Thursday 30 September 2021

एमाले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जाने भएका छन् । ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्‍याइने भएको हो ।

गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन् । अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् ।

उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।



source https://www.onlinekhabar.com/2021/10/1020778

वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ फिल्मको सुटिङ शुरु

वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ चलचित्रको सुटिङ शुरु भएको छ । आशुतोष फिल्म प्रोडक्सन प्रा.लि. एण्ड नमस्ते नेपाल इन्टरटेनमेन्टले बनाउन लागेको यो चलचित्रको छायांकन बिहिबारदेखि सुरु गरिएको हो । नविनकुमार अग्रवालको प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई नारायण दत्त उपाध्यायले निर्देशन गर्दैछन् ।

चलचित्रमा वीरगञ्जकै गोपाल पौडेल र किरण सरकारले लगानी गरेका छन् । चलचित्रका लािग करिब १ करोड बजेट खर्च गरिने निर्माता किरणले बताए । किरणले भोजपुरी सस्कृतिको प्रवद्र्धनका लागि चलचित्र बनाउन लागेको बताउँदै परिवार नै बसेर हेर्न मिल्ने कथामा चलचित्र बन्ने बताए ।

भोजपुरी नायक परदेशी साहरको साथमा नायिका एलिना बाँस्कोटाले यो चलचित्रमा मुख्य भूमिकामा निर्वाह गर्दैछन् । कोरोना महामारीका कारण थला परेको चलचित्र जगतलाई यो चलचित्रले उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । वीरगञ्जमा हलहरु खुलेपनि दर्शकको चाप भने खासै देखिएको छैन ।

एक महिनामा यो चलचित्रको छायांकन सकेर छठ पर्वको समयमा रिलिज गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रका नायक साहले बिहार र नेपालबीचको सुमधुर सम्बन्धको बारेमा यो चलचित्रले चर्चा गर्ने बताए ।

‘काठमाण्डुको चेली बिहारमा बुहारी बनेर आउँछिन् भने उनले बोल्ने र सासुले बोल्ने भाषा त फरक हुन्छ नै । त्यसै विषयलाई समेटेर यो चलचित्र बनाउँदैछौं । यो आफ्नै समुदायको कथा भएपनि समुदाय बाहिरकाले पनि बुझ्न खोजेको विषयबस्तु भएकोले दर्शकले मन पराउने निर्देशकको भनाई छ । नायक परदेशीले एसपी खरेल, जब प्यार कियातो डरना क्या, दीवाना–२, जय मधेश, देश प्रेमी’ लगायत एक दर्जन भोजपुरी चलचित्रमा अभिनय गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/10/1020794

युरोपा लिग : लेस्टर सिटी र नापोली पराजित

१५ असोज, काठमाडौं। इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली युरोपा लिगमा पराजित भएका छन् ।

गएराती भएको समूह जी को खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सासँग १-० ले पराजित हुँदा नापोली रसियन क्लब स्पार्टाक मस्कोसँग ३-२ ले पराजित भयो ।

वार्सालाई जित दिलाउन माहिर इम्रेलीले ३१औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए।

लगातार दोस्रो जितपछि वार्सा समूह सी मा ६ अंक जोडेर शीर्ष स्थानमा छ । लेस्टर १ अंकसहित पुछारमा छ ।

अर्को खेलमा नापोलीले पहिले अग्रता लिएपनि मस्कोले पुनरागमन जित हात पारेको हो । दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

मस्कोका लागि स्वीन्सी प्रोम्सले दुई तथा मिखाइल इगनाटोभले एक गोल गरे । नापोलीका लागि एलजिफ एलमास र भिक्टो ओसिमहेनले गोल गरे ।

नापोलीका मारियो रुई २९औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । मस्कोका म्याक्सिमिलियानो काउफ्रिज ८२औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

समूहमा पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेको मस्को दोस्रो स्थानमा छ । नापोली १ अंकसहित चौथो स्थानमा छ ।

युरोपा लिगकै अन्य खेलमा जर्मन क्लब बायर्न लेभरकुजनले सेल्टिकलाई ४-० ले पराजित गरेको छ ।



source https://www.onlinekhabar.com/2021/10/1020795

केनको ह्याट्रिकमा टोटनहमको शानदार जित

१५ असोज, काठमाडौं। ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब टोटनहमले युरोपा कन्फेरेन्स लिगमा मुरालाई ५-१ ले पराजित गरेको हो ।

समूह जी अन्तर्गत भएको खेलमा टोनहमका लागि केनले दोस्रो हाफमा ह्याट्रिक गर्दै शानदार जित दिलाए । केनले खेलको ६८औं, ७६औं र ८७औं मिनेटमा गोल गरेका थिए। त्यसअघि डेली अलीले चौथो मिनेटमै अग्रता दिलाएका थिए भने आठौं मिनेटमा जिओभानी लो सेल्सोले गोल गरेका थिए।

स्लोभेनियन क्लब मुराका लागि ५२औं मिनेटमा जिगा कोउसले एक गोल फर्काए। समूहमा पहिलो जितपछि टोटनहम २ खेलबाट ४ अंक जोड्दै समूह जी को शीर्ष स्थानमा छ ।

मुरा अंकविहीन रहँदै पुछारमा छ। यसै समूहको अर्को खेलमा रेन्सले भिटेसलाई २-१ ले पराजित गरेको छ । रेन्सको पनि टोटनहम समान ४ अंक नै रहेपनि गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । भिटेज ३ अंकसहित तेस्रोमा छ ।



source https://www.onlinekhabar.com/2021/10/1020828

तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

१५ असोज, पोखरा । संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एकसाथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवस र घिमिरे पुरस्कृत हुन लागेका हुन् ।

पुरस्कारको राशी १ लाख रुपैयाँ छ । समितिले प्रत्येक २/२ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।

घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो । तर, कोरोना माहामारीका कारण पुरस्कार प्रदान गर्न कार्यक्रम रोकिएको थियो । २०७८ सालको पुरस्कार संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवसलाई दिन लागिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए । उनी नेपालकै कान्छा प्राज्ञ हुन् । सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए भने संस्कृतिको अनुसन्धान पनि अगाडि बढाएका थिए ।

लामो समय प्राध्यापकमासमेत बिताएका दिवसले विभिन्न जातजाती र संस्कृतिको अनुसन्धान गरेका छन् । त्यहीबीचमा दिवसमा गेस्ट कल्चरल प्रोफेसर भएर विभिन्न देश तथा प्रख्यात विश्वविद्यालयमा गए ।

जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जन देशमा लोकवार्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसकि कविताएँजस्ता कृतिहरु प्रकाशित छन् ।

दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो विश्व विद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेका हुन् ।

त्यसरी नै उनले गाकुसुमन विश्वविद्यालय टोकियो जापानबाट लोकवार्ता शास्त्रमा पोष्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गरेका छन् । दर्जनौं पुरस्कार, पदक र सम्मानबाट पुरस्कृत दिवस २४ वर्षको उमेरबाटै प्राध्यापन थालेका थिए ।

घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील हुँदै आएकी छन् । ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तिकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ । उहाँको योगदानको कदर र महिला सशक्तिकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्न यस वर्षको पुरस्कार घिमिरेलाई दिने निर्णय भएको छ,’ समितिका सचिव तीर्थले भने, ‘कोभिडका कारण प्रदान गर्ने मिति तलमाथि भएको छ ।’

२००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थ शास्त्रमा एम.ए. र १९७५ मा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेकी छिन् । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील छिन् ।

मानव अधिकार, चेलिबेटी बेचबिखनको विरुद्धको अभियानमा सबैभन्दा पहिला राष्ट्रिय रुपमा वहसको विषय बनाई उठान गर्ने पहिलो व्यक्तिका रुपमा घिमिरेलाई हेरिन्छ । २०४४ सालमा एबीसी. नेपाल नामक गैरसरकारी संंस्थाको स्थापना गरी महिला बेचबिखनविरुद्ध लागेकी थिइन् । घिमिरेले हालसम्म ३ हजारभन्दा बढी चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गरी उनीहरुको जीवनलाई रुपान्तरण गर्न सफल भएकी छन् ।

महिला उत्थान लगायतका क्षेत्रमा उल्लेखनीय काम गरे वापत घिमिरेले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरष्कार प्राप्त गरेकी छन् । घिमिरेले अधिकार क्षेत्रमा विभिन्न माध्यमबाट कलम पनि चलाउँदै आएकी छन् ।

विन्ध्यवासिनी क्षेत्र विकास समितिले प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाएका थिए ।

पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानबाट संस्थापित तथा समितिवाट सञ्चालित छ ।



source https://www.onlinekhabar.com/2021/10/1020785

इथियोपिया सरकारद्वारा संयुक्त राष्ट्रसंघका ७ कर्मचारी देश निकाला

१५ असोज, काठमाडौं । इथियोपियाले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो ।

द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप राष्ट्रसंघका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालय लगायतका ७ जना कर्मचारीहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

इथियोपियाको यो निर्णयप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यो घटनाबाट आफू स्तब्ध बनेको बताएका छन् ।

इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

गत वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण उक्त क्षेत्रमा मानवीय संकट देखिएको छ ।

लडाइँमा परी हजारौं मानिस मारिएका छन् भने कैयौं विस्थापित हुन पुगेका छन् ।

 

 



source https://www.onlinekhabar.com/2021/10/1020745

चेन्नाई प्लेअफमा हैदरावाद बाहिरियो

१५ असोज, काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बनेको छ ।

बिहीबार भएको खेलमा सनराइज हैदरवादलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

११ खेल खेल्दा ९ खेल जितेको चेन्नाई १८ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट जम्मा २ जित हात पारेको हैदरावाद ४ अंकसहित पुछारमा छ ।

युएईको शारजहाँमा भएको खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

अन्तिम दुई ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा कप्तान धोनी र अम्बाती राएडुले चेन्नाईलाई २ बल बाँकी छँदै जित दिलाए ।

१९औं ओभरमा चेन्नाईले १३ रन जोडेपछि अन्तिम ओभरमा सहजै जित हात पारेको हो ।

चेन्नईको जितमा ओपनर रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए अर्का ओपनर फाप डु प्लेसिसले ४१ रन जोडे । अम्बाती रायडुले १३ बलमा अविजित १७ रन बनाए । कप्तान धोनीले ११ बलमा अविजित १४ रन जोडे ।

हैदरावादका जासन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

हैदरावादका ओपनर ऋद्दिमान शाहले सर्वाधिक ४४ रन बनाए । अविशेक शर्मा र अब्दुल समादले १८-१८ रन जोडे भने राशिद खान १७ रनमा अविजित रहे ।

चेन्नाईका जोश हाजलउडले ३ विकेट लिए भने ड्वाने ब्राभोले २ तथा शार्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिए ।



source https://www.onlinekhabar.com/2021/10/1020738

आज ज्येष्ठ नागरिक दिवस, ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ ।

यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । तर यी सबै सुविधा एक महिनाभित्र प्रयोग गरिसक्नुपर्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अक्टोबर एक तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।

ज्येष्ठ नागरिकहरुको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ दिएर यसको सुरुवात गरिएको थियो ।

सरकारले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्ने लगायतका सुविधा दिंदै आएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1020734

कर्णाली सरकारको ओएनएम कार्यान्वयन नगर्न अन्तरिम आदेश

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बनाएको संगठन, संरचना तथा दरबन्दी (ओएनएम) कार्यान्वयन नगर्न उच्च अदालत, सुर्खेतले अन्तरिम आदेश दिएको छ ।

प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका कर्मचारीहरुका तर्फबाट दायर भएको रिटमा अदालतले बिहीबार ओएनएम अगाडिकै संरचनालाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

ओएनएम स्वीकृत गरेर प्रदेश सरकारले संघीय निजामती समायोजन ऐनबमोजिम समायोजन भएर कर्णालीमा कार्यरत कर्मचारीहरुको दरबन्दी कटौती गरेको भन्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका प्राविधिक कर्मचारीले उच्च अदालतमा रिट निवेदन दाएर गरेका थिए ।

प्रदेश सरकारको उक्त निर्णयले कर्मचारीको वृत्ति विकासमा असर पर्ने, सेवा समूह÷उपसमूहको विषय विज्ञतालाई असर पर्ने र प्रदेश सरकारले आफनो ऐन कानुन नबनाएर संघीय ऐन कानुनको वर्खिलाप हुने गरी ओएनएनम स्वीकृत गरेको निवेदनमा उल्लेख छ ।

सोही रिट निवेदनका आधारमा अदालतले निवेदकहरुको विज्ञता र दक्षता अनुसार हाल काम गरी आएको सेवा, समूह र उपसमूहमा खटाउन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशमा भनिएको छ, ‘प्रदेश सरकार र संवन्धित कार्यालयहरुले निजहरुबाट सेवा लिन सक्नेगरी प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म कर्णाली प्रदेश सरकारबाट २०७६ भदौ ६ गते र २०७८ साउन २९ मा भएको निर्णय कार्यान्वयन नगर्नू÷नगराउनू यथास्थितिमा राख्नू भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’

०७६ भदौ ६ गतेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशअन्तर्गतका मन्त्रालय, सचिवालय, आयोग र कार्यालयमा १ सय ५९ इकाइ र ती इकाइहरुका लागि २ हजार ५ सय ५५ कर्मचारी रहने गरी संगठन, संरचना तथा दरबन्दी (ओएनएम) स्वीकृत गरेको थियो । त्यस्तै २०७८ साउन २९ गते प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको ओएनएम स्वीकृत  गरेको मन्त्रालयका प्रवक्ता केशव उपाध्यायले बताए ।

संघीय निजामती समायोजन ऐन बमोजिम समायोजन भएर कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दी कटौती गरेको भन्दै यसअघि वन र स्वास्थ्य तर्फका कर्मचारीले उच्च अदालत सुर्खेतमा प्रदेश सरकारविरुद्ध रिट दायर गरेका थिए ।

सरकारले बनाएको सांगठनिक संरचना र दरबन्दी अव्यवहारिक रहेको भन्दै त्यस्तो दरबन्दी कार्यान्वयन नगर्न अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

सोही अनुसार सरकारले केही कार्यालयलाई यथावत राख्ने र फाजिल कर्मचारीलाई जिम्मेवारी दिन ओएनएम समेत संशोधन गरेको थियो ।

यसबाट संघीयताको मर्मअनुरुप स्थापना भएका संरचनाबारे अन्योल सिर्जना भएको छ । प्रदेश सरकारका पूर्व मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले अन्तरिम आदेशले अन्योलता सिर्जना गरे पनि अन्तिम फैसला भइनसकेकाले तत्काल ओ एन्ड एमको भविष्यबारे चिन्ता लिनु नपर्ने बताए । संघीयताको मर्म, आवश्यकता र संघीय कानुनले दिएको अधिकार प्रयोग गरी ओएनएम गरिएको उनको भनाइ छ ।

‘अदालतको आदेश हाम्रालागि मान्य छ । तर, कर्मचारी समायोजन ऐनबमोजिम प्रदेश सरकार वा स्थानीय तहले आवश्यकताअनुसार संगठन संरचना वा दरबन्दी थपघट, हेरफेर वा परिमार्जन गर्न सक्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यही आधारमा प्रदेशले ओएनएम स्वीकृत गरेको हो,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता केशव उपाध्यायले भने, ‘उक्त व्यवस्था बमोजिम नेपालको संविधानद्वारा प्रदत्त अधिकार, कानुनी प्रावधान र प्रदेशको आवश्यकता बमोजिमको संगठन संरचना र कर्मचारी दरबन्दीमा परिमार्जन गरी कार्यान्वयन गरिएको हो ।’



source https://www.onlinekhabar.com/2021/10/1020729

एमालेको विधान महाधिवेशन सुरु हुँदै, हुने छैनन् पार्टीका पूर्वप्रमुखहरु

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।

माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

विधान महाधिवेशनमा एमालेका पूर्वप्रमुखहरु कोही पनि नरहने भएका छन् । पूर्व पार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा छन् । २०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव छन् ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशन २०७१ सालमा भएको थियो ।



source https://www.onlinekhabar.com/2021/10/1020715

Wednesday 29 September 2021

विषयगत शिक्षक पाल्ने हाम्रो औकात छैन : शिक्षाविद् कोइराला

१४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर १७ हजार भन्दा बढी विषयगत शिक्षक अभाव भएको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगलाई बुझाएको विवरण अनुसार तीन तहमा देशभर शिक्षकको अभाव भएको देखिएको छ ।

यहि विवरणको आधारमा शिक्षक सेवा आयोगले दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षकको अभावले हुने प्रभाव र उपायबारे अनलाइनखबरले शिक्षाविद् डा.विद्यानाथ कोइरालासँग प्रतिकृया लिएको छ ।

मानवस्रोत विकास केन्द्रको तथ्यांक अनुसार त धेरै शिक्षकको अभाव रहेको देखिन्छ यसले कस्तो असर पार्छ ?

विद्यालयको रेसियोमा हेर्दा कम छ । विद्यार्थीको रेसियोमा भन्ने हो भने प्रतिविद्यार्थीको रेसियो घट्दै गइरहेको छ । हाम्रा १० हजार विद्यालयमा सय जना भन्दा कम विद्यार्थीहरु छन् । त्यसमा त्यसरी विषयगत शिक्षक आवश्यक छैन । शिक्षकको कमीले भन्दा पनि व्यवस्थापनको कमीले समस्या छ ।

दोस्रो अहिले हामीसँग भएको विद्यालयहरुमा सरकारले माध्यमिक तहमा विज्ञान, गणित सबै विषय पढाउने शिक्षक जम्मा ७१ जना छन् । ७१ विद्यालयमा मात्रै ती शिक्षकहरु छन् । बाँकी ६ हजार माध्यमिक विद्यालयमा शिक्षकहरु छैनन् । त्यसैले हाम्रो निम्ति चुनौती केहो भने सबैमा शिक्षक राख्ने होकी प्रविधि राख्ने हो ।

यसको मतलब शिक्षक दरबन्दी नराखेर प्रविधि थप्नुपर्छ भन्ने हो ?

हो । शिक्षक किन बढाउने ? प्रविधि बढ्दै गएको छ, त्यसलाई तीव्र रुपमा अगाडि बढाउने । अहिले कक्षापिच्छे शिक्षक दिन सकिन्छ कि सकिँदैन भनेर सोध्यो भने नेपालको कुनै पनि राजनीतिक दलका मान्छेहरुले, यदि उनीहरुले सरकार चलाएका छन् भने, स्पष्टसँग भन्न सक्छन् कक्षापिच्छे शिक्षक दिन सकिँदैन भनेर ।

साथीहरु हामी एक्काइसौं शताब्दीमा छौं भन्नुहुन्छ तर शिक्षकहरु पाल्नुपर्छ भन्नुहुन्छ । म यो सोचलाई ठाडै मुर्दावाद भन्ने व्यक्ति हुँ । किनभने सबै विषयमा शिक्षक राख्न सक्ने औकात छैन हामीसँग । त्यसको विकल्पमा हामीले प्रविधि राख्नुपर्छ । कोरियालाई हेर्नुभयो भने विद्यार्थी संख्या घटाउ या शिक्षक बढाउ भन्दा बरु म प्रविधि राख्छु तर शिक्षक राख्न सक्दिनँ भन्यो । त्यसरी प्रविधिलाई अगाडि बढाएर शैक्षिक गुणस्तर उकासिरहेको छ ।

नेपालमा पढाइलाई प्रविधिसँग जोड्न सम्भव छ ?

भएका शिक्षकहरुलाई दोब्बर तलब दिएर एउटै शिक्षकले चार/पाँच वटा विद्यालयमा पढाउने बनाउनुपर्छ

सम्भव छ । प्रविधि भनेको आधुनिक प्रविधि मात्रै प्रविधि हो भन्ने दृष्टिकोण म राख्दिनँ । मैले जान्ने ढिकी, जाँतो, कोदालो, हँसिया सबै प्रविधि हुन् । यो ढिकी, जाँतो, कोदालोबाट पढाउने चिन्तन सबै शिक्षकलाई सिकाउनुपर्छ ।

प्रविधि छैन भनेर हातखुट्टा छोडेर मान्छे भर्ना गर्ने किसिमको हिसाबले झन् समस्या बढाउने हो कि प्रविधिको निम्ति चाहिं बल गर्ने हो । अहिले कतिपय पालिकाहरुले माध्यमिक तहसम्म सबैलाई वाइफाइ फ्री जोन बनाउने, कतिपयले प्राथमिक तहमा पनि उपलब्ध गराउने बन्दोबस्त गरिरहेका छन् । दुर्गम क्षेत्र अथवा सुगम क्षेत्रमा, अब यसलाई आक्रामक ढंगले अगाडि बढाउने कि शिक्षक भर्ना गरेर संख्या बढाउने भन्ने सवाल हो ।

त्यसो भए अहिलेको रिक्त दरबन्दी अनुसार के गर्न सकिन्छ त ?

अहिले शिक्षकको बुद्धि जत्ति छ त्यो भन्दा धेरै केटाकेटीको बुद्धि छ । कतिपय शिक्षकले त धान्न पनि सक्दैनन् । यस्ता नधान्ने शिक्षक राखेर भोलि पनि समस्या पालेर राख्ने होकी प्रविधि राखेर उपयोग गर्ने हो ? वा तीनै बुद्धिमानी विद्यार्थीलाई प्यारा शिक्षक भनेर शिक्षकलाई सहयोग गर्ने किसिमको राख्ने हो । त्यस्तो गर्दा शिक्षक संख्या पनि घट्छ विद्यार्थीले सीप सिक्छ । बरु विद्यार्थीलाई थोरै पैसा पनि दिन सकिन्छ ।

अर्को उपाय, भएका शिक्षकहरुलाई दोब्बर तलब दिएर एउटै शिक्षकले चार/पाँच वटा विद्यालयमा पढाउने बनाउनुपर्छ । काठमाडौंमा सरकारकै विद्यालयहरु दुई सयवटा छन् । ती सरकारी स्कुलहरुमा एकपछि अर्को विद्यालयमा पढ्न जाने बनाउनुपर्छ । एउटा मोटरबाइक भयो भने उपत्यकाका सबै विद्यालयमा पढाउन भ्याउँछ । आज यतिवटा विद्यालयमा, भोलि यतिवटा विद्यालयमा पढाउन जाने तालिका बनाउने अनि एकदिन दिनभरी विज्ञान, अर्को दिन गणित, अर्को दिन नेपाली पढाउने । एक पिरियडमा नेपाली, अर्कोमा विज्ञान, अर्कोमा अंग्रेजी भनेर फरक-फरक विषय जरुरी छैन । यसरी गर्ने हो भने शिक्षक बच्छ, कामको गुणस्तर पनि बढ्छ ।

त्यस्तै प्रत्येक स्कुलमा ल्याब जरुरी छैन । एक दिन ल्याब डे भनेर दिनभरी विद्यार्थीलाई ल्याबमा छोडिदिन सकिन्छ । १० गुणस्तरीय ल्याब बनाउने हो भने काठमाडौंका दुई सय विद्यालयलाई मजाले भ्याउँछ । यसरी नयाँ व्यवस्थापकीय उपाय ल्याउँदै शिक्षक वर्गीकरण गरेर काम गरौं ।

कसरी गर्न सकिन्छ शिक्षक वर्गीकरण ?

सजिलो छ । शिक्षकको योग्यता, क्षमताको आधारमा वर्गीकरण गर्न सकिन्छ । मैले एबीसीडी भनेर वर्गीकरण गर्ने गरेको छु । अब्बल, द्वयम, सीम, चाहर भनेर । चाहर भनेको थोत्रा शिक्षक हुन्, तिनलाई विदा दिऊँ । सी शिक्षकलाई सजाउँ, द्वयम शिक्षकलाई अब्बलसँग जोड दिउँ, राम्रो गर्ने शिक्षकलाई अगाडि ल्याइदिउँ । त्यसलाई बढी पैसा हाल्दिउँ ।

गतिलो शिक्षक छैन भने त्यस्तालाई पालेर काम छैन । भएका शिक्षकलाई धेरै तलब दिउँ । योग्यता भएका मान्छेलाई राखौं, नभएका थोत्रामोत्रा शिक्षकहरुलाई बिदा गरौं ।

आयोग त दरबन्दी खुलाउने तयारीमा जुटेको छ नि त ?

रोजगारी सिर्जना गर्ने किसिमले जाने त एउटा कुरा होला तर अन्तगोत्वा देशलाई भार पर्ने किसिमको काम हो यो । धेरै शिक्षक भर्ना गर्ने र आफ्ना मान्छेलाई जागिर दिने खालको राजनीतिक नेतृत्वको दुरबुद्धि छ । त्यो दुरबुद्धि पञ्चायतदेखि नै चल्दै आएको छ त्यो प्रवृत्ति सर्दै काँग्रेससँग पनि भयो, एमाले, माओवादीमा पनि भयो । सबै एउटै दुरबुद्घकिो शिकार हाम्रा मान्छेहरु भए ।

त्यसैले अब देशलाई फाइदा गर्ने होकी, राजनीतिलाई गर्ने हो ? प्रविधिलाई फाइदा गर्ने होकी मान्छेलाई फाइदा गर्ने हो ? त्यसैले मेरो स्पष्ट भाषा के हो भने अब प्रविधिलाई जोड दिनुपर्छ । शिक्षक धेरै भर्ना गर्नुहुँदैन । शिक्षक राखेर पार्टीकै झोला बोकाउने होकी, प्रविधि राखेर विद्यार्थीलाई तेज बनाउने भन्ने कुरा प्रमुख हो ।

एकदमै गम्भीर भएर सोच्ने हो भने मैले भनेजसरी जानुपर्छ । होइन, मान्छेहरु यस्तै हो, विद्यार्थीहरु आमनेसामने भएर पढ्छन् भन्ने खालको बुद्धि भजाउने हो भने यस्तै हो । हामीले न्याय कसलाई गर्ने हो, शिक्षकलाई न्याय गर्ने हो भने प्रत्येक कक्षामा शिक्षक आवश्यक पर्छ, राखौं । होइन, विद्यार्थीलाई न्याय गर्ने हो भने एउटा विद्यालयमा चार जना शिक्षक छन् भने त्यो चार शिक्षकले चार वटा विद्यालयमा पढाउने किसिमको डिजाइन गर्नुपर्छ । यो शैलीमा जाँदा शिक्षक पनि बच्यो । बरु त्यो शिक्षकलाई तलब थप गरिदिनुपर्छ । मैले २०७४ को शिक्षा आयोगको रिपोर्टमा पनि यो शैलीबाट जानुपर्ने स्पष्टसँग लेखेको छु ।

शिक्षक दरबन्दी थप्दा आर्थिक भार मात्रै हुने होकी अरु पनि समस्या देख्नुहुन्छ ?

दरबन्दी थप गरेर हामीले न्याय कसलाई गर्ने भन्ने हो । बच्चालाई न्याय गर्ने कि शिक्षकलाई गर्ने ? किनभने धेरै शिक्षक पाल्ने गाह्रो काम हो । अब आर्थिक बोझ थाम्न सक्ने हैसियत छैन । अर्को कुरा, धेरै शिक्षक हुन बित्तिकै हड्ताल हुन्छ । तर त्यो हड्ताल विद्यार्थीको हितमा हुँदैन । अहिले शिक्षकहरुको आन्दोलनलाई नै हेर्न सकिन्छ नि । ३४ बुँदे उनीहरुको माग छ तर त्यहाँ एउटा बुँदा विद्यार्थीको पढाइसँग सम्बन्धित छैन । मैले शिक्षक महासंघका साथीहरुलाई पटक पटक भन्ने गरेको छु- ए मित्र हो यो के अपराध गरेको ?

राणाकालीन शिक्षा किताबमा प्रकृति अधिकारीले लेखेका छन् ६ सालमा बनेको शिक्षक संघ सात बुँदे माग राखेर आन्दोलनमा जाँदा एउटा मात्रै माग शिक्षकको थियो । बाँकी जम्मै विद्यार्थीसँग सम्बन्धित माग थियो । त्यो बेलामा त्यति बुद्धि थियो हाम्रो शिक्षकमा । तर अहिले हाम्रो शिक्षक साथीहरुले गरेको आन्दोलनमा ३४ वटा बुँदा राखेर आन्दोलन गरिरहेका छन् एउटा पनि विद्यार्थीसँग सम्बन्धित छैन । यो हद हो । त्यसैले शिक्षक दरबन्दी थपेर पुरानै टालटुले शैलीमा नजाऔं । म त टालटुल गर्ने पक्षमा छैन ।

शिक्षक स्थायीको विषयमा चाहिं यहाँको धारणा के छ ?

भएकै शिक्षकहरुलाई स्थायी गर्दै जाने भन्ने किसिमको सरकारको नीति छ त्यो नीतिलाई म सम्मान गर्छु । तर शिक्षकलाई स्थायी गरेपछि विद्यार्थीको शैक्षिक गुणस्तर बढ्छ त ? यदि बढ्छ भने स्थायी गरौं, होइन भने किन गर्ने ?

स्थायी भएपछि ल अब म राम्रोसँग पढाउँदिन कसले के गर्न सक्छ भन्ने कि, स्थायी भएपछि राम्रोसँग पढाउनुपर्छ शैक्षिक गुणस्तर बढाउने भन्ने हो । त्यो ख्याल गर्नुपर्छ । हाम्रोमा त स्थायी भएपछि कसले के गर्न सक्छ र भन्ने प्रवृत्ति हाबी भएका शिक्षकहरु बढी छन् ।

पालिका तहको बालविकासमा कतिपयमा एमए पढेकाले बालविकास पढाइरहेका छन् । तीनलाई किन बालविकासमा राख्ने ? कि तलब दिनपर्यो, कि माथिल्लो तहमा प्रमोसन गर्नुपर्यो । त्यो गरिदियो भने पनि यो संख्या मिलाउन सकिन्छ । तर योग्यता नै नभएका शिक्षकलाई स्थायी गरेर पाल्नुको औचित्य देख्दिनँ ।



source https://www.onlinekhabar.com/2021/09/1020298

कर्मचारी समायोजनसँग सम्बन्धित रिट निवेदनहरुको सुनुवाइ स्थगित

१४ असोज, काठमाडौं । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ ।

बिहीबारका लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो ।

आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको दावी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम आदेश दिएपछि नयाँ कर्मचारी पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ ।

सर्वोच्च अदालतले समायोजन उल्टिएका कर्मचारीहरुको सिट सुरक्षित गरेर मात्रै नयाँ भर्ना गर्नू भनी आदेश दिएपछि लोकसेवा आयोगले शाखा अधिकृतहरुको नतिजा रोकेको छ भने अरु परीक्षाहरु पनि स्थगित गरेको छ ।

पुराना कर्मचारीको समायोजनले आफूहरुको सेवा प्रवेश गर्ने अवसर अवरुद्ध भएको भनी परीक्षा दिएका कर्मचारीले समेत सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

सर्वोच्च अदालतले ती सबै निवेदनको एकमुष्ट सुनुवाइ हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1020295

चीनविरुद्ध ‘मिनिल्याटरल’ गठबन्धनको सहारा लिंदै अमेरिका

क्वाडको प्रवर्धन, अकुस सुरक्षा सम्झौताको जन्म र अफगानिस्तानबाट भएको बहिर्गमनले हिन्द-प्रशान्त (इन्डो-प्यासिफिक) क्षेत्रमा केन्द्रित हुने अमेरिकाको रणनीतिक संकल्पलाई संकेत गर्छन् । अमेरिकाका यी कदमले मुख्य प्रतिद्वन्द्वी शक्ति राष्ट्र चीनसँग जारी विवाद चर्काउने, दक्षिणपूर्वी एशियामा असहजता निम्त्याउने र युरोपसँगको सम्बन्ध कमजोर पार्न सक्ने अपेक्षा मात्रै गर्न सकिन्छ । वाशिङ्टनले यसखाले जोखिमलाई नजरअन्दाज गर्नुको अर्थ महत्वपूर्ण मानिने क्षेत्रमा बढ्दो चिनियाँ सामर्थ्य र प्रभावलाई ‘काउन्टर’ गर्ने आफ्नो अभियानमा यस्ता जोखिम उठाउन तयार भएको हुनुपर्छ ।

गत हप्ता वाशिङ्टनमा भएको क्वाडको प्रत्यक्ष बैठक सो गठबन्धनको इतिहासमै एउटा महत्वपूर्ण विकासक्रम थियो । चारवटा सदस्य मुलुकका नेताहरूले ६ महीनाअघि भएको पहिलो भर्चुअल बैठकलगत्तै वाशिङ्टनमा प्रत्यक्ष भेटघाट गरेका हुन् । तीव्र विकासक्रमले यो क्षेत्रमा अमेरिकाको समग्र रणनीतिमा क्वाडको महत्व के-कति छ भन्ने दर्शाउँछ । क्वाडले इन्डो-प्यासिफिकमा युरोपको नेटोले जस्तै भूमिका निभाउनेछ ।

तर चिनियाँ चुनौती सोभियत युनियनको चुनौतीभन्दा कम वैचारिक र बृहत् प्रकृतिको भएकाले सुरक्षाभन्दा माथि उठेर क्वाड अघि बढ्नुपर्ने हुन्छ । यो कुरा क्वाडका नेताको संयुक्त वक्तव्यमा समेत प्रतिबिम्बित भएको थियो र पछिल्लो वक्तव्यमा मार्च महीनाको वक्तव्यभन्दा धेरै विषय उल्लेख गरिएको छ ।

वाशिङ्टनबाट जारी भएको संयुक्त विज्ञप्तिमा स्वास्थ्य, पर्यावरण, पूर्वाधार, प्रविधि, कूटनीति, सुरक्षा सहित शिक्षा र नागरिक-नागरिकबीचको सम्बन्धलाई समावेश गरिएको छ । सामुद्रिक क्षेत्रमा चीनविरुद्ध उत्रिनु एउटा कुरा र सार्वजनिक हितका लागि प्रतिस्पर्धा गर्नु अर्को कुरा हो भनेर अमेरिकाले बुझ्दैछ । उसले आफ्ना गठबन्धन र साझेदारीको अत्यधिक उपयोग गर्दै चीनको खोप कूटनीति वा बेल्ट एण्ड रोड इनिसिएटिभलाई माथ दिने गरी स्रोत-साधन जुटाउन सक्छ ।

दक्षिण चिनियाँ सागरमा विवाद हुँदाहुँदै चीनसँग परामर्श गर्ने मलेशियाको योजनाबाट त्रिदेशीय सुरक्षा सम्झौतापछि उत्पन्न भित्री उकुसमुकुस कति छ भन्ने प्रष्ट हुन्छ

इन्डो-प्यासिफिक क्षेत्रमा कैयौं तनावपूर्ण स्थान भएकाले क्वाड सदस्यको सबलीकरण वा वरपरका सैन्य अखडामा पहुँच सुनिश्चितता गर्ने कार्यसँगै भविष्यमा आइपर्न सक्ने परिस्थितिका लागि पनि तीव्र तयारी गर्नुपर्ने हुन्छ । तसर्थ, क्वाडले जे-जस्तो रूप लिए पनि यस क्षेत्रप्रति वाशिङ्टनले अपनाउने बृहत् रणनीतिको केन्द्रमा हुनेछ । नेटो झैं यसले पनि आफूलाई विस्तार गर्ने लक्ष्य राखेको छ र क्वाड प्लस डाइलगले यही कुराको संकेत गर्छ ।

अमेरिका र चीनले शान्तपूर्ण सहअस्तित्वका लागि हालसम्म गरेका प्रयासहरू प्रतिफलविहीन भएका छन् । गत मार्चमा अलास्का र जुलाईमा तिआनजिङमा भएका सम्मेलनले यही कुरा पुष्टि गर्छन् । यही भएर दुवै पक्षले आ-आफ्नो तयारी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङफिङबीच दोस्रो पटक भएको टेलिफोन वार्ताले समेत अवस्था सहज बनाउन खासै मद्दत गरेन । टेलिफोन वार्ता भएको एक हप्ता नबित्दै अकुस घोषणा गरियो ।

यसैबीच, दुवै पक्षले तनाव कम गर्ने प्रयास पनि गरिरहेको देखिन्छ । वाशिङ्टनमा क्वाडका नेताहरूबीच कुराकानी भएकै समयमा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झोउलाई चीन फिर्ता गर्न सहजीकरण गर्ने सहमति भयो । लगत्तै बेइजिङले क्यानाडेली नागरिक माइकल कोभरिग र माइकल स्पाभोरलाई रिहा गर्‍यो । यसबाट अमेरिकाको छिमेकी तथा सहयोगी क्यानाडालाई संयोगवश चर्चामा तानेको र तीन वर्षदेखि जारी राजनीतिक झगडा अन्त्य भयो ।

‘मिनिल्याटरल’ अर्थात् निश्चित मुलुकबीचका कूटनीतिक प्रयास वा गठबन्धन सहमतिमा आधारित संगठनमा देखिने उचार-चढाव हटाउने माध्यम र एकअर्काको परिपूरक बन्न सक्छन् । जस्तै, चीनले निकै प्रगति गरेका महत्वपूर्ण क्षेत्र एवं आर्टिफिसियल इन्टेलिजेन्स तथा क्वान्टम कम्प्युटिङ जस्ता क्षेत्रमा सहकार्य बढाउनुपर्ने आवश्यकतामाथि क्वाड र अकुसले जोड दिन्छन् ।

विशेषगरी विकासको भिन्न चरण, राजनीतिक आस्था र सुरक्षा सम्बन्धी फरक दृष्टिकोण भएका मुलुकबीच विवादित विषयमा साझा अडान तय गर्दा विभिन्न कठिनाइहरू देखा पर्न सक्छन् । यस्तो अवस्थामा प्रमुख समूह वा मिल्दाजुल्दा राष्ट्रको गठबन्धनले क्षेत्रीय समूहलाई क्रियाशील हुन प्रोत्साहित एवं उत्प्रेरित गर्छन् ।

यदि यसलाई अर्को कोणबाट हेर्ने हो भने क्वाडप्रतिको प्रतिबद्धता बढाउने कार्य भनेको चीनसँग जुध्न दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन वा युरोपेली युनियनले एकीकृत रणनीति बनाउन नसकेपछि उत्पन्न निराशाको परिणाम हो भनेर बुझ्न सकिन्छ । तर यसले समेत राम्रा-नराम्रा दुवै असर निम्त्याउँछ ।

उदाहरणका लागि, ‘मिनिल्याटर’का कारण आसियानको औचित्य हराउने र आफ्नो संगठन ओझेलमा पर्ने वा आफूहरू ठूला शक्ति राष्ट्रबीच बढ्दो शक्ति संघर्षमा पक्ष-विपक्ष भएर विभाजित हुनुपर्ने भनेर दक्षिणपूर्वी एशियाली राष्ट्रहरू चिन्तित देखिन्छन् ।

स्वार्थमा ठेस पुगेको र आक्रोश बढिरहेका बेला पुन: विश्वास जगाउँदै अघि बढ्न केही समय लाग्न सक्छ । र, दुष्प्रभाव फैलिन नदिनु नै यतिबेलाको अपरिहार्य कार्य हो

अकुसको घोषणाले निम्त्याएको दरार उल्लेख गर्न लायकको छ । चीनको उदयबीच यो क्षेत्रमा शक्ति–सन्तुलन कायम गर्न योगदान गर्ने भनेर फिलिपिन्सले औपचारिक रूपमै क्वाडको स्वागत गरेको छ । तर इन्डोनेसिया र मलेशिया भने तनाव थप चर्किन सक्ने भनेर चिन्तित छन् । अन्य मुलुक मौन देखिन्छन् र उनीहरूले लिन सक्ने अडान आकलन गर्न कठिन छ ।

आसियानले सन् २०१९ मा इन्डो-प्यासिफिकबारे आफ्नो धारणा सार्वजनिक गरेको थियो । तर अकुसपछि देखिएको मतभेदबाट घोषित सुरक्षा सम्झौताप्रति क्षेत्रीय आशंका रहेको प्रष्ट हुन्छ किनभने यसले पहिलादेखि नै तातिरहेको भू-राजनीतिक क्षेत्रको तापक्रम थप बढाउन सक्छ । छिमेकी न्युजिल्याण्डले समेत अष्ट्रेलियाका आणविक पनडुब्बीलाई आफ्नो जलक्षेत्रमा प्रवेश नदिने बताइसकेको छ ।

यस क्षेत्रका थोरै मुलुकसँग मात्रै आफ्नो मुलुकको जलक्षेत्र हुँदै वारपार गर्ने पनडुब्बीको गतिविधि निगरानी गर्ने सामर्थ्य छ र पनडुब्बीलाई रोक्ने सामर्थ्य पनि खासै छैन । यही भएर अष्ट्रेलियाले आणविक पनडुब्बी खरीद गरेमा यसले समुद्रमुनि यस्तै पूर्वाधार विकास गर्न चाहने अन्य क्षेत्रीय मुलुकको आकांक्षा बढ्न सक्छ । फलस्वरूप, हातहतियारको होडबाजी शुरु हुनेछ र क्षेत्रीय अस्थिरता निम्त्याउने गरी हातहतियार प्रसारको जोखिम निम्तिन सक्छ ।

दक्षिण चिनियाँ सागरमा विवाद हुँदाहुँदै चीनसँग परामर्श गर्ने मलेशियाको योजनाबाट त्रिदेशीय सुरक्षा सम्झौतापछि उत्पन्न भित्री उकुसमुकुस कति छ भन्ने प्रष्ट हुन्छ ।

अन्त्यमा, क्वाड र अकुसले इन्डो-प्यासिफिक क्षेत्रमा युरोपको सशक्त भूमिकालाई कसरी आत्मसात् गर्ने छन् भनेर भविष्यले नै देखाउने छ । यस क्षेत्रमा सबैभन्दा ठूलो हिस्सेदारी रहेको युरोपेली मुलुक र सबैभन्दा पहिला इन्डो-प्यासिफिक रणनीति अघि सारेको फ्रान्स अकुस सम्झौताका कारण निकै अपमानित भएको छ । यो घटनाक्रमको असर अमेरिका-युरोप सम्बन्ध, नेटोको एकता र युरोपेली युनियन-अष्ट्रेलियाबीचको व्यापार वार्तामा देखिनेछ । साथै, चीनलाई समेत अग्रसर हुने मौका मिल्नेछ ।

वाशिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने, बेलायतसँगको रक्षा सम्मेलन रद्द गर्ने, अष्ट्रेलिया र भारतसँगको मन्त्रीस्तरीय संवादबाट पछि हट्ने कदमबाट फ्रान्सको बेचैनी प्रष्ट हुन्छ । अफगानिस्तानबाट भएको अस्तव्यस्तपूर्ण एकपक्षीय बहिर्गमनपछि अमेरिकाले आफ्ना नेटो सहयोगीसँग फेरि नयाँ विवाद सिर्जना गर्न चाहेको जस्तो पनि देखिन्छ ।

अप्रिलमा फ्रान्सले तेस्रो ला पेराँस अभ्यासअन्तर्गत बंगालको खाडीमा ‘क्वाड प्लस वन’ को सामुद्रिक अभ्यास आयोजना गर्दै क्वाडमा योगदान गर्ने आफ्नो रुचि र क्षमता देखाएको थियो । फ्रान्स यस क्षेत्रका लागि युरोपेली रणनीति तय गर्ने महत्वपूर्ण शक्ति पनि हो । तर अन्तिममा आफूलाई गुमराहमा राखिनेछ भनेर उसले अपेक्षा गरेको पनि हुन सक्छ ।

यदि कैयौं साझा रुचिसहित लामो समयदेखि सहयोगी बन्दै आएका मुलुकहरूले नै आफ्ना क्रियाकलाप प्रभावकारी रूपले गर्न सक्दैनन् भने क्वाडले क्षेत्रीय भू-राजनीति सम्बन्धी धारणा र बोध पूर्णत: मेल नखान सक्ने मुलुकलाई कसरी मनाउन सक्ला ?

स्वार्थमा ठेस पुगेको र आक्रोश बढिरहेका बेला पुन: विश्वास जगाउँदै अघि बढ्न केही समय लाग्न सक्छ । र, दुष्प्रभाव फैलिन नदिनु नै यतिबेलाको अपरिहार्य कार्य हो ।

(एशियाटाइम्समा प्रकाशित सामग्रीको भावानुवाद ।)



source https://www.onlinekhabar.com/2021/09/1020281

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी छोडे

१४ असोज, काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् ।

लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/09/1020293

उपासनाको जीवनशैली : ‘माछा–मासु खाउँखाउँ लाग्दैन, कपडाको सौखिन होइन’

‘क्याप्टेन’बाट नेपाली चलचित्र उद्योगमा भित्रिएकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । आफ्नो पहिलो चलचित्रबाट दर्शकको मन जितेकी उनले दोस्रो चलचित्रका रूपमा ‘कबड्डी ३’ मा काम गरिन् । यो चलचित्रले उनलाई थप चर्चामा ल्यायो । त्यसयता उनलाई थुप्रै चलचित्रबाट अफर आए । उनले भर्खरै चलचित्र ‘डिसेम्बर फल्स’को ७० प्रतिशत छायांकन सकेकी छन् । अर्को एक चलचित्रको वर्कशपमा उनी यतिबेला व्यस्त छिन् । छोटो समयमै चलचित्र क्षेत्रबाट राम्रो फ्यान फ्लोइङ कमाएकी उपासनाको कसरी बित्दैछ दैनिकी ? अनलाइनखबरले कुराकानी गरेको छ । उनले आफ्नो दैनिकी यसरी सुनाइन् ।

म ब्याचलर चौथो सेमेष्टरमा अध्ययनरत छु । अहिले हाम्रो बिहानमा अनलाइन क्लास चलिरहेको छ । त्यसैले अहिलेको सन्दर्भमा मेरो उठ्ने समय ६ः ३० बजे हो । उठिसकेपछि फ्रेस हुन्छ । अनलाइन क्लास ज्वाइन गर्छु ।

एउटा क्लास सकिँदा लगभग ८ बज्छ । त्यसपछि ब्रेकफाष्ट खान्छु । ब्रेकफाष्टमा कफी, बिस्कुट, कर्नफ्लेक्स, फ्रुड्स यस्तै हुन्छ । त्यसपछि फेरि अनलाइन क्लासमा बस्छु । ९ः३० सम्म क्लास हुन्छ । अरूबेला बिहानमा केही समय योगा पनि गर्थे । अहिले नियमित योगा गरेकी छैन । मामु, बहिनी जागिरमा जानुपर्ने भएकाले खाना १० बजे अगाडि नै खान्छौं । खाना मामुले बनाउनुुहुन्छ । खानामा प्रायः भुजा, दाल, तरकारी, अचार हुन्छ । माछामासु मलाई धेरै खाउँखाउँ जस्तो लाग्दैन । परिवारमा अरूले खाइरहनुभएको हुन्छ । म चाहिँ माछामासु कहिलेकाँही मात्र खान्छु ।

मलाई खाना बनाउन नआउने त होइन, धेरैजसो खानेकुरा बनाउन आउँछ । म र बहिनीले प्रायः बटर चिकेन बनाइरहेका हुन्छौं । अरू खानेकुराभन्दा त्यो अलि मीठो बनाउँछु जस्तो लाग्छ ।

बाहिर निस्किए भने प्रायः ११ः ३०– १२ बजेतिर निस्किन्छु । बाहिर निस्किँदा तयारी हुन मलाई खासै धेरै समय लाग्दैन । त्यही १५–२० मिनेटमा तयारी हुन्छु । मलाई लगाउँदा सजिलो लाग्ने लुकाहरू मनपर्छ । जे लगाएपनि आफूलाई ‘कन्फटेबल’ हुनुप¥यो । पाइन्ट, टिसर्टहरु बढी लगाउँछु । कुर्ताहरु पनि मनपर्छ, लगाइरहेकी हुन्छु । कपडामा म धेरै सौखिन पनि होइन । वास्तवमा भन्नुपर्दा मैले सपिङ नगरेकै धेरै समय भयो । अनलाइन स्टोर्सहरुबाट कति गिफ्टहरु पठाइदिनु भएको हुन्छ । कपडाको रंगमा चाहिँ एउटा स्पेसल भन्ने छैन, तर म ब्याक, ह्वाइट कपडाहरु बढी लगाउँछु ।

बाहिर हिँड्दा म प्रायः पठाओमा हिँडिरहेकी हुन्छु । किनभने मलाई स्कुटर, गाडी चलाउन आउँदैन । पठाओ नभए साथीहरुको सवारीमा पनि यात्रा गर्छु । बहिनीसँग कतै निस्किनुपरे स्कुटीमा निस्किन्छु । म आफू स्कुटी चलाउन अलिअलि जानेकी छु, तर डराउँछु ।

अहिले नयाँ चलचित्रको वर्कसप चलिरहेको छ । दिउँसो केही समय त्यसमै बितिरहेको छ । त्योबाहेक अरुबेला चाहिँ कलेज, साथीहरुसँग भेटघाटमा समय बितिरहेको हुन्थ्यो । अहिले घरमै बढी समय बितिरहेको छ । कलेजकै किताबहरु बढी पढिरहेकी छु ।

नत्र, अन्य समयमा घरमा खाली हुँदा मलाई चलचित्र हेरिराख्न मन लाग्छ । चलचित्रसँगै सिरिजहरु बढी मात्रामै हेरिरहेकी हुन्छु । चलचित्र नेपाली, बाहिरी सबैखाले हेर्छु । कतिपय अरूले राम्रो भनिसकेपछि हेरिरहेकी हुन्छु । नेपालीमा मलाई मनपरेको ‘छड्के’, ‘पशुपति प्रसाद’ हेरिरहेकी हुन्छु । सिरिज तथा चलचित्र हेर्दा कलाकारहरु, त्यसको विषयवस्तु लगायतबाट धेरै कुरा सिक्न पाइरहेको हुन्छु ।

मलाई नाटक हेर्न पनि रमाइलो लाग्यो । केही पहिले मण्डला थिएटरमा नाटक हेरेकी थिए । केही समय अगाडि कौसी थिएटरमा ‘हरेक बबाल कुरा’ नाटक हेरेँ, एकदमै रमाइलो भयो ।

नोबेलहरू पढ्न पनि मन लाग्छ । मन परेको नोबेल पढ्छु पनि । तर नोबेल पढिरहने समय मिलिरहेको हुँदैन । सामाजिक सञ्जालमा म धेरै एक्टिभ चाहिँ हुँदिनँ । मलाई टिकटक आफू खासै नबनाए पनि अरूको हेर्न रमाईलो लाग्छ ।

मेरो चलचित्र क्षेत्रका साथीहरु कमै हुनुहुन्छ । जतिपनि चलचित्रमा काम गरेँ, उहाँहरूसँग कन्ट्रयाकमा रहिराख्छु । दया दाइले कहिलेकाहीँ के गर्दै नानू भनेर कल गर्नुहुन्छ । अनमोल केसी, कर्म दाइ लगायतसँग राम्रो सम्बन्ध छ । मेरो कलेजका साथीहरुसँग म बढी क्लोज छु ।

शनिबार म खासै बाहिर जाँदिनँ । किनकि अरूबेला सबैजना व्यस्त हुने भएर शनिबार परिवार जम्मा भएर रमाइलो गरिरहेका हुन्छौं । मलाई परिवार, आफन्तहरुसँग समय बिताउन एकदमै रमाइलो लाग्छ ।

बाहिर गएको बेलामा म प्रायः ६ देखि ७ बजेसम्म फर्किसकेको हुन्छ । अब सुटिङ वा अरू काम भए ढिला हुने भयो ।

साँझमा म, बहिनी, मामु मिलेर नै खाना बनाउँछौं । ८ देखि ८ः३० बजेभित्र खाना खान्छु । साँझमा प्रायः रोटी खाइरहेका हुन्छौं । भुजा, दाल, तरकारी भए चिल्लो कम भएको खान्छौं । राति अबेरसम्म बस्ने मेरो बानी छैन । ९ः३० देखि १० बजेभित्र सुतिसकेकी हुन्छु ।

सुशिल नेपालसँगको कुराकानीमा आधारित



source https://www.onlinekhabar.com/2021/09/1020285

कति कुण्ठा मात्रै पोख्नुहुन्छ, नेताज्यू ?

नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको महायज्ञमा जुटेको छ । केन्द्रीय महाधिवेशन मंसीर ९–१३ गतेसम्म गर्ने पूर्वघोषित कार्यतालिका अनुसार यतिबेला स्थानीय अधिवेशनहरू धमाधम भइरहेका छन् । मंगलबारसम्मको तथ्यांक हेर्ने हो भने झण्डै ६० जिल्लामा पालिका अधिवेशन भइसकेको छ भने वडा तहको अधिवेशन ६४ जिल्लामा सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा पनि दशैंअघि नै पालिका अधिवेशन सम्पन्न गरिसक्ने कांग्रेसको निर्णय छ ।

एकातिर पार्टी महाधिवेशन सम्पन्न गर्ने र अर्काेतिर गठबन्धन सरकारको नेतृत्व गर्दै मुलुकलाई संविधान र लोकतान्त्रिक बाटोमा अगाडि बढाउनुपर्ने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा छ । दोहोरो जिम्मेवारीमा खरो उत्रिन देउवाको कार्यकुशलताको खाँचो जति आवश्यक छ, उति नै आवश्यक छ, पार्टीभित्रबाट सहयोग । तर नेतृत्वलाई सहयोग गर्नुको साटो असहयोग गर्ने र असफल बनाउन कांग्रेसभित्रबाटै कतिपय जिम्मेवार नेताहरू उद्यत देखिन्छन्, जुन विडम्बना हो ।

पार्टीमा सधैंको असहयोग

कांग्रेसभित्र सभापति देउवाको प्रष्ट बहुमत छ । तर उनी बहुमतबाट होइन, पार्टीका हरेक निर्णय सहमतिमै गर्दै आउनुभएको छ । पछिल्ला चार वर्षका हरेक निर्णय हेर्ने हो भने पनि त्यसले सहमतिबाटै देउवाले पार्टी सञ्चालन खोजेको प्रष्ट हुन्छ । १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएलगत्तै उहाँले विभाग गठनका लागि संस्थापनइतर पक्षसँग पटक–पटक नाम माग्नुभयो । तर नाम नै दिइएन ।

आवरणमा सधैं लोकतन्त्र, विधि, पद्धति र राजनीतिक संस्कारका कुरा गरेर नथाक्नेहरू नै पार्टीमा चरम गुटबन्दी गरेर नेतृत्वलाई कमजोर बनाउन सक्रिय छन् । जुन आजपर्यन्त जारी छ । मेरो प्रश्न छ– के पार्टी यसरी नै बलियो र सशक्त बन्ला ?

कार्यकालभर विभाग नै गठन गर्न सकेन भन्ने आरोप लाग्ने अवस्था भएपछि सभापतिले ढिला गरी केही विभाग गठन गर्नुभयो । ४० प्रतिशत विभाग पौडेल पक्षलाई नै छाडिदिनुभयो । गठन गरिएका विभाग सदस्यमा पनि पौडेल पक्षधरलाई ४० प्रतिशत खाली राख्नुभयो । पार्टीभित्र बृहत्तर एकता कायम गर्न सहमतिमै विभाग गठन खोज्दा केही ढिलाइ भएको सत्य हो तर विभाग गठन हुनु नै अपराध थियो त ?

६ महीनापछि विभाग गठन नै गर्न नपाइने व्यवस्था विधानमा छैन । तर विभाग गठनप्रति आपत्ति जनाउँदै पार्टीभित्र द्वन्द्वको अवस्था सिर्जना गर्ने काम भयो । पार्टीका बैठकहरू बहिष्कार गरिए । समानान्तर गतिविधि सञ्चालन भए । नेताहरूका घरघरमा बैठकहरू बसेका दृश्यले लोकतन्त्र र विधिका कुरा गरेर कहिल्यै नथाक्ने नेताहरूको प्रवृत्तिलाई गिज्याइरहेको थियो । विभाग गठन भएको भए देशभरका करीब पाँच हजार बढी नेता कार्यकर्ताले संगठनमा काम गर्ने अवसर पाउँथे । ठूलो पंक्तिमा नेता कार्यकर्ताहरूलाई पार्टीमा काम गर्ने अवसर दिंदा किन विरोध ?

कांग्रेसमा दशकौंदेखि अधिवेशन गर्न नसकेर तदर्थवादबाट सञ्चालित थिए, भ्रातृ तथा शुभेच्छुक संस्था । सभापति देउवाले आफू निर्वाचित भएको पहिलो वर्षमै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायत आधा दर्जन बढी भ्रातृ संस्थाको अधिवेशन गराउनुभयो । भ्रातृ संस्थालाई चलायमान र नेतृत्व हस्तान्तरणको प्रक्रिया प्रारम्भ गर्नुभयो ।

पछिल्ला चार वर्ष तीन तहको निर्वाचन अनि विश्वव्यापी कोरोना महामारीका कारण नियमित अधिवेशनका प्रक्रियाहरू प्रभावित भए । भ्रातृ संस्थाको अधिवेशन नहुनुमा भागबण्डाको प्रवृत्ति पनि उत्तिकै जिम्मेवार छ । प्रतिस्पर्धामा जाँदा पराजित हुने भयले अर्काे पक्षले अधिवेशनका पक्षमा कहिल्यै आवाज उठाएको सुनिएन । भ्रातृ संस्था तदर्थवादबाट गुज्रिंदै गर्दा पार्टीको प्रतिपक्षी भन्नेले अधिवेशनका लागि दबाब दिनुपर्ने होइन ? भ्रातृ संस्थाको अधिवेशन नहुँदा पनि ठीक ?

तीन तहको निर्वाचनमा भागबण्डाका आधारमा टिकट वितरण भएको यथार्थ हो । पार्टीभित्र हरेक ठाउँमा ४० प्रतिशतको भाग खोज्ने अनि आफ्नो भागको जिम्मा आफूले नलिएर अरूमाथि थोपर्नु कति नैतिक ? प्रदेश र संघको निर्वाचन परिणाम कांग्रेसका पक्षमा देखिएन । तर पार्टी पराजयको मूल कारण नेतृत्वलाई देखाएर यथार्थ लुकाउने काम जिम्मेवार नेताहरूबाटै हुनु दुर्भाग्य हो । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनलाई नकारेर नेतृत्वकै कारण कांग्रेस पराजय भएको आरोप लगाउनु कुण्ठा सिवाय केही होइन । पार्टीले पाएको लोकप्रिय मतले नेतृत्व विरुद्धको आरोपलाई खण्डन गर्दैन र ?

नेतृत्वले महाधिवेशन गराएन भनेर आरोप लगाइरहने तर पार्टीभित्र भने सधैं अप्ठ्यारो र किचलो गरिरहने प्रवृत्ति घाम जस्तै छर्लङ्ग छैन र ? यो दोधारे नीति कहिलेसम्म ? महाधिवेशनका लागि क्रियाशील सदस्यताको टुंगो लगाउनु पहिलो र प्राथमिक कार्य हो । किनकि कांग्रेस महाधिवेशनका लागि प्रारम्भिक मतदाता हुन्, क्रियाशील सदस्य । क्रियाशील सदस्यता विवाद अझै टुंगो नलाग्नुमा को दोषी ? पार्टीभित्रका सबै विचार समूहको प्रतिनिधित्व हुने गरी क्रियाशील सदस्यता छानबीन समिति गठन गरियो । समितिले एकाध जिल्लाबाहेक अधिकांशको विवाद समाधान गरेर पार्टीलाई प्रतिवेदन बुझाएको पनि तीन महीना पुग्न लाग्यो । सबैको सहमतिमा बनेको समिति र उसले सर्वसम्मत रूपमा गरेको निर्णय नमानेर पार्टी कार्यालयमा धर्ना र अनशन गर्न उक्साउने काम कसले किन गरिरहेको छ ?

त्यति मात्र होइन, क्रियाशील सदस्यता चाँडो टुंग्याउन पार्टीले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदल बनायो । त्यसले पनि सहमतिको प्रतिवेदन बुझाएको एक महीना भयो । उक्त प्रतिवेदन किन कार्यान्वयन हुन सकेन ? दोष कसको ? यसको समीक्षा हुनु जरूरी छ । समितिले सर्वसम्मत गरेका निर्णय विरुद्ध जिल्लादेखि केन्द्रसम्म सुनियोजित विवाद निकाल्ने र उल्टै नेतृत्वविरुद्ध महाधिवेशन कब्जाको भ्रमपूर्ण प्रचार गर्नु कति जायज ?

६४ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर पालिका अधिवेशन शुरु भइसक्दा एकाएक अधिवेशन रोक्न किन माग गरियो ? केन्द्रीय महाधिवेशनलाई नै प्रभावित बनाउने गरी क्रियाशील सदस्यतामा विवाद निकाल्ने काम किन भइरहेको छ ? परिणाम आफू अनुकूल नआउने भएपछि महाधिवेशन समयमै सम्पन्न गर्न नदिने अनि दोष चाहिं नेतृत्वलाई ? निर्धारित मितिमै महाधिवेशन गराउन नेतृत्वले हदैसम्म लचकता अपनाउँदा पनि किन अर्काे पक्ष एकपछि अर्काे नयाँ विवाद निकालिरहेको छ ?

पार्टीभित्रका असहमति वा अप्ठ्याराहरूलाई फुकाउन वरिष्ठ नेताले सहजीकरण गर्ने कि त्यसलाई थप चर्काउने गरी सार्वजनिक रूपमा उत्तेजित बनाउने अभिव्यक्ति दिने ? आफ्नै उपस्थितिमा भएको सहमति विपरीत हुने गरी पार्टी कार्यालयमा धर्ना र अनशन हुँदा उनीहरूलाई सम्झाउने कि आफैं धर्नामा सहभागी हुने ? के यही हो विधि, पद्धति अनि लोकतान्त्रिक संस्कार ?

पार्टीमा समस्या हुनसक्छन्, त्यसलाई समाधान खोज्न शीर्ष नेतृत्वले पहलकदमी लिने हो । तर त्यस्तो नगरेर नेतृत्वमाथि नै वितृष्णा फैलाउने गरी सामाजिक सञ्जाल होस् या सार्वजनिक सञ्चारमाध्यममा टीकाटिप्पणी गर्नु, विषवमन गर्नु कति सुहाउँदो विषय हो ? यो विषय आम नेता कार्यकर्ताले मूल्यांकन गरेकै होलान् । आफू गुटगत राजनीति र भागबण्डाभन्दा माथि उठ्न नसक्ने अनि नेतृत्वले गुटलाई मात्रै प्रश्रय दियो भनेर आरोप लगाउनु हास्यास्पद भएन र ? आफ्नो अनुकूल नहुँदा विधानको रटान दिने अनि अनुकूलमा विधान नचाहिने ?

प्रधानमन्त्रीमाथि निशाना

मुलुकमा संविधान र लोकतान्त्रिक व्यवस्था नै संकटोन्मुख रहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको हो । पटक–पटक संसद विघटन र मुलुकलाई कथित निर्वाचन मार्फत सत्ता कब्जाको रणनीति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको थियो । ओलीको अधिनायकत्व विरुद्ध कांग्रेस सभापति देउवाको नेतृत्वमा सबै दलहरू एक ठाउँमा उभिए । नेकपा खण्डित भयो । एमालेकै नेताहरू ओली अधिनायवाद विरुद्ध पार्टी विभाजनका पक्षमा उभिए ।

संसदमा जम्मा ६३ सांसद संख्या रहेका देउवाले सुविधाजनक बहुमत पाए । कम्तीमा पाँच वर्षका लागि प्रतिपक्षमा खुम्चिएको कांग्रेस सत्तारुढ बन्यो । केन्द्रमा सरकारको नेतृत्व नै ग¥यो भने सात वटै प्रदेशमा कांग्रेस सरकारमा जाने परिस्थिति बन्यो । यो कांग्रेसका लागि उपलब्धि थिएन ?

ओली बाहेकका सबै दलहरूले देउवाको नेतृत्व स्वीकार गर्दा पार्टीभित्रबाटै उनीविरुद्ध फेरि आक्रमण शुरु भएको छ, त्यो पनि पार्टीकै वरिष्ठ नेताबाट । संवेदनशील समयमा मुलुकको नेतृत्व गर्न पुगेका आफ्नै पार्टी सभापतिलाई सामाजिक सञ्जाल मार्फत अक्षम र असफल भन्नु कति स्वाभाविक ?

पाँचदलीय सत्ता गठबन्धन, पाँचथरी विचार अनि बलियो प्रतिपक्षी । सबैलाई मिलाएर लैजानुपर्ने बाध्यता प्रधानमन्त्रीलाई छ । गठबन्धन जोगाउनुछ, किनकि गठबन्धनको आयुसँगै यो व्यवस्था र संविधानको भविष्य जोडिएको छ । यस्तो अवस्थामा आफ्नै पार्टीबाट सहयोगको खाँचो छ प्रधानमन्त्रीलाई ।

फेरि, सरकारको सफलतासँग जोडिएको छ, कांग्रेसको भविष्य । एकप्रकारले भन्ने हो भने यो चुनावी सरकार हो । अबको एक वर्षमा मुलुकमा तीन तहको आमनिर्वाचन हुँदैछ । सरकारले लिने नीति र दिने सेवाले आमनिर्वाचनमा प्रत्यक्ष असर पार्छ । यस्तो बेलामा पार्टीले सरकारलाई बलियो साथ दिनुपर्नेमा उल्टै प्रधानमन्त्री बनेको दुई महीना नपुग्दै पार्टीकै जिम्मेवार नेताबाट विरोध हुनुलाई कसरी स्वाभाविक मान्न सकिएला ?

देउवा कांग्रेस सभापति हुन् र मुलुकको प्रधानमन्त्री पनि । पार्टी सत्ता र राज्य सत्ताको साँचो उनको हातमा छ । यहीबीचमा महाधिवेशन हुँदैछ । देउवा अन्तिम पटकका लागि नेतृत्वमा दोहोरिन चाहन्छन् । उनको एउटै उद्देश्य छ, पार्टीलाई संसदमा सके बहुमत, नत्र ठूलो पार्टी बनाउने । मुलुकले नै उनको नेतृत्वलाई स्वीकार गरेको अवस्था छ । तर पार्टीमा एकथरीलाई यो असह्य पीडादायी बनेको छ । उनीहरू चाहन्छन्, ‘कांग्रेस भताभुंग होस्, सरकार असफल होस् । चौतर्फी विरोध होस् र नेतृत्व घेराबन्दीमा परोस् ।’ किनकि पार्टी र सरकार कमजोर बन्दा नै नेतृत्वलाई असफल देखाएर आफूहरू बलियो हुने सपना कांग्रेसभित्र कतिपयको छ । योभन्दा विडम्बना अरू केही हुन्छ र ?

लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध हो भने हर जो कोही प्रतिस्पर्धाबाट आउने हरेक परिणाम स्वीकार गर्न तयार हुनुपर्छ । जित्नेले संगठन चलाउने र अरुले सहयोग गर्नु लोकतान्त्रिक प्रणाली होइन र ? तर हामीकहाँ यस्तो छैन । आफ्नो पराजयलाई स्वीकार गर्न नसकेर नेतृत्वलाई सधैं असहयोग र अप्ठ्याराहरू पार्ने र काम गर्न नदिने प्रवृत्ति हावी छ । जसको ज्वलन्त उदाहरण कांग्रेस हो ।

पार्टीमा सबै पक्षलाई समेटेर संवाद र सहमतिमै संगठन सञ्चालन गर्दा पनि सधैं नेतृत्व विरुद्ध प्रहार भइरहेको छ, किन ? आवरणमा सधैं लोकतन्त्र, विधि, पद्धति र राजनीतिक संस्कारका कुरा गरेर नथाक्नेहरू नै पार्टीमा चरम गुटबन्दी गरेर नेतृत्वलाई कमजोर बनाउन सक्रिय छन् । जुन आजपर्यन्त जारी छ । मेरो प्रश्न छ– के पार्टी यसरी नै बलियो र सशक्त बन्ला ?

(घिमिरे कांग्रेसका युवा नेता हुन् ।)



source https://www.onlinekhabar.com/2021/09/1020278

राष्ट्रिय राजनीतिमा एमाले असफलता : दोषी जबज कि नेतृत्व ?

नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनको पूर्वार्द्धमा विधान महाधिवेशन आयोजना गर्दैछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता र अदालतको आदेशबाट फेरि विभाजन, सत्ताबाट बहिर्गमन अनि स्वयं एमालेको विभाजनको पृष्ठभूमिमा नेकपा एमालेको विधान महाधिवेशन आयोजना हुन लागेको हो । पार्टीले अभूतपूर्व संकटको सामना गरिरहेको वर्तमान परिवेशमा आयोजना हुन गइरहेको यो महाधिवेशनले पार्टीलाई पुनः पुरानै लयमा फर्काउन के-कस्ता नीतिगत फेरबदलहरू गर्ला भन्ने सन्दर्भमा विधान महाधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिनेछ ।

संघीयता कार्यान्वयन भएपश्चात पहिलो पटक आयोजना हुन लागेको विधान महाधिवेशनबाट नेकपा एमालेका आम कार्यकर्ताले राखेका खास अपेक्षाहरू के के हुन्ा् ? यस आलेखमा खोतल्ने प्रयास गरिनेछ ।

संघीयता अनुकूलको विधान

हाल क्रियाशील नेकपा एमालेको विधान २०४९ – २०७१ को संशोधनसहित) नेपाल संघीयतामा प्रवेश गर्नु अगाडिको एकात्मक प्रशासनिक संरचना अनुकूलको विधान हो । देशले संघीय प्रशासनिक प्रणाली अवलम्बन गरेपछि पार्टी संरचना पनि सोही अनुकूल परिमार्जन गरिनुपर्दथ्यो । तर २०७२ मा नेपालको संविधान जारी भए पश्चात् सबै राजनैतिक दलहरूको ध्यान आफ्नो पार्टी संरचनालाई संघीयता अनुकूल बनाउनेतर्फ जानुको साटो आगामी चुनावमा बढीभन्दा बढी सिट सुरक्षित गर्न राजनैतिक दाउपेच खेल्नमै गयो । सामान्यतया पार्टी नेतृत्वले संघीयतालाई आत्मसात् गर्न नसकेकै कारणले पार्टी पुनर्संरचनाको काम प्राथमिकतामा नपरेको आरोप बौद्धिक समुदायले लगायो ।
सत्ता दाउपेचकै सिलसिलामा नेकपा एमाले र माओवादी केन्द्रबीच अप्रत्यासित पार्टी एकता हुन पुग्यो । पार्टी एकताले सार्थकता नपाउँदै अहंकार, ईष्या र सत्ता स्वार्थको चंगुलमा फसेको पार्टी पुनः विभाजित भयो र नेकपा एमाले पुनर्जीवित भयो । सामान्यतया हरेक पाँच-पाँच वर्षमा हुनुपर्ने पार्टीको महाधिवेशन आगामी मंसीरमा आहृवान गर्ने निर्णय भैसकेको सन्दर्भमा संघीयता अनुकूलको पार्टी संरचना निर्माण गर्नु पुनर्जीवित एमालेको बाध्यता नै हो । विधान महाधिवेशनले त्यो काम गर्ने नै छ ।

बहुदलीय जनवादको सैद्धान्तिक विकास र व्याख्या

कुनै पनि राजनैतिक पार्टी निर्माणको आधार उक्त पार्टीले स्वीकार गरेको ‘दर्शन’ हो । सरल अर्थमा दर्शनले के ? र किन ? भन्ने प्रश्नको उत्तर अभिव्यक्त गर्दछ अर्थात् दर्शनले विश्वास र चाहना वा लक्ष्य प्रदान गर्दछ । लक्ष्य प्राप्तिको बाटो देखाउने औजार अर्थात् दर्शनद्वारा अभिव्यक्त लक्ष्य प्राप्त गर्ने तरिकालाई सिद्धान्त भनिन्छ । दर्शन र सिद्धान्तको प्रयोग मार्फत सामाजिक-आर्थिक समृद्धि हासिल गर्न अवलम्बन गरिने समष्टिगत व्यवहारहरूलाई विधानद्वारा निर्दिष्ट गरिन्छ । द्वन्दात्मक भौतिकवादी दर्शन स्वीकार गर्ने नेकपा एमालेले माक्र्सवाद, लेनिनवाद र बहुदलीय जनवादलाई आफ्नो सिद्धान्तको रूपमा अङ्गीकार गरेको छ । जुन सिद्धान्तको व्यावहारिक कार्यान्वयन गर्न पार्टीको विधान बनेको छ । अब प्रश्न उठ्छ- के नेकपा एमालेको विधानले उसले अवलम्बन गरेको दर्शन र सिद्धान्तलाई परिणाम देखिने गरी कार्यान्वयन गर्न सही दिशानिर्देश गर्न सक्यो त ?

झण्डै तीस वर्षदेखि नेकपा एमाले कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको छ । जनमतद्वारा देशको सबैभन्दा ठूलो दलको हैसियतमा केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार बहुसंख्यक स्थानीय सरकारहरूको नेतृत्व गर्ने अवसर प्राप्त गरेको यस पार्टीले ती सबै मोर्चाहरूमा सफलता हात पार्न नसक्नुका पछाडि यसले लिएको दर्शन, सिद्धान्त वा व्यवहार कहाँनेर खोट छ भनेर गम्भीर अन्वेषण गर्ने उपयुक्त समयमा आयोजित विधान महाधिवेशन पार्टीको दर्शन, सिद्धान्त वा व्यवहारको निर्मम आत्मसमीक्षा गर्ने उपयुक्त मञ्च पनि हो ।

मार्क्सवादी दर्शन र यसद्वारा निर्देशित सिद्धान्त समाज रूपान्तरणको हालसम्म विकसित सबैभन्दा वैज्ञानिक सिद्धान्त मानिन्छ । माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने सन्दर्भमा प्रतिपादित जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीले जबजलाई नेपाली क्रान्तिको तत्कालीन कार्यक्रमको रूपमा अगाडि सारेका थिए । तर यसको ठोस विकास र व्याख्या नगरिसकेको अवस्थामा उनकोे रहस्यमयी दुर्घटनामा परी स्वर्गारोहण हुँदा जबज आफैंमा टुहुरो बन्न पुग्यो ।

नेकपा एमालेको पाँचौं महाधिवेशनले जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको तीसौं वर्ष पुगिसक्यो । अझै पनि एमाले राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बन्न र एमाले नेतृत्वको सरकारले राष्ट्रिय समस्याहरूको निकास दिन नसक्नुमा सिद्धान्तको रूपमा जबजको असफलता हो वा कार्यान्वयन गर्ने नेतृत्वको असफलता ? यो प्रश्नको उत्तर विधान महाधिवेशनले खोज्नुपर्नेछ ।

नीति र नेतृत्व अन्तरविरोधको अन्त्य

सामान्यतया कम्युनिष्ट पार्टीमा जसको नीति उसैको नेतृत्व स्थापित गर्ने परम्परा रहन्छ । तर नेकपा एमालेको नवौं महाधिवेशनले नेता घनश्याम भुसालको नीति पारित गरेतापनि अध्यक्षमा ओलीलाई चयन गर्‍यो । परिणाम के भयो भने सोही महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीले महाधिवेशनबाटै पारित राजनैतिक कार्यदिशाको अपनत्व लिएनन् । जसका कारण प्रचण्ड बहुमतका साथ बलियो सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि सरकारका कामहरूमा कतै पनि नेकपा एमाले देखिएन । समाजवादी अर्थव्यवस्थाको आधार तयार गर्ने जिम्मेवारी प्राप्त सरकार आफैं दलाल पूँजीवादको घोडा चढ्न पुग्यो ।

यो अनुभवलाई हेर्दा पार्टीलाई व्यक्ति प्रधान होइन, नीति प्रधान राजनैतिक शक्तिमा रूपान्तरण गर्न स्पष्ट वैधानिक व्यवस्थाको तर्जुमा गर्नु यो विधान महाधिवेशनको मुख्य मुद्दा बन्नुपर्दछ । नेताहरूमा अध्ययनशीलता र विचार, क्षमताको विकास तथा सोको प्रभावकारी कार्यान्वयन गर्ने सामथ्र्य बढाउन पनि ‘जसको विचार उसैको नेतृत्व’को प्रणाली अपरिहार्य रहन्छ । व्यक्तिगत स्वार्थका लागि सिर्जित गुटहरूको ठाउँ वैचारिक समूहले लिने र वैचारिक श्रेष्ठता हासिल गर्न नेताहरूले प्रयास गर्ने परिस्थितिको निर्माणले पार्टीको वैचारिक पुनर्जागरणमा सघाउ पुर्‍याउँछ ।

प्रयोगात्मक माक्र्सवादको विकास

कुनै पनि विचार सिद्धान्तको रूपमा तब मात्र स्वीकार गरिन्छ जब उक्त विचारले व्यक्तिको जीवनलाई छुन्छ । जबजले नेकपा एमालेलाई सशस्त्र संघर्षको साटो शान्तिपूर्ण जनसंघर्ष र एकदलीय अधिनायकत्वको साटो बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्न मार्गप्रशस्त गर्‍यो र नेकपा एमालेले त्यही बाटोबाटै प्रचण्ड जनसमर्थनका साथ सरकारको नेतृत्व पनि गर्‍यो ।

तर सांस्कृतिक उँच नीचता तथा आर्थिक विषमताको अन्त्य र अवसरहरूमा समान पहुँचको सुनिश्चितता गर्दै समतामूलक समाज निर्माणमा पार्टी र सरकार प्रभावकारी बन्न सकेन । नेता तथा कार्यकर्ताहरूमा आएको भ्रष्टीकरण र पद, पैसा र प्रतिष्ठाका लागि जे पनि गर्ने अवसरवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै मार्क्सवादी जीवनव्यवहार अवलम्बन गर्न नेता कार्यकर्ताहरूलाई उत्प्रेरित गर्ने नीतिगत सामथ्र्य एमाले विधानले राख्छ कि राख्दैन ? विधान महाधिवेशनका प्रतिनिधिहरूले खोज्नेछन् । माक्र्सवाद अब किताब र दस्तावेजमा होइन, मार्क्सवादी कार्यकर्ताहरूको जीवनमा र तिनका परिवारमा देखिनुपर्दछ । पद, पैसा र प्रतिष्ठाका लागि गरिने अवाञ्छित गतिविधिहरूमा असंलग्नता र विरोध, उत्पादनशील क्षेत्रमा संलग्नता, राज्यलाई कर तिर्न तत्पर, स्वदेशी वस्तुको उपयोग, सेवा प्रदायक सार्वजनिक संस्थाहरू-सामुदायिक विद्यालय, अस्पताल आदि)को प्रवर्द्धन, सामूहिक लाभका लागि सहकार्य, सहयोगात्मक व्यवहार र सुमधुर जनसम्बन्ध भएका असल कार्यकर्ताहरू उत्पादन गर्न आवश्यक नीतिगत व्यवस्थाको तर्जुमा र प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास गरी प्रयोगात्मक माक्र्सवादको विकास गर्न विधान महाधिवेशन सफल हुनेछ ।

डर

नेकपा एमाले अध्यक्ष ओलीको छायाँमा लत्रिए जस्तो देखिन्छ । अध्यक्ष ओली आफ्ना कर्महरूको आत्मसमीक्षा गर्न तत्पर देखिंदैनन् । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेता घनश्याम भुसालले नवौं महाधिवेशन यताका पार्टी र सरकारका तमाम कामहरूको आत्मसमीक्षा र जबजको थप व्याख्याको माग त गरेका छन् तर उक्त मागको सार्थक सुनुवाइ हुने सम्भावना कमजोर देखिंदैछ । यदि एमालेले उनको मागको उचित सुनुवाइ गरेन भने अध्यक्ष ओलीसँगै नेकपा एमाले पनि रसातलमा डुब्ने निश्चित छ ।

अन्त्यमा, विधान आदर्श स्वप्नहरूको पुलिन्दा मात्र होइन, जीवन्त योजनाहरूको फेहरिस्त हो, कार्यान्वयनको प्रत्याभूति पनि हो । आम कार्यकर्ताहरूका उपरोक्त अपेक्षाहरू पूरा गर्न विधान महाधिवेशन सफल रहोस्, शुभकामना ।

(लेखक देवचुली नगरपालिका-१२ का वडा अध्यक्ष हुन् ।)



source https://www.onlinekhabar.com/2021/09/1020271

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य

१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।

यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ ।

साफकै लागि भनेर नेपालले करिब ३ महिनादेखि निरन्तर तयारी गरिरहेको थियो । नेपालले पछिल्लो दुई साता र केही दिन भने कतारमा बन्द प्रशिक्षण गरेको थियो ।

माल्दिभ्स जानु अघिल्लो दिन नेपालले गल्फ राष्ट्र ओमानसँग कतारमा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । तर कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७–२ ले पराजित भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए ।

फिफाको मान्यता नभए पनि नेपाललाई साफ अघि उक्त खेल आफ्नो कमजोरी थाहा पाउने अन्तिम अवसर थियो ।

कतार जानुअघि नेपालले काठमाडौंको दशरथ रंगशालामा छिमेकी भारत विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा अग्रता लिएर पनि १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भने भारतसँग २–१ ले पराजित भएको थियो ।

साफअघि नेपालले लगातार प्रशिक्षण गर्दै आएको छ भने मैत्रीपूर्ण खेल समेत खेलेको छ । नेपालले जस्तै माल्दिभ्स र श्रीलंकाले पनि कतारमा क्लोज क्याम्प राखेको थियो । बंगलादेशले भने थ्री नेशन्स कप खेलेको थियो ।

माल्दिभ्ससँग पहिलो खेल

नेपालले घरेलु टोली माल्दिभ्ससँस असोज १५ गते (१ अक्टोबरमा) खेल्दै साफ च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । माल्दिभ्स साविक विजेता समेत हो । सन् २०१८ मा बंगलादेशमा भएको साफमा उपाधिको दाबेदारको रुपमा रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो । अन्तिममा माल्दिभ्सले भारतलाई हराएर उपाधि जित्यो ।

अहिलेसम्म साफको फाइनल समेत पुग्ने नसकेको नेपाली टोलीले यस पटक भने उपाधि जित्ने लक्ष्य राखेको छ ।

साविक विजेता र आयोजक टिमसँग पहिलो खेल खेल्दा गाह्रो हुने नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बुझेका छन् । पहिलो खेल कठिन हुने उनले यसअघि नै बताइसकेका छन् ।

कुवेती प्रो लाइसेन्स प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा रहेको नेपालले श्रीलंकासँग असोज १८ गते ( ४ अक्टोबरमा)  दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले भारतसँग असोज २४ गते (१० अक्टोबरमा) खेल्नेछ भने बंगलादेशसँग असोज २७ गते (१३ अक्टोबरमा) खेल्नेछ ।

यस पटक पाँच टिम मात्र सहभागी रहेकाले सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले असोज ३० गते (१५अक्टोबरमा) फाइनल खेल्नेछन् ।

आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंकाले १२औं संस्करणको साफ खेल्दैछन् । भुटानले कोभिड–१९ का कारण ट्राभल रेस्ट्रिक्सनले गर्दा सहभागिता जनाएन भने पाकिस्तान फिफाको प्रतिवन्धमा रहेकाले खेल्न पाएन ।

सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । यसअघि समूह चरण सेमिफाइनल हुँदै फाइनल खेल हुन्थ्यो । यस पटक फाइनल पुग्नका लागि कम्तीमा पनि तीन टिमलाई पछि पार्नुपर्नेछ ।

फरक नतिजाको अपेक्षा

यस पटक फरक नतिजा ल्याउने अपेक्षासहित नेपाल माल्दिभ्स पुगिसकेको छ । प्रशिक्षक अलमुताइरीले अहिलेसम्म नेपालले साफ जित्न नसकेको तथ्यलाई बदल्न खोजेका छन् ।

सकेसम्म उपाधि जित्ने, त्यो नभए कम्तीमा फाइनल भए पनि पुग्ने लक्ष्य भएको उनले बताउँदै आएका छन् ।

पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक सेमिफाइनलमा रोकिएको छ ।

सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा तेस्रो भएको नेपाल त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनल पुगेको थियो ।

गत चैतमा एक वर्षका लागि नेपालको प्रशिक्षक बनेका अलमुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । दुई महिनाअघि उनी राजीनामा प्रकरणमा मुछिएका थिए । उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको नामै तोकेर राजीनामा दिन बाध्य भएको अवस्था आएको जनाएका थिए । तर न उनले राजीनामा दिए न एन्फाले नै उनको प्रकरणमा केही गर्न सक्यो । राष्ट्रिय खेलकुद परिषदले यस विवादको बारेमा छानविन गरेपनि त्यसपछि भने यो घटना सामसुम जस्तो भएको छ ।

 



source https://www.onlinekhabar.com/2021/09/1020272

बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपत्तिजनक छ : शेखर कोइराला

१४ असोज, काठमाडौं । साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले महाधिवेशनलाई लक्षित गरी अढाइ महीनाका लागि कांग्रेस नेतृत्वमा सरकार बनाउन गरिएको प्रस्तावले पार्टीलाई कमजोर बनाउने टिप्पणी गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले अघि प्रश्न गरेका छन्,  ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?’

विभाजनसँगै एमालेका १३ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा छन् ।

शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्वमा एकीकृत समाजवादीले दाबी गरेको छ । समाजवादीबाट दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारिमा छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ ।

१०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन् ।



source https://www.onlinekhabar.com/2021/09/1020265

केडिया भन्छन्-‘यति’का नाममा अरु कार्पेट बेचिँदैछ, लोगो हेरिदिनुस्

१४ असोज, काठमाडौं । उद्योगमा आगलागी भएपछि यति कार्पेटलाई करिब ३ वर्ष बजारबाट हराउन बाध्यता आईपर्‍यो । करिब ५०देखि ६० प्रतिशत मार्केट सेयर भएको कार्पेट एकाएक बजारमा आउन छाडेपछि परिस्थिति फरक बनेको थियो । यो बीचमा विभिन्न नयाँ उद्योगहरु थपिए, प्रतिस्पर्धाले नयाँ रुपमा लियो ।

तर, २०७७ पुसमा यतिले नयाँ उद्योगबाट नयाँ प्रविधिमार्फत नयाँ ढंगले नै व्यवसायिक उत्पादन थाल्यो । यतिको पुनरागमनलाई अहिलेसम्म ग्राहकले निकै उत्साहपूर्वक स्वागत गरिरहेको र उत्पादनलाई मन पराइरहेको बताउँछन् उद्योगी अनिकल केडिया । ‘बजारमा फेरि यति फर्कियो भन्ने कुरा धेरै ग्राहकलाई थाहा भइसकेको छ,’ उनी भन्छन्,’हाम्रा पुराना ग्राहक अब हामीलाई नै खोजिरहनु भएको छ । तर, बजारमा ग्राहक यतिको नाम लिएर अरु नै कार्पेट भिडाउने काम भइरहेको पाएका छौं ।’

नयाँ प्रविधिको प्रयोग गरेर थप स्तरीय उत्पादन गरेकाले विगतकै जसरी बजारमा पकड जमाउन सकिनेमा यति कार्पेट विश्वस्त छ । तर, बजारमा आफू नभएको अवस्थामा बढेको अस्वस्थ प्रतिस्पर्धालाई चिरेर आफ्नो पुरानो बजारलाई फेरि जस्ताको तस्तै फिर्ता लिन भने केही समस्या परिरहेको केडिया बताउँछन् ।

झण्डै ३ दशक लामो विरासत बोकेको यति कार्पेटमाथि ग्राहकको विश्वास प्रचुर भएपनि त्यसैमाथि बजारमा खेल्ने प्रयास भइरहेको केडिया बताउँछन् ।

‘बजारमा यति कार्पेट किन्न गएका हाम्रा ग्राहकहरुलाई अन्य ब्रान्डका कार्पेट पनि ‘यति नै हो’ भनेर बेच्ने काम भइरहेको सूचना पाउँदा दुःख लागेको छ,’ उनी भन्छन्,’ग्राहकलाई झुक्याएर यतिका नाममा अरु कार्पेट बेच्ने प्रवृत्ति मौलाउनु राम्रो होइन । बजारमा जो स्तरीय छ, उसलाई नै ग्राहकले खोज्ने हो, तर गुगराहमा पारेर वितरकहरुले अरु कार्पोट नभिडाइदिए हुने थियो ।’

अहिले अरु कम्पनीका कार्पेटलाई पनि ‘यति कम्पनीकै दाजु भाई छुटि्टएर खुलेको कम्पनी हो, जुन लिएपनि एउटै हो’ भन्दै अन्य कम्पनीका कार्पेट बेच्ने काम भइरहेको केडियाको भनाइ छ । बजारमा देखिएको यस्तो विकृतिका कारण ग्राहकले झुक्किएर गुणस्तरहीन कार्पेट किन्दा त्यसले अन्ततः नेपाली कार्पेट उद्योगमाथिको विश्वासलाई नै असर गर्ने उनको चिन्ता छ ।

‘यति कार्पेट विगतकोभन्दा बलियो र आकर्षक भएर आएको छ,’ उनी भन्छन्,’तर, बजारमा मेरै साथिहरुलाई पनि पनि ‘यो पनि यतिकै हो’ भनेर अरु कम्पनीको कार्पेट बेचिएछ, धेरै वटा घटनाबारेको सूचना मसँग आएपछि यसबारे हामीले सोधीखोजी सुरु गरेका छौं ।’

केडियाका अनुसार ग्राहक सचेत भए बिक्रेताहरुले झुक्काउन भने सक्दैनन् । किनभने यति कार्पेटको पछाडि प्रत्येक मिटरमा ‘यति’ लेखिएको लोगो अंकित छ ।

केडियालाई थाहा छ, एकपटक बाहिरएपछि फेरि बजारमा छिर्न सानो संघर्षले हुँदैन । तर, ग्राहकले खोजेको गुणस्तर नै लिएर आएकाले पनि उनी यतिले आफ्नो बिरासतलाई नयाँ उचाइमा लैजानेमा आशावादी छन् । ‘बजारमा २-३ वटा विकल्प हुँदासम्म ग्राहक भुल्लिन्छन्,’ उनी भन्छन्,’तर, धेरै नै प्रतिस्पर्धी भए भने ग्राहकले पुरानो विरासत र आफूलाई विश्वास भएको ब्रान्ड नै रोज्छन् । प्रतिर्स्पधी चर्को भएको कार्पेट बजारमा यति सबैको विश्वासिलो ब्रान्ड हो ।’

यति कार्पेटले स्वतन्त्र ढंगले मार्केट सर्भे गर्दा करिब ७५ प्रतिशत ग्राहकले यति कर्पोटको सुनेको र आफूले किन्न चाहेको बताएको केडियाको दाव ीछ । करिब ३ वर्ष बजारमा नहुँदा पनि धेरैले ‘कार्पेट भनेकौ यति हो’ भन्नुले पनि आफूहरु उत्साहित रहेको कडिया बताउँछन् ।

तर, ब्रान्ड मात्रै ठूलो भएर मात्रै नहुने कुरा केडियालाई राम्रोसँग थाहा छ । आफूहरु नहुँदा बजारमा बनेको ‘ग्याप’ काम गर्न कम्पनी प्रयासरत रहेको उनी बताउँछन् ।

आफ्नो बिक्री वितरण सञ्जाललाई अझै बलियो गर्ने काम भइरहेको उनी सुनाउँछन् । यसैपनि यतिको अन्य कम्पनीको पुरानो र ठूलो वितरण सञ्जाल छ । ‘ग्राहकले हाम्रो कार्पेटलाई लिन बढी रुचाउँछन्, हामीले दिने तरिका पनि सहज गरेका छौं,’ उनी भन्छन्,’त्यसैले बजारमा यति कार्पेट किन्न कुनै असहजता छैन ।’

तर, अन्य कार्पेटलाई पनि ‘यति हो’ भनेर बेच्ने प्रवृत्तिले समस्या परिरहेको केडियाको भनाइ छ । ग्राहकले यति भनेर किनेको कार्पेट केही महिना पनि नटिक्ने भएमा आफूहरुमाथिको विश्वास गुम्ने डर पनि कम्पनीलाई छ । त्यसैले विभिन्न किसिमबाट ग्राहकलाई सेचत गराउने काम भइरहेको केडिया बताउँछन् ।

‘म ग्राहकहरुलाई अनुरोध गर्छु, तपाईंहरुले यति कार्पेट सोचेर किन्नु भएको होला, तपाईंको कार्पेटको पछाडि प्रत्येक मिटरमा यतिको लोगो छ कि छैन हरिदिनु होला,’ उनी भन्छन्,’हामीले अहिलेसम्म ग्राहकमाथि विश्वासघात गरेका छैनौं भन्ने बुझ्नु होला । यदि यतिको लोगो रहनेछ भने अरु नै कम्पनीको हो भन्ने बुझिदिनुहोला ।’

नयाँ प्लान्ट र मेसिन भएर आएपछि कार्पोट थप बलियो र स्तरीय बनेको भन्दै उनले यति किनेर ग्राहक कहिल्यै पछुताउनु नपर्ने दावी पनि गरे । ‘हाम्रो कार्पेट पहिले पनि यसै राम्रो थियो, उनी भन्छन्,’अहिले झन राम्रो भएको आएको छ, त्यसैले ग्राहकले सचेत भएर यति कार्पेट नै किन्नु भयो भने आफ्नो लगानी खेर जाँदैन । तपाईंलाई कसैले झुक्याउन र फसाउन पनि सक्दैन ।’



source https://www.onlinekhabar.com/2021/09/1020203

गोरखाका ४ प्रदेश सभा क्षेत्रमा कांग्रेसको नेतृत्व चयन

१४ असोज, गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो ।

निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी उत्तम अधिकारीले १८९ मत ल्याएका छन् । सभापतिका अर्का उमेदवार काजिराम अधिकारीले २५ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा अर्जुन भट्टराई र कृष्णप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् । सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी र सहसचिवमा गोविन्द बास्कोटा र सुवास थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ प्रदेश सभापतिमा ठाकुर भट्टसहित पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने र ऋषिराम लामिछाने, सहसचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभापतिमा दिर्घमान गुरुङ (नारायण) विजयी भएका छन् । गुरुङले १७९ मत ल्याएका छन् भने उनका प्रत्यासी भानुभक्त थापाले १०४ मत ल्याएका हुन् ।

उपसभापतिमा कमलादेवी देवकोटा र केदारनाथ देवकोटा बिजयी भएका छन् । त्यस्तै सचिवमा सुरज श्रेष्ठ र प्रसान्त देवकोटा बिजयी भएका छन् । सहसचिवमा सुजना श्रेष्ठ पन्त र किरण आले विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्वर २ ‘ख’ प्रदेश सभापतिमा दिनेश खनखवास विजयी भएका छन् । २०५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रत्यासी उमेदवार सिजन भट्टराईले १४३ मत ल्याएका छन् ।

उपसभापतिमा कृष्ण कुमार श्रेष्ठ र बल बहादुर धिताल निर्वाचित भएका छन् । सचिवमा सन्तोष दवाडी र कृष्ण बहादुर कुवँर र सहसचिवमा मनिता गुरुङ र बिराज भट्ट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

१४औं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा क्षेत्रको अधिवेशन भने यही असोज १५ गते हुदैछ । १५ गते निर्वाचन हुने भनिए पनि समय तालिकामा केही हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकृत देव महतले बताए । ‘१५ गते साँझसम्म मनोनयन दर्ता, दाबी विरोध, अन्तिम नामावली प्रकाशन लगायतका काम सक्छौ,’ उनले भने, ‘१६ गते बिहान ८ बजेबाट मतदान शुरु हुन्छ ।’

उक्त अधिवेशनले प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सभापति सहितको कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने छ । हालसम्म प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को सभापतिमा नारायण लामिछानेको मात्र आकांक्षी देखिएका छन् ।

निर्वाचन क्षेत्र नम्वर २ मा गोविन्द गुरुङ, जिवन वानिया र मान प्रसाद धितालको नाम चर्चामा रहेको पार्टी स्रोतले जनाएको छ ।

उक्त अधिवेशनले एक निर्वाचन क्षेत्रबाट कम्तिमा २५ जना महाधिवेशन प्रतिनिधि पनि चयन गर्नेछ । खुल्लातर्फ १४ जना र समानुपातिकतर्फ दश जना प्रतिनिधि चयन हुनेछन् । गोरखामा दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । प्रत्येक क्षेत्रबाट खुल्ला तर्फ करिब २० जनाले आकांक्षा देखाएका छन् ।

जिल्लाको अधिवेशन भने यही असोज १८ गते हुँदैछ । १८ गते मनोनयन लगायतका अन्य काम सकेपनि १९ गते बिहानबाट मतदान शुरु गरिने जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिए ।

जिल्ला सभापति पदका लागि हालसम्म नन्दु न्यौपानेले आकांक्षा देखाएका छन् । उनी अहिले पार्टी जिल्ला सचिव पनि हुन् । अरु भने अहिले मौन छन् ।



source https://www.onlinekhabar.com/2021/09/1020258

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

१४ असोज, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।



source https://www.onlinekhabar.com/2021/09/1020261

काठमाडौंको वानेश्वर क्याम्पस अगाडि शव भेटियो

१४ असोज, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जना महिलाको शव भेटिएको छ ।

क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए ।
शवको सनाखत भएको छैन ।



source https://www.onlinekhabar.com/2021/09/1020259

नेशनल जियोग्राफी र रोलेक्सको सगरमाथा अभियानमा कीर्तिमान

१४ असोज, काठमाडौं । अहिले समग्र विश्व नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको अवस्थामा नेशनल जियोग्राफीले हिमालय क्षेत्रमा यसको अध्ययनको क्रममा तीनओटा कीर्तिमान कायम गरेको छ । उनीहरुले सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने अध्ययन गरेका थिए ।

रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दू-कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण परेको असरबारे अध्ययन गरिएको हो ।

सन् २०१९ को अप्रलदेसख जुन महिनासम्ममा वैज्ञानिक, शोधकर्ता, लेखक र पर्वतारोहीको समूहले हिमालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी वैज्ञानिक अध्ययन गरेका थिए । यो टोलीको अध्ययनको आधारमा पर्वतीय प्रणालीमा जलवायु परिवर्तनको असर र त्यसको समाधान कसरी गर्ने भन्ने बुझ्ने क्रममा तीन नयाँ कीर्तिमान कायम भएको हो ।

यी हिमालहरुबाट बगेको पानीमा त्यसभन्दा तल बसोबास गर्ने एक अर्बभन्दा धेरै मानिस आश्रति छन् ।

अध्ययनको क्रममा उनीहरुले कायम गरेका तीन कीर्तिमान यस्ता छन् –

– जमिनमा सबैभन्दा धेरै उचाइमा मौसम स्टेसन

– सबैभन्दा उचाइको हिमतत्व लिने

– जमिनमा सबैभन्दा उचाइमा माइक्रोप्लास्टिक फेला पार्ने

यी सबै कीर्तिमानलाई गिनिज वल्र्ड रेकर्डस्ले मान्यता दिएको छ ।

यो टोलीले हिमालय क्षेत्रमा मौसमबारे जानकारीको लागि पाँच स्वचालिक मौसम स्टेसन स्थापना गरेका छन् । यसले महत्वपूर्ण सूचना गर्छन् । ती स्टेसनहरु ३८१०, ५३१५, ६४६४, ७९४५ मिटर र अर्को एउटा स्टेसन भने ८ हजारभन्दा धेरै मिटरको उचाइमा राखिएको छ ।

त्यस्तै वैज्ञानिकहरुले हिमालय क्षेत्रको बरफ, चट्टान, पानी र हिउँको नमुना संकलन गरेका थिए । यसबाट उनीहरुले प्रदूषण गर्ने मानिसको कारण वायुमण्डलमा कस्तो किसिमको असर परेको छ भन्ने अध्ययन गर्न चाहेका थिए । टोलीले ८०२० मिटरको उचाइमा रहेको साउथ कोल हिमतालबाट पनि नमुना संकलन गरेका थिए । यो अहिलेसम्मको सबैभन्दा उचाइबाट लिइएको बरफको नमुना हो । यो नमुना परीक्षण गर्दा यसमा माइक्रोप्लास्टिकहरु पनि पाइएको थियो । यो सबैभन्दा उचाइमा पाइएको माइक्रोप्लास्टिक हो ।



source https://www.onlinekhabar.com/2021/09/1020254

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । त्यसअघि प्रधानमन्त्री देउवादले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गरेको थियो ।

संसदको अवरोधबारे सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास निस्किन नसकेपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् ।

सभामुख सापकोटाले बोलाएको बैठकमा त प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी नै भएका थिएनन् ।  प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जाने नजाने टुंगो छैन ।



source https://www.onlinekhabar.com/2021/09/1020250

म्याक्सवेलको अर्धशतकमा बैंगलोरले राजस्थानलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ ।

दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित ५० रन बनाए । चौका प्रहार गर्दै जित दिलाएका ए बी डे भिलियर्स चार रनमा अविजित रहे ।

यस्तै श्रीकर भारतले ४४, कप्तान विराट कोहलीले २५ र देबदत्त पडिक्कलले २२ रन बनाए ।

राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

राजस्थानका लागि ओपनर एभिन लेविसले ३७ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै अर्का ओपनर यशस्भी जैसवालले ३१ र कप्तान सन्जु सामसनले १९ रन बनाए ।

पहिलो विकेटका लागि लेविस र जैसवालले ७७ रनको साझेदारी गरेका थिए । यी दुई क्रिजमा हुँदा राजस्थानले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको थियो तर १०० रन हुँदा लेविस पनि आउट भएपछि राजस्थानले लगातार विकेट गुमायो । राजस्थानले ४९ रन जोड्न ८ विकेट गुमाएको हो ।

बैंगलोरका लागि हर्शल पटेलले तीन तथा युजभेन्द्र चाहाल र शाहबाज अहमेदले २-२ विकेट लिए ।

जितपछि बैगलोर ११ खेलबाट १४ अंक जोड्दै तेस्रो स्थानमा छ । राजस्थान समान खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/09/1020246

च्याम्पियन्स लिगमा युभेन्ट्सले चेल्सीलाई हरायो

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब चेल्सीलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन फेडेरिको चिएसाले ४६औं मिनेटमा एक मात्र गोल गरे ।

समूह एचमा लगातार दोस्रो जित हात पारेको युभेन्ट्स ६ अंकसहित शीर्ष स्थानमा छ । पराजित चेल्सी तीन अंकसहित दोस्रो स्थानमा छ । अर्को खेलमा जेनित सेन्ट पिटर्सवर्गले माल्मोलाई ४-० ले पराजित गरेको छ ।

यस्तै समूह साल्जवर्गले लिललाई २-१ ले पारजित गरेको छ भने सेभिया र वल्फ्सवर्गले १-१ को बराबरी खेलेका छन् ।



source https://www.onlinekhabar.com/2021/09/1020243

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को कीर्तिमान, युनाइटेडको पुनरागमन जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान बनाए । उनले १७७ खेल खेलेका स्पेनिस गोलकिपर इकर कसियासको कीर्तिमान तोडेका हुन् ।

कीर्तिमानी खेलमा रोनाल्डोले इन्जुरी टाइमको पाँचौ मिनेटमा विजयी गोल गरे ।

त्यसअघि ओल्डट्राफोर्डका भएको खेलको ५३ औं मिनेटमा पको अल्कासेरलले गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा अलेक्स टेलेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

त्यसपछि रोनाल्डोले इन्जुरी टाइममा विजयी गोल गरे । च्याम्पियन्स लिगमा रोनाल्डोले सर्वाधिक १३६ गोल गरेका छन् ।

पहिलो खेलमा योङ ब्वाइजसंग पराजित भएको युनाइटेडको यो पहिलो जित हो । दुई खेलबाट तीन अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ । समान अंक भएपनि योङ ब्वाइज दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा योङ ब्वाइजलाई १-० ले पराजित गरेको एटलान्टा चार अंकसहित शीर्ष स्थानमा छ । एटलान्टाका लागि माटेओ पेसिनाले एक मात्र गोल गरे ।



source https://www.onlinekhabar.com/2021/09/1020240

च्याम्पियन्स लिग : बार्सिलोना बेनफिकासँग पराजित

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१-२२ खराब प्रदर्शनको सिलसिला कायम राख्दा लगातार दोस्रो हार बेहोरेको छ ।

समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भएको हो ।

वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमै गोल गरेका नुनेजले ७९औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । राफा शिल्भाले ६९औं मिनेटमा गोल गरे ।

वेनफिकाले सन् १९६१ पछि बार्सिलोनालाई पराजित गरेको हो ।

समूहमा पहिलो जितपछि दुई खेलबाट चार अंक जोडेको वेनफिका दोस्रो स्थानमा छ । लगातार दुई खेल हारेको बार्सिलोना अंकविहिन हुँदै पुछारमा छ । पहिलो खेलमा बायर्नसँग पनि बार्सिलोना ३-० ले नै पराजित भएको थियो ।



source https://www.onlinekhabar.com/2021/09/1020237

च्याम्पियन्स लिगमा बायर्नको फराकिलो जित

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा डिनामो किभलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

समूह ई मा लगातार दोस्रो खेल जित्ने क्रममा बायर्नका लागि रोवर्टो लेवान्डोस्कीले दुई गोल गरे । घरेलु मैदान एलिएन्ज एरेनामा लेवान्डोस्कीले १२औं र २७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बायर्नले तीन गोल थप्यो । सर्जी जीनाब्रीले ६८औं, लरेय सानेले ७४औं र चोपो मोटिङले ८७औं मिनेटमा गोल गरे ।

लगातार दोस्रो जितपछि बायर्न समूह ई मा ६ अंकसहित शीर्ष स्थानमा छ । १ अंक रहेको डिनामो किभ तेस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/09/1020234

प्रश्नैप्रश्नको सँघारमा गैरआवासीय नेपाली अभियान

गैरआवासीय नेपाली संघको आसन्न चुनावको माहोल तातिरहेको छ । उम्मेद्वारहरू मत माग्न व्यस्त छन् । १०औं महाधिवेशनको सँघारमा आइपुग्दा गैरआवासीय नेपाली संघका गतिविधि र पछिल्लो चुनावी माहोल हेर्दा धेरैको मनमा विभिन्न प्रश्न उठिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै आफ्नो मातृभूमि प्रति जोड्ने एउटा महान उद्देश्य सहित ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर शुरु भएको गैरआवासीय नेपाली संघले अहिले १०औं महाधिवेशनको नजिकै आउँदा धेरै उतारचढाव पार गरिसकेको छ ।

विश्वका ८० भन्दा बढी देशमा छरिएर रहेका लाखौं नेपालीको एकमात्र छाता संगठन एनआरएनएका गतिविधि पक्कै पनि नेपाल र विश्वका नेपालीको हितमा हुनुपर्दछ । तर पछिल्लो समय सतहमा देखिएका क्रियाकलाप, विभिन्न राष्ट्रिय समन्वय समिति तथा केन्द्रमै देखिएका विवादले आजसम्मका उपलब्धिहरूलाई अप्ठ्यारो त पारेको त छ नै, संस्थाको भविष्यलाई पनि अँध्यारोमा पार्ने हो कि भन्ने संशय उत्पन्न भएको छ । र महत्वपूर्ण प्रश्न खडा भएको छ, के गैरआवासीय नेपाली अभियानले बाटो बिराउने त होइन ?

नेपाल बाहिर रहेर आफ्नो पेशा, अध्ययन, व्यवसाय गर्ने हामी नेपालीहरू नेपालको राजनीतिक अवस्था विकास र सामाजिक अवस्थालाई लिएर सधैं चिन्तित हुन्छौं । विशेषत: नेपालको राजनीति र विकासका कामप्रति असन्तुष्ट पक्कै हुन्छौं किनकि हामी धेरै नेपाली समृद्ध र सुसंस्कृत राष्ट्रहरूमा बसेर जीवन बिताइरहेका छौं । नेपालमा पनि त्यस्तै भए हुनेथ्यो कल्पना गर्दछौं । तर विडम्बना हामीले चाहना गरेजस्तो सुसंस्कृत समृद्ध नेपाल कल्पनामा मात्र हुने हो कि भनेर हामीलाई बडो चिन्ता लाग्छ ।

हामी सामाजिक सञ्जालका भित्ताहरूमा निरन्तर आफ्नो असन्तुष्टि पोखिरहन्छौं । हामीलाई लेखिरहँदा आरोप पनि आउने गर्छ देश छोडेर भाग्नेहरू किन चिन्ता लिन्छौ भनेर । आखिर जहाँ भए पनि हामी नेपाली हौं र हाम्रो मन नेपाली हो । नेपाल हाम्रो माटो हो, चिन्ता लाग्छ हामीलाई भनेर हामी आवासीय नेपालीले गर्व साथ भन्छौं ।

मातृभूमिलाई परेको बेलामा मन खोलेर सहयोग गर्छौं पनि । हामी नेपाली विकृत राजनीतिक संस्कारको कट्टर आलोचक हौं । आफू बस्ने देशमा जस्तै नेपालमा पनि परिष्कृत राजनीतिक संस्कार विकास होस् भन्ने चाहन्छौं । र यो चाहना जायज पनि छ । तर के हामी आफैंले नेपालीका लागि भनेर जन्माएको संस्थामा हामीले गर्ने क्रियाकलाप र हाम्रो त्यो सुसंस्कृत सोच मेल खान्छ त ?

एकाइसौं शताब्दीमा विश्वका समृद्ध मुलुकमा जीवन निर्वाह गर्ने हामी गैरआवासीय नेपालीले उच्च नैतिक व्यवहारले उदाहरण दिनुपर्नेमा उल्टो कुसंस्कृत राजनीतिक संस्कारको ऐना बन्नु दुर्भाग्यपूर्ण छ । अझै पनि यसरी नै अघि बढ्ने हो भने गैरआवासीय अभियानको डुंगा डुब्ने निश्चित छ । त्यसैले बेलैमा सोचौं

पछिल्लो समय देखिएका विकृतिहरू के हाम्रा ‘सोफिस्टिकेटेड’ भनिने सोच अनुरूप छन् त ? पक्कै पनि छैनन् । यहाँनेर हाम्रो कृत्रिम सोचको भण्डाफोर हुन्छ । हामी बोल्न, गफ गर्न माहिर छौं । नेपाली राजनीतिका दलका नेता जस्तै हामी पनि कृत्रिम हौं । हाम्रो रगतमा त्यही विकृत राजनीति घुलिएको छ । हामी बस्न त विश्वका विकसित मुलुकमा बस्छौं, तर हाम्रो सोच अविकसित छ । हामी पेशा त विश्वका समृद्ध मुलुकमा गर्छौं तर हाम्रो विचार उही पुरानो छ । हामी अध्ययन विभिन्न उत्कृष्ट राष्ट्रमा गर्छौं तर हाम्रो ज्ञान मक्किएको छ ।

आज गैरआवासीय नेपाली संघका नाममा विश्वका समृद्ध देशका पार्क, सभा हल, होटलहरूमा हानाहान, कुटाकुट हुन्छ । एकले अर्कोको अस्तित्व स्वीकार्न नसकेर गुट, उपगुट बनाएर खुट्टा तानातान हुन्छ । आज एनआरएनए विकृत भनिएका नेपाली राजनीतिक दलको भ्रातृ संगठन भन्दा कम छैन ।

नेताको आशीर्वाद लिने र लम्पसारवादले सीमा नाघेको छ । संस्थामा चरम राजनीति घुसाइएको छ । गैरआवासीय नेपाली अभियान शुद्ध नेपालीको नभएर कांग्रेस, एमाले, माओवादीको भएको छ । अति राजनीतीकरणले नेपालमा नेपाली नै भेट्न गाह्रो परिरहेको बेलामा गैरआवासीय भए पनि हामी नेपाली हौं भन्नेलाई पनि कांग्रेस, माओवादी र एमाले बनाइदिएको छ ।

अहिले गैरआवासीय नेपाली हौं भन्न पनि लाज लाग्ने, मुख छोप्नुपर्ने अवस्था आएको छ । वर्षौं लगाएर निर्माण गरिएको संस्थाको गरिमालाई माटोमा मिलाउने काम भैरहेको छ । के यसकै लागि परिकल्पना गरिएको थियो संस्थाको ? आखिर किन गैरआवासीय नेपाली अभियान नेपाली राजनीतिको छायाँ बन्यो ? गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

अझै पनि यस्तै फोहोरी तरिकाले लागिरहने हो निश्चित छ संस्थाको गरिमा पातालमा पुग्नेछ ।

कुनै पनि संस्थाको लागि महाधिवेशन अत्यन्त महत्वपूर्ण हुन्छ । पूरा भएको कार्यकालका काम कारबाहीको समीक्षा, नयाँ कार्यकालको लागि खाका बनाउने तथा समस्त संस्थागत हितको लागि आग्रह पूर्वाग्रहरहित छलफल गरेर आगामी कार्यदिशा निर्धारण गर्ने समय हो महाधिवेशन । तर विडम्बना यहाँ चुनावलाई मात्र महाधिवेशन सम्झिएर अरु महत्वपूर्ण कार्यक्रमहरूलाई किनारा लगाउने काम हुन्छ । ठ्याक्कै नेपाली राजनीतिमा जस्तै भोटको खेल खेलिन्छ । उम्मेद्वारहरू एजेन्डा विचारमा भन्दा गुट, उपगुट प्यानल बनाएर साम, दाम, दण्ड र भेद अपनाएर जसरी भए पनि चुनाव जित्ने ध्याउन्नमा हुन्छन् । कसैलाई महाधिवेशनमा घनीभूत छलफल गर्ने संस्थाको कामकारबाहीप्रति समालोचना गरेर रचनात्मक प्रश्न गर्ने फुर्सद हुँदैन । अहिले फेसबुकका ‘वाल’हरूमा हेर्ने हो भने एनआरएनएको लोगो पृष्ठभूमिमा राखेर चिल्लो फोटो राखी आफ्नो विज्ञापन गर्ने, विभिन्न गुट, उपगुट बनाएर जूम कार्यक्रममा फोस्रा ‘आउटडेट’ कृत्रिम विचार छाट्ने क्रम अत्यधिक बढेको छ । ध्यान दिएर हेर्ने हो भने प्राय: सबै उम्मेदवारका नारा अनि एजेन्डाहरू उस्तै लाग्छन् ।

‘कपी पेस्ट’ गरेर एजेन्डा लेख्ने, फोटो हालेर विज्ञापन गर्ने बाहेक आफ्नो मौलिक विचार एजेन्डाहरू राख्ने फुर्सद कसैलाई छैन । भद्रगोल र अस्तव्यस्तताले सीमा नाघेको छ ।

संस्था जे सुकै होस् सबैलाई चुनाव जित्नु छ, नेता बन्नु छ । के गैरआवासीय नेपाली अभियान यत्तिका लागि हो ? गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । एकाइसौं शताब्दीमा विश्वका समृद्ध मुलुकमा जीवन निर्वाह गर्ने हामी गैरआवासीय नेपालीले उच्च नैतिक व्यवहारले उदाहरण दिनुपर्नेमा उल्टो कुसंस्कृत राजनीतिक संस्कारको ऐना बन्नु दुर्भाग्यपूर्ण छ । अझै पनि यसरी नै अघि बढ्ने हो भने गैरआवासीय अभियानको डुंगा डुब्ने निश्चित छ । त्यसैले बेलैमा सोचौं ।

दक्षिण कोरिया

 



source https://www.onlinekhabar.com/2021/09/1020231

Tuesday 28 September 2021

विश्व मुटु दिवस : वीरगञ्जमा ‘थोरै हिँड्नुस्’ कार्यक्रम

१३ असोज, वीरगञ्ज । आजविश्व मुुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यसवर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदैछ ।

सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्व दिइएको छ ।

विश्व मुुटु दिवसको अवसरमा वीरगञ्जमा ‘वाक ए थन’ (थोरै हिँड्नुहोस) र्‍याली निकालिएको छ ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवर्धन शाखा र नारायणी बयोधा अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

मुटु स्वस्थ राख्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा विभिन्न सचेतनामुलक सन्देशसहित वीरगञ्जको घण्टाघरबाट निस्किएको र्‍याली नारायणी अस्पतालमा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीले ‘स्वस्थ मुुटु, सशक्त जीवन’, ‘स्वस्थ मुुटुका लागि हिँड र दौड’, ‘सुखी जीवनका लागि मुटु स्वस्थ राखौं’, ‘मुटुमा ऊर्जा थपौं, जीवनलाई सशक्त बनाऔं’, ‘हृदयाघातको जोखिमबारे जानी राखौं’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

कोण सभामाबोल्दै मुटुरोग विशेषज्ञ डाक्टर राधा भट्टराईले मुुटु स्वस्थ राख्न ध्यान दिनुपर्ने बताइन् ।

‘मुटु स्वस्थ राख्नु नै महत्वपूर्ण कुरा हो । त्यसका लागि नुन कम खाने, तारेको पोलेको खानु हुँदैन, तेल कम खानुपर्छ । मोटोपनलाई घटाउनुपर्छ’ उनले भनिन्, ‘ नियमित व्यायाम गरेर मुटु स्वस्थ राख्नुपर्छ ।’

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वस्थ हावापानी, धुलो धुँवारहित वातावरण कायम राख्न सके मुुटु स्वस्थ हुने बताए । ‘शरीरलाई समय दिनुपर्छ, बिहान बेलुका जतिखेर सकिन्छ हिँड्नुपर्छ’ उनले भने, ‘मुटुलाई स्वस्थ राख्नुपर्छ ।’

मुटु शरीरको अभिन्न अंग हो, यसको स्वास्थ्य वातावरणसँग जोडिएको हुन्छ, स्वस्थ हावापानी पाउँदा मुटु स्वस्थ हुन्छ, धुँलो धुँवाबाट बच्नैपर्छ । स्वस्थ खानपान गर्नैपर्छ’ उनले भने, ‘बिहान बेलुका जुन बेला हुन्छ, आधा एक घण्टा शारीरिक व्यायम, वा हिँडडुल गर्नुपर्छ ।’

वीरगञ्ज महानगरपालिकाले विपन्न वर्गलाई मुटु रोगको उपचारका लागि सिफारिश गर्ने गरेको छ । आर्थिक वर्ष ०७५/०७६ मा ४४, ०७६/७७ मा ९७ र ०७७/०७८ मा ७३ जनालाई मुटु रोगको उपचारका लागि सिफारिश गरिएको जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिए ।

विपन्न नागरिकलाई मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा, मुटुको भल्भ पूर्णरुपमा क्षति भएको या मुटु फेल भएको उपचारका लागि सरकारले १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।

के हो मुटु ?

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हो । हाम्रो छातीमा जन्मेदेखि मृत्यु नहुँदासम्म रहन्छ । यसले रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ ।

विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरूले सन् २०१२ मा सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।

हरेकवर्ष करिब २ करोड मान्छेहरू हृदयघात अनि हृदयसम्बन्धी रोग अनि समस्याहरूले मृत्युवरण गरिरहेको तथ्याङ्क छ ।

हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसँग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ्य अनि गतिशिलताका लागि पर्याय छ ।

विश्व मुटु संगठनले मुटुको यही संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रूपमा मनाउन थालेको हो ।

यस दिन हृदय रोगीहरू, उपचार प्रदायकहरू, जनचेतकहरू, सञ्चार माध्यमहरू, जनमानसहरू एकै थलोमा भेला भएर मुटुको रक्षा गर्ने कुराहरू अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् ।

व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा, प्रकृतिसँगको दूरीका कारण हामी हृदय रोगको सम्भावित जोखिममा परेको चिकित्सकहरु बताउँछन् ।

दैनिक व्यायामको अभाव, खेलकुदमा कम रुचि, धुम्रपान अनि मदिरापान, औषधिको धेरै सेवन, तनाव लिने बानी मुटुका लागि हानिकारक छ ।

मुटुको स्वास्थ्यमा ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्यु रोक्न सकिने चिकित्सकको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/09/1019850

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१३ असोज, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो । त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1019858

नेता-मन्त्रीहरू विदेशमा उपचार गराउने गलत नजीर बन्यो- डा. लोचन कार्की

धेरैजसो सर्वसाधारण घरमै रोग पालेर बस्न बाध्य छन् । किन ? सर्वसाधारणको कोणबाट हेर्दा यसका केही कारण छन् । जस्तो कि, हामीकहाँ स्वास्थ्य सेवा सर्वसुलभ छैन । स्वास्थ्य प्रणाली झन्झटिलो छ । सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन् । अनुभवी–दक्ष स्वास्थ्यकर्मीको अभाव छ । साथसाथै उपचार पद्धति खर्चिलो छ ।

यद्यपि चिकित्सकहरू यो कुरा स्वीकार गर्न तयार छैनन् । नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की भन्छन्, ‘सीमित रोगबाहेक अन्य सबैजसो रोगको उपचार नेपालमै संभव छ । तुलनात्मक रूपमा यहाँको उपचार प्रणाली सजिलो र कम खर्चिलो पनि छ ।’ यति हुँदाहुँदै पनि नेता–मन्त्री र ‘ठूलाबडा’हरू उपचारका लागि भन्दै विदेश धाउने गर्छन् । लोचन कार्की थप्छन्, ‘उनीहरूकै कारणले गर्दा नेपालको चिकित्सा प्रणालीप्रति सर्वसाधारणमा अविश्वास बढेको हो ।’ यसै सन्दर्भमा नेपालका समग्र चिकित्सा प्रणालीबारे अनलाइनखबरले डा. कार्कीसँग गरेको कुराकानीः

अहिले समग्रमा हेर्दा हाम्रो उपचार प्रणाली कति उन्नत र छरितो छ ?

यो प्रश्न चाहिं तुलनात्मक भयो । हामीले कुनै देशसँग तुलना गर्दा कसैसँग ढिलो होला कसैसँग छिटो होला । त्यस्तो विशेष मापदण्ड त छैन के को आधारमा उन्नत र छरितो भन्ने ।

हामीले अष्ट्रेलिया, बेलायत, अमेरिका लगायत देशको स्वास्थ्य सेवासँग तुलना गर्दा हाम्रो पनि अप्ठ्यारो उपचार प्रणाली छ । अमेरिकामा कोही बिरामी भयो भने साँच्चिकै आकस्मिक समस्या नभएसम्म लिंदैन । गर्भवती जाँचकै लागि पनि नेपालमा अलि अलि पेट दुखेको बेला पनि जाँच गर्ने, भर्ना लिने गर्छ । तर त्यहाँ त्यस्तो हुँदैन । कसैलाई केही स्वास्थ्य समस्या आयो भने आफ्नो एरियाका जीपी (जेनेरल प्राक्टिस्नर) पहिले भेट्नुपर्छ ।

नेपालमा टाउको दुख्यो भने सीधै न्यूरोलोजिष्टलाई भेट्न खोज्यो भने सकिन्छ । तर त्यहाँ जीपीले उपचार गर्छ र त्यसपछि उनले कसलाई सिफारिश गर्नुपर्ने हो त्यसपछि मात्रै विशेषज्ञलाई भेट्न सकिन्छ । विशेषज्ञलाई भेट्नको लागि दुई तीन महीनासम्म पनि लाग्न सक्छ । त्यसरी हेर्ने हो भने त हाम्रो मुलुक एकदमै छिटो र सहज पहुँचमा छ । आफूलाई जे सम्बन्धित डाक्टरलाई अथवा उपचार गर्न चाहन्छु भन्दा डाक्टरको समयको हिसाबले पाउँछ ।

शल्यक्रियाको हिसाबले भने ठूलो सरकारी अस्पतालहरूमा केही समय पर्खिनुपर्छ । डायलसिस, किड्नीको शल्यक्रिया जस्ता विषयमा चाहिं दुई महीना, तीन महीना पनि कुर्नुपर्ने हुन्छ । त्यसको कारण भनेको ठूलो अस्पताल पर्याप्त नहुनु हो ।

गुणस्तर उपचार हुन्छ भन्ने पनि पटक–पटक प्रमाणित भइसकेको अवस्था छ । भूकम्पको बेला, कोभिडको बेला यहाँका चिकित्सक र स्वास्थ्यकर्मीहरू सक्षम छन् भन्ने प्रमाणित भइसकेको छ । भूकम्पको बेला तत्काल उपचार गर्न नसक्दा धेरै मान्छेको मृत्यु हुने अवस्था थियो । आफ्नो ज्यान जोखिममा राखेर हल्लिरहेको भवनमा बसेर उपचार गरेको हो नि त ।  कोभिडको बेला त्यस्तै । कोभिडको बेला स्वास्थ्यकर्मीले काम गरेकै कारण मानव क्षति कम भयो । अरू मुलुकको जनसंख्याको तुलनामा नेपालमा कम मानव क्षति भएको छ । त्यसले गुणस्तर उपचार हुन्छ भन्ने त प्रमाणित भएको छ ।

नेपालमा स्वास्थ्य उपचार सिफारिश प्रणाली छ ?

हाम्रोमा स्वास्थ्य उपचार सिफारिश प्रणाली नै छैन । भएका सीमित स्वास्थ्य संरचनामा आवश्यक सेवा–सुविधा, दक्ष जनशक्ति छैन । साधारण झाडा–पखाला लागेको पनि वीर पुग्ने भयो, गम्भीर पेटको समस्या भएको बिरामी पनि एक ठाउँमा उभिएका हुन्छन् ।

साधारण झाडापखाला भएको बिरामी प्राथमिक उपचार केन्द्रले उपचार गरिदिए अथवा जिल्ला अस्पतालले हेरिदिए, प्रादेशिक अस्पतालले हेरिदिए पनि केही हदसम्म व्यवस्थापन गर्न सकिन्थ्यो । यसरी चेन अफ कमान्ड नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा नपाउने सम्भावना बढी रहन्छ ।

त्यसको लागि अब के गर्नुपर्छ ?

अब सरकारले नयाँ अस्पताल थप्ने, जनशक्ति थप्ने, नयाँ उपकरण ल्याउने, भएका स्वास्थ्यकर्मीलाई थप तालिम दिने हुनुपर्छ ।

त्यस्तैगरी काठमाडौंकेन्द्रित मात्रै अस्पताल नबनाएर सातै वटा प्रदेशमा प्रदेशस्तरीय सुविधासम्पन्न सरकारी अस्पताल बनाउने । अहिलेसम्म सरुवा रोगहरूको अस्पताल टेकु मात्रै छ । त्यो बाहेक बनाउनुपर्छ । अब तेस्रो लहर आउने हल्ला छ । त्यसले बालबालिकालाई जोखिम हुन्छ भन्ने हल्ला छ । तर बाल अस्पताल नेपाल भर कान्ति मात्रै छ ।

भनेपछि प्रादेशिक संरचना गइसकेपछि सातै वटा प्रदेशमा त्यस्ता अस्पतालहरू बनाउनुपर्छ । एक नम्बर प्रदेशका नागरिक उपचारका लागि काठमाडौं आउन नपर्ने खालको संरचना, व्यवस्थापन बनाउनुपर्छ । आउन पर्दा पनि चेन अफ कमान्ड प्रणालीमा सिफारिश भई आउने बनाउन जरूरी छ ।

भोजपुरमा सिटीस्क्यान मेसिन नहुँदा धरान आउनुपर्छ त्यहाँ आएर सिटीस्क्यान गर्दा नसामा रगत जमेको देखिन्छ रगत पातलो बनाउने पाँच रुपैयाँ पर्ने एउटा एस्प्रिन खाएपछि सञ्चो हुन्छ । त्यस्तो अवस्था छ हाम्रो । यस्ता डिजिटल एक्स रे, ल्याबका सुविधा र दक्ष जनशक्ति राख्नुपर्छ । पोल्टामा चिउरा बोकेर अथवा झोलामा अलिकति चामल बोकेर काठमाडौं उपचार गर्न आउनुपर्ने अवस्थाबाट माथि उठाउनुपर्छ ।

अहिले नेपालमा आवश्यक स्वास्थ्य जनशक्ति छ ?

हामीसँग स्वास्थ्य जनशक्ति मात्रै होइन स्वास्थ्य संस्थाहरू पनि पर्याप्त छैन । हिजो एक करोड जनता हुँदा पनि यत्ति नै डाक्टर तथा अस्पतालहरू थिए । आज तीन करोड जनता हुँदा पनि त्यत्ति नै डाक्टर र अस्पतालहरू छन् ।

त्यसबेला पनि यही पाटन, वीर, शिक्षण, टेकु थियो होला आज पनि त्यही छ । ४८ सालमा पनि १२ सय जनशक्ति थियो होला आज त्यही १३ सय अथवा १४ सय होला ।

पर्याप्त जनशक्ति नहुँदा गुणस्तर स्वास्थ्य उपचारमा पनि प्रभाव पार्छ । किनभने अस्पतालमा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म जत्ति जनाले उपचारको लागि टिकट काटेको हुन्छ त्यत्ति जनाको उपचार गरेर मात्रै उठ्नुपर्ने हुन्छ । जत्ति समय एक जना बिरामीलाई दिनुपर्ने हो त्यत्ति दिन सक्थ्यो दिन सक्दैन । त्यसले कतै न कतै उपचारको गुणस्तरमा कमी आउँछ

जटिल रोग उपचारका लागि विदेश जानुपर्ने बाध्यता टरेको छ वा छैन ?

केही अवस्थामा छ । तर यहाँ विशेषज्ञ अथवा डाक्टर सक्षम नभएर भन्दा पनि आवश्यक डायग्नोस्टिक टुल्सको अभावका कारण बाहिर जानुपर्ने बाध्यता छ ।

जस्तो हामीसँग पेट स्क्यान गर्ने उपकरण एउटा छ त्यो पनि कहिले चल्छ कहिले चल्दैन । त्यसको लागि हामी दिल्ली अथवा अरू देश जानुपर्ने अवस्था छ । तर स्वास्थ्यकर्मीको क्षमता नभएको कारण जटिल रोगका उपचारको लागि विदेश नै जानुपर्छ भन्ने अवस्था छैन । केही रोगका लागि आवश्यक उपकरण र साधनहरू नहुँदा जानुपर्ने अवस्था छ ।

९० प्रतिशत उपचार नेपालमा नै हुन्छ । अहिलेको अत्याधुनिक औजार, उपकरण सरकारीमा कम छ । तर कतिपय निजी अस्पतालहरूले त त्यो सुविधाहरू पनि दिन थालेका छन् । त्यसरी नयाँ रोग जसको जाँच नयाँ उपचार प्रविधिबाट गर्नुपर्ने अवस्थामा मात्रै हो ।

नेपालको स्वास्थ्य सेवाप्रति सर्वसाधारण किन विश्वस्त छैनन् ?

देशका नेता तथा ठूलाबडा मानिएकाहरूका कारण हो । आपतकालीन अवस्थामा यहाँका स्वास्थ्यकर्मी र अस्पतालले उनीहरूको जीवनरक्षा गर्छ ।

अरू सामान्य अथवा नियमित जाँचको लागि विदेश जाने परिपाटी छ । यसले सामान्य नागरिकमाथि भ्रम पर्न गएको हो । कोभिड नभएको भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नै शल्यक्रिया गर्नुहुन्थ्यो भन्नेमा पनि शंका छ । कोभिड भएको कारण उहाँको सफल शल्यक्रिया भयो । यसले पनि नेपालमा राम्रो उपचार हुन्छ भन्ने त प्रमाणित भयो नि !

ग्रामीण क्षेत्रका वा विपन्न वर्गकाहरू अस्पताल जान डराउँछन्, अस्पतालमा भर्ना भएपछि घरखेत नै सिध्याउनुपर्छ भन्ने भय देखिन्छन् नि ! के हाम्रो उपचार पद्धति खर्चिलो नै हो ?

यो प्रश्न पनि तुलनात्मक प्रश्न भयो । अन्य देशको तुलना गर्दा संसारको सबैभन्दा सस्तो स्वास्थ्य सेवा हो । खालि कुरा के भने हाम्रोमा स्वास्थ्यलाई इन्सुरेन्स प्रणालीमा व्यवस्थापन नगर्नु हो । नत्र यहाँ जस्तो सस्तोमा उपचार हुने देश कतै छैन । त्यसैले सरकारले यहाँको स्वास्थ्य प्रणालीलाई इन्स्युरेन्ससँग जोड्नुपर्छ ।

प्रायः नेता, मन्त्रीहरू उपचारका लागि विदेश जान्छन्, नेपालको स्वास्थ्य प्रणालीमा विश्वास नगरेर हो ?

त्यस्तै देखिन्छ । आपतकालीन स्वास्थ्य उपचार गरेर यहाँका स्वास्थ्यकर्मी तथा अस्पतालले जीवन रक्षा गरिदिन्छन् । अनि फेरि नेपाली डाक्टरहरू माथि विश्वास नगरेर विदेशमा गएर उपचार गराउँछन् ।

यो गलत नजिर छ । यहाँका भीआईपी रुम, बेडहरू खाली रहने र यहाँका भीआईपीहरू प्रधानमन्त्री, मन्त्रीहरू भने विदेशमा उपचार गराउन जाने । यसले गर्दा देशको धन सकिने, गलत नजिर स्थापित हुने, यही कारण सर्वसाधारणले विश्वास नगर्ने हुन्छ ।

यदि नेपालको उपचार ठीक नहुने हो भने त गरीब सबै मर्नुपर्ने नि त । गरीबले पनि उपचार पाएर हिंडेका छन् । नत्र भए त भीआईपी र धनी मात्रै बाँच्नुपर्ने हो नि त । हामीसँग भएका सीमित औजार उपकरण नहुँदा जाँदा ठीकै हो तर यहाँ त साधारण उपचारको लागि जानेहरू पनि छन् ।

सर्वसाधारणले अस्पतालको सेवाप्रति गुनासो गर्छन्, अस्पतालका कर्मचारीहरू रूखो हुन्छन् भन्ने दुःखेसो पोख्छन् । किन यस्तो स्थिति भएको होला ?

कहिलेकाहीं हुनसक्छ । त्यसको कारण मैले अघि पनि भने जनशक्तिको अभाव पनि हो । जनशक्ति कम हुँदा एउटै स्वास्थ्यकर्मीले बिहानदेखि बेलुकासम्म हेर्नुपर्ने हुन्छ । चाडपर्व भन्न पाउँदैन । विभिन्न व्यवहार भएका बिरामीको जाँच गर्नुपर्ने हुन्छ । मानव हो । कहिलेकाहीं त्यस्तो हुनसक्छ ।

मोटिभेसन फ्याक्टर पनि छैन । एउटा डाक्टरले पाउनुपर्ने सेवासुविधा पनि अत्यन्तै न्यून छ । अर्को आवश्यक तालिमको पनि अभाव छ । तर अहिले स्वास्थ्यकर्मी आफैं पनि सचेत हुँदैछन् । अहिले धेरै कम भइसकेको छ ।

समग्रमा हेर्दा नेपाली कुन रोगले बढी सताइएका छन् ?

अहिले नसर्ने रोगहरूबाट बढी सताइएका छन् । यो नेपालको मात्रै समस्या होइन । डब्लुएचओले विश्वभर नै नसर्ने रोगी बढी भएको जनाएको छ । नेपालमा सुगर, हृदयघात, प्रेसर, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरू बढी देखिएका छन् । हाम्रो जीवनशैलीका कारण यस्तो समस्या बढ्दो छ ।

हामीकहाँ उपचारै नहुने रोगहरू के के हुन् ?

९० प्रतिशत नेपालमा उपचार हुन्छ । अहिले नहुने भनेको नयाँ–नयाँ प्रविधिबाट गरिने उपचार हो । उपचार नहुने रोग भन्दा पनि नयाँ उपचार पद्धतिबाट हुने कतिपय उपचार चाहिं नेपालमा हुँदैन । उदाहरणको लागि, रोबोटिक उपचार नेपालमा शुरू भएको छैन । उपचार नै नहुने भन्ने छैन ।

स्वास्थ्य क्षेत्र सुधारका लागि को बढी जिम्मेवार ?

स्वास्थ्य क्षेत्र गुणस्तरीय बनाउने राज्यको दायीत्व हो । नेतृत्व महत्वपूर्ण हो । तर राजनीतिक दलहरुले स्वास्थ्यलाई चुनाव जित्नको लागि घोषणापत्रमा मात्रै प्राथमिकतामा राख्दै आएका । संविधानमा पनि मौलिक हकमा राख्ने काम मात्रै भयो । काम गर्ने बेला स्वास्थ्य मन्त्रालय कसैको कसैको प्राथमिकतामा पर्दैन । स्वास्थ्य मन्त्रालयलाई बी ग्रेटको लिईने गरिन्छ । सबैको ध्यान परराष्ट्र, अर्थ, गृह, रक्षा मन्त्रालयमा मात्रै हुन्छ ।

राज्यबाटै स्वास्थ्य क्षेत्र कमजोर बनाउने प्रयास भईरहेको छ भन्ने मन्त्री, कर्मचारी हेरफेरले पनि देखाउँछ । दुई तिहाईको सरकार हुँदा अरु मन्त्रालय स्थिर हुँदा स्वास्थ्यमा ६ पटक सचिव पाँच पटक मन्त्री फेरिए । काम कत्ति र कसरी भए होला भनेर अनुमान लगाउन सकिन्छ नि ।

अहिले पछिल्लो समय कोभिडले गर्दा आफै पनि मर्ने जोखिम बढेपछि अलिकति ध्यान गएको हो । हैन भने स्वास्थ्य क्षेत्रमा ध्यान छैन । स्वास्थ्यमा छुट्याइने बजेट हेर्दा पनि थाह हुन्छ । डब्लुएचओले कुल बजेटको कम्तिमा पनि १० प्रतिशत स्वास्थ्यमा हुनुपर्छ भनेको छ। तर नेपालमा पाँच प्रतिशत भन्दा बढेको छैन । यसपटक कोभिडका कारण ६ प्रतिशत पुग्यो होला ।

राज्यले स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि मैले भनेजस्तो देशभरी नै प्रदेश स्तरीय सुविधा सम्पन्न अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशत्ति खटाउने, आवश्यक उपकरण उपलब्ध, भएका जनशक्तिलाई तालिम दिनुपर्छ । राज्यको बेवास्ताले कमजोर भएको स्वास्थ्य क्षेत्र स्वास्थ्यकर्मीमाथि दोष थापर्ने प्रयास भईरहेको छ ।



source https://www.onlinekhabar.com/2021/09/1019851

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More