मीराबाई हिन्दु आध्यात्मिक कवयित्री थिइन् । जसले भगवान् श्री कृष्णप्रति समर्पित भजन उत्तर भारतमा धेरै लोकप्रिय छन् । भजन वा स्तुतिको रचना गरेर आमजनमा भगवान्को नजिक पुर्याउनको लागि मीराबाईको स्थान सबैभन्दा उच्च रहेको छ।
भक्तिवादी धारामा मीराको स्थान सबैभन्दा उच्च छ। मीराको जन्म एक राजपूत परिवारमा भएको थियो । उनी राजपूत राजकुमारी थिइन् । उनले शाही शिक्षामा संगीत वा धर्मको साथसाथ राजनीति वा प्रशासनको समेत ज्ञान लिएकी थिइन् । एक साधुद्वारा बचपनमा उसलाई कृष्णको मूर्ति दिएपछि उनी आजीवन कृष्णभक्तिको सुरुवात गर्न पुगेकी थिइन् । जसलाई उनी दिव्यप्रेमीको रुपमा आराधना गर्ने गर्थिन् ।
मीराबाईको जन्मको विषयमा विभिन्न विद्वानहरुबीच मतैक्य छैन । केही विद्वानहरु उनको जन्मको समय १४३० ई. मान्छन् । कोही उनी १४९८ ई. मा जन्मिएको मान्ने गर्छन् । मीरा दुई वर्षको हुँदा उनको माताको मृत्यु भएको थियो ।
कृष्णसँगको उनको लगाव
मीराबाईको बालापनमा नै भगवान श्री कृष्णप्रति उनको यति ठूलो लगाब बसेको थियो कि यौवनकालदेखि मृत्युसम्म उनले कृष्णलाई नै आफ्नो सबैथोक मानिन् । जोधपुरको राठौर रतनसिंहकी एक्ली छोरीको रुपमा जन्मिएकी मीराबाइको कृष्ण प्रेम बचपनको एक घटनाको कारण आफ्नो चरमभक्तिमा पुगेकी थिइन् । बाल्यकालमा एक दिन उनको छिमेकमा कुनै धनवान व्यक्तिको घरमा जन्ती आएका थिए ।
सबै स्त्रीहरु छतमा बसेर जन्ती हेरिरहेका थिए । मीराबाई पनि जन्ती देख्नको लागि छतमा आइन् । बारातलाई देखेर मीराले आफ्नी आमााई सोधिन् ‘मेरा पति को हुन् ?’ यसमा उनकी माताले श्रीकृष्णको मूर्तितिर देखाउँदै तिम्रा पति यिनै हुन् भनेर देखाइन्। यो कुरा मीराको बाल मस्तिष्कमा बढेर गयो । त्यसपछि उनले श्रीकृष्णलाई नै आफ्नो पति सम्झिन थालिन् ।
मीरामा अद्वितीय गुण थियो । उनको यो गुणलाई देखेर मेवाडका राजा राणा संग्राम सिंहले मीराबाईको घरमा लमी पठाएर आफ्ना जेठा छोरा भोजराजको लागि विवाहको प्रस्ताव पठाए । यो प्रस्ताव स्वीकार भयो र भोजराजका साथ मीराको विवाह पनि भयो । यस विवाहको लागि पहिले त मीराबाईले मानेकी थिइनन् । तर परिवारको दबाबपछि उनी पनि विवाहको लागि बाध्य भइन् । उनी भक्कानिँदै रुन थालिन् र श्रीकृष्णको मूर्तिसँगै लिएर उनी विवाह गरेर गइन् । मीराबाईले लज्जा र परम्परालाई त्यागेर अनौंठो प्रेम र भक्तिको परिचय दिएका थिए ।
पतिको मृत्यु
विवाहको १० वर्षपछि मीराबाईका पति भोजराजको मृत्यु भयो । सम्भवतः उनको पतिको युद्धोरान्त मृत्यु भएको थियो । पतिको मृत्युपछि मीराबाईमाथि कैयौं अत्याचार सुरु भयो । सन् १५२७ मा बाबर र राणा साँगाको युद्धमा मीराका पिता रत्नसिंह मारिए । उही समयमा उनको ससुराको पनि मृत्यु भएको थियो । साँगाको मृत्युपछि भोजराजका कान्छा भाई रत्नसिंह सिंहासनमा बसे ।
लौकिक प्रेमको अल्प समयमा नै इतिश्री भएपछि मीरा परलौकिक प्रेमतिर लागेकी थिइन् । त्यसो त उनी पतिसँगभन्दा धेरै श्रीकृष्णसँग बढी प्रेम गर्थिन् । उनी पतिसँग पनि आफ्नो पहिलोप्रेम श्रीकृष्णसँग भएको भन्दै उनीसँग दोस्रो बिहे भएको बताउने गर्थिन् ।
हत्यासम्मको प्रयास
पतिको मृत्युपछि मीराबाईको कृष्णप्रतिको भक्ति दिनप्रतिदिन बढ्दै गयो । उनी मन्दिरमा गएर त्यहाँ मौजुद कृष्ण भक्तको सामु कृष्णजीको मूर्तिको अघि नाच्न थाल्थिन् । मीराको लागि आनन्दको माहोल त बन्थ्यो । तर त्यो अरुलाई पाच्य थिएन । उनकै आग्रहमा राजमहलमा एउटा भव्य कृष्ण मन्दिर पनि बन्यो । महलमा मन्दिर बनेपछि साधुहरुको आउजाउ सुरु भयो ।
मीराबाईका देवर राणा बिक्रमजीत सिंहलाई यो राम्रो लागिरहेको थिएन । मीराबाईको साधुहरुसँगको उठबसलाई देवर विक्रमजीतले पचाउन सकिरहेका थिएनन् । मीराले लेखेको कविता अनुसार उनलाई मार्नको लागि पनि दुई पटक प्रयास भएको उल्लेख छ । एकपटक फूलको टोकरीमा विशालु सर्प राखेर पठाएका थिए । तर पछि टोकरी खोल्दा सर्प कृष्णको मूर्ति भएको थियो भन्ने मान्यता राखिन्छ । अर्काेपटक उनलाई विष पिलाउने प्रयास गरिएको थियो । विष पिउँदा पनि उनलाई कुनै असर भएन भन्ने मान्यता राखिन्छ ।
source https://www.onlinekhabar.com/2021/04/949215
0 comments:
Post a Comment