Thursday, 26 March 2020

मन्त्री मानन्धरको सुझाव–कोरोनासँग नआत्तिनू, धार्मिक पुस्तक पढ्नू

१४ चैत, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नागरिकको जीवन रक्षाका लागि सरकारले लकडाउन गरेकाले त्यसको भने पूर्ण पालना गर्न उनले आग्रह गरे ।

‘सामान्य हेलचेक्राइँले विपद् आउनसक्न सक्छ । त्यसैले सतर्क रहनु उत्तम उपय हो,’ मन्त्री मानन्धरले भने, ‘सरकारको तर्फबाट आवश्यक प्रबन्ध मिलाइएकाले आत्तिनुपर्ने अवस्था छैन ।’

कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा साथ दिन मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको उनले जानकारी दिए । मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयार गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाइने जानकारी दिए । मन्त्री मानन्धरले आ–आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तीव्र पार्न देशभरका नगरपालिकाहरुलाई आग्रह समेत गरेका छन् । ठूला नदीका किनारका फराकिला स्थान र बजारहरुका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद, पुराण, रामायण, महाभारतलगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाए । उनले त्रिपिटक, कुरान, बाइबललगायत विभिन्न धर्मका ग्रन्थहरुको समेत अध्ययन गर्न सुझाव दिए ।

मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/03/848031

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More