१० चैत, काठमाडौं । चैत पहिलो साता मोरङको बेलबारी नगरपालिकामा लगाइएको क्यामोमाइल खेतीमा एकाएक टिकटक बनाउनेको भीड बढ्न थाल्यो । औषधीय प्रयोजनको लागि प्रयोग हुने क्यामोमाइल खेतीमा टिकटक बनाउनेहरुले कुल्चिएर ३० लाखभन्दा बढीको क्षति भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडले जनाएको छ ।
धेरै क्षति पुगेपछि ठाउँठाउँमा सूचना टाँसेर टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जालबाटै भाइरल भएर आन्तरिक पर्यटकहरुको भीड लागेको सो क्षेत्रलाई व्यवस्थित गरेर पर्यटन प्रवर्द्धन गर्ने भन्दा पनि त्यहाँ प्रतिबन्ध लगाइयो । त्यसलाई व्यवस्थित गरेर आउने आन्तरिक पर्यटकलाई आकषिर्त गर्न सके त्यहाँको उत्पादनभन्दा धेरै आम्दानी पर्यटन क्षेत्रबाट हुनसक्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।
टिकटक बनाउन होस् वा फोटो खिच्न, खेती लगाएको ठाउँमा भीड बढेपछि त्यसलाई बल प्रयोग गरेर रोक्नु परेका घटना यसअघि पनि धेरै ठाउँमा भएका थिए । टिकटकमा भाइरल भएको म्याग्दीको रत्नेचौरमा टिकटक बनाउनेहरुले तोरीबारीमा क्षति पुर्याएपछि स्थानीय प्रशासनले बल प्रयोग गरेर टिकटक बनाउन निषेध गरेको थियो । रत्नेचौरमा बनेको नयाँ सडकमा बसेर तोरीबारीको दृश्य कैद गर्नका लागि स्थानीयसँगै गण्डकी प्रदेशका विभिन्न ठाउँबाट आगन्तुकहरु आउने गरेका थिए ।
नेपालको कुल गाह्रस्थ उत्पादनमा मुस्किलले साढे ३ प्रतिशत योगदान दिएको पर्यटन क्षेत्रमा २०७२ सालमा गएको भूकम्प र कोरोना भाइरसको महामारीले ठूलो क्षति पुर्यायो । विदेशी पर्यटकमा बढी भर परेको पर्यटन उद्योगलाई कोरोना महामारीको समयपछि भने आन्तरिक पर्यटकले समेत चलायमान बनाउन थालेका छन् । तर नीति निर्माण तहमा बसेका व्यक्तिहरुले भने यस्ता क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न नसकिरहेको अवस्था देखिन्छ । सामाजिक सञ्जालको माध्यमद्वारा प्रचारप्रसार भएर स्वतःस्फूर्त रुपमा बढेको आन्तरिक पर्यटनलाई व्यवस्थित गर्ने हो भने यसले सिंगो पर्यटन उद्योगलाई समेत योगदान गर्न सक्नेमा यस क्षेत्रका जानकारहरु बताउँछन् ।
नेपालको कुल गाह्रस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको छ । कृषि पर्यटनलाई व्यवस्थित गर्न सके यस्ता स्थलमा पर्यटकहरु शुल्क तिरेर पनि जान तयार हुन्छन् भन्ने कुरा केही ठाउँमा गरिएका अभ्यासबाट पनि पुष्टि भइसकेको छ ।
गत कात्तिक महिनामा चितवनको भरतपुर महानगरपालिका-५ समिचोकमा १२ कठ्ठामा स्ट्रबरी खेती लगाइएको ठाउँमा तस्वीर खिच्ने र टिकटक बनाउनेको भीड बढेपछि त्यहाँका सञ्चालकले शुल्क तिर्नुपर्ने व्यवस्था गरिदिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका सप्तरी राजविराजका शसन देवकोटाले स्ट्रबरी खेतीसँगै पर्यटनको समेत विकास गराउन शुल्क लिएर टिकटक बनाउन सकिने व्यवस्था गरेका हुन् । शुल्क लिने व्यवस्था गरेपछि पनि टिकटक बनाउन आउनेको संख्यामा खासै कमी भएन ।
त्यस्तै, २०७६ साल जेठ महिनामा सुर्खेतको बुलबुले उद्यान नजिकै सूर्यमुखी खेती गरिएको ठाउँमा पनि मान्छेको भीड बढ्यो । चर्काे भीड व्यवस्थापन गर्न टिकटक बनाउन र फोटो खिच्नका लागि १० रुपैयाँ शुल्क तोकिएको थियो । चार जना युवाहरू मिलेर व्यावसायिक रूपमा सूर्यमुखीको खेती गरेको यो बारी त्यतिबेला आन्तरिक र बाहृय पर्यटकको आकर्षणको केन्द्र बनेको थियो । त्यतिबेला दैनिक डेढ सयदेखि ३०० जनासम्मले त्यस क्षेत्रको भ्रमण गर्ने गर्थे । यसले कृषि पर्यटनको मोह कत्तिको छ ? भन्ने देखाउँछ । तर यसको व्यवस्थापनका लागि भने निजी क्षेत्रले केही प्रयास गरेको भएपनि सरकारी तवरबाट खासै चासो दिएको देखिंदैन ।
नेपालमा खेती पर्यटनलाई पछिल्लो समय सामाजिक सञ्जालले बढी चर्चामा ल्याइदिएको छ । पछिल्लो समय देखिएको लहर हेर्दा खेतबारीको सुन्दरता बेचेर पनि आम्दानी गर्न सकिने निकै सम्भावना देखिन्छ ।
तर यसलाई व्यवस्थित बनाउने कार्य भने त्यति भएको छैन । यदाकदा निजी क्षेत्रले केही पहल गरेपनि सरकारी तवरबाट भनेे धेरै चासो दिएको पाइँदैन । व्यवस्थित गर्नेभन्दा पनि आगन्तुकलाई भगाउने नीति लिंदा बिस्तारै बस्दै गएको आन्तरिक पर्यटनको जग भत्किने पो हो कि भन्नेमा सरोकारवाला निकायका अधिकारीहरु चिन्तित छन् ।
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने यस्ता खेतीयोग्य जमिनलाई खेतीका अलावा पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरेको पाइन्छ । विगत एक दशकदेखि चिनियाँ कृषि पर्यटन उद्योगले त्यहाँको ग्रामीण किसानको आर्थिक अवस्था सुधारमा ठूलो योगदान दिएको छ । चीनको बाह्रौं पञ्चवर्षीय योजनाले गरिबी निवारणलाई मुख्य लक्ष्यको रुपमा लिएको थियो । यो लक्ष्य पूरा गर्न चीनको सहरी अर्थतन्त्र र ग्रामीण अर्थतन्त्रबीचको खाडललाई कम गर्नु महत्वपूर्ण थियो ।
सन् २०१२ मा चीनमा लगभग १७ लाख सेवानिवृत्त व्यक्तिहरुले खेती तथा कृषि पर्यटन व्यवसायलाई अँगालेका थिए । जसले कुल ग्रामीण श्रमशक्तिको ६.९ प्रतिशतलाई मात्रै रोजगारी दिन सकेको थियो । कृषि पर्यटनका कारण ग्रामीण चीन भ्रमण गरेका ८० करोड पर्यटकबाट वार्षिक २४० अर्ब युआनभन्दा बढी राजस्व संकलन भएको थियो । २०१६ मा आइपुग्दा यस्ता पर्यटकको संख्या बढेर २.१ अर्ब पुगेको थियो । जसबाट ५७० अर्ब युआन कमाएर चीनको ६० लाख भन्दा धेरै घरलाई सहयोग गरिएको चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ । चीनबाहेक फिलिपिन्स लगायतका देशले पनि कृषिलाई केवल उत्पादनको मात्रै नभएर पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
नेपालमा पनि गत वर्ष सरकारले मुलुकभरका एक सय पर्यटकीय गन्तव्य घोषणा गर्दा झापाको गौरादह एकीकृत खेतीलाई कृषि पर्यटन क्षेत्रको रूपमा सूचीकृत गरेको थियो । एकीकृत रुपमा खेती गरेर कृषि पर्यटनको रुपमा विकास गरिएको यही नै सम्भवतः पहिलो खेती पर्यटकीय क्षेत्र हो । उक्त घोषणाअनुसार खेतीमा कृषि पर्यटनका लागि अहिले आवश्यक भौतिक निर्माण एवं कार्यक्रम तयारी गरिंदै छ । एकीकृत खेती गर्दै आएका किसानहरुले गत आर्थिक वर्षदेखि कृषि पर्यटनलाई पनि अघि बढाएका हुन् । तर यत्रतत्र सामाजिक सञ्जालबाट भाइरल भएका ठाउँहरुलाई भने व्यवस्थित गर्न सरोकारवाला निकायको खासै चासो पुगेको देखिंदैन ।
पर्यटन विभागको योजना पूर्वाधार तथा अनुगमन शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले आन्तरिक पर्यटकका लागि विभिन्न ठाउँमा कृषि पर्यटन प्रवर्द्धनको लागि अहिलेसम्म योजना नबनेको सुनाउँछन् । अन्य शीर्षकको पर्यटनको बारेमा योजना बनिरहेको भएपनि यसबारेमा सरकारी तवरबाट खासै योजना नबनेको उनी बताउँछन् ।
source https://www.onlinekhabar.com/2022/03/1098357
0 comments:
Post a Comment