Wednesday 31 July 2019

परिचयपत्र नहुँदा मुक्त कमलरीलाई समस्या

१४ साउन, काठमाडौं । सरकारले दुई वर्षअघि नै मुक्त कमलरीहरुका लागि ‘कमलरी परिचय पत्र’ वितरण गर्न सुरु गरे पनि अझै ११ हजार ५ सय २३ जनाले परिचय पत्र पाएका छैनन् ।

पाँच जिल्लाका १२ हजार ८ सय ८२ जना कमलरीमध्ये १३ सय ५९ जना कमलरीले मात्रै परिचय पत्र पाएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीले अनलाइनखबरलाई बताइन् ।

भूमिसुधार मन्त्रालयको ढिलासुस्तीले २ वर्ष पुगिसक्दा पनि हजारौं मुक्त कमलरीले कमलरी परिचय पत्र पाउन सकेका छैनन् । परिचय पत्र नपाउँदा उनीहरुले छात्रवृत्ति, आरक्षण कोटा लगायतका विभिन्न सुविधाबाट वञ्चित हुनुपरेको मुक्त कमलरी सुजिता चौधरी बताउँछिन् ।

परिचय पत्र नपाएकै कारणले कमलरीबाट पाउने सेवासुविधाबाट पूरै वञ्चित हुनेपरेको सुजिताले बताइन् ।

मुक्त कमलरीहरु विशेष गरी दाङ, बाँके, कैलाली, बर्दिया र कञ्चनपुरमा रहेका छन् । सरकारले औपचारिक रुपमा ०७० सालमा कमलरी मुक्त घोषणा गरेको थियो ।

तर, अझै पनि ७८ जना बालिका तथा महिलाहरु विभिन्न ठाउँमा कमलरीका रुपमा रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

कमलरी परिचयपत्र वितरणको जिम्मा पाएको भूमिसुधार मन्त्रालयले मुक्त कमलरीका नाममा पर्याप्त बजेट नआएको हुनाले परिचय पत्र वितरण गर्नर् नसकिएको जवाफ दिने गरेको मुक्त कमलरीहरुको गुनासो छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले सरकारले अर्थ मन्त्रालयबाट मुक्त कमलरीहरुका लागि बजेट निकासा गरे पनि कमलरीभन्दा हलियाहरु धेरै रहेकाले उनीहरुको समस्या समाधान गर्न पहिलो प्राथमिकता रहेको बताए ।

– शर्मिला पण्डितबाट



source https://www.onlinekhabar.com/2019/07/784663

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More