Wednesday 30 September 2020

आफ्नै कोठामा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

१५ असोज, काठमाडौं । वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् ।

कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो ।

१४ गते (बुधबार) कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुने र मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ पुगेको छ ।

सुर्खेत र दैलेखका ३/३ जना र एकजना डोल्पाका व्यक्तिको मृत्यु भएको महाशाखाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/10/900230

असह्य पीडामा पनि शान्त डा. केसी

१५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ । डा. गोविन्द केसीको १९ औं अनसन स्थल ।

त्यहाँ पुग्नुपूर्व ठूलो बैठक कोठा पार गर्नुपर्छ, जहाँ हवल्दारको नेतृत्वमा तीन प्रहरी छन् । डा. केसीलाई भेट्न पुग्ने जो कोहीलाई प्रहरीले त्यहीँ रोक्छ । पत्रकार देख्यो भने उर्दी जारी गर्छन्, ‘फोटो खिच्नचाहिँ पाइँदैन है ! क्यामेरा बाहिरै राखेर जानुहोला ।’

‘फोटो खिच्न डा. केसीले रोकेको कि तपाईंहरुले ?’ नियम अस्वभाविक लागेकाले सोध्यौं ।

एक प्रहरीले झर्किंदै भने, ‘यहाँ आउन पनि अनुमति लिनुपर्छ । तर, तपाईंहरु आइहाल्नुभएछ । फोटो खिच्न नदिने माथिको आदेश छ ।’

डा. केसीलाई भेटेर विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार बाहिरिए । ‘हामीले भेट्यौँ । शुभेक्षा प्रकट गर्यौँ र फर्कियौँ । उहाँ बोल्न सक्नुहुन्न, बोलाउने चेष्टा पनि गरेनौँ’, मिश्रले अनलाइनखबरसँग भने, ‘दुःखको कुरा त यो छ कि सरकारले गर्नुपर्ने काम नगरेर उहाँ अनसन बस्नुपरेको छ र पनि सरकारले पूरै बेवास्ता गरिरहेको छ ।’

हुन पनि डा. केसीलाई भेट्न अहिलेसम्म सरकार पक्षको कोही पनि पुगेका छैनन् । न सत्तारुढ दलका नेता, न कुनै मन्त्री, न कर्मचारी ।

डा. केसीका समर्थक सञ्जिव कार्कीको अनुमतिमा हामी डा. केसी अनसनरत कोठा प्रवेश गर्यौँ । मास्क लगाएर ओछ्यानमा पल्टिरहेका छन् डा. केसी । ६४ वर्षीय उनका आधा कपाल सेतै फूलेका छन्, आधा झरेका । गडेर खोपिल्टा परेजस्तो देखिने उनका दुई आँखा चिम्म छन् । डा. केसी शान्त छन् । न कुनै छटपटी, न हलचल । स्ट्याचुजस्तो । उनी सुतेको बेडमा टाँसिएको पोस्टर सजिलै पढ्न सकिन्छ– दुरदराजमा मेडिकल शिक्षा खोई ?

डा. केसीको हातमा स्लाइनका थोपाहरु छिरिरहेछन् । छेउमा मोनिटरले मुटुको ढुकढुकी बताइरहेको छ । डा. केसीको टाउकोको ठीक माथि अर्को पोस्टर टाँसिएको छ– आमरण अनसनको आज १७ औँ दिन । सञ्जिव भन्छन्, ‘उहाँलाई डाक्टरहरुले अस्ति नै आईसीयूमा लैजाने सुझाव दिनुभएको थियो । तर, उहाँले सलाइनपानीबाहेक कुनै औषधिसमेत लिन मानिरहनु भएको छैन ।’

उनका अनुसार डा. केसीको स्वास्थ्य हेर्ने पाँच जना डाक्टरको टिम छ । उनीहरुले प्रत्येक घण्टामा डा. केसीको स्वास्थ्य परीक्षण गरिरहन्छन् ।

छबुँदे माग राख्दै जुम्लाको चन्दननाथ–६, बाबिरामस्टा मन्दिरको धर्मशालाबाट २९ भदौमा सत्याग्रह शुरु गरेका डा. केसीलाई गत ६ असोजमा काठमाडौं ल्याइएको थियो । काठमाडौं एयरपोर्टबाट प्रशासनले जबरजस्ती डा. कसीलाई ट्रमा सेन्टरमा पुर्याएको थियो । फेरि उनकै इच्छामा अर्को दिन त्रिवि शिक्षण अस्पताल, त्यही ल्याएको हो । यो त्यही अस्पताल हो, जहाँ डा. केसीले २६ वर्ष निरन्तर सेवा गरेर गत वर्ष सेवानिवृत्त भए ।

****

अहिले डा. केसी आफैं हलचल गर्न सक्दैनन् । कोल्टे फेर्नुपर्यो भने इशारा गर्छन् । सहयोगीले केसीलाई सहयोग गर्छन् । उनका सहयोगीका रुपमा आफन्त र समर्थक गरी पाँच जना खटिएका छन् । बुधबार दिनभर डा. केसीसँग सञ्जिव थिए । उनी भन्छन्, ‘कहिलेकाहीँ उठाइदिन भन्नुहुन्छ र अडेस लागेर बस्नुहुन्छ । हिँड्न सक्नुहुन्न, त्यसैले बेडबाट पिसाब फेर्न सहयोग गरिदिन्छौँ ।’

डा. केसी कहिलेकाहीँ राति ऐया, आत्थो गर्छन् । बेचैन भएको अनुभूति गर्छन् । उनका सहयोगीमध्येका एक सञ्जिव भन्छन्, ‘हामीले उठायौँ भने उहाँ चुप बस्नुहुन्छ । कुनै प्रतिक्रिया दिनुहुन्न ।’

आफूलाई दुखेको कुरा अरुलाई भनेर थप बोझ नथप्ने डा. केसीको स्वभाव भएको उनले सुनाए । ‘बेलाबेला छाती र मांसपेशीहरु अत्याधिक दुखेको उहाँले नजानिदो ढंगले देखाउने प्रतिक्रियाबाट थाहा पाउँछौँ अनि मसाज गरिदिन्छौँ’, उनले थपे, ‘काठमाडौंमा जस्तै कर्णालीमा पनि प्रहरीले उहाँलाई लछारपछार गरेको थियो । स्थिर रहेको उहाँको शरीरमा त्यसले निकै चोट दिएजस्तो भएको छ ।’

डा. केसी कहिलेकाहीँ मात्र बोल्छन् । एक पटक उनले भनेका थिए, ‘मैले राजनीति गर्न वा पद पाउन यो गरिरहेको छैन । राजनीति गर्न जान्दिनँ, तर बुझ्छु र बुझिरहेको छु ।’ हुन पनि मेडिकल शिक्षा सुधारका लागि निरन्तर अनसनरत डा. केसीलाई जति कसलाई थाहा होला र नेपालको राजनीति । राजनीतिले गरिरहेको घात प्रतिघात, मेडिकल माफियामाथि सत्ताको सहानुभूति, जनतालाई देखाइएका खोक्रो आश्वासनको साक्षी हुन् डा. केसी ।

करिव १५ मिनेटपछि डा. केसीले आँखा खोले । तर केही बोलेनन् । एकतर्फी सिलिङमा हेरिरहे । ‘उहाँ त्यति धेरै निदाउन पनि सक्नुहुन्न । कहिलेकाहीँ भजन लगाउन भन्नुहुन्छ । हामीले मन्द स्वरमा भजन लगाइदिन्छौँ । उहाँ सुन्दै आँखा ढिप्काइरहनुहुन्छ,’ सञ्जिवले भने ।

डा. केसीको मागप्रति सरकारले अझै आधिकारिक धारणा व्यक्त गरेको छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ शुरु गर्ने र हरेक प्रदेशमा सरकारी मेडिकल कलेज हुनुपर्ने, भ्रष्टाचारको छानविन गरी कारबाही गर्नुपर्ने डा. केसीको माग सरकारले सुनेको छैन । निरन्तर अनसन बसेर डा. केसीले दिएको जवाफले पक्कै सत्तालाई खल्बल्याएको छ, सत्ताधारीमा खैलाबैला मच्चाएको छ ।

डा. केसीको समर्थनमा नियमितजसो माइतीघर मण्डलामा युवाहरुको जुलुस निस्किरहेको छ । कहिलेकाहीँ सहयोगीले यस्ता जानकारी र मिडियामा आएका समाचारहरुबारे डा. कसीलाई थाहा दिन्छन् ।

कोठा नम्बर ५०१ मा बस्दाबस्दै डा. केसीलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राई आइपुगे । उनले डा. केसीलाई भने, ‘नैतिकता भएकाहरुले पो नैतिकताको ख्याल गर्छ त । तपाईंले अनसन फिर्ता लिनुपर्यो । पहिले आफ्नो ज्यान बचाउनुपर्यो ।’

तर यो आफ्नो निर्णायक अनसन भएको र सरकारले माग पूरा नगरे अनसनकै क्रममा मृत्युवरण गर्न पछि नपर्ने बताइसकेका डा. केसी लामो समय केही बोलेनन् । विस्तारै हात उठाए र भाषिएको स्वरमा भने, ‘धन्यवाद् ।’

सञ्जिव भन्छन्, ‘उहाँका ओंठ कलेटी परेका छन् । पट्पटी फुटेका छन् ।’ थाहा छैन डा. केसीको यो अनसन कति लामो समयसम्म लम्विन्छ ।



source https://www.onlinekhabar.com/2020/10/900227

आँचल र मिलनको सहकार्य फिल्ममा कहिले ?

नायिका आँचल शर्माले लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियो काम गरिरहेकी छिन् । आँचलले लकडाउनपछि कुनै नयाँ चलचित्रमा साइन भने गरेकी छैनन् ।

आँचलले अभिनय गरेको चलचित्र ‘झिंगे दाउ’ मात्र रिलिजका लागि तयार छ । उनै, आँचलले काम गरेका भिडियोहरुमध्ये निर्देशक मिलन चाम्ससँग उनको सहकार्य धेरै देखिएको छ । चाम्सको निर्देशनमा बनेको केही म्यूजिक भिडियोमा काम गरिसकेकी आँचल उनीसँगको सहकार्यले खुशी छिन् । मिलनलाई धन्यवाद दिदै उत्साहित देखिएकी आँचल भिडियोमा जमेकी नायिका हुन् ।

निर्देशक मिलन चाम्सले नायिका आँचल शर्मासँग भने अहिलेसम्म चलचित्रमा सहकार्य गरेका छैनन् । लकडाउनपछि मिलनले चलचित्र निर्देशनको घोषणा गरिरहेका छन् । तर, कुनै पनि चलचित्रमा उनले आँचलसँग सहकार्य गर्ने सुर भने कसेका छैनन् । तर, भिडियोमा भने उनी र आँचलको सहकार्य गज्ज्बको देखिएको छ ।

 



source https://www.onlinekhabar.com/2020/10/900228

वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

१५ असोज, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।



source https://www.onlinekhabar.com/2020/10/900219

ऋचा लेख्छिन्–‘याद राख्नुहोला यी नामहरु, इतिहासमा लेखाजोखा हुनेछ’

नायिका ऋचा शर्माले देशमा बलात्कारको घटना बढ्दै जाँदा पनि विभिन्न कालखण्डमा गृहमन्त्री भएका नेताहरुले दिएको बयानमा आक्रोश व्यक्त गरेकी छिन् । पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको बिषयमा दिएको बयानले आक्रोशित भएकी ऋचाले यी नामहहरुको इतिहासमा लेखाजोखा हुने बताएकी हुन् । गृहमन्त्री थापाले बुधबार विश्वका सवा २ सय देशको अवस्था हेर्दा बलात्कारको बिषयमा नेपालले चिन्ता गर्नुपर्ने ठाउँ नरहेको बताएका थिए ।


उनले बुँदागत रुपमा लेखेकी छिन्ः
१. यस्तो बेला बलात्कार भैरहन्छ–भूकम्पपछि माननिय गृहमन्त्री बामदेव गौतम

२. बलात्कार पूजिवादले गराएको हो–निर्मला हत्याकाण्डपछि माननिय गृहमन्त्री रामबहादुर थापा

३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले रमाइलो गर्छन्–माननिय रामनारायण विडारी

४. दिनमा ७ जना जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन–माननिय गृहमन्त्री रामबहादुर थापा ।



source https://www.onlinekhabar.com/2020/10/900221

बलात्कार आरोपमा वडासचिव पक्राउ

१५,असोज, जनकपुरधाम । दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भंगहा नगरपालिका-९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए र

सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी केसीले बताए ।

महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।

महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/10/900220

बाबरी मस्जिद विध्वंश प्रकरणमा भारतीय अदालतले गरेको फैसला के हो ? पढ्नुहोस् २८ बुँदामा

१५ असोज, काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो मातहतको एक विशेष अदालतले उत्तर प्रदेशस्थित बाबरी मस्जिद विध्वंश प्रकरणमा अभियुक्त बनाइएका भारतीय जनता पार्टीका उच्च नेताहरु लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती लगायतका ३३ जनालाई बुधबार सफाइ दिएको छ ।

अदालतले उनीहरु संलग्न भएको कुनै ठोस प्रमाण नभएको बताएको छ । सो घटनामा संलग्न भनी आरोप लगाइएका ३२ मध्ये २६ जना फैसलाको समयमा अदालतमा उपस्थित भएका थिए । यस अगाडि नै भारतको सर्वाेच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन दिने फैसला गरिसकेको छ ।

के हो बाबरी मस्जिद काण्ड ? यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ :

  • लामो समयसम्म अयोध्यामा रहेको बाबरी मस्जिदका सम्वन्धमा कुनै विवाद थिएन । पछि यो रामको जन्मभूमि हो भन्ने आवाज उठ्दै गएपछि ब्रिटिश शासकले  मस्जिदलाई घेरेर पर्खाल लगाए, हिन्दुहरुलाई सो पर्खाल बाहिर पूजा गर्न दिइयो ।
  • १८८५ मा एक पुजारीले स्थानीय अदालतमा मस्जिदको बाहिरी भागमा पूजा गर्ने प्लेटफर्म बनाउने अनुमति दिइयोस् भनेर निवेदन दिए तर अदालतले त्यसलाई स्वीकृति दिएन ।
  • १९३४ मा त्यहाँ मुसलमान र हिन्दुबीच द्वन्द्व भयो र मस्जिदमा केही असर पनि गर्यो । पछि ब्रिटिस सरकारले त्यसको मर्मत गर्यो ।
  • सन् १९५० मा फाजियावाद अदालतमा हिन्दु र मुसलमान दुवैले प्रार्थना र नमाज पढ्न पाउनुपर्ने माग गर्दै छुटाछुट्टै मुद्दा दायर गरे ।
  • त्यसपछिका वर्षहरुमा निरन्तर मुद्दा दायर गर्ने र आ–आफ्नो दाबी गर्ने क्रम निरन्तर चल्यो ।
  • भारतीय जनता पार्टी बलियो हुँदै आएपछि उनीहरुले त्यहाँ राम जन्मेको भन्दै आफ्नो दाबी बढाउँदै लगे । भारतीय जनता पार्टीको स्थापना सन् १९८० मा भएको थियो ।
  • सन् १९८४ मा लालकृष्ण आडवाणीले राम जन्मभूमि अभियानको शुरुवात गरे र सन् १९८६ मा उनी पार्टी सभापति भए ।
  • सन् १९८९ मा भारतीय जनता पार्टीले बाबरी मस्जिद भत्केको ठाउँमा राम जन्मेको भन्दै त्यहाँ मन्दिर बनाउने घोषणा गरेको थियो ।
  • सन् १९९० मा आडवाणीले सोमनाथदेखि अयोध्यासम्म रथ यात्रा गरे जसको उद्देश्य राम मन्दिर बनाउनु थियो । यसरी भारतीय जनता पार्टीले त्यहाँ आफ्नो दावी बढाउँदै लगेको थियो ।
  • सन् १९९२ मा एक लाख पचास हजार मानिसहरु भारतीय जनता पार्टीका नेताहरु लालकृष्ण आडवाणी लगायत अन्य नेताको भाषण सुन्नका लागि अयोध्यामा जम्मा भएका थिए । भाषण सकिएपछि सो भिडले बाबरी मस्जिद केही घन्टामा नै भत्काइदियो ।
  • मस्जिद भत्काएपछि हिन्दु अतिवादी समूहले अध्योध्यामा मुस्लिमहरुको घरमा आक्रमण गर्न थाले । दंगा अन्य शहरमा पनि फैलियो । यसक्रममा झण्डै दुई हजार जनाले ज्यान गुमाउनु पर्यो ।
  • भारतीय जनता पार्टीका नेता आडवाणी, जोशी र भारतीको विरुद्धमा प्रहरीमा किटानी जाहेरी दिइयो । उनीहरुको उत्तेजक भाषणका कारण सो घटना भएको दावी गरिएको थियो ।
  • त्यसको एक दिन पछाडि पाकिस्तानका मुस्लिम समुदायले त्यहाँका ३० भन्दा बढी हिन्दु मन्दिरहरुमा आक्रमण गरे । आक्रमणको विरोधमा पाकिस्तानले कार्यालय र स्कुल बन्द गर्यो ।
  • त्यसको एक हप्तापछि भारत सरकारले एक छानविन समिति बनायो ।
  • सन् २००१ मा भारत सरकारले आडवाणी, जोशी र भारतीविरुद्धको अदालतको प्रक्रिया केही समयका लागि रोक्यो ।
  • २००२ मा प्रधानमन्त्री अटल बिहारी बाजपेयीले उनको कार्यालयमा अयोध्या सेल गठन गरे, जसको उद्देश्य हिन्दु र मुसलमानबीच वार्ता गराउनु थियो ।
  • सन् २००४ मा आतंकवादी समूह लस्कर–ए–तोयबाले अयोध्यामा रहेको राम जन्मभूमि कम्लेक्समा आक्रमण गरे
  • २००९ मा सन् १९९३ मा गठन भएको समितिले सत्र वर्षपछि आफ्नो प्रतिवेदन दियो । सो समितिले भाजपाका धेरै नेतालाई दोषी देखायो ।
  • सन् २०१० मा अलहवाद अदालतले बाबरी मस्जिद रहेको हिन्दु र मुसलमानको विचमा बाँड्ने फैसला सुनायो ।
  • सन् २०११ मा सर्वाेच्च अदालतले अलाहबाव अदालतले गरेको फैसला खारेज गरिदियो ।
  • सन् २०१६ मा सुब्रमन्यम स्वामीले बाबरी मस्जिद बनाउन पाउँ भनी अदालतमा मुद्दा दायर गरे ।
  • सन् २०१७ मा सर्वाेच्च अदालतले आडवाणी र अन्य नेताविरुद्धको मुद्दा पुनः ब्युँताएको थियो ।
  • सन् २०१९ नोभेम्बरमा सर्वाेच्च अदालतले बाबरी मस्जिद रहेको ठाउँमा हिन्दु मन्दिर बनाउन दिने फैसला गर्यो ।
  • सन् २०२० अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर बनाउने ठाउँमा भूमि पूजा गर्दै निर्माणको शुरुवात गरे ।
  • सेप्टेम्बर ३० मा सबै जनालाई सफाइ दिइयो, सो फैसलाप्रति भारतमा विभिन्न राजनीतिक दलले असन्तुष्टि जनाएका छन् ।
  • भारतीय जनता पार्टीले सो फैसलाको स्वागत गरेको छ । रक्षामन्त्री राजनाथ सिंहले भनेका छन्– ढिलो भएपनि सत्यको जित भएको छ
  • सो मुद्दाका कारण आडवाणी लगायतका उच्च नेताहरु भाजपाको सरकार बनेपछि पनि कुनै उच्च सरकारी पदमा आउन पाएनन् ।
  • सो मुद्दामा सफाइ दिने फैसला पुनरावलोकनको माग गदै अर्काे मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।


source https://www.onlinekhabar.com/2020/10/900209

भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख नाघ्यो

१५ असोज, काठमाडौं । भा।तमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ६३ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६३ लाख १२ हजार ५८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८६ हजार ८२१ नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो केही दिन नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि पुनः यो संख्यामा वृद्धि हुन थालेको छ । बुधबार दिइएको जानकारीअनुसार त्यसअघिको २४ घण्टामा ८० हजार ७६४ नयाँ संक्रमित फेला परेका थिए ।

त्यस्तै भारत कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९८ हजार नाघेको छ । अहिलेसम्म ९८ हजार ६७८ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार १८१ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।



source https://www.onlinekhabar.com/2020/10/900218

रानीपोखरी मन्दिरमा गजुर राखिँदै

१५ असोज, काठमाडौं । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै छ ।

लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो ।

मन्दिरमा गजुर राखिसकेपछि रानीपोखरीमा माछाका भुरा पनि छाड्ने योजना छ ।

रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भुइँचालोले शिखर शैलीको मन्दिर ढलेपछि जंगबहादुर राणाले गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।

पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर



source https://www.onlinekhabar.com/2020/10/900206

म्यानचेष्टर युनाइटेड र एभरटन क्वाटरफाइनलमा

१५ असोज, काठमाडौं । प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र एभरटन काराबायो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै ब्राइटनलाई ३-० ले पराजित गर्दा एभरटनले पनि प्रिमियर लिगकै वेष्टहमलाई युनाइटेडलाई ४-१ ले हराएको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ४४औं मिनेटमा म्याक टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा हुँवा माटा र ८०औं मिनेटमा पउल पोग्वाले गोल गरेपछि युनाइटेडले सहज जित हात पारेको हो ।

उता प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेको एभरटनले पनि वेष्टहमलाई सहजै हरायो । एभरटनका लागि डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गरे । लेविनले खेलको ११औं ७८औ र ८४औं मिनेटमा गोल गरे । रिचारिलर्सनले ५६औं मिनेटमा एक गोल गरे । वेष्टहमका लागि रोवर्ट स्नोडग्रासले ४६औं मिनेटमा एक गोल गरे ।

टोटनहम हट्सपर न्यूकासल युनाइटेड र म्यानचेष्टर सिटी यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/10/900202

नेपाली कृषिको विकास स्थानीय सरकारको काँधमा

नेपालको संविधान २०७२ ले संघीयतालाई संस्थागत गर्दै स्थानीय तहलाई सरकारकै रुपमा परिभाषित गरेको छ । यो संवैधानिक व्यवस्थाले स्थानीय तहहरुको महत्व र दायीत्व दर्शाउँछ ।

नेपालको कृषि बिकास अब स्थानीय सरकारहरुमा निर्भर छ । कृषि विकासका लागि संघ र प्रदेश सरकारहरुले कोरेको खाकालाई कार्यरुप दिने निकाय पनि हुन्, स्थानीय सरकार । यो दायीत्व पूरा गर्ने ल्याकत कति राख्छन् त, स्थानीय तह ? आजको सबभन्दा महत्वपूर्ण प्रश्न हो यो ।

स्थानीय सरकारहरुले आफूमा निहीत हुन आएको दायीत्व पूरा गर्ने ल्याकत राखेनन् भने नेपाली कृषि गतिशील हुनसक्ने छैन । स्थानीय सरकार गठन भएको तीन वर्षमा कृषि कार्यक्रमहरु कसरी सन्चालन भए भनेर मूल्यांकन तथा छलफल गर्नुपर्ने अवस्था आएको छ । यो सन्दर्भमा कृषिमा स्थानीय तहहरुको अवसर, समस्या र चुनौतीबारे यहाँ केलाउने प्रयत्न गरिएको छ ।

स्थानीय तहहरुको समस्या र चुनौती

नेपालको संविधान २०७२ ले स्थानीय तहलाई निकै बलियो बनाएको छ । यसरी कागजमा बलियो बनाउनु आफैंमा राम्रो कुरा हो, तर व्यवहारमा लागु नभएसम्म यसको केही अर्थ लाग्दैन ।

जीवनप्रसाद राई

स्थानीय सरकार आज जनताको लागि सबभन्दा भरपर्दो बनेको छ । बिरामी, खानै नभएका, प्राकृतिक प्रकोपमा परेका नागरिकमा सबभन्दा पहिला पुग्ने स्थानीय तह नै भएको छ । स्थानीय तहहरुले शिक्षा, स्वास्थ, भौतिक पूर्वाधार, पर्यटन, बातावरण, सुरक्षा, कृषि लगायत जनसरोकारको कामहरु थालि पनि सकेका छन् ।

स्थानीय तहले यी कामहरु एकैसाथ थालेर अनुभव हासिल गरिरहेका छ । यो अवस्थामा कृषिले प्रमुखता नपाएको महसुस हुन्छ । जबकी स्थानीय तहरुले उच्च प्राथमिकताका साथ काम नगरे गाउँहरुमा कृषि पेशाले काँचुली फेर्दैन ।

अहिले धेरै कृषि विज्ञ तथा परामर्शदाताको पनि ध्यान स्थानीय तहमा केन्द्रित छ । पालिकाका प्रमुखहरुले ती सबैको सल्लाह लिएर काम गर्नुपर्छ । यसका लागि हाम्रा पालिका प्रमुखहरु व्यवहारमा खरो र उद्देश्यमा प्रष्ट हुन आवश्यक छ । यो नहुँदा आज जनताहरु सबभन्दा नजिकका आफ्ना प्रतिनिधिहरुसँग असन्तुष्ट पोखिरहेका छन् ।

कृषि पकेट क्षेत्रहरुका लागि प्रत्येक वडामा कम्तिमा पाँचजना विषयगत प्राबिधिक राख्नपर्ने देखिन्छ, जहाँ अहिले एउटै प्राविधिकले सबै कृषि वस्तुको रेखदेख गर्नुपरेको स्थिति छ ।

त्यसो त स्थानीय सरकारहरुले अहिले फाइल बढुवा प्राविधिकहरुसँग काम गर्नुपरिरहेको अवस्था छ । यहाँ प्राविधिकहरुको मानमार्दन गर्न होइन, अहिलेको अवस्थामा स्थानीय सरकारहरुले कृषि विकासका लागि एमएस्सी गरेका व्यक्तिको नेतृत्वमा ६ जना बिएस्सी विषयगत विशेषज्ञहरु भएको टिमसँग काम गर्नुपर्नेमा जोड दिन खोजिएको हो ।

अहिले कृषिमा राम्रो गरिरहेको भारतको हिमाञ्चल प्रदेशमा स्याउ प्राविधिकहरुले अन्य खेती हेर्दैनन् । उनीहरुले कृषकको घरआँगनमै पुगेर स्याउ रोप्ने, गोडमेल गर्ने, टेको दिने, औषधी हाल्ने तरिकादेखि स्याउ टिपेर प्याकेजिङ गर्नेसम्मको विधि सिकाउँछन् । कृषकहरु सबै काममा प्राविधिकको ‘ओके’ माग्छन् । भारतका सबै राज्यका लगभग सबै खेतीमा कृषि प्राविधिकहरु यही स्तरको भूमिकामा छन् ।

नेपालका स्थानीय तहका कृषि प्राविधिकहरु फिल्ड होइन, कार्यालयको काममा व्यस्त भएको पाइन्छ । कृषि विकास कार्यालयहरु ज्ञान केन्द्रमा परिणत भएपछि कृषिमा स्थानीय तहहरुको जिम्मेवारी बढेको छ । यसबीचमा देखिएका समस्याहरु हल गर्नेबारे कतैबाट केही काम भएको देखिएन ।

कृषिको बजेट रकमान्तर गरेर बाटो लगायतका पूर्वाधारमा लगाएको पनि देखिएको छ । बचेखुचेको थोरै बजेट तालिम, भ्रमण, बिरुवा वितरण लगायतका तामझाम गरेर सक्ने गरिएको पनि यथार्थ नै हो । अर्थात्, अहिले ठ्याक्कै पञ्चायती मोडेलको कृषि विकास भइरहेको छ ।

अहिले धेरैजसो स्थानीय सरकार आफनो क्षेत्रमा कसरी, के गरेर नयाँपन ल्याउने भनेर स्पष्ट नै भइसकेका छैनन् । इच्छा शक्ति र प्रतिबद्धताको अभावमा उनीहरु परम्परा धान्ने अड्डाजस्तो बनेर समय गुजारिरहेका छन् ।

स्थानीय तहहरुले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने गरी देशको कृषिलाई अगाडि बढाउने काम थाल्नु आजको आवश्यकता हो । हालको संरचनाबाट त्यो सम्भावना देखिँदैन । प्राविधिक दक्षताविना अबको कृषि अगाडि बढ्न सक्तैन ।

परम्परा त २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला स्थानीय निकायहरु भंग गरिएपछि पनि कर्मचारीले धानेकै थिए । त्योभन्दा निकै अब्बल दर्जाको काम गर्नु आजको स्थानीय तहहरुको चुनौती हो । धेरैलाई लागेको होला, हामीले राम्रो गरिरहेका छौं । तर, स्वतन्त्र पर्यवेक्षण गरे कसैले पनि हिजो कर्मचारीले गरेकोभन्दा भिन्न पाराले काम गरेको पाउने छैन ।

बिरुवा बाँड्ने कार्यक्रम आयोजना गर्नमा स्थानीय सरकारहरुले निकै रुचि देखाएको पाइन्छ । बिरुवा बाँड्नु आफैंमा राम्रो काम हो । तर, कुन गुणस्तरको, कति विरुवा वितरण गरियो, ती बिरुवा कहाँ, कसरी रोपिएर उत्पादन कस्तो भयो भन्नेमा ध्यान नपुग्दा बिरुवा वितरण कार्यक्रमहरु रकम सक्ने तमासा बनिरहेका छन् । ‘दिनभरी करायो दक्षिणै हरायो’ भन्ने नेपाली उखान चरितार्थ गर्ने यो पाराले कृषि विकास अगाडि बढ्ने नभई पछाडि धकेलिन्छ ।

खाद्यान्नमा पनि खास बालीको खास क्षेत्र तोकेर धेरै उत्पादन गर्नु बुद्धिमानी हुन्छ । यसरी काम गर्ने जनप्रतिनिधिहरु आफ्नो ठाउँका हिरो बन्नेमा कुनै शंका छैन । कृषिको नमुना पकेट क्षेत्र बनाउन पालिका प्रमुख लागेजत्तिको प्रभावकारी अरु कोही अग्रसर भएर हुँदैन

बिरुवामा कमिसन ठूलै समस्या बनेको छ । गुणस्तरीय बिरुवा उत्पादक किसानले राम्रो मूल्य पाउनुपर्छ भन्नेमा दुईमत रहँदैन । तर अहिले स्थानीय सरकारहरुले महँगोमा गुणस्तरहीन बिरुवा किनेर किसानलाई बाँडिरहेका छन् । यसरी कतै नपुगिने हास्यास्पद कृषि विकास गरिँदैछ । त्यसतर्फ कसले ध्यान दिने ?

फेरि कृषकहरुको आवश्यकता, चाहना र माग सगरमाथा जस्तै उच्च हुन पुगेको छ । सरकारको काम गर्ने तौरतरिका भने चुरे पहाड जस्तो छ । बीउ बोका, राँगा, पाठी, बंगुरका पाठापाठी, राम्रा जातका फलफूल बिरुवा, तरकारी तथा च्याउका बीउ, मकै, गहुँ, धान लगायत खाद्यान्नका बीउ पाउनु कृषकको अधिकार हो ।

गुणस्तरीय बीउबिजनबाट मात्र कृषि उत्पादन वृद्धि र कृषकलाई नाफा हुन्छ । नेपाल सरकारका कृषि निकायहरुले भने राजपत्रमा बिरुवा र बीउहरुको न्युनतम मूल्य प्रकाशित गरेपछि मामिला सम्पन्न भएको ठान्ने गरेको प्रतीत हुन्छ । चीजवस्तु पनि उपलब्ध गराउनुपर्छ भन्ने उनीहरुलाई लागेको देखिँदैन ।

आजको दिनमा स्थानीय तहहरुले आफनो क्षेत्रलाई आवश्यक पर्ने गुणस्तरीय पशुपंक्षी तथा बीउ–बिरुवाहरुको जोहो आफैं गर्नुपर्ने चुनौती छ । मध्य पहाडमा अहिले राम्रोखाले सुन्तलाको लाखौं बिरुवाको माग छ, तर सरकारले जुटाइदिन सकेको छैन ।

गुणस्तरीय एभोकाडोको विरुवाको माग झन् आकासिएको छ, तर नेपाल सरकारका निकायहरु नबोल्ने ‘भगवान’ बनेर बसेका छन् । स्थानीय तहहरु चाहेर पनि यो माग धान्नसक्ने स्थितिमा छैनन् । न त क्रमिक रुपमा पूरा गर्ने सोचमा नै देखिन्छन् ।

बीउ–बिरुवा र पशुपंक्षीको स्रोत केन्द्र स्थापना गर्न करोडौं लगानी आवश्यक हुन्छ । यो काम संघीय सरकार अन्तर्गतका कृषि फार्म र अनुसन्धान केन्द्रहरुले गरिदिनुपर्ने हो, तर यो विषयमा न गम्भिर छलफल भएको छ न त समस्याको पहिचान नै गरिएको छ ।

अझ अनौठो के छ भने नेपाल सरकारका अधिकारप्राप्त फार्म र तिनका म्यानेजरहरु नै स्थानीय सरकारसँग कार्यक्रम आशा गरेर बसेको देखिन्छ । योभन्दा लज्जाजनक विषय अर्को के हुन सक्छ ?

स्थानीय तहहरुलाई अवसर

धेरै समस्या र चुनौती भएकै ठाउँमा बढी अवसर र सम्भावनाहरु हुन्छन् । हो, स्थानीय तहहरुले आज केन्द्रले छुटाइदिएको निश्चित बजेटबाट चौतर्फी विकास गर्नुपर्ने बाध्यता छ । यसलाई अवसरको रुपमा लैजाने हो भने कृषिमा महत्वपूर्ण फड्को मार्न सकिन्छ ।

स्थानीय तहहरु अहिले बजेट कसरी खर्च गरिसक्ने भन्नेमा रहेको देखिन्छ । कतिले त खर्चको हिसाबसमेत दुरुस्त राख्न नसकेर चालु आर्थिक वर्षको नयाँ बजेट नै नपाएको अवस्था छ । यो अवस्थाबाट सिक्दै गुणात्मक फड्को मार्ने इच्छाशक्ति राख्ने हो भने स्थानीय तहहरुले केही समयपछि प्रशस्तै आन्तरिक स्रोत पनि जुटाउन सक्छन् । यसका लागि सबभन्दा पहिला जनतालाई विश्वास दिलाउने हो । जनतालाई पालिका मेरो हो र यसले चाँहिदो विकास गर्छ भन्ने पर्नुपर्यो । यसका लागि सही योजना छनोट, जनसहभागीता र पारदर्शिता अत्यावश्यक हुन्छ । पालिका प्रमुखसहित सबै जनप्रतिनिधिबाट लोकतान्त्रिक आचरण र जनसेवाको भावना प्रदर्शन हुन पर्यो ।

विकास जनताका लागि हो र त्यो सही ढंगले हुन्छ भनेर जनतालाई विश्वास दिलाउन नसक्नु आज सबै दलको कमजोरी भएको छ । सत्तारुढ दलमा यो कमजोरी बढी देखिने नै भयो ।

बिरुवा होस् वा पशुपंक्षीका स्रोत बीउहरु वितरण गर्ने सवाल, त्यसमा जनसहभागिता र जनविश्वास महत्वपूर्ण हुन्छ । कृषि सडक र शीत भण्डार निर्माणमा त अझ बढी जनसहभागिता र थोरै भएपनि स्थानीयको लगानी चाहिन्छ ।

कृषकको एक रुपैयाँ पनि खर्च नहोस्, सबै केन्द्र, प्रदेश वा स्थानीय सरकारले अनुदान दिने कार्यक्रम सन्चालनले कृषि विकासमा समस्या खडा गरिदिएको अब सबैले बुझ्न पर्यो । यसरी सही गन्तव्यमा पुग्न सकिन्न ।

निश्चित घेरा भएको एउटा पालिकामा अपेक्षित परिणाम चाँडो दिनेखालको कृषि कार्यक्रम लागु गर्न सकिन्छ । जस्तो– एभोकाडो, सुन्तला, किवी, ड्रागनफल, कागती वा कफीको पकेट क्षेत्र तोकेर काम अगाडि बढाउन सकिन्छ ।

खाद्यान्नमा पनि खास बालीको खास क्षेत्र तोकेर धेरै उत्पादन गर्नु बुद्धिमानी हुन्छ । यसरी काम गर्ने जनप्रतिनिधिहरु आफ्नो ठाउँका हिरो बन्नेमा कुनै शंका छैन । कृषिको नमुना पकेट क्षेत्र बनाउन पालिका प्रमुख लागेजत्तिको प्रभावकारी अरु कोही अग्रसर भएर हुँदैन ।

फ्रान्सका फिलिप एडुवार्ड प्रधानमन्त्री पदबाट राजीनामा गरेर मेयर बनेका छन् । नेपाली कृषिमा राम्रो काम गर्न कोही प्रधानमन्त्री, कृषि मन्त्री, मुख्यमन्त्री वा सांसद पद त्यागेर स्थानीय सरकारमा आउने छैनन् । देशमा कृषि क्रान्ति थाल्ने यो महत्वपूर्ण अवसरको सदुपयोग पालिका प्रमुखहरुले नै गर्ने हो ।



source https://www.onlinekhabar.com/2020/10/900203

आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने

१५ असोज, काठमाडौं । अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् ।

उपभोक्तालाई छुट

एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।

त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत ठाउँमा सहुलियत पसल हुने छन् ।



source https://www.onlinekhabar.com/2020/10/900201

बायर्नले जित्यो जर्मन सुपर कप

१५ असोज, काठमाडौं । जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको हो ।

एलिनाज एरेनामा भएको खेलमा बायर्नको लागि कोरेन्टिन टोलिस्सो, थोमस मुलर र जोसुवा किमिचले गोल गरे । डर्टमण्डका लागि युलियन ब्राण्ड्ट र एर्लिङ हल्याण्डले गोल गरे।

खेलको १८ औं मिनेटमै टोलिस्सोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर गरे । ३९ औं मिनेटमा डर्टमण्डका युलियन ब्राण्ड्टले गोल गर्दै गोल अन्तर कम पारे ।

खेलको ५५ औं मिनेटमा हल्याण्डले गोल गरेपछि डर्टमण्डले खेल बराबरी गर्‍यो । तर ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई फेरि अग्रता दिलाए । किमिचले खेल सकिन ८ मिनेट बाँकी हुँदा गरेको गोल नै बायर्नलाई उपाधि जिताउन निर्णाक बन्यो ।

बायर्नले जितेको यो पाँचौ ट्रफी हो । बायर्नले यसअघि जर्मन बुण्डेसलिगा, जर्मन कप युरोपियन च्याम्पियन्स लिग र युइएफए सुपर कपको उपाधि जितिसकेको छ ।



source https://www.onlinekhabar.com/2020/10/900199

रौतहटका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१५ असोज, वीरगञ्ज । रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

‘विरामीको मुटुको गति पनि अस्थिर थियो, कोभिड संक्रमणका कारण शरीरमा अक्सिजन मेन्टेन भइरहेको थिएन, भर्ना भएदेखि नै हाई फ्लोमा अक्सिजन दिएर आईसियुमा राखेका थियौं,’ डाक्टर हुसैनले भने, ‘बिहान तीन बजेदेखि अवस्था गम्भिर बन्यो । भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनुपर्ने सबै उपाय अपनायौं । तर बचाउन सकिएन ।’ डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो यो पनि पढ्नुहोस बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु यो पनि पढ्नुहोस कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो यो पनि पढ्नुहोस कोभिड–१९ : उपत्यकाको वास्तविक अवस्था के ?

source https://www.onlinekhabar.com/2020/10/900198

भिनिसियसको गोलमा रियल मड्रिड विजयी

१५ असोज, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले कठिन जित हात पारेको छ । भिनिसियस जुनियरले गरेको एक मात्र गोल मद्दतमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको हो ।

रियलको घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा भाल्लाडोलिडले पहिलो हाफमा बराबरीमा रोकेको थियो । दोस्रो हाफमा रियलले गोल गरेको हो ।

रियलका लागि ६५औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल निर्णायक बन्यो । जितपछि ३ खेलबाट ७ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ । ३ खेलबाटै ७ अंक जोडेको गेटाफे र ४ खेलबाट ७ अंक जोडेको भ्यालेन्सिया क्रमश: पहिलो र दोस्रो स्थानमा छ ।

गएराति नै भएका अर्को खेलमा रियलको छिमेकी एट्लेटिको मड्रिड हुएस्कासंग गोलरहित बराबरीमा रोकिएको छ ।

यस्तै इल्चेले आइबरलाई १-० ले हरायो । इल्चेका लागि लुकास बोएले गोल गरे ।



source https://www.onlinekhabar.com/2020/10/900196

बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो

१५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । ‘प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था अत्यन्त गम्भीर थियो,’ डा. सापकोटाले भने, ‘राति ९ः३० भर्ना गर्यौं, ९ः४५ बजे देहान्त भयो ।’

उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो ।

तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो पनि पढ्नुहोस बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु यो पनि पढ्नुहोस कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो यो पनि पढ्नुहोस कोभिड–१९ : उपत्यकाको वास्तविक अवस्था के ?

source https://www.onlinekhabar.com/2020/10/900193

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

१५ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो यो पनि पढ्नुहोस कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो यो पनि पढ्नुहोस कोभिड–१९ : उपत्यकाको वास्तविक अवस्था के ?

source https://www.onlinekhabar.com/2020/10/900192

दृढ इच्छाशक्तिका साथ जैविक विविधता संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री ओली

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

दृढ राजनीतिक इच्छाशक्तिका साथै विचार र नवप्रवर्तनको प्रवर्द्धनसहित जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्नु आवश्यक भएकोमा प्रधानमन्त्री ओलीले जोड दिए ।

जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताए । ‘जैविक विविधता संरक्षण त्यस्तो कार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाहरूको प्रतिबद्धता र कार्यान्वयन आवश्यक हुन्छ । मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै हामीले अझ महत्वकांक्षी लक्ष्यहरू निर्धारण गर्नुपर्छ’, उनले भने ।

प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अंग भएको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान प्राचीनकालदेखि नै हाम्रा ऋषिमुनिहरूले नयाँ पुस्तालाई हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्वबारे शिक्षा दिएका बताए ।

जैविक विविधता संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र त्यसमा वाञ्छित प्रगति पनि गरिरहेको जानकारी दिँदै उनले त्यसको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकांक्षाको महत्वपूर्ण आयामको रुपमा रहेको बताए ।

नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको सुनाए ।

जलविद्युतबाट उपलब्ध हुने स्वच्छ उर्जाले जैविक विविधतामा पर्ने दबाबलाई कम गरेको, कानूनको सबल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोगको अभिवृद्धिबाट नेपालले झण्डै एकदशक यता गैंडाको शिकारलाई शून्यमा सीमित गरेको जानकारी पनि प्रधानमन्त्रीले दिए ।

लक्षित वर्ष सन् २०२२ अगावै नेपालमा बाघको संख्या झण्डै दोब्बरले वृद्धि हुने प्रक्षेपण गर्दै उनले नेपालको पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला भएको बताए । उनले भने, ‘खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत पनि हो, मानवमात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महत्वपूर्ण साझा निधिका रूपमा रहेको छ । यसको लाभ हाम्रो सीमापारिसम्म पुगेको छ ।’

उनले जैविक विविधता शिखर सम्मेलन आयोजना गरेकामा संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेसप्रति आभार प्रकट गरे ।



source https://www.onlinekhabar.com/2020/10/900188

केएल टावरले दियो व्यापारीहरुलाई भाडा छुट

१५ असोज, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावर मलले व्यापारीहरुलाई चैतदेखि असोजसम्मको भाडामा छुट दिएको छ ।

कोरोना संक्रमणको महामारीको बेला केएल टावरमा पसल तथा कार्यालय सन्चालन गर्दै आएकाहरुलाई राहत होस् भनेर भाडा छुट दिइएको हो ।

केएल टावर मलका प्रवन्धक रमेश कक्षपतिका अनुसार नेपालमा लकडाउन सुरु भएपछि चैत र बैशाख महिनाको पूरै भाडा छुट दिइएको छ । त्यसैगरी असार महिनामा २५ प्रतिशत तथा जेठ, साउन, भदौ र असोज महिनामा ५० प्रतिशत भाडा छुट दिइएको प्रवन्धक कक्षपतिले जानकारी दिए ।

कक्षपतिका अनुसार केएल टावरमा करिब ६० वटा सटर भाडामा छन् । ‘हुन त हामी पनि चल्ने त्यही भाडा उठाएर हो । तर पनि सटर भाडामा लिएकाहरुलाई राहत होस् भनेर छुट दियौं,’ कक्षपतिले अनलाइनखबरसँग भने ।

पसलहरु खोल्न नपाउने गरी सरकारले लकडाउन गर्दा आफूहरुको व्यापार व्यवसाय चौपट भएको व्यापारी व्यवसायीहरुले बताउँदै आएका छन् । न्यूरोड, असन, बानेश्वर, कोटेश्वर क्षेत्रका व्यापारीहरुले त पसल खोल्न नदिएको विरोधमा सरकारविरुद्ध प्रदर्शन नै गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/10/900186

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

१५ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।

बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए ।

शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।

नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानु पूर्व उनीहरुको उचाइसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो ।

सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत रु दुई लाख रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।



source https://www.onlinekhabar.com/2020/10/900183

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

१५ असोज, काठमाडौं । कोरोनाभाइरस संक्रमणको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सन्चालन हुन थालेका छन् ।

सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ ।

त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए ।

कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या छ हजार ४७९ जना पुगेको छ ।

पाकिस्तानमा अहिले पनि कोरोनाभाइरसको संक्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा छन् ।

मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा संक्रमणमुक्त भइसकेका छन् ।

सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/10/900182

मुम्बईको चेम्बुर रेल स्टेशन नजिकको बजारमा आगलागी

१५ असोज, काठमाडौं । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ ।

आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आगलागीको कारण र आगोले पु¥याएको क्षतिको विवरण खुलेको छैन । घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ ।

यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो ।



source https://www.onlinekhabar.com/2020/10/900181

कोलकाताको कसिलो बलिङले राजस्थानको विजययात्रा रोकियो

१५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको विजयी यात्रामा रोक लगाइदिएको छ ।

बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । राजस्थानको यो पहिलो हार हो ।

कोलकाताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।

राजस्थानका टम करनले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरु टिक्न सकेनन् । जोस बटलरले २१ र राहुल तेवतियाले १४ रन बनाए । अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल रहे । कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो ।

कोलकातातर्फ शिवम माभि, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । कोलकाताका ओपनर शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । ३४ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

शुभमन राम्रो लयमा देखिएका थिए तर दोस्रा ओपनर सुनिल नरेन रन बटुल्न संघर्षरत थिए । सुनिलले १५ रनमात्र बनाउन सके । त्यसपछि शुभमनले नितिश राणासँग मिलेर दोस्रो विकेटका लागि ४६ रन बनाए । राणा १० औं ओभरमा २२ रन बनाएर राहुल तेवतियाको शिकार बने । १२ औं ओभरमा जोफ्रा आर्चरले शुभमन गिललाई पेभेलियन फर्काए ।

कोलकाताका कप्तान दिनेश कार्तिक आर्चरको दोस्रो शिकार बने । दिनेशले केबल १ रन बनाउन सके । आन्द्रे रसेलले १४ बलमा ३ छक्काको मद्दतमा २४ रन बटुले । इयान मोर्गन ३४ र कमलेश नगरकोटी ८ रनमा नटआउट रहे ।

राजस्थानका लागि आर्चरले केबल १८ रन दिएर २ विकेट लिए ।

 



source https://www.onlinekhabar.com/2020/10/900179

Tuesday 29 September 2020

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह

नायिका निरुता सिंहले आफूले काठमाण्डौ मिस गरिरहेको र चाडै आउन चाहेको बताएकी छिन् । मुम्बइमा रहेकी निरुताले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘लकडाउन र कोरोनाका कारण काम अगाडि बढ्न सकेको छैन । तर, म चाडै काठमाण्डौ आएर काम गर्न आतुर छु ।’

नायिका सिंहले चलचित्र ‘दर्पण छायाँ फेरि’मा काम गर्न लागेको जानकारी दिइन् । भनिन्–‘यो चलचित्र मेरो, नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानको ड्रिम प्रोजेक्ट हो । उत्तमजीले यो चलचित्रको कथालाई निकै नै उत्कृष्ट शैलीमा लेख्नुभएको छ । यसले दर्पण छायाँको ब्रान्डलाई विगार्दैन बरु अझै माथि लैजान्छ ।’

कथावस्तुलाई आधुनिक शैलीमा ढालिएको भन्दै निरुताले दर्शकले मन पराउने बताइन् । यो चलचित्रलाई पनि तुलसी घिमिरेले निर्देशन गर्दैछन् । लकडाउन अगाडि सबै तयारी पुरा गरेर छायांकन सुरु गर्ने तरखर गरिएको भन्दै निरुताले लकडाउनका कारण काम रोकिएको बताइन् । सरकारले छायांकनका लागि अनुमति दिएसँगै काम सुरु गर्ने उनको तर्क छ । चलचित्रमा दिलिप, निरुता र उत्तमकै लगानी रहनेछ ।

निरुताले आफूलाई केही चलचित्रबाट अफर आएपनि लकडाउनका कारण कुराकानी अगाडि बढ्न नपाएको बताइन् । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेकी निरुतालाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । निरुताले अरु चलचित्रमा काम गरेपनि नगरेपनि ‘दर्पण छायाँ फेरि’ भने पहिले अगाडि बढाउने बताइन् ।



source https://www.onlinekhabar.com/2020/09/900011

भ्यागुताको पूजा हुने अनौठो मन्दिर

काठमाडौं । देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा बनेको थाहा छैन ।

छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा रहेको एउटा मन्दिरमा भने केवल भ्यागुताको मात्रै पूजा हुन्छ । उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लामा रहेको ओयल भन्ने क्षेत्रमा उक्त मन्दिर छ ।

मन्दिर करीब २ सय वर्ष पुरानो हो । उक्त क्षेत्रमा सुख्खा खडेरी तथा बाढीजस्ता प्राकृतिक विपत्तिबाट सुरक्षाका लागि सो मन्दिरको निर्माण गरी भ्यागुताको पूजा गर्न थालिएको इतिहास छ ।

स्थानीय जातीय समुदायका एक तान्त्रिक पूर्वजले सो मन्दिरको वास्तुकलाको डिजाइन गरेका थिए । तन्त्रवादमा आधारित सो मन्दिरको वास्तु संरचना विशेष शैलीका कारण पनि चर्चित छ ।

उक्त ठाउँ इतिहासमा ओयल शैव सम्प्रदायको प्रमुख केन्द्रको रुपमा थियो र त्यहाँका शासक भगवान शिवका भक्त थिए । सो क्षेत्रमा भ्यागुता मन्दिरका अलावा अर्को प्राचीन शिव मन्दिर पनि रहेको छ ।

उक्त क्षेत्र ११ औंदेखि १९ औँ शताव्दीसम्म चाहमना वंशबाट शासित थियो । सो वंशका राजा बक्शी सिंहले उक्त अद्वितीय मन्दिर निर्माण गरेको बताइन्छ ।

मन्दिरको बाहिर भ्यागुताको ठूलो मूर्ति छ । मन्दिरका भित्ताहरुमा तान्त्रिक देवी देवताका कलात्मक मूर्तिहरु खोपिएको छ भने मन्दिरभित्र पनि कैयन् विचित्र खाले तान्त्रिक चित्रहरु रहेका छन् ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/09/900005

अक्टोबर १३ मा एप्पलको आइफोन १२, चौबिसै घण्टा चल्दैछ कारखानामा काम

काठमाडौं । एप्पलले निकट भविष्यमा ल्याउने अपेक्षा गरिएको आइफोन १२ को उत्पादन तीव्र गतिमा भैरहेको छ ।

एप्पलको आइफोन उत्पादन गर्ने ताइवानस्थित फक्सकन कम्पनीको कारखानामा मजदुरहरु २४ सै घण्टा खटिइरहेका छन्, आइफोन १२ बनाउनका लागि ।

समाचारअनुसार आइफोनको कारखानामा मजदुरहरुलाई विदा पनि दिइएको छैन र अनिवार्य रुपमा अतिरिक्त समयमा काम गराइएको छ । उच्चतम क्षमतामा आइफोन १२ उत्पादनका लागि मजदुरहरु दिनरात काममा खटिरहेका छन् । फक्सकन कम्पनीले मजदुरहरुलाई देशव्यापी विदाको दिनहरुमा समेत विदा नदिई काममा लगाएको छ ।

साउथ चाइना मर्निङ पोष्टले फक्सकनमा कार्यरत एक मजदुर वांग गोफेंगलाई उद्धृत गर्दै जनाए अनुसार गृष्मयामदेखि कम्पनीमा कामदारहरुलाई अतिरिक्त समयमा काम लगाउने क्रम बढिरहेको छ र धेरैजसो कामदारलाई महिनामा जम्मा ४ दिनमात्र विदा दिइएको छ ।

कामको उच्च चाप र तनावका बीच पनि आइफोन १२ निर्माता कारखानामा कार्यरत कामदारहरुले त्यसलाई अधिकतम रकम आर्जन गर्ने मौकाको रुपमा लिइरहेका छन् । कम्पनीले हालको समयमा मेहनतपूर्वक काम गर्ने कामदारहरुलाई बोनस, भत्ता तथा अन्य विभिन्न खाले नगद प्रोत्साहन उपलब्ध गराइरहेको छ । मानिसहरु राष्ट्रिय विदाहरुमा पनि झन् काम गर्न हौसिने गरेका छन् । किनकी चिनियाँ श्रम कानून अनुसार मध्य हेमन्त पर्वको विदाको पहिलो तीन दिन काम गर्नेलाई तलबको तेब्बर भुक्तानी गर्नुपर्ने हुन्छ ।

आइफोन उत्पादक कारखाना फक्सकनले सेप्टेम्बर १८ पछि काम थालेर कम्तिमा ९० दिनसम्म जागिरमा रही कम्तिमा ५५ दिनसम्म काममा आएका कामदारलाई बोनसको रुपमा १० हजार युआन दिने बताइसकेको छ । त्यस्तै सेप्टेम्बर २६ पछि भर्ना भएका कामदारले चाहिँ बोनसको रुपमा ८ हजार ५ सय युआन पाउनेछन् ।

महामारीका कारण फक्सकन कम्पनीमा श्रमिक अभावका कारण काममा बाधा नपरोस् भन्नका लागि सरकारले पनि सघाइरहेको छ । सरकारले महामारीका कारण घरमा बसिरहेका २ लाखभन्दा धेरै कामदारलाई छिटोभन्दा छिटो कार्यक्षेत्रमा पठाउनका लागि विशेष सहुलियत प्रदान गरेको थियो । गत जून महिनामा फक्सकन कम्पनीको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५०.६ प्रतिशतले बढेको थियो ।

सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक नगरेको एप्पलले आगामी अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने समाचारहरु सार्वजनिक भएका छन् । एप्पल इनसाइडरको एक रिपोर्ट अनुसार आइफोन १२ को प्रिअर्डर चाहिँ १६ अक्टोबरदेखि सुरु हुनेछ । नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्ने बताइएको छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/09/900004

विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गर्यो

चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितीले बैंक स्थापना गरेको हो । समितीको सह–संयोजकमा नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा छन् ।

११ सदस्य रहेको मस्यौदा समितीले ‘स्टोरी बैंक कार्यविधी २०७७’ पनि तयार पारेको छ । यो बैंक स्थापना भएपछि सरकारले मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

यो बैंकका लागि प्राप्त भएका चलचित्रकहरु मध्येबाट प्राप्त ५ वटा मौलिक चलचित्रलाई राज्यले सुविधा दिनेछ । मौलिक छनोटमा नपरेका चलचित्रमा कसैले लगानी गर्न चाहे पनि राज्यले केही सुविधा उपलब्ध गराउनेछ । सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेको थियो ।



source https://www.onlinekhabar.com/2020/09/900000

पहिलो चुनावी बहसमा ट्रम्प र बाइडनबीच आरोप प्रत्यारोप

१४ असोज, काठमाडौं । अमेरिकाको आगामी राष्ट्रपति पदका लागि चुनावी मैदानमा रहेका डोनाल्ड ट्रम्प र जो बाइडनबीच मंगलबार पहिलो चुनावी बहस (डिबेट) भएको छ । बहसको क्रममा दुवै प्रतिस्पर्धीले एकअर्कालाई स्वास्थ्य, न्याय, नश्लीय भेदभाव, अर्थतन्त्रलगायतका विषयमा आरोप प्रत्यारोप गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफ्नो ठाउँमा बाइडन राष्ट्रपति भएको भए अमेरिकामा अझै धेरै मानिसहरुको मृत्यु हुने दाबी गरे । जवाफमा बाइडनले ट्रम्पसँग महामारीको सामना गर्ने कुनै स्पष्ट योजना नरहेको आरोप लगाए ।

अमेरिकामा अहिलेसम्म कोरोनाका ७० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने दुई लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । ट्रम्पले भने आफूहरुले कोरोना नियन्त्रणको लागि निकै राम्रो काम गरेको भन्दै आफ्नो बचाउ गरेका थिए । ट्रम्पले भने, ‘हाम्रो सरकारले कोरोना नियन्त्रणको लागि मास्क, पीपीई, किट र औषधिको व्यवस्था गरेको छ । अबको केही सातामा नै कोरोना खोप बन्ने छ । मैले कम्पनीहरुसँग कुरा गरेको छु र अब छिटै नै खोप आउँछ भनेर भन्न सक्छु ।’

बाइडनले भने ट्रम्पले मास्क लगाउने विषयलाई गम्भीररुपमा नलिएको भन्दै आलोचना गरेका थिए । तर, यस विषयमा ट्रम्पले बाइडन दुई सय मिटर टाढा बस्दा पनि मास्क लगाउँछन् भन्दै व्यंग्य गरेका थिए । महामारीको क्रममा ठूलो भिडभाडसहितको चुनावी र्‍याली किन गरेको भनेर सोधिएको प्रश्नमा ट्रम्पले बाइडनले उक्त संख्यामा मानिसहरु जुटाउन सकेको भए उनले पनि आफूले गरेको जस्तै भिड जुटाउने बताए ।

बहसको क्रममा ट्रम्पले आफूलाई अमेरिकी इतिहासको सबैभन्दा उत्कृष्ट राष्ट्रपति भएको बताएका थिए भने बाइडनले ट्रम्प इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएको बताएका थिए

बाइडनले ट्रम्पले दिएको अभिव्यक्तिलाई निशाना बनाउँदै ब्लिचको इन्जेक्सन लिए कोरोनाबाट बच्न सकिने भएकाले उक्त इन्जेक्सन लिन सुझाव दिएका थिए । ट्रम्पले यो कुरामा आफ्नो विज्ञता नभएकाले हुन पनि सक्ने भनेर बोलेको बताएका थिए । बाइडनले सबैलाई ट्रम्पले झुठा व्यक्ति भएको थाहा भएको बताएका थिए ।

मैले लाखौं डलर कर तिरेको छु : ट्रम्प

अर्थतन्त्रको विधामा क्रिस वालेसले अर्थतन्त्रमा कसरी सुधार ल्याउन सक्नुहुन्छ ? भनेर दुवै प्रत्याशीलाई सोधेका थिए । ट्रम्पले अमेरिकाको अर्थतन्त्रमा निरन्तर सुधार आइरहेको र इतिहासमा आफूले सबैभन्दा राम्रो आर्थिक सुधार हासिल गरेको दाबी गरेका थिए ।

यसै क्रममा न्युयोर्क टाइम्समा प्रकाशित सन् २०१६–१७ मा केवल ७५० डलर कर बुझाएको रिपोर्ट साँचो हो ? सोधिएको प्रश्नमा ट्रम्पले यसलाई गलत समाचार ‘फेक न्युज’ रहेको बताएका थिए । उनले आफूले एक वर्ष तीन करोड ८० लाख र अर्को वर्ष दुई करोड ७० लाख डलर कर तिरेको दाबी गरे ।

बाइडनले भने चुनावी बहस सुरु हुनुभन्दा केही घण्टा अगाडि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए । उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको विवरणमा उल्लेख छ ।

भेदभाव र काला जातिको प्रदर्शन

अमेरिकामा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी अधिकारीबाट हत्या भएको र त्यही घटनापछि हिंसा भड्किएकोबारे पनि ट्रम्पलाई प्रश्न सोधिएको थियो । जवाफमा उनले आफ्नो पालामा यस किसिमको हिंसा कम भएको तर अघिल्लो सरकारको पालामा भने यस किसिमको हिंसा तथा भेदभाव बढी हुने गरेको दाबी गरे ।

बाइडनले भने पछिल्ला वर्षमा अमेरिकाको कानुनी व्यवस्था नै बिग्रिएको बताए । यसको जवाफमा ट्रम्पले आफू कानुनी व्यवस्थामा नभई न्याय व्यवस्थामा विश्वास गर्ने बताए । साथै मानिसहरुले पनि न्याय व्यवस्थामा विश्वास गर्ने ट्रम्पको भनाइ छ । अमरिकामा भएको प्रदर्शन हिंस्रक बनेको विषयमा बाइडनले विरोध प्रदर्शनमा हानिकारक केही नभए पनि हिंसा स्वीकार्य नरहेको बताएका थिए ।

अमेरिकी जनताले तपाईंलाई किन भोट दिने ? भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हाम्रो सरकार सबैभन्दा राम्रो प्रशासनिक सरकारको हो । कोरोना आउनुभन्दा पहिला हामी विकासको बाटोमा थियौं तर महामारीले यसमा धक्का लागेको छ ।’ उनले आफ्नो पालामा आफूले धेरै न्यायाधीश नियुक्त गरेको पनि बताए ।

बाइडनले ट्रम्पको शासनमा अमरिकामा असुरक्षा बढेको र अमेरिका आर्थिक हिसाबमा झन् कमजोर बनेको बताएका थिए । उनले भनेका छन्, ‘ट्रम्पको शासनमा धनी झन् धेरै धनी बन्दै जानेछन् भने गरीब अझै गरीब हुँदै जानेछन् ।’

जलवायु परिवर्तनको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई केबल सफा पानी र हावा चाहिने र यसका लागि निकै राम्रो काम पनि आफूले गरेको उल्लेख गरे । यसको लागि आफूले व्यापारमा पनि ठूलो क्षति नपुर्‍याएको बताए । प्रत्येक वर्ष अमेरिकी जंगलमा आगो लाग्नबाट रोक्न भने राम्रो वन व्यवस्थापनको जरुरी रहेको बताए ।

बहसको क्रममा ट्रम्पले आफूलाई अमेरिकी इतिहासको सबैभन्दा उत्कृष्ट राष्ट्रपति भएको बताएका थिए भने बाइडनले ट्रम्प इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएको बताएका थिए ।

यो पनि पढ्नुहोस अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प अगाडि कि बाइडन ?

स्रोत : बीबीसी



source https://www.onlinekhabar.com/2020/09/899996

पककला : स्वादिलो र पोषिलो पनि

खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ । सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो

खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले एउटा सुन्दर कलाकृतिको रचना हुन्छ, त्यसरी नै एउटा मेहनती गृहिणीले कलात्मक र मीठो खाना तयार पार्न सक्छिन् । खाना पकाउने कला केटामान्छे होस् या केटीमान्छे दुवैका लागि कलात्मक हुन सक्छ ।

खाना पकाउले कलाको इतिहास खोतल्ने हो भने आजभन्दा ५ लाख वर्ष पहिले मान्छेले आगोलाई आफू अनुकूल प्रयोगमा ल्याउन थालेको बताउने गरिन्छ । भनिन्छ त्यो समयमा आगोम झुक्किएर मासुको टुक्रा खस्यो, आगोले त्यो मासुलाई नरम मात्रै बनाएन स्वादिलो पनि बनायो । यही आधारमा खाना पकाएर खानु पर्छ भन्ने मान्यताको विकास हुँदै आयो । त्यसैले जति धेरै प्रविधिको विकास हुँदैछ, पाक कलामा पनि त्यति नै धेरै सुधार हुँदैछ ।

माइक्रोवेव गर्नु स्वास्थ्यको लागि कत्तिको फाइदा ?

खानालाई माइक्रोवेव गरेर खानुलाई मान्छेले पछिल्लो समय उपयोगी मान्ने गरेका छन् । थोरै समयमात्रै तातोमा राख्दा यसमा रहेका पोषक तत्व कम मात्रामा नष्ट हुन्छ र यो शरीरको लागि फाइदाजनक हुन्छ भन्ने कुरा पोषणविद्हरू बताउँछन् ।

पोषणविद्हरूका अनुसार हरिया सागसब्जीलाई माइक्रोवेभमा तताउँदा २०देखि ३० प्रतिशतसम्म मात्रै पोषक तत्व नष्ट हुने भएकोले माइक्रोवेव गरेर खाना खानु उपयुक्त हुन्छ ।

भोजन स्वस्थ राख्नको लागि फ्राइ गर्ने कि स्टर फ्राइ गर्ने ?

खाना बनाउने बेलामा खाना धेरै मान्छेलाई फ्राइ गरेर पकाउने गर्छन् । तर यथार्थ यो हो कि सबै खाद्य पदार्थ फ्राइ गरेर मात्रै खानु उपयुक्त हुँदैन । माछा ओमेगा ३ फ्याटी एसिडको सबैभन्दा राम्रो स्रोत हो । जसले कैयौं स्वास्थ्य लाभ हासिल गर्ने गर्छ । तर यसलाई उच्च तापमा पकायौं भने यसले पूरा पोषक तत्व प्रदान गर्ने गर्दैन ।

उदाहरणको लागि यदि हामीले ट्युना माछालाई फ्राइ ग¥यौं भने ७० देखि ८० प्रतिशतसम्म ओमेगा ३ को कन्टेन्ट घट्न जान्छ ।

स्टर–फ्राइ गर्नु

स्टर फ्राइमा एउटा ठूलो कराइमा धेरै ताप दिएर खानालाई एकदमै कम समय पकाउने गरिन्छ । यसमा तेल र मक्खनलाई यसमा पकाउने गरिन्छ ।

बाफमा खाना पकाउनु सबैभन्दा उत्तम विकल्प

खाना पकाउने कलामध्ये बाफमा खाना पकाउनु सबैभन्दा उत्तम विकल्प मान्ने गरिन्छ । खासगरी पानीमा घुलनशील भिटामिनको संरक्षणको लागि यस्तो तरिकाले पकाएको खाना उपयुक्त मान्ने गरिन्छ । विभिन्न शोध अनुसार पुष्टि भएको छ कि पालक, ब्रोकाउली जस्ता कखाद्य पदार्थलाई बाफमा पकाउनुले ९ प्रतिशतदेखि १५ प्रतिशतसम्म भिटामिन सीको कमी हुने गर्छ । यसमा पाकिसकेपछि नुन, मसला या तेल राखिदिन पनि सकिन्छ ।

उमाल्नुलेको खानामा पोषक तत्व बढी हुन्छ ?

खाना उमालेर खानु खाद्य संस्कारको पुरानो एउटा संस्कार हो । विश्वका कतिपय संस्कृतिमा अहिलेसम्म पनि खाना उमालेर खाने गरिन्छ । गुन्द्रुक जस्ता कतिपय खानेकुरा उमालेर खाने गरिन्छ । यस्तो खाद्यपदार्थ प्रायः थोरै मात्रामा केही कुरा हालेर धेरै पानी मात्रैलाई पिउने गरिन्छ ।

खाना पकाउने समयमा धेरै पोषक तत्व पाउने टिप्स

खाना पकाउने समयमा पोषक तत्वको कमीलाई पूर्ति गर्नको लागि  कम्तीमा यी कुरालाई ध्यान दिनु जरुरी छ ।

–भोजनलाई उमाल्ने समयमा सकेसम्म कम पानीको प्रयोग गर्नुहोस् ।

–यदि तपाईं मांसाहारी खानेकुरा बनाइरहनु भएको छ भने यसमा मासुलाई निकालेर धेरैबेर रसलाई मात्रै पकाउनुहोस् ।

पकाएको तरकारीलाई एकदिनभन्दा धेरै फ्रिजमा राखेर पनि नखानुहोस् । किनकि हावाको सम्पर्कका कारण यसमा भएको पोषक तत्व नष्ट हुन्छ ।

यदि सम्भव हुन्छ भने खाद्य पदार्थलाई पकाउनुपूर्व होइन । पकाइसकेपछि काट्नुहोस् ।

–तरकारी पकाउने बेलामा त्यसलाई केवल केही मिनेट मात्रै पकाउनुहोस् ।

यी कुराहरूमा ध्यान राखौं

खाना पकाउने समय केही नियमहरूको पालना गर्नुहोस् । याद गर्नुपर्ने कुराहरुमा खाना पकाउने अवधि, तापमान र पकाउने तरिकाहरू पर्छन् ।

खाना पकाउने केही तरिकाहरू अरू तरिकाको तुलनामा स्वास्थ्यबद्र्धक हुने गर्छ । उदाहरणको लागि ‘डिप फ्राइ’ वा धेरैबेर भुट्नुको तुलनामा केहीबेर मात्रै भुटेको तरकारी धेरै स्वास्थ्यबद्र्धक हुन्छ । स्टर फ्राइले पनि कम तेलको प्रयोग गर्नुका साथै भोजनलाई अधिक पौष्टिक बनाउन पनि मद्धत गर्ने गर्छ ।



source https://www.onlinekhabar.com/2020/09/899995

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो ।

दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प थियो, न त भारत नै पठाउन सकिने अवस्था । अहिले पनि राति केही घण्टा २०० मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला राति खेर गइरहेको बिजुली अहिले सबभन्दा चिन्ताको विषय बनेको बताउँछन् ।

पछिल्लो सयममा वितरणलाइनमा आएको समस्या समाधानमा केन्द्रित भएको प्राधिकरणलाई अब केही महिना खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको छ ।

गत हप्ता भएको वर्षापछि नदीहरुमा पानीको सतहसँगै बिजुलीको उत्पादन बढेको छ । देशभित्र उत्पादन बढेकाले भारतबाट आउने बिजुलीको परिमाण घटेको छ ।

राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको छ । वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन्

लकडाउनपछि कलकारखाना, होटल पूर्णक्षमतामा चल्न सकेका छैनन् । यसले गर्दा विद्युत माग बढ्न सकिरहेको छैन । अहिले चलिरहेका उद्योग–कलकारखाना पनि अब दशैं–तिहारमा बन्द हुनेछन् । विजुली उत्पादन भने नदीहरुमा सफा पानीको बहावले गर्दा पनि अझ बढ्नेछ ।

यी विविध कारणले अब बिजुलीको माग/खपत घट्ने निश्चित छ । यो अवस्थामा अबको तीन महिना प्राधिकरणलाई बिजुली खेर जान नदिन ठूलो चुनौती हुनेछ ।

निमित्त कार्यकारी निर्देशक कोइराला अहिले नै प्राधिकरणले आफ्ना आयोजनाका उत्पादन युनिटहरु बन्द गर्नुपरेको बताउँछन् । यसो गर्दा बिजुली खेर जान्छ ।

उनका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय देखि १३ सय मेगावाटसम्म बिजुलीको माग छ । विहान ९ देखि ९५० मेगावाट र दिउँसो ११ सयदेखि १२५० मेगावाटसम्म माग हुन्छ । हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बाध्यता छ ।

प्राधिकरणले दिउँसो आन्तरिक उत्पादनले नथेग्दा कुनै–कुनै घण्टा एक सय मेगावाटसम्म बिजुली भारतबाट ल्याइरहेको छ । साँझको पिक आवरमा माग बढ्दा करिब २५० मेगावाट बिजुली आयात गर्नुपरिरहेको छ ।

भार प्रेषण केन्द्रको अनुसार रातको सयममा करिब ४ घण्टा २ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ । गत हप्ता अबिरल वर्षाका बेला खेर जाने बिजुलीको परिमाण अझै बढी थियो ।

अहिले रातको सयममा करिब ८ सय मेगावाटसम्म बिजुलीको माग छ । जबकी नेपालमा प्राधिकरणका आफ्ना र निजी जलविद्युत प्रवद्र्धकका आयोजनाबाट एक हजार मेगावाटभन्दा बढी बिजुली प्रणालीमा निरन्तर उपलब्ध हुँदैछ ।

निजी क्षेत्रले करिब ५७५ मेगावाट र प्राधिकरणका आयोजनाहरुले ४२० मेगावाट हाराहारी बिजुली निरन्तर उत्पादन गर्न सक्छन् । कुलेखानीको १०६ मेगावाट यसमा जोडिएको छैन । उत्पादित बिजुली खेर जान नदिन हजार मेगावाटसम्म बिजुलीको माग अत्यावश्यक छ ।

२०० मेगावाट बिजुली एक घण्टा खेर जाँदा २ लाख युनिट खेर जान्छ । २ लाख युनिट बिजुली खेर जाँदा प्राधिकरणलाई करिब २ करोड रुपैयाँ नोक्सान हुन्छ । राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

देशभित्रको उत्पादनअनुसार प्रणालीमा माग/खपत नभएसम्म भारतबाट बिजुली ल्याउन पर्ने बाध्यता हट्दैन । तर, रात छिप्पिँदै गर्दा माग झन् घट्ने सिजन नजिकिदैछ ।

प्राधिकरणले निजी उत्पादकका बिजुली लिनैपर्ने गरी ‘टेक अर पे’ मोडलमा खरिद सम्झौता गरेको छ । निजी उत्पादकहरुको बिजुली नलिए पनि त्यसको बिल तिर्नुपर्ने भएकाले प्राधिकरणले आफ्नै आयोजनाहरु बन्द गरेर बिजुली खेर फाल्ने गरेको छ ।

आगामी हप्ताबाट वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । कात्तिक, मंसिर र पुस मध्यसम्म नदीहरुमा सफा पानीको अवरोधरहित बहाव हुँदा धेरै बिजुली खेर फाल्नुको विकल्प नभएको उनीहरुको भनाइ छ ।

पोहोर कुलेखानी भरिएपछि आयोजनाहरू चलाएर करिब ८० करोड बराबरको बिजुली भारतमा पठाइएको थियो । अहिले दैनिक केही समय भारतको बिहारबाट बिजुलीको माग हुँदा निर्यात पनि गरिन्छ ।

लकडाउनको कारण यो वर्ष बिहारमा पनि बिजुली खपत घटेको छ । सरकारी स्तरमा समझदारी नभएकाले नेपालको खेर जाने बिजुली किन्न भारत बाध्य छैन । यसअघि पनि प्राधिकरणकै पहलमा बिहारमा बिजुली पठाइन्थ्यो । तर, अहिले प्राधिकरणमा पहल गर्नसक्ने नेतृत्व पनि छैन ।

तामाकोसी आएपछि के होला ?

नयाँ अड्चन नथपिए आगामी मंसिरसम्म माथिल्लो तामाकोसी आयोजना (४५६ मेगावाट) को पहिलो युनिटबाट बिजुली उत्पादन हुने अवस्था छ ।

वर्षायाममा बढी हुने बिजुली देशभित्रै खपत गर्ने सरकारी योजना अलमलमा छ । अबको एक वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ९० युनिट बढाउने सरकारी लक्ष्य छ । अहिले २६० युनिट रहेको प्रतिव्यक्ति बिजुली खपत ३५० युनिटमा पुर्‍याउने योजना छ ।

तीन वर्षअघि यस्तो खपत १५० युनिट थियो । सरकारको लक्ष्य पूरा हुन अबको दुई वर्षमा यस्तो खपत दर ७०० युनिट पुग्नुपर्छ । तर, देशभित्र ऊर्जा खपतलाई प्रोत्साहन गर्ने नीति यही वर्ष आएन ।

इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन र विद्युतीय उपकरणमा कर वृद्धि गर्ने निर्णयले आन्तरिक खपत निरुत्साहित भएको ऊर्जासम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन् । नेपालले कि ठूलो मात्रामा आन्तरिक बिजुली खपत बढाउनु, कि त भारतीय बजारमा बेच्नुको विकल्प छैन ।

सरकारले विद्युत प्राधिकरणलाई भारतको बोलकबोलमा बिजुली बिक्री हुने ‘डे–अहेड’ र ‘टर्म–अहेड’ मार्केटमा बिजुली बेच्न पूर्वस्वीकृति त दिएको छ, तर भारतले अहिलेसम्म आफ्नो बजारमा प्राधिरकणलाई बाटो खोलिदिएको छैन ।

भारतको ‘एनटीपीसी विद्युत ब्यापार निगम लिमिटेड’ (एनभीभीएन)सँग यसबारे छलफल भइरहेको ऊर्जासचिव दिनेशकुमार घिमिरे बताउँछन् ।

भारतको अन्तर्राष्ट्रिय विद्युत ब्यापार सम्बन्धी निर्देशिकाअनुसार विदेशबाट ल्याएको बिजुली सीधै बेच्न पाइँदैन । विदेशी विद्युतको व्यापार एनभीभीएनमार्फत मात्र गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।

प्राधिकरणले एजेन्सीका रुपमा एनभीभीएनसँग काम गर्ने सहमति गत वर्ष जनाएको छ । अब निर्देशिकाअनुसार भारतको ऊर्जा मन्त्रालयले ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गर्न बाँकी छ ।



source https://www.onlinekhabar.com/2020/09/899992

बिहीबारबाट बढ्यो आन्तरिक हवाई उडानको कोटा

१४ असोज, काठमाडौं । सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो ।

यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ ।

यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।

प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

प्राधिकरणले सिमि्रक र सौर्यलाई २/२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक/एक उडानको अनुमति दिइएको थियो ।

दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन/तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ ।

त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ । कम्पनीहरुका अनुसार लकडाउन र निषेधाज्ञापछि खुलेको आन्तरिक उडानका यात्रुको आकर्षण देखिएको छ । अहिले हवाई उडानका ९० प्रतिशतभन्दा माथि सीट भरिएको छन् ।



source https://www.onlinekhabar.com/2020/09/899989

गौतमविरुद्धको रिट पूर्ण इजलाशलाई सुनुवाइ हुँदै

१४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/09/899990

कोरोना संक्रमित गर्भवतीको शल्यक्रियामार्फत् छोरा जन्मियो

१४ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा मंगलबार रातिदेखि पेट दुख्न थालेपछि बिहान शल्यक्रियाको लागि हेल्थ केयर पठाइएको थियो । तीन वर्षअघि पनि उनले शल्यक्रिया मार्फत छोरा जन्माएकी थिइन् ।

कोरोना अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन लगाएर घरमै राखिएको थियो । यो समाचार अनलाइनखबरमा प्रकाशित भएपछि सरकारी अधिकारीहरुले चासो दिएका थिए ।

यो पनि पढ्नुहोस संक्रमित गर्भवतीलाई कोरोना अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको भर

नारायणी अस्पतालको समन्वयमा निजी अस्पतालमा संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । ‘संक्रमित गर्भवतीलाई घरमै राखिएकोबारे बेलैमा जानकारी आयो । अस्पतालमा व्यवस्थापन गर्ने मौका पायौं,’ प्रजिअ तामाङले भने, ‘शल्यक्रिया मार्फत् उनको छोरा जन्मिएको छ । यो खुशीको कुरा हो ।’

संक्रमित महिलाका दाजु दिनेश पण्डित मिडियाले गर्दा बहिनीले राम्रो उपचार पाएको बताउँछन् । ‘हामीसँग कुनै विकल्प थिएन, घरमा ल्याएर राखेका थियौं,’ उनले भने, ‘मिडियाले अवस्था सार्वजनिक गरिदियोे, संक्रमण भएकै अवस्थामा बहिनीको शल्यक्रिया गर्ने अवस्था बन्यो ।’

यो पनि पढ्नुहोस होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

उनमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जमा हाल सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)ले शल्यक्रिया र डायलायसिसको विरामी लिन नसक्ने बताएपछि समस्या भएको थियो ।

बाबा होटल आइसोलेसनमा आवश्यक प्रबन्ध नहुँदासम्म संक्रमितको शल्यक्रिया र डायलायसिस गर्न वीरगञ्ज हेल्थ केयरको जिम्मा लगाइएको छ । वीरगञ्ज हेल्थ केयरले संक्रमितका लागि छुट्टै ठाउँको व्यवस्थापन गरेर शल्यक्रिया र डायलायसिसको प्रबन्ध मिलाएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले बाबा होटल आइसोलेसनमा आवश्यक व्यवस्था नहुञ्जेल निजी हस्पिटलको संस्था अफिनलाई आवश्यक प्रबन्ध मिलाउने जिम्मेवारी दिएको थियो ।

यो पनि पढ्नुहोस पर्सामा कोरोना संक्रमित मिर्गौलाका बिरामी र गर्भवतीले उपचार पाउने

source https://www.onlinekhabar.com/2020/09/899980

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More