Sunday 15 October 2023

जनतालाई साझेदार बनाउँदै देशकै ठूलो जगदम्बा स्टिल्स

२९ असोज, काठमाडौं । नेपालमा पहिलेदेखि नै फलामे छड कारखानाहरु भए पनि पूर्वाधार परियोजना प्रयोग हुने स्टील नेपालमा उत्पादन हुँदैनथ्यो । ठूला निर्माणका लागि आवश्यक स्टीलमा आयातको भर पर्नुपर्थ्यो । शंकरलाल अग्रवालले त्यहाँ अवसर देखे र ०५१ सालमा बाराको सिमरामा जगदम्बा स्टिल्स प्रालि स्थापना गरे । स्थापना कालमा यो उद्योगले दैनिक ५० मेट्रिक टन सीआरटी बार स्टिल्स उत्पादन गर्थ्यो ।

तर, यो ३० वर्षमा शंकरलालले सुरु गरेको त्यो सानो फ्याक्ट्री, अहिले दक्षिण एसियाकै सबैभन्दा ठूलोमध्येको स्टिल कारखाना बनेको छ, देशकै शान बन्न सफल भएको छ । विभिन्न १४ प्रकारका स्टिल्स उत्पादन गर्ने फ्याक्ट्रीको क्षमता दैनिक ३ हजार मेट्रिकटन पुगेको छ । सरकारलाई सबैभन्दा धेरै कर तिर्ने उद्योग बन्न सफल भएको छ । नेपालबाट पहिलोपटक स्टिल्स निर्यात गर्ने इतिहास पनि यसले बनाएको छ । धेरै रोजगारी सृजना गर्ने मात्रै होइन, सबैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगको कीर्तिमान पनि जगदम्बाकै नाममा छ ।

एकै वर्ष आव २०७७/७८ मा करिब ५० अर्ब (४९ अर्ब ७४ करोड) रुपैयाँ सञ्चालन आय गरेको यो उद्योगले गत वर्ष मुलुकमा आन्तरिक मागमा अत्यन्तै ठूलो गिराउट आउँदा पनि ४० अर्ब सञ्चालन आम्दानी हासिल गरेको छ ।

देशकै सबैभन्दा अत्याधुनिक र ठूलो स्टिल्स उद्योग अब सर्वसाधारणलाई यो सफलताको साझेदार बनाउँदै छ । यसअघि नै प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको यो कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्न असोज १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

जगदम्बाको ३० वर्षे गौरवपूर्ण यात्रा

आजभन्दा ठ्याक्कै ३० वर्षअघि १५ असोज २०५० मा जगदम्बा स्टिल्स प्रालिका रुपमा यो उद्योग दर्ता भएको थियो । २०७९ असार ३० गते यो कम्पनी जगदम्बा स्टिल्स लिमिटेडमा बदलियो । अर्थात्, यो कम्पनीले सर्वसाधारणमा साधारण सेयर वितरण गर्न सक्ने बन्यो ।

स्थापना हुँदा दैनिक ५० मेट्रिक टन स्टिल्स उत्पादन थालेको उद्योगले दोस्रो वर्षमै स्टिल्स मिललाई थप स्तरीकृत गरेर क्षमता दोब्बर बनाएको थियो । म्यानुअल रोलिङबाट सेमी अटोमेटिक रोलिङ मिलमा परिणत भएपछि कम्पनीको उत्पादन दैनिक एक सय मेट्रिकटन पुगेको थियो ।

सोही वर्षबाट कम्पनीले तार, किलाकाँटी र एचबी वायर उत्पादन सुरु गरेको थियो । २०५५ सालमा कम्पनीका उत्पादनले नेपाल गुणस्तर सर्टिफिकेट एफई ४१५ ग्रेट टीएमटी रेबारमा प्राप्त गरेका थिए । २०५७ सालमा मेल्टशप स्थापना गर्‍यो, जसको दैनिक उत्पादन क्षमता ५० मेट्रिकटन प्रतिदिन थियो ।

कम्पनीले २०६० सालमा थर्मेक्स टीएमटी रेबार उत्पादन सुरु गर्‍यो । सोही वर्ष उद्योगले मेल्ट सपको क्षमतालाई तीन गुणा बढाएर १५० मेट्रिकटन प्रतिदिन पुर्‍यायो । २०६१ सालमा कम्पनी तार उत्पादनमा नेपालको एक नम्बर कम्पनी बन्यो, जसको दैनिक उत्पादन क्षमता प्रतिदिन ५० मेट्रिकटन थियो । सोही साल उद्योगले टोर्कारी र प्यानेल पिन उत्पादन सुरु गर्‍यो ।

२०६५ सालमा कम्पनीले आफ्नो उद्योगमा एड्भान्स प्रकृतिको स्ट्रक्चरल्स मिल भित्र्याएर स्ट्रक्चरको उत्पादन सुरु गर्‍यो । सोही साल उद्योगले क्रसकन्ट्री मिल स्थापना गर्‍यो, जसको दैनिक उत्पादन क्षमता ५० मेट्रिकटन थियो । मेल्टसपबाट उत्पादन हुने सीआरटी र टीएमटी स्टीलको उत्पादन क्षमता दैनिक २०० मेट्रिकटन पुग्यो । त्यसको एक वर्षमा नै नेपालको पहिलो र एकमात्र अटोमेटिक मर्चेन्ट मिल र पूर्ण रुपमा कम्प्यूटरमा आधारित गुणस्तर परीक्षण ल्याब कम्पनीले भित्र्यायो ।

सोही साल कम्पनीले प्राइम बिलेट उत्पादन गर्न अत्याधुनिक मेल्टसप लगायो, जसको दैनिक क्षमता ४०० सय मेट्रिकटन थियो । त्यस्तै, एंगल, गार्टर, सेक्सन तथा जीआई तारहरु पनि उत्पादन सुरु भयो ।

एकपछि अर्को सफलताको खुड्किलो उक्लिरहेको जगदम्बाले २०६६ सालमा गुणस्तरका सन्दर्भमा दुईवटा सफलता हासिल गर्‍यो । अन्तर्राष्ट्रिय सर्टिफिकेसन सर्भिसेस प्रालिले जगदम्बालाई गुणस्तर व्यवस्थापन प्रणाली ‘आइएसओ ९००१ः२००८’ बाट सम्मान गर्‍यो । सोही वर्ष कम्पनीको उत्पादन एफई ५०० (जगदम्बा ई टीएमटी रेबार) ले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्‍यो ।

२०७१ सालमा नेपालमा पहिलो पटक जगदम्बाका दुई उत्पादन एफई ५०० (जगदम्बा ई टीएमटी रेबार) र एफई ५०० डी ग्रान्डी रेबार (राइनो एफई ५०० डी टीएमटी रेबार) ले नेपाल र भारतीय गुणस्तर ब्यूरो (बीआईएस) बाट पनि गुणस्तर चिह्न प्राप्त गर्‍यो । २०७२ सालमा कम्पनीले प्रदूषण नियन्त्रणका लागि नेपालमै पहिलो पटक नयाँ प्रविधि जडान गर्‍यो ।

भौतिक निर्माणमा प्रयोग हुने स्टिल्स र बिलेटमा सोही वर्ष बीएसआईबाट आईएसआई चिह्न प्राप्त गर्‍यो । जगदम्बाको उच्च भार क्षमताको एफई ५०० डी ग्रेड रेबारले २०७२ सालमा नेपाल गुणस्तर प्रमाण चिह्न २०१५ प्राप्त गर्‍यो ।

२०७७ सालमा जगदम्बाले नेपालमा पहिलोपटक पूर्ण अटोमेटिक ग्याल्भालुम लाइन टेक्नोलोजी प्लान्ट भित्र्यायो । यो वर्ष कम्पनीले नेपालबाट पहिलोपटक दक्षिणपूर्वी मुलुक, मध्यपूर्व र श्रीलंकामा सीआर सीट निर्यात गर्न सफल भयो । कम्पनीले यसै वर्ष कलर कोटेड सीट तथा क्वायलहरु रोमानिया, इटालीलगायतका मुलुकमा निर्यात गर्‍यो । मुलुक आर्थिक मन्दीले उत्पादनमूलक उद्योगको खपत कम भइरहेको बेला पनि कम्पनीले जर्मनी, भारतलगायतका मुलुकमा ठूलो निर्यात गरिरहेको कम्पनीका अध्यक्ष शाहील अग्रवाल बताउँछन् ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १६ हजार ८८० मेट्रिक टन निर्यात गरेको थियो । ‘गत आर्थिक वर्षमा करिब १० अर्बको स्टिल निर्यात गर्न सफल भयौं,’ उनले भने । चालु आर्थिक वर्षमा पनि उत्साहजनक निर्यात भइरहेको उनले बताए ।

भारतमा १ लाख टन र तेस्रो मुलुकमा २५ हजार टन कोल्ड रोल्ड उत्पादनहरु निर्यात गर्ने लक्ष्य राखेको अग्रवाल बताउँछन् । सबै किसिमका स्टिल उत्पादन गर्ने अग्रणी यो कम्पनी २०७९ मा आएर भने पब्लिक कम्पनीमा रुपान्तरण भयो ।

जगदम्बा स्टिल्सका उत्पादन

जगदम्बा स्टिल्सले अहिले बजारमा आफ्नो एकदर्जन हाराहारी विभिन्न उत्पादनहरु उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । टीएमटी स्टिल्स, एमएस स्टक्चरल, एमएस च्यानल, एच बीम, फ्ल्याट, जीआई वायर, बार्बेड वायर,ग्याबिन बक्ब्स, एचआर एण्ड सीआर सिट, टोर्कारी रोड, प्लेन राउण्ड एण्ड स्क्वायर रोड्स र कट एण्ड बेण्ड जगदम्बाका उत्पादन हुन् ।

यस्तै, कम्पनीले प्रमियम अल्मुनियम जन्क कलर कोटेड कोइल्स, जगदम्बा सुपर साइन एण्ड नर्मल अल्मुनियम जिन्क कोटेड सिट र कोइल, जगदम्बा ग्याल्भा प्लस उत्पादन बजारमा पठाइरहेको जनाएको छ । जगदम्बा ग्याल्भालाईन प्लसले तीन वटा अन्तराष्ट्रिय गुणस्तर प्रमाण चिह्न पाएको छ ।

७९ परियोजनामा ६० लाख टन स्टिल्स खपत

जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो उद्योग हो । हालसम्म देशभर ७९ वटा ठूला परियोजनामा ६० लाख टन स्टिल्स यही कम्पनीको प्रयोग भएको छ ।

घर तथा अपार्टमेन्ट र जलविद्युतका ९–९, निजी सम्पत्ति तथा अस्पताल र फ्याक्ट्रीका १४ तथा ४७ वटा सरकारी परियोजनामा जगदम्बाको स्टिल्स प्रयोग भएको कम्पनीले जनाएको छ । कम्पनीमा अहिले ३ हजार ५ सय जनाले रोजगारी पाएका छन् ।

बजारको एक तिहाइभन्दा बढी हिस्सा जगदम्बासँग

नेपालकै ठूलो कम्पनी जगदम्बाले कुल स्टिल्स उद्योग बजारको ३५ प्रतिशत हिस्सा ओगट्छ । पछिल्लो १५ वर्षदेखि सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगको पहिचान पनि जगदम्बासँगै छ ।

उद्योगको पछिल्लो विवरणअनुसार प्रतिमहिना २० करोड रुपैयाँ विद्युत् महसुल भुक्तानी गर्छ । गत वर्ष मात्रै कम्पनीले सरकारलाई ६ अर्ब ३५ करोड रुपैयाँ कर तिरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा १० करोड ६ लाख आयकर तिरेको कम्पनीले सो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ भ्याट संकलन गरेको थियो । यस्तै, एक अर्ब ४१ करोड २५ लाख रुपैयाँभन्दा धेरै रकम भन्सार शुल्क सरकारलाई बुझाएको थियो ।

जगदम्बाले भविष्यमा नेपालकै खानीबाट फलामको धाउ निकाल्ने र त्यसबाट स्टील उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसले स्टिल उत्पादनको कच्चा पदार्थ विदेशबाट आयात गर्ने बाध्यतालाई कम गर्ने उद्देश्यका साथै कम्पनीले यसो गर्न लागेको जनाएको छ । त्यति मात्रै होइन, स्वदेशमै कच्चा पदार्थ पाइयो भने मुलुकको विदेशी मुद्राको खर्च पनि कम हुनेछ । ‘त्यसका लागि फूलचोकीको फलाम खानीको अनुमति खानी तथा भूगर्भ विभागबाट लिए पनि अदालतको आदेशका कारण काम शुरु गर्न सकेका छैनौं,’ कम्पनीका अध्यक्ष अग्रवालले भने ।

फूलचोकी खानीमा ५८ ग्रेडको धाउ रहेको उनले बताए । ‘त्यो खानी उत्खनन गर्न पाउँदा हामीलाई १५ वर्षसम्म धाउ बाहिरबाट ल्याउनुपर्दैन,’ उनले भने, ‘तत्काल त्यो प्रयोग गर्न नपाउँदा अन्य खानीहरुको खोजीसमेत गरिरहेका छौं ।’

मन्दीअघि बिक्रीका तीव्र वृद्धि

गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक मन्दीका कारण आय घटे पनि त्यसअघिका तीन वर्षमा कम्पनीको आय तीव्र रुपमा वृद्धि भएका थियो । ०७६/७७ मा २१ अर्बको सञ्चालन आय गरेको कम्पनीले त्यसपछिको वर्ष ०७७ /७८ मा २९ अर्ब ५६ करोडको सञ्चालन आम्दानी गरेको थियो । त्यसपछि आर्थिक वर्ष ०७८/७९ मा सञ्चालन आय उच्च रुपमा बढेर ४९ अर्ब ७४ करोड पुगेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा भने घटेर ४० अर्ब १७ करोडमा सीमित भएको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट रेटिङ गराएको कम्पनीले १२ अर्ब ५८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन ट्रिपल बी र २७ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एथ्रीप्लस रेटिङ पाएको छ । यस्तै कम्पनीले सार्वजनिक निष्कासनको लागि आइआरएन त्रिपल बी इस्युआर रेटिङ पाएको छ । जसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

६८ प्रतिशतसम्म लाभांश, तीन सयमै आईपीओ

कम्पनीले गत असोज १७ गते नेपाल धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा आइपीओ निस्कासनका लागि निवेदन दिएको छ । जगदम्बा स्टील्सका अध्यक्ष साहिल अग्रवाल आफ्नो समूहको सबैभन्दा पुरानो र राम्रो कम्पनीको शेयर जनतामा बाँड्न पाउँदा खुसी भएको बताउँछन् ।

‘नेपालमा स्टील्सको उत्पादनमा पायोनियर कम्पनीको शेयर जनतालाई बाँड्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ अग्रवाल भन्छन्, ‘त्यसमाथि हामी शंकर ग्रुपका कम्पनीमध्ये पहिलो आइपीओ बजारमा ल्याउँदैंछौं ।’

कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँमा आइपीओ निस्कासनको प्रस्ताव गरे पनि कति रुपैयाँमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हुन्छ भन्ने अझै निश्चित हुन बाँकी छ । तर, आईपीओ स्वीकृति पाएको खण्डमा उपभोक्ताका लागि राम्रो अवसर हुने अग्रवालको दाबी छ । कम्पनीले निकै राम्रो आम्दानी गरिरहेको र त्यसैअनुसार प्रतिफल वितरण गर्ने सक्षम रहेका कारण उनी जनतालाई जगदम्बाको आइपीओमा लगानी गर्न आग्रह गर्छन् ।

आर्थिक वर्ष २०७३/७४ मा ३५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले आव २०७४/७५ मा ६२ प्रतिशत र २०७४/७५ मा २८ प्रतिशत लाभांश वितरण गरेको अग्रवाल बताउँछन् । पछिल्लो ३ आर्थिक वर्ष भने करिब ७ सय करोड लगानी गरेर जस्तापाता उत्पादन प्लान्टमा लगानी गरेका कारण लाभांश वितरण गर्न नसकेको अध्यक्ष अग्रवाल बताउँछन् ।

आर्थिक वर्ष २०७९/८० मा भने कम्पनीले ६८ प्रतिशत लाभांश वितरण गरेको थियो । अग्रवालले जनतासँग आईपीओमा संकलन हुने रकम उद्योगकै क्षमता वृद्धिमा खर्च गर्ने पनि दाबी गरे ।

उक्त रकम उद्योगको लागि आवश्यक उर्जा स्रोतका लागि सोलार ऊर्जा प्लान्ट, जलविद्युत् परियोजना वा बजारको अवस्था राम्रो रह्यो भने बजारमा रहेका अन्य कुनै स्टील्स कम्पनी खरिदमा उपयोग गर्ने अग्रवालको योजना सुनाए । कम्पनीमा लगानी गर्ने सर्वसाधरणलाई राम्रो प्रतिफल दिने भन्दै उनले कम्पनीको आईपीओमा निर्धक्क लगानी गर्न पनि आग्रह गरे ।

‘जगदम्बा स्टीलको नाफा र लाभांश अत्यन्तै राम्रो छ, भविष्यमा पनि स्टीलको बजार अझै विस्तार हुँदै जानेछ, किनभने हाम्रो जस्तो मुलुकमा निर्माण सामग्रीको बजार सधैं विस्तार नै हुन्छ,’ उनले भने ।

बुक बिल्डिङ प्रणालीबाट आईपीओ निस्कासन गरेको भए यो भन्दा पनि अझै बढी मूल्य प्राप्त हुने विश्वास अग्रवालको छ । ‘प्रिमियममा सेयर जारी गर्दा नेटवर्थको दुई गुणा मात्रै गर्न पाइन्छ, त्यसो हुँदा यो मूल्य तय भएको हो, तर ३० वर्षमा बनेको जगजम्बाको ब्रान्डको त यसमा मूल्यांकन नै भएको छैन,’ उनले भने ।

२ करोड ७० हजार कित्ता सेयर निस्कासन गर्न लागेको कम्पनीले आईपीओबाट कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँ संकलन गर्न लागेको छ ।



source https://www.onlinekhabar.com/2023/10/1381536

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More