Sunday 31 October 2021

१ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१५ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरील सोमबार जारी गर्न लागेको हो ।

बैंकले आइतबार जारी गरेको सूचना अनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बंैकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो ।

बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा रु ७० लाख मूल्यमा ९० दिने ट्रेजरील निष्काशन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ ।

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ ।

सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन् । नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ ।



source https://www.onlinekhabar.com/2021/11/1032837

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

१५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने अनलाइनखबरसँग पुष्टि गरे ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

एकीकृत समाजवादीका राजेन्द्र पाण्डे यही कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए ।



source https://www.onlinekhabar.com/2021/11/1032827

४८ बर्षमा ऐश्वर्याः ‘मिस इन्डिया’ बन्नका लागि छाडेकी थिइन् ‘राजा हिन्दुस्तानी’

आफ्नो सुन्दरताको कारण सधै नै चर्चामा रहने बलिउड नायिका ऐश्वर्या राय बच्चन आज ४८ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा विश्व सुन्दरीको ताज हासिल गरेपछि ऐश्वर्याको चर्चा पनि चुलिएको हो । यसपछि, उनले बलिउडमा पनि आफ्नो क्रेज बनाइन् ।

तर, ऐश्वर्यालाई विश्व सुन्दरी बनेपछि मात्र बलिउडबाट अफर आउन थालेको भने होइन । उनलाई सानै उमेरमा थुप्रै सफल ब्यानरले चलचित्रमा अफर गरेका थिए । तर, उनले कैयौं ठूला प्रोजेक्टहरुलाई छाडेकी थिइन् ।

ऐश्वर्यालाई पहिलो पटक मोडलिङको उमेर उनी ९ कक्षामा अध्ययन गर्दा नै मिलेको थियो । उनले, विश्वका चर्चित ब्रान्डको विज्ञापनमा काम गरिन् । सन् १९९४ मा ‘मिस इन्डिया’मा फस्ट रनरअप बनेपछि ऐश्वर्याले विश्व सुन्दरीको ताज जितेकी थिइन् । यसपछि, उनले थुप्रै चलचित्रबाट अफर पाइन् ।

ऐश्वर्याले भारतीय मिडियालाई दिएको अन्तरवार्तामा खुलासा गरे अनुसार, उनलाई विश्व सुन्दरी बन्नु अगाडि नै ‘राजा हिन्दुस्तानी’ जस्ता चलचित्रको अफरलाई अस्विकार गरेकी थिइन् । ऐश्वर्याले सन् १९९७ मा चलचित्र ‘इरुवर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यस्तै, उनले यही बर्ष नै ‘और प्यार हो गया’मा काम गरिन् । यी दुबै चलचित्र बक्स अफिसमा असफल भए ।

विश्व सुन्दरी बनेपछि ऐश्वर्या थुप्रै चलचित्रको प्रिमियरमा सहभागी भएकी थिइन् । सोही समयमा उनको भेट निर्देशक संजयलिला भन्सालीसँग भयो । संजय चलचित्र ‘हम दिल दे चुके सनम’का लागि नयाँ नायिकाको खोजीमा थिए । सुरुमा संजयले यो चलचित्रका लागि मनिषा कोइरालासँग काम गर्ने मन बनाएका थिए, तर ऐश्वर्यालाई देखेपछि उनको मन बदलियो । सन् १९९९ मा रिलिज भएको यो चलचित्रले ऐश्वर्याको करिअर नै बदलिदियो ।

यसपछि, ऐश्वर्यालाई पछाडि फर्किएर हेर्नुपरेन । ऐश्वर्याको नाम नायक सलमान खानसँग पनि लामो समयसम्म जोडियो । तर, सलमानसँगको प्रेममा असफल भएपछि ऐश्वर्याले नायक अभिषेक बच्चनसँग बिहे गरिन् । ऐश्वर्याको हातमा आज पनि चलचित्रको अभाव छैन । तर, विश्वमा उनी आफ्नो सुन्दरताको कारण नै प्रख्यात छिन् ।



source https://www.onlinekhabar.com/2021/11/1032821

नेपाल बैंकको मूनाफामा सुधार, तीन महिनामा कमायो ७५ करोड

१५ कात्तिक, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा सुधार भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ३७ प्रतिशतले मूनाफामा वृद्धि देखिएको छ ।

बैंकका अनुसार पहिलो त्रैमासमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुन्पाm ५५ करोड ४ लाख १९ हजार रुपैयाँमात्रै थियो ।

बैंकको खुद ब्याज आम्दानीमा सुधार हुँदा नाफा पनि वृद्धि भएको हो । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी करिब १२ प्रतिशतले वृद्धि गरेको छ । बैंकको प्रतिशत शेयर आम्दानी पनि बढेर २३ रुपैयाँ ८९ पैसा पुगेको छ । यस अघि बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा थियो ।

बैंकको निस्कृय कर्जा ३.०२ प्रतिशतबाट घटेर २ प्रतिशतमा झरेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1032824

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

१५ कात्तिक, काठमाडौं । भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

 



source https://www.onlinekhabar.com/2021/11/1032820

पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता छ : रामचन्द्र पौडेल

१५ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताएका छन् ।

‘पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ’ नेपाल प्रेस यूनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ । र, कसले यो राष्ट्र हाँक्न सक्छ कसले प्रतिपक्षीको सामना गर्न सक्छ त्यस्तो नेतृत्व चाहिएको छ ।’

उनले युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको आवश्यक्ता भएको बताए ।

पार्टी सभापति कसैलाई भागबण्डामा बनाउने कुरा नभएको भन्दै पौडेलले कसलाई सभापति बनाए पार्टी अझ बलियो हुन्छ भन्ने कुरा कार्यकर्तामै छाडिदिनुपर्ने बताए । ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन्’ उनले भने, ‘ मधेशी नै बने फरक पर्दैन् । तर यो कुरा कार्यकर्तामा छाडिदिनुपर्छ ।’

सबैले अवसर पाउने गरी कांग्रेसले विधान बनाएको भन्दै उनले यस्तो विधान कसैको पनि नभएको दाबी गरे ।

अहिले पार्टी नै अस्तव्यस्त रहेको भन्दै उनले अहिले पार्टी व्यवस्थित गर्नकै लागि लडाइ लडिरहेको उल्लेख गरे । ‘यो पार्टी व्यवस्थित भएपछि लोकतन्त्र पनि व्यवस्थित हुन्छ’ उनले भने, ‘अहिलेको लडाइ भनेकै कांग्रेस व्यवस्थित गर्नु हो ।’

पार्टीको महाधिवेसन गर्ने मंसिर २४ देखि २६ सम्मको कार्यतालिका नै अन्तिम भएको भन्दै यो समयमा महाधिवेशन हुने बताए । ‘यो नै अन्तिम कार्यतालिका हो । यसमा फेरबदल हुँदैन् । तलमाथि हुन सक्दैन्,’ उनले भने ।



source https://www.onlinekhabar.com/2021/11/1032774

साढे चार लाख नगद सहित २० जना जुवाडे पक्राउ

१५ कात्तिक, बुटवल । दाङको रझेनाबाट साढे चार लाख बढी नगदसहित जुवा खालबाट २० जना   पक्राउ परेका छ्न ।

घोराही उपमहानगरपालिका-१४ रझेनामा आइतबार राति एक घरमा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार ८८१ रुपैयाँ नगद बरामद भएको एसपी काफ्लेले बताए ।

प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरू समेत नियन्त्रणमा लिएको उनले जानकारी दिए।

जुवाडेले प्रहरीलाई पनि झुक्याएको र बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपैयाँ लिएर भागेको ब्यक्तिको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको उनले बताए ।

कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट पक्राउ पर्नेमा एमाले नेता घोराही १५ का ५७ वर्षीय महावीर वली, घोराही १५ कै धुर्बराज केसी, सोही ठाउँकै पूर्ण चन्द अधिकारी रहेका छन् ।

रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।

त्यस्तै कांग्रेस नेताहरू घोराही ५ का ५७ वर्षीय नवीन पछाइ, घोराही १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल,  ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवि गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ। प्रहरीले गएको शुक्रबार तुलसीपुरबाट हाइप्रोफाइल जुवाडे पक्राउ गरे पनि तीन दिनमै छुटेपछि प्रहरी आलोचित बनेको छ । प्रहरीले सामान्य जुवामा पनि कहिले २५ दिनसम्म थुनेर मुद्दा चलाउने र पहुँचवालाको हकमा राजनीतिक दबाब र आर्थिक चलखेलका आधारमा २-३ दिनमै व्यक्ति हेरेरअनुसन्धान प्रतिवेदन बुझाउदा प्रहरी आलोचित बन्दै गएको हो ।



source https://www.onlinekhabar.com/2021/11/1032756

चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महीनामा नेपालको भन्सार प्रणाली भएर १ लाख २६ हजार ३४० किलो चाँदी आयात भएको देखियो । भन्सारकै विवरण हेर्दा यो अवधिमा ७ हजार २६८.७९ किलो चाँदी विभिन्न प्रकारका भाँडा, सजावटका वस्तु लगायतमा प्रयोग भएर नेपालबाट निर्यात भयो ।

नेपालमा तयारी सुन–चाँदीको गहना बिक्री गर्ने काममा निश्चित व्यवसायीहरू मात्रै संलग्न छन् । उनीहरूका भनाइमा नेपालमा दैनिक औसत २०० किलो मात्रै चाँदीको खपत छ । अझ कोरोना महामारी पछि त्यो मात्रा पनि निकै घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । चालु आवको शुरूआती तीन महीनामा ९० दिन खुलेको सुन–चाँदीको कारोबारमा सोही परिमाणको खपतले झण्डै १८ हजार किलो मात्रै चाँदीको खपत स्वदेशी बजारमा भएको देखिन्छ ।

आर्थिक वर्ष कुल चाँदी आयात (किलोमा) कुल चाँदी खपत (किलोमा) कुल चाँदी निर्यात (किलोमा) हिसाब नदेखिएको कुल चाँदी (किलोमा)
२०७५/७६ २,८८,४५६ ६०,००० ६,३४२ २,२२,११४
२०७६/७७ १,४४,२०४ ६०,००० ३,६६८ ८०,५३६
२०७७/७८ १,०७,२११ ६०,००० ७६१ ४६,५५०
२०७८/७९ १,२६,३४० १८,००० ७,२६८.७९ १,०१,०७१.२१
३ महीना ५,६६,२११ १,९८,००० १८,०४० ४,५०,२७१
स्रोत : भन्सार विभाग र सुनचाँदी व्यवसायी महासंघ
तीन वर्षमा नेपाल भित्रिएको ४ लाख ५० हजार किलो चाँदी अहिले कहाँ पुग्यो ? ४७ अर्ब रुपैयाँ बराबरको यो सेतो पदार्थमा भएको अपचलन अनुसन्धान गर्न सरकारी निकायले रुचि नदेखाउनु थप शंकाको विषय भएको छ ।

यसमा निर्यात भएको ७ हजार २६८.७९ किलो चाँदीको हिसाब जोड्दा २५ हजार ६६८.७९ किलो चाँदी खपत भएको देखिन्छ । वैधानिक भन्सार प्रक्रियाबाट नेपाल भित्रिएर यहाँ खपत पनि नभएको र यहाँबाट निर्यात पनि नभएको १ लाख १ हजार ७१ किलो २१ ग्राम चाँदी मुलुकको औपचारिक अर्थ प्रणालीमा देखिन्न ।

चालु आवको तीन महीनामा ११ अर्ब ९९ करोड १४ लाख १३ हजार रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको छ । जबकि गत वर्ष यही तीन महीना अवधिमा ४९ करोड ५२ लाख रुपैयाँ बराबरको ४ हजार ६०० किलो मात्रै चाँदी नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा चाँदीको आयातमा २७ गुणाले वृद्धि हुनु, रकममा हिसाब गर्दा झण्डै सवा ११ अर्बले चाँदीको आयात बढेको देखिन्छ । दैनिक औसत १४०० किलो हाराहारीमा नेपाल भित्रिएको चाँदीले नेपालको औपचारिक अर्थतन्त्रमा कहीं कतै आफ्नो उपस्थिति देखाउँदैन ।

****

गएको आर्थिक वर्षमा पनि नेपालमा आयात, खपत र निर्यात हुने चाँदीको हिसाब–किताबमा मेल खाँदैन । आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ८८ करोड २२ लाख रुपैयाँ बराबरको १ लाख ७ हजार २११ किलो चाँदी आयात भएको थियो । तर २२ करोड ५७ लाख ५५ हजार रुपैयाँ बराबरको ७६१ किलो चाँदी मात्रै नेपालबाट निर्यात भएको देखिन्छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, यो वर्ष दैनिक २०० किलोका दरले चाँदीको खपत भयो भन्ने मान्दा पनि वार्षिक रूपमा ४६ हजार ५५० किलो चाँदीको हिसाब भेटिंदैन । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार ‘३०० दिन बजार चलेको अनुमान गरेर दैनिक २०० किलोका दरले चाँदीको बिक्री हुँदा पनि आयातको परिमाण अनुसार झण्डै ४६ हजार किलो चाँदी स्वदेशमा पनि खपत नभएको र विदेश निर्यात पनि नभएको देखिन्छ ।’

****

चाँदीको हिसाब गत वर्ष मात्रै होइन त्योभन्दा अघिल्लो आर्थिक वर्ष पनि गोलमाल पूर्ण नै छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा एक लाख ४४ हजार २०४ किलो चाँदी आयात भएको थियो । सो वर्ष जम्मा ३ हजार ६६८ किलो चाँदी मात्रै नेपालबाट निर्यात भएको भन्सारको अभिलेखबाट देखिन्छ ।

यस अवधिमा औसत ३०० दिन दैनिक २०० किलोका दरले नेपालमा चाँदीको कारोबार भएको मान्ने हो भने वार्षिक ८० हजार ५३६ किलो चाँदीको हिसाब मिल्दैन ।

चाँदीको अमिल्दो हिसाब आर्थिक वर्ष २०७५/७६ मा पनि थियो । सो वर्ष नेपालमा २ लाख ८८ हजार ४५६ किलो चाँदी आयात हुँदा ६ हजार ३४२ किलो निर्यात भएको देखिन्छ । नेपालबाट निर्यात भएको ६ हजार ३४२ र नेपालको औसत अधिकतम खपत ६० हजार किलो जोड्दा ६६ हजार ३४२ किलो हाराहारी चाँदी मात्रै नेपालको व्यावसायिक प्रणालीमा देखिन्छ । सो वर्ष २ लाख २२ हजार ११४ किलो चाँदीको हिसाब कुनै स्रोतबाट पनि पाइन्न ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को अन्त्यसम्म तीन वर्ष र २०७८/७९ को तीन महीनामा मात्रै कुल ४ लाख ५० हजार किलो चाँदीको हिसाब देशको वित्तीय प्रणालीबाट गायब छ । जसको आइतबारको नेपालको बजार मूल्य ४८ अर्ब रुपैयाँ बराबर हुन्छ ।

कहाँ गयो सवा पाँच लाख किलो चाँदी ?

नेपालमा आयात भएको चाँदी सजावटका वस्तु तथा गहनाका रूपमा नेपालबाट विदेश निर्यात गर्न पाइन्छ तर ढिक्का काँचो चाँदीमा निर्यात पूर्ण बन्देज रहेको भन्सार विभागले जनाएको छ । आयातको उच्च परिमाण अनुसार निर्यात नहुनु, स्वदेशी बजारमा पनि खपत नहुनु र चाँदी मौज्दात पनि नहुनुले नेपालबाट चाँदी कतै तस्करी भइरहेको छ भन्ने संकेत गर्छ ।

नेपालमा चाँदीको कारोबारमा संलग्न प्रमुख निकायहरू सुन–चाँदी व्यवसायी महासंघ र हस्तकला व्यवसायी महासंघ पनि नेपालमा चाँदीको अपचलन भइरहेको ठान्छन् । चाँदीको अपचलन भइरहेको भनेर आफूहरूले ६ महीना अघि नै राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई जानकारी गराएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘कोभिडका कारण सुन–चाँदी र हस्तकलाको व्यापार निमिट्यान्न भएको बेलामा पनि चाँदीको आयात उच्च रहेपछि हिसाब गर्दा वार्षिक ठूलो परिमाणमा चाँदीको हिसाब गायब भएको पाइयो’ एक जना अधिकारीले भने, ‘सरकारी प्रणालीमा उक्त गोलमालपूर्ण हिसाब हरेक दिन देखिन्छ । बैंकबाट एलसी खोलेर चाँदी आयात गर्नेको विवरणमा एकै दिनमा पत्ता लाग्ने कर्तुत अर्थ मन्त्रालय र राष्ट्र बैंकको मिलेमतोमा लुकाइयो ।’

बैंकको एलसी प्रक्रिया अनि अर्थ मन्त्रालय र भन्सारको प्रणालीमा स्पष्ट देखिने चाँदीको गडबडीमा तीन वटै निकायले आँखा चिम्लिएको हस्तकला तथा सुन–चाँदी व्यवसायीहरू बताउँछन् । नेपालमा खपत नभएको र नेपालबाट औपचारिक च्यानलबाट विदेश निर्यात भएको नदेखिएको अनि मुलुकमा ठूलो परिमाणमा चाँदी भित्रिएको पाइएपछि राष्ट्र बैंकलाई सो बारे लिखित जानकारी गराइएको नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

‘हामीले ६ महीना अघि नै चाँदीको उच्च आयातमा शंका लागेर राष्ट्र बैंकलाई लिखित रूपमै जानकारी गराएका थियौं । तर, उहाँहरूले लामो समय हाम्रो कुरा सुन्नुभएन’ नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले अनलाइनखबरसँग भने ‘यसबारे सरकारले छानबिन गर्न ढिलाइ गर्नुहुँदैन ।’

चाँदीको अपचलन भएकै होः अर्थ मन्त्रालय

चाँदीको शंकास्पद अदृश्य कारोबार भइरहेको विषयलाई अर्थ मन्त्रालयले १९ असोज २०७८ मा संशोधन गरेको चाँदीको भन्सार महसुलको निर्णयबाट पनि पुष्टि हुन्छ । उक्त संशोधनपछि भारतमा भन्दा नेपालमा चाँदीको मूल्य महँगो बनाइएको छ । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा अवाञ्छित कारोबार बढेको आशंका गरिएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । ‘आवश्यकता भन्दा धेरै आयात देखिएपछि यसमा केही नियन्त्रण गर्नुपर्ने देखियो’, प्रवक्ता शाक्यले भने ।

असोज १९ को निर्णयबाट चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्‍याइएको थियो । नयाँ निर्णय अनुसार चाँदीको प्रति १० ग्राम भन्सार शुल्क २२ रुपैयाँले बढेको छ । बढाइएको भन्सार महसुलपछि भारतीय बजारमा भन्दा नेपाल चाँदी महँगो हुने सरकारीहरूको आकलन छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले अर्थ मन्त्रालयलाई दिएको सूचना अनुसार केही वर्षदेखि तराईका जिल्लाहरूमा चाँदीको माग उच्च थियो । भारतमा सुन–चाँदीको भाउ प्रतिशतमा बढ्ने र नेपालमा १० ग्राममा भन्सार महसुलले मूल्य निर्धारण हुने भएकाले भारतमा भन्दा नेपालमा चाँदीको भाउ सस्तो रहेको पाइएको भन्सार विभागको अध्ययनले पुष्टि गरेको छ । सोही आधारमा भन्सार महसुल बढाउन सिफारिश गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

चाँदीको व्यवसायमा ठूलो चलखेल भएको संकेत यो आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै पाइएको राष्ट्र बैंकको भनाइ छ । गत वर्षको तुलनामा खपत भन्दा अधिक र अनावश्यक चाँदीको आयात देखिएपछि यसबारे अर्थ मन्त्रालयलाई जानकारी गराइएको राष्ट्र बैंक स्रोतले बतायो । ‘विदेशी मुद्राको सञ्चिति कमजोर रहेको बेला बढेको चाँदी आयातबारे पुनर्विचार गर्न अर्थलाई सुझाव दिइएको र भन्सार महसुलले समस्या समाधान नभए कोटा तोक्नेसम्मको गृहकार्य भएको छ’, राष्ट्र बैंक स्रोतले अनलाइनखबरसँग भन्यो ।

आयात, स्वदेशी बजारको खपत र निर्यातको अवस्था हेर्दा समस्या देखिएपछि महसुल वृद्धि सिफारिश गरिएको भन्सार विभागका एक अधिकारीले बताए । ‘चाँदीको आयात अस्वाभाविक देखिएकै छ, यो कहिलेदेखि थियो भन्ने अझै यकिन भएको छैन’, ती अधिकारीले भने । कोटा नतोकिएको र जुनसुकै व्यवसायीले स्वतस्फूर्त आयात गर्न सक्ने भएका कारण मूल्यान्तरको फाइदा उठाउन गिरोह लागेको हुनसक्ने भन्सार सम्बद्ध अधिकारीहरूको आकलन छ ।

नेपालमा दुई वटा महासंघमा आबद्ध व्यवसायी बाहेकले ठूलो परिमाणमा सुन–चाँदीको कारोबार नगर्ने व्यवसायीहरू बताउँछन् । तर, चाँदीको आयात भने जो कुनै पनि व्यवसायीले गर्न पाउने प्रावधान रहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

‘व्यवसायीले गहनाको रूपमा विदेश बिक्री नगरेको र देशको प्रणालीमा पनि नदेखिएको चाँदीकोे हिसाब राज्यले खोज्नुपर्छ’ महासचिव बज्राचार्यले भने, ‘विदेशी मुलुकका लागि स्वदेशी डलर खर्च गरेर वस्तु आयात गर्ने कार्य निन्दनीय हो, सरकारले चाँदीको कारोबार पारदर्शी बनाउनुपर्छ ।’

भारतीय सीमा वारि–पारि समातिन्छ चाँदी

१० कात्तिक २०७८ : मोरङ रतुवामाई नगरपालिका–३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित स्थानीय ३० वर्षीय धर्मेन्द्र शर्मालाई पक्राउ गर्‍यो। बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले तार बनाएर ल्याएको बिल नभएको चाँदी बरामद गरेको थियो ।

५ असोज २०७८ : रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले सर्लाही मलंगवा–२ बस्ने विद्यानन्द साह सोनारलाई पक्राउ गर्‍यो । दुवै हातमा कालो रंगको झोला बोकी हिंडिरहेको अवस्थामा पक्राउ परेका उनको साथबाट ४० किलो चाँदी बरामद भएको थियो । असोज ५ गतेको बजार मूल्य अनुसार सोनारको साथबाट बरामद भएको चाँदीको मूल्य ३९ लाख ४४ हजार रुपैयाँ बराबरको थियो ।

२४ साउन २०७८ : पर्साबाट प्रहरीले १ लाख ७९ हजार ९०५ रुपैयाँको सुन–चाँदी मिश्रित गरगहना बरामद गरेको थियो । जगरनाथपुर गाउँपालिका–२ जानकीटोल बस्ने १९ वर्षीय सोनुकुमार सोनारको साथबाट चाँदीको पायल, विछिया लगायत २६३ पिस र सुनका ३४ पिस गरगहना फेला परेका थिए ।

३० मंसीर २०७७ : प्रहरीले वीरगञ्जबाट ६५ किलो चाँदीका गरगहना बरामद गर्‍यो । आवश्यक कागजपत्र देखाउन नसकेपछि वीरगञ्ज–६ स्थित सुनिताकुमारी सर्राफको माँ जय नरसिंह ज्वेलर्सबाट चाँदी बरामद गरिएको थियो । सुनिताका श्रीमान् भारतीय नागरिक दीपक सर्राफलाई प्रहरीले पक्राउ गरेर कानूनी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

नेपाल प्रहरीले मात्रै नभएर भारतका विभिन्न सुरक्षा बल र राजश्व छली विरुद्ध काम गर्ने निकायले नेपालबाट भारततर्फ लगेको चाँदी बरामद गर्ने गरेका छन् ।

१६ अक्टोबार २०२१ अर्थात् ३० असोज २०७८ मा भारतीय सीमा सुरक्षा बल एसएसबीले पाँच किलो भन्दा बढी चाँदीका भाडाकुँडा सहित बझाङका एक युवकलाई पक्राउ गरेको थियो । उनी नेपाल–भारत सीमाको पिलर नं ८०२/११ नजिकै जंगलको बाटो भारत पस्न लागेका थिए । उनीसँग चाँदीको चम्चा, गिलास लगायत सामानको मूल्य चार लाख रुपैयाँ अनुमान गरिएको थियो ।

स–सानो परिमाणमा मात्रै नभएर संगठित रूपमा पनि तस्करी हुने गरेको भेटिएको छ । ६ अक्टोबरमा भारतको ‘डिरेक्टोरेट अफ रेभिन्यु इन्टेलिजेन्स’ (डीआरआई) ले मुजफ्फरपुर मनियारी थानाको काजी इंडा टोल प्लाजा नजिकै २६० किलो चाँदी बरामद गर्‍यो । १ करोड ७० लाख मूल्य बराबरको सो चाँदी नेपालबाट लगिएको उनीहरूको आशंका छ । कारको डिक्की भित्र फल्स बटम बनाएर चाँदीको चामल जस्तो दाना राखिएको प्याकेट लुकाएर लगिएको थियो ।

आयात प्रक्रियामा सामेलमाथि अनुसन्धान गर्नुपर्छ

वीरगञ्जमा तयारी चाँदीका भाँडावर्तन र गरगहना मात्रै बिक्री हुन्छ । यहाँका सुनचाँदी व्यवसायीले चाँदीको सामान बनाउँदैनन् । भाँडाकुँडा करुवा, टिकदानी काठमाडौंबाट र पाउजु जनकपुरबाट ल्याउने गरिएको व्यवसायीहरूको भनाइ छ । चाँदीको वैध कारोबार गर्नेलाई कुनै समस्या नरहेको उनीहरूले बताए ।

सजावटका वस्तुमा राखेकोले नेपालमा चाँदीको आयात गर्न निजी क्षेत्रले पनि पाउने व्यवस्था छ । आयातकर्ताले बैंक ग्यारेन्टी राखेर आवश्यक प्रक्रिया पूरा गरी चाँदी आयात गर्न सक्छन् । त्यसरी ल्याइएको चाँदी फर्महरूलाई वितरण गरिन्छ ।

सुनचाँदी व्यवसायी संघ पर्साका पूर्व अध्यक्ष निरज सर्राफ कसले कति चाँदी आयात गर्‍यो र क–कसलाई दियो भनेर खोजिनुपर्ने बताउँछन् । ‘बैंक ग्यारेन्टी नबसी चाँदी आउँदैन, कसैले १०० किलो चाँदी आयात गरेको छ भने कहाँ–कहाँ दियो ? फर्मलाई दियो कि व्यक्तिलाई ? खोजिनुपर्छ’ उनले भने, ‘वीरगञ्जमा ४०० सुनचाँदी व्यवसायी छन्, सबै राम्रा छन् भनेर म भन्दिनँ । वर्षमा १० लाखको कारोबार गर्न नसक्ने पसलेले २० लाखको चाँदी किन्छ भने किन किन्यो अनुसन्धान हुनुपर्छ ।’

व्यवसायीका अनुसार, वीरगञ्जका वाणिज्य बैंकहरूले चाँदी आयात गर्न ग्यारेन्टी सुविधा दिने गरेका छन् । आयातकर्ता, डिष्टिव्युटर्स, बैंक र फर्महरू मिलेर चाँदीमा चलखेल गर्ने गरेको सुनचाँदी व्यवसायीको आरोप छ । ती व्यापारीका अनुसार, ‘आयातकर्ता, डिष्टिव्युटर्सहरूले नै आफन्तको नाममा फर्म दर्ता गर्ने, चाँदी लिने र मनपरी ढंगले बेच्ने गरेका छन् । उनीहरूको सुन–चाँदी पसल पनि हुँदैन । आवश्यकता भन्दा बढी परिमाणमा मगाउँछन् र भारततिर तस्करी गराउँछन् ।’

नेपाल सुन–चाँदी व्यवसायी संघका उपाध्यक्ष शिव सर्राफ देशमा आवश्यकता भन्दा धेरै नै बढी चाँदी भित्रिरहेकोले आयातकर्तालाई कोटा तोक्नुपर्ने बताउँछन् । उनले भने ‘सुन–चाँदी व्यवसायी संघ मार्फत जिल्लाको खपत अनुमान गर्न सकिन्छ ।’

नेपालले आर्जन गरेको वैदेशिक मुद्रा अर्थतन्त्रको च्यानलमा नआई बाहिर बाहिरबाटै पलायन हुनुले नेपालको अर्थतन्त्रमा ठूलो असर पार्ने अर्थशास्त्री डा.अच्युत वाग्ले बताउँछन् । वाग्लेका विचारमा, यस्ता वस्तुको पलायनले विदेशी मुद्रा सञ्चयमा ठूलो असर पर्छ भने अर्कोतर्फ अपराध उन्मुख अनौपचारिक अर्थतन्त्र फस्टाउँदै जान्छ ।

‘बहुमूल्य धातु पैसा बराबर नै हो । यस्तो कार्यले अनौपचारिक अर्थतन्त्र मौलाउन, करको दायरामा नभएका मान्छेको संख्या बढ्न र अपराध उन्मुख अर्थतन्त्र मौलाउँछ’ डा. वाग्ले भन्छन् । सुनको तुलनामा चाँदीको तस्करीबाट उल्लेख्य नाफा नहुने भए पनि यसमा ठूला भन्दा पनि साना तस्कर सहभागी भएको हुनसक्ने उनको आकलन छ । वाग्ले भन्छन्, ‘यसले तस्करी भयो भन्ने मात्रैमा होइन, नेपालमै अवैध सम्पत्ति लुकाउन पनि चाँदीमा लगानी भएको हुनसक्छ । त्यसैले यसमा अनुसन्धान हुनुपर्छ ।’

(प्रदेश–२ बाट सुरेश बिडारीको सहयोगमा ।)



source https://www.onlinekhabar.com/2021/11/1032763

‘चाँदीको गडबडीमा स्वतन्त्र अनुसन्धान हुनुपर्छ’

नेपालमा चाँदी गहनाका रूपमा भन्दा पनि सजावटको वस्तुको रूपमा बढी मात्रामा खपत हुने गरेको छ । नेपाली उपभोक्ताहरू बरु नक्कली नै भए पनि सुन लगाउने तर चाँदीको गहना नलगाउने प्रवृत्तिका छन् । त्यसैले यहाँ निकै थोरै मात्रामा गहना र त्यो बाहेक सजावटका वस्तु र हस्तकलामा चाँदीको खपत हुने गरेको छ ।

नेपाल हस्तकला महासंघ र सुन-चाँदी व्यवसायी महासंघको हिसाबलाई हेर्ने हो भने नेपालमा औसत दैनिक १०० देखि बढीमा ३०० किलोसम्म मात्रै चाँदीको खपत रहेको हाम्रो वर्षौंको अनुभवले भन्छ । तिहारको मुखैमा अलि धेरै मात्रामा चाँदीको खपत हुन्छ त्यो बाहेक चाँदीको खपत अत्यन्तै न्यून छ ।

अझ पछिल्लो तीन वर्षलाई हामीले हेर्ने हो भने कोभिडका कारण बजार ठप्प छ । यस्तो बेलामा चाँदीको खपत कति थियो भन्नलाई सामान्य अवस्थाको मागको अनुमान समेत गलत हुन सक्छ । यो भनेको महामारीको समयमा चाँदीको खपत निकै नै कम छ ।

तर, अचम्म बजारमा खपत कम आयात भने उच्च छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघमा आएको विवरण अनुसार नेपालमा अहिले दैनिक चारदेखि पाँच हजार किलोसम्म चाँदीको आयात छ । दैनिक खपत १०० देखि ३०० किलोसम्म हुने तर आयात चार-पाँच हजार किलो हुनुले यहाँ ठूलो ‘ग्याप’ देखिन्छ । यो खोजीको विषय हो । हिजो आजको मात्रै होइन केही वर्षदेखिका विवरण हेरेर सरकारले खोजी गर्नुपर्छ ।

नेपालमा २०५६ सालअघि सुन र चाँदीको कारोबार अवैध थियो । तत्कालीन अर्थ राज्यमन्त्री रूप ज्योतिको पालामा सुन र चाँदीको आयात जसले पनि गर्न पाउने कानून आयो । त्यसपछि पनि यो व्यवसाय सङ्लो भएन ।

२०६६ सालमा पनि सरकारले सुन र चाँदीमा कोटा प्रणाली लागू गर्‍यो । सुनको कोटामा खासै विरोध नभए पनि चाँदीमा लगाइएको कोटा प्रणालीबारे व्यवसायीले आन्दोलन गरेपछि सुनमा कोटा यथावत् राखियो भने चाँदी जसले पनि आयात गर्न सक्ने गरी खुला गरियो । त्यसपछि सुन-चाँदी व्यवसायी महासंघ आबद्ध व्यक्तिबाट चाँदी आयात भएन ।

चाँदीको अवैध कारोबार रोकेर, सुनमा लगाउन सकिए पनि हुन्थ्यो वा सरकारले अन्यत्रै त्यो पैसा जोहो गरेर पनि खर्च गर्न सक्ने थियो । सुन व्यवसायीले जसरी देशका लागि राजश्व, रोजगारी सिर्जना गर्न र आयकर मार्फत देशलाई योगदान गरेका छन् चाँदीको अदृश्य कारोबारमा यो पक्कै हुन्न नै

केही मात्रामा चाँदीको आयात हस्तकला महासंघबाट हुन्छ भने बाँकी ठूलो परिमाणको चाँदी आयातमा अन्य व्यवसायीहरू सामेल भए । हामी ठोकुवाका साथ भन्न सक्छौं यसमा सुन-चाँदी व्यवसायी महासंघ बाहिरका मानिसको संलग्नता छ ।

हामीले चाँदी किन्ने पनि अन्य व्यवसायीहरू सँगै नै हो । हामीलाई चाहिएको बेलामा चाँदी महँगोमा उनीहरूले बिक्री गर्छन् । चाँदी जसले आयात गर्ने भए पनि यो खरीद प्रक्रिया सरकारी निकायको प्रणालीमै आधारित छ । राष्ट्र बैंकले बैंकहरूलाई दिएको एलसी प्रक्रियाबाटै चाँदी खरीद शुरू हुने हो र चाँदी भन्सार भएरै आउने हो ।

त्यसैले कुन व्यापारीले कुन बैंक मार्फत एलसी खोलेर कति चाँदी आयात प्रक्रिया थालेको छ र चाँदी कहाँ बिक्री भइरहेको छ भन्ने कुरा भन्सार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई राम्ररी जानकारी हुनुपर्छ । यो सूचना सरकारी प्रणालीमा छैन भने बैंकबाट एक मिनेटमै राष्ट्र बैंकले सबै विवरण लिन सक्छ ।

महासंघमा पनि नेपालको तराईका जिल्लाहरूमा पुगेको चाँदी बोर्डर तर्छन् भन्ने गुनासाहरू छन् । तर हामीले यसलाई पुष्टि गर्ने आधारहरू पाएका छैनौं । यहाँ चाँदी आउने, खपत नहुने तर मौज्दातमा पनि नहुने भनेको त चाँदी यत्तिकै नहराउनुपर्ने हो । हराएको हो भने सरकारले खोजी गर्नुपर्छ ।

नेपाल आइसकेपछि सुन वा चाँदी जस्ता बहुमूल्य धातु, कच्चा पदार्थ वा ढिक्का रूपमा अन्यत्र निर्यात गर्न पाइँदैन । सजावटका वस्तु वा गहनाको रूपमा केही मात्रामा हस्तकलाले चाँदी निर्यात गर्छ । निर्यातका लागि सरकारले छुट्टै अनुमति दिएको छ ।

नेपालको ढुकुटीको डलर सञ्चितिबाट ल्याइएको चाँदी अनौपचारिक क्षेत्रमा गयो भने त यसको सीधा असर अर्थतन्त्रमा पर्छ । नेपालको बजारमा सुन-चाँदी व्यवसाय गर्ने उपभोक्ता र व्यवसायीलाई सुन पुगेको छैन तर भारत तस्करी हुने चाँदीमा ठूलो रकम बाहिरिएको छ ।

चाँदीको अवैध कारोबार रोकेर, सुनमा लगाउन सकिए पनि हुन्थ्यो वा सरकारले अन्यत्रै त्यो पैसा जोहो गरेर पनि खर्च गर्न सक्ने थियो । सुन व्यवसायीले जसरी देशका लागि राजश्व, रोजगारी सिर्जना गर्न र आयकर मार्फत देशलाई योगदान गरेका छन् चाँदीको अदृश्य कारोबारमा यो पक्कै हुन्न नै ।

नेपालले आर्जन गरेको डलरबाट चाँदी ढिक्का किनिन्छ, ढिक्का नै बाहिर जान्छ । यसले अर्थतन्त्रमा क्षय गर्छ । चाँदीमा कडाइ गर्दा तीन अर्ब मात्रै जोगाउन सकियो भने त्यो रकम त जहाँ खर्च गरे पनि हुन्छ । यस्तो चाँदीको कारोबारलाई तत्काल बन्द गर्नुपर्छ ।

राष्ट्र बैंकले पनि चाँदीको खुल्ला आयातबारे सुन-चाँदी व्यवसायीलाई सोधपुछ गरेर चाहिने परिमाण मात्रै आयात गर्ने वातावरण बनाउनुपर्छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक सचेत हुनुपर्छ । चाँदीको कारोबारमा स्वतन्त्र अनुसन्धान गरिनुपर्छ, अर्थ मन्त्रालय र राष्ट्र बैंक मौन बस्न मिल्दैन ।

(नेपाल सुन-चाँदी व्यवसायी महासंघका महासचिव बज्राचार्यसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2021/11/1032748

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

१५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो ।

त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् ।

क्यानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै ६० जनाको आवेदन प्राप्त भएको जनाएको छ । साथै आवेदकमध्येबाट सर्टलिस्ट छनोट गरेर छिटै अन्तर्वार्ता लिने पनि क्यानले जनाएको छ ।

‘राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जनाको आवेदन प्राप्त भएको छ । क्यानले गठन गरेको छनोट समितिले केही दिनभित्रै सर्टलिस्टेड आवेदकहरूको अन्तर्वार्ता लिनेछ,’ क्यानले विज्ञप्तीमा जनाएको छ ।

गत पुस नेपालको प्रशिक्षक नियुक्त भएका वाटमोरले आफ्नो समय बाँकी छँदै पारिवारिक कारण भन्दै क्यानसमक्ष राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन बनेको थियो ।

वाटमोरको प्रशिक्षणमा नेपालल ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसयता नेपाली टिमले प्रशिक्षण पनि गरेको छैन ।।



source https://www.onlinekhabar.com/2021/11/1032753

राष्ट्रपतिको आगमनले स्याउ खेतीमा ऊर्जा मिलेको छ : सांसद गुरुङ

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी निजी भ्रमणको क्रममा स्याउ फार्म अवलोकन गर्न आज मनाङ जाँदैछिन् । सांसद पाल्देन छोपाङ गुरुङको मनाङ एग्रो स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गर्न आउने जानकारी पाएपछि आफूलाई गर्व लागेको सांसद गुरुङले बताए । उनले भने, ‘अहिलेसम्म कुनै पनि राष्ट्रपति मनाङ आउनु भएको थिएन । आज नेपालको पहिलो महिला राष्ट्रपतिज्यू मेरो स्याउ फार्म अवलोकन गर्न आउँदै हुनुहुन्छ, म अत्यन्त खुसी छु, गर्व महसुस भइरहेको छ ।’

सांसद गुरुङले मनाङको मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ को भ्राताङमा ७३३ रोपनी जग्गामा स्याउ खेती गरेका छन् । यसैगरी एयरपोर्ट नजिक ४ सय रोपनी जग्गामा फैलिएको स्याउ फार्म पनि छ । भ्राताङमा आफ्नो एकल लगानी भए पनि एयरपोर्ट नजिकको फार्ममा भने ४५ जना साझेदार रहेको उनले सुनाए ।

सांसद गुरुङले भने- राष्ट्रपति ज्यूको आगमनबाट मलाई थप ऊर्जा मिलेको छ, यो भ्रमणले आयात प्रतिस्थापनमा सहयोग गर्न फलफूल किसानहरुलाई प्रेरणा मिल्छ भन्ने मलाई विश्वास छ ।

स्याउ फार्ममा अहिलेसम्म साढे १७ करोड रुपैयाँ खर्च भइसकेको बताउँदै उनले भने, ‘हाम्रो खर्चको लक्ष्य २३ करोडसम्म छ ।’ दक्षिण एसियाकै ठूलो स्याउ फार्म दाबी गरिएको उनको फार्ममा हिमाली प्रोजेक्टले सहयोग गरेको छ । फुजी, गाला र गोल्डेन जातका स्याउ खेती गरेको उनले जानकारी दिए ।

उनले स्याउ फार्म सुरु गरेको साढे पाँच वर्ष भयो । अहिले साढे ६ लाख किलो स्याउ उत्पादन भइरहेको उनले सुनाए । ‘यहाँबाट २१ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य छ,’ उनले अनलाइनखबरसँग भने, ‘अलि धेरै स्याउ फलायो भने विदेश पनि निर्यात गर्न सकिन्छ ।’

राष्ट्रपतिको आगमनबाट स्याउ किसानहरुले गरेको मिहिनेतमा थप ऊर्जा मिलेको सांसद गुरुङले बताए । नेपालमा वाषिर्क १३ अर्बभन्दा बढीको स्याउ आयात हुने गरेको अनुमानित तथ्यांक सुनाउँदै उनले भने, ‘राष्ट्रपति ज्यूको आगमनबाट मलाई थप ऊर्जा मिलेको छ, यो भ्रमणले आयात प्रतिस्थापनमा सहयोग गर्न फलफूल किसानहरुलाई प्रेरणा मिल्छ भन्ने मलाई विश्वास छ ।’ उनले किसानहरुलाई अनुदान लगायत थप प्रेरणामुलक सहयोग गरोस् भन्ने चाहेको उनले बताए ।

मनाङ जनसंख्या भएको जिल्ला भएकाले स्थानीय कामदार पाउन समस्या भएको उनले सुनाए । जिल्ला बाहिरबाट कामदार ल्याउनुपरेको उनले बताए । प्रायजसो गोर्खा, मकवानपुर, धादिङ, नुवकोट लगायत जिल्लाबाट कामदार ल्याउने गरेको उनले बताए ।



source https://www.onlinekhabar.com/2021/11/1032736

मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् ।

आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए । २०७८ कात्तिक ७ गते महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको ०७८–डब्लुओ–०४६६ नम्बरको रिट निवेदन महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको हो र त्यो मुद्दा सैनिक अदालतको क्षेत्राधिकारसँग जोडिएको विषय हो ।

प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा एकैचोटी कात्तिक १२ गते दर्ता भएको ०७८–डब्लुओ–०५०० नम्बरको दोस्रो मुद्दा दर्ता गरे । जुन मुद्दा उच्च अदालत पाटनको आदेश विरुद्ध भेषराज लोहनीले दर्ता गरेका थिए ।

न्यायाधीशहरु छानेर मुद्दा तोक्ने प्रवृतिलाई ‘बेञ्च सपिङ’ भनिन्छ । अहिले प्रधानन्यायाधीश जबराको कार्यशैलीमाथि प्रश्न उठ्नुको प्रमुख कारणमध्ये यो पनि एक हो

दुवै मुद्दा प्रधानन्यायाधीश जबराले सुनुवाई गर्नका लागि अनुकूल थिए । पहिलो मुद्दा महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेका कारण सुनुवाइका लागि आन्दोलनरत कानून व्यवसायी आवश्यक पर्ने थिएन । प्रधानन्यायाधीश जबराले सरकारी वकिलहरुको एकतर्फी सुनुवाइबाट अन्तरिम आदेश पनि जारी गरे । अर्को मुद्दामा नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले वकालतनामा भरेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षधर भनेर चिनिएका उनी बारले अहिले शुरु गरेको आन्दोलनमा फरक मत राखेका छन् र आफू नियमित बहसपैरवीमा जाने घोषणै गरेका छन् । त्यही रणनीति बुझेका प्रधानन्यायाधीश जबराले पोखरेलले वकालतनामा भरेको मुद्दा आफ्नै इजलासमा राखे र प्रारम्भिक सुनुवाइपछि हेर्दाहेर्दै भनी सोमबारको तारिख तोकेका छन् ।

त्यसको अर्थ सोमबार (आज) पनि उनले आफ्नो एकल इजलास गरेर आफ्नो इजलासमा बहस गर्न आउने कानून व्यवसायीहरुका मुद्दालाई प्राथमिकता दिनेछन् भन्ने देखिन्छ । कात्तिक ७ गतेबाट एकैचोटी १२ गते दर्ता भएको मुद्दाको पेशी तोकेका उनले विचको अवधिका निवेदनहरु भने अरु न्यायाधीशको इजलासमा राखेर ‘पिक एण्ड चुज’ गरी पेशी व्यवस्थापन गरे । न्यायाधीशहरु छानेर मुद्दा तोक्ने प्रवृतिलाई ‘बेञ्च सपिङ’ भनिन्छ । अहिले प्रधानन्यायाधीश जबराको कार्यशैलीमाथि प्रश्न उठ्नुको प्रमुख कारणमध्ये यो पनि एक हो ।

‘त्यसैका लागि उहाँले अरु तीनजना न्यायाधीशको एकल इजलासको पेशी तोक्नुभएको हो,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘ती न्यायाधीशको मुद्दामा आन्दोलनरत कानून व्यवसायीहरुले वकालतनामा भरेका र पेशी तोके पनि सुनुवाइ हुन नसक्ने प्रकृतिका मुद्दा थिए । प्रधानन्यायाधीशज्यूले अर्कैकोमा राखेर आफ्नो पक्षमा रहेका कानून व्यवसायीहरुको मुद्दा मात्रै आफ्नो इजलासमा पेशी तोकेर अघि बढाउन खोजेको देखिन्छ ।’

भदौं १७ गते पेशी तोक्न आफूले अपनाएको तौरतरिकालाई प्रधानन्यायाधीश जबराले आइतबार पनि दोहोर्याएका हुन् । त्यो दिन उनले अधिवक्ता गणेश रेग्मीको निवेदन सुनुवाइका लागि अनुकूल हुनेगरी चारवटा फरक एकल इजलास गठन गरेका थिए । अनि तीनवटा मुद्दामात्रै पेशी तोकेर न्यायाधीश हरि फुयालको इजलास गठन गरेका थिए । जसका कारण रेग्मीको निवेदनको सुनुवाइमा सहज भयो र संवैधानिक इजलासमाथि एकल इजलासले अन्तरिम आदेश दियो ।

उस्तै प्रकृतिका एकभन्दा बढी एकल इजलास गठन गर्ने र आफ्नो अनुकूलको मुद्दा कुनै न्यायाधीशलाई तोक्ने प्रवृत्तिमाथि केही साता अघिमात्रै पूर्वन्यायाधीशहरुले विज्ञप्तिमार्फत आलोचना गरेका थिए । विज्ञप्तिमार्फत पूर्वन्यायाधीश फोरमले भनेको थियो, ‘भाद्र १७ गते नै एक न्यायाधीशको इजलास रहेको ३ वटा इजलास गठन हुनु, एउटामा १६ थान, अर्कोमा ९ थान र तेस्रोमा ३ थान मात्र निवेदन तोकिनु र ३ थान निवेदन तोकिएकोमा न्यायिक काम कारवाई रोक्ने निवेदन पर्नु….अन्तरिम आदेश जारी हुनु र भाद्र १८ को कजलिष्टबाट उक्त मुद्दा हटाइनुले न्यायिक विचलन, विकृति र विसंगतिको पराकाष्टाको नमूना प्रस्तुत भएको छ ।’



source https://www.onlinekhabar.com/2021/11/1032732

कर्णालीका ३ मन्त्री आज पदमुक्त हुँदै

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ ।

सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन् ।

तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा (एमाले)का सांसद हुन् । पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिए ।

त्यसलगत्तै मुखयमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरूले सांसद पद गुमाए ।

प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए । उनीहरू तीनै जना हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

मन्त्री थापा नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा (एकीकृत समाजवादी)को प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप-महासचिवको जिम्मेवारीमा छन् ।

तीन मन्त्रालय नछोड्ने एकीकृत समाजवादीको निर्णय

कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल छ । तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पनर्गठन हुनेछ ।

आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

‘आज (सोमबार) कानूनत: उहाँहरू (तीनजना मन्त्री) सरकारबाट बाहिरिनुहुन्छ । र, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नछाड्ने निर्णय गरिसकेको छ,’ सांसद देवी ओलीले भनिन्, ‘कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने त कुरा फाइनल भएको छैन् ।’

तीन जना मन्त्री पदमुक्त भएपछि उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा छलफल भइरहेको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका तीन जना मात्र सांसद छन् ।

सम्भवत: उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ । आइतबार यसबारे छलफल गर्न बसेको  एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे छलफल चलेको बताइन्छ ।

आफ्नै पार्टीका सांसद चन्द्रबहादुर शाहीको नेतृत्वमा देवी ओली र पदमबहादुर रोकायालाई सरकारमा पठाउनेबारे छलफल भएको बैठकमा सहभागी सांसद ओलीले बताइन् ।

कात्तिक १५ गते नै मुख्यमन्त्रीसमेत फेरबदल हुने कुराले पनि प्रदेशको राजनीति तरङ्गति छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको आधारमा कात्तिक १५ पछि मुख्यमन्त्री शाहीले सत्ता छाड्नुपर्ने कांग्रेसको तर्क छ ।

कांग्रेस नेता शाही कात्तिक १५ पछि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि यसबारे केन्द्रीय गठबन्धनले निर्णय गर्ने माओवादी केन्द्रका नेताहरूको भनाइ छ । केन्द्रीय गठबन्धनले भने कर्णाली प्रदेश सरकारको नेतृत्वका बारेमा ठोस निर्णय भने गरिसकेको छैन ।



source https://www.onlinekhabar.com/2021/11/1032723

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिंदै, नयाँ सरकार गठनको तयारीमा गठबन्धन

१५ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् ।

साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन एक ढिक्का भए विश्वासको मत पाउदैनन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

गत भदौं १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर काङ्ग्रेसभित्रको किचलोका कारण बैठक आजसम्मका लागि सरेको थियो ।

गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले बताए ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने आइतबार नै निर्णय गरिसकेको छ ।

आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।

नयाँ सरकार गठनका लागि दाबी गर्न आजै ५० जना सांसदको हस्ताक्षर संकलन गर्ने गठबन्धनको तयारी छ । नेकपा एसका नेता राईले संविधानको धारा १६८(२) अनुसार सरकारमा दाबी गर्न गठबन्धनका सांसदको हस्ताक्षर संकलन गरिने बताए ।

गठबन्धनले आचार्यको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीको रुपमा राईलाई अघि सार्ने निर्णय गरे पनि सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा छलफल गरेको छैन । नयाँ सरकार गठनको प्रकृया सुरु भएपछि मन्त्रालय बाडफाडका विषयमा छलफल हुने नेकपा -माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

राजीनामा आउने सम्भावना

विश्वासको मत नपाउने अवस्था आएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने सम्भावना छ ।

नेकपा एमालेका एक सांसदका अनुसार बैठकअघि वा बैठकबाटै राजीनामा दिने सम्भावना छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि अन्तिम समयमा राजीनामा दिएपछि मत विभाजन भएको थिएन ।

प्रदेश १ मा पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले राजीनामा आउने सम्भावना रहेको ती नेताको भनाइ छ । मुख्यमन्त्रीका निजी सचिव अनिल राज धामीले भने राजीनामा दिने विषयमा जानकारी नभएको बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने बताए । मुख्यमन्त्रीले विश्वासको मत पाउने बताउँदै उनले नपाएको अवस्थामा राजीनामा विकल्प रहेको बताए ।



source https://www.onlinekhabar.com/2021/11/1032721

जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

१५ कात्तिक, वीरगञ्ज । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पर्साको पटेर्वासुगौली गाउँपालिका-१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार मनहरीबाट चार जना जंगलको बाटो हुँदै पर्सा आइरहेका थिए । जंगली हात्तीलाई देखेपछि उनीहरू भागेका थिए । सोमबहादुर भाग्न सकेनन् । उनलाई हात्तीले आक्रमण गर्‍यो । भागेर घर पुगेकाहरू भोलिपल्ट सोमबहादुरलाई खोज्दै आए । उनी खोलाको बगरमा मृत भेटिए । पुनः घर फर्केर गई उनीहरूले वडाध्यक्षमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । रातिको समयमा जंगलको बाटो उनीहरू किन आए भन्ने खुलेको छैन ।

मकवानपुरको मनहरी हुँदै जंगलको बाटो पर्साको पटेर्वासुगौलीमा रातिको समयमा अवैध लागूऔषध गाँजाको तस्करीसमेत हुने गरेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1032718

स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जाँदै

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ जाँदैछिन् ।

राष्ट्रपति भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् ।

एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो फार्मको अवलोकन तथा उद्घाटन गरेका थिए । फार्म सञ्चालक गुरुङ एमालेबाट निर्वाचित सांसदसमेत हुन् ।

राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1032715

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल चयन

१५ कात्तिक, बार्सिलोना । अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी ब्यबसायी खरेल पुन: निर्विरोध निर्वाचित भएका हुन् ।

समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनबाट उपाध्यक्षहरूमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) चयन भएका छन् । महासचिवमा मोहन बिष्ट(यूएसए), कोषाध्यक्षमा यम श्रेष्ठ(दक्षिण कोरिया) र सचिवमा सिरी सत्याल(दक्षिण कोरिया) निर्वाचित भएका हुन्।

यस्तै,मध्यपूर्व क्षेत्रीय संयोजकमा दिलकुमार लामा (युएई), यूरोप क्षेत्रीय संयोजकमा कान्छाराम बुढाथोकी(यूके), अमेरिका क्षेत्रीय संयोजकमा नवीन सापकोटा(यूएसए), एशिया प्रशान्त क्षेत्रिय संयोजकमा प्रमोद खतिवडा (अष्ट्रेलिया) र अफ्रिका क्षेत्रिय संयोजकमा चिरञ्जिीवी थापा(सिसेल्स) चयन भएका छन्। समाजको कार्यसमितिका सदस्यहरुमा विजय बस्नेत(अष्ट्रेलिया), अशोक उप्रेती(इटाली) र उद्धवराज गौतम(बेल्जियम) रहेका छन्।

निर्वाचन संयोजक एवं काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रह्लाद केसीले पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिको रुपमा लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीले विदेशमा काभ्रेलीहरुले संस्थाको माध्यमबाट गृह जिल्लामा धेरै खालका सहयोग पुर्याएकोमा खुशी ब्यक्त गरे। उनले कोभिड-१९ संक्रमण फैलिएको बेलामा जिल्लामा समाजले पुर्‍याएको सहयोग प्रसंशायोग्य रहेको बताए ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल,चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल,नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशका सदस्य कैलाश पलाञ्चोके लगायतयले नयाँ निर्वाचित कार्यसमितिलाई शुभकामाना व्यक्त गरे।

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका संस्थापक अध्यक्ष कपिलदेव थापाले संस्थाको स्थापनाको माध्यमबाट विदेशी मुलुकमा रहेका काभ्रेलीहरुलाई संगठित गर्न सकिएको र जिल्लावासीको दुःख सुखमा सहयोग गर्न सकिएकोमा खुशी ब्यक्त गरे।

विदेशमा बस्ने काभ्रेलीहरुको तथ्याङ्क खोज्छौं : अध्यक्ष खरेल

नवनिर्वाचित अध्यक्ष खरेलले बिदेशमा रहेका काभ्रेलीहरुको यकिन तथ्याङ्कबारे आफूहरुले अध्ययन गर्ने बताएका छन्। ‘विश्वभरका काभ्रेलीहरुको खोजि अभियान सम्बृद्व काभ्रेपलाञ्चोक हाम्रो पहिचान’ भन्ने हाम्रो मूलमत्र नै भएकाले हामी डाटा संकलन अभियानको सुरुआत गर्दैछौं,’ अध्यक्ष खरेलले भने। सो अभियानलाई सफल पार्न महादेशस्तरीय रुपमा क्षेत्रीय संयोजकको व्यवस्था गरेको उनले बताए ।

काभ्रेपलाञ्चोकका मेयरहरुसँग पनि अधिवेशनमा ब्यापक छलफल गरेको बताउँदै खरेल भने, ‘विश्वभर रहेका सुन्दर सहरहरूसँग जिल्लाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्न पनि पहल गर्नेछौं।’ कम्तिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गर्ने उनले बताए।

सात काभ्रेलीलाई समाजको सम्मान

दोस्रो महाधिवेशनकै अवसरमा जिल्लामा रहेर विभिन्न बिधामा उल्लेखनीय योगदान गर्ने सात व्यक्तित्वहरुलाई समाजले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले उनीहरूलाई सम्मानपत्रसहित अभिननन्दन गरेका हुन्।

सम्मानित हुनुहुनेहरूका साहित्य विधातर्फ प्राज्ञ डा. गीता त्रिपाठी, कला-संस्कृति विधातर्फ चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल, सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, खेलकुद विधातर्फ एनआरएनए स्पोर्ट्स कोअर्डिनेटर राजन खत्री, स्वास्थ्य विधातर्फ अन्तर्राष्ट्रिय रक्तदाता अर्जुन मैनाली, महिला कृषि उद्यमशीलतातर्फ झ्यम्भल कृषि फर्म लघु उद्यमकी सञ्चालक कमला लामा र समाजसेवातर्फ बौद्धिक अपाङ्गता पुनर्स्थापना केन्द्रकी सचिव सुधा सिलवाल रहेकी छिन् ।



source https://www.onlinekhabar.com/2021/11/1032709

मेस्सीले भने- म बार्सिलोनामै फर्किन चाहन्छु

१५ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् ।

प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् ।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।

‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’



source https://www.onlinekhabar.com/2021/11/1032710

एकीकृत समाजवादी खोटाङ इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई

१५ कातिक, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो ।

जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उनले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गरेका हुन् ।

पचपन्न सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उपसचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन् । जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको जनाइएको छ ।

बैठकले जिल्लाका दशवटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए । उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सहइन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सहइन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सहइन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सहइन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सहइन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सहइन्चार्ज पेशल गुरागाईं, साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सहइन्चार्जमा शिवेन्द्रकुमार राई चयन भएका छन् ।

यस्तै ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सहइन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सहइन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा ईश्वर श्रेष्ठ र पछि राख्ने गरी सहइन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले)मा हुँदा जोडेका सम्पत्तिका बारेमा तपाईंहरूको दाबी रहन्छ कि रहन्न ? भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले जानकारी दिए ।

“एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ”, उहाँले भने, “केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।”



source https://www.onlinekhabar.com/2021/11/1032707

प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, आजै कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

१५ कात्तिक, स्टकल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार र मंगलबार (यही नोभेम्बर १ र २) मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वर्ल्ड  लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइगेका हुन् ।

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् ।

भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप-२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।



source https://www.onlinekhabar.com/2021/11/1032705

सामलिङ्ग पावरको आईपीओ करिब २२ लाखले नपाउने

१५ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ ।

कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो । कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका लागि शेयरमा सर्वसाधारणले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा ३९.६७ गुणा धेरै अर्थात २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो ।

दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २१ लाख ९७ हजारले शेयर हात पार्ने छैनन् ।



source https://www.onlinekhabar.com/2021/11/1032703

Saturday 30 October 2021

कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन, सर्वोच्च परिसरमा कडाइ

१४ कात्तिक, काठमाडौं । कानून व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । सुरक्षाकर्मीहरुको गाडी सर्वोच्च भित्र र बाहिर तम्तयार अवस्थामा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतका कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्दैछन् । कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत कानून व्यवसायीहरु नेपाल बारको कार्यालयबाट सर्वोच्च अदालत परिसरतर्फ लागेका छन् ।

एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2021/10/1032141

यू-२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै

१४ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ : ४५ बजे सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो नतिजासहित सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल यसअघि इरानसँग ४ – ० र ताजिकिस्तानसँग ६-० ले पराजित हुँदै छनोटबाटै बाहिरिसकेको छ ।

लेबनान पनि यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइसमेत हुनेछ ।

नेपाल र लेबनान अंकविहीन छन् । ताजिकिस्तान र इरान समान ६ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छ । यी दुई टोलीबीचको खेल पनि आजै हुँदैछ । जित्ने टिम अर्को वर्ष हुने यू-२३ एसिया कपमा छनोट हुनेछ ।

छनोटमा रहेका ११ समूहका विजेता र उत्कृष्ट चार उपविजेता यू-२३ एसिया कपमा छनोट हुनेछन् ।



source https://www.onlinekhabar.com/2021/10/1032135

डडेल्धुरामा बस दुुर्घटना, १० जना घाइते

१४ कात्तिक, धनगढी । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका-१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनकाअनुसार बसमा ३२ जना सवार थिए ।

सडकबाट करिब १५० मिटर तल खसेको बसको दुुर्घटनाको कारण भने खुुलेको छैन । दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1032133

इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् ।

टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

तर सरकारी प्रवक्ताले डेस्सी शहर अझै पनि सेनाको नियन्त्रणमा रहेको भन्दै विद्रोहीको दाबी खण्डन गरेका छन् ।

शनिबार डेस्सीका बासिन्दाले भिषड लडाइँ र बिजुली आपूर्ति बन्द भएपछि सरकारी सेना पछि हटेको एएफपीलाई जनाएका थिए ।

‘शुक्रबार दुई बजेतिर सरकारी सेना उक्त क्षेत्रबाट पछि हट्न सुरु गरेको थियो’, डेस्सीका अमिर भन्ने एक स्थानीयले भने । त्यस्तै अर्का एक स्थानीयका अनुसार विद्रोहीहरू प्रवेश गर्न थालेपछि इथियोपियाको राष्ट्रिय सेना शहर छोडेको छ र सरकारी सेनाको उपस्थिति कतै पनि देखिँदैन ।

विद्रोही समूह टिगेर पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) ले सेटसाइट फोनमार्फत् रोइटर्ससँग कुरा गर्दै सरकारी फौजलाई आफूहरुले धपाएको र विद्रोहीहरु कोम्बोल्चा शहरतर्फ अघि बढिरहेको बताएका छन् । केही सरकारी सेना विद्रोहीको कब्जामा रहेको पनि उनको भनाइ छ ।

तर सरकारका प्रवक्ता लेगेस्से टुलुले विद्रोहीको दाबीलाई ‘सुनियोजित प्रचारबाजी’ भन्दै अस्वीकार गरेका छन् । डेस्सी शहर अझै पनि सरकारी सेनाको नियन्त्रणमा रहेको उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/10/1032130

अर्बौंको बुद्धमूर्ति यसरी भित्र्याइयाे नेपाल

१४ कात्तिक, बार्सिलोना । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मूल्य बराबरको बुद्धमूर्तिले अहिले चर्चा पाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने यो मूर्तिबारे सर्वसाधारणलाई मात्रै होइन बुद्ध दर्शनसँग नजिक रहेका र राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि चासो छ ।

स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले बुद्धमूर्तिलाई निःशुल्क रुपमा नेपाल भित्राउन पहल गरेको हो । बहुमूल्य बुद्धमूर्ति नेपाल भित्राउने परिकल्पना कहाँबाट सुरु भयो त ? बुद्धमूर्ति नेपाल भित्राउने योजना कसरी बन्यो ? के नेपालमा मात्रै बहुमूल्य बुद्धमूर्ति भित्रिएको हो ? यी सबै जिज्ञासाहरु स्पेनमा बन्दै गरेको लुम्बिनी गार्डेन प्रोजेक्टसँग जोडिएका छन् ।

क्याथेरसमा बन्दै गरेको लुम्बिनी गार्डेन

स्पेनको राजधानी मड्रिडदेखि झन्डै तीन सय किलोमिटर टाढा एक्स्त्रेमादुरा प्रदेशमा क्याथेरेस नामको सहर छ । विश्व सम्पदा सूचीमा सूचीकृत यो सहर अर्को युरोपेली मुलुक पोर्चुगलको राजधानीबाट पनि त्यति नै नजिकको दूरीमा पर्दछ । ४० मिटर अग्लो बुद्धको मूर्तिसहित सोही सहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि बढेको छ । झन्डै १० अर्ब रुपैयाँ खर्च लाग्ने महत्वाकांक्षी योजना स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले अघि सारेको हो ।

‘महत्वपूर्ण कुरा भनेको गार्डेन निर्माणका लागि जमिन प्राप्त गर्नु हो । हामीलाई स्पेनको केन्द्रीय तथा प्रदेश सरकारले पूर्ण सहयोग र समर्थन गरेको छ । अबको दुई वर्षमा शिलान्याससँगै निर्माणको काम थाल्ने छौं,’ फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभाले अनलाइनखबरसँग भने, ‘अबको १० वर्षभित्रमा स्पेनमा यो परियोजना निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

क्याथेस सहरमा एक्स्त्रेमादुरा प्रदेश सरकारले सो गार्डेन बनाउन १०७ हेक्टर जमिन उपलब्ध गराएको छ । यसअघि लुम्बिनी गार्डेन स्पेनको राजधानी म्याडि्रडमा नै बनाउने तय भएको थियो । तर विविध कारणले एक्स्त्रेमादुरा प्रदेशमा निर्माण गर्ने निर्णय भयो ।

गत वैशाखमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली टोलीले स्पेनको भम्रण गरेको थियो ।

बुद्ध स्थल लुम्विनी क्षेत्रका लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम नगरपालिकाका मेयरहरु पनि भ्रमणमा सहभागी थिए । उनीहरुले आ-आफ्नो नगरको माटो स्पेनमा ल्याए । क्याथेरस नगरको माटोसँग बुद्ध स्थल लुम्विनी क्षेत्रको माटो मिश्रण गरियो । मिश्रित माटोमा पिपलको रुख रोप्दै लुम्बिनी गार्डेन परियोजनाको शुभारम्भ भइसकेको छ । यी नगरहरुबीच भगिनी सम्वन्ध पनि कायम भएको छ ।

लुम्बिनी गार्डेनभित्र बुद्ध लगायत नेपालको पहिचान झल्कने सम्पदा बन्ने फाउन्डेसनले जनाएको छ । त्यो अलवा म्यानमार, चीन, थाइल्याण्ड, श्रीलंका लगायत देशका मौलिक कलाकृति झल्कने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण हुनेछन् । ती कक्षहरु निर्माण गर्न बौद्धधर्मप्रति आस्था राख्ने संघसंस्था तथा व्यक्तिहरुबाट परियोजनाको लागि आर्थिक सहयोग प्राप्त हुने फाउन्डेसनले जनाएको छ ।

क्याथेरेस सम्मेलनबाट बन्यो बुद्धमूर्ति नेपाल भित्राउने योजना

स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको देशबाट सदैब हातेमालो र सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । क्याथेरेस सहरमा गार्डेन बनाउने योजनामा सहयोग पुर्याएकोमा एक्स्त्रेमादुरा प्रदेशका प्रमुख गुइलेरम्मो फर्नान्डेज भारालाई उनले धन्यवाद दिए । त्यहीबेलाको मैत्रीपूर्ण भेटवार्तापछि क्याथेरस सहर र लुम्बिनी क्षेत्रका नगरबीच सदैव छलफलको केन्द्रविन्दु बन्न सफल रह्यो।

‘पिस कन्फेरेन्स’ नाम दिइएको उक्त कार्यक्रमबाट बुद्धको शान्ति सन्देश संसारभर फैलाउन अनुरोध गरिएको थियो । स्पेनका उपप्रधानमन्त्री कार्बेन काल्भोले समेत नेपाली टोलीलाई स्वागत गर्दै परियोजनाले आफूहरु उत्साहित रहेको बताएकी थिइन् ।

अहिले नेपालमा भित्रिएको जस्तै बुद्धमूर्ति स्पेनको क्याथेरेस नगरमा त्यहीबेलै पुगिसकेको थियो । बुद्ध मूर्तिलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने सम्भावनाबारे बहस चल्दा फाउण्डेसनले निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरेको थियो । एक वर्ष पनि नबित्तै फाउण्डेसनले आफ्नो बाचा पूरा गरेको छ ।

बुद्धमूर्ति यसरी पुग्यो नेपाल

फाउण्डेसनका अनुसार ‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बुद्धमूर्ति निःशुल्क सहयोग गरेको हो । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनाएकाले यो महँगो रहेको बताइन्छ । नेपाल आएको बुद्धमूर्ति १ हजार ८ सय केजी तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ ।

बुद्धमूर्तिको निर्माण खर्चमा खानीसम्बन्धी कम्पनी मालविन ग्रुप लगायत बौद्धधर्मप्रति आस्था राख्ने संघसंस्था तथा व्यक्तिहरुको सहयोग रहेको फाउण्डेसनले जनाएको छ।
बुद्धमूर्ति म्यानमारबाट सबै प्रक्रिया मिलाएपछि पनि नेपाल भित्राउन निकै कठिन भएको फाउण्डेसनका महासचिव एकराज गिरी स्मरण गर्छन् । ‘कोभिडका कारण म्यान्मारबाट सिधै कोलकाता बन्दरगाहमा ल्याउने अवस्था नभएकाले बुद्धमूर्ति हङकङ, कोलकाता हुँदै सुनौली ल्याएका हौं,’ उनले थपे ।

अर्थ र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी नेपाल ल्याइएको गिरीले बताए । ‘नेपालसम्म ल्याउन लाग्ने खर्च १२ हजार युरो पनि फाउण्डेसनले नै व्यहोरेको छ । सुनौली बोर्डरमा झन्डै १ लाख ६० हजार रुपैयाँ इन्सुरेन्स ट्याक्स पनि तिरेका छौं, ‘ उनले भने ।

विमानस्थल परिसरमा बुद्धमूर्तिको जग निर्माणका लागि लाग्ने खर्च पनि फाउण्डेसनले नै व्यहोरेको छ । ‘सरकारी निकायबाट अलि ढिला हुने देखिएपछि समयमा सम्पन्न नहुने डरले ५-६ लाख रुपैयाँ खर्च गरेर हामीले नै व्यवस्था गरेका छौं,’ महासचिव गिरीले भने, ‘विमानस्थलमा बुद्धमूर्ति राख्न सबै निकायबाट हामीलाई सहयोग प्राप्त भएको छ ।’
अर्बौं पर्ने बहुमूल्य बुद्धमूर्ति फाउण्डेसनले हालसम्म नेपालसहित स्पेन, भुटान र हङकङमा पुर्याइसकेको छ । बौद्ध दर्शनसँग जोडिएका अन्य मुलुकहरुमा पनि बहुमूल्य बुद्धमूर्ति पुर्याएर शान्तिको सन्देश विश्वभर फैलाउने अभियानमा रहेको फाउण्डेसले जनाएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनको नेतृत्वमा को ?

अर्बौं पर्ने बहुमूल्य चार वटा बुद्धमूर्ति विभिन्न चार देशहरुमा पुर्‍याउने फाउण्डेसनको नेतृत्व स्पेनिश नागरिक खोसे म्यानुअल भिलानोभाले गरेका छन् । उनी स्पेनको संघीय सरकार र प्रादेशिक सरकारदेखि स्पेनका राजनीतिक दलहरुसँग निकै नजिक छन् ।

फाउन्डेसनको उपाध्यक्षमा बेल्जियम निवासी नेपाली व्यवसायी गोविन्द सुवेदी रहेका छन् । उनले नै नेपाली उच्चस्तरीय टोलीलाई स्पेन भम्रणमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

स्पेन निवासी एनआरएन अभियन्ता एकराज गिरी फाउण्डेसनमा महासचिवको जिम्मेवारीमा छन् । स्पेनिश भाषामा समेत दख्खल राख्ने गिरीले स्पेनिश र नेपाली टोलीलाई समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

यस्तै फाउण्डेसनको प्रमुख संरक्षकमा बेलारुस निवासी व्यवसायी निरज श्रेष्ठ रहेका छन् । संरक्षकमा स्पेनिश नागरिकहरुको बाहुल्यता रहेको छ ।

फाउण्डेसनका अधिकांश आध्यात्मिक नेताहरु म्यानमार, थाइल्याण्डका नागरिकहरु रहेका छन् । फाउण्डेसनको मुख्यालय स्पेनको राजधानी म्याडि्रडमा रहेको छ । बौद्धदर्शन मान्ने एसियन मुलुकका धनाढ्यदेखि व्यापारीहरु फाउण्डेसनको समन्वयमा रहेको बताइन्छ ।

कोरोनाको कहरमा पनि स्पेंनिश टोली नेपालमा

कोरोनाको कहरले अवस्था अझै सामान्य नभए पनि स्पेनको एक्स्त्रेमादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले नेपाल भम्रण गरेको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा सभामुख ब्लान्का मार्टिन देलगाडो नेतृत्वको टोली नेपाल आएको हो ।

एकहप्ता लामो भ्रमणमा नेपाल गएको स्पेनिश टोलीले नेपालका साँस्कृतिक सम्पदाहरुको अवलोकन भम्रण गरेको छ । उक्त टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धमूर्ति अनावरण कार्यक्रममा पनि सहभागी बन्दैछ ।

देलगाडो नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरिसकेको छ । भेटवार्तामा नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्धबारे छलफल भएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1032120

बारम्बार असफल सावित संसदीय प्रणाली अब किन नफेर्ने ?

वि.सं. १९९० यता नेपालको लोकतान्त्रिक आन्दोलन एक शताब्दी पुग्न अब करीब एक दशक मात्र बाँकी छ । विगत शताब्दीका तुलनामा नेपाली समाजका लागि इतिहासको यो कालखण्ड निकै उपलब्धिमूलक र गौरवपूर्ण रहृयो । त्यसअघिको नेपाल केही मुट्ठीभर खानदान र परिवारका सामन्त, जमीनदार, बिर्तावाल र स्थानीय मुखियाहरूको वर्चश्व, भोग, मोजमस्ती र क्रीडास्थल जस्तो थियो । देशमा ‘जनता’ वा ‘नागरिक’ थिएनन् ‘प्रजा’ र ‘रैती’ मात्र थिए । न शिक्षा थियो न स्वास्थ्य सेवा, न सडक थियो, न यातायात न संचार । न राज्यका आधारभूत संस्थागत संरचना, निकाय र कार्यालयहरू थिए न सार्वजनिक आर्थिक नीति र बजेट प्रणाली ।

बितेको शताब्दीले नेपाललाई लोकतन्त्रको सार्वभौम विश्वभावनासँग जोड्यो । मानिसले स्वतन्त्रता, समानता र न्याय पर्याप्त भोग्न नपाए पनि त्यसको अर्थ र महत्व बुझ्न थाले । समाजको लोकतन्त्रीकरण सँगसँगै आधुनिकीकरणका प्रक्रिया तीव्र भए । आधुनिक राष्ट्रिय-राज्यका लागि चाहिने आधारभूत संरचना बन्न थाले । पर्याप्त विकसित, सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध हुन नसके पनि विगत शताब्दीका तुलनामा यो शताब्दी बढी सार्थक देखियो ।

तर यी उपलब्धि सहज प्राप्य थिएनन्/हैनन् । परम्परागत कुलीनतन्त्र र लोकतन्त्रबीचको संघर्ष संसारमा कहीं पनि सहज, सुमधुर र दयालु देखिंदैन । यो एकप्रकारको निर्मम संघर्ष नै थियो/हो । नेपालमा पनि त्यही भयो । लोकतन्त्रका लागि नागरिकले अद्वितीय संघर्ष र बलिदान गरे । जेल, नेल, निर्वासन, काराबास, भूमिगत, घाइते, बेपत्ता, गृहयृद्ध, जनविद्रोह, जनप्रदर्शन अनेक निर्मम घटनाक्रमको शृङ्खलाले नेपाल ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ बन्यो ।

विश्व लोकतन्त्रको विकासक्रमका घटना, संघर्ष र बलिदानको महाग्रन्थमा नेपाल छुटाउनै नमिल्ने एक महत्वपूर्ण अध्याय हो भन्ने कुरामा कुनै विमति हुन सक्दैन । नेपाली जनताको लोकतन्त्रप्रतिको लगाव, झुकाव र चाहना अद्वितीय छ ।

तर, दुर्भाग्य हाम्रो लोकतान्त्रिक स्कूलिङ, ज्ञान, चेतना, शिक्षा र कल्पनाशीलता संसदीय व्यवस्था वा प्रणाली भन्दामाथि कहिल्यै उठ्न सकेन । लोकतन्त्रलाई हामीले एक परिपक्व र बहुआयामिक सौन्दर्यका रूपमा प्रस्फुटित हुन दिएनौं । लोकतन्त्रलाई माया पनि गर्‍यौं, सँगसँगै यसलाई सीमितीकरण र संकुचन पनि गर्‍यौं । तसर्थ यतिका लामो र भीषण जनसंघर्षबाट उपलब्ध लोकतन्त्रले पनि अपेक्षित प्रतिफल दिन सकेन ।

नेपालमा लोकतन्त्र किन पर्याप्त, कामकाजी र परिणामदायी भएन ? यो प्रश्नले निकै ठूलो बहसको माग गर्दछ । तर, एक सामान्य र सरलीकृत उत्तर के हो भने ‘लोकतन्त्र’ र ‘संसदीय व्यवस्था’ लाई हामीले एकअर्काको पर्याय ठान्यौं, जो गलत थियो । हाम्रो लोकतन्त्र सामान्य संसदीय औपचारिकता, विकृति र विसंगतिभन्दा माथि जानै सकेन ।

लोकतन्त्र एक सर्वव्याप्त विश्वभावना, ‘युनिभर्सल स्प्रिट’ हो । लोकतन्त्रसँग केही आधारभूत सिद्धान्त स्वाभाविक रूपले जोडिएर आउँछन् । जस्तै –

नागरिक सार्वभौमसत्ता र नागरिक शासन, विचार, संगठन, प्रेस र अभिव्यक्तिको स्वतन्त्रता, आधारभूत आर्थिक समानता, अवसर र पेशा-व्यवसाय छनोटको अधिकार, सामाजिक/सांस्कृतिक अधिकारको प्रत्याभूति, बहुलवाद र दलीय प्रणाली, संविधानवाद र विधिको शासन, शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र, निष्पक्ष आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको वैधानिक विपक्ष, आम मानवअधिकार र अल्पसंख्यक अधिकारको रक्षा, सकारात्मक विभेद, सामाजिक न्याय र सुरक्षा, नागरिक सहभागिता, खबरदारी र पहलकदमीको अधिकार, तटस्थ तथा व्यावसायिक दक्षता सहितको कर्मचारीतन्त्र, पर्यावरणीय सचेतनता र दिगो विकास, नैतिक तथा सदाचारी मूल्य-प्रणालीमा आधारित राजनीतिक संस्कृति आदि लोकतन्त्रका आधारभूत शर्त हुन् ।

लोकतन्त्रका यी शर्तसँग कहिल्यै, कसैसँग, कुनै सम्झौता हुन सक्दैन, हुनुहुँदैन । तर, ‘संसदीय व्यवस्था’ भनेकै लोकतन्त्र चाहिं हैन, जो हाम्रो चेतन, अचेतन र अवचेतनमा गहिरो गरी गडेर बसेको छ । संसदीय व्यवस्था भनेको लोकतन्त्रभित्रको एउटा प्रणाली मात्र हो । संसदीय व्यवस्था नहुँदा पनि लोकतन्त्रका उपरोक्त विश्व सिद्धान्त र भावना उत्तिकै र अझ बढी प्रभावकारी रूपमा क्रियाशील हुन सक्दछन् भन्ने यथार्थ हामीले कहिल्यै बुझेनौं ।

संसदीय प्रणाली र हाम्रो सामाजिक/मनोवैज्ञानिक यथार्थ बीच तालमेल छैन, तर हामी संसदीय व्यवस्थालाई लोकतन्त्रका नाममा जबरजस्ती घिसार्दैछौं, यो हाम्रा लागि ठूलो दुर्भाग्य सावित भएको छ ।

संसारमा लोकतन्त्रका धेरै प्रकारका मोडेल छन्, संसदीय प्रणाली तीमध्ये एक मात्र हो । लोकतन्त्रका मूलतः पाँच वटा प्रणाली प्रचलनमा छन् ।

एक- संसदीय प्रणाली, दुई- निर्वाचक मण्डल आधारित राष्ट्रपतीय प्रणाली, तीन- प्रत्यक्ष बहुमतबाट निर्वाचित राष्ट्रपतीय प्रणाली, चार- मिश्रति प्रणाली र पाँच- चक्रीय प्रणाली । नेपालमा संसदीय व्यवस्था बाहेक अरू प्रणालीबारे चर्चा र छलफल नभएको हैन । तर संसदीय लोकतन्त्रको चेतना र बुझाइभन्दा बाहिर गएर मूल राजनीतिक दल र नेतृत्वले सोच्न चाहेन । संसदीय प्रणाली नै लोकतन्त्रको विकल्पहीन र एक मात्र प्रणाली हो भन्ने प्रकारको सोच, संकीर्णता र अल्पज्ञानले ठाउँ पायो । संसदीय प्रणालीको साटो अरू प्रणाली अपनाउँदा लोकतन्त्र अझ बढी उपयोगी र प्रभावकारी हुन सक्दछ कि भन्ने कोणबाट सोचिएन ।

लोकतन्त्र भनेकै ‘संसदीय लोकतन्त्र’ ठान्ने सोच अकारण उत्पन्न भएको थिएन । नेपाल भूगोलले मात्र भारत-चीन वेष्टित छैन, यी दुई देशको सैद्धान्तिक तथा विचारधारात्मक संवेष्टन झनै गहिरो र सघन थियो/छ । बेलायत हुँदै ‘संसदीय लोकतन्त्र’ भारत आयो । अंग्रेजले भारतमा इष्ट इण्डिया कम्पनी मार्फत सैन्य, आर्थिक तथा राजनीतिक मात्र हैन, भारतीयहरूको ज्ञान, शिक्षा र चेतनामा समेत नियन्त्रण गरे ।

बेलायतलाई संसदीय व्यवस्थाको जननी भनिन्थ्यो । सन् १६८९ को गौरवमय क्रान्तिले त्यहाँ राजा, प्रधानमन्त्री र संसदबीच त्रिकोणात्मक शक्ति विभाजन हुने प्रणाली स्थापित गरेको थियो । कुनै समय विश्व ढाकेका बेलायतीहरू उपनिवेश छोडेर हिंड्दा यही प्रणाली स्थापित गर्न चाहन्थे । भारतमा पनि उनीहरूले त्यही गरे । उनीहरूले ‘संवैधानिक राजतन्त्र’ को अनावश्यक घाँडो अवधारणालाई समेत भारतमा स्थापित गरे, संवैधानिक राष्ट्रपतिका रूपमा । भारतको स्वतन्त्रतासँगै अंग्रेज त फर्किए तर आफ्नो राजनीतिक प्रणाली लादेर ।

अर्कोतिर सोभियत संघ हुँदै चीनमा ‘एकदलीय साम्यवाद’ आयो । मार्क्सवाद-लेनिनवादको समकक्षमा राखेर ‘माओ विचारधारा’ स्थापनाको प्रयास भयो । मार्क्सवादमा राजनीतिक प्रणालीको कुनै मूर्त कल्पना थिएन । त्यसले राज्य र समाज व्यवस्थालाई आर्थिक आधारबाट हेथ्र्यो । समाजवादी क्रान्ति, सर्वहारा राज्य, कम्युनिष्ट पार्टीको अधिनायकत्व र वैज्ञानिक साम्यवादको कुरा गथ्र्यो । कार्ल माक्र्सको कम्युनिष्ट घोषणापत्र र पेरिस कम्युनका अमूर्त प्रस्तावनालाई पक्रेर लेनिनले रूसमा ‘सोभियत प्रणाली’ स्थापना गरे ।

साथै, उनले सोभियत प्रणाली नै सबैभन्दा उत्कृष्ट लोकतन्त्र र बुर्जुवा लोकतन्त्रको साँचो सर्वहारावादी विकल्प भएको दाबी गरे । उनले संसदीय प्रणालीलाई ‘बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ’ भनेका थिए । चीनमा माओत्सेतुङले लेनिनको सोभियत मोडेलमा थोरै सुधार गरी ‘संयुक्त जनवादी अधिनायकत्वको सिद्धान्त’ अगाडि सारे ।

नेपालमा बेलायती संसदीय लोकतन्त्रको चेतना मात्र हैन, सोभियत संघ र चीनको साम्यवादी शिक्षा समेत भारत हुँदै प्रवेश गर्‍यो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी- दुवै ठूला र शास्त्रीय दलहरू भारतमा बने । बनारसमा कांग्रेस बन्यो । त्यसले ‘संवैधानिक राजतन्त्र र ‘संसदीय लोकतन्त्र’ बोक्यो । जो बेलायती संसदीय लोकतन्त्रको हुबहु नक्कल थियो ।

अयोध्या सिंह र नृपेन्द्र चक्रवर्ती जस्ता भारतीय कम्युनिष्ट नेताहरूको सहयोगमा कलकतामा नेकपा बन्यो । पुष्पलालले माओको ‘अन द न्यू डेमोक्रेसी’ भन्ने पुस्तिकाको नेपाली अनुवाद गरी नेकपाको घोषणा पत्र बनाए र चीनको नयाँ जनवादी कार्यक्रम नै नेपालको पनि कार्यक्रम हो भन्दिए । भलै कि नेपालको सन्दर्भबाट केही चिज त्यहाँ थपथाप थियो तर त्यो पनि एक प्रकारले हुबहु सोभियत संघ र चीनको अन्ध नक्कल नै थियो ।

यसरी कांग्रेस र बीपी कोइराला मार्फत बेलायती र भारतीय प्रणाली नेपालीको ज्ञान र शिक्षा परम्परामा पस्यो । कम्युनिष्ट र पुष्पलाल मार्फत सोभियत संघ र चीनको प्रणाली प्रवेश गर्‍यो । यसैलाई कांग्रेस र कम्युनिष्ट कार्यकर्ताले आदर्श बनाए । यी प्रणाली नेपालका लागि के कति उपयुक्त छ वा छैन भनेर आलोचनात्मक समीक्षा र सृजनशील सोचको उपयोग गरिएन । धेरै पछि वि.सं. २०१२ मा बीपीले कांग्रेसमा ‘प्रजातान्त्रिक समाजवाद’ त छिराएका थिए, तर ‘समाजवादी अन्तर्राष्ट्रिय’ को सदस्यता प्रयोजन हेतु । एडबर्ड बर्नष्टिन र कार्ल काउत्स्कीवादी ‘प्रजातान्त्रिक समाजवाद’ ले संसदीय लोकतन्त्र मार्फत नै समाजवाद आउने विश्वास गथ्र्यो, त्यसले कांग्रेसको स्थापनाकालीन विचार, सोच र चरित्रमा कुनै भिन्नता ल्याएन ।

कम्युनिष्ट पार्टीले भने सन् १९९० को दशकसम्म माओ विचारधारा, नयाँ जनवादी क्रान्ति, संयुक्त जनवादी अधिनायकत्व र एकदलीय सर्वहारा राज्य जस्ता मान्यता बोकिरहेकै थियो । पुष्पलाल ‘नयाँ जनवादी क्रान्ति’ को अवधारणा बोक्दाबोक्दै बिते । सोभियत संघको विघटन, पूर्वी युरोपको पतन र चीनमा तियानमियान चोकको विद्रोहले ल्याएको अनुकूलताको मौका छोप्दै मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ एमालेभित्र छिराए । सृजनशील मार्क्सवाद र नवीनतम सिद्धान्त भनिएको ‘जबज’ का मान्यताहरू ‘संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्र’ भन्दा खासै फरक विचार थिएनन् ।

२०४६ सालपछि कांग्रेस र एमाले दुवै ‘संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्र’ को अभ्यासतिर लागे । उनीहरूले आफ्नो पार्टी पंक्तिलाई त्यसबाहिरको ज्ञान, शिक्षा र चेतना दिन चाहेनन्, बरु उल्टै रोक्ने प्रयास गरे । एमालेको ‘जबज’ का १४ विशेषता जेलाई भन्ने गरिन्छ- ती उदार पूँजीवादी लोकतन्त्रका स्थापित मान्यताहरूको सारसंग्रह मात्र थियो, लोकतन्त्रको कुनै नयाँ र रचनात्मक मोडेलको विकास थिएन ।

पार्टीको नाम कम्युनिष्ट, मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद कायमै राखेर ‘संसदीय लोकतन्त्र’ को अभ्यासमा प्रवेश गर्ने कम्युनिष्टहरूलाई संसारमा ‘युरो कम्युनिज्म’ भन्ने प्रचलन थियो । सन् १९७८ को बर्लिङघन सम्मेलन र दस्तावेज ‘युरो कम्युनिज्म एण्ड स्टेट’ त्यसको प्रष्ट प्रमाण हो ।

यहाँनेर आकषिर्त हुने मुख्य प्रश्न के हो भने मार्क्सवाद-लेनिनवाद भन्ने विचारधाराको जन्म नै उदार पूँजीवादी संसदीय लोकतन्त्रको विरुद्धमा भएको थियो । त्यसको साटो कुनै नयाँ लोकतन्त्रको मोडेल वा विकल्प दिने उद्देश्यले भएको थिएन । जब यी विचारधारा बोक्ने पार्टीले नै ‘संसदीय लोकतन्त्र’ लाई औपचारिक सिद्धान्त बनाउँछन्, ती दर्शन र विचारधाराको मौलिकता वा औचित्य नै किन र कहाँनेर रहन्छ भन्ने प्रश्न उठ्ने नै भयो ।

माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ, हो चि मिन्ह, फिडेल क्यास्त्रो जस्ता विश्व कम्युनिष्ट नेताहरूको सम्पूर्ण बौद्धिक तथा राजनीतिक प्रयास ‘बुर्जुवा संसदीय लोकतन्त्र’ को विकल्पमा कुनै नयाँ व्यवस्था स्थापित गर्नु थियो भन्ने कुरामा कुनै दुईमत हुन सक्दैन भलै कि त्यो प्रयास सर्वत्र असफल देखियो ।

विश्व साम्यवादी आन्दोलनको असफलता र पतनले गर्दा नेपालको कम्युनिष्ट सिद्धान्त र आन्दोलन नयाँ अन्तर्विरोधमा फस्यो । त्यसले आफ्नै सिद्धान्तको विश्व उद्देश्य, मर्म र यथार्थ बिर्सियो । लेनिनले शुरु गरेको सोभियत प्रणाली असफल भएपछि उनीहरू त्यही प्रणालीमा फर्किए, जसको विकल्प दिनु कम्युनिष्ट विचार र आन्दोलनको स्थापनाकालीन उद्देश्य थियो ।

माओवादीले माओवाद, प्रचण्डपथ, एक्काइसौं शताब्दीको जनवादभन्दा भाष्यबाट केही फरक र नयाँ ‘वैचारिक खेलाँची’ नगरेको हैन, तर ती दिगो भएनन् । किनकि ती कुनै सुविचारित वैज्ञानिक खोजमा आधारित थिएनन्, केवल क्षणिक आवेगका परिणाम थिए । अन्ततः माओवादीले पनि ती सबै छोड्दै गए, एमाले झैं घोषित/अघोषित रूपमा ‘जनताको बहुदलीय जनवाद’ र संसदीय व्यवस्थामै पुगे । यसरी राजनीतिक प्रणालीका दृष्टिकोणले कांग्रेस र कम्युनिष्टबीचको भिन्नता समाप्त भयो ।

‘असफल भइसक्यो’ भन्दा अतिशयोक्ति होला, तर संसदीय व्यवस्था ‘तेस्रो पटक असफलताउन्मुख छ’ भन्दा शायद यथार्थ बोलेको नै ठहर्नेछ । यसपटक यो असफलताको जगमा न राजा, न कांग्रेस न त संक्रमणकालीन अवस्था छ

बेलायत र भारत, सोभियत संघ र चीनभन्दा बाहिर संसारमा के कस्ता लोकतन्त्रका अभ्यास छन् ? ती कतै संसदीय लोकतन्त्र वा सोभियत प्रणालीभन्दा बढी उपयोगी र असल पो छन् कि ? वा नेपालले आफ्नै आवश्यकता वा मौलिकतामा लोकतन्त्रको नयाँ ढाँचा विकास पो गर्न सक्दछ कि ? जस्तो कि युरोपको बीचमा भएर पनि स्विट्जरल्याण्डले कुनै पनि युरोपेली शक्ति राष्ट्रको शासन प्रणली अनुकरण गरेन/गरेको छैन, लोकतन्त्रको भिन्नै र मौलिक ढाँचा निर्माण गरेको छ, हामीले त्यस्तो गर्न सक्छौं कि ? यसरी सोच्ने काम नभएको मात्र हैन, बरु यस्ता प्रयासमाथि भयाङ्कर ठूलो बाधा-व्यवधान सृजना गरिए, तगारा लगाइए ।

फलतः लोकतन्त्रको बृहत् आकांक्षा र संसदीय प्रणालीको विकृत यथार्थबीच भीषण अन्तरविरोध सिर्जना भयो । नेपालमा लोकतन्त्रले अपेक्षित परिणाम दिन नसक्नुको मुख्य कारण यही हो । हामी बेलायतबाट भारत हुँदै आएको ‘संसदीय लोकतन्त्र’ वा रूसबाट चीन हुँदै आएको ‘एक दलीय सोभियत साम्यवाद’ को बौद्धिक सीमाभित्र बस्न र त्यसैलाई राजनीतिक आस्था बनाउन अभिशप्त थिएनौं/छैनौं ।

हामी संसदीय प्रणालीको कुनै प्रारम्भिक अभ्यास र परीक्षण अवधिमा छैनौं, अहिले हामी संसदीय लोकतन्त्रको तेस्रो चरणमा छौं । पहिलो चरण- २००७ साल फागुन ७ गतेदेखि २०१७ साल पुस १ गतेको कालो दिनसम्मलाई मान्न सकिन्छ । यस बीचमा न घोषणा गरिएको संविधानसभाको चुनाव भयो न राजा संवैधानिक हुन राजी भए ।

कांग्रेसमा देखिएका दुई गुट, बीपी र मातृका कोइरालाबीचको किचलोलाई सैद्धान्तीकरण गरेर ‘महेन्द्रमाला’ र ‘पञ्चायत’ जस्ता पाठ्यपुस्तक तयार गरिए, जसको उद्देश्य ‘नेपालमा संसदीय व्यवस्था यसरी अफापसिद्ध भयो’ भन्दै नयाँ पुस्ताको मस्तिष्कमा लोकतन्त्रप्रति अविश्वास र आशंकाको विष घोल्नु थियो । त्यसमा आधा दर्जन बढी त्यस्ता कारण र प्रवृत्तिका चर्चा गरिन्थ्यो, जो संसदीय लोकतन्त्रका कमजोरी थिए, तर लोकतन्त्रका हैनन् । अर्थात् संसदीय व्यवस्थाका कमजोरी, विकृति र विसंगतिलाई ‘बेइमान शाह राजा’ र पञ्चहरूले लोकतन्त्र विरुद्धका वैचारिक हतियार बनाए ।

संसदीय लोकतन्त्रको दोस्रो चरण २०४६ साल चैत २६ गतेदेखि २०६१ माघ १९ गतेसम्मलाई मान्न सकिन्छ । पहिलो चरणमा जस्तै यो चरण पनि असफल भयो भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । बहाना यसपटक पनि उही थियो- दलीय किचलो, अनैतिक सत्ता गठबन्धन र विकृत संसदीय अभ्यास । कांग्रेसभित्र जन्मिएको ‘३६’ र ‘७४’ समूह । अनावश्यक मध्यावधि निर्वाचन । माले-एमाले विभाजन । सांसद किनबेच, प्राडो, पजेरो, सुरा, सुन्दरी, सुत्केरी औषधि, रातो पासपोर्ट काण्ड आदि इत्यादि ।

पहिलो र दोस्रो चरणको असफलताका लागि दोष पन्छाउने ठाउँ थिए- महेन्द्र र ज्ञानेन्द्र जस्ता अति-महत्वाकांक्षी र अल्पदृष्टि भएका शाह राजाहरू । आज राजतन्त्र गुमेपछि उनीहरू रुँदै हिंडेका छन् । आफूहरूमाथि अन्याय भयो भन्दै हिंडेका छन् । नेपालमा यदि संसदीय लोकतन्त्र र संसदीय राजतन्त्र नै सही व्यवस्था र प्रणाली थियो भन्ने तिनीहरूको हृदयदेखिको विश्वास र प्रतिबद्धता थियो भने त्रिभुवनले संविधानसभाको निर्वाचन टार्ने र कांग्रेसको किचलोभित्र खेल्नुहुने थिएन । महेन्द्रले बीपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गर्नुहुने थिएन ।

संवैधानिक राजतन्त्रको बीपीभन्दा ठूलो पहरेदार अरू को हुन सक्थ्यो ? उनै बीपीलाई जेलमा आजीवन सडाएर मार्न खोज्ने शाह राजाहरूलाई पाप लाग्नु स्वाभाविक थियो । संवैधानिक राजतन्त्रमा त्यत्रो विश्वास थियो भने त्रिभुवन र महेन्द्रका गल्तीबाट, वीरेन्द्रका सबलताबाट ज्ञानेन्द्रले सिक्नुपथ्र्यो । ज्ञानेन्द्र उल्टै ‘दाजु जस्तो हुन्न, पिता र हजुरबा जस्तो हुन्छु’ भन्नतिर लागेपछि उनको दुर्गति नभएर कसको हुन्थ्यो ?

२०६३ वैशाख ११ देखि आजसम्मको अवधिलाई संसदीय लोकतन्त्रको तेस्रो चरण मान्दा ‘संविधान बनिनसकेको कारणले संक्रमणकालीन समस्या’ भन्न सकिने एउटा अवधि थियो तर २०७२ को संविधान र २०७४ को आम निर्वाचनपछि त यो तर्क गरेर उम्किने ठाउँ पनि अब कसैसँग बाँकी रहेन । अर्थात् हामी तेस्रो चरणमा पनि कुनै गतिलो परिणाममा छैनौं । झण्डै दुईतिहाइको कम्युनिष्ट बहुमत अर्थहीन भएको छ । नेकपा तीन टुक्रा भएको छ ।

तेस्रो चरणको व्यवस्था पहिलो र दोस्रो चरणको भन्दा केही भिन्न पक्कै थियो । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको कारण गणतन्त्र, मधेश जनविद्रोहको कारणले अर्ध समानुपातिक निर्वाचन प्रणाली र संघीयता थपिएका थिए । छिटोछिटो सरकार फेर्न नमिल्ने गरी केही संवैधानिक प्रावधान व्यवस्था गरिएका थिए । दलीय स्थिरताका लागि दल विभाजन प्रावधानलाई कठोर बनाइएको थियो । यति हुँदाहुँदै पनि यो व्यवस्थाको मूल चरित्र संसदीय व्यवस्था नै हो ।

‘असफल भइसक्यो’ भन्दा अतिशयोक्ति होला, तर संसदीय व्यवस्था ‘तेस्रो पटक असफलताउन्मुख छ’ भन्दा शायद यथार्थ बोलेको नै ठहर्नेछ । यसपटक यो असफलताको जगमा न राजा छन्, न कांग्रेस छ न संक्रमणकालीन अवस्था ।

एमालेले विधान अधिवेशन गरेर संस्थागत रूपमै ‘प्रतिनिधिसभा विघटन ठीक थियो’ भन्यो । यसको अर्थ यो संविधानप्रति एमालेको कुनै प्रतिबद्धता र निष्ठा रहेनछ । यो संसदीय व्यवस्थाप्रति एमाले वा विभिन्न कम्युनिष्ट गुटहरूको मोह नक्कली रहेछ

छन् त एकछत्र कम्युनिष्टहरू छन् । कम्युनिष्ट गुटहरू बीचको लडाइँ वा अस्तित्व संघर्षले संसदीय व्यवस्थालाई फेरि एकपटक गैरकामकाजी, पंगु, अविश्वसनीय र संकटग्रस्त बनाएको छ । अर्थात् राजनीतिक पात्र फेरिएका छन्, प्रवृत्ति २००७ सालकै हाराहारीमा छ ।

२०७२ को संविधानसँग कम्युनिष्ट गुटहरूको ठूलो मोह, दाबी र स्वामित्वभाव थियो । उनीहरूले नेपाली कांग्रेसलाई उछिन्दै ‘हामीले बनाएको संसारको उत्कृष्ट संविधान’ भन्दै दीपावलीको उर्दी गरेका थिए । एमाले र माओवादी केन्द्रले ‘आधाआधा प्रधानमन्त्री खाने’ गोप्य सम्झौतालाई आधार बनाएर ‘महान् क्रान्तिकारी एकता’ गरेका थिए । कम्युनिष्ट एकता र राजनीतिक स्थायित्वको नारामा उनीहरूले झण्डै दुईतिहाइ पाएका थिए । आज फर्किएर हेर्दा सबै फास्स न फुस्स भयो, यति छिट्टै ।

‘आधाआधा प्रधानमन्त्री खान’ माओवादी एमाले जस्तो हुन, प्रचण्ड ओलीमा विलय हुन राजी भएका थिए । प्रचण्डले माओवाद, प्रचण्डपथ, एक्काइसौं शताब्दीको जनवाद, पहिचान सहितको प्रदेश सिमांकन र नामांकन, शासकीय स्वरूप र निर्वाचन प्रणालीको परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपाितक निर्वाचन प्रणाली, समावेशिता, सकारात्मक विभेद र आरक्षण आदि सबै मुद्दालाई ‘एकताको उपहार’ सम्झेर ओलीपन्थको निर्मम बुटमुनि सभक्ति चढाएका थिए ।

विगत तीन वर्षको ‘कम्युनिष्ट किचलो र कुशासन’ ले इतिहासका सबै विकृति र विसंगतिलाई विस्मृत गराइदिएको छ । संसदीय व्यवस्थाको कमजोरी र निरीहता झनै निर्मम र अश्लील ढंगले सामुन्ने आएको छ । यस क्रममा यस्ता अनेक वैचारिक, सैद्धान्तिक, राजनीतिक, न्यायिक र नैतिक संकट उत्पन्न भएका छन्, जसको भार लोकतन्त्र, इतिहास र समाज व्यवस्थाले शायदै थेग्न सक्ला । संविधान मात्र हैन, न्यायपालिकादेखि संवैधानिक आयोगसम्म, लोकतन्त्रका आधारभूत सिद्धान्तदेखि पात्रहरूका नैतिक चरित्रसम्म सर्वत्र स्खलित भएका छन् ।

‘कम्युनिष्ट किचलो’ लाई निहुँ बनाएर एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुईपटक निर्वाचित प्रतिनिधिसभाको हत्या गरे । आफैंले दाबी गरेको संसारकै उत्कृष्ट संविधानको आफैंले हुर्मत लिए । तथापि ‘ओली कदम’ को एमालेले संस्थागत रूपमा स्वामित्व लियो । विधान अधिवेशन गरेर संस्थागत रूपमै ‘प्रतिनिधिसभा विघटन ठीक थियो’ भन्यो । यसको अर्थ यो संविधानप्रति एमालेको कुनै प्रतिबद्धता र निष्ठा रहेनछ । यो संसदीय व्यवस्थाप्रति एमाले वा विभिन्न कम्युनिष्ट गुटहरूको मोह नक्कली रहेछ ।

विश्व इतिहासका दृष्टिकोणबाट कम्युनिष्ट विचारधाराको ‘वैचारिक जिन’ र सुसंस्कृत लोकतन्त्रको व्यावहारिक अपेक्षाबीच त्यसै पनि पर्याप्त शंका गर्ने ठाउँ थियो । जब वास्तविक सत्ता, शक्ति र स्वार्थ संघर्ष शुरू हुन्छ, लोकतन्त्र र संविधानवादका मूल्यमान्यता उनीहरूका लागि अर्थहीन हुनेछन् भन्ने कोण छँदै थियो, त्यो फेरि पुष्टि भयो । उनीहरूमा फेरि एकपटक स्टालिन, त्रोतस्की, बुखारिन, ख्रुश्चोभ, माओ, लिन प्याओ, लि स्याओ ची, चियाङ चिङ, टिटो, होक्जा र चाउचेस्कु जस्ता पात्र, चरित्र र प्रवृत्तिहरू नै पुनरावृत्त भए जो लोकतान्त्रिक देशको कम्युनिष्ट पार्टीलाई किञ्चित सुहाउने कुरा थिएन । त्यो पनि ‘कम्युनिष्ट आन्दोलनको लोकतन्त्रीकरण’ भइसकेको भन्नेहरूबाट ।

ओलीलाई लागेको थियो कि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले आफ्नो सुविधामा मध्यावधि निर्वाचन गर्न पाउनुपर्छ, त्यसको संवैधानिक व्यवस्था किन नगरेको ? झण्डै दुईतिहाइको सरकारले बेलैमा संविधान संशोधनको प्रस्ताव ल्याएको भए पनि त हुन्थ्यो ? ‘संविधानको सर्वोच्चता’ लाई पहिलो विशेषता बनाएको जबज मान्छु भन्ने र मदन भण्डारीको आत्मिक उत्तराधिकार दाबी गर्ने ओलीले दुई-दुई पटक संसद विघटन गरी ‘संविधानवादमाथि बलात्कार’ गर्दा विधान अधिवेशन गरेर समर्थन दिने एमालेबाट संसदीय लोकतन्त्र कति सुरक्षित छ ?

यी घटनाको दुष्प्रभाव कम्युनिष्ट पार्टी र आन्दोलनभित्र मात्र सीमित भइदिएको भए शायद धेरै चिन्ता गर्न आवश्यक हुँदैनथ्यो । तर, दुष्प्रभावको कालो बादल संविधान, संसद, संवैधानिक निकाय, दलीय चरित्र र संस्कृति, प्रशासनयन्त्र, अर्थतन्त्र र आम मनोविज्ञान जताततै मडारिएको छ । संक्षिप्तमा यी सबै घटनाक्रमको एउटै निष्कर्ष हुन्छ- संसदीय लोकतन्त्र तेस्रोपटक असफलताउन्मुख छ ।

यहाँनेर एउटा गम्भीर प्रश्न खडा हुन्छ- नेपालमा किन बारम्बार यस्तो हुन्छ ? शाहवंशीय राजाहरू, जो संवैधानिक राजतन्त्र, लोकसम्मति र संसदीय लोकतन्त्रको कुरा गर्थे, ती शक्तिशाली हुँदा पनि किन संसदीय व्यवस्थाले काम गरेन ?

किन नेपाली कांग्रेस निर्णायक शक्तिका रूपमा स्थापित भएको अवधिमा पनि संसदीय लोकतन्त्र सफल भएन ?

किन कम्युनिष्टहरू त्यो पनि जबजवादी कम्युनिष्टहरू प्रभावशाली हुँदा पनि संसदीय व्यवस्थाको यो हविगत भयो ?

यी सबै शक्तिलाई संसदीय व्यवस्थाको हुर्मत लिनमै मज्जा छ भने संसदीय व्यवस्था चाहिएको चाहिं कसलाई हो ? बाँकी शक्तिहरू त यसै पनि संविधान संशोधनको माग गरिरहेका छन्, नयाँ प्रकारको सहभागितामूलक, प्रत्यक्ष, समावेशी र समानुपातिक लोकतन्त्रको माग गरिरहेका छन् ।

यो कसैलाई नचाहिएको, कुनै सार्थक परिणाम नदिने, सबैलाई सधैं असन्तुष्ट र अनैतिक बन्न बाध्य पार्ने संसदीय लोकतन्त्रलाई अविलम्ब अन्त्य गरी नेपालले लोकतन्त्रको आफ्नै मौलिक ढाँचाको खोजी र स्थापना गर्नै पर्दछ । तर, यसको विकल्प कुनै प्रकारको तानाशाही वा निरंकुशता भने हुन सक्दैन

हुनत नेपालको संविधान २०७२ जारी हुँदै नै यस्तो दुर्भाग्यका संकेत प्रष्ट देखिएका थिए । प्रत्यक्ष, सहभागितामूलक, समानुपातिक, समावेशी र सुसंस्कृत लोकतन्त्रको चाहना जनस्तरमा तीव्र थियो । अर्कोतिर कांग्रेस र कम्युनिष्ट जस्ता ठूला र शास्त्रीय दलहरू अलिकति लिपापोती गरेर संसदीय व्यवस्थाको सीमित परिमार्जनलाई नै ‘समावेशी लोकतन्त्र’ करार गर्न उद्यत थिए । समावेशी लोकतन्त्रका वास्तविक मर्म, मान्यता, संस्कृति र विशेषताप्रति उनीहरू पूर्णतः बेखबर वा अज्ञानताको अवस्थामा थिए ।

एकातिर बदलिएको विश्व चेतना र नयाँ पुस्ताका आकांक्षा, अर्कोतिर पहिचान र अधिकारको आन्दोलन र सीमान्तकृत समुदायका भावना, यी दुवैप्रति घात गर्दै र लात हान्दै संसदीय व्यवस्थाको जुन तेस्रो चरण शुरुआत गरिएको थियो, यो अध्यायको सबैभन्दा खराब प्रदर्शन अहिले भइरहेको छ ।

संसदीय व्यवस्थाका केही त्यस्ता अन्तर्निहित स्वभाव र विशेषता छन् जो नेपाल जस्तो देशका लागि अप्राकृतिक छ । पहिलो कुरा त यो लोकतन्त्रको ‘बहुमतको शासन’ भन्ने मान्यतासँग नै मेल खाँदैन । संसदीय प्रणालीमा सीटको बहुमत होला, नागरिक वा मतदाताको बहुमत विरलै हुन्छ । संसदीय प्रणालीबाट नेपालमा राजनीतिक स्थायित्व सम्भव छैन भन्ने बारम्बार पुष्टि भएको छ ।

संसदीय गणितसँग जोडिएर आउने विकृत सत्ता अभ्यास, अप्राकृतिक गठबन्धन, जालझेल, चलखेल र षड्यन्त्रले राजनीतिको मात्र हैन, आम समाजमै नैतिक स्खलन र पतन भएको छ । सर्वत्र नैतिक चरित्र गुमाएको समाजले कस्तो प्रकारको प्रगति र समृद्धि गर्ला ?

संसदले प्रधानमन्त्री छान्ने र सांसद नै मन्त्री हुने प्रणालीले एकातिर व्यवस्थापिका र कार्यपालिका बीच साँचो शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन हुन दिएको छैन, अर्कोतिर राष्ट्रिय चिन्तन गर्ने प्रधानमन्त्री र मन्त्रीको साटो निर्वाचन क्षेत्र र गृहजिल्ला केन्दि्रत नेतृत्व निर्माण भएको छ । वडाध्यक्षको जस्तो सोच र स्वार्थ बोकेर हिंडेका प्रधानमन्त्री र मन्त्रीबाट बृहत्तर राष्ट्रिय चिन्तन र अपेक्षा सम्बोधन हुन सक्दैन । महँगो निर्वाचन प्रणाली र ‘राजनीतिक लागत’ को अपारदर्शिताले भ्रष्टाचारलाई संस्थागत गरेको छ ।

राजनीतिक स्थिरता मात्र हैन, संसदीय प्रणालीभित्र सुशासन पनि असंभव देखिएको छ । संवैधानिक निकाय, राज्यतन्त्र र कर्मचारीतन्त्रको निष्पक्षता र तटस्थता खण्डित छ । समाजको विविधता र बहुलतालाई संसदीय प्रणालीले आत्मसात् गर्न सकेको छैन ।

यो व्यवस्था नेपाली समाजको मनोविज्ञान र भूराजनीतिक यथार्थ दुवै कुरासँग मेल खाँदैन । संसदीय व्यवस्थामा सरकार परिवर्तन, दलीय विभाजन र अस्थिरताको खेल खेल्न सजिलो छ । विभिन्न स्वार्थको कारणले हाम्रा दुवै ठूला छिमेकीहरू यस्ता काममा अप्रत्यक्ष रुचि राख्दछन् । हामीसँग पाँच वर्षका लागि जनताको बहुमतबाट प्रत्यक्ष निर्वाचित सरकार हुन्थ्यो भने त्यही सरकारसँग मिलेर काम गर्न हाम्रा छिमेकी र मित्रहरू बाध्य हुन्थे । उनीहरू यो वा त्यो कारणले यो वा त्यो गठबन्धन बन्ने र भत्काउने प्रयासका सहयोगी हुन पाउने थिएनन् ।

यो कसैलाई नचाहिएको, कुनै सार्थक परिणाम नदिने, सबैलाई सधैं असन्तुष्ट र अनैतिक बन्न बाध्य पार्ने संसदीय लोकतन्त्रलाई अविलम्ब अन्त्य गरी नेपालले लोकतन्त्रको आफ्नै मौलिक ढाँचाको खोजी र स्थापना गर्नै पर्दछ । तर, यसको विकल्प कुनै प्रकारको तानाशाही वा निरंकुशता भने हुन सक्दैन । राजतन्त्र, सैनिक शासन, धार्मिक राज्य, एकदलीय कम्युनिष्ट व्यवस्था, सोभियत प्रणाली वा वैज्ञानिक साम्यवाद जस्ता व्यवस्था संसदीय लोकतन्त्रको विकल्प हैनन्/हुन सक्दैनन् । लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र नै हुन्छ । संसदीय लोकतन्त्रको विकल्प- प्रत्यक्ष, सहभागितामूलक, समानुपातिक र समावेशी लोकतन्त्र नै हो ।



source https://www.onlinekhabar.com/2021/10/1032076

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More