Wednesday 31 August 2022

बालकलाई यौन दुर्व्यवहार आरोपमा गैसस महासंघ मोरङका अध्यक्ष पक्राउ

१५ भदौ, विराटनगर । बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।

१३ वर्षीय बालकलाई पटक-पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी  कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

विराटनगर १२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको श्रेष्ठले बताए । ‘बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोप छ’ उनले भने, ‘अनुसन्धान जारी छ ।’

ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनीलाई बिहीबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1183787

दुर्घटना डाकिरहेका अग्ला पर्खाल

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका अहिले नक्सा र मापदण्ड मिचिएका संरचना हटाउने अभियानमा छ । यही बेला सामाजिक सञ्जालमा प्रश्न उठेको छ– मापदण्ड विपरीत अग्ला पर्खाल लगाउनेहरुलाई चाहिँ कहिलेसम्म छुट दिइरहने ?

भूमिगत पार्किङ हुनुपर्ने बेसमेन्ट व्यवसायिक प्रयोजनमा लगाउनेमाथि कारवाही चलाएको महानगरपालिकालाई धेरैले विदेशी कूटनीतिक नियोग र सरकारी कार्यालयहरुका फुटपाथ मिचेका, अग्ला र असुरक्षित पर्खाल पनि हटाउन आग्रह गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा देशको मुख्य प्रशासनिक अड्डा सिंहदरबार र विश्वविद्यालय, अस्पताल, होटल, उद्योग र व्यवसायिक प्रतिष्ठानदेखि विदेशी दूतावास/कूटनीतिक नियोगसम्मले सडक र पेटीसँग जोडेर अग्ला पर्खाल बनाएका छन् । यी पर्खाल कति सुरक्षित छन् भनेर न नियमित जाँच गरिन्छ न त मर्मत सम्भार ।

यीमध्ये कतिपय पर्खाल मापदण्ड विपरीतका छन् भने कति जीर्ण बनिसकेका छन् । यसले धेरै सवारी साधन र पैदलयात्रुलाई जोखिममा पारिरहेको छ ।

मध्यबानेश्वर निवासी राजेश थापा सरकारी कर्मचारी हुन् । कार्यालयबाट पाइने कुपन लिएर उनी सधैं भद्रकालीस्थित नेपाली सेनाको रुपुमर्दिनी पेट्रोल पम्पमा तेल हाल्न जान्छन् । बाइकमा तेल हाल्नका लागि कोल्टे परिसकेको पर्खालमै आड लागेर लाइन बस्नुपर्दा सधैं डर लाग्ने उनी बताउँछन् । ‘पल्लोसाइडको ठूलो रुखले धकेलेर होला, कोल्टे परेको अग्लो पर्खाल अब ढलिहाल्छ कि जस्तो देखिन्छ, पर्खाल पनि चिराचिरा परेको छ,’ उनी भन्छन्, ‘सुरक्षामा दत्तचित्त भएको भन्ने नेपाली सेनाले आफ्नै पेट्रोल पम्पको ढल्न लागेको पर्खालमा चाहिं किन ध्यान नदिएको होला भन्ने लाग्छ ।’

यसैगरी टोखाका श्रीनिवास सापकोटा मोटरसाइकलमा दैनिक कपुरधारा–लैनचौर भएर घर–कार्यालय गर्छन् । यो उनका लागि सबभन्दा छोटो बाटो हो । उनी भन्छन्, ‘बेलायती र भारतीय दूतावासको पर्खालबीचबाट गुज्रँदा सधैं मन थर्कमान हुन्छ– यही बेला भूकम्प आयो भने ?’ १ असोज २०६८ मा बेलायती दूतावासको पर्खाल ढलेर ३ जनाको ज्यान गएको घटना उनलाई झस्काउने कारण हो ।

सिक्न नचाहेको पाठ

बेलायती दूतावासले भत्केको पर्खाललाई उचाइ थपेर नयाँ बनायो । काठमाडौं उपत्यका विकास प्राधिकरणले त्यसलाई रोक्ने प्रयत्न गरेपनि काठमाडौं महानगरपालिकाको तत्कालीन नेतृत्वले बोल्ने आँट गरेन । नेपाल सरकार पनि थाहा नपाएझैं गरेर बस्यो ।

त्यो घटनाबाट पाठ नसिक्दा नबदलिएको पर्खाल निर्माणको मनपरीको अझ डरलाग्दो दुष्परिणाम ६ वर्षपछि नै भोग्नुपर्यो । १२ वैशाख २०७२ को महाभूकम्पमा पर्खालहरु ढलेर काठमाडौंमा दर्जनौंले ज्यान गुमाए । २९ वैशाखको परकम्पमा पनि नारायणहिटी दरबार, राष्ट्रिय नाचघर, दरबार हाइस्कुल लगायत विभिन्न ठाउँका अग्ला पर्खाल ढल्दा १४ जनाको ज्यान गयो ।

महाभूकम्पमा असुरक्षित ठहरिएका यस्ता पर्खाल मर्मत गर्ने वा उचाइ घटाउनेतर्फ भने सरकारले ध्यान दिएन । न विदेशी नियोग, न त निजी व्यवसायिक भवन घरधनीहरुले यो विषयलाई महत्व दिए ।

त्यसपछि २०७६ असार २७ गते सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किंदा धन्न जम्मा एकजना पैदलयात्रु घाइते भए । त्यसपछि पनि सरकारले सिंहदरबारको पर्खालको उचाइ घटाउनेबारे सोचेन । जबकी, पर्खालले सबथोक सुरक्षित गर्छ भन्ने हुँदैन ।

सरकार सिंहदरबारको भत्किएको भाग पहिलेकै उचाइमा पुर्याएर ढुक्क बस्यो । चौतर्फी विरोधपछि पश्चिमतर्फको पर्खालको उचाइ घटाए पनि अरु भागबारे पुनर्विचार गरेन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका एक अधिकारी अग्ला पर्खालबारे नेपालमा सजगता शून्य भएको बताउँछन् । जस्तो– गत असार १४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, चित्तपोलमा कान्छा श्रेष्ठको घरको आँगनमा लगाइएको १२ फिट अग्लो पर्खाल भत्किंदा सडकमा हिँडिरहेकी नारायणदेवीको थापा ज्यान गयो ।

‘हाम्रो कार्यालयको पर्खाल मापदण्ड भित्र र सुरक्षित छ’, उनी भन्छन्, ‘अरु सरकारी निकाय भने जोखिमयुक्त अग्ला पर्खालभित्र सुरक्षित महसुस गरेझैं देखिन्छन् । यो मानसिकता नै मापदण्ड लागू गर्न नदिने ‘पर्खाल’ बनेको छ ।’

उनको बुझाइमा, नेपालमा पर्खाललाई महत्व दिने प्रवृत्ति सरकार, समाज सबैतिर छ । ‘अग्लो पर्खालमा बिमसहित दह्रो पिलर हाल्दैनन्, जग नै नराखी वा कमजोर राखेर बनाउँछन्,’ उनी भन्छन्, ‘इँटा वा ब्लकको थुप्रोले बनेको पर्खालभित्र सुरक्षित छु भनेर बस्ने चलन छ ।’

नागरिकले नक्सा विपरीत पर्खाल बनाउँदा पनि सम्बन्धित निकायहरु मौन देखिने गरेको ती अधिकारी बताउँछन् । उनका अनुसार, होचो कंक्रिट पर्खाल बनाएर त्यसमाथि जाली राख्ने क्रम बढेको छ ।

मापदण्ड छ, पालना छैन

काठमाडौं महानगरपालिकाको भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्य महाभूकम्पमा अग्लो पर्खालले गरेको क्षतिका कारण अहिले उचाइ मापदण्ड परिवर्तन भएको बताउँछन् ।

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ ले सीमा पर्खाल बनाउँदा स्वीकृति दिंदा सामान्यतः १.२ मिटर अग्लो गारोमाथि ०.६ मिटर अग्लो जाली राख्न भनेको छ । त्यसभन्दा अग्लो जाली राख्नेले पूरै पर्खालको स्ट्रक्चरल डिजाइन गर्नुपर्ने व्यवस्था मापदण्डमा छ ।

सरकारी वा कूटनीतिक निकायले सुरक्षाहेतु अग्लो पर्खाल बनाउनुपर्ने भए गृह मन्त्रालयको सिफारिससहित स्ट्रक्चरल डिजाइन राखेर निवेदन दिनुपर्छ । अन्यथा, स्थानीय निकायले नक्सा स्वीकृत गर्दैन । तर, यो मापदण्ड पालना भएको छैन ।

सुरक्षा संवेदनशीलता भएका कार्यालयहरुमा बनेका पुराना पर्खाल पनि असुरक्षित स्वरुपमै कायम छन् । कतिपय निजी आवासका पर्खाल पनि सडकमा हिंड्नेका लागि जोखिमयुक्त छन् ।

साधारण पर्खाल लगाइएको लैनचौरको समाजकल्याण परिषद भवनमा उपराष्ट्रपतिको कार्यालय राखिएपछि पर्खालको उचाइ आकाशिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा युनिटहरुले पनि पर्खाल अग्ल्याएका छन् ।

राजधानी शहरका मूल सडक र गल्लीहरुमा यस्ता पर्खालहरुको धराप छ । सुरक्षा र गोपनीयताका नाममा ठडाइएका यस्ता पर्खाललाई दुर्घटना कुरिरहेको धराप देख्छन् उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी ।

‘हामीकहाँ पर्खाल हैन, ग्रेटवाल नै बनाउने चलन छ, त्यो पनि सडकको सेटब्याक समेत नछोडी’, उनी भन्छन्, ‘यस्ता पर्खालभित्र कार्यालय वा घर कति सुरक्षित छन् थाहा छैन, तर सडकमा हिँड्ने मान्छे र गुड्ने सवारीका लागि भने धराप बनेका छन् ।’

उनका अनुसार युरोप–अमेरिकातिर भने मुख्य प्रशासनिक केन्द्रहरुमा होचा पर्खाल वा फलामे बार राखिएका हुन्छन् । नेपालमा यस्तो अभ्यास नगरेको सिंहदरबारको सिको अन्य तमाम निकायले गरेको तिवारी बताउँछन् ।

‘आफ्नो मुलुकमा असल अभ्यास गरेका अमेरिकी, जर्मन, रुसी लगायत दूतावासले पनि नेपालमा मापदण्ड ग्रेटवाल ठड्याएका छन्’, उनी भन्छन्, ‘यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने दायित्वमा रहेको नेपाल सरकार उनीहरुकै सिकोमा देखिन्छ ।’

ललितपुर महानगरपालिकाले सरकारी कार्यालय र कलेजहरुका अग्ला पर्खाल हटाएर फलामे बार लगाउने अभियान गत वर्षबाट सुरु गरेको छ । ललितपुरका सबै सरकारी कार्यालयले त्यसलाई कार्यान्वयन गरेका भने छैनन् ।

अग्ला पर्खालहरुले शहरको सौन्दर्यमा समेत बाधा गरिरहेको मान्छन्, मेयर चिरिबाबु महर्जन । ‘त्यसैले, पर्खाल हटाएर त्यसभित्रको सुन्दरता देखाउन हरित परियोजनाका रुपमा फलामका बार राख्ने अभियान चलाएका हौंं’, उनी भन्छन् ।

काठमाडौं महानगरपालिका भने अग्ला पर्खालबारे अहिलेसम्म अनिर्णित छ । अन्य नगरपालिकाहरुले पनि अग्ला पर्खालहरुलाई होचा र बलियो बनाउन चासो दिएका छैनन् ।

यद्यपि, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अग्ला पर्खालमा पनि ध्यान गएको बताए । अनलाइनखबरसँग उनले भने, ‘मापदण्ड विपरीतका संरचना हटाउने अभियानका क्रममा अग्ला र असुरक्षित पर्खालमा पनि महानगरको ध्यान गएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1183780

बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

१६ भदौ, चैनपुर । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका-९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए ।

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका-६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1183784

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु   

१६ भदौ, चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/09/1183782

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

१६ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ ।



source https://www.onlinekhabar.com/2022/09/1183776

राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

१६ भदौ, काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् ।

चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेटेका थिए । दुवैतिरका नेताहरू तालमेल हुनेमा बढी विश्वस्त छन् । त्यसको कारण भने सत्तारुढ दलहरुले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो छ ।

अझ अध्यक्षद्वय ओली र लिङ्देन दुवैले झापामा चुनाव जित्न एकअर्काको मत चाहिने भएकाले पनि तालमेलको सम्भावना बढी छ । राष्ट्रिय रुपमै पनि तालमेल गर्न अरु बलियो दल बाँकी छैन । स्थानीय चुनावमा वीरगञ्ज महानगरसहित केही स्थानमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनसँगै नजिकिएको छ ।

तर राप्रपासँग तालमेल गर्दा एमालेका केही प्रभावशाली नेताहरू समस्यामा पर्ने देखिन्छन् । किनकि राप्रपाको जनमत राम्रो भएको र ठूला नेता रहेको निर्वाचन क्षेत्रमा दाबी गर्ने पक्का छ । ०७४ मा पनि राप्रपाले नेपाली कांग्रेससँग त्यस्तै गरेका थिए ।

तालमेलको अप्ठ्यारो

तालमेल गर्दा राप्रपाले १५ देखि २० सिटसम्म एमालेसँग माग्ने तयारी गरेको छ । त्यसरी दाबी गर्दा अध्यक्ष लिङ्देन प्राथमिकतामा पर्ने नै भए । उनी झापा–३ बाट चुनाव लड्दै आएका छन् । ०७४ मा पनि वाम गठबन्धनको समर्थनमा लिङ्देनले यही क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । यसपटक तालमेल हुँदा झापा–३ लिएर बाँकी क्षेत्रमा एमालेलाई समर्थन गर्नेछन्, त्यसको लाभ झापा–५ बाट ओलीले पाउनेछन् ।

तर राप्रपाले दाबी गर्ने अन्य क्षेत्रमा पनि एमाले नेतृत्वलाई आफ्नै नेता मनाउन सजिलो पर्ने देखिँदैन । मंगलबार मात्रै मोरङ–३ बाट राप्रपाले रेखा थापाको नाम सिफारिस गरेको छ । पार्टी महामन्त्री पदमा कुन्ती शाहीसँग पराजित थापा राप्रपाभित्र प्रभाव राख्ने नेतामा पर्छिन् । तर उनलाई मोरङ–३ एमालेले छोड्न सजिलो छैन ।

यो क्षेत्रबाट ०७४ को चुनावमा भानुभक्त ढकालले जितेका थिए । ढकाल ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहे । ओलीलाई लगातार साथ दिने नेतामा पर्छन्, ढकाल ।

राप्रपाबाट चुनाव लडिरहने अर्का नेता पशुपति शमशेर राणा हुन् । उनी पञ्चायतकै अवधिदेखि सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका छन् । ०७४ को चुनावमा उनी सिन्धुपाल्चोक–२ बाट उम्मेदवार थिए । कांग्रेसको समर्थनमा उम्मेदवार रहेका राणा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग पराजित भए ।

तामाङले ०७० मा पनि राणालाई पराजित गरेका थिए । ०६४ को चुनावमा पनि राणा भन्दा तामाङले धेरै मत ल्याएपनि माओवादीका दावा लामाले जितेका थिए । ०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एउटा समूह बाहिरिँदा र ०७७ मा एमाले विभाजन हुँदा पार्टी नेतृत्वलाई साथ दिएका कारण तामाङलाई पञ्छाएर राणालाई टिकट दिनु एमालेलाई सजिलो छैन ।

राप्रपा नेता दीपक बोहरा व्यवस्थापन गर्न पनि एमाले नेताहरुले त्याग गर्नुपर्ने देखिन्छ । ०७४ को चुनावमा रुपन्देही–२ मा बोहरा एमालेका तत्कालीन उपमहासचिव घनश्याम भूसालसँग पराजित भएका थिए । तर एमाले र राप्रपाबीच तालमेल भएमा र बोहराले यही क्षेत्र रोजे, भूसालले छोड्नुपर्ने हुन्छ ।

तर गएको स्थानीय चुनावमा रुपन्देही–१ र २ मा पनि राप्रपाले राम्रो मत पाएको छ । यदि बोहराले यसमध्ये एउटा क्षेत्र रोजेमा त्यसको असर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मालाई पर्नेछ । विश्वकर्मा रुपन्देही–१ र पौडेल रुपन्देही–२ बाट जितेका थिए ।

अघिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित विक्रम पाण्डे यसपटक पनि आकांक्षी छन् । चितवन–३ मा पाण्डेको प्रभाव राम्रो भएकाले त्यही क्षेत्र एमालेसँग माग गर्नेबारे स्वभाविक अनुमान गर्न सकिन्छ । तर पाण्डेलाई यो क्षेत्र छोड्दा एमालेबाट आकांक्षी रहेका देवी ज्ञवालीसहित नेताहरु टिकट पाउनबाट बञ्चित हुनेछन् ।

नुवाकोटमा राप्रपा नेता प्रकाशचन्द्र लोहनीले दाबी गर्ने सम्भावना छ । नुवाकोट एमाले उपमहासचिव विष्णु रिमालको जिल्ला हो । तर अहिलेसम्म उनी चुनाव नलडेकाले राप्रपासँग तालमेल हुँदाको असर हालका सांसद नारायण खतिवडालाई पर्न सक्छ ।

राप्रपाका शीर्ष नेता धवल शमशेर राणाका निम्ति बाँके–२ छोड्दा एमालेले पशुपति दयाल मिश्रलाई मनाउनुपर्ने हुन्छ । ०७४ मा मोहमम्द इस्तियाक राईसँग मिश्र पराजित भएका थिए । त्यसबेला सूर्य चिह्नबाट उम्मेदवारी दिए पनि मिश्र एमाले थिएनन् । तर अहिले एमालेमै प्रवेश गरेका छन् । यदि यो क्षेत्र धवललाई छोड्नुपरे मिश्र समस्यामा पर्नेछन् ।

तुलनात्मक राम्रो प्रभाव रहेको राजधानी काठमाडौंमै पनि राप्रपाले दाबी गर्ने तयारी गरेको छ । काठमाडौं–४ मा राप्रपाको बढी जोड छ । आफ्नो जनमत राम्रो रहेकाले एमालेको समर्थन यही क्षेत्रमा हुनुपर्ने राप्रपाका नेताहरु बताउँछन् ।

तर यो क्षेत्र राप्रपालाई दिएमा एमाले नेता राजन भट्टराईले त्याग गर्नुपर्ने हुन्छ । ०७४ को चुनावमा भट्टराई कांग्रेस महामन्त्री गगन थापासँग पराजित भएका थिए । यसपटक पनि उम्मेदवार बन्ने तयारीमा भट्टराई छन् ।

यसबाहेक राप्रपा महामन्त्री कुन्ती शाही दैलेख–२ बाट उम्मेदवार बन्ने चाहनामा रहेको बताइन्छ । कर्णाली प्रदेशमै दैलेखमा एमालेका प्रभाव राम्रो रहेकाले राप्रपालाई छोड्ने पक्षमा स्थानीय नेताहरु देखिदैनन् ।

तर गएको स्थानीय चुनावमा चार स्थानीय तहका प्रमुख र ६२ वडाध्यक्ष जितेको राप्रपासँग तालमेल गर्नु एमालेका निम्ति क्षति कम गराउने बाँकी विकल्प देखिन्छ । राप्रपा पनि एमालेसँग तालमेल गरेर राष्ट्रिय पार्टी बन्ने चाहनामा छ ।

०७४ को चुनावमा वाम गठबन्धनको समर्थनमा लिङ्देनले प्रत्यक्षतर्फ जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत मत पुर्‍याउन सकेको थिएन । यसपटक भने राप्रपा थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय दल बन्ने तयारीमा छ । गएको स्थानीय चुनावमा राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत संख्या साढे तीन लाख छ ।



source https://www.onlinekhabar.com/2022/09/1183462

गुणस्तर कमजोर भेटिएपछि प्राधिकरणले फर्कायो ५० ट्रान्सफर्मर

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० वटा ट्रान्सफर्मर आफ्नो गुणस्तर मापदण्डसँग मेल नखाएको ठहर गरेर फिर्ता गरेको छ । देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको राख्न भएको ठेक्काअनुसार आपूर्ति भएका २ सय केभीएका ट्रान्सफर्मर प्राधिरकणले फिर्ता गरिदिएको हो ।

प्राधिकरणको ल्याबले ती ट्रान्सफर्मरमा ‘चुहावट दर’ धेरै भेटेपछि स्वीकार नगर्न सिफारिस गरेको थियो । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाकाअनुसार साङडोङ फुडा कम्पनीले उत्पादन गरेका ट्रान्सर्फमहरु नेपालको प्रणालीमा राख्न नसकिने गरी अस्वीकृत भएका हुन् ।

‘हामीले मागेको मापदण्डअनुसार ट्रान्सफर्मर आएन, हामीले तोकेको स्पेसिफिकेसन अनुसार नभएकाले ठेकदार कम्पनीलाई ट्रान्सफर्मर स्वीकार गर्न नसक्ने जानकारी दिएर फिर्ता पठायौं,’ आयोजनाका एक अधिकारीले भने ।

आयोजनाले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनका लागि यी ट्रान्सफर्मर मगाएको थियो । चीनको वाङडेङ डिजिटल इनर्जीले करिब ३७ करोडमा ठेक्का पाएपछिट्रान्सफर्मर साङडोङबाट ल्याउने गरी स्पेसिफिकेसन दिएको थियो । तर, प्राधिकरणले मापदण्डअनुसारको गुणस्तर नभएको ठहर गरेर ट्रान्सर्फमर फिर्ता गरिएको हो ।

आयोजनाका अनुसार प्राधिकरणले यसअघि गुणस्तर जाँच भएर नेपालमा प्रयोग भइसकेका कम्पनीबाट नै ट्रान्सफर्मर दिन कम्पनीलाई निर्देशन दिएको छ । त्यसअनुसार ट्रान्सफर्मरहरु जोडेर चार्जिङ स्टेसन सञ्चालन गर्ने काम मंगलबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कबाट सुरु भइसकेको छ ।

५ वर्षसम्म ठेकदार कम्पनीले नै चार्जिङ स्टेसनहरुको मर्मतसम्भार गर्ने छ भने सञ्चालन र व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

यसपटक आपूर्ति भएको ट्रान्सफर्मरको गुणस्तर यअसघि प्राधिकरणमा भएको ट्रान्सफर्मर खरिद घाटालाको पुरानो घटनालाई स्मरण गराएको छ । २०६९ सालमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक डा. जीवेन्द्र झासहित उच्च अधिकारी र ठेकदार तथा एजेन्टविरुद्ध नक्कली ट्रान्सफर्मर खरिद गरेको अभियोगमा ४६ करोड ७६ लाख ६३ हजारको भ्रष्टाचार मुद्दा नै चलेको थियो । आर्थिक वर्ष २०६६/६७ मा साहभान्त इलेक्टि्रक कम्पनीसँग विभिन्न क्षमताका १५ सय ६७ थान ट्रान्सर्फमर खरिदमा भ्रष्टाचार भएको अख्तियारको दावी थियो ।



source https://www.onlinekhabar.com/2022/08/1183772

न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

१५ भदौ, काठमाडौं । न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।



source https://www.onlinekhabar.com/2022/08/1183488

धनुषाका तत्कालीन प्रजिअसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीहरुले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितारभ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

मुद्दा दायर हुनेमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुषाल छन् ।

अख्तियारले मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन विचौलियाको भूमिका खेलेका सुमनकान्त ठाकुरलाई पनि विपक्षी बनाएको छ ।

नक्कली मोही बनेर रकम लिएको आरोपमा सूर्यनारायण लाल कर्ण, उनलाई सहयोग गर्ने भाइ उपेन्द्रलाल कर्ण कायस्थ र छोरा मनोजलाल कर्ण, श्रीमती बिन्दादेवी कर्ण पनि विपक्षी छन् ।

मुद्दा दायर हुनेमा जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार अविव साह, गुठी संस्थान धनुषाका कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्ण रहेका अख्तियारले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/08/1183485

महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ : चोलेन्द्र

१५ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको बताएका छन् । बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताए ।

उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गरेका छन् । ‘यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिनएन’ उनले भने, ‘यो प्रस्ताव निष्क्रिय भइसकेको छ ।’

आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै जबराले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए । ‘…दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो’ उनले भने । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको पनि जबराले बताए ।

जबरालाई नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले न्यायिक नेतृत्वमाथि सबैतिरबाट प्रश्न उठेको र जबराले नै त्यो ठाउँ दिएको भन्दै त्यस्तो वातावरण किन बन्यो भनी प्रश्न गरेकी थिइन् ।

जवाफमा जबराले आफूले गरेका काम नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिरबाट नभएको दावी गरे ।

‘सरोकारवाला र राजनीतिक दलहरूको सुझाव अनौपचारिक रुपमा पनि लिने अधिकार हुन्छ तर संवैधानिक रुपमा प्राप्त अधिकार र जिम्मेवारी निर्वाह गर्दा दलहरूबाटै प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भयो यो म बाट भएको त होइन नि’ उनले जवाफ दिए ।



source https://www.onlinekhabar.com/2022/08/1183347

पश्चिम सेती र सेती नदी-६को बिजुली बेच्न पीटीसी इन्डियासँग एमओयू

१५ भदौ, काठमाडौं । एनएचपीसी इन्डिया लिमिटेडले बिजुली बिक्री गर्न पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ ।

नेपालमा लगानी बोर्ड नेपालबाट अध्ययन अनुमतिपत्र लिएका पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजनाबाट उत्पालित बिजुली विक्रीका लागि भन्दै यस्तो एमओयू भएको हो ।

एमओयूमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हरियाणाको फरीदाबादस्थित एनएचपीसी कर्पोरेट कार्यालयमा हस्ताक्षर गरेका छन् । एमओयूअनुसार पीटीसीले भारत र छिमेकी देशहरूमा दीर्घकालीन आधारमा राज्य उपयोगिताहरू, डिस्कमहरू र थोक उपभोक्ताहरूलाई बिक्रीको लागि परियोजनाहरूको व्यावसायिक सञ्चालनको मितिदेखि विद्युत खरिद गर्नेछ ।

पीटीसीले मध्यम वा छोटो अवधिको आधारमा वा पावर एक्सचेन्जहरूमा कुनै पनि अनटाइड क्षमता बेच्न प्रयास गर्ने विज्ञप्तिमा उल्लेख छ ।

२ भदौमा जलविद्युत कम्पनीले नेपालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पश्चिम सेती (७५० मेगावाट) र सेती नदी-६ (४५० मेगावाट) आयोजनाको विकासका लागि लगानी बोर्ड नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

आईबीएनसँगको एमओयूमा हस्ताक्षर समारोहमा एनएचपीसीका सिंहले दुई जलविद्युत आयोजनाको विकास गर्न कम्पनीले नेपालमा १८ हजार करोडभन्दा बढी लगानी गर्ने बताएका थिए ।

‘यी आयोजनाहरूलाई समयमै र लागत प्रभावकारी रूपमा सम्पन्न गर्न करिब पाँच दशकमा २२ वटा जलविद्युत आयोजना निर्माण र सञ्चालन गर्दा प्राप्त सबै विज्ञताको प्रयोग गर्नेछौं, हामीले यी परियोजनाहरू विकास गर्न भारु १८ हजार करोड भन्दा बढी लगानी गर्नेछौं,’ उनले भने ।



source https://www.onlinekhabar.com/2022/08/1183206

Tuesday 30 August 2022

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

१५ भदौ, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 



source https://www.onlinekhabar.com/2022/08/1183086

रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?

१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थियो । राज्य पक्षवाट मारिएका गरिएका अधिकांश माओवादी कार्यकर्ता तथा समर्थक थिए भने माओवादीवाट हत्या गरिएका अधिकांश कांग्रेस कार्यकर्ता ।

कांग्रेस नेतृत्वको पहलमा माओवादी शान्ति प्रक्रिया आयो, तर रोल्पामा दुई दलको सम्बन्ध उस्तै रहृयो । कतिसम्म भने दुवै दल एउटै सरकारमा रहेर चुनावी तालेमल गर्दा पनि रोल्पामा कांग्रेस र माओवादीको प्रतिद्वन्द्वीता कायमै रहृयो ।

३० वैशाखको स्थानीय चुनावमा कांग्रेस र माओवादीसहित सत्तारुढ दलले देशभर तालमेलको प्रयास गरे । तर रोल्पामा कांग्रेसले केही पालिकामा एमाले मिलेर माओवादीलाई हराउन खोज्यो भने माओवादी केन्द्रले केही पालिकामा एकीकृत समाजवादीको साथ लिएर कांग्रेस-एमालेको चुनौती सामना गर्‍यो ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी कांग्रेस सम्बन्ध सुधार गर्न तयार देखिएका छन् । रोल्पामा पानी वारावारको अवस्थामा रहेका कांग्रेस र माओवादीका रोल्पाली नेताहरुले सहकार्यको हात बढाउने छनक लिएका छन् ।

माओवादी केन्द्र, रोल्पाले स्थानीय तहस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान चलाइरहेको छ । उम्मेदवार सिफारिस गर्नुअघि दुवै दलका नेताहरु सिट बाँडफाँटका लाागि सम्वादमा पनि छन् । ‘सधै पानी बाराबारको अवस्थामा रहेका कांग्रेस र माओवादी, रोल्पा रुकुममा पनि मिले भन्ने सन्देश दिने गरी काम गरिरहेका छौं,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगर भन्छन् ।

वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको छ ।\

कांग्रेसबाट प्रदेश सभापति पुन आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी हुन् । २०७४ मा माओवादी केन्द्रबाट वर्षमान पुन निर्वाचित भएका थिए । कांग्रेस प्रदेश सभापति पुनका अनुसार माओवादी नेताहरूले उनलाई प्रदेशसभा रोज्न आग्रह गर्दै आएका छन् । उनले भने, ‘माओवादी केन्द्रका नेताहरुलाई अन्य निर्वाचन क्षेत्रमा गएर उम्मेदवार बन्न कांग्रेसलाई जत्ति अप्ठयारो छैन । त्यसैले रोल्पा कांग्रेसलाई छाडदिन आग्रह गरेको छु ।’

तर संगठन र जनमतका हिसाबले माओवादीको जनाधार भएका जिल्ला भएकाले गठबन्धन गर्दा प्रतिनिधिसभा छाड्नुपर्ने अवस्था आउनसक्छ भने उनले बुझेका छन् । भन्छन्, ‘कांग्रेसको पनि संगठन कमजोर संगठन छैन । प्रतिनिधिसभा माओवादीलाई दिने र प्रदेश सभा कांग्रेसले लिने गरी तालमेल हुनसक्छ ।’

माओवादी केन्द्रले भने यसबारे केही बोलेको छैन । वहालबाला सांसद वर्षमान पुन स्वभाविक दावेदार भए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि आकांक्षी छन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले वामगठबन्धन बनाएर चुनाव लडेका थिए ।

वाम गठवन्धनका साझा उम्मेदवार पुनले कांग्रेसका अमरसिंह पुनलाई २० हजारभन्दा बढी मतान्तरले हराएका थिए । पुनले ४२ हजार ८४ मत प्राप्त गरेका थिए, जुन कुल मतको ६४.४५ प्रतिशत हो । कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए । एकीकृत राप्रपा राष्ट्रवादीका रामबहादुर वली क्षेत्रीले एक हजार १९१ मत पाउँदा राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्टले ६५६ मत पाएका थिए । निर्वाचनमा ८ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।

समानुपातिक तर्फ माओवादीले २७ हजार २२० मत प्राप्त गरेको थियो । कांग्रेसले १५ हजार ८४७ र एमालेले १० हजाार ५४५ मत प्राप्त गरेका थिए । राप्रपाले १८३३, राप्रपा प्रजातान्त्रिकले ६७५, राष्ट्रिय जनमोर्चाले ४३८, मालेले १०५९ र एकीकृत राप्रपा राष्ट्रवादीले ३३४ मत प्राप्त गरेका थिए ।

३० वैशाखको स्थानीय चुनावमा माओवादी केन्द्रले १० मध्ये ७ स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । कांग्रेसले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । ७२ वडामध्ये माओवादीले ४८, कांग्रेसले १४, एमालेले ८, एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडाध्यक्ष जितेका थिए ।

वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको छ ।

मुख्य प्रतिस्पर्धी कांग्रेस, माओवादीलाई सघाउने मनस्थितिमा पुगेपछि एमाले भने आसन्न निर्वाचनमा दुवै दलको मत तानेर आफ्नो भोट बढाउने रणनीतिमा जुटेको छ । दुवै पार्टीका असन्तुष्ट कार्यकर्ताको मत तान्न सक्दा विगतमा प्राप्त गरेकोभन्दा धेरै मत प्राप्त गर्ने एमाले रोल्पाको वुझाइ छ ।



source https://www.onlinekhabar.com/2022/08/1183071

Monday 29 August 2022

गठबन्धनले जवाफ फर्काएकोमा राष्ट्रपति दुःखी

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफल होस् भनेर नागरिकता विधेयक फिर्ता गर्दा गठबन्धनले जवाफ फर्काएको भन्दै गुनासो गरेकी छन् ।

संघीय संसदले पास गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गर्दा पठाएको सन्देशमा प्रादेशिक पहिचान र लैंगिक समानता नभएको तथा अंगीकृत नागरिकताबारे स्थायी समाधान खोज्नुपर्ने भनिएको छ ।

तर, सत्तारुढ गठबन्धनको निर्णयअनुसार प्रतिनिधिसभाले २ भदौमा नागरिकता विधेयक हुबहु पास गरेको छ, राष्ट्रियसभाले भने विधायन समितिमा पठाएको छ ।

लगत्तै राष्ट्रपति भण्डारीले सोमबार नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । भेटमा अग्निपथ लगायतका विषयमा पनि कुराकानी नभएको थियो, तर मुख्य चासो चाहिं नागरिकता थियो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई लिएर शीतल निवास पुगेका थिए । कांग्रेस नेताहरु निस्किएको केही समयपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ रामबहादुर थापा महासचिव शंकर पोखरेललाई लिएर शीतल निवास पुगेका थिए ।

दुबै दलका नेताहरुसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमाथि संसदमा छलफल होस् भनेर फिर्ता पठाएको, तर सत्ता गठबन्धनले जवाफ फर्काएको गुनासो गरिन् । ‘मैले जुन गम्भीरतासाथ यो विषय उठाएकी थिएँ, त्यसको रेस्पोन्स त्यही अनुरुप हुन सकेन, म दुःखी छु,’ राष्ट्रपतिले भनिन्, ‘मैले २००९ सालयताको विवाद सधैंका लागि रोकिने गरी संसदमा रहेका दलहरुले काम गर्नेछन् भन्ने अपेक्षा राखेको थिएँ, त्यस्तो भएन ।’

भेटमा सहभागी कांग्रेस एक पदाधिकारीले पनि नागरिकता विधेयकमा राष्ट्रपतिले ‘सहमतिका लागि प्रयास हुन्छ होला भने अपेक्षा थियो’ भन्दै असन्तुष्टि जनाएको बताए ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेको बताएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने दोहोरो भूमिका खेलेको भन्दै उनले भने, ‘ओलीजीले जुन अध्यादेश ल्याउनु भएको हो, मैले त्यही ल्याएको हो । उहाँले राष्ट्रपतिको समर्थन गर्नु भनेको डबल स्ट्याण्डर हो ।’ प्रधानमन्त्री देउवाले ६/७ लाख नागरिक नागरिकताबिहीन भएकाले नागरिकता विधेयक ल्याउन हतार गर्नुपरेको बताएका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि जन्मसिद्धका सन्तानलाई नागरिकता दिलाउन अरु विषयलाई थाती राखेर नागरिकता विधेयक संशोधन गर्न खोजिएको बताएका छन् । ‘जन्मसिद्धका सन्तानका नागरिकता दिलाउन संशोधन गर्न चाहेको हो । अरु थाति राखेका हो,’ उनले भनेका थिए, ‘भविश्यमा नागरिकता विधेयक बनाउनुपर्छ । कांग्रेसको तर्फबाट आश्वस्त पार्न चाहन्छौं कि राष्ट्रपतिज्यूको सन्देशले त्यो बेलालाई मार्गनिर्देशित गर्छ ।’

अग्निपथ र एसपीपीमा चासो

सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका नेताहरुसँग भएको भेटमा राष्ट्रपतिले भारतीय सैनिक अभियान अग्निपथबारे उठिरहेका विवादबारे पनि जिज्ञासा राखेकी छन् ।

एमाले नेताहरुले गोर्खा भर्तीसँग जोडिएको विषय भएकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा नेपाललाई अहिलेसम्म थाहा नभएकोबारे सरकारसँग सोधेको, तर कुनै जवाफ नपाएको बताएका थिए । उपाध्यक्ष नेम्वाङले अनलाइनखबरलाई बताएअनुसार यसबारे संसदमै आवाज उठाउँदा पनि सरकारले चित्तबुझ्दो जवाफ नदिनुलाई विपक्षी पार्टीले अनुचित ठानेको छ ।

‘भारतले एकपक्षीय रुपमा अग्निपथ लागु गर्न खोज्दा पनि सरकारको धारणा आएन,’ उनले शीतल निवासमा आफूहरुको धारणा उद्धृत गर्दै सुनाए, ‘पछि यो अभियान रोकियो भन्ने पनि सुनियो । तर हामीकहाँ कुनै जानकारी छैन ।’

राष्ट्रपति भण्डारीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे पनि जान्न चाहेकी थिइन् । उनले एमाले नेताहरुसँग यसबारे के भइरहेको छ भनी सोधेकी थिइन् ।

सरकारले अमेरिकालाई यो अभियानमा नेपाली संलग्नता रोकिएकोबारे जानकारी गराउने भनेपनि हालसम्म औपचारिक सूचना नपाएकोमा चासो व्यक्त गरेको एमाले नेताहरुले बताए । ‘हामीले एसपीपीमा नेपाल संलग्न नहुने भनी अमेरिकालाई चिठी लेख्न भनेका थियौं, तर सरकारले कुनै जवाफ दिएन । पछि जवाफ पठाएको सुनियो, त्यो चिठी संसदमा देखाउन आलटाल गरिरहेको छ’, एमाले नेताहरुले भने, ‘घुमाइफिराई फेरि एसपिपी पास गराउन लागेको हो कि भन्ने सन्देह सरकारका गतिविधिले उत्पन्न भएको छ ।’



source https://www.onlinekhabar.com/2022/08/1182425

राष्ट्रपतिसँग एमालेका चार नेता : एसपिपीदेखि अग्निपथसम्म छलफल

१३ भदौ, काठमाडौं । नागरिकता विधेयकका बारेमा छलफल गर्न भनेर राष्ट्रपति विद्या भण्डारीले नेताहरुलाई डाके पनि आज सोमबार दिनभर विभिन्न विषयहरु चले ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुलाई अपराह्न भेटेपछि भण्डारीले एमाले नेताहरुलाई साँझ शीतल निवास बोलाएकी थिइन् । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थतासँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा राष्ट्रपति भेट्न पुगेका उपाध्यक्ष सुवास नेम्वाङ रामबहादुर थापा, महासचिव शंकर पोखरेलले झण्डै दुई घण्टा कुराकानी गरे ।

त्यस क्रममा राष्ट्रपतिले भारतीय सैनिक अभियान अग्निपथबारे उठिरहेका विवादबारे जिज्ञासा राखिन् ।

एमाले नेताहरुले गोर्खा भर्तीसँग जोडिएको विषय भएकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा नेपाललाई अहिलेसम्म थाहा नभएकोबारे सरकारसँग सोधेको, तर कुनै जवाफ नपाएको बताएका थिए । उपाध्यक्ष नेम्वाङले अनलाइनखबरलाई बताएअनुुसार यसबारे संसदमै आवाज उठाउँदा पनि सरकारले चित्तबुझ्दो जवाफ नदिनुलाई विपक्षी पार्टीले अनुचित ठानेको छ ।

‘भारतले एकपक्षीय रुपमा अग्निपथ लागु गर्न खोज्दा पनि सरकारको धारणा आएन’ उनले शीतल निवासमा आफूहरुको धारणा उद्धृत गर्दै सुनाए, ‘पछि यो अभियान रोकियो भन्ने पनि सुनियो । तर हामीकहाँ कुनै जानकारी छैन ।’

राष्ट्रपति भण्डारीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपिपीबारे पनि जान्न चाहेकी थिइन् । उनले एमाले नेताहरुसँग यसबारे के भइरहेको छ भनी सोधेकी थिइन् । सरकारले अमेरिकालाई यो अभियानमा नेपाली संलग्नता रोकिएको बारे जानकारी गराउने भने पनि हालसम्म औपचारिक सूचना नपाएकोमा चासो व्यक्त गरेको एमाले नेताहरुले बताए ।

‘हामीले एसपिपीमा नेपाल संलग्न नहुने भनी अमेरिकालाई चिठी लेख्न भनेका थियौं, तर सरकारले कुनै जवाफ दिएन । पछि जवाफ पठाएको सुनियो, त्यो चिठी संसदमा देखाउन माग गरियो, तर आलटाल गरिरहेको छ’, बैठकमा एमाले नेताहरुले भने, ‘घुमाइफिराई फेरि एसपिपी पास गराउन लागेको हो कि भन्ने सन्देह सरकारका गतिविधिले उत्पन्न भयो, हामी अब जनतामाझ यही कुरा लगेर जान्छौं ।’

राष्ट्रपतिले नागरिकता विधेयक छलफलका लागि फिर्ता पठाए नि त्यसको छलफल संसदमा होस् भन्ने आफूले चाहेको, तर सत्ता गठबन्धनले जवाफ फर्काएकोमा गुनासो गरेकी थिइन् । आफूले गठबन्धन नचिन्ने, संसद चिन्ने उनको भनाइ थियो । ‘मैले जुन गम्भीरतासाथ यो विषय उठाएकी थिएँ, त्यसको रेस्पोन्स त्यही अनुरुप हुन सकेन, म दुःखी छु,’ राष्ट्रपतिले भनिन्, ‘मैले २००९ सालयताको विवाद सधैंका लागि रोकिने गरी यो विषय टुंगो लगाउन संसदमा रहेका दलहरुले काम गर्नेछन् भन्ने अपेक्षा राखेको थिएँ । त्यस्तो भएन ।’



source https://www.onlinekhabar.com/2022/08/1182422

एमालेमै फर्किने पूर्वमन्त्री तामाङको घोषणा

१३ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेकपा एमालेमै फर्किने घोषणा गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका तामाङले २०७४ सालको चुनावमा जुन पार्टीको चुनाव चिन्ह्र लिएर लडेको, त्यहीअनुसार प्रस्तुत हुने घोषणा गरेका हुन् ।

तामाङ सुर्य चिन्ह्रबाट लडेर चुनाव जितेका थिए । एमाले विभाजनका बेला नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेपछि उनी प्रदेशको आर्थिक मामिला मन्त्री समेत भएका थिए ।

गठबन्धनले जनताको पक्षमा काम गर्न नसकेको आरोप समेत लगाउँदै भने, अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन । म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु ।’

मन्त्री बन्नकै लागि एमाले छोडेर नेकपा एकीकृत समाजवादी नरोजेको दाबी समेत उनको थियो । प्रदेशसभा सदस्य तामाङसहित नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ १५ गते महेन्द्रनगरमा आयोजना हुने कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको एमाले कञ्चनपुरले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/08/1182419

न्युरोडका ठूला कम्प्लेक्समा महानगरको ‘अपरेसन’

१३ भदौ, काठमाडौं । लत्ता-कपडा, गरगहना, दैनिक घरायसी प्रयोजनका सामान किनमेलको केन्द्र हो न्युरोड । तर, त्यहाँ जानेहरुका लाटि टाउको दुखाइको विषय हुन्छ, पार्किङ स्थलको अभाव र सवारी जाम ।

अस्तव्यस्त बनेको न्यूरोडका पार्किङ र जामको समस्या सुल्झाउन काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वले न्युरोडभित्रबाटै समाधानको उपाय खोजी गर्न थालेको छ । त्यहाँ पनि ठूला व्यापारिक भवनमा रहेका भूमिगत पार्किङमा पनि पसलहरु चलाएपछि यात्रुलाई न्युरोडमा गाडी र मोटरसाइकल पार्क गर्नुपर्ने बाध्यता छ ।

यही जटिलता समाधानका लागि मेयर बालेन साहले भवन निर्माण गर्दाको स्वीकृत इजाजत र नक्साको प्रयोजन विपरीत भूमिगत पार्किङ नगरी पसल चलाउने न्युरोड क्षेत्रका व्यापारिक भवन र त्यहाँका व्यापारीमाथि कारवाही थालेका छन् । न्युरोड क्षेत्रका भूमिगत पार्किङ र गोदाममा हुनुपर्ने स्थानमा चलिरहेका अवैध पसलहरु हटाउन महानगरले सोमबारदेखि अभियान नै सुरु गरेको छ ।

नयाँ बानेश्वरमा स्थानीय व्यवसायीहरुलाई साथ लिएर ६ भदौबाट सुरु भएको अभियानलाई महानगरले न्युरोड क्षेत्रमा प्राथमिकता साथ अघि बढएको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । ‘जहाँ बढी समस्या छ, त्यो पहिला समाधान गर्ने हो,’ उनले भने,’ न्युरोड काठमाडौंको मुटु हो, व्यापारिक केन्द्र हो, अधिक चहलपहल हुने पर्यटकीय क्षेत्र पनि हो । यो बिजनेस हबको पार्किङ र जामको समस्या घटाउन अभियानले न्युरोडमा प्राथमिकता पाएको हो ।’

उनका अनुसार बानेश्वर, दरबारमार्ग र न्युरोड क्षेत्रमा सवारीको व्यवस्थापन जटिल छ । त्यसमध्ये पनि न्युरोड क्षेत्रको जटिलता ‘अपरेसन’ गरिहाल्नुपर्ने अवस्थामा पुगिसकेको महानगरको निष्कर्ष छ ।

सोही कारण स्थानीय घरधनी र व्यवसायीको सहयोग र उपलब्ध स्रोत साधनको उपयोग गरेरै समस्या घटाउन बेसमेन्टहरुलाई नक्साअनुसारको प्रयोगका लागि बाध्यकारी बनाउन लागिएको शाहले बताए ।

ठूला कम्प्लेक्समा अप्रेसन

यो अभियानअनुसार महानगरको टोलीले आइतबार न्युरोड र वसन्तपुर क्षेत्रको ठूला भवनहरुमा बेसमेन्टहरुमा केमा कसरी प्रयोग भइरहेको छ भनेर स्थलगत अनुगमन गरेको थियो ।

मखनको सुरज अर्केडमा विहान साढे १० बजे नै महानगरको टोली पुगेको थियो । महानगरको टोली त्यहाँ पुग्दा बेसमेन्टमा पसल चलाइरहेका अधिकांश व्यापारी सटर बन्द गरेर भवनको बाहिर जम्मा भइसकेका थिए । सुरज अर्केडको बेसमेन्टमा चस्मा र कपडा पसलहरु थिए ।

महानगरको टोली पुगेर ती पसलहरुबाट सामान हटाउन निर्देशन दियो । तर, कतिपय सटरमा ‘पसल बन्द छ’ लेखेर व्यापारी त्यहाँबाट हिंडिसकेका थिए । महानगर प्रहरीले तुरुन्तै सामन निकाल्न सुरु नगरे आफैंले हटाउने बताएपछि व्यापारीहरु हतार-हतार समान पोको पार्न दौडिए । व्यापारीले भटाभटी सामान बाहिर निकल्न थालेपछि टोलीले २ जना नगर प्रहरी जवानलाई निरीक्षण गर्ने जिम्मा दियो ।

त्यसपछि सुरज अर्केड वरपरको ३ वटा ठूला भवनहरु चन्द्र महल, चन्दा सपिङ कम्प्लेक्स र मखन कम्प्लेक्समा पनि महानगरको टोली पुग्यो । त्यहाँ पनि बेसमेन्टमै कपडा पसल चलाइरहेको भेटिएपछि टोलीले तुरुन्तै हटाउने काम थालि हाल्न निर्देशन दियो । महानगरपालिकाले बल प्रयोग हुने बताएपछि अधिकांश व्यवसायीहरुले सामान हटाउन तयार भएका तिए । केही व्यवसायीहरुले सामान प्याकिङ गर्न नमानेपछि महानगरपालिकाले प्रत्यके भवनमा नगर प्रहरी खटाएको थियो ।

टोलीले हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ‘बसन्तपुर प्लाजा’को बेसमेन्टमा पनि प्रयोजनविपरीत पसल चलाइरहेको भेटायो । नक्सा विपरीत पार्किङको सट्टामा व्यवसाय चलाएको भन्दै हटाउन भनेको थियो । सो पसलले तत्कालै सामान पोको पार्न सुरु गरेपछि टोली अघि बढेको थियो ।

विशाल बजारलाई अल्टिमेटम, वीरामा तनाव

चर्चित विशाल बजार भवनको स्थलगत अनुमगनका क्रममा बेसमेन्टमा पनि पसलहरु चलाएको भेटिएको थियो । काठमाडौं महानगरपालिकाले सो भवनले पनि प्रयोजन विपरीत पसल चलाएको हुनसक्ने आशंका जनाएको छ । अनुगमन टोलीले सो भवनको नक्सा २४ घण्टाभित्रमा महानगरपालिकामा पेश गर्न निर्देशन दिएको छ । विशाल बजार कम्पनीका अधिकारीहरुले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको भाडामा लगाएको दावी गरेका थिए । तर, नक्साअनुसार विशाल बजारको भुईंतल्लामा पनि पार्किङ हुनसक्ने महानगरको अनुमान छ ।

अन्यत्र कतै अवरोध सामना गर्नु नपरेपनि न्युरोडको वीरा कम्पलेक्सको बेसमेन्टमा रहेको पसलेहरु भने महानगरको टोली माथि खनिए । सटर तानेर केहीबेर महानगरको टोलीलाई भित्र छिर्न समेत दिएनन् ।

व्यवसायीहरुले एकजुट भएर  महानगरको कार्यशैलीको विरोध गरेका थिए । उनीहरुले पसल हटाउन नदिने अडान लिएपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो ।

व्यवसायी सहमत नभएपछि महानगरको टोलीले भवनका घरधनी राजेश श्रेष्ठसहितको टोलीसँग छलफल गरेको थियो । महानगरपालिका र वीरा कम्प्लेक्सबीच नक्सामा उल्लेख भएअनुसार नै बेसमेन्टलाई गोदाम (स्टोर)का रुपमा प्रयोग गर्ने लिखित सहमति भएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे सहमतिअनुसार बेसमेन्ट प्रयोग भए/नभएको नियमित अनुगमन हुने बताएर वीरा कम्प्लेक्सबाट बाहिरिएका थिए ।

आफैं हटाउने पनि भेटिए

महानगरपालिकाले अनुगमन गरिरहँदा न्युरोडकै केही ठूला व्यापारिक भवनहरुले आफैं बेसमेन्टबाट पसल हटाइरहेको समेत भेटिएको थियो ।

कोजी कम्प्लेक्समा महानगरपालिकाको टोली पुग्दा व्यापारीहरु आफैं सामान पोको गरिरहेका थिए । केशा प्लाजाले पनि बेसमेन्टमा रहेको व्यवसाय हटाएर पार्किङ खुला गर्न तयारी गरिरहेको भेटिएको थियो ।

महानगरपालिकाले १ साउनमा ३५ दिने सूचना जारी गरेर भवनको नक्सा पास गरेअनुसार नै बेसमेन्टको संरचनाहरु प्रयोग गर्न निर्देशन दिएको थियो ।

त्यसअनुसार बानेश्वर क्षेत्रबाट सूरु भएको अभियान अहिले वडा कार्यालयहरुको समन्वयमा हरेक वडामा विस्तार गर्न तयारी हुँदैछ ।

नक्सा विपरीत प्रयोग भएका भूमिगत संरचनाका व्यवसायहरु नगर प्रहरीले तुरन्तै हटाउने प्रहरी प्रमुख पाण्डे बताउँछन् ।

‘हटाउन निर्देशन दिइएका पसलहरुको नियमित निरीक्षण हुन्छ,’ उनले भने । यो सडकमा मोटर पार्किङ गराएर व्यापारिक भवनहरुमा किनमेल गर्न छिर्नुपर्ने अवस्था गर्ने अभियान भएको महानगरका अधिकारीहरू बताउँछन् ।
तस्वीर :चन्द्र आले 



source https://www.onlinekhabar.com/2022/08/1182408

वडाबाट राष्ट्रिय परिचयपत्रदेखि, एम्बुलेन्स र शववाहन नि:शुल्क

१३ भदौ, काठमाडौं । गत वैशाखामा भएको स्थानीय तहको निर्वाचन पछि कीर्तिपुर नगरपालिकको सय दिन पुगेको छ । सय दिनमा कीर्तिपुरले केहि नमुना काम गरेको दाबी गरेको छ ।

नगरपालिकाले सय दिनमा गरेको कामहरु सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रगति विवरण अनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने वासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख रहेको छ ।

यस्तै नगरपालिकाले प्रत्येक वडामा २/२ वटा राष्ट्रिय परिचय पत्रको लागि केन्द्र स्थापना गरेको नगर प्रमुख राजकुमार नकर्मीले बताए । उनले नगरपालिकाले एम्बुलेन्स र शववाहन पनि निशुल्क गरेको बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/08/1182403

टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन

१३ भदौ, जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको छ ।

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको कार्यालयका ज्ञापन समेत बुझाएका छन् ।

टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक राजेश यादवले टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने बताए ।

टिकटकका कारण यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने किसिमका गतिविधिहरु बढन थालेपछि चिन्ताको विषय भएको उनले बताए ।

 



source https://www.onlinekhabar.com/2022/08/1182400

‘बाघ बढ्दा खुसी हुनेसँग मेरा केही प्रश्न छन्’

रेडियो र टीभीबाट बाघको संख्या बढेको खबर मैले पनि सुनें । बाघ बढेकोमा सामाजिक सञ्जाल फेसबुकमा बाघको तस्वीर पोष्ट गरेर खुसी साटासाट गरेको पनि देखें । काठमाडौं र शहर-बजारमा बस्ने मानिस जसलाई वनजंगलसँग कुनै साइनोसम्बन्ध नै छैन उहाँहरूका लागि बाघ बढेको ठिकै होला । बाघको संख्या बढ्दा उहाँहरूको तलब-सुविधा पनि बढ्छ होला । तर, हाम्रो गाउँको अवस्था फरक छ । बाघको संख्या बढ्यो भनेपछि मानिस डराएका छन् ।

राप्ती सोनारी गाउँपालिकामा मात्र गत वर्ष बाघको आक्रमणमा परेर पाँच जनाको ज्यान गयो । अब झन् हामीले कतिलाई गुमाउनुपर्ने हो भनेर मानिसमा त्रास छ । अब कसरी वनमा गएर दाउरा र घाँसपात गर्ने हो भन्ने डर मानिसमा छ । कसलाई बाघले कतिबेला खाने हो, बस्तुभाउ के हुने हुन् भन्ने चिन्ता छ हामीलाई ।

बिहान जंगलमा गएर दाउरा नल्याए साँझ हाम्रो चुल्होमा आगो बल्दैन । त्यो हाम्रो दुःख काठमाडौंमा बसेर बाघको संख्या गन्ने मान्छेलाई के थाहा ! जसले बाघ बढ्यो भनेर खुसी मनाइरहनुभएको छ, उहाँहरू र सरकारका मानिसलाई मेरा केही प्रश्न छन् ।
तपाइँहरू पहिला एकपटक हाम्रो गाउँमा आएर हामीले जस्तै दिनचर्या बिताउनुस् अनि बल्ल थाहा हुन्छ बाघ बढेर के भएको छ भन्ने ? हामी यो देशको जनता हो कि होइन ? यदि हो भने हाम्रो बाँच्ने अधिकार छैन ? कि त हामीलाई दाउरा-घाँस यहीं गाउँमा उपलब्ध गराएर वनमा जानुपर्ने हाम्रो बाध्यता अन्त्य गरिदिनुपर्‍यो । नभए बाघकै कारण हाम्रो दैनिक जीविकोपार्जनको काम प्रभावित हुनुभएन ।

वनमा जानुपर्ने हाम्रो रहर हो र ? हामीलाई रहर छैन । बाध्यताले वनमा घाँस-दाउराका लागि गएका हौं । सबै मानिसलाई रोजगारी दिनुभयो भने हामी अर्कै काममा व्यस्त हुन्छौं । हाम्रो जंगल जानुपर्ने बाध्यता अन्त्य हुन्छ । हामी ग्याँस किनेर पकाएर खान्छौं । बिहान काममा जान्छौं । साँझ फर्केर आउँछौं । हामीलाई वनमा जाने फुर्सद नै हुन्न ।

हामी बाघ विरोधी होइनौं । तर, बाघ बढाएर सरकारले हामीलाई भोको राख्ने प्रयास गर्दैछ । अहिले राप्ती सोनारीको वैजापुरमा मानिसले गाईबाख्रा बिक्री गरेर गोठ रित्याउन थालेका छन् । गाईबाख्रा बिक्री गरेर जीविकोपार्जन चलेको थियो । अब हामीहरूले जीविकोपार्जन कसरी गर्ने ? बाघ बढायौं भन्नेहरूले हाम्रा समस्यामा ध्यान दिने कि नदिने ? हामीलाई त पाँच सय, हजारको पनि महत्व हुन्छ । खसी-बोका, बाख्रा, गाई-गोरु बिक्री गरेर पैसा आउँथ्यो र केटाकेटीले पढ्न पाएका थिए । अब वनमै जान नसक्ने अवस्था भएपछि हामीलाई बाँच्न गाह्रो भयो ।

हामी पहिला पर्सोना गाउँमा बस्थ्यौं । त्यो अलि जंगलको नजिक र बाघको डर भएपछि हुलाकी राजमार्गको छेउमा बसाइँसराइ गरेर आएका हौं । हामी जस्तै अरू दुई परिवार पनि बाघकै कारण बसाइँ सरेर आउनुभएको छ ।

हामी बसेको ठाउँ निकुञ्ज होइन, सामुदायिक वनको क्षेत्र हो । विगतमा वन संरक्षण गरे हामीलाई नै घाँस-दाउरा गर्न सजिलो होला भनेर हामीले जोगाएको वन हो । तर, अब अहिले हामी आफैं वनमा जान नसक्ने अवस्था भयो ।

हामी निकुञ्जमा गएका छैनौं । ठिकै छ, निकुञ्जमा बाघ पाल्नुस् त्यसमा हाम्रो विरोध छैन । तर, हामीले हुर्काए, बढाएका वनमा बाघ आएर हामी नै बाघको आहारा बन्नुपर्ने र हाम्रो जीविकोपार्जन नै बन्द हुने अवस्था आएपछि त हामी कसरी सहेर बस्न सक्छौं र ?

जीविकोपार्जनमै समस्या आउन थालेपछि मानिसमा आक्रोश बढेको छ । यहाँका स्थानीय सबै नै बाघको विरोधमा लागेपछि सरकारले कसरी बाघ पाल्न सक्छ ? वन-जंगल जान नपाएकै कारण मान्छेको साँझ-बिहानको छाक टार्न नै समस्या हुन थालेपछि निकुञ्ज कार्यालय घेर्न जाऊँ भन्ने कुरा पनि उठेको थियो ।

अहिलेसम्म त मानिसले सहेर बसेका छन् । अब जनताले सधैंभरि यसरी कति सहेर बस्न सक्छन् र ? हामीलाई बिहान-साँझ बाल्ने दाउरा भएन र जीविकोपार्जनका लागि आम्दानीको स्रोतको व्यवस्था गरिएन भने हामी सधैंभरि सहेर बस्न सक्दैनौं । गाउँले सल्लाह गरेर केही न केही गर्छौं ।

(राप्ती सोनारी गाउँपालिका-४, वैजापुर बाँकेकी स्थानीय निर्मला सिंह ठकुरीसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2022/08/1181811

Sunday 28 August 2022

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

१२ भदौ, काठमाडौं । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-बे । तर पछिल्लो समय प्रवेशद्धार नै छाकिने गरी पसल कबलहरु राखेकाले यो व्यापारिक थलो झै बनेको थियो । पैदलयात्रीलाई हिड्नै गाह्रो थियो ।

आइतबार कारठमाडौं महानगरपालिकाले अबैध संरचना बनाएर राखेको पलसहरु हटाएको छ । प्रवेशद्धारमा बनाइएका अनाधिकत संरचनाहरु हटाएको छ ।

सब-वेको मुखमा फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचनाबारे बि्रफिङ गरेलगत्तै मेयर बालेन साहले यो संरचना हटाउन निर्देशन दिएका थिए ।

वडाध्यक्षको त्यो बदमासी..

यो सब-वे कसरी अतिक्रमण गरेर व्यापारिक ढंगले प्रयोग गरियो भन्ने थाहा पाउन २० वर्षअघि फर्किनुपर्छ ।

३१ असार, २०५९ मा महानगरले सब-वेमा भाडामा लगाउने सम्झौता गरेको थियो । महानगरका एक अधिकारीका अनुसार तत्कालीन मेयर केशव स्थापित विदेश भ्रमणमा जाँदा तत्कालीन वडा नम्बर ३० (हाल २७) का वडाध्यक्ष चिनियाँमान बज्राचार्यलाई निमित्त मेयरको जिम्मेवारी दिएर गएका थिए ।

बज्राचार्य भने २०५४ सालमै महानगरपालिकाले आफूलाई सब-वे सञ्चालनको जिम्मा दिएको र त्यसअनुसार ठेक्का लगाएको दाबी गर्छन् । त्यतिबेला सब-वेमा पसल चलाउन आउन कोही तयार नहुने अवस्थाका बीचमा सो सम्झौता भएको उनको दाबी छ ।

पूर्व मेयर स्थापित भने २०५९ अघि नै सब-वे भित्र पसलहरु चलेको बताउँछन् । तर, सब-वेभित्र ठेक्काबारे आफू जानकार नरहेको उनले बताए ।

बज्राचार्यले आफूसँग निकट ढोकाबहाल निवासी राजु श्रेष्ठलाई यो सब-वेको ठेक्का दिलाएका थिए । सब-वेभित्रका ७ वटा सटर प्रयोग गर्न भएको सम्झौतामा सब-वेको वाषिर्क भाडा १ लाख ४४ हजार रुपैयाँ तोकिएको थियो । २५ वर्षका लागि भएको ठेक्कामा २ देखि ५ वर्षभित्र वाषिर्क ५ प्रतिशतका दरले, ६ देखि १० वर्षसम्म ६ प्रतिशतका दरले र ११ देखि १५ वर्षसम्म ८ प्रतिशतका दरले, १६ देखि २० वर्षसम्म २० प्रतिशतका दरले र २० देखि २५ वर्षसम्म १५ प्रतिशतका दरले वाषिर्क रुपमा भाडा बढाउने उल्लेख थियो ।

सम्झौताअनुसार सब-वेभित्र बत्ती र टेलिफोन प्रवन्ध गर्ने र सब-वेको पर्खाल विज्ञापनका लागि प्रयोग गर्न पाउने जस्ता विषय करारमा थिए । साथै वडाध्यक्ष बज्राचार्यले यो करारनामा श्रेष्ठबाट २५ वर्षसम्म सब-वेको प्रयोग खोस्नै नसक्ने बुँदा राखिदिए । ‘राजनीतिक परिवर्तन र अन्य कुनै कारणले यो करारमा असर पर्ने छैन,’ १० नम्बर बुँदामा लेखिएको थियो ।

यहीबुँदाले बलियो बनेका ठेकेदार श्रेष्ठले सम्झौता विपरीत संरचना थपे । सब-वेको मुखमा ३ वटा सटर बनाए । भित्र पनि व्यापारिक प्रयोजनका लागि बनाइएका सटरको अघिल्लो भागमा दराजहरु हालेर पसल राख्न सक्ने गरी भाडामा लगाए । ‘महिनामै यहाँका सटर-पसलबाट ७-८ लाख रुपैयाँ उठाइँदै थियो,’ महानगरका एक अधिकारी भन्छन्, ‘तर ठेकदारले वर्षमा ४-५ लाख रुपैयाँ जति तिर्दा हुन्छ, उसको वर्षको कमाइ सब-वेबाटै करोड नजिक पुग्छ ।’

२०५९ पछि स्थानीय तह जनप्रतिनिधिविहीन भएका बेला महानगर कर्मचारीले चलयो । मुलुक संघीयतामा गएपछि स्थानीय सरकार आयो, २०७४ को निर्वाचनमा मेयर बनेका विद्यासुन्दर शाक्यले पनि सब-वे खुलाउन रुची देखाएनन् । महानगरपालिका स्रोतका अनुसार यसबारे ५ पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी पर्‍यो, तर खासै चासो दिएन ।

३० वैशाखको चुनावमा काठमाडौंको मेयर निर्वाचन बालेन शाहले भने अवैध संरचना हटाएको छ ।

पछिल्लो दिनमा अण्डरग्राउण्ड पार्किङमा बनेका अवैध संरचनाहरु हटाउने अभियान चलाएको महानगरको नगरप्रहरीले आइतबार सब-वे भाडामा लगाउने सम्झौता विपरित थपिएका सबै संरचनाहरु हटाएको छ ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सब-वेमा अनधिकृत रुपमा सञ्चालन भइरहेका २५-३० वटा पसल हटाइएको छ । ‘सव-वेको भर्‍याङ उक्लने, ओर्लनेको दायाँबायाँ र बाहिर पनि थप सटर बनाएर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयरज्यूको निर्देशनमा भत्काइएको हो,’ पाण्डेले भने ।

नगर नायब निरीक्षक लोकनाथ चुँडाल नेतृत्वको टोलीले आइतबार बिहान ८ बजे माईकिङ गरेर अनधिकृत पसलका समाना हटाउन निर्देशन दिएको थियो । त्यसपछि नगर प्रहरीको टोलीले मध्यान्हमा गएर पिक, घन प्रयोग गरी संरचनाको केही भाग भत्काएर सामान हटाउन आदेश दिएको थियो । आइतबार साँझ मेयर  बालेन आफैं डोजरसहित पुगेर अवैध संरचना हटाएको छ ।

हेर्नुस् करारनामा



source https://www.onlinekhabar.com/2022/08/1181766

४७ वर्षपछि सरकारी कायम जग्गाको फैसला : भाडामा नलगाउनू, पार्क वा बहुतले पार्किङ बनाउनू

१२ भदौ, पोखरा । ४७ वर्ष लामो कानुनी लडाईँ जितेर पाएको न्युरोडको जग्गा पोखरा उपत्यका नगर विकास समितिले भाडामा लगाउन नपाउने भएको छ । यो जग्गा सुविधासम्पन्न वातावरणमैत्री मनोरञ्जन पार्क वा बहुतले पार्किङ स्थलका रुपमा प्रयोग गर्नुपर्ने जिल्ला अदालत, कास्की ठहर छ ।

२०३२ सालमा न्युरोड खोल्न सरकारले स्थानीयसँग कबुलियतनामा गरेर लिएको ५ रोपनी ४ आना जग्गाको स्वामित्व विवादमा जिल्ला अदालतले १३ असारमा यो जग्गा नगर विकास समितिकै पक्षमा फैसला गरेको थियो ।

हालै तयार भएको फैसलाको पूर्णपाठमा नगर विकास समितिको नाममा आएपनि मुनाफा कमाउने गरी वा अस्थायी तथा स्थायी संरचना निर्माण गरेर लिज वा भाडामा दिन नपाउने निर्देशनात्मक आदेश दिइएको छ ।

पोखरा उपत्यका नगर विकास समिति वा यसका अध्यक्ष महानगरपालिकाका मेयरले कुनै पनि संघसंस्थालाई समेत प्रयोग गर्न दिन पाउने छैनन् ।

तत्कालीन अवस्थामा गरिएको कबुलियतनामा भन्दा विपरीत हुने गरी जग्गाको प्रयोग गर्न नपाउने भन्दै फैसलामा पोखरा उपत्यकाभित्रका बासिन्दा वा आगन्तुक, पर्यटक, सेवाग्राही वा उपभोक्ताहरूको सार्वजनिक हित वा उपभोगे लागि आवश्यक पर्ने सुविधासम्पन्न वातावरणमैत्री मनोरञ्जन पार्क वा रुख, बिरुवा, छाहारी, वाकिङ ट्रेलसहितको पार्क वा बगैंचा बनाउन सकिने भनिएको छ ।

अदालतले अत्याधुनिक प्रविधि वा सुविधासम्पन्न बहुतले वा बहुउयोगी व्यवस्थित पार्किङस्थल नगर विकास समिति, स्थानीय तह आफैँले आफ्नै साधन स्रोत वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारको बजेटबाट मुनाफारहित तरिकाले सार्वजिनक प्रयोग वा उपयोगमा ल्याउने गरी प्रयोग गर्नू-गराउन पोखरा उपत्यका नगर विकास समितिको नाममा आदेशनात्मक फैसला गरेको हो ।

२०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको नेतृत्वमा इञ्जिनियर पदमबहादुर क्षेत्रीले पोखराको भौतिक विकासको योजनाको खाका कोरेका थिए । त्यही खाकाअनुसार अधिग्रहण गरिएको जग्गा अहिले कतै भाडामा लगाउने त कतै राजनीतिक दल र संघसंस्थाहरुलाई सुम्पिने काम भएको छ ।

पोखरा उपत्यका नगर समितिलाई दिइएको जग्गा व्यक्तिले प्रयोग गरिरहेको भन्दै रिट दायर गर्ने परशुराम बरालले अदालतको फैसला प्रगतिशील भएको बताए । ‘त्यो जग्गा पोखरा उपत्यका समितिकै होस् र समितिले कबुलियतनामा अनुसार प्रयोजन गरोस् भन्ने हाम्रो माग थियो,’ बरालले भने, ‘जिल्ला अदालतले हाम्रै पक्षमा फैसला गर्यो । फैसलाको पूर्णपाठ अरु बेला पनि नजिर प्रयोग गर्न सकिने गरी प्रगतिशील हिसाबले आएको छ । अब नगरले संरक्षण र फैसलाअनुसारको काम गरोस् ।’

फैसलाले नगर विकास समिति र महानगरलाई जनताको पक्षमा काम गर्न निर्देशनात्मक आदेश गरेको उनी बताउँछन् ।

के हो जग्गा विवाद ?

२०३२ सालमा पोखराको गलैंचा कारखाना भनेर चिनिने अहिलेको सभागृहचोकदेखि चिप्लेढुंगासम्म सडक खुल्ने योजना अगाडि बढ्यो । अहिलेको न्युरोडको त्यो बेला ट्रयाक खोल्दा ल्याण्ड पुलिङको अवधारणा अपनाइएको थियो ।

व्यक्तिको जग्गा लिएर सडक निर्माण गर्ने र त्यसबापट व्यक्तिलाई जग्गा नै फिर्ता गर्ने अवधारणाअनुसार पोखरा न्युरोडमा ३ सय मिटर जग्गाको कबुलियतनामा गराइयो । बीचको १ सय फिटको सडक बनाउने र दाँयाँ/बाँया १/१ सय मिटर घडेरी व्यक्तिलाई दिने कबुलियत नामा भएको थियो । २०३२ भदौ २३ गते न्युरोड खोल्न ४१ जनाले यसरी कबुलियत नामा गरेका थिए ।  ४० जना जग्गा धनीले कबुलियतना अनुसार जग्गा दिए ।

स्थानीय करुणानिधि कोइरालाले भने जालसाँची गर्दै भाइ राजेन्द्रनिधिसँग संयुक्त दर्ता गरेर १० रोपनी जग्गामध्ये आधाभन्दा धेरै २०३७ मंसिर १८ गते बिक्री गरेका थिए ।

पोखरा उपत्यका नगर विकास समितिलाई बाटोका लागि दिने जग्गा पनि नदिएर मुद्धा मामिला गरेका थिए । पोखरा उपत्यका नगरकै हुने भनिएको जग्गासम्बन्धी सोही मुद्धा करुणानिधि, राजेन्द्रनिधि हुँदै दाजुभाइ र अहिले चौथो पुस्तासम्म आइपुगेको छ । कबुलियतनामा गरिएको जग्गा समितिले दाबी गरेपछि राजेन्द्रनिधि, सकुन्तला र भरतराज कोइरालाले त्यो जग्गा कोइराला परिवारकै हुनुपर्ने दाबी गर्दै कानुनी प्रक्रियामा गएका थिए ।

२३ भदाै २०३२ को कबुलियत शर्तनामा अनुसार १० रोपनी १२ आना जग्गा तत्कालीन पोखरा नगर योजना कार्यान्वयन समितिको नाउँमा रजिष्ट्रेसन पारित गरी हक हस्तान्तरण गर्नुपर्नेमा आधाभन्दा बढी ५ रोपनी ७ आना ३ दाम जग्गा मोहोडा हुने गरी बिक्री फाइदा लिने काम गरेको जिल्ला अदालत कास्कीले गरेको फैसलाको पूर्णपाठले भनेको छ ।

बाँकी जग्गा पनि कबुलियत शर्तनामा अनुसार पारित गरी दिन नपरोस् भनेर विभिन्न मुद्दा मामिला गरी बसेको देखिएकाले विवादित कित्ता नम्बर १६६८ को ५ रोपनी ४ आना जग्गा फिराद दाबी बमोजिम सरकारी कायम हुनेगरी वादी पोखरा उपत्यका नगर विकास समितिको नाउँमा दाखिल खारेज नामसारी गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाइ लिन पाउने ठहर अदालतले गरेको छ ।



source https://www.onlinekhabar.com/2022/08/1181761

एमाले बैठकको ५ सन्देश : अन्तर्घात रोक्दै एक्लै भिड्ने

१२ भदौ, काठमाडौं । चुनावको तयारीमा केन्द्रित नेकपा एमालेको केन्द्रीय तहका सबै कमिटीको बैठक सकिएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र निर्वाचन परिचालन कमिटीको बैठकले सम्पूर्ण रूपमा पार्टी पंक्ति चुनावमा होम्ने निर्णय गरेको छ ।

चुनावी एजेण्डा, उम्मेदवार चयनको मापदण्ड, टिकट वितरणको प्राधिकार र निर्वाचन परिचालन सचिवालय समेत एमालेले टुंग्याएको छ । ‘यो बैठकबाट एमाले झनै एकतावद्ध भएको सन्देश गएको छ, अब हामी गठबन्धनले खडा गरेको हरेक अवरोध तोड्दै बहुमतको सरकार बनाउने गरी अगाडि बढ्छौं’, सचिव योगेश भट्टराई भन्छन् । बहुमतको सरकार बनाउन एमालेले आफूभित्रको सबै शक्ति र सामथ्र्य प्रयोग गर्ने उनी बताउँछन् ।

चुनावी एजेण्डा र नारा समेटेर घोषणापत्र चाँडै तयार पार्ने पनि एमालेले निर्णय गरेको छ । घोषणापत्रको नारा र चुनावी एजेण्डा पार्टी नेताहरुले दिएको सुझावकै आधारमा तयार पारिने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बताउँछन् ।

कांग्रेस नेतृत्वको गठबन्धन नतोडिने निष्कर्षलाई आधार मानेरै एमालेले राजनीतिक ध्रुवीकरणको एजेण्डा प्रचारमा लैजाने मनसाय बनाएको छ । त्यसो गर्दा कम्युनिष्ट मत तान्न सकिने एमाले नेताहरुको बुझाइ देखिन्छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी र निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटी जम्बो भएकाले अत्यावश्यक काम गर्न ३३ सदस्यीय सचिवालय गठन भएको छ । यसले चुनावी तयारीबारे आवश्यक निर्णय लिनेछ ।

स्थानीय चुनावपछि पहिलोपटक बसेको एमाले बैठकले मुख्यगरी पाँच वटा सन्देश पार्टी पंक्तिलाई दिएको देखिन्छ । यो बैठकबाट एमालेले चुनावी तालमेलप्रतिको आशंका र आन्तरिक खटपट समेत चिर्ने प्रयत्न गरेको छ ।

‘एमालेलाई चुनाव जित्न कसैको साहरा आवश्यक छैन, एक्लै लडेर पनि बहुमत ल्याउन सक्छ । तर त्यस रुपमा भने एकताबद्ध हुन जरुरी छ’ बैठकले दिएको सन्देशबारे केन्द्रीय सदस्य रचना खड्का भन्छिन् ।

अन्तर्घात रोक्न एकताबद्ध बन्ने

नेताहरुका अनुसार, चरणबद्ध बसेको बैठकले पार्टीभित्रको एकतालाई बलियो बनाउन सहयोग पुगेको छ । गएको स्थानीय चुनावमा अन्तर्घात हुँदा पार्टीलाई थप क्षति पुगेको एमाले नेतृत्वले निष्कर्ष निकालेको थियो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा अन्तर्घात छानबिन गर्न समिति बनेको थियो ।

तर त्यो समितिको प्रतिवेदन भन्दा पनि आन्तरिक एकतालाई नेताहरुले जोड दिएका थिए । हरेक बैठकमा लामो–लामो सम्बोधन गरी अध्यक्ष ओलीले एकताबद्ध भएर अगाडि बढ्नु नै अहिलेको आवश्यकता भएको निष्कर्ष सुनाएका थिए ।

‘स्थानीय चुनावमा केही विश्रृङ्खलताहरु देखिएको थियो, केपी ओली नजिककै नेताहरु अन्तर्घातमा उत्रिएको कुरा उठेको थियो’ एक नेता भन्छन्, ‘यो बैठकबाट आगामी चुनावमा त्यस्तो नगर्न सचेत गराइयो ।’

एमालेमा ओलीलाई निरन्तर साथ दिदै आएका, १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगएका र माओवादी केन्द्र छोडेर आएकाहरु गरी तीन अलग पृष्ठभूमिका नेताहरु छन् । तर स्थानीय चुनावमा आफू निकटकै नेताहरुबीच अन्तर्घात भएको निष्कर्षमा ओली छन् । अन्तर्घातकै कारण ६० स्थानीय तहमा पराजित हुनुपरेको ओलीले सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

एक्लै भिड्ने

एमालेको यो बैठकबाट चुनावी तालमेलबारे पनि पार्टी पंक्तिलाई प्रष्ट पारेको छ । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमै गठबन्धनविरुद्ध एमाले एक्लै मैदानमा उत्रने उल्लेख गरेका थिए ।

‘प्रतिवेदनमै कसैसँग तालमेल नहुने भनेपछि त्यतातिर प्रयत्न नै भएन’, एक स्थायी कमिटी सदस्य भन्छन्, ‘समूहगत छलफलमा नेताहरुले वाम तालमेलबारे कुरा उठाएपनि समूह नेताहरुले त्यो कुरा समेटेनन् ।’

केन्द्रीय कमिटीका सदस्यहरुलाई नौ समूहमा विभाजन गरी ओलीको प्रतिवेदन र चुनावी तयारीबारे छलफल गरिएको थियो । त्यसक्रममा वाम तालमेलको प्रयत्न गर्न आवश्यक रहने सुझाव आएको थियो ।

‘बैठकले पाँच दलको गठबन्धन टुट्ने आश सकिएको निष्कर्ष निकाल्यो । किनकी यो गठबन्धनको उद्देश्य आगामी चुनाव हो, त्यो क्लाइमेक्ससम्म जान्छ नै भन्ने हो’, ती स्थायी कमिटी सदस्य भन्छन् ।

०७४ को चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा जितेका एमाले सांसदहरुले वाम तालमेलमा बढी जोड दिएका थिए । अध्यक्ष ओलीलाई पनि सकेसम्म वाम तालमेलमा जोड दिन सांसदहरुले सुझाव दिएका थिए ।

ध्रुवीकरणको जोड

कांग्रेस नेतृत्वको गठबन्धन नतोडिने निष्कर्षलाई आधार मानेरै एमालेले राजनीतिक ध्रुवीकरणको एजेण्डा प्रचारमा लैजाने मनसाय बनाएको छ । त्यसो गर्दा कम्युनिष्ट मत तान्न सकिने एमाले नेताहरुको बुझाइ देखिन्छ । वाम तालमेलका सम्भावना रहँदै महासचिव शंकर पोखरेलले लगातार ध्रुवीकरणबारे अभिव्यक्ति दिएका थिए ।

ध्रुवीकरणको प्रचार गरेर पोखरेलले माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट धु्रवीकरणको प्रतिनिधित्व गर्दैन भन्ने सन्देश दिन खोजेका थिए । ‘वामपन्थी र गैरवामपन्थी ध्रुवीकरणको कुरा लैजाँदा एकीकृत समाजवादीबाट धेरै नेता कार्यकर्ता आउने सम्भावना छ भने माओवादीबाट पनि आउने छन्’, एक पदाधिकारी भन्छन् । तर चुनावपछि भने नयाँ राजनीतिक समीकरण बन्नेमा एमाले आशावादी देखिन्छ ।

कमजोर छैनौं

एमालेले लगातार बैठक राखेर दिन खोजेको चौथौ सन्देश हो– प्रचार भएजस्तो एमाले कमजोर छैन । ओलीले प्रतिवेदन र सम्बोधनमार्फत पनि स्थानीय चुनावको नतिजा बिर्सेर अगाडि बढ्न कार्यकर्तासँग आह्वान गरेका छन् ।

ओलीको जोड छ– स्थानीय निर्वाचनमा अपेक्षाअनुरुप परिणाम नआएकोले पार्टी पंक्तिमा अझै पनि निर्वाचनको धङधङी छ । आरोप, प्रत्यारोप र आपसी आशंका अझै बाँकी छ । यस स्थितिबाट पार्टी पंक्तिलाई मुक्त गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित गर्न जरुरी छ ।

स्थानीय चुनावमा प्राविधिक कारणले दोस्रो हुनु परेपनि जनमतमा पहिलो शक्ति नै रहेको एमालेले निष्कर्ष निकालेको छ । यसबाट कार्यकर्ता र मतदातालाई उत्साहित बनाउने प्रयत्न एमालेले गरेको छ । ‘गठबन्धन हुँदा पनि एमालेले ४०/४५ सिट जित्छ, समानुपातिक जोड्दा हामी झण्डै अहिलेकै हैसियतमा रहन्छौं’, एक नेता भन्छन् । यही मनोविज्ञान कार्यकर्ता पंक्तिमा लैजाने एमालेले निष्कर्ष निकालेको छ ।

राजनीतिक प्रतिवेदनमा भने ओलीले एमालेको अहिलेको हैसियतमा १६ प्रतिशत सुधार गर्नुपर्ने  उल्लेख गरेका छन् । ‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करीब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने’, ओलीको प्रतिवेदनमा छ ।

भावी प्रधानमन्त्री ओली

र, एमाले बैठकले टुंग्याएको महत्वपूर्ण निर्णय हो– ओली नै भावी प्रधानमन्त्री । यसरी संस्थागत रुपमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार टुंग्याएर जाने प्रचलन एमाले थिएन ।

तर शनिबार केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले भावी प्रधानमन्त्रीमा ओलीको नाम प्रस्ताव गरे, हलबाट अनुमोदन भयो । यो निर्णयलाई एमाले नेताहरुले स्वाभाविक भनेका छन् । ‘अहिले सम्पूर्ण रुपमा हामी केपी ओलीकै नेतृत्वमा जान्छौं । तर केन्द्रीय कमिटीको बैठक नै अन्तिम होइन, संसदीय दलको चुनाव फरक प्रक्रिया हो’, एक एमाले नेता भन्छन् ।

ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्दा विपक्षीहरुमाथि दबाव पुग्ने बुझाइ एमाले देखिन्छ । ‘यसले विपक्षीहरुमाथि दबाव बढ्नेछ । अहिलेका नेताहरु मध्ये जनमतलाई आकर्षित गर्न सक्ने केपी ओली नै हुन्’, ती नेता भन्छन् ।

अरू दललाई उछिन्ने गरी चुनावमा होमिएको एमालेले यो बैठकबाट टुंग्याएको अर्को महत्वपूर्ण निर्णय हो– टिकट वितरणको प्राधिकार सचिवालयलाई दिने । यो निर्णयअनुसार, अब एमालेको टिकट वितरणबारे अरु कमिटीमा छलफल हुने छैन ।

तर टिकट वितरणको सैद्धान्तिक विषय भने केन्द्रीय कमिटी बैठकबाट टुंग्याएको छ । निर्णयअनुसार, सामान्यतयाः अहिलेका समानुपातिक सांसद फेरि त्यही प्रणालीमा दोहोरिने छैनन् भने राष्ट्रियसभाका सदस्य र स्थानीय चुनावमा पराजितहरु पनि उम्मेदवार बन्ने छैनन् । विशेष गरी चुनाव जित्ने व्यक्तिलाई टिकट दिनुपर्नेमा एकमत देखिएको एमालेले युवा र नयाँ अनुहारलाई प्राथमिकतामा राख्नेछ ।

 



source https://www.onlinekhabar.com/2022/08/1181757

रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु

१२ भदौ, दाङ । रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् ।

जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।

सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पछि प्रहरी र स्थानीयले एक छोरीलाई उद्धार गरे पनि दुई जनालाई भने बचाउन नसकिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घटनाबारे थप विवरण आउँन बाँकी भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/08/1181758

गठबन्धन गर्दा माओवादीका यी नेताको चुनाव क्षेत्र के होला ?

१२ भदौ, काठमाडौं । २०७४ सालमा नेकपा एमालेसँग मिलेर प्रतिस्पर्धा गरेको नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितको गठबन्धनमा रहेर प्रतिस्पर्धा गर्दैछ ।

सिट भागवण्डाका लागि गठबन्धनको कार्यदलमा लगातार बैठकहरु चलिरहेको छ, तर भागवण्डा मिल्न सकेको छैन । एउटा निर्वाचन क्षेत्रमा गठबन्धनभित्रैका एक भन्दा बढी दलको दावी रहेका कारण सिट बाँडफाँटमा समस्या देखिएको छ ।

२०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेका एक दर्जन चुनाव क्षेत्रमा यस पटक कांग्रेस र एकीकृत समाजवादीले पनि दावी गरेका छन् । दलहरुबीच सहमति गर्दा यीमध्ये कुनै क्षेत्र माओवादी केन्द्रले छाड्ने स्थिति आउने नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको भागवण्डाका क्रममा यी नेताले गुमाउन सक्छन् सिट

अग्नि सापकोटा

२०७४ सालमा सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई झण्डै १० हजार मतान्तरले पराजित गरेका थिए ।

तर यसपटक गठबन्धनका दलहरु फेरिएकाले विगतमा प्रतिस्पर्धा गरेकै व्यक्तिसँग सहकार्य गर्नुपर्ने स्थिति आइपरेको छ । यी दुई नेताको क्षेत्र व्यवस्थापन सत्ता गठबन्धनका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

बस्नेतले उक्त क्षेत्रबाट आफूले चुनाव लड्न पाउनुपर्ने दाबी गरेका छन् । हालै सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकमा बस्नेतले आफूलाई उक्त क्षेत्रको टिकट नदिए विद्रोह गरेर भए पनि चुनाव लड्ने चेतावनी दिएका थिए ।

सापकोटा पनि आफूले २०६४ र २०७० सालमा समेत जितेको उक्त क्षेत्र छाड्न चाहँदैनन् । सभामुख भएका कारणले उनले खुलारुपमा त्यस्तो इच्छा जाहेर त गरेका छैनन्, तर निर्वाचन क्षेत्र लक्षित उनका निरन्तरका गतिविधिले उनी त्यो क्षेत्र छाड्न तयार नरहेको बुझ्न सकिन्छ ।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले चुनाव लड्ने, नलड्नेबारे कुनै टुंगोमा नपुगेको बताए । ‘के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भन्नेबारे अहिले नै निक्र्र्योल गर्ने बेला भएको छैन जस्तो लाग्छ’, उनले अनलाइनखबरसित भने ।

शक्तिबहादुर बस्नेत

एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट अघिल्लो पटक नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत निर्वाचित भएका थिए । एमालेसँगको गठबन्धनमा बस्नेतले कांग्रेस नेता राजिवविक्रम शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए ।

माओवादीका शीर्ष नेता भएकाले बस्नेतलाई टिकट दिनैपर्ने बाध्यता एकातिर छ भने अर्कातिर शाहले यसपटक आफूले नै टिकट पाउनुपर्ने दाबीसहित निर्वाचन केन्द्रित गतिविधि गरिरहेका छन् ।

बस्नेत र शाहलाई यहाँ कसरी व्यवस्थापन गर्ने भन्ने टाउको दुःखाइको विषय गठबन्धनलाई हुने छ ।

चक्रपाणि खनाल

२०७४ सालमा माओवादी नेता चक्रपाणि खनाल कपिलवस्तु–१ बाट निर्वाचित भएका थिए । तत्कालीन समयमा भारतका लागि नेपाली राजदूत छाडेर आएका कांग्रेस नेता दीपकुमार उपाध्याय खनालसँग करिब ८ सयको झिनो मतले मात्रै पराजित भएका थिए ।

यसपटक पनि उक्त क्षेत्रमा उपाध्यायले दावी गरेका छन् । खनाल र उपाध्यायमध्ये एकजनामात्र उम्मेदवार हुने अवस्थामा गठबन्धनलाई नेता व्यवस्थापन कठिन बन्ने देखिन्छ ।

राम कार्की

माओवादी केन्द्रका सचिव राम कार्की २०७४ सालमा झापा–१ बाट निर्वाचित भएका थिए । नेकपा एमालेसँगको गठबन्धनमा उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

अहिले कांग्रेससँगै गठबन्धन भएकाले झापा–१ शर्मालाई दिने कि कार्कीलाई भन्ने छलफल चलेको छ । शर्माले आफू झापाबाटै उम्मेदवार बन्ने बताइसकेका छन् । कांग्रेसका महामन्त्री समेत भएकाले गठबन्धनले पनि शर्मालाई नै प्राथमिकता दिन सक्ने सम्भावना पनि छ ।

माओवादी सचिव कार्कीले अघिल्लो पटक पनि शर्मासँग मिलेरै प्रतिस्पर्धा गरेको र यसपटक पनि मिलेरै टुंग्याउने बताए । ‘विश्वप्रकाश र मैले पहिले पनि मिलेरै प्रतिस्पर्धा गरेको हो,’ कार्कीले अनलाइनखबरसँग भने, ‘अब पनि मिलेरै कुरा गर्छौैैं । अहिले त्यहाँको वस्तुस्थितिको आकलन हामीले गरिराखेका कसरी जित्न सकिन्छ भन्नेबारे । त्यसपछि हामी निष्कर्षमा पुग्छौं ।’

झापा–१ आफूले नपाए ओखलढुंगाबाट टिकट पाउनुपर्ने कार्कीले दाबी गरेका छन् । अनलाइनखबरले यसबारे सोध्दा उनले नेपालका जुनसुकै क्षेत्रबाट पनि चुनाव लड्न तयार हुनुपर्ने तर्क गर्दै ओखलढुंगा आफ्नो जन्मथलो समेत भएको बताए ।

हितबहादुर तामाङ

२०७४ सालमा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले नुवाकोट–१ मा कांग्रेस नेता डा. रामशरण महतलाई पराजित गरेका थिए ।

महत स्वयं यसपटक चुनाव नलड्ने मनस्थितिमा भए पनि कांग्रेस प्रवक्ता प्रकाशरण महतले यसपटक उक्त क्षेत्रबाट लड्ने इच्छा देखाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत भएकाले महतलाई टिकट दिनुपर्ने दबाव उनलाई छ । अर्कातिर यो क्षेत्रमा कांग्रेसकै जगदिश्वर नरसिंह केसीले पनि दाबी गरिरहेका छन् । यस्तोमा तामाङले निरन्तरता पाउलान् या नपाउलान् भन्ने चासो धेरैलाई छ ।

अमनलाल मोदी

अघिल्लो चुनावमा मोरङ–४ मा कांग्रेस नेता महेश आचार्यलाई पराजित गर्दै माओवादीका नेता अमनलाल मोदी निर्वाचित भएका थिए ।

यसपटक गठबन्धनले मोदीलाई नै दोहो¥याउँछ वा कांग्रेस नेता आचार्यलाई टिकट दिन्छ भन्ने चासोको बिषय बनेको छ ।

हेमकुमार राई

एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा अघिल्लो पटक माओवादी नेता हेमकुमार राईंले कांग्रेसका पुराना नेता बलबहादुर केसीलाई पराजित गरेका थिए । कांग्रेसका पुराना नेता केसीले यसपटक आफूले नै टिकट पाउनु पर्ने दाबी गरिरहेका छन् ।

यसपटक कांग्रेससँग गठबन्धन गरेको माओवादीले उक्त क्षेत्र पाउला या नपाउला भन्नेमा धेरैको चासो छ ।

हरि अधिकारी

गोरखा–१ मा २०७४ सालमा माओवादी केन्द्रबाट पोलिट्व्यूरो सदस्य हरि अधिकारी निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

गठबन्धनमा यसपटक उक्त क्षेत्र कसले पाउने भन्ने टुंगिएको छैन । माओवादीले भने गोरखाका दुबै क्षेत्रमा दाबी गरेको छ । ‘कांग्रेससँगै सहकार्य हुन्छ’ माओवादी केन्द्र गोरखाका जिल्ला संयोजक लेखबहादुर थापाले भने, ‘प्रतिनिधिसभाका दुई र प्रदेशका २ सिटमा माओवादीको दाबी छ । यसलाई छलफल गरेर टुंग्याउन सकिन्छ ।’

उक्त क्षेत्रमा माओवादीबाट अधिकारी, कृष्ण धिताल, अम्मर तमु, सुशीला सिंखडा लगायत आकांक्षी छन् । कांग्रेसबाट श्रेष्ठका अलवा राजेन्द्र बजगाईं पनि दाबेदार छन्।

सुदन किराती

एक मात्रै क्षेत्र भएको भोजपुरमा अघिल्लो पटक माओवादीका सुदन किराती निर्वाचित भएका थिए । उनले कांग्रेसका उमेशजंग रायमाझीलाई पराजित गरेका थिए । यसपटक किराती र रायमाझी दुबैको दावी छ । गठबन्धनमै रहेको एकीकृत समाजवादीका सचिव राजेन्द्र राईंले पनि भोजपुरबाट प्रतिनिधिसभामा दाबी गरेका छन् ।

टेकबहादुर बस्नेत

एक मात्रै क्षेत्र रहेको सल्यानमा यसअघि माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत निर्वाचित भएका थिए । उनले कांग्रेसका राजेन्द्रकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए । यसपटक उक्त क्षेत्रमा कांग्रेसका नेता शाहसँगै एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला पनि आकांक्षी छन् ।

एमालेसँगको गठबन्धनमा मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा लड्न तयार भएका उनी यसपालि प्रतिनिधिसभाको चुनाव लड्न चाहन्छन् । विशेष गरि बस्नेत र ज्वालाको व्यवस्थापन गर्न गठबन्धनलाई अप्ठ्यारो हुने गठबन्धनका नेताहरु बताउँछन् ।

बिना मगर

अघिल्लो चुनावमा माओवादी केन्द्रकी बीना मगर कञ्चनपुर–१ बाट बिजयी भएकी थिइन् । उनले कांग्रेसका दिवानसिंह विष्टलाई करिब १८ हजारको मनतान्तरले पराजित गरेकी थिइन् ।

यो क्षेत्रमा माओवादीले आफूलाई बलियो दाबेदार ठानेको छ भने कांग्रेसका विष्टले पनि दाबी दोहोर्‍याएका छन् ।



source https://www.onlinekhabar.com/2022/08/1181505

लामखुट्टे नियन्त्रण गर्न भन्दै युवा संघले लगनखेल क्षेत्रमा छर्कियो विषादी

१२ भदौ, काठमाडौं । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो ।

फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका नाममा विषादी छर्किँदा सर्वसाधारण भने प्रभावित भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु



source https://www.onlinekhabar.com/2022/08/1181747

Saturday 27 August 2022

एसिया कपमा श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

१२ भदौ, काठमाडौं । अफगानिस्तानले एसिया कप क्रिकेटमा शनिबार श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय मैदनजमा बलिङ र ब्याटिङ दुवैमा अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले शानदार जित निकाल्दै समूह ए मा २ अंक जोडेको छ ।

अफगानी बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई १९.४ ओभरमा १०५ रनमा अलआउट गरेको थियो ।

त्यसपछि अफगानिस्तानले १०.१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ओपनरद्वय हजरतुल्लाह जजाई र रहमानुलल्ह गुर्बाजले पावर भित्रै ८३ रनको साझेदारी गर्दै जित सहज बनाएको थिए ।

गुर्बाजले सर्वाधिक ४० रन बनाए भने जजाई ३७ रनमा अविजित रहे । इब्राहिम जद्रानले १५ रन जोडे । श्रीलंकाका वानिदु हसरंगाले एक विकेट लिए ।

त्यसअघि फास्ट बलर फजल फारुकी र स्पीनरहरु चम्केपछि श्रीलंका दुई बल अगावै अलआउट भयो । श्रीलंकाका लागि भानुका राजपक्षले सर्वाधिक ३८ र चमिका करुणारत्नले ३१ रन जोडे । धनुस्का गुनतिलकाले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्  ।

अफगानिस्तानका लागि म्यान अफ दी म्याच फारुकीले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए ।

कप्तान मोहम्मद नावी र मुजिव उर रहेमानले २-२ विकेट लिए । नावीले चार ओभरमा १४ र मुजिवले २४ रन खर्चिए । रासिद खानले विकेट नलिएपनि चार ओभरमा किफायती बलिङ गर्द जम्मा १२ रन खर्चिए । नभिन उल हकले १ विकेट लिए ।

एसिया कपमा आइतबार दुई चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्नेछन्।



source https://www.onlinekhabar.com/2022/08/1181143

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



source https://www.onlinekhabar.com/2022/08/1181144

हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन जित

१२ भदौ, काठमाडौं । एर्लिङ हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि प्रिमयर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा सिटी आधा घण्टामै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । जहाँ हालान्डले २० मिनेटभित्रै ह्याट्रिक गरे ।

एतिहाड स्टेडियममा चौथो मिनेटमै सिटीका जोन स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो । २१ औं मिनेटमा जोचिम एण्डरसनले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे ।

क्रिस्टलले पहिलो हाफको अग्रता कायम राख्न सकेन भने सिटी दोस्रो हाफमा खेलमा फर्कियो ।

खेलको ५३ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि हालान्डले खेलको ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

हालान्डले ७०औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने सिटीलाई ४-२ को जित दिलाए ।

जितपछि सिटीले चार खेलबाट १० अंक जोडेको छ । क्रिस्टल प्यालेसको चार खेलबाट ४ अंक नै छ ।



source https://www.onlinekhabar.com/2022/08/1181136

बर्नमाउथको पोष्टमा लिभरपुलको ९ गोल

१२ भदौ, काठमाडौं । लिभरपुलले प्रिमियर लिग फुटबल इतिहासकै सबैभन्दा ठूलो जितको कीर्तिमान बराबरी गर्दा शनिबार बर्नमाउथलाई ९-० ले पराजित गरेको छ ।

यस सिजन राम्रो सुरुवात गर्न नसकेको लिभरपुलले शनिबार घरेलु मैदान एनफिल्डमा गोलको वर्षा गर्दै सिजनको पहिलो जित समेत हात पारेको छ । सुरुवाती दुई खेलमा बराबरी खेलेको लिभरपुल अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो ।

लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई-दुई गोल गरे । यस्तै हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, भर्जिल भान डाइक र फाबियो कार्भाल्होले एक-एक गोल गरे ।

बर्नेमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल गरे ।

लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल थपेको थियो ।

पहिलो जितपछि लिभरपुलले चार खेलबाट ५ अंक जोडेको छ ।

यसअघि म्यानचेष्टर युनाइटेडले इस्बिच टाउन र साउथह्याम्पटनलाई तथा लेस्टर सिटीले साउथह्याम्पटनलाई नै समान ९-० ले हराएको थियो ।



source https://www.onlinekhabar.com/2022/08/1181133

स्टर्लिङको २ गोलमा चेल्सीलाई राहत

१२ भदौ, काठमाडौं । रहिम स्टर्लिङले दुई गोल गरेपछि चेल्सीले एक खेलाडी कम भएर पनि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ ।

यसै समयरमा म्यानचेष्टर सिटीबाट चेल्सी आएका स्टर्लिङले चेल्सीका लागि लिगमा पहिलो गोल गरेका हुन् ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा २८ औं मिनेटमा कोनोर गल्लाघेर रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

तर चेल्सीले त्यसका बावजुत पनि जित निकाल्यो र नायक बने स्टर्लिङ ।

स्टर्लिङले ४७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६३ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले २-० को अग्रता बनायो ।

लेस्टरका लागि ६६ औं मिनेटमा हार्भे बार्न्सले एक गोल फर्काए ।

जितपछि चेल्सी चार खेलबाट ७ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । चार खेलबाट लेस्टरको एक अंक मात्र छ ।



source https://www.onlinekhabar.com/2022/08/1181130

ठेकेदारको लापरवाहीका कारण रविनको ज्यान गयो

११ भदौ, पोखरा । ठेकेदार र सरकारको लापरवाहीकै कारण निर्माणधीन सडकको नालीमा खसेर शुक्रबार राति एक बालकले ज्यान गुमाएका छन् । ढक्कन नलगाइ खुलै राखिएको नालीमा बगेर सुन्दर फिडका ११ वर्षीय बालक रविन तिवारीको ज्यान गएको हो ।

म्याद गुज्रिँदा पनि सडक र नालीको काम नसकिंदा एम्बुसजस्तो बनेको सडक शुक्रबार जलमग्न थियो । सुन्दर फिडमा बस्ने रामजी तिवारीका श्रीमती सीता, छोरी सदीक्षा र छोरा रविन आफन्तकोमा तीजको दर खाएर फर्किंदै थिए । आमाको हात समाउँदै हिँडिरहेका ११ वर्षीय रविन चिप्लिएर लडे र निर्माणाधीन सडकको नालीमा परिहाले ।

घार्मीदेखि आएको भलले नाली पुरै पुरिएको थियो । पानीले जलमग्न बाटो काट्ने क्रममा रविन नालीमा खसेर हराएपछि आमा र छोरीले चिच्याए । तर, केही सीप लागेन ।

स्थानीयको सहयोगमा खोजी गर्दा २ घन्टापछिमात्र ५/७ सय मिटर तल नालीको छेऊमा रविन फेला परे । उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दीप सुन्दर फिड लामाचौर सडक खण्ड समयमै निर्माण भएर नालीको काम सकिएको भए दुखद् अवस्था नआउने वडाध्यक्ष अमृत तिमिल्सिना बताउँछन् । ‘समयमै निर्माणाधीन सडक र नाली बनेको भए उनको ज्यान जाने थिएन । सडक अस्फाल्ट गर्ने र नाली निर्माण गरेर ढक्कन (स्ल्याब) हाल्ने काम ढिलाइ भएकै कारण यो घटना घट्यो,’ वडाध्यक्ष तिमिल्सिनाले भने ।

समयमै काम सक्न सम्बन्धित निकायलाई पटक पटक खबरदारी गर्दा पनि सुनुवाई नभएको उनी बताउँछन् । सडकमा नेपाल टेलिकमले फाइबर बिछ्याउन खाल्डा खनेको छ भने पोखरामा निर्माणाधीन जाइकाको खानेपानी आयोजनाले पटक पटक सडक खनेर छोडेको छ ।

‘एकातिर सरकारी निकायमै समन्वय हुन सकेन भने अर्कोतर्फ ठेकेदारले योजना समयमै सकेन,’ वडाध्यक्ष तिमिल्सिनाले भने, ‘जसका कारण बर्सेनि कतै डुबान त कतै दुर्घटना र कतै ज्यानै गुमाइरहेका छन् ।’

सम्झौताअनुसार दीप सुन्दर फिड लामाचौर सडक खण्डको यतिबेला अस्फाल्ट भइसक्नुपर्ने थियो । ७७ साल असार मसान्तमा पोखराका मुख्य सहरी क्षेत्रसँगै यो सडक पनि अस्फाल्ट गर्न करिब ८ करोड रुपैयाँमा शिव शक्ति इन्फोसँग सडक विभागको सम्झौता भएको थियो ।

‘सुरुमा खानेपानीको आयोजनाका कारण अवरोध भयो । पछि ठेकेदार कम्पनीले काम नै नगरेपछि कालोसूचीमा राखेर कारबाही गर्ने भनेका थियौं तर केन्द्रबाटै १ वर्षका लागि म्याद थपियो,’ सडक विभागका रमेशराज पौडेलले भने, ‘अब चुनावले कुनै असर गरेन भने पुससम्म काम सक्छु भनेको छ, तर अझै भर छैन । केन्द्रबाटै ठेक्काको म्याद थपिएपछि हाम्रो केही लागेन ।’

सडक र नाला नबनेका कारण ठूलो पानी प¥यो कि पोखरा–१६ मा घार्की, भुनपुरेको डाँडादेखि लामाचौर हुँदै दीपसम्मै भलबाढी आइपुग्छ । ठाउँ ठाउँमा पानीको निकास नहुँदा र ठेकेदारले सडक त नालीको काम अलपत्र छोड्दा भुनपुरे, घार्मी, अकलादेवीदेखि दीपसम्मैका सडक र बस्तीमा भल होइन, नदी नै बग्ने गरेको स्थानीय पूर्णबहादुर गुरुङले दुखेको पोखे ।

ज्यान निल्ने नाली

लामाचौर क्षेत्रमा बर्खाको भेलमा परेर ज्यान गुमाउने रवीन पहिलो होइनन् । २०७४ कात्तिकमा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै मोटरसाइकलसहित नालीमा खसेका १८ वर्षीय पिजन पुन बेपत्ता भए । ढक्कन खुलै भएको नालीमा परेर बगेका पुनको मोटरसाइकल भेटियो, तर उनको अत्तोपत्तो भएन ।

त्यसको अघिल्लो साल गण्डकी बोर्डिङ स्कुलका प्रशासक कृष्ण थापाले पनि नालीमै बगेर ज्यान गुमाए । अघिल्लो दिन नालीमा खसेका थापाको भोलिपल्ट शव फेला परेको थियो । गत साल पनि १२ वर्षीया बालिका सुन्दर फिड लामाचौर सडक खण्डको नालीमा खसिन् । सोही सडक खण्डमा चल्ने सार्वजनिक बसका सहचालकले देखेर उनलाई बचाए ।

‘हिजोमात्र ४÷५ वटा मोटरसाइकल लडेर अस्पतालै भर्ना हुनुप¥यो,’ स्थानीय गुरुङले भने, ‘स्ल्याब नहालिएकै कारण नालीले रामजी तिवारीको छोरालाई निल्यो । स्ल्याब हालिदिन माग गर्दै डेलिगेसन जाने तयारी गर्दै थियौं तर शुक्रबार राती नै बच्चाको ज्यानै गयो ।’

एकातिर ठेकेदारले बनाएको नाली पनि भत्किइसकेको छ भने निर्माण गरेको नालीमा स्ल्याब हाल्न स्थानीयले वडादेखि सांसदसम्मलाई खबरदारी गरेका थिए । शुक्रबार भएको घटना र यसअघि ज्यान गुमाएको व्यक्तिहरुको जिम्मेवार पनि सरकारै भएको गुरुङको आक्रोश छ ।

गुरुङका अनुसार यसअघि पनि पानी कटाउन पटक पटक स्थानीयले दबाब दिएका थिए । २०६७÷०६८ सालतिर गण्डकी बोर्डिङ स्कुल नजिकैबाट पानी कटान गर्ने व्यवस्था गरिएको थियो । पछि इन्जिनियर क्याम्पस हुँदै दीप हाउजिङतिरबाट सेतीमा झारिन्थ्यो । ‘त्यो बेला स्थानीयले समेत पैसा उठाएर पानी कटान गर्ने व्यवस्था मिलाइएको थियो । पछि गण्डकी स्कुल र इन्जिनियरिङ क्याम्पसले पनि पानी कटान गरेर फाल्न दिएन,’ गुरुङले भने, ‘जसका कारण बर्सेनि भलपानीमा मान्छे बगिरहेको छ ।’

ठेकेदारको लापरबाही, सरकारकै छैन समन्वय

एकातिर ठेकेदारको लापरबाहीले सडक र नालीको काम समयमा नसकिँदा स्थानीयले सास्ती खेपेका छन् भने अर्को सरकारबीच नै समन्वय नहुँदा पोखरा–१६ वासीले दुःख पाइरहेका छन् ।

सडक विभागका इन्जिनियर पौडेलका अनुसार सरकारी कार्यालयकैबीच समन्वय नभएको स्वीकार गर्छन् । ‘अहिले पनि टेलिकमले सडक खनिरहेको छ । त्यसले पनि समस्या निकालिरहेको छ । खनिएको सडक पिच गर्नभन्दा आफूहरुले महानगरलाई १४ लाख रुपैयाँमा सम्झौता गरेको टेलिकमले बताउँछ,’ पौडेलले भने ।

सडक विभाग, खानेपानी संस्थान, नेपाल टेलिकम, वडाबीच समन्वयन नहुँदा कसरी आयोजना प्रभावित हुन्छ र त्यसको मारका जनता कसरी पर्छन् भन्ने उदाहरण हेर्न सुन्दर फिड लामाचौर सडक हेरे पुग्ने स्थानीयको भनाइ छ ।

पोखरा–१६ को अहिलेको सबैभन्दा ठूलो समस्या बर्खाको भल र यही सडकखण्ड भएको वडाध्यक्ष तिमिल्सिना बताउँछन् । पानी तर्काउने योजनाकै लागि गण्डकी प्रदेश सरकारले यसपालीको बजेटमा ५ करोड रुपैयाँ बिनियोजन पनि गरेको तिमिल्सिनाले बताए ।

यसअघि तत्कालीन वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति बनेको थियो । अकलादेवी मन्दिरनेरबाट, कराएँ चौताराबाट र अर्को वडा कार्यालय १९ देखि पानी कटान गर्ने गरी डिपिआर पौडेलको भनाइ थियो ।

‘गण्डकी बोर्डिङ स्कुलबाट पनि पानी फाल्नै पर्नेछ, इन्जिनियर अध्ययन संस्थाननेरबाट पनि फाल्नुपर्छ, मध्यम पथबाट पनि फाल्नेबित्तिकै धेरै भल कम भइहाल्छ,’ पौडेलले भने, ‘अहिलेसम्म सरकारबीच मै समन्वय पनि भएन । शुक्रबारको घटना ठेकेदारकै लापरबाही नै हो ।’

शुक्रबारको घटनापछि अहिले स्थानीयले सुन्दर फिड सडक खण्ड अवरुद्ध गरेका छन् । अस्फाल्ट र नाली बन्ने ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ ।



source https://www.onlinekhabar.com/2022/08/1181118

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More