Wednesday 30 June 2021

टोटनहमको नयाँ प्रशिक्षकमा नुनो नियुक्त

१७ असार, काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम हट्सपरले पोर्चुगिज प्रशिक्षक नुनो स्पिरितो सान्टोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

प्रिमियर लिगकै वल्भ्सका पूर्व प्रशिक्षक नुनोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका छन् ।

यसअघि टोटनहमले जोसे मोरिन्होलाई बर्खास्त गरेपछि पूर्व खेलाडी रायन मासनले अन्तरिम प्रशिक्षकको रुपमा काम गरेका थिए ।

टोटनहमको प्रशिक्षक बनेपछि नुनोले यो आफ्नो लागि सम्मान भएको बताए । ‘टोटेनहमसँग जोडिनु एकदमै खुशी र सम्मान हो । म खुशी छु र टोटनहममा काम गर्न तयार छु,’ सम्झौतापछि नुनोले भनेका छन् ।

केही दिनपछि नै प्रिसिजन सुरु हुने भएकाले अब तत्काल काम अगाडि बढाउने उनले बताए ।

नुनोले चार सिजनपछि वल्भ्स छाडेका थिए ।



source https://www.onlinekhabar.com/2021/07/976998

दाङको राप्ती गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी

१७ असार, दाङ । दाङको देउखुरीस्थित एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

महाप्रभू बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेकाहरुविरुद्ध दाङ जिल्ला अदालतले ३५ दिने पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी भएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटियाको संस्थापक र लेखा समिति संयोजक पदमा थिए । २०७४ असार मसान्तदेखि उनी सो सहकारीको पदीय जिम्मेवारीमा छैनन् । हाल महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्थाबीच एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ ।

मेरो संलग्नता छैन : सुवेदी

सुवेदीले भने रकम हिनामिना प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगतमा मैले संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरे तापनि हाल उक्त संस्थाको रकम हिनामिनाको सम्वन्धमा त्यस संस्थामा कार्यरत कर्मचारी विक्रम रानाले प्रविधिको दुरुपयोग गरी प्रारम्भिक अनुसन्धानको क्रममा आफूले रकम हिनामिना गरेको लिखितरुपमै स्वीकार गरिसकेको अवस्था छ । हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीहरुले लिइसकेको सन्दर्भमा मेरो इज्जत, प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दै यसमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु ।’

उनले सहकारी संस्थाको पूर्व पदाधिकारीको नाताले प्रहरी, प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानका लागि पूर्णपमा सहयोग गर्ने बताएका छन् ।

यी हुन् पक्राउ पुर्जी जारी भएकाहरु

१.नुमानन्द सुवेदी : महाप्रभु बचत तथा ऋण सहकारीका पूर्व लेखा समिति संयोजक
२. किरण भण्डारी : महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष
३. रुकमाङ्गत ज्ञवाली : पूर्वध्यक्ष
४. रामबहादुर कुवर : पूर्वउपाध्यक्ष
५. कृष्णप्रसाद उपाध्यय पौडेल : पूर्व उपाध्यक्ष
६. हिमानन्द पाण्डे : पूर्व सचिव
७. हरिप्रसाद भुसाल : पूर्व सचिव
८. माधव शर्मा : पूर्व सह-सचिव
९. रामकृष्ण पौडेल : पूर्व कोषाध्यक्ष
१०. गुरुप्रसाद सुवेदी : पूर्व व्यवस्थापक
११. केशवराज आचार्य : सदस्य
१२. कमला पौडेल : सदस्य
१३. धर्मराज अधिकारी : सदस्य
१४. शारदा भुसाल : सदस्य
१५. कमला बेल्वासे : सदस्य
१६. बिष्णुबहादुर थापा : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व संयोजक
१७. तुलसीराम पोख्रेल : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य
१८. युवराज भुषाल : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य
१९. गोबिन्दप्रसाद भण्डारी : लेखा परीक्षक
२०. गंगाबहादुर केसी : लेखापरीक्षक



source https://www.onlinekhabar.com/2021/07/976993

बार्सिलोनामा मेसीको सम्झौता सकियो

१७ असार, काठमाडौं । स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो ।

मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् ।

अर्जेन्टाइन कप्तान मेसी र स्पानिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणलाई लिएर प्रयास भएपनि त्यो जुन ३० भित्र सफल हुन सकेन ।

विश्व फुटबलकै चर्चित र उत्कृष्ट खेलाडी मेसी पहिलो पटक ट्रान्सफरका लागि उपलब्ध भएका हुन् । उनले युवा अवस्थादेखि नै बार्सिलोनाको एकेडेमी रहेर फुटबल खेलेका थिए ।

जोहन लापोर्टा अध्यक्ष बनेर फर्केपछि बारसिलोनाले मेसीसँग सम्झौता नवीकरण गर्ने जनाएको थियो । मेसीको जन्मदिनको दिन जुन २४ मा बार्सिलोना सम्झौता नवीकरण गर्ने घोषणा गर्न चाहेको थियो तर सफल भएन ।

गत सिजन नै मेसीले क्याटलान क्लब छाड्न खोजेका थिए । तर क्लबले ७०० मिलियन युरो रिलिज क्लब राखेपछि मेसीले बार्सिलोना छाडेनन् ।

मेसी र क्लबबीच सम्झौताका लागि छलफल भने भइरहेको छ । मेसी अब क्याम्प नवउमै बस्नेछन् वा अरु क्लबमा जानेछन् केही समय पनि थाहा नै हुनेछ । तर अहिलेलाई मेसी फ्रि एजेन्ट भएका छन् र उनलाई जुनसुकै क्लबले अनुबन्ध गर्न सक्नेछन् ।

मेसीलाई अनुबन्ध गर्ने क्लबमा प्रिमियर लिगका म्यानचेष्टर सिटी र फ्रेन्च लिग वानको पेरिस सेन्ट जर्मेन अघि रहेको छ ।

मेसी हाल अर्जेन्टिनाबाट ब्राजिलमा कोपा अमेरिका खेलिरहेका छन् । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरसँग खेल्दैछ ।



source https://www.onlinekhabar.com/2021/07/976985

बिटिएस ब्यान्डले कसरी विश्वकै तन्नेरीलाई आफ्नो वशमा पार्दैछ ?

अहिले नेपाली किशोरपुस्ताले सर्वाधिक सुन्ने गीत कुन होला ? उनीहरुले मन पराउने संगीत-शैली कस्तो होला ? कुन गायक वा सांगीतिक समूहले उनीहरुको मन जितेको होला ? मोबाइलमा कसको वालपेपर राखिएको होला ?

यसको जवाफ खोज्दै जाँदा ‘बिटिएस’मा गएर ठोक्किन्छ ।

बिटिएसको बारेमा भनिहालौं । के-पप अर्थात् कोरियन पप संगीतको सर्वश्रेष्ठ समूह हो, बिटिएस । यसको मूल उच्चारण, बाङतान सोन्योन्दान । यसमा किशोर उमेरका सात जना सदस्य छन् । कलकलाउँदो उमेरका । उस्तै बान्की परेका । एकै छिमलका ।

उनीहरु सबैले गीत गाउँछन्, एकमुष्ठ । सबै नाच्छन् । यसमा छन्, जंग कुक । उनी व्यान्डका मुख्य भोकलिस्ट हुन् । अर्का भोकलिस्ट छन्, भि अर्थात किम ते ह्याङ । लिड भोकलिस्ट छन्, जिमिन । त्यसपछि र्‍यापर छन्, सुगा, किम नाम जुन, जाङ हो सक ।

यी सातै जनाले अहिले वैश्विक संगीत सत्ता आफ्नो पोल्टामा पार्दैछन् । अहिले यस्ता किशोर-किशोरी सायदै होलान्, जो बिटिएसलाई चिन्दैनन् । बिटिएसलाई सुन्दैनन् । बिटिएसलाई अनुशरण गर्दैनन् ।

यस्तो संगीतले युरोप-अमेरिकामा तहल्का मच्याइरहेको छ, जसको मूल भाषा अंग्रेजी होइन । दक्षिण कोरियाको सांगीतिक समूह मेरिकी एल्बम चार्टमा पहिलो नम्बरमा उक्लिरहेको छ ।

बिटिएसले संगीत इतिहासमा नयाँ-नयाँ कीर्तिमानी कायम राखेका छन् । चाहे कन्सर्टको हिसाबले होस् वा युट्युबमा भ्युजको हिसाबले, अपत्यारिलो र अपरिचित यात्रामा छ यो ब्यान्ड । आफ्नो मुलुकको कला-संस्कृतिलाई विश्वभर फैलाइरहेको यस व्याण्डले दक्षिण कोरियाको अर्थव्यवस्थामा समेत ठोस योगदान दिइहेको छ ।

कीर्तिमानी यात्रा

उसो त वैश्विक मञ्चले उनीहरुकै ब्यान्डलाई आमन्त्रण गरिरहेको छ ।  बिलबोर्डले बिटिएसलाई शीर्ष भ्रमण कलाकारको ४५ औं स्थानमा राखेको थियो । बिलबोर्ड संयुक्त राज्य अमेरिकास्थित सबैभन्दा लोकपि्रय संगीत एल्मब सूचीकरण गर्ने एक रेकर्ड चार्ट हो । भनिन्छ, बेलायती सांगीतिक समूह ‘द बिटल्स’ पछि द्रूत रुपमा आफ्ना एल्बमहरु सार्वजनिक गर्ने सांगीतिक समूह पनि हो यो ।

यसैगरी फोब्र्सको कोरियाली संस्करणले बिटिएसलाई सर्वाधिक प्रभावशाली हस्तीहरुको रुपमा सन् १९१८ र सन् २०२० मा सूचीकृत गरेको थियो । विख्यात म्यागजिन ‘टाइम’को अन्तर्राष्ट्रिय संस्करणको आवरणमा ‘अर्को पुस्ताको नेता’ को रुपमा चित्रित गरिएको थियो भने त्यसमा बिटिएसलाई २५ सबैभन्दा प्रभावशाली इन्टेरनेट व्यक्तित्वको रुपमा समावेश गरेको थियो ।

सन् २०१९ सम्ममा बिटिएसले दक्षिण कोरियाको अर्थव्यवस्थाको लागि ४ दशमलव ६५ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्ने विश्वास गरिएको थियो ।

ग्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो कोरियन ब्यान्ड हो यो । उनीहरुको लोकपि्रय गीत ‘डाइनामाइट’ ग्रामी अवार्डको सर्वश्रेष्ठ पप डुओ तथा ग्रुप पफर्मेन्स विधामा छनौट भएको थियो ।

युनिसेफको साझेदारीमा उनीहरुको लभ माइसेल्फ हिंसा विरोधी अभियानको स्थापनापछि बिटिएसले संयुक्त राष्ट्रको ७३ औं महासभालाई सम्बोधन गरेका  थिए । यसैगरी बिटिएसले कोरियाली भाषा र संस्कृति फैलाएकोमा उनीहरुको योगदानका लागि दक्षिण कोरियाका राष्ट्रपतिबाट सबैभन्दा कम उमेरको सम्मान प्रदान गरेका थिए ।

यस ब्यान्डको गीत ‘डाइनामाइट’ सार्वजनिक भएको चौबिस घण्टा नबित्दै दश करोड बढी पटक हेरिएको थियो । त्यसबेला युट्युबमा एकै दिनमा सर्वाधिक भ्युज कमाउने भिडियो बनेर कीर्तिमानी बनाएको थियो ।

यही गीतका लागि ब्यान्डले ‘टप सेलिङ सङ’ अवार्ड उचाल्यो । त्यसैगरी ब्यान्डको पछिल्लो म्युजिक भिडियो ‘बटर’ सार्वजनिक भएको १३ मिनेटमै एक करोड भ्युज पाएको थियो ।

कसरी उदय भयो बिटिएस ?

दक्षिण कोरियाको सिओलबाट यो व्यान्डको उदय भएको हो । सन् २०१० मा आधा दर्जन बढी कलिला किशोर समूहले एउटा सांगीतिक समूह गठन गरे । त्यसको तीन वर्षपछि उनीहरु आधिकारिक रुपमै प्रकट भए । सन् २०१३ मा ‘टु कुल फोर स्कुल’ जारी गर्दै संगीत यात्रा सुरु गरे । छोटो अवधिमा छलाङ मार्दै विश्वमाझ आफ्नो चिनारी दिन सफल भए ।

कलकलाउँदो युवाहरुको यो सांगीतिक समूहले दक्षिण कोरियाको कला-संस्कृतिलाई विश्वको रंगमञ्चमा फैलाइरहेका त छन् नै अर्थतन्त्रमा पनि ठोस योगदान दिइरहेका छन् ।

बिग हिट इन्टरटेनमेन्ट नामक रेकर्ड लेबल अन्र्तगत सांगीतिक समूहको रुपमा यसको गठन भएको थियो । सन् २०१५ मा ‘द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ’, सन् २०१६ मा ‘द मोस्ट ब्युटिफल मोमेन्ट इन लाइफः योङ फरएभर र बिङ्गस गीति संग्रहसँगै बिटिएस सर्वव्यापी भए ।

सन् २०१७ सम्ममा आइपुग्दा बिटिएस अन्तर्राष्ट्रिय संगीत बजारमा प्रवेश गरिसकेको थियो । रमाइलो कुरा, यस समूहको गीतले अमेरिकामामा असंख्य कीर्तिमानी तोड्दै अमेरिकाको रेकर्डिङ उद्योग संघबाट प्रमाणपत्र प्राप्त गर्ने पहिलो कोरियाली सांगीतिक समूह बनेको थियो ।

‘लभ योरसेल्फः टियर’ बिलबोर्ड २०० को शीर्ष स्थान प्राप्त गर्ने पहिलो कोरियाली एल्बम हो । त्यसपछि बजारमा ल्याएको लभ योरसेल्फः एन्सर्स, म्याप अफ द सोलः पर्सोना, म्याफ अफ द सोलः ७ सँगै बिटिएसले विश्व संगीतमा कीर्तिमानी र अपराजित यात्रा तय गर्‍यो ।

किन रुचाइयो ?

युवाहरुको गीतमा प्रेम एवं विरहको कुरा गरिन्छ । तर, बिटिएस त्यसमा फरक छन् । उनीहरुको गीतमा बुलिङ, आफू स्वयंलाई स्वीकार्ने, मानसिक स्वास्थ्य जस्ता विषय समेटिन्छन् ।

गीतको मीठास छँदैछ, त्यसमाथि उनीहरुको प्रस्तुतिले लोभ्याउँछ । एकै छिमलका यी युवाहरुको हाउभाउ र आकर्षक पहिरन शैली पनि चाखलाग्दो हुन्छ । अक्सर भिडियोमा सात जना नै देखापर्छन् । त्यसैगरी स्टेजमा पनि उनीहरु सबै सम्मिलित हुन्छन् । उनीहरुलाई प्रत्यक्ष सुन्न लालायित भिड बढ्दो छ । जसले गर्दा स्टेज प्रस्तुतिको लागि पनि यो ब्यान्डको दौडधुप कम छैन ।

संगीत, पर्फमेन्स, स्टाइल, फेसनको एउटा परिपूर्ण प्याकेज हो, बिटिएस ।

मूलतः यो हिपअप सांगीतिक समूह हो, जसको सांगीतिक शैलीमा हरेक किसिमको संगीत सामेल छ । उनीहरुको गीत अक्सर व्यक्तिगत टिप्पणीमा केन्दि्रत हुन्छ । मानसिक स्वास्थ्यको विषयमा हुन्छ । कम उमेरको बच्चाको समस्या, युवाको प्रेम अनि दुःख, सामाजिक विषय र व्यक्तित्ववादलाई उनीहरुले गीतमा उधिन्छन् ।

नयाँ क्षेप्यास्त्र

उत्तर कोरियामा कोरियन पप अर्थात के पप सुनेमा समेत कडा सजाय तोकिएको छ । के-पपका गायकले झँै स्टाइल पारेको, कपाल काटेको, कुर्कुच्चामाथि हुनेगरी पाइन्ट लगाएको आरोपमा तीन जना युवालाई जेल शिविरमा पठाएका थिए ।

उत्तर कोरियाले के-पपलाई दक्षिण कोरियाको सांस्कृतिक अतिक्रमणको रुपमा बुझेको छ । सोही कारण यसलाई निषेध गर्नका लागि जोडतोडले लागिपरेको छ । त्यहाँका शासक किम जोंग उनले दक्षिण कोरियाको के पपलाई ‘क्रुर क्यान्सर’को संज्ञा दिएका छन् ।

यता दक्षिण कोरियाका सरकारले भने आफ्नो मुलुकको सांस्कृति विस्तारमा योगदान गरेको भन्दै यस्ता ब्यान्डलाई धाप मारिरहेका छन् । खासगरी बिटिएसलाई । दक्षिण कोरियाका राष्ट्रपतिले बिटिएसलाई सम्मान समेत गरिसकेका छन् ।

बिटिएसले संगीतमार्फत विश्वमा दक्षिण कोरियाको भाषा, शैली, फेसनलाई फैलाइरहेका छन् ।



source https://www.onlinekhabar.com/2021/07/976987

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी

१७ असार, काठमाडौं । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् ।

टियानान्मेनमा पार्टीको एक सय वर्षगाँठ मनाउन करीब ७० हजार मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । उनीहरु कसैले पनि मास्क लगाएका थिएनन् ।

बिहीबार बिहान आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि प्रचार गरिरहेका छन् । कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

लामो समयको गृहयुद्धपछि कम्युनिष्ट पार्टी ७२ वर्षपछि सत्तामा आएको थियो । त्यसयता चीनमा निकै ठूलो परिवर्तनहरु भएका छन् । यद्यपि अहिले चिनियाँ कम्युनिस्ट पार्टीले अनुमोदन गरेको इतिहासमा भने त्यसमध्येका केही घटनाहरु लुकाइएको छ ।जसमध्ये चीनको सांस्कृतिक क्रान्ति, सन् १९८९ टियानान्मेन स्वायर आन्दोलन र हङकङको प्रजातन्त्रवादी आन्दोलनलगायतका घटनाहरु छन् ।

चीनमा गत अप्रिलयता सिनेमा हलमा साताको दुई दिन चीनको इतिहास समेटिएको फिल्म लगाउन निर्देशन दिइएको छ ।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको वर्षगाँठको अवसरमा एक सय टेलिभिजन नाटक यस वर्षभरमा प्रदर्शन हुनेछ ।

चीनको केही स्थानहरु पार्टीको लागि ऐतिहासिक रुपमा निकै महत्वपूर्ण छन् । जसमध्येको एउटा यानान शहरको क्रान्तिको आधार शिवर पनि हो । पछिल्लो समय यो क्षेत्रमा भ्रमण गर्न जाने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

हङकङ चीनलाई हस्तान्तरण गरिएको पनि २४ वर्ष पूरा भएको छ । बेलायतको उपनिवेशबाट मुक्त भएको हङकङ चीनलाई सन् १९९७ मा हस्तान्तण गरिएको थियो । हङकङमा वार्षिक रुपमा हस्तान्तरणको वर्षगाँठको उत्सव मनाइँदै आएको छ ।

यद्यपि हङकङमा समयसमयमा चीनविरोधी प्रदर्शन हुँदै आएको छ । चीनले गत वर्ष राष्ट्रिय सुरक्षा कानून ल्याउँदै विरोधी स्वरमा अंकुश लगाएको छ ।

एजेन्सीहरुको सहयोगमा



source https://www.onlinekhabar.com/2021/07/976984

राष्ट्रिय सभाको आठौं अधिवेशन आज, अपराह्न चार बजे बैठक

१७ असार, काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबारबाट शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न चार बजे अधिवेशन आहृवान गरेकी हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आहृवान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ ।

अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ ।

प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिवेशन एकै पटक आहृवान हुँदै आएको थियो । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको अधिवेशन बेग्लै आहृवान हुने अवस्था आएको हो ।

समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाको सातौं अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो । एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

हाल राष्ट्रिय सभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत सदस्य छन् । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा. खिमलाल देवकोटा (बागमती, स्वतन्त्र) र दृगनारायण पाण्डे -लुम्बिनी, कांग्रेस) राष्ट्रिय सभा अधिवेशनमा नयाँ प्रवेशी छन् ।



source https://www.onlinekhabar.com/2021/07/976981

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता पछि सर्‍यो

१७ असार, काठमाडौं । आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको हो ।

अब प्रशिक्षक जुलाई ७ देखि सुरु हुनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तयारी छ । नेपालले एसियन कप छनोटको अन्तिम चरणमा पनि प्रतिस्पर्धा गर्दैछ ।



source https://www.onlinekhabar.com/2021/07/976972

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

१७ असार, काठमाडौं । सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्चीको बाढीले केही दिन अघिमात्र ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन् ।

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक प्रहरीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2021/07/976979

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

१७ असार, काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् ।

नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए । देउथल हाल भारतको उत्तराखण्ड राज्यमा पर्दछ।

१९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको इतिहासमा पढ्न पाइन्छ । अंग्रेज सेनाले साहसी सैनिकको रुपमा सम्मान गर्दै उनको शवलाई पूर्ण सम्मानका साथ फर्काएको थियो ।

लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेको र करीब एक वर्षपछि उनी नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएको बताइन्छ।

यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु

१) गौतम बुद्ध
२) अंशुवर्मा
३) सीता
४) जनक
५) अरनिको
६) रामशाह
७) अमरसिंह थापा
८) पृथ्वीनारायण शाह
९) भानुभक्त आचार्य
१०) भीमसेन थापा
११) बलभद्र कुँवर
१२) श्री ५ त्रिभुवन
१३) मोतीराम भट्ट
१४) शंखधर शाख्वा
१५) पासाङ ल्हामु शेर्पा
१६) महागुरु फाल्गुनन्द
१७) भक्ति थापा



source https://www.onlinekhabar.com/2021/07/976975

कैलालीको प्रहरी प्रमुखमा एसपी अधिकारी

१७ असार, धनगढी । कैलालीमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर जबराको सरुवा भएपछि उनको ठाउँमा एसपी विश्व अधिकारी आएका छन् ।

प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएका अधिकारीले बुधबार कैलाली पुगेर कमाण्ड सम्हालेका छन् ।

अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘कैलाली सुदूरपश्चिमको राजधानी भएकाले पनि जिल्लालाई हरेक हिसाबले नमूना बनाउन उत्कृष्ट काम गर्ने प्रयास मेरो रहनेछ’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हामी नागरिकको प्रहरी भएकाले यहाँका प्रत्येक नागरिकमा सोही खालको भावना रहनेछ भन्नेमा विश्वस्त छौँ ।’

उनले बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसनी, जघन्य अपराध नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै त्यसका लागि हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नेमा आशावादी रहेको जनाए ।



source https://www.onlinekhabar.com/2021/07/976971

‘देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ’

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला ।

सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् ।

तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ ।’ रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ ।

प्रस्तुत छ, कांग्रेसको आसन्न महाधिवेशन, नेतृत्व चयन र पार्टी एकतावद्ध गर्ने महामन्त्री कोइरालाको योजनाबारे अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

महामन्त्रीको झण्डै साढे ५ वर्षको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

आजको मितिसम्म मैले पार्टी सभापति शेरबहादुर देउवाको कहिल्यै विरोध गरेको छैन । चुनावमा नेपाली कांग्रेस हारेपछि उहाँको धेरै आलोचना भयो, मैले महामन्त्रीका रुपमा उहाँको बचाउ नै गरेँ । त्यसपछि उहाँको विरोध गरिनँ ।

किनकी कांग्रेस पराजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो । र, पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने मेरो प्रयास थियो । तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो । मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो । तर केन्द्रबाट टिकट दिइयो । त्यसले पनि असन्तुष्टि बढ्यो ।

महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु चार वर्षपछि मात्रै गठन गर्नुभयो । त्यो पनि महाधिवेशनलाई लक्षित गरेर बनाएको देखिन्छ । यसरी हेर्दा महामन्त्रीका कार्यकालमा मैले पार्टी एकता बनाउने प्रयास गरेँ, तर सकिँन ।

तर, सबैको प्रिय बन्ने नाममा जसरी मौन बस्नुभयो, यसले असफल भएँ भन्ने लाग्दैन ?

यसमा केही हदसम्म सत्यता छ । म कसैका बारेमा छुचो बोल्दिन । १३औं महाधिवेशनमा शेरबहादुर देउवाजीको टीमबाट अर्जुननरसिंह केसी महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । तर देउवाजीकै मान्छेहरुले मलाई भोट हाले । त्यसले के जनाउँछ भने ममाथि कांग्रेसलाई एकतावद्ध बनाउन सक्छ भन्ने विश्वास थियो । त्यसकारण मैले शेरबहादुर देउवाको बचाउ गरेँ, कसैलाई काखापाखा गरिनँ ।

तर तपाईंले महामन्त्रीका रुपमा निभाउनुपर्ने भूमिकामा चुक्नुभयो । उदाहरणका लागि, समयमा विभाग नबन्दा सभापतिलाई घचघच्याउनु भएन, महाधिवेशन गर्ने बेलामा विभाग बनाउँदा पनि रोक्न सक्नु भएन भन्नेहरु पनि छन् नि ?

यो केही हदसम्म सही हो, तर (एग्रेसिभ हुन) मेरो नेचरले पनि दिँदैन । र, पार्टीभित्र मेरो मुख्य ध्येय पार्टीलाई एक बनाउने हो । म नै सभापतिविरुद्ध उभिएको भए कांग्रेसमा थप संकट आउन सक्थ्यो । कांग्रेसलाई थप चिरा हुन नदिन पनि मैले सभापतिकै बचाउ गरेँ ।

चुनावमा पार्टीको पराजय भयो, अरुले सभापतिमाथि आरोप लगाउँदा मैले नै टिकट वितरण हामीले पनि गरेका हौं, हामी पनि दोषी हौं भनेर बोलें। तर तपाईंले भनेको जस्तो अहिले आएर शायद त्यसबेला म अलि ‘एग्रेसिभ’ हुनुपथ्र्याे कि भन्ने लागेको छ । मैले ‘एग्रेसिभ’ भूमिका नखेलेका कारण पार्टी यो अवस्थामा पुग्यो भन्ने लाग्छ ।

हिजोको ‘रियलाइजेसन’ले आगामी दिनमा शशांक कोइरालाको भूमिका फरक हुन्छ भन्न खोज्नुभएको हो ?

हामी महाधिवेशनतर्फ अगाडि बढेका छौं र यो महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

महाधिवेशनसम्म गुटहरु हुन्छन्, तर सभापति भइसकेपछि सबैलाई एक गर्नुपर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ, यो शेरबहादुरजीले गर्नुभएन । मेरो तेरो भन्नुभयो । शायद उहाँले त्यसो नगर्नु भएको भए पार्टीको आज यो दुर्दशा हुने थिएन ।

सबैका कुरा सुन्दा सभापतिमा देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ जस्तो लाग्छ । शेखर दाइ केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । त्यसैले उहाँलाई यसपटक बस्नुस् भन्छु । एक व्यक्ति एक पदको अवधारणा अगाडि बढाउँछु र प्रकाशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्छु

अघिल्लो महाधिवेशनमा सभापतिमा तीन उम्मेदवार थिए, पार्टीमा पनि तीन वटा गुट रहे । यो पटक त कम्तिमा सातजना दावेदार छन्, सात वटा नै गुट बन्ला । जो सभापति भए पनि कसरी एक होला र कांग्रेस ?

महाधिवेशनमा ‘ग्रुपइज्म’ स्वभाविक हो । तर सभापति भइसकेपछि यो मेरो मान्छे, त्यो मेरो मान्छे भन्नुभएन । सबैलाई समान व्यवहार गर्नुपर्छ, त्यसले नै कांग्रेस एकढिक्का हुन्छ ।

तपाईं आफैं पनि सभापतिको आकांक्षी हो, भोलि निर्वाचित हुनुभयो भने वर्षौंदेखि गुटगत राजनीतिमा जेलिएको कांग्रेसलाई कसरी एक बनाउनुहुन्छ ?

सर्वप्रथम म पार्टीमा अस्तित्वमा रहेका सबै गुटका मान्छेलाई समान अवसर दिन्छु । हुन त यसपटक पदाधिकारीमा सबै पद निर्वाचित हुने व्यवस्था गरिएको छ । यो वीपी कोइरालाको नीति विपरीत छ । कांग्रेसमा ‘प्रेसिडेन्सियल सिस्टम’ हो । सभापतिलाई काम गर्न सजिलो हुने गरी विधान बनाउनु जरुरी छ । त्यसकारण महाधिवेशनपछि पदाधिकारीमा निश्चित पद मनोनित गर्ने व्यवस्था संशोधन गर्न जरुरी छ । यसका लागि काम गर्छु ।

सभापति बन्ने, पार्टी एकढिक्का बनाउने भोलिको कुरा भयो, त्यसअघि आफ्नो समूहमा सर्वसम्मत उम्मेदवार बन्नु चुनौतीपूर्ण छ । तपाईं आवद्ध रहेको संस्थापन इतर समूहमै सभापतिका आकांक्षी धेरै छन् । अझ कोइराला परिवारभित्रै तीन जना हुनुहुन्छ । कसरी मिलाउनुहुन्छ सबैलाई ?

हाम्रो (शेखर कोइराला र म) बीचमा छलफल नभएको लामो समय भइसकेको छ । हामी केहीदिनमै छलफल गर्दैछौं । रामचन्द दाइसँग पनि छलफल गर्नुपर्छ । विमलेन्द्र (निधि) र प्रकाशमान (सिंह) सँग कुराकानी भइरहेको छ ।

अहिले सभापतिमा जति पनि आकांक्षी हुनुहुन्छ, उहाँहरुले के बुझ्नुपर्दछ भने जित्ने उम्मेदवार को हो ? आजका मितिसँग जति जनासँग मेरो संवाद भएको छ, उहाँहरुको धारणा सबभन्दा पहिला परिवारलाई एकतावद्ध राख्नूस् र अनि अरुसँग पनि छलफल गर्नूस् भन्ने छ । तर जित्ने उम्मेदवार शशांक नै हो भन्ने देशभरका नेता कार्यकर्ताको भावना पाएको छु ।

तर शेखर कोइरालाले अघिल्लो महाधिवेशन लगतै तयारी थाल्नु भएको र धेरै अगाडि बढिसक्नु भएको छ । भोलि तपाईंले चाहँदैमा रोकिने अवस्था होला र ?

उहाँलाई यसपटक बस्नुस् भन्छु । तर कुरा गर्न बाँकी छ । संवादबाटै हामी कन्भिन्स हुन्छौं भन्ने सबैले दिमागमा राख्नुपर्दछ ।

प्रकाशमान सिंह पनि हुनुहुन्छ । हिजो पिता गणेशमान सिंहलाई पनि कांग्रेसको सभापति बन्न दिइएन, अहिले म पनि नहुने ? भन्ने उहाँको पनि तर्क सुनिन्छ ।

प्रकाशमानलाई मेरो प्रस्ताव छ, पाँच वर्ष पार्टी चलाएपछि फेरि सभापतिमा दोहोरिने मेरो कुनै इच्छा छैन । अहिले मलाई सहयोग गर्नुस्, अर्काे पटक तपाईंलाई म सहयोग गर्छु ।

पछिल्लो समय त तपाईं, विमलेन्द्र निधि र प्रकाशमान सिंहको भेट पनि बाक्लिएको छ । केही सहमति जुट्ने सम्भावना छ ?

हामीबीच शेरबहादुरजीको विकल्पमा एउटा मात्रै उम्मेदवार बनाउनुपर्दछ भन्नेमा सहमति छ । किनकि शेरबहादुरजीलाई हराउन त निकै मुस्किल छ नि । उहाँ सभापति हुँदै हुनुहुन्छ, भोलिका दिनमा प्रधानमन्त्री बन्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी एक हुने हो भने देउवाजीलाई पराजित गर्न सक्छौं जस्तो लाग्छ ।

सबैका कुरा सुन्दा सभापतिमा देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ जस्तो लाग्छ । बरु मलाई ‘शेखर दाइलाई त छोड्नुहुन्न नि ?’ भनेर प्रश्न गर्छन् । मैले किन छोड्नु ? म महामन्त्री भइसकें । शेखर दाइ केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । त्यसैले उहाँलाई यसपटक बस्नुस् भन्छु । एक व्यक्ति एक पदको अवधारणा अगाडि बढाउँछु र प्रकाशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्छु ।

प्रधानमन्त्री पद जम्मा एउटा छ, रामचन्द्र पौडेल, प्रकाशमान सिंह अरु क–कसलाई बाँड्नुहुन्छ ?

पार्टीभित्र ‘गिभ एण्ड टेक’ त हुनुपर्यो नि । नेताहरुलाई उहाँहरुको चाहना र हैसियत अनुसार पदीय भागबण्डा गर्नैपर्छ । कोही पार्टीभित्र पदाधिकारीमा अटाउनुहोला, कोही केन्द्रीय समितिमा । तर एक जना त प्रधानमन्त्रीको उम्मेदवार बन्छ नि ।

म पार्टी सभापति भएँ भने प्रधानमन्त्रीमा दावी गर्दिन भन्ने चाहिँ तपाईंको भनाइ हो ?

हो, म सभापति भएपछि प्रधानमन्त्री बन्दिन ।

तपाईं प्रधानमन्त्री भएर अरुलाई सभापति बनाए हुँदैन ?

वीपीको छोरा भएर पार्टीको यो दुर्दशा हेरेर बस्न सक्दिन । त्यसैले अहिले मेरो महत्वपूर्ण जिम्मेवारी पार्टीलाई एकतावद्ध बनाउने हो । म बाहेक यो पार्टीलाई अरुले एकढिक्का बनाउन सक्दैन । त्यसैले म सभापति बन्न जरुरी छ । प्रधानमन्त्री अरु बने पनि सभापतिका रुपमा मैले सुझाव दिने काम त भइहाल्छ ।

त्यसो भए तपाईंको टिम कस्तो हुन्छ त ?

महाधिवेशनमा जाँदा टीम त हुन्छ नै । अहिले म साथीहरुसँग संवादमै छु । सबैसँग राय सल्लाह सुझाव लिएर अगाडि बढ्छु ।

मेरो प्यानलको उपसभापतिमा यो–यो, महामन्त्रीमा यो–यो हुनसक्छ भन्ने त होला नि ?

अहिलेसम्म कुनै नेतालाई छानिसकेको छैन, छलफलमै छौं ।

शेखर कोइरालाले टीम बनाउन थालिसक्नुभयो, हिजो तपाईंसँग निकट भनिएका नेताहरु पनि अहिले शेखरतिर नजिक छन् भनिन्छ, भोलि टिम बनाउन मुस्किल होला नि ?

(हाँस्दै….) त्यस्तो त कहाँ हुन्छ र ? म शेखर दाइसँग संवाद गर्छु र एकाध हप्ताभित्रै टीम बनाउँछु ।

टिम तयार भएको छैन, संस्थापन इतरको गुट छाड्नुस्, कोइराला परिवार मिलाउनु भएको छैन । तै पनि सभापति उठ्छु, जित्छु भन्नुहुन्छ, यो आत्मविश्वासको आधार के ?

मैले भनिसके नि, जिल्ला–जिल्लामा जाँदा जति पनि नेता कार्यकर्ताहरु भेट्छु, उहाँहरुले मप्रति देखाएको आशा, विश्वास नै मेरा लागि आत्मविश्वास हो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर



source https://www.onlinekhabar.com/2021/07/976946

महाकाली नदीमा पुरुषको शव भेटियो

१७ असार, धनगढी । कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महाकाली अस्पतालमा राखिएको छ ।



source https://www.onlinekhabar.com/2021/07/976948

तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो

१७ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।

बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो पनि पढ्नुहोस पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध

 



source https://www.onlinekhabar.com/2021/07/976961

एथ्लेटिक्सबाट ओलम्पिकका लागि सरस्वतीको नाम सिफारिश, गोपीचन्द्र पार्कीको के होला ?

काठमाडौं । अर्को महीनादेखि जापानमा शुरु हुने टोकियो ओलम्पिकका लागि नेपालबाट अहिलेसम्म ५ खेलाडीले खेल्ने पक्का भएको छ । जसमा एथ्लेटिक्सबाट म्याराथन खेलाडी गोपीचन्द्र पार्कीको नाम पनि छ ।

तर पछिल्लो समय एथ्लेटिक्ससका अर्का खेलाडीको नाम पनि ओलम्पिकमा जाने चर्चामा छ ।

एक सय मिटर दूरी दौडमा महिला खेलाडी सरस्वती चौधरीको नाम पनि टोकियो ओलम्पिकका लागि सिफारिश भएको छ ।

गत वर्ष नेपालगन्जमा भएको नेपालगन्ज म्याराथन जितेपछि गोपीचन्द्र पार्की टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो । गोपीचन्द्रले नेपागन्ज म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेका थिए ।

ओलम्पिक खेल्ने पक्का भएपछि उनले लेजेण्ड बैकुण्ठ मान्नधरको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका थिए । मानन्धरले सन् १९८७ मा भएको तेस्रो साउथ एसियन गेम्समा राखेको २ घण्टा १५ मिनेट ३ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पौडी र एथ्लेटिक्सका आफ्ना सदस्यहरुलाई अनिवार्य कोटामार्फत खेलाडी सहभागिता गराउने अवसर दिँदै आएको छ । त्यस अनुसार पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की टोकियो जाने भएका हुन् ।

यसअघि एथ्लेटिक्सको पनि दुई कोटा रहँदै आएकोमा यस पटक एक खेलाडी मात्र कोटा रहेको हो ।

टोकियो ओलम्पिक खेल्न जाने खेलाडीहरु बुधबारदेखि राजधानीको सोल्टी होटलमा क्लोज क्याम्पको रुपमा बसेका छन् । पौडीकी गौरिका सिंह हाल बेलायत रहेकोले उनी भने यहाँ छैनन् । यस्तै गोपीचन्द्र पार्की भने अहिले सोल्टीमा नभएर आफ्नै कोठामा छन् ।

टोकियो ओलम्पिक खेल्न जाने पक्का भएका खेलाडी किन घरमै ? “मलाई अहिलेसम्म बोलाउनु भएको छैन । एक दुई दिनमा केही थाहा होला,” गोपीचन्द्रले भने ।

गोपीचन्द्र बाहेक पौडीका गौरिका र एलेक्स अनी अनिवार्य कोटामा ओलम्पिक खेल्न लागेका हुन् । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट छानिएका छन् ।

बेलायत रहेकी गौरिका र गोपीचन्द्र बाहेक अन्य खेलाडी र प्रशिक्षक अहिले सोल्टी होटलमा छन् ।

ओलम्पिकका लागि गोपीको नाम पक्का भए पनि केही दिन अघि नेपाल ओलम्पिक कमिटीले नेपाल एथ्लेटिक्स एसोसिएसनसँग महिला स्प्रिन्टर खेलाडीको नाम मागेको थियो । त्यसमा संघले सरस्वतीको नाम सिफारिश गरेको छ ।

एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले पनि केही दिन अघिमात्र ओलम्पिक कमिटीबाट महिला स्प्रिन्टरको नाम माग भएको पुष्टि गरे । “त्यसमा हामीले सरस्वती चौधरीको नाम पठाएका छौँ । अब बाँकी सबै ओलम्पिक कमिटीलाई नै थाहा हुन्छ ।” शाहले भने । गोपीचन्द्रको बारेमा सोध्दा उनले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए ।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले महिला स्प्रिन्टरको माग भएपछि राम्रो समय भएको आधारमा सरस्वती चौधरीको नाम पठाएको बताए । “दोहामा वर्ल्ड च्याम्पियनसिप खेलेको र उत्कृष्ट समय भएकोले सरस्वतीको नाम सिफारिश गरेको हो । महिला स्प्रिन्टर नाम माग भएकोले उसैको नाम सिफारिश भएको हो । उनको उत्कृष्ट सयम १२:४८ सेकेण्ड हो ।”

गोपीचन्द्रले आफूले लामो समय मिहिनेत गरेको तर अन्तिम समयमा किन यस्तो भयो थाहा नभएको बताए । “मैले पनि अर्कै खेलाडीको नाम सिफारिश भएको भन्ने सुनेको छु । कतैबाट केही आधिकारिक निर्णय आएको छैन ।”

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई यसबारे सोध्दा उनले अहिले सबै निर्णय नभएको बताए । “यसबारे अहिले केही निर्णय भइसकेको छैन । जुलाई ५ तारिखसम्म इन्ट्री डेट छ त्यसपछि कति खेलाडी जाने थाहा हुन्छ,” उनले भने ।

टोकियो ओलम्पिककै लागि भनेर गोपीचन्द्रले सबै तयारी गरेको बताए । तर के विषय नमिलेको उनले पनि बुझ्न सकेका छैनन् ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले एथ्लेटिक्स अनिवार्य कोटा भएपनि म्याराथनका लागि छुट्टै क्राइटेरिया रहेको हुनसक्ने बताए । “मलाई पनि अहिले सबै जानकारी आइसकेको छैन । गोपीचन्द्रले पनि लामो समय तयारी गरेका छन् । उनले खेल्न पाएनन् भने हामीलाई कस्तो होला झन् ,” उनले भने ।

ओलम्पिक जाने मध्ये गौरिका बेलायतमा तयारी गरिरहेकी छन् । उनी उतैबाट जापान जाने पौडी प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । एलेक्श शाह भने हाल नेपालमा छन् । उनी लिंकन स्कुलमा प्रशिक्षण गरिरहेका छन् ।

जुडोका सोनिया भट्टले महाराजगंजस्थित नेपाल पुलिसको एकेडेमीमा  र सुटिङका कल्पना परियारले सातदोबाटोस्थित सुटिङ रेन्जमा प्रशिक्षण गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2021/07/976933

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

१७ असार, काठमाडौं । आज नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन् ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् ।

आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।



source https://www.onlinekhabar.com/2021/07/976937

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस मनाउँदै



source https://www.onlinekhabar.com/2021/07/976942

डाइभर्सनले कालीगण्डकी सुकाउँदैन, परियोजना नबनाए भावी पुस्ताले धिक्कार्छ

कालीगण्डकी–तिनाउ डाइभर्सन हामीले २०६४-६५ सालदेखि अध्ययन गरेको परियोजना हो । यसको पहिचान सहित सर्भेको काममा निकै समय लाग्यो । यो रातारात प्रस्ताव गरेर बनाउन लागेको परियोजना हैन ।

राष्ट्रिय जलस्रोत रणनीति, जलस्रोत योजना र सिंचाइ गुरुयोजनामा पनि समेटिएको यो परियोजनाको हामीले सर्भे, पूर्वसम्भाव्यता र सम्भाव्यतापछि विस्तृत सम्भाव्यता अध्ययन पनि गरिसकेका छौं ।

अनि कार्यालय खोलियो

सिद्धार्थ राजमार्गको राम्दी पुलबाट २.३ किलोमिटर तल रम्भा गाउँपालिका–३ मा यो परियोजनाको बाँध रहन्छ । त्यसबाट अधिकतम ८२ घनमिटर प्रतिसेकेन्डसम्म पानी तिनाउ खोलामा लैजान सकिन्छ । बाँधबाट नदीको तल्लो क्षेत्रका लागि सुक्खा मौसममा वातावरणीय उपयोगका लागि न्यूनतम १० घनमिटर प्रतिसेकेन्ड र भविष्यमा हुनसक्ने उपयोगका लागि १० घनमिटर प्रतिसेकेन्ड गरी न्यूनतम २० घनमिटर प्रतिसेकेन्ड पानी छोडिनेछ ।

यसको हेडवक्र्स एक हजार वर्षसम्म आउन सक्ने बाढीको पूर्वानुमानमा आधारित भएर बनाइनेछ ।यो परियोजनाको बाँधदेखि पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने दोभानसम्म ६.५ मिटर गोलाइको २७ किलोमिटर सुरुङ बन्नेछ । दोभानमा विद्युत् गृह बनाएर ५४ मेगावाट बिजुली उत्पादन गरिनेछ । बिजुली निकालेपछि पानीलाई अर्को ७ किमी सुरुङबाट रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३, बेलबास पुर्‍याएर ७२ मेगावाट बिजुली निकालिनेछ ।

महानिर्देशक राजभण्डारी

त्यसपछि पानीलाई सिंचाइमा उपयोग गर्ने योजना हो । सुक्खायाममा रुपन्देहीको ५३ हजार र कपिलवस्तुको ५४ हजार गरी १०७ हेक्टर जमीनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

पहिलो पावरहाउसबाट तिनाउमा आवश्यकता अनुसार १० घनमिटर प्रतिसेकेन्डसम्म पानी छोडिनेछ । त्यसले तिनाउका ३६ वटा जति साना सिंचाइ आयोजना र कुलाहरूमा पानी बढाएर सुक्खायाममा पर्याप्त सिंचाइ सुविधा पुग्नेछ ।

यो आयोजनाको प्रारम्भिक लागत अनुमान (विद्युत् उत्पादन तहसम्म) ६४ अर्ब रुपैयाँ छ । सिंचाइ संरचना निर्माण र सिंचाइ क्षेत्र विकासमा अर्को ७४ अर्ब खर्च गर्नुपर्ने हुन्छ । यसरी आयोजना १ खर्ब ३८ अर्बमा बनाउन सकिनेछ । आयोजना निर्माणको काममा २० लाख श्रम दिन अनुसार रोजगारी सिर्जना हुनेछ । अप्रत्यक्ष लाभान्वित हुने पनि थुप्रै हुनेछन् ।

अब हामीले विस्तृत सम्भाव्यता अध्ययन पुनरावलोकन, भौगर्भिक अध्ययन–अनुसन्धान, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) र सिंचाइ क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने सहितका काम गर्नुपर्नेछ । यसबीचमा सम्बन्धित क्षेत्रका जनताको भनाइ सुन्न, सार्वजनिक सुनुवाइ कार्यक्रमहरू पनि गर्नुपर्छ । त्यसकै लागि रूपन्देहीमा कार्यालय खोलिएको हो ।

चिन्ताको कुरा केही छैन

परियोजना बनाउँदा माथिल्लो तट, तल्लो तट, बाँध, पानी डाइभर्ट गरिने क्षेत्र सबैमा पर्न सक्ने असरहरूबारे अध्ययन हुन्छ । माथिल्लो क्षेत्रमा कति डुबान हुन्छ, तल्लो तटमा पानीको बहाव घट्दा कस्तो प्रभाव पर्छ, त्यसलाई कम गर्न के–के गर्न सकिन्छ आदि सबै पक्षमा विस्तृत अध्ययन हुन्छ । यी सब विषयमा स्थानीय जनता, स्थानीय सरकार, राजनीतिक दल सबैसँग छलफल हुन्छ ।

हिउँदमा अधिकतम ८२ घनमिटर प्रतिसेकेन्ड पानी लैजाने योजना छ । त्यो बेला कालीगण्डकीमा ५० घनमिटर प्रतिसेकेण्ड मात्र पानी बग्यो भने २० घनमिटर छोडेर ३० घनमिटर प्रतिसेकेन्ड तिनाउ लैजाने हो । जुनसुकै समयमा पनि २० घनमिटर प्रतिसेकेन्ड पानी नदीमा छाडिन्छ ।

हाम्रा खेतीयोग्य जमीन सुक्खा रहिरहने, सम्भाव्य परियोजना नबनाउने अनि पानी बगेर गइरहने अवस्था रहनु हुँदैन ।

वर्षात्मा कालीगण्डकीमा औसत ३ हजार ३१८ घनमिटर प्रतिसेकेन्ड पानी बग्छ । त्यो बेला पनि तिनाउ लैजाने भनेको ८२ घनमिटर प्रतिसेकेन्ड मात्र हो ।
पाँच घनमिटर प्रतिसेकेन्डका दरले अरू खोलाहरूको पानी मिसिने हुनाले जस्तोसुकै सुक्खा मौसममा पनि कालीगण्डकीको बहाव २५ घनमिटर प्रतिसेकेन्ड हुन्छ नै । त्यो भनेको न्यूनतम २५ हजार लिटर प्रतिसेकेण्ड हो ।

त्यसैले, अहिले चिन्ता जनाइए जस्तो हिउँदमा सिंचाइ प्रभावित हुँदैन, खानेपानीको पनि अभाव हुँदैन । त्यो हुन नदिन हामी निकै सचेत छौं । फेरि, हामी पनि कालीगण्डकी सभ्यताप्रति गौरव गर्नेहरूमध्येकै हौं ।

जहाँसम्म देवघाटको चिन्ता छ, त्यो पनि चिन्ताको विषय हैन । त्यहाँ हिउँदमा त्रिशूली र कालीगण्डकीबाट आउने पानीको न्यूनतम बहाव ३२० घनमिटर प्रतिसेकेन्ड छ । हामीले यो परियोजना बनाउँदासम्म ऊर्जा मन्त्रालयले बूढीगण्डकी जलाशययुक्त परियोजना बनाउने सम्भावना पनि छ । त्यसबाट पनि बहाव वृद्धिमा सहयोग पुग्छ ।

देवघाटमा बूढीगण्डकी, सेती, मस्र्याङ्दी लगायतको पनि पानी आउँछ । वर्षामा त चितवन र नवलपरासीमा बाढीकै समस्या पर्ने गरी पानी आउने गरेको छ । त्यसैले, कालीगण्डकी–तिनाउ डाइभर्सनले देवघाट धार्मिक क्षेत्रमा अहिले भन्ने गरिए जस्तो असर गर्दैन ।

जलचरहरू मर्छन् भन्ने चिन्ता पनि गर्नुपर्दैन । किनभने, न्यूनतम जल बहावको ग्यारेन्टी नै छ । हिउँदमा तिनाउ जाने पानीको मात्रा ठूलो जस्तो सुनिए पनि बर्खामा कालीगण्डकीमा बग्ने पानीको मात्रा अनुसार त्यो अत्यन्त न्यून हो ।

डाइभर्सनले सतह र लिफ्ट सिंचाइ परियोजनाहरूलाई पनि प्रभावित पार्दैन । नदी सुकिहाल्ने भयो भनेर जुन चिन्ता गरिंदैछ, यो जरूरी छैन । हामी त्यस्तो अवस्था आउन नदिन सचेत नै छौं ।

बहस गर्दै आयोजना अगाडि बढाउँ

कालीगण्डकी–तिनाउ डाइभर्सन निकै सम्भाव्य र राम्रो परियोजना हो । यसलाई अगाडि नबढाए भावी पुस्ताले हामीलाई धिक्कार्नेछ । हाम्रा खेतीयोग्य जमीन सुक्खा रहिरहने, सम्भाव्य परियोजना नबनाउने अनि दक्षिणतिर पानी बगेर गइरहने अवस्था रहनुहुँदैन ।

गण्डकमा गण्डक सम्झौता अनुसार भारतले बनाएको बाँध छ । त्यहाँबाट हाम्रोतर्फ ल्याइएका साना नहरहरू हिउँदमा सुक्खै रहन्छन् । कोशी, कमला, राप्ती, कर्णाली, महाकाली सबै नदीमा हाम्रो आफ्नै बाँध छैन । ती नदी हाम्रो आफ्नो भए पनि हाम्रा लागि उपयोगी भएका छैनन् । यो कारणले पनि डाइभर्सन परियोजनाहरू हाम्रा लागि आवश्यक छन् ।

हामीले तुलनात्मक लाभ हेरेर यस्ता परियोजना बनाउनैपर्छ । नेपाली कृषिको सम्भावना विस्तार र कृषकलाई व्यावसायिक खेतीमा उत्प्रेरित गर्न पनि विशाल तर सुक्खा ठाउँहरूमा सिंचाइ पुर्‍याउनुपर्छ । फेरि, एउटा ठाउँमा पानी पुर्‍याउन अर्कोलाई सुक्खा बनाउने भन्ने पनि हुँदैन । हामी कालीगण्डकीको सभ्यतालाई असर नपारी रूपन्देही र कपिलवस्तुका खेतीयोग्य जमीनलाई सिञ्चित गर्ने गरी अघि बढेका हौं ।

यस्तो परियोजना सम्पन्न गर्न वर्षौं लाग्छ । समयमै यस्ता परियोजना अघि बढाउन सकिएन भने सम्भावनाहरू पनि गुम्छन् । त्यसैले, वर्षौं लगाएर गरिएको अध्ययनका आधारमा हामी कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउन चाहन्छौं ।

जनताले उठाएका उचित सवालहरूले एउटा प्रक्रिया लिन्छ । त्यसमा रचनात्मक बहस–छलफल भएपछि निष्कर्ष निस्कन्छ । एउटा निष्कर्षमा पुगिसकेपछि त्यसलाई सम्बोधन नगर्ने कुरै आउँदैन ।

(रवीन्द्र घिमिरेसँगको कुराकानीमा आधारित)



source https://www.onlinekhabar.com/2021/07/976748

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् । अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

जिप गएराति सवा आठ बजेतिर सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए ।

सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो । कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो ।

दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए ।



source https://www.onlinekhabar.com/2021/07/976940

पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध

१७ असार, तनहुँ । अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करीब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका-१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि आज बिहानै ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए । उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर-१ गुरदुम र बन्दिपुर-४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बन्दिपुर-४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । उनका अनुसार पहिरोले बन्दिपुर-३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/07/976935

दुई महीनापछि आजदेखि आन्तरिक उडान नियमित हुँदै

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।

बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।

हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।

यो पनि पढ्नुहोस काठमाडौंबाट दिनमा ६४ आन्तरिक उडान, कुन गन्तव्यमा कति ?

source https://www.onlinekhabar.com/2021/07/976930

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध   

१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको  क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।



source https://www.onlinekhabar.com/2021/07/976927

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।

मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।

धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ । यी क्षेत्रमा भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।



source https://www.onlinekhabar.com/2021/07/976925

ला लिगाको खेल तालिका सार्वजनिक, पहिलो एल क्लासीको खेल अक्टोबरमा

काठमाडौं । स्पानिस ला लिगा २०२१/२२ को सिजनको खेलतालिका सार्वजनिक भएको छ । ला लिगाले बुधबार नयाँ सिजनको लागि तालिका सार्वजनिक गरेको हो ।

आगामी अगष्ट १५ देखि शुरु हुने लिगमा रियल मड्रिड र बार्सिलोनाबीचको चर्चित एल क्लासीको खेल अक्टोबर र अर्को वर्ष मार्चमा हुने भएको छ ।

यस्तै नयाँ सिजनको पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन् । जहाँ च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै उपाधि रक्षा अभियानको सुरुआत गर्नेछ ।

यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ भने बार्सिलोनाले रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ  ।

ला लिगामा सिजनको पहिलो एल क्लासीको भिडन्त अक्टोबर २४ मा बार्सिलोनाको मैदान क्याम्प नोउमा हुनेछ ।

यस्तै रिटरन लेगको खेलमा २०२२ मार्च २० मा रियलको मैदानमा सान्टियागो बर्नाबेउमा हुनेछ ।

यस्तै रियल र एट्लेटिकोबीचको मड्रिड डर्बी खेल डिसेम्बर १२ मा रियलको मैदानमा हुनेछ । अर्को मड्रिड डर्बी मे ८ मा एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा हुनेछ ।

 



source https://www.onlinekhabar.com/2021/07/976922

Tuesday 29 June 2021

एप प्रयोगकर्ताले ६ महिनामै गरे ६५ अर्ब डलर खर्च, यी हुन् सर्वाधिक कमाउने एप

चालू वर्ष सन् २०२१ को पहिलो ६ महिनामै विश्वका मोबाइल फोन प्रयोगकर्ताले मोबाइल एपमा झण्डै ६५ अर्ब डलर खर्च गरेका छन् ।

सेन्सर टावरले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु वर्षको पहिलो अर्धवार्षिकमा एप्पलको एप स्टोर र गुगल प्लेस्टोरमा प्रयोगकर्ताले गरेको खर्च ६४ अर्ब ९० करोड डलर पुगेको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा २४.८ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२० को पहिलो अर्धवार्षिकमा गुगल र एप्पलको एप स्टोरमा गरी प्रयोगकर्ताले ५२ अर्ब डलर खर्च गरेका थिए । त्यस्तै सन् २०१९ को पहिलो अर्धवार्षिकमा त्यस्तो खर्च साढे ४० अर्ब थियो ।

यस्तो छ विश्वव्यापी मोबाइल एपको आम्दानी र डाउनलोडको तथ्यांक

विश्वमा सर्वाधिक धेरै प्रयोगकर्ता भएको मोबाइल अपरेटिङ सिस्टम गुगलको एन्ड्रोइड हो । दोश्रो नम्बरमा आउने एप्पलको आईओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ताको संख्या अत्यधिक छ । तर जब प्रयोगकर्ताले एप्पल र गुगलको एप स्टोरहरुमा गर्ने खर्चको सन्दर्भ आउँदछ, तब त्यस मामिलामा एप्पल निकै अगाडि देखिएको छ ।

सेन्सर टावरले पछिल्लोपटक सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२१ को जनवरीदेखि जुन सम्मको अवधिमा एप्पलको एप स्टोरमा प्रयोगकर्ताले साढे ४१ अर्ब डलर खर्च गरेका छन् । उक्त रकम इन एप पर्चेज, सब्सक्रिप्सन तथा प्रिमियम एप र गेम्सबाट एप्पलले प्राप्त गरेको आम्दानी हो ।

यस अवधिमा एप्पलको एप स्टोरमा प्रयोगकर्ताले गरेको खर्च गुगल प्ले स्टोरको भन्दा १.८ प्रतिशतले बढी छ । चालु वर्षको पहिलो अर्धवार्षिकमा गुगल प्ले स्टोरमा प्रयोगकर्ताले २३ अर्ब ४० करोड डलर खर्च गरे ।

तथापि एपबाट भएको आम्दानीको वृद्धिदरमा भने एप्पलभन्दा गुगल अगाडि छ । सन् २०२१ को पहिलो अर्धवार्षिकमा एप स्टोरबाट एप्पलले गरेको आम्दानी सन् २०२० को पहिलो अर्धवार्षिकमा भन्दा २२.१ प्रतिशतले बढी छ ।

सन् २०२० को पहिलो अर्धवार्षिकमा एप स्टोरमा प्रयोगकर्ताले ३४ अर्ब डलर मात्र खर्च गरेका थिए । जबकि सन् २०१९ को पहिलो अर्धवार्षिकको तुलनामा सन् २०२० को पहिलो त्रैमासिकमा एप स्टोरमा भएको खर्च २९.३ प्रतिशतले बढी थियो ।

उता सन् २०२१ को पहिलो अर्धवार्षिकमा गुग प्ले स्टोरले गरेको आम्दानी सन् २०२० को पहिलो अर्धवार्षिकको भन्दा ३० प्रतिशतले बढी हो ।
सन् २०२० को पहिलो अर्धवार्षिकमा गुगल प्ले स्टोरको आम्दानी १८ अर्ब डलर थियो । त्यस्तै सन् २०१९ को तुलनामा सन् २०२० को पहिलो अर्धवार्षिकमा गुगल प्ले स्टोरको आम्दानी २६.८ प्रतिशत बढी थियो ।

चालु वर्ष २०२१ को पहिलो अर्धवार्षिकमा एप्पल तथा गुगलका एप स्टोरहरुमा सर्वाधिक धेरै आम्दानी गर्न सफल नन गेमिङ एप टिकटक बनेको छ । टिकटक गत वर्ष पनि सबैभन्दा धेरै कमाउने एपको रुपमा रहेको थियो ।

प्रयोगकर्ताहरुले यो वर्षको पहिलो त्रैमासिकमा टिकटकमा मात्रै ९२ करोड डलरभन्दा धेरै खर्च गरेका छन् जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढि हो ।

नन गेमिङ एपमा सर्वाधिक आम्दानी गर्ने एपको सूचीमा दोश्रो स्थानमा युट्युब रहेको छ । प्रयोगकर्ताले पछिल्लो ६ महिनामा युट्युब एपमा ५६ करोड ४७ लाख डलर खर्च गरेका छन् ।

त्यस्तै तेश्रो स्थानमा ५२ करोड ३ लाख डलर आम्दानीसहित टिन्डर तेश्रो स्थानमा छ भने जापानी कमिक रिडर एप पिक्कोमा र डिज्नीको स्ट्रिमिङ प्लाटर्फम डिज्नी प्लस क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

रिपोर्ट अनुसार सन् २०२१ को पहिलो अर्धवार्षिकमा एप स्टोरहरुबाट एपको डाउनलोडमा पनि वृद्धि भएको छ । यस अवधिमा एप स्टोर र गुगल प्ले स्टोरबाट कूल ७२ अर्ब ५० करोड पटक एप डाउनलोड भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले बढी हो । जबकि गत वर्ष सन् २०२० को पहिलो अर्धवार्षिकमा त्यसको अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशत बढी पटक एप डाउनलोड भएको थियो ।

यस वर्षको पहिलो ६ महिनामा एप्पलको एप स्टोरबाट डाउनलोड हुने एपको संख्यामा भने गतवर्ष भन्दा गिरावट आएको छ । गत वर्षको पहिलो अर्धवार्षिकमा एप स्टोरबाट १८ अर्ब ३० करोड पटक एप डाउनलोड भएकोमा यो अर्धवार्षिकमा १६ अर्ब ३० करोड पटक मात्र डाउनलोड भयो । यस अवधिमा गुगल प्ले स्टोरबाट हुने एपको डाउनलोडमा भने ६ प्रतिशतले वृद्धि भएर ५६ अर्ब २० करोड पटक पुगेको छ ।

यी हुन् एप स्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सबैभन्दा डाउनलोड हुने एपहरु

· टिकटक
· फेसबुक
· इन्स्टाग्राम
· ह्वाट्सएप
· टेलिग्राम
· मेसेन्जर
· जूम
· स्न्यापच्याट
· क्यापकट
· गुगल मिट

एप्पलको एप स्टोरबाट सर्वाधिक डाउनलोड भएका एपहरु

· टिकटक
· युट्युब
· इन्स्टाग्राम
· ह्वाट्सएप
· जूम
· फेसबुक
· मेसेन्जर
· क्यापकट
· गुगल म्याप्स
· जिमेल

गुगल प्ले स्टोरबाट सर्वाधिक डाउनलोड भएका एप

· फेसबुक
· टिकटक
· इन्स्टाग्राम
· ह्वाट्सएप
· टेलिग्राम
· मेसेन्जर
· स्न्यापच्याट
· जूम
· गुगल मिट
· एम एक्स टाकाटक

सबैभन्दा धेरै कमाउने एपको सूची

एपस्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सर्वाधिक कमाउने एपहरु यी हुन्ः

· टिकटक
· युट्युब
· टिन्डर
· पिक्कोमा
· डिज्नी प्लस
· टेन्सेन्ट भिडियो
· गुगल वन
· आइक्विइ
· लाइन म्यांगा
· टि्वच

एप स्टोरमा सर्वाधिक आम्दानी गर्ने एपहरुः

· टिकटक
· युट्युब
· टिन्डर
· टेन्सेन्ट भिडियो
· आइक्विइ
· डिज्नी प्लस
· पिक्कोमा
· युकु
· नेटफि्लक्स
· क्यू क्यू म्युजिक

गुगल प्ले स्टोरमा सर्वाधिक कमाउने एपहरु यी हुन्

· गुगल वन
· पिक्कोमा
· डिज्नी प्लस
· टि्वच
· लाइन म्यांगा
· एचबिओ म्याक्स
· टिन्डर
· लाइन
· बिंगो लाइभ
· टिकटक

(सेन्सर टावर डटकमबाट)



source https://www.onlinekhabar.com/2021/06/976475

पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् ।

७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका विभिन्न कार्यक्रमहरु छन्,’ मैनालीले भने ।

संसद विघटन, शैक्षिक र जनजीविकाका विभिन्न मागहरु राख्दै नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (सुदेश पराजुली समूह), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले सोमबार संयुक्त रुपमा विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सो कार्यक्रमअन्तर्गत उनीहरुले मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा ज्ञापन पत्र बुझाएका थिए ।



source https://www.onlinekhabar.com/2021/06/976476

लुम्बिनी प्रदेशमा रोपाइँ : सबैभन्दा धेरै रोल्पामा, कम गुल्मीमा

१६ असार, बुटवल । लुम्बिनी प्रदेशमा धान खेती हुने कूल क्षेत्रफलको ४७.७ प्रतिशत खेतमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख ३४ हजार ३.५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार १४ गतेसम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको हो । गत वर्षको तुलनामा असार १४ गतेसम्म यस वर्ष ३ प्रतिशत बढी रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका बाली विकास अधिकृत दिनबन्धु पौडेलका अनुसार रोल्पामा सबैभन्दा बढी ९० प्रतिशत खेतमा रोपाइँ भएको छ भने गुल्मीमा सबैभन्दा कम ७.७ प्रतिशत खेतमा रोपाइँ भएको छ ।

रुपन्देहीमा ५५ प्रतिशत, बर्दियामा ६३ प्रतिशत, नवलपरासी पश्चिममा ६० प्रतिशत, दाङमा ६० प्रतिशत, कपिलवस्तुमा २४.९ प्रतिशत, रुकुम पुर्वमा ६३ प्रतिशत, प्युठानमा ८० प्रतिशत, बाँकेमा २० प्रतिशत, पाल्पामा ३०.७ प्रतिशत र अर्घाखाँचीमा ५७.८ प्रतिशत धान खेतमा रोपाइँ भइसकेको पौडेलले जानकारी दिए ।

गत वर्ष प्रदेशमा ३ लाख १७ हजार ४४५ हेक्टर अर्थात ९४.८४ प्रतिशत धान खेतमा रोपाइँ भएको र १३ लाख २५ हजार ४ सय ६४.८९ मेट्रिक टन धान उत्पादन भएको अधिकृत पौडेलले बताए ।

लुम्बिनी प्रदेशमा ६ लाख ८६ हजार ७०४ हेक्टर खेतीयोग्य जमिन छ । धान खेती हुने अधिकांश खेतमा सिंचाइ सुविधा रहेको पौडेलले बताए ।

कृषिबाट प्राप्त हुने कूल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशतत रहेको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ । जसमध्ये लुम्बिनी प्रदेश धान उत्पादनमा पहिलो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/06/976429

बर्दघाट, हेटौंडा र रजैया क्षेत्रमा भारी वर्षा, सिन्धुलीमा समेत सतर्कताको सूचना पठाइयो

१६ असार, काठमाडौं । नवलपरासीको बर्दघाट तथा मकवानपुरका हेटौंडा र रजैया क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्कताको सूचना प्रवाह गरिएको जानकारी दिए । ‘सिन्धुलीमा समेत असर गर्न सक्ने देखिएपछि हामीले एसएमएस पठाएर सतर्क रहन भनेका छौं,’ श्रेष्ठले भने ।

मौसम विज्ञान विभागका अनुसार पूर्वी राप्ती जलाधार क्षेत्रको रजैया केद्रमा २४ घण्टाको अवधिमा २१५ मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड छ । यो अति भारी वर्षा मापन हो ।

यसैगरी नारायणी जलाधार क्षेत्रको बर्दघाटमा गत २४ घण्टाको अवधिमा १७७ र हेटौंडामा १२१ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

यो वर्षाले सिन्धुलीमा समेत जोखिम निम्ताउन सक्ने मौसमविदको अनुमान छ । हाल सिन्धुली जिल्लास्थित कमला नदी र रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेको विभागले जनाएको छ । त्यसैले पूर्वी राप्ती जलाधार क्षेत्र तथा कमला र रानीबासका डुबान भइरहने क्षेत्रहरुमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

यो पनि पढ्नुहोस आगामी तीन दिन भारी वर्षाको सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने

source https://www.onlinekhabar.com/2021/06/976467

सिरहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१६ असार, लहान । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/06/976462

गुल्मीमा २२ गतेसम्म थपियो निषेधाज्ञा

१६ असार, गुल्मी । गुल्मीमा यही असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । केही परिमार्जनसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पुन: कोरोना संक्रमण वृद्धि हुन थालेपछि निषेधाज्ञा थप कडा गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ८ घण्टा खोलिँदै आएकोमा घटाएर अब ७ घण्टा मात्रै खोल्न दिइने भएको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि १ बजेसम्म खुलाउन पाइने भएको भएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनीहरु दिउँसो ३ बजेसम्म सन्चालन गर्न पाउने भएका छन् ।

तोकिएको समयमा खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था, फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल पनि खोल्न पाइने छ ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफूल, दूध, पानी, औषधि,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पनि पूर्ण रुपमा रोक लगाइएको छ ।



source https://www.onlinekhabar.com/2021/06/976463

डाइभर्सन बगेपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

१६ असार, काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो ।

डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग केहीबेर अगाडि खुलेको छ । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय थर्पुका अनुसार पहिरो पन्छाएर फसेको गाडीसमेत निकालेपछि सडक खुलेको छ ।

यसैगरी पोखरा-बागलुङ सडकखण्ड अन्तर्गत पर्वतको कुश्मा-१ सहर्षधारामा मंगलबार बिहान २ बजे खसेको पहिरो पन्छाएपछि बिहान ६ बजेदेखि सडक खुलेको छ ।

यो पनि पढ्नुहोस राजमार्गको यात्रा : भोकको महाभारत र निदाएको प्रशासन

source https://www.onlinekhabar.com/2021/06/976455

बारामा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

१६ असार, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका- ७ शान्तिचोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय राजन श्रेष्ठ छन् ।

वीरगञ्जबाट सिमरा आउँदै गरेको बा०३००१ ख ११२७ नम्बरको ट्रकले श्रेठलाई मंगलबार राति करिब ९ बजेतिर ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/06/976452

सामाजिक सुरक्षा योजनाका सन्दर्भमा उठेका सवाल र वास्तविकता

सामाजिक सुरक्षा कोषमा आवद्धता अहिलेको एउटा जल्दोबल्दो विषय भएको छ । कोही यसको पक्षमा त कोही विपक्षमा तर्क गरिरहेका छन् । समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा एउटा महत्वपूर्ण खम्बाको रूपमा विश्वमा नै स्थापित विषयवस्तु हो । आयआर्जनमा सहभागी हुनेले योगदान गरी सामाजिक बीमा मार्फत र योगदान गर्न असमर्थले सामाजिक सहयोग मार्फत सुरक्षित वर्तमान र भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने मान्यतामा आधारित अवधारणा हो, सामाजिक सुरक्षा । नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा २०७६ साउनदेखि कार्यान्वयनमा आएको हो । सामाजिक सुरक्षा कोष हाल राष्ट्रिय बहसको विषय बनेको छ । यस किसिमका बहसले सकारात्मक र यथार्थ विषयको उजागर गर्ने र सुधार गर्नुपर्ने विषय समेत औंल्याइदिने हुँदा सबै कोणबाट शुरू भएको बहसलाई सकारात्मक नै मान्नुपर्छ ।

अहिले नेपालको आकर्षक जागीरको रूपमा लिइएको र ‘बेस्ट अफ बेस्ट ब्रेन’ कार्यरत क्षेत्रको रूपमा परिचित बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी संगठनहरूले यसमा कैफियत रहेको भनेपछि अझ यो झन् छलफलको विषय हुने नै भयो । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने, अझ जनताको अर्बौं रकमको सुरक्षा गरिरहेका कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा जान नचाहेको भनेपछि त यो कोषको बारेमा चासो बढ्नु स्वाभाविक भइहाल्यो । सामाजिक सुरक्षा कोषको विषयमा चर्चा हुँदा कोष आफैंलाई पनि सुधार गर्न सहयोग पुगेको छ र आम श्रमिकमाझमा सुधार सहित पुग्ने अवसर समेत प्राप्त भएको छ ।

अब यति भइसकेपछि अहिले उठेका (विशेषतः बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनहरूले उठान गरेको विज्ञप्तिको १५ बुँदा) विषयका बारेमा यथार्थ के हो भनेर प्रकाश पार्नु आवश्यक देखियो । उल्लिखित विज्ञप्तिमा कतिपय विषयका बारेमा गलत बुझाइ रहेको, कतिपय टि्वस्ट गरिएको र थप कतिपय निरन्तर सुधारमा रहेको विषयलाई समेत अहिले नै किन भएन भनेर प्रश्न उठेको छ । उद्देश्य जे जस्तो भए पनि यस प्रकारको प्रश्न तथा जिज्ञासाहरूले सामाजिक सुरक्षा कोषलाई अझ विश्वासिलो बनाउन सहयोग नै पुग्नेछ ।

अब हेरौं यूनियनबाट सार्वजनिक गरिएका १५ बुँदाको विस्तृत वास्तविकता :

१. संवैधानिक हक सशर्त र निःशर्त गरी दुई किसिमका हुन्छन् । मौलिक हकमा भएका अधिकारलाई कानून तर्जुमा गरेर कार्यान्वयन गर्ने हो । श्रम ऐनको दफा ५२ र ५३ ले प्रदान गरेको संचय कोष र उपदान वापतको सम्पत्ति सशर्त रूपमा प्राप्त सम्पत्ति हो । किनकि सोही ऐनको दफा ५२ र ५३ को उपदफा २ र दफा ५७ ले सामाजिक सुरक्षा कोषमा नै जम्मा गर्नुपर्ने र यस किसिमको योगदानबाट सामाजिक सुरक्षा कोषले संचालन गरेका योजना बमोजिम सुविधा प्राप्त हुने व्यवस्था गरेको छ । ऐनले नै अनिवार्य गरेको विषय भएको र श्रम ऐनको दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले खाईपाई आएको घटाउन नमिल्ने भनिसकेको सन्दर्भमा कोषबाट प्रदान गर्ने भन्दा बढी सुविधा प्रदान गरिरहेका रोजगारदाताले बढी सुविधा नघट्ने गरी आवश्यक व्यवस्था गर्नुपर्ने देखिन्छ । कानूनतः त्यस किसिमका सुविधा घटाउन पाइने छैन । तसर्थ कोष सम्बद्ध ऐन, नियम र कार्यविधि श्रमिकमैत्री नै रहेका छन् । यसले हाल कार्यरत श्रमिकको सेवा-सुविधामा कुनै पनि प्रतिकूल असर पार्ने देखिंदैन ।

यदि कुनै कानून संविधानको मर्म विपरीत भएमा यसको व्याख्या गर्ने अधिकार सम्मानित अदालतको हो । यसै विषयलाई टेकेर एक वर्ष अगाडि नै सर्वोच्च अदालतमा रिट परिसकेको छ । ‘प्राइमाफेसी’ व्यवस्था संविधानको विरुद्ध नदेखिएको हुनाले सर्वोच्च अदालतले यो मुद्दामा अन्तरिम आदेश अस्वीकार गरिसकेको छ । त्यसैले अदालतमा विचाराधीन रहेको विषयमा सार्वजनिक रूपमा बहस पनि वाञ्छनीय नहोला कि ?

२. खाईपाई आएको सुविधा नघट्ने सम्बन्धमा श्रम ऐन २०७४ को दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले नै प्रत्याभूत गरेको र उपदानको हकमा श्रम ऐनमा व्यवस्था गरे भन्दा बढी उपदान दिइराखेका संस्थाहरूले थप उपदान श्रमिकले नै पाउने गरी ‘आवश्यक व्यवस्था’ गर्नुपर्ने गरी श्रम नियमावली २०७५ को नियम २३ को उपनियम ४ ले समेत स्पष्ट गरेको हुँदा अन्य ऐनहरूले प्रत्याभूत गरिरहनु परेन । श्रम ऐनको दफा ३ अनुसार श्रम ऐन श्रमिकसँग सम्बन्धित विषयको न्यूनतम मापदण्ड हो । अन्य कुनै कानूनले योभन्दा कम हुने गरी व्यवस्था गरेमा स्वतः श्रम ऐनको विपरीत भएको मानिने व्यवस्था छ ।

माथि उल्लिखित ‘आवश्यक व्यवस्था’ भन्नाले मानौं, यदि कुनै श्रमिकलाई उसको रोजगारदाताले पहिलादेखि तीन महीना बराबरको वाषिर्क उपदान बापतको रकम छुट्याउँदै आएको रहेछ । अब सामाजिक सुरक्षा कोषमा योगदान शुरू गरे पछाडि श्रम ऐनको दफा ५३ बमोजिम एक महीना बराबरको उपदान रकम कोषमा अनिवार्य जम्मा गर्नुपर्दछ भने बाँकी दुई महीना बराबरको रकम पनि १) रोजगारदाताले ‘प्रोभिजन’ गरेर आफैं राख्नुपर्दछ वा २) अन्य अवकाश कोषमा पठाउनुपर्दछ वा ३) सामाजिक सुरक्षा कोषमा पठाउनुपर्दछ । खाईपाई आएको तलब, सुविधा नदिनु भनेको रोजगारदाताको हकमा कानूनी अनुपालना नगरेको अवस्था हो । यसको विरुद्धमा सम्बन्धित श्रमिकले श्रम अदालतमा मुद्दा हाली आˆनो सुविधा दाबी गर्न सक्दछ तसर्थ सामाजिक सुरक्षा कोषमा आबद्धताको कारणबाट कुनै पनि श्रमिकको खाईपाई आएको सुविधा कटौती हुँदैन र हुनु पनि हुँदैन ।

३. सामूहिक सौदावाजीको अधिकार नेपालको सम्बन्धमा श्रम ऐन २०७४ को दफा ११६ ले प्रत्याभूत गरेको हो । ऐनको जुन दफाले अधिकार प्रत्याभूत गरेको हो सोही ऐनको सोही दफाको उपदफा ३ मा आˆनो प्रतिष्ठानसँग असम्बन्धित विषय लगायत सामूहिक सौदावाजी गर्न नमिल्ने ६ वटा विषयहरू स्पष्ट गरिएको छ । उपदफा ३ को खण्ड (च) मा ‘सामाजिक सुरक्षा योजनाको लागि तोकिएको योगदानको दर तथा सुविधाका सम्बन्धमा सामूहिक सौदावाजी गर्न नमिल्ने’ व्यवस्था गरेको हुँदा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ६४ मा सोही व्यवस्था रहेको हो । कोषको संचालक समितिमै ट्रेड युनियन र रोजगारदाताको समेत प्रतिनिधित्व हुने हुँदा योगदानको दर र सुविधाको सम्बन्धमा प्रतिष्ठानस्तरमा थप सौदावाजी गर्ने विषयका सन्दर्भमा कानूनमा सो व्यवस्था राखिएको हो कि ? योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३० को उपदफा ६ मा योगदानको दर परिवर्तन गर्नुपर्ने भएमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधिको उपस्थितिलाई अनिवार्य गरी बृहत् रूपमा नै यस सन्दर्भमा सामूहिक सौदावाजी हुनसक्ने अवस्थाको सुनिश्चितता गरेको देखिन्छ । यसर्थ जुन ऐनले अधिकार दिएको हो सो अधिकार सशर्त रहेको र यसमा कोषको योगदानको दर र सुविधामा मात्र सामूहिक सौदावाजी गर्न नमिल्ने भएकोले श्रम ऐनका अन्य विषयहरूमा सामूहिक सौदावाजीको अधिकार सुरक्षित रहेको छ ।

४. उपदान र संचय कोष वापतको रकम हस्तान्तरणका सन्दर्भमा श्रम ऐनले ‘तोकिए बमोजिम हस्तान्तरण गर्ने’ भनेको र नियमावलीले ६ महीना र दुई वर्षमा हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरेको सन्दर्भमा सो अवधि समेत गुजि्रसकेको र कोषको कार्यविधिले स्पष्ट विकल्प दिएको हँुदा द्विविधा हुनुपर्ने देखिंदैन । श्रम ऐनको दफा ३ अनुसार श्रम ऐन श्रमिक र श्रमिकसँग सम्बन्धित विषयको न्यूनतम मापदण्ड हो । अन्य कुनै कानूनले योभन्दा कम हुने गरी व्यवस्था गरेमा स्वतः श्रम ऐनको विपरीत भएको मानिने व्यवस्था छ । तर अन्य कुनै व्यवस्था, सम्झौताले श्रम कानूनले प्रत्याभूत गरेको भन्दा धेरै सुविधाको व्यवस्था गरेमा उक्त व्यवस्था श्रम कानूनको विरुद्धमा हुँदैन । यहाँ ऐनभन्दा कम सुविधा हुने गरी व्यवस्था नगरेको हुँदा श्रम ऐनको दफा ३ बमोजिमको न्यूनतम मापदण्ड भन्दा कम सुविधा हुने देखिंदैन ।

करका सम्बन्धमा अन्य अवकाश कोष सरह नै सामाजिक सुरक्षा कोषबाट उपलब्ध हुने सुविधामा कर छुटको प्रावधान छ । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले गरेको योगदान करयोग्य आयको एक तिहाइ वा पाँच लाखमध्ये जुन कम हुन्छ सो हदसम्म आयकर प्रयोजनका लागि घटाउन पाउने व्यवस्था आयकर नियमावली २०५९ को नियम २१ मा व्यवस्था भएको र अवकाशका बखत आयकर ऐनको दफा ८८ र ६५ का आधारमा अवकाश भुक्तानीको ५० प्रतिशत वा पाँच लाखमध्ये जुन बढी हुन्छ सो रकमका कर नलाग्ने र बाँकी रकममा मात्र ५ प्रतिशतले कर लाग्ने भएको हुँदा करका हिसाबले समेत कोषमा जम्मा गर्नेलाई लाभ नै हुने देखिन्छ ।

५. निवृत्तिभरण कोष ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन छुट्टाछुट्टै ऐन रहेको सन्दर्भमा एउटा ऐनमा रहेका प्रावधानहरू अर्को ऐनका प्रावधानसँग तुलना गर्न मिल्दैन । यसरी तुलना गर्दैगर्दा तलब भत्ता, बोनसको व्यवस्था लगायतका अन्य सेवासुविधा समेत तुलना गर्न मिल्छ त ? सरकार पनि एउटा रोजगारदाता रहेको र निजी क्षेत्रमा विभिन्न रोजगारदाताहरू रहेको सन्दर्भमा एक रोजगारदाताले दिएका सुविधा र अर्को रोजगारदाताले दिएका सुविधामा एकरूपता देखिंदैन । अहिले तलबको अवस्थामा हेर्ने हो भने एक बैंक र अर्को बैंकको बीचमा समेत फरक रहेको छ भने सरकारी र निजी क्षेत्रको सेवा-सुविधाको बारेमा तुलना गर्नु कति सान्दर्भिक होला ? के सामाजिक सुरक्षा कोषमा नआउँदै गर्दा चैं यो समान छ त ? अवश्य छैन ।

६. अहिले रोजगारीमा रहनुभएकाहरू पेन्सन लिने गरी रोजगारीमा आउनुभएको होइन । २०७८ असार मसान्तसम्म सूचीकरण गरी योगदान प्रारम्भ गर्ने समय समेत कार्यविधिले प्रदान गरेको सन्दर्भमा हाल रोजगारीमा रहेकाहरूले असार मसान्तभित्र योगदान प्रारम्भ गरी एकमुष्ट रकम भुक्तानी लिने सुविधा उपयोग गर्न सक्ने हुँदा अहिले रोजगार सम्बन्धमा रहनुभएकाहरूका लागि पेन्सनमा जानुपर्ने अनिवार्य व्यवस्था होइन । जुन कुरा कार्यविधिको दफा २० ले समेत स्पष्ट गरेको छ । तसर्थ पेन्सनको सन्दर्भमा अहिले नै चिन्ता लिनै परेन । जागीर छोड्ने वित्तिकै एकमुष्ट नै भुक्तानी लिन पाइन्छ । २०७८ साउनदेखि योगदान प्रारम्भ गर्नेहरूका लागि समेत बीमाङ्कीय मूल्याङ्कन गरी पेन्सन थप आकर्षक, समय सान्दर्भिक र पेन्सनरको मृत्यु भएमा विना शर्त पति-पत्नीले प्राप्त गर्ने व्यवस्थाहरू समयक्रममा स्थापित गर्ने विषयमा कोष प्रतिवद्ध छ ।

७. योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ६२ मा कुनै पनि स्किममा सुविधा उपलब्ध गराउन रकम अपुग भएमा सरकारको दायित्व हुने भन्ने उल्लेख गरेको सन्दर्भमा सरकारले दायित्व लिएर योजना स्थगन गर्ने विषयलाई अन्यथा मान्न जरूरी नै छैन । जहाँ सरकारको दायित्व हुन्छ त्यहाँ ऐनमा यस किसिमका व्यवस्था रहने गरेका छन् । उदाहरणको लागि संचय कोष ऐन २०१९ को दफा २७ मा पनि सरकारले दायित्व लिएर कोष विघटन गर्न सक्ने व्यवस्था छ । यसलाई अन्यथा नमान्ने हो भने एउटा सन्दर्भ यहाँ चर्चा गर्नु उपयुक्त ठानेको छु, जस्तो बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को (जस अन्तर्गत बैंक तथा वित्तीय संस्था दर्ता र संचालन रहेका छन्) परिच्छेद ११ मा बैंक वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी र परिच्छेद १२ मा बाध्यात्मक खारेजीको व्यवस्था रहेको छ । अब के मानौं ? निक्षेपकर्ताहरूको पैसा डुब्यो त ? भोलि नै बैंक बन्द हुने हुन् त ? सबै ग्राहकले रकम झिक्नुपर्ने हो त ? पक्का पनि त्यसो होइन होला । तसर्थ भविष्यको काल्पनिक अवस्थालाई आकलन गरेर राखिने यस्ता कानूनी प्रावधानप्रति अनावश्यक शंका नगर्दा राम्रो होला ।

८. श्रम ऐनको दफा १४८ मा भएको व्यवस्था अनुसार खराब आचरणको कारणले वा अन्य जुनसुकै तरिकाबाट पनि रोजगार अन्त्य हुँदा श्रमिकले पाउनुपर्ने पारिश्रमिक, सुविधालगायत सम्पूर्ण रकम रोजगारी अन्त्य भएको पन्” दिनभित्र रोजगारदाताले श्रमिकलाई भुक्तान गर्नुपर्नेछ । साथै सोही दफाको उपदफा (२) अनुसार सामाजिक सुरक्षा कोषमा भएको रकम वा सुविधा उपलब्ध गराउन आवश्यक सहयोग गर्नुपर्दछ । यदि ऐनको व्यवस्था अनुसार पारिश्रमिक भुक्तान नगरेमा वा सहयोग नगरेमा सेवामा बहाल रहे सरह पारिश्रमिक भुक्तान गर्नुपर्दछ । यसरी ऐनमा सुनिश्चित भएको विषयमा प्रश्न उठान हुनु त्यति सान्दर्भिक देखिएन ।

९. ऐनमा सैद्धान्तिक विषयहरू रहने हो । ऐनको दफा १० मा कुन कुन क्षेत्रमा सामाजिक सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने उल्लेख भएको र दफा ७० मा कार्यविधि बनाउने अधिकार संचालक समितिको सिफारिशमा मन्त्रालयमा रहेको सन्दर्भमा ऐनकै प्रावधान अन्तर्गत बनेको कार्यविधि हुँदा कार्यविधि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कै अंग हो । अहिले सञ्चालनमा रहेका अन्य अवकाश कोषहरूबाट दिने सुविधाहरू पनि ऐनमा नभई कार्यविधिमा नै हुने गरेको छ । एकातिर कार्यविधि संशोधन गर्नुपर्छ भन्ने र अर्कोतिर ऐनमा नै व्यवस्था हुनुपर्छ भन्ने विषय चैं आफैंमा विरोधाभासपूर्ण भयो कि ? त्रिपक्षीय मोडलमा रहेको कोषको सञ्चालक समितिमा ट्रेड युनियन, रोजगारदाता र सरकारको प्रतिनिधि रहने व्यवस्था छ ।

कार्यविधि संशोधनका लागि सञ्चालक समितिले सिफारिश गरी मन्त्रालयले निर्णय गर्ने हो । यस प्रक्रियाको अर्थ कार्यविधिमा कुनै पनि संशोधनको निर्णय गर्दा राज्यले आˆनो अनुकूल मात्र गर्न नसक्ने र निर्णय प्रक्रियामा नै श्रमिक र रोजगारदाताको समेत संलग्नता रहने देखिन्छ । तसर्थ यो श्रमिकको पक्षमा निर्णय होस् भनी गरिएको ‘चेक एण्ड ब्यालेन्स’ को व्यवस्था हो । अप्रत्यक्ष रूपमा हेर्दा श्रमिकले आˆनो कानून आफैं बनाउने व्यवस्था हो र सामूहिक सौदावाजीलाई अप्रत्यक्ष रूपमा अवलम्बन गरेको व्यवस्था पनि हो । यसमा प्रश्न गर्नु भनेको श्रमिकले आफैंमाथि प्रश्न गर्नु सरह होइन र ?

६० वर्षको उमेरमा निर्धारण भएको पेन्सन रकम सधैं एउटै हुने होइन । कार्यविधिको दफा २४ खले मुद्रास्फीति समायोजन गरी पेन्सन रकम बढ्दै जाने कुरा ग्यारेन्टी गरेको छ । फेरि अबको १५ वर्षपछि पनि बजारको ब्याज यही हुन्छ भन्ने ग्यारेन्टी पनि हुन्न

१०. २०७८ असार मसान्तभित्र योगदान प्रारम्भ गर्ने हाल रोजगारीमा हुनेहरूका लागि निजले चाहेमा अवकाश सुविधा र निवृत्तिभरण सुविधा बापतको रकम नै प्रतिफलसहित अवकाशकै बेला नै भुक्तानी पाउने व्यवस्था रहेको हुँदा चिन्ता गर्नुपरेन । २०७८ असार मसान्तपछि योगदान प्रारम्भ गर्नेहरूका हकमा श्रम ऐनको दफा ५७ मा नै सामाजिक सुरक्षा योजना बमोजिम हुने भनेकोले आवश्यकता र औचित्यताको साथै सामाजिक सुरक्षाको आधारभूत सिद्धान्त समेतको प्रतिकूल नहुने गरी कोषले व्यवस्था गर्न सक्ने नै छ । साथै बीमाङ्कीय मूल्याङ्कन गरी पेन्सनलाई थप आकर्षक, समय सान्दर्भिक बनाउने विषयमा कोष पूर्ण रूपमा प्रतिबद्ध छ ।

आयकरको सन्दर्भमा श्रम ऐन र आयकर ऐन अनुसार अहिलेका प्रचलित अन्य अवकाश कोष र सामाजिक सुरक्षा कोषमा केही भिन्नता रहेको छैन । बरु सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकमका हकमा अतिरिक्त दुई लाखसम्म करयोग्य आयमा घटाउन पाउने व्यवस्था आयकर नियमावली, २०५९ को नियम २१ मा रहेको छ । जहाँसम्म पूर्णरूपमा कर छूट हुनुपर्ने माग छ यो सामाजिक सुरक्षा कोषको क्षेत्राधिकार भित्रको व्यवस्था होइन । यद्यपि कोष र आन्तरिक राजस्व विभाग यस विषयमा छलफलमा रहेको छ ।

११. यस्तै किसिमका अन्य अवकाश कोषबाट समेत विशेष सापटी ८० प्रतिशत नै निश्चित समयपछि लिन सकिने व्यवस्था रहेको छ । कोषमा जम्मा भएको सबै रकम कर्जा वापत निकाल्दा भविष्यमा श्रमिकको न्यूनतम सुरक्षणका लागि आवश्यक रकम थोरै हुन गई सामाजिक सुरक्षाको मर्ममा नै प्रहार हुन आउने अवस्था रहने सम्भावनालाई समेत मध्यनजर गरिएको छ । साथै योगदानकर्ताको योगदान रकमको सुरक्षा गर्नुका अतिरिक्त असुलीको हिसाबले समेत सावाँ र ब्याज उठ्ने र सुरक्षण सुनिश्चित गर्ने कोषको दायित्व समेत हो ।

लगानीका सन्दर्भमा थप अनुभव बटुल्दै योगदानकर्तामैत्री ढंगले योगदानकर्ताको रकमको सुरक्षा प्रदान गर्ने गरी थप सुविधा विस्तार गर्ने सन्दर्भमा कोष सकारात्मक नै छ । तर पनि हामीले सामाजिक सुरक्षालाई सामान्य लगानीको रूपमा बुझ्नु भनेको संविधानले परिकल्पना गरेको सामाजिक सुरक्षाको व्यवस्थाभन्दा बाहिर जानु हो ।

१२. ६० वर्षको उमेरमा निर्धारण भएको पेन्सन रकम सधैं एउटै हुने होइन । कार्यविधिको दफा २४ खले मुद्रास्फीति समायोजन गरी पेन्सन रकम बढ्दै जाने कुरा ग्यारेन्टी गरेको छ । फेरि अबको १५ वर्षपछि पनि बजारको ब्याज यही हुन्छ भन्ने ग्यारेन्टी पनि हुन्न । देशको विकाससँगै बजार ब्याजदर न्यून हुँदै जाने हो । तसर्थ ब्याज मात्र आउने सावाँ फिर्ता नहुने भन्ने विषय यथार्थ होइन । तर पनि वर्तमानमा रोजगारीमा रहनुभएकाहरूका लागि पेन्सन अनिवार्य नभएको हुँदा धेरै चिन्ता लिनुपर्ने विषय नै होइन तर आगामी पुस्ताका लागि भने पेन्सनलाई थप योगदानकर्तामैत्री बनाउने सम्भावना छँदैछ ।

१३. सामाजिक सुरक्षा कोषले बिरामी पर्दा औषधि उपचार, दुर्घटना हँुदा सम्पूर्ण उपचार, अशक्त हुँदा जीवनभर पेन्सन, मृत्यु हुँदा आश्रतिलाई पेन्सन र बच्चालाई अध्ययन खर्च र बुढेसकालमा आजीवन पेन्सन दिने हो । हाल कायम रहेको सुविधामा घटाउन नपाउने गरी कानूनी व्यवस्था गरेर मात्र कोष कार्यान्वयनमा आएको हो ।

विदेशमा भएका सामाजिक सुरक्षाका व्यवस्थालाई राम्रो भन्नेहरू नै नेपालमा सोही किसिमका व्यवस्थाको लागि प्रयत्न गर्दै गर्दा अवधारणागत विषयमा नै प्रहार हुने गरी विरोधमा उत्रनु र कोषका सन्दर्भमा भ्रमहरू छर्नु प्रबुद्ध व्यक्तित्वका लागि त्यति शोभनीय विषय होइन कि ? त्यसैले कोषलाई हाउगुजी बनाएर तर्साउनु र तर्सिनु उपयुक्त भएन । कोषको अन्तर्निहित उद्देश्य भनेकै विदेशी राष्ट्रको जस्तै सामाजिक सुरक्षाको प्रत्याभूति गराउनका लागि गरिएको शुरुआत हो । सामाजिक सुरक्षा प्रगतिशील अवधारणा हो र यसले सर्वकालिक सामाजिक सुरक्षाको प्रत्याभूति दिने हो । त्यसैले यो न त बीमा कम्पनी हो न त अवकाश कोष मात्र नै ! यो त समग्र सामाजिक सुरक्षा प्रदान गर्ने अवधारणा हो ।

१४. श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले श्रम ऐन लागू हुने क्षेत्रका लागि सामाजिक सुरक्षा कोष अनिवार्य गरेको हुँदा स्वेच्छिक बनाउने विषय कानून विपरीत हुन जाने देखिन्छ । यस हिसाबले सामाजिक सुरक्षा स्वेच्छिक नभई कानूनतः अनिवार्य विषय हो । सामाजिक सुरक्षा कार्यक्रम शुरुआत भएपछि श्रम ऐन आकषिर्त हुने सबै क्षेत्रका श्रमिकहरूले कोषबाट प्रदान गरिने बराबरका न्यूनतम सामाजिक सुरक्षा पाउने कुराको ग्यारेन्टी ऐनले नै गरेको छ । यसर्थ कोषले वा रोजगारदाताले प्रदान गरे पनि श्रमिकले कोषद्वारा निर्धारित न्यूनतम सामाजिक सुरक्षा प्राप्त गर्ने विषयको सुनिश्चितता देखिएको छ । यसर्थ कानूनतः यो स्वेच्छिक विषय भने देखिंदैन ।

१५. सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि २०७५ कात्तिक २६ को राजपत्रमा सूचना प्रकाशित भएको र २०७६ साउनदेखि कार्यान्वयनमा आइसकेको सन्दर्भमा कार्यविधिको दोस्रो संशोधन समेत २०७७ माघ २९ गते स्वीकृत भएको हो । तसर्थ यो समयसीमा पर्याप्त नै देखिन्छ । कोषमा आबद्धता सधैं खुला रहने विषय समेत भएको सन्दर्भमा यो विषय सधैं खुला छ तर सामाजिक सुरक्षा कोषमा आबद्धता नभएर कुनै निकायमा कार्यरत श्रमिकले सेवाबाट विमुख हुनु नपरोस् भन्ने कानूनी व्यवस्था समेत रहेको र कानूनको कार्यान्वयन गर्नु/गराउनु कोषको प्रमुख दायित्व रहेको व्यहोरा बुझिदिनु हुन अनुरोध छ ।
अन्तमा,

निजी संगठित क्षेत्रमा हाल कार्यरत कोही पनि श्रमिक कर्मचारीहरू पेन्सन लिने गरी जागीरमा नरहेको विषय यथार्थ हो । यसै यथार्थलाई Åदयङ्गम गरी सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ को दोस्रो संशोधनले अहिले रोजगारमा रहेका सबैलाई २०७८ असार मसान्तसम्मको समय प्रदान गरी सो समयसम्म योगदान प्रारम्भ गरेमा हालकै व्यवस्था अनुरूप रोजगारीको अन्त्य हुने बित्तिकै चाहेमा एकमुष्ट रकम निकाल्न पाउने व्यवस्था गरेको हो । २०७८ साउनपछि योगदान प्रारम्भ गर्ने र १८० महीनाभन्दा बढी योगदान गर्नेहरूका हकमा बुढेसकालमा आयको निरन्तरताका लागि पेन्सन योजना आकषिर्त हुने हो । तसर्थ पेन्सन तुरुन्तै अनिवार्य लिनै पर्ने बाध्यात्मक व्यवस्था कार्यविधिमा नरहेको र समय क्रममा हुने संशोधनहरूले पेन्सन थप आकर्षक बनाउँदै लैजाने नै छ । सामाजिक सुरक्षा कार्यक्रम अवधारणागत हिसाबले सकारात्मक र भविष्यमुखी भए पनि नेपालमा शैशव अवस्थामा रहेको यो कार्यक्रम सम्पूर्ण रूपले पूर्ण नै छ भन्न सकिन्न । तसर्थ यसको योगदानकर्तामैत्री ढंगले संशोधन हुँदै जाने नै छ । तर आजको भोलि नै सम्पूर्ण विषयको सम्बोधन हुनुपर्छ भन्ने चैं त्यति सान्दर्भिक नहोला कि ? भनिन्छ- कानूनको अनभिज्ञता क्षम्य हुँदैन । सचेत नागरिकका हिसाबले हामी सबैले कानूनको परिपालन गर्नैपर्छ ।

(रेग्मी सामाजिक सुरक्षा कोषका उपनिर्देशक हुन् ।)



source https://www.onlinekhabar.com/2021/06/976446

आगामी तीन दिन भारी वर्षाको सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने

१६ असार, काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ ।

‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै भारी वर्षाको सम्भावना थोरै स्थानमा छ ।’

शाक्यका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वषर्ाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।



source https://www.onlinekhabar.com/2021/06/976447

दुई सचिवका लागि ६ सहसचिव बढुवा सिफारिश

१६ असार, काठमाडौं । कृषि तथा वन र इन्जिनियरिङ सेवातर्फ रिक्त दुई सचिव पदका लागि ६ जना सिफारिशमा परेका छन् । सचिव बढुवा सिफारिश समितिको मंगलबार बसेको बैठकले दुई सेवाका तीन-तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिश समितिको बैठकले कृषि तथा वन सेवातर्फ डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खनाललाई बढुवा गर्न सिफारिश गरेको छ । यसैगरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देल सिफारिशमा परेका छन् ।

यसअघिको सोमबार बसेको बढुवा सिफारिश समितिको बैठकले डा. दामोदर रेग्मीलाई पनि सचिव बढुवा गर्न सिफारिश गरेको थियो ।

आगामी मन्त्रिपरिषद बैठकले रिक्त पदमा सचिव बढुवाको निर्णय गर्ने छ । हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र कृषि तथा वन सेवाका १ गरी ८ सचिव पद रिक्त छन्।



source https://www.onlinekhabar.com/2021/06/976443

कोरोना महामारीविरुद्ध लड्नुपर्ने सार्क र बिमस्टेक आफैं थला परे

१६ असार, काठमाडौं । महामारी र स्वास्थ्य संकटविरुद्ध जुध्न क्षेत्रीय संगठनहरूले अहं भूमिका खेलेका धेरै उदाहरण छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्षेत्रीय संगठनलाई महामारीविरुद्ध पहल लिन सधैं आग्रह र प्रोत्साहित गर्छ ।

सन् २०१५-२०१६ मा पश्चिम अफ्रीकी देशहरूमा फैलिएको इबोला महामारी नियन्त्रणका लागि अफ्रिकन युनियनले खेलेको भूमिकाको डब्लुएचओले निकै प्रशंसा गरेको थियो । त्यसैगरी, कोरोना महामारी नियन्त्रणका लागि अफ्रिकन युनियन, युरोपेली युनियन र दक्षिणपूर्वी एशियाली देशहरूको संस्था आसियानले खेलेको भूमिकाको यतिवेला विश्वभर प्रशंसा भइरहेको छ ।

दक्षिण एशियाली मुलुकहरूको संस्था सार्क र दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाली मुलुकहरूको संस्था बिमस्टेक भने कोरोना महामारीसँगै थला परेका छन् । कोरोना नियन्त्रणका लागि क्षेत्रीय भूमिका खेल्नु त परको कुरा, यी दुवै संस्था आफ्नो वाषिर्क सम्मेलन गर्न समेत असफल भएका छन् । महामारीको बीचमा पनि संसारभरिका संस्था भर्चुअल माध्यमले पनि सक्रिय छन्, तर यी संगठनहरू पूरै निष्क्रिय छन् ।

परराष्ट्र मामिला अध्ययन केन्द्रका उप-कार्यकारी निर्देशक डा. रूपक सापकोटा सार्क र बिमस्टेक सक्रिय भएको भए कोरोना संकटबाट पार पाउन निकै सहज हुनेथियो भन्छन् ।

‘कोरोना महामारी विरुद्ध अहिले परम्परागत खालको संवाद-सहकार्य भइरहेको छ । यसमा विश्व नेतृत्व पनि प्रभावकारी देखिएन’ उनी भन्छन्, ‘क्षेत्रीय रूपमा सार्क र बिमस्टेकले कुनै पहल गरेको भए नयाँ खालको बाटो देखिन सक्थ्यो, तर क्षेत्रीय पहल देखिएन ।’

उसो त सामान्य अवस्थामा पनि यी संगठन प्रभावहीन नै थिए । सार्कले स्थापनाको ३५ वर्षमा सम्मेलन र घोषणापत्र जारी गर्ने बाहेक अन्य ठोस काम गर्न सकेको छैन । सार्क र बिमस्टेक जस्ता संस्थाले आपत्कालीन स्वास्थ्य सामग्री र खोप खरीद गरेर सदस्य मुलुकहरूलाई वितरण गर्नेदेखि स्वास्थ्यकर्मी परिचालनसम्मका काम गर्न सक्छ । सार्कले खोपका लागि कोभ्याक्स र ठूला मुलुकहरूसँग समन्वय गर्न सक्ने विज्ञहरू बताउँछन् । यति मात्र होइन, यी संस्थाले स्वास्थ्य सामग्री जुटाउन समेत पहल गर्न सक्छन् ।

क्षेत्रीय संगठनले कसरी काम गर्न सक्छ भन्ने एउटा उदाहरण युरोपेली युनियन हो । युरोपियन युनियनले ‘टीम युरोप’ अवधारणा मार्फत कोरोना नियन्त्रणमा एकीकृत प्रयास गरिरहेको छ । महामारीको शुरूमा ‘इमर्जेन्स रेस्पोन्स’ र स्वास्थ्य सामग्री वितरणमा क्रियाशील भएको टीम युरोप यतिवेला खोप वितरणमा केन्द्रित छ । यसले आफ्ना सदस्य मुलुकहरूका लागि खोप सुनिश्चित गर्नेदेखि खोप किनेर डब्लुएचओको पहल ‘कोभ्याक्स’ मार्फत मध्यम र निम्न आय भएका मुलुकमा पढाउनेसम्मका पहलहरू गरिरहेको छ । सार्कले युरोपेली युनियनले जस्तै भूमिका खेल्न सक्छ भन्ने अपेक्षा यथार्थ नभए पनि क्षेत्रीय पहलले महामारी नियन्त्रणमा निकै सघाउ पुग्छ ।

पूर्व राजदूत शम्भुराम सिंखडा क्षेत्रीय संगठनले महामारीमा खोप नीति बनाउनेदेखि प्राप्त खोप वितरणको ‘फ्रेमवर्क’ तयार पार्नेसम्मका काम सहजै गर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘तर, संस्था नै प्रभावकारी नभएपछि यस्ता सैद्धान्तिक कुराको खासै अर्थ रहेन ।’

भिजन छ, संगठन निष्क्रिय

सार्क र बिमस्टेकका गतिविधि यतिवेला ठप्प छन् । यी संगठनले खेल्न सक्ने भूमिकाबारे भने बहस भएको छ । महामारीका बीच यही वर्षको फेब्रुअरीमा भएको सार्क स्वास्थ्य मन्त्रीहरूको सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका डाक्टर र नर्सहरूले सदस्य मुलुकहरू निर्वाध रूपमा प्रवेश पाउनपर्ने र एयर एम्बुलेन्स सेवा संचालनको प्रस्ताव गरेका थिए । सार्कले यसमा पहल गरे कुनै मुलुक संकटमा पर्दा अन्य सदस्य मुलुकको स्रोतसाधन सहयोग पाउन सक्छ ।

गत वर्ष महामारी शुरू हुनासाथ मार्च १५ मा भारतीय प्रधानमन्त्री मोदीले सार्कका राज्य र सरकार प्रमुखबीच छलफल आयोजना गरेका थिए । त्यो छलफलले सार्कलाई ब्यँुताउने हो कि भन्ने भएको थियो, तर त्यो उत्साह धेरै दिन चलेन । सार्कले इमर्जेन्सी कोष स्थापना गर्ने घोषणा गरे पनि त्यसमा थप प्रगति भएन । यसबीचमा सार्कका विदेशमन्त्री र स्वास्थ्य मन्त्रीहरूको पनि भर्चुअल मीटिङ भयो, तर प्रस्ताव अगाडि बढ्न सकेनन् ।

पूर्वराजदूत सिंखडा यतिवेला सार्क र बिमस्टेक कुनै पनि क्षेत्रमा क्रियाशील नभएको बताउँछन् । उनले भने, ‘यस क्षेत्रमा संस्थाहरू बने पनि क्रियाशील हुँदैनन् ।’ सिंखडाका अनुसार, क्षेत्रीय संस्था क्रियाशील हुन तीन वटा पूर्वाधार आवश्यक पर्छ- पहिलो, सबै सदस्य मुलुक क्षेत्रीय हितमा नै आफ्नो राष्ट्रिय हित हुन्छ भन्ने अवधारणामा जान सक्नुपर्छ । दोस्रो, क्षेत्रीय संगठनका संरचना (जस्तो-सचिवालय) बलियो बन्नुपर्छ । तेस्रो, संरचनाको नेतृत्व पनि एकदमै प्रभावशाली हुनुपर्छ ।

केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्कको औचित्य सकियो भन्ने निष्कर्षमा पुग्नुपर्ने नत्र सम्मेलन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पाकिस्तानको इस्लामावादमा सार्क सम्मेलन गर्न भारत नमानेको तर्फ इंगित गर्दै ओलीले काठमाडौंमा सम्मेलन गर्न नेपाल तयार रहेको पनि बताए ।

सार्क मात्र होइन, बिमस्टेकको पनि उही हालतमा छ । कोरोना महामारीबीच मन्त्रीस्तरीय केही बैठक भए पनि सम्मेलनको सुरसारै छैन । अपि्रलमा भएको बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा कोरोना महामारीको विषयमा छलफल नै भएन ।

महामारीका बीच अरू क्षेत्रीय संगठनहरूको भर्जुअल सम्मेलन भइरहेका छन् । कति त भेला भएरै पनि भए । ती सम्मेलनहरूले नयाँ-नयाँ परियोजना अगाडि सारिरहेका छन् । यिनमा जी सेभेन र सांघाई इकोनोमिक कर्पाेरेसन प्रमुख हुन् ।

परराष्ट्र मामिला अध्ययन केन्द्रका उप-कार्यकारी निर्देशक डा. सापकोटा महामारीबीच यस क्षेत्रमा देखिएको भूराजनीतिक टकराव र भौगोलिक राष्ट्रवादका कारण विद्यमान क्षेत्रिय संयन्त्रले कामै गर्न नसकेको बताउँछन् । ‘न त नयाँ संयन्त्र बनाएर महामारीको मुकाविला गर्ने पहल भयो’ उनी भन्छन्, ‘चीन सहितको दक्षिणएशियाका लागि यो दुर्भाग्यपूर्ण अवस्था बन्यो ।’

कोरोना महामारीकै कारण क्षेत्रीय संस्थाहरू शिथिल भएका भने होइनन् । सार्क र बिमस्टेक भने महामारी शुरू भएपछि झनै थला परेका छन् । भर्चुअल बिमस्टेक सम्मेलन गर्ने चर्चा भए पनि काम अगाडि बढ्न सकेको छैन । बिमस्टेक सम्मेलन नभएको तीन वर्ष भइसक्यो ।

भारत-पाकिस्तान द्वन्द्वका कारण सन् २०१४ यता कुनै पनि शिखर सम्मेलन हुनसकेको छैन । २०१६ मा पाकिस्तानमा हुने तय भएको सार्क सम्मेलन अन्तिम समयमा स्थगित भयो । सार्कमा विशेषतः भारतले देखाएको अरुचिलाई लिएर नेपालले असन्तुष्टि जनाउँदै आएको छ ।

दक्षिण एशियाली मुलुकसँग जोडिने चीनको प्रयास

कोरोना महामारीका बीचमा चीनले दक्षिण एशियाली मुलुकहरूसँग सहकार्यको प्रस्ताव अगाडि बढाएको छ । एक वर्षमा उसले नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग महामारीको सामूहिक सामना गर्ने विषयमा छलफल गरेर साझा संयन्त्र बनाउने प्रस्ताव गरेको छ ।

गत एक दशकदेखि दक्षिण एशियाली मुलुकहरूसँग आर्थिक साझेदारी बढाएको चीनले यस क्षेत्र लक्षित खोपको आपत्कालीन भण्डारण गर्ने प्रस्ताव पनि गरेको छ । उपनिर्देशक सापकोटा कोभिड कालमा उसले भारतसहित दक्षिण एशियाली मुलुकहरूसँग सहकार्य चाहेको बताउँछन् ।

‘बेइजिङले कोभिड रोकथाप, उपचार र भ्याक्सिनको लागि संयन्त्रण नै बनाउने प्रस्ताव गरेको छ’ उनी भन्छन्, ‘तर, गत वर्ष भारत र चीनबीच गलवान उपत्यकामा भएको भिडन्तपछि भारतसँग टकराव बढेकाले चीनको यो प्रस्ताव अगाडि बढ्न सकेन ।’



source https://www.onlinekhabar.com/2021/06/976424

एमाले दशाैं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्ष नजाने

१६ असार, काठमाडौं । नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् ।

मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए ।

पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको असहमतिका बाबजूद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।



source https://www.onlinekhabar.com/2021/06/976422

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More