Thursday 31 March 2022

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

१८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।

नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ । राप्रपाका महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।



source https://www.onlinekhabar.com/2022/04/1102823

व्यक्तिगत लगानीमा भ्यूटावर

१८ चैत, दाङ । मुलुकभर विकासका नाममा सरकारी रकम खर्चेर भ्यूटावर निर्माण गरिएको भन्दै यतिबेला आलोचना भइरहेको छ । तर दाङमा भने व्यक्तिगत लगानीमा भ्यूटावर बनेको उदाहरण छ ।

दाङको घोराही–१८ ढोडेनीस्थित नमः छु बौद्ध गुम्बामा व्यक्तिगत लगानीमा ‘मन–दिल पुन भ्यू टावर’ निर्माण गरिएको छ । घोराही बजारदेखि करिब दुई किलोमिटर पर पूर्वभारतीय सेनाका क्याप्टेन मनबहादुर पुन र श्रीमती दिलमाया पुनको नाममा उनका छोराहरुले भ्युटावर निर्माण गरेका हुन् । ०७५ सालमा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनको ४० लाख लगानीमा भ्यूटावर निर्माण गरिएको हो ।

‘बुबा–आमाको सम्झनामा पर्यटकीय क्षेत्रको विकास लागि पारिवारीक लगानीमा भ्यूटावर निर्माण गरेका हौं,’ भ्यूटावर संरक्षक समितिका अध्यक्ष नरेन्द्र पुनले अनलाइनखबरसँग भने । तीन वर्षअघि निर्माण गरिएको भ्यूटावर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको उनी बताउँछन् ।

१७ मिटर अग्लो भ्युटावरबाट दाङ सदरमुकाम घोराही बजार, धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर, धारापानी, तालतलैया र बाक्लिंदै गएको वस्ती हेर्न सकिन्छ । घोराहीका यिनै मनोरम दृश्य हेर्न पर्यटकहरु मनदिल भ्यूटावर पुग्ने गरेका छन् । पुनका अनुसार रातिको दृष्य हेर्न पर्यटकहरु बढी लालायित हुने गरेका छन् ।

‘भ्यू टावर निर्माण भएसँगै सिंगो घोराहीलाई नियाल्न पहाड नै उक्लनुपर्ने अवस्था रहेन, भ्यू टावरमा राखिएको दूरविनबाट घोराही क्षेत्रका ठाउँहरु नियाल्ंन सकिन्छ,’ पुनले भने, ‘यसले यहाँको पर्यटन विकासमा टेवा पुर्याएको छ ।’ दैनिक १० देखि १५ जनासम्म पर्यटक भ्युटावर आउने गरेको उनले बताए ।

टिकटबाट संकलित रकम खर्च कटाएर बचेको रकम सामाजिक सेवामा खर्च गरिने नरेन्द्र पुनले बताए । उनले भ्यूटावरबाट उठेको रकम विद्यार्थी छात्रवृति प्रदान गर्ने, स्वास्थ्य र खेल क्षेत्रमा खर्चिने बताए ।

दाङमा ७ भ्यूटावर

दाङमा स्थानीय तहले बनाएका ६ वटा र व्यक्तिगत एउटा गरी ७ वटा भ्यूटावर छन् । तीमध्ये एउटा निर्माणाधीन छ ।

घोराही उपमहानगरपालिका–१८ मा व्यक्तिगत लगानीमा बनाइएको मन–दिल भ्यूटावरका साथै बंगलाचुली गाउँपालिकामा तीन, गढवा–८ कोइलाबासमा एक र तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा एक भ्यूटावर छन् । लमही नगरपालिकाले लमहीमा एउटा भ्यूटावर निर्माण गरिरहेको छ ।



source https://www.onlinekhabar.com/2022/04/1102810

प्रधानमन्त्रीको भारत भ्रमण : आज विदेशमन्त्री जयशंकरले भेट्ने, भाजपा कार्यालय पनि जाने

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत जाँदै छन् । चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा भारत जान लागेका हुन् ।

उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्नेछन् । देउवाको बस्ने व्यवस्था यही होटलमा मिलाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारत भ्रमण गर्ने बेलामा पनि यही होटलमा बसेका थिए ।

भारतीय विदेशमन्त्रीसँग आजै भेटवार्ता, भाजपा  कार्यालय पनि जाने

देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् ।

भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

शनिबारको दिन बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ । शनिबारको दिन दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । शनिबारको दिन साँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् ।

बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

देउवा भाजपाको केन्द्रीय कार्यालयमा जाने र बनारस पुगेर उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट्ने कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1102795

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी



source https://www.onlinekhabar.com/2022/04/1102815

विनोद पौडेल : हलिउडको छायामा नेपाली फिल्म बनाउँदा जे भोगे

१८ चैत, काठमाडौं । रबर सिटी अर्थात् एक्रोन सहर । टायर फ्याक्ट्रीहरूको शहर हो यो । विश्व बजारका लागि सर्वाधिक टायर उत्पादन गरिरहेका यहाँका कारखानाहरु राजनीतिक विषमताको शिकार बनेर जीर्ण हुँदै गए । यो औद्योगिक क्षेत्रका जनशक्ति बेरोजगार बने । लाखापाखा लागे ।

हिजो गुल्जार एक्रोन शहर अब कुरुप र उजाड बन्दैछ । मान्छेहरु पलायन हुँदैछन् । कारखानाहरु भूतबंगला जस्तो भएका छन् ।

आफ्नो मौलिक निधि र सौन्दर्य गुमाइरहेको शहरमा अनायस भुटानी शरणार्थीहरुको आगमन भएको छ । उनीहरूसँगै त्यहाँ आफ्नो रीतिथिति, संस्कृति, जीवन–पद्धति पनि भित्रिएको छ ।

अब एक्रोन शहरमा दशैंको रौनक देख्न थालिएको छ, तिहारको सेलरोटी पाक्न थालेको छ, तीजको भाका घन्किन थालेको छ । यो शहरमा क्रमशः नयाँ सांस्कृतिक रंग पोतिंंदैछ ।

यसरी एकातिर औद्योगिक मूल्य गुमाउँदै गएको र अर्कोतिर नयाँ सांस्कृतिक रंगले चम्कंदै गएको समय–चरणलाई कब्जा गरेर विनोद पौडेल एउटा सिनेम्याटिक कथा रच्दै थिए । यस्तो कथा, जहाँ भुटानी शरणार्थीको रूपमा अमेरिका पुगेका एउटा परिवार छन् । त्यो बिरानो माटोमा उनीहरुले आफ्नो परिचय खोज्नुछ । भूगोल र समयको अलग फ्रेममा तीन पुस्ताको एउटै अन्तरद्वन्द्वले यसको कथानक मस्यौदा निर्माण गर्नेछ ।

‘बुलबुल’ फेम्ड निर्देशक पौडेल ढुक्क थिए, यसको स्क्रिनप्ले वजनदार र खँदिलो छ । अतः यसलाई दृश्यभाषामा खिप्नका लागि आफ्नो खास क्राफ्ट छ । यो एउटा यस्तो सूत्राधार, जसले नेपाली सिनेमालाई अर्को प्लेटफर्ममा पुर्याउन सक्छ ।

जब लगानीकर्ता बिच्किए

स्क्रिप्ट लिएर उनी अमेरिका पुगे । पूर्ववत् सल्लाहअनुसार लगानीकर्तासँग छलफल भयो । तर लगानीकर्ताको ध्येय र निर्देशक पौडेलको सिनेम्याटिक अप्रोच बाझियो । लगानीकर्ताहरु चाहन्थे, ‘चलनचल्तीका कलाकार लिने । गीत, फाइट, ठट्यौली आदिको समिश्रण गर्ने । घरेलु सिनेमा घरहरुमा प्रदर्शन गर्ने ।’

जो पुरातन ढर्राको ह्याङओभरबाट मुक्त भएर पृथक दृश्यभाषा निर्माण गर्न लागिपरेका छन्, जो भुत्ते संरचना तोड्दै नवीन क्राफ्ट रेखांकन गर्न खोजिरहेका छन्, उनकै लागि लगानीकर्ताको काइते शर्त कसरी मञ्जुर हुन्थ्यो र ? निर्देशक पौडेलले ठाडै बदर गरिदिए ।

‘तर, एक हिसाबले भन्नुपर्दा यो दुस्साहस जस्तै थियो’ पौडेल सम्झन्छन्, ‘पुराना लगानीकर्ताले हात झिकेपछि मैले त्यतिका बजेट कहाँबाट जुटाउने ? यो सहजै सम्भव हुने कुरा थिएन ।’

पौडेललाई ज्ञात छ, अमेरिका जस्तो ठाउँमा ‘नेपाली फिल्ममेकर’को कुनै भाउ हुन्न । न कसैले चिन्छ, न कसैले गन्छ । ‘म फिल्म बनाउन आएको भन्दा नेपाली समुदायका साथीहरु नै टाढा–टाढा भाग्छन्’ पौडेलको अनुभव छ, ‘पैसा कमाउने ठाउँमा आएर फिल्म बनाउने कुरा गर्दा उनीहरुले पत्याउँदैनन् ।’

अमेरिकामा बसेर फिल्म बनाउनु छ । त्यहींका प्राविधिक र उपकरण लिनुछ । नयाँ कलाकारबाट काम लिनुछ । तर, खल्ती रित्तो । उनले केही साथीभाइ गुहारे । तर, कुनै न कुनै बहाना बनाएर सबैजना पन्छिए । उनी हतास भए । अब के गर्ने ? उपाय छैन ।

अनि सुशान्त रोए

‘जित जाएंगे हम तु अगर संग है ।’

एक बिहान उनी उठ्दा एउटा गीत बजिरहेको सुने, अनिल कपुर अभिनित फिल्म ‘मेरी जंग’को । निर्देशक पौडेल ओछ्यानबाट ओर्लिए । भुईँतलामा सुशान्त मैनाली (अभिनेता) गीत बजाएर घर सफा गरिरहेका रहेछन् ।

‘अहो ! कस्तो राम्रो गीत बजायौ’ निर्देशक पौडेलले भने ।

‘अँ यार’ सुशान्तले सुनाए, ‘बिहानै यो गीत लगाएर म त रोएँ नि ।’

विनोदको प्रश्न, ‘किन ?’

‘हामी यहाँ यस्तो स्ट्रगल गरिरहेका छौं । तर, कतैबाट साथ पाइएन’ उनी भन्दै गए, ‘अनि फेरि सोचें, यस्तै मान्छे त हो नि सफल हुने । त्यही सोचेर यो गीत लगाएँ अनि घर सफा गर्न थालें ।’

अभिनेता सुशान्त अमेरिकामा नै बसोबास गरिरहेका छन् । उनैले विनोदलाई आड दिंंदै भनेका थिए, ‘तिमी फिल्मकै लागि जन्मेका रहेछौं, लु म साथ दिन्छु । लेट्स वर्क टुगेदर ।’

स्थानीय अखबारले जुटाइदिएको सहयोग

‘एउटा नेपाली फिल्ममेकर यो शहरमा बसेर फिल्म बनाउन चाहन्छन् । तर, ऊसँग पैसा छैन ।’ एक्रोन शहरको स्थानीय अखबारमा यस्तै व्यहोराको अन्तर्वार्ता छापियो । निर्देशक विनोद पौडेलका लागि यो एउटा सुनौलो मौका भइदियो ।

धमाधम उनलाई फोन आउन थाल्यो, सहयोगको बाचासहित । पौडेलका एक पुराना साथी थिए प्रदीप शर्मा, मैतीदेवीमा एउटै कोठामा बसेका । धेरै संघर्ष गरेर अमेरिका पुगेका । उनैले फोनमा भने, ‘ल तिमी फिल्म बनाउन आएका रहेछौं । मैले पत्रिकामा पढें । फिल्म बनाउने भए २५ हजार डलर सहयोग गर्छु ।’

फिल्मसँग कुनै साइनो नभएको मान्छेले त्यसरी सहयोग गर्दा पौडेलको आँखा रसायो । केही नेपाली भाइहरू भोलेन्टियरको रूपमा काम गर्न अग्रसर भए । एक जना मित्रले फोन गरेर भने, ‘सर मसँग एउटा ठूलो भ्यान छ । म महिनाको १०–१५ हजार डलर कमाउँछु । यो भ्यान डेढ महिनाको लागि तपाईंलाई दिन्छु । मलाई पैसा चाहिँदैन बरु म आफैं तपाईंसँग काम गर्न चाहन्छु । चाहे भाँडा माझ्नु परोस् वा अरु कुनै काम ।’

अर्का पात्र थिए, दीपक गजमेर । उनी अमेरिकामा रेस्टुरेन्ट चलाउने । उनैले निर्देशक पौडेललाई खानाको लागि निम्तो गरे । गजमेरले भने, ‘तपाईं फिल्म बनाउँदै हुनुहुँदोरहेछ । म कसरी साथ दिनसक्छु ।’

पौडेलको प्रस्ताव थियो, ‘तपाईं लाइन प्रोड्युसर बन्नुहोस् ।’ तर, उनी रेस्टुरेन्ट चलाइरहेका मान्छे । लाइन प्रोड्युसर बन्नका लागि त हरक्षण फिल्मलाई समय दिनुपर्ने । कसरी उनले फुर्सद निकाल्न सक्छन् ?

गजमेरले निर्धक्क भने, ‘मलाई एक हप्ताको समय दिनुहोस् ।’

नभन्दै हप्तादिनपछि उनको फोन आयो । गजमेरले भने, ‘विनोद सर, अब म काम गर्न आउँदैछु ।’

विनोदले सोधे, ‘अनि रेस्टुरेन्ट नि ?’

‘त्यो त मैले बेचिदिएँ ।’ गजमेरको यस्तो जवाफ सुनेर पौडेल छक्क परे । उनले गजमेरलाई रोक्दै भने, ‘मेरो फिल्मको लागि रेस्टुरेन्ट नबेच्नुहोस्, मलाई पाप लाग्छ ।’ तर, गजमेर रोकिएनन् । उनले आफ्नो रेस्टुरेन्ट ठीकठाक मात्र चलिरहेको र बेच्न चाहेको बताए ।

निर्देशक जोएस पाण्डेलगायत पनि यसैगरी फिल्ममा जोडिए । अरुणा कार्की, जो थिएटरका कलाकार हुन् । उनले पनि कस्ट्युम डिजाइनरको रुपमा एक महिना काम गर्ने भइन् । यसरी एक–एक साथीहरुको दर्बिलो र आत्मीय साथले पौडेललाई उत्साहित बनायो । उनले फिल्म छायांकनको तयारी सुरु गरे । फिल्मको वर्किङ टाइटल राखियो, रबर सिटी ।

कोही प्राविधिक बने, कोही कलाकार

अमेरिकामा आ–आफ्नै काम–धन्दामा व्यस्त साथीहरुको एउटा समूह, जसले फिल्म निर्माणमा साथ दिंदै थिए । सबैसँग उत्साह थियो, ऊर्जा थियो, लगाव थियो तर फिल्म निर्माणको अनुभव थिएन ।

फिल्ममा केही अमेरिकन कलाकार र प्राविधिक लिइएको थियो । नयाँ टिमबाट प्राविधिक सहयोग लिनु र नन एक्टरलाई अभिनय गराउनु दुवै कठिन काम त थियो नै, उत्तिकै रोमाञ्चक अनुभव पनि ।

पौडेलले ओस्कार कलेज अफ फिल्म स्टडिजमा पढाएका विद्यार्थी अंकितले सिनेम्याटोग्राफरको काम सम्हाल्ने भए । छायांकन हुन तीन दिनमात्र बाँकी छँदा उनले विमल सुवेदीलाई फोन गरे, जो ‘पल्पसा क्याफे’ बनाउँदै थिए । पौडेलले नेपालमा फोन गरे, ‘विमल सर, तपाईंसँग अमेरिकाको भिसा छ ?’

‘हजुर छ’ उनको जवाफ ।

‘प्लिज आउनुहोस् न तपाईं’ पौडेलले अनुरोध गरे । ‘पल्पसा क्याफे’को कामलाई थाँती राखेर दुई दिनमै विमल सुवेदी अमेरिका पुगे । यसरी सबैको हार्दिकता र साथले ‘रबर सिटी’को छायांकन सुरु भयो ।

तर, यी सम्पूर्ण बन्दोबस्ती भनेजस्तो सजिलो थिएन । कसैलाई गाली गर्नु भएन, कसैसँग रिसाउनु मिलेन । किनभने सबैजना भोलेन्टियरको रुपमा काम गरिरहेका थिए । सुटिङ सेटमा आफू निर्देशक मात्र भएर बस्न नसकिने । सबै काम मिलिजुली गर्नुपर्ने । राति घर फर्केर फेरि अर्को दिनको खाका तयार गर्नुपर्ने ।

शहरको कुनै भागमा छायांकन गर्नुपरेमा नगर परिषद्ले सहजीकरण गरिदिन्थे । छायांकन हुने निश्चित भागमा आउजाउ बन्द गरेर सम्पूर्ण सुरक्षाको व्यवस्था गरिदिन्थे । जबकि शहरको भीड, गाडी आदि देखाउनु परेमा आफ्ना साथीभाइलाई गुहार्नुपर्थ्यो । कसैले मान्छे ल्याइदिन्थे, कसैले गाडी ।

अमेरिकी मूलका प्राविधिकहरुसँग काम गर्न कम्ता गाह्रो थिएन । ‘उनीहरु एकदमै सिस्टममा चल्नुपर्ने, आउने, जाने, खाने निश्चित समय हुन्थ्यो’ पौडेल सुनाउँछन्, ‘दिनमा आठ घण्टा भन्दा बढी काम नगर्ने । सुटिङ प्याकअप होस् वा नहोस्, उनीहरु हिँडिहाल्थे ।’

सिनेमाको बलियो आधारशीला नभएको एउटा गरिब मुलुकका फिल्ममेकरले हलिउड जस्तो शक्तिशाली फिल्म उद्योगको छायामा फिल्म निर्माण गर्दा कति निरीह हुनुपर्छ भन्ने कुराको उदाहरण पनि थियो यो ।

हलिउडलाई नजिकबाट हेर्ने रहर

अमेरिका पुगेका सुरुवाती दिनहरु यत्तिकै बितिरहेको थियो । कामको मेलोमेसो मिलिसकेको थिएन । निर्देशक पौडेल तनावमा थिए । यस्तैमा एक साथीले सुझाए, ‘हलिउड फिल्महरु टन्नै बनिरहेका छन् । यसो आवेदन देउ न । कम्तीमा अनुभव लिन पाइन्छ, गएर केही सिक ।’

त्यस्ता थुप्रै वेबसाइट थिए, जहाँ फिल्ममा काम गर्नका लागि आवेदन दिन सकिन्थ्यो । नेटफ्लिक्सको एउटा फिल्म ‘विट जर्म’ निर्माण हुँदै रहेछ । यसका मुख्य भूमिकामा हलिउड अभिनेता एडम ड्राइभर थिए । अक्सर यस्ता फिल्महरुमा ब्याकग्राउन्ड आर्टिस्टको रुपमा काम गर्ने मौका मिल्न सक्छ । पृष्ठभूमिमा देखिने पात्र नै सही, कम्तीमा हलिउडमा कसरी काम गरिन्छ भन्ने प्रत्यक्ष साक्षी त बन्न पाइन्छ । यही सोचेर निर्देशक पौडेल तम्सिए ।

अमेरिकामा रहेका नेपाली फिल्ममेकर साथीहरूसँग विनोदले यसबारे थप बुझ्न चाहे । उनीहरूले भने, ‘ह्या, त्यो हावा कुरा । कहाँ त्यहाँ हामीले चान्स पाउँछौं ?’

तैपनि निर्देशक पौडेलले सोचे, एक पटक प्रयास गर्नुपर्यो । उनले वेबसाइटमार्फत् आफ्नो फोटो पठाए । दुई दिनपछि छनोट भएको व्यहोरासहित अन्य कागजात मागियो । फिल्म ओहायो शहरमा छायांकन हुँदै थियो, उनी त्यहीं पुगे ।

तर, फिल्मको टिममा सम्मिलित हुनुअघि लामो प्रक्रिया हुने । स्वास्थ्य जाँचदेखि अन्य प्रक्रियाहरु पूरा गराइएपछि निर्माण टिमले भन्यो, ‘हुन्छ, फलानो दिनमा तिम्रो सेड्युल छ । आवश्यक परेपछि खबर गर्छौं ।’

केही दिनमै उनको सेड्युल आयो ।

हलिउडको त्यो भव्यता !

विभिन्न चरण पार गर्दै उनी सेटमा पुगें । त्यो छायांकनस्थलको भव्यता देखेर चकित भए । यस्तो लाग्ने मानौं, त्यहाँ फिल्म छायांकन भइरहेको छैन बरु एउटा अलग संसार बसाइँदैछ । करिब काठमाडौं उपत्यका जति क्षेत्रफललाई छायांकनस्थल बनाइएको थियो । त्यो कृत्रिम संसारमा सैयौं घर, सैयौं गाडी, अनगिन्ती मान्छेहरु थिए ।

डन डोलिलो लिखित उपन्यास ‘ह्वाइट नोइज’मा आधारित फिल्म थियो यो, जसले फरक कालखण्डको कथा भन्छ । अतः छायांकनस्थलमा त्यही पुरानो परिवेश, पहिरन शैली, घर, गाडी व्यवस्था गरिएको थियो । यो एक सन् १९८५ ताकाको संसार जस्तै थियो ।

त्यहाँ पानी परेको दृश्य खिच्नका लागि ठूला–ठूला पानीका ट्यांकर राखिएको थियो । एक किलोमिटर टाढासम्म पुग्ने लाइटको जडान गरिएको थियो, जुन रिमोट कन्ट्रोलरबाट चलाउन सकिन्छ । करिब चार सयको हाराहारीमा कार, भ्यान, बस, एम्बुलेन्स राखिएको छ, जुन सन् १९८० को मोडलका हुन् । चार सय मान्छेलाई रिजर्भ राखेका छन्, आवश्यक परेको बखत प्रयोग गर्न सकियोस् भनेर ।

छायांकनस्थलमा ब्याकग्राउन्ड आर्टिस्टलाई बस्नका लागि छुटै ठाउँ थियो । एकातिर प्रोडक्सन डिजाइनको ल्याब, जहाँ फिल्मको काम कसरी हुन्छ भनी बुझ्न सकिन्थ्यो । कतिसम्म मिहीन रुपमा काम हुन्थ्यो भने, पृष्ठभूमिमा देखिने पात्रको अनुहार, हेयर स्टाइल, लुगा, जुत्ता, घडी सबै सन् १९८० कै दशकको देखिनुपर्ने ।

यो भव्यता देखेपछि ११ वर्षसम्म फिल्म कलेज सञ्चालन गरेका, फिल्म निर्माण गरिसकेका निर्देशक पौडेललाई महसुस भयो, ‘विश्व सिनेमा कुन अग्लाइमा छलाङ मारिरहेको छ र हामी कुन दलदलमा घिस्रिरहेका छौं ।’

आफूलाई फिल्ममेकर भन्ने आँट आएन उनलाई । ‘म पनि फिल्म बनाइरहेको छु, म पनि फिल्ममेकर’ पौडेल भन्छन्, ‘जबकि मेरो व्यांक एकाउन्टमा ६२–६५ पैसा राखेर बसिरहेको छु, यहाँ ३–४ सय मिलियन डलरको फिल्म बनिरहेको छ ।’

खासमा उनी त्यहाँ केही सिक्न गएका थिए । तर, त्यो भव्यता देखेपछि पौडेलले आफूलाई एकदमै बामपुड्को र निरीह महसुस गरे । उनलाई त्यहाँ खुलस्त गर्न कठिन थियो कि, म पनि फिल्ममेकर हुँ । तर, काम गर्दै जाँदा उनले केही नजिकिएका साथीलाई आफ्नो सग्लो परिचय खुलाइदिए । ती साथीहरु बडो चकित भए र विस्फारित दृष्टि लगाउँदै भने, ‘तिमी पनि फिल्म बनाउन आएको ?’



source https://www.onlinekhabar.com/2022/04/1102787

जम्बो टोलीसहित प्रधानमन्त्री देउवा दिल्ली जाँदै

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहने छन् ।

भारत बसाइको क्रममा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् । भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री देउवाले १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।

 



source https://www.onlinekhabar.com/2022/04/1102780

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा



source https://www.onlinekhabar.com/2022/04/1102778

Wednesday 30 March 2022

आईपीएलमा बैंलोरको पहिलो जित

१७ चैत, काठमाडौं । इण्डियन पि्रमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइटराइडर्सलाई ३ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८.५ ओभरमा १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले ७ विकेटको क्षतिमा १३२ रन बनाउँदै जित हासिल गर्‍यो । दुई खेल खेलेको बैंलोरको यो पहिलो जित हो ।

बैंगलोरको शुरुवात राम्रो थिएन । ओपनर अनुज रावत खाता खोल्न नपाउँदै आउट भए । उनलाई उमेश यादवले आउट गरे । त्यसपछि कप्तान फाफ डुप्लेसिस पनि ५ रनमात्रै जोड्न सके । विराट कोहलीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी १२ रनमा आउट भए ।

डेभिड विली र शरफाने रदरफोर्डले टिमलाई सम्हाल्ने कोसिस गरेका थिए । विलीले १८ र रदरफोर्डले १८ रन बटुले । शाहबाज अहमदले तीन छक्का सहित २० बलमा २७ रन जोडे । वानिन्दु हसरंगाले पहिलो बलमा चौका प्रहार गरे तर त्यसपछि उनी टिम साउदीको बलमा बोल्ड भए ।

हर्षल पटेलले १९ ओरमा दुई चौका प्रहार गर्दै खेललाई आफ्नो टिमको पक्षमा फर्काए । दिनेश कार्तिकले अन्तिम बलमा छक्का र चौका प्रहार गर्दै बैंग्लोरलाई जित दिलाए ।

कोलकाताका कुनै पनि ब्याटरले ठूलो स्कोरको रन बनाउन सकेनन् । ओपनर अजिक्य रहाणे ९ रनमा वेंकटेश अय्यर १० रनमा आउट भए । कप्तार श्रेयस अय्यरले १३ रन मात्र बनाउन सके । नितिश राणाले १० र सेम बिलिङले १४ रन थपे । कोलकाताका लागि सबैभन्दा धेरै रन बनाउने ब्याटर आन्द्रे रसेल रहे । उनले १८ बलमा ३ छक्कासहित २५ रन जोडे । उमेश यादवले १८ रन बनाए । वरुण चक्रवर्ती १० रनमा नटआउट रहे ।

बैंगलोरका लागि वानिन्दु हसरंगाले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए । एक विकेट मोहम्मद सिराजको नाममा रह्यो । शहबाज नदिम महँगो सावित भए । केबल एक ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।



source https://www.onlinekhabar.com/2022/03/1102187

रुसी विदेशमन्त्री भारत भ्रमणमा, सहुलियतमा इन्धन खरिदबारे वार्ता हुने

१७ चैत, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ ।

भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् ।

रुसी विदेशमन्त्री लाभरोभको भ्रमणको क्रममा पेट्रोलियम पदार्थको आयात सस्तो मूल्यमा गर्ने विषयमा छलफल हुने अनुमान छ । भारतको सरकारी समाचार एजेन्सी पीटीआईले लाभरोभको भारत भ्रमणको क्रममा रुसबाट सहुलियतमा तेल खरिदको विषयमा केन्दि्रत रहेर छलफल हुने उल्लेख गरेको छ । साथै सैन्य सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ ।

पछिल्लो समयमा विभिन्न देशका कुटनीतिज्ञहरुले भारतमा भ्रमण बाक्लो बनाएका छन् । हाल बेलायतका विदेशमन्त्री, अमेरिकाको अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार र जर्मनीका सुरक्षा सल्लाहकार भारतमा छन् । केही दिनअघि मात्रै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/03/1102183

५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

१७ चैत, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ ।

पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ । किनकि यही खेलबाट नेपालले टी-२० अन्तर्राष्ट्रियमा ५० खेलको कोशेढुंगा पूरा गर्नेछ ।

सन् २०१४ मा बंगलादेशमा आईसीसी टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले त्यही पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीनवटै खेलले टी-२० मान्यता पाएको थियो ।

नेपालले हङकङसँग त्यो ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेलेको थियो र त्यसमा जित हात पारेको थियो । चटगाउँमा भएको उक्त खेल नेपालले ८० रनले जितेको थियो । खेलमा शक्ति गौचन म्यान अफ दि म्याच भएका थिए ।

नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।

बंगलादेशबाट सुरु भएको टी-२० अन्तर्राष्ट्रिय यात्रामा नेपालले आयरल्याण्ड, युएई, लर्ड्स, ओमान लगायत ठाउँ पुगिसकेको छ । अहिले संयोग कस्तो जुरेको छ भने नेपालले ऐतिहासिक ५० औं खेल घरेलु मैदानमा खेल्दैछ ।

नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार व्यहोर्दा एक खेल नतिजा विहीन बनेको थियो । नेपालको जित प्रतिशत ५६.२५ रहेको छ ।

नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् । उनले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकको मद्दतमा ८०३ रन बनाएका छन् । यस्तै कप्तान सन्दीप लामिछानेले ३५ खेल खेल्दै सर्वाधिक ६७ विकेट लिएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अहिलेसम्म १६ राष्ट्रले ५० वा त्योभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । सबैभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल्ने टिम पाकिस्तान हो । पाकिस्तानले १८९ खेल खेलेको छ ।

नेपालको नजर फाइनलतर्फ

लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टी-२० श्रृंखलामा एक्लो अपराजित टिम हो । नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ भने मलेसियालाई पनि पराजित गरेको छ ।

एकदिवसीय श्रृंखलामा नेपाललाई दुवै खेलमा हराएको पीएनजी टी-२० श्रृखंलामा भने लगातार दुई खेलमा पराजित भइसकेको छ ।

पीएनजी विरुद्ध मैदान उत्रँदा नेपालको नजर फाइनलतर्फ हुनेछ । नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।

यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको सहज जित निकालेको नेपाल लगातार तेस्रो खेल जित्ने योजनामा छ ।

बुधबार मलेसियालाई हराएपछि नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जितेर फाइनल पुग्ने र श्रृंखला नै जित्ने रहेको बताएका थिए । ‘पीएनजीसँगको खेलका लागि योजना बनाउनेछौं । हामी सबैजना शृंखला जित्ने लक्ष्यमा छौं । चार खेल जित्दै फालाईनल पनि जित्ने लक्ष्य छ,’ सन्दीपले भनेका थिए, ‘अझै फाइनल पुगेको छैन । फाइनल पुग्न एक खेल जित्नैपर्छ ।’

नेपालसँग पहिलो खेलमा पराजित भएको पीएनजीमाथि मलेसियाले ८ रनको ऐतिहासिक जित हात पारेको थियो । त्यसैले नेपालसँग खेल्दा पीएनजी केही दबाबमा हुनेछ ।

नेपाल र पीएनजीबीच यसअघि दुई वटा मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको थियो जसमा दुवैले एक-एक खेल जितेका छन् । सन् २०१५ मा आयरल्याण्डमा भएको टी-२० विश्वकप छनोटमा पीएनजीले नेपाललाई हराएको थियो । त्यसको बदला नेपालले त्रिवि क्रिकेट मैदानमा लिइसकेको छ ।



source https://www.onlinekhabar.com/2022/03/1102180

आजदेखि निफ : ३८ देशका ८९ फिल्म हेर्न पाइने

१७ चैत, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा चैत २१ गतेसम्म चल्ने छ ।

भौतिक रुपमा सञ्चालन हुने यो महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ राखिएको छ ।

आज पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे ५ बजे डा. पुरु लम्सालले निर्देशन गरेको ‘गोरु पर्व’ प्रदर्शन गरिने छ ।

महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्रहरू प्रदर्शन एवम् प्रतिस्पर्धा हुने छ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने निफका अध्यक्ष केपी पाठकले बताए ।

गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो । निफ महोत्सवले विश्वसामु नेपाली चलचित्रको प्रवर्द्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।



source https://www.onlinekhabar.com/2022/03/1102179

नाट्टाको निर्वाचन आज, थापा र बस्नेतको प्यानल प्रतिस्पर्धामा

१७ चैत, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को निर्वाचनमा लोकतान्त्रिक र वामपन्थीका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

नाट्टाको आज हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बस्नेत हाल नाट्टा कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् । उनी कोशी टुर एण्ड ट्राभल्सका सञ्चालक हुन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा सुधीरकुमार उपाध्याय पौडेल र उपाध्यक्षमा सुनिल शर्मा (खतिवडा) उम्मेदवार छन् ।

यसैगरी जिस्वाँ तुलाधर श्रेष्ठ महासचिव, प्रज्ञा शर्मा पाठक सचिव, सुदर्शन नेपाल कोषाध्यक्ष र गीता ढकाल सहकोषाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

मनसुन ट्राभल्सका सञ्चालक थापा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल र उपाध्यक्षमा बरुण मेहता उम्मेदवार छन् ।

यसैगरी महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य उम्मेदवार छन् ।



source https://www.onlinekhabar.com/2022/03/1102176

सत्ता गठबन्धनको बैठक : चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने

१७ चैत, काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने विषयमा दृढ देखिएका छन् । शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

आजको सत्ता गठबन्धनको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले तालमेल गर्ने निर्णय गर्ने बताएका थिए । उनले आजको बैठकबाट कम्तिमा महानगरको विषयमा निर्णय लिने बताएका थिए ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1102174

सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन !

१६ चैत, काठमाडौं । ‘अहिले गठबन्धनभित्रै गठबन्धन बन्ने अवस्था छ । हामी पाँच दलीय गठबन्धनमा छौं, अब चार दलीय गठबन्धन बन्छ कि !’ गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति सदस्यहरुसँग बुधबार भएको भेटमा नेकपा एकीकृत समजवादीका नेता झलनाथ खनालले भनेका छन् ।

पूर्वप्रधानमन्त्री खनालको अभिव्यक्तिले स्थानीय आवश्यकताका आधारमा मात्र चुनावी तालमेल गर्ने सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको निर्णयप्रति गठबन्धनमा आवद्ध दलहरुको असन्तुष्ट झल्काउँछ ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले ३० वैशाखको चुनावमा देशभर गठबन्धन चाहेका थिए । तर कांग्रेसले देशव्यापी होइन, स्थानीय आवश्यकताअनुसार मात्र तालेमेल गर्ने निर्णय गरेको छ ।

कांग्रेसको यो निर्णयबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उत्साहित देखिएका छैनन् । ‘तालमेल÷गठबन्धन कस्तो हुन्छ भन्ने थियो । नेपाली कांग्रेसको कार्य समितिले एउटा निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यता अनुसार तालमेल हुन्छ भन्ने कुरा पनि स्पष्ट भएकै छ, बुधबार चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन्, हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्ने कुरा गरेको हुनाले आवश्यक तालमेलसहित चुनाव हुन्छ ।’

कांग्रेसको निर्णयमा ‘अहंकार’

सत्ता साझदार दलका नेताहरुले भने स्थानीय आवश्यकतामा आधारमा मात्र तालमेल गर्ने निर्णयमा कांग्रेसको अहंकार झल्किएको बताएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा भन्छन्, ‘कांग्रेस निर्णयका दुईटा पक्ष छन् । एउटा, शेखर कोइरालाहरुलाई शान्त पार्न मध्यमार्गी निर्णय गरेको छ । अर्को, मनभित्र अन्य दललाई कम सिट दिऊँ, हामी यति ठूलो छौं भन्ने अहंकार पनि मिसिएको छ ।’ कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयमा ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको दाबी गरेको छ, खतिवडाले त्यतै संकेत गरेका हुन् ।

त्यसैले खनालले भनेजस्तै गठबन्धनभित्रै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको अर्को गठबन्धन बन्नसक्ने खतिवडा बताउँछन् । आफ्नो निर्णयबारे  गठबन्धनको बैठकमा कांग्रेसले प्रष्ट पारेपछि अगाडिको बाटो तय हुने भन्दै उनले भने, ‘केपी ओलीको अहमले केपीलाई छोड्दिन सक्छौैं भने कांग्रेसको अहमले कांग्रेसलाई छाडेर तेस्रो गठबन्धन बन्न सक्छ ।’

माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि त्यस्तो गठबन्धन बन्ने सम्भावनालाई नर्कादैनन् । ‘हरेक पार्टीले आआफनो आवश्यकतामा गठबन्धन या तालमेल गर्ने हो,’ उनको भनाइ छ, ‘हामीले पनि आवश्यकतामै गर्ने हो । कांग्रेस बाहेका पार्टीहरुको बीचमा त्यो हुन सक्ने भयो ।’

त्रिकोणात्मक प्रतिस्पर्धा 

मंगलबारको निर्णयसँगै कांग्रेस नेताहरुले आफू बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर भएको ठाउँमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने बताएका छन् । कांग्रेसको तल्लो कमिटीहरुले भटाभट आफू बलियो भएको ठाउँमा प्रमुख पदमा नछाड्ने घोषणा गर्न थालेको छ ।

तर केन्द्रीय कार्यसमितिको निर्णयले नै एमालेसँग गठबन्धन गर्ने ढोका बन्द भइसकेको छ । त्यसैले अब थोरै ठाउँमा कांग्रेस र एमाले नेतृत्वको गठबन्धन, धेरै ठाउँमा कांग्रेस, एमाले र माओवादी नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने अवस्था बन्दै गएको नेताहरु बताउँछन् ।

माओवादी केन्द्रका नेता गणेश साह पनि कांग्रेससहित तालमेल थोरै ठाउँमा मात्रै हुने देख्छन् । ‘सबैलाई जरुरी भएको ठाउँमा गठबन्धन भइहाल्छ,’ उनी भन्छन्, ‘नभएको ठाउँमा त्रिकोणत्मक प्रतिष्पर्धा (एमाले, कांग्रेस र माओवादी नेतृत्वको गठबन्धन) हुन्छ । बढी जसो त्रिकोणत्मक प्रतिष्पर्धा नै हुन्छ । कुनै–कुनै ठाउँमा कांग्रेससहितको गठबन्धन बन्छ ।’

तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बिहान साढे १० बजे बोलाइएको छ । यही बैठकबाट महानगरपालिकामा गर्ने चुनावी तालमेलबारे निर्णय हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । भन्छन्, ‘हामीले सकेसम्म महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल गरेका हौं । भोलि हामी गठबन्धनको बैठक बस्दैछौं । सम्भवतः केही न केही निर्णयमा पुग्छौं ।’



source https://www.onlinekhabar.com/2022/03/1102172

Tuesday 29 March 2022

टाटपल्टन लागेको श्रीलंकन अर्थतन्त्रबाट नेपालले के सिक्ने ?

१६ चैत, काठमाडौं । केही साता पहिले कागज आयात गर्न नसक्दा श्रीलंकाका विद्यालयहरूमा परीक्षा नै हुन सकेन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कागज नभएर श्रीलंकामा पत्रपत्रिका समेत बन्द हुने अवस्थामा पुगेका छन् ।

विदेशी मुद्रा सञ्चिति दयनीय बन्दा श्रीलंकाले कुनै पनि वस्तु तथा सेवा आयात गर्नै नसक्ने अवस्था छ । श्रीलंकाको यो अवस्थालाई सन् १९४८ मा ब्रिटिश राजबाट स्वतन्त्रपछिको सबभन्दा दयनीय अवस्था भनिएको छ । एक वर्षअघिदेखि श्रीलंका वित्तीय संकटमा जकडिंदै थियो ।

सर्वसाधारणले औषधि, खाद्यान्न लगायत वस्तु किन्न घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । इन्धनको लागि पनि लामो-लामो लाइन छ । पेट्रोल पम्पहरूको सुरक्षाका लागि सेना नै परिचालन गरिएको छ । भोकमरीको अवस्था आउन अब लामो समय नलाग्ने अड्कलबाजी समेत हुन थालेको छ । श्रीलंकाको यो अवस्थाका लागि वैदेशिक ऋणको पासोलाई प्रमुख कारक मानिएको छ ।

श्रीलंकालाई हेरेर नेपालमा पनि चिन्ता व्यक्त हुन थालेको छ । यस्तो चिन्ताका पछाडि दुई कारण छन्- पहिलो, विदेशी मुद्रा सञ्चितिको अवस्था । नेपालको पनि विदेशी मुद्रा सञ्चिति लगातार घट्दो छ ।

आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा नेपालको बैंकिङ्ग क्षेत्रसँग ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ । ६ महिनाभन्दा कम पुग्ने सञ्चितिलाई संकटतर्फ धकेलिंदै गएको संकेत मानिन्छ ।

अर्को चिन्ता शोधनान्तर स्थितिसँग सम्बन्धित छ । अहिले शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) पनि नेपालको इतिहासकै कम छ । ब्यालेन्स अफ पेमेन्ट विदेशिने र भित्रने रकमबीचको अन्तर हो । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आवको ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा थियो ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको ब्यालेन्स अफ पेमेन्ट इतिहासमै बढी घाटामा भएका कारण पनि श्रीलंकाको जस्तै हुन्छ कि भन्ने आशंका उब्जिएको बताउँछन् । उनका अनुसार, नेपाल र श्रीलंकाका कतिपय आम्दानीका स्रोत उस्तै छन् ।

श्रीलंकाको अर्थतन्त्रमा नेपालको जस्तै पर्यटन क्षेत्र र रेमिट्यान्सको महत्वपूर्ण योगदान छ । आम्दानीको अर्को महत्वपूर्ण स्रोत भनेको चिया निर्यात हो । कोरोना महामारीले पर्यटन क्षेत्र प्रभावित भएपछि नै श्रीलंकाको अर्थतन्त्र ३.६ प्रतिशतले घटेको थियो ।

‘रूसले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले चिया निर्यात समेत गर्न सकेको छैन’ पूर्व गभर्नर क्षेत्रीले भने, ‘कोरोना महामारीपछि पर्यटक आएनन्, रेमिट्यान्स पनि घट्यो अनि निर्यात गरेर कमाउनुपर्नेमा त्यो पनि हुन सकेन ।’

रूस-युक्रेन युद्धका कारण श्रीलंकाबाट ९० प्रतिशत चिया निर्यात हुन नसकेको उनी बताउँछन् । श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिनुको अर्को प्रमुख कारण वैदेशिक ऋण हो । ठूलो मात्रामा ऋण लिएको श्रीलंकाले आम्दानी गुमेकाले तिर्ने भाखा चुकायो ।
‘धेरै विदेशी ऋण तिर्नेलाई म्याचुर्ड पनि यही बेला भयो’ पूर्व गभर्नर क्षेत्री भन्छन्, ‘यो कारण पनि श्रीलंकामा समस्या गहिरियो ।’

श्रीलंकामा संकटको सुरुवात

श्रीलंकाका अर्थमन्त्री बसिल रोहन राजापाक्षले ‘खतरनाक विदेशी मुऽा संकट’ घोषणा गरेको तीन दिनपछि गत १० सेप्टेम्बरमा केन्द्रीय बैंकका प्रमुख डब्ल्यू. डी. लक्ष्मणले राजिनामा दिएका थिए । निजी बैंकहरूले आयातका लागि विदेशी मुद्रा सकिएको बताएपछि राष्ट्रपतिले ७ सेप्टेम्बरमै आर्थिक संकटकाल घोषणा गरिसकेका थिए ।

त्यसपछि सरकारले आयात नियन्त्रण गर्न थाल्यो । केन्द्रीय बैंकले मोबाइल फोन, टायर र लत्ताकपडा आयातका लागि ऋण नदिने नियम त्यसअघि नै ल्याएको थियो ।

हालसम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति र खाद्यान्नको मूल्य तथा सरकारी ढुकुटी रित्तिएकाले यो वर्ष श्रीलंका टाटपल्टिन सक्ने सम्भावना बढेको छ । गोटाबाया राजापाक्षेको नेतृत्वमा रहेको सरकारले गरेको अत्यधिक सार्वजनिक खर्च, कर कटौती, राजस्वमा आएको कमी र चिनियाँ ऋणले यो अवस्था निम्त्याएको टिप्पणी पनि गरिंदैछ ।

द गार्जियनले श्रीलंकाको विदेशी मुद्रा सञ्चिति हालसम्मकै न्यून र मुद्रास्फीति हालसम्मकै उच्च बिन्दुमा पुग्नुको प्रमुख कारण आन्तरिक ऋण र बाहृय ऋणपत्र (बोन्ड)सँग जुध्न मुद्रा छाप्न थाल्नुलाई मुख्य कारण भनेको छ ।

विश्व बैंकको अनुमान अनुसार महामारी सुरु भएयता श्रीलंकामा पाँच लाख मानिस गरिबीको रेखामुनि पुगे । यो संख्या पाँच वर्षको अवधिमा गरिबीमुक्त हुने जनसंख्या बराबर हो । नोभेम्बरमा मुद्रास्फीति हालसम्मकै उच्च अर्थात् ११.१ प्रतिशतमा पुगेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिंदा यसअघि सम्पन्न ठानिएका मानिसलाई समेत परिवार पाल्न कठिनाइ भइरहेको छ । हजारौं मानिस आधारभूत वस्तु किन्न नसक्ने अवस्थामा पुगेका छन् ।

राजापाक्षेले आर्थिक संकट घोषणा गरी अत्यावश्यक वस्तुको सुनिश्चितताका लागि सेनालाई अधिकार दिंदा समेत मानिसको कष्ट कम भएको छैन । श्रीलंकाली संकटको गम्भीरतालाई राहदानी कार्यालयमा लाग्ने लामो लाइनले समेत प्रष्ट पार्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीमध्ये २५ प्रतिशतले मुलुक छोड्न चाहेको बताउँछन् ।

श्रीलंकामा पछिल्लो समय वैदेशिक ऋणको भार ठूलो समस्या बनेको छ । खासगरी चीनलाई तिर्नुपर्ने ऋण बढ्दै गएको छ । श्रीलंकाले चीनलाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी तिर्न बाँकी छ । श्रीलंका सरकारले गत वर्षको आर्थिक संकटका बेला चीनसँग नै थप १ अर्ब डलर ऋण लिएको थियो ।

यो वर्ष आन्तरिक र वैदेशिक गरी ७ अर्ब ३० करोड डलर बराबरको ऋण तिर्नुपर्ने बाध्यतामा छ, श्रीलंका । नेपालमा भने श्रीलंका जस्तो अवस्था नरहेको राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्री बताउँछन् ।

के छ नेपालको अवस्था ?

नेपालको पनि अर्थतन्त्र सहज अवस्थामा भने छैन । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बाहृय क्षेत्र अलिकति दबावमा रहेको बताउँछन् ।

सबै वित्तीय सूचकले संकट देखाउँदैन । पछिल्लो समय महँगी बढेको छ । गत माघमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत छ ।

केन्द्रीय बैंकले चालु आवमा मुद्रास्फीति ६ प्रतिशतको सीमामा राख्ने बताएको छ । अहिलेसम्म बोर्डर लाइन नजिक पुगे पनि माथि नाघेको छैन ।

पर्यटन क्षेत्रको आय र रेमिट्यान्स दुवै घटेको छ । बढ्दो आयातले विदेशी मुद्राको सञ्चित घटाएको छ । ‘विदेशी मुद्रा सञ्चितिमा दबावको अवस्था पक्कै हो, तर किन्नै नसक्ने अवस्था होइन’, कार्यकारी निर्देशक डा. श्रेष्ठ भन्छन् ।

गत असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा रु.११७३ अर्ब २ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ ।

वैशाखमा हुने स्थानीय तह निर्वाचनले आयात बढाउन सक्छ । यसले ब्लोन्स अफ पेमेन्टमा थप दबाव पार्न सक्ने डा. श्रेष्ठले बताए । उनका अनुसार, सुधारका आधार पनि प्रशस्तै छन् । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्र अहिले तगि्रंदैछ । लगातार घटिरहेको रेमिट्यान्समा पनि सुधार आउने अपेक्षा गर्न सकिने उनले बताए ।

‘अब कोरोनाको अर्को भेरिएण्ट आएन भने पर्यटन क्षेत्रमा सुधार हुन्छ, विदेश जानेको संख्या पनि बढेको छ । यो रेमिट्यान्स बढ्ने संकेत हो’ डा. श्रेष्ठले भने, ‘चुनावका कारण रेमिट्यान्स आउने क्रम बढ्दा अहिले देखिएको समस्यामा सुधार हुन सक्छ ।’

वैशाखपछि आयातमा पनि सुधार आउने अपेक्षा गर्न सकिने बताउँदै उनले भने, ‘अर्थतन्त्र केही दबावमा भए पनि सुधार हुने ठाउँहरू छन्, आत्तिहाल्नुपर्ने अवस्था होइन ।’

नेपालले के गर्नेे ?

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन र रेमिट्यान्समा कोभिडले असर गर्दा श्रीलंकाको अर्थतन्त्र समस्याग्रस्त बनेको बताउँछन् । ‘अर्कोतर्फ ६-७ अर्ब डलर वैदेशिक ऋण तिर्नुपर्ने दायित्व छ’ उनी भन्छन्, ‘तर विदेशी मुद्रा सञ्चिति २.५ अर्ब डलर मात्रै छ, समस्याको दोस्रो प्रमुख कारण यो हो ।’

थापाले देखेको त्यहाँको समस्याको तेस्रो कारण आयात हो । कोभिडका कारण समस्यामा परेका क्षेत्रमा केन्द्रीय बैंकले राहत दिएको थियो । त्यो राहत पनि आयातमा ज्यादा गएको उनले बताए ।

श्रीलंकाले अर्गानिक कृषि अभियान चलाएको थियो । कोभिडपछि कृषि उत्पादनमा ह्रास भएर आयात बढ्यो । ‘हिजो आन्तरिक खपत पुगिरहेको क्षेत्रमा पनि आयात गर्नुपरेपछि समस्या भयो’, थापाले भने ।

कृषिमा पनि समानता र सम्भावना भएका देशहरू हुन्- श्रीलंका र नेपाल । वैदेशिक ऋण भने समानता नभएको थापाले बताए । ‘नेपाललाई त्यत्रो वैदेशिक ऋण छैन, जसका कारण अर्थतन्त्र असुरक्षित होस्’, उनले भने ।

नेपालको आन्तरिक स्रोत भने कमजोर छ । अहिले नेपालको अर्थतन्त्रमा पूँजीको छ । आन्तरिक स्रोत कमजोर हुँदा पूँजी निर्माण हुनसकेको छैन । निजी क्षेत्रले लगानी गर्न चाहँदा पनि पूँजीको अभाव छ । अहिले नेपालको चालु खाता घाटा ४१३ खर्ब छ । चालु खाता भनेको स्रोत हो । ब्यालेन्स अफ पेमेन्ट पनि २४७ अर्ब रुपैयाँ घाटामै छ ।

‘अहिले हाम्रो समस्या भनेको पूँजी र स्रोतको हो, आम्दानी भन्दा बढी खर्च भएको छ’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा भन्छन्, ‘प्रत्यक्ष वैदेशिक लगानी आए त्यो पूर्ति हुनसक्थ्यो, चालु खाता घाटा धेरै हुँदैनथ्यो ।’

अहिले तरलताको समस्या देखिनुको कारण पनि यही हो । आन्तरिक स्रोत नभएको र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समेत नसकेको कारण समस्या देखिएको उनले बताए ।

उनका अनुसार, अर्थतन्त्रमा समस्यामा हन नदिन बाहृय क्षेत्रको बचत प्रयोग गर्ने, बाहिरबाट पूँजी ल्याउने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगायत कामहरू गर्नुपर्छ । यो सरकारको काम हो । राष्ट्र बैंकले चालु खाताको खर्च कटौती गर्ने हो । उपभोगमा होस् या लगानीमा, खर्च घटाउँदा अर्थतन्त्रलाई राहत हुने थापाले बताए ।

‘केन्द्रीय बैंकले आप\mनो काम गरेको छ, अब सरकारले आफ्नो काम गर्नुपर्‍यो’ उनले भने, ‘२०७२ देखि नै निरन्तर काम गरेको भए यतिबेला सहज हुन्थ्यो । सुधारका लागि सरकारले लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकसँग समन्वय हुनुपर्छ ।’



source https://www.onlinekhabar.com/2022/03/1101609

चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दा : तीन कर्मचारी साधारण तारिखमा रिहा

१६ चैत, काठमाडौं । सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तीन कर्मचारीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद सौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो ।

विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई नियमित तारिखमा उपस्थित हुने गरी धरौटी नमागी रिहा गरेको हो । विशेष अदालतले मारुती सिमेन्टसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।



source https://www.onlinekhabar.com/2022/03/1101606

नेपालले आज मलेसियासँग खेल्दै, यस्ताे छ हेड टु हेड

१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् ।

शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

गत वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङखला खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि मलेसियाले पीएनजीलाई हराएर सनसनी मच्चाएको छ । त्यसैबेला नेपालले दुवै खेलमा मलेसियालाई पराजित गरेको थियो ।

नेपाल र मलेसिया ११ महिनापछि खेल्न लागेका हुन् ।

मलेसिया नेपालको लागि नौलो प्रतिद्वन्द्वी भने होइन । अहिलेसम्म टी-२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेको छ । जसमा ६ खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

वैशाखमा नेपालले मलेसियालाई टी-यू मैदानमै ९ विकेट र ६९ रनले पराजित गरेको थियो ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

टी-२०आई खेल : ६
नेपाल विजयी : ५
मलेसिया विजयी : १

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०
नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज
पहिलो खेलमा नेपाल ९ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६९ रनले विजयी



source https://www.onlinekhabar.com/2022/03/1101589

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

१६ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

थप्सनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।

थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

उनले मलेसियाको क्वालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।



source https://www.onlinekhabar.com/2022/03/1101583

आईपीएलमा राजस्थान रोयल्सको सानदार जित

१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाईखेलकुद प्रमुखराष ६१ रनले हराउँदै राजस्थानले सानदार सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ मात्रै बनाउन सक्यो ।

हैदराबादका एडेन माक्ररमले ५७ र वासिन्टन सुन्दरले ४० रन बनाएका थिए । रोमारियो शेफर्ड २४, ओपनर अभिषेक शर्मा ९, अब्दुल सामद ४, कप्तान केन विलियम्सनले २ रन मात्रै जोडे । निकोलस पुरन र राहुल त्रिपाठीले रनै जोड्न सकेनन् । राजस्थानका बलर युजभेन्द्र चहलले ३ र प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्टले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

राजस्थानका कप्तान सन्जु स्यामसनले सर्वाधिक ५५, देवदत्त पाडिक्कलले ४१, जस बटलर ३५, शिम्रन हेटमार ३२, यशस्वी जैशवाल २०, रियान प्राग १२ र नाथनले एक रनको योगदान गरे ।

बलिङतर्फ हैदराबादका उमरन मलिकले र टि नटराजनले दुई/दुई र भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक/एक विकेट लिए ।

 



source https://www.onlinekhabar.com/2022/03/1101585

आहुतिको पार्टी पनि चुनावमा नजाने, वैद्य र विप्लवसँग एकता प्रयास पनि ‘असफल’

१६ चैत, काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी पनि आगामी चुनावमा सहभागी नहुने भएको छ ।

अभियानको रुपमा सुरु भएर २०७५ वैशाखमा पार्टीका रुपमा घोषणा भएको यो दलले भोलि (बिहीबार)देखि काठमाडौंमा प्रथम राष्ट्रिय भेला गर्दैछ ।

यो दल ३० वैशाखको स्थानीय तह निर्वाचनमा भने सहभागी नहुने पक्का भएको छ । ‘अहिले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई उपयोग गर्ने वा भाग लिने दुवै अवस्था छैन भन्ने हाम्रो बुझाइ छ’ संयोजक आहुतिले अनलाइनखबरसँग भने, ‘यसबाट समस्या समाधान हुने देखिएको छैन । जनतालाई भ्रम दिने थलो बाहेक केही बनेको छैन ।’

मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिष्कारको निर्णय गरिसकेको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मध्यमार्गी निर्णय गर्दै उपयोग न बहिष्कारको लाइनमा छ ।

के हुन्छ भेलामा ?

प्रज्ञा भवन कमलादीमा हुने वैज्ञानिक समाजवादी पार्टीको भेलामा प्रत्येक जिल्लाबाट ५ जनाका दरले प्रतिनिधि उपस्थित हुनेछन् । पार्टीले अहिलेसम्म ७२ जिल्लामा संगठन विस्तार गरिसकेको संयोजक आहुति दाबी गर्दछन् । प्रवास अन्तर्गत १५ देश र मोर्चा संगठनबाट पनि प्रतिनिधित्व हुने भेलामा ४५० भन्दा बढी सहभागी हुने उनले बताए ।

राष्ट्रिय भेलाको प्रारम्भ सत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) र नेकपाका ऋषि कट्टेललाई वक्ताका रुपमा बोलाइएको छ ।

‘सांस्कृतिक रुपमा हामी यो पटकबाट नयाँ गर्दैछौं’ संयोजक आहुतीले भने, ‘मञ्चमा कोही पनि बस्दैनन् । मञ्चमा जसको काम छ, त्यो मान्छे मात्रै त्यति बेला त्यहाँ जान्छ ।’ उनले अघि भने, ‘मञ्चलाई पाठशाला बनाउन सुरु गरेका छौं । त्यहाँ बेला–बेलामा वृत्तचित्र देखाइन्छ । कसैले गीत गाउँछ, कसैले विज्ञान प्रविधि त कसैले दर्शनशास्त्र र समाज विज्ञानबारे केही कुरा भन्छ ।’

विनोद विक्रम केसी, राजु स्याङ्तान, सुमिना, अस्मिता वादी लगायतले कविता वाचन गर्नेछन् ।

नयाँ विचार ल्याउने दाबी

राष्ट्रिय भेला भीडभाड जम्मा गर्नेभन्दा वैचारिक मन्थनमा केन्द्रित हुने संयोजक आहुतिको दाबी छ ।

भेलामा आहुतिको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । ‘हाम्रो विचारधारात्मक राजनीतिक प्रतिवेदनमाथि तीन वर्षदेखि आम समाजमा छलफल चलाइरहेका छौं’ आहुति भन्छन्, ‘त्यसलाई हामीले अझै परिमार्जन गरेर पेश गरेका छौं । तलैदेखि साथीहरु छलफल गरेर आउनुहुन्छ, हामीले दुई दिनसम्म चल्ने बन्द सत्रमा समूहगत छलफल गरेर अन्तिम रुप दिने मात्रै हो ।’

भेलाले नयाँ विचार दिने आहुतिको दाबी छ । ‘नेपाली समाजको बनावटको बारेमा अहिलेसम्म जे विश्लेषण गरिएको छ, त्यो अपर्याप्त मात्रै होइन, गलत पनि छ’ उनले भने, ‘नेपाली समाजको नयाँ विश्लेषण हुनुपर्छ, त्यही हामी गर्दैछौं ।’

क्युवाली क्रान्तियता किन क्रान्ति भएन भन्ने प्रश्न पनि आफूले राजनीतिक प्रतिवेदनमा समेटेको उनको भनाइ छ । आहुति भन्छन्, ‘सन् १९५९ पछि विश्व कम्युनिस्ट आन्दोलमा नयाँ क्रान्ति भएन । क्युवाली क्रान्तिसम्म क्रान्तिको लहर छ, त्यसपछि एउटा क्रान्ति पनि भएन । यसको कारण के हो भन्नेबारे नयाँ तथ्यसहित हामी छलफल गर्छौं ।’

त्यस्तै समाजवादको रणनीतिक लक्ष्यसम्म पुग्ने कार्यक्रम पेश गर्ने आहुतिको दाबी छ । ‘समाजवाद स्थापना हाम्रो रणनीतिक लक्ष्य हो’ उनको भनाइ छ, ‘त्यो प्राप्त गर्नका लागि एक, दुई, तीन गरेर कहाँ पुगेर क्रान्ति सम्पन्न हुन्छ भन्ने श्रृंखला नै हामी प्रस्तुत गर्छौं ।’

आहुतिका अनुसार ‘वैज्ञानिक समाजवाद’ कस्तो हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ, जसको सार उनले पाँच बुँदामा यसरी सुनाए ।

पहिलो– आजको मुख्य उत्पादक शक्ति विज्ञान तथा प्रविधि हो । अब पुँजी पनि होइन, सामूहिक श्रम पनि होइन र मेसिन मात्रै पनि होइन । हिजोको समाजवाद सामूहिक श्रममा आधारित रहेर बनाउने भनिएको हो । अब विज्ञान प्रविधिमा आधारित भएर बन्छ ।

दोस्रो– निजी सम्पत्तिको उन्मूलन गर्नुपर्छ तर राष्ट्रियकरण होइन । राष्ट्रियकरणको साटो सामुदायिकीकरण गर्नुपर्छ । राष्ट्रियकरण भनेको राज्यकरण हो । राज्य भनेको निजी सम्पतिकै विस्तारित रुप हो ।

तेस्रो– अहिलेसम्म चलेको प्रतिनिधिमूलक राजनीतिक प्रणाली गलत छ । प्रतिनिधिहरुले शासन गर्ने व्यवस्था पुँजीवाद हो । अब सरोकारवाला वर्ग समुदायले निर्णय गर्ने र तिनका प्रतिनिधिले केवल लागू गर्ने गर्नुपर्छ । प्रतिनिधिले लागु मात्रै गर्न पाउँछ, निर्णय गर्न पाउँदैन । कविला युगमा पनि सामूहिक निर्णय हुन्थ्यो र तिनको मुखियाले लागु गर्न पाउँथ्यो । त्यहाँ प्रत्यक्ष लोकतन्त्र हुन्थ्यो । अब प्रतिनिधिमूलक समाजवाद होइन, सरोकारवालाले निर्णय गर्ने र प्रतिनिधिहरुले केवल लागु मात्रै गर्ने प्रणाली मात्रै समाजवाद हुन सक्छ । हामी त्यसमा जान्छौं ।

चौथो– समाजवाद प्रकृतिमैत्री हुनुपर्छ । हिजोको क्रान्तिमा प्रकृतिको समस्या देखापरिसकेको थिएन । अथवा ज्ञान पनि थिएन । अब त यो मानवजातिकै अस्तित्वको मुख्य मुद्दा भएको छ । वैज्ञानिक समाजवाद प्रकृतिमैत्री हुनुपर्छ ।

पाँचौं– जात व्यवस्था, पितृसत्ता र मानवनिर्मित सम्पूर्ण भेदभावको अन्त्य यो व्यवस्थामा हुनुपर्छ ।

नेतृत्व प्रणालीमा ‘नयाँ अभ्यास’

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विधानमा निरन्तर एक कार्यकाल भन्दा बढी महासचिव हुन नपाइने व्यवस्था गरिएको छ । केन्द्रीय सचिवालय कमिटीमा चक्रीय प्रणालीको व्यवस्था गरिएको छ । ‘महासचिवको कार्यकाल चार वर्षको हुनेछ’ आहुतिले भने, ‘एक कार्यकाल महासचिव चलाइसकेको मान्छे, अर्कोपटक महासचिव हुँदैन । त्यसपछि ऊ त्यही केन्द्रीय कमिटीको सदस्य हुन्छ ।’

केन्द्रीय कमिटी संख्याको तिहाइ संख्या रहने गरी केन्द्रीय सचिवालय गठन हुनेछ । एक कार्यकाल सकिंदा केन्द्रीय कमिटीका ६६ प्रतिशत सदस्य सचिवालयमा पुगिसक्ने छन् । आहुति भन्छन्, ‘यसले नेतृत्वको विकासमा सहयोग गर्छ ।’

आहुतिका अनुसार पार्टीमा उत्पादनमूलक र राजनीतिक गरी दुई कमिटी हुनेछन् । ‘एउटा उत्पादनमूलक सार्वभौम समितिहरु हुन्छन्, जसले उत्पादनमा भाग लिन्छन् । प्रत्येक सदस्य कुनै न कुनै उत्पादन इकाइको सदस्य हुन्छन्’ उनले भने, ‘अर्कोतिर राजनीतिक लडाइँ लड्ने सार्वभौम समिति हुन्छन् ।’

वैद्य र विप्लवसँग एकीकरणको प्रयास

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति वैद्य, विप्लव लगायतका सीमित नेतालाई कम्युनिष्ट नेता मान्छन् । उनी नजिकका मित्रशक्ति पनि उनीहरुलाई नै ठान्छन् । तथापि उनीहरुसँग एकता हुनसकेको छैन ।

एकताका लागि पहल गरेपनि नेताहरुको रुचि नदेखिएको आहुतिको भनाइ छ । ‘हामीले क्रान्तिकारी धाराका पार्टीहरुलाई चिठ्ठी नै लेखेर छलफल गरौं भनेर अपिल गरेका थियौं । छलफल पनि भयो’ आहुति भन्छन्, ‘तर कार्यदिशाको मामिलामा छलफलका लागि त्यति रुचि राख्नु भएन । उहाँहरु जे तय गरिएको छ, त्यही ठीक हो भन्नेमा हुनुहुन्छ ।’

आफूहरुले जस्तै विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादीको कुरा गरेको भए पनि त्यो सोभियतकालीन भएको उनको भनाइ छ । ‘नेकपाले सोचेको वैज्ञानिक समाजवादको विशेषता पनि पुरानो र सोभियतकालीन हो’ विप्लवबारे आहुति भन्छन्, ‘क्रान्तिको कार्यदिशाबारे पनि उहाँहरुको मूर्त केही छैन । एकीकृत जनक्रान्ति भन्नुभएको छ, तर आजदेखि भोलिसम्म के गर्ने भन्ने श्रृंखला नै छैन ।’ वैद्य र ऋषि कट्टेलहरु ‘नयाँ जनवादी क्रान्ति’ गर्ने लाइनमा भएकाले समाज विश्लेषणमै आफूहरुसँग नमिल्ने आहुतिले बताए ।



source https://www.onlinekhabar.com/2022/03/1101576

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो ।

पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले कप्तान कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका हुन् ।

त्यसअघि पोर्चुगललाई अग्रता दिलाउनबाट कप्तान रोनाल्डो चुकेका थिए ।तर, दोस्रो हाफमा फेरि ब्रुनोले गोल गर्दै अग्रता दोब्बर पारे । ६५औं मिनेटमा डिओगो जोटाको पासमा ब्रुनोले गोल गर्दै टिमलाई विश्वकप पुर्‍याए ।

म्यासेडोनियाले यसअघि युरो च्याम्पियनलाई निराश बनाउँदै विश्वकप यात्रामा रोक लगाइदिएको थियो ।

यस्तै, युरोपेली छनोटको प्लेअफबाटै पोल्यान्ड पनि विश्वकपका लागि छनोट भएको छ। पोल्याण्डले स्वीडेनलाई हराउँदै छनोट भएको हो ।

 



source https://www.onlinekhabar.com/2022/03/1101564

कैलालीमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, चुनावी तालमेलमा कुरा मिलेन

१६ चैत, धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।

मंगलबार धनगढीस्थित नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको बैठक विना निष्कर्ष सकिएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका कैलाली संयोजक लाजुुराम चौधरीले अगामी निर्वाचनमा वडा स्तरसम्मै गठबन्धन गर्ने विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको बताए । ‘वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल र निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘सबै पार्टीले आन्तरिक छलफल गरेर मात्र आवश्यक निर्णय लिने सैद्धान्तिक सहमति भएको छ ।’

बैठकमा सहभागी नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि वडा तहसम्म गठबन्धन गर्ने विषयमा कुराकानी भएपनि कुनै पनि निर्णय हुन नसकेको जानकारी दिए । उनका अनुसार गठबन्धनमा आवद्ध सबै राजनीतिक दलले आन्तरिक छलफल र विश्लेषण गरेपछि मात्र आवश्यक निर्णय लिइनेछ । अब गठबन्धनको अर्को बैठक चैत २३ गते फेरि बस्ने सैद्धान्तिक सहमति भएको छ ।

मंगलबारको बैठकमा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट राजपाका गयाप्रसाद चौधरी र जनमोर्चाका नेता नन्दराज भट्ट लगायतको सहभागिता थियो ।



source https://www.onlinekhabar.com/2022/03/1101565

Monday 28 March 2022

सबैभन्दा बढी मतदाता घोराही उपमहानगरमा, कम राजपुर गाउँपालिकामा

१५ चैत, दाङ । दाङमा एक लाख बढी मतदाता थपिएका छन् । यसपालिको स्थानीय तह निर्वाचनमा जिल्लामा ४ लाख ९ हजार ९ सय जना मतदाता छन् । ०७४ को निर्वाचनमा २ लाख ९१ हजार १७२ जना मतदाता थिए । पाँच वर्षको अवधिमा जिल्लामा एक लाख १८ हजार ७२८ मतदाता थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय जनाएको छ ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण भण्डारीका अनुसार महिला मतदाता संख्या २ लाख ९ हजार ९९ र पुरुष मतदाता संख्या २ लाख ७ सय ९९ जना छन् ।

त्यस्तै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यसपटक दाङमा मतदान स्थल र मतदान केन्द्र पनि थपिएका छन् ।

यस वर्ष १५३ मतदान स्थल र ५६१ मतदान केन्द्र छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाभर १५१ मतदान स्थल र ३५१ मतदान केन्द्र थिए ।

कुन स्थानीय तहमा कति मतदाता ?

दाङ जिल्लामा दश स्थानीय तह छन् । सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा र सबैभन्दा कम राजपुर गाउँपालिकामा रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

उनका अनुसार घोराहीमा १ लाख १२ हजार ९२७, तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७ हजार ६७७ र लमही नगरपालिकामा ३४ हजार ३८२ मतदाता छन् ।

यसैगरी राजपुर गाउँपालिकामा १५ हजार ७२३, बबई गाउँपालिकामा २२ हजार १४४, राप्ती गाउँपालिकामा ३२ हजार ३२३, शान्तिनगर गाउँपालिकामा २० हजार ८६३, गढवा गाउँपालिकामा २९ हजार ८०२, बंगलाचुली गाउँपालिकामा १५ हजार ९५३ र दंगीशरण गाउँपालिकामा १८ हजार १०६ जना मतदाता छन् ।



source https://www.onlinekhabar.com/2022/03/1101072

निर्वाचन आयोगमा कल सेन्टर, ११०२ मा फोन गरेर सूचना लिन सकिने

१५ चैत, काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दै छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो ।

निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।



source https://www.onlinekhabar.com/2022/03/1101074

माधव नेपाल टर्की प्रस्थान

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् ।

मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की गएका हुन् ।

उनी चैत १९ गते स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/03/1101066

मेक्सिकोमा गोली हानेर २० जनाको हत्या

१५ चैत, काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ । आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।

मिचोआकनको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले हत्याको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

मिचोआकन र त्यसको छिमेकी गुआनाजुआतो मेक्सिकोको सबैभन्दा बढी हिंसा हुने क्षेत्रको रुपमा चिनिन्छन् । लागू औषध कारोबार र अन्य अवैध गतिविधिका कारण विभिन्न समूहबीच झडप हुने गर्दछ । गत महिनामात्रै मिचोआकनमा भएको एक आक्रमणमा १७ जनाको मृत्यु भएको थियो ।

मिचोआकान विश्वमा सबैभन्दा बढी एभोकाडो उत्पादन हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । गत महिना त्यहाँ कार्यरत एक जना अमेरिकी निरीक्षकमाथि सुरक्षा खतरा आएको भन्दै अमेरिकाले एभोकाडो निर्यातमा रोक लगाएको थियो ।



source https://www.onlinekhabar.com/2022/03/1101069

आईपीएलमा नवप्रवेशी गुजरातको सुखद् सुरुआत

१५ चैत, काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद् सुरुआत गरेको छ। अर्को नयाँ टोली लखनउ सुपर जायन्टलाई ५ विकेटले पराजित गर्दै गुजरातले विजयी सुरुआत गरेको हो ।

सोमबार राति भएको आफ्नो पहिलो खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले २ बल बाँकी हुँदै १६१ रन बनाएर लक्ष्य भेटाएको हो ।

​गुजरातका राहुल तेवातीयाले सबैभन्दा धेरै ४० रन बनाएर जितका लागि योगदान गरे । कप्तान हार्दिक पाण्ड्याले ३३, म्याथु वेड र डेभिड मिलरले ३०/३० रनको योगदान गरे । बलिङतर्फ लखनउका दुश्मान्थ चमेराले दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।

लखनउका दीपक हुड्डाले ५५ र र आयुष बधोनीले ५४ रन बनाएर अर्धशतकीय पारी खेले भने ​कुर्नाल पाण्ड्याले २१, इभिन लुइसले १०, क्विनटन डे ककले ७, मनिस पाण्ड्याले ६ र दुशमान्थ चमेराले १ रन जोडेका थिए । कप्तान केएल राहुल भने पहिलो बलमै आउट भएका थिए ।

गुजरातका मोहम्द श्वामीले तीन विकेट लिए । उनी प्लेर अफ द म्याचसमेत बने । त्यस्तै भरुन अरोनले दुई विकेट लिए ।



source https://www.onlinekhabar.com/2022/03/1101064

आजदेखि गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?

१५ चैत, काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक आज (मंगलबार)देखि सर्वसाधारणका लागि खुला गरिंदै छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका थिए ।

योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले जानकारी दिए । गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ ।

गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठक उद्घाटन गरेका थिए । पुनर्निर्माण सकेपनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न केही ढिलाइ भएको खनालले जानकारी दिए ।

विदेशी पाहुनाले ओहोदाको प्रमाणपत्र लिने ठाउँ

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा बनेको हो, जुन विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिनका लागि प्रयोग गर्ने गरिन्थ्यो ।

यसबाहेक राज्यको महत्वपूर्ण बैठकका लागि गद्दी बैठकको प्रयोग गरिन्थ्यो । अन्तिम पटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिएको प्रमाण पाइएको खनाल बताउँछन् । गद्दी बैठकमै राजाको गद्दी आरोहणको समारोह पनि गरिन्थ्यो ।

१९औं शताब्दीसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारत र चीनमा सीमित थियो । जंगबहादुर राणाले युरोप भ्रमण गरेपछि उताका पाहुना पनि आउने क्रम सुरु भयो । विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि. सं. १९६५ मा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरेका हुन् ।

यसको फल सिलिङ मेटलबाट बनाइएको छ । यसको सिलिङमा झुण्डिएका बत्तीमा प्रयोग गरिएका काँच बेल्जियमबाट ल्याएको बताइन्छ । ती बत्तीहरुमा मैनबत्ती राखेर बाल्न समेत मिल्ने गरी बनाइएको छ । बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्वीर राखिएको छ ।

त्यस्तै, ढोकाबाट प्रवेश गर्नेबित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार देखिन्छ । त्यो बर्मा सरकारले उपहार स्वरुप दिएको अड्डाका प्रमुख खनाल बताउँछन् ।

गद्दी बैठकमै विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ठ पाहुनाहरु जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने बेलामा हुन्छ ।

महत्वपूर्ण राजनीतिक परिवर्तन एउटै ग्यालरीमा

गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ । भुइँ तलामा प्रवेश गर्नेबत्तिकै पृथ्वीनारायण शाहद्वारा बाइसी र चौबीसी राज्य एकीकरण गर्ने बेला प्रयोग भएको बन्दुक देखिन्छ ।

ग्यालरीको अन्तिममा नेपालको नयाँ संविधान जारी हुँदासम्मको विवरण राखिएको छ । बीचमा विभिन्न समयमा प्रयोग गरिएका सामग्रीसँगै वृत्तचित्र, विभिन्न समयका नेपालको राष्ट्रिय झण्डाहरुको आकृति राखिएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1101057

Sunday 27 March 2022

कैलालीमा बालिका बलात्कार गरेको आरोपमा २ वृद्ध पक्राउ

१४ चैत, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् ।

चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

चुरे गाउँपालिकाकीे बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

शनिबार जंगलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको डीएसपी जोशीले जानकारी दिए ।

शाहलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीको भनाइ छ ।

यस्तै, घोडाघोडी नगरपालिकामा पनि ११ वर्षकै बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मणबहादुुर शाहीले बालिका बलात्कार गरेको आरोपमा कल्लुु दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटना ४/५ दिन अगाडिको भए पनि ढिलो गरेर आइतबारमात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाइलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2022/03/1100498

ओस्कार अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, ‘ड्युन’ सर्वाधिक ६ विधामा

१४ चैत, काठमाडौं । ‘कोडा’ यसवर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेको फिल्मले अस्करको ९४ औं संस्करणमा बाजी मार्‍यो ।

नेपाली समयानुसार अमेरिकाको लस-एन्जल्समा आज बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरुपमा आयोजना गरिएको हो । हलिउड स्टारहरुले रेडकार्पेट खचाखच रह्यो ।

‘ड्युन’ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । सर्वाधिक १२ विधामा मनोनयन भएको ‘द पावर अफ दी डग’ले निर्देशन विधामासमेत जित्न सक्यो । निर्देशक क्याम्पेन ओस्कार जित्ने तेस्रो महिला समेत बनिन् ।

बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएरजस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए । यसवर्ष नेटफि्ल्क्स फिल्म ‘द पावर अफ दी डग’ सर्वाधिक १२ विधामा मनोनयन भएको थियो ।

ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो । निकै विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए ।

अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट भएसँगै जापानले १४ वर्षपछि ओस्कार जित्यो । ‘वेस्ट साइड स्टोरी’बाट सह-अभिनेत्रीमा उत्कृष्ट बनेसँगै एरियाना डिवोस ओस्कार जित्ने पहिलो समलिंगी महिला बनिन् ।

रुसी आक्रमणको विरोधमा युक्रेनलाई समर्थन गर्न समारोहमा एक मिनेट मौनधारण समेत गरियो । हलिउडले यसअघि नै रुसी फिल्म र त्यहाँ हुने प्रदर्शनलाई बहिष्कार गरेको अवस्था छ । सह-अभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने ।

आफ्नी पत्नीको खौरिएको कपालबारे ब्यंग्य गरेको भन्दै अभिनेता विल स्मिथले होस्ट रहेका क्रिस रकलाई स्टेजमै चढेर झापड समेत हानेका थिए । एबीसी टिभीले यो घटनालाई लाइभ समेत गरिरहेको थियो । स्मिथले उत्कृष्ट अभिनेताको रुपमा पहिलो ओस्कार पनि जिते ।

हेर्नूस पूर्ण सूची :

फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सह-अभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सह-अभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनी : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिननप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट :मनो ड्युन

 

 



source https://www.onlinekhabar.com/2022/03/1100499

‘सबै तहका कर्मचारीको वृत्तिविकासमा असर नहुने गरी छिट्टै ऐन जारी गर्नू’

१४ चैत, काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको वृत्तिविकास र अवसरमा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा ऐन अघि बढाउन सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

संसदको अधिवेशन अन्त्य गरेर संघीय निजामती सेवा अध्यादेश जारी गर्न सरकार गृहकार्यमा जुटिरहेका बेला सर्वोच्च अदालतबाट यस्तो आदेश आएको हो ।

कर्मचारी समायोजन सम्बन्धी बहुचर्चित मुद्दाको फैसलाको पूर्णपाठमा सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुमाझ भेदभावको महसुस हुन नदिन र उनीहरुलाई समेत पर्याप्त अवसर दिन भन्दै ११ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले केप ओली नेतृत्वको अघिल्लो सरकारले गरेको समायोजनलाई भने संविधान र कानूनसम्मत ठहर्याउँदै सदर गरेको छ ।

स्थानीय र प्रदेश तहमा जाँदा उनीहरुको मनोबलमा प्रतिकुल असर परेकाले वृत्तिविकासमा असर नपर्ने र संघीय तहमा झै अवसर कायम हुने व्यवस्था मिलाउनु भनी सर्वोच्चले आदेश जारी गरेको छ । सर्वोच्च अदालतले संघीय तहका पदहरुमा स्थानीय र प्रदेश तहका कर्मचारीले समेत प्रतिस्पर्धा गर्न पाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।

निर्देशनात्मक आदेशमा केके छन् ?

नयाँ संविधानले सेवा प्रवाह र स्थानीय स्तरको जिम्मेवारी स्थानीय तहलाई दिएकाले संघीयतालाई संस्थागत गर्ने आधार बलियो बनाउन कर्मचारीहरुको मनोबल उच्च हुने वातावरण बनाउनु भनी आदेश जारी गरेको हो । निर्देशनात्मक आदेशमा भनिएको छ, ‘स्थानीय वा प्रदेश सेवामा कार्यरत जनशक्तिलाई आकर्षक सेवा सुविधा, सेवाका शर्तहरुको संरक्षण र फराकिलो वृति विकासको सुनिश्चितता हुनुपर्छ ।’

कर्मचारीहरुको अवसर र वृत्तिविकास जोडिएका कतिपय विषय संघीय निजामती सेवा ऐनबाट सम्बोधन हुने देखिएको तर लामो समयदेखि संघीय संसदमा विचाराधिन विधेयक अघि नबढेको भन्दै सर्वोच्च अदालतले त्यसलाई अघि बढाउन आदेश दिएको छ । आइतबार सार्वजनिक निर्णयको पूर्णपाठमा भनिएको छ, ‘संघीय निजामती सेवा सम्बन्धी विधेयक यथाशीघ्र पारित गर्ने प्रक्रिया अवलम्बन गर्नु ।’

कर्मचारीहरुको वृत्तिविकासमा बाधा पुग्ने व्यवस्था नराख्न माग गर्दै कर्मचारीहरुले विरोध गरेका थिए ।

सर्वोच्च अदालतले संघीय निजामती सेवामा रहेका कर्मचारीहरु देशभर सरुवा, बढुवा भएर जान सक्ने तर समायोजन भएका कर्मचारीलाई त्यो अवसर नहुने भन्दै उनीहरुलाई पनि त्यो सुविधा दिने व्यवस्था थप्न आदेश दिएको छ ।

समायोजन भएर प्रदेश वा स्थानीय तहमा गएका कर्मचारीहरु संघीय तहमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । संसदको राज्य व्यवस्था समितिमा विचाराधिन विधेयकमाथि संशोधन प्रस्तावका क्रममा त कतिपय सांसदहरुले आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाउनुपर्ने माग समेत गरेका थिए ।

सर्वोच्च अदालतले आफ्नो निर्णयमा सघीय तहमा समेत स्थानीय र प्रदेश तहको मात्रै प्रतिस्पर्धा हुने गरी निश्चित कोटा तोक्ने व्यवस्था मिलाउनु भनी आदेश दिएको छ । ‘संविधानमा मुलुकको तीन तहको सरकार जोड्ने सेतुको रुपमा प्रशासन संयन्त्रलाई परिकल्पना गरेकाले’ फैसलामा भनिएको छ, ‘संघीय निजामती सेवामा पदपूर्ति गर्दा निश्चित प्रतिशत पदहरु स्थानीय र प्रदेश सेवाका कर्मचारीबिच मात्रै प्रतिस्पर्धा गराई छनौट गर्ने परिकल्पना गर्नु ।’

बढुवा हुने अवधि पूरा गरेपछि सरुवा भएर जुनसुकै प्रदेशमा जानसक्ने व्यवस्था मिलाउन पनि आदेश दिइएको छ । अघि समायोजन भएर गएका कर्मचारीहरुलाई संघीय तहमा सरुवा भएर आउनसक्ने सम्भावनालाई निषेध नगर्न आदेश दिएको छ । त्यसका लागि सर्वोच्च अदालतले वरिष्ठताक्रमलाई आधार मान्न समेत सुझाएको छ ।

अहिलेको व्यवस्थामा समायोजन भएर गएका निजामती कर्मचारीहरु एकपटकका लागि बढुवा भएर फेरि निजामती सेवामा फर्कन पाउँछन् । यसले वृत्तिविकासको अवसर रोकिएको प्रश्न उठिरहेको छ । सर्वोच्च अदालतले उनीहरुका हकमा ‘एकपटक बढुवा भएपछि फेरि बढुवामा दावी गर्न पाउने व्यवस्था गर्नू’ भनी आदेश जारी गरेको हो ।

श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरण गर्न आदेश

अहिले कर्मचारीवृत्तमा दुई विषयले द्वन्द्व खडा गरेको छ । समायोजन भएर गएका कर्मचारीहरुले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र प्रदेशमा सचिवसम्मको जिम्मेवारी स्थानीय र प्रदेश  तहका कर्मचारीलाई दिनुपर्ने माग गरेका छन् । तर केन्द्रसँग समन्वय गर्नुपर्ने भएकाले ती पदमा संघीय तहका कर्मचारी लैजानुपर्ने निजामती सेवाका कर्मचारीहरुको माग छ । सर्वोच्च अदालतले यसबारेमा स्पष्ट त बोलेको छैन, तर केही सुझाव दिएको देखिन्छ ।

स्थानीय तहको प्रशासकीय प्रमुख तथा प्रदेश सचिव समेत स्थानीय र प्रदेश सेवाका कर्मचारीहरुबाट हुने व्यवस्था छ । यसले प्रशासनिक संघीयकरण हुने र कर्मचारीहरुको वृत्तिविकासमा अवसर फराकिलो हुने भएपनि निर्णय गर्नुपूर्व अध्ययन गर्नु भनी सर्वोच्चले आदेश दिएको हो ।

स्थानीय र प्रदेश तहका कर्मचारीलाई मात्रै प्रशासकीय नेतृत्वको जिम्मेवारी दिंदा पर्नसक्ने असर, संघीय सरकारसँगको समन्वय र स्थानीय सेवाको जिम्मेवारी दिनसक्ने क्षमताजस्ता पाटोमा हेर्न सुझाव दिएको हो । यो पाटोमा अध्ययन गरेर विधेयकमा व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

अहिले उही तहका कर्मचारीहरुमध्ये संघीय तहकालाई मर्यादाक्रममा माथि अनि प्रदेश र स्थानीय तहका कर्मचारीलाई तल राखिएको छ । यस्तो विभेद घटाउनु भन्दै सर्वोच्च अदालतले निजामती सेवामा समेत तहगत व्यवस्था गर्न आदेश दिएको हो । २३ साउन २०६४ सालमा संशोधन भएको निजामती सेवा ऐन, २०४९ मा समेत तहगत प्रणालीको परिकल्पना थियो ।

अहिले संघीय तहमा श्रेणीगत प्रणाली छ भने स्थानीय र प्रदेशमा तहगत प्रणाली छ । सर्वोच्च अदालतले भनेको छ, ‘निजामती सेवाको श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरण गरी एकीकृत निजामती सेवा प्रणाली लागू गर्ने सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन गरी देशभरका सबै सरकारी सेवामा तहगत प्रणाली कायम गर्ने ।’

कर्मचारी समायोजन र त्यसपछि रिक्त संख्या पदपूर्तिका क्रममा सरकारी निकायबिच तथ्यांकमा एकरुपता र समान धारणा नदेखिएको भन्दै सर्वोच्च अदालतले कर्मचारीहरुको एकरुप विवरण कायम राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले त्यस्तो अभिलेख अद्यावधिक गर्न भनेको छ । अनि रिक्त पदमा विज्ञापन गर्न लोकसेवा आयोगमा पत्राचार गर्दा खाली हुनुको कारण खुलाउन समेत आदेश दिएको छ ।

सर्वोच्च अदालतले १२ माघ २०७८ मा कर्मचारी समायोजन सम्बन्धी विवादहरुको एकमुष्ट सम्बोधन गर्दै समायोजनलाई सही ठहर्याएको थियो । तीन सदस्यीय पूर्ण इजलासको यो फैसलाले सर्वोच्च अदालतमा विचाराधिन कर्मचारी समायोजनका अरु कैयौ मुद्दालाई समेत मार्गनिर्देशन गर्नेछ ।

समायोजन भएका कर्मचारीको हकमा के भयो ?

सर्वोच्च अदालतले स्थानीय र प्रदेश तहका कर्मचारीलाई वृत्तिविकास र अवसरबाट बञ्चित नगर्नु भनी आदेश दिएपनि दुई वर्षअघिको समायोजनलाई भने संविधान र कानूनसम्मत ठहर्यायो । समायोजनमा परेका कर्मचारीहरुले अघि सारेका विभिन्न मागहरुमाथि व्याख्या गर्दै सर्वोच्च अदालतले समायोजनको निर्णयलाई सदर गरेको हो ।

कर्मचारीहरुले संविधान जारी हुँदा सेवामा रहेका निजामती कर्मचारीहरु मात्रै समायोजनमा पर्ने दावी गरेका थिए । आफूहरु पछि नियुक्त भएकाले संविधान जारी भइसकेपछिको नियुक्ति स्वतः संघीय तहमा हुने उनीहरुको तर्क थियो । संविधान जारी भइसकेपछि समेत निजामती सेवामा नियुक्तिको क्रम चलिरहेको भन्दै सर्वोच्च अदालतले समायोजनका बेलासम्म नै निजामती सेवाका कर्मचारी त्यसमा पर्ने भनी व्याख्या गरेको हो ।

समायोजन भएको लामो समय वितेपछि कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । ढिलोगरी न्याय माग्नेले न्याय नपाउन पनि सक्छ भन्ने विलम्ब सम्बन्धी कानूनी सिद्धान्त छ । सर्वोच्च अदालतले भने उनीहरु ढिलोगरी अदालतमा आउनुलाई स्वाभाविक मान्यो । समायोजन भएपछि समेत उनीहरुले त्यसमा असन्तुष्ट भई प्रशासनिक उपचार खोजेकाले ढिलाइ भएको भन्न नमिल्ने सर्वोच्च अदालतको व्याख्या छ ।

समायोजनमा विभिन्न आधार र मापदण्ड बनाइएको थियो । कर्मचारीहरुले त्यसमा भेदभाव गरेको दावी गरेका थिए । जेष्ठता लगायतका आधारमा समायोजनको मापदण्ड बनेको भन्दै सर्वोच्च अदालतले समायोजनपछि तोकिने कार्यक्षेत्रका लागि समेत मापदण्ड बनेकाले भेदभाव भन्न नमिल्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कर्मचारी समायोजन गर्दा लोकसेवा आयोगसँग परामर्श गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएको समेत स्पष्ट पारेको छ ।

सर्वोच्चले कर्मचारी समायोजनका क्रममा तयार भएको ‘कर्मचारी समायोजन/मिलान मापदण्ड, २०७७’लाई समेत कानून विपरीतको भन्न नमिल्ने व्याख्या गरेको छ । अनि समायोजन गर्दा संघको सेवाका पदहरु लुकाई रिक्त राखी प्रदेश र स्थानीय सेवामा समायोजन गरिएको भन्ने दावीलाई समेत स्विकार गरेन ।

दुई वर्षअघि समायोजन भएर स्थानीय र प्रदेश तहमा पुगेका कर्मचारीहरु सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण धमाधम संघीय तहमा फर्केका थिए । अब भने उनीहरु समायोजन भएकै क्षेत्रमा फर्किनुपर्ने भएको छ ।

विभिन्न समयमा भएको अन्तरिम आदेशका कारण फेरी संघमा फर्केका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउनुपर्नेमा लोक सेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फैसलाको पूर्णपाठ नआएको भन्दै ढिलाइ गर्दै आएका थिए ।

हेर्नुहोस् फैसलाको पूर्ण पाठ



source https://www.onlinekhabar.com/2022/03/1100455

वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

१४ चैत, काठमाडौं । एक साताअघि स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तय भएसँगै आंकलन गरिएको थियो कि चीनले भर्खरै संसदबाट पारित भएको अमेरिकी परियोजना एमसीसीका विषयमा आफूले ‘नोट गरेको’ धारणा राख्ने छ र आफ्नै परियोजना बीआरआई अघि बढाउन जोड दिनेछ । तर, आइतबार तीन दिने भ्रमण सम्पन्न गरेर विदेशमन्त्री वाङ स्वदेश फर्किंदै गर्दा यी दुईवटै विषयमा कुनै ठोस् प्रगति त भएन नै दुई पक्षबीच औपचारिक छलफलसमेत भएन । बरु विदेशमन्त्री वाङ यीले ‘नेपालको सार्वभौमिकता र स्वाधीनता’प्रति चासो देखाउँदै आफ्नो पुरानै कूटनीतिक शैलीमा नेपाल र नेपालप्रति चासो राख्ने विदेशीलाई अप्रत्यक्ष धम्की दिएर गए ।

चीनले विदेशमन्त्रीको भ्रमणका क्रममा आफूले सचेत गराउन खोजेको सन्देश स्पष्ट रूपमा दिन सफल भएको बताउँछन् परराष्ट्र मामलाका जानकार प्राध्यापक डा. पुष्पराज अधिकारी । ‘चिनियाँहरू जे कुरामा सचेत गराउन आएका हुन् त्यो भनेर गए । ग्लोबल टाइम्समा आएको विषय नै उनीहरूले यहाँ राखेका हुन्’ प्राध्यापक अधिरकारी भन्छन्, ‘यो एक किसिमको खुलारुपमा नेपाललाई सचेत बनाएको विषय हो । नेपाललाई मात्रै हैन विदेशीलाई पनि नेपालका मामिलामा धेरै हस्तक्षेप नगरेको राम्रो भन्ने चीनको सन्देश हो ।’ यसबाट चीनले नेपालप्रति आफ्नो दृष्टिकोण थप स्पष्ट पारेको अधिकारीको बुझाइ छ ।

परराष्ट्रमन्त्री याङले नेपाली समकक्षी नारायण खड्कासँगको औपचारिक भेटका क्रममा शनिबार ‘नेपालमाथि अरूले गरेको हस्तक्षेप सह्य नहुने’ भनेर सचेत गराएका थिए । सोही धारणा अन्य नेताहरूसँगसमेत उनले राखेका थिए । यद्यपि, नेपाल र चीन दुवै पक्षले यस विषयलाई औपचारिक रूपमा सार्वजनिक स्टेटमेन्टमा कतै उल्लेख गरेनन् । तर, चिनियाँ सरकारी समाचार संस्थाहरूले भने विदेशमन्त्री वाङ यीलाई नै उद्धृत गरेर यस विषयलाई उल्लेख गरे ।

‘नेपालको विषयमा यहाँका जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास हो । यदि कसैले नेपालको सार्वभौतसत्ता र स्वाधिनतामा आँच पुर्‍याउने, यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र मुलुकलाई भूराजनीतिक खेलमा धकेल्ने कोसिस गर्‍यो भने चीनले त्यसको विरोध गर्छ,’ चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्स र सिन्हुआले विदेशमन्त्री वाङले समकक्षी खड्कासँग राखेको धारणा भन्दै उल्लेख गरेका छन् ।

ग्लोबल टाइम्सका अनुसार परराष्ट्रमन्त्री खड्कासँग वाङले स्वतन्त्र घरेलु र विदेश नीति तय गर्न चीनले नेपाललाई सघाउनेसमेत बताएका छन् । ‘दुई देशको बाहृय र घरेलु मामिलामा जतिसुकै परिवर्तन आए पनि, दुवै देशका नेताले तय गरेको साझा भविष्यतर्फको दिशामा प्रतिबद्ध हुँदै चीन-नेपाल सहकार्य प्रवर्द्धन गर्न चीनले प्रयास गरिरहनेछ’ वाङले राखेको धारणालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको छ, ‘नेपाल चीन र दक्षिण एशियाबीच सहकार्यका लागि उपयुक्त स्थान हुनुपर्छ । अन्य देशसँग नेपालले सह-अस्तित्वपूर्ण सम्बन्ध राखेको, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भूमिका खेलेको देख्दा चीन प्रसन्न नै हुन्छ ।’

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगगको भेटमा विदेशमन्त्री वाङले दक्षिण एसिया क्षेत्रमा अमेरिकाले बढाएको आफ्नो उपस्थितिको विषयलाई लिएर चासो राखेका थिए ।

स्रोतका अनुसार वाङले चीनविरुद्ध अमेरिकाले रणनीतिक योजना बुनिरहेको भन्दै सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) मार्फत् अमेरिकाले चीन वरपरका देशमा चीन विरोधी गतिविधि गरिरहेको बताएका थिए ।

‘अमेरिका रणनीतिक रूपमा चीनको वरिपरिका मुलुकहरूमा विभिन्न नाममा प्रवेश गरिरहेका छन् । तर, नेपालजस्तै असल छिमेकीका कारण सफल हुन सकिरहेका छैनन्,’ वाङलाई उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले बतायो ।

स्रोतका अनुसार उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि यस विषयमा चासो राखेका थिए ।

नेपाललाई हेर्ने दृष्टिकोण बदल्दै चीन

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग चिनियाँ विदेशमन्त्री वाङ यी ।

भ्रमणको क्रममा दुई पक्षबीच ‘नेपालको स्वस्थ घाँस निर्यात गर्ने’ देखि ‘रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी बैठकको दस्तावेजमा हस्ताक्षर’ गर्ने खालका ९ वटा बुँदामा समझदारी भयो । तर, सरकार र विभिन्न राजनीतिक दलका नेतासँगको भेटमा चिनियाँ पक्षले कतै पनि एमसीसी परियोजना पारित भएकोप्रति प्रत्यक्ष रूपमा कुनै चासो प्रकट गरेन ।

साथै, नेपालले पाँच वर्षअघि हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै योजना अघि सार्न नसकेर अलपत्र परेको आफ्नो महत्वाकांक्षी परियोजना बीआरआई अघि बढाउने विषयमासमेत चिनियाँ विदेशमन्त्रीको भ्रमण टोलीले कुनै ठोस पहल लिएन ।

भ्रमणका क्रममा बीआरआईका विषयमा कुनै छलफल नहुनुले चीन एमसीसीपछि नेपालसँग सशंकित बनेको र सम्बन्धलाई नयाँ तवरले अघि बढाउन खोजेको बुझाइ धेरैको छ ।

परराष्ट्रमन्त्री वाङसँगको भेटमा सहभागी सत्तारुढ दलका एक शीर्ष नेता यसअघिका अधिकांश भ्रमणमा बीआरआईको विषयमा छलफल हुने गरेको भएपनि यसपटक विदेशमन्त्री वाङको टोलीसँग त्यस्तो कुनै छलफल नहुनुले चीन नेपालसँग सशंकित रहेको बताउँछन् । ‘उनीहरू नेपालको स्थिति बुझ्न आएका हुन् । २०१७ देखि अहिलेसम्म चिनियाँ पक्षसँग हुने प्रायः भेटहरूमा बीआरआईको विषय उल्लेख हुन्थ्यो तर, यसपटक भएन । यसले नै नेपाल र चीनको सम्बन्ध कस्तो छ, भन्ने संकेत गर्छ,’ वाङसँगको भेटमा सहभागी सत्तारुढ दलका ती नेताले भने, ‘चीनले नेपालका पार्टीबाट गरेको अपेक्षा पूरा भयो कि भएन भन्ने उनीहरूले औपचारिक रुपमा भनेनन् । तर, नेपालको सरकार अमेरिकाको पोल्टामा गएको र आफ्नाबिरुद्ध गतिविधि गरेको अनुभूति गरेर गए ।’

परराष्ट्र तथा सुरक्षाविद इन्द्र अधिकारी एमसीसी पारित हुनुलाई चीनले आफ्नो कूटनीतिक असफलताका रूपमा लिएर नयाँ रणनीति तय गर्नका लागि विदेशमन्त्री वाङ भ्रमणमा आएको बताउँछिन् । ‘यसपालि उनको भ्रमण एमसीसीपछि नेपालको मनस्थिति बुझ्नका लागि नै हो ।

चीनले एमसीसीलाई कूटनीतिक असफलताका रूपमा लिएको होला । पारित त भयो, कार्यान्वयनको सिंगो पाटो बाँकी छ’ अधिकारी भन्छिन्, ‘तर, कतै न कतै अहिले बीआरआई स्थगित जस्तो हुनु र प्रसस्त प्रयासका बाबजुद एमसीसी नरोकिनुले चीनलाई ठेस लागेको थियो । त्यस परिस्थितिमा के गर्दा हुन्छ भन्ने बुझ्न वाङ भ्रमणमा नेपाल आएका हुन । संभवतः बुझेर गएका होलान् ।’

उसो त वाङ सिधै नेपाल भ्रमणमा मात्रै आएका थिएनन् । उनले आफ्नो भ्रमणलाई दक्षिण एसिया केन्द्रीत बनाएका थिए । पाकिस्तान, अफगानिस्तान हुँदै भारतबाट नेपाल पुगेर उनले आफ्नो भ्रमणको बिट मारे । तर, सबभन्दा बढी समय उनले नेपालमा नै बिताए । परराष्ट्रविद् अधिकारी विदेशमन्त्री वाङले दक्षिण एसिया केन्द्रित भ्रमण गरे पनि नेपाललाई प्राथमिकतामा राखेको बताउँछिन् । ‘भारतले जस्तै विभिन्न आयोजनामा सहमति गर्ने तर, कार्यान्वयन नहुने खालको समस्या पछिल्लो समय चीनसँग देखिएको छ ।

साथै, चीनले आफ्नो चासोलाई नेपालसामू ‘फेस टु फेस’ राख्न चाहेको पनि हुनसक्छ,’ अधिकारी भन्छिन्, ‘चीनलाई पनि नेपालको जस्तै धेरै कुराहरू सहमति र सम्झौतामा मात्रै सीमित भए भन्ने ‘रियलाइजेसन’ भएको देखिन्छ ।’ उनको बुझाइमा पहिलेको भारतजस्तै पछल्लो समय चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न खोजिरहेको छ । भारत पहिले जसरी नेपालको आन्तरिक राजनीतिक खिचातानीमा सहभागी हुने गरेको थियो अहिले चीनले त्यही बाटो समातेको अधिकारी बताउँछिन् ।

विश्लेषक गेजा शर्मा वाग्लेको बुझाइमा चीन नेपालसँगको सम्बन्धनलाई सुधार गरेर अघि बढ्न चाहेको बताउँछन् । विदेशमन्त्री वाङको भ्रमण पनि एमसीसी पारित भइसकेपछि नेपालको परिस्थिति बुझ्नका लागि रहेको उनको भनाइ छ । ‘नेपालचीन सम्बन्धलाई सुधार गर्ने दृष्टिकोणले आएको चिनियाँ विदेशमन्त्रीको भ्रमण भएको देखिन्छ । उहाँको ‘बडिल्याङ्ग्वेज’ हेर्दा पनि नेपाल सरकारसँग सम्बन्ध सुधार गरेर अघि बढ्न चाहेको देखिन्छ,’ वाग्ले भन्छन् ।

बीआरआई बारे राजनीतिक दलहरूको आ-आफ्नै धारणा

चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणमा बीआरआई परियोजनामा थप उपलब्धि हुने सम्भावनाको आंकलन गरिएको भए पनि सत्तारुढ दलहरूले समेत समान धारण बनाउन सकेनन् । वाङले भेट गरेका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआईको विषयमा कुनै छलफल गरेनन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले चीनले दिने अन्य सहयोगका विषयमा भने छलफल गरे । ऋण भन्दा पनि अनुदान दिनुपर्ने विषयमा देउवाको विशेष चासो रहृयो । त्यस्तै, द्वीपक्षीय वार्ता गरेका परराष्ट्रमन्त्री खड्कालेसमेत बीआरआईबारे कुनै चासो देखाएनन् । भेटमा दुई देशबीच विभिन्न ९ वटा समझदारीमा हस्ताक्षर भए पनि बीआरआईको विषय कतै उल्लेख भएन ।

समझदारीमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी, अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, स्वस्थ घाँस चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भयो ।

त्यस्तै चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड-१९ चीन सहायताअन्तर्गत ४० लाख सिनोभ्याक खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भयो ।

्नेपाल र चीनको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा बीआरआईबारे उल्लेख छैन ।

विश्लेषक शर्मा सम्झौताका दृष्टिले यसपटकको वाङको भ्रमण नेपालका लागि औषत रहेको बताउँछन् । ‘नेपाल सरकारको प्राथमिकता ऋणमाभन्दा अनुदानमा देखियो’ उनले भने, ‘जुन परियोजनालाई हामिले बीआरआई अन्तर्गत भनेर प्रस्ताव गरेका थियौं, तीनै परियोजनलाई सहयोग गर्न हस्ताक्षर भएको हुँदा परियोजना र विकास साझेदारको दृष्टिकोणले पनि सकरात्मक र उपलब्धिमुलक मान्न सकिन्छ ।’

तीन दिने नेपाल भ्रमण पुरा गरी फर्किनुअघि आइतबार विदेशमन्त्री वाङले दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रका नेताहरूलाई छुट्टाछुट्टै भेटे । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै नेताले वाङसँग बीआरआई परियोजना छिटो अघि बढाउन आग्रह गरे । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार मेरियट होटलमा भएको भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरूलाई तत्काल अघि बढाउन आग्रह गरेको जानकारी दिए । ‘पछिल्लो कालमा बीआरआईसँग जोडिएर जुन आयोजनाहरू अघि बढाउनुपर्‍यो भनेर सुरु गरेका छौं, तिनलाई निरन्तरता दिनुपर्छ । छिटोभन्दा छिटो पूरा गर्नुपर्छ भन्नुभयो,’ भट्टराईले भने ।

भट्टराईका अनुसार चिनियाँ विदेशमन्त्रीले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिवद्धताअनुसार अघि बढाउने बताएका छन् ।

त्यसलगत्तै वाङले माओवादी केन्द्रका नेताहरू अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । भेटमा प्रचण्डले पनि बिआरआई परियोजना कार्यान्वयनका निम्ति आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका सहभागी नेता शक्ति बस्नेतले बताए ।

तर, विश्लेषक शर्मा नेपालले हरके मुलुकसँगको सम्बन्धलाई परियोजनासँग मात्रै जोडेर हेर्ने गरिएको र अहिले सरकारी तवरबाट त्यसलाई चिर्ने काम भएको बताउँछन् । ‘नेपालको हरेकसँगको सम्बन्धलाई परियोजनासँग जोडेर हेर्न थालिएको थियो ।

नेपालले कुनै पनि देशसँगको सम्बन्धलाई परियोजनाकरण गर्ने भन्दा पनि दुईपक्षीय सम्बन्धलाई बढि प्राथमिकता दिनुपर्न । यसपटकको भ्रमणमा नेपालले दुईपक्षीय सम्बन्धलाई जोड दियो,’ उनले भने ।



source https://www.onlinekhabar.com/2022/03/1100449

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More