Monday, 23 October 2023

अक्टोबर, पारिजात र प्रेम

अक्टोबर। धेरै पहिला यो फिल्म हेरेको थिएँ। त्यो बरुण धवनको सम्झनलायक थोरै फिल्ममध्ये एउटा थियो। मैले पनि आज सम्झिएँ।

‘त्यहाँ बस गर्जियो। अनि मान्छेहरू घर जान्छन्। अक्टोबरमा सबै जना घर जान्छन्।’

यो वाक्यहरू मैले सम्झिएँ। कारण, अक्टोबर लागेको छ र म पनि घर जाने तरखरमा छु। मान्छेहरू भन्छन्- दशैं लाग्यो। पहिला पहिला दशैंको उत्साह नै बेग्लै हुन्थ्यो । आजभोलि दशैंमा खासै रुचि लाग्दैन या भनौं दशैं पहिला जस्तो रुचिकर छैन। मलाई आभास हुन्छ- जति म उमेरका सिंढी चढ्दै जान्छु, उति नै मेरो मुटु रिक्त/मृत पाउँछु।

काठमाडौं भीडभाडमा अभ्यस्त शहर हो। तर जसै अक्टोबर लाग्छ, काठमाडौं पनि थोरै डराउँछ। त्यतिबेला काठमाडौंमा म जस्ता घर हिंड्ने लाखौँ हुन्छन्। केही महिनाको लागि काठमाडौं न्यास्रिन्छ ।

लेख्ने मान्छेले साँचो बोल्नुपर्छ। कमसेकम ढाँट्नुहुँदैन। नढाँटीकन भनुँ भने मलाई घरले उतिसाह्रो आकर्षित गरेको छैन। हुनसक्छ- आफ्नै विवशताभित्र अनुबन्धित छु। तर के गर्ने, अक्टोबरमा चाडपर्वका भीड लाइन लागेर उभिएका हुन्छन्। त्यही भीडको ठेलमठेलले मलाई धक्का मारिरहेको छ। अनि म घिस्रिरहेछु घरतिर।

बस पर्खिरहेको छु।

सुगमजीको कल आउँछ- “कहाँ छौ मिस्टर फकिर?”

“बसपार्कमै”- म जवाफ फर्काउँछु।

सुगम र म सँगै पढेको। उसले बीचमै पढाइ छोड्यो। बीचमै भन्नाले १० क्लासपछि। अनि उसले गाडीमा सहचालकको काम गर्यो। केही समयपछि उ बढुवा भएर चालकको पोस्टमा बाजी मार्यो।

सडकमा सुतिरहेको धूलोलाई सबैतिर उडाउँदै बस आइपुग्यो। म प्रस्थान गर्छु। प्रिय काठमाडौं, बिदा।

“फकिर! तिहार मानेर गइन्छ हैन त”- उसको ओंठमा त्यहीं पुरानो तर सदाबहार हाँसो टाँसिएको देख्छु। म हाँस्दै उसको वचनलाई स्वीकृति दिन्छु।

फकिर शब्दसँग मेरा पुराना स्मृतिहरू छन्। कुनै समयमा मलाज्ञ ‘स्टोइसिजम’ विचारले प्रभावित गरेको थियो। म सोच्थें- मेरो जीवन फकिर भएर बित्छ। अनि मलाई सुगम लगायतका सम्पूर्ण मित्रहरूले फकिर नामले पुकार्थे। यद्यपि अहिले त्यो फकिरगिरीको भूत त्यो किस्सा जस्तै पुरानो भइसक्यो। विस्मृतिको कुनै कोठामा बन्द किस्सा जस्तो।

सुनेको छु- फकिरको कुनै घर हुँदैन, सारा संसार नै उसको घर हो। म आजसम्म त्यो कुरा मान्छु। तर ममा एउटा अभाव भइदियो। त्यो के भने- मेरो मन कहीं पनि रमेन, कुनै पनि स्थान मेरो अनुकूलको लागेन।

आफूलाई फकिर पनि भन्न रुचाउने तर कहीं पनि रमाउन नसक्ने। फकिर भएपछि त सबतिर रमाउँदै हिंड्नुपर्ने। मान्छे कस्ता कस्ता विपरीत विचार र संवेदनामा बाँधिएको हुन्छ! आफूलाई अपूर्व भनेर चित्रित गर्न खोजे पनि अन्त्यमा अरु जस्तै अपूर्ण लाग्छ आफ्नो चित्र।

के यो प्रश्न गरिरहनुपर्ने विषय हो र? यो त केवल बाँच्ने कुरा हो, अपूर्णतामै सही। यदि सम्पूर्ण भएर बाँच्ने हो भने कुन उद्देश्य प्राप्तिको लागि बाँच्ने? बाँच्नु नै निष्प्रयोजनीय हुन जान्छ, एकदम व्यर्थ क्रिया।

म कहाँ पुगिसकें, मलाई थाहा छैन तैपनि टाढा पुगे भन्ने चाहिं थाहा छ। मलाई ठाउँको नाम जान्नुमा कुनै उत्साह छैन। ठाउँहरू यति सुन्दर/कुरूप हुन्छन् कि एउटा सानो नाम त्यस ठाउँलाई परिभाषित गर्न अयोग्य ठहरिन्छ। अनाम ठाउँहरू हेर्दै यात्रारत छु। यो सुतेको सडकले मेरो यात्रा र आँखाहरुलाई कुशलतापूर्वक डोर्‍याइरहेका छन्।

यतिबेला मेरो ब्यागमा ‘शिरीषको फूल’ अथवा ‘परिभाषित आँखा’ भइदिएको भए ! म थक् थक् मान्छु। अचानक एउटा बिल्कुल नवीन भावनाले व्याकुल हुन्छु म। म कामना गर्छु- मलाई पनि त्यस्तै मृत्युले पर्खेर बसिरहोस्

बस एकछिन रोकिंदा मैले पारिजातको रूख देखें। एउटा घरको चौघेराभित्र बन्दी भएर फुलेको थियो। मैले फेरि अक्टोबर फिल्म सम्झिएँ। अक्टोबर फिल्मको मर्मलाई कुनै कुराले अर्थ्याएको छ भने त्यो कुरा हो- पारिजातको फूल (सिउली फ्लावर)। पारिजातको फूल माने नि:शर्त प्रेम। म, शायद कुनै डार्क क्यारेक्टरलाई किन हो पारिजातको फूलले ज्यादै संवेदनशील बनाउँछ।

पारिजातहरू रातभरि फुल्छन्, बिहानै झर्छन्। कस्तो अदृश्य सौन्दर्य, कस्तो अस्पृश्य सौरभ। त्यस्तो सौन्दर्य जो मानिसहरूको विषाक्त दृष्टिबाट जोगिएको छ, मानिसले प्रदान गर्ने खोक्रो उपमाको विभूषणबाट असम्पृक्त छ, कस्तो चोखो सौन्दर्य। मानिस जातिको दिमाग र हातबाट दूषित हुन नसकेका सीमित कुराभित्र पर्छ- पारिजात।

आधारभूत रूपमा, हामी सबै पारिजात हौं। पारिजातको जीवन हाम्रो पनि स्वाभाविक स्थिति हो। हामी पनि मर्न सक्थ्यौं त्यस्तो दागहीन मृत्यु। हामी पनि फुल्न सक्थ्यौं, चोखो जिन्दगी। तर हामी… हुन सकेनौं। केवल गुनासो गरिराख्यौं अक्टोबरसँग, किन तिम्रो आगमन हाम्रो मृत्यु बनेर आउँछ भन्दै। अनि बिर्सियौं कति सफल थियो हाम्रो मृत्यु।

मलाई फेरि अर्को स्मृतिदंशको विष लाग्यो।

मङ्सिर-पुस यस्तै कुनै जाडो याममा क्याम्पसको ग्राउन्डमा हामी घामको पर्खाइमा थियौं। बिहानको सुन्तले रङको धमिलो धमिलो घामको वरिपरि गुजुधुम्म बादल हिंडिरहेका थिए मानौं कि उनीहरू घामको स्थूलतामाथि आवृत्ति गर्न कार्यरत छन्।

जाडोले हात कमाइरहेको थियो। दाँतको किटकिट मात्र त्यहाँको सन्नाटा चिर्न अपर्याप्त थियो।

‘What is love ?’ साथी नं १ ले चस्मा मिलाउँदै त्यहाँको सन्नाटालाई हटाउने बाटो खोले।

मलाई यो प्रश्नको उत्तर दिन आएन। अथवा मलाई उत्तर भन्न मन थियो तर उपयुक्त शब्द नभेटेर निरुत्तर थन्किएँ।

‘the most powerful feeling… you may say a mother feeling through which all feelings have been born.’

‘love? The thing that makes us weak. Even the discussion regarding this.’

हामी एक लहर हाँस्यौं।

यस्तै यस्तै केही contrasting उत्तरहरूको बिस्कुन मधुरो घाममा फिजिन्छ।

त्यो प्रश्नः अहिले कसैले सोधेको भए म निस्फिक्री उत्तर दिन्थे- “Love भनेको पारिजात हो। जसको सजीव सुन्दरताबाट बेखबर हुन्छ मान्छे, जसको सुगन्धको साक्षात्कार गर्न असफल हुन्छ मान्छे। यद्यपि उसलाई थाहा छ- त्यो सुन्दरता अव्याख्येय छ र त्यो समयमा मात्र महकिन्छ जसलाई मानिस अन्धकार भनेर चिन्दछ। जसै मान्छेको आँखाले पारिजातलाई नियाल्न खोज्छ (परिभाषित गर्न खोज्छ), त्यो खुत्रुक्क झर्छ। ब्रो, लभ भनेको त्यही हो जसलाई तिमीले आजसम्म छुनसकेको छैनौं, व्यक्त गर्न सकेको छैनौं र गर्न सक्ने पनि छैनौं।”

म अझै पनि अचम्मित छु, तिनीहरू पारिजातलाई बिर्सिएर कसरी प्रेमको कुरा गर्न सकेका थिए। प्रेम पारिजात जस्तो भएन भने त्यो अपराध हुँदैन र? यस्तो उत्तर यसका अनुभवीहरूलाई नै छोडिदियौं तर आफ्नै दृष्टिकोण र परिभाषाबाट आफैं प्रताडित हुनुभन्दा पर तिनीहरूले बुझेको प्रेमको के सामर्थ्य थियो होला?

प्रिय अपरिचित स्थान!

पारिजात भन्ने बित्तिकै अर्को पारिजात सम्झिन्छु। म मात्र हैन, जसले पारिजातको अक्षरहरूको अक्षयतालाई बुझेका छन् वा बुझ्न प्रयत्नरत छन्, उनीहरूले नि सम्झिएका छन्। ती मानिसहरू जसले पारिजातलाई धेरथोर बुझेका छन्, उनीसँग समय बिताएका छन्, उनीहरूले पारिजातको जीवनलाई दुःख, पीडा र निस्सारताका आभूषणले सजाउने गरेका छन्। पारिजात स्वयंले पनि आफ्नो जीवनलाई त्यसभन्दा माथि, त्यसभन्दा भिन्न आभूषणमा सजाउन चाहिनन् होला। तर हाम्रो लागि त्यो बिल्कुल विपरीत भएको छ। यसमा सत्यता पनि होला- उनको जीवन शून्य थियो होला, निस्सारतामै व्यतीत भयो होला (अरूको पनि जीवन त त्यस्तै नै हो फरक यति हो पारिजातले यो जीवनको गूढ चाँडै थाहा पाइन्) तर उनको जीवनको सुगन्ध र सौन्दर्य कालजयी थिएनन् र? के उनको मृत्यु सुन्दर थिएन र? म निश्चिन्त छु, बेहद सुन्दर मृत्यु थियो पारिजातको।

उनको मृत्यु हेर्ने सौभाग्य पाएको कुनै देहातले प्रति प्रश्न गर्न सक्ला- “उनको मृत्युले कतिको आँखा अश्रुपूर्णाकूल थियो होला, ख्याल गरेका छौ?

“ती आँसु होइनन्। ती आत्मसन्तुष्टिका फूल हुन्, आँखाको डिलमा फुलेका।”

के पारिजात रिसाउने थिइनन् यदि उनी जीवित भएको बखत यस्तो उत्तर सुनेको भए? रिसाउने थिइनन् होला- लख काट्छु। आँसुलाई पारिजातका चस्माले अर्कै तरिकाले अर्थ्याउने थियो- यति विश्वास राख्ने ठाउँ छ।

मेरो विश्वासमा पारिजात भनेको पारिजातकै फूल थिइन्। कसैले नदेख्ने गरी फुलिन्, जसै बिहानीले चुम्बन गर्यो.. झरिन्। पराजितहरू मात्र पारिजातको मृत्युमा रून जान्दछन्। आँसुको के गल्ती थियो र? ऊ त फूल बनेर आएको थियो, तिमीलाई पोलिरहने तेजाब झैं लाग्यो भने मलाई भन्नु केही छैन।

यतिबेला मेरो ब्यागमा ‘शिरीषको फूल’ अथवा ‘परिभाषित आँखा’ भइदिएको भए ! म थक् थक् मान्छु। अचानक एउटा बिल्कुल नवीन भावनाले व्याकुल हुन्छु म। म कामना गर्छु- मलाई पनि त्यस्तै मृत्युले पर्खेर बसिरहोस्।

पारिजातको जस्तो मृत्यु । प्रेम जस्तो मृत्यु । अर्को कुनै अक्टोबरमा । अनुहारको भावना पनि पढ्न नसकिने खालको मधुरो साँझमा म तंग्रिने छु, रक्तिम घामले क्षितिजमा आत्महत्या गरेपछि म रातभर फक्रिने छु, अनि त्यही मृत घामको पुनर्जन्मसँगै म मर्ने छु। हुनसक्छ- अन्तिम पटक मर्ने छु।

“कहाँ टोलाइरहेको? खाना खान झर्ने हैन फकिरजी” म तर्सिएँ।

सुगमजी हुनुहुन्थ्यो उही पुरानो तर सदाबहार हाँसो टाँसिएको ओंठ सहित।

“आजै र राति के देखें सपना, मै मरी गएको

बतास विना हाँगाको फूल झैं झरी गएको।

बसमा यस्तो गीत कहिल्यै बज्दैन। आज बजेको भए म धन्य हुनेथिएँ।

मनमनै आफ्ना शब्दहरू (रहरहरू) सँग रमाएँ। बतास विनै झर्ने हाँगाको फूल अर्थात् पारिजात अर्थात् मैले हुन चाहेको म।



source https://www.onlinekhabar.com/2023/10/1384383

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More