५ मा मनाइने क्रिसमस डे (पुस १० गते)को दिन सरकारले इसाई धर्मावलम्वीलाई मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पुस १५ गते बुधबारको दिन किराँत जातिको उधौली पर्व, नेवार समुदायले मनाउने योमरी पुन्ही–ज्यापु दिवस, तमु ल्होसारको दिन विदा हुनेछ । थारु, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउने माघ माघी पर्वको अवसरमा माघ १ गते बिहीबार पनि विदा दिइएको छ ।

माघ ३० गते शुक्रबार सोनाम ल्होसार र चैत १ गते आइतबार ग्याल्पो ल्होसारको विदा छ । सिरुवा पर्वको दिन झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा विदा दिइएको छ ।

महिला कर्मचारीहरुलाई हरितालिका तीजको दिन भदौ ५ गते शुक्रबार विदा दिइएको छ । शनिबार पनि सार्वजनिक विदा हुने भएकाले तीजमा ब्रत बस्ने महिला कर्मचारीहरुले राहत पाएका छन् । यस्तै, भदौ २५ गते बिहीबार जितिया पर्व परेको छ । सोदिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुले विदा पाउने छन् ।

शिक्षण संस्थाहरुको अतिरिक्त विदा भने वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिन मात्र छ । २०७७ सालको सरस्वती पूजा फागुन ४ गते आइतबार परेको छ ।

काठमाडौं उपत्यका विदा चार दिन

गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुने छ । २०७७ सालको गाईजात्रा साउन २० गते आइतबार, इन्द्रजात्रा भदौ १६ गते मंगलबार र घोडेजात्रा चैत २९ गते आइतबार परेको छ । सार्वजनिक विदाको सूचीमा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको मिति भने उल्लेख छैन ।

अपाङ्गता भएका कर्मचारीहरुले अन्तर्राष्ट्रिय अपांगता दिवस (डिसेम्बर ३) मा सार्वजनिक विदा पाउने छन्। २०७७ सालमा अन्तर्राष्ट्रिय अपांगता दिवस मंसिर १८ गते बिहीबार परेको छ ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवस, डिसेम्बर ३ तारिख (मंसिर १८ गते)मनाइने जातीय भेदभाव तथा उन्मुलन दिवस, भदौ २२ गते मनाइने निजामती सेवा दिवस, पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस, माघ १६ गते मनाइने शहीद दिवस र फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसलाई सरकारले राष्ट्रिय रुपमा मनाइने तर कार्यालयहरु खुल्लै रहने दिनको रुपमा उल्लेख गरेको छ ।

 



source https://www.onlinekhabar.com/2020/03/849542

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More