Friday 31 January 2020

केपी ओलीको विचार अल्पमतमा पर्दैन : कैलाश ढुंगेल

१८ माघ, काठमाडौं । नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल केपी ओली निकटका नेता हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका ढुंगेल नेकपाभित्र नेकपाभित्र केपी ओलीको विकल्प खोज्नु भनेको समृद्धिको नारालाई परित्याग गर्नु हो भन्छन् ।

अनलाइनखबरसँग कुरा गर्दै प्रदेश मन्त्री ढुंगेलले भने, ‘केपी ओलीको विचार त्यही हो, त्यो विचार नेकपामा अल्पमतमा पर्दैन । सारमा मैले केपी ओलीको विकल्प खोज्नु भनेको चाहिँ मुलुकको समृद्धिको नारालाई छाड्नु हो भन्छु ।’

संघीय सरकारले प्रदेश सरकारलाई आदेश पालक बनाउन खोजेको र अधिकार दिन नचाहेको आरोप लागिरहेका बेला वागमती प्रदेशका अर्थमन्त्री ढुंगेलले भने फरक अनुभव गरेका रहेछन् । काम गर्नका लागि प्रदेशलाई प्रशस्त अधिकार क्षेत्र देखेका ढुंगेलले भारतमा भन्दा नेपालमा प्रदेशहरु अधिकारसम्पन्न रहेको दाबी गरे ।

नेकपा केन्द्रीय कमिटी बैठकमा भाग लिन हेटौंडाबाट काठमाडौं आएका ढुंगेलले प्रदेशले काम गर्न सकेनौं भनेर केन्द्रलाई आरोप लगाउनु ‘नाँच्न नजान्नेले आँगन टेढो’ भने जस्तै हुने टिप्पणी समेत गरे । पछिल्लो समय प्रदेशहरुको कामले गति लिन थालेको महशुस गरेका ढुंगेल तीनै तहका सरकार एक अर्कामा नठोक्किइ अघि बढ्नुपर्ने बताउँछन् ।

प्रस्तुत छ, वागमती प्रदेशका अर्थमन्त्री तथा नेकपा नेता ढुंगेलसँग पार्टी बैठकमा भइरहेका छलफल र प्रदेश सरकारको सन्दर्भमा गरिएको कुराकानी ।

नेकपा बैठकमा प्रधानन्त्रीको आलोचना निकै भएको छ, तपाईहरु समूहगत छलफलमा सहभागी हुँदा कस्तो पाइयो ?

केन्द्रीय कमिटीको बैठक ढिला भएकै हो । बैठक ढिलो हुनुले पनि धेरै प्रश्नहरु उठेका छन् । समयमै बैठकहरु बस्दा छलफलहरु पार्टी कमिटीमै हुन्थे । त्यो गुनासो भनेको एउटा अध्यक्षमाथि वा प्रधानमन्त्रीमाथि मात्र होइन । प्रधानमन्त्रीले उद्घाटनकै दिन विस्तृतमा आफ्नो धारणा राखिसक्नुभएको छ ।

प्रधानमन्त्रीले पार्टी एकता, सरकार सञ्चालन लगायतका सबै विषयमा प्रष्ट पारेपछि उहाँमाथि कुनै आरोप लगाउनुपर्ने अवस्था छैन । प्रधानमन्त्रीको धारणाकै पक्षपोषण गर्दै यो बैठक टुंगिन्छ भन्ने मलाई लाग्छ ।

तर, प्रधानमन्त्री केपी ओली त पार्टीभित्र संख्यात्मक रुपमा अल्पमतमा परिसक्नुभएको छ, पूर्वएमालेको एउटा समूहले प्रचण्डलाई साथ दिएपछि ओलीकै धारणा पास हुन्छ भन्न सकिन्छ र ?

पहिलो कुरा त दुवै अध्यक्षको साझा धारणा छ मुख्य विषयमा । राजनीतिक प्रतिवेदन दुवै अध्यक्षले संयुक्त रुपमा पेश गर्नुभएको छ । अल्पमत बहुमतको मतदान पनि भएको छैन । सारमा मैले केपी ओलीको विकल्प खोज्नु भनेकोचाहिँ मुलुकको समृद्धिको नारालाई छाड्नु हो भन्छु ।

केपी ओलीको नेतृत्वको सरकारले जुन दीर्घकालीन महत्वका काम गरिरहेको छ, त्यो कामको जस भविश्यमा ओलीको पोल्टामा जान्छ भन्ने डर केही मान्छेमा छ । केही मान्छेलाई अत्यास नै लागेको छ । केपी ओली अल्पमतमा भन्ने कुरै होइन । ओलीको विचार कुनै बेला अत्यन्त अल्पमतमा थियो । तर, कालान्तरमा उहाँकै विचारले जित्यो ।

जनताको बहुदलीय जनवादको बिचार ल्याउने बेला जननेता मदन भण्डारीलाई केपी ओलीको मुख्य समर्थन रहृयो, त्यो बेला पनि झण्डै अल्पमतमै परेको हो । तर, राम्रो विचार अल्पमत र बहुमतमा पर्ने कुराको महत्व हुन्न । यतिबेला केपी ओलीको विकल्प खोज्नु भनेको पार्टी एकता भत्काउनु हो ।

यो पनि पढ्नुहोस नेकपामा भैंसेपाटीको असर : अल्पमतमा पर्‍यो ओली समूह !

महाधिवेशनको मिति नै घोषणा भइसकेकेा अवस्थामा अब नेकपाभित्र धु्रवीकरण त हुन्छ, त्यतिबेला केपी ओली बाहेक अन्य नेताहरु एकजुट हुने सम्भावना चाहिँ यो बैठकबाट पनि देखियो भन्न सकिन्छ ?

विचारको प्रश्न हो सबैभन्दा ठूलो कुरा । विचारको सवालमा अहिले नेकपाले कस्तो बिचार लिने भन्ने कुरामा केपी ओली प्रष्ट हुनुहुन्छ । कम्युनिस्ट पार्टीभित्रको लोकतान्त्रिकरणको कुरा, कम्युनिस्ट पार्टीको नेतृत्व निर्माणको कुरा, बिचार निर्माणका कुरा भनेको जनताको बहुदलीय जनवाद नै हो ।

जनताको बहुदलीय जनवाद नाम भन्न नसकेपछि त्यसको सार नबोकी हामी कसैलाई सुख छैन । हामीले देखिसक्यौं नि, हिंसा ठीक रहनेछ भनेर बहुदलीय जनवादकै ठाउँमा आइपुगियो नि । हो, केपी ओलीको विचार त्यही हो, त्यो विचार नेकपामा अल्पमतमा पर्दैन ।

भनेपछि, केपी ओली पक्षले महाधिवेशनमा जबजको विचार फेरि लिएर जान्छ ?

फेरि लैजाने भन्ने कुरै होइन । जनताको बहुदलीय जनवाद छाडेकै छैन । जबज छाडेर नेपालको कम्युनिस्ट आन्दोलन अगाडि जान सक्छ र ? सक्ने भए, हाम्रो श्रद्धेय अध्यक्ष कमरेड पुष्पकमल दाहाल यो ठाउँमा आउनुहुन्थ्यो र ? त्यसैले जबज छाडेकै होइन ।

अहिले त जबज छाडेकै छ नि होइन र नेकपाले ?

जनताको जनवाद भनेको छ, मुलतः त्यसको सार भनेको जनताको बहुदलीय जनवादकै हो । नाममात्र नयाँ राखिएको हो । पन्ना एउटै राखेको, बाहिर कभर फरक राखेको न हो । त्यसैले कसैले केपी ओलीलाई कमजोर बनाउँछु भन्ने नसोचे हुन्छ ।

सरकारको आलोचना हुनु भनेको पनि त प्रधानमन्त्रीकै हो नि ?

त्यस्तो आलोचना छैन । आलोचना आएका पनि कस्ता छन् भने एमसीसीको कुरा उठेको छ । एमसीसी एजेण्डामा छ कि छैन, मलाई थाहा छैन । एमसीसी पारित गर्ने-नगर्ने भन्ने बैठकको एजेण्डामा त छैन, त्यो त सरकारको नियमित प्रक्रियाको कुरा हो । हामीले अमेरिकी सहयोग आउँदा शशंकित हुनुपर्ने, चीनको सहयोग आउँदा शशंकित हुनुपर्ने त्यो जरुरी नै छैन । कुनै देशको सहयोग आउँदा हामी आत्तिने कुराले राम्रो गर्दैन । एडीबी, वल्र्ड बैंकको सहयोग पनि हामीले शर्तसहित नै स्वीकार गरेका छौं । चीनको पनि त्यही हो, उनीहरुको ठेक्का प्रणाली छ ।

एमसीसी इण्डो प्यासिफिकमा जोडिएको छैन भन्ने हामीले पनि हेर्‍यौं । मूलकपी नहेर्ने अनि फलानाले भन्नुभएको, त्यही होला भन्दै कुदेर हिँड्ने प्रवृत्ति ठीक होइन । हिजो छलफलमा यस्ताखालका प्रवृत्ति पनि देखिए ।

मोही माग्ने ढुंग्रो लुकाउने प्रवृत्ति त्यागौं भन्ने मेरो आग्रह हो । उहाँले हुँदैन भनेपछि मैले पनि हुँदैन भनेँ भन्ने ढंगको बुझाइले हामीलाई फाइदा गर्दैन । बुझेर, पढेर मात्र धारणा राखौं ।

भीम रावलले पनि पढ्नुभएन त ?

भीम रावलले पढ्नुभएन भन्न चाहान्न । उहाँ पढ्ने मान्छे हो । कुनै आग्रह पूर्वाग्रहले पनि काम गरेको हुन सक्छ । कुनै समय सपथग्रहण नै नगरी पार्टीमा बस्ने मान्छे पनि हो उहाँ । कहिले यो मन्त्री खान्न भन्नुहुन्छ ।

भीम रावल बिद्धान नेता हो । हाम्रो पार्टीको आदरणीय नेता हो । उहाँका बारेमा म केही टिप्पणी गर्न चाहान्न । उहाँ आफ्ना कुरा गर्नुहुन्छ । एमसीसी पास हुन्छ सदनबाट । यसमा अरु बहस नगरौं । क्रान्तिकारी लफ्फाजी देखाएर कहीँ पनि पुगिन्न ।

तपाई प्रदेशको अर्थमन्त्री पनि हुनुहन्छ, तीनै तहका सरकारले काम गर्न सकेनन्, भ्रष्टाचार रोकिएन भन्ने आलोचना त बैठकमा भएको हो नि ?

यसभन्दा अगाडिका सरकारले सयका सय काम गरेको थिए भने आलोचना गर्दा हुन्छ । होइन भने केन्द्र सरकारको कुरा प्रधानमन्त्रीले बताइसक्नुभयो, देखिएकै छ । दीर्घकालीन महत्वका काम शुरु भएका छन् ।

प्रदेश सरकारको कामको कुरा गर्नुहुन्छ भने, म तपाईलाई हाम्रै प्रदेशको एउटा सानो उदाहरण दिन्छु । यसलाई हाइलाइट चाहिँ नगर्नुहोला, काम सानै हो । मान्छेलाई बोक्ने एम्बुलेन्स त छँदैछन् तर पशुपन्छी बिरामी भए भने तिनलाई अस्पताल लैजाने पशु एम्बुलेन्स दशवटा जति ल्यायौं । प्रदेशले २ वर्षको अवधिमा के गर्‍यो ? यसमा वस्तुनिष्ट समीक्षा गरौं ।

दुई वर्षको छोटो अवधिमा प्रदेश सरकारबाट के-के उथल-पुथलको अपेक्षा गरिएको हो ? हाम्रै वागमति प्रदेशको कुरा गर्नुहुन्छ भने प्रदेशभित्रको चक्रपथ निर्माण शुरु भएको छ । विश्वविद्यालयको स्थापना भयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरु गर्‍यो । १० वर्षभित्र डिजेल पेट्रोल गाडी विस्थापित गर्ने योजना अघि बढायो । कृषि क्षेत्रलाई ब्यापक औद्योगिकीकरण र चक्लाबन्दीको काम शुरु गरेका छौं । प्रदेशभित्रका स्थानीय तहका केन्द्रसम्म जाने सडक कालोपत्रे गर्ने बजेट हालिएको छ । प्रदेशका सबै जिल्लामा एउटा रंगशाला र कवर्ड हल बन्न थालेका छन् । हरेक स्कूलमा नर्सको व्यवस्थापन गर्ने, हरेक जिल्लामा चिस्यान केन्द्र बन्न थालेका छन् । काम त बल्ल हुन थालेका छन् नि ।

प्रदेश सरकारलाई काम गर्ने क्रममा संघीय सरकारले अधिकार नै दिन चाहेन, संघीयताको मर्म नै बुझेन भन्ने गुनासो पनि आइरहेका छन्, तपाईहरुले काम गर्ने क्रममा महशुस गरेको पनि त्यस्तै हो ?

हामीले चाहिँ त्यस्तो महसुस गरेका पनि छैनौं र गुनासो पनि गरेका छैनौं । हामीलाई शुरुमा कानुनहरुको समस्या थियो । यसबीचमा हामीले ५० वटा कानुन बनाएका छौं । कर्मचारीको ‘ओएनम’ गर्न बाँकी छ । पहिले त कर्मचारी समायोजनले नै समस्या ल्यायो । सचिवहरुको व्यवस्थापन पनि अहिले संघीय सरकारले राम्रो गरिदियो । जो सचिव हुने लाइनका सहसचिव छन् उनीहरुले प्रदेशको सचिव भएर बस्नै पर्ने व्यवस्था गरिदियो । त्यसैले अब कुनै समस्या होला जस्तो मलाई लाग्दैन ।

हामीले जनतालाई सरकारी सेवा दिनका लागि अझै कर्मचारी आवश्यक परेकाले केही दिनभित्र ओएनएम गरिसक्छौं । पुर्वाधारको विकासमा बजेट राम्रै ढंगले गएको छ । कर्मचारी शुरुमा अभाव भएकाले समयमै बजेट खर्च हुन सकेन ।

अब चाहिँ कर्मचारीको समस्या नहोला । अहिले संविधानले दिएको अधिकार साझा अधिकार र एकल अधिकारको प्रयोग हामीले गर्छौं । शुरुमा हामीले भनेजस्तो सपथ नखाएपनि अहिले पाएका छौं । अधिकारक्षेत्रमा कतै संघीय सरकारले अप्ठेरो पार्‍यो कि भन्ने छ, मलाई चाहिँ त्यस्तो लाग्दैन ।

तीनवटै सरकार तीनवटा डुंगामा छन् । तीनवटै डुंगा सँगै जाने हो । हाम्रो संघीयता भनेको समन्वयकारी हो, तीनवटै डुंगा ठोक्किनुचाहिँ हुँदैन । तर, नजिक नजिक लानुपर्छ । एक अर्काको डुंगामा डोरी बाँधिएको छ ।

उदाहरणका लागि रामेछापको धावा लामाले नेतृत्व गरेको स्थानीय तहको डुंगा, कैलाश ढुंगेलले नेतृत्व गरेको प्रदेशको डुंगा र केपी ओलीले नेतृत्व गरेको डुंगा कोशीमा हेलिएको छ । तीनवटै डुंगा सँगै जानुपर्छ । तर, ठोक्किनु हुँदैन ।

तर, कुनै-कुनै प्रदेशका मुख्यमन्त्रीहरु केन्द्रले काम गर्नै दिएन भन्ने गुनासो पनि त गरिरहेका छन् नि ?

यो संविधान अहिले जुन आएको छ,नेपालको इतिहासमा यो भन्दा अधिकारसम्पन्न संविधाननै थिएन । भारतकै संघीयता र हाम्रो हेर्ने हो भन यो धेरै माथि छ । हामीकहाँ जति दिए पनि पुगेन भन्ने एक किसिमको भावना छ । त्यही प्रकट भएको हुन सक्छ । काम गर्न नसकेपछि माथिबाट अवरोध भयो भन्ने पनि होला । कतिपय मान्छेले नाँच्न नजानेपछि आँगन टेढो भन्छन् । मलाई चाहिँ आँगन टेढो जस्तो लाग्दैन ।

प्रदेश २ ले मुद्दा लडेर वन परियोजना लियो, तपाईहरुले चाहिँ संघ सरकारबाट कतिपय आयोजना प्रदेशका खोसिए भन्ने महशुस गर्नुभएको छैन ?

हामीसँग यस्ता धेरै परियोजनाहरु छन्, जसले हामीलाई नै भारी भइरहेको छ । हामीलाई कामको खाँचो छैन । यो प्रदेशभित्र केन्द्रीय राजधानी पनि छ । सबैभन्दा ठूलो जनसंख्याको हिस्सा यसमा बस्छ । नेपालभित्रका कृषि उजहरुको सबैभन्दा बढी खपत हुने बजार यहाँ छ । बजारको दुःख नभएको प्रदेश हो ।

प्रदेश सरकारले गर्ने काम गरिरहेको छ र यसमा हामीलाई संघबाट कुनै समस्या पनि छैन । हामी ४८ अर्बको बजेट परिचालन गर्दैछौं । पूर्वाधार, कृषि, पर्यटनका क्षेत्रमा राम्रो परिणाम दिन सक्छौं ।

पूर्वाधार भन्नेवित्तिकै सडककै कुरा आउँछ, तपाईले दिने बजेट गाउँका पाखा खनेर प्राकृतिक विपत्ति निम्त्याउन खर्च भइरहेको छ, यसलाई व्यवस्थित गरेर रणनीतिक सडक बनाउनुपर्ने होइन र ?

तपाईले भनेको ठीक हो र प्रदेश सरकारले नीति पनि बनाएको छ । तर, भुकम्पले हाम्रा पुराना संरचना सबै सकिए । यो प्रदेश भूकम्पका कारण सबैभन्दा पीडित भयो । हाम्रा पुर्खाले बनाएका घरका संरचना अब छैनन् । नयाँ बनाउनेक्रममा ढुंगा माटोको ठाउँमा सिमेन्ट,गिटी बालुवा प्रयोग हुन थाल्यो ।

ती निर्माण सामाग्री घर बनाउने ठाउँसम्म लैजान पनि मान्छेले सडक खोजे । भौतिक पुर्वाधार हुँदै नभएका जिल्लामा बाटो बनाएँ भनेर भोट ल्याउनुपर्ने जनमत पनि छ । अलि बढी भयो भन्ने लागेको छ, यसलाई केही न केही व्यस्थित त गर्नैपर्छ । भौतिक पूर्वाधारको सवालवमा नयाँ भएकाले अलि बढी सडकमा बजेट गएको हो । त्यसको सदुपयोग हुने र प्राकृतिक विपत्ति ल्याउन नदिने गरी प्राविधिक सर्बे गराउनुपर्छ ।

प्रदेशको बजेटचाहिँ अर्थमन्त्रीले रामेछाप केन्द्रित गरेको गुनासो प्रदेश सांसदहरुको आएको छ नि ?

बजेट किताब सार्वजनिक छ । हामीले के भन्यौं भने, सबैभन्दा तल परेकोलाई माथि ल्याउने भनेर घोषणापत्रमै राख्यौं । प्रदेशभित्र फोकस गर्दै जाँदा गाडी कम पुगेको, पूर्वाधार कम भएको, कमजोर भएको ठाउँलाई प्राथमिकता दिने भनियो । बजेट बनाउँदा त्यो कमजोर भएको जिल्ला रामेछाप देखियो । नक्सा आएपछि मैले रंग त लगाउनैपर्‍यो ।

त्यसैले रामेछाप रसुवा, सिन्धुली यी जिल्लालाई बढी प्राथमिकता दिइएको हो । काठमाडौंमा त पिच बाटो छ, रामेछापमा चाहिएन ? रामेछापमा कलेज बनायो भनेर काठमाडौंका जनप्रतिनिधि रिसाउनुहुँदैन । त्यसैले रामेछापमा पूर्वाधारको विकासमा बढी फोकस गरेकै हो ।

दुईटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्, त्यहाँ सडक पूर्वाधारमा ध्यान दिएको हो । खिम्ती खोलाको गालातिर भन्दा लिखु क्षेत्र पछि परेको देखेपछि मैले धोबिबाट सैपु दुरागाउँ,भुजी,प्रिति हुँदै बाम्ति गुम्देल जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखेर बजेट दिँदैछौं । त्यस्तै लिखु कोरिडोर भनेर कोलन्जोर घाटाबाट ढाँडेबेसी लैजादैछौं । पर्यटकीय केन्द्र शैलुङसम्म खैरेनीघाटबाटको बाटो लैजानैपर्ने भयो । शैलुङको गेटवे खैरेनीघाट हुनेभयो । हामीले डहुबेसी देखि दोरम्बासम्मको सडक बनाउनैपर्ने छ । त्यसैले रामेछाप केन्द्रित भयो भन्न मिलेन ।

यसका साथै हामीले प्रदेशमा पर्यटन विकासमा फोकस गरेका छौं । दोलखापछि रामेछाप पनि पर्यटकीय केन्द्र बनोस भनेर जटापोखरीमा केबलकार हाल्दैछौं । तामेडाँडामा पनि अध्ययन हुँदैछ । कृषि र पर्यटन हाम्रो प्राथमिकता हो । प्रदेश सरकार बनेपछि जनताले महशुस हुने गरि काम नगर्ने हो भने किन चाहियो संघीयता भन्ने प्रश्न उठ्छ । त्यसैले रामेछापमात्र होइन, समग्र प्रदेशको विकासको गति अब बढछ  ।



source https://www.onlinekhabar.com/2020/02/832912

अक्षय स्टारर ‘सूर्यवंशी’मा ज्याकी श्राफको इन्ट्री

काठमाडौं । अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’ छायांकनको अन्तिम चरणमा छ । पुलिस अफिसरको कथामा बनेको यस चलचित्रलाई रोहित सेट्ठीले निर्देशन गरिरेहका छन् । चलचित्र एक्सनप्रधान बन्नेछ ।

चलचित्रको मुख्य नायिकाको रुपमा कटि्रना कैफ देखिँदैछिन् । साथै यस चलचित्र ‘सिंघम’ स्टार अजय देवगण र ‘सिंम्बा’ स्टार रणवीर सिंहलाई पनि देख्न सकिनेछ । उनीहरुलाई चलचित्रको क्लाइमेक्समा देखाइएको निर्देशक सेट्ठीले बताएका छन् ।

यस्तैमा चलचित्रमा भेट्रान अभिनेता ज्याकी श्राफको प्रवेश भएको छ । २ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका ज्याकीलाई यस चलचित्रमा अतिथी कलाकारको रुपमा देख्न पाइने छ । निर्माण पक्षले एक तस्वीर सार्वजनिक गर्दै हाल ज्याकीको पार्टको छायांकन चलिरहेको जानकारी दिएको छ ।

‘सूर्यवंशी’ यस वर्षको प्रतिक्षित चलचित्र हो । ‘सिंघम’ र ‘सिंम्बा’ जस्ता सफल चलचित्रको सिरिज चलचित्र भएका कारण पनि यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । त्योमाथि मसलेदार चलचित्र निर्माणमा खप्पिस निर्देशक रोहितको चलचित्र भएका कारण पनि यस चलचित्रलाई दर्शकले कुरिरहेका छन् ।

यस चलचित्रले मार्चको २७ तारिखलाई आफ्नो रिलिज मिति तय गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/832896

सरकारले थाल्यो दुर्घटनाग्रस्त क्षेत्र र सडकको अध्ययन

१८ माघ, काठमाडौं । सरकारले दुर्घटनाग्रस्त सडक र क्षेत्रहरुको अवस्था सुधार गर्न अध्ययन थालेको छ । सडकको दुरावस्थाका कारण हुने दुर्घटना कम गर्न सरकारले अध्ययन सुरु गरेको हो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार ठूला दुर्घटना भइरहेका राजमार्ग र दुर्घटनास्थलमा ट्राफिक प्रहरी र विज्ञसहितको टोलीले अध्ययन सुरु गरेको छ ।

‘सिन्धुपाल्चोकका दुर्घटनाग्रस्त क्षेत्रबाट हामीले अध्ययन थालेका छौं,’ उनले भने, ‘अब बीपी राजमार्ग र पूर्वपश्चिम राजमार्गका विभिन्न स्थलहरुको पनि अध्ययन गरेर दुर्घटना कम गर्ने उपाय खोज्छौं ।’

यो कामका लागि उपमहानिर्देशक सापकोटाको नेतृत्वमा टोली खटिएको छ । टोलीले काभ्रे, सिन्धुली, सुनसरी, धादिङलगायतका क्षेत्रका सडकको अवस्था हेरेर सुधारका लागि गर्नुपर्ने कामबारे सिफारिस गर्नेेछ ।

गत मंसिर २९ गते सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सहभागी बैठकमा प्रधानमन्त्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएपछि सरकारले सुरुवाती कदमहरु चाल्न सुरु गरेको हो ।

सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भन्दै प्रधानमन्त्री ओलीले चालकहरुलाई तालिम, लाइसेन्सको पुनःपरीक्षण, सडक पूर्वाधारको सुधार र प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न भनेका थिए । हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।

अहिले सरकारले दुर्घटना घटाउन विभिन्न उपायको खोजी भइरहेको बताएको छ । यातायात व्यवस्था विभागले चालकको अन्त ध्यान मोड्ने खालका ट्रक साहित्यलगायतका सामाग्री हटाउन निर्देशन जारी गरिसकेको छ ।

सवारी चालकलाई सहज हुने गरी सडक पूर्वाधारहरु सुधार गरेपछि दुर्घटनामा कमी आउने सडक विभागको विश्वास छ ।

यो पनि पढ्नुहोस दुर्घटना निम्त्याएको भन्दै ‘ट्रकसाहित्य’मा रोक

उपचार खोजौं : विज्ञ

दैनिकजसो हुने दुर्घटना र त्यसमा मृत्यु हुनेहरुको संख्या पनि उल्लेख्य छ । देशभरमा हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

तर सरकार र सरोकारवाला निकायले भने हरेक सवारी दुर्घटनालाई भवितव्यका रुपमा मात्रै व्याख्या गर्दै आएका छन् । सडक सुरक्षाबारे हेर्ने छुट्टै नियमनकारी निकाय स्थापना गर्ने विषय उठेको वर्षौं बित्यो ।

तीव्र गतिमा गाडी चलाउनु, चालकले मादक पदार्थ सेवन गर्नु, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको दुरावस्थाका कारण दुर्घटना हुने गरेका छन् ।

चालकलाई जिम्मेवार बनाउने, सडक पूर्वाधारमा सुधार गर्ने, सवारी साधनको उच्च प्राविधिक अवस्थाको वैज्ञानिक जाँच गर्ने, चालक, यात्रु र नियामक निकायद्वारा कानुनको परिपालना गराउनेलगायतका विषयमा जोड नदिएसम्म सडकमा जोखिम नघट्ने बताउँछन् विज्ञहरु । सरकारले आपतकालीन उद्धार, उपचार र पुनःस्थापनामा पनि ध्यान दिएर नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सडक सुरक्षा विज्ञ पदमबहादुर शाही सडकलाई सुरक्षित बनाउन सरकारको ध्यान नपुगेको बताउँछन् । उनकाअनुसार सातै प्रदेशमा भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने सरकारी नीति अधुरै छाड्दा त्यसको असर सडकमा देखिने गरेको छ । यस्ता सेन्टरमा नियमित रुपमा सवारीको यान्त्रिक तथा भौतिक अवस्था निरीक्षण गरेर पास भएकालाई मात्रै सडकमा गुड्न अनुमति दिने सरकारी नीति कागजमै सीमित छ ।

ओभरलोड रोक्ने गरी कडा कानूनी व्यवस्था छैन भने तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई आधुनिक र व्यवहारिक साधन र प्रणाली उपलब्ध गराइएको छैन ।

ग्रामीण सडकमा दुर्घटनाको जोखिम अझै उच्च छ । ग्रामीण सडक पूर्वाधारको अवस्था दयनीय भएकाले ठूला दुर्घटनाको भय हुने गरेको छ ।

देशभर करिब १ लाख किलोमिटर सडक सञ्जाल छ । तीमध्ये अधिकांश धुले सडक हुन् । १५ हजार किलोमिटरको राष्ट्रिय राजमार्गमध्ये पनि धेरै खण्ड अझै कालोपत्रे भएको छैन । सडकहरु बनाउन केन्द्रित संघ, प्रदेश र स्थानीय सरकारहरुले सुरक्षामा भने खासै ध्यान दिएका छैनन् । राष्ट्रिय राजमार्गमा सवारी सुरक्षाका लागि ‘क्र्यास ब्यारियर’ राखिए पनि यो सबै ठाउँमा पुगेको छैन ।



source https://www.onlinekhabar.com/2020/02/832907

साराको स्पष्टीकरण- कार्तिक र म प्रेममा छैनौँ

काठमाडौं । नायक कार्तिक आर्यन र नायिका सारा अलि खानलाई लिएर धेरै गसिपहरु बन्ने गरेका छन् । उनीहरु एक-अर्काको प्रेममा रहेका समाचारहरु पनि बाहिरिएका थिए । उनीहरुले चलचित्र ‘लभ आजकल’मा एकसाथ काम गरेपछि उनीहरुको प्रेम चर्चा सुरु भएको हो ।

तर, नायिका साराले उक्त कुरालाई अस्विकार गरेकी छन् । कार्तिक र आफू प्रेममा नभएको उनले मिडियामा बताएकी छिन् । उनले भनेकी छन्, ‘कार्तिक र म चलचित्रमा डेट गरेका छौँ । तर, रियल लाइफमा हामी साथी मात्रै हौँ । हामीहरु बीच प्रेम भएको छैन ।’

साराले करिअरको सुरुवाती दिनदेखि नै आफूलाई कार्तिक निकै मन पर्ने र ऊसँग डेट गर्ने मन भएको बताउँदै आएकी थिइन् । सोही कुरा चलचित्र लभ आजकलको छायांकनमा देखियो । उनीहरुलाई धेरै पटक एकसाथ देखिएको थियो । कार्तिक सारालाई छोड्न एअरपोर्टसम्म पनि पुगेका थिए ।

तर, केही समय अगाडि उनीहरुबीच विवाद सृजना भएको थियो । जसको कारण उनीहरु एक-अर्कासँग टाढिए । कार्तिक सारासँगको प्रेमको विषयमा बोल्न नै चाहार्दैनन् ।

सारासँग नाम जोडिनुपूर्व नायिका आनन्या पाण्डेको प्रेममा थिए कार्तिक । अहिले सारासँगको विवादपछि कार्तिक आनन्यासँग नै नजिक भएका छन् ।



source https://www.onlinekhabar.com/2020/02/832906

एकै परिवारका ६ जना सैनिक सेवामा

१८ माघ, काठमाडौं । गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्यांक जानकारीमा आएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको शुरुआत गरे । भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा रु १० हजार नगद र कदरपत्र प्रदान गरियो ।

सैनिक कल्याणकारी निर्देशनालयका अनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ । प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप रु १० हजार र कदरपत्र प्रदान गरिनेछ ।

सेनामा चार–चार जना छोरा भर्ति भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपू सैनिक सम्मेलनमा सेनाबाट सम्मानित भए ।

अटल विश्वास

उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ- नेपाली सेनामार्फत राष्ट्र र नागरिक सुरक्षा, राष्ट्र निर्माण, प्रकृति संरक्षण, विपद् व्यवस्थापन, विश्व शान्तिजस्ता विशिष्ट सेवामा समर्पित हुन आफ्ना सन्तानलाई प्रेरणा प्रदान गरी सेनाप्रतिको अटल विश्वास, आस्था र सद्भावका लागि पुर्याएको योगदान उच्च मूल्याङ्कन गरिएको छ ।

पाँच सैनिककी आमा वीरेन्द्र नगरपालिकाका कलादेवी सिँजापतिलाई पनि प्रधानसेनापतिले सोही समारोहमा नगद पुरस्कार र कदरपत्र प्रदान गरे । मुलुकमा भूतपूर्व सैनिक र एकल महिलाको सङ्ख्या करीब ७० हजार छ । सम्मेलनका क्रममा तत्क्षेत्रमा तैनाथ सैनिक गणद्वारा प्रस्तुत हुने झाँकीसहितको गीत सङ्गीत र नृत्य मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा योगदान पुग्दै आएको छ ।

तेघरी व्यारेक धनगढीमा आयोजना हुने सम्मेलनमा चार–चार जना सन्तान सैनिक सेवा रहने अभिभावक हरिसिंह रावत (बैतडी), दत्तराम ओड (डडेल्धुरा) हरिनादेवी भण्डारी (बैतडी) धर्मादेवी ऐर (डडेल्धुरा) ममतादेवी चैसिर (दार्चुला) र रवीलाल पौडेल (बर्दिया)लाई सेनाले सम्मान गर्दैछ ।

छ सैनिकका मातापिता को हुन्त् !

डोटी, भूमिराजमाडौं–९ का प्रेमराज र बासुली जैसीका पाँच छोरा र एक छोरी नेपाली सेनामा कार्यरत छन् । जैसीदम्पतीका छोरा टीकाराम, धर्मराज, छविलाल, भोजराज र हरिश तथा छोरी सरिताकुमारीले सेनाको सङ्गठनमा रही देशको सेवा गरेका छन् । इमामनगर व्यारेक नेपालगञ्जमा हुने कार्यक्रममा चार सैनिकका पिता बर्दिया बाँसगढी नपा–८ रविलाल पौडेल पनि नेपाली सेनाबाट सम्मानित हुनेछन् ।

सम्मेलनका क्रममा भूपू सैनिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका उत्कृष्ट व्यवसायीलाई पुरस्कार, नयाँ उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा, ज्येष्ठ भूपू र एकल महिलालाई सम्मान तथा अशक्तलाई ह्वीलचियर प्रदान गर्दै आएको छ ।

नवलपरासीकी ७३ वर्षीया चुमादेवी जिसीका छोरा तिलक, चित्र, रामचन्द्र, रामबहादुर, राजेन्द्र र प्रवीणले सैनिक सेवाबाटै राष्ट्र र जनताको सेवा पुर्याए । उनीहरुकी आमा चुमादेवीलाई सेनाले फागुन १४ गते बुटवलमा आयोजना हुने सम्मेलनमा सम्मान प्रदान गर्ने कार्यक्रम छ । पाल्पा तिनाउ–६ का ८५ वर्षीय कुलबहादुर सारुका चार जना छोरा पनि सैनिक सेवामै छन् ।

‘चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध’

सम्मेलनका क्रममा प्रधानसेनापति थापाले गौरवशाली इतिहास र परम्परा बोकेको नेपाली सेनामा प्रवेशका लागि सन्तानलाई अभिप्रेरित गर्न भूतपूर्व सैनिकलाई आह्वान गरे । सम्मेलनमा सैनिकले नेतृत्वसँग आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्ने प्रयास हुँदै आएको छ ।

भूतपूर्व सैनिक सम्मेलन यस वर्ष अब धनगढी, बुटवल, नेपालगञ्ज, तनहुँ (खैरेनीटार) र पोखरामा हुँदैछ । दाङ र सुर्खेतमा भने यही माघ १२ र १३ गते सम्पन्न भइसकेको छ । नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनका क्रममा प्राप्त सुझावका आधारमा बहालवाला तथा भूपूका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीपमुलुक कार्यक्रम विस्तार गर्दै आएको छ ।

भूपू सैनिकलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भने, ‘हामी सबैलाई सदा चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध र एकीकृत रहन प्रेरणा मिलोस् ।’



source https://www.onlinekhabar.com/2020/02/832904

कैलालीमा मोटरसाइकल चालक मृत भेटिए

१८ माघ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरामा एकजना मोटरसाइकल चालक मृत फेला परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गुलरा सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकलसँगै लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी मृत फेला परेका हुन् ।

चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए ।

चौधरीको मृत्यु भएको खबर पाएलगत्तै उनका आफन्तहरुले शनिबार बिहान करिब ३ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् ।

चुहामा व्यापार गर्दै आएको चौधरी लम्कीबाट घर जाने क्रममा शुक्रबार राति करिब १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

ट्रकसँग जुध्दा ट्याक्टर चालकको मृत्यु

यसैबीच वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सुब्बा कुनामा ट्रक र ट्याक्टर जुध्दा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भे १ त ७५८९ नम्बरको ट्याक्टरका चालक वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

सो ट्याक्टरलाई वीरेन्द्रनगर नगरपालिका-११ स्थित गंगा पेट्रोलपम्प नजिक लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका ट्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका-२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका-१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/832903

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

१८ माघ, सिन्धुली । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-७ मा प्रदेश नं. २ को ०२-००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर-२ घर भई हाल छिरेश्वर नगरपालिका-६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुत र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ता छन् । दुवैको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।

शनिबार बिहान सिन्धुलीबाट भिमानतर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर मोटरसाइकल दुर्घटना भएको थियो ।



source https://www.onlinekhabar.com/2020/02/832902

स्कुले विद्यार्थीले बनाए बलात्कारबाट जोगिने ‘एन्टी रेप सिस्टम’

१८ माघ, बुटवल । बुटवलको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले बलात्कार र अपहरणबाट बचाउन सक्ने उपकरण बनाएका छन् । कालिका मानव ज्ञान माविमा कक्षा १२ मा अध्ययनरत पाँचजना विद्यार्थीको समूहले ‘एन्टी रेप सिस्टम’ आविस्कार गरेका हुन् ।

कम्प्युटर विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु सुरज बस्याल, निश्चल न्यौपाने, साजन पौडेल, रितेश काफ्ले र शिशिर तिमिल्सिनाको समूहले ‘एन्टी रेप सिस्टम’ बनाएको हो । पाठ्यक्रममा आधारित भएर स्कुले विद्यार्थीले गरेको यो आविश्कार नेपालमै पहिलो भएको दाबी गरिएको छ ।

कसरी काम गर्छ ?

बलात्कार वा अपहरणबाट जोगिन चाहनेले विशेष प्रकारको घडी लगाउनुपर्ने हुन्छ । ‘एन्टी रेप सिस्टम’ मा एउटा घडी र सर्भर बक्सको कनेक्सन प्रोग्रामिङ गरिएको छ । घडीमा जीपीएस ट्रयाकर र  रेडियो ट्रान्समिटर  जडान गरिएको हुन्छ । सर्भर बक्स प्रहरी चौकीमा राखिन्छ । सर्भर बक्समा जिसिएम मोड्युल प्रणाली हुन्छ । जसले प्रहरी, घर परिवार र आफन्तलाई म्यासेज र फोन मार्फत सन्देश दिने काम गर्छ ।

घडी लगाएको महिला वा जो कोही कसैबाट असुरक्षित भएको अवस्थामा घडीमा रहेको एउटा बटन थिच्नुपर्छ । बटन थिच्नेबित्तिकै खतराको सन्देश सर्भर बक्समा बज्न थाल्छ र प्रहरीले थाहा पाउँछ । ‘घडीमा जीपीएस ट्रयाकर प्रणाली जडान गरिएकाले असुरक्षित व्यक्ति कहाँ छ भन्ने लोकेसन सर्भर बक्सले देखाउँछ र तत्कालै उद्धार गर्न सकिन्छ,’ एन्टी रेप सिस्टम बनाउने टोलीका एक सदस्य सुरज बस्यालले भने, ‘घडीभित्र रहेको रेडियो ट्रान्समिटरले सर्भर बक्समा सन्देश पठाउने काम गर्छ ।’

सर्भर बक्सभित्र रेडियो रिसिभर जडान हुन्छ त्यसले घडीबाट आएको सन्देश लिने काम गर्छ । घडीमा बटन थिच्नासाथ सर्भर बक्समा खतराको घण्टी पनि बज्छ ।

‘जुनसुकै डिजिटल घडीमा यो सिस्टम जडान गर्न सकिन्छ’

‘करिब एक महिनासम्म पाँच जना साथी मिलेर अनुसन्धान र खोज गरेपछि एन्टी रेप सिस्टम आविश्कार गर्न सफल भएका हौं,’ टोलीका सदस्य निश्चल न्यौपानेले भने, ‘बजारमा पाइने जुनसुकै डिजिटल घडीमा ‘एन्टी रेप सिस्टम’ जडान गर्न सकिन्छ ।’

बढीमा पन्ध्र सय रुपैयाँ खर्चमा ‘एन्टी रेप सिस्टम’ जडान गरेर जीवनलाई सुरक्षित बनाउन सकिने अर्का विद्यार्थी शिशिर तिमिल्सिनाले बताए ।

‘एन्टी रेप सिस्टम’ बनाउन हार्डवेयर र सफ्टवेयरमा गरी ५० हजार बढी खर्च लागेको र यसमा विद्यालयले सहयोग गरेको विद्यालयका कम्प्युटर विज्ञान शिक्षक अरविन्द दुबेले बताए । प्रहरी चौकीमा राखिने सर्भर बक्सलाई अत्याधुनिक र अन्तराष्ट्रिय मापदण्डको बनाउन करिब एक लाख रुपैयाँ लागत लाग्न सक्ने शिक्षक दुबेको अनुमान छ ।

दुबेले भने, ‘यो मोडेल र डेमो मात्र हो, अब यसलाई थप विकास गरी व्यवहारमा कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारको ध्यान जानुपर्छ ।’

समाजमा एउटा जटिल समस्याको रुपमा रहेको बलात्कार र अपहरणलाई रोक्न सहयोगी हुन सक्ने विद्यार्थीको यो आविश्कारलाई प्रहरी प्रशासनले पनि अवलोकन गरेर कार्यान्यनमा ल्याउन सरकारलाई सुझाव दिनुपर्ने उनको आग्रह छ ।

कृषि कर्ममा काम गर्ने एग्रोबोट पनि निर्माण

‘एन्टी रेप सिस्टम’ बनाएका कालिका मानव ज्ञान माविका यिनै विद्यार्थीहरुले कृषि कर्ममा प्रयोग हुने एग्रोबोट पनि बनाएका छन् । एग्रोबोटले रोबोटले जस्तै स्वचालित भएर खेतबारीमा काम गर्न सक्छ । २५ हजार रुपैयाँ खर्च गरेर तयार पारिएको एग्रोबोटले खेतबारी जोत्ने, सम्याउने, सिंचाइ गर्ने, बाली काट्ने आदि काम गर्ने विद्यार्थी साजन पौडेल बताउँछन् । ‘यसले माटोमा पानीको मात्रा कति आवश्यक छ भनेर सेन्सरमार्फत पत्ता लगाएर ठीक मात्रामा सिंचाइ गर्छ,’ उनले भने, ‘एग्रोबोटबाट सिंचाइ गर्दा पानीको बचत हुन्छ र उत्पादन वृद्धिमा पनि सहयोग पुग्छ ।’

अर्का विद्यार्थी रितेश काफ्लेका अनुसार एग्रोबोटमा रिमोट कन्ट्रोलर, मोटर, सोलार प्यानल, पानी ट्यांकी र ग्रास कटर पनि जडान गरिएको छ । वायरलेस माइक्रो कन्ट्रोलरले घरमै बसेर पनि एग्रोेबोटमार्फत काम गर्न सकिन्छ । ‘वायरलेस ब्लुटुथ सेट गरेर घरमै बसेर खेतमा भएका गतिबिधिलाई हेर्न पनि सकिन्छ,’ काफ्लेले भने, ‘यसलाई मोबाइलबाट पनि चलाउन सकिन्छ ।’

अहिले बुटवलमा सञ्चालित क्यान इन्फोटेक मेलाको स्टल नं. ६० पनि विद्यार्थीले बनाएका यी आविश्कार प्रदर्शनीमा राखिएको छ । मेलामा आउने अवलोकनकर्ताको मुख्य आकर्षण एन्टी रेप सिस्टम र एग्रोबोट बनेको क्यान महासंघ रुपन्देहीका सचिव सुरेश भट्टराईले बताए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि विद्यार्थीहरुका यी दुवै आविश्कार अवलोकन गरिसकेका छन् ।

विद्यार्थीहरुको आविश्कारलाई व्यवसायिक रुप दिई व्यवहारमा कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट ठोस निर्णय हुने अपेक्षा आफूहरुले गरेको कालिका ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकले बताए ।



source https://www.onlinekhabar.com/2020/02/832898

वीरगञ्जस्थित मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

१८ माघ, पर्सा । वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज-८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति ११ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, पि्रन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले बताए । उनका अनुसार महत्वपूर्ण कागजात र रकम भने सुरक्षित छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको र यकिन विवरण संकलन भइरहेको जानकारी दिए ।

सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।  आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको दमकलको सहयतामा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।



source https://www.onlinekhabar.com/2020/02/832895

चीनले भन्यो- नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौं

१८ माघ, काठमाडौं । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’

नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन -डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौं ।’

 

 



source https://www.onlinekhabar.com/2020/02/832894

कोरोना भाइरस संक्रमितको उपचार गर्न भरतपुर अस्पतालले बनायो आइसोलेसन वार्ड

१८ माघ, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताए ।

यसका लागि अस्पतालले शंकास्पद बिरामीको जाँच गर्न कन्सलटेन्ट फिजिसियन डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई फोकल पर्सन तोकेको छ ।

भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँचबुँदे निर्णय पनि गरेको छ । भाइरसको संक्रमण भएका बिरामीहरुको घाँटीबाट र्‍यालको नमूना निकाली राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ । साथै, भाइरसका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले बताए ।

यसैबीच, भरतपुर विमानस्थलमा आउने यात्रुहरुलाई कोरोना भाइरसको संक्रमण भए-नभएको बारेमा जाँच गर्न हेल्प डेस्क राख्ने तयारी गरिएको छ ।

विमानस्थल प्रमुख पवन गौतमका अनुसार आइतबारबाट भरतपुर महानगरपालिकाको समन्वयमा हेल्थ डेस्क खडा गरिने जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/02/832893

कोरोना भाइरसको असर चितवनको पर्यटन व्यवसायमा

१८ माघ, चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको छ ।

क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ अध्यक्ष भट्टराई भन्छन्, ‘चिनियाँ मात्र होइन, भारतलगायतका अन्य मुलुकका पर्यटक पनि आएका छैनन् ।’

उनका अनुसार जनवरीदेखि अपि्रल महिनासम्म धेरै चिनियाँ पर्यटकहरु सौराहा, मेघौलीलगायतका चितवनको पर्यटकीय क्षेत्र घुम्न आउँछन् । सौराहा आउने विदेशी पर्यटकमध्ये चिनियाँको संख्या सबैभन्दा धेरै रहने गरेको छ । सौराहामा दैनिक ५ सयदेखि ७ सयसम्म चिनियाँ पर्यटकहरु घुम्न आउने गरेको व्यवसायीहरु बताउँछन् । ३१ डिसेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि नै चिनियाँ पर्यटकको संख्यामा कमि आएको व्यवसायीहरुको भनाइ छ ।

क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले चिनियाँ पर्यटकहरु आउन कम भए पनि ठप्पै भने नभएको बताए । ‘चीनका केही शहरबाट रोकिएका छन्, सबैबाट होइन,’ घिमिरेले भने, ‘गत वर्ष यो समयमा चिनियाँ पर्यटक बढी आएका थिए, चीनमा नयाँ वर्ष हालै मात्रैं परेकाले यो समयमा बढी पर्यटक घुम्न नेपाल आउँथे ।’

सौराहामा अहिले आन्तरिक पर्यटकहरुको संख्या बढी छ । विभिन्न संघसंस्था र निकायहरुले सौराहामा गर्ने कार्यक्रमहरुले व्यवसाय धानिएको उनीहरुको भनाइ छ ।

विगतका वर्षहरुमा चितवन आउने कूल पर्यटकहरुमध्ये चिनियाँ पर्यटकहरुको संख्या ३० प्रतिशतभन्दा माथि थियो ।



source https://www.onlinekhabar.com/2020/02/832879

यस्ता छन् ब्रिटेन ईयूबाट अलग हुनुका कारण

१८ माघ, काठमाडौं । बेलायत अर्थात् ब्रिटेन युरोपेली संघ (ईयू)बाट औपचारिक रुपमा अलग भएको छ । नेपाली समयअनुसार शनिबार बिहान करिब पौने पाँच बजे ब्रिटेनले ईयूसँगको ४७ वर्ष पुरानो सदस्यता अन्त्य गरेको हो ।

करिब तीन वर्ष अगाडि गरिएको जनमतसंग्रहमा ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा मत दिएका थिए । ब्रिटेन ईयूबाट ‘एक्जिट’ हुने अर्थात् बाहिरिने प्रक्रियालाई ‘ब्रेक्जिट’ भनिएको हो ।

शनिबार बिहान ब्रिटेन र ईयूबीचको करिब आधा शताब्दी लामो सम्बन्ध औपचारिक रुपमा समाप्त भएपछि ब्रसेल्सबाट युरोपेली युनियनको झण्डा हटाइएको छ । यद्यपि ब्रेक्जिटको पक्ष र विपक्षमा र्‍यालीहरु निस्किएको बीबीसीले जनाएको छ ।

११ महिनासम्म संक्रमणकाल रहने भएकाले परिवर्तन भने खासै देखिने छैन । ब्रिटेनले सदस्यता त्यागे पनि ईयूका धेरैजसो कानुनहरू कायमै रहने छन् । आगामी डिसेम्बर महिनासम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने छन् भने त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता ईयूसँग गरिसक्ने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनलाई ईयूबाट अलग गराउन सफल भएपछि नयाँ बिहानीको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले सबैको भावनालाई बुझेर अघि बढ्ने बताएका छन् ।

ब्रिटेन ईयूबाट अलग भएको खुसियालीमा ठाउँठाउँमा भोजभतेर चलेको छ । लण्डनको पार्लियामेन्ट स्क्वायर नजिक मानिसहरु भेला भएर देशभक्तिको गीत गाएका छन् र अगुवाहरुले समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री कार्यालय र निवासमा विशेष प्रकारका लाइटहरु बालिएको छ । साथै यसै अवसरमा ५० पेन्सको एक विशेष सिक्का प्रकाशन गरिएको छ ।

ब्रिटेनईयूबाट अलग्गिने कि नअलग्गिने भनेर जनताको मत बुझ्न सन् २०१६ को जून २३ तारिखमा जनमतसंग्रह गरिएको थियो ईयूबाट अलग हुने भनेर ५१.९ प्रतिशत र अलग नहुने भनेर ४८.१ प्रतिशत जनताले मत दिएका थिए । जनमत संग्रहको फैसलापछि तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले पद छोडेपछि पूर्वगृहमन्त्री टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन् । तर, ब्रेक्जिटको कार्यभार पूरा गर्न असफल भएपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले पनि राजीनामा दिइन् । त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए ।

ब्रिटेनका जनता ईयूबाट अलग हुन किन चाहे ? त्यसका केही कारण यस्ता छन्-

१. आर्थिक चेतावनी

ईयूबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी विस्तारै सुरु भयो तर पछि चेतावनीको बाढी नै आयो । ईएमएफ, आईएमएफ, ओईसीडी, बिजेनस प्रमोसनसँग सम्बन्धित सीबीआई जस्ता ठूला वित्तीय संस्थाहरुले ईयूबाट अलग भएमा आर्थिक अवस्था खराब हुने र बेरोजगारी बढेर ब्रिटेन अलग-थलग हुने चेतावनी दिएका थिए ।

यहाँसम्मकी तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा र ब्रिटेनको वित्त मन्त्रालयले पनि ईयूबाट अलग भएमा घाटा लाग्ने बताएका थिए । यस्ता चेतावनीबाट ब्रिटेनका जनता रुष्ट भए र यो विषयलाई व्यवस्थाविरुद्धको क्रान्तिको रुपमा अघि बढाए । जसले यस्तो चेतावनी दिइरहेको छ, त्यसमा चेतावनी दिनेहरुको स्वार्थ छ भनेर जनताले अर्थ लगाए । त्यसपछि उनीहरुले ईयूबाट अलग हुनुपर्ने पक्षमा मत दिए ।

२. ३५० मिलियन पाउण्डको नारा

ईयूबाट अलग हुने पक्षमा रहेकाहरुले एक बलियो नारा पाए । त्यो के हो भने यदि ब्रिटेन ईयूबाट अलग भएमा राष्ट्रिय स्वास्थ्य योजनाका लागि हरेक हप्ता ३५० मिलियन पाउन्ड प्रयोग गर्न पाउँछ । यद्यपि अनुसन्धानबाट के पत्ता लागेको छ भने यसमा सत्यता छैन । तर अलग हुनुपर्ने पक्षमा रहेकाहरुलाई यो बलियो राजनीतिक मुद्दा बन्यो । किनभने ३५० मिलियन पाउन्ड भनेको थोरै रकम होइन । यो जनताले सजिलै बुझ्ने र जनतासँग प्रत्यक्ष जोडिएको मुद्दा थियो ।

३. प्रवासीको बढ्दो संख्या

युके इन्डिपेन्डेन्ट पार्टी -युकिप)का प्रमुख नाइजल फराजले प्रवासीहरुको मुद्दा प्रमुखताका साथ उठाएका थिए । पछि यो मुद्दा ब्रिटेनको सँस्कृति, पहिचान र राष्ट्रियतासँग जोडियो । परिणामले के देखाएको छ भने पछिल्लो १० वर्षमा दोस्रो देशबाट ब्रिटेनमा आएर बसोबास गर्नेहरुको बढ्दो संख्यासँग जनता खुसी छैनन् । सम्भवतः उनीहरुले आउँदो २० वर्षमा प्रवासीहरुको बढ्न सक्ने प्रभावबारे सोचे होलान् । त्यसैले पनि ईयूबाट अलग हुनुपर्ने निष्कर्षमा उनीहरु पुगे ।

४. जनताले प्रधानमन्त्रीका कुरा सुन्न छाडे

तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनलाई भाग्यले पनि साथ दिएन । ईयूको सदस्यता ब्रिटेनले त्याग्नु हुँदैन भन्ने अभियानको उनी मुख्य नेता थिए । यसका लागि उनले आफ्नो राजनीतिक करिअर नै दाउमा राखे । तर, जनताले उनका कुरा सुन्न छाडे फलस्वरुप जनमतसंग्रहमा ईयूबाट अलग हुनुपर्ने पक्षमा मत आयो । त्यसैकारण क्यामरुनले पद त्याग्नु पर्‍यो ।

५. लेबर पार्टी जनतासँग जोडिएन

ईयूसँग सम्बन्ध तोड्नु हुँदैन भन्ने अभियानलाई लेबर पार्टीका मतदाताको समर्थन चाहिएको थियो तर भित्रभित्रै जनताको मन बदलिएको कुरा लेबर पार्टीका नेताहरुले बुझ्न सकेनन् । जब नेताहरुले त्यो कुरा पत्तो पाए र त्यसको सामना गर्नका लागि प्रवासीहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर कदमहरु चाले, त्यतिबेला धेरै ढिला भइसकेको थियो ।

६. जोनसनजस्ता ठूला नेताको अपिल

प्राय ठूला मुद्दाहरुलाई ठूला नेताहरुले बलियो समर्थन गर्छन् । ब्रिटेनमा बोरिस जोनसन र माइकल गोव जस्ता ठूला नेताहरुले जनताको मुड बुझेर ब्रिटेन ईयूबाट अलग हुनुपर्छ भनेर यो मुद्दालाई अझै बलियो बनाए । जोनसनले ईयूबाट अलग हुनुपर्छ भनेर अपिल पूरै ब्रिटेनभर बसबाट यात्रा गरे ।

७. प्रौढको निर्णायक भोट

जनमत संग्रह कसरी गराइयो, युवा तथा महिलाहरुले कसरी मतदान गरे भन्ने विषयमा विज्ञहरुले चर्चा गरिरहलान् तर एउटा कुरा के स्पष्ट देखियो भने प्रौढहरुले समेत एकजुट भएर मतदान गरे । उनीहरुकै भोटले जितायो पनि । यो सत्य पनि हो कि तपाईंको उमेर जति बढ्दै जान्छ, त्यति नै तपाईं जागरुक भएर स्वविवेकले मतदान गर्नुहुन्छ । ब्रिटेनमा सन् २०१५ मा भएको चुनावमा ६५ वर्षमाथिका जनताको भोट ७८ प्रतिशत थियो ।

८. ब्रिटेन र यूरोपको सम्बन्ध

ब्रिटेन र यूरोपको सम्बन्ध कहिल्यै पनि सुमधुर र सामान्य रहेन । युरोपेली समुदासँग जोडिन पनि ब्रिटेनलाई धेरै समय लाग्यो । सन् १९७५ को मतदानमा पनि ब्रिटेन प्रशन्न थिएन । अहिलेसम्म युवाहरु ईयूको समर्थक नै रहेको मानिएको छ । यद्यपि मत विश्लेषणपछि मात्र यसबारे स्पष्ट हुने छ ।

-बीबीसीबाट



source https://www.onlinekhabar.com/2020/02/832888

अत्यधिक भीड हुने स्थानमा काठमाडौं महानगरले सार्वजनिक शौचालय बनाउने

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।

नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिइन् ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ ।

कापमासँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ । त्यस ऐनमा व्यावसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका विषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गीको भनाइ थियो । सार्वजनिक शौचालय निर्माणका लागि कामपाले विगत पाँच वर्षदेखिनै यस विषय उठान गरेको भए पनि हालसम्म निर्माणको कामले गति लिएको छैन ।

निर्माणको लागि शहरी योजना आयोगसहित विभिन्न संघ संस्थाले गरेको अध्ययनअनुसार मानिसको संख्याको आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम शुरु गर्नुपर्ने छ । शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भए पनि विभिन्न सरकारी तथा संस्थानका जग्गा लिज वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन् । सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ । नेपाल आयल निगम, कर्मचारी सञ्चयकोष, खाद्यसंस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसार आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालन निर्माण गर्न सकिने छ । निर्माणका लागि छ वटा नमूना तयार भएको छ । सबै नमूनाको अध्ययन गरी कम लागतमा निर्माण हुने र टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताउनुभयो ।

अध्ययनअनुसार सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक स्थानमा टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजु, माछापोखरी, गोङ्गबु, प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तिनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे र पेट्रोलपम्पमा, बल्खु तथा कुलेश्वरलगायत स्थान रहेको छ ।



source https://www.onlinekhabar.com/2020/02/832887

घुम्न गएका नेपाली डाक्टर चीनमा अलपत्र, नेपाली विद्यार्थी फिर्ता ल्याउन माग गर्दै चीनलाई पठाइयो पत्र

१८ माघ, काठमाडौं । आजका धेरैजसो पत्रिकाहरु कोरोना भाइरसको त्रास र नेकपा केन्द्रीय कमिटी बैठकमा उठेका विषयमा केन्द्रित छन् ।

कोरोना भाइरसको उदगमस्थल वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपाल सरकारले चीनलाई पत्र पठाएको, चीन घुम्न गएका एक नेपाली डाक्टर कोरोना भाइरस प्रभावित क्षेत्रमा अलपत्र परेको, मेडिकल कलेजहरुले फेरि अतिरिक्त शुल्क असुलेको लगायतका समाचारहरु पनि आजका पत्रिकाहरुमा छन् ।

छोरीसहित घुम्न गएका नेपाली डाक्टर चीनमा अलपत्र

नागरिक दैनिकका अनुसार चीन घुम्न गएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन् । चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल गरेपछि उनी नेपाल फर्कन नपाएका हुन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालका चिकित्सक समीर डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न गएका थिए ।

कोरोना आशंकित एकजना विराटनगरबाट काठमाडौं रेफर

नागरिक दैनिकमा नै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको समाचार छ । धरान निवासी ती बिरामी केहीदिन अगाडिमात्र दक्षिण कोरियाबाट आएका थिए । तीन दिनदेखि उच्च ज्वरोसँगै घाँटी दुख्ने भइरहेपछि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न पुगेका थिए । प्रारम्भिक उपचारपछि उनलाई चिकित्सकहरुले काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको समाचारमा उल्लेख छ ।

चीनका नेपाली भन्छन्- कोरोना भाइरस नलाग्दै हाम्रो उद्धार होस्

अन्नपूर्ण पोष्ट दैनिकले कोरोना भाइरस नलाग्दै आफूहरुको उद्धार गर्न चीनस्थित नेपालीहरुले भनेको विषयलाई मुख्य समाचार बनाएको छ । चीनको हुपेई प्रान्तको वुहान आसपास सहरका नेपाली विद्यार्थीहरु १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य भएको समाचारमा उल्लेख छ । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरुको छ ।

‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ ?’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘हामी अहिले बन्दी जीवन बिताइरहेका छौं । भाइरसले कताबाट छुने हो तनावमा छौं । नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एक-दुई दिनमा सकिन्छ । किन्न जाने अवस्था छैन ।’

चीनका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै सरकारले पठायो पत्र

कान्तिपुर दैनिकले वुहानका विद्यार्थीहरुलाई फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पत्र पठाएको समाचार छापेको छ । कान्तिपुरले लेखेको छ, ‘सरकारले नोवल कोरोना भाइरसको उदगमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई आइसोलेसनमा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीनले अनुमति दिने छ ।’

मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रवन्ध मिलाइरहेको जानकारी दिएको कान्तिपुरले लेखेको छ ।

प्रहरी समायोजन आगामी चैतदेखि, डिएसपीसम्म प्रदेश मातहत

नयाँपत्रिका दैनिकले प्रहरी समायोजन आगामी चैतदेखि हुने समाचार छापेको छ । समाचारमा लेखिएअनुसार प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक -डिएसपी)सम्म मात्र रहने छन् । यसैगरी एसपी र एसएसपी केन्द्रबाट खटिने तर प्रदेशको निर्देशनमा चल्ने गरी समायोजन गर्न लागिएको समाचारमा उल्लेख छ । एसपी र एसएसपी पुल दरबन्दीमा राखिने छ । ‘प्रदेश सरकारले तोकेअनुसार नै सेवा-सुविधा पाउने उनीहरु प्रदेशकै निर्देशनअनुसार खटिनुपर्ने छ,’ नयाँपत्रिकाले लेखेको छ ।

मेडिकल कलेजले फेरि असुले अतिरिक्त शुल्क

राजधानी दैनिकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीहरुबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको समाचार छापेको छ । हालसम्म विराटनगरस्थित नोवेल मेडिकल कलेजले २८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको समाचारमा उल्लेख छ । यसैगरी नेपालगञ्ज मेडिकल कलेजले ६ लाख तथा काठमाडौं मोडेल कलेज र नेपाल मेडिकल कलेजले समान ४ लाख ३५ हजार अतिरिक्त शुल्क असुलेको समाचारमा उल्लेख छ ।



source https://www.onlinekhabar.com/2020/02/832878

‘सरकार पूर्ण रुपमा असफल, सर्वसत्तावादको संकेत’

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न प्रथम निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले राज्य सञ्चालनको निमित्त स्पष्ट बहुमत प्रदान गरे । दुई दशकभन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ संविधानबमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम हुनेछ तथा देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुनेछ भन्ने आशा र भरोसा गरेका थिए । यही कारणले पनि जनताले एउटै दललाई सहज बहुमत प्रदान गरे ।

दुर्भाग्यवश  कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न सकेन । राज्य सञ्चालनको हरेक पक्षमा सरकार असफल प्रमाणित भएको छ ।

देश र जनताको विश्वास जित्ने गरी सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन । पूर्वाधार विकासको क्षेत्रमा केही कार्यहरु भएता पनि आर्थिक समृद्धिको निमित्त अनिवार्य शर्तका रुपमा रहने लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्यूनीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सरकार पूरै असफल भएको छ ।

राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यासपछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास हुन्छ । संस्थागत एवं नीतिगत भ्रष्टाचार, धर्मपरिवर्तनको डढेलो, बेरोजगारी समस्या, सर्वसत्तावाद, बाहृय शक्तिको चलखेल हाल देशमा विद्यमान मुख्य संकट वा चुनौति हरु हुन् ।

भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको बाहनामा ठेक्कापट्टा र सार्वजनिक खरिद बिक्रीजस्ता विषयलाई पनि मन्त्रिपरिषदबाट निर्णय गराउने लुट प्रवृत्ति हावी भएको छ ।

संस्थागत एवं नीतिगत भ्रष्टाचार

केही ठूला व्यापारी, कर्मचारी र राजनीतिक नेताहरुको त्रिकोणात्मक गठवन्धनले देशमा अहिले डरलाग्दो भ्रष्टाचारको सञ्जाल र जालो खडा गरेको छ । तलदेखि माथिसम्म सेटिङ मिलाएर ब्रह्मलुट हुने गरेको छ । यस्तो सेटिङको दबाव र प्रभावमा कारवाही चलाउने सुरक्षा निकाय र न्याय दिने न्यायालयसमेत परेका छन् । आर्थिक स्वार्थ पूरा गर्न कानुनी वाधा भए कानुन नै फेरि दिने र भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको बाहनामा ठेक्कापट्टा र सार्वजनिक खरिद बिक्रीजस्ता विषयलाई पनि मन्त्रिपरिषदबाट निर्णय गराउने लुट प्रवृत्ति हावी भएको छ । हाल व्याप्त भ्रष्टाचारले विश्वभरि नेपालको बदनाम भैरहेको छ । स्वदेशी-विदेशी लगानीकर्ताहरु निराश रहेका छन् । फलस्वरुप समग्र आर्थिक विकासमा प्रतिकुल असर परेको छ ।

धर्म परिवर्तनको डढेलो

पछिल्लो तथ्यांकअनुसार तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको छ । धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खल्बल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फसाउने टडकारो सम्भावना देखिन्छ ।

विकराल बेरोजगारी समस्या

अपरिपक्व, दिशाहीन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी-विदेशी लगानी आउन सकेको छैन । लगानीको अभावमा आर्थिक गतिविधि उत्साहजनक छैन । फलस्वरुप रोजगारीको अवसर नपाएर देशको कुल युवा जनसंख्याको आधाभन्दा बढी सामान्य जागिरको निमित्त विदेशिन बाध्य भएका छन् । यति ठूलो संख्यामा उत्पादनशील र सिर्जनशील युवाहरुलाई विदेशमा राखेर देशको विकास र समृद्धिको लक्ष्य पूरा हुन सक्दैन । सरकार देशभित्र रोजगारीको अवसर सिर्जना गर्नुको सट्टा युवाहरुको रगत पसिना निर्यात गर्ने गलत बाटोमा हिँडिरहेको छ ।

सर्वसत्तावादको प्रारम्भिक संकेत

शैक्षिक, प्रशासनिक, सुरक्षा, संवैधानिक निकायहरु तथा न्यायपालिकामा समेत पार्टीका कार्यकर्ता र प्रभावका व्यक्तिहरु नियुक्त गर्ने कार्य संगठित र योजनावद्धरुपमा भैरहेको छ । अनुसन्धान र कारवाही गर्ने गराउने निकायहरुलाई केन्द्रीकृत गरिएको छ । सरकारी कामकाजमा संविधानको शपथ नखाएका पार्टी र पार्टी नेताहरुको उपस्थिति, प्रभाव र हस्तक्षेप व्यापक हुँदै गैरहेको छ । आमसञ्चार माध्यम र सामाजिक सञ्जाललाई समेत नियन्त्रण गर्ने तयारी देखिन्छ । यसरी राज्यसत्तामा कब्जा जमाएपछि शक्ति, पैसा र सत्ताको दुरुपयोग गरी निर्वाचन जित्ने एवं पुनः सोही चक्रलाई निरन्तरता दिने अभ्यास हुन लागेको देखिन्छ । उपरोक्त कार्यहरुलाई आधार मान्ने हो भने देश लोकतन्त्रका नाममा विस्तारै सर्वसत्तावादतर्फ उन्मुख हुँदै जान लागेको सहजै बुझ्न सकिन्छ ।

बाहृय शक्तिहरुको प्रभाव हस्तक्षेप

२०६२/०६३ को परिवर्तनसँगै नेपालमा बाहृय शक्तिहरुको प्रभाव र हस्तक्षेप व्यापक भएको छ । राजनीतिक दलका नेताहरुमा चुनाव जित्न, सत्तामा पुग्न र सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको सहयोग र आशिर्वाद आवश्यक छ भन्ने आत्मसमर्पणवादी मानसिकता बढेको छ । सरकारको अदूरदर्शिता र नेताहरुको अपरिपक्वताका कारण अहिले नेपाल बाहृय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थलबन्न सक्ने खतरा झन् बढेको छ । अमेरिकी आर्थिक सहायता सम्बन्धी एमसीसी सम्झौताका सम्बन्धमा देखिएको पछिल्लो ध्रुवीकरण र विवाद त्यसको ज्वलन्त उदाहरण हो ।

त्रुटिपूर्ण मार्गचित्र अवधारणा

मुलुकको सामुन्ने विद्यमान उपरोक्त संकट वा चुनौतिका विभिन्न कारणहरु छन् । त्यसमध्ये ६२/६३ पछिको त्रुटिपूर्ण मार्गचित्र र अवधारणा, प्रमुख राजनीतिक दलहरुमा रहेको वैचारिक विचलन तथा प्रभावकारी आर्थिक योजनाको अभाव प्रमुख कारणहरु हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा तत्कालीन भारतीय शासक वर्गको प्रत्यक्ष सहयोग, संलग्नता र प्रायोजनमा भएको १२ बुंदे समझदारी पश्चात नेपालमा  भएको आन्दोलन एवं आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा जुन विधि र प्रक्रियाबाट जेजस्तो अवधारणा र राजनीतिक बाटो अवलम्बन गरियो, त्यसमा अन्तर्निहित विरोधाभास, त्रुटि र कमजोरीहरु वर्तमान असफलता र विकृति को मूल जड हो । यही कारणले गर्दा नै सत्तामा पुग्नुअघि क्रान्तिकारी देखिने दल र नेताहरु केही समयपछि नै शिथिल, दिशाहीन र भ्रष्ट बन्न पुगेका हुन् ।

धर्मनिरपेक्षता नेपाली जनताको चाहना वा आवश्यकता थिएन । लामो इतिहास बोकेको, देशको एकीकरण र आधुनिकीकरणमा योगदान दिएको तथा राष्ट्रिय एकताको प्रतीक रहँदै आएको राजसंस्थालाई परिवर्तनपश्चात पनि कुनै न कुनै रुपमा निरन्तरता दिइनु पर्थ्यो । संघीयता कार्यान्वयनपूर्व यसवारे जनस्तरमा व्यापक र पारदर्शी बहस हुनु जरुरी थियो । राष्ट्रहित विपरीतको नागरिकता ऐन लागु गरेर ३ जनाको सर्जमिनका भरमा लाखौं विदेशीहरुलाई नेपाली नागरिकता दिनु गलत थियो । आन्दोलनको अन्त्य गर्दा दरवारसँग भएका समझदारीअनुरुप २०४७ सालको संविधान कायम राखेर संविधान सभाबाट नयाँ संविधान बनाउनुपथ्र्याे । चुनावअगावै माओवादीलाई तत्कालीन एमालेसरह सिट दिएर अन्तरिम संसद खडा गर्नु आवश्यक थिएन ।

उपरोक्तबमोजिमका गलत अवधारणा र मार्गचित्रको धरातलमा वर्तमान राजनीतिक प्रणाली, संरचना र कार्यदिशा तयार गरिएको हुँदा पटक पटक व्यक्ति, दल र सरकार फेरिँदा पनि शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल हुन सकेको छैन ।

दलहरुको बैचारिक विचलन

दुई दशकको राजनीतिक अभ्यासका क्रममा प्रायः सबै प्रमुख दलहरु आˆनो सिद्धान्तबाट विचलित भएका छन् । पूर्वाग्रहरहित भै ईमान्दारीपूर्वक विश्लेषण गर्ने हो भने तत्कालीन माओवादी, एमाले र कांग्रेस सबै आ-आˆना स्थापनाकाल र संघर्षकालका मान्यता, विश्वास र सिद्धान्तबाट विमुख र विचलित भैसकेका छन् । जुन सिद्धान्त र आस्थाका निमित्त दलमा सहभागी भएका थिए, संघर्ष गरेका थिए र जीवन उत्सर्ग गरेका थिए, ती मान्यतामा कुनै पनि दल र नेताहरु टिक्न सकेका छैनन् ।

कांग्रेस र कम्युनिष्टहरुले अवलम्बन गरेको बैचारिक दर्शन चाहे त्यो पुँजीवाद होस् वा साम्यवाद, ती विचारहरु विश्वव्यापीरुपमा समेत अपूर्ण र असफल हुँदै गएका छन् । ती दर्शनभित्रका अन्तर्विरोधहरुको सही समाधान निस्कन सकेको छैन । फलस्वरुप ती दर्शनका अनुयायीहरुमा पहिलेको जस्तो प्रतिबद्ध आस्था र समर्पण छैन । बैचारिक अडानमा ह्रास आएको छ ।

यसरी कारण जेसुकै भए पनि सिद्धान्तबाट विचलित भएकाले दल वा नेताहरुको नैतिकता र आदर्श स्वतः समाप्त हुन्छ । अनि जति विचलित र दिशाहीन हुन्छ, त्यति नै व्यक्ति वा दलले असुरक्षित महशुस गर्न थाल्छ, अनि आˆनो राजनीतिक, आर्थिक र भौतिक सुरक्षाको निमित्त जायज नाजायज सबै काम गर्न थाल्छ । व्यक्ति र दल भ्रष्ट र अवसरवादी हुने प्रमुख कारण सैद्धान्तिक विचलन हो ।

विचार वा सिद्धान्त राम्रो-नराम्रो वा ठीक-बेठिक हुन सक्छ । त्यसबारे बहस विवाद हुन सक्छ र हुनुपर्छ । विचार वा सिद्धान्तलाई समयानुकूल परिमार्जनसमेत गर्नुपर्छ । तर, सिद्धान्त वा विचारबाट पलायन वा विचलित हुनु आत्मघात हो । त्यसर्थ, मुलुकमा हाल विद्यमान संकटका कारणहरुमध्ये दल र नेताहरुको वैचारिक विचलन पनि एक हो ।

आर्थिक परिवर्तनको न्यूनता

विश्वका विभिन्न देशहरुको अनुभवबाट प्रमाणित भएको छ कि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन हुन सकेन र परिवर्तनले जनताको जीवनस्तरमा सुधार ल्याउन सकेन भने राजनीतिक परिवर्तन टिकाउ हुँदैन । कतिपय ठूला र क्रान्तिकारी परिवर्तनपछि देश र समाज पुनः प्रतिगमनको दलदलमा फस्नुको मुख्य कारण पनि यही हो ।

नेपालको सात दशक लामो राजनीतिक अभ्यासले पनि यो यथार्थलाई सिद्ध गरेको छ । २००७ सालमा प्रजातन्त्रको पहिलो स्वाद पाएको नेपालले यति लामो समयसम्म पनि स्थायी राजनीतिक व्यवस्था र संविधान कायम गर्न नसक्नुमा पनि आर्थिक परिवर्तनको अभाव हो भन्नु सर्वथा गलत हुनेछैन ।

परिवर्तनको औचित्यमाथि प्रश्नचिन्ह

यस पृष्ठभूमिमा विश्लेषण गर्दा गत १४ वर्षको आर्थिक प्रगति पनि सन्तोषजनक छैन । देश र जनताले अत्यन्त ठूलो मूल्य चुकाएर सहयोग गरेको अवस्थामा पनि सदियौंदेखिको दासताबाट जनतालाई मुक्त तुल्याउँछो भन्ने क्रान्तिकारी दलहरुबाट २०६२/०६३ पछि सकारात्मक आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अनुभूति गर्न नपाउँदा जनस्तरबाट परिवर्तनको औचित्यमाथि नै प्रश्नचिन्ह खडा हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुबाट बेइमानी र धोका भएको जनताले महशुस गर्न थालेका छन् ।

विकल्पको खोजी

यस अवस्थामा स्वभाविकरुपले जनता विकल्पको खोजी गर्न थालेका छन् । कंग्रेस र कम्युनिष्टको सुधार हुनै नसक्ने तहको बैचारिक विचलन, त्रुटिपूर्ण मार्गचित्र र भ्रष्ट नेतृत्वबाट राष्ट्रले संकटबाट निकास पाउन नसक्ने तथा यथास्थितिले निरन्तरता पाउँदा देशको अस्तित्व नै धरापमा पर्न सक्ने तीतो सत्य वर्तमान नेपाली राजनीतिको नियति बन्न पुगेको छ । यो यथार्थलाई आत्मसात गर्दै केही व्यक्ति र दलहरु आफुलाई कांग्रेस र कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न प्रयास पनि गरिरहेका छन् । तर, सो प्रयास आधारभूतरुपमा नै त्रुटिपूर्ण रहेको छ । कंग्रेस वा कम्युनिष्टकै पदचिन्ह, विचार र एजेण्डा बोकेर उनीहरुको विकल्प बन्न संभव छैन ।

यहाँनेर कांग्रेस र कम्युनिष्टको बैचारिक दर्शनबारे संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

कंग्रेस र कम्युनिष्ट पार्टीहरु २००७ सालको परिवर्तनको सेरोफेरोमा जन्मिएका हुन् । प्रजातन्त्र प्राप्तिका निमित्त यी दलहरुको महत्वपूर्ण योगदान छ । तर, प्रजातन्त्र प्राप्तिपश्चात् नेपालको सन्दर्भमा कस्तो वैचारिक धरातल निर्माण गर्ने बारेमा यी दुबै दलहरुले दूरगामी सोचाइ कायम गर्न सकेनन् ।

भारतीय स्वतन्त्रता संघर्षबाट प्रभावित र दीक्षित नेताहरुको अगुवाइमा पार्टी स्थापना गरिएको हुँदा स्वभावतः भारतका राजनीतिक दलहरुले अवलम्वन गरेको वैचारिक दर्शन नै कंग्रेस र कम्युनिष्टको विचारको स्रोत बन्न पुग्यो । स्वतन्त्रता पश्चात भारतीय दलहरु पनि पश्चिममा मुलुकहरुमा तत्काल प्रचलनमा रहेका मार्क्सवाद, समाजवाद, पुँजीवाद जस्ता विचारबाट प्रभावित रहेका थिए । त्यस अवस्थामा जसरी भारतीय दलहरुले भारतको प्राचीन सभ्यता र संस्कृतिको धरातललाई बिर्सिएर युरोपमा त्यसबेला कायम र प्रचलनमा रहेका मान्यताहरुलाई अनुसरण गरे, तदनुसार उनीहरुको प्रभावमा रहेका नेपालका दलहरुले नेपालको गौरवशाली एवं प्राचीन मौलिक संस्कृति, मर्यादा, परम्परा र आदर्शमा आधारित बैचारिक दर्शनलाई पार्टी निर्माणका क्रममा ध्यान दिनुको सट्टा भारतीय दलहरुका विचारको अन्धानुकरण गर्ने सजिलो बाटो रोजे । फलस्वरुप कांग्रेस र कम्युनिष्टको वैचारिक मान्यता र राष्ट्र निर्माणको मार्गचित्रमा बाहृय शक्तिहरुको अभिप्रेरणा र प्रभाव रहेको छ, त्यसमा नेपालित्व र मौलिकताको सर्वथा अभाव छ ।

सम्वर्द्धनवाद राप्रपाको बैचारिक दर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेर खडा भएको पार्टी हो । पार्टी स्थापनाको प्रारम्भिक अवस्थादेखि नै राप्रपाले नेपालीपन र नेपालीत्वलाई आˆनो वैचारिक दर्शनको मूल स्रोतका रुपमा ग्रहण गरेको छ । मार्क्सवाद, समाजवाद वा साम्यवाद होइन, सम्वर्द्धनवाद नेपालको आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक रुपान्तरणको आधार हुनुपर्छ भन्ने राप्रपाको मान्यता रहेको छ ।

निरन्तरतासहितको परिवर्तन, वैदिक सनातन मूल्य मान्यता, राष्ट्रिय जीवनमा भौतिक र आध्यात्मिक पक्षको समन्वयात्मक उत्थान र विविधतामा एकता सम्वर्द्धनवादका मुख्य तत्वहरु हुन् ।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति राप्रपाका वैचारिक आधारस्तम्भहरु हुन् ।

समावेशिता र सामाजिक न्यायमा आधारित शोषणरहित समाज एवं सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हो ।

यसप्रकार कांग्रेस र कम्युनिष्टको भन्दा फरक विचार र मार्गचित्र बोकेर राप्रपा क्रियाशील रहेको छ । राप्रपाको फरक विचार नै पार्टीको आत्मा र शक्ति हो । त्यसैले वर्तमान अवस्थामा नेपाली जनताले खोजेको विकल्प बन्न सक्ने शक्ति र आधार राप्रपामा मात्र छ भन्दा सर्वथा अतिशयोक्ति हुने छैन । यो धरातलीय यथार्थलाई आत्मसात गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गर्नु हाम्रो दायित्व हो ।

सशक्त र उपयुक्त बिचार हुँदा हुँदै पनि राप्रपाले गत निर्वाचनमा सफलता प्राप्त गर्न सकेन । तर, राप्रपाका प्रतिवद्ध कार्यकर्ताहरुले बुझ्नु जरुरी छ कि राप्रपा एक चुनावको निमित्त खडा भएको चुनाव अभियान समिति होइन । हामी लामो र कठिन यात्रामा हिँडेका छौं । तत्काल फाइदा वा हानी नोक्सानीको हिसाब-किताब गर्नेहरुले राप्रपाको अभियानलाई बुझ्न सक्दैनन्। समाज, राजनीति र व्यवस्था बदल्ने राप्रपाको संकल्प निरन्तर चलिरहने आन्दोलन हो ।

उपरोक्त वास्तविकतालाई दृष्टिगत गर्दै तथा विगतका त्रुटि कमी कमजोरीबाट पाठ सिकेर राप्रपालाई देशको अग्रणी शक्ति बनाउने कार्यमा उच्च मनोबलका साथ अघि बढ्नु समयको माग हो ।

पार्टी एकता सहकार्य

देशलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने र राप्रपालाई राष्ट्रनिर्माणको अग्रणी शक्ति बनाउने क्रममा समान विचारधारा भएकाहरुसँग सहकार्य र एकता गर्ने नीतिलाई हामी निरन्तरता दिनेछौं । तर, एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको  बन्दी भएर बस्न सक्दैन ।  पार्टीको ऐतिहासिक महाधिवेशनको तयारीमा जुटेका बेला स्वभावतः हाम्रो अर्जुनदृष्टि महाधिवेशनतर्फ नै हुनेछ । समान विचारधारा भएका दलहरुसँग सहकार्य र एकतासम्बन्धी विषय अब आगामी महाधिवेशनको मार्गदर्शन अनुरुप अघि बढाइनेछ ।

महाधिवेशनको संरचनामा आधारभूत सुधार

आगामी महाधिवेशन राप्रपाको इतिहासमा एक महत्वपूर्ण खुडि्कलो हुनेछ । पार्टीको सर्वेच्च निकाय भएको हुँदा स्वभावतः पार्टीको जीवनमा महाधिवेशनको उच्च महत्व रहन्छ र महाधिवेशनले पार्टीको विचार र नीतिको प्रतिपादनका साथै समयानुकुल परिमार्जन समेत गर्नेछ । महाधिवेशनले भावी कार्ययोजना र कार्यदिशा निर्धारण गर्नुका साथै पाँच वर्षको निमित्त पार्टी नेतृत्वको चयन पनि गर्नेछ ।

आगामी महाधिवेशनको संरचनामा हामीले केही महत्वपूर्ण परिवर्न गर्ने प्रयास गरेका छौं ।

विगतमा महाधिवेशन प्रतिनिधिहरु विभिन्न निकायबाट अप्रत्यक्ष प्रणालीबाट चुनिने गरेकोमा पार्टी विधानको पछिल्लो संशोधनअनुसार अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यहरुबाट प्रत्यक्षरुपमा निर्वाचित भएर आउने छन् ।

यो नयाँ प्रयोगको कार्यान्वयन अत्यन्त चुनौतिपूर्ण छ ।  सीमित समयसीमाभित्र देशभर सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्नुपर्ने छ । साथै, ७५३ स्थानीय तह र ३३० प्रदेश निर्वाचन क्षेत्रमा निर्धारित समयभित्र परिषदको बैठक र चुनाव सम्पन्न गर्नुपर्ने हुन्छ ।

महाधिवेशन प्रतिनिधिहरुका साथै पार्टीको स्थानीय तहका कार्यसमितिहरुको निर्वाचन योजनावद्ध र व्यवस्थितरुपमा सम्पन्न गर्न गराउन केन्द्रीय उपाध्यक्ष तोरणबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन भैसकेको छ । सो समितिले आˆनो प्रारम्भिक कार्य शुरुसमेत गरिसकेको छ । महाधिवेशन र पार्टीको विभिन्न तहका कार्यसमितिहरुको परिषद बैठक र निर्वाचन केवल प्राविधिक र वैधानिक कार्य मात्र नभएर यो संगठन निर्माणको बृहत अभियान नै हो । त्यसर्थ, यो अभियान सफलतापूर्वक सम्पन्न गर्न केन्ऽीय कार्यसमिति तथा सबैतहका साथीहरुको सक्रियता अनिवार्य रहन्छ ।

स्थानीय तह निर्वाचनको तयारी

संविधानबमोजिम स्थानीय तहको निर्वाचन आउन अब करिब दुई वर्ष बाँकी  छ । गत स्थानीय चुनावमा राप्रपाको परिणाम अत्यन्त निराशाजनक रहेको थियो । विगतका अनुभवबाट पाठ सिकेर अहिलेदेखि नै आगामी चुनावको तयारीमा जुट्नु नितान्त जरुरी छ ।

स्थानीय चुनावको परिणामले संसदको निर्वाचनलाई समेत प्रभाव पार्ने हुँदा त्यसतर्फ समयमा नै आवश्यक तयारी गर्नु आवश्यक भएको हो । विजयको सम्भावना र पार्टी संगठनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय तहहरुको वर्गीकरण गर्ने, अहिलेदेखि नै सम्भावित उमेदवार छनोट गरी जिम्मेवारी दिने तथा निर्वाचनकेन्द्रित विशेष कार्ययोजना कार्यान्वयन गरिनेछ ।

जनसंघर्ष जनपरिचालन कार्यक्रम

पार्टीको एजेण्डाबारे जनतालाई जागरुक तुल्याउन, पार्टीका सम्बन्धमा रहेका भ्रमहरु निराकरण गर्न तथा धर्मपरिवर्तन, भ्रष्टाचार, बेरोजगारीसमस्या लगायत देशले भोग्नुपरेका समस्याहरुबारे आम जनतालाई सचेत तुल्याउन आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन हुन बाँकी रहेका जिल्लाहरुमा निकट भविष्यमा सो यात्रा सम्पन्न गरिनेछ । उपयुक्तसमयमा चतरा-त्रिवेणी हिन्दुराष्ट्र पुनर्स्थापना संकल्प यात्रा सम्पन्न गरिनेछ । साथै, देशका  विभिन्न भागहरुमा आमसभा तथा विभिन्न तहका प्रशिक्षण कार्यक्रमहरु आयोजना र सञ्चालन गरिनेछ । साथै, महाधिवेशन सम्पन्न भएपश्चात हिन्दुराष्ट्र पुनर्स्थापना र भ्रष्टाचार नियन्त्रणलगायतका मागहरु राखेर राप्रपाले देशव्यापी जनसंघर्ष शुरु गर्नेछ ।

हामी सबैले बुझेका छौं कि राप्रपा अहिले अत्यन्त कठिन अवस्थाबाट गुजि्ररहेको छ । कतिपयले राप्रपाको भविश्य छैन भन्ने निरशाजनक धारणा व्यक्त गर्ने गरेका छन् । राप्रपाको विचारको औचित्य समाप्त भयो भन्ने नकरात्मक टिप्पणी समेत सुनिन्छ ।

पार्टीभित्रकै कतिपय साथीहरुबाट समेत यदाकदा विचलनका र निराशाका स्वरहरु सुनिने गरेका छन् । यस प्रकारका निराशा, विचलन र पलायनका शंका-उपशंकालाई गलत सावित गर्नु हाम्रो दायित्व हो ।

म यो दायित्व पूरा गर्न मन, वचन र कर्मले प्रतिवद्ध छु । यसलाई मैले चुनौतिका रुपमा स्वीकार गरेको छु । सबै साथीहरुबाट यस्तै प्रतिवद्धताको मैले अपेक्षा गरेको छु । धन्यवाद, जयराष्ट्र ! जय जनता

(राजधानीमा शुक्रबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावी कार्यदिशा’ विषयक राजनीतिक कार्यपत्रबाट)



source https://www.onlinekhabar.com/2020/01/832744

Thursday 30 January 2020

‘बस पल्टिएर मान्छे मर्‍यो भनेर बसमा आगो लगाउँदै हिँड्ने ?’

१७ माघ, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बस आगो लगाउँदै हिँड्ने ?’ छाउगोठ भत्काएर सरकारले नचाहिँदो काम गरेको उनले बताए ।

‘हिजो गोर्खाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठको नाममा हाम्रो घर भत्काउने ? के हेरेर बस्या छ गृहमन्त्रालय ? काम पा’छैन यसले ?’ उनले प्रश्न गरे ।

छाउगोठ भत्काउनु भन्दा भ्रष्टाचार र अनियमितता रोक्न उनले सरकारलाई सुझाव दिए । ‘जिल्लामा नुन बेचिएको छ, औषधि बेचिएको छ, त्यत्रो भ्रष्टाचार छ, उनीहरुलाई सम्हाल्नु छैन,’ सांसद महतले भने, ‘पुलको बेहाल छ, बाटोको बेहाल छ, ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नुपर्दैन ? स्कुलको अवस्था केछ, हस्पिटलको अवस्था केछ ? त्यो हेर्नुपर्दैन ?’

पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा बसेकै अवस्थामा कतिपयको मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान चलाएको छ । स्थानीय प्रहरी प्रशासनले छाउगोठ भत्काए पनि स्थानीयले फेरि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/01/832687

मौनधारणमा मन्त्री भुसाल !

१५ माघ, काठमाडौं । तत्कालीन एमालेका उप-महासचिव धनश्याम भुसालले २२ वैशाख ०७६ को एक भाषणमा समृद्धि र समाजवादको अभियानमा लागेको क्रान्तिकारी पार्टीले बाटो बिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । उनी यतिबेला कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् र सार्जजनिक मञ्चहरुमा उतिसाह्रो देखिँदैनन् ।

क्रान्तिकारीहरुले विकासको सवालमा कोरा परिकल्पना धेरै गरेको तर मानिसको विकासको कुरै नगरेको भन्दै उनले बैशाखको भाषणमा आक्रोश पोखेका थिए ।

‘मलाई रेल र पानीजहाज बिरोधी भनेर चित्रण गर्छन्’,त्यसबेला भुसालले भनेका थिए, ‘तर, मैले अफ्रिकामा नाच्न बाध्य नेपाली चेलीको मुद्दा कि प्रशान्त महासागमा नेपालको झण्डा फरफराउँदै गरेको पानीजहाजको परिकल्पना प्रधान हो भन्ने बहस गर्न चाहेको हुँ ।’

भुसालले जनताको जीवनस्तर उकास्ने समाजवादको बाटोमा अघि बढ्नुपर्ने दुईतिहाई बहुमतप्राप्त क्रान्तिकारीहरुको सरकार दलाल पूँजीवादको चंगुलमा फसेको आरोप पनि लगाएका थिए ।

नेकपा स्थायी समिति सदस्यसमेत रहेका भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्पिरिट’ बिरुद्व बोलेको भन्दै त्यसबेला संस्थापन पक्षधरबाट उनको कडा आलोचना पनि भएको थियो ।

आलोचकलाई मन्त्री पदले ‘कारबाही’

तीखो आचोलना गरेर पार्टी र सरकारको नेतृत्वलाई गाल पारिरहेका भुसाल गत मंसिर ४ गते एकाएक कृषि तथा पशुपंछी विकास मन्त्री नियुक्त भएको खबरले धेरैलाई आश्चर्यचकित बनायो ।

हुन पनि नेतृत्व सच्चिनुपर्छ भन्दै जसलाई उनले निशाना बनाइरहेका थिए, उसैबाट ‘कारवाहीमा परेर’ भुसाल मन्त्रिपरिषद् सदस्य बन्न पुगे ।

अध्ययनशील, सालीन, समाजवादी चिन्तक, नेकपाभित्रका आशलाग्दा नेता आदि उपमा पाएका भुसाल आम अनुमान विपरीत कृषि मन्त्री बनेपछि सामाजिक सञ्जालमा अनेक विचारहरु प्रकट भए । कसैले आफ्ना कटू आलोचकको मुख थुन्न प्रधानमन्त्री ओलीले भुसाललाई मन्त्री बनाएको भने त कतिले भुसालको लोकप्रिय छवि धमिल्याउन कामको नतिजा नदेखिने कृषि मन्त्रालय भिराइएको भने । कतिले चाहिँ जिम्मेवारी लिएर काम देखाउन र बाहिर बिरोध गर्दै हिँड्न फरक हुन्छ भन्ने सिकाउन भुसाललाई मन्त्री बनाइएको लख काटे ।

मन्त्री बनेपछिका भुसाल

मंसिर ४ गते शीतलनिवासमा शपथ खाएर कार्यभार सम्हाल्न सिंहदरबार छिरेपछि कृषिमन्त्री भुसालले प्रेसलाई छोटो प्रतिक्रिया दिँदै ‘परम्परागत कृषिलाई व्यवसायिक बनाउनेमा केन्दि्रत हुने’ परम्परागत अभिव्यक्ति दिएका थिए । सँगै उनले भनेका थिए, ‘म कुनै प्रलोभनमा पर्ने छैन ।’

मन्त्री भएको पाचौं दिनमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले कृषिमा आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढी सहयोग अपेक्षा गरेको र अमिल्दा कानुनहरु संशोधन गर्ने बताएका थिए ।

पुस पहिलो साता पार्टीको स्थायी समिति बैठकमा अलि खरै पारामा प्रस्तुत भएका मन्त्री भुसालले शीर्षनेताहरुलाई ‘धर्ती नछाड्न’ आग्रह गरे । त्यसलगत्तै मतदातालाई धन्यवाद दिन गृह जिल्ला रुपन्देही पुगेका उनले मणिग्राममा आयोजित कार्यक्रममा अहिलेको बजेटले निर्दिष्ट गरेको कार्यक्रम पूरा गरेर अर्को बजेटमा कृषि क्रान्तिमा टेवा पुग्ने योजना ल्याउने बताए ।

त्यसयता उनले मुख खोलेका छैनन् ।

बोल्ने बेला भा’छैन

मन्त्री बनेको ७१ औं दिन १४ माघमा भुसालको निम्तो पाएर मन्त्रालय पुगेका कृषि बिटका करिब दुई दर्जन पत्रकारले लेख्नलाई गतिलै विषय पाइने अपेक्षा गरेका थिए । तर, मन्त्रीले सुरुमै आफू बोल्न होइन, कृषि क्षेत्र सुधारका लागि नीतिगत-व्यवहारिक सुझाव माग्न कृषि बीटका पत्रकारलाई बोलाएको बताए ।

पत्रकारको एक-एक सुझाव दुई घण्टासम्म आफैं डायरीमा टिपेका मन्त्री भुसालले न कुनै योजना सुनाए, न त दुई महिनाको प्रगतिबारे बताए ।

पत्रकारहरुले केही न केही त सुनाउन जोड गरेपछि उनले भने, ‘अहिले मसँग समाचारका लागि दिने केही छैन । यत्ति भन्छु- कृषिकर्ममा लागेका कसैलाई पनि निराश बनाउने छैन ।’

मन्त्रालयमै हराएका भुसाल

हृयाचरी व्यवसायीहरुले ब्रोइलर कुखुराको मासु र अण्डाको भाउ बढाउन जिउँदो चल्ला नष्ट गर्ने अभियान चलाउँदा मन्त्री भुसालले कुनै प्रतिक्रिया दिएनन् ।

प्याजको भाउले सगरमाथाको उचाइ नाघ्दा पनि उनी मौन रहे ।

लामो समयदेखिको भुक्तानी नपाएका उखु किसानहरुले राजधानीमै आएर माइतीघरबाट आफ्नो पीडा बताउँदा पनि कृषिमन्त्री भुसालले आफ्नो धारणा सार्वजनिक गरेनन् ।

गरिमा धानको नक्कली बिउबाट पिडीत कृषकहरुको पिडाबारे पनि उनले मुख खोलेनन् ।

भुसाल मन्त्री भएपछि धान र उखुको सर्मथन मूल्य तोकियो । उखुको बक्यौता माग्दै राजधानी आएका किसान र उद्योगीबीच बार्ता पनि भयो ।

तर, यी सबै विषयमा मन्त्री भुसालले मौनता तोडेनन् ।

पार्टी र सरकारको चर्को आलोचना गर्दा टपक्क टिपिएर मन्त्री बनेका घनश्याम भुसालले मौनधारण गरेपछि उनी आफैं मन्त्रालयमा हराएको भन्ने चर्चा पनि सुनिन थालेको छ ।

‘सिक्दै छु, बोल्ने समय आउँछ’

संघीयता कार्यान्वयनका क्रममा सबभन्दा बढी अस्तव्यस्त भएको मन्त्रालयमा पर्छ कृषि तथा पशुपंछी विकास मन्त्रालय । किसान, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानदेखि दातृ निकायसम्मको प्रत्यक्ष सरोकार जोडिने भएकाले मन्त्रालयमा स्वार्थ समूह र बिचौलियहरुको भीड पन्छाइनसक्नुछ ।

मन्त्री भुसालले यी सबको मिहीन जानकारी लिइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘मन्त्रीज्यु उपलब्धीविहीन कार्यक्रम र भेटघाट सकेसम्म नगर्नेमा हुनुहुन्छ’, एक सहसचिव भने, ‘उहाँसँग जनताले धेरै आशा गरेको हुनाले हलुका भएर नबोल्ने गर्नुभएको हो ।’

ती कर्मचारीका अनुसार यसअघिका नयाँ मन्त्रीले पहिलो कामका रुपमा कर्मचारी सरुवा-बढुवा गर्ने गरेकामा भुसालले त्यसमा चासो दिएका छैनन् । ‘मन्त्रीज्यु भावी योजनाको गृहकार्यमा हुनुहुन्छ’, ती सहसचिव भन्छन्, ‘सरोकारवालासँग गहन छलफल गर्ने र जिम्मेवार कर्मचारीलाई नतिजामुखी कामको निर्देशन दिने गरिरहनुभएको छ ।’

मन्त्री भुसाल अबका दिन केही न केही बोल्ने र आफ्ना योजनाहरु सार्वजनिक गर्ने तयारीमा लागेको उनको सचिवालयका एक सदस्यले बताए । ‘त्यो कस्तो हुनेछ भन्ने जिज्ञासा बाहिरमात्र नभई मन्त्रालयका कर्मचारीहरुमा पनि उत्तिकै छ’, ती सदस्यले भने ।

१४ माघको अनौपचारिक कुराकानीमा मन्त्री भुसालले ब्रिफिङ सुन्ने, नोट गर्ने, नबुझेका कुरा दोहोर्‍याएर सोध्ने काम न सकिएको बताउँदै भने, ‘बोल्ने तयारी नै हो, बेला आएपछि बोल्छु । निराश नबनाउने गरी बोल्छु ।’



source https://www.onlinekhabar.com/2020/01/832710

अक्षयसँग साराको जोडी पक्का

नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ ।

अक्षय र साराले एउटै चलचित्रमा काम गर्ने भएपछि यतिबेला सामाजिक संजालमा यो बिषय गर्मिलो बनेको छ । अक्षय र साराका पिता सैफअली खानले केही चलचित्रमा काम गरेका छन् । अब, अक्षय उनै सैफकी छोरी सारासँग पर्दामा देखिदैछन् ।

अहिले साराले बलिउडमा आफ्नो गज्जबको क्रेज बनाएकी छिन् । ‘केदारनाथ’बाट डेब्यु गरेकी साराले पहिलो चलचित्रबाट नै सफलता पाएकी थिइन् । दोश्रो चलचित्र ‘सिम्बा’ले पनि सारालाई सफलता नै दियो । अहिले सारा अभिनित चलचित्र ‘लभ आजकल’ रिलिजको तयारीमा छ ।

सारा अक्षयसँग काम गर्न पाउँदा निकै खुसी छिन् । उनले भनेकी छिन्–‘अक्षय सर मेरो मनपर्ने नायक हुनुहुन्छ । उहाँको चलचित्र धेरै हेरेको छु । उहाँसँग सहकार्य गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’

त्यस्तै सारासँग काम गर्न अक्षय कुमार पनि उत्साहित छन् । ‘सारा अहिले निकै राम्रो सम्भावना भएकी नायिका हुन्’, अक्षयले बलिउड मिडियासँग भनेका छन्–‘अब मैले नयाँ पुस्ताका कलाकारहरुसँग काम गरेर नयाँ कुराहरु सिक्नेछु ।’

दुई पुस्ताका कलाकारलाई एकसाथ पर्दामा देख्न पाउने कुराले दर्शकमा खुसी मिलेको छ । ‘अत्रङ्गी रे’लाई भुषण कुमार र आनन्द एल राईले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । हिमांशु शर्माले लेखेको चलचित्रको छायांकन मार्च १ बाट सुरु हुने बताइएको छ ।



source https://www.onlinekhabar.com/2020/01/832708

प्रहरीबाट भागेका परदेशी गीतकार ‘रोवर्ट’

युएई । इलामको चुलाचुली गाउँपालिका-४ स्थित पेल्टिमारीका रोवर्ड सिप्तुङ्खा राई सन् २००५ बाट युएईमा श्रम गरिरहेका छन् ।

१५ वर्षयता राई युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् । तर, उनलाई गीत लेख्न १२ घण्टे ड्युटीले कहिल्यै छेक्दैन । उनी ड्युटीमै गीत लेखेर तयार पार्छन् ।

रोवर्डले लेखेका गीतहरु प्रमोद खरेल, मेलिना राई, श्रेया राई, सन्दीप ग्यावा तामाङलगायतले गाएका छन् । प्रमोद, मेलिना र श्रेया नेपालका चर्चित कलाकार हुन् । रोवर्डले लेखेको पहिलो गीत गाएका सन्दीप भने युएईमै श्रम गरिरहेका छन् ।

उनले लेखेका गीतका शब्दहरु मिठा छन् । पीडा र बेदनाका गीत लेखनमा उनको दख्खल छ । आफूले रहरै रहरमा यो क्षेत्रमा पाइला चालेको रोवर्ड बताउँछन् । ‘गीत ड्युटीमै लेखिन्छ, ड्युटी १२ घण्टाको छ, प्रायः छुट्टी हुँदैन,’ उनी भन्छन्, ‘अहिलेसम्म सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।’ नेपाल फर्किएपछि यही क्षेत्रमा निरन्तर लाग्ने उनको अठोट छ ।

साहित्य र संगीतप्रतिको झुकाव

४१ वर्षीय रोवर्ट सानैदेखि साहित्य मन पराउँथे । सानो छँदा उनको गाउँमा मुक्तक र गजलको चलन थियो । बलिभद्र कोइराला, प्रकाश आङ्देम्बे, सुन्दर कुरुपहरुका लेखन र प्रस्तुति उनले कहिल्यै छुटाएनन् । उनीहरुबाटै आफूले लेख्न सिकेको रोवर्ड बताउँछन् ।

उनी ९, १० कक्षामा पढ्दा गाउँमा ‘चुलाचली दर्पण गजल संग्रह’ प्रकाशित भयो । त्यसैबाट आफूले लेख्न सुरु गरेको रोवर्डले सुनाए । ‘अहिले पनि थुप्रै गीत लेखेर राखेको छु, दुई/चारवटा डायरी नै भरिएका छन्, संगीत हालेर बाहिर ल्याइएको चाहिँ छैन,’ रोवर्ड भन्छन्, ‘दुईवटा गीत भने रेकर्डिङको तयारीमा छन् ।’

‘ढुंगा पनि देउता बन्छ मन्दिरमा राखेपछि
माया गर्छन् मान्छेहरु हुनेखाने भएपछि’

रोवर्डको गीत ‘भेट किन भयो भन्थे’ मा मेलिना राईको आवाज छ । प्रमोदले गाएको ‘तिमीबिना जीउन सकिनँ भने’ अहिले निकै चर्चित छ । मेलिना र प्रमोदले गाएका यी दुई गीतको म्युजिक भिडियो धेरैले मन पराएका छन् ।

श्रेयाले गाएको ‘ढुंगा पनि देउता बन्छ’ बोलको गीतको पनि रेकर्डिङ भिडियो युट्युवमा देख्न सकिन्छ । रोवर्डले लेखेका गीतहरुमा निराजन प्रधान, लक्ष्मी बर्देवा, डिम्बल योङ्हाङलगायतको अभिनय छ ।

तीन साताअघि गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘तिमीबिना जीउन सकिनँ भने’ सार्वजनिक भयो । ओएसआर डिजिटलको युट्युव च्यानलमा राखिएको म्युजिक भिडियोलाई ८ लाखपटक भन्दा बढी हेरिसकिएको छ ।

प्रेमिकाको यादमा डुबेर तयार पारिएको यो गीतका लेखक भने युएईमा कार्यरत छन् । उनी युएईमा बसेर पनि आफ्नो देशका लागि गीत लेख्न तल्लीन छन् ।

प्रहरीबाट भागेपछिको यात्रा

कक्षा १० मा पढ्दा रोवर्ड प्रहरीमा भर्ना भए । ६ महिने तालिमका लागि उनलाई विराटनगरको रानीमा हालियो । लगभग ५ महिना बितेको थियो, उनी तालिम छाडेर भागे । भाग्नुको कारण पनि महत्वपूर्ण थियो ।

एसएलसीमा उनले कम्पार्ट पाएका थिए । झापाको चन्द्रगढी पुगेर एकाउण्टको परीक्षा दिनु थियो । ‘तालिम छाडेर परीक्षा लिन जान पाइँदैन भनेपछि भागेर गएँ,’ उनी भन्छन्, ‘विराटनगरको रानीबाट रातारात भागेँ, चन्द्रगढी पुगेर परीक्षा दिएको छु ।’

एसएलसीपछि इलाम क्याम्पसमा पढेका रोवर्डले केही न केही कोरिरहे । लेख्न कहिल्यै छाडेनन् । तर, समय र परिस्थितिले उनलाई युएई ल्यायो । केही वर्ष पैसा कमाएर स्वदेश फर्किने सपना थियो उनीसँग । तर १५ वर्ष बितिसक्यो, उनी युएईमै छन् ।



source https://www.onlinekhabar.com/2020/01/832700

फ्रेस रिलिजमा परमिता र नीताको ‘दि कर्मा’

लामो समयदेखि सुनसान रहेको नेपाली चलचित्र यो सातादेखि भने केही चलायमान हुने अपेक्षा गरिएको छ । आज शुक्रबारदेखि नयाँ चलचित्र ‘दि कर्मा’ रिलिज भएको छ । योसँगै अब हरेक हप्ता नयाँ चलचित्र रिलिज हुनेछन् ।

आजबाट देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘दि कर्मा’ रिलिज भएको छ । यो चलचित्रमा परमिता आरएल राणा, नीता ढुंगाना, करण वर्मा, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा परमिता र वुद्दि खलपात्रको भूमिकामा देखिएका छन् । नीता र करण वर्माको एक्सनले दर्शकलाई उत्साहित बनाउन सक्छ । चलचित्र ‘दि कर्मा’ले नेपाल र भारतको सिमानामा हुने अपराधको घटनालाई प्रस्तुत गरेको छ । चलचित्रको बिहानी शोको व्यापार औषत छ ।



source https://www.onlinekhabar.com/2020/01/832704

मेरो बिहे फागुणमा पक्काः प्रियंका

नायिका प्रियंका कार्कीले आफ्नो बिबाह फागुण महिनामा पक्का भएको जानकारी दिएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले भनिन्–‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौ । तर, मिति फाइनल भैसकेको छैन । फागुण १७ गते राम्रो दिन छ, सायद यही दिनमा नै हुन सक्छ ।’

नायिका कार्कीले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै यो बर्ष बिहे नगर्ने बताएकी थिइन् । यस बिषयमा कार्कीले भनिन्–‘सधै काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आयो । काम त सधै नै हुँदोरहेछ । यसैले, फागुणमै समय निकालेर बिहे गर्न लागेका हौं ।’

उनले, आफ्नो भाइको नेपाल आउने टिकट पक्का भएसँगै बिहेको दिन फाइनल गर्ने बताइन् ।

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक बर्ष बढी भैसकेको छ । समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । नायिका कार्की केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।



source https://www.onlinekhabar.com/2020/01/832703

मौद्रिक नीतिको समीक्षा हुँदै, पुरा होला बैंकर्सको माग ?

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा गर्न गृहकार्य शुरु गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षाका लागि राष्ट्र बैंकमा अर्को सातादेखि छलफल शुरु हुने भएको छ ।

राष्ट्र बैंकको एक उच्च अधिकारीले भने, ‘हामीले मौद्रिक नीतिका लागि आगामी सातादेखि छलफल शुरु गर्दैछौं, धेरै विषयहरुमा छलफल हुनेछ ।’

राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षालाई बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायीहरुले समेत निकै चासो दिएका छन् । नेपाल बैंकर्स संघले त केहि दिन अघि बुँदागत रुपमा केहि व्यवस्थाहरु संशोधनको माग गर्दै लिखित पत्राचार नै गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गरी संघले आफ्ना मागहरु राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेको थियो । यसकारण पनि बैंकहरुलाई आफ्ना माग पुरा होलान् कि नहोलान् भन्ने विषयमा निकै चासो छ ।

उता अटो व्यवसायीहरुको ध्यान मौद्रिक नीतिमा जानुको कारण चाहिँ सवारी साधनका लागि बैंकहरुले उपलब्ध गराउने कर्जाको हो । हाल सवारी साधन खरिदका लागि ५० प्रतिशत मूल्य नगद मै बुझाउनस पर्छ भने बाँकी ५० प्रतिशत रकम खरिदकर्तालाई बैंकले कर्जा उपलब्ध गराउन सक्छ ।

केहि वर्ष अघिसम्म ९० प्रतिशतसम्म डाउनपमेन्टमा पाइने गाडी राष्ट्र बैंकले कडाई गर्दै ५० प्रतिशत पुर्‍याएपछि व्यापार सुस्ताएको अटो व्यवसायीहरुले बताउँदै आएका छन् ।

गत महिना व्यवसायीहरुले अर्थमन्त्रीलाई नै भेटेर अटो कर्जाको विषयमा पुनर्विचार हुनुपर्ने धारणा राखेका थिए । सवारी साधन कर्जा धेरै दिए गाडि धेरै बिक्री हुने र भन्सार राजस्व पनि बढ्ने भएकाले अर्थमन्त्रीसमेत ‘कन्भिन्स’ भइसकेका छन् ।

यद्यपि, राष्ट्र बैंक स्वायत्त संस्था भएका कारण के-कस्तो व्यवस्था आउने हो भनेर व्यवसायीहरु मौद्रिक नीतिको समीक्षाको पर्खाइमा छन् ।

के छ बैंकर्सको माग ?

राष्ट्र बैंकलाई पत्राचार गर्दै संघले सहुलियत कर्जामा सरलता खोजेको छ । संघले चालु आर्थिक वर्षदेखि अनिवार्य गरिएको ऋणपत्र निष्काशनलाई बाध्यकारी नबनाउनु समेत आग्रह गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत कर्जामा आधारदरको बढीमा २ प्रतिशतसम्म जोडेर ब्याज लिन पाउँछन् । तर बैंकहरुको आधार दर धेरै नै फरक छ । राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत हारहारीमा आधारदर छ भने केही बैंकहरुको ११ प्रतिशतभन्दा माथि रहेको छ ।

यसकारण राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा लगानी गर्दा ८ प्रतिशत ब्याजमात्रै दिनसक्छ । तर कतिपय बैंकहरुको सहुलियत कर्जा नै १३ प्रतिशतसम्म ब्याज पुग्न आउँछ । यस्तो कम आधारदर भएको बैंकको मात्रै कर्जा लगानी हुने भन्दै संघले धेरै आधार दर भएको बैंकले कम आधारदर भएको बैंकसँग सहुलियत कर्जा किनेर लगानी गर्नुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

यसैगरी संघले ऋणपत्र (डिबेन्चर) निष्काशनलाई अनिवार्य नगर्न समेत आग्रह गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ चालु आर्थिक वर्षदेखि पुँजीको २५ प्रतिशत अनिवार्य डिबेन्चर निश्काषन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसलाई बाध्यकारी नबनाउन संघले माग गरेको हो ।

यसैगरी संघले प्राथमिकता प्राप्त कर्जामा समेत सहजता खोजेको छ । अहिले राष्ट्र बैंकले कृषि, पर्यटन, ऊर्जा लगायतका प्राथमिकताप्राप्त क्षेत्रहरुमा २५ प्रतिशत अनिवार्य कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसमा कृषिमामात्रै १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्छ ।

संघले यसमा पनि सहजता खोजेको हो । कुनै बैंकको कर्जामा बढी हुने, कुनैको पर्यटनमा त कुनैको कृषिमा बढीमा लगानी हुने भन्दै संघले जसरी भए पनि कुल कर्जाको २५ प्रतिशत प्राथमिकता क्षेत्रमा लगानी गर्न पाउनुपर्ने माग अघि सारेको छ ।

बैंकर्स संघ भन्छ- असजिला माग छैनन्

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आफूहरुले पुरा गर्न नहुने खालको कुनै पनि माग नराखेको बताए । संघले अघि सारेका मागहरु पुरा भए बैंकिङ क्षेत्रलाई राम्रो हुने भन्दै राष्ट्र बैंकले पुरा गर्नुपर्ने बताए ।

राष्ट्र बैंकको नीति निर्देशन पालना गर्दै आएको र भएका नीति सुधार भए राम्रो हुने भएकाले सुझाव दिइएको अध्यक्ष दाहालले बताए ।

‘राष्ट्र बैंक हाम्रो अभिभावक हो, हामीले राष्ट्र बैंकका सबै नीति निर्देशन मान्छौं नै’ उनले भने, ‘तर केहि व्यवस्थाहरु सुधार भए सबैलाई राम्रो हुने भएकाले आग्रह गरिएको हो, पुरा गर्न नपर्ने कुनै माग छैन ।’

ऋणपत्र अनिवार्य हुनु आवश्यक नभएको उनले बताए । आवश्यक पर्नेले ऋण पत्र निकाल्ने र आवश्यक नपर्नेले आफ्नो इच्छा अनुसार निष्काशन नगरे पनि हुने भएकाले ऋण पत्र निष्काशन गर्नै पर्ने व्यवस्था संशोधन गर्न आग्रह गरिएको बताए ।

राष्ट्र बैंक भन्छ- आंशिक मात्रै संशोधन

बैंकर्सहरुको मागमा राष्ट्र बेंकले भने आंशिक मात्रै सम्बोधन हुन सक्ने बताएको छ । राष्ट्र बैंक श्रोतका अनुसार डिबेन्चर तथा कर्जा तथा निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड रेट) का विषयमा विद्यमान व्यवस्था संशोधन हुनेछैन ।

डिबेन्चर अनिवार्यबाट ब्याक हट्ने सम्भावना नरहेको राष्ट्र बैंकका एक अधिकारीले अनलाइनखबरलाई बताए । ‘चालु आर्थिक वर्षदेखि शुरु भएको व्यवस्था हो, कार्यान्वयन नै नभई पुनः संशोधन गर्नु उचित हुँदैन’ ति अधिकारीले भने, ‘डिबेन्चर अनिवार्य गर्ने व्यवस्था कायम नै रहनेछ ।’

राष्ट्र बैंकले आगामी असार मसान्तसम्म स्प्रेड ४.५ प्रतिशतमा झार्न निर्देशन दिएको छ । यो पनि कम भएको संघले बताएको । तर यसमा पनि राष्ट्र बैंक पछाडि नहड्ने भएको छ ।

अटो व्यवसायीहरुको माग भने राष्ट्र बैंकले संवोधनको तयारी गरेको छ । सवारी साधन कर्जा ५० प्रतिशतमात्रै पाउने व्यवस्था संशोधन गर्न व्यवसायीहरुले माग गरेका थिए । यसलाई ६५ प्रतिशत बनाउने गरी राष्ट्र बैंकमा छलफल भइरहेको राष्ट्र बैंक श्रोतले बतायो ।



source https://www.onlinekhabar.com/2020/01/832698

प्रअदेखि पियनसम्म महिला : हेड सरभन्दा दंग परेर हेर्दछन्

महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ ।

घोराही उपमहानगरपालिका–११ मा अवस्थित बालकल्याण मावि, खैराले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन् ।

प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहेकी छन् । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमूना बनेको छ । ‘शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ,’ प्रधानाध्यापक रावत भन्छिन्, ‘विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन् ।’

यस विद्यालयमा सबै प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । ‘हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौं,” उनले भनिन्, ‘विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।’

महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिका स्वतन्त्र रूपमा अध्ययन गर्न पाएका छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ ।

सहायक प्रधानाध्यापक विमला अधिकारी प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दाबी गर्छिन् । ‘सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ,’ उनले भनिन् ।

‘हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन,’ सहायक प्रअ अधिकारीले भनिन्, ‘एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौं त्यसैका आधारमा काम गर्छौं ।’



source https://www.onlinekhabar.com/2020/01/832694

सौन्दर्यमा नयाँ प्रयोग : फेस मिस्ट

फेस मिस्टको चलन केही वर्षअघि देखि प्रारम्भ भएको हो । महिलाहरुले मेकअप गर्नु भन्दअघि छालालाई तयार गर्नका लागि क्लिन्जर र मोइस्चराइजरपछि मिस्टको प्रयोग गर्नु अति नै उपयोगी हुन्छ ।

वास्तवमा यसलाई प्रि -प्राइमर पनि भर्न सकिन्छ । किनभने यसले छालाको हाइड्रेसनलाई बढाएर त्यसलाई भित्रबाटै चम्किलो बनाउँछ । मेकअप गर्नु अगाडि फेस मिस्टको प्रयोग गर्दा मेकअप लामो समयसम्म सुन्दर र टिकाउ हुन्छ । यसलाई बढि प्राकृतिक र हर्बल प्रोडक्टले बनाइने भएकाले छालामा यसको प्रभाव पनि प्राकृतिक नै हुन्छ ।

सौन्दर्य विशेषज्ञहरुका अनुसार ब्यूटी इन्डस्ट्रीले पछिल्लो केही समयदेखि धेरै उन्नति गरेको छ र नयाँ-नयाँ उत्पादनहरुलाई महिलाहरुबीच परिचित पनि गराएको छ ।

यही क्रममा मिस्टको पनि प्रचलन पनि बढि हुन थालेको छ । वास्तवमा मिस्ट एक प्रकारको स्किन टि्रटमेन्ट हो, जसले छालालाई पोषण, सुन्दरता र मजबुती प्रदान गर्छ । किनभने आजका महिलाहरुले तनाव, प्रदुषण, अनियमित खानपान आदि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ, जसको प्रभाव उनीहरुको छालामा सबैभन्दा पहिला देखिन थाल्छ ।

त्यस्तो स्थितिमा मिस्टको प्रयोग गरेर छालालाई केही हदसम्म बचाउन सकिन्छ । यसको प्रयोग गर्दा विभिन्न फाइदाहरु पनि पाउन सकिन्छ ।

मेकअप भन्दा पहिला फेस मिस्ट लगाउनाले ब्यूटी प्रोडक्ट सजिलै छालामा मिल्छ, जसले छिट्टै सुन्दर देखाउने, ताजा र आकर्षक देखिन्छ । यो हरेक किसिमको छालाका लागि उपयोगी हुन्छ ।

यदि अफिसबाटै कतै बाहिर पार्टीमा जानु पर्‍यो भने यसको स्प्रेले टचअप सजिलै हुन्छ । स्प्रे गरेपछि औंलाको टुप्पोले यसलाई सबैतिर मिलाउनु पर्छ । यसो गर्दा तपाईंको थकान कम हुन्छ र त्यसको असर तपाईंको अनुहारमा पनि देखिन्छ ।

यसलाई दिनको कुनै पनि समयमा लगाउन अथवा स्प्रे गर्न सकिन्छ, यसले सजिलै परफेक्ट लुक दिन्छ ।

यसले दिउँसो पनि रफ स्किनलाई ताजा बनाउन सक्छ, किनभने लामो समयसम्म एयर कन्डिसनरमा काम गर्दा अथवा घाममा बढि समयसम्म बस्नाले छालाको नरमपना कम हुन्छ । त्यस्तो स्थितिमा फेस मिस्टले छालाको नरमपनालाई यथावत राख्न सहयोग पुर्‍याउँछ ।

जुन महिलाहरुले धेरै मेकअप गर्छन्, उनीहरुका छाला सुख्खा हुन्छ । त्यस्ता छाला भएका महिलाहरुलाई फेस मिस्ट अति नै फाइदाजनक छ ।

यसले मोइस्चराइजरपछि हाइड्रेसनको एक्स्ट्रा लेयर बनाएर उत्कृष्ट टोनरको काम गर्छ ।

यसले छालालाई पूर्ण रुपमा प्राकृतिक देखाउँछ । जसका कारण यसलाई लगाउन कसैले पनि सोच्नु पर्ने आवश्यकता छैन अर्थात हरेक प्रकारको छालाका लागि फेम मिस्ट उपयुक्त छ ।

टी ट्री फेस मिस्टमा एन्टि-माइक्रोबायल समावेश हुन्छ । यसले छालाको शुद्धिकरण गर्छ । जसका कारण मानिसहरुले पसिना र चिपचिपाहबाट राहत प्राप्त गर्छन् । यसको प्रयोगले अनुहार चम्किलो हुन्छ र चाउरीपन पनि कम हुन्छ, जसका कारण उमेर भैसकेर पनि जवान  देखिन्छ ।

मिस्टको प्रयोग महिलाहरुले मात्र होइन पूरुषहरुले पनि गर्न सक्छन् । यो पूर्ण रुपमा स्किन केयर प्रोडक्ट हो ।



source https://www.onlinekhabar.com/2020/01/832695

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More