Friday 20 October 2023

कोशीमा राप्रपाका भक्ति सिटौलाले मागे प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा

३ कात्तिक, विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा  मुख्यमन्त्री केदार कार्कीको पक्षमा ८६ मत खसेको थियो । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले पक्षमा मतदान गर्दा ६ सांसद रहेको राप्रपाका पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित थिए ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा राप्रपा बाहेकका सबै दल सत्तापक्षमा छन् । बिहीबार प्रदेश सभामुखलाई सम्बोधन गरेर निवेदन लेख्दै राप्रपा संसदीय दलका नेता सिटौलाले ऐनले तोके अनुसारको प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

प्रदेशसभाले पास गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक ५९ हजार रुपैयाँ पारिश्रमिक पाउने उल्लेख छ । यो पारिश्रमिक सुविधा उपसभामुखको सरह हो ।

त्यसबाहेक बैठक भत्ता एक हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचर सुविधा बापत एकमुष्ट २० हजार, एउटा सवारी साधन, मासिक १२५ लिटर पेट्रोल, विजुली सुविधा बापत मासिक एक हजार पाँच सय र दैनिक दुई हजार भ्रमणभत्ता प्राप्त गर्ने उल्लेख छ । त्यस्तै एक जना स्वकीय सचिव, एक जना सवारी चालक र अतिथि सत्कार बापत मासिक पाँच हजार सुविधा प्रमुख प्रतिपक्षी दलको नेताले पाउँछन् ।

सुरक्षा जोखिमको अवस्था रहे एक जना पीएसओ पनि प्राप्त गर्नेछन् ।



source https://www.onlinekhabar.com/2023/10/1383609

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More