१८ असोज, चितवन । फलफूल तथा तरकारीका बिरुवाहरुको विदेशबाट हुने आयातलाई कम गरी देशभित्रै स्वस्थ बिरूवा उत्पादन गर्न देशका चार जिल्लाका चारवटा नर्सरीहरुको दक्षता अभिवृद्धि र सबलीकरण गरिने भएको छ ।
हर्टिकल्चर रिर्सोस सेन्टरका रुपमा काभ्रे, मकवानपुर, पाल्पा र कपिलवस्तु जिल्लाका चार नर्सरीहरुमा स्वस्थ बीउको छनोट, बिरुवा उत्पादनमा प्रविधिको प्रयोग, बिरुवा उत्पादनका लागि उपयुक्त अवस्थाकाबारेमा किसानहरुलाई जानकारी दिने र त्यससम्बन्धी अनुसन्धान पनि हुने भएको छ ।
दुई जिल्लामा नर्सरीसमेत छनोट गरिसकिएको छ भने बाँकी दुई जिल्लामा बाँकी नै छ ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आयोजित एक कार्यशालामा परियोजना प्रमुख प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले परियोजनाले कृषकहरुको उत्पादन क्षमता र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
‘अहिले व्यवसायिक खेती गर्ने वा सानो स्केलमा भए पनि बिरुवा रोप्छुभन्दा बिरुवा पाउने अवस्था छैन, विदेशबाट ल्याउने गरिएको छ, २००० बिरुवा चाहियो भने कहाँबाट ल्याउने भन्ने अवस्था छ,’ परियोजना प्रमुख प्रा.डा. त्रिपाठीले भनिन्, ‘हामीले अर्ध सहरी चार जिल्लाका चार वटा नर्सरीहरुलाई छानेर त्यसलाई नमूना नर्सरी बनाउने, स्वस्थ बिरुवा उत्पादन गर्ने, त्यस वरपरका अन्य नर्सरी र किसानहरुलाई पनि प्राविधिक ज्ञान सिकाउने, तालिम दिने काम गछौं ।’
बाहिरबाट बिरुवा ल्याउँदा रोगहरु पनि देश भित्रिरहेको अवस्थामा त्यसमा नियन्त्रण आवश्यक भएकोले देशभित्रै प्रविधिसहितका नर्सरी, बिरुवा उत्पादनमा टिस्यू कल्चर प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको परियोजना संयोजक प्रा.डा. त्रिपाठीले जानकारी दिइन् ।
हर्टिकल्चरका लागि फिड द फ्यूचर इनोभेसन ल्यावअन्तर्गत यूसएआईडीको आर्थिक सहयोगमा अर्ध सहरी क्षेत्रका नमूना नर्सरीमा बिरुवा उत्पादन गर्ने, व्यवसायिक किसान तथा साना नर्सरीहरुका वितरण गर्ने, तथा सहरी क्षेत्रमा कौसी खेती कार्यक्रमलाई प्रर्वद्धन गरेर त्यसको वितरणको चेन बनाउने बारेमा सहयोग गरिने परियोजना प्रमुख प्रा.डा.त्रिपाठीले बताइन् ।
साढे तीन वर्षसम्म चल्ने परियोजनाले नेपाल र बंगलादेशमा संयुक्त रुपमा काम गर्नेछ । परियोजनाको दक्षिण एसिया हेर्ने हब म्यानेजर कृष्णप्रसाद सापकोटाले बढ्दो सहरीकरण र जनसंख्याका कारणले उत्पादन तथा वितरण प्रणालीमा आएको समस्यालाई हल गर्न अर्ध सहरी क्षेत्रमा खाली रहेका जमिनमा उत्पादन र सहरी क्षेत्रमा रुफ गार्डेनको अवधारणामा गएर उत्पादन र खपतको चेनलाई मिलाउन परियोजनाले सहयोग गर्ने बताए ।
बंगलादेश कृषि विश्वविद्यालय र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालयमार्फत चल्ने यस्तो परियोजनामा नेपालमा अर्ध सहरी क्षेत्रका नर्सरीमा गरिएको अनुसन्धान र दक्षता विस्तारको सिकाइलाई बंगलादेशमा र बंगलादेशको सहरी क्षेत्रका घरको छत वा खाली ठाँउमा गरिएको खेती र त्यसमाथि गरिएको अनुसन्धानबाट निस्केको सिकाइलाई नेपालमा प्रयोगमा ल्याइने परियोजनाका सहसंयोजक प्रसिद थापाले जानकारी दिए । त्यसका लागि चितवनको भरतपुर महानगरपालिका र कास्कीको पोखरा महानगरपालिका छनोट गरिएको छ ।
दुवै महानगरपालिकामा घरको छतलाई जिआइएसका माध्यमबाट सर्भे गरेर त्यसको क्षेत्रफल निकाल्ने र केही घरमा पाइलट प्रोजेक्टका रुपमा बंगालदेशको मोडलमा ‘रुफ गार्डेन’गर्ने योजना रहेको परियोजना सहसंयोजक थापाले बताए ।
जीआईएस सर्भे न्यू जर्सी यूनिभर्सिटीले गर्नेछ । जमिनको जीआईएस म्यापिङ भए पनि घरको छतको क्षेत्रफल नै निकाल्ने गरी भने सर्भे नभएको थापाले बताए ।
जीआईएस म्यापिङले सहरी क्षेत्रमा रुफ टफ गार्डेन बनाउनका लागि सरकारलाई समेत सुझाव दिने परियोजना सहसंयोजक थापाले बताए ।
परियोजनाअन्तर्गत नै कृषि तथा वन विज्ञान विश्वविद्यालय र बंगालदेश कृषि विश्वविद्यालयका ११ जनाले विद्यावारिधिगर्ने छन् ।
साथैं, स्नातकोत्तर तहका विद्यार्थीहरूले स्वस्थ बिरुवा उत्पादनका लागि किसानहरूले झेलेका समस्याकाबारे अनुसन्धान गर्नेछन् ।
किसानहरुका व्यवसायिक योजना बनाउन परियोजनाले सहयोग गर्ने अर्का सहसंयोजक डा. उज्वल तिवारीले जानकारी दिए ।
कृषि विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बढ्दो सहरीकरणले ग्रामीण क्षेत्र खाली हुँदै गएको अवस्थामा थाइल्याण्डको जस्तो मोडलमा ग्रामीण भेगका खाली भएका जमीनमा ठूलाठूला फार्महरु बनाएर उत्पादनमा जोड दिनुपर्ने बताए ।
विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले ग्रामीण क्षेत्रमा उत्पादन गरी सहरी क्षेत्रमा वितरणको चेन स्थापित गर्न सके आत्मनिर्भरको बाटोमा जान सकिने बताइन् ।
यस्तैं, परियोजनाअन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले तरकारी तथा फलफूलका बिरुवाहरुमा माटोबाट सर्ने रोग किराहरुको अनुसन्धान र नियन्त्रण सम्बन्धी अध्ययन गर्नेछ ।
स्वस्थ बिरुवा उत्पादनका लागि माटोबाट सर्ने रोग र किराहरुको नियन्त्रण आवश्यक भएकोले सो क्षेत्रमा अनुसन्धान गरिने नार्कका परियोजना संयोजक डा.रामबहादुर खड्काले बताए ।
यस्तैं, युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउन कृषि व्यवसाय तालिम र कृषि उत्पादनको बजारीकरणका लागि फरवार्ड नेपालले परियोजना कै एक अंगका रुपमा काम गर्नेछ ।
source https://www.onlinekhabar.com/2023/10/1376202
0 comments:
Post a Comment