गैरआवासीय नेपाली संघको आसन्न चुनावको माहोल तातिरहेको छ । उम्मेद्वारहरू मत माग्न व्यस्त छन् । १०औं महाधिवेशनको सँघारमा आइपुग्दा गैरआवासीय नेपाली संघका गतिविधि र पछिल्लो चुनावी माहोल हेर्दा धेरैको मनमा विभिन्न प्रश्न उठिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै आफ्नो मातृभूमि प्रति जोड्ने एउटा महान उद्देश्य सहित ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर शुरु भएको गैरआवासीय नेपाली संघले अहिले १०औं महाधिवेशनको नजिकै आउँदा धेरै उतारचढाव पार गरिसकेको छ ।
विश्वका ८० भन्दा बढी देशमा छरिएर रहेका लाखौं नेपालीको एकमात्र छाता संगठन एनआरएनएका गतिविधि पक्कै पनि नेपाल र विश्वका नेपालीको हितमा हुनुपर्दछ । तर पछिल्लो समय सतहमा देखिएका क्रियाकलाप, विभिन्न राष्ट्रिय समन्वय समिति तथा केन्द्रमै देखिएका विवादले आजसम्मका उपलब्धिहरूलाई अप्ठ्यारो त पारेको त छ नै, संस्थाको भविष्यलाई पनि अँध्यारोमा पार्ने हो कि भन्ने संशय उत्पन्न भएको छ । र महत्वपूर्ण प्रश्न खडा भएको छ, के गैरआवासीय नेपाली अभियानले बाटो बिराउने त होइन ?
नेपाल बाहिर रहेर आफ्नो पेशा, अध्ययन, व्यवसाय गर्ने हामी नेपालीहरू नेपालको राजनीतिक अवस्था विकास र सामाजिक अवस्थालाई लिएर सधैं चिन्तित हुन्छौं । विशेषत: नेपालको राजनीति र विकासका कामप्रति असन्तुष्ट पक्कै हुन्छौं किनकि हामी धेरै नेपाली समृद्ध र सुसंस्कृत राष्ट्रहरूमा बसेर जीवन बिताइरहेका छौं । नेपालमा पनि त्यस्तै भए हुनेथ्यो कल्पना गर्दछौं । तर विडम्बना हामीले चाहना गरेजस्तो सुसंस्कृत समृद्ध नेपाल कल्पनामा मात्र हुने हो कि भनेर हामीलाई बडो चिन्ता लाग्छ ।
हामी सामाजिक सञ्जालका भित्ताहरूमा निरन्तर आफ्नो असन्तुष्टि पोखिरहन्छौं । हामीलाई लेखिरहँदा आरोप पनि आउने गर्छ देश छोडेर भाग्नेहरू किन चिन्ता लिन्छौ भनेर । आखिर जहाँ भए पनि हामी नेपाली हौं र हाम्रो मन नेपाली हो । नेपाल हाम्रो माटो हो, चिन्ता लाग्छ हामीलाई भनेर हामी आवासीय नेपालीले गर्व साथ भन्छौं ।
मातृभूमिलाई परेको बेलामा मन खोलेर सहयोग गर्छौं पनि । हामी नेपाली विकृत राजनीतिक संस्कारको कट्टर आलोचक हौं । आफू बस्ने देशमा जस्तै नेपालमा पनि परिष्कृत राजनीतिक संस्कार विकास होस् भन्ने चाहन्छौं । र यो चाहना जायज पनि छ । तर के हामी आफैंले नेपालीका लागि भनेर जन्माएको संस्थामा हामीले गर्ने क्रियाकलाप र हाम्रो त्यो सुसंस्कृत सोच मेल खान्छ त ?
एकाइसौं शताब्दीमा विश्वका समृद्ध मुलुकमा जीवन निर्वाह गर्ने हामी गैरआवासीय नेपालीले उच्च नैतिक व्यवहारले उदाहरण दिनुपर्नेमा उल्टो कुसंस्कृत राजनीतिक संस्कारको ऐना बन्नु दुर्भाग्यपूर्ण छ । अझै पनि यसरी नै अघि बढ्ने हो भने गैरआवासीय अभियानको डुंगा डुब्ने निश्चित छ । त्यसैले बेलैमा सोचौं
पछिल्लो समय देखिएका विकृतिहरू के हाम्रा ‘सोफिस्टिकेटेड’ भनिने सोच अनुरूप छन् त ? पक्कै पनि छैनन् । यहाँनेर हाम्रो कृत्रिम सोचको भण्डाफोर हुन्छ । हामी बोल्न, गफ गर्न माहिर छौं । नेपाली राजनीतिका दलका नेता जस्तै हामी पनि कृत्रिम हौं । हाम्रो रगतमा त्यही विकृत राजनीति घुलिएको छ । हामी बस्न त विश्वका विकसित मुलुकमा बस्छौं, तर हाम्रो सोच अविकसित छ । हामी पेशा त विश्वका समृद्ध मुलुकमा गर्छौं तर हाम्रो विचार उही पुरानो छ । हामी अध्ययन विभिन्न उत्कृष्ट राष्ट्रमा गर्छौं तर हाम्रो ज्ञान मक्किएको छ ।
आज गैरआवासीय नेपाली संघका नाममा विश्वका समृद्ध देशका पार्क, सभा हल, होटलहरूमा हानाहान, कुटाकुट हुन्छ । एकले अर्कोको अस्तित्व स्वीकार्न नसकेर गुट, उपगुट बनाएर खुट्टा तानातान हुन्छ । आज एनआरएनए विकृत भनिएका नेपाली राजनीतिक दलको भ्रातृ संगठन भन्दा कम छैन ।
नेताको आशीर्वाद लिने र लम्पसारवादले सीमा नाघेको छ । संस्थामा चरम राजनीति घुसाइएको छ । गैरआवासीय नेपाली अभियान शुद्ध नेपालीको नभएर कांग्रेस, एमाले, माओवादीको भएको छ । अति राजनीतीकरणले नेपालमा नेपाली नै भेट्न गाह्रो परिरहेको बेलामा गैरआवासीय भए पनि हामी नेपाली हौं भन्नेलाई पनि कांग्रेस, माओवादी र एमाले बनाइदिएको छ ।
अहिले गैरआवासीय नेपाली हौं भन्न पनि लाज लाग्ने, मुख छोप्नुपर्ने अवस्था आएको छ । वर्षौं लगाएर निर्माण गरिएको संस्थाको गरिमालाई माटोमा मिलाउने काम भैरहेको छ । के यसकै लागि परिकल्पना गरिएको थियो संस्थाको ? आखिर किन गैरआवासीय नेपाली अभियान नेपाली राजनीतिको छायाँ बन्यो ? गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
अझै पनि यस्तै फोहोरी तरिकाले लागिरहने हो निश्चित छ संस्थाको गरिमा पातालमा पुग्नेछ ।
कुनै पनि संस्थाको लागि महाधिवेशन अत्यन्त महत्वपूर्ण हुन्छ । पूरा भएको कार्यकालका काम कारबाहीको समीक्षा, नयाँ कार्यकालको लागि खाका बनाउने तथा समस्त संस्थागत हितको लागि आग्रह पूर्वाग्रहरहित छलफल गरेर आगामी कार्यदिशा निर्धारण गर्ने समय हो महाधिवेशन । तर विडम्बना यहाँ चुनावलाई मात्र महाधिवेशन सम्झिएर अरु महत्वपूर्ण कार्यक्रमहरूलाई किनारा लगाउने काम हुन्छ । ठ्याक्कै नेपाली राजनीतिमा जस्तै भोटको खेल खेलिन्छ । उम्मेद्वारहरू एजेन्डा विचारमा भन्दा गुट, उपगुट प्यानल बनाएर साम, दाम, दण्ड र भेद अपनाएर जसरी भए पनि चुनाव जित्ने ध्याउन्नमा हुन्छन् । कसैलाई महाधिवेशनमा घनीभूत छलफल गर्ने संस्थाको कामकारबाहीप्रति समालोचना गरेर रचनात्मक प्रश्न गर्ने फुर्सद हुँदैन । अहिले फेसबुकका ‘वाल’हरूमा हेर्ने हो भने एनआरएनएको लोगो पृष्ठभूमिमा राखेर चिल्लो फोटो राखी आफ्नो विज्ञापन गर्ने, विभिन्न गुट, उपगुट बनाएर जूम कार्यक्रममा फोस्रा ‘आउटडेट’ कृत्रिम विचार छाट्ने क्रम अत्यधिक बढेको छ । ध्यान दिएर हेर्ने हो भने प्राय: सबै उम्मेदवारका नारा अनि एजेन्डाहरू उस्तै लाग्छन् ।
‘कपी पेस्ट’ गरेर एजेन्डा लेख्ने, फोटो हालेर विज्ञापन गर्ने बाहेक आफ्नो मौलिक विचार एजेन्डाहरू राख्ने फुर्सद कसैलाई छैन । भद्रगोल र अस्तव्यस्तताले सीमा नाघेको छ ।
संस्था जे सुकै होस् सबैलाई चुनाव जित्नु छ, नेता बन्नु छ । के गैरआवासीय नेपाली अभियान यत्तिका लागि हो ? गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । एकाइसौं शताब्दीमा विश्वका समृद्ध मुलुकमा जीवन निर्वाह गर्ने हामी गैरआवासीय नेपालीले उच्च नैतिक व्यवहारले उदाहरण दिनुपर्नेमा उल्टो कुसंस्कृत राजनीतिक संस्कारको ऐना बन्नु दुर्भाग्यपूर्ण छ । अझै पनि यसरी नै अघि बढ्ने हो भने गैरआवासीय अभियानको डुंगा डुब्ने निश्चित छ । त्यसैले बेलैमा सोचौं ।
दक्षिण कोरिया
source https://www.onlinekhabar.com/2021/09/1020231
0 comments:
Post a Comment