आँधी आउन लागेको छ
सबै स्तब्ध छन्
कुनै आवाज छैन- ढुङ्गाजस्तै
यतिबेला बाघ पनि खरायोसँग सतर्क छ
आँधी आउन लागेको छ
र सबै थरथर कामिरहेका छन्
– अग्ला घरका बैठक र बार्दलीहरू जस्तै
धरहरा फेरि टुक्रिने डरले कामिरहेछ
– मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड
यति बेला पीडामा अनुवाद भैरहेछ
र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै छ
तल, धेरै तल जमीनमा, मानिसहरू-
साउतीजस्तै बात मारिरहेका छन्
आँधी समय-समयमा पाउनै पर्छ
यो आँधी-
प्रकृतिको सबभन्दा ठूलो जवाफ हो
अग्ला-अग्ला धरहराहरूलाई !
-जीवन आचार्य ३० को दशकका प्रभावशाली कवि हुन् । युवा उमेरमै नेपाली साहित्यमा बलियो नाम बनाएका आचार्यको ३१ वर्षको अल्पायुमै निधन भयो । कविताबाहेक चित्रकारिता र अखबारी लेखनमा समेत उनको दर्बिलो उपस्थिति थियो । संस्थापन र सत्ता अनि शक्ति र अहमलाई चुनौती दिने आचार्यका यो कविता सान्दर्भीक भएकाले पुनःप्रकाशन गरिएको छ । उनका ‘अन्तहीन सुरुआत’ (२०४१) र ‘जीवनका धुनहरू’ (कवितासङ्ग्रह, २०४७) प्रकाशित छ ।
source https://www.onlinekhabar.com/2021/05/950095
0 comments:
Post a Comment