Wednesday 31 July 2019

संचितालाई प्रश्न–‘के घरकै फिल्मका लागि मोटाउनुभएको हो ?’

नायिका संचिता लुइटेलको अभिनयसँगै उनको सुन्दरता र फिगरको चर्चा पनि खुबै गरिन्छ । ‘अप्सरा’ डेब्यू नायिका अहिले भने चलचित्रसँगै घरयासी जीवनमा बढी व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘हजार जुनी सम्म’ साउनको अन्तिम साता रिलिज हुँदैछ ।

केही दिन अगाडि चलचित्रको कार्यक्रममा देखिएकी नायिका लुइटेलको फिगरको चर्चा खुबै भयो । केही समय अगाडि आफ्नो फिगर मेन्टेन गरेर चर्चामा रहेकी संचिता अहिले भने खुबै मोटाएकी छिन् ।

आखिर, उनले मेन्टेन गर्न नसकेर ज्यान मोटाएको हो या चलचित्रका लागि ? नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘आयो भैरव’मा संचिताले काम गर्न लागेको चर्चा छ । यो चलचित्रको छायांकन केही महिनामा नै सुरु हुँदैछ । संचिताले भने यो प्रश्नको जवाफ दिन मानिनन् । उनले भनिन्–‘म केही समय पछि आफै जानकारी दिनेछु ।’

तर, लामो समयपछि निखिल र संचिता एकसाथ पर्दामा देखिन लागेको चर्चा भैरहेको छ । संचिताले भने तत्काल यो बिषयमा हल्ला नगर्न नचाहेको देखिन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784885

संसद् र सरकारको सम्बन्ध श्रीमान्–श्रीमतीजस्तो होइन : कर्ण

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले सर्लाहीमा प्रहरी कारवाहीका क्रममा अलग घटनामा दुई व्यक्ति मारिएको बारे संसदीय छानविन समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक चल्न दिएका छैनन् ।

असार ५ गते नेत्रविक्रम चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरी कारवाहीमा मारिएका थिए । त्यस्तै, असार १५ मा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर ईश्वर नगरपालिका–१३ का सरोजनारायण सिंहको मृत्यु भएको थियो ।

असार २४ मा बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरू दुवै सभाबाट पारित भएसँगै दुवै दलले संसद चल्न दिएका छैनन् । दुईटै घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापाले सदनलाई जानकारी गराइसकेका छन् । उनले पौडेलको प्रहरीसँगको मुठभेडमा र राजमार्ग खुलाउने क्रममा प्रहरीले गरेको हवाई फायरबाट अर्का व्यक्ति महतोको मृत्यु भएको सदनलाई जानकारी गराएका थिए । तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहेका राजपाका नेता लक्ष्मणलाल कर्ण बताउँछन् ।

सर्लाही घटनालाई लिएरअवरुद्ध सदन खुलाउने प्रयासका साथै सरकार र संसदको सम्बन्धबारे कर्णसँग गरिएको कुराकानी:

सर्लाही घटनाबारे संसदीय समिति नै गठन गर्नुपर्छ भनेर सदन चल्न दिनुभएको छैन । साना–साना विषयमा संसदीय समिति किन बनाउनुपर्‍यो भन्ने सरकारको भनाइ छ नि ?

मान्छे मार्ने कुरा सानो हुन्छ भने गाई गोरु मार्ने कुरा ठूलो हुन्छ ? जसलाई इन्काउन्टर गरेर मारेको छ । त्यसलाई दोहोरो भिडन्त भनेको छ । जो व्यक्ति मारिएको छ, त्यो व्यक्तिको दाँत भाँचिएको छ । हात भाँचिएको छ । हात भाँचिएको मान्छे दोहोरो भिडन्तमा संलग्न हुन सक्ने स्थिति रहन्न ।

यदि दोहोरो विभन्तमा मारिन्छ भने, मारिसकेपछि पनि उसको हातखुट्टा भँचिदिने ? लासको अधिकार हुँदैन ? लासको पनि अधिकार हुन्छ । यो बडा मानवअधिकारको प्रश्न हो । यि घटनामा सरकारले मानव अधिकारको धज्जी उडाइरहेको छ । गृहमन्त्रीले दिएको जवाफ पनि तथ्यगत र चित्तबुझ्दो छैन् । त्यसकारण स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन माग गरेका हौं ।

संसदीय विषयगत समितिले उपसमिति गठन गरेर छानविन गर्ने प्रस्ताव पनि आएको छ । यो विकल्प हुन सक्दैन ?

यो प्रश्न संसदमा उठिसकेको छ । सम्पूर्ण संसदकै विषय बनिसकेको छ । त्यसमा स्वयं गृहमन्त्रीले संसदीय छानविक समिति गठन गर्न म तयार छु भनिरहनुभएको छ । राजनीतिक रुपमा छलफल गर्नसमेत तयार छु भनेर सभामुखले रुलिङ गर्नुभयो । यस्तो अवस्थामा अब सरकारले संसदीय विषयगत समितिले नै गर्छ भन्यो भने नियत के त ? यसको कारण के ?

सर्लाहीको अर्को घटना हेर्नुहुन्छ भने, नदीमा गलत उत्खनन गरी खाल्डो बनाइयो । जसलाई गृहमन्त्रीले पोखरी भन्नुभयो । नदीभित्र पोखरी ? त्यसमा बच्चा डुबेर मर्छ । समयमा प्रशासनले हेर्दैन । त्यसलाई नियन्त्रण गर्दैन । दोषीलाई दण्डित गर्दैन । त्यसको विरोध गर्‍यो भने शान्तिपूर्ण जुलुसमा पनि हवाइफायरमा मान्छे मर्‍यो भन्ने ?

हवाइ फायर भनेको के हो ? सामान्यरुपमा बुझ्दा हावामा फायर गर्नु न हवाइ फायर हो । आकाशतिर हेरेर गर्नु नै हवाइ फायर हो भने यो मान्छे आकाशतिर उडिराखेका थिए ? त्यस्तो गैरजिम्मेवार कुरा आइराखेको छ । यो कुनै बाहानामा स्केप गर्न खोज्नुको मत्लब त्यहाँ राज्यले गल्त गरेको हो ।

उसोभए सर्लाहीका दुई घटनाबारे गृहमन्त्रीले झुट बोल्नुभएको हो त ?

हामी उहाँको जवाफबाट सन्तुष्ट छैनौं । गृहमन्त्रीले एसएलआर पनि पडिकियो भन्नुभएको छ । एसएलआर जस्तो गोली चलाउने ‘वार’ भइराखेको थियो ? दुई देशको बीचमा । यी गम्भीर प्रश्न हुन् । मैले सरकारका प्रतिनिधि र स्थानीय जनताले भनेको कुरा धेरै फरक सुनेको छु । कसैले नदीको उत्खननका सम्बन्धमा मेयर र उनको झगडा भनेका छन् । जनताले बिभिन्न खाले प्रश्न उठाइरहेका छन् । सरकार भाग्न खोजिरहेको छ ।

सरकार किन भाग्न खोज्यो होला ?

गल्ती गर्ने मान्छे भाग्छ । जो सही गर्छ, ऊ भाग्दैन । चोरले उज्यालो सहँदैन । जहाँ उज्यालो छ, त्यहाँबाट भाग्छ । चोर्ने त अँध्यारोमा हो । हामीले संसदबाट उज्यालो छर्न खोज्या हो । सरकार कहीँ न कहीँ त गल्ती देखिराखेको छ । नत्र किन भाग्ने ?

संसदीय विषयगत समितिले उपसमिति गठन गरेर जाउँ भन्नेमा किन असहमति ? यो स्वीकार गरे त सदन पनि चल्थ्यो, तपााईहरुको माग पनि पूरा हुन्थ्यो …

यो भन्दा अगाडि संसदीय विषयगत समिति थिएन ? मानव अधिकार समिति थिएन ? राज्य व्यवस्था समिति थिएन ? जहाँ राज्यले नै मान्छे मार्छ भने त्यो त बडा ठूलो प्रश्न हो ।

तपाईहरुको मागमा तगारो को भयो ? सरकार कि सभामुख ?

सभामुखले त सकारात्मक कुरा गर्नुभएकै छ । गृहमन्त्रीले पनि संसदीय समिति गठन गरेर जान आपत्ति छैन भननुभएको छ । तर, सरकार नै मानिराखेको छैन ।

तपाईहरुले सभामुखको भूमिकामाथि पनि बेला–बेला प्रश्न उठाउँदै आउनुभएको छ । सरकारको छायाँ भन्नुभएकै छ विगतमा । सभामुखले सन्तुलन मिलाएर सदनलाई अगाडि बढाउन नसकेरै भनेको कि आफूले भने अनुसार नभएर ?

अहिले छायाँ पनि भन्दिनँ, सन्तुलन पनि भन्दिनँ । किन छायाँ भन्दिन भन्दा उहाँ भन्नुहुन्छ मैले पार्टीबाट राजीनामा दिएको छु । त्यसकारण राजीनामा दिएको व्यक्तिलाई छायाँ भनिदिने प्रश्न आउँदैन ।

तटस्थ व्यक्ति पनि छायाँमा पर्न सक्छ । बाँकी प्रश्न त अहिले संसदभित्रै हेरिराख्नुभएको छ । उहाँको निर्दशनको पालना भइराखेको छैन । सरकारले सुनिराखेको छैन् । यो विषयमा सरकार गम्भीर हुन पर्‍यो नि ।

सदन अवरोधका बीचमा पनि सदन चलाउने अभ्यास विगतमा भए …

विगतको हाम्रो संसदको प्रक्रिया हेर्दा एकजना उभियो भने पनि संसद नचलाउने भन्ने थियो । यसलाई संविधान बनाउने बेला सुवास नेम्वाङ जीले संसद मात्र कहाँ हो, यो संविधान सभा हो भनेर तोड्नुभयो ।

अन्य मुलुकमा पनि हेर्ने हो भने विपक्षीको उपस्थिति त देखिन्छ । तर, कामै नबन्ने गरी अवरोध गरेको पनि देखिन्छ । यो कुरा सन्तुलन मिलाउने कुरामा सभामुखले के गर्नुहुन्छ भन्नेमा निर्भर रहन्छ । अहिले हाम्रोमा सन्तुलन मिलेको छैन् । अवरोधका अवस्थामा कामकारबाही सञ्चालन हुन्छ भने, अवरोध गर्नेलाई उत्तेजित पार्नु हो । उत्तेजित संसदलाई फेरि समायोजन गर्न गाह्रो हुन्छ ।

त्यसकारण संसदलाई शान्त बनाउने काम सभामुखको हो । उहाँले यसलाई ख्याल गर्न सक्नुपर्छ । विगतमा रामचन्द्र पौडेलले हल्लाको बीचमा नै विधेयकहरु पास गरेका छन् । विभिन्न मौकामा यो परम्परा तोडिएको छ र मानिएको पनि छ ।

अहिले सरकार र संसदको सम्बन्ध कस्तो छ ? एउटा सांसदको नजरबाट हेर्दा …

जस्तो हुनुपर्ने, त्यस्तो छैन । सदनलाई बिजनेस दिने र सहज ढङ्गले काम गर्न दिने वातावरण बनाउन सहयोग नगरेको भान हुन्छ ।

फेरि संसद र सरकारको सम्बन्ध श्रीमान श्रीमतीको जस्तो सम्बन्ध पनि होइन । सरकारले राज्य सञ्चालन गर्छ । यसक्रममा राज्यले त्रुटीपूर्ण काम गर्छ वा गलत काम गर्छ भने प्रतिपक्षले औंल्याउने काम गर्छ । गल्तीलाई औंल्यायो भने त्यसलाई सच्याउने मौका पनि पाउँछ सरकारले र सच्चिएर अगाडि बढ्नुपर्छ । होइन, मलाई जे मन लाग्छ, त्यो गर्छु भन्छ भने त्यो सरकार प्रजातान्तिक सरकार हुँदैन ।

संसदीय समिति र सरकारका बीचमा पनि द्वन्द्व जस्तो देखिन्छ । संसदीय समितिका निर्देशनहरु किन पालना नभएका होलान् ?

सम्पूर्ण समितिका निर्देशनहरु मलाई थाहा छैन । तर, पनि म यही देशमा छु । यही संसदमा छु । लेखा समितिले वाइडबडी जहाजको सम्बन्धमा भ्रष्टाचार भयो भन्यो र निर्देशन नै दिएको छ । तर, त्यो आजसम्म कार्यान्वयन भएको छैन । लेखा समितिले पनि आफूले दिएको निर्देशनबारे खोज्नुपर्छ । त्यो गरेको देखिँदैन । समितिले अख्तियारलाई पठायो । कुनै पनि जरिवाना समितिले त गर्दैन । त्यसको संवैधानिक निकाय नै छ । वाइडबडीबारे सरकारलाई नै भन्यो समितिले । फेरि सरकारले नै अर्को समिति बनाउँछ भने यो आश्चर्यजनक कुरा हो । त्यो टार्न खोज्या हो, जुन सरकारी समितिले कामै नगरी समय बितायो ।

यसैगरी राज्य व्यवस्था समितिको निर्णय पनि पालना भएको छैन । अन्य समितिले पनि दिएको निर्देशनहरु पालना भएको जस्तो लाग्दैन । सरकारलाई लेखा समितिको निर्देशन गयो । यसलाई अख्तियार पठाइकन कारबाही गर्नुपर्ने अवस्था हो । त्यसमाथि पनि समिति बनाएर छानविन गर्नु भन्नु नै गल्ती हो । संसद भन्दामाथि अर्को कुनै सरकारी समिति हुन सक्दैन । त्यो एउटा गल्ती भयो । सरकारले बनाएको समितिले पनि के गर्‍यो, थाहा छैन ।

तपाईले लोकसेवाबारे राज्य व्यवस्था समितिको निर्देशनको विषय उठाउँदै हुनुहुन्थ्यो …

लोकसेवा आयोगलाई संसदीय समितिले निर्देशन दियो । केवल सरकारलाई होइन, मानव अधिकारबाहेक अन्य आयोगलाई पनि समितिले निर्देशन दिन सक्छ । एउटा मानव अधिकार आयोगलाई दिन पाउँदैन । मानव अधिकार नै सबैभन्दा टप काम हो । यसले गरिराखेको काममा हस्तक्षेप गर्न मिल्दैन । सरकारले यसलाई मान्नुपर्‍यो, मन्त्रीले मान्नुपथ्र्याे । संसदमा नै यो कुरा भनिसकेको छु मैले ।

संसदले नबुझीकन निर्देशन गर्छ भने त सारा कानुन बदर गरिदिनुपर्‍यो । त्यही संसद हो नि कानुन बनाउने । संसदले पास गरेको कानुन स्वीकार हुन्छ । संसदको दिएको निर्देशन अटेर गर्ने ? यो त मिल्दैन । जसले समितिको निर्देशन अटेर गर्छ । उ त समितिको पदेन सदस्य छ । उसको उपस्थितिमा निर्णय भएको हुन्छ । समितिको निर्देशनमाथि मन्त्रीको नोट अफ डिसेन्ट छ ?

तपाईहरुको प्रश्न सरकारलाई कि समितिलाई ?

समिति र सरकार दुबैप्रति यो प्रश्न हो । मान्दिनँ भनेर किन भन्ने ? सरकारले मान्दिनँ भनेपछि समितिले के गर्‍यो ? लोकसेवा आयोग र मन्त्रीले समितिको निर्णय मान्दिनँ भन्छ । यो दुबैतिरका लागि प्रश्न हो । यसले संसदीय व्यवस्थालाई कमजोर पार्छ ।

अब समाधान के हुन सक्ला ?

समितिहरुले दिएका निर्देशनहरु एकैपटक प्रतिवेदनका रुपमा बार्षिक प्रतिवेदनका रुपमा सदनमा पेस हुन्छ । समितिले यो निर्देशन मेरो पालना भएन भनेर तत्कालै संसद समक्ष प्रस्तुत गर्न सक्नुपर्छ । यदि ससरकारले आफूले दिएका निर्देशन कार्यान्वयन गरेको छैन भने त्यसमा छलफल गराउनुपर्छ । पूरै संसदले तिमीले गलत गरेको हो भन्छ भने त ठीक छ । किनभने यो मिनी संसद न हो, बाँकी संसद छ । मौन भएर बस्ने होइन ।

तपाईहरुले सरकारसँग संविधान संशोधनको विषय सुरुदेखि नै उठाइरहनुभएको थियो, यसमा के भइरहेको छ ?

हामीले पार्टीबाट जुन उठाइरहेका छौं, त्यो जारी छ । जुन कुरा उठाएर हामी संसदमा छौं, त्यसलाई छोड्ने कुरा त भएन । यो सरकारले संविधान संशोधन गर्न दुई तिहाइ राखेको छ भनेर सरकारलाई समर्थन गर्‍याैं । लामो समयसम्म पनि संशोधन भएन भनेर समर्थन फिर्ता पनि लियौं । अहिले पनि यो विषय उठाइरहेका छौं । तर, यहाँ….

तपाईहरुमाथि प्रधानमन्त्रीको प्रश्न छ– के विषयमा संविधान संशोेधन गर्ने ?

त्यसका लागि वार्तामा बस्नुपर्‍यो। हामीले नोट गरेर दिने हो ? ३५ बुँदे दिएका छौं । १५ बुँदे दिएका छौं । उहाँको पार्टीसँग पटक–पटक बसेका छौं । अब फेरि बस्न पर्‍यो र कति मान्ने, कति नमान्ने भन्ने हुन पर्‍यो।

के–के संशोधन गर्ने त ?

हामीले पहिचानसहितको ११ प्रदेशको कुरा जुन निर्विवाद छ । पुर्नसंरचना आयोगले दिएको आधारमा बन्नुपर्छ । सबै मातृभाषालाई मान्यता दिनुपर्छ । नेपालमा बस्ने सबैले सजिलै नागरिकता पाउनुपर्छ । विवाह गरेर आउनेलाई अंगीकृतको व्यवस्था छ, त्यो हाम्रो आमा पनि हुन सक्छिन् । श्रीमती पनि हुन सक्छिन् । बुहारी पनि हुन सक्छिन् । त्यसलाई १२/१४ वटा पदमा नियुक्त दिन मिल्दैन भन्ने छ, यसलाई हेर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवैधानिक परिषदले गर्ने सिफारिसका सन्दर्भमा गत बैशाख ५ गतेको संसदीय सुनुवाई समितिको निर्णय कहिले कार्यान्वयन हुन्छ ?

संसदीय सुनुवाई समितिमा तीन प्रकारका निकायबाट सुनुवाइ हुन्छ । सर्वोच्च अदालतका न्यायाधीशहरु न्याय परिषदले पठाउँछ । न्याय परिषदले पठाएको सर्वोच्च अदालतका न्यायधिशहरुको नियुक्ती सम्बन्धमा सुनुवाइ गर्ने हाम्रो प्रावधान छ ।
संवैधानिक आयोगहरु जति छन् । तिनको नियुक्तिका सम्बन्धमा संवैधानिक परिषदले गरेको नियुक्तिका सम्बन्धमा सुनुवाई हुन्छ । राजदूत र कुटनीतिक नियोगका व्यक्तित्वहरुलाई मन्त्रिपरिषदले सिफारिस गर्छ । त्यसको सुनुवाई हामी गर्छाैं ।

विगतमा राजदुतहरुको नियुक्तिका सम्बन्धमा समावेशी भएन भनेर पत्राचार पनि गर्‍याैं । समावेशी गर्नका निम्ति ताकेता गर्‍याैं । समावेशीको सम्बन्धमा हामीले परराष्ट्रमन्त्रीलाई बोलायौं । उहाँ आउनुभयो र उहाँसँग अन्तरक्रिया गर्‍याैं । त्यसबेला उहाँले परराष्ट्र मन्त्रालयमा पर्याप्त क्याडर नभएकाले समस्या भएको बताउनुभएको थियो । राजनीतिक रुपमा जुन नियुक्ति गर्छौं, त्यसमा समावेशी राख्छौं भन्ने कुरा गर्नुभयो ।

संवैधानिक परिषदमा आयोगको कुरा उठिसकेपछि संवैधानिक आयोगका प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री त फेरि सर्वत्र जोडिराखेको छ । मन्त्रिपरिषदबाट पनि जोडिएको छ । सर्वोच्च अदालतबाट न्यायाधीशको सन्दर्भमा पनि जोडिएको छ । त्यो पनि संवैधानिक परिषदले नै गर्छ । त्यसकारण पनि प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेका हौं । समितिबाट निर्णय भइसकेपछि मैले भेटेँ । समय निकाल्नुस्, हामी बोलाउँछौं, अन्तरक्रिया गरौं भनेँ । उहाँले ठीक छ म बाहिर नगएको बेलामा बोलाउनुस् । म आउन तयार छु भन्नुभयो । प्रधानमन्त्रीले म आउँदिन कुरा गर्दिन भन्ने कुरा गर्नुभएको छैन । एक/दुईचोटि परराष्ट्रमन्त्रीसँग कुरा गर्‍याैं ।

तर, केही दिन अघिको बैठकमा कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीलाई बोलाउने समितिको निर्णय कार्यान्वयन नभएको भन्दै प्रश्न उठाए नि ?

उहाँहरुको प्रश्न, प्रधानमन्त्रीलाई बोलाउने भन्ने मात्रै होइन । कुन सन्दर्भमा प्रधानमन्त्रीलाई बोलाउने कुरा भयो भने जुन अहिले नियुक्त आइरहेको छ । जस्तो– अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालकै हकमा उजुरीहरु आयो । पहिले प्रधानमन्त्रीलाई बोलाउँ अनि छलफलमा जाउँ भन्ने थियो ।

नियुक्ति प्रक्रियामै असन्तुष्टि जनाउँदै कांग्रेसले ५ संवैधानिक आयोगका अध्यक्षहरुको सुनुवाई बहिष्कार गरेको थियोे, जसका कारण समिति अनिर्णित हुँदा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीको स्वतः अध्यक्ष भए …

संवैधानिक परिषदमा विपक्षी दलको नेता पनि सदस्य हुन्छ । विपक्षी दलको नेतालाई नबोलाइकन निर्णय भयो भन्ने उहाँहको कुरा थियो । त्यो सम्बन्धमा हामीले बुझ्दा र निर्णय हेर्दा विपक्षी दलको नेतालाई खबर गएको देखियो । उहाँ नै अनुपस्थित हुनुभएको देखियो । अनुपस्थित हुँदा पहिलोचोटि निर्णय भएन । दोस्रो चोटि पनि विपक्षी दलको नेता फुर्सद छैन भन्दै अनुपस्थित भएपछि त्यसैलाई ईस्यु बनाएको देखिन्थ्यो । निर्णय प्रक्रियामा भाग लिने अनि बहिष्कार भन्ने त मिलेन । त्यसकारण उहाँहरु समितिको सुनुवाइ प्रक्रियामा अनुपस्थित हुनुभएको हो, बहिष्कार भन्न मिलेन । बाहिर के बोल्नुभयो, थाहा हुने कुरा भएन । माइन्युटमा अनुपस्थित भन्ने नै थियो ।

अन्सारीका सम्बन्धमा हामी नियमावलीभन्दा बाहिर जान सक्ने अवस्था थिएन । नियमावली उजुरी आव्हान गर्ने, उजुरी कर्तालाई बोलाउने हो । समिमको सन्दर्भमा नागरिकताको विषयमा उजुरी आएको थियो । नागरिकतामा गहनतम छलफल गर्‍याैं ।  नागरिकता प्रदान गर्ने काठमाडौं जिल्ला प्रशासनलाई सोध्यौं । उहाँको सर्टिफिकेटको सम्बन्धमा सोध्यौं । हामी अनुसन्धानमै थियौं, ४५ दिन कट्ने अवस्था बन्यो । त्यसबेला नै पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भयो । त्यो शोकमा केही दिन बित्यो । त्यो बेलासम्म संवैधानिक परिषदबाट सिफारिस भएर आएको ४५ दिन कटिसकेको थियो । त्यसपछि निर्णय गर्न सक्ने अवस्था रहेन । स्वीकृत गर्नुपर्ने कानुन छैन । अस्वीकृत गर्ने भए दुई तिहाईले गर भन्ने नियमावलीले भन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784863

के तपाईंले समय र अवसर अनुसार मेकअप गरिरहनु भएको छ ?

राम्री हुनु हरेक नारीको चाहना हो । हरेक उमेरका महिलाहरु आफू सुन्दर देखियोस् भन्ने चाहान्छन् । यद्यपि, मौसम, समय, उमेर तथा अवसर अनुसार मेकअप गर्न नजानेर उनीहरु निरास समेत हुन्छन् ।

जाडो र गर्मी मौसममा गरिने मेकअपमै धेरै अन्तर हुन्छ । अझ तपाईंको उमेर अनुसार तपाईंले गर्ने मेकअप सुहाउने अथवा नसुहाउने भन्ने हुन्छ । यहाँ हामी महिलाहरुले अवसर र मौका अनुसार कस्तो र कसरी मेकअप गर्ने भन्ने बारेमा चर्चा गर्दैछौं ।

यदि तपाईं आफ्नो अनुहारलाई र्फमल लूक दिन चाहानु हुन्छ भने तपाईंले हल्का मेकअप गरे पुग्छ । यस्तो लूकका लागि सकेसम्म थोरै मेकअप गर्नु पर्छ । हल्का मेकअप गरेपछि तपाईंले आफ्नो कपाललाई पछाडि राखेर बाँध्नु भयो भने अझ राम्री देखिन्छ ।

यदि तपाईं पार्टी जाँदै हुनुहुन्छ भने पार्टी मेकअप गर्नु पर्छ । त्यसका लागि तपाईंले लाइट मेकअप गर्नु पर्छ । मेकअप गर्दा गाजल, ब्लसर तथा न्यूड लिपस्टिकको प्रयोग गर्न सकिन्छ । तपाईंको कपाल छोटो छ भने खुल्लै राख्न सक्नु हुन्छ । लामो छ भने पछाडि पोनीटेल बनाउन सकिन्छ ।

क्याजुअल लुकका लागि पनि हल्का मेकअप नै पर्याप्त हुन्छ । त्यसका लागि तपाईंले आँखामा हल्का गाजल तथा ओठमा लिपग्लस उपयुक्त हुन्छ ।

यदि तपाईं कुनै जागिरको लागि अन्तर्वाता दिन जाँदै हुनुहन्छ भने तपाईं स्मार्ट देखिनु पर्छ । यसका लागि पनि तपाईंले साधारण मेकअप गर्दा पुग्छ । धेरै भद्दा मेकअप तथा गाढा रंगका सौन्दर्य सामाग्रीको प्रयोग झुक्किएर पनि गर्नु हुँदैन ।

चाडपर्वको अवसरमा हामी प्राय परम्परागत पहिरनहरु लगाउँछौं । त्यसैले आफ्नो रुपलाई परम्परागत शैलीमा ढाल्नका लागि आँखामा गाढा तरिकाले गाजल लगाउनु पर्छ । यसका साथै तपाईंले आईस्याडो पनि राम्ररी नै लगाउन सक्नु हुन्छ । ओठमा भने न्यूड कलरकै लिपस्टिक राम्रो देखिन्छ ।

आफ्नो लुकलाई अरु भन्दा पृथक देखाउनका लागि आँखालाई विशेष तरिकाले सजाउन सक्नु हुन्छ । त्यसका लागि आँखाका विभिन्न तरिकाका मेकअप रोज्न सकिन्छ ।

हिजोआज बजारमा स्मोकी लुकको चर्चा हुन्छ । आफूलाई स्मोकी लूकमा सिगार्नका लागि इयर बडको सहायताले गाजललाई आँखाको माथिल्लो डिलमा दल्नु पर्छ । त्यसपछि एउटा राम्रो लिप पेन्सिलमा गाजल लगाएर हल्का दल्नु पर्छ ।

कलेज जाने किशोरी तथा युवतीहरुले आँखामाथि फाउन्डेसन पनि लगाउन सक्छन् । यसले उनीहरुको आँखाको वरिपरिको भाग घामबाट सुरक्षित हुन्छ । कलेज जाने छात्राहरुले आइस्याडो लगाउनु हुँदैन । उनीहरुले पातलो आइलाइनर तथा मस्काराको प्रयोग गर्न सक्छन् ।

यदि तपाईं कामकाजी हुनुहुन्छ र नियमित अफिस जानुहुन्छ भने हरेक दिन अनुहारमा हल्का फाउन्डेसन लगाउनु पर्छ । आँखाको परेलालाई हल्का हातले कर्ल गर्न सक्नु हुन्छ । हल्का मस्कारा लगाउन बिर्सनु हुँदैन । आँखाको माथिल्लो भागमा पातलो आइलाइनर लगाउन सक्नु हुन्छ । आँखाको लागि तपाईंले आई पेन्सिल पनि प्रयोग गर्न सक्नु हुन्छ ।

यदि तपाईं हतारमा हुनुहुन्छ र आँखाको मेकअपलाई समय दिन भ्याउनु हुन्न भने खैरो रंगको आइस्याडो प्रयोग गर्नु पर्छ । त्यसलाई आँखाको माथिल्लो डिललमा हल्का तरिकाले लगाउनु पर्छ । तपाईं आवश्यकताभन्दा बढि मस्कारा समेत लगाउन सक्नु हुनेछ । आँखाको तल्लो भागमा गाजल लगाउन सकिन्छ ।

दुई मिनेटमै मेकअप

यदि तपाईं दुई मिनेटमै तयार हुन चाहानु हुन्छ भने त्यो पनि सम्भव छ । त्यसका लागि सबैभन्दा पहिला आफ्नो अनुहार सफा गरेर अनुहार र गर्धनमा फाउन्डेसन लगाउनु पर्छ । त्यसपछि कम्प्याक्ट अथवा ट्रान्सलुसेन्ट पाउडर लगाउनु पर्छ ।
कालो रंगको आइलाइनरबाट आँखालाई सजाउनु पर्छ । त्यसपछि मस्कारा लगाउनु पर्छ । यदि तपाईं आफूलाई जवान देखाउन चाहानु हुन्छ भने अनुहार (गाला) मा गुलावी रंगको ब्लस लगाउनु सक्नु हुन्छ ।

पाँच मिनेटको मेकअप

अनुहार राम्ररी सफा गरेपछि मोइस्चराइजर लगाउनु पर्छ । त्यसपछि मात्र फाउन्डेसन लगाउनु पर्छ । त्यसपछि फाउन्डेसन ब्रसबाट ब्लेन्ड गर्नु पर्छ । त्यसले अनुहारलाई राम्ररी ढाक्छ र अनुहारको सबै भाग कभर हुन्छ । आइलाइनर र आफूले लगाएको पहिरन अनुसारको आइस्याडो लगाउनु पर्छ । मस्काराले आँखालाई थप सुन्दर बनाउन सकिन्छ । ओठलाई आकर्षक बनाउन लिप ब्रसले हल्का रंग लगाउन सकिन्छ ।

पन्द्र मिनेटको मेकअप

अनुहार सफा गरेपछि फाउन्डेसन लगाउनु पर्छ । यदि तपाईंको अनुहारमा डार्क सर्कल तथा दागहरु छन् भने तीनलाई कन्सिलरको सहयोगबाट लुकाउनु पर्छ । अनुहारमा टान्सलुसेन्ट पाउडर प्रयोग गर्नुपर्छ । आँखामा गुलावी आइस्याडो लगाउनु पर्छ र साथसाथै आइलाइनर र गाजल पनि लगाउनु पर्छ ।

मस्काराको प्रयोगले आँखालाई थप आकर्षक बनाउन सकिन्छ । गुलाबी रंगको ब्लस अनुहारमा लगाउनु पर्छ । ओठको आकर्षण बढाउन कलर ग्लस प्रयोग गर्नु पर्छ ।

तीस मिनेटको मेकअप

सामान्यतया ३० मिनेटमा एउटी महिलाले पूर्ण रुपमले मेकअप गर्न सक्छिन् भन्ने मान्यता छ । त्यसका लागि सबैभन्दा पहिला कन्सिलरबाट अनुहारको दाग अथवा डार्क सर्कललाई हटाउनु पर्छ । तपाईंको अनुहारको छालाको रंगभन्दा एक सेड हल्का फाउन्डेसन लगाउनु पर्छ । आँखामा हल्का हरियो आइस्याडो लगाउन सकिन्छ । आँखालाई आकर्षक बनाउनका लागि आँखाको तल्लो भागमा नीलो रंगको आई पेन्सिल प्रयोग गर्नु पर्छ । मस्कारालाई दुई-तीन तहसम्म प्रयोग गर्न सकिन्छ ।

ओठमा कलर ब्लस लगाउन छुटाउनु हुँदैन । यदि तपाईंको कपाल छोटो छ भने त्यसै छाडिडिँदा पनि तपाईंलाई राम्री देखिन्छ । अथवा तपाईंले चल्तिको हेयर स्टायलले आफ्नो कपाल सजाउन सक्नु हुनेछ ।

यसबाहेक निम्न लिखित उपायहरु अपनाएर पनि तपाईं राम्री बन्न सक्नु हुनेछ ।

-यदि तपाईंको अनुहारमा दागहरु छन् भने गाढा पहेंलो अथवा सुनौलो रंगको फाउन्डेसन प्रयोग गर्नुपर्छ । यदि तपाईंको अनुहार सफा छन भने मोइस्जराइजर तथा सियर फाउन्डेसन लगाउनु पर्छ । यसले तपाईंको लुकलाई प्राकृतिक बनाउँछ ।

-यदि तपाईंको आँखामुनि डार्क सर्कल छ भने त्यसलाई हटाउन अथवा लुकाउनका लागि हल्का सेड भएको फाउन्डेसन लगाउनुपर्छ र त्यसलाई डार्क सर्कल आएको भागतिर फैलाउनु पर्छ ।

-यदि तपाईंका ओठहरु समान आकारका छैनन, एउटा ओठ पातलो तथा अर्को ओठ मोटो छ भने पातलो ओठलाई मोटो बनाउन ओठभन्दा थोरै माथितर्फ आउटलाइन गरी मोटो ओठसित सन्तुलन मिलाउन सकिन्छ । तपाईंको अनुहारको तुलनामा ओठको आकार सानो छ भने ओठको भागभन्दा थोरी बाहिरतर्फ आउटलाइन गरेर लिपस्टिक लगाउन सकिन्छ ।

-यदि तपाईंको निधनर धेरै चौडा छ र त्यसलाई सानो देखाउन चाहानु हुन्छ भने अनुहारमा प्रयोग गरिने रंगभन्दा तीन सेड गाढा रंग छनोट गर्नुपर्छ । त्यसलाई निधारको अन्तिम भाग अर्थात हेयर लाइनबाट प्रारम्भ गर्नुपर्छ । त्यसपछि मुनितिर ल्याउँदै अनुहारको रंगसंग मिलाउनु पर्छ ।

-यदि तपाईंको अनुहार छाला सफा छ भने गाढा रंगको लिपिस्टिक लगाउनु हुँदैन । सफा छालामा हल्का रंग नै सुहाउँछ । तपाईंको छाला हल्का खस्रो छ भने रातो अथवा गाढा रंगको लिपस्टिक तपाईंलाई सुहाउँछ । तपाईंको ओठ मोटो छ भने पनि गाढा लिपिस्टिक नै सुहाउँछ । हल्का लिपिस्टिकले ओठ झन् मोटो देखिन्छ । गाढा लिपिस्टिकले भने ओठ पातलो देखिन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784875

‘मह जोडी’ले ‘मह संचार’ बाहिरको फिल्म नगर्ने

कलाकार शिवहरि पौडेलको डेब्यु निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुदैछ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल चलचित्रका कार्यकारी निर्माता हुन् । कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय छ ।

यो चलचित्रको शिर्ष भूमिकामा लागि ‘मह जोडी’लाई प्रस्ताव गरिएको थियो । शिवहरिले सुरुवातमा स्क्रिप्ट भने यो जोडीलाई नै हेरेर लेखेको थियो । तर, हरिवंश आचार्यले ‘लक्का जवान’ खेल्दा आफूलाई समस्या पर्ने भन्दै खेल्न मानेनन् । यो बिषयमा बोल्दै निर्देशक पौडेलले भने–‘हो मैले सुरुवातमा हरिवंश र मदनकृष्ण दाइका लागि नै स्क्रिप्ट लेखेको थिएँ । तर, हरि दाइले नै आफूलाई अन्य ब्यानरबाट पनि अफर आइरहेकाले यो गर्दा अरु पनि गर्नुपर्ने भएकाले समस्या हुने बताएपछि मैले कर गरिनँ ।’

कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले ‘मह संचार’ बाहिरको चलचित्रमा काम नगर्ने बताएका थिए । बरु, मह जोडीले शिवहरिलाई आफूहरुकै ब्यानरमा सहकार्य गर्न समेत आग्रह गरेका थिए ।
‘मह संचार’को ब्यानरबाट पछिल्लो समयमा ‘शत्रुगते र दाल भात तरकारी’ निर्माण भएको थियो ।



source https://www.onlinekhabar.com/2019/08/784876

उपवासको विज्ञानः कर्मकाण्ड होइन मर्म बुझौं

तपाईं साउनमा उपवास बस्नुहुन्छ, खासगरी सोमबारको दिन । साउनको सोमबार उपवास बस्नुसँग धार्मिक आस्था जोडिएको छ । यद्यपी साउनको महिना अझ भनौ मध्य वषर्ायाममा उपवास बस्नु भनेको स्वास्थ्य लाभ लिनुपनि हो ।

साउनको महिनालाई भक्ति आरधानाको महिना भनिन्छ । यतिबेला पूजापाठ गर्ने, मठमन्दिर धाउने, भजन किर्तन गर्ने गरिन्छ । साथै सात्विक भोजन अपनाइन्छ । अर्थात माछामासु, मदिरा, मसलेदार परिकार त्यागिन्छ । सादा, सुपाच्य, शाकाहारी भोजन सेवन गरिन्छ । हप्तामा एक पटक उपवास बसिन्छ । कतिपयले ताजा फलफूल खाएर उपवास बस्छन् भने कतिपयले केहीपनि खाँदैनन् ।

वास्तवमा यी सबै शरीर र मनलाई शुद्धिकरण गर्ने विधी हुन् ।

त्यसैले उपवास बस्दैमा आफ्नो मनोकामना पुरा हुन्छ, धर्म प्राप्त हुन्छ भनेर सोच्नु भ्रम हो । आफ्नो कामना पुरा गराउन दिनभर खाली पेट बस्ने र धुपबात्ती बाल्ने काम त्यसबेला आडम्बर हुन्छ, जब यसलाई विधीपूर्वक सम्पन्न गरिदैन ।

उपवासको व्यापक अर्थ छ । उपवास बस्नुसँग शरीर र मनको सम्बन्ध पनि गहिरो छ ।

जब हामी उपवास बस्छौं, हाम्रो शरीरले यसबाट प्रत्यक्ष लाभ लिन्छ । पाचन यन्त्रले विश्राम पाउँछ । अन्य दिनमा खाएकै खानेकुराले हाम्रो शरीरलाई उर्जा दिइरहेको हुन्छ । त्यसैले एक दिन भोको पेट बस्दैमा हामीलाई कुनै किसिमको हानी हुँदैन । यद्यपी शारीरिक श्रम गर्नुपर्ने वाध्यत्मक अवस्थामा चाहि उपवास त्यती उपयोगी नहोला ।

उपवास बस्दा हाम्रो पाचन यन्त्रले विश्राम पाउँछ । शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन । शरीरको शुद्धिकरण हुन्छ ।

उपवास बस्नुअघि नुहाउने, सरसफाई गर्ने, धूपवात्ती बाल्ने गरिन्छ । भगवानको नाममा पूजापाठ गरिन्छ । यसरी भक्तिभावमा लागेपछि हामीलाई खानाको तलतल लाग्दैन । मन वेचैन हुँदैन । पूजा आराधाना गरिरहँदा मन शान्त हुन्छ ।

यतिबेला हामी भगवानप्रति भक्तिभाव राख्छौं । यसले हामीमा कृतज्ञता र समर्पण जगाउँछ । उपवास बस्नु भनेको सपर्मण पनि हो । त्याग पनि हो । हामीले एक दिनको छाक त्यागेर पनि प्रशन्न रहन्छौं । खाना नखाएर पनि दिनभर हामी हाँसीखुसी नै रहन्छौं । किनभने उपवासले हामीमा समर्पण भाव पैदा गरेको हुन्छ ।

त्यसैले उपवासमा शरीर र मन दुबै जोड्न सक्नुपर्छ । उपवास किन बस्ने ? कसरी बस्ने भन्ने विधी पालना गर्नुपर्छ ।

शरीर र मनको शुद्धिकरण गरिने भएकाले उपवास गर्नुअघि र गरिसकेपछि अपच हुने खानेकुरा सेवन गर्नु हुँदैन । यदि मासु, मदिरा वा मसलेदार खाना खाइयो भने उपवासबाट खास लाभ मिल्दैन । उपवास बस्नुअघि पनि हल्का वा सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । साथै उपवास बसिसकेपछि हल्का झोलयुक्त खानेकुराबाट खानपान सुरु गर्नुपर्छ । एकै पटक धेरै बोझिलो हुने खानेकुरा सेवन गर्नु हानिकारक हुन्छ ।

त्यसैले एक दिन छाक छाड्दैमा केही हुँदैन । यद्यपी महिनाभर सात्विक एवं सुपाच्य खानेकुरा सेवन गर्ने, हप्ता दिनमा एक पटक उपवास बस्ने गर्नु चाहि बढी प्रभावकारी हुन्छ ।

उपवास बसिरहँदा नकारात्मक भाव मनमा आउन दिनुहुँदैन । मनलाई सकारात्मक र खुसी तुल्याउनुपर्छ । रिस, द्वेष, घमण्ड, अहंकार, लोभ, वासना त्याग्नुपर्छ ।

यसरी मन र शरीरलाई शुद्धिकरण गरेर मात्र उपवास सार्थक हुन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784873

गोविन्दाको दावीमा कत्तिको सत्यता ?

बलिउडमा ‘हीरो नम्बर वन’ तथा चीचीको उपनामले चिनिने अभिनेता गोविन्दाले आफ्नो फिल्मी करियरसंग सम्बन्धि एउटा रोचक खुलासा गरेका छन् । उनको उक्त खुलासासंगै सामाजिक सञ्जालमा उनको मजाक उडाउँदै ट्रोलहरु नै बन्न थालेका छन् ।

वास्तवमा, हालै मात्र गोविन्दालाई टेलिभिजन कार्यक्रम ‘आप की अदालत’ मा अतिथिको रुपमा पुगेका थिए । जहाँ उनले आफ्नो जीवनसंग जोडिएका अधिकांश विषयमा खुलेर कुराकानी गरेका छन् । त्यसक्रममा उनले त्यस्ता धेरै वटा फिल्महरुमा अभिनय गर्न नचाहेको खुलासा गरे, जुन प्रदर्शनपछि ब्लकबस्टर सावित भएका थिए ।

गोविन्दाको भनाइ थियो-‘मैले त्यस्ता धेरे वटा फिल्ममा काम गर्न अस्विकार गरें, जो पछि हिट सावित भए । ती फिल्महरुमा ताल, गदर तथा देवदासका साथै हलिउडको फिलम अवतार पनि थियो ।’

गोविन्दाका अनुसार अवतारमा काम गर्नबाट उनले दुई भिन्न कारणले अस्विकार गरेका थिए । पहिलो कारण त उनलाई निर्देशकले फिल्मको छायांकन ४ सय १० दिनमा पुरा हुने बताएका थिए, जुन उनका लागि समय निकाल्न सम्भव थिएन । दोस्रो कारण उनले शरीरभरी पेन्ट गर्नु पर्ने थियो, जसका लागि उनी तयार भएनन् । ‘तीनै दुई कारणले गर्दा मैले उक्त फिल्मका निर्देशकसँग माफी मागें’ गोविन्दाले भनेका छन् ।

गोविन्दाका अनुसार उनले निर्देशक जेम्स क्यामरुनलाई फिल्मको नाम पनि सुझाएका थिए । ‘मैले त्यो बेला जेम्सलाई के भनेको थिएँ भने तपाईंलाई यो फिल्म बनाउनका लागि सात वर्ष लाग्नेछ, गोविन्दा भन्छन्-‘मेरो कुरा सुनेर उनी रिसाएका थिए । उनले मलाई कसरी सात वर्ष लाग्छ भनेर जिज्ञासा राखेका थिए । उनको जिज्ञासामा मैले भनेको थिए-‘जुन कल्पनाका साथ तपाईंले यो फिल्म बनाइरहनु भएको छ, त्यो कल्पना पुरा गर्न निकै गाह्रो छ ।’ गोविन्दाका अनुसार उनले त्यही बेला निर्देश्ाक क्याम्रुनलाई उनको त्यो फिल्म सुपरहिट हुनेछ भनेर भविष्यवाणी गरिदिएका रहेछन् ।

गोविन्दाको उक्त खुलासापछि अहिले सामाजिक सञ्जालमा उनका ट्रोलहरु बन्न थालेका छन् । मानिसहरुले गोविन्दाका तस्बिरहरु सम्पादन गरेर, अनुहारमा पेन्ट गरेर ट्रोल बनाइरहेका छन् ।



source https://www.onlinekhabar.com/2019/08/784871

६० वर्षका भए सञ्जय दत्त, यस्ता छन् उनका रोचक कुरा

आज २९ जुलाईमा बलिउडका अभिनेता सञ्जय दत्तले ६० औं जन्मदिन मनाएका छन् । सञ्जयको बर्डडेकै अवसर पारेर उनको आगामी फिल्म ‘केजिएफ-२’ को उनको नयाँ लुक पनि सार्वजनिक गरिएको छ ।

सञ्जयले उक्त फिल्ममा अधीराको चरित्र निर्वाह गरेका छन्, जसको एउटा स्केच निर्माताहरुले सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा सञ्जयको नयाँ लुक सार्वजनिक गर्दै फिल्मका निर्माताले लेखेका छन्-‘सञ्जय दत्त अधीराको रुपमा । तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना सर ।’

फिल्मको आफ्नो नयाँ लुक सार्वजनिक गरिनुका अतिरिक्त सञ्जयले परिवारका सदस्यहरुसँग मिलेर आफ्नो जन्मदिनको केक समेत काटेका छन् । आईतबार राती उनले श्रीमती मान्यता तथा छोराहरु शाहरान तथा इकरासँग बर्थडे डिनरमा समेत रमाए । त्यसक्रममा सञ्जयकी बहिनी पि्रया दत्त तथा परिवारका अन्य सदस्यहरु पनि उपस्थित थिए ।

सञ्जय दत्तका पाँच रोचक कुरा

२९ जुलाई १९५९ मा जन्मिएका सञ्जय दत्तको पहिलो फिल्म हो ‘रकी’, जुन सन् १९८१ मा प्रदर्शन भएको थियो । उक्त फिल्म प्रदर्शन हुनु भन्दा अघि नै सञ्जय दत्त लागूऔषदको सेवन तथा अन्य नराम्रा लतमा फसिसकेका थिए ।

उनी लागू औषदको दुव्र्यसनमा यसरी फसेका थिए कि एक दिन उनी हेरोइन लिएर सुतेका थिए । भोक लागेर उठेपछि उनकै छेउमा रहेका काम गर्ने व्यक्ति उनलाई देखेर रुन थाले । सञ्जयले उनलाई किन रोएको भनेर जिज्ञासा राखे ।

उनको जवाफ थियो-बाबा, तपाईं दुई दिनपछि उठ्नु भएको हो । त्यसको केही महिनापछि सञ्जयलाई अमेरिकामा दुई वर्षसम्म उपचार गरियो । उपचार सफल भएपछि मात्रै उनी लागू औषदको प्रयोगबाट टाढा रहन सफल भए ।

सञ्जय दत्त र रेखाबीचको अफेयरको प्रसंगले पनि एक पटक राम्रै चर्चा पाएको थियो । त्यसताका केही अखबारहरुले त सञ्जय र रेखाले विवाह नै गरेको समाचार समेत प्रकाशित गरेका थिए । केही व्यक्तिहरुको भनाइ के छ भने अमिताभ बच्चन र रेखाको जोडीलाई टुक्क्र्याउनका लागि त्यसप्रकारको चर्चा चलाइएको थियो ।

झट्ट हेर्दा रफ-टफ देखिने सञ्जय दत्तको नाम थुप्रै अभिनेत्रीहरुसँग पनि जोडियो । ती मध्ये अभिनेत्री माधुरी दिक्षितप्रति भने सञ्जय दत्त निकै गम्भिर भएका थिए । श्रीमती ऋचाको निधनपछि सञ्जय निकै दुःखी भए । त्यसक्रममा उनले माधुरी दीक्षितसँग केही फिल्महरु गरिरहेका थिए । भनिन्छ, दुबै जना नै एक-अर्काप्रति आकषिर्त भएका थिए र दुबैले विवाह नै गर्ने निर्णय गरिसकेका थिए ।

यद्यपि, टाडाका कारण सञ्जय दत्त जेल जानु परेपछि माधुरीले उनीसंग विवाह गर्ने योजनाबाट पछि हटेको बताइन्छ । त्यसपछि दुबैको सम्बन्ध टुक्रियो । यद्यपि, आफूहरुबीच अफेयर भएको कुरालाई भने दुबैले कहिले पनि स्विकारेनन् ।

सन् १९८६ मा अभिनेता राजेन्द्र कुमारले आफ्ना छोरा कुमार गौरवको अभिनय करियरलाई स्थिरता दिनका लागि ‘नाम’ शीर्षकको फिल्म निर्माण गरेका थिए, जसमा उनले सञ्जय दत्तलाई पनि लिएका थिए । परिणाम ठिक उल्टो निस्कियो ।

उक्त फिल्म सञ्जय दत्तको करियरको टर्निङ प्वाइन्ट बनिदियो । त्यही फिल्मपछि सञ्जय दत्त बलिउडमा राम्ररी स्थापित भए । सञ्जय दत्तको अभिनयबाट अभिताभ बच्चन यति धेरै प्रभावित भए कि कुमार गौरव तथा सञ्जय दत्त दुबैलाई उनले आफ्नो घरमा बोलाएर संगै डिनर मात्र खुवाएनन्, सुनको सिक्री उपहार समेत दिए ।

सलमान खान सञ्जय दत्तका निकै ठूला प्रसंशक रहिसकेका छन् । सलमान खानले सन् ९० को दशकमा सञ्जय दत्तको जस्तो हेयरस्टाइल समेत अपनाएका थिए । ‘साजन’ फिल्ममा दुबैले संग-संगै अभिनय गरेका थिए । त्यही क्रममा उनीहरु क्लोज फ्रेण्ड समेत बने । सञ्जयले नै सलमानलाई जिमप्रति प्रेरित गरेका थिए । पछि टेलिभिजन रियालिटी शो बिग बोसमा समेत उनीहरु दुबै कार्यक्रम प्रस्तोताको रुपमा समेत देखा परे ।

 



source https://www.onlinekhabar.com/2019/08/784867

असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्छु : भट्टराई

१६ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।

बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ, म पछाडि हट्छु ।’

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए । सम्झौतापछि मन्त्री नियुक्त भएकाले भट्टराईसँग करार सम्झौता हुन बाँकी छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री र मन्त्रीवीच एकवर्षे लिखित सम्झौता !

आफू सरकारको आलोचक र कठोर समर्थक भएको बताउँदै उनले केही दिनभित्रै आफूले गर्ने कामसहितको प्रतिबद्धता पत्र र मन्त्रालयका कतिपय विवादास्पद कुराहरु सार्वजनिक गर्ने बताए । उनले भने, ‘केही दिनपछि मन्त्रालयका कामकारबाहीको बारेमा, त्यहाँका विवादास्पद कतिपय विषयहरुको बारेमा र हामीले लिनुपर्ने निर्णयबारे आम जनतालाई बताउँछु ।’

खासगरी वाइडबडी जहाज खरिद प्रकरणका कारण मन्त्रालय विवादमा तानिएको छ । मन्त्रालयका ‘विवादास्पद विषय’ भनेर मन्त्री भट्टराईले त्यसैतर्फ संकेत गरेको बुझ्न सकिन्छ ।

पर्यटनमन्त्री बनेपछि धेरैले बधाइ दिएको बताउँदै उनले त्यो बधाइलाई आफूले चुनौतीको रुपमा लिएको बताए । ‘सोसल मिडियामा धेरै ठूलो बधाइ मलाई प्राप्त भएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती होजस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ उनले भने ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको कामलाई तीव्रता दिने जानकारी उनले दिए । साथै सबैको सहमति जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि अगाडि बढाउने उनले बताए ।

मदननगर बल्खुपछि मन्त्री भट्टराई तत्कालीन माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ता परिवारको स्मरणमा बनाइएको स्तम्भमा माल्यार्पण गरेका थिए ।

यो पनि पढ्नुहोस पेरिसडाँडा पुगे पर्यटनमन्त्री, जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण

source https://www.onlinekhabar.com/2019/08/784851

१५ वर्ष कान्छा प्रेमीसँग विवाह गर्दै सुष्मिता सेन

अक्सर विवाहको लागि आफुभन्दा कम उमेरका श्रीमती खोज्ने अघोषित परम्परा नै छ । त्यसैले विवाहित दम्पतीबीच श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनेगर्छ । श्रीमती भन्दा कान्छो श्रीमान हुनुलाई अपवाद मानिन्छ ।

यद्यपी पछिल्लो समय भने श्रीमानको र श्रीमतीबीचको उमेर अन्तर ठिक उल्टो हुँदैछ । अर्थात श्रीमान् भन्दा श्रीमती जेठी । प्रसंग बलिउडको । बलिउड अभिनेत्री सुष्मिता सेन विवाह गर्दैछिन् । यत्तिका उमेरमा सुष्मिताले विवाह गर्ने खबर आफैमा रोचक छ भने उनका हुनेवाला श्रीमानबीचको उमेर अन्तर अर्को रोचक छ ।

यी अभिनेत्री यतिबेला रोहमन शलसंगको प्रेममा रमाइरहेकी छिन् । दुबै प्रायः एकसाथ देखिन्छन् । पारिवारिक जमघट होस् अथवा पारिवारिक विदा मनाउने अवसर होस्, उनीहरु प्रायः सँगै नै हुन्छन् ।

एउटा समाचारमा जनाइए अनुसार यी दुबैले यसै वर्षको नोभेम्बर महिनामा विवाह गर्दैछन् । उक्त समाचारमा जनाइए अनुसार रोहमन र सुष्मिताले यो वर्षको अन्त्यसम्ममा विवाह गर्ने योजना बनाएका छन् । रोहमनले सुष्मितालाई यसअघि नै विवाहको प्रस्ताव राखिएका छन् भने सुष्मिताले पनि उनको प्रस्ताव स्विकारीसकेकी छिन् ।

यो भन्दा पनि रोचक कुरा के छ भने केही समय अघिमात्र यी दुईबीच ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो । रोहमनले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट शेयर गरेका थिए । त्यसपछि उनीहरुको ब्रेकअपको हल्ला चलेको हो ।

त्यसको केही समयपछि नै अभिनेत्री सेनले दुबै जनाको एउटा मायालु तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । जसले के कुरा स्पष्ट भयो भने उनीहरु अलग भएका छैनन् । दुबैबीचको प्रेम सम्बन्ध कायम छ । हालै मात्र सुष्मिता सेनका भाइ राजीवको विवाहमा पनि रोहमन देखा परेका थिए ।

उक्त वैवाहिक समारोहका थुप्रै तस्बिर तथा भिडियोहरु सार्वजनिक भएका थिए, जसमा दुबै रमाइलो मूडमा देखिएका थिए ।

रोचक कुरा के छ भने रोहमन र सुष्मिताको उमेरमा निकै अन्तर छ । रोहमन, सुष्मिता भन्दा करिव १५ वर्ष कान्छा छन् ।



source https://www.onlinekhabar.com/2019/08/784864

एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी

१६ साउन, काठमाडौं । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो । यद्यपि आगजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन ।

आगजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक  जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । आगजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्दै कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एनटीसी टावरमा पनि आगजनी

यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यी सबै आगजनी र विष्फोटका घटना बुधबार रातिदेखि बिहीबार बिहान ८ बजेको बीचमा भएका छन् ।

विष्फोट र आगजनी कसले गरायो भनेर एकीन भएको छैन, तर विप्लव समूहको संलग्नता रहेको अनुमान छ । विप्लव समूहले एनसेल र एनटीसीका टावरमा क्षति पुर्‍याउँदै आएको छ ।

विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि १० फागुनमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु र तीन जना घाइतेसमेत भएका थिए ।



source https://www.onlinekhabar.com/2019/08/784830

उच्च रक्तचाप घट्यो भने औषधी सेवन गर्नुहुन्न ?

अहिले धेरैजसोको दैनिकी धपेडीमा वित्छ । न खाने फुर्सद, न आरम गर्ने । यही दौडधूपले मान्छेको दैनिकी अस्तव्यस्त बनाएको छ । यसले तनाव बढाएको छ । तनावले उच्च रक्तचाप । खराब जीवनशैली र तनावले धेरैलाई उच्च रक्तचापको औषधी खानुपर्ने अवस्थामा पुर्‍याएको छ । धेरैजसोले अहिले उच्च रक्तचापको औषधी नखाई हुन्न ।

उच्च रक्तचापबारे समाजमा अनेक कुरा सुनिन्छ । कसैले यसलाई ‘साइलेन्स किलर’ भन्छन् । अर्थात थाहै नपाई मान्छेलाई यसले मृत्युको मुखमा पुर्‍याउँछ । कति भन्छन्, उच्च रक्तचापको औषधी सेवन गरिसकेपछि जीवनभर छाड्न मिल्दैन ।

यस किसिमका भ्रमले पीडितलाई अरु तनाव थपिदिएको छ ।

उच्च रक्तचापबारे यस्ता अनेक भ्रम समाजमा व्यप्त छ । कतिपय भन्छन्, रेड वाइनले उच्च रक्तचाप नियन्त्रण गर्छ । कतिपय भन्छन्, उच्च रक्तचापको औषधी सेवन गरिरहेको अवस्थामा रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ । वास्तविकता चाहि के हो त ?

भ्रमः यदि रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ, सामान्य हुन्छ ।

सत्य के हो ?

के उच्च रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ । नुन सेवन गर्दा रक्तचाप सन्तुलित हुन्छ । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यो गलत हो । के कारणले रक्तचाप घटेको हो वा बढेको हो ? यो कुरा हामी आफै तय गर्न सक्दैनौ । त्यसैले कुन अवस्थामा के खाने भन्ने कुरा पनि हामीले निक्र्यौल गरेर हुँदैन । चिकित्सकले जाँच गरेपछि नै रक्तचाप घट्नु वा बढ्नुको कारण खुल्छ ।

जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले भने नुन कम खानुपर्छ ।

भ्रमः रक्तचाप कम भयो भने औषधी नखानु

सत्य के हो ?

कुनैबेला रक्तचाप घट्न सक्छ । यदि रक्तचाप घट्यो भन्दैमा औषधी खान छाड्ने भन्दा पनि चिकित्सकको परामर्श लिनु आवश्यक छ । के कारणले रक्तचाप घटेको हो ? औषधी छाड्न मिल्छ वा मिल्दैन ? चिकित्सकले आवश्यक परीक्षणपछि भन्न सक्छन् ।

भ्रमः वाइन मुटुको लागि राम्रो हो । त्यसैले उच्च रक्तचाप नियन्त्रणमा पनि यसले सघाउँछ ।

सत्य के हो ?

उच्च रक्तचाप नियन्त्रणका लागि वाइन सेवन उपयुक्त हुन्छ भन्नु पनि भ्रम हो । वाइन एक मदिराजन्य पेय हो । यसले शरीरमा नकारात्मक असर नै गर्छ, जसरी अन्य मदिराले गर्छ । अतः उच्च रक्तचाप नियन्त्रणका लागि स्वस्थ्य र सन्तुलित जीवनशैली नै सर्वोत्तम विकल्प हो । चिन्तारहित जीवन अपनाउनुपर्छ, सुपाच्य खानेकुरा खानुपर्छ, सक्रिय जीवन विताउनुपर्छ ।

भ्रमः टाउको दुखाई उच्च रक्तचापको लक्षण हो

के हो सत्य ?

टाउको दुख्नसाथ उच्च रक्तचापकै संकेत हो भनेर भन्न सकिदैन । सत्य चाहि के हो भने तपाईंलाई कुनै किसिमको पीडा भयो भने त्यसले मुटुको धड्कन बढ्न सक्छ ।

भ्रमः उच्च रक्तचापको रोगीले रक्तदान गर्न सक्दैन

सत्य के हो ?

उच्च रक्तचापको समस्या भएकाले पनि रक्तदान गर्न सक्छ । उच्च रक्तचापको औषधी र रक्तदानबीच कुनै समबन्ध छैन । यद्यपी रुँघा लागेको बेला, पेटको समस्या भएको बेला, एन्टिबायोटिक लिइरहेको बेला चाहि रक्तदान गर्नु उपयुक्त हुँदैन ।



source https://www.onlinekhabar.com/2019/08/784795

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’

१६ साउन, काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् ।

अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि हम्जाको मृत्युबारे कुनै टिप्पणी गरेका छैनन् ।

करिब ३० वर्षका हम्जा आफ्ना बाबु ओसामाको पदचाप पछ्याउँदै अघि बढ्दै आइरहेका थिए । उनलाई अलकायदाभित्र उनका पिताका उत्तराधिकारीका रुपमा समेत हेर्ने गरिएको थियो ।

केही समयअघि मात्रै हम्जाले अरब प्रायद्वीपका जनतालाई विद्रोह गर्न अपिल गर्दै अमेरिकालगायतका देशहरूमा आक्रमण गर्न भनेका थिए । उनले आक्रमण गर्न आग्रह गर्दै भिडियो र अडियो रिपोर्ट नै सार्वजनिक गरेका थिए ।

हम्जाको यस्तो गतिविधिबाट सशंकित बनेको अमेरिकी सरकारले त्यसयता उनीबारे सोधीखोजी थालेको थियो । बसेको स्थानबारे जानकारी दिनेलाई मात्रै १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा अमेरिकाले गरेको थियो ।

हम्जा साउदी अरेबियाका नागरिक हुन् । तर, अमेरिकाले खोजी थालेपछि साउदीले गत मार्चमा उनको नागरिकता खारेज गरिदिएको थियो ।

हम्जाका बाबु ओसामाको सन् २०११ मा अमेरिकी सेनाको कारबाहीमा परी पाकिस्तानमा मृत्यु भएको थियो । उनको मृत्युपछि अलकायदा कमजोर बन्दै गएको आँकलन गरिन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784828

काठमाडौं विश्वविद्यालयका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

१६ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवाेध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ ।

नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र महेन्द्र सापकोटाले पदाधिकारीको मिलेमतोमा नियमविपरीत अपारदर्शी तरिकाबाट स्कुल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयका सहायक प्राध्यापकको नियुक्ति गरिएको दाबी गरेका छन् ।

खुला प्रतियोगिता भनिए पनि दुई वर्षअघि प्रतिस्पर्धाविना करारमा नियुक्त भई विश्वविद्यालयमा कार्यरत व्यक्तिहरूलाई नै अपारदर्शी तरिकाबाट नियुक्त गरिएको उजुरीकर्ताको भनाइ छ ।

अख्तियारमा उजुरी दिनु अगाडि आफूले मिति ०७६ असार २७मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको, विश्वविद्यालयको नियम के छ, लिखित परीक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरी प्रतिस्प्रर्धी उम्मेदवारले जम्मा कति अङ्क प्राप्त गरे, वैकल्पिक उम्मेदवारको कति अङ्क आयो, पत्रकारितामा वैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असार ३० गते विश्वविद्यालयका सूचना अधिकारी रजिस्ट्रार शर्मालाई निवेदन बुझाएको, तर उनले बेवास्ता गरेको पन्त बताउँछन् ।

“यसले गर्दा पनि उल्लेखित विषयका नियुक्तिहरू नियमसङ्गत नभएको आशङ्का गरेको छु,” उनी भन्छन् ।

हालसम्म सूचना उपलब्ध नभएपछि उनले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।

विश्वविद्यालयको नियम अनुसार छनोट समितिमा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि पनि रहनुपर्ने एवं नतिजामा वैकल्पिक उम्मेदवारको सूची पनि प्रकाशित गर्नुपर्नेमा त्यसो नगरिएको पन्तको दाबी छ ।

पहिलो विवाद होइन

पन्तका अनुसार करिब दुई वर्ष अगाडि पनि यस्तै घटना भएको थियो । पत्रकारिता विभागमा सहायक प्राध्यापकका लागि विज्ञापन खोलिएको भए पनि उच्च अधिकारीहरूबीच पहिला नै ‘सेटिङ्‘ मिलाई आफ्ना मान्छे नियुक्त गरिएको पन्तको दाबी छ ।

विश्वविद्यालयको प्राध्यापक सङ्घका एक पदाधिकारी पनि नियुक्तिमा अनियमितता भएकै ठोकुवा गर्छन् । “तर हाम्रो विश्वविद्यालयमा यो पहिलो घटना होइन,” उनी भन्छन्, “पछिल्लो केही वर्षका प्रायः सबै नियुक्तिहरू विवादमा पर्दै आएका छन् ।”
यो पनि पढ्नुहोस मप विश्वविद्यालय वेथिति : क्याम्पसका भित्तैभरि चिट, चोर्न नदिएको भन्दै प्राध्यापकलाई धम्की

उनका अनुसार यसबीचमा आधा दर्जनभन्दा बढी पदाधिकारीले यस्ता अनियमिततामा असहमति जनाउँदै राजीनामा दिएका छन् वा तिनलाई त्यस्तो असहमति जनाए बापत पद छाड्न बाध्य पारिएको छ । गत वर्ष भदौमा तत्कालीन रजिस्टार भोला थापाले राजीनामा बुझाएका थिए भने चैतमा कानुन सङ्कायका डिन तथा संविधाविद् विपिन अधिकारीले । स्रोतका अनुसार अधिकारीले पनि प्राध्यापक पदमा बढुवा हुनका लागि निवेदन दिएका थिए । तर, उनलाई प्रतिस्पर्धामा समावेश नै गरिएन ।

हालसालै मात्र पनि स्कुल अफ एजुकेसनका एक उच्च अधिकारीले राजीनामा बुझाएका छन् ।

“पछिल्लो समय विश्वविद्यालयका पदाधिकारीले विभिन्न संरचनामा प्राध्यापकको प्रतिनिधिका रूपमा प्राध्यापकहरूले छानेका प्रतिनिधि नभई आफूले भनेअनुसार काम गर्ने डिनबाट सिफारिस भएका व्यक्ति राखेका छन्,” उनी भन्छन्, “यसविरुद्ध विश्वविद्यालयमा आन्दोलन सुरु गर्ने तयारीमा छौँ ।”

विश्वविद्यालय के भन्छ ?

उता विश्वविद्यालयले भने आरोप अस्वीकार गरेको छ ।

प्रवक्ता हेमराज काफ्लेका अनुसार पन्त र सापकोटाको उजुरी उनीहरू प्रतिस्पर्धामा असफल हुनुको परिणाम मात्र हो र यसलाई समान्य रूपमा लिइनुपर्छ ।

उनीहरूले उठाएको प्रश्नको विश्वविद्यालयले किन जवाफ दिएन भन्ने सवालमा काफ्ले भन्छन्, “विश्वविद्यालयका पनि आफ्नै नियम छन् । केके सूचना दिन मिल्छ वा मिल्दैन, अनि कसलाई सूचना दिने वा नदिने भन्ने हाम्रा आफ्नै नियम छन् ।”

“व्यक्तिले मागेका अवस्थामा कार्यकारी परिषद्ले दिने वा नदिने निर्णय गर्छ । पछि अख्तियार वा अदालत वा अन्य निकायले सूचना मागेको अवस्थामा हामीले दिनैपर्ने हुन्छ, दिन्छौँ ।” उनका अनुसार अख्तियारले छानबिन गरेमा विश्वविद्यालय सहयोग गर्न तयार छ ।

साथै, विश्वविद्यालयको नियममा अनुदान आयोगको प्रतिनिधि पनि छनोट समितिमा हुनुपर्ने प्रावधान नरहेको उनले बताए ।

यदि खाली रहेको पदभन्दा बढी सङ्ख्यामा प्रतिस्पर्धी उत्तीर्ण भए मात्र वैकल्पिक उम्मेदवारको नाम प्रकाशित हुने, तर जति पद खाली हो, त्यति नै सङ्ख्यामा उत्तीर्ण भए अनुत्तीर्णलाई वैकल्पिक सूचीमा राख्न नसकिने उनी बताउँछन् ।

“करार सेवामा भित्रै कार्यरत उम्मेदवार खुला प्रतिस्पर्धामा भाग लिएरै अरूलाई जितेर नियुक्त भएका हुन्,” उनी भन्छन् ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा माकजू र शर्माद्वयले बोल्न मानेनन् । हालै सहायक प्राध्यापक नियुक्त एक उम्मेदवारले पनि आफूले प्रतिक्रिया दिन नमिल्ने बताए ।



source https://www.onlinekhabar.com/2019/08/784824

स्तनपान गराउनाले क्यान्सरको जोखिम घट्छ त ?

हामी जति नै व्यस्त भए पनि स्वास्थप्रति खेलबाड गर्न सक्दैनौं । यद्यपि, व्यस्तताका कारण हामी स्वास्थप्रति सचेत हुन भने सकिरहेका हुँदैनौं । त्यसैले त हामी स्वास्थमा कुनै समस्या आएपछि मात्र डाक्टरलाई भेट्छौं । हामीले पछिल्लो पटक अपनाएका जीवन शैलीले भने हाम्रो स्वास्थ दिनप्रति दिन बिग्रदै जाने सम्भावना अत्यधिक छ ।

आजको हाम्रो व्यस्त जीवन शैली, खानपान तथा व्यायामको कमीका कारण स्वस्थ सम्बन्धि धेरै समस्याहरु देखिन थालेको छ । जसमध्ये क्यान्सर अहिले अधिकांश व्यक्तिमा देखिने रोगको रुपमा उदाएको छ ।

विकसित मुलुकदेखि विकासशील मुलुकका व्यक्तिहरु अहिले क्यान्सरबाट पीडित भैरहेको सुनिन्छ । क्यान्सर संसारमा मृत्युको सबैभन्दा महत्वपुर्ण कारण समेत बन्न थालेको छ । क्यान्सर महिला तथा पुरुष दुवैलाई हुनसक्छ । महिलाहरुलाई प्रायः स्तन र पाठेघरको क्यान्सर हुने गरेको पाइन्छ । आफ्ना सन्तानहरुलाई स्तनपान गराउने महिलाहरुमा स्तन क्यान्सरको सम्भावना कम हुन्छ भन्ने आम धारणा छ । के स्तनपान गराउने महिलालाई साँच्चै नै स्तन क्यान्सर हुँदैन त ?

वास्तवमा स्तनपान गराउने महिलाहरुको स्तनपान गराउने क्रममा स्तनबाट धेरै कोशिकाहरु नष्ट हुने गर्छन्, जसमा क्यान्सरसंग सम्बन्धि कोशिकाहरु पनि नष्ट हुन्छन् । स्तनपान गराउनाले स्तनमा जिनहरु सक्रिय हुन्छन्, जसले क्यान्सरको सम्भावित खतराबाट बचाउँछ ।

अनुसान्धानकर्ताको भनाई

अनुसन्धानकर्ताका अनुसार जुन महिलाले ६ महिनासम्म स्तनपान गराउँछन्, ती महिलाको तुलनामा स्तनपान नगराउने महिलालाई क्यान्सर हुने सम्भावना २ प्रतिशत बढि हुन्छ । आर्काइभ अफ इन्टर्नल मेडिसिन २००९ मा प्रकाशित एउटा अनुन्धान रिर्पोटका अनुसार त्यस्ता महिलाहरु, जसको परिवारमा स्तन क्यान्सरको इतिहास छ, तिनीहरुलाई स्तनपान गराउनाले महिनावारी रोकिनुभन्दा अघि स्तन क्यान्सर हुने खतरा ६० प्रतिशतले कम हुने गर्दछ । जर्नल अफ द नेशनल क्यान्सर इन्स्िटच्यूट २०१४ मा पनि स्तनपान तथा क्यान्सरका बीचको सम्बन्धका बारेमा चर्चा गरिएको थियो ।

अक्टूबर २०१५ मा एनल्स अफ एंकोलोजीमा प्रकाशित करिव ३७ हजार स्तन क्यान्सरको एक एकत्रित अध्ययनमा के पाइएको थियो भने जो महिलाहरु स्तनपान गराउँछन्, तिनीहरुमा स्तन क्यान्सरको हार्मोन रिसेप्टर नेगेटिभ हुन्छ र उनीहरुमा यो क्यान्सर विकसित हुने खतरा पनि २० प्रतिशतसम्मले कम हुन्छ ।

स्तनपानले तौल पनि घटाउँछ

स्तनपान आमाहरुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ, यसले उनीहरुलाई स्वस्थ बनाउँछ, किनभने यसले पाठेघर तथा स्तन क्यान्सरको जोखिमबाट सुरक्षा प्रदान गर्दछ ।

स्तनपानका क्रममा ठूलो मात्रामा स्रावित हुने अक्सिटोसिन हार्मोनले सुत्केरी भएपछि महिलालाई सामान्य अवस्थामा फर्किन समेत सहयोग पुर्‍याउँछ । अर्थात, यसले पाठेघरलाई सामान्य अवस्थामा ल्याउन निकै सहयोग गर्छ । स्तनपान गराउनाले आमाहरुको शरीरबाट ठूलो मात्रामा क्यालोरी खर्च हुन्छ, जसको कारण गर्भवती भएको बेला बढेको तौल सजिलै घटाउन सहयोग पुग्छ ।

त्यसैले हामीले प्रायः के देखिरहेका हुन्छौं भने स्तनपान गराउने आमाहरुको वजन निकै चाँडो घटिरहेको हुन्छ । स्तनपान गराउनेले मानसिक तथा भावनात्मक रुपले समेत आनन्द आउँछ, जसले नयाँ आमाहरु सुत्केरी भइसकेपछि हुने डिप्रेसनको शिकार हुनबाट जोगिन्छिन् । यसबाहेक स्तनपान गराउने महिालहरुमा अस्टियोपोरासिस हुने खतरा पनि निकै कम हुन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784790

सभामुखले बोलाए सर्वदलीय बैठक

१६ साउन, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संयुक्त रुपमा संसद अवरुद्ध गर्दै आएका छन् ।

यसअघि सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै आएका थिए । तर, सहमति जुट्न सकेन ।

‘प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलले पार नलागेपछि दलकै बैठक आवश्यक देखियो,’ सभामुख महराका प्रेस सल्लाहकार मल्लले भने ।

विप्लव समूहका नेता पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेहीको जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिएका थिए । तर शवको प्रकृति र स्थानीयबासीको भनाइ विपरित सरकारको जवाफ आएको भन्दै सत्तारुढ सांसदले समेत सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । विप्लव समूहले त बाटो ढुकेर पौडेलको हत्या गरिएको दाबी गर्दै आएको छ ।

यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगरस्थित बाँके खोलामा अवैध गिट्टी बालुवा उत्खननका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित कुमार रायको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सरोज नारायण सिंहको मृत्यु भएको थियो ।



source https://www.onlinekhabar.com/2019/08/784823

रातीको खाना कतिबेला र कति ?

राती कुन समयमा खाना खानुहुन्छ ? सात, आठ, नौ । कतिपयले त रातको खाना १० बजे पनि खान भ्याउँदैनन् । हतार-हतार खाना खान्छन् र ओछ्यानमा पल्टन्छन् ।

हामीलाई लाग्छ, खाना भनेको भोक लागेको बेला खाने हो । जतिबेला मन लाग्छ त्यही बेला खाने हो । राती खानु र दिउसो खानुसँग के फरक पर्छ ? जतिबेला खाएपनि शरीरभित्रै पुग्ने हो । खानाले गर्ने काम त्यही हो । तर, समय र खानपानले शरीरमा खास असर गर्छ । कुन बेला खाने, कति खाने भन्ने कुरा निर्धारण हुनुपर्छ ।

राती अबेर खाँदा के हुन्छ ?

राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।

अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहीबाट सुरु हुन्छ ।

खानसाथ सुत्ने बानी

हामीलाई हेक्का हुँदैन कि खाना खाएको कति समयपछि सुत्ने ? हामीलाई त निद्रा लाग्नसाथ सुत्न जान्छौं । राती अबेर भरपेट खाना खाएपछि झ्याप्प निद्रा लाग्छ । यही मौकामा हामी ओछ्यानमा पल्टन्छौं ।

अब सोच्नुहोस् त भर्खरै खाएको खानेकुरा पेटमा कति बोझिलो भयो होला ? शरीर निस्त्रिय भएपछि ति खानेकुरा कसरी पच्छ होला ?

खाना खाएको कम्तिमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । दुई वा तीन घण्टाको ग्याप हुनुपर्छ खानपान र सुताईको । खाना खाएर केही क्षण टहलिने, बस्ने । त्यसपछि मात्र सुत्न जाने । यो पनि सुपाच्य भोजन गरेको अवस्थामा । भरपेट खाइसकेपछि त पचाउन गाह्रो हुन्छ ।

राती भरपेट खाने, खानसाथ ओछ्यानमा पल्टने बानीले हाम्रो पाचन यन्त्रलाई खराब बनाउँछ । जब पाचन यन्त्र खराब हुन्छ, स्वास्थ्यमा अरु किसिमको समस्या देखापर्न थाल्छ ।

रातको खाना कतिबेला ?

उचित खानपान तालिका अनुसार राती अबेर खाना खानु उपयुक्त हुँदैन । जतिसक्दो चाडो खाना खानुपर्छ । के भनाई छ भने, सूर्योअस्त पछिको खानेकुरा विष समान हुन्छ । अर्थात सूर्योअस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरीरका लागि आवश्यक हुँदैन । शरीरमा अनावश्यक खानेकुरा पुग्छ । अनावश्यक खानेकुरा पुग्नु भनेको शरीरलाई डस्बिन जस्तै बनाउनु हो । जब हामी आफ्नो पेटलाई डस्बिन बनाउँछौं भने शरीर कसरी निरोगी हुन्छ ।

त्यसैले संभव भएसम्म चाडै खाना खानुपर्छ । साँझ सूर्योअस्तअघि नै खाना खानु उत्तम । कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन । औषधी सेवन गरिरहेको अवस्थामा, रोग लागेको अवस्थामा, कामको चाप भएको अवस्थामा, रात्रीकालिन काम गर्नुपर्ने अवस्थामा । त्यसैले आफ्नो अनुकुलता पनि हेर्नुपर्छ । यद्यपी राती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो ।

रातको खाना कति ?

एउटा प्रशिद्ध उखान छ, बिहानको खाना आफु खानु, दिउँसोको साथीसँग बाँडेर खानु, रातको खाना सत्रुलाई दिनु ।

यसको अर्थ बिहानको खाना जति सेवन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ । सकेसम्म रातको खाना कम खाएकै वेश हुन्छ ।

बिहान भरपेट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ । त्यसपछि क्रमस खानेकुराको मात्रा घटाउनुपर्छ । रातीको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ ।

रातको खाना चाडै खाएमा के लाभ हुन्छ ?

रातको खाना चाडै र हल्का खाएमा अनावश्यक तौल बढ्दैन । वा तौल नियन्त्रण हुन्छ । गहिरो निद्रा लाग्छ । बिहान उठ्दा शरीर हल्का महसुष हुन्छ । पेट भारी हुँदैन । यसले मुटुमा पनि सकारात्मक प्रभाव पार्छ । फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ । पेट सम्बन्धीका समस्याहरु हट्छ ।



source https://www.onlinekhabar.com/2019/08/784788

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

१६ साउन, हेटौंडा । मकवानपुरको बसामाडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सौरभ सुवेदी र अस्मित सुनारको मृत्यु भएको हो ।

हेटौंडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-३ बसामाडीमा ठोक्किएका थिए ।

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेजमा र सुवेदीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/08/784819

इरानका विदेशमन्त्रीलाई अमेरिकाले लगायो प्रतिबन्ध

१६ साउन, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयनमा भूमिका खेलेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो ।

‘जभाद जरिफले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेका छन्’, ट्रेजरी सेक्रेटरी स्टेभन मुचिनले प्रतिबन्ध लगाउनुको कारणबारे भनेका छन् ।

प्रतिबन्धले जरिफको अमेरिकामा रहेका सबै सम्पत्ति फ्रिज हुनेछ । त्यस्तै, अमेरिकाद्वारा नियन्त्रित संघ–संस्थामा रहेको धन–सम्पत्ति पनि जरिफले पाउने छैनन् ।

जरिफ भन्छन्- इरानी एजेन्डा सफल 

अमेरिकाले लगाएको प्रतिबन्धपछि एक ट्वीट गर्दै जरिफले आफ्नो एजेन्डाबाट खतरा महसुस गरेर अमेरिकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएका छन् । अमेरिकाको प्रतिबन्धप्रति खुसी व्यक्त गर्दै उनले यसलाई इरानी एजेन्डाको सफलताको रूपमा व्याख्या गरेका छन् ।

आणविक गतिविधि रोक्ने उद्देश्यका साथ सन् २०१५ मा इरानसँग भएको न्यूक्लियर सम्झौताबाट अमेरिका पछि हटेपछि बढ्दै गएको तनाव पछिल्लो समय उत्कर्समा छ ।

समुद्री मार्गमा पछिल्लो समय यसकै प्रतिछाया देखिन थालेको छ जसले सैन्य द्वन्द्व बढाउन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।



source https://www.onlinekhabar.com/2019/08/784820

नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ

१६ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् ।

बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

उनले कम्मरमा पेटीले बाँधेर सुन ल्याएका थिए ।

थानकोट वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भने, ‘एक जना पक्राउ परेका हुन्, उनको साथबाट बरामद भएको वस्तु नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ ।’

सुन केरुङ नाका हुँदै काठमाडौं भित्राएको अनुमान छ। तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/08/784816

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

काठमाडौं । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।

डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।

डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने भारतीय अनलाइन द हिन्दूले लेखेको छ ।

रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि उनका अभिभावकहरुले अस्पताल लगेका थिए । जाँचको क्रममा डाक्टरहरुले अस्वाभाविक संख्यामा दाँतहरु रहेको पत्ता लगाए ।

सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा धेरै दाँतहरु देखिए, जसको पूरा विकास भएको थिएन । त्यसपछि अपरेसन गरेर ती दाँतहरु निकाल्ने निर्णयमा डाक्टर पुगे ।

डा. सेन्थिलनाथनका अनुसार दाँतहरु मासुको भित्री भागमा थिए जुन बाहिरबाट देखिँदैनथे । बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५२६ वटा दाँत थिए ।

डाक्टर सेन्थिलनाथनले भनेका छन्, ‘हामीले स्वस्थ दाँतलाई रहन दियौं । अस्वाभाविक रुपमा रहेका दाँतहरुलाई सावधानीपूर्वक निकाल्यौं । सबै दाँतहरु निकाल्न पाँच घण्टा लामो अपरेसन गर्नु परेको थियो ।’

अपरेसन गरेको तीन दिनपछि बच्चाको अवस्था सामान्य बन्न थाल्यो । अपरेसनपछि त्यो बच्चाले आफूलाई अब पहिलेको जस्तो दुखाइ नभएको बतायो ।

डाक्टरहरुले यस्तो अस्वाभाविक स्थिति आउनुको कारण मोबाइल टावरबाट निस्किने रेडियसन वा जेनेटिक डिसअर्डर हुनसक्ने बताएका छन् ।

यसअघि कुनै पनि व्यक्तिको यति धेरै संख्यामा दाँत पाइएको थिएन । यसअघि सन् २०१४ मा भारतकै १७ वर्षीय एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।



source https://www.onlinekhabar.com/2019/08/784807

छापामा आज : २५०० बिघा जग्गा अझै ‘माओवादी’को कब्जामै

१६ साउन, काठमाडौं । राजनीतिक दलभित्रको कचिंगलदेखि तत्कालीन माओवादीले कब्जा गरेको जग्गा अझै फुकुवा नभएकोसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ ।

अन्नपूर्णले ‘२५०० बिघा माओवादी कब्जामै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जा भएको २५ सय बिघा जग्गा अझै फिर्ता नभएको हो ।

तत्कालीन माओवादीले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ बिघा कब्जामा लिएका थिए । अन्नपूर्णका अनुसार, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यी सबै जग्गा अझै फुकुवा नभएको बताएका छन् ।

प्रजिअ रिजालले अन्नपूर्णलाई बताएअनुसार संस्थागत रूपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले ०५८ सालदेखि नै पाएका छैनन् ।

तर तत्कालीन माओवादीका इञ्चार्ज निर्मल आचार्यले भने व्यक्तिको जग्गा फिर्ता भए पनि संघ संस्थाको कब्जामा नै रहेको बताएका छन् । आचार्यका अनुसार संस्कृत विश्वविद्यालय, स्वर्गद्वारी आश्रम तथा विभिन्न संघ–संस्थाको जग्गामा किसान, भूमिहीन र सुकुम्बासी बसेका छन् ।

देउवा–पौडेल चर्काचर्की

पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको कान्तिपुरले लेखेको छ ।

कान्तिपुरका अनुसार बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराइ कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई भिलेन बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाएको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2019/08/784808

नयाँ पर्यटनमन्त्रीको उद्घोष : वाह ! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ

मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो ।

हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग सल्लाह दिनुभयो, त्यसका निम्ति सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । विशेष गरी मलाई निर्वाचित गर्ने ताप्लेजुङका मेरा मतदाता, सबै दाजुभाइ दिदीबहिनीप्रति मेरो सम्मान छ ।

म विशिष्ट अवस्थामा म मन्त्री भएको छु । यो मन्त्रालयका अत्यन्तै सिर्जनशील, जागरुक मन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुन १५ गते दुखद घटनामा निधन भयो । त्यसपछि लामो समयसम्म मन्त्रालयको नेतृत्व प्रधानमन्त्री आफैले सम्हाल्नुभयो । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण एक किसिमले मन्त्रालय खाली जस्तै अवस्थामा थियो ।

रवीन्द्र अधिकारीको दुखद निधनले हामीले एउटा असल राजनीतिकर्मी गुमाएका थियौं । मैले एक टिकट मित्र गुमाएको थिए । आज परिस्थितिले, घटनाक्रमहरुले उहाँ बस्नुभएको कुर्सीमा म आइपुगेको छु । उहाँसँग मैले सुख र दुख सबै क्षणमा लामो समय बिताएको छु । यो मन्त्रालय उहाँले नै अझै राम्ररी सम्हाल्न सक्नुहुन्थ्यो । यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो । तर अफसोच ! प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सक्दैनौं । उहाँलाई हामीले अल्पायुमै असमायिक ढंगले गुमाउनुपर्‍यो । आज उहाँको एउटा उत्तराधिकारीको रुपमा म यहाँ आइपुगेको छु । यसो भनिरहँदा मलाई गर्व छ ।

नेपाल एयरलाइन्सको साख जोगाउँछौं, यसलाई माथि उठाउँछौं । यस्तो अवस्था बन्नेछ, कुनै दिन ‘वाह नेपाल एयरलाइन्स’ भन्ने हुनेछ ।

उहाँले यो मन्त्रालयको काम जसरी अगाडि बढाउनु भएको थियो, ती कदमलाई हामीले आगामी दिनमा सफल बनाउने छौं । मन्त्रालयको गरिमालाई माथि उठाउने प्रतिवद्धता म व्यक्त चाहन्छु । यो मन्त्रालय सम्हालेका जति पनि अग्रजहरु हुनुहुन्छ, उहाँहरु सबैसँग आवश्यक राय सल्लाह लिएरै म अगाडि बढ्नेछु । मन्त्रालयको काममा आवश्यकता अनुसार उहाँहरुको सहयोग लिनेछु । म यहाँ परिस्थितिवश आइपुगेँ । यो कुनै पूर्वघोषित वा नियोजित योजना होइन ।

मन्त्रालयका कार्यालय सहयोगीदेखि राज्यमन्त्रीज्यू, सचिवज्यूसम्म हामी सबै साथमा छौं । पदीय हिसाबले कोही ठूलो सानो होला, तर हामी सबै एउटै टीममा छौं । यो टीमलाई गति दिन मेरो भूमिका हुनेछ । म यहाँ कसैलाई काम लगाउन आएको होइन । काम सिक्न आएको हुँ । तपाईहरुले काम लगाउनुपर्ने छ । म त्यही काम गर्नेछु । कस्तो काम गर्दा हामी सबै र मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले सोचेको अपेक्षा पूरा हुन्छ, जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के काम गर्दा हामी सफल हुन्छौं त्यो यहाहरुले नै विचार गर्ने हो ।

मैले हाम्रो सचिवज्यूलाई आज खादा, माला, फूल केही पनि नचलाउ भनेको थिएँ । तर, हाम्रो परम्परा हो । तर, म यो अपेक्षा गर्छु कि म यो मन्त्रालय छाडेर जाँदा तपाईहरुले मलाई दिने खादा माला बढी महत्वपूर्ण हुनेछ । म केही काम गरेर जान सफल भए भने त्यसबेला पाउने खादा मालाको अर्थ हुन्छ । हामी के के गर्नेछौं, प्रधानमन्त्री समक्ष मैले मन्त्रीको हिसाबले कार्यसम्पादन करार सम्झौता गर्नुपर्नेछ । सम्भवतः मैले केही दिनभित्रै आगामी एक वर्षमा हामी के गर्छौं भन्नेबारे प्रधानमन्त्रीसँग कार्यसम्पादन करार गर्नेछौं ।

हामी जे गर्न सक्छौं, त्यो काम गर्छौं, जुन काम हुन सक्दैनौं, त्यो किन हुन सकेन, अत्यन्तै पारदर्शी ढंगले बताउने छौं । संचार जगतसँग हामी भाग्दैनौं । उहाहरुसँग सँगसँगै हुन्छौं । आजको दिनमा मिडियाको भूमिका मैले बताइरहनुपर्दैन । हामी तपाईहरुको निगरानीमा छौं ।

देश बनाउने दायित्व केवल प्रधानमन्त्री, मन्त्री, सचिव वा कर्मचारीको मात्र होइन, हामी सबैको हो । संचारकर्मी साथीहरुको पनि हो । यो अभियानमा यहाहरुको सहयोगी भूमिकाको अपेक्षा गर्छौं । अति व्यक्तिगत र गोप्य कामबाहेक अन्य सबै काममा हामी तपाईहरुलाई रोक्दैनौं ।

म प्रधानमन्त्री र वयवस्थापिकाप्रति उत्तरदायी हुनेछु । मेरो हरेक काम पारदर्शी हुनेछ । व्यापक छलफल, बहस र अन्तर्क्रियाबाट हुनेछ । निर्देशन कम हुनेछन् । हामी सबैको भूमिकाको अपेक्षा गर्छौं । मन्त्रालयका काम तत्कालिन हिसाबले केही चुनौती पक्कै छन् ।

नेपाल भ्रमण वर्ष २०२० आइनै हाल्यो । यो कहाँ पुगेको, कसरी अगाडि बढ्दैछ, हामी त्यसमा छलफल गर्नेछौं । २०२० मा जुन लक्ष्य राखिएको छ । त्यो लक्ष्यमा हामी पुग्छौं । त्यसका निम्ति मन्त्रालयका सम्पूर्ण संयन्त्र, तागत र शक्तिका साथ अगाडि बढ्छ ।

यो पनि पढ्नुहोस ओलीले बाचा पूरा गरे, योगेशको परीक्षा सुरु भो

गल्ती भए सच्याएर अगाडि बढ्छौं । ठूला पूर्वाधार आयोजनाको कामले गति पाएको छ भन्ने सुन्दा खुसी लागेको छ । खासगरी पोखरा र गौतमबुद्ध विमानस्थल सकेसम्म तोकिएको समयभन्दा पहिले नै र भएन भने पनि तोकिएको समय भित्र पूरा गर्छौं ।

दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको प्रगतिका विषयमा हामी छलफल गर्छौं । यसमा सहमति जुटाउने, त्यससम्बन्धी भएका आंशकालाई भेट्ने र हाम्रो बाँकी कार्यकालभित्र सकेसम्म सम्पन्न गर्ने प्रयास मेरो हुनेछ । किनकी यो निर्विकल्प आयोजना हो । हाम्रोलाई अति आवश्यक छ ।

नेपाल एयरलाइन्स, नागरिक उड्डयनको क्षेत्रमा जे जोखिम र चुनौती छन्, त्यसलाई हामी समाधान गर्दै अघि बढ्नेछौं । नेपाल एयरलाइन्सको साख जोगाउँछौं, यसलाई माथि उठाउँछौं । यस्तो अवस्था बन्नेछ, कुनै दिन ‘वाह नेपाल एयरलाइन्स’ भन्ने हुनेछ । यसका निम्ति सम्बन्धित पदाधिकारीसँग बसेर हामी छलफल गर्नेछौं । निजी क्षेत्रसँग हामी हरदम हातेमालो गर्नेछौं ।

सिंहदरबारभित्र धेरै आइस्योस, गइस्योस भन्ने चलन अलि धेरै नै छ । यो मन्त्रालयमा अब यो हुनु हुँदैन । आउनुस, जानुसमात्र चलाउने हो । कुनै पनि विजनेस हाउस, व्यवसायिक मित्रले विज्ञापनका माध्यमबाट मलाई बधाई नदिनुहोला । फेसबुकमा दिनुस्, ठीक छ, तर विज्ञापन गरेर बधाई नदिनुहोला, किनकी मलाई बधाईले थिच्ने वातावरण नबनोस् । म यही अपेक्षा गर्छु ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईले पदभार ग्रहण गरेपछि दिएको मन्तव्यको सम्पादित अंश

यो पनि पढ्नुहोस नयाँ मन्त्रीका ८ चुनौती : वाइडबडीदेखि ईयुको प्रतिबन्धसम्म यो पनि पढ्नुहोस म रवीन्द्र अधिकारीको उत्तराधिकारी : मन्त्री भट्टराई

source https://www.onlinekhabar.com/2019/08/784775

सारासँग कविर र प्रितमको रोमान्स

द्वन्द्व निर्देशकको रुपमा चलचित्र क्षेत्रमा लामो समय बिताएका अष्ट महर्जनले चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । उनको निर्देशनमा बन्ने चलचित्रका लागि मुख्य कलाकार पक्का भइसकेका छन् । यो चलचित्रमा नायिका सारा सिर्पाली, कलाकार कविर खड्का, र प्रितम सेन्चुरी र नायक सरोज खनाल पक्का भएका छन् । निर्देशक महर्जनका अनुसार, यी सबै कलाकार चलचित्रका लागि फाइनल भैसकेका छन् ।

सारा अभिनित ३ वटा चलचित्र नै फ्लप छन् । कविरको डेब्यु चलचित्र पनि असफल भएको थियो । दुबैका लागि यो चलचित्र चुनौतीपूर्ण छ । नव–नायक प्रितमलाई पनि यो क्षेत्रमा लामो समय अगाडि बढ्नका लागि डेब्यू चलचित्र हिट हुनुपर्नेछ । अष्टका अनुसार यो चलचित्र प्रेमकथामा आधारित रहेर बन्नेछ ।

निर्देशक महर्जनले आफूले द्वन्द् निर्देशकको रुपमा परिचय बनाएकाले धेरैले एक्सन चलचित्र नै निर्देशन गर्ने सोच बनाएपनि लभ स्टोरी चलचित्र बनाउन लागेको बताए । चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका छन् ।

चाडै छायांकनमा जाने बताइएको यो चलचित्रको नाम भने खुलाइएको छैन । अष्टले अगाडि भने–‘नाम के राख्ने भन्ने अझै पनि दोधारमा छौ । नाम पक्का भएसँगै पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ ।’



source https://www.onlinekhabar.com/2019/07/784667

परिचयपत्र नहुँदा मुक्त कमलरीलाई समस्या

१४ साउन, काठमाडौं । सरकारले दुई वर्षअघि नै मुक्त कमलरीहरुका लागि ‘कमलरी परिचय पत्र’ वितरण गर्न सुरु गरे पनि अझै ११ हजार ५ सय २३ जनाले परिचय पत्र पाएका छैनन् ।

पाँच जिल्लाका १२ हजार ८ सय ८२ जना कमलरीमध्ये १३ सय ५९ जना कमलरीले मात्रै परिचय पत्र पाएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीले अनलाइनखबरलाई बताइन् ।

भूमिसुधार मन्त्रालयको ढिलासुस्तीले २ वर्ष पुगिसक्दा पनि हजारौं मुक्त कमलरीले कमलरी परिचय पत्र पाउन सकेका छैनन् । परिचय पत्र नपाउँदा उनीहरुले छात्रवृत्ति, आरक्षण कोटा लगायतका विभिन्न सुविधाबाट वञ्चित हुनुपरेको मुक्त कमलरी सुजिता चौधरी बताउँछिन् ।

परिचय पत्र नपाएकै कारणले कमलरीबाट पाउने सेवासुविधाबाट पूरै वञ्चित हुनेपरेको सुजिताले बताइन् ।

मुक्त कमलरीहरु विशेष गरी दाङ, बाँके, कैलाली, बर्दिया र कञ्चनपुरमा रहेका छन् । सरकारले औपचारिक रुपमा ०७० सालमा कमलरी मुक्त घोषणा गरेको थियो ।

तर, अझै पनि ७८ जना बालिका तथा महिलाहरु विभिन्न ठाउँमा कमलरीका रुपमा रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

कमलरी परिचयपत्र वितरणको जिम्मा पाएको भूमिसुधार मन्त्रालयले मुक्त कमलरीका नाममा पर्याप्त बजेट नआएको हुनाले परिचय पत्र वितरण गर्नर् नसकिएको जवाफ दिने गरेको मुक्त कमलरीहरुको गुनासो छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले सरकारले अर्थ मन्त्रालयबाट मुक्त कमलरीहरुका लागि बजेट निकासा गरे पनि कमलरीभन्दा हलियाहरु धेरै रहेकाले उनीहरुको समस्या समाधान गर्न पहिलो प्राथमिकता रहेको बताए ।

– शर्मिला पण्डितबाट



source https://www.onlinekhabar.com/2019/07/784663

संसदमा एक्लिँदै र निरीह बन्दैछ सरकार

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन- समय तालिका बनाएर काम गर्नुस्

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

कतिपय मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले बुधबार कार्य सम्पादन सम्झौता गरेका हुन् ।

सुरुमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट गरेपछि प्रधानमन्त्री ओलीले भने, ‘अहिले राजनीतिक अस्थीरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नुहोस् ।’

स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौं । पिछडिएको देश, गरिब देश भन्नु परेको छ । नकारात्मक चिजहरु विकास भएका छन् । आर्थिक विकासमा पछाडि पर्नु परेको छ । जनताले यो सब बदल्न बहुमत दिएका छन् ।’

अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिए । त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौता गर्ने कामको सुरुवात गरिएको हो । प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो । दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ ।



source https://www.onlinekhabar.com/2019/07/784660

‘घाटी भन्दा तल’ गीतको चर्को आलोचना, दिपकले लेखे–‘भोली नाइटो भन्दा मुनी आउला’

आर्जन पाण्डेको स्वरमा समावेश र नायिका रीमा विश्वकर्माले मोडलिङ गरेको ‘घाटी भन्दा तल’ बोलको गीत रिलिज भएको केही दिनमा आलोचनात्मक रुपमा भाइरल भैरहेको छ । हुनत, हिजोआज राम्रा गीत निकाल्न भन्दा पनि भाइरल हुने गीत निकालेर केही समय रमाउनका लागि गायक–गायिका उद्देलित छन् । मोडलहरुको पनि तरिका त्यस्तै हो । भाइरल हुने गीतमा मोडलिङ गरेर भ्यूजका आधारमा आफ्नो लोकप्रियता मापन गरिरहेका छन् ।

आर्जन पाण्डेको गीत भाइरल भन्दा पनि आलोचनामा फसेको छ । निर्माता दिपकराज गिरी लेख्छन्–‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनी मात्रै आयो । भोली नाइटो भन्दा मुनी मात्रै आउला । त्यसपछि कम्मर । हैट ।’
दिपकराजको यो स्टाटसले गीतलाई ब्यङ्ग्य गरेको छ ।

यस्तै, कलाकार निर्मल शर्मा लेख्छन्–‘बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ–‘घाँटी भन्दा तल त राम्री नै छे ।’ भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती,ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस् ।’

निर्मल र दीपकले मात्र होइन अरु थुप्रै कलाकारले पनि यो गीतको चर्को विरोध गरेका छन् । यो गीतको बिषयमा अहिलेसम्म गायक र मोडलले केही पनि भनेका छैनन् । तर, यो गीतको आलोचना हुँदै गर्दा विशेषगरि, मोडल रिमा विश्वकर्माको पनि आलोचना भैरहेको छ । रीमा जसले नारी स्वतन्त्रताको बिषयमा बिषयमा थुप्रै पटक अभिव्यक्ति पनि दिदै आएकी छिन् ।

तर, उनै रीमाले यस्तो गीत कसरी मोडलिङ गर्न मानिन् भन्ने तर्क पनि सुरु भएको छ । नायिका केकी अधिकारीले समेत यो गीतको प्रमोशनका लागि टिकटक बनाएपछि उनी पनि आलोचनामा मुछिएकी छिन् । गायक आर्जनसँग केकीको प्रेम रहेको चर्चा लामो समयदेखि चलिरहेको छ । नजिकको साथी भएकै कारणले पनि आर्जनको यो गीतमा केकीले मुख खोल्न नसकेको हुनुपर्छ ।



source https://www.onlinekhabar.com/2019/07/784661

Tuesday 30 July 2019

२५ औं प्रकाश मानव अधिकार पुरस्कार बराललाई

१५ साउन, काठमाडौं । २५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका बराललाई गुरुप्रसाद बराललाई प्रदान गरिने भएको छ । शोषण, विपन्नता, विभेद एवम् कुरीतिमुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गरेको भन्दै इन्सेकले बराललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

इन्सेकका महासचिव रमेशचन्द्र पौडेल संयोजक तथा कोषाध्यक्ष गीता बराल र नीलमशेखर अधिकारी सदस्य रहेको प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिले बराललाई प्रकाश पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

२०७६ साल साउन १६ गते प्रदेश १ का प्रदेश प्रमुख प्रा. डा. माननीय गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा विराटनगरमा हुने समारोहमा बराललाई सम्मान गरिने इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइ एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उनले पुर्‍याएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ स्थापना गरेको हो । पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र छ ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गरिन्छ । यो पुरस्कारबाट हालसम्म २४ जना पुरस्कृत भइसकेको इन्सेकले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/07/784637

पाककलामा रुची राख्ने यी बलिउडकर्मी

भनिन्छ, आफूलाई चाहानेहरुको मनमा बस्नका लागि उनीहरुको पेट हुँदै अघि बढ्नु पर्छ । त्यसैले त खाना बनाउनु अर्थात कुकिङलाई पनि आफैंमा एउटा अद्भुत कला मानिन्छ । हाम्रो समाजमा कतिपय त्यस्ता व्यक्तिहरु छन्, जो सौखले खाना बनाउँछन् भने अर्कोतिर खाना बनाउने कलालाई पेशा नै बनाउनेहरु पनि प्रसस्त छन् ।

बलिउडमा त केही त्यस्ता कलाकारहरु छन्, जो अभिनयमात्र अब्बल छैनन्, कुकिङमा पनि उत्तिकै सिपालु छन् । ती कलाकारहरुको कुकिङ कलाका बारेमा जानकारी पाउँदा तपाईं पनि अचम्मा पर्न सक्नु हुनेछ ।

अक्षय कुमार

बलिउडका अभिनेता अक्षय कुमार फिल्ममा आउनुअघि व्यवायिक सेफकै रुपमा सक्रिय थिए । फिल्ममा आउनुअघि उनले बैंककमा सेफकै रुपमा काम गरेका थिए । त्यस पछिमात्र उनी अभिनयमा आएका हुन् । उनी आज बलिउडका सफल अभिनेताको रुपमा स्थापित भए पनि उनले भान्सासँगको आफ्नो सम्बन्धलाई अहिलेसम्म तोडेका छैनन् । उनी आज पनि आफ्नो परिवारका सदस्यका लागि आफैं खाना तयार पारिरहेका हुन्छन् ।

अभिषेक बच्चन

ऐश्वर्या राय मात्र होइन, उनका श्रीमान् तथा अभिनेता अभिषेक बच्चनको पनि कुकिङ सौखको विषय हो । उनी आफ्नी श्रीमती झैं मीठा परिकार बनाउन सिपालु छन् । अभिषेकलाई चिकेनका विभिन्न स्वादष्टि परिकारहरु बनाउन आउँछ ।

करीना कपूर खान

बलिउडमा फेसन डिभाको रुपमा स्थापित अभिनेत्री करीना कपूर खान पनि कुकिङकी सौखिन हुन् । करीनलाई भेजिटेरियन (शाकाहारी) खाना बनाउन मन पर्छ । अचम्म लाग्ने कुरा के छ भने करीनाको घरमा आयोजना हुने अधिकांश गेट टुगेदर पार्टीहरुमा आएका आफ्नो परिवारका सदस्य तथा नजिकका साथीहरुका लागि उनी आफैं खाना बनाउने गर्छिन् ।

कंगना रानौत

बलिउड क्वीनको उपनामले चिनिने अभिनेत्री कंगना रानौतको बारेमा धेरैलाई जानकारी नभएको एउटा कुरा के हो भने उनी अभिनयमा जसरी अब्बल मानिन्छिन्, त्यसैगरी उनी भान्सामा पनि त्यत्ति नै अब्बल छिन् । उनी कुकिङकी सौखिन हुन् ।

कंगनालाई पहाडी खाना बनाउन असाध्यै मनपर्छ । एउटा फिल्मको छायांकनको क्रममा उनले एक दिन सम्पूर्ण क्रूका लागि चाइनीज खाना तयार पारेर सबैलाई छक्क पारेकी थिइन् ।

ऐश्वर्या राय बच्चन

आफ्नो सुन्दरताले विश्वभरी नै चर्चित रहन सफल बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले थुप्रै सफल फिल्महरु दिइसकेकी छिन् । ऐश्वर्या एउटी उत्कृष्ट अभिनेत्री मात्र होइनन्, एउटी सिपालु कुक समेत हुन् । उनलाई थुप्रै प्रकारका डिजर्टहरु बनाउन आउँछ । यति मात्र होइन, उनी आफूले बनाउने प्रत्येक परिकारमा कुनै न कुनै प्रकारका एक्सपेरिमेन्टहरु गर्न रुचाउँछिन् ।

अजय देवगण

बलिउडमा सिंघमको उपनामले स्थापित अभिनेता अजय देवगण पनि खाना बनाउन सिपालुमात्र छैनन्, सौखिन पनि छन् । उनी आफूलाई रिल्याक्स गराउनका लागि कुकिङ गर्न मन पराउँछन् । उनलाई चाइनीजदेखि मुग्लाईसम्मका परिकार बनाउन आउँछ ।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टी बलिउडमा उत्कृष्ट अभिनय गर्ने कलाकारको रुपमा स्थापित छिन् । उनी योगामा पनि पारंगत छिन् भने खाना पकाउने प्रसंगमा पनि उनी एक कदम अगाडि छिन् । खाना पकाउने सौखकै कारण उनी टेलिभिजनको एउटा कुकरी शोमा समेत सहभागि भएकी थिइन् ।

त्यसो त शिल्पा जसरी खाना बनाउन सौखिन छिन्, त्यसैगरी उनलाई थरी-थरीका परिकारका स्वाद चाख्ने सौख पनि छ ।



source https://www.onlinekhabar.com/2019/07/784645

संसदमा राजपा र कांग्रेसको नाराबाजी

१५ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।

लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।



source https://www.onlinekhabar.com/2019/07/784639

कम बजेटमा कसरी गर्ने घरको सजावट ?

साउन महिनाको सुरुवातसँगै चाडपर्वको पनि शुरुआत हुन थाल्छ । साउन महिनामा पर्ने नागपञ्चमीपछि नेपालीको महान चाड दसैं आउन लागेको संकेत मिल्छ । हामी दसैंको कल्पना मात्र गर्दा पनि खुशी हुन्छौं । दसैं नजिकिदै छ भनेर हामी धेरै कुराको योजनामा गर्न थाल्छौ । जसमध्ये घरको सजावट पनि एक हो । अरु समयमा हामी घरको बारेमा त्यति ध्यान दिन पाउँदैनौ, तर दसैलाई ध्यानमा राखेर हामी घरको सजावट कसरी गर्ने भन्ने सोच्न थाल्छौं । घर सफा र व्यवस्थित हुँदा मन शान्त हुनुको साथै खुशी पनि हुन्छ  ।

घर सजाउनका लागि दुई कुराको आवश्यक पर्छ-समय र पैसा । समय त हामी जसरी पनि निकाल्छौ तर पैसा हामीले चाहेको समयमा नहुन पनि सक्छ । हिजोआज जिम्मेबारीहरु धेरै बढेकाले घरको सजावटको लागि धेरै पैसा खर्च गर्ने हिम्मत गरिदैन । त्यसैले आज हामी धेरै पैसा खर्च नगरी तपाईंको घरलाई नयाँ र फ्रस लुक कसरी दिने भन्ने बारेमा  केही जानकारीहरु उल्लेख गर्छौ ।

पुराना फर्नीचरको प्रयोग

यदि तपाइर्ं पुराना फर्नीचरलाई परिर्वतन गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई  बेडरुमको साइड टेबलको रुपमा प्रयोग गर्न सक्नु हुन्छ । यदि तपाईको स्टूल प्वाल परेको छ भने त्यसमाथि ट्रे राखेर त्यो प्वाललाई छोप्न सक्नु हुन्छ । ट्रेमाथि ल्याम्प, स्ट्यान्ड भएको घडि अथवा फुलदानी राखेर प्वाल परेको स्टूललाई पुनः प्रयोगमा ल्याउन सक्नु हुन्छ ।

सजावटमा प्लेटको प्रयोग

हामी बुट्टा भरिएका प्लेटको प्रयोग खाना खानु बाहेक घरको भित्ताहरु सजाउनका लागि  पनि गर्न सक्छौं । घरमा भएका प्लेटहरुलाई स्ट्यान्ड अथवा स्टोरमा थन्काउनु भन्दा घरको खाली भित्तामा वायर प्लेट हृयाङ्गरको सहायताले टाङ्न सकिन्छ । तपाईंको सानो मेहिनतले घरको खाली भित्ता सुन्दर र आकर्षक देखिन्छ ।

सबै भन्दा राम्रो प्रकृति

प्राकृतिक कुराले सबैलाई लोभ्याउँछ । त्यस्ता कुराले घरको सजावट गर्दा सुनमा सुगन्ध भरिदिन्छ । विभिन्न किसिमका रुखविरुवाले घरको सजावट गर्न सकिन्छ,  जसले घरलाई आकर्षक त देखाउँछ नै तपाइर्ंको स्वस्थको लागि पनि लाभदायक हुन्छ ।

घर भित्रका विभिन्न कुना अथवा खाली ठाउँमा सुहाउदो विरुवा राख्न सकिन्छ । बजारमा अचेल विरुवा राख्ने गमलाहरु विभिन्न आकर्षक डिजाइनहरुमा उपलब्ध छन् । त्यसको प्रयोगले तपाईंको कोठा झन् आकर्षक बनाइदिन्छ । त्यस्तै विरुवा लगाएको गमलामा सुन्दर आकारका साना चिल्ला ढुंगाहरुलाई आकर्षक तरिकाले राखेर पनि त्यसलाई थप सुन्दर बनाउन सकिन्छ । त्यस्तै घरको कुनै कुनामा काँचको गिलास अथवा कचौरामा त्यस्ता साना चिल्ला ढुंगा भरेर राख्न सक्नु हुन्छ । त्यस्तै घरमा भएको शंखलाई क्यान्डल स्ट्यान्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

घर सजावटमा क्यान्डल

क्यान्डलको नाम सुन्ना साथ उज्यालोको सम्झना आउँछ, तर क्यान्डल केवल उज्यालोको लागि मात्र नभएर तपाईको घर सजावटमा पनि प्रयोग गर्न सकिन्छ । कुनै खाली टेबलमा विभिन्न आकार प्रकारका क्यान्डलहरु राख्नुहोस । त्यसो गर्दा तपाईको त्यो खाली टेबल र टेबल राखेको ठाउँ दुवै सुन्दर र आकर्षक देखिन्छ ।

भित्ताहरुलाई नयाँ देखाउने काइदा

आफ्नो घरका भित्तालाई अरुको भन्दा भिन्न देखाउन चाहानु हुन्छ भने भित्तामा विभिन्न किसिमका डिजाइन बनाउन सक्नु हुन्छ । डिजाइन बनाउने भनेर घरको सबै भित्ताम बुट्टाहरु राख्नु हुँदैन । यसले कोठा झन् फोहोर देखिन्छ । त्यसैले घरको कुनै एक अथवा दुईवटा भित्ताहरुमा मात्र हल्का डिजाइन बनाउनु पर्छ । यसले तपाईलाई घर नयाँ र विशेष देखाउन मद्दत गर्छ ।

घरमा बिजुली बत्तिको प्रयोग

घरमा आवश्यक अनुसार बत्ति राख्नु पर्छ । आवश्यकभन्दा बढि अथवा कम  बत्तिले घरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । तपाईं थाकेर आउँदा आराम गर्ने ठाउँको बत्तिले आँखालाई शान्ति दिने हुनु पर्छ । तर जुन कोठामा तपाई काम गर्नु हुन्छ, छोराछोरी पढ्छन्, त्यस्ता कोठाको बत्ति केहि चम्किलो हुनु आवश्यक छ ।

घर सजाउदा ध्यान दिनु पर्ने कुरा

घर सजाउनका लागि यदि तपाइर्ं कुनै सामान बनाउँदै हुनुहुन्छ भने घरको आकार-प्रकारमा ध्यान दिनु आवश्यक छ । तपाइर्ंले बनाएको सामान घरमा सजिलै र सुन्दर तरिकाले राख्नका लागि समान बनाउनु अगाडि कोठा, भित्ता र ढोका -झ्यालको नाप राम्रोसंग लिनु पर्छ ।

तपाईंको घरको सजावटमा थीमको प्रयोग गर्न सक्नु हुन्छ । घरलाई एउटै थिम अथवा हरेक कोठालाई फरक-फरक थिम अनुसार सजाउन सक्नु हुन्छ । यदि तपाईको भान्छा आधुनिक छ भने कोठालाई पारम्पारिक थीममा सजाउन सक्नु हुन्छ ।

घर सजावटका लागि कम्बिनेशनमा ध्यान दिनु आवश्यक हुन्छ । त्यसैले घरको सजावटको सामान एकै पटक किन्नु हुँदैन । कुन सामान कहाँ राख्दा सहि र राम्रो देखिन्छ  भन्ने ध्यान दिएर मात्र किन्नु पर्छ ।

घर सजावट गर्दा सूर्यको किरणलाई पनि ध्यान दिनु पर्छ । सूर्यको किरण ढाकिने गरि सजावट गर्नु हुँदैन  । कोठा जति उज्यालो भयो, त्यति नै सुन्दर र स्वस्थकर पनि हुन्छ । झ्यालहरुमा पर्दा राख्दा आवश्यक परेको समयमा उज्यालो कोठा भित्र छिर्ने प्रकारको हुनु आवश्यक छ ।



source https://www.onlinekhabar.com/2019/07/784641

वेदमा के छ ? चार वेदको रहस्य

हामीले वेदको बारेमा त सुन्दै आएका छौं यद्यपी हामीमध्ये धेरैले यसको अध्ययन गरेका छैनौं । यसर्थ यो ग्रन्थ हाम्रो लागि रहस्यमयी छ ।

वेद विश्वकै पहिलो धर्मग्रन्थ मानिन्छ । के विश्वास गरिन्छ भने ईश्वरले ऋषिमुनीलाई सुनाएको ज्ञानमै वेद आधारित छ । यसैले यसलाई श्रृति पनि भनिन्छ । सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । यसमा मान्छेको हरेक समस्याको समाधान छ । वेदमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ ।

अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरे र ऋग्वेद, युजुर्वेद, सामवेद र अथर्ववेदको प्राप्त भएको मानिन्छ । प्रथम तीन वेदलाई अग्नि, वायु र सूर्य -आदित्य)सँग जोडिन्छ । एक ग्रन्थ अनुसार ब्रम्हाजीको चार मुखबाट वेदको उत्पति भएको हो ।

यसैगरी मानव सभ्यताको लगभग सबैभन्दा पुरानो लिखित दस्तावेज पनि हो वेद ।

वेदको उपवेद

ऋग्वेदबाट आयुर्वेद, यजुर्वेदबाट धनुर्वेद, सामवेदबाट गन्धर्ववेद र अथर्ववेदबाट स्थापत्यवेद । यी क्रमस चार वेदको उपवेद मानिन्छ ।

वेदको विभाग चार

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग-स्थिति, यजु-रुपान्तरण, साम-गतिशील र अथर्व-जड । ऋकलाई धर्म, यजुः लाई मोक्ष, सामलाई काम, अथर्वलाई अर्थ पनि भनिन्छ । यसै आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको थियो ।

ऋग्वेद

ऋक अर्थात स्थिती र ज्ञान । ऋग्वेद सबैभन्दा पहिलो वेद हो, जो पद्यात्मक छ । यसको १० अध्याय र १०२८ सूक्त छ । जसमा ११ हजार मन्त्र छ । यस वेदको पाँच शाखा छ, शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मंडूकायन । ऋग्वेदमा जल चिकित्सा, वायु चिकित्सा, सौर्य चिकित्सा, मानस चिकित्सा र हवन द्वारा चिकित्सा आदिको पनि जानकारी छ । ऋग्वेदको दशौं अध्यायमा औषधी सूक्त अर्थात औषधीबारे जानकारी छ । यसमा औषधीको संख्या १ सय २५ लगभग बताइएको छ, जो एक सय सात स्थानमा पाइन्छ ।

यजुर्वेद

यजुर्वेदलाई अर्थः यत् र जु अर्थात यजु भनिएको छ, जसको अर्थ गतिशिल आकास भन्ने लाग्छ । यजुर्वेदमा यज्ञको विधी, यज्ञमा प्रयोग गरिने मन्त्रबारे जानकारी छ । यज्ञका साथै तत्वज्ञानको वर्णन छ । ब्रम्हाण, आत्मा, ईश्वर र पदार्थको ज्ञान छ । यो वेद गद्यमय छ । यसमा यज्ञको असल प्रक्रियाको लागि गद्यमन्त्र छ ।

सामवेद

सामको अर्थ रुपान्तरण र संगीत भन्ने लाग्छ । सौम्यता र उपासना पनि । यस वेद ऋग्वेदको ऋचाको संगीतमय रुप हो । सामवेद गीतात्मक अर्थात गीतको रुपमा छ । यस वेदलाई संगीत शास्त्रको मूल मानिएको छ ।

अथर्वदेव

थर्वको अर्थ हो कम्पन, अथर्वको अर्थ को अंकपन । ज्ञानबाट श्रेष्ठ कर्म गरेर जो परमात्ममाको उपासनामा लीन हुन्छन् उनैले मोक्ष धारण गर्छ । यस वेदमा रहस्यमयी विद्या, जडीबुटी, चमत्कार, आयुर्वेदबारे जानकारी छ ।



source https://www.onlinekhabar.com/2019/07/784635

भारतीय कफी टाइकुन सिद्धार्थको शव भेटियो

१५ साउन, काठमाडौं । दुई दिनदेखि हराइरहेका ‘क्याफे कफी डे’का संस्थापक वीजी सिद्धार्थको शव भेटिएको छ ।

सिद्धार्थको शव बुधबार विहान नेत्रावती नदीको पुल नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलुरुका पुलिस कमिश्नर संदीप पाटिलका अनुसार हुइगेबजार नजिकै नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिको हो ।

परिवारका सदस्यहरुले उनको शव भएको पुष्टि गरेपछि अस्पताल लैजाने प्रहरीको तयारी छ ।

सिद्धान्त भारतको क्याफे कफी डेका सबैभन्दा ठूलो रिटेल चेनका मालिक थिए । उनी सोमबार साँझ ७ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनले ड्राइभरलाई नदीको पुलमा गाडी रोक्न लगाएका थिए । उनले भनेका थिए- पुलमा टहलिन चाहन्छु । आधा घन्टासम्म पनि नआएपछि फोन गरेको तर नउठेको उनका ड्राइभरले बताए । त्यसपछि परिवारले उनको खोजी थालेको थियो ।

उनी कर्नाटकका पूर्वमुख्यमन्त्री एसएम कृष्णाका ज्वाइँ पनि हुन् ।

प्रहरीले सुसाइड नेाट पनि भेटाएको छ, जुन सिद्धार्थकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

क्याफे कफी डे परिवार र निर्देशकलाई सम्बोधन गरिएको सिद्धार्थको पत्रमा लेखिएको छ, ‘म लामो समयदेखि संघर्ष गरिरहेँ, तर अब सम्भव रहेन । म आफ्नो प्राइभेट इक्विटी पार्टनर र अन्य ऋणदाताको दबाव झेल्न सक्दिनँ । इनकम ट्याक्सका एक महानिर्देशकको उत्पीडन पनि सामना गर्नु परेको छ ।’

इनकम ट्याक्स डिपार्टमेन्टले भने आफ्नो कारवाहीको बचाउ गर्दै पत्रको सत्यतामाथि शंका गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार पत्रमा सिद्धार्थले सबै गल्तीका लागि आफू जिम्मेवार रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो उद्देश्य कहिल्यै धोका दिने थिइन । मलाई आश छ कि एक न एक दिन तपाईले यो सम्झनु हुनेछ ।’



source https://www.onlinekhabar.com/2019/07/784615

मन्त्रालयबीच समन्वय अभाव, पाइलैपिच्छे चुक्दैछ सरकार

१५ साउन, काठमाडौं । अहिले देशमा दुई तिहाइ बहुमतसहितको बलियो सरकार छ । अधिकांश मन्त्रालयका मन्त्रीहरु एउटै पार्टीमा आवद्ध छन् । तर, ती मन्त्रालयबीच आपसी समन्वयको अवस्था भने नाजुक देखिएको छ ।

अन्तर मन्त्रालय समन्वय अभावले गर्दा सरकारका राम्रा निर्णय पनि प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् भने कतिपय निर्णय विवादमा फसेका छन् । यसको सबैभन्दा ज्वलन्त दृष्टान्त हो, विषादी प्रकरण । यस प्रकारणमा एउटै पार्टीका दुई मन्त्री आमने–सामने बने र अन्ततः देशले नै मूल्य चुकाउनुपर्‍यो ।

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने मुलुकको हितकारी निर्णयमा प्रधानमन्त्री नै रणभुल्ल देखिए र उनले माफीसमेत माग्नुपर्‍यो । भारतीय राजदूतावासले विभिन्न मन्त्रालय र निकायमा पठाएको पत्रबारे प्रधानमन्त्री ओलीले मिडियाबाट थाहा पाउनुपर्ने अवस्था रह्यो ।

अन्तरमन्त्रालय समन्वयको अभाव झट्ट सुन्दा सामान्य विषय लाग्न सक्छ । तर, यसको असर निकै गम्भीर हुने विज्ञहरु बताउँछन् । यसले गर्दा सरकारप्रति जनताको विश्वास डग्मगाएको र अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमै नेपालको प्रतिष्ठामा आँच आएको उनीहरुको भनाइ छ ।

कृषि र वाणिज्यको चिसो

पशु, वनस्पति र खाद्य क्वारेन्टाइनको वर्तमान अवस्था र यसका समस्याबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन १२ गते आइतबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । देशैभरका क्वारेन्टाइन प्रमुखहरु छलफलमा सहभागी भए । तर, दुई किलोमिटर पश्चिमतर्फ रहेको वाणिज्य मन्त्रालयका अधिकारी कार्यक्रममा आएनन् ।

करिब ५ घण्टा लामो छलफलमा वाणिज्य मन्त्रालयका अधिकारीहरुको खोजी गरियो । तर, कोही पनि नभेटिएपछि कृषि मन्त्रालयका एकजना सहसचिवले आइन्दा वाणिज्य मन्त्रालयका कार्यक्रम आफूहरुले पनि बहिस्कार गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा वन, कृषि र वनस्पति क्वारेन्टाइनका कर्मचारीहरुले भन्सारका कर्मचारी र प्रहरीबाट पेलिनु परेको दुःखेसो पनि राखे । छलफलमा कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले कृषि मन्त्रालयलाई अरु मन्त्रालयहरुले पेल्ने गरेको भन्दै ऐनले दिएको अधिकार प्रयोग गरी खरो रुपमा उत्रिन कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

जडिबुटी प्रकरणमा पनि उस्तै

भारतको क्वारेन्टाइन आदेश परिवर्तनका कारण आर्थिक वर्ष ०७५/०७६ को सुरुवातदेखि नै नेपालबाट भारत निर्यात हुने करिब एक अर्ब बराबरको जडिबुटी नेपालगञ्ज नाकामा थन्किएका छन् । सरकारले समन्वय गरेर छिटोभन्दा छिटो जडिबुटी निकासी सहज गरिदिन व्यवसायीले वन, कृषि र वाणिज्य मन्त्रालयसहित प्रधानमन्त्री कार्यालयसम्मलाई निवेदन दिएको ६ महिना भयो । जडिबुटी कुहिन थालेको भन्दै छिटो निकास खोज्न व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

जडिबुटी समस्या हल गर्न के प्रयास भइरहेको छ भन्ने जिज्ञासामा वन मन्त्रालयले कृषि मन्त्रालयलाई पत्र पठाइएको जानकारी दियो । वन मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले निकासी सूची संशोधन गर्न कृषिलाई पत्र पठाएको बताए पनि कृषि सचिव डा. युवकध्वज जिसीले जडिबुटीको विषय वनको भएको भन्दै कृषि मन्त्रालयको क्षेत्रधिकार नै नभएको प्रतिक्रिया दिए ।

यता वाणिज्य मन्त्रालयले पनि जडिबुटी निकासी रोकिएकोबारे कुनै जानकारी नै नभएको बतायो ।

सोही प्रतिक्रियालाई आधार बनाएर अनलाइनखबरमा साउन ८ मा समाचार प्रकाशित भएपछि ९ साउनमा वाणिज्य मन्त्रालयले निकासी अवरोध खुलाउन प्रयास भइरहेको भन्दै विज्ञप्ति जारी गर्‍यो । मन्त्रालयको विज्ञप्ति आफैंमा अन्तर मन्त्रालय समन्वय अभाव र सूचनामा यथेष्ट पहुँच अभावको परिणाम थियो ।

वन मन्त्रालयको निर्देशन वा प्रमाणीकरण, कृषि मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन र उद्योग तथा वाणिज्यको नीतिगत तथा राजनीतिक सहमतिका आधारमा सहकार्यका लागि एजेण्डा यकिन गरेर समाधान खोजिनु पर्दथ्यो । जडिबुटी निकासी सम्बन्धमा तीनैवटा मन्त्रालय एक–अर्कामा समन्वय गर्दै अघि बढ्नुपर्नेमा त्यो संस्कार नभइदिँदा समस्या सुल्झिन सकेको छैन ।

उद्योग भित्र्याउने सम्मेलनमा उद्योग मन्त्री नै अपहेलित

केही समयअघि सरकारले विदेशी लगानी भित्र्याउने भन्दै धुमधामसँग लगानी सम्मेलनको आयोजना गर्‍यो । विदेशी लगानी सम्बन्धी विषय उद्योग वाणिज्य मन्त्रालयको हो । तर, अर्थ मन्त्रालय र लगानी बोर्डले उद्योगमन्त्री र मन्त्रालयसंग समन्वय नै नगरेपछि उद्योगमन्त्री असन्तुष्ट बने । उद्घाटन सत्रमा आफूलाई बस्ने कुर्सीसमेत नभएपछि उनले बाहिर हलमा बसेर कार्यक्रमको उद्घाटन सत्र हेरेर फर्किए ।

सम्मेलनमा उद्योगमन्त्रीले एउटा सत्रमा बोल्ने कार्यक्रम थियो । त्यसमा पनि कनी कनी अंग्रेजीमा बोल्दा मन्त्री हाँसोको पात्र बने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको समन्वय खोई ?

कुनै पनि संवेदनशील योजनाको अन्तिम फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुग्छ नै । मन्त्रिपरिषदले निर्णय गर्नुपूर्व अन्तरमन्त्रालय सहकार्य र आपसी समन्वय भएको छ वा छैन ? कानुन तर्जुमा गर्दा कस्ता अप्ठ्यारा आउँछन् र कसरी अगाडि बढ्ने भन्ने समन्वय र निर्णय मुख्यसचिवमार्फत मन्त्रिपरिषद कार्यालयले गर्न सक्छ ।

निर्णयार्थ मन्त्रालयले पठाएको प्रस्तावमा राम्रो तयारी नपुगेको भए पुनः तयारीका लागि मन्त्रिपरिषद् कार्यालयले निर्देशन गर्न सक्थ्यो । तर, भारतीय तरकारीमा विषादी जाँच प्रकरणमा मन्त्रिपरिषद् कार्यालयबाट समन्वय गर्न नसकेको देखिन्छ ।

यसै प्रकरणमा भारतीय दूतावासबाट आएको दबावपत्र कृषि, उद्योग तथा वाणिज्य, परराष्ट्र र खाद्य प्रविधि विभाग गरी चार ठाउँमा पुग्दा प्रधानमन्त्रीसम्म नपुग्नु समन्वय अभाव नै हो ।

पहिलेदेखिकै समस्या

मेलम्ची खानेपानी परियोजना असफल हुनुको मुख्य कारण नै अन्तर मन्त्रालय समन्वय अभाव नै भएको पूर्वमुख्यसचिव डा. विमल कोइराला बताउँछन् । कोइरालाका अनुसार मेलम्चीमा जग्गा अधिग्रहण गर्नुपर्ने भूमिसुधारले र आयोजना अघि बढाउने जिम्मेवारी खानेपानी मन्त्रालयको थियो ।

खानेपानीले भूमिसुधारलाई विश्वास गरेर मुआब्जा वितरणका लागि रकम नदिँदा भूमिसुधारले कामै गर्न नसकेको र आयोजनाको मुआब्जा विवाद लामो समयसम्म नटुंगिएको कोइराला बताउँछन् ।

नेपालको सबैभन्दा ठूलो प्रशासनिक असफलता भनेकै एक–अर्को मन्त्रालयबीचको समन्वय अभाव भएको उनको ठम्याइ छ ।

‘मन्त्रालयको नेतृत्व गर्ने मन्त्री र कतिपय अवस्थामा कर्मचारीकै अहंकारले यस्तो अवस्था सिर्जना गर्छ,’ कोइराला भन्छन्, ‘अन्तरमन्त्रालय समन्वयलाई सरकार सञ्चालकले चुनौतीका रुपमा लिएर समाधानतर्फ अघि नबढे मुलुकले प्रगति गर्न सक्दैन ।’

काम गर्दै जाँदा अन्तरमन्त्रालय समन्वय अभावका घटनाहरु स्वभाविकरुपमा आउने गरेको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाको अनुभव छ । आफू मन्त्रालयमा रहँदा सुपारी काण्ड चरम विवादमा रहेको तर त्यसलाई कृषि मन्त्रालयसँग समन्वय गरेरै सल्ट्याएको ओझा बताउँछन् ।

समन्वयमा चुकेको खण्डमा समस्या ज्युँका त्युँ रहने र विवाद झनै चर्किैदै जाने ओझा बताउँछन् । उनी भन्छन्, ‘एक–अर्का मन्त्रालयबीच घनिभुत छलफल भएको खण्डमा निर्णयपछि आउन सक्ने नराम्रा परिमाण पहिल्यै केलाएर सच्याउन सकिने भएकाले समन्वय जरुरी छ ।’



source https://www.onlinekhabar.com/2019/07/784625

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More