Friday 30 April 2021

पाटन अस्पतालको कोरोना वार्डमा जे देखियो

१८ वैशाख, काठमाडौं । देशका २३ भन्दा बढी जिल्ला कोरोनाको दोस्रो लहरको उच्च संक्रमणमा  परिसकेका छन् । देश संघीयतामा गए पनि उपत्यका बाहिरका प्रायः जिल्लामा स्वास्थ्य उपचारको गतिलो प्रबन्ध अझै हुनसकेको छैन ।

स्वास्थ्य संकटका बेला आम नागरिकको आशाको केन्द्र आज पनि काठमाडौं उपत्यका नै हो । उपत्यका बाहिर सम्भव नभएको उपचारका लागि आज पनि बिरामीहरू एयरलिफ्टदेखि ५०औं हजारमा एम्बुलेन्स भाडामा लिएर काठमाडौं उपत्यकातिर कुद्ने गर्छन् ।

उपत्यकाका ठूला सरकारी अस्पताल नै एकमात्र विकल्प हुन् भन्ने मनोविज्ञान देशवासीमा छ । तर उपत्यकाका यिनै सरकारी अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण भने बिरामीहरू ढुक्क र सन्तुष्ट हुनसकेको पाइँदैन ।

कोरोनाको दोस्रो लहरले गाँज्दै लगे पनि ललितपुरस्थित पाटन अस्पताल (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)को व्यवस्थापन कमजोर देखिएको छ । सरसफाइ, कुरुवा व्यवस्थापन तथा कोरोना जोखिम न्यूनीकरणमा अस्पताल प्रशासन चुकेको देखिन्छ ।

उपत्यकाका ठूला सरकारी अस्पताल नै एकमात्र विकल्प हुन् भन्ने मनोविज्ञान देशवासीमा छ । तर उपत्यकाका यिनै सरकारी अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण भने बिरामीहरू ढुक्क र सन्तुष्ट हुनसकेको पाइँदैन

शुक्रबार दिउँसो पाटन अस्पतालको कोरोना वार्ड पुग्दा बिरामी कुरुवाहरू अस्पतालको व्यवस्थापनप्रति रुष्ट देखिन्थे । उनीहरू समयमा रिपोर्ट नदिएको, सरसफाइ र सेवाग्राहीको गुनासो नसुनेको भन्दै प्रशासनप्रति रोष प्रकट गरिरहेका थिए ।

‘एक दिनमा आउनुपर्ने रिपोर्ट दुई–तीन दिन हुँदा पनि आउँदैन । बिरामी कुरुवा बस्ने ठाउँ पनि लथालिङ्ग छ’, कीर्तिपुर मच्छेगाउँबाट आएका ऋषि श्रेष्ठ फत्फताइरहेका थिए ।

आफ्नी ५२ वर्षीया श्रीमतीलाई कोरोना संक्रमण भएपछि वैशाख ५ गते श्रेष्ठ पाटन अस्पताल आइपुगेका हुन् । तर दुईहप्ता बितिसक्दा पनि डाक्टरहरूले बिरामीको अवस्थाबारे स्पष्ट नबताएको उनको गुनासो छ ।

‘दुई हप्ताभन्दा बढी भइसक्यो बिरामीको अवस्था कस्तो छ भनेर प्रष्ट बताइएको छैन । बाहिर कुरुवा बस्दाको दुःख एकातिर छ, भित्र बिरामीलाई कस्तो पो छ भन्ने चिन्ता अर्कोतिर छ’, हातमा रिपोर्टको मुठो बोकेका श्रेष्ठले अनलाइनखबरसँग दुःखेसो पोखे ।

श्रेष्ठ जस्तै भक्तपुर बालकोटका राकेश केसी पनि पाटन अस्पतालको कोरोना वार्डको व्यवस्थापन फितलो भएको बताउँछन् । मिर्गौलाको समस्या भएका आफ्ना ३५ वर्षीय आफन्तलाई कोरोना संक्रमण भएपछि केसी पाटन अस्पताल आइपुगेका हुन् ।

‘हामीले ठीक समयमा दिएको स्याम्पलको रिपोर्ट जहिले ढिला आउँछ’ केसीले भने, ‘औषधि, कपडा र मेडिकल सामग्री बिरामीसम्म पुर्‍याउन पनि ढिला गरिन्छ ।’

यहाँ भेटिने बिरामी कुरुवा कोही पनि गुनासोरहित भेटिंदैनन् । रवि श्रेष्ठ भने अस्पतालले कोरोना संक्रमित बिरामीलाई दिने खानामा समस्या रहेको बताउँछन् । श्रेष्ठ सबै बिरामीले अस्पतालले दिएको खाना एकनासले खान नसक्ने बताउँछन् ।

‘बिरामीले खानेकुरामाथि गुनासो गरेका छन् । तर एक साता बित्दासमेत हाम्रो कुरा सुनुवाइ भएको छैन’, आक्रोशित श्रेष्ठले हामीसँग दुःखेसो पोखिरहेका थिए ।

यद्यपि, आफ्नो बिरामीको उपचार राम्रोसँग गरिंदैन कि भन्ने डरले प्रशासनलाई केही भन्न सक्ने अवस्थामा भने उनीहरू देखिंदैनन् ।

‘कोरोना वार्डमा रहेका कुरुवाहरूको यो साझा समस्या हो । तैपनि कसैले ख्याल गरेको पाइँदैन’, उनीहरूको एकस्वर थियो ।

अहिले पाटन अस्पतालले कोरोना वार्डमा रहेका सबै बिरामीलाई आफैं खाना र खाजा खुवाइरहेको छ । वार्डमा बिरामीका आफन्त जान बन्द गरिएको छ । सूचना आदान–प्रदानका लागि नर्स र सुरक्षा गार्डको व्यवस्था गरिएको छ । यसबाहेक बिरामीले मोबाइल तथा इन्टरनेटबाट आफन्तसँग सूचना आदान–प्रदान गरिरहेका छन् ।

यी कुरुवाहरू त प्रतिनिधि पात्र मात्र हुन् । हामी पाटन अस्पतालको कोरोना वार्डमा पुग्दा त्यहाँ रहेको झ्यालबाट कुरुवाहरूले एकसाथ गुनासो पोखिरहेका थिए । उनीहरूले आफ्नो बिरामीको सूचना ठीक समयमा दिनुपर्‍यो भन्दै नर्सहरूलाई आग्रह गरिरहेका थिए ।

अहिले जनरल वार्डमा ७० जनाभन्दा बढी बेड रहेको पाटनको आईसीयूमा २५ बेड राखिएका छन् । संक्रमित दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको छ ।

जोखिम न्यूनीकरणमा लापरबाही

पाटन अस्पतालको मुख्य भवनको दोस्रो तलामा कोरोनाको आईसीयू र जनरल वार्ड बनाइएको छ । यी दुवै वार्ड छिर्ने एउटै मूलढोका छ, जहाँ सुरक्षागार्ड बस्ने गर्छन् ।

शुक्रबार दिउँसो उक्त कोरोना वार्ड पुग्दा ढोका अगाडिको भुइँमै बिरामीका कागजपत्र यत्रतत्र छरिएका थिए । फोहोर भुइँमा बिरामीका रिपोर्ट तथा बिलहरू राख्दा त्यहींबाट पनि संक्रमण फैलिने जोखिम प्रष्ट देखिन्थ्यो ।

वार्ड अगाडि नै खाली बोतल, पुराना स्यानिटाइजरका भाँडा र रगतको प्याकेट छरिएका थिए । वार्डभित्रका बिरामीलाई पठाउनुपर्ने रगतको प्याकेट नै भुइँमा राखेको देखिन्थ्यो ।

यस्तै कोरोनाबाहेक अन्य रोगका बिरामी कुरुवाहरू पनि कोरोना वार्ड अगाडि नै बस्नुपर्दा उनीहरू जोखिममा पर्ने सम्भावना अनुमान गर्न सकिन्थ्यो । कोरोना वार्डकै अगाडि कुरुवाहरू बस्ने बेञ्च राखिएकाले अन्य बिरामीहरू त्यहीं बसिरहेका थिए ।

कोरोना वार्ड छिर्ने पछाडिको झ्यालमा फोहोरका थुप्रोहरू निकै दिनदेखि राखिएको बिरामीका कुरुवाहरू गुनासो गरिरहेका थिए । त्यही फोहोरछेउ सलाइन–स्ट्यान्ड र अन्य स्वास्थ्य उपकरण राखिएको थियो ।

स्वास्थ्यकर्मी झुक्किएर जुनसुकै बेला यी सामग्री प्रयोग गर्नसक्ने खतरा हुँदाहुँदै पनि अस्पताल प्रशासनले समयमा व्यवस्थापन गरेको देखिंदैन ।

कोरोना वार्ड व्यवस्थापनबारे हामीले पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. विमल पाण्डेसँग सोध्यौं । पाण्डेले कोरोना बिरामीका लागि कुरुवाको जरुरत नै नपर्ने दाबी गरे ।

‘हामीले कोरोना बिरामीको लागि कुरुवा नै चाहिंदैन भनेका छौं’ डा. पाण्डेले भने, ‘तैपनि बिरामीका आफन्त वार्डमा आउँछन् भने उनीहरू संक्रमित हुनसक्ने खतरा झन् उच्च हुन्छ ।’

उनले सरसफाइको समय तल–माथि हुँदा वार्ड वरपर केही फोहोर देखिएको भए पनि संक्रमित राखिएको कक्षमा कडा स्वास्थ्य प्रोटोकल पालना गरिएको जिकिर गरे ।

(तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर)



source https://www.onlinekhabar.com/2021/05/950099

सन्निपात : लिम्बू जनजीवनका चोटिला कथा

लिम्बू जनजीवनलाई उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले न्यायसंगत ढंगले नेपाली साहित्यमा प्रवेश गराएको मानिन्छ । अहिले लाटो पहाडभन्दा दुईगुणा बाठा कथाहरू जन्मिसकेछन् नेपाली साहित्यमा ।

सञ्जीव लिम्बूको ‘सन्निपात’ कथा संग्रहले यही पुष्टि गर्छ । सञ्जीवका कथाहरू विशेषतः युवावस्थामा आउने उतारचढावमै केन्द्रित छन् । लिम्बू संस्कृति, विकृतिको साथै सौन्दर्यको विषय पनि उनका कथामा समेटिएका छन् ।

जम्मा पाँच कथाहरू समेटिएको पुस्तकले १६० पृष्ठ ओगटेको छ । कथा संख्या कम भए पनि उपन्यास शैलीमा यी कथाहरू लेखिएका छन् । एउटै कथालाई झण्डै लघु–उपन्यास मान्न सकिन्छ ।

किराँत समुदायमा समस्या र अवसरको रूपमा रहेको ‘लाहुरे’ संस्कृतिले ल्याएको विचलनबारे ‘मृगतृष्णा’ शीर्षकमा कथा बुनिएको छ ।

अधिकांश युवा लाहुर जानका लागि पढाइ त्यागेर गल्लातिर भिड्छन् । जाने गइहाल्छन्, नजाने युवाको जीवन मूल्यहीन र अपमानमा बित्ने अवस्थाको चित्रण ‘मृगतृष्णा’ कथामा दुरुस्त गरिएको छ

अधिकांश युवा लाहुर जानका लागि पढाइ त्यागेर गल्लातिर भिड्छन् । जाने गइहाल्छन्, नजाने युवाको जीवन मूल्यहीन र अपमानमा बित्ने अवस्थाको चित्रण दुरुस्त गरिएको छ ।

‘सन्निपात’ संग्रहको शीर्ष–कथा हो । जसमा माओवादी पार्टीको शहर प्रवेशको चित्रण छ । साधारण मानिस पनि कसरी असाधारण अपराधको दोषी बन्न पुग्छन् भन्ने तथ्य यस कथाले बोलेको छ ।

कथामा भरखर टिनएज पूरा गरेका वीरजङ लिम्बू भलिबलको अब्बल खेलाडी हुन्छ । आर्मी पुलिसबीचको खेलमा विवाद परेर पुलिसको बेस्कन कुटाइ भेट्छ । जसको प्रतिशोध मोल्न विस्तारै माओवादको पर्चा बाँड्दै ऊ छापामार योद्धा बन्न पुग्छ ।

उनीहरूको जत्थाले चौकी ध्वस्त पारेर, बैंक लुटेको पैसा बोकेर भाग्ने क्रममा सेनाको हवाइ फायरमा परी घाइते हुन्छ, वीरजङ । उसलाई स्याहार्न नर्स वेदना खटिन्छिन् । एकान्तवास, जाडोको मौसममा विना लुगाको चिसो रात । यसै दुई शरीर एक हुन्छ र सम्भोग हुन जान्छ । पछि सेनासँगको मुठभेडमा वेदना बेपत्ता हुन्छे । वीरजङ ज्यान जोगाउन भागेर मलेशिया पुग्छ ।

पाँच वर्षपछि फर्कंदा काठमाडौंको टुँडिखेलमा जनयुद्ध शुरु भएको बाह्रौं वर्षगाँठ मनाउन विशाल जनसभा आयोजना भएको हुन्छ । सभालाई सर्वोच्च कामरेडले दुवै मुठी उचालेर सम्बोधन गर्छन् । वीरजङलाई युद्ध छाडेकोमा पश्चात्ताप हुन्छ । पार्टीले कायापलट लिएको एक किसिमले गर्व महसूस गर्दै टुँडिखेल परिक्रमा गर्छ ।

टाढाको मञ्चमा आसीन सर्वोच्च कमाण्डरलाई हेर्न घाँटी तन्काउँदै गर्दा ऊ भीडभित्रै अपहरणमा पर्छ । खोरमा पु¥याइन्छ । उमाथि लात बजारिन्छ । पार्टीको पैसा लिएर भागेको अनि वेदनालाई बर्बाद पारेको आरोप लगाइन्छ । आँखाको पट्टी खोल्दा वीरजङको अगाडि चार वर्षको छोरो लिएर वेदना ठिङ्ग उभिएकी हुन्छिन् । कथा यत्ति हो ।

तर यो कथा पढिरहँदा साँच्चै नै आफूलाई उही योद्धा ‘वीरजङ हुँ’ भन्ने खालको अनुभूत गराउँछ । कथामा उपकथा जोडेकाले पढ्नमा केही बोझिल लागे पनि कथाकारको शैली यति मीठो छ कि, एकै अक्षर नछुटाई पढ्न मनलाग्दो बनाउँछ ।

‘भुमरी’ शीर्षकको कथामा नाता पर्ने दुई किशोर–किशोरी बीचको शारीरिक सम्बन्ध, प्रेम र नाताको रहस्यलाई उद्घाटन गरिएको छ । उनीहरू आपसमा प्रेमी–प्रेमिका मानेर सम्बन्ध अगाडि बढाइरहेका हुन्छन् । भित्तामा झुण्ड्याइएको फोटोद्वारा दुवैको पिता एकै हो भन्ने रहस्य खुल्छ । एकदिन स्कुटरमा सवार दुवै जना दुर्घटनामा पर्छन् । केटीको मृत्यु हुन्छ, केटा अपाङ्ग । कहीं हिंड्डुल गर्न नसक्ने केटा बसेकै ठाउँमा फनफनी घुमेर जीवन बिताउँछ, भुमरी जस्तो ।

प्रगति राई

‘छुट्टीमा बिझेको काँडा पाकेछ ।’ यो वाक्य छुट्टी मनाउन नेपाल आएको एक युवकले गरेको गल्तीको प्रतीकात्मक चित्रण हो । केटो पल्टन गएको ६ महीनापछि एक गर्भिणीलाई युवती समाजले घरमा जिम्मा लगाउन ल्याउँछन् । मान्छे जब आफ्नै अहंले समस्याको खाल्डोमा फस्छ, तब ऊ जीवन बुझ्न अनेक दर्शनको सहारा लिन्छ भन्ने उदाहरण यो कथाले दिन्छ । पात्र आफू समस्यामा फसेपछि छुटकारा पाउने कुनै बाटो छ कि भनेर गौतम बुद्ध, ओशो, रजनीश, विवेकानन्द, फ्रायड, गुरु रिम्पोछे, दलाइ लामादेखि मुन्धुमका ठेलीसम्म अध्ययन गर्छ ।

अवैधानिक सहवासलाई पनि बडो इज्जतिलो शैलीमा प्रस्तुत गर्न सक्नुले कथाकारको शिल्पकारिता बेजोडको लाग्छ । शैलीका हिसाबले यो संग्रहलाई कथा भन्दा पनि उपन्यासको ढाँचामा छ भन्न सकिन्छ । किनकि, शीर्षक र परिवेश फरक भए पनि सबै कथाको एउटै आशय छ– अवैधानिक रूपले गरिएको यौन सम्पर्कले जटिल समस्या ल्याउँछ । मुख्य कथामा उपकथा जोडेर लेखिएकाले पाठकलाई कथा पढ्दा बोझिल लाग्छ ।

लेखकीय सिद्धान्त ‘यथार्थ चित्रण’ र ‘यथार्थ चित्रणसँगै यथार्थको परिवर्तनकारी लेखन’ मध्ये स्रष्टा सञ्जीवको लेखन ‘यथार्थ चित्रण’को पाटोबाट लेखिएको मान्नुपर्छ । किनकि, ती सबै समाजमा घटित घटनाहरू नै उनले लेखेका हुन् । जाने÷बुझेको कुरा पनि कतै उच्चारण नहुँदा कहिलेकाहीं सही र गलतको  द्विविधामा परिन्छ । सम्झौतामा भएको यौन संसर्ग पनि कति सुरक्षित हुनसक्ला ? पाएको अवसरलाई अन्धाधुन्द ग्रहण गर्ने कि भविष्यको परिणाममाथि पनि गहिरो विचार गर्ने ? त्यस्तो द्विविधाबाट यी कथाहरूले पाठकलाई मुक्त गरिदिन्छ ।

आफ्नो विचारलाई स्रष्टाले ‘यथार्थ चित्रण’को अर्को पाटो समातेको भए अझ यो किताब गुणकारी हुनेथियो भन्ने लाग्छ । त्यो हो, लाहुर जान चाहने युवाहरूले लाहुर मात्र सपना नबनाएर वैकल्पिक बाटोको लागि पनि उत्तिकै आफूलाई तम्तयार राख्नुपर्ने बाटो देखाइदिएको भए अझै राम्रो हुन्थ्यो होला । लाहुर लागेका युवाको अहं र नलागेका युवाको लाचारी मात्र देखाउनाले किताबमा वजन कम भएको महसूस हुन्छ ।

लेखकको सारा तागत वितृष्णामा चलिरहेको जिन्दगी र असुरक्षित यौन सम्पर्कले ल्याएको समस्या उजागर गर्नमा खर्च भएको छ । यतिका लामा कथाहरूमा कहीं कतै जीवन भेटिएको अथवा आफ्नो भाग्य आफैंले रचना गरिएको कथा पनि भइदिए ज्यादै राम्रो हुनेथियो ।

कथाकार सञ्जीव लिम्बूको अबको लेखनमा यी कुराहरू समेटिउन् भन्ने आशा राख्न सकिन्छ । युवाकालमा गरिने प्रेम शायद प्रेमावस्थाको मूल्यमध्ये सबै भन्दा सामान्य तहको प्रेम होला । किनकि, जीवजगतमा सबैले युवावस्थामा प्रेम गरेकै हुन्छन् । तर स्रष्टा हुनु भनेको आविष्कारक÷रचनाकार पनि हुनु भएकाले असम्भव अवस्थामा प्रेमलाई सम्भव बनाएर देखाउनु उसको कर्तव्य हुन जान्छ ।

‘सेन्स अफ ह्युमर’ले भरिपूर्ण त छँदैछ, यो शैलीमा अझ गहन विषय लेखिन आवश्यक छ ।

 लेखक : सञ्जीव लिम्बू

विधा : कथा सङ्ग्रह

मूल्य : २२५ रुपैयाँ



source https://www.onlinekhabar.com/2021/05/950082

सैनामैनाको कोभिड अस्पतालमा संक्रमितले गरे आत्महत्या

१८ वैशाख, बुटवल । रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’

स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको पाण्डेले बताए ।

तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।



source https://www.onlinekhabar.com/2021/05/950106

जीवन आचार्यको कविता : ‘आँधी’

आँधी आउन लागेको छ

सबै स्तब्ध छन्

कुनै आवाज छैन- ढुङ्गाजस्तै

यतिबेला बाघ पनि खरायोसँग सतर्क छ

 

आँधी आउन लागेको छ

र सबै थरथर कामिरहेका छन्

– अग्ला घरका बैठक र बार्दलीहरू जस्तै

धरहरा फेरि टुक्रिने डरले कामिरहेछ

– मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड

यति बेला पीडामा अनुवाद भैरहेछ

र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै छ

 

तल, धेरै तल जमीनमा, मानिसहरू-

साउतीजस्तै बात मारिरहेका छन्

आँधी समय-समयमा पाउनै पर्छ

यो आँधी-

प्रकृतिको सबभन्दा ठूलो जवाफ हो

अग्ला-अग्ला धरहराहरूलाई !

-जीवन आचार्य  ३० को दशकका प्रभावशाली कवि हुन् । युवा उमेरमै नेपाली साहित्यमा बलियो नाम बनाएका आचार्यको ३१ वर्षको अल्पायुमै निधन भयो । कविताबाहेक चित्रकारिता र अखबारी लेखनमा समेत उनको दर्बिलो उपस्थिति थियो । संस्थापन र सत्ता अनि शक्ति र अहमलाई चुनौती दिने आचार्यका यो कविता सान्दर्भीक भएकाले  पुनःप्रकाशन गरिएको छ । उनका ‘अन्तहीन सुरुआत’ (२०४१) र ‘जीवनका धुनहरू’ (कवितासङ्ग्रह, २०४७) प्रकाशित छ ।



source https://www.onlinekhabar.com/2021/05/950095

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद : कांग्रेस

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ ।

संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’

यो पनि पढ्नुहोस संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात

अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले भनेको छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’

विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ ।

कांग्रेसले भनेको छ, ‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।’



source https://www.onlinekhabar.com/2021/05/950090

खच्चड जिन्दगी !

सुइँय… सुइँय !

सिठी बज्यो, कडासँग ।

शे–फोक्सुण्डो ताल किनारबाट उकालिएको गोरेटो निकै अप्ठेरो छ । ढुङ्गा र बालुवासँगै भीर छ डरलाग्दो । तल छाँगाछुर भीर गएर हरियो दहमा जोडिएको छ ।

हामी असिनपसिन भएर माथि रोकिएका थियौं । त्यै बेला खच्चडको हुल आयो । कानै खाने गरी सिठी बजेपछि दक्षिणतिर हेरें ।

पिर्ती कराइरहेथे— ‘रोक, रोक रुप्सी !’

खच्चडको ताँती रोकियो । हामी निकै बेर पानी खाएर पसिना ओभाउन सुस्तायौं । दम फुलेको छातीले थकाइ मार्‍यो । फोक्सोमा सास भर्‍यौं ।

हामीले बाटो दियौं । फेरि खच्चड अघि बढे । धूलो उडाई–उडाई गयो खच्चडको हुल । धेरै परसम्म तिनको घन्टी बजेको सुनेर म शान्त भइरहें ।

****

कहिले खच्चडले जित्ने । कहिले हामी अघि हुने भइरह्यौं । सालघारीमा बस्दा अलिक फुर्सद भयो गफ गर्न ।

मैले सोधेथें कुमारलाई— ‘तिम्रा कति छन् खच्चड ?’

‘पाँच वटा !’

उनले आफ्ना खच्चडका नाम पनि भने — ‘मैयाँ, रुप्सी, काले, हजारी, चुइगम !’

खानपान, आनीबानी र स्वभाव पनि फरक–फरक हुँदोरहेछ खच्चडको । मान्छेसँग घुलमिल हुने खच्चडको नाम जन्म र चालामाला अनुसार राखिंदो रहेछ । कुमारले भनेथे— ‘खच्चडका धनीले सिठी बजाउँदा तिनले चिनिहाल्छन् अनि रोकिन्छन् !’

‘तिनको नाम लिनुस् त पुलुक्क हेर्छन् । कान ठाडा पारिहाल्छन् ।’

मैले नाम लिएर बोलाएँ । बाटा छेउमा पानी खाइरहेको काले खच्चडले पुलुक्क हेर्‍यो र बुर्कुसी मारेर कुद्यो ।

एक मुठी लसुन मुखमा हालिदिए चुइगमको । त्यसको पिरोले पिसाब फेर्ला कि भनेर । फेरि कुदाए बेस्सरी । लख्रक–लख्रक ऊ हिंड्यो । तैपनि पिसाब चुहिएन चुइगमको । दश–पन्ध्र मिनेट बाटो हेरे । अहँ, मुत्नै सकेन चुइगमले

****

पिर्तीका पाँच वटा खच्चड थिए ।

उनी निकै रमाइला थिए । भारी ओरालेलगत्तै पाखा, खर्क र पाटनतिर खच्चड धपाउन पिर्ती नै कुद्ने गर्थे ।

‘कति छन् खच्चड ?’

‘मैले त पाँच मात्र ल्या’छु । हिमाली, बुके, लाले, कान्छो र डल्ली छन् मेरा !’

उनले नाम टिपाए ।

कान्छोका छेउमा पिर्ती हुन्थे । बुकेले अगाडि–अगाडि बाटो लागेपछि अन्तिममा कान्छो हुन्थ्यो । पिर्तीको टाठो स्वरमा खच्चड खेदिरहेको सुनिन्थ्यो ।

उनले बजाएको सिठी मलाई निकै कडा लाग्थ्यो ।

खच्चड खेद्नेहरूमा डम्मर अर्का रमाइला र निकै हार्दिक तन्नेरी थिए । ती बाटोमा हिंड्दा–हिंड्दै पनि तास फिटेको देख्थें म । उनले खैरु, डल्ली, क्यामा, कान्छी र हिमाली नाउँका खच्चड ल्याएका थिए । खच्चडको काठी कस्न सिपालु थिए डम्मर । भारी कम–बेसी नपरोस् भनेर चनाखा हुन्थे ती ।

दिल खोलेर हाँस्थे डम्मर ।

‘खच्चड चार खुट्टाले हिंड्छ । थोरै हिंड्छ । म दुई खुट्टाले हिंड्छु । धेरै हिंड्छु’, भेटेकै दिन उनले भनेका थिए ।

डम्मरका कुरा गहिरा थिए । राति खच्चडलाई बाँधबुध गर्ने र बिहान धपाएर पाटन खेद्न ती निकै खट्थे । चरुन् है चरुन्— प्रायः उनले खच्चड भोका नहुन् भनेर चिन्ता लिएको लाग्थ्यो मलाई ।

****

दलबहादुर रोकायका दुई घोडा थिए— तारे र काले ।

उनी आफू घोडाको साहू भएकोमा अलिक बेग्लै हैसियत देखाउँथे– ‘म खच्चडे भन्दा अलिक माथ्लै हुँ नि !’

उनको बोली र सोच झण्डै उस्तै–उस्तै देखिन्थ्यो । बाटोमा ‘खैरे’लाई अप्ठेरो पर्दा उनकै घोडा तेर्सिन्थे ।

‘मेरो घोडा मर्ला नि !’ अलिकति भारी कसैले थप्यो कि उनी चिन्ता गर्थे ।

‘घोडाको काम भारी बोक्ने हो । रित्तै हिंडाउँदा त उसले पनि म धर्तीकै भारी भएँ भन्छ । तर सारा पृथ्वीकै भारी बोकाउनु त भएन नि बड्डा !’

शे–ला पासमा मैले झोला दिन खोज्दा उनले भनेको मेरो कानमा गुन्जिरहेथ्यो । बरु उनैले मेरो झोला काँधमा भिरेका थिए ।

‘हामी खच्चडे होइनौं । खच्चडवाला पनि होइनौं । खच्चड ड्राइभर भन्नु न । हाम्रो इज्जत पनि बढ्छ । मेरो नाम हो खच्चड ड्राइभर !’

छेप्कामा बेलुका आगो ताप्दा दलबहादुरले भनेका थिए । त्यो दिनदेखि म अलिक ख्याल गरी बोलाउँथें उनलाई ।

****

तराई, पहाड र हिमालसम्म खच्चडको प्रयोग गरिंदोरहेछ । नेपालमा दुई खालका खच्चड पाइने रै’छ । आफ्नै स्थानीय उत्पादनको नाम रहेछ– सिटे । अर्को रहेछ— इन्डेन । भारतबाट ल्याइएको यो प्रजाति कमजोर, चाँडै भोकाउने र रोगी खालको हुँदोरहेछ । समथरमा मात्र हिंड्ने इन्डेन निकै फितलो हुने बताए— धनबहादुरले ।

‘सिटे त उकालो निकै हिंड्छ । बलियो हुन्छ नि गजबको !’

दलबहादुरले भनेका थिए ।

‘दाना मात्र खाने त हो नि ! अलिकति भारी बोकाएर उकालो खेदे– धकाएर हिंड्नै सक्तैन । के गर्नु त्यस्तो खच्चड !’

उनले इन्डेन खच्चडको कुरा काटे ।

****

छुओरमा हामी खोला छेउमा बिसाएर खान थाल्यौं । पुग्दा नै ढिलो भइसकेको थियो । पुगेर मात्र भएन । पकाउनु पर्‍यो । खानै पर्‍यो । खैरे, भरिया, भान्साका सहयोगीसँगै खच्चड ड्राइभरसम्मले खाँदा समय निकै लाग्यो ।

प्रायः एक घन्टासम्ममा सबै जना खाईपिई हिंडिसक्थ्यौं ।

बिहान त्यो दिन दाना खुवाउन राम्रोसँग भ्याएनन् कि के हो— छुओरमा खैरीले विध्वंस मच्चायो ।

हामी खाना खाइरहेका थियौं– उफ्रीपाफ्री गर्‍यो खैरीले । ढाडको भारी खसेर डोरीमा अल्झियो । भित्तामा राखिएका भारी लडेर गुडे यता र उता । तरकारी, अन्डा, पाउरोटी धूलोपीठो होला भनेर पिर्ती, डम्मर कुमार र दलबहादुरले खैरीलाई समाते ।

चामल, दाल र मट्टीतेल घोलघाल होला भनेर डालप्रसाद, ध्यार र जयबहादुरले मिसिएका भारी छुट्याए झटपट ।

उफ्रिन छोडेन ऊ ।

चरिरहेका अरू खच्चडहरू पनि कान ठाडा–ठाडा पारेर आँखा पल्याकपुलुक पार्न थाले । एक खालको अत्यास सबैमा थियो । खैरी बस्ने, उठ्ने गर्न थाल्यो । त्यसो गर्दा भारी झरेर छिरलबिरल भयो । ऊ यताउता कुद्दा भुइँका भारी त किचिमिची भए–भए; छेउछाउ चरिरहेका अरू खच्चडका भारी पनि चुँडिए ।

एक खालको ठूलै खलबली भयो । सबै मिलेर खैरीलाई समाते । पिर्तीले गर्धन सुम्सुम्याए । निधार मुसारे डम्मरले । दलबहादुर र कुमारले दुईतिर छेकेर फकाए ।

चार जनाले निकै जोरजुलुमसँग समातेर थामथुम पार्नुपर्‍यो । बेला–बेलामा खुट्टा बड्काउन खोज्थ्यो खैरी । भुइँमा थचक्कै बसाएर राखे ड्राइभरले । खाना खाएर झटपट हिंड्ने बेलामा पिर्तीलाई सोधें– ‘के भो ? रणसंग्रामै पो मच्चायो त खच्चडले !’

‘धेरै बेर उभिनु परेकोमा रिसायो खैरी !’ उनले भने ।

‘हामीले खाना खाउन्जेल खच्चड चर्थे । हाम्रा लागि ती रोकिएका थिए । धेरै बेर लगायौं हामीले । अनि रिसाएको हो खैरी’, पिर्तीले खुलस्त पारे ।

****

शे गुम्बामा राति अबेरसम्म खच्चड ड्राइभरहरू आगो तापेर बसिरहेथे ।

‘मुख निन्याउरो देख्छु । के भयो ?’

‘आहारा नखाने ?’

मैले सोधें दलबहादुरलाई ।

‘खच्चड बिरामी छ । ऊ बिरामी भएपछि मलाई कसरी रुच्छ ?’

दलबहादुर आगो छेउमा घोत्लिइरहे । अरूहरू बगरमा देउसी खेल्न गए । उठेको पैसाले रमाइलो गर्ने भए— डम्मर, पिर्ती, कुमारले । तर दलबहादुरले एक थोपो रक्सी नखाई खच्चडको खैखबरी गरिरहे ।

बिहानीपख पो भने, ‘साह्रै थोरै पिसाब गर्‍यो । अहिलेलाई बाँच्यो । भरेसम्ममा हेरुँला !’

हामीले शे गुम्बा छोड्दा पनि उज्यालो अनुहार थिएन दलबहादुरको । खच्चडसँगै उनी पनि बिरामी परेका थिए ।

****

साल्दाङमा राम्रै हिउँ पर्‍यो। घर पछाडिको बलेसीमा ठूलो तिर्पाल तेर्सो पारेर राखिएको थियो । आँगनको त्यो फराकिलोमा ड्राइभरहरूका लागि बास बनाइएको रै’छ । खुबै हाँसो मच्चिएको थियो, अबेरसम्म । छिरिङ तिर्पालमा झम्टी–झम्टी केटाको खलबली रोक्थे ।

‘रातभरि फोन आएर हैरान भयो मोबाइलमा !’

बिहान मैले सोधें कुमारलाई ।

‘अनि के भो त ?’

फेरि खसखस पोखें ।

‘म खच्चड हँु भनेको । केटी मान्दिनँ । फोन गर्‍यागर्‍यै गरी’, कुमारले भने ।

धनबहादुरले थपे, ‘भरे फोन आउँदा कुरो मिलाउनु !’

‘तेरो काटेर खच्चडलाई । अनि खच्चडको बन्दुक ताछेर तेरोमा फिट गर्नु पर्छ । अनि कुरो मिल्छ । नत्र खच्चड भनिसकिस्— बर्बाद भै हाल्छ नि !’

हाँसो मच्चियो धेरै बेर । होहल्ला सुनेर डेबिड बाहिरै आए ।

****

ज्यान्तला पास नाघ्ने बेलुकी हामी हाइक्याम्पमा बसेका थियौं । चुइगम बिरामी पर्‍यो ।

सानो, अलिक दुब्लो र ज्ञानी खालको थियो— यो खच्चड । कुमारको खच्चड थियो चुइगम ।

ज्यान्तला पास ५,२२० मिटर उँचाइमा थियो । असाध्यै जाडो भएकाले म त तिर्पालभित्र छिरिसकेको थिएँ । ठूलो चौरमा हाम्रा तिर्पाल गाडिएका थिए ।

कोही भान्सामा, कोही स्लीपिङ व्यागभित्र । बाहिर खल्लीबल्ली भएको सुनेर आएँ म । चुइगम बिरामी भएछ । निकै बेरदेखि उसलाई छटपटी भएको रहेछ । पिसाब गर्न नसकेर यताउता गरिरहेको थियो । चर्नलाई मुख जोते पनि फेरि लुरुलुरु हिंड्थ्यो । उसको छटपटी देखेर धन, पिर्ती, कुमार र दलबहादुर उसलाई नियालिरहेका थिए ।

चुइगम बस्न खोज्थ्यो— सबै मिलेर हाहा, हुहु गरी धपाइहाल्थे । कसैगरी उसलाई बस्नै दिएनन् ।

तीन–चार घन्टादेखि छटपटाएको चुइगम मर्ने हालतमा पुगेको चिन्तामा धनबहादुर र कुमार थिए ।

निकै बेरदेखि आफैं ठीक होस् भनेर उनीहरू चुइगमका वरिपरि हेरेर घुमिरहे । तर ऊ झन्–झन् अरर्रिएर फनफनी घुम्न थाल्यो ।

धनबहादुर, कुमार र दलबहादुर भएर खच्चडलाई डोरीले अल्झाएर लडाए । थुतुनो च्यापेर बसे पिर्ती ।

अनि चुइगमको पिसाब गर्ने अङ्गमा रातो धुले खोर्सानीको एक पोका हाले । त्यसपछि बेस्सरी मुक्का हानेर कुदाए ।

‘खोल, खोल !’

पिसाब गर भनेर उनीहरूले भनिरहे, ‘खोल ! खोल !!’

तर चुइगम छटपटाएर यताउता गरिरह्यो । उसको पिसाब खुलेन । झोक्राएर ऊ घरी चौर, घरी पाटन, घरी खोलातिर, घरी हाम्रै तिर्पालतिर हिंडिरह्यो लुरुलुरु ।

खाली बस्न मात्रै खोज्थ्यो । तर हाहा–हुहु गरेर धपाइहाल्थे । ऊ कति–कति बेला त भुइँमा थेच्चिइहाल्थ्यो ।

तर चिमोटेर, घचेटेर, ठेलेर, लात्तीले ठोकेर, तानेर उसलाई खेदिछाड्थे ।

निकै बेरसम्म पनि उसले खोलेन । उसको पिसाब खुलेन ।

अनि एक मुठी लसुन मुखमा हालिदिए चुइगमको । त्यसको पिरोले पिसाब फेर्ला कि भनेर । फेरि कुदाए बेस्सरी । लख्रक–लख्रक ऊ हिंड्यो । तैपनि पिसाब चुहिएन चुइगमको । दश–पन्ध्र मिनेट बाटो हेरे । अहँ, मुत्नै सकेन चुइगमले ।

यसो पुच्छर उठाएर कठिनसँग एक डल्लो लिदी निकाल्यो । तर मरिगए पिसाब गर्न सकेन ।

बरु लत्रङ्ग लिङ्ग निकालेर हिंडिरह्यो ।

सबै कराइरा’छन्— ‘खोल ! खोल !!’

जति गरे पनि उसले पिसाब फेरेन ।

ऊ टाङ फट्याएर उभिन्थ्यो पिसाब फेर्न । तर आउँदैनथ्यो, एक थोपा । कनेर एक–दुई थोपा भए पनि निकाल्न खोज्थ्यो ऊ । तर सकिरहेको थिएन ।

उसका आँखैबाट बरु आँसु चुहिएर बगिरहेका थिए ।

कुद्दा–कुद्दा ऊ थाकेथ्यो । कुद्ने जातै हो नि खच्चड । आज ऊ कुद्न मानिरहेको थिएन । तर कुदाई–कुदाई उसलाई बचाउन खोजिरहेका थिए ।

‘लोकल ओखतीले काम गरेन !’

माटो फुकफाक गरेर छ्यापे धनबहादुरले ।

हाम्रो तिर्पाल छेउमा आएर बस्न खोजेको थियो, चुइगम । घेरा हालेर डोरीले कसेर लडाए ।

खच्चडको लामो पुच्छर पन्छाएर चक्कुले टुप्पोमा घोचेर घाउ बनाए । त्यसरी चिरेपछि केही अत्तालियो चुइगम । पीडामा रन्थनिएर झण्डै घुँडा टोकिदिएथ्यो कुमारको ।

‘खोई रगतै आउँदैन त यस्किमा टोक्नेको !’

धनबहादुरै आत्तिइसकेका थिए ।

थुतुनोमा पनि चक्कुले चिरे । दुई ठाउँमा काटेपछि पीडाले अत्तालिएर पिसाब फेर्दो रहेछ खच्चडले । केही अघि डाक्टरी ओखती पनि खुवाएका थिए ।

‘गर्नुविधि सबै गरे !’

‘अब एक घन्टामा पनि छ्वालछ्वाली मुतेन भने भरे फेरि गर्धनमा सुई ग्वाम्म रोप्नुपर्छ ।’

‘पिर्ती, सुई ठीक पारिराख है !’

धनबहादुर कराइरहेथे ।

केहीअघि भाङ र आफ्नै पिसाब पनि खुवाएका थिए चुइगमलाई । तर यति धेरै ओखतीमुलो गर्दा पनि उसले पिसाब तुर्काएन ।

‘खोल–खोल !’

अरू खच्चडलाई पनि पिसाब फेर भन्दै थिए— कुमार, पिर्ती । अरूले पिसाब फेरेको देखेर कतै चुहिन्थ्यो कि चुइगमको ? आशा मरेको थिएन ।

म तिर्पालभित्र पस्दा पाखातिर लखेटिरहेकै थिए— चुइगमलाई मुताउनकै लागि ।

बिहानै सोधें— ‘के छ खबर चुइगमको ?’

‘मुत्यो, आधा रातमा !’

धनबहादुर बोले ।

‘अब मर्दैन । बाँच्यो–बाँच्यो !’

पिर्तीले थपथाप गरे ।

****

खच्चडको जीवनशैली अनौठो रहेछ । आफ्नै सन्तान हुँदोरहेनछ खच्चडको । त्यसलाई घोडासँग सहवास गराएपछि खच्चड जन्मिंदो रहेछ । खच्चडका भाले–पोथीको सम्भोगबाट खच्चड जन्मिंदो रहेनछ ।

खच्चडले यौन तिर्खा मेटाउन घोडालाई टोकी–टोकी सहवास गराउँदो रहेछ । खच्चडसँग संसर्ग गर्दा सन्तान नजन्मिने भएकाले पोथी खच्चड पनि घोडातिरै आकर्षित हँुदोरहेछ ।

खच्चडहरू पिसाब फेर्न नसक्दा बिरामी हुँदा रै’छन् । पिसाब फेर्ने बेलामा कसैले बाधा पुर्‍याए खच्चडको पेट फुल्दो रहेछ । अनि समयमा पिसाब नखुले, केही घन्टामा मर्दो रहेछ ।

त्यै भएर पिसाब गराउन बेला–बेलामा ड्राइभरहरू कराइरहेकै हुन्थे– ‘खोल–खोल !’

अनि ताँती लागेर खच्चडका हुल छ्वालाला तुर्काइरहेका हुन्थे । मानौं– सानोतिनो खहरे झर्दैछ छङछङाएर ।

****

तिवाको उकालो चढ्दै गर्दा खोलामै रोकिएँ म ।

तल खोलादेखि नै खच्चडका बथान ठाउँठाउँमा माथि डाँडैसम्म रोकिएथे । तल पुछारमा बस्ने धनबहादुर कराए– ‘खैरेहरू रोक्नु है । कोही पनि नजानू !’

अनि हामी सबै बगरमै उभियौं । हावा र चिसो स्याँठ बेस्सरी चलेको थियो । बेला–बेला घाम पनि जङ्गिएर चर्कन्थ्यो ।

‘खोल ! खोल !!’

फकाई–फकाई धनबहादुर कराए जोडले ।

पिर्ती र कुमार पनि कराए चर्कैसँग– ‘खोल ! खोल !!’

अनि माथि डाँडैदेखि उभिएका सबै खच्चडले छलछली पिसाब फेरे । एउटाले फेरेको देखेपछि अर्काले, अर्काले फेरेपछि झन् अर्काले । यसरी नै सबैले पिसाब फेरे ।

हिजैदेखि थलिएको चुइगमले पनि मरीतरी दुई-चार थोपा तुक्र्यायो । अरूले आरी घोप्टाए झैं मुते पनि चुइगमले तुक्र्याएकोमा उज्यालो अनुहार थियो धनबहादुरको ।

उनको उज्यालोमा थपिएका थियौं, हामी पनि !



source https://www.onlinekhabar.com/2021/05/950083

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्युु

१९ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आईसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्युु भएको जानकारी दिए ।

रोकायाअनुसार होम आईसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्युु भएको छ ।



source https://www.onlinekhabar.com/2021/05/950086

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

१९ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ ।

संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

दुवै राजदूतले एक संयुक्त पत्रमार्फत संयुक्त राष्ट्रसंघका महासचिवलाई कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका छन् ।

दुई राजदूतको विचमा द्विपक्षीय सम्बन्धलाई कसरी विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने विषयमा समेत कुराकानी भएको न्यूयोर्कस्थित नेपाली मिसनले बताएको छ ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् ।



source https://www.onlinekhabar.com/2021/05/950084

कहाँ पुगे मोरङ छिरेका भनिएका रोहिंग्या ?

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् ।

भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । स्रोतका अनुसार झापाको काँकडभिट्टाबाट छिरेको समूह झापाको कमल गाउँपालिकासम्म पुगेको देखिन्छ । त्यसयता भने भेटिएका छैनन् ।

६ जनाको दुई परिवार विराटनगर छिरेको थियो । चोर बाटो हुँदै भित्रिएको जानकारी पाए पनि विराटनगर आएका ६ जनाको परिवार सम्पर्कमा छैनन् । झापा र मोरङबाट दुई वटा समूह कोरोना महामारीको दोस्रो लहर सुरु भएकै अवस्थामा नेपाल भित्रिएको थियो ।

बंगलादेशमा कष्टकर रुपमा गुजारा गरिरहेका शरणार्थी सुरक्षित बसोबासको खोजीमा नेपाल छिरेको स्रोतको दाबी छ । गृह मन्त्रालय स्रोतका अनुसार रोहिंग्या मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल छिरेका हुन् ।

मन्त्रालयले नेपाल छिरेका रोहिंग्या शरणार्थीको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले वैशाख ६ गते झापा मोरङ र काठमाडौं प्रशासनलाई निर्देशन दिएको हो । काठमाडौंमा रोहिग्याको दुई वटा शिविर छ ।

यो पनि पढ्नुहोस रोहिंग्या ट्रेल : म्यानमारदेखि काठमाडौंसम्म

भारतबाट चोर बाटो हुँदै नेपाल प्रवेश गरेका करिब पाँच सय रोहिंग्या काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको राममन्दिर क्षेत्रमा क्याम्प बनाएर बसेका छन् । राममन्दिर क्षेत्रस्थित रोहिंग्या आप्रवासी क्याम्पमा बस्नेहरुले नै उनीहरुलाई नेपाल भित्र्याएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरुले बंगलादेश र भारतभन्दा तुलनात्मक रुपमा नेपालमा जीवन सहज हुने भन्दै प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिएर नाका कटाएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोहिंग्या विराटनगर प्रवेश गरेको सूचना आएपनि प्रवेश गरेको कुनै प्रमाण नभेटिएको बताए । सूचना आएपछि खोजी गरेको बताउँदै उनले विराटनगर प्रवेश गरेको भेटिए नियन्त्रणमा लिइने बताए । उनले सीमा क्षेत्रमा निगरानी पनि बढाइएको बताए ।

म्यानमार सेनाले आक्रमण गर्न थालेपछि तीन वर्ष अघि थातथलो छाडेर भागेका रोहिग्याको ठूलो समूह बंगलादेशमा छ । हिंसात्मक गतिविधिका कारण मुलुक छाड्न बाध्य भएको म्यानमारको अल्पसंख्यक रोहिंग्या समुदाय बंगलादेशबाट विभिन्न देशमा पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/05/950080

ढुंगामा मूर्ति खोप्दा उडेको धूलो देखेर रमाउने मूर्तिकार 

१९ वैशाख, चितवन । एकनासले कराइरहने ग्राण्डर । बुङबुङ उडिरहेको धूलो । काम गरिरहँदा  चिरपरिचित मान्छेहरूले पनि ठम्याउन हम्मे पर्ने एक अनुहार । कहिले टन्टलापुर घामको उधुम गर्मी । कहिले हावाहुरी र पानी !

अनवरत रूपमा ढुंगामा मूर्ति बनाउने तपस्यामा जुटिरहने मूर्तिकार हुन्–लालकाजी लामा । जीवनका १२ वसन्त उनले ढुंगा, छिनो र ग्राण्डरसँगै विताए ।

मानिसहरू धूलो भनेपछि भाग्छन्, तर्किन्छन् । कर्कस आवाजबाट उन्मुक्ति र शान्ति खोज्छन् । तर सोख पनि अचम्मको, धैय पनि कति अटल ! चितवनको भरतपुर महानगरपालिका १६ ढड्डाघारी घर भएका लालकाजी लामा नेपाल ललितकला प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख हुन् ।

पछिल्ला वर्षहरूमा एक्लैभन्दा पनि मूर्तिकारहरूको समूह बनाएर काम गर्न बढी रुचाउँछन्, उनी । उनले मूर्तिकला सम्बन्धी कार्यशालाहरू आयोजना गर्छन् । सबैलाई समेटेर कैयौं दिनसम्म समूहमा मिलेर ढुंगाबाट दजनौं आकर्षक मूर्तिहरू बनाउँछन् ।

गत वर्ष उनले चितवनको माडी सोमेश्वरगढी जाने बाटोमा र यस वर्ष गैंडाकोटको मौलाकालिका मन्दिर जाने सडकपेटी किनारका ढुंगाहरूमा दर्जनौं विभिन्न आकृतिका मूर्ति बनाए । चितवन भरतपुरको रानीपोखरीमा उनले बनाएका मूर्तिहरू निकै आकर्षक छन् ।

१२ वर्ष अघिबाट व्यावसायिक रूपमा मूर्तिकलामा होमिएका लामाको शरीरले साथ दिएसम्म मूर्तिमा काम गर्ने धोको छ । छिनो समाउँदा हातमा परेका ठेलाले उनलाई दुःखभन्दा सन्तुष्टि धेरै दिन्छ ।

पैसा कमाएर पनि किन जोगाउनु भएन त ? भन्ने प्रश्नमा फिस्स हाँस्दै जवाफमा भन्छन्, ‘मेरो जिन्दगी नै विन्दास छ । केही दिन खटेर काम गर्छु, केही दिन आराम गरेर बिताउँछु ।’

ढुंगामा मूर्ति बनाउँदा उडेको धूलोसँग उनलाई आनन्द लाग्छ । ग्राण्डरको एकोहोरो र्‍याईं-र्‍याईं उनका लागि संगीत बन्छ । निर्जीव ढुंगो खोपेर बनाइएको मूर्ति हेर्दा ‘अब बोल्ला’ झैं देखिएपछि उनी दंग पर्छन् ।

भन्छन्, ‘मेरो रगत, पसिना, श्रम र सीप मूर्तिमै पोखेको छु, चित्रमा बढी पैसा आउँछ तर चित्र घरभित्र थन्किन्छ, मूर्ति सार्वजनिक हुन्छ ।’ मूर्ति बनाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको लामाको अनुभूति छ ।

जस्तै दुःख पाए पनि उनलाई रमाइलो यसैमा लाग्छ । ‘सीधै माटो मुछ्दा स्पर्श हुन्छ । धेरै बेरसम्म स्पर्श हुँदा माया हुन्छ । भौतिक सम्बन्ध मूर्तिमा हुन्छ’ लामा अगाडि थप्छन्, ‘मूर्तिमा घण्टौं उभिएर काम गर्नुपर्छ । जीवन्तको अभ्यास र आभास मूर्तिमै हुन्छ, यसका लागि गहिरो अध्ययन चाहिन्छ ।’ उमेर केही ढल्किए पछि अनुसन्धानमा आधारित कामहरू गर्ने लामाको सोच छ ।

बाल्यकालदेखि नै लालकाजी काम गरे पढ्न नपाउने, पढ्न थाले पैसा नहुने अवस्थाबाट गुज्रिए । एसएलसी पास गरेपछि काठमाडौं पढ्न जाने इच्छा भयो तर पैसाले साथ दिएन ।

संघर्षपूर्ण जीवन

२०४८ सालमा एसएलसी परीक्षाको नतिजा पर्खंदाको समयमा उनले साइनबोर्ड लेख्ने काम सिके । भरतपुर ओरालोस्थित लायन्सचोकको क्षितिज आर्टमा साइनबोर्ड र चित्र बनाउन सिके । पछि दुई वर्ष त्यहीं काम गरे । उनीभित्र काठमाडौं गएर पढ्ने इच्छा छँदैथियो । २०५० सालमा उनी काठमाडौं पुगे ।  काठमाडौंको ललितकलामा पढ्दा पैसाको अभाव भयो । त्यसबेला बिहानी कक्षा थिएन । दिउँसो कलेज जाँदा काम गर्न सक्ने अवस्था भएन । दुई वर्षपछि लामा चितवन रामपुर नै फर्किए । रामपुर बजारमा पसल राखे । जसले काम दिन्छ उसैको काम गरे ।

२०३२ साल पुस ३ गते भरतपुर यज्ञपुरीमा जन्मिएका लामाको निम्न मध्यम वर्गीय परिवार ढड्डाघारीमा बसाइ सरेको थियो । उनी आफूले थाहा पाउँदादेखि नै चित्र बनाउने गरेको सुनाउँछन् ।

विजयनगर विद्यालयमा पढ्दा किताब र कापीका पाना उनलाई देख्नै हुन्थेन । किताबमा भएका चित्रहरू हुबहु उतार्थे । कैयौंपटक सरको पिटाइसमेत खाएको उनी अहिले पनि स्मरण गर्छन् ।

विद्यालयमा पढ्नभन्दा बढ्ता रुचि उनलाई चित्र बनाउनमै थियो । अतिरिक्त क्रियाकलापमा चित्र बनाउने विषय आउँदा उनी अरूभन्दा बढी हौसिन्थे । विद्यालय बाहेकको समयमा खेल्दा पनि उनी ढुंगा, माटोमा चित्र नै बनाएर खेल्थे ।

‘मलाई कहिल्यै पनि फुटबल, भलिबल खेल्न रुचि भएन, खाली समय पायो कि चित्र बनाउनेतिर मात्रै ध्यान हुन्थ्यो’ लालकाजी भन्छन्, ‘कैयौं पटक छिनो लिएर मूर्ति बनाउन खोज्दा हात काट्थ्यो, नसा पनि काट्यो, तर घरमा कसैलाई नभनी लुकाउँथे ।’

****

२०५४ सालमा उनी पुनः काठमाडौं फर्किए । केही समय बागबजारमा काम गरे । २०५७ सालमा काठमाडौंको पुरानो बसपार्कमा पसल खोले । कम्पनीका कामहरू ठेक्का लिएर गर्न थाले । कसैको बोर्ड लेख्थे, ठूल्ठूला ‘ब्याक ड्रप’हरू पनि बनाए । कपडा, टीनका पातामा काम गर्थे । अहिले पनि ती काम आउँछन् तर रुचि छैन । साथीभाइले भन्दा उनी हार्न सक्दैनन् ।

फेरि ललितकला क्याम्पसमा उनी २०५६ मा स्नातक तह पढ्न भर्ना भए । त्यहाँबाट उनले पेन्टिङमा स्नातकोत्तर र मूर्तिकलामा स्नातक गरे । चित्र बनाए पनि मूर्ति बनाउने उनको ठूलो इच्छा ललितकलामा स्नातक पढ्न थालेपछि बल्ल पूरा भयो । मूर्ति बनाउने इच्छा लुकाएका लामाले पहिलोपटक गुम्बामा मूर्ति बनाएका थिए ।

‘चित्र र मूर्तिमा सामान्य फरक छ’ लामा भन्छन्, ‘मूर्तिमा छिनो कसरी हान्ने भन्ने कुरा सिक्नुपर्छ, अरू कुरा मिल्दोजुल्दो नै हुन्छ । प्राविधिक कुरा मात्रै जान्ने हो ।’

२०५९ सालमा उनले साथीसँग मिलेर ठमेलमा ग्यालरी खोले । चित्रहरू बनाएर बेच्न थाले ।

चित्रकलासँगै उनलाई राजनीतिको नशासमेत लाग्यो । अनेरास्ववियूको तर्फबाट ललितकलामा दुईपटक स्ववियू सभापति भए । उनको एक मात्रै सन्तान छोरी अष्ट्रेलियामा छिन् । उनी एक्लै छन् । बा, आमा र बहिनी चितवन घरमा ।

गुणस्तर र जीवन्त मूर्तिमा ध्यान

मूर्ति तथा सालिकहरू फाइवर, धातु र सिमेन्टमा बनाउने गरिन्छ । लामाले अहिलेसम्म पूर्ण कदका सालिक ८ वटा, अर्धकदका १२ वटा बनाएका छन् । मूर्तिहरू ढुंगामा मात्रै बनाउँछन् । लामाले पूर्ण कदको सालिक बनाएको १० लाख र अर्ध कदको सालिक धातुमा बनाएको ३ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

ओखलढुंगामा गुरु लुइँटेलको सालिक उनले जीवनमा पहिलोपटक बनाएका हुन् । ओखलढुंगामै चार जना साहित्यिक स्रष्टाहरूको सालिक बनाए । चितवन  दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित, हेटौंडाको शहीद स्मारक पार्कमा मदन भण्डारी, बीपी, गणेशमानको सालिक उनैले बनाएका हुन् । उनी भन्छन्, ‘मूर्ति र सालिकको संख्यालाई बढाउने भन्दा पनि गुणस्तर र जीवन्त बनाउनेतिर बढी ध्यान दिन्छु ।’

‘कमाएँ तर जोगाइनँ’

शुरू शुरूमा व्यावसायिक हुन नसकेको मूर्तिकला पेशा पछिल्लो समय व्यावसायिक बन्दै गएको छ । मूर्तिकारहरू मूर्ति बनाएर पनि सजिलैसँग जीवन धान्न सक्ने बताउँछन् ।

मूर्तिकार लामा पनि यो पेशाबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘मैले यो पेशाबाट प्रशस्त कमाएँ तर जोगाइनँ ।’ उनी काठमाडौंमा भाडामै बस्छन् । ‘घर त मेरो चितवन नै हो, चितवन नै फर्किने हो काठमाडौंमा किन चाहियो घर ?’ लामा भन्छन् ।

उनले सहज जीवनयापनमा सम्झौता गरेका छन् । भोलिको चिन्ता पनि छैन, कमाएर राखेका पनि छैनन् । पैसा कमाएर पनि किन जोगाउनु भएन त ? भन्ने प्रश्नमा फिस्स हाँस्दै जवाफमा भन्छन्, ‘मेरो जिन्दगी नै विन्दास छ । केही दिन खटेर काम गर्छु, केही दिन आराम गरेर बिताउँछु ।’

उनी मूर्तिकला पेशाबाट हुने आम्दानी नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीको भन्दा कम नहुने बताउँछन् । ‘मूर्तिकारले कमाइबाट घर बनाउन, गाडी चढ्न सजिलै सक्छ’, लामा भन्छन् ।

लामाको एक सपना छ, चितवनमा नै मूर्तिकला सम्बन्धी पढाइ सञ्चालन गर्ने, कलेज बनाउने । उनले २०६९ सालताका नवलपरासीको गैंडाकोटको सूर्यभक्त पतनादेवी कलेजमा मूर्तिकला सम्बन्धी कक्षा चलाउने जमर्को पनि गरे । तर त्यसले निरन्तरता पाउन सकेन । सीटीईभीटीले स्वीकृत पनि दिएन, सपना अधुरो भयो । यही अधुरो सपना पूरा गर्ने चाहना बलियो गरी बसेको छ उनको  मस्तिष्कमा ।

ललितकलामा ६ वर्ष पढाएका लामा भन्छन्, ‘अब ललितकलामा फर्किन्न, मेरो वर्षौं पुरानो सपना पूरा गर्नुछ, समयले मलाई चितवन ल्याइछाड्नेछ ।’



source https://www.onlinekhabar.com/2021/05/950076

भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

१९ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

२२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द नगरेकाले समस्या नहुने जानकारी ट्वीट मार्फत दिएका हुन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘१३ वटा नाका खुला रहने छन् । घर फर्कन चाहने नेपाली नागरिकले यी रुटहरु प्रयोग गर्न सक्छन् ।’

कोरोना संक्रमणको फैलावट रोक्ने उद्देश्यले सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने निर्णय गरेको छ । साथै सीसीएमसीले हवाई सेवासमेत बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

महामारीका कारण भारतमा रोजगारी गुमाएका धेरै नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन् । जहाज मार्फत आउन नसक्ने नेपाली नागरिक स्थलमार्ग हुँदै खुल्ला गरिएका नाकाबाट आउन सक्ने सरकारले बताएको छ ।

गत वर्ष सरकारले नाकामा कडाइ गर्दा धेरै नेपाली अलपत्र परेका कारण यसपटक घर फर्कन चाहनेहरुलाई सहजै फर्कन दिइरहेको छ ।

भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि नेपालीहरु रोजगारीका लागि गएका नेपालीहरु धमाधम घर फर्किएका छन् । केही नेपालीहरु भारतमा अलपत्र समेत परेका छन् । अलपत्रमा परेकालाई आफ्नो सम्पर्कमा आउन आह्वान गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ ।



source https://www.onlinekhabar.com/2021/05/950074

प्रतिस्पर्धी दरमा बिजुली आयात सुरु, पहिलेको भन्दा ३७ पैसा सस्तो

१८ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद सुरु गरेको छ ।

प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात थालेको हो ।

योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताए ।

शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१ भारतीय रुपैयाँ रहेको उल्लेख गर्नुभयो । ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत पाएका छौं, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने ।

माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना छ

प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४.१८ भारु छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ ।

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१सम्म रहेको छ ।

भारतीय एक्सचेन्ज बजारबाट विद्युत खरिदका लागि प्राधिकरणकातर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने छ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनु पर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

बिक्री गर्ने योजना

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ ।

नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/05/950072

वीरगञ्जमा गरिएको परीक्षणमा १९३ जनामा संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको परीक्षण गर्दा १ सय ९३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनको २, धनुषा, बर्दिया र नवलपरासीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

अढाइ वर्षको बालकदेखि ७७ वर्षका संक्रमित छन् । संक्रमितको सिटी भ्यालु १३.१ देखि ३५.१ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

यो पनि पढ्नुहोस वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु

source https://www.onlinekhabar.com/2021/05/950071

वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममा वीरगञ्ज छपकैया बस्ने ६७ वर्षीय पुरुषको आज बिहान पौने ६ बजे मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि भई तीन दिनअघि भर्ना भएका उनी २४ घण्टादेखि भेन्टिलेटरमा थिए । हाईफ्लो अक्सिजन दिँदा समेत उनको स्वास्थ्यमा सुधार भइरहेको थिएन । सक्दो प्रयास गर्दा समेत उनलाई बचाउन नसकिएको कोरोना अस्पतालमा खटिएका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए ।

‘विरामीको अक्सिजन लेभल २५ भन्दा माथि गइरहेको थिएन,’ उनले भने, ‘भेन्टिलेटरमा समेत राख्यौ, तर बचाउन सकिएन ।’

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा २३ जना संक्रमित उपचाररत छन् । जसमध्ये ९ जना भेन्टिलेटरमा छन् । अस्पतालका अनुसार संक्रमित सबैलाई १२ लिटरसम्म अक्सिजन जढाउनु परेको छ । शंकास्पद संक्रमितको संख्या समेत दैनिक बढी रहेको छ ।



source https://www.onlinekhabar.com/2021/05/950070

रुपन्देही र नवलपरासीका दुई संक्रमितको मृत्यु

१८ वैशाख, बुटवल । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो ।

वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

महिलालाई एचडियुमा राखेर र पुरुषको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।



source https://www.onlinekhabar.com/2021/05/950069

झण्डै १० प्रतिशत संक्रमित बालबालिका

१८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत हो ।

मन्त्रालयको तथ्यांक अनुसार १७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत हो ।

बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलको ठम्याइ छ

चिकित्सकहरुले बताए अनुसार तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएका छन् ।

वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरु के भन्छन् ?

बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले तथ्यांक भन्दा बढी बालबालिकामा संक्रमण देखिन सक्ने बताउँछन् । ‘धेरै संख्यामा लक्षण भएका बालबालिका पनि परीक्षणका दायरामा आएका छैनन् । परीक्षण भएका बालबालिकाको स्वाब संकलनमै समस्य हुने भएकाले पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छैन । जति बालबालिकामा संक्रमण देखिएको छ यो पनि धेरै हो ।’ समुदाय स्तरमा अझ धेरै संक्रमित बालबालिका हुन सक्ने उनको अनुमान छ ।

कोरोनाको दोस्रो लहर देखिने बित्तिकै स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय तथा कलेजहरु बन्द गर्न सुझाव दिएको भएपनि त्यसो हुन नसक्दा कोरोनाको संक्रमण दर बढेको हुन सक्ने उनी बताउँछन् ।

२० वर्षदेखि माथि र ५० वर्षभन्दा मुनिका उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण बढी देखिनु नै समुदायका लागि खतरा रहेको उनले बताए । यो उमेर समूहका मानिसहरु कलेज, अफिस, व्यापार तथा व्यवसायमा सक्रिय रहँदा बढी भिडभाडमा रहनु परेका कारण उनीहरुबाट संक्रमण परिवारमा सरेको हुन सक्ने उनको आशंका छ ।

बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको उनको ठम्याइ छ ।

पछिल्लो समय बाँकेको नेपालगञ्ज कोरोनाको हटस्पट नै बन्न पुगेको छ । कोरोना संक्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत लगाएको छ । कोरोना संक्रमितले बाँकेका अस्पतालहरु भरिभराउ भएका छन् । बाँकेको भेरी अस्पतालका डाक्टर राजन पाण्डेले सरकारले विद्यालय बन्द गर्न ढिलाइ गरेका कारण पनि बालबालिकामा कोरोनाको जोखिम बढेको बताउँछन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि अस्पतालसम्म आइपुगेका बालबालिकाको मात्रै परीक्षण हुने गरेको पाइएको उनी बताउँछन् । सामान्य लक्षण भएका, कन्ट्याक्ट ट्रेसिङमा परेका बालबालिकाहरुको परीक्षण नै हुन नसकेका उनी बताउँछन् ।

यो पनि पढ्नुहोस संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात

बाँके जस्तै कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र वीरगञ्ज पनि हो । वीरगञ्जस्थित नारायणी अस्पतालका डा. सरोज रोशन दासका अनुसार बालबालिकामा संक्रमण पुष्टि भएपनि अस्पतालमा कोही पनि भर्ना भएका छैनन् । उनले भने, ‘अस्पतालको प्रयोशालामा परीक्षण गर्दा १ वर्षदेखि माथिका बालबालिकामा संक्रमण भएको पाइएको छ । तर सामान्य ज्वरो मात्रै देखिएका कारण चिकित्सकको सल्लाह अनुसार उनीहरु घरमै छन् ।’

संक्रमितको अत्याधिक चाप रहेका कारण जटिल खालका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने भएकाले पनि सामान्य लक्षण भएका बालबालिका घरमै रहेको उनको भनाइ छ ।

बालबालिकालाई कसरी जोगाउने ?

बालबालिकालाई कोरोना संक्रमण हुनबाट बचाउन अभभिावक नै बढी सेचत र जिम्मेवार हुनुपर्ने चिकित्सकहरु बताउँछन् । संक्रमण तीब्र रुपमा बढी रहेका कारण बालबालिकालाई घर बाहिर निस्कन नदिने, स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने र गराउन लगाउनु पर्ने चिकित्सकहरुको सुझाव छ ।

बालबालिकालाई लक्षित गरी कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्नुपर्ने नारायणी अस्पतालका कोभिड फोकल पर्सन दास बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/05/950067

आइसोलेसनमा बसेर चितवनको सुरक्षा कमाण्ड सम्हाल्दैछन् अधिकारी

१८ वैशाख, चितवन । वैशाख १४ गते चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी कोरोना संक्रमित भए । उनी प्रहरी कार्यालय भित्रकै क्वाटरमा वसेर जिल्लाको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १७ गते शुक्रवारदेखि १५ दिने निषेधाज्ञा जारी गरेको छ । सो निषेधाज्ञाको कार्यान्वयन, संक्रमितहरुको व्यवस्थापन, समग्र सुरक्षाको कमाण्ड क्वाटरमा नै बसेर गरिरहेको एसपी अधिकारी बताउँछन् । संक्रमणको स्रोत थाहा नभएको बताउँदै एसपी अधिकारी भन्छन्, ‘कार्यालय गएको छैन, तर क्वाटरमा नै बसेर समग्र जिल्लाको सुरक्षा मेरै कमाण्डमा चलिरहेको छ ।’ क्वाटरमा सामान्य ढंगले नै बसिरहेको उनी बताउँछन् ।

उनलाई कोरोना संक्रमण भए पनि उनको सुरक्षा गार्ड तथा सहयोगी भने संक्रमित छैनन् ।  जिल्ला प्रहरी कार्यालय चितवन भित्र कार्यरत झण्डै २ सयभन्दा बढी प्रहरीमध्ये उनी मात्रै अहिलेसम्म संक्रमित पुष्टि भएका अधिकारी हुन् ।

हिरासतमा दुई जना थुनुवा संक्रमित छन् । एसपी अधिकारीलाई कोरोनाका कारण स्वाद हराउने, सामान्य रुघाखोकी र हल्का ज्वरोको समस्या छ । त्यसबाहेक अन्य खासै ठूलो समस्या नभएको एसपी अधिकारी बताउँछन् । यद्यपि चिकित्सकसँग बेलाबेलामा सल्लाह लिने गरेको उनी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी सूर्यबहादुर थापा, इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी इन्द्रबहादुर रानासँग र मातहतका ६ वटा इकाइका प्रहरी निरीक्षकहरूसँग निरन्तर सम्पर्क र समन्वयमा काम गरिरहेको एसपी अधिकारीले बताए । ‘संक्रमित भएदेखि नै मैले आफ्नो डीउटी छाडेको छैन,  तनाव पनि खासै लिएको छैन,’ एसपी अधिकारीले भने, ‘प्रहरी भनेको अन्य कार्यालय जस्तो हैन ।’ उनले प्रहरी समूहमा बस्ने, खाने र हिँड्ने भएकाले कोरोना सर्ने जोखिम पनि उच्च हुने हुँदा विषेश सावधानी अपनाइएको बताए ।

उनले कोभिडको अहिलेको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालयले गरेको लकडाउन कसैले कसैको विरुद्धमा लगाएको आदेश नभएकाले जनता आफैंले सचेत हुनुपर्ने बताए । ‘आदेशको कार्यान्वयनका लागि प्रहरी फिल्डमा खटिएको छ, सबैको जीवन रक्षाका लागि प्रहरी निरन्तर खटेको हो, आफ्नो स्वास्थ्य नै जोखिममा पारेर खट्ने प्रहरीलाई सबैले सहयोग गर्नुहोस्,’ एसपी अधिकारीले भने, ‘अत्यावश्यक काम मात्रै गरौं, अरु काम अहिलेलाई थाती राखौं र सुरक्षित रहौं ।’

उनले विभिन्न नाम र बाहनामा लकडाउनमा घुम्ने, कानूनभन्दा माथि रहेको वा पहुँच देखाउन सवारी लिएर हिँड्ने क्रम सुरु भएकाले पहिला सम्झाउने र नसम्झिए कानून बमोजिम कारवाही गरिने बताए । उनका अनुसार जिल्लामा पहिलो दिन लकडाउनको आदेश उल्लंघन गर्न खोज्ने झण्डै दुई हजार जतिलाई होल्डिङ सेन्टरमा राखेर सचेत गराएर छाडिएको छ । शनिबारबाट झनै बढी कडाइ गर्ने तयारीमा प्रशासन रहेको एसपी अधिकारीले बताए ।



source https://www.onlinekhabar.com/2021/05/950061

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

१८ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण ठूला कार्यक्रम आयोजना गरिएको छैन ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

शुभकामना सन्देशमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री ओलीले श्रमिकको सम्मान गर्दै श्रम क्षेत्रको कानूनी विभेद अन्त्य गरेको बताएका छन् ।

यसैगरी सभामुख अग्नि सापकोटाले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।



source https://www.onlinekhabar.com/2021/05/950060

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

१८ वैशाख, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ ।

उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए ।

ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा ल्याइएको थियो ।

तर, पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । ‘उहाँ शिवभक्त हुनुहुन्थ्यो । पशुपतिनाथ मन्दिर परिक्रमा गराएर वैद्यखानामा राखेपछि उहाँले आज विहान अन्तिम सास लिनुभयो,’ पौडेलबारे जानकार कांग्रेस नेता चन्द्र भण्डारीले भने ।

भण्डारीका अनुसार राष्ट्रियसभा सदस्य हुँदा सरकारले दिएको गाडीको सुविधा पौडेलले लिएका थिएनन् । ‘त्याग र निष्ठाको राजनीतिको उहाँ उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो,’ भण्डारीले भने, ‘गाडीको सुविधा नलिने उहाँ पनि एक सदस्य हुनुहुन्थ्यो ।’

उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत रहेको नेता भण्डारी बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/05/950057

किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा पानीको विषयमा झडप, ३१ जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् ।

पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ ।

सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान गरिएको थियो । त्यसपछि दुवै पक्ष पछि हटेका थिए । यद्यपि सो क्षेत्रमा पटक–पटक गोली चलेको आवाज सुनिन्थ्यो ।

किर्गिस्तानका स्वास्थ्यमन्त्री अजिला सोल्नबिकोवाले टेलिभिजन सम्बोधनको क्रममा गत विहीबार भएको झडपमा परी ३१ जनाको मृत्यु भएको र १५० जना घाइते भएको जानकारी दिएका हुन् । ताजिकिस्तानतर्फ भने कति जनाको मृत्यु भयो भन्ने विवरण आएको छैन ।

सामाजिक सन्जालहरुमा सेयर गरिएको भिडियोमा किर्गिस्तानको बाटकनस्थित विवादित सीमा क्षेत्रका धेरै घरहरु आगोमा जलिरहेको देखिन्छ । सो क्षेत्रमा एक सीमा चौकी, २० भन्दा धेरै घर, एक स्कुल, आठवटा पसल र क्यासिनो जलेको बीबीसीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/05/950055

केएल राहुलको ब्याटिङ र हरप्रितको अलराउण्ड प्रदर्शनमा पञ्जाबले बेंगलोरलाई हरायो

१८ वैशाख, काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कप्तान केएल राहुलको उत्कृष्ट ब्याटिङ र हरप्रित ब्रारको अलराण्ड प्रदर्शन मद्दतमा पञ्जाब किंग्स विजयी भएको हो ।

यस जितपछि पञ्जाब ७ खेलबाट ६ अंकसहित तालिकामा पाँचौ स्थानमा उक्लेको छ । हारले बेंगलोरको शीर्ष स्थानमा उक्लने मौका गुमेको छ ।

अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ओपनर राहुलको अविजित ९१ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । राहुलले ५७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि क्रिस गेलसँग ८० रनको साझेदारी गरे । गेलले २४ बल खेल्दा ६ चौका र २ छक्का मद्दतमा ४६ रन जोडे ।

यस्तै राहुल र हरप्रित ब्रारले छैटौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । ब्रारले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २५ रन बनाए ।

बेंगलोरका केल जेमिसनले २ तथा ड्यानिएल साम्स, युजभेन्द्र चेहल र शहबाज अहमेदले १-१ विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रजत पाटिदार र हर्शल पटेलले समान ३१ रन जोडे । केल जेमिसन १६ रनमा अविजित रहे । बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे ।

पञ्जाबका हरप्रितले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । खेलको ११औं ओभरको पहिलो बलमा बेंगलोरका कप्तान विराट कोहलीलाई बोल्ड गरेका उनले लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेललाई बोल्ड गरेका थिए । यस्तै १३औं ओभरमा उनले ए बी डे भिलियर्सलाई कप्तान राहुलबाट क्याचआउट गराएका थिए ।

पञ्जाबका लागि रवि बिश्नोईले २ तथा रिले मेरेडिथ, मोहम्मद शामी र क्रिस जोर्डनले १-१ विकेट लिए ।



source https://www.onlinekhabar.com/2021/05/950053

Thursday 29 April 2021

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि, कतिसम्म दिने आवेदन ?

१७ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो ।

आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।

यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको‚ यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्‚ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।

कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । पछिल्लो समय आवेदकहरुको संख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता मात्रै पनि धेरै कमले मात्रै पाउँछन् । यसर्थ १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ ।



source https://www.onlinekhabar.com/2021/04/949849

कोमल शाहको स्वास्थ्य सुध्रिएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

१७ वैशाख, काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।



source https://www.onlinekhabar.com/2021/04/949846

सुपुष्पा र दीपकको ‘सयौं कारण

गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु,मंगली,सरला जस्ता  गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत छ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। रोमान्टिक नम्बरको गीतको भिडियोलाई निर्देशक शाहीले आकर्षक बनाएका छन्।



source https://www.onlinekhabar.com/2021/04/949842

दिनेश, मानस, भिम र पूनमको ‘एउटै तस्वीर’

गायक प्रविन वेडवालको स्वर, हरि लम्सालको संगीत र दीपेन्द्र के थापाको शब्दमो ‘एउटै तस्वीर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा कलाकार दिनेश डीसी, संगीतकार मानसराज, गायक भिम बिष्ट र मोडल पूनम गौतमको अभिनय छ ।

गीतको भिडियोमा यूवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन फरक फरक उमेर समुहका पुरुषहरुको कथा देखाइएको छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।



source https://www.onlinekhabar.com/2021/04/949840

प्रचण्डले भने– तत्काल नयाँ सरकार बन्ने संकेत छैन

१७ वैशाख, काठमाडौं । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।

कति दिनमा सरकार बन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’

‘देउवासँग सहमति भएको छैन’

एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई स्पष्ट गर्ने, केही परिमार्जन गर्ने र जरुरी पर्दा चिठी आदान–प्रदान मार्फत संशोधन गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए । ‘यो आइपिएस होइन, यसमा सुरक्षासँग सम्बन्धित होइन भन्ने विषय दस्तावेजमा नै स्पष्ट भयो भने अगाडि बढाउन सकिन्छ भन्ने विषय नेकपा हुँदैको समझदारी हो,’ प्रचण्डले भने, ‘एमसीसीलाई हामीले आउराइट रिजेक्ट (पूर्णरुपमा अस्वीकार)  कहिले पनि गरेका छैनौं । तर निःशर्त पास गर्ने भन्नेमा म छैन, त्यस्तो सहमति र सम्झौता पनि भएको छैन ।’

त्यसमा के–के स्पष्ट गर्ने, के–के संशोधन गर्ने भन्ने भयो भने र एउटा संकल्प प्रस्ताव भयो भने अगाडि बढाउन सकिने कुरा आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भनेको जानकारी पनि उनले दिए ।

तर, एमसीसी पास गर्नेगरी कांग्रेसको नेतृत्वमा सरकार बनाउन खोजेको भनी सार्वजनिक खबरका सम्बन्धमा प्रचण्डले त्यस्तो केही पनि नभएको दाबी गरे । उनले भने, ‘एमसीसीमा केही भइसक्यो कि भन्ने जुन चर्चा भएको छ, त्यो होइन ।’

हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन

प्रचण्डले माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नदिएकाले विश्वासको मत फिर्ता पनि लिनु नपर्ने तर्क गरे । ‘उहाँले (ओलीले) विश्वासको मत फिर्ता ले कि, फिर्ता ले भन्नु भएको छ नि, उहाँले भन्दासम्म लिन्नँ म,’ प्रचण्डले भने, ‘हामीले बढीभन्दा बढी गर्ने भनेको अब हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन । समर्थन दिएको भए पो फिर्ता लिने ।’

उनले ओलीसँग सत्ता सहकार्यको लागि राजनीतिक सहमतिको तत्काल सम्भावनासमेत नरहेको बताए ।



source https://www.onlinekhabar.com/2021/04/949833

सामाजिक संजालबाट अलग हुँदै बलिउड सेलिब्रिटी

बलिउड नायिका इशा गुप्ताले सामाजिक संजालबाट अलग हुने घोषणा गरिन् । उनले, भारतमा कोरोना भाइरसका कारण दैनिक हजारौ मानिसको ज्यान गैरहेको भन्दै यसले दुःखी तुल्याएको पनि उल्लेख गरेकी छिन् । यसकारण, आफू सामाजिक संजालबाट अलग भएको इशाले उल्लेख गरेकी छिन् ।

उसो त, बलिउडका सेलिब्रिटीहरुले विभिन्न कारण देखाउँदै सामाजिक संजालबाट अलग हुने घोषणा गरिरहेका छन् । चलचित्र ‘दंगल’बाट बलिउडमा प्रवेश गरेकी नायिका फतिमा सना शेखले पनि सामाजिक संजालबाट अलग हुने निर्णय गरिसकेकी छिन् ।

उनले, आफूले सामाजिक संजालबाट अलग हुने निर्णय गरेको भन्दै सबैलाई सुरक्षित रुपमा रहन अपिल गरेकी थिइन् । बलिउड नायक आमिर खानले पनि सामाजिक संजालबाट अलग हुने निर्णय गरेका थिए । उनले मार्च महिनामा आफ्नो काममा ध्यान दिनुपर्ने भन्दै सामाजिक संजाल छाडेको उल्लेख गरेका थिए । सामाजिक संजालमा नकारात्मक कुराले बढी स्थान पाउने र कलाकारहरु यसको निशानामा पर्न थालेपछि उनीहरुले टाढा हुने निर्णय गरेका हुन् ।

चलचित्र ‘लवरात्री’की नायिका वरिना हुसेनले पनि अप्रिल महिनामा सामाजिक संजालबाट अलग हुने निर्णय गरिन् । उनले आफ्नो ट्विटर एकाउन्ट आफ्नो टिमले हेर्ने भन्दै आफू अलग भएको उल्लेख गरेकी थिइन् ।



source https://www.onlinekhabar.com/2021/04/949834

‘अब कानूनमै स्थानीय तहले चन्दा दिन नपाउने व्यवस्था गर्नुपर्छ’

धेरै स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको पक्ष कमजोर छ । यसबारे विवेचना गर्नुअघि कानूनीपक्ष हेर्नुपर्छ । हाम्रो संविधानले स्थानीय तहलाई राज्यशक्तिको अधिकार दिएको छ । राज्यशक्ति भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको अधिकार हो । त्यसकै आधारमा हामीले गाउँ–गाउँमा सिंहदरबार पुगेको भनेका हौं ।

संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहअस्तित्व, सहकार्य र समन्वयका आधारमा हुने भनेको छ । यी तीन तहले प्रतिस्पर्धा गर्ने हैन, सहअस्तित्वसहित सहकार्य र समन्वय गर्ने हो । एकल अधिकारको सूचीले दिएका कुरा सहअस्तित्वका आधारमा र साझा अधिकारका विषयमा सहकार्य र समन्वयका आधारमा गर्ने भनेको हो ।

तर, अहिले तीन तहका सरकारबीच विभिन्न पक्षमा प्रतिस्पर्धा छ । यसले स्थानीय तह, प्रदेश र संघीय सरकारमा सुशासनको अवस्था कमजोर छ । संघले गरेको कामको प्रदेशले र प्रदेशले गरेका कामको स्थानीय तहले नक्कल गर्ने प्रवृत्तिले समस्या बढेको हो । आफ्नो अधिकार र कार्य क्षेत्रका आधारमा मिलेर गर्नुपर्ने काममा पनि प्रतिस्पर्धा भइरहेको छ ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि छन् । यो जनताको सबैभन्दा नजिकको सरकार हो । तर जनप्रतिनिधिले बुझ्नुपर्छ कि सीमित स्रोतको पनि दुरुपयोग भयो भने जनताले दण्डित गर्छन् ।

स्थानीय तहले संविधान र कानूनले दिएका काम गर्ने हो । अधिकार नभएको क्षत्रेमा प्रवेश गर्ने हैन । स्थानीय तहले गर्ने हरेक कार्य पारदर्शी हुनैपर्छ । राज्यस्रोतको न्यायोचित र वैज्ञानिक उपयोग हुनुपर्छ ।

अनि कानूनले दिएका काम गर्दा पनि विधि प्रक्रिया पुर्‍याउनुपर्छ । विधि र प्रक्रिया समेत छलेर दल निकटका कार्यकर्ता र संघ–संस्थालाई भरणपोषण गर्ने जुन प्रवृत्ति छ, त्यो चिन्ताको विषय हो ।

अहिले स्थानीय तहले सञ्चालन गरेका कार्यक्रम र वितरण गरेको सहायताको अनुगमनको पाटो पनि निकै कमजोर छ । सुशासन कायम गर्ने सवालमा स्थानीय तह अब जिम्मेवार मात्रै भएर पुग्दैन, कठोर बन्नुपर्छ ।

अहिलेको स्थानीय तह संघीयता कार्यान्वयनपछिको पहिलो स्थानीय सरकार हो । यही सरकारले भविष्यका लागि जग बसाल्ने हो । अहिलेका जनप्रतिनिधिले देखाएका बाटोमा भविष्यका जनप्रतिनिधि हिंड्ने हो । अहिले नै विकृति बढ्यो भने संघीयताप्रति मान्छेको बुझाइ नराम्रो बन्न सक्छ । त्यसैले स्थानीय तहहरू आफ्नो दायरा भन्दा बाहिर जान मिल्दैन ।

विगतमा पनि स्थानीय निकायबाट विभिन्न नाममा चन्दा वितरण गर्ने काम बन्द गर्न प्रयास भएको हो । तर, संघीयताको कार्यान्वयनपछि पनि स्थानीय तहहरूले चन्दा दिन बन्द गरेका छैनन् । यो तुरुन्तै बन्द गर्नुपर्ने विषय हो । हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले के–के गर्नुपर्छ भनेर स्पष्ट व्यवस्था गरेको छ ।

मलाई त के लाग्छ भने अब स्थानीय तहले गर्नै नहुने काम पनि ऐनमा नै तोक्नुपर्छ । राजनीतिक दलका भगिनी संघ÷संगठनलाई चन्दा बाँड्न पाइँदैन, कुनै शीर्षकमा एक ढिक्का बनाएर बाँड्न मिल्ने गरी बजेट राख्न मिल्दैन लगायत कुरा राखेर कानूनमै ‘नेगेटिभ लिस्ट’ पनि बनाउनुपर्ने भयो ।

अहिले बजेटमा कार्यक्रम पहिचान नगरी कुनै शीर्षकमा बजेट ‘बल्क’मा राख्ने प्रचलन छ । यसले यस्तो रकम जथाभावी वितरण गरेर दुरुपयोग हुने सम्भावना हुन्छ ।

अहिले विभिन्न शीर्षकमा ‘बल्क’ मा राखेर बजेटमा पहिचान र उल्लेख नगरिएका कार्यक्रमका लागि पैसा बाँड्ने प्रचलन संघदेखि स्थानीय तहसम्म छ । यो वित्तीय अनुशासनभन्दा बाहिरको कुरा र सुशासन कायम हुन नदिने काम हो । यस बाहेक रकमान्तर गरेर पनि जथाभावी सुविधा बाँड्ने विकृति उस्तै छ ।

जनप्रतिनिधिको व्यक्तिगत प्रवृत्तिमा पनि यस्तो काम गर्ने नगर्ने कुरा भर पर्छन् । जनप्रतिनिधि अनुशासित भयो भने यस्तो समस्या आउँदैन । संविधान र कानूनले नगर्नु भनेका कुरा मात्रै हैन, नैतिकताको सवाल उठ्नसक्ने काम पनि जनप्रतिनिधिले नगर्ने हो भने समस्या स्वतः घट्छ ।

आफू जनताप्रति जवाफदेही हुनुपर्छ भनेर बुझ्नेले चन्दा बाँड्दैन । पद अस्थायी हो र आफू भविष्यमा सामान्य नागरिककै दर्जामा फर्किने हो भनेर बुझ्नेले सुशासन कायम नहुने काम गर्दैन । जनप्रतिनिधिले विधिपद्धति बसाल्ने हो, गलत परम्परा बसााल्ने हैन भन्ने थाहा पाउनेले स्वतः सुशासन बसाल्न सघाउ पुर्‍याइहाल्छ ।

अहिले संघमा मात्रै हैन, स्थानीय तहसम्म विपक्षी कमजोर छ । कमजोर यस अर्थमा कि ऊ गलत काम हुँदा पनि प्रश्न उठाउन सकिरहेको छैन । विपक्षी पनि भागबण्डमा रमाइरहेको छ । लोकतन्त्रमा विपक्षी कमजोर हुँदा सत्तापक्षलाई गलत बाटोमा जानबाट रोक्ने तागत हुन्न । अहिले भएको यही हो ।

त्यसैले स्थानीय तहमा खबरदारीको स्वर कमजोर छ । लोभ लालचमा, भागबण्डामा सहभागी हुने र गलत काम हुँदा पनि मौन बस्ने विपक्षीको प्रवृत्ति पनि स्थानीय तहको सुशासनका लागि समस्या हो ।

यद्यपि यो प्रवृत्ति संघ र प्रदेशमा पनि छ । सत्तापक्ष र प्रतिपक्षले आफ्नो–आफ्नो भूमिका राम्रोसँग निर्वाह नगर्दाको दुष्परिणाम जनताले भोग्नु परिरहेको छ ।

स्थानीय तहमा स्रोतसाधन सीमित छ । वित्तीय स्रोत न्यून छ । संघमा राजस्व बढी छ, राजस्व बाँडफाँटबाट तल गएको रकममा स्थानीय तह बढी निर्भर छन् ।

अपवादमा काठमाडौं महानगरपालिका छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको भन्दा काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोत बलियो छ । तर, सबैजसो स्थानीय तह आन्तरिक राजस्व परिचालनमा चाहिं कमजोर छन् ।

स्थानीय तहका लागि आन्तरिक स्रोतबाट कर उठाउने विषय त्यति सहज छैन । यसै पनि स्थानीय तहले आफ्नो क्षमता अनुसार राजस्व उठाउन सकेका छैनन् । उनीहरू संघबाट जाने अनुदानमा भर परेर बसेका छन् । अर्को कुरा स्थानीय सरकारहरूले आफ्नो क्षमता अनुसार कर उठाउन प्रयास पनि गरेका छैनन् ।

यस्तो अवस्थामा उठेको कर पनि सही ठाउँमा लगानी भएन भने जनतामाथि अन्याय हुन्छ । जनताले तिरेको करले कुनै दल निकट व्यक्ति र संस्थाले लाभ लिने कुरा कदापि स्वीकार्य हुन सक्दैन ।

जनताले तिरेको करको सदुपयोग हुने वातावरण बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहलाई जिम्मेवार बनाउन संघ र प्रदेश सरकारले पनि अभिभावकत्व दिनुपर्छ । त्यसो भएमा स्थानीय तहमा सुशासन कायम गर्न प्रोत्साहन मिल्छ र संविधानको परिकल्पना अनुसारको सहकार्यको वातावरण पनि बन्छ । त्यसले स्थानीय तहमाथि उठेका सुशासनका प्रश्नहरू हल गर्न पनि सघाउँछ ।

(संघीय मामिलाविज्ञ देवकोटासँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2021/04/949812

‘सरकारी पैसाले कुनै नतिजा दिनुपर्दैन भन्ने मान्यता बनिसक्यो’

अहिले स्थानीय तहमा तुलनात्मक रूपमा राम्रो आर्थिक स्रोत छ । पहिले त स्थानीय तहमा त्यति ठूलो स्रोत हुँदैनथ्यो । त्यसैले पनि ठूलो आर्थिक सहायता दिन सम्भव थिएन । अहिले अवस्था फरक बन्दै गएको छ ।

सहायता भन्नासाथ नकारात्मक रूपमा नै हेर्नुहुँदैन । कतिपय सहायता सामाजिक दृष्टिकोणले आवश्यक पनि हुन्छन् । यस्ता सहायताले समाजका पिछडिएका, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने पक्षलाई बलियो बनाउन सघाउँछन् । सामाजिक दृष्टिकोणले भन्दा न्यायपूर्ण रूपमा वितरण हुने सहायतालाई गलत मान्नुहुन्न ।

तर, हेर्नुपर्ने कुरा चाहिं के हो भने संस्थाको उद्देश्य अनुसार सहायता वितरण भयो कि भएन ? त्यो सहायता सामाजिक न्यायमा खर्च भइरहेको छ कि छैन ? यदि सामाजिक रूपमा त्यसले योगदान पुर्‍याउँछ भने दिंदा फरक पर्दैन ।

जस्तो जात्राका लागि सरकारले पैसा दिन्छ, त्यो आवश्यक नै छ । तर, दिइएको पैसाले जात्रा नै हुनुपर्छ, त्यसले सामाजिक सांस्कृतिक रूपमा केके प्रवद्र्धन हुनुपर्ने हो, त्यो भयो/भएन भनेर मूल्याङ्कन गर्नुपर्छ । सामाजिक प्रक्रिया जीवन्त बनाउने कार्यक्रममा सहायता दिन अत्यावश्यक नै छ ।

पैसा लिएर जाने संस्थाले उद्देश्य अनुसार काम गरेकै हुनुपर्छ । सरकारबाट वितरण हुने सहायताले सामाजिक हित गर्नुपर्छ । सम्बन्धित संस्थाले ठूलो राशिको पैसा खर्च गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ । अहिले जथाभावी भइरहेको सहायता वितरण रोकेर एउटा विधि, पद्धति तोकिनुपर्छ ।

अहिले संघीय सरकारले विभिन्न संघसंस्थालाई कार्यक्रम अनुदान दिंदा दुरुपयोग हुन्छ भनेर संस्थागत रूपमा पूँजीगत अनुदान दिने गरेको छ । त्यसको मूल उद्देश्य सामाजिक हित गर्न भनेर खुलेका संस्थाले खुट्टा टेकुन् भन्ने हो ।

तर, हरेक वर्ष एउटै संस्थालाई अनुदान दिइरहनु कति उचित हुन्छ ? अझ परिमाण बढाउँदै अनुदान दिने चलन छ । सरकारी साधन लिएर उद्देश्य अनुसार काम भएन भने निर्णयकर्तामाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ ।

वित्तीय अनुशासन कायम गर्ने कुरा सहज छैन । तर, त्यसको लागि पहल लिनैपर्छ । स्थानीय तहले आर्थिक सहायताहरू उपलब्ध गराउँदा आफ्नो संस्थाको अवस्था पनि हेर्नुपर्छ । बजेटको ठूलो अंश त्यसमा खर्च गर्नुहुँदैन, त्यसले संस्थाको वित्तीय स्वास्थ्य बिग्रन्छ । कम आर्थिक सहायता परिचालन गरेर बढीभन्दा बढी लाभ लिने गरी अघि बढ्नुपर्छ ।

अहिले दल निकटका संघसंस्थाले बढी अनुदान र सहायता पाइरहेका छन् । सरकारसँग पैसा लिनेमा प्रतिपक्षी वा विपक्षी दलका संघसंगठन पनि छन् । यसो गर्दा बजेट पास गर्न सहयोग पुग्छ । दलहरूबीच मिलिभगतमै यस्तो हुन्छ । गलत भएको देख्दादेख्दै आफ्नो पालामा पनि यसै गर्नुपर्छ भनेर कार्यपालिकामा भएका विपक्षी दलका जनप्रतिनिधिले पनि विरोध गरेको देखिंदैन ।

जनप्रतिनिधिले भोट इन्ट्याक्ट राख्न पनि यसो गरेका हुन् । आफ्नो विचारधारा मान्नेहरू बढाउन सकिन्छ भनेर पनि यस्तो गरिंदैछ । जुन दल सत्तामा भयो उसले आफू निकट र सम्बद्धलाई बढी यस्ता सहायता प्रदान गर्ने गरेको देखिन्छ । यो समस्या स्थानीय तहमा मात्रै हैन, प्रदेश र संघमा पनि छ ।

पछिल्लो समयमा संघले भने यस्तो अनुदानको मात्रा घटाएको छ । तर, स्थानीय तहमा स्रोत राम्रो देखिएकाले त्यस्ता संघसंस्था सहायता माग्दै स्थानीय तहसम्म पुगेका छन् । स्थानीय तहले पनि माथिको अभ्यासलाई नै पछ्याउँदै अनुदान बाँड्दै छन् ।

आफू पनि सरकार नै भएकाले संघले जस्तै सहायता वितरण गर्न मिल्छ भन्ने स्थानीय तहमा देखिन्छ । उनीहरूले कानून बनाएर यस्तो काम गर्न सक्ने अधिकार पनि छ ।

पछिल्लो समयमा स्रोत राम्रो भएका स्थानीय तहहरूमा झांगिंदै गएको यो संस्कृति लाभदायक हैन । यसमा सुधार गर्ने हो भने संघबाटै शुरूआत गर्नुपर्छ । तर, त्यसका लागि राजनीतिक दलहरूको साझा दृष्टिकोण र प्रतिबद्धता आवश्यक छ । कुन प्रक्रियाबाट कस्तो उद्देश्य प्राप्तिका लागि कसलाई यस्तो सहायता दिने भनेर तोकिनु आवश्यक छ ।

जनप्रतिनिधिले पनि मेरो पद एक पटकलाई हो, देखा जायगा भन्ने ढंगबाट काम गरे स्थानीय तह नै कामजोर हुन्छन् । भविष्यमा आउने जनप्रतिनिधिलाई यसरी बसालिएको जगले असजिलो पैदा गरिदिन्छ । जग बसाउन गाह्रो हुन्छ, भत्काउन सजिलो । वित्तीय अनुशासन कायम गर्न सरकार सञ्चालन गर्नेहरूमा जवाफदेहिता चाहिन्छ ।

अहिले सहायता वितरण भए पनि त्यसको नतिजा के कस्तो आयो भनेर हेरिंदैन । यसले सहायताबाट भएका भनिएका कामको पारदर्शितामा प्रश्न उठिरहेको छ ।

निश्चित मापदण्डका आधारमा बजेटको निश्चित प्रतिशत दिने गरी स्थानीय तहले सहायता वितरण गर्नुपर्छ । त्यस्ता संस्थाको लेखा परीक्षण मात्रै हैन, सामाजिक परीक्षण पनि गर्नुपर्छ । सरकारबाट पैसा लगेकाले काम गरे/नगरेको कुरा सार्वजनिक रूपमा नै नागरिकले भन्न पाउनुपर्छ । दुरुपयोग रोक्नका लागि अरू केके गर्न सकिन्छ भनेर पनि हेर्नुपर्छ ।

सहायता वितरण गर्दा पनि स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्छ । पटकपटक एउटै संस्थाले एउटै खालको प्रयोजनमा पैसा पाउने अवस्था अन्त्य हुनुपर्छ । प्रभावकारी मूल्यांकन गरेर दुरुपयोग गर्नेलाई दण्डित गर्ने व्यवस्था हुुनुपर्छ ।

यदि पद्धतिभित्र राखेर सहायता वितरण हुने हो भने प्रश्न उठ्दैन । समुदायका लागि भनेर जाने पैसा समुदायको सीमाभित्र राखेर खर्च भयो र परिणामलाई व्यवस्थित गरियो भने बेथिति मौलाउन पाउँदैन । नत्र सरकारबाट पाइने सहायतालाई नै कसैले जीविकोपार्जनको माध्यम बनाउने काम हुन्छ ।

अहिले त केहीबाहेक धेरै संघसंस्थामा सरकारी सहायताबाट लिएको पैसाले कुनै नतिजा दिनु नै पर्दैन भन्ने मान्यता बनिसक्यो । त्यसैले सरकारहरूले यस्तो सहायता तथा अनुदान दिने प्रक्रिया र पद्धति बदल्न जरूरी छ ।

हिसाब नखोजिएकाले सदुपयोग नहुने समस्या बढेको हो । अब सहायता वितरण गर्न मात्रै हैन त्यसको उपयोग सहीसँग भए/नभएको हेर्ने प्रभावकारी व्यवस्था सहितको मापदण्ड बनाएर काम गर्नुपर्छ । यसका लागि राजनीतिक तहले नै इमानदार भएर पहलकदमी लिनुपर्छ ।

(पूर्वसचिव अधिकारीसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2021/04/949815

नारायणी अस्पतालमा थप ३ संक्रमितको मृत्यु

१७ वैशाख, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ । वैशाख १२ गते उपचारका लागि ल्याइएकोमा उनको सोही दिन पीसीआर पोजेटिभ देखिएको थियो । उनमा कुनैपनि दीर्घ रोग नभएको चिकित्सकहरुले बताएका छन् ।

यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या पनि थियो । उपचारको क्रममा बिहीबार राति ९:३५ मा उनको मृत्यु भएको थियो ।

जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११:२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिल्यैदेखि टीबीको समस्या थियो । उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।



source https://www.onlinekhabar.com/2021/04/949830

निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल

१७ वैशाख, बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । ‘निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्‍याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो,’ डीएसपी थापाले भने ।

‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ उनले भने ।

यो पनि पढ्नुहोस निषेधाज्ञामा आजदेखि थप कडाइ

प्रशासनको आलोचना

मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको बताए ।

‘निषेधाज्ञाको पालना गराउनु जायज हो, तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो,’ खनालले भने, ‘कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकमाथि अन्याय र ज्यादती गरिनु हुँदैन ।’

प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन  १ हजार २० वटा  सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले बताए ।

कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा कडाइ गरिएकाले पालना गर्न जिल्ला प्रशासनले सबैसँग अपील गरेको छ ।



source https://www.onlinekhabar.com/2021/04/949828

आईपीएल : कोलकातामाथि दिल्लीको सहज जित

१७ वैशाख, काठमाडौं । पृथ्वी शको उत्कृष्ट ब्याटिङ मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । यस जितपछि दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

अहमेदाबादमा बिहीबार राति भएको खेलमा कोलकताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा ओपनर पृथ्वी शले ८२ रन बनाए । उनले ४१ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रन बनाएर आउट भए ।

कोलकाताका लागि ३ विकेट नै प्याट कमिङ्सले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । कोलककता लागि आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए । उनले २७ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । यस्तै सुबमन गिलले ४३ रन जोडे भने राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । प्याट कमिङ्स ११ रनमा अविजित रहे ।

दिल्लीका अक्सर पटेल र ललित यादवले २-२ विकेट लिए ।

यस सिजन पाँचौ जित हात पारेको दिल्ली ७ खेलबाट १० अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको चेन्नाईसमान अंक भए पनि रनरेटमा दिल्ली पछि छ । उता रोयल च्यालेन्जर्स बैंगलोरलाई भने दिल्लीले समान अंक भएपनि रनरेटमा पछि पारेको छ ।

कोलकताको भने यो पाँचौ हार हो । ७ खेलबाट ४ अंक मात्र रहेको कोलकता पाँचौ स्थानमै यथावत छ ।



source https://www.onlinekhabar.com/2021/04/949825

रोमाको पोष्टमा युनाइटेडको ६ गोल, आर्सनल भियारियालसँग पराजित

१७ वैशाख, काठमाडौं । युरोपा लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले इटालियन क्लब रोमालाई ६-२ ले पराजित गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र एडिनसन कभानीले २-२ गोल गरे भने पउल पोग्वा र मासोन ग्रीनउडले १-१ गोल गरे ।

रोमाका लागि लरेन्जो पेलेग्रिनी र एडेन जेकोले समान एक गोल गरे ।

ब्रुनोले खेलको नवौं मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर १५औं मिनेटमा पेलेग्रिनीले पेनाल्टीमा रोमाका लागि बराबरी गोल फर्काए। ३४औं मिनेटमा जेकोले गोल गरेपछि पहिलो हाफमा रोमाले २-१ ले अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा युनाइटेडले ५ गोल गर्‍यो । जसमा कभानीले ४८औं र ६४औं मिनेटमा गोल गरे । ब्रुनोले ७१औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरे । ७५औं मिनेटमा पोग्वा र ८६औं मिनेटमा ग्रीनउडले गोल गरेपछि युनाइटेडले फराकिलो जित हात पारेको हो । पहिलो लेगमा फराकिलो जितपछि युनाइटेडको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

आर्सनल पराजित

यस्तै अर्को खेलमा लण्डन क्लब आर्सनल स्पानिस क्लब भियारियलसँग २-१ ले पराजित भएको छ ।

भियारियालका लागि मानुएल ट्रिगेरोसले पाँचौ र राउल अल्विओले २९औँ मिनेटमा गोल गरे । आर्सनलका लागि निकोलस पेपेले ७३औं मिनेटमा पेनाल्टीमा एक गोल फर्काए ।

५७औं मिनेटमा आर्सनलका ड्यानिएल सेबालोस दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । यस्तै ६८औं मिनेटमा भियारियलका एटिने कापोउ पनि दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।



source https://www.onlinekhabar.com/2021/04/949823

पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

१७ वैशाख, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । पछिल्लो केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो । उनको छोरा नै डाक्टर हुन् । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् ।

कालिकामाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष पवन तिवारीका अनुसार राति २ बजेतिर अध्यक्ष कुशवाहाको अवस्था बिग्रिएको थियो । ‘बेलुकासम्म ठिकै हुनुुुहुन्थ्यो, भेटेरै आएका थियौं, कुराकानी गरिरहनुभएको थियो,’ उनले भने, ‘राति २ बजेतिर स्थिति अलि बिग्रिएको जानकारी आयो, काठमाडौं लैजाऔं न त भन्दा सुधारोन्मुख नै छ भन्ने कुरा आएको थियो । तर पछि निधन भयो ।’ दाहसंस्कारका लागि उनलाई गाउँतर्फ लगिएको प्रहरीले जनाएको छ ।

उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । पञ्चायतकालमा प्रधानपञ्च बनेका उनी ०४६ सालपछि गाविस अध्यक्ष समेत भएका थिए ।



source https://www.onlinekhabar.com/2021/04/949821

अग्रता जोगाउन नसक्दा बार्सिलोना घरमै ग्रानडासँग पराजित

१७ वैशाख, काठमाडौं । ग्रानडासँग घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाले स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । साथै उपाधि होडमा समेत धक्का लागेको छ ।

घरेलु मैदानमा पहिले गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल व्यहोर्दै बार्सिलोना ग्रानडासँग २-१ ले पराजित भयो ।

कप्तान लिओनल मेसीले २३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा बार्सिलोनालाले अग्रता कायम रहे पनि दोस्रो हाफमा ग्रानडाले उत्कृष्ट पुनरागमन गर्‍यो । ग्रानडाका लागि ६३औं मिनेटमा डार्विन माचिसले बराबरी गोल फर्काए भने ७९औं मिनेटमा जोर्ग मोनिलाले विजयी गोल गरे ।

हारपछि ३३ खेलबाट ७१ अंकसहित बार्सिलोना तेस्रो स्थानमै छ । ग्रानडालाई पराजित गरेको भए बार्सिलोना एट्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने थियो तर हारले त्यो अवसर गुमेको छ ।

ग्रानडा ३३ खेलबाट ४५ अंकसहित आठौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/04/949819

निषेधाज्ञामा आजदेखि थप कडाइ

१७ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उनको भनाइ छ ।

कोरोना संक्रमण बढ्दै गएपछि २१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ । दाङसमेत पूर्ण निषेधाज्ञा लागू भए पनि गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जिल्लाहरूको विवरणमा दाङ उल्लेख छैन ।

काठमाडौं उपत्यकामा विहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालना गराउन ठाउँ-ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले सवारी जाँचलाई आज थप कडाइ गरिने बताए ।

सरकारले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2021/04/949813

दाङमा निषेधाज्ञा लागू, सरकारी कार्यालय र बैंकसमेत बन्द

१७ वैशाख, काठमाडौं । दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।

पूर्वपश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ ।

जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्णरुपमा बन्द गरेर अनलाइन क्लास सन्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।



source https://www.onlinekhabar.com/2021/04/949810

बाँकेमा एकैदिन ११ संक्रमितको मृत्यु

१७ वैशाख, नेपालगञ्ज । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।

सीमामा अवैध आवागमन रोक्न सुरक्षा सक्रियता

यसैबीच बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनले भारतमा कोरोना संक्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताउनुभयो । मुख्य नाकाबाहेक ग्रामीण क्षेत्रका खुला नाकाबाट समेत आवागमन हुन नदिन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट र नेपाल प्रहरीका चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिल्डमै पुगेर निर्देशन दिएको उनको भनाइ छ ।

उनका अनुसार बिहीबार मात्रै जिल्लास्थित सुरक्षा अधिकारीको टोलीले बाँकेको जानकी गाउँपालिकामा पर्ने नेपाल–भारत बढैया सीमानाकाको अवलोकन गरेको छ ।अवलोकनका क्रममा सीमानाकामा कार्यरत सुरक्षाकर्मीलाई निर्देशन दिनुका साथै कोरोना संक्रमण रोकथामका सन्दर्भमा भारतीय सुरक्षा बलका अधिकृतसँग छलफलसमेत भएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले खुला सिमानाका कारण भारत–नेपाल हुनसक्ने अवैध आवागमनलाई रोक्न हरसम्भव प्रयास भइरहेको बताए। खासगरी राप्तीपारिको नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका खुला सीमानाका र जानकी गाउँपालिकाको साइगाउँ नाकामा हुनसक्ने आवागमन रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई परिचालन गरिएको उनको भनाइ छ ।

कोरोना संक्रमण र मृत्युको संख्या दैनिकरूपमा बढ्न थालेसँगै बाँकेको जमुनाह सीमानाकासँगै ग्रामीण क्षेत्रमा रहेका भित्री नाकामा समेत आवतजावतमा कडाइ गरिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सशस्त्र प्रहरी बलले सीमानाकामा गरेको कडाइ पछि जमुनाहनाका सुनसान बनेको छ ।

अनावश्यकरूपमा गरिने आवतजावतलाई पूर्णरूपमा बन्देज गरिएको छ । नेपालगञ्जस्थित मूलनाका जमुनाहबाट अहिले अतिआवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ ।

जमुनाहनाकासहित भित्री बाटोहरुमा समेत सशस्त्र प्रहरीले ब्यारिगेट निर्माण गरेर आवतजावतमा कडाइ गरेको सशस्त्र प्रहरी बोर्डर अफ पोष्ट जमुनहाका सशस्त्र प्रहरी निरीक्षक जीबलाल बुढाले बताउनुभयो ।



source https://www.onlinekhabar.com/2021/04/949809

नेपाल र इराकबीचको मैत्रीपूर्ण खेल मे २९ मा

१७ वैशाख, काठमाडौं । नेपालले अर्को महिला इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको बिहीबार जनाएको छ ।

तीन दिनअघि इराक फुटबल संघले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नेबारे समाचार सार्वजनिक गरेको थियो । तर एन्फाले भने मैत्रीपूर्ण खेल खेल्ने अन्तिम निर्णय हुन बाँकी रहेको र त्यसको गृहकार्य भइरहेको जनाएको थियो । बिहीबार एन्फाले मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको हो ।

खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुनेछ । नेपालको नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो खेल हुनेछ ।

विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको इराकले त्यसैका लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो ।

फिफा बरियतामा इराक ६८औं स्थानमा र नेपाल १७१औं स्थानमा छ ।

विश्वकप छनोटको समूह ‘सी’मा रहेको इराक ५ खेलबाट ३ जित २ बराबरीसहित ११ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । सोही समूहमा इरान, बहराइन, हङकङ र कम्बोडिया छन् ।

यस्तै समूह ‘बी’ मा रहेको नेपाल १ जित र ४ हारको नतिजासहित चौथो स्थानमा छ । नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । नेपालले छनोटमा तीन खेल खेल्न बाँकी छ । नेपालले अब चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने बाँकी छ ।

एसियाली फुटबल महासंघ एएफसीले बाँकी खेलहरु मे ३१ देखि जुन १५ सम्म न्युट्रल भेन्यूमा गर्न प्रस्ताव गरेपछि नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने पछिल्लो निर्णय भएको छ ।



source https://www.onlinekhabar.com/2021/04/949807

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More