Monday 27 September 2021

अफगानिस्तानको समस्या आन्तरिक मामिला : परराष्ट्रमन्त्री खड्का

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । सार्क सदस्य राष्ट्र अफगानिस्तानबारे नेपाल सरकारले आफ्नो धारणा राखेको यो पहिलो पटक हो ।

मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि बताए ।

यद्यपि उनले आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले त्यसको विरोध गरिरहेको बताए ।

महासभालाई सम्बोधनको क्रममा मन्त्री खड्काले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक-सामाजिक असर पारेको बताउँदै, सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने बताए ।

नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री खड्काले सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको बताए ।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा छन् ।



source https://www.onlinekhabar.com/2021/09/1019383

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More