१२ साउन, काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ ।
१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।
उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
सिंगापुरका सेलेडोर भिजयकुमारले चार विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । तर, दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेभिडले ८९ रनको उत्कृष्ट साझेदारी गरे । रोहन ४९ रनमा आउट भए ।
डेभिडले तेस्रो विकेटका लागि मनपि्रत सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । डेभिड ७७ रनमा आउट भए । मनपि्रतले ४२ रन बनाए ।
नेपालका स्पीनरद्धय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन दिए र भने सन्दीपले ३ ओभरमा ३४ रन खाए ।
अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।
source https://www.onlinekhabar.com/2019/07/783907
0 comments:
Post a Comment