Friday, 26 July 2019

कविता : डेराको जीवन

डेरामा बित्यो जीवन मेरो घरको सपना 
भएन पूर्ण लक्ष्य भो चूर्ण अधुरो विपना 
मनको धित मरेको छैन गर्दैछ जपना
मरेन आश गर्छु कि भन्ने घरको थपना।।

घडेरी किनी घरको छिंडी गाडीको सपना
यसमै मान्छे प्रगति देख्छ सुनको गहना
धनको राशि खन्याए धेरै त्यो भयो पढाइ
वे अर्थ ध्येय राख्दछ मान्छे जीवन चढाइ।।

प्रगति के हो नबुझी कन मानिस सड्ने भो
जीवन चक्र नपाई अत्तो गर्लम्मै लड्ने भो
उत्तम गति के राम्रो मति खुट्याए पो हुने
ठम्याई हिड्न नजान्दाखेरि काम भो लौ रुने

शहर बस्ने रहर साँधी मानिस खुम्चियो
सरर उड्ने चालमा आयो अन्त्यमा दु:खी भो
छोडेर गाउँ असली नाउँ डुबायो जीवन
 काम पायो  मिठो खायो आँशुको सितन

अर्काको देखी गरेर सेखी हुँदैन बुझेन
आफुमा जे  क्षमता के  किन हो सुझेन
जीवन गति चलाए उल्टो आगोको त्यो पुल्ठो
सल्किन्छ हुर्र उडिन्छ फुर्र भएर बिगुल्टो।

मानिस यिनी राज्यका खानी  भन्छ कसैले
डेराका केरा तेरा  मेरा राज्य नै ठान्छ के
शहरे पुक्क घर  ढुक्क गन्दैन अरु 
उडेर जाऔं हुरुरु गाउँ चाखोस बरु त।।

सपना छोड लौ मन गोड गाउँ नै शहर
देशको हित चाहने भए गाउँ नै सिङ्गार
डेराको बास सधैं नै त्रास राज्यले  हेर्छ
सहज होला ठान्दछ मन उल्टै पो लौ घेर्छ।

 दर रेट घरको भाडा  हेर्छ सर्कार
पीडामा मान्छे परेर भन्छ को राख्छ दर्कार
नियम राम्रा भएनन् हाम्रा पिल्सिए जनता
मैं खुसी गर्ने तैं खुसी गर्ने कता गो समता ।।

लाखौं छन् मन डरमा किन डेरामा बसेर
घरको धनी मैं मत्ता बनी हेर्दछ डसेर
हामी नै जस्ता मानिस उनी क्यै गरी ठानेन
मान्छेले यहाँ मान्छे नै किन बिल्कुलै गनेन

मानिस भई मानिसलाई भौतिक कुरामा
फरक देख्ने चलन कस्तो अद्भुत धारणा
काम  उतै गाउँमा फुत्तै कम्मर कसेर
हिंड लौ साथी गाउँ नै जाति नबस झुकेर।।

मान्छेले यहाँ मान्छे नठान्ने मानवता हरायो
अप्ठ्यारा धेरै देखेर कवि लेखेर करायो
सुन्नेले यहाँ नथुन कान उर्लेला आपत
सरकार नसुन्ने, जनता  नसुन्ने  खस्ला है विपत 



source https://www.onlinekhabar.com/2019/07/783791

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More