हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । वर्ल्ड फेडरेसन अफ मेन्टल हेल्थ नामक संस्थाको अगुवाइमा सन् १९९२ देखि यो दिवस मनाउन सुरु गरिए पनि सन् १९९४ देखि भने नारा सहित मनाउन सुरु गरियो । विश्वभरि नै मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार (इम्प्रुभिङ द क्वालिटी अफ मेन्टर हेल्थ सर्भिस थ्रुआउट द वल्र्ड) पहिलो नारा थियो । त्यसपछिका हरेक वर्षहरू नयाँ-नयाँ नाराको साथ यो दिवस मनाउँदै आइएको छ ।
त्यही क्रममा सन् २०२३ को नारा ‘मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकार हो’ (मेन्टर हेल्थ इज युनिभर्सल हृयुमन राइट्स) भन्ने नारा तय गरेको छ ।
मानव जीवनमा मानसिक स्वास्थ्य कति महत्वपूर्ण छ ? यो यसपालिको मानसिक स्वास्थ्य दिवसको नाराबाट महसुस गर्न सकिन्छ । युनिभर्सल हृयुमन राइट्स अर्थात् विश्वव्यापी मानवअधिकार सन् १९४८ मा संयुक्त राष्ट्रसंघले प्रतिपादन गरेको मानवअधिकारको विश्वव्यापी घोषणाको मर्म र उद्देश्यसँग जोडिएको छ । यो दस्तावेजको धारा २५ मा स्वास्थ्यको विषय र अधिकारलाई उल्लेख गरिएको छ । त्यसैगरी यो नाराको मर्म र उद्देश्य ‘अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सम्बन्धी महासन्धि यूएनसीआरपीडी २००६ को धारा २५ को प्रावधानसँग पनि जोडिएको छ ।
नेपालको जनस्वास्थ्य ऐन २०७५ ले पनि मानसिक स्वास्थ्य सेवालाई सबैमा पुर्याउने भनेको छ । यसको उद्देश्य मानसिक स्वास्थ्यको उपचार खोज्ने मात्र हैन, यो समस्या हुन नदिनको लागि प्रवर्द्धनात्मक र रोकथाममूलक काम गर्न पनि जरूरी छ ।
विश्वव्यापी मानवअधिकारले मानिसको राष्ट्रियता, जाति, लिंग, धर्म वा अन्य कुनै पनि पहिचान नहेरी मानिसको रूपमा पाउने आधारभूत अधिकार र स्वतन्त्रतालाई बुझाउँछ । यो मानिसको जन्मसिद्ध अधिकार हो । स्वास्थ्य सेवालाई यो वा त्यो बहानामा अवरोध गर्न पाइँदैन । कुनै पनि व्यक्तिको मानवअधिकारलाई अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा घरेलु कानुनहरू मार्फत रक्षा र सुनिश्चित गरिंदै आइएको छ । तर यूएनसीआरपीडी र युडीएचआरले स्वास्थ्यको मात्र कुरा गरेको छ ।
यसपालिको वल्र्ड फेडरेसन अफ मेन्टल हेल्थको नाराले भने मानसिक स्वास्थ्यलाई अन्य आधारभूत स्वास्थ्य बराबर मान्यता दिनुपर्ने कुरामा जोड दिएको छ । र, यो कुरामा हामी सबै गम्भीर भएर मनन गर्नु जरूरी छ । किनभने मानसिक स्वास्थ्यको कुरा नगरी अब मानिसको स्वास्थ्य अपूरो छ । अर्काेतिर भागदौडको दुनियाँमा जो-कोही कुनै पनि बेला मानसिक स्वास्थ्य अवस्थाबाट गुज्रनुपर्ने हुनसक्छ । त्यसैले मानसिक स्वास्थ्यलाई अब आधारभूत स्वास्थ्यमा समायोजन गरेर लैजानुपर्छ ।
मानसिक स्वास्थ्यको कारण र परिणाम फरक-फरक छन् । जैविक, मनोवैज्ञानिक तथा अन्य सामाजिक, सांस्कृतिक कारण व्यक्तिमा मानसिक स्वास्थ्य अवस्था सृजना हुनसक्छ । साथै हाम्रो वरपरको वातावरणीय स्थिति, शारीरिक स्वास्थ्य र मस्तिष्कको बनावट तथा कार्यले पनि मानिसमा मानसिक स्वास्थ्य अवस्था देखिन सक्छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धान अनुसार ५० प्रतिशत मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाको अनुभव १४ नपुगेकाले गरेका छन् ।
अधिकांश मानिसमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्था समाजको गतिविधि, एक व्यक्तिले अर्काे व्यक्तिमाथि गर्ने व्यवहारको कारण उत्पन्न हुन्छ । तसर्थ, हामीमध्ये जो-कोहीलाई पनि मानसिक स्वास्थ्य समस्याको अनुभव गर्न सक्छौं । यो मनको अवस्थासँग जोडिएको अनुभूति र भावना पनि हो । साथै यी सबै अनुभूति मानिसका अनुभूति हुन् । त्यसैले मानसिक स्वास्थ्य अवस्थामा रहेकालाई सकारात्मक र सहयोगी व्यवहार गर्नुपर्छ ।
मानसिक स्वास्थ्यलाई हाम्रो समाजमा अन्धविश्वाससँग जोडेर हेर्ने गलत अभ्यास पनि देखिन्छ । उनीहरूले यसलाई श्राप वा पूर्वजन्मको परिणाम भनेर व्याख्या गरिन्छ । यी सबै अफवाह र अन्धविश्वास हुन् । तर यिनै अन्धविश्वास र योसँग जोडिएका व्यवहारले समस्या बढाउने गरेका छन् । तसर्थ मानसिक स्वास्थ्य न्यूनीकरणको लागि मानसिक स्वास्थ्य सामना गरिरहेको व्यक्तिको भन्दा बढी समाजको उपचार गर्न जरूरी छ ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थासँग जोडिएका अन्धविश्वास र गलत बुझाइलाई बदल्नुपर्छ । समाजलाई समृद्ध बनाउन समाजमा रहेकाहरू स्वस्थ हुनुपर्छ । स्वस्थ रहनको लागि मानसिक स्वास्थ्य झनै महत्वपूर्ण छ ।
अर्काे कुरा मानसिक स्वास्थ्यलाई अलग्गै नभएर आधारभूत स्वास्थ्यमै एकीकृत गर्नुपर्छ । हुन त यसको परिकल्पना ‘मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति’ २०५३ ले नै गरेको थियो । यसले मानसिक स्वास्थ्य महाशाखा स्थापना गरेर मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यमा एकीकृत गर्ने र अन्य मन्त्रालयसँग पनि समन्वय गर्ने कुरा थियो । तर दुर्भाग्य २७ वर्ष बित्दा पनि यो कुरा कार्यान्वयन भएको छैन ।
अहिले अर्काे स्वास्थ्य रणनीति आइसक्यो । तर अझै पनि मानसिक स्वास्थ्यलाई सरुवा रोगमा राखेर बेवास्ता गरिंदै आइएको छ । त्यही कारण म कार्यरत संस्था कोसिसले मानसिक स्वास्थ्यको लागि छुट्टै विभाग स्थापना गर्नको लागि सर्वाेच्च अदालतमा तीन वर्षअघि मुद्दा दायर गरेको छ । यसको फैसला अझै पनि आएको छैन । हामीले हाम्रै पक्षमा चाँडै फैसला आउने र मानसिक स्वास्थ्यको छुट्टै विभाग स्थापना हुने विश्वास गरेका छौं ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक अस्वस्थतामा रहेकाप्रति हाम्रो समाजको दृष्टिकोण उति सकारात्मक छैन । तर मानवअधिकारको विश्वव्यापी मान्यताले हरेक व्यक्तिलाई उसको आत्मसम्मान, मर्यादा र समानताको साथ व्यवहार गर्नलाई जोड दिन्छ । यी कुराहरू व्यक्तिका नैसर्गिक अधिकार हो भनेर जोड दिन्छ । त्यो अर्थमा मानसिक स्वास्थ्य अवस्थामा रहेकालाई मर्यादापूर्वक व्यवहार गर्नुपर्छ । उसको आत्मसम्मान र स्वतन्त्रतामा दखल पुर्याउनुहँुदैन । यही उद्देश्यको साथ हरेक वर्ष हामी विश्व मानसिक स्वास्थ्य दिवस मनाउँदै आएका छौं, जसको उद्देश्य मानसिक स्वास्थ्यको बारेमा जनचेतना जगाउँदै व्यवहार परिवर्तन गर्नु हो । सबैको मानसिक स्वास्थ्यको रक्षा तथा प्रवर्धन गर्नु हो । जसले मानिसको स्वास्थ्य र समृद्धिलाई सुनिश्चित गर्छ । तसर्थ हामी सबैले मानसिक स्वास्थ्यलाई आधारभूत मानवअधिकारको रूपमा बुझ्नुपर्छ । व्यक्ति जस्तो र जहाँको भए पनि उच्चतम मानसिक स्वास्थ्य सेवा पाउने अधिकार राख्छ ।
मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकारको विषय हो । यसलाई हामी जति छिटो आत्मसात् गर्छाैं, उति नै चाँडो हामी सामेली र समानतायुक्त समाजको विकास गर्छाैं । एउटा समृद्ध समाज निर्माण गर्छाैं, जुन समाजमा विभिन्न अवरोधमा रहेका व्यक्तिहरू सहजतापूर्वक जीवन बाँच्न सक्छन् । तसर्थ मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकारको विषय हो भनेर मनन गरौं ।
लेखक गैरसरकारी संस्था कोसिसका कार्यकारी निर्देशक हुन् ।
source https://www.onlinekhabar.com/2023/10/1378726
0 comments:
Post a Comment