१४ साउन, काठमाडौं । जतिखेर निर्मला पन्तको न्यायका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन उठ्यो, त्यसको तारो नगरपालिकाका मेयर सुरेन्द्र विष्ट पनि बने । तथापि विष्टले संयम अपनाए र निर्मला पन्तको न्यायकै पक्षमा आफूलाई निरन्तररुपमा उभ्याए ।
कम्युनिष्ट पार्टीका नेतासमेत रहेका विष्ट आफैंमाथि आरोप लाग्दा र घरैमा आक्रमण हुँदासमेत निर्मला पन्तको न्यायका पक्षमा उभिए । उनी न्यायको पक्षमा उठेको आवाजलाई आफूले सम्मान गर्ने बताउँछन् । तर, यो घटनाबाट आफूले सकारात्मक–नकारात्मक दुबैखालका पाठहरु सिकेको उनी बताउँछन् ।
अपराधको कुनै नातागोता नहुने धारणा राख्ने मेयर विष्ट आफूले पूर्णरुपमा प्रहरीको अनुसन्धानलाई सघाएको बताउँछन् । न्यायपूर्ण दबाव आन्दोलनमा अधिकारकर्मीहरुलाई आफूले पनि साथ दिएको उनी बताउँछन् ।
मेयर बिष्टले अहिले आफ्नो नगरपालिकामा निर्मला पन्तकी आमा दूर्गादेवी पन्त र शहीद सनी खुनाकी आमा मञ्जु खुनालाई जागिर दिएर उनीहरुको पीडा कम गराउने र समाजमा सकारात्मक सन्देश दिने प्रयाससमेत गरेका छन् ।
अघिल्लो साता निर्मला पन्तको परिवारसँग भेटघाट गर्न नगरपालिकामा पुगेका बेला अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले मेयर बिष्टसँग कुराकानी गरेका थिए । उक्त कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ:
स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो । एक वर्ष बित्नै लाग्दा तपाईको नगरपालिकामा निर्मला पन्तको कहालिलाग्दो अपराधिक घटना भयो । यसले जिल्लाको सीमा काटेर पुरै देशलाई ब्युझ्यायो । यो एक वर्षमा नगर प्रमुखले कस्ता उतार–चढाव भोग्नुपर्याे ?
जुन घटना भयो, त्यो अत्यन्तै दुःखद र पीडादायी थियो । अहिलेसम्म दोषी पत्ता नलाग्दा झन पीडा थपिएको छ । यसको परिणाम छिटो ल्याओस् भन्ने अपेक्षा गर्छु र विश्वस्त पनि छु । किनभने यस घटनामा उच्च तहका प्रहरी अफिसरहरुको टिम खटिएको छ ।
हो, यो घटनाले भीमदत्त नगरपालिका मात्र नभई सिंगो देशकै ध्यानाकर्षण भयो । र, सिंगो देशमै एक किसिमको बहस सुरु भयो । यसले सकारात्मक–नकरात्मक थुप्रै परिस्थितिहरु निम्त्याएका छन् ।
यसको सकरात्मक पक्ष के हो भने प्रत्येक नागरिकको सुरक्षा र उनीहरुको न्यायको प्रत्याभूतिका निम्ति थुप्रै काम गर्न आवश्यक रहेछ भन्ने सिकायो ।
प्रहरी संगठनलाई थप जिम्मेवार गराउनुपर्ने र त्यसका लागि सरकारका तमाम निकाय, अधिकारवादी, जनताको साथ अपरिहार्य हुँदो रहेछ । प्रत्येक नागरिकले आफ्नो कर्तव्य र जिम्मेवारीको साझेदार नगरेसम्म प्रहरी संगठनले मात्र सबै काम गर्न सक्दो रहेनछ । नागरिकको सहयोगविना अपराध अनुसन्धानमा प्रतिफल लिन सकिँदैन रहेछ ।
तर, कार्यक्षेत्र र कार्यजिम्मेवारी र दायराको विषयमा पनि बुझ्नुपर्दोरहेछ भन्ने लाग्छ । त्यस्तै, न्यायका निम्ति प्रतिशोध लिने गरी आरोप प्रत्यारोपमा जाने जुन काम भयो, त्यसले चाहिँ राम्रो गरेन ।
त्यस्तै अघिल्लो आर्थिक वर्षमा हामीले विकास निर्माणमा ९७ प्रतिशत वजेट खर्च गर्न सफल भएका थियौँ । तर, यो वर्षमा सम्पूर्ण स्रोत परिचालन गर्दा त्यति काम गर्न सकेका छैनौँ । कतिपय आयोजना आयोजना समयमा सुरु गर्न सकेनौँ । ठूलो लगानीमा पूर्वाधारका काम गर्दै थियौं, अहिले बल्ल ठेक्काको चरणमा जान थालेका छौँ । बन्दका कारण उद्योग कलकारखाना चल्न सकेनन् । यी आन्दोलन र घटनाले सिर्जना गरेका प्रतिनिधि उदाहरण हुन् ।
यो घटनाको अझ दुःखद पक्ष भनेको समाजमा एकअर्काप्रति असहिष्णुताको वातावरण कायम गरिदियो । जसले दीर्घकालीनरुपमा असर पुर्याउनेछ ।
एउटा नगरप्रमुखले कर्तव्य निर्वाहको निम्ति सबै सँगै अगाडि बढ्नुपर्ने थियो । यस विषयमा बढ्ता चर्चा र बहसहरु पनि चलाइयो । जनता र जनप्रतिनिधिप्रतिबीचको विश्वासनीयतामा कुनै न कुनै रुपले भाँजो हाल्ने काम भयो । अधिकारकर्मी, पीडित परिवार, जनप्रतिनिधि, सुरक्षाकर्मी र अधिकारकर्मीहरुवीच नै विभाजन आयो । जसको कारण पनि समयमै हल गर्न सक्ने कतिपय कुरामा पनि हामी चुक्यौँ ।
व्यक्तिगतरुपमा भन्नुहुन्छ भने मलाई पारिवारिकरुपमा पनि जोड्ने काम भयो । जसको माध्ययमबाट मेरो आचरणमाथि प्रश्न खडा गरियो । जसले गर्दा पनि यो घटना जीवनभर अविश्मरणीय रहेनछ । तर, न्यायका निम्ति लाग्नुभएको सबैप्रति मेरो श्रद्धा छ ।
तपाईंले भन्नुभयो कि निर्मला प्रकरणले समाजलाई विभाजित गर्याे । यसका ‘वाइप्रडक्ट’हरु के के हुन् ?
समाजमा डर, त्रास, आतंक छ । समाजमा कोहि सुरक्षित छैन, भयाभह छ भन्ने खालका हल्ला फिजाइयो । खासगरि सुदुरपश्चिम, भिमदत्त नगरपालिका अपराध नै अपराध हुन्छ भनेर राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा प्रभाव पार्ने कोशिस गरियो ।
समाज विकासको क्रमसँगै अपराध पनि जन्मीरहेको हुन्छ । अपराध न्युनिकरणका विभिन्न तौर तरिका हुन्छन् । र, अपराधका घटना केवल भिमदत्त नगरपालिकामा मात्र भएका थिएनन् । विकशित मुलुक पनि यस्ता अपराधिक गतिविधि हुन्छन् । तर, भिमदत्त नगरपालिकाका जुन नयाँ पहिचान स्थापित गर्ने कोशिष गरियो । यहाँ सभ्य नागरिक बस्छन्, कर्तव्यनिष्ठ मानिसहरु पनि छन्, यहाँ पनि समाज छ भन्ने राम्रा कुरालाई ओझेल पार्ने प्रयास सबैभन्दा दुःखद हो ।
अपराधी पत्ता लगाउन र समाजलाई सही बाटोमा डोर्याउनका लागि मेयरको हिसाबले तपाईंको पनि त महत्वपूर्ण भूमिका हुन्थ्यो होला नि ?
साँच्चीकै न्याय पााउनुपर्छ भनेर जो–जो लाग्नुभएको थियो, उहाँहरुप्रति उच्च श्रद्धा र सम्मान छ । तर, यो घटनालाई लिएर आ–आफ्नो स्वार्थसिद्धि गर्नेखालका प्रवृत्तिहरु पनि देखिए ।
यसमा केही राजनीति पनि थियो र कतिपय व्यक्तिगत स्वार्थ पनि । र, यस नगरपालिकाको विकास नहोस्, समाजमा प्रगति नहोस्, भीमदत्त नगरपालिका अगाडि नबढोस् भन्ने चाहनेबाट पनि यसो भएको हो । कतिपयमा नकरात्मकता, विध्वसं र अराजकतामात्रै फैलाए फाइदा हुन्छ भन्ने प्रवृत्ति पनि हुन्छ, यसको पनि उपज थियो यो ।
जुनबेला निर्मलाको शव भेट्टाइयो, त्योबेला म आन्तरिक बैठक र छलफलमा थिएँ । जसका कारण मसँग सूचना ढिलो आइपुग्यो । जानकारी पाउनेवित्तिकै म घटनास्थलमा जान खोजेँ । तर, प्रशासनले सुरक्षाको दृष्टिकोणले जान रोक्यो । म पीडित परिवारको सम्पर्कमा जान खोज्दा शव नगरपालिकामा पुर्याइसकेको रहेछ । वातावरण यति उग्र थियो कि कुनै प्रकारको छलफल गर्न सक्ने अवस्था नै थिएन ।
तर, म निरन्तर प्रयास गरेर पीडित परिवारको सम्पर्कमा पुगेँ । जिल्ला प्रशासन कार्यालयमा नियमित बैठक र छलफलहरु गरियो । नगरपालिकाबाट प्रेस विज्ञप्ति जारी गर्ने मात्र नभई कार्यापालिकाको बैठकबाट निर्णाय गरेरै अगाडि बढ्यौँ । प्रहरी प्रमुखसँग अनुसन्धानलाई छिटो टुंगोमा पुर्याउन आग्रह गर्याैं । पीडित परिवारलाई राहतस्वरुप तत्काल तीन लाख रुपैयाँ दिने निर्णय गर्याैं । प्रदेश सरकारसँग छलफल गर्ने, नगरपालिकाको तर्फबाट गृहमन्त्री, सचिवलाई ज्ञापन पत्र बुझायौँ ।
जानकारी दिने, वैधानिक दबाव सिर्जना गर्ने कुरामा कहिल्यै पनि चुकेनौँ । धर्ना कार्यक्रममा म आफैं पुगेर ऐक्यवद्धता जनाएको थिएँ । कर्मचारीलाई परिचालित गर्ने, सूचना दिन आम नागरिकलाई आग्रह गर्याैं ।
एसपी विष्टको आफन्त हो भनेर पनि भनियो । तर, उहाँ बाहुन विष्ट हो म क्षेत्री विष्ट । त्यतिबेला मैले भनेको थिएँ, अपराधको कुनै नाता गोता हुँदैन । अपराधमा जोसुकै सम्लग्न होस्, उसलाई कारवाही हुनुपर्छ । त्यसैले पूर्णरुपले अनुसन्धानमा सघाउनेछु । त्यसैले मैले भतिजलाई प्रहरीसँग पठाएँ, अनुसन्धानमा सघाएँ । तर, मेरो घरमा पेट्रोल छर्केर आगो लगाउने प्रयत्न गरियो ।
यस्तो अवस्थामा तपाई निर्मलालाई न्याय दिलााउनेतर्फ भन्दा पनि रक्षात्मक बन्नुभयो होला नि ?
विषय अत्यन्त सम्वेदनशील भएकाले अत्यन्तै जिम्मेवारीपूर्वक मेरा कामहरु अगाडि बढाएँ । निर्मलाको जुन दर्दनाक बलात्कारपछि हत्या भयो, त्यसको दोषी पत्ता लगाउने विषयमा मेरो पहल जारी रह्यो ।
दोस्रो, समाजमा शान्ति सुरक्षा कायम गर्न, समाजलाई हिंसाबाट रोक्नका निम्ति अधिकारकर्मीसँग वार्ता र सम्वाद गरिरहेँ । भीमदत्त नगरवासीलाई अपील गरिरहेँ ।
आन्दोलनका क्रममा सनी खुनाको मृत्यु भएपछि तत्काल परिवारसँग वार्ता गरें । सनीलाई शहिद घोषणा गर्नका निम्ति सरकारसँग दबाव सिर्जना गरिरहेँ । आम नगरवासीहरु न्यायको पक्षमा उभिँदा हामी विभाजित होइन कि शान्तिपूर्ण ढंले न्यायको पक्षमा लड्न अपील गरिरहेँ ।
यो नगरपालिका अपराधीहरुको अखडा नभएर समृद्धि र विकास चाहने राम्रा व्यक्तिहरुको आफैंमा सुन्दर ठाउँ हो भन्ने सन्देश दिइरहेँ । यो नै मेरो कर्तव्य र जिम्मेवारी थियो ।
निर्मलाको हत्या भएको पनि अहिले एक वर्ष बितिसकेको छ । नेपाल प्रहरीले यति लामो समयसम्म अपराधी पत्ता लगाउनै नसक्ने यो साँच्चिकै जटिल मुद्दा थियो या जटिल बनाइयो ?
अनुसन्धानको पाटोमा प्रहरी नै बोल्ने कुरा भयो । तर, उहाँहरुले शुरुमा नागरिकबाट जुन सूचना दिनुपथ्र्यो, त्यो सूचना दिन नमानेको बताउनुभएको छ । सही ढंगले अनुसन्धान गर्नका निम्ति वाधा व्यवधान गरेको पनि बताएका छन् ।
अर्को, मनोवैज्ञानिक त्रास पनि भयो । ठूलो संख्यामा प्रहरी वर्खास्त भए, कारवाहीमा परे । त्यसले वातावरण बनाउनका निम्ति केही असहज भयो भन्ने पनि उहाँहरुको भनाइ छ ।
तर, दोषी पत्ता लगाएरै छाड्छौँ भन्नुभएको छ । गृह प्रशासनले अनुसन्धानकै क्रममा रहेको र समाजलाई जवाफ दिन पनि दोषी पत्ता लगाएरै छाड्ने मलाई सूचना दिनुभएको छ ।
अन्त्यमा, भनिदिनुस कि तपाईलाई व्यक्तिगत र राजनीतिक परिदृश्यमा यो घटनाले कस्तो पाठ सिकायो ?
केही मानिसले समाजलाई जतिबेला पनि गलत दिशातर्फ भड्काउन सक्छन् भन्ने कुरामा सचेत छु । कतिपय प्रवृत्तिहरु समयमा नचिन्दा र विश्वास गर्दा ठूलो समस्या आइपर्दो रहेछ भन्ने पनि बुझेको छु । तर, छलफल गरेपछि एकपटक भ्रममा परेकाहरु पनि समय क्रममा बुझ्दै जाँदा रहेछन् भन्ने पनि थाहा भयो । कहिलेकाँही नगरेका गल्तीमा पनि जतिसुकै बेला विवादमा तान्न सक्छन् । तर, आफू सत्य भयो भने त्यो कुरा समाजले विस्तारै बुझ्दोरहेछ ।
source https://www.onlinekhabar.com/2019/07/784347
0 comments:
Post a Comment