Tuesday 31 October 2023

डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक आज चुनिंदै, नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

१५ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै छ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

उक्त पदमा नेपालका र बंगलादेश दाबेदार छन् । नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ ।

डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो ।

स्वास्थ्य विशेषज्ञहरुको संयुक्त अपिल

यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्दै डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन् ।

संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उल्लेख गर्दै उनीहरुले भनेका छन्, ‘संकीर्ण राजनीतिक चालबाजीबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने, द्विपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने बलियो डब्ल्यूएचओको बारेमा सोच्न आवश्यक छ । यस्तो एक उम्मेदवारको नियुक्ति सुनिश्चित गर्नुहोस् जसले डब्ल्यूएचओलाई बलियो बनाउन, तटस्थता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न ‘एक डब्ल्यूएचओ’को लागि काम गर्न सक्दछ ।’

यदि त्यसो गर्न असफल भएमा दुःखद हुने भन्दै कोभिड १९ महामारीको डरलाग्दो अनुभवको क्रममा सिकेका पाठहरुबाट पूर्णरुपमा विमुख हुने र भविष्यमा प्रभावकारी काम गर्न बाधा पुग्ने चेतावनी उनीहरुले दिएका छन् ।

दक्षिण-पूर्वी एसिया क्षेत्रमा विश्वको जनसंख्याको २६ प्रतिशत रहेको र यही क्षेत्रमा विश्वमा सबैभन्दा बढी क्षयरोगीहरु पुष्टि भएको स्मरण पनि गराइएको छ जुन नयाँ क्षयरोगको विश्वव्यापी संख्याको ४६ प्रतिशत हो । यही क्षेत्रमा नसर्ने रोगबाट पनि बर्सेनि ८५ लाख मानिसहरुको मृत्यु पनि हुने भन्दै अपिलमा भनिएको छ, ‘सरल शब्दमा भन्नुपर्दा डब्ल्यूएचओ सेरो क्षेत्रीय निर्देशक पदका लागि सक्षम र अनुभवी नेतृत्व छनोट गरेर डब्ल्यूएचओलाई बलियो बनाउनु हाम्रो क्षेत्र भित्रका लाखौं मानिसहरुको जीवन र मृत्युको विषय हो ।’

यदि त्यसो गर्न असफल भएमा दुःखद हुने भन्दै कोभिड १९ महामारीको डरलाग्दो अनुभवको क्रममा सिकेका पाठहरुबाट पूर्णरुपमा विमुख हुने र भविष्यमा प्रभावकारी काम गर्न बाधा पुग्ने चेतावनी उनीहरुले दिएका छन् ।

संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्वस्वास्थ्य सचिव सुजाथा राव, सिड्नी विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका सेई अबिम्बोला, डब्ल्यूएचओ सेरोका पूर्व निर्देशक डा. स्वरुप सरकार लगायत छन् ।



source https://www.onlinekhabar.com/2023/11/1386678

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता   

१५ कात्तिक,  वाशिङटन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ ।

मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए ।

निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखे ।

अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2023/11/1386671

त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् ।

गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो ।

उक्त निर्णय फिर्ताको माग गर्दै त्रिविका कर्मचारीले आन्दोलन गरेका थिए । आन्दोलनका कारण ७ साउनमा कार्यकारी परिषद्ले पुनरावलोकन गरी सिफारिस गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिको सिफारिस अनुसार त्रिवि कार्यकारी परिषद्ले सिनेटको निर्णय उल्टाउँदै त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम, पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

१९ असोजमा बसेको कार्यकारी परिषदको बैठकले परीक्षा सञ्चालनसँग सम्बन्धित निकायअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुको लागि कामप्रतिको इमान्दारिता तथा गोपनीयता, कामको जटिलता तथा संवेदनशीलता, कार्य सम्पादन स्तर र अतिरिक्त समय खटाई आदिको कार्य सम्पन्नताको अवस्थामा आधारित प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ ।

कार्यकारी परिषद्को निर्णय अनुसार प्रोत्साहन भत्ताका लागि स्रोतको व्यवस्थापन गर्ने सन्दर्भमा परीक्षार्थीको प्रति फारम ८५ का दरले हुन आउने रकम प्रोत्साहन भत्ता शीर्षकमा जम्मा गरिने र उक्त रकम तोकिएको कार्य सम्पन्न भएपश्चात सम्बन्धित शाखा तथा कामको लागि छुट्याइने, परीक्षाको संवेदनशीलता, कार्य जटिलता, विश्वसनीयता तथा वैधता, कार्यवोझ, कार्यसम्पन्नता समय, र चुस्त दुरुस्त सेवा प्रवाहका आधारमा परीक्षासँग सम्बन्धित कार्यमा संलग्न शिक्षक/कर्मचारीहरुलाई मूल्याङ्कनको आधारमा प्रोत्साहन भत्ता निर्धारण गरिनेछ ।

परिषद्ले अति गोप्य शाखाको अधिकृत स्तरका कर्मचारीको ७० प्रतिशतसम्म, सहायक स्तरका कर्मचारीको ८० प्रतिशतसम्म, गोप्य शाखा, कम्प्युटर शाखा, कम्प्युटर शाखा, सचिवालयका अधिकृतस्तरका कर्मचारीको ५० प्रतिशतसम्म, सहायक स्तरका कर्मचारीको ६० प्रतिशतसम्म, सवारी चालकको ६० प्रतिशतसम्म, रजिष्ट्रेशन, परीक्षा फारम, ट्रान्कृप्ट, प्रमाण पत्र, अनुसन्धान र लेखा/प्रशासनका अधिकृत स्तरका कर्मचारीको ३० प्रतिशतसम्म, सहायक स्तरका कर्मचारीको ४० प्रतिशतसम्म र परीक्षा नियन्त्रक र सह परीक्षा नियन्त्रकको ५० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गरेको छ ।

त्यस्तै विद्यार्थी संख्या दुई लाख भन्दा बढी र कर्मचारी संख्या १० जना भन्दा कम रहेका गोप्य शाखाहरुको हकमा अधिकृत स्तरका कर्मचारीको ७० प्रतिशत र सो भन्दा तल्लो तहका कर्मचारीको सुरु तलबमानको ८० प्रतिशतसम्म वृद्धि गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले सार्वजनिक विदाका दिन पाँच घण्टा भन्दा बढी समय शिक्षक, कर्मचारीलाई काममा खटाउनुपर्ने अवस्था भएमा परीक्षा नियन्त्रकको लिखित पूर्व निर्णयानुसार अधिकतम प्रतिव्यक्ति ७ सयसम्मको खाना/खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त रकम विद्युत्तीय हाजिरीको अभिलेखको आधारमा मात्र भुक्तानी गर्नुपर्नेछ ।

कार्यकारी परिषद्ले प्रश्नपत्र व्यवस्थापनसँग संलग्न अति गोप्य शाखाको प्रोत्साहन भत्ता परीक्षा सकिएपछि सम्बन्धित शिक्षक कर्मचारीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

१०० प्रतिशतसम्म प्रोत्साहन भत्ता

परीक्षार्थीहरुको तहगत नतिजा प्रकाशन गरे पश्चात कुल रकम प्रोत्साहन भत्ताको रुपमा १ साउनदेखि नै लागू हुनेगरी परीक्षा समाप्त भएको सय दिन भित्र नतिजा प्रकाशन भएमा तोकिएको सीमाको सतप्रतिशत हुन आउने रकम, सयदेखि पश्चात ३० दिनभित्र नतिजा प्रकाशन भएमा तोकिएको सीमाको ७५ प्रतिशतले हुन आउने रकम, १५० दिनसम्म पनि नतिजा प्रकाशन हुन नसकेमा प्रोत्साहन भत्ता नदिने निर्णय गरेको छ ।

परिषद्ले रजिष्ट्रेशनको हकमा शैक्षिक क्यालेन्डरले तोकिएको अवधिभित्र काम सम्पन्न गरेमा वितरण योग्य रकमको १०० प्रतिशत, तोकिएको अवधिपछि १५ दिनभित्र काम सम्पन्न गरे वितरण योग्य रकमको ८० प्रतिशत, १५ देखि ३० दिनभित्र काम सम्पन्न गरेमा वितरण योग्य रकमको ५० प्रतिशत र ३० दिनभन्दा पनि ढिलो काम सम्पन्न गरेमा केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार निर्धारण गर्ने निर्णय गरेको छ ।

त्यस्तै २ तथा ५ दिनभित्र प्रोभिजनल प्रमाण पत्र र ट्रान्सकृप्ट उपलब्ध गराएमा सतप्रतिशत प्रोत्साहन भत्ता पाउने, परीक्षार्थीहरुको सबै अभिलेख चुस्त दुरुस्त तथा सच्याउनुपर्ने नभएमा प्रोभिजनल प्रमाण पत्र र ट्रान्सकृप्ट निजहरुलाई उपलब्ध गराउन दुई दिन भन्दा र सच्याउनुपर्ने अवस्था भएमा परीक्षार्थीले बुझाउनुपर्ने आवश्यक कागजात बुझाएको मितिले ५ दिन भन्दा बढी समय लागेमा ५० प्रतिशत वा केन्द्रीय परीक्षा सञ्चालक समितिले तोकिए बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

लेखा शाखाको हकमा परीक्षा केन्द्र, सो केन्द्रमा खटिने मानव संशाधन, परीक्षक, संपरीक्षक र परीक्षाको काममा संलग्न मानव संशाधानको तोकिएको पारिश्रमिक विल भर्पाइ तथा आवश्यक कागकात प्राप्त भएको मितिले तीन दिनभत्र फरफारक गरी भुक्तानी गरेकमा तोकिएको सिमासम्मको सतप्रतिशत, ५ दिनभित्र भुक्तानी गरेमा ७५ प्रतिशत, १० दिनभित्र भुक्तानी गरेमा ५० प्रतिशत र दश दिनभन्दा बढी लागेमा प्रोत्साहन भत्ता नदिने सम्बन्धमा केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्धारण गरे बमोजिम गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पदाधिकारी सचिवालय, सवारीचालक अनुसन्धान शाखा र प्रशासन शाखाको हकमा परीक्षा सञ्चालन तथा परीक्षा समाप्त भएको मितिले सात दिनभित्र तोकिएको शाखामा उत्तर पुस्तिका संकलन गर्ने, परीक्षणका लागि तयार उत्तर पुस्तिकाका पाकेट सम्बन्धित परीक्षकको पुर्‍याउने कार्यकारी परिषदले निर्णय गरेको छ ।

परीक्षित उत्तर पुस्तिका संकलन गर्ने, विहान ६ बजे अगाडि आई पुग्नु पर्ने र बेलुकी ७ बजे पछिसम्म बस्नु पर्ने मानव संशाधनलाई परीक्षा नियन्त्रकले तोके बमोजिम ल्याउने लैजाने लगायतका परीक्षा व्यवस्थापन अन्तर्गतका तोकिएको सबै प्रकारको आवश्यक सहयोग गर्नु पर्ने छ । अन्यथा परीक्षा सञ्चालक समितिले प्रोत्साहन भत्तामा कटौती गर्न सक्ने जनाएको छ ।

पारिश्रमिकको अधिकतम सीमामा नबढ्ने गरी निजको कार्य सम्पन्ता समयको पालनाका आधारमा एउटै शाखाको कर्मचारीहरुको प्रोत्साहन भत्ता परीक्षा नियन्त्रकले तोकेबमोजिम फरक/फरक हुन सक्ने समेत निर्णय गरेको छ ।

प्रोत्साहन भत्ता पाउने कर्मचारीहरुले तोकिएको कार्यालय समयको अतिरिक्त शाखागत कामको प्रकृति अनुसार सो शाखाको कार्य तोकिएको कार्यतालिकाभित्र सम्पन्न गर्न परीक्षा नियन्त्रकले बोलाएको समयमा जुनसुकै समय सार्वजनिक बिदाका दिन र अन्य दिनको हकमा बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्नुपर्नेछ । यसमा अटेर गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन बाध्य हुने छैन ।

डीन कार्यालयहरुबाट सञ्चालित परीक्षाहरूको हकमा प्रोत्साहन भत्ताको अधिकतम सीमा र परीक्षा नियन्त्रण कार्यालयलाई तोकिएको परीक्षा प्रकाशन गर्ने समयलाई आधार मानी सो समयको अधिनमा रही प्रति फाराम १०० (एकसय) का दरले हुन आउने रकम सम्बन्धित शाखामा कार्यरत हरेक व्यक्तिको काम सम्पन्नतासमेतका आधारमा प्रोत्साहन भत्ता मूल्याङ्कन फारम भराई अध्ययन संस्थान या सहायक परीक्षा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको प्रोत्साहन भत्ता रकम भुक्तानी गरिने लगायतको निर्णय गरेको छ ।

त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले प्रोत्साहन भत्ताका विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिने बताए । उपकुलपति प्रा.डा. बास्कोटाको १६ कात्तिकमा सकिने भएकोले बुधबार उनले आफ्नो कार्यकालमा भए/गरेका उपलब्धीबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/11/1386665

Monday 30 October 2023

मेसीले आठौं पटक जिते बालोन डे’ओर अवार्ड

१४ कात्तिक‍, काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् ।

गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।

मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते ।

‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएर यो क्षणलाई इन्जोए गर्नु उत्कृष्ट हो,’ मेसीले अवार्ड जितेपछि भने ।

फ्रान्स फुटबले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

मेसीले आफ्नो करियर यस्तो हुन्छ भनेर कहिल्यै नसोचेको र जे उपलब्धि प्राप्त भएको छ र त्यो सबै इतिहासकै एतकृष्ट टिममा हुनुले भाग्यमानी रहेको बताए । यस्तै उनले फरक कारणले हरेक बालोन डे ओर अवार्ड विशेष रहेको पनि बताए ।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

मेसीले अर्जेन्टिनालाई १९८६ पछि पहिलो पटक विश्वकपको उपाधि जिताउन टिमको नेतृत्व गरेका थिए । यस्तै अमेरिकन क्लब इन्टर मायामीलाई लिग्स कपको रुपमा पहिलो ट्रफी जिताउन पनि उनले मद्दत गरे ।

मेजर लिग क्लब इन्टर मायमीका लागि उनले सबै खाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् ।

मेसीले सबैभन्दा नजिक रहेका क्रिकस्टियानो रोनाल्डो भन्दा ३ बढी बालोन डे’ओर अवार्ड जितिसकेका छन् । रोनाल्डोले २०१७ मा अन्तिम पटक यो अवार्ड जितेका थिए । सन् २००३ पछि अल नासेरका फरवार्ड रोनाल्डो पहिलो पटक अवार्डको मनोनयनमै परेनन् ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गर्नुका साथै सिटीबाट लिगसहित च्याम्पियन्स लिग र एफ ए कप गरी ट्रेबल उपाधि जितेका थिए ।

उनको उक्त उपलब्धिका लागि हालान्डलाई गर्ड मुलर ट्रफी प्रदान गरियो । उनले गत सिजन सबै खाले प्रतियोगितामा ५२ गोल गरेका थिए । हालान्डले अवार्ड पाएपछि सिटी क्लब र परिवारलाई धन्यवाद दिए ।

इंग्लयाण्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

२१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी बेलिङघमले पाए । यसै सिजन बोरुसिया डर्टमण्डबाट रियल पुगेका उनले १३ खेलमा १३ गोल गरिसकेका छन् । डर्टमण्ड गत सिजन उनले ४२ खेलमा १४ गोल गरेका थिए ।

यसैगरी अर्जेन्टिनाका विश्व विजेता गवलकिपर इमिलियानो मार्टिनजेल उत्कृष्ट गोलकिपरको अवार्ड जिते । त्यसका लागि उनले यासिन ट्रफी जिते ।

मार्टिनेजले कतार विश्वकपकमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

म्यानचेष्टर सिटीले क्लब अफ दि इअरको अवार्ड जित्यो । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इअरको अवार्ड पयो ।

विश्व फुटबलमा रेसिजमविरुद्ध बोल्दै आएका ब्राजिलियन तथा रियल मड्रिडका विगंर भिनिसिय जुनियरले मैदान बाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।

भिनिसियस विगत दुई सिजनदेखि ला लिगा खेलहरूमा नियमित रूपमा जातीय दुव्र्यवहारको निशाना बनेका छन् ।

उनी गरिब क्षेत्रमा विद्यालय निर्माण गर्ने र ब्राजिलमा शिक्षामा लगानी गर्ने फाउन्डेसन सुरु गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/10/1386198

एमाले गण्डकी चुनावको निश्पक्षतामै ओलीको आशंका

१३ कात्तिक, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको अधिवेशनका क्रममा भएको निर्वाचनप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा जुन जुनस्तरको स्वच्छता आवश्यक थियो, त्यसमा अलिकति कमी रहेको जनस्तरको टिप्पणी भएको पाएको उनले सुनाए ।

प्रदेश अधिवेशनका क्रममा ओलीले सबैतिर सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका थिए । सर्वसम्मत नभए हुने चुनावमा प्यानल बनाउन नपाइने पार्टीको अन्तरपार्टी निर्देशन नै थियो । तर पार्टी नेतृत्वले एउटा पक्षको नेतालाई अध्यक्ष बनाउनुस् भनेपछि धेरै ठाउँमा सहमति हुन नसकेको नेताहरु बताउँछन् ।

गण्डकीमा पनि भएको थियो । त्यहाँ नेता कार्यकर्ता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षमा बाँडिएका थिए । अधिवेशनका क्रममा महासचिव शंकर पोखरेल समेत अधिकारीको पक्षमा खुलेपछि चर्को गुटबन्दीको अभ्यास भयो ।

निर्वाचनमा पृथ्वीसुब्बा पक्षको प्यानल नै विजयी भयो । पदाधिकारीदेखि सदस्यसम्म झण्डै एकै खाले मत आयो । नसोचेको हार बेहोरेपछि संस्थापन पक्षाक नेताहरुले पृथ्वीसुब्बा पक्षले कतिसम्म गरेको रहेछ भन्ने पुष्टि गरेको टिप्पणी गरे । पृथ्वीसुब्बा पक्षका नेता कार्यकर्तामा भने खुसीको भाव थियो, ‘फरक विचार राख्नेलाई निषेधै गर्ने, अवसर दिनै नखोज्ने र पाखा पर्ने गुटलाई हारको स्वाद चखाइयो ।’

विजयी पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेर अधिवेशन समापन गर्दै १९ असोजमा गण्डकी प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले अध्यक्ष ओलीकै उपस्थितिमा सपथ ग्रहण गर्ने घोषणा गरे, मिति भने तोकेका थिएनन् ।

सोमबार अध्यक्ष ओलीकै उपस्थितिमा सपथ तथा कार्यकर्ता भेला राखेपछि ११ वटै जिल्लाबाट नेता कार्यकर्ता पोखरा आइपुगेका थिए । चुनावको मत परिणामयता हार–जीत हुने दुबै पक्षका नेता कार्यकर्ताको एउटै चासो थियो, ‘गण्डकी अधिवेशनको सन्देशलाई अध्यक्ष केपी शर्मा ओलीले कसरी ग्रहण गर्लान् ?’

ओलीले निर्वाचन स्वच्छ हुन नसकेको टिप्पणी गरे । अन्य केही ठाउँमा सर्वसम्मत हुँदा पनि गण्डकीमा प्यानलै बनाएर प्रतिस्पर्धामा गएको र त्यसमा स्वच्छतामा कमी देखिएको जनस्तरबाट टिप्पणी भएको ओलीले बताए ।

केही प्रदेशमा सर्वसम्मत भएको भन्दै उनले भने, त्यहाँ डेमोक्रेसी भएन होइन, उच्चस्तरीय डेमोक्रेसी भयो । समझदारीयुक्त डेमोक्रेसी भयो, जसले गर्दा यता भोट हालेको र यता भोट हालेको भन्ने रहेन । यो पक्ष, त्यो पक्ष भन्ने रहेन । धेरै राम्रो गर्नुभयो उहाँहरुले । तपाईंहरुले त्यो गर्न सक्नुभएन, चुनाव गर्नुभयो ।’

‘तपाईंहरु प्रतिस्पर्धामा जुनस्तरको स्वच्छता आवश्यक थियो, त्यसमा अलिकति कमी रहेको जनस्तरको टिप्पणी भएको तपाईंहरुलाई जानकारी गराइदिन्छु,’ ओलीले भने, ‘अलिकति त्यस्तो टिप्पणी छ । त्यसमा तपाईंहरु सचेत हुनुपर्छ, घाटा आफूलाई हुन्छ किनभने आफैंले कर्तव्य पालना गर्न सकिँदैन ।’

पार्टीको अधिवेशन कुनै पद र विचारको लडाईं नभए उद्धेश्य र गन्तव्यका लागि लडाईं हुनुपर्ने उनको भनाइ थियो । विरोधीसँग लड्नुपर्नेमा पार्टीभित्र लडेर फाइदा नपुग्ने ओलीको आशय थियो । उनले निषेधको राजनीतिले आफैंलाई सिध्याउने र घमण्ड र अहंकार छाडेर विरोधीलाई परास्त गर्नेगरी तयार रहन निर्देशन दिए ।

पार्टीको विचार तथा कामलाई जनतासम्म लैजान र आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन मिसन २०८४ लाई सफल बनाउन निर्देशन दिए । दुर्गा प्रसाईंले आफूमाथि भ्रम फैलाएको भन्दै आपत्ति जनाए । कम्बोडियाको टेलिकममा ३ हजार रोड लगानी गरेको भनेर आरोप लगाइएको भन्दै उनले अघि भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’

सोमबारको कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारी, सचिव गोकर्ण विष्ट, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष रामबहादुर थापा र अध्यक्ष ओली मुख्य वक्ता थिए । बाहिर एकता र मिसन २०८४ को नारा घन्किए पनि नेताहरुबीच चुनावमा चिसिएको सम्बन्ध अझै न्यानो नदेखिएको नेताहरु बताउँछन् ।

कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बाले पार्टीभित्र व्यक्तिवादी संकृढता हाबी भएको र संगाठात्मक आराजकता तथा दक्षिणपन्थी आवसरवादालाई परास्त गर्नुपर्ने बताइरहँदा सदस्यमै पराजय बेहोरेका प्रदेश सांसद वेदबहादुर गुरुङले उनलाई ब्यंग्य गर्दै स्टाटस नै लेखे । निर्वाचनमा अन्तर्घात गरेका प्रमाणसहित कारबाहीको सिफारिस भएकालाई उल्टै पक्षपोषण गरिरहेको अवस्थामा कसरी संगाठात्मक आराजकता र दक्षिणपन्थी आवसरवादालाई कसरी परास्त गर्न सकिन्छ ? भन्दै गुरुङले उपदेश र व्यवहार नमिलेको फेसबुकमै लेखे ।

गत चुनावमा अन्तर्घात गरेका, बागी उम्मेदावरी हालेका र हराउन भूमिका खेलेका व्यक्तिलाई कारबाही गर्नुको साटो संरक्षण र झन् ठूलो जिम्मेवारी दिएको उनको आशय थियो । कास्कीमा गत चुनावमा अन्तर्घात गर्नेलाई संरक्षण गरेको एक समूहले अर्कोलाई आरोप लगाउने गरेका छन् । त्यस्ता केही आरोपितले त अहिले गुट नै फेरेर फाइदा लिइरहेको नेता–कार्यकर्ताको आरोप छ ।

कास्कीमा २०७४ सालयताबाटै उपमहासचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य खगराजबीच प्रतिष्ठाको लडाईँ चले पनि प्रथम अधिवेशनपछि प्रदेशैभरि नेता–कार्यकर्ताबीच झनै बढी कित्ताकाट भएको छ । यो सम्बन्ध तत्काल नसेलाउने देखिएपनि अब केन्द्रीय राजनीतिमा पृथ्वीसुब्बाको भूमिकाले फरक पार्ने र आगामी निर्वाचनसम्मको अवधिले तय गर्ने एक नेताले बताए ।



source https://www.onlinekhabar.com/2023/10/1386193

Sunday 29 October 2023

म्यानचेष्टर डर्बीमा हालान्डले २ गोल गर्दा सिटी विजयी

१३ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्राप्त जितपछि सिटीले शीर्ष स्थानको टोटनहमसँग अंक दूरी दुईमा झारेको छ ।

हालान्डले २६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । युनाइटेडका रासमस होलन्डले रोड्रीलाई फउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो ।

४९औं मिनेटमा हालान्डले बर्नानर्डव शिल्भाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । सिटीका लागि तेस्रो गोल फिल फोडेनले ८०औं मिनेटमा गरे ।

जितपछि १० खेलबाट सिटीले आर्सनल समान २४ अंक जोडेको छ । यद्यपि सिटी तेस्रो स्थानमै छ ।

समान खेलबाट टोटनहम २६ अंकसहित शीर्ष स्थानमा छ ।

सिटीसँग पराजित युनाइटेड भने १९ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2023/10/1385792

Saturday 28 October 2023

संयुक्त राष्ट्र संघका महासचिव गुटरेस नेपालमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आएका छन् ।

राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे ।

भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ  ।

भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

 



source https://www.onlinekhabar.com/2023/10/1385366

Friday 27 October 2023

कृषिका लागि ऋण लिने कृषक १० प्रतिशतले घटे

११ कात्तिक, काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटाएको पाइएको छ ।

पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो ।

गत महिना सार्वजनिक भएको कृषि गणनाको तथ्याङ्कअनुसार २०७८ मा ४ लाख ८३ हजार कृषक परिवारले कृषिका लागि ऋण लिएका छन् । जुन कुल कृषि परिवार संख्याको १२ प्रतशत हो ।

२०६८ सालमा यस्तो शीर्षकमा ऋण लिन कृषकको परिवार संख्या ८ लाख ३६ हजार थियो । जुन कुल कृषक संख्याको २२ प्रतिशत थियो ।

विवरण अनुसार किसानहरुले लिने ऋणको तरिका पनि बदलिएको छ । २०६८ सालसम्ममा कुल कृषक ऋणको ३५ प्रतिशत रकम आफन्तबाट सावटीका रुपमा लिने गरिएको थियो । तर, २०७८ मा आइपुग्दा किसानहरुले लिएको ऋणको ३९ प्रतिशत हिस्सा सहकारीमा देखिएको छ ।

तथ्याङ्कअनुसार ऋण लिएकामध्ये पनि थप ऋण आवश्यक रहेको बताउने कृषक संख्या १४ लाख १५ हजार रहेका छन् । जुन कुल परिवार संख्याको ३४ प्रतिशत हो । यसरी ऋण चाहिन्छ भन्ने कृषकको समूह पशुपन्छी पालनमा धेरै रहेको पनि तथ्याङ्क छ ।



source https://www.onlinekhabar.com/2023/10/1385192

फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

११ कात्तिक, पोखरा । अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ ।

शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी/अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो ।

पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो ।

प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो ।

‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’

पोखरा महानगरले सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा साउन ३ गतेदेखि फिर्केखोलाको वास्तविक आकार खोज्न प्राविधिक खटाएको थियो । खटिएको टोलीले २ महिनापछि असोज ६ गते अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको थियो ।

प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।

संस्थागत रुपमा अस्थायी संरचना खडा गरी फिर्के मिच्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् ।

फिर्केखोलामाथि बनेका संरचना ।

त्यस्तै, स्थायी संरचना नै बनाएर फिर्के मिच्नेमा स्कुल, मन्दिरदेखि, समाजघरदेखि लायन्स क्लबसम्म छन् । प्रतिवेदनअनुसार फिर्केमा स्थायी संरचना बनाएकाहरु लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाजआदि छन् ।

प्रतिवेदनले करिब २ दशकअघिसम्म फिर्केखोला सफा कञ्चन र पिउनयोग्य पानी बग्ने गरेको पाइएको समेत उल्लेख गरेको छ । ‘फिर्केकै पानीमा नुहाउने, पौडी खेल्ने गरिएको स्थानीय बुढापाकाको अनुभवले देखाउँछ,’ प्रतिवेदनमा भनिएको छ ।

तर, फिर्केखोला तीव्र सहरीकरणसँगै अतिक्रमणको चपेटामा परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मानवीय अतिक्रमण र प्रदूषणले फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तितव रक्षाको संकटपूर्ण घडीमा पुगेको छ ।’

नापजाँचका क्रममा फिर्केखोला कम्तिमा ३.३० मिटरदेखि ४० मिटरसम्म फराकिलो रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । तर, फिर्केखोलाको पुछार फेवाताल गाईघाटमा माटोले पुरिएर ११ रोपनी ४ आना क्षेत्रफल माटो र फोहोरले पुरिएर चौर बनिसकेको अध्ययनले देखाएको छ ।

पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ । अँधेरी कुनादेखि पोखराको मध्यभाग भएर बग्ने फिर्के फेवातालमा गएर मिसिन्छ । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।

फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ । एसियाली विकास बैंकको पोखरामा दीगो पर्यटनका लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।



source https://www.onlinekhabar.com/2023/10/1385183

Thursday 26 October 2023

भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइयो

१० कात्तिक, काठमाडौं । कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजायँ सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।

फाँसीको सजायँ सुनाइएका आठ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग शुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरुका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं ।’ भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/10/1384958

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

१० कात्तिक, काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ ।

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।

 



source https://www.onlinekhabar.com/2023/10/1384949

हल्याण्डको दुई गोलसँगै म्यानचेष्टर सिटी विजयी

९ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटीले योङ ब्वाइजलाई हराएको छ र, च्याम्पियन्स लिगमा विजयी यात्रा कायमै राखेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले योङ ब्वाइजलाई ३-१ ले हराएको हो ।

योङ ब्वाइजको घरेलु मैदानमा भएको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमै म्यानुअल अकान्जीले सिटीका लागि गोल गरे । चार मिनेटपछि मसाक इलियाले बराबरी गोल फर्काए ।

तर अर्लिङ हल्याण्डले लगातार दुई गोल गरेपछि म्यानचेष्टर सिटी ३-१ ले विजयी भयो । ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले ८६ मिनेटमा दोस्रो गोल गरेका थिए ।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको सिटी समूह जीको शीर्ष स्थानमा छ ।

बुधबार राति नए भएको खेलमा रेड स्टार बेलग्रेडलाई ३-१ ले नै हराएको लाइपजिग दोस्रो स्थानमा छ । समान १-१ अंक जोडेको योङ ब्वाइज तेस्रो र बेलग्रेड समूहको चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2023/10/1384834

Wednesday 25 October 2023

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

९ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सवार स्कुटर काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।



source https://www.onlinekhabar.com/2023/10/1384769

Tuesday 24 October 2023

२५ कर्मचारीका २५ वर्षे सीईओ !

७ कात्तिक, पोखरा । ‘वास्तवमा लामो लकडाउनले मलाई सोच्ने समय दियो । होटल लिएको भए ३० वटा कोठाकै वरिपरि हुन्थें । आफूजस्तै २५ जना साथीहरुलाई जागिर दिइरहेको कम्पनी मसँग हुने थिएन’ कुराकानीको सुरुमै २५ वर्षीय स्वदेश नेपालीले कोरोना महामारीको समय सम्झिए ।

लेकसाइडमा आफन्तको होटल थियो । होटलसँग जोडिएर आउजाउ गरिरहेका उनलाई त्यहाँको व्यवसायले तानेको थियो । लेकसाइडका भरिभराउ होटलले उनीभित्र होटल व्यवसायी बन्ने चाह उम्रियो । घर सल्लाह गरे, परिवार राजी भएपछि ३० वटा कोठा भएको होटल लिने करिब टुंगो लाग्यो ।

तर त्यही समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कारण लकडाउन भयो । होटल किन्ने उनको सपना पनि थाँती रहृयो । ‘६ महिनासम्म लकडाउन कहिले खुल्ला र होटल लिएर चलाम्ला भन्दै पर्खेर बसें । तर खुल्ने छाँटकाँट देखिएन, बरु विस्तारै केही खुकुलो हुँदै मर्निङवाकसम्म गर्न पाइयो,’ उनी भन्छन्, ‘मर्निङवाक पनि लेकसाइडतिर आफूले लिने भनेको होटल भएकै ठाउँतिर जान्थें ।’

लकडाउनले मोडेको बाटो 

२२/२३ वर्षको भर्भराउँदो उमेर, देशमै केही गर्छु भन्ने हुट्हुटी थियो । दिन, हप्ता, महिना हुँदै कोरोना महामारीको लकडाउन लम्बिरहृयो । सिए कक्षा पनि कोरोना महामारीकै कारण बन्द भएकाले ‘मर्निङवाक’ हिँडिरहे ।

पहिलेपहिले हौसिँदै लेकसाइड पुगिरहेका स्वदेशलाई त्यतिबेला मनमा चिसो पस्न सुरु गर्‍यो, जतिबेला सधैं गुल्जार देखेको लेकसाइड एकाएक भूतबंगलाजस्ता देख्न थाले ।

‘सधैं मान्छेको भीड भइराख्ने, गीतसंगीत बजिराख्ने लेकसाइड पुरै सुनसान थियो । मैले होटल खोल्न रिस्की देखें’ उनले भने, ‘आज लकडाउन भो, भोलि फेरि नाकाबन्दी हुनसक्छ, भूकम्प जान सक्छ । एउटा मात्रै कन्ट्रीमा फोकस गरेर बिजनेस गर्नुहुँदैन रैछ भन्ने लाग्यो ।’

तर के गर्ने ? अर्को योजना पनि थिएन । नयाँ केही गर्न सकिन्छ कि भनेर खोज्न थाले । त्यहीबेला खै कहाँबाट हो फुर्‍यो-रेस्टुरेन्ट व्यवस्थापन गर्ने सफ्टवेयर विकास गर्ने । आफन्तको होटलमा काम गर्दा सफ्टवेयरमा समस्या देखेका उनलाई त्यसैलाई सुधार्न मन लाग्यो । तर सफ्टवेयरसम्बन्धी ज्ञान थिएन । ‘सोच्न त सोचियो । तर कसरी बनाउँछन् ? कति खर्च लाग्छ केही थाहा थिएन,’ उनले अनुभव बाँडे, ‘केवल दिमागमा सफ्टवेयर बनाएर बेच्ने भन्ने मात्रै थियो ।’

उनले त्यही योजनलाई पछ्याए ।

अनि खुल्यो ब्ल्याकटेक

एउटा पूर्ण रेस्टुरेन्ट सफ्टवेयर कस्तो हुनुपर्छ भनेर डायरीमा उतारेर उनी पोखराका विभिन्न आइटी कम्पनी डुले । कतै रेस्पोन्स पाएनन्, पाएका ठाउँमा पनि सुरुमै ४०/५० लाख रुपैयाँ मागे । सफ्टवेयर बनाउने खर्च सुनेर फेरि झस्किए ।

‘आँट गरेर बनाएपनि केही फेरबुदल वा सुधार गर्नुपर्‍यो भने हरेक पटक शुल्क तिर्नुपर्ने,’ उनले भने, ‘नाफा जति अपडेट बनाउँदैमा जान्छ जस्तो लाग्यो ।’ अरुको कम्पनीबाट सफ्टवेयर बनाउन सम्भव नदेएपछि आफैं आफैं कम्पनी खोल्ने तयारीमा लागे, सफ्टवेयर डेभ्लपर खोज्न थाले ।

साथीहरुलाई आइटी कम्पनी खोल्छु भनेर सहयोग मागे, तर सबैजसो हच्किए । ‘बरु विदेश जान्छु भनेको भए सजिलै पैसा विश्वास गर्थे होलान्, आईटी कम्पनी खोल्छु भनेपछि कसैले पत्याएनन्’ उनले भने, ‘होटल लिने बेला सहयोग गर्छु भन्नेले पनि आइटी कम्पनी खोल्दा सहयोग गर्न मानेनन् ।’

तर उनले हार मानेनन् । सुरु गरे, ब्ल्याक टेक । ‘सुरुमा २ जना डेभ्लपर राखेर काम सुरु गरें । तर हामी सबै नयाँ भएकाले गर्न सक्छौं भन्ने कन्पिmडेन्स नै आएन’ घर बेचेरै भए पनि तलब खुवाएको स्मरण गर्दै उनले भने, ‘पहिलो एकडेढ वर्ष बनाउने भत्काउनेमै गयो ।’

यही बेला उनीसँग काम गरिरहेका सबै डेभ्लपरले एकैचोटि छोडेर अर्को कम्पनीसँग जोडिए । ‘करिब ३ महिनाभन्दा बढी समय त अफिस खाली बन्यो । त्यसछि आफैंले युआईयुएक्स डिजाइनिङ सिकें,’ भन्छन्, ‘त्यसले के बनाउनुपर्ने हो ? के चाहिएको हो पत्ता लगाउन सजिलो भयो ।’

त्यसपछि नयाँ डेभ्लपरहरु राख्न थाले । कर्मचारीको संख्या फेरि बढ्न थाल्यो । १ वर्षपछि बल्ल उनले बनाउन चाहेको सफ्टवेयरको सानो डेमो बन्यो । ‘हेर्दा सामान्य देखिएपनि आइटी क्षेत्रमा प्रतीक्षा र मेहनत थुप्रो गर्नुपर्ने रैछ’ उनले आफ्नो अनुभव सुनाए, ‘आफैं जोडिएपछि थाहा भयो ।’

अहिले उनीहरुले बनाएको त्यही सफ्टवेयर १५०० भन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् । अफिस कोठाको ४ हजार ‘एडभान्स’ तिरेर सुरु गरेको कम्पनीमा साढे २ करोड रुपैयाँ लगानी भइसकेको छ । ब्ल्याकटेक कम्पनीमा २५ जनाले युवायुवतीले रोजगार पाएका छन् भने उनी त्यही कम्पनीको ‘कान्छा’ सीईओ छन् ।

‘स्टार्टअप’ टेकलाई टेको !

आफू जस्तै सोच राख्ने युवालाई नेपालमै रोजगार दिन सकेको स्वदेश सन्तुष्ट छन् । ‘मैले २० जनालाई जागिर दिँदै गर्दा अरु २० जना नेपालमै केही हुन्छ है भनेर मोटिभेट हुन्छन्,’ भन्छन्, ‘भोलि २० जनाले पनि लगानी गर्छन्, हाम्रै उमेरमा कसै न कसैले त सुरु गर्नुपर्‍यो नि !’

अबको समय प्रविधिकै भएकाले सफलता पाउने आफू आशावादी रहेको स्वदेशको भनाइ छ । नेपालका प्राविधिक उच्चस्तरको रहेकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको तर, नेपालले नै प्रयोग गर्न नसकेको उनी सुनाउँछन् ।

सुरुआती दिनमा आफूले पाएको दुःख सम्झेर स्वदेशले ‘इन्क्युभेटर’ पनि चलाइरहेका छन् । ‘सुरुमै सिकाउने, भन्ने मान्छे नभएर पाउनु दुःख पाइयो’ स्वदेशले भने, ‘आजभन्दा ३ वर्षअगाडि जस्तो थिएँ, त्यस्तै टेक स्टार्टअप आइडिया लिएर आउँछन् भने सहयोग गर्न सुरु गरेका छौं ।’

प्रविधि क्षेत्रमा नयाँ उपाय र योजना लिएर आएकाहरुलाई ब्ल्याकटेकले परामर्श मात्रै दिँदैन, अध्ययन अनुसन्धान गर्न सघाउने गरेको छ । ‘कतिधेरै आइटी स्टार्टअपहरु इन्भेस्टरसँग राम्रोसँग डिल गर्न नसकेर गुमाउनु परेको छ’ उनले भने, हामीले आफूसँग भएका कर्मचारी, रिसोर्सेज प्रयोग गरेर सहयोग गरिरहेका छौं । यसमा हाम्रो स्वार्थ छ, पोखरामा जति आइटी कम्पनी फैलियो, त्यति नै हामीलाई पनि फाइदा हुन्छ ।’



source https://www.onlinekhabar.com/2023/10/1384559

Monday 23 October 2023

अक्टोबर, पारिजात र प्रेम

अक्टोबर। धेरै पहिला यो फिल्म हेरेको थिएँ। त्यो बरुण धवनको सम्झनलायक थोरै फिल्ममध्ये एउटा थियो। मैले पनि आज सम्झिएँ।

‘त्यहाँ बस गर्जियो। अनि मान्छेहरू घर जान्छन्। अक्टोबरमा सबै जना घर जान्छन्।’

यो वाक्यहरू मैले सम्झिएँ। कारण, अक्टोबर लागेको छ र म पनि घर जाने तरखरमा छु। मान्छेहरू भन्छन्- दशैं लाग्यो। पहिला पहिला दशैंको उत्साह नै बेग्लै हुन्थ्यो । आजभोलि दशैंमा खासै रुचि लाग्दैन या भनौं दशैं पहिला जस्तो रुचिकर छैन। मलाई आभास हुन्छ- जति म उमेरका सिंढी चढ्दै जान्छु, उति नै मेरो मुटु रिक्त/मृत पाउँछु।

काठमाडौं भीडभाडमा अभ्यस्त शहर हो। तर जसै अक्टोबर लाग्छ, काठमाडौं पनि थोरै डराउँछ। त्यतिबेला काठमाडौंमा म जस्ता घर हिंड्ने लाखौँ हुन्छन्। केही महिनाको लागि काठमाडौं न्यास्रिन्छ ।

लेख्ने मान्छेले साँचो बोल्नुपर्छ। कमसेकम ढाँट्नुहुँदैन। नढाँटीकन भनुँ भने मलाई घरले उतिसाह्रो आकर्षित गरेको छैन। हुनसक्छ- आफ्नै विवशताभित्र अनुबन्धित छु। तर के गर्ने, अक्टोबरमा चाडपर्वका भीड लाइन लागेर उभिएका हुन्छन्। त्यही भीडको ठेलमठेलले मलाई धक्का मारिरहेको छ। अनि म घिस्रिरहेछु घरतिर।

बस पर्खिरहेको छु।

सुगमजीको कल आउँछ- “कहाँ छौ मिस्टर फकिर?”

“बसपार्कमै”- म जवाफ फर्काउँछु।

सुगम र म सँगै पढेको। उसले बीचमै पढाइ छोड्यो। बीचमै भन्नाले १० क्लासपछि। अनि उसले गाडीमा सहचालकको काम गर्यो। केही समयपछि उ बढुवा भएर चालकको पोस्टमा बाजी मार्यो।

सडकमा सुतिरहेको धूलोलाई सबैतिर उडाउँदै बस आइपुग्यो। म प्रस्थान गर्छु। प्रिय काठमाडौं, बिदा।

“फकिर! तिहार मानेर गइन्छ हैन त”- उसको ओंठमा त्यहीं पुरानो तर सदाबहार हाँसो टाँसिएको देख्छु। म हाँस्दै उसको वचनलाई स्वीकृति दिन्छु।

फकिर शब्दसँग मेरा पुराना स्मृतिहरू छन्। कुनै समयमा मलाज्ञ ‘स्टोइसिजम’ विचारले प्रभावित गरेको थियो। म सोच्थें- मेरो जीवन फकिर भएर बित्छ। अनि मलाई सुगम लगायतका सम्पूर्ण मित्रहरूले फकिर नामले पुकार्थे। यद्यपि अहिले त्यो फकिरगिरीको भूत त्यो किस्सा जस्तै पुरानो भइसक्यो। विस्मृतिको कुनै कोठामा बन्द किस्सा जस्तो।

सुनेको छु- फकिरको कुनै घर हुँदैन, सारा संसार नै उसको घर हो। म आजसम्म त्यो कुरा मान्छु। तर ममा एउटा अभाव भइदियो। त्यो के भने- मेरो मन कहीं पनि रमेन, कुनै पनि स्थान मेरो अनुकूलको लागेन।

आफूलाई फकिर पनि भन्न रुचाउने तर कहीं पनि रमाउन नसक्ने। फकिर भएपछि त सबतिर रमाउँदै हिंड्नुपर्ने। मान्छे कस्ता कस्ता विपरीत विचार र संवेदनामा बाँधिएको हुन्छ! आफूलाई अपूर्व भनेर चित्रित गर्न खोजे पनि अन्त्यमा अरु जस्तै अपूर्ण लाग्छ आफ्नो चित्र।

के यो प्रश्न गरिरहनुपर्ने विषय हो र? यो त केवल बाँच्ने कुरा हो, अपूर्णतामै सही। यदि सम्पूर्ण भएर बाँच्ने हो भने कुन उद्देश्य प्राप्तिको लागि बाँच्ने? बाँच्नु नै निष्प्रयोजनीय हुन जान्छ, एकदम व्यर्थ क्रिया।

म कहाँ पुगिसकें, मलाई थाहा छैन तैपनि टाढा पुगे भन्ने चाहिं थाहा छ। मलाई ठाउँको नाम जान्नुमा कुनै उत्साह छैन। ठाउँहरू यति सुन्दर/कुरूप हुन्छन् कि एउटा सानो नाम त्यस ठाउँलाई परिभाषित गर्न अयोग्य ठहरिन्छ। अनाम ठाउँहरू हेर्दै यात्रारत छु। यो सुतेको सडकले मेरो यात्रा र आँखाहरुलाई कुशलतापूर्वक डोर्‍याइरहेका छन्।

यतिबेला मेरो ब्यागमा ‘शिरीषको फूल’ अथवा ‘परिभाषित आँखा’ भइदिएको भए ! म थक् थक् मान्छु। अचानक एउटा बिल्कुल नवीन भावनाले व्याकुल हुन्छु म। म कामना गर्छु- मलाई पनि त्यस्तै मृत्युले पर्खेर बसिरहोस्

बस एकछिन रोकिंदा मैले पारिजातको रूख देखें। एउटा घरको चौघेराभित्र बन्दी भएर फुलेको थियो। मैले फेरि अक्टोबर फिल्म सम्झिएँ। अक्टोबर फिल्मको मर्मलाई कुनै कुराले अर्थ्याएको छ भने त्यो कुरा हो- पारिजातको फूल (सिउली फ्लावर)। पारिजातको फूल माने नि:शर्त प्रेम। म, शायद कुनै डार्क क्यारेक्टरलाई किन हो पारिजातको फूलले ज्यादै संवेदनशील बनाउँछ।

पारिजातहरू रातभरि फुल्छन्, बिहानै झर्छन्। कस्तो अदृश्य सौन्दर्य, कस्तो अस्पृश्य सौरभ। त्यस्तो सौन्दर्य जो मानिसहरूको विषाक्त दृष्टिबाट जोगिएको छ, मानिसले प्रदान गर्ने खोक्रो उपमाको विभूषणबाट असम्पृक्त छ, कस्तो चोखो सौन्दर्य। मानिस जातिको दिमाग र हातबाट दूषित हुन नसकेका सीमित कुराभित्र पर्छ- पारिजात।

आधारभूत रूपमा, हामी सबै पारिजात हौं। पारिजातको जीवन हाम्रो पनि स्वाभाविक स्थिति हो। हामी पनि मर्न सक्थ्यौं त्यस्तो दागहीन मृत्यु। हामी पनि फुल्न सक्थ्यौं, चोखो जिन्दगी। तर हामी… हुन सकेनौं। केवल गुनासो गरिराख्यौं अक्टोबरसँग, किन तिम्रो आगमन हाम्रो मृत्यु बनेर आउँछ भन्दै। अनि बिर्सियौं कति सफल थियो हाम्रो मृत्यु।

मलाई फेरि अर्को स्मृतिदंशको विष लाग्यो।

मङ्सिर-पुस यस्तै कुनै जाडो याममा क्याम्पसको ग्राउन्डमा हामी घामको पर्खाइमा थियौं। बिहानको सुन्तले रङको धमिलो धमिलो घामको वरिपरि गुजुधुम्म बादल हिंडिरहेका थिए मानौं कि उनीहरू घामको स्थूलतामाथि आवृत्ति गर्न कार्यरत छन्।

जाडोले हात कमाइरहेको थियो। दाँतको किटकिट मात्र त्यहाँको सन्नाटा चिर्न अपर्याप्त थियो।

‘What is love ?’ साथी नं १ ले चस्मा मिलाउँदै त्यहाँको सन्नाटालाई हटाउने बाटो खोले।

मलाई यो प्रश्नको उत्तर दिन आएन। अथवा मलाई उत्तर भन्न मन थियो तर उपयुक्त शब्द नभेटेर निरुत्तर थन्किएँ।

‘the most powerful feeling… you may say a mother feeling through which all feelings have been born.’

‘love? The thing that makes us weak. Even the discussion regarding this.’

हामी एक लहर हाँस्यौं।

यस्तै यस्तै केही contrasting उत्तरहरूको बिस्कुन मधुरो घाममा फिजिन्छ।

त्यो प्रश्नः अहिले कसैले सोधेको भए म निस्फिक्री उत्तर दिन्थे- “Love भनेको पारिजात हो। जसको सजीव सुन्दरताबाट बेखबर हुन्छ मान्छे, जसको सुगन्धको साक्षात्कार गर्न असफल हुन्छ मान्छे। यद्यपि उसलाई थाहा छ- त्यो सुन्दरता अव्याख्येय छ र त्यो समयमा मात्र महकिन्छ जसलाई मानिस अन्धकार भनेर चिन्दछ। जसै मान्छेको आँखाले पारिजातलाई नियाल्न खोज्छ (परिभाषित गर्न खोज्छ), त्यो खुत्रुक्क झर्छ। ब्रो, लभ भनेको त्यही हो जसलाई तिमीले आजसम्म छुनसकेको छैनौं, व्यक्त गर्न सकेको छैनौं र गर्न सक्ने पनि छैनौं।”

म अझै पनि अचम्मित छु, तिनीहरू पारिजातलाई बिर्सिएर कसरी प्रेमको कुरा गर्न सकेका थिए। प्रेम पारिजात जस्तो भएन भने त्यो अपराध हुँदैन र? यस्तो उत्तर यसका अनुभवीहरूलाई नै छोडिदियौं तर आफ्नै दृष्टिकोण र परिभाषाबाट आफैं प्रताडित हुनुभन्दा पर तिनीहरूले बुझेको प्रेमको के सामर्थ्य थियो होला?

प्रिय अपरिचित स्थान!

पारिजात भन्ने बित्तिकै अर्को पारिजात सम्झिन्छु। म मात्र हैन, जसले पारिजातको अक्षरहरूको अक्षयतालाई बुझेका छन् वा बुझ्न प्रयत्नरत छन्, उनीहरूले नि सम्झिएका छन्। ती मानिसहरू जसले पारिजातलाई धेरथोर बुझेका छन्, उनीसँग समय बिताएका छन्, उनीहरूले पारिजातको जीवनलाई दुःख, पीडा र निस्सारताका आभूषणले सजाउने गरेका छन्। पारिजात स्वयंले पनि आफ्नो जीवनलाई त्यसभन्दा माथि, त्यसभन्दा भिन्न आभूषणमा सजाउन चाहिनन् होला। तर हाम्रो लागि त्यो बिल्कुल विपरीत भएको छ। यसमा सत्यता पनि होला- उनको जीवन शून्य थियो होला, निस्सारतामै व्यतीत भयो होला (अरूको पनि जीवन त त्यस्तै नै हो फरक यति हो पारिजातले यो जीवनको गूढ चाँडै थाहा पाइन्) तर उनको जीवनको सुगन्ध र सौन्दर्य कालजयी थिएनन् र? के उनको मृत्यु सुन्दर थिएन र? म निश्चिन्त छु, बेहद सुन्दर मृत्यु थियो पारिजातको।

उनको मृत्यु हेर्ने सौभाग्य पाएको कुनै देहातले प्रति प्रश्न गर्न सक्ला- “उनको मृत्युले कतिको आँखा अश्रुपूर्णाकूल थियो होला, ख्याल गरेका छौ?

“ती आँसु होइनन्। ती आत्मसन्तुष्टिका फूल हुन्, आँखाको डिलमा फुलेका।”

के पारिजात रिसाउने थिइनन् यदि उनी जीवित भएको बखत यस्तो उत्तर सुनेको भए? रिसाउने थिइनन् होला- लख काट्छु। आँसुलाई पारिजातका चस्माले अर्कै तरिकाले अर्थ्याउने थियो- यति विश्वास राख्ने ठाउँ छ।

मेरो विश्वासमा पारिजात भनेको पारिजातकै फूल थिइन्। कसैले नदेख्ने गरी फुलिन्, जसै बिहानीले चुम्बन गर्यो.. झरिन्। पराजितहरू मात्र पारिजातको मृत्युमा रून जान्दछन्। आँसुको के गल्ती थियो र? ऊ त फूल बनेर आएको थियो, तिमीलाई पोलिरहने तेजाब झैं लाग्यो भने मलाई भन्नु केही छैन।

यतिबेला मेरो ब्यागमा ‘शिरीषको फूल’ अथवा ‘परिभाषित आँखा’ भइदिएको भए ! म थक् थक् मान्छु। अचानक एउटा बिल्कुल नवीन भावनाले व्याकुल हुन्छु म। म कामना गर्छु- मलाई पनि त्यस्तै मृत्युले पर्खेर बसिरहोस्।

पारिजातको जस्तो मृत्यु । प्रेम जस्तो मृत्यु । अर्को कुनै अक्टोबरमा । अनुहारको भावना पनि पढ्न नसकिने खालको मधुरो साँझमा म तंग्रिने छु, रक्तिम घामले क्षितिजमा आत्महत्या गरेपछि म रातभर फक्रिने छु, अनि त्यही मृत घामको पुनर्जन्मसँगै म मर्ने छु। हुनसक्छ- अन्तिम पटक मर्ने छु।

“कहाँ टोलाइरहेको? खाना खान झर्ने हैन फकिरजी” म तर्सिएँ।

सुगमजी हुनुहुन्थ्यो उही पुरानो तर सदाबहार हाँसो टाँसिएको ओंठ सहित।

“आजै र राति के देखें सपना, मै मरी गएको

बतास विना हाँगाको फूल झैं झरी गएको।

बसमा यस्तो गीत कहिल्यै बज्दैन। आज बजेको भए म धन्य हुनेथिएँ।

मनमनै आफ्ना शब्दहरू (रहरहरू) सँग रमाएँ। बतास विनै झर्ने हाँगाको फूल अर्थात् पारिजात अर्थात् मैले हुन चाहेको म।



source https://www.onlinekhabar.com/2023/10/1384383

Saturday 21 October 2023

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियो पसलमा रिलिज

काठमाडौं । व्यवसायिकरुपमा हिट फिल्म ‘छक्कापञ्जा ४’ र ‘झिंगेदाउ’ ओटीटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएका छन् । दशैं छेकोमा यी दुई फिल्मलाई सार्वजनिक गरिएको हो ।

अहिलेलाई भने विदेशस्थित दर्शकले मात्र हेर्न पाउने सुविधा छ । विदेशस्थित दर्शकबाट यी दुई फिल्मलाई लिएर उच्च माग रहेकाले रिलिज गरेको भिडियो पसलका संचालक निश्चल पाण्डेले बताए ।

स्मार्टफोन प्रयोगकर्ताले एप डाउनलोड गरेर फिल्म हेर्न सक्नेछन् । भिडियो पसलमा २.९९ डलरदेखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिएर फोरके गुणस्तरमा फिल्म हेर्न सक्ने भएका छन् । उपलब्ध फिल्म विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट शुल्क तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

हलमा व्यवसायिक सफलता पाइसकेको फिल्म ओटीटीमा आउने भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले खुशि व्यक्त गरे । हरेक दिन सो फिल्मको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर मजा लिन सक्ने दीपक बताउँछन् ।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्कापन्जा ४’मा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईको अभिनय छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ’झिङ्गेदाउ’ मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

२०१७ देखी सञ्चालनमा रहेको ’भिडियोपसल’मा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका चलचित्रहरू रिलिज भई सकेका छन् । एपमा चलचित्र सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।



source https://www.onlinekhabar.com/2023/10/1384004

क्रिकेटरको दशैं : घर सम्झिँदा खल्लो, देशका लागि खेल्दा गर्व

५ कात्तिक, काठमाडौं । नेपालीहरुको ठूलो पर्व बडादशैंको बेलामा नेपालका सिनियर र यू–१९ दुवै टिमका खेलाडी खेल्नमा व्यस्त छन् । बडादशैंमा आफन्त र परिवारसँग हुने भेट र पारिवारिक माहोलभन्दा पर रहेर यो पालि राष्ट्रिय टिमले टिममै दशैं मनाउने छ ।

सिनियर टिमले टी–२० विश्व कप एसिया क्षेत्र छनोट अघि हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ । त्यसलगत्तै नेपालले काठमाडौंमै टी–२० विश्वकप छनोट खेल्ने छ ।

सिनियर टिमका केही खेलाडी जसको घर परिवार काठमाडौं र आसपासमा छ उनीहरु ६ गते नवमीका दिन यूएईसँगको खेल सकेर घर जाने तयारीमा छन् । दशैंमा आफन्त र ठूलाबडाको हातबाट टीका थाप्न हवाईमार्गले भ्याउने ठाउँका खेलाडी पनि घर जाँदैछन् । केही खेलाडी भने टिमसँगै दशैं मनाउँदै छन् ।

सिनियर टिमका ओपनर ब्याटर कुशल भुर्तेल भने यसपटक घर जाँदैनन् । खेल भएकाले उनले टिमसँगै रहेर दशैं मनाउने छन् । उनले भने, ‘गेम छ । म यसपटक घर जाँदिनँ ।’

राष्ट्रिय टिममा यही त्रिकोणात्मक सिरिजको पहिलो खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका श्याम ढकाल (मौसम) भने टीकाको अघिल्लो दिन खेल सकेर घर जाँदैछन् । उनले भने, ‘टीकाको दिनमा गेम छैन अघिल्लो दिन गेम सकेर घर जान्छु ।’ उनी टीकाको भोलिपल्ट पुनः टिममा फर्किने छन् ।

राष्ट्रिय टिमका म्यानेजर रहेका सुमनराज कार्की भने टिममा पनि दशैं मनाउने तयारी चलिरहेको बताउँछन् । ‘हालसम्म केही कुरा भएको छैन तर गेम भएकाले यसबारे पनि हाम्रो योजना बन्दैछ,’ उनले भने ।

यु–१९ टिमको दशैं देश बाहिर

यू–१९ क्रिकेट टिम भने एसीसी प्रिमियर कप क्रिकेट खेल्न मलेसियामा छ । दशैंको बेला घरभन्दा पर हुँदा खल्लो लागिरहेको खेलाडीहरु बताउँछन् । टिमका स्पिनर सुवास भण्डारी भन्छन्, ‘दशैंमा घर नहुँदा घरको याद त आइरहेको छ । तर पनि नेपालको लागि खेल्न आएकाले देशलाई पदक जितेर आउनु छ,’ उनले मलेसियाबाटै अनलाइनखबरसँग कुरा गर्दै भने ।

पहिलो पटक घर बाहिर बसेका खेलाडीलाई घर परिवार र दशैंको माहोल याद आइरहेको भए पनि राष्ट्रिय जिम्मेवारी पूरा गर्न आएकोमा उत्तिकै गर्व रहेको उनले बताए ।

घरमा हुन नपाउँदा केही खिन्न भएपनि देशको प्रतिनिधित्व गर्न पाउँदा उत्तिकै खुसी छन् उनी । ‘अब फाइनल जितेर देशलाई एसिया कपमा पुर्याएपछि हाम्रो लागि त्यही नै दशैं हुन्छ,’ सुवासले भने, ‘घरको माहोल सम्झना आउँछ तर नेपालको लागि खेल्ने भएपछि सधैं दशैंमा घर कहाँ भइन्छ र !’ जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाइसकेको छ ।

सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त पनि घरको याद आइरहेको बताउँछन् । पहिलो पटक परिवारसँग नरहेका उनी भन्छन्, ‘घर परिवारको याद आउँछ । पहिलो पटक हो यसरी दशैंको बेला खेल परेर बाहिर भएको ।’

उनले अघि भने, ‘खेल्न आएका हौं र खेल जितेर दशैं मनाउने हो ।’



source https://www.onlinekhabar.com/2023/10/1384000

आज महाअष्टमी, कालरात्रिको विशेष पूजा

५ कात्तिक, काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।

आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लागेको छ ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ ।

पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा गर्ने गर्दछन् ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ सालमा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।



source https://www.onlinekhabar.com/2023/10/1383995

एनआरएनए अध्यक्षमा आरके शर्मा निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिका साथै अष्ट्रेलियामा रहेको कम्पनी भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको अनलाइन मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो ।

नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रविना थापा र डा.बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेपछि निर्वाचन प्रक्रियालाई नयाँ ढंगले अघि बढाइएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए ।

यसैगरी बन्द सत्रले डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द बिष्ट, डा बलराम श्रेष्ठ, ओम शर्मा, बेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको छ। त्यस्तै दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, बिष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ। बन्द सत्रले महासचिव डा केशव पौडेल, कोषाध्यक्षहरु सुनील साह, लोक दाहाल तथा विधान समितिका सचिव गंगाधर गौतमले पेश गरेका प्रतिवेदन हरु पारित गरेको थियो।

निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले सबै नव निर्वाचित पदाधिकारीहरुलाई विधान बमोजिम शपथ दिलाएका थिए। बन्द सत्रको अध्यक्षता अध्यक्षद्वय कुल आचार्य तथा रबिना थापाले गरेका थिए।



source https://www.onlinekhabar.com/2023/10/1383986

Friday 20 October 2023

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ ।  नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।
दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
बडादशैंको सातौं दिन आज नेपाली सेनाले  सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ ।
आजै गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ  । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।
गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।


source https://www.onlinekhabar.com/2023/10/1383762

आज टुँडिखेलमा फूलपाती बढाइँ हुँदै

४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुँदैछ ।

बडादसैँको साताैं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ ।

समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ ।



source https://www.onlinekhabar.com/2023/10/1383760

एनआरएनमा भाँडभैलो, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ ।

केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।

मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ ।

उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।

डा. बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिस्पर्धी दुई उम्मेदवारले यसपटक प्रतिनिधि छनौट र अनलाइन भोटिङमा बद्रीले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रक्रिया मूलतः बद्रीको नियन्त्रणमा रहेको एनआरएनका एक केन्द्रीय नेता बताउँछन् ।

संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन् । उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएका छन् ।



source https://www.onlinekhabar.com/2023/10/1383436

कोशीमा राप्रपाका भक्ति सिटौलाले मागे प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा

३ कात्तिक, विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा  मुख्यमन्त्री केदार कार्कीको पक्षमा ८६ मत खसेको थियो । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले पक्षमा मतदान गर्दा ६ सांसद रहेको राप्रपाका पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित थिए ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा राप्रपा बाहेकका सबै दल सत्तापक्षमा छन् । बिहीबार प्रदेश सभामुखलाई सम्बोधन गरेर निवेदन लेख्दै राप्रपा संसदीय दलका नेता सिटौलाले ऐनले तोके अनुसारको प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

प्रदेशसभाले पास गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक ५९ हजार रुपैयाँ पारिश्रमिक पाउने उल्लेख छ । यो पारिश्रमिक सुविधा उपसभामुखको सरह हो ।

त्यसबाहेक बैठक भत्ता एक हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचर सुविधा बापत एकमुष्ट २० हजार, एउटा सवारी साधन, मासिक १२५ लिटर पेट्रोल, विजुली सुविधा बापत मासिक एक हजार पाँच सय र दैनिक दुई हजार भ्रमणभत्ता प्राप्त गर्ने उल्लेख छ । त्यस्तै एक जना स्वकीय सचिव, एक जना सवारी चालक र अतिथि सत्कार बापत मासिक पाँच हजार सुविधा प्रमुख प्रतिपक्षी दलको नेताले पाउँछन् ।

सुरक्षा जोखिमको अवस्था रहे एक जना पीएसओ पनि प्राप्त गर्नेछन् ।



source https://www.onlinekhabar.com/2023/10/1383609

Wednesday 18 October 2023

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

२ कात्तिक, काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।



source https://www.onlinekhabar.com/2023/10/1382996

निर्णायक खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ ।

खेल युएसडी-युकेएम ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

हाल भइरहेको यू१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

त्यसैले देव खनालको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो खेल जित्नै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ ।

समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ ।

जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ ।

यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

मलेसिया जानुअघि नै नेपालले यू-१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।



source https://www.onlinekhabar.com/2023/10/1382983

गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु

२ कात्तिक, गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटना स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली खटिएको छ ।



source https://www.onlinekhabar.com/2023/10/1382978

Tuesday 17 October 2023

केनको दुई गोलमा इंग्ल्याण्ड युरोकपमा छनोट

१ कात्तिक, काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि इटलीमाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरोकप २०२४ का लागि छनोट भएको छ ।

लण्डनस्थित वेम्लीमा भएको खेलमा गियानलुका स्कामाक्काले १५औं मिनेटमा गोल गर्दै इटलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा इंग्ल्याण्डका लागि केनले पेनाल्टीबाट बराबरी गोल फर्काए ।

पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा घरेलु टोली इंग्ल्याण्डले दुई गोल थप्यो । ५७औं मिनेटमा मार्कुस राशफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को अग्रता दिलाए ।

केनले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जित पक्का गरे ।

जितपछि इंग्ल्याण्ड ६ खेलबाट १६ अंक जोडेर समूह सी को शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंक रहेको इटली तेस्रो स्थानमा छ ।

माल्टालाई ३-१ ले पराजित गर्दै ७ खेलमा १३ अंक जोडेको युक्रेन दोस्रो स्थानमा छ ।

अर्को वर्ष जर्मनीमा हुने युरोका लागि अहिलेसम्म आयोजक जर्मनीसहित ९ राष्ट्र छनोट भइसकेका छन् ।



source https://www.onlinekhabar.com/2023/10/1382562

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिंदै   

१ कात्तिक, काठमाडौं  । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो ।

कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।



source https://www.onlinekhabar.com/2023/10/1382555

Monday 16 October 2023

‘यसअघि जारी भएका राइट सेयरबारे अनुसन्धान गर्दैछौं, अनुचित लाभ लिनेलाई पनि कारबाही हुन्छ’

३० असोज, काठमाडौं । नेपालको शेयर बजारमा अहिले निराशा छ । सरकार तथा विभिन्न नियामक निकायहरूले सुधारात्मक कदमहरू चाले पनि त्यसले बजारलाई सकारात्मक बनाउन सकेका छैनन् । यसबीचमा सेयर ब्रोकरको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जासँग सम्बन्धित विभिन्न प्रावधानलाई खुकुलो बनाएको छ । तर, पनि बजारले त्यसलाई हरियो झन्डा देखाएको छैन ।

बजार कमजोर हुँदा नियामक निकाय धितोपत्र बोर्डमाथि पनि स्वाभाविक प्रश्नहरू उठेका छन् । तर, आफू आइसकेपछि अध्यक्ष र कर्मचारीहरूको तजबिजीमा होइन, ‘मेरिट’मा काम हुने प्रणालीको विकास गरेको बोर्डका अध्यक्ष रमेशकुमार हमाल बताउँछन् । हमालसँगको उनको दुई वर्षे कार्यकालको समीक्षा तथा उनीमाथि उठेका प्रश्नहरूका बारेमा अनलाइनखबरले गरेको कुराकानी :

नेपाल धितोपत्र बोर्डको अध्यक्षको रूपमा २० महिनाको कार्यकाल बिताइसक्नुभयो । कार्यकाल अब करीब ३ महिनामात्रै बाँकी छ । आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

धितोपत्र बोर्डको अध्यक्षको पद ग्रहण गर्नु अगाडि नेपाल सरकारसमक्ष पेश गरेको कार्ययोजनामा धितोपत्र बजार सुधारका लागि चारवटा पिलरमा काम गर्छु भनेको थिएँ । त्यसमध्ये अधिकांश सम्पन्न भएका छन् । तर, कतिपय महत्वपूर्ण एजेन्डा पूर्ण भइसकेको छैन ।

धितोपत्र सुधारका नीतिहरूको पूरै ‘इकोसिस्टम’ बनाउन समय चाहिन्छ । त्यसका कतिपय अंगहरू लागू भइसकेका छन् । तर, सम्पूर्ण इकोसिस्टम तयार भइसकेको छैन ।

विशेषगरी मैले सरकारी निकाय पनि योग्यता (मेरिट) को आधारमा चल्न सक्छ भनेर प्रमाणित गर्न चाहेको थिएँ । आवेदकको टाउको र अनुहार नहेरी समयसीमा तोकेर समयमा काम गर्न सकिन्छ भनेर देखाउन खोजेको थिएँ । त्यसो गर्न हामीले सक्यौं ।

शुल्कमा केही समयोजन गर्ने, मर्जर एक्विजिसनमा भएका ठूलो चुनौती चिरेर सबै लगानीकर्तालाई सन्तुष्टिको वातावरण दिन सक्यौं । श्रमिकलाई सेयरमा आरक्षणको व्यवस्था गरेर सामाजिक न्याय दियौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओमा आरक्षण दिएर विदेशी विनियम सञ्चितिमा योगदान दिने काम भयो, यसले रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउने वातावरणलाई अझै सुदृढ बनायो । त्यसले हुन्डी निरुत्साहित भयो भने विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय प्रभाव पार्यो । त्यस्तै सिंगापुरको जस्तो मेरिटमा आधारित रहेर र समयसीमा नै तोकेर ब्रोकरको लाइसेन्स दिने प्रक्रिया अगाडि बढायौं । त्यसको प्रतिफल पाउन समय लाग्छ । प्रणालीहरू भने लागू भएका छन् ।

तपाईंले गरेकामध्ये गर्व गर्नलायकको काम चाहिँ के-के हुन् ?

मैले धितोपत्र बजारका सरोकारवालाहरूको सोचाइ (माइन्ड सेट) परिवर्तन गर्न सफल भएको छु । त्यसमा म आफूलाई गर्व महसुस गर्छु । सेबोनको टिमप्रति पनि म गर्व गर्नसक्छु । सरकारी निकायले केही गर्नै सक्दैन, सरकारी निकाय सक्षम हुँदैनन् भन्ने कुरालाई परिवर्तन गरेका छौं । सरकारी कार्यालयमा पनि समयसीमा तोकेर त्यसभित्र काम गर्न सकिन्छ, सेवाग्राहीलाई रिजल्ट दिन सकिन्छ, न्याय दिन सकिन्छ भन्ने कुरा स्थापित गरेका छौं ।

हाम्रो समाजमा सकारात्मक सोच राख्नेभन्दा पनि कसैलाई कसरी खुइल्याउन सकिन्छ भन्नेमा जोड दिने केही मानिसहरू छन् । यस्तो अरोप तिनैले लगाएका हुन् । त्यस्ता मानिसहरूको एउटा सिन्डिकेट नै छ भन्न सकिन्छ । सिन्डिकेट कुनै एउटा वर्ग वा क्षेत्रमा मात्रै लागू हुने कुरा होइन, यो सबैतिर हुने मानसिकता पनि हो

सेबोन अब सरकारी कार्यालय भए पनि यहाँ व्यावसायिक रूपमा काम भएको छ । चिनजान वा प्रभावको भरमा होइन, सम्पूर्ण मानिसले समान रूपमा सेवा पाउनुपर्छ भन्ने मान्यता स्थापित गरेका छौं । सेवा प्रवाहमा समयसीमा तोक्ने प्रणाली लागु गरेका छौं ।

प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलको इकोसिस्टम बनाएका छौं । बैंकिङ प्रणालीको जगमा मात्रै देशको आर्थिक समृद्धि सम्भव छैन । साना र मझौला उद्यम व्यवसायलाई सेवा र उत्पादनमा नवीनता ल्याउनका लागि प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल चाहिन्छ । विविधतापूर्ण अर्थतन्त्र निर्माणका लागि पनि यो चाहिन्छ । सबैले जागीर खाने होइन जागिर दिने पनि हो, उद्यमी बन्ने हो भन्ने वातावरण बनाउन यो पूर्वाधार चाहिएको थियो । म आएपछि त्यसमा जागरण र चेतना ल्याउनसकेँ ।

१२ वटा कम्पनीलाई विशिष्टिकृत लगानी कोषको लाइसेन्स प्रक्रिया द्रुत गतिमा दियौं । सिंगापुरजस्तै मेरिट प्रणालीबाट यो दिँदा कसैले गुनासो गर्ने वातावरण बनेन । सबैले सोचेको भन्दा छोटो समयमा लाइसेन्स पाए । त्यसमार्फत अहिले करिब ३१ अर्बको कोष खडा पनि भइसकेको छ । विदेशबाट पनि २० करोड डलर नेपालमा परिचालन हुन लागेको छ । यो हामीले गरेको सुधार देखेर आउन लागेको हो । अब बल्ल नेपालमा स्टार्टअप सुरु भएको छ ।

नेपालमा अब स्टार्टअपको लागि लगानी बैंकमा होइन, प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलमा जाने हो भन्ने चेतना देखिएको छ । त्यहाँ हाम्रो लगानी सुनिश्चितता हुन्छ, त्यहाँबाट सीड क्यापिटल पाउँछौं र व्यवसायिक ज्ञान पनि पाउँछौं भन्ने चेतनाको विकास भएको छ । यसमा म गर्व गर्छु । यसको नतिजा देखिन ५/१० वर्ष लाग्छ । यसको यात्रा सुरु भइसकेको छ ।

तपाईंले निजी क्षेत्रबाट अर्को स्टक एक्सचेञ्जको लाइसेन्ससँगै कमोडिटी एक्सचेञ्जको पनि लाइसेन्स दिने प्रयास गर्नुभएको थियो । त्यसमा सफल हुनुभएन । के कमजोरी भयो ?

त्यसमा सफल भइसकेको पनि छैन, असफल भइसकेको पनि छैन । त्यो यात्राको क्रममा नै छ ।

नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने भनेर २०७४ सालमै बोर्डले निर्णय गरिसकेको थियो । त्यो मैले निर्णय गरेको होइन । निर्णय भएर लागु हुन सकेको थिएन । त्यसलाई लागू गर्न विश्वस्तरको सुशासन र उत्तरदायी प्रणाली चाहिँ मैले विकास गरेको छु ।

लाइसेन्सको पहिलेकै निर्णयलाई निन्तरता दिँदै त्यसको मापदण्ड मूल्यांकन प्रणाली विकास गरेर अघि बढ्न खोजेको हो । तर, हाम्रो समाजमा जुनसुकै काम गर्नुपर्दा कसै न कसैको स्वार्थका लागि गरिन्छ भन्ने मानसिकता छ । नीति बुझ्ने हाम्रो मानसिकता नै छैन । त्यही भएर यसमा केही अवरोधहरू आए ।

अहिले नेपाल सरकारको निर्देशनपछि त्यसलाई यथास्थितिमा राखिएको छ । म नभए पनि केही समयमा यो अगाडि बढ्ला । कमोडिटी बजारको प्रक्रिया पनि चाँडै अगाडि बढ्छ ।

धितोपत्र बोर्डमा तपाईं आएपछि वास्तविक क्षेत्रको धेरै कम्पनीहरूको आईपीओ आइरहेको छ । वास्तविक क्षेत्र भनिएको कम्पनीको आईपीओ आउँदा प्रिमियम जोडेर उच्च मूल्यमा आउने र त्यसलाई धितोपत्र बोर्डले सुधार नगर्ने वा धितोपत्र बोर्डको मिलेमतोमा पनि आउने गरेको छ भन्ने आरोप छ । यसमा तपाईंको भनाइ के छ ?

हाम्रो समाजमा सकारात्मक सोच राख्नेभन्दा पनि कसैलाई कसरी खुइल्याउन सकिन्छ भन्नेमा जोड दिने केही मानिसहरू छन् । यस्तो अरोप तिनैले लगाएका हुन् । त्यस्ता मानिसहरूको एउटा सिन्डिकेट नै छ भन्न सकिन्छ । सिन्डिकेट कुनै एउटा वर्ग वा क्षेत्रमा मात्रै लागू हुने कुरा होइन, यो सबैतिर हुने मानसिकता पनि हो ।

पि्रमियम सम्बन्धी ऐन, नियम, विनियमावली मैले बनाएको होइन । तर, पहिल्यै बनेका नियममा आधारित रहेर मेरिट प्रणालीमा त्यसलाई लागू गरिरहेका छौं । त्यही भएर हाम्रो पालामा द्रूत गतिमा काम भयो, यो प्रणालीप्रतिको विश्वास हो । त्यसैलाई लिएर कतिपयले मलाई बदनाम गर्न चाहेका छन् । तर, यसबाट दीर्घकालीन रूपमा अर्थतन्त्रको निर्माण र देशको विकासमा के फाइदा हुन्छ भनेर निजी क्षेत्रले बुझेको छ ।

तर, यसबीचमा केही कम्पनीको वित्तीय विवरणमा प्रश्न उठेका छन्, केही कम्पनीहरूको क्रेडिट रेटिङमाथि स्वार्थ बाझिएको पनि देखियो । तर, पनि ती आईपीओहरूले निरन्तरता पाए । त्यसमा प्रश्न उठ्नु स्वभाविक होइन र ?

यसलाई म पुरै स्पस्ट पार्छु । धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनी आउनुपर्छ भन्ने मेरो बुझाइ हो । विशेष गरेर एउटा कम्पनीको केसमा केही नकारात्मक प्रश्नहरू आए । पहिलो केस भएकाले हामीलाई पनि अनुभव कम थियो । हामीले भएका ऐन नियम, निर्देशिका र कार्यविधिअन्तर्गत त्यसको मूल्यमाथि प्रश्न गर्ने धेरै प्रयास गर्यौं । तर, सम्भव भएन । रेटिङको सवालमा पनि प्रश्नहरू उठेका हुन् । तर, त्यो रेटिङ कम्पनी भन्दा पनि आवेदन दिने कम्पनीको कुरा हो । रेटिङ कम्पनी अगाडि नै कारवाहीको दायरामा थियो । त्यसमा आवेदक कम्पनीलाई जोड्न कानुनी आधार थिएन ।

तर, त्यो आईपीओमा १०-१२ जना आवेदकले ठूलो मात्रामा फर्जी आवेदन दिएपछि त्यसको सार्वजनिक निष्कासनमा मैले नै त्यसलाई रोकेको हो । त्यो केसको कतिपय पक्षलाई अनुसन्धानको क्रममा सीआईबीमा पठाएका छौं । सम्बन्धित बैंक -सी आश्वा मेम्बर) लाई कारबाहीका लागि अनुसन्धान कमिटी बनाएर काम अगाडि बढेको छ ।

हामीले भएको नियमावली, निर्देशिका र कार्यविधि लागु गर्ने हो । त्यहाँ कुनै गुनासो आयो भने तुरुन्त कारवाही गर्ने हो । पि्रमियम मूल्यमा नियमावली र निर्देशिकामा जुन लेखिएको छ, नेपालमा जुन लेखापरीक्षण स्ट्यान्डर्ड छ, त्यहीअनुसार गर्ने हो । कहिलेकाहीँ त्यसैमा पनि प्रश्न आउँछन् ।

कागजमा सही देखिन्छ तर व्यवहारमा नहुन सक्छ भन्ने प्रश्न आएपछि घोराही सिमेन्टको आईपीओलगत्तै मैले नै अर्को प्रणालीको विकास गरें । अडिटरले गरेको अडिट पनि परीक्षण गर्नसक्ने अधिकार र ज्ञान भएको संरचना निर्माणका लागि मैले बोर्डमा प्रस्ताव गरेँ । त्यहीअनुसार सेबोन सञ्चालक समितिको सदस्य रहेको आइक्यानको उपाध्यक्षको संयोजकत्वमा मूल्यांकन भेरिफिकेसन कमिटी बन्यो । अब कुनै पनि पि्रमियम मूल्यका आईपीओको फाइलहरू सेबोनको संरचनाले त भेरिफाई गर्ने नै भयो, त्यसमाथि अर्को स्वतन्त्र तह थपियो ।

उक्त कमिटीले वित्तीय विवरणहरू भेरिफाई गरेर पि्रमियम मूल्यमा ठीक छ कि छैन त्यो तय गर्छ । कम्पनीहरूले प्रस्ताव गरेको मूल्य घटाउने हो वा नघटाउने उहाँहरूको वैज्ञानिक प्रतिवेदनले देखाउँछ । त्यही आधारमा मात्रै अध्यक्षले स्वीकृत गर्न पाउने भन्ने नीति मैले लागू गरेँ । त्यसपछि हरेक पि्रमियम आईपीओमा उक्त समितिको सिफारिसविना अध्यक्षले हस्ताक्षर गरेको छैन ।

हामीले विद्यमान नियमावली र कानुनअनुसार काम गर्ने हो । त्यसमा कुनै गुनासो छ भने तुरुन्त सम्बोधन गर्ने हो । हामीले त्यसको सम्बोधन गरिसकेका छौं ।

तपाईंले भनेजस्तै आइक्यानको प्रतिनिधि सञ्चालकको सिफारिसमा स्वीकृत आईपीओमा पनि वास्तविक र प्रक्षेपित वित्तीय विवरणमा ठूलो अन्तर देखिन्छ । अहिलेको भन्दा धेरै गुणा बढी आम्दानीको प्रक्षेपण गरेको विवरणहरूमा पनि स्वीकृति दिइएको छ । अवास्तविक प्रक्षेपण गर्नेलाई कारवाही भएको जानकारी छैन । यसरी लगानीकर्तालाई झुक्याउने क्रम कहिले रोकिन्छ ?

गलत विवरण पेश भएका छन् र त्यसलाई स्वीकृति दिइएको छ भन्ने गुनासो आउँदा तुरुन्तै अनुसन्धान र कारबाहीमा लैजान्छौं । म अध्यक्ष भएपछि शून्य सहनशीलताको नीतिसहित कारबाही भइरहेको छ । भित्री कारोबारसँग सम्बन्धित दुईवटा मुद्दा सरकारी वकीलको कार्यालयमा दर्ता भएका छन्, जुन इतिहासमै पहिलोपटक भएको हो ।
म आउनुभन्दा पहिले इतिहासमै जम्मा १० वटा कारवाही भएकोमा म आएको १९ महिनामा १६ वटा ठूला कारबाही भएका छन् । बजार म्यानिपुलेसन, भित्री कारोबार, सम्पत्ती शुद्धीकरणलगायत विषयमा कारबाही भएका छन् । रेटिङ कम्पनीलाई पनि कारबाही भएका छन् ।

अहिले हामी प्रणाली बनाउने काम गरिरहेका छौं । प्रणालीमा विश्वास गर्नुपर्छ । विशेष समितिले घोराही सिमेन्टपछि प्रिमियम मूल्यमा आवेदन दिएका हरेक जीवन बीमा कम्पनीको आईपीओमा मूल्य घटाएको छ ।

म चार्टर्ड एकाउन्टेन्ट होइन । कमिटीबाट नै सिफारिस भएर आएपछि मैले स्वीकृति दिने हो । सबै कुरा मैले जानेको हुनुपर्छ भन्न सम्भव छैन ।

लामो समयदेखि राम्रो पर्फमेन्स गरेका उत्पादनमुलक क्षेत्रका कम्पनी अंकित मूल्यमा आईपीओ जारी गर्न तयार भएनन्, उनीहरूलाई सुविधा दिएर ल्याउनुपर्छ भनेर प्रिमियम मूल्यको व्यवस्था गरिएको हो । तर, त्यो विधिमा पहिल्यै विशेष सुविधा पाएका हाइड्रोपावर, अनिवार्य सूचीकृत हुनैपर्ने बीमा कम्पनीले पनि त्यो सुविधा पाए । त्यसमा पनि तपाईंमाथि प्रश्न उठेको छ नि ?

संसारभरि नै सेयरको मूल्य घटबढ भइरहन्छ । तर, पि्रमियम मूल्यमा जारी शेयरको मूल्य घट्यो भने धितोपत्र बोर्डको अध्यक्षलाई गाली गर्ने, भ्रष्टाचार गर्यो भन्ने आरोप लगाउन थालियो । यो संस्कार कहीँ पनि स्वीकार्य छैन ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) भारतको सशक्त कम्पनी हो । एलआईसीले केही वर्ष अगाडि भारतकै सबैभन्दा ठूलो आईपीओ ९०२ देखि ९४९ भारुसम्म जारी भएको थियो । आज त्यसको मूल्य ५०० मा झरेको छ । तर, त्यहाँ नियामक निकायको प्रमुखलाई भ्रष्टाचारी भनिँदैन ।

मूल्य निर्धारण र कारोबारमा उतारचढाव कसरी हुन्छ भन्ने कुरा अर्थशास्त्र पढ्ने र व्यवसाय गर्ने मान्छेले बुझेका छन् । मूल्य सधैँ एउटै रहन सक्दैन र माथि मात्रै जाने भन्ने कुरा कल्पना गर्न सकिँदैन ।

सेबोनको नियमावली, निर्देशिका र कार्यविधिमा प्रिमियम मूल्यका सन्दर्भमा कुनै क्षेत्रका लागि एउटा र अर्को क्षेत्रको लागि फरक नियम छैन । तीन वर्षभन्दा बढी लगातार नाफा कमाएका -अहिले २ वर्ष) कम्पनीले पि्रमियममा आईपीओ जारी गर्न पाउँछन् । यसका अन्य प्रक्रिया पनि छन् ।

पुराना कम्पनीको आईपीओ जारी गर्दा बुक बिल्डिङ प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हो । प्रिमियम भन्ने शब्द नै गलत हो । संसारले अपनाएको मोडल फ्री प्राइसिङ हो । आईपीओको मूल्य १०० नै हुनुपर्छ भन्ने ग्यारेन्टी छैन । नेपालमा वषौर्ंदेखि ५०/६० रूपैयाँ नेटवर्थ भएका कम्पनीलाई पनि १०० रूपैयाँमा आईपीओ निष्कासन गर्न दियौं नि ।

हामीले अहिले नाफामा भएका कम्पनीलाई पि्रमियममा आईपीओ ल्याउन दिएका छौं । भियतनामको भिनफाष्ट कम्पनी ५ वर्षभन्दा कम अवधिमा फोर्डभन्दा ठूलो भइसकेको छ । १ डलर फेस भ्यालु भएको कम्पनीको सेयर ३७ डलरमा बिक्री भयो । तर त्यो कम्पनी अहिले पनि घाटामा छ । भविष्य हेरेर मानिसहरूले लगानी गरेका छन् ।

हाम्रोमा नाफामा भएका कम्पनीले पनि नेटवर्थको २ गुणाभन्दा बढी प्रिमियम मूल्य हुन नहुने सेबोनको निर्देशिका र कार्यविधिमा उल्लेख छ ।

राइट सेयर कमजोर पूँजीको अवस्था भएको कम्पनीले इस्यू गर्ने हो । बलियो कम्पनीले त लाभांश दिन्छ नि । राइट इस्यू गरेपछि सेयरको मूल्य घट्छ । हामीले सबैले पढेको फाइनान्सले यही भन्छ । कि नेपालका लागि अलग किताब लेखौं । तर, नेपालमा सधैँ राइट सेयर इस्यु गर्दा किन मूल्य बढाइन्छ ? हामी यो अनुसन्धान गर्दैछौं ।

केही बीमा कम्पनीहरूले निर्धारित समयमै आईपीओ ल्याए, जुन १ सय रूपैयाँमा सर्वसाधारणले किन्न पाए । तर, निर्धारित समयमा आईपीओ नल्याउने कम्पनीलाई कारबाही हुनुको साटो झन् पि्रमियम मूल्य पो दिइयो । यसमा भ्रष्टाचार भएको भनेर अख्तियारमा उजुरी नै परेको छ । यसमा के भन्नुहुन्छ ?

बीमा प्राधिकरण बीमा कम्पनीहरूको नियामक निकाय हो । बीमा ऐनअनुरूपका व्यवस्था लागू भए कि भएनन् भनेर हेर्ने उहाँहरूले हो । कुन कम्पनीले कहिले आईपीओ ल्याउनुपर्थ्यो भनेर हेर्ने प्राधिकरणले हो ।

प्रिमियममा सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको चिठी बीमा प्राधिकरणले हामीकहाँ पठाइसकेपछि त्यसलाई धितोपत्र बोर्डले रोक्न मिल्दैन । सेबोनको नियमावलीले कुन क्षेत्रलाई पि्रमियम मूल्य दिने, कुनलाई नदिने भनेर छुट्याएको छैन । कम्पनीको ऐनले पनि त्यो भन्दैन । त्यसो हुँदा कानूनबमोजिम गर्नुपर्ने काम हामीले गरेनौं भने त अख्तियारले हामीलाई समात्छ नि !

हाम्रो कानून, नियमावलीमा उल्लेख भएको विधि र प्रक्रिया पुगिसकेपछि पनि प्रिमियममा जान दिइएन भने यसले के कारणले रोक्यो भनेर हामीलाई त अख्तियारले सोध्छ । त्यसैले मेरो ठाउँमा अन्य जोकोही भए पनि त्यही गर्नुपर्छ । हामीसँग यो विषय जोडिँदै जोडिँदैन । बीमा प्राधिकरणको अनुमतिविना हामीले गरेको भए हामीमाथि प्रश्न उठ्थ्यो ।

एउटा संयोग नै भनौं । बुक बिल्डिङ प्रणालीमा सेबोनबाट भएको कमजोरीपछि सृजना भएको एउटा परिस्थितिले तपाईं अध्यक्ष बन्नुभएको थियो । तपाईं रहुन्जेलसम्म पनि बुक बिल्डिङ प्रणाली सुरु हुन सकेको छैन । संयोग मात्रै हो कि तपाईंले नचाहेको हो ?

बुक बिल्डिङ आफैँमा सशक्त प्रणाली हो । बुक बिल्डिङ संस्थागत लगानीकर्ता ल्याउने प्रक्रिया हो । यसमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले ज्ञारेन्टी लिन्छन् । यसले बजारमा संस्थागत लगानीकर्ता बढ्छन् । तर, बुक बिल्डिङ प्रणाली लागू गर्न नसक्नु हाम्रो कमजोरी हो । म आएदेखि नै त्यसमा जोड दिइरहेको छु ।

म अध्यक्ष भएर आएदेखि नै प्राथमिकतामा राखेको विषय हो । ६ महिनाअगाडि सबै सरोकारवालाहरू कम्पनीहरू, बिक्री प्रबन्धक, नेप्से र धितोपत्र बोर्डका पदाधिकारीहरू राखेर यस विषयमा छलफल गरेका थियौं । उहाँहरूले दुई महिनाभित्र सुझाव दिन्छौं भन्नुभएको थियो । तर, त्यो समय दिएको ४ महिना भयो । अब भने त्यसमा ब्रेकथ्रु हुँदै छ । त्यसमा नेप्सेले कतिपय काम गर्नुपर्ने छ, अन्य काम पनि छन् ।

त्यो ब्रेकथ्रु भनेको के हो ?

कम्तीमा एउटा बुक बिल्डिङ प्रक्रिया अगाडि हुन्छ । बुक बिल्डिङको प्रक्रिया स्थापित हुन्छ । त्यसपछि सेयरबजारमा जाँदा उचित मूल्य पाउँछौं भनेर कम्पनीहरूलाई भरोसा हुन्छ ।

यो विधिमा योग्य संस्थागत लगानीकर्ताले सोचेको र प्रस्ताव गरेको मूल्यलाई स्वीकार गर्न सक्नुपर्छ । पि्रमियममा जाँदा नेटवर्थको २ गुणा मात्रै मूल्य पाइन्छ तर बुक बिल्डिङमा जाँदा बढी पाउन पनि सक्छ । त्यसो हुँदा पि्रमियमभन्दा यो खराब भयो भनेर भोलि यही समाजले भन्न सक्छ । किनभने संसारमा कुनै पनि प्रणाली आफैँमा पूर्ण हुँदैन ।

अहिले धितोपत्र बजारमा निराशा छ । केही नियामकहरूले गरेको सुधारको प्रयासले पनि बजार बढ्न सकेको छैन तपाईं सेबोनमा आएर काम गर्न सुरु गर्दा लगानीकर्ताले तपाईंमाथि ठूलो आशा राखेका थिए । तर, पछिल्लो समय धेरै आईपीओ निकालेर बजारमा आपूर्ति बढाइदिनुभयो भन्दै उनीहरू रिसाएका छन् नि ?

सबै लगानीकर्ताको गुनासो छ भन्ने कुरा म मान्दिनँ । १०-१२ जनाको सिन्डिकेसनले विरोध गर्यो भनेर सबैले गरे भन्न मिल्दैन । हाम्रो बजारमा ५० लाख जति लगानीकर्ता छन्, विभिन्न छाता संगठनहरू पनि छन् । उनीहरूलाई नै सोध्दा हुन्छ, मप्रति गुनासो छ कि छैन भन्ने ।

म आउनुभन्दा अगाडि सेबोनको अध्यक्ष पद ६ महिनादेखि खालि थियो । त्यसले गर्दा धेरै फाइल रोकिएर बसेका थिए । त्यसको पनि एकैपटक अनुमति दिँदा सार्वजनिक निस्कासन बढेको साँचो हो । तर, आईपीओको स्वीकृति धेरै दिएका कारण बजार परिसूचक घट्दैन ।

मलाई बदनाम गर्न चाहनेहरूले अरू कुनै विषय नभेटेर यस्ता नचाहिँदा एक-दुई वटा विषय निकालेका मात्रै हुन् । तर, उनीहरू वैज्ञानिक रूपमा गलत छन् । २०७२/७३ सेयर निष्कासनमा ६५ प्रतिशतले वृद्धि हुँदा इन्डेक्समा ७८ प्रतिशतले वृद्धि भएको थियो ।

हालै विज्ञहरूले गरेको एक अध्ययनले गएको २० वर्षमा सार्वजनिक निस्कासन बढ्दा बजार पनि बढेको देखिएको छ । अर्थात् यी दुईबीच बलियो सकारात्मक सहसम्बन्ध छ । २०६५/६६ मा बाहेक सार्वजनिक निष्कासनको स्वीकृति बढेको बेला बजार बढेको देखिन्छ ।

विश्वमा नै उतारचढावको स्थिति र त्यसले निर्माण गरेको उच्च मुद्रास्फीतिको अवस्थासँगै उच्च ब्याजदर, पूँजीको अभाव र मौदि्रक नीतिमा भएका केही कडाइका कारण बजार घटेको हो । यो परिस्थितिलाई लगानीकर्ताले नपत्याएको छ । पूँजीगत खर्चमा ह्रास आउनु तथा राजनीतिक अस्थिरता पनि यसका कारण हुन् ।

बजारको उतार चढावसँग सम्बिन्धत १०/११ वटा मुख्य कारकहरू छन् । त्यसमध्ये माग र आपूर्ति एउटा मात्रै फ्याक्टर हो ।

पुतलीसडकमा सारी बेच्ने व्यापारीसँग २ लाख सारी छन् । अर्थतन्त्र नराम्रो छ, उपभोग घटेको छ । त्यसो हुँदा हाम्रो २ लाख सारी बिक्री नभएसम्म बजारमा अरू सारी ल्याउन सरकारले बन्द गरिदिनुपर्यो भन्ने जस्ता बहस भइरहेका छन् । १०-१२ जना नाइकेले अब आईपीओ बन्द गर्नुस् भनेपछि सेबोनले बन्द गरेको नोटिस टाँस्नुपर्यो भन्ने किसिमका माग कतिपयले गरिरहेका छन् । तर, सेबोनको अध्यक्षका रूपमा मैले त्यसको उल्टो गर्न खोजिरहेको छु ।

प्रणालीले काम गर्नुपर्छ, हाकिम, पदाधिकारीमा तजबिजी दिनु हुँदैन । असीमित अधिकार दिनुहुँदैन । जहाँ निर्णय गर्ने अधिकारीलाई असीमित तजबिजी अधिकार दिइन्छ, त्यो समाज अगाडि बढ्नै सक्दैन । मैले चेन्ज गर्न खोजेको यही हो ।

सेबोनले चाँडो निर्णय गर्दा निजी क्षेत्रलाई कति लाभ भएको छ । दीर्घकालीन अर्थतन्त्र निर्माणमा कति टेवा पुगेको छ । पुँजी निर्माणमा, पुँजीको प्राप्तिमा, उत्पादन बढाउन कति योगदान भएको छ हेर्नुपर्यो । यसले रोजगारी बढेको छ, राज्यको कर बढाउन यसले योगदान गरेको छ । पुँजीबजार त राज्यको आर्थिक प्रणालीको प्रमुख अंग हो । सेवोनको निर्माण नै त्यसका लागि गरिएको हो ।

त्यसैले सेबोनको हाकिमलाई यति पावरफुल नबनाऔं कि उसले ६ महिना स्वीच अन-अफ गर्न सकोस् । के यो पानीको धारा हो र चाहेको बेला बन्द गर्ने र खोल्ने ?

सेयर बजारमा आपूर्ति बढेपछि माग पनि बढाउनेतर्फ सोच्नुपर्छ होला नि ?

अब माग बढाउने कुरा गर्ने हो । त्यसका लागि अनुकुल वातावरण तयार गर्नुपर्यो । लगानी गर्ने मानिसले एउटा कम्पनी हेरेर गर्ने हो । यो कम्पनी जस्तै अरू कति छन् भनेर गर्ने होइन । माग बढाउन मार्जिन-लेण्डिङ र ट्रेडिङका लागि कार्यविधि बनाउँदै छौं । अक्सनका लागि र इन्ट्राडे ट्रेडिङका लागि पहिला अध्ययन गर्ने, अब कार्यान्वयनको मोडल हेर्नेसहितका योजना बनाएका छौं । सकेसम्म तिहारअगाडि यो लागू गर्छाैं भन्ने हाम्रो विश्वास छ ।

म्युचअल फण्डमा पनि हामीले अध्ययन सकिसकेका छौं । म्युचअल फण्डमा पनि १०-१५ दिनमा ठोस निर्णय गर्दैछौं । यसले सेकेण्डरी मार्केटमा चलायमान बनाउने र डिमाण्ड ल्याउने काम गर्नेछ । अध्ययन सकिएको छ, अब बोर्डमा परिमार्जन गर्न मात्र बाँकी छ ।

त्यस्तै प्राइभेट इक्विटी फन्डका माध्यमबाट पनि दोस्रो बजार चलायमान बनाउन सकिन्छ की भन्ने हिसाबले त्यसको अध्ययन पनि अन्तिम चरणमा छ । तिहारपछि यसलाई पनि लागु गर्ने योजना छ । माग सृजनाका तीनवटा ठोस प्रणाली लागु गर्दैछौं । यसले अहिले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको मार्जिन-लेण्डिङका सीमा, कर्जाका सीमितता र असुन्तष्टीलाई पनि सम्बोधन गर्ने छ ।
हामी अध्ययन र अनुसन्धानमार्फत ल्याइएका नीतिका मार्फत वैज्ञानिक प्रणाली विकास गर्दैछौं । जसका माध्यमबाट अतिरिक्त पूँजीको मार्ग निर्माण गर्छौं । हामीले तीन महिना अगाडिदेखि यसमा काम गरिसकेका छौं । हामी आफैंले अध्ययन गरिरहेका छौं । तर, कसैले चरित्रमाथि औंला नउठाओस्, यो म चेतावनी दिन चाहन्छु ।

आवश्यकता र औचित्य नहेरी निरन्तर हकप्रद (राइट) सेयर इस्यू गरेर पनि सप्लाई बढाइयो भन्ने आरोप छ नि ?

राइट सेयरको विषयमा हामीले पनि अनुसन्धान गर्दैछौं । यो घोषणा गरेपछि मप्रति आक्रमण बढेको छ । बजारका ठूला माछा तर्सेका छन् । मेरो काम गर्ने प्रणाली, मेरो काम गर्ने तरिका र काम गर्दा शून्य सहनशीलताको नीतिका कारण धेरै मानिस आत्तिएका छन् । उनीहरूको घेराबन्दीले केही फरक पर्नेवाला छैन ।

यहाँ तपाईंलाई थाहा छ, मलाई थाहा छ, व्यवसाय र अर्थतन्त्र सामान्य मात्रै बुझेका मानिसलाई थाहा छ, राइट सेयर कमजोर पूँजीको अवस्था भएको कम्पनीले इस्यू गर्ने हो । बलियो कम्पनीले त लाभांश दिन्छ नि । राइट इस्यू गरेपछि सेयरको मूल्य घट्छ । हामीले सबैले पढेको फाइनान्सले यही भन्छ । कि नेपालका लागि अलग किताब लेखौं । तर, नेपालमा सधैँ राइट सेयर इस्यु गर्दा किन मूल्य बढाइन्छ ? हामी यो अनुसन्धान गर्दैछौं ।

अहिले १० जना ट्रेडरले शेयर बजारमा धेरै ठूलो ‘ग्याम्बलिङ’ गर्न खोजेका थिए, तर तिनले बिक्री गर्न सकेनन् । यिनै १० जनाको लागि मात्रै देशले नीति ल्याउने हो भने त बर्बाद हुन्छ ।

नियामक निकाय सक्षम भइदिएको भए, पहिलोपटक राइट आउने क्रममा मूल्य बढ्दा अनुसन्धान हुने थियो । त्यति बेला ठाउँको ठाउँ कारवाही भएको भए आज यो दिन आउँदैनथ्यो । यो द्विविधा पनि हुने थिएन ।

तर, हामी उल्टो दिशामा गइरहेका छौं । अब के कमजोर कम्पनीले अगाडि बढ्नै नपाउने ? त्यो कम्पनी बन्द हुनुपर्ने ? साधारणसभामा ७५ प्रतिशतभन्दा बढी सेयरधनीले पारित गरेपछि मात्रै हकप्रद जारी गर्न पाइन्छ ।

कम्पनीका मालिकहरूले हाम्रो अहिलेको स्थिति कमजोर छ, यसको मतलव भोलि कमजोर हुन्छ भन्ने होइन, हामीले नै थप लगानी गरेर कम्पनीलाई स्थापित गर्न सक्छौं भन्ने सहमतिका आधारमा हकप्रद आउने हो । यो लगानीकर्ताको मौलिक अधिकार हो ।

७५ प्रतिशत सेयर होल्डरले सहमति दिएको, एजीएमबाट पास भएको दस्तावेजमा पनि अस्वीकार गर्न पाइन्छ ? भर्न मन नलाग्ने मानिसले नभर्न सक्छ । त्यसलाई अक्सन गरिन्छ ।

त्यति हुँदाहुँदै पनि हामीले हाइड्रो क्षेत्रमा अध्ययन नै गरेर राइट सेयरमा केही नियन्त्रण गर्ने किसिमको नीति ल्याएका छौं । अन्तर्राष्ट्रिय प्रणाली अनुसार यो पनि नगर्नुपर्ने हो ।

तर, हाइड्रोपावर क्षेत्र टाइम वाउण्ड प्रोजेक्ट भएको हुनाले त्यो केसमा केही न केही कन्ट्रोल गर्नुपर्छ भनेर हालै इपानसँग सम्झौता गरेका छौं । त्यो व्यवस्था लागू पनि गरिसकेका छौं ।

त्यसो भए राइट शेयरको नाममा जुनजुन कम्पनीको मूल्य बढेको थियो, तीमाथि अनुसन्धान हुँदैछ ?

राइट शेयर भएकोमा कसरी बढाइयो, मुख्यगरी लगानीकर्ता को थिए, यसबाट कसकसले लाभ पाए- अनुसन्धानका विषयहरू त्यही हुन्छन् । निर्णयहरू कसरी भएका थिए, कोको संग्लन थिए भन्ने विषय हेरिन्छ ।

तपाईंले लामो समय रोकिएको ब्रोकर लाइसेन्स वितरण गर्नुभयो ? त्यो बेला पनि धेरै अवरोध आए, ठूला विवाद भए, तपाईंमाथि पनि प्रश्न उठेको छ नि ?

त्यस विषयमा धेरै प्रश्न उठेजस्तो लाग्दैन । त्यसमा त बरु प्रशंसा नै भएको जस्तो लाग्छ । ब्रोकरको लाइसेन्सको एउटा प्रणाली बनाउन मैले संघर्ष गर्नुपर्यो । यसमा कोटा सिस्टम खारेज गरेर खुला प्रणाली अपनाइयो, सबैले अधिकार पाउनुपर्छ । सबै व्यवसायमा सबैको पहुँच हुनुपर्छ भन्ने सिद्धान्तमा काम गरियो ।

तर, त्यसमा पनि हामीलाई अवरोध भयो । त्यो अवरोध हट्यो अहिले लागु भइसक्यो । तर, यो काममा पनि जसरी अवरोध गरियो, त्यसले मलाई निराश बनाएको छ ।

म २० वर्ष विदेश बसेर फर्केको हुँ । लगानीको दायरा फराकिलो गरौं भनेर म नेपाल र्फकेर आएँ । तर, हाम्रो समाजमा जुन किसिमको सोचाइको प्रभुत्व छ, त्यसले रूपान्तरण हुँदैन । संसारका अरू समाज अघि बढिरहेका छन्, हाम्रो ब्याकवार्ड भइरहेको छ । केही त्रुटि भएको छ भने सच्याउन सकिन्छ, टेबुलमा बसेर वार्ता गर्न सकिन्छ । यहाँ त सिधै चरित्र हत्या (क्यारेक्टर एसासिनेसन) गर्ने परम्परा छ । स्टक ब्रोकरकै लाइसेन्सको सन्दर्भमा मैले जे गरेँ, त्यसभन्दा राम्रो प्रणाली र प्रविधि देखाइदिनुस् न ।

मार्जिन ट्रेडिङको विषय लामो समयदेखि बहसमा छ । तर, त्यो अहिलेसम्म पनि शुरु हुन सकेन, किन हो ?

पहिलाका केही अध्ययनले कानून नै संशोधन गर्नुपर्ने पनि देखाएका छन् । अहिले नै कानुन संशोधन गर्न सकिँदैन । त्यसैले हामीले पुँजीको आधारमा मार्जिन ट्रेडिङका लागि विशेष अवस्था सिर्जना गर्न सक्छौं कि भनेर तयारी गरिरहेका छौं । राष्ट्र बैंक, नेपाल बैंकर्स संघसँग पनि मिलेर हामी समाधान खोजिरहेका छौं ।

कानुन संशोधन हुनु अगाडि नै अहिलेकै प्रणालीमा कमसेकम केही सुधार होस् भनेर हामी लागिरहेका छौं ।

धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरू धेरैवटा आएका छन्, आउँदै पनि छन् । तर, तिनको बलियो नियामक छैन । त्यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ठगिने समस्या बढी देखिएको छ । लगानीकर्ताको संरक्षणमा बोर्डले के सोचिरहेको छ ?

असाध्यै महत्वपूर्ण कुरा उठाउनुभयो । ठोस प्राणलीको विकास र पारदर्शी पुँजीबजारको कुरा गर्दा यो असाध्यै महत्वपूर्ण विषय हो । वास्तविक क्षेत्रका कम्पनीको बलियो नियामक निकाय छैन, भएका निकाय पनि प्रभावकारी छैनन् । यो हाम्रो चिन्ताको विषय हो ।

त्यसमा सुधार गर्न हामीले ३-४ वटा कुरामा त तत्काल सुधारका काम गर्दैछौं । पहिलो दक्षता र विशेषज्ञता भएका स्वतन्त्र सञ्चालकहरू पठाएर कम्पनीहरूको अनुगमन, नियमन गर्न खोज्दैछौं । स्वतन्त्र सञ्चालकहरूको योग्यता, वाषिर्क स्टान्डर्ड रिर्पोटिङ फर्म्याट विकास गरेर लागू गर्दै छौं । यो अन्तराष्ट्रिय अभ्यासअनुरूपकै हुन्छ ।

दोस्रो हामी कम्पनीहरूको डिस्क्लोजरहरूलाई सुधार गरेर आइक्यानको स्ट्यान्डर्ड रिपोर्टिङ फर्म्याटमा परिस्कृत गराउँदै छौं । त्यसको काम भइसकेको छ । चाँडोभन्दा चाँडो बोर्डबाट पास गरेर लागु गर्दै छौं । थप नियमनका लागि सबै नियमावलीहरूमा केही न केही सुधार गर्नैपर्छ । त्यसमा हामी विश्व बैंकसँग सहकार्य गरिरहेका छौं । उनीहरूसँगको सहकार्यमा बनाएको दस्तावेज अर्थ मन्त्रालयमा पठाएका छौं ।

यो कार्यकाल तपाईंले सपना देखेको तर गर्न नसकेको कुरा के हो ?

पहिलो कुरा त सेबोनलाई पूर्ण डिजिटल प्रणालीमा लैजाने काम गर्न बाँकी छ । यसमा केही जग बसेको छ । अर्को हाम्रो नियमनकारी क्षमतामा उल्लेखनीय प्रगति गर्नुपर्यो । आइपीओ प्रणाली भारत र सिङ्गापुरको तहको बनाउनु पर्यो । पुँजी बजारको प्रणालीलाई बैकिङ प्रणालीजस्तै बलियो रूपमा विकास गर्नुपर्यो । अहिले १० जना ट्रेडरले शेयर बजारमा धेरै ठूलो ‘ग्याम्बलिङ’ गर्न खोजेका थिए, तर तिनले बिक्री गर्न सकेनन् । यिनै १० जनाको लागि मात्रै देशले नीति ल्याउने हो भने त बर्बाद हुन्छ । यो सबै कुरा एउटा प्रणालीमा हुनुपर्यो, जसले लगानीकर्ताको हित गर्छ ।

तपाईंले कार्यकाल दोहोर्याउन खोजेको हो ?

मैले सार्वजनिक कार्यक्रममै भनेको छु- म दोहोरिन चाहन्न । तर, बजार र निजी क्षेत्रले तपाईं थप २ वर्ष बस्नुपर्छ भन्नु भएको छ । अर्को जमात फेरि यसलाई जसरी पनि अहिल्यै छोडाउनुपर्छ भनेर लागेको छ । अब परिस्थिति कसरी विकास हुन्छ, त्यो पनि हेरौं । म बसेर यो प्रणाली विकास हुन्छ भने म अगाडि बढ्छु र सरकारले पनि साथ दिनुपर्‍यो ।
तर, सबैखाले संरचना तयार हुनुपर्यो । धितोपत्र बोर्ड स्वायत्त निकाय बन्नुपर्यो ।

तर, मैले अहिले इमानदारीसाथ भन्छु- मैले दोहोर्याउने सोचेको छैन । त्यही भएर पछिल्लो ३ महिनादेखि हामी पाँचवटा प्रोटोकल निर्माणमा काम गरिरहेका छौं । मैले सरकारसँग गरेको बाचाअनुसारको काम गरिरहेको छु । म मेरो काममा दृढ छु । मैले दोधारे तरिकाबाट काम गरेको छैन । मैले कुनै समूहका लागि काम गरेको छैन ।

भिडियो/तस्वीरः विकास श्रेष्ठ/शंकर गिरी



source https://www.onlinekhabar.com/2023/10/1382064

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More