१६ चैत, धनुषा । मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले जनकपुरबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएअनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ वर्षीय राजेशकुमार झा रहेका छन् । प्रादेशिक अस्पताल जनकपुरस्थित बजरङ्ग जेनरल स्टोरमा मास्क प्रतिथान रु ७५० र पञ्जा प्रतिपोका रु ५०० मा बिक्री गरिरहेको अवस्थामा झालाई पक्राउ गरिएको जानकारी प्रनाउ कार्कीले जानकारी दिए ।
झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
त्यसैगरी, शुक्रबार बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नं १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी रु ३५ मा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो । लकडाउन भएयता जनकपुरबाट कालोबजारी गर्ने १७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्ने सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्री कालोबजारी गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
source https://www.onlinekhabar.com/2020/03/848710
0 comments:
Post a Comment