Monday 30 September 2019

जिम्बाब्वेविरुद्ध जित हात पार्ने लक्ष्यमा नेपाल

१४ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ ।

अंक तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भने सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जिम्बाब्वेलाई पराजित गर्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यलाई बलियो बनाउने दाउँमा छ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले लिग चरणको अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।



source https://www.onlinekhabar.com/2019/10/800570

बालुवाटारमा नेकपाको शीर्ष छलफल, सचिवालय बैठक बस्दै

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।

मंगलबार विहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् ।

यसबारे छलफल गर्न सचिवालय बैठक विहान ११ बजे बोलाइएको नेकपाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/10/800568

डोटीमा खुलेनन् सुपथ मूल्यका पसल

१४ असोज, डोटी । जिल्लाका प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्न बाध्य छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दीपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । सुपथ मूल्यको पसलमा आवश्यक पर्ने चिनी, नुनलगायतका खाद्यान्न दीपायलका लागि ढुवानी ठेक्का कसैले पनि नहालेका कारण सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेशन उपशाखा कार्यालयले जनाएको छ ।

साल्टट्रेडिङ उपशाखाले सुपथ मूल्यको पसल सञ्चालन नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । साल्ट ट्रेडिङले पसल नचलाउने नाममा विभिन्न बाहना देखाउन थालेको पूर्वउद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘ढुवानी ठेक्का नहुँदा पसल नचलाएको भन्नु साल्ट ट्रेडिङ कर्पोरेशनको गैरजिम्मेवार भनाइ हो, नागरिकले पाउने सुविधाबाट बञ्चित गराउनु गलत छ ।’

बजारमा हाल चिनी रु ९५ र नुन रु २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । दशैँमा बजारमा व्यापारीले आफूखशी मनपरी रकम असुल गर्न थालेको स्थानीयवासी भरतबहादुर विकले बताए । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुपथ मूल्यको पसल सञ्चालन नभएको विषयमा आवश्यक जानकारी लिई सञ्चालन गर्न पहल गर्ने बताए ।

यतिमात्र नभई गत वर्ष खरीद गरिएको चिनीको मूल्य निर्धारण अर्थात् रकम नतोकिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनले खरीद गरी ल्याएको चिनीसमेत गोदाममै थन्किएको छ । गत वर्ष यहाँका केही स्थानीय तहले सञ्चालन गरेका सुपथ मूल्य पसल पनि यो वर्ष सञ्चालन हुन सकेका छैनन् ।



source https://www.onlinekhabar.com/2019/10/800564

सभामुख महराद्वारा शीर्ष नेतासँग परामर्श, राजीनामा दिने सम्भावना

१४ असोज,काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।

नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिन सक्नेछन् ।

अनलाइनखबरसँग कुरा गर्दै नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरू जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’

यो पनि पढ्नुहोस सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरे पनि उनी हतास अवस्थामा छन् । के गर्ने भन्नेबारे उनले परामर्श गरिरहेका छन् । आजै साँझसम्म महराले राष्ट्रपतिसमक्ष राजीनामा दिने सम्भावना पनि छ ।

बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ । सभामुखलाई पदबाट हटाउन महाअभियोग लगाउने विकल्प हुन्छ । तर, महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चौथाइ संख्या पनि प्रतिनिधिसभामा छैन ।

सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ । अधिकांश नेता र सांसदहरूले महराले राजीनामा दिनुपर्ने भनेका छन् ।

यो पनि पढ्नुहोस गगन थापा भन्छन्- सभामुखको केस रफादफा हुनुहुँदैन

source https://www.onlinekhabar.com/2019/10/800561

भरतपुर कारागारका कैदीको उपचारका क्रममा मृत्यु

१४ असोज, चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो ।

अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो । उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



source https://www.onlinekhabar.com/2019/10/800563

चाडपर्व विकृतिरहित ढंगले मनाऔं : मुख्यमन्त्री पौडेल

१४ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा मंगलबार आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए । उनले प्रदेश नम्बर ३ संघको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सदभाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए । विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा उहाँले देश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामनासमेत व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रिसभाका प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्व जिल्ला सभापति तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रामेश्वर राणा, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, नेपाली सेना प्रदेश प्रमुख, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतलगायतले विजयादशमीका अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।



source https://www.onlinekhabar.com/2019/10/800560

गगन थापा भन्छन्- सभामुखको केस रफादफा हुनुहुँदैन

१४ असोज, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै थापाले सभामुख दोषी नभए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताए ।

यो पनि पढ्नुहोस सभामुख महरामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

‘यो केसमा कहीँ कतै रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउनुपर्ने सजायँ उहाँले पनि पाउनुपर्छ,’ उनले भने ।

करणीको आसय मात्र राख्यो भने पनि दण्डनीय हुने कानुनी व्यवस्था रहेको भन्दै थापाले भने, ‘ममाथि बलात्कार प्रयास भयो भनिसकेपछि पृष्ठभूमि के थियो, के थिएन भन्ने कुराले अर्थ राख्दैन ।’

सञ्चारमाध्यमबाट आएका सूचना गम्भीर रहेको बताउँदै थापाले त्यही सूचनाको आधारमा घटनाको अनुसन्धान गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

यसैबीच कांग्रेसका अर्का नेता धनराज गुरुङले सभामुख जस्तो सम्मानित पदमा आसिन व्यक्तिलाई जबरजस्ती करणीको आरोप लाग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘स्वयं सभामुखले पीडित महिलालाई फोन गरेर यो सामान्य घटना हो भन्नु भनेर पटक-पटक फोन गरेको सार्वजनिक भैसक्यो । तैपनि सरकार किन मूकदर्शक ?’



source https://www.onlinekhabar.com/2019/10/800538

महावीर पुनको ‘आविष्कार केन्द्र’

१४ असोज, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र एउटा भवनमा बिहानदेखि रातिसम्मै ठाकठुक–ठाकठुक,र्‍याइँ–र्‍याइँ रुँइ–रुइँको आवाज आइरहन्छ । सुन्दा कहिले फर्निचर कम्पनी हो कि जस्तो लाग्छ त कहिले मोटर ग्यारेजजस्तो । विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ ।

राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा उनले नै स्थापना गरेका हुन् । यो केन्द्र सञ्चालनका लागि उनले केही वर्षयता आर्थिक सहयोग संकलन गर्दै आएका छन् ।

आविष्कार केन्द्रमा अहिले १८ भन्दा प्रोजेक्टहरु चलिरहेका छन् । आविष्कार र नवप्रवर्तनको प्रयासमा यहाँ युवाहरु साँझ विहान नभनी काम गरिरहेका छन् । यही काम गर्ने क्रममा कहिले उनीहरु मेसिन चलाउँछन त अहिले हम्बर पिट्छन् । आविष्कार केन्द्रमा कार्यरत उनीहरु यहाँ आफैं इन्जिनियर पनि हुन्, कामदार पनि ।

आविष्कारको प्रयोगमा गर्नुपर्ने सबै प्राविधिक काम उनीहरु आफैं गर्छन् । एकले अर्कालाई सघाउँछन् । राष्ट्रिय आविष्कार केन्द्रको भवन निकै साँघुरो छ । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको जमिनमा आविष्कार केन्द्रको भवन छ । यो भवनको अगाडि पानी पर्नासाथ हिलो भरिन्छ । वरपर झाडी छ । परिसर सफा पनि छैन । भवनको लबीमा काठ टुक्र्याउनेदेखि फलाम काट्नेसम्मका मेसिन भवन, यन्त्र उपकारण र सरसामान छन् । झट्ट हेर्दा यो कुनै ग्रिल कम्पनी वा फर्निचर कारखाना जस्तो पनि लाग्छ । भवनको बाहिर रहेको थोत्रो गाडीको मुनि पसेर काम गरिरहेका युवको समूह देख्दा ग्यारेजकै झल्को पनि आउँछ । भवनभित्र र बाहिर फलामका डन्डी र काठहरु थुप्रो लगाइएका छन् । विभिन्न औजार तथा उपकरण भित्तामा झुन्ड्याएका छन् । धेरै जसो सामान अलपत्र जस्तै देखिन्छन् ।

मोहित केसी राष्ट्रिय आविष्कार केन्द्रका इलेक्ट्रिकल इन्जिनियर हुन् । उनी यहाँ चलिरहेका विभिन्न आविष्कारको प्रोजेक्टमा विद्युतसम्वद्ध विषयमा सबैलाई सहयोग गर्छन् । उनी आफैं पनि त्यो प्रोजेक्टको एउटा हिस्सा बनेर काम गर्छन् ।

भारतको बैंगलोरमा इन्जिनियरिङ सकेर फर्किएपछि उनी ४ महिना अघिबाट आविष्कार केन्द्रमा आएका हुन् । यहाँका विभिन प्रोजेक्टमा फरक–फरक खालका विद्युतीय सवालको समाधान खोज्न पाएकोमा उनलाई निकै खुसी लागेको छ ।

‘कुनै एउटा कम्पनीमा काम गरेको भए तोकिएको जिम्मेवारी मात्रै पुरा गर्न पाइन्थ्यो, यहाँ त यहाँ फरक–फरक प्रोजेक्टका फरक–फरक प्रयोगहरुमा आफ्नो ज्ञान लगाउने र बढाउने अवसर मिलेको छ,’ उनी भन्छन्,‘यो हामी जस्ता युवाका लागि निकै ठूलो अवसर हो ।’
उनको भनाइमा नयाँ आइडिया लिएर नयाँ–नयाँ प्रयोगहरु गर्दा आफ्नो ज्ञानको तह पनि बढ्दै गएको छ । यसले भविष्यमा अर्थपूर्ण आविष्कार र नवप्रर्तनमा सहयोग गर्ने केसीको भनाइ छ ।

आविष्कार केन्द्रमा अहिले सेलरोटी बनाउने मेसिनदेखि औषधी बोक्ने ड्रोनसम्म बन्दैछन् । औषधी बोक्ने ड्रोनको प्रोजेक्ट लगभग अन्तिम चरणमा छ । केही प्राविधिक समस्या हल हुनासाथै तिहारपछि म्याग्दी र मकवानपुरमा औषधी बोकर गाउँ जाने ड्रोनको परीक्षण गरिने केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए ।

‘गाउँघरमा ड्रोनबाट औषधी पठाउने परिकल्पना नेपाली युवाकै हो, आविष्कार केन्द्रले त्यसलाई सघाएको हो,’ पुनको दाबी छ ।

आविष्कार केन्द्रको प्रयोग सफल भएमा केही समयपछि सेलरोटी हाल्ने मेसिन पनि तयार हुनेछ । व्यवसायिक रुपमा सेल रोटी बेच्नेहरुलाई लक्षित गर्दै यो मेसिन बनाउन लागिएको हो । अभिशेष नकर्मी र कृष्ण डीईओले तयार गर्दै गरेको यो मेसिनले साना हटोलहरुलाई दिनदिनै ठूलो मात्रामा सेल रोटी बनाउनुपर्ने दुःख हटाउन सक्ने विश्वास गरिएको छ । मेसिन मुछिएको पिठोलाई हालेपछि यसले नै सही आकारमा सेल पकाउनेछ ।

यस्तै यहाँ ९ महिना नपुग्दै जन्मिएका र नियमोनियाबाट प्रभावित शिशुलाई लक्षित गरी बेबी वार्मर मेसिनहरु पनि तयार गरिँदैछ । छिट्टै जन्मिएका बच्चाको स्वास्थ्यमा उचित ताप नपुगेर पर्ने असरलाई ध्यानमा राखेर नेपालमै यस्तो मेसिन बनाउन लागिएको हो । सञ्जयसिंह ठकुरी र सुनिल बानियाँ लगायतको टोली यसमा संलग्न छ ।

गाउँको हेल्थपोस्टहरुमा राख्नको लागि सस्तो र राम्रो किसिमको बच्चाको ईन्क्युबेटरको विकास गर्न लागिएको हो । ईन्क्युबेटर समय नपुगिकन जन्मेको बच्चाहरु र जन्डिस भएका बच्चाहरुलाई बचाउनको लागि प्रयोग गर्न सकिने छ ।

यस्तै यहाँ विद्युतीय सवारी निर्माणको लागि पनि काम हुँदैछ । नयाँ प्रयोगहरु गरेर विद्युतीय सवारी निमाण गर्ने गरी पनि प्रोजेक्ट चलाइएको छ । गाडीमा अटोमेटिक ड्राइभिङ लगायतको परीक्षण पनि गरिँदैछ । विद्युतीय सवारीमा नयाँ फिचर्सहरु थप्न नेपाली युवाहरु प्रयत्न गर्दछन्, आविष्कार केन्द्रमार्फत ।

यस्तै यहाँ बाँदर भगाउने मेसिन बनाउन पनि विभिन्न प्रयोग गरिँदैछ । धेरै बाँदर आएर बालीनाली नष्ट गर्ने समस्यालाई ध्यानमा राखेर खेतबारीमा राख्न मेसिन बनाउन लागिएको हो । यो मेसिनले बारीमा बाँदर आएमा सेन्सरका माध्यमबाट सूचना लिएर आफैं फरक–फरक आवाजहरु निकाल्नेछ । खेतबारीमा बाँदर नआएपनि निश्चित समयममा थाल ठटएको, बाघ कराएको लगायतका आवाज समय–समयमा मेसिनले निकाल्नेछ ।

यस्तै यहाँ अत्याधुनिक सुविधासतिहको एपको पनि विकास गरिँदैछ । युवको एक समूहले ‘ओके जर्नी’ नामको बसको टिकट बुकिङ गर्ने एप बनाएका छन् । यो अहिले परीक्षणको क्रममा छ ।

‘यो एप बनाउन लागेको झण्डै डेढ वर्ष भएको थियो, तर, स्रोतको अभावमा समस्या परिरहेको थियो, आविष्कार केन्द्रमा आएपछि यसलाई अझै उन्नतरुपमा विकास गर्न सहयोग मिलेको छ,’ एपको परिकल्पनाकार राजेश दास भन्छन्, ‘यो एपले भविष्यमा टिकट काट्न लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।’
यस्तै यहाँ पानी तताउने विद्यमान सोलर थर्मल कलेक्टर (एसटीसी) प्रविधिको दक्षता सुधार गर्न प्रोटोटाइप विकसित गरी परीक्षण पनि गरिँदैछ । ग्रामीण क्षेत्रका लागि पानी फिल्टर र ट्रिटमेन्ट प्रणालीको विकास गरिदैछ ।

थ्री व्ह्विलर सवारीहरुका लागि लिड–एसिड ब्याट्री चार्जिङ र मर्मत प्रणाली विकास गरिएको छ । यहाँ नै विकास भएको ई–कमर्स प्लेटफर्म एभरेष्ट कार्ट विकास गरी सार्वजनिक गरेका भइसकेको छ ।

जापान र अमेरिकाका नेपाली डाक्टरहरूको टोलीको सहयोगमा ग्रामीण स्वास्थ्य चौकी र टेलिमेडिसिन प्रोग्रामको लागि इलेक्ट्रोनिक मेडिकल रेर्कडिङ प्रणाली विकास पनि विकास गरिँदैछ ।

वेबमा आधारित शैक्षिक सहयोग र प्रवर्टन प्रवद्र्धनको लागि पनि प्रणाली विकास गरिँदैछ । पुरानो डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने प्रोजेक्ट पनि चलिरहेको छ ।

शहरको सडक बत्तीको लागि स्वचालित सोलर प्यानल सफाई प्रणालीको विकास पनि गरिँदैछ । शहरी क्षेत्रमा बस्ने कम आय भएका घरपरिवारका लागि सरल र सस्तो कपडा धुने मेसिन विकास पनि गरिँदैछ ।

यस्ता काममा सबै युवा इन्जिनियरहरु संलग्न छन् । आविसकार केन्द्र पेजेक्टहरु काठमाडौं बाहिर पनि सञ्चालनमा छन् । नयाँ प्रविधिको विकास र पुरानो प्रविधिको स्तरोन्नतिमा केन्द्रित भएर आविष्कार केन्द्रले काम गर्न सकेकोमा सन्तोष मिलेको पुन बताउँछन् ।



source https://www.onlinekhabar.com/2019/10/800543

यूएन महासचिव एन्टोनियो गुटरेसद्वारा नेपालको प्रशंसा

१४ असोज, काठमाडौं । सयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गर्दै सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रसंघको ७४औं महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रूपान्तरणको खुलेर सराहना गरेका छन् । उनले नेपालको शान्ति, प्रगति र समृद्धिको कामना पनि गरे ।

मन्त्री ज्ञवालीले आगामी चैतमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गरे । प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिएका छन् ।

परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताए । उनले दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको सुनाए

दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको उनले जानकारी दिए । मन्त्री ज्ञवालीले राष्ट्रसङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै नेपालको प्रगतिका निम्ति राष्ट्रसङ्घबाट भएको योगदानको सराहना गरे ।

उनले विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, सहश्राब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गरेकोमा महासचिवप्रति हार्दिक आभार व्यक्त गर्दै ती कार्यमा नेपालको सहकार्य रहने विश्वास दिलाए ।

भेटमा राष्ट्रसङ्घका उपमहासचिव तथा राष्ट्रसङ्घीय शान्ति कार्य विभागका प्रमुख जाँ पिएरे लाक्र्वा र शान्ति कार्य सञ्चालन विभागका प्रमुख अतुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालसहित स्थायी नियोगका वरिष्ठ अधिकारी सहभागी थिए ।

‘ब्रेन गेन इनिसिएटिभ’

यसैबीच, मन्त्री ज्ञवालीले इलिनोइ राज्यको राजधानी शिकागोमा यही असोज १२ गते त्यहाँ रहेका अमेरिकी तथा नेपाली विद्वत वर्गसँगको भेलालाई सम्बोधन गर्दै उनीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा ती देशहरुका विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तित्व–विज्ञको ज्ञान, सीप र पूँजीको उपयोग गर्न स्थापना गरेको ब्रेन गेन सेन्टरअन्तर्गतको ब्रेन गेन इनिसिएटिभ कार्यान्वयनमा नेपाललाई सघाउन मन्त्री ज्ञवालीले अनुरोध गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, कृषि विज्ञ, वैज्ञानिक, इञ्जिनीयर, चिकित्सक, प्राध्यापकलगायत करीब ७०० को सूची आफ्नो मन्त्रालयले ब्रेन गेन इनिसिएटिभमा समाहित गरेको जानकारी दिँदै ती विज्ञहरुको विधागत विज्ञताअनुसार नेपालमा स्वयंसेवाका लागि आग्रह गरिएको उनले बताए ।



source https://www.onlinekhabar.com/2019/10/800541

बीआरआई चीनको साम्राज्यवादी जालो

चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित भएको छ । उनको भ्रमणको टुंगो लागेसँगै अहिले नेपाली राजनीतिमा सी विचारधारा, बीआरआई, इण्डोप्यासिफिक रणनीतिलगायतका विषयले चर्चा पाएका छन् । यी विषयहरुलाई फरक–फरक कोणबाट विश्लेषण गरिँदैछ । यी विषयहरुका सन्दर्भमा नेपाल तथा नेपाली जनताको भूमिका कस्तो हुने ? एउटा स्पष्ट विश्लेषण र त्यस आधारमा आफ्नो भूमिका निर्धारण गर्नुपर्ने हुन्छ ।

पहिलो कुरा त के स्पष्ट हो भने अहिले विश्वस्तरमा साम्राज्यवादको चलखेल झनै सशक्त प्रकारले अगाडि बढिरहेको छ । राजनीतिक, आर्थिक, सांस्कृतिक भूमिकाका साथ साम्राज्यवादी चलखेल बढ्दै गैरहेको अवस्था हो । विभिन्न शक्तिशाली राष्ट्रहरु पनि आफ्नो प्रभाव बढाउन आ–आफ्नै प्रकारले रणनीति निर्धारित गर्दै आइरहेका छन् । आफ्नो साम्राज्य विस्तार गर्न उनीहरु विभिन्न प्रकारका हथकण्डा प्रयोग गरिरहेका छन् । अहिलेसम्मको उनीहरुको विभिन्न देशप्रतिको भूमिकाले पनि पनि त्यो कुराको पुष्टि हु्न्छ । तर, यी कथित रणनीतिहरुको बीचबाट आफ्नो संप्रभुताको रक्षा कसरी गर्ने ? राष्ट्रियता र जनतन्त्रको कसरी रक्षा गर्ने ? नेपाली जनता र नेपालको त्यो दिशामा स्पष्ट भूमिका हुनुपर्दछ ।

जंगलमा एकलौटी प्रकारले राज गर्दै आइरहेको बाघलाई कसैले थर्कायो भने ऊ आक्रोशित हुन्छ नै । जसरी पनि त्यो बाघले आफ्नो जंगलराज बचाइराख्न चाहन्छ । आज अमेरिका पनि त्यही बाघजस्तै हो । विश्वस्तरमा अहिले राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा उसैको साम्राज्य कायम छ ।

विभिन्न कमजोर मुलुकहरुलाई आपसमा भिडाएर हतियारको व्यापार गर्ने बिषय होस्, खाडी मुलकको तेल कब्जा गर्ने विषय होस्, समुन्द्रमाथि आफ्नो प्रभाव राख्ने विषय होस्, हरेक क्षेत्रमा उसकै दादागिरी चल्दै आइरहेको छ । यसरी एकलौटी रुपमा आफ्नो साम्राज्य कायम गर्दै आइरहेको अमेरिकालाई चीनले केही चुनौति दिन खोज्दा द्वन्द्वको स्थिति सिर्जना हुने नै भयो ।

इन्डोप्यासिफिक क्षेत्रलाई अमेरिकालगायतका साम्राज्यवादी मुलुकहरुले निकै महत्त्व दिनुका विभिन्न कारणहरु छन् । पहिलो कारण हो– साउथ चाइना सी

इण्डोप्यासिफिक क्षेत्रमा आफ्नो साम्राज्य कायम गर्दै आइरहेको अमेरिकालाई चीनले बीआरआई योजनाका साथ प्रतिस्प्रधामा आउन खोज्नु, अमेरिकाका लागि टाउको दुखाइको विषय हुने नै भयो ।

के हो बीआरआई ?

विश्वका ६० भन्दा बढी देशहरुलाई सडक, रेल र बन्दरगाहबाट जोड्ने चीनको महात्वाकांक्षी योजनालाई नै बीआरआई अर्थात बेल्ट एण्ड रोड इनीसीएटीभ भन्ने गरिन्छ । आजभन्दा लगभग २५०० बर्ष पहिले चिनबाट यूरोप तथा मध्य एशिया पुग्न सिल्क रोडको प्रयोग गरिन्थ्यो । यो बाटोबाट सिल्कको बढी व्यापार हुने हुनाले नै यसलाई सिल्क रोड भनिएको हो । तर, पछिका दिनहरुमा व्यापारिक दृष्टिले समुन्द्री बाटो बढी उपयोगी भएकाले सिल्क रोड त्यति प्रयोगमा आएको थिएन । अहिले फेरि वन बेल्ट एक रोड (ओबीओआर) भन्दै बीआरआई योजनाअन्तरगत सिल्क रोडलाई पुर्नजीवित गरिएको छ । सडकको बाटोलाई सिल्क रोड इकोनोमिक बेल्ट र समुन्द्री बाटोलाई ट्वन्टी वन सेञ्चुरी मेरिटाइम सिल्क रोड भनियो ।

सन् २०१३ सेप्टेम्बरतिर चिनियाँ राष्ट्रपति सी जिनपिङले बीआरआई योजनाको घोषणा गरेका थिए । सन् २०१७ मा पहिलो र सन् २०१९ मा दोश्रो बीआरआई सम्मेलन सम्पन्न भैसकेको छ । वन बेल्ट र वन रोड नामको यो महात्वाकांक्षी योजना अन्तरगतको सडकको बाटो, चीनको जियान प्रान्तबाट शुरु भई रुस, उज्बेकिस्तान, कजाकास्तान, इरान, टर्की हुँदै युरोपको पोलेण्ड, युक्रेन, बेल्जियमसम्म पुग्नेछ । त्यसका साथै समुन्द्री बाटो साउथ चाइना सीबाट शुरु हुँदै स्टेट अफ मलाका, मलेसिया, बे अफ बंगाल, श्रीलंका, इन्डियन ओसन, अफ्रिका (नैरोबी), एथेन्स, रेड सी, स्वीस केनाल हुँदै यूरोपसम्म जोडिने छ ।

समीर सिंह

ग्यास र तेलका पाइपलाईनहरु पनि निर्माण गर्ने बीआरआईको उद्देश्य छ । त्यसका साथै ठूला–ठूला हाइवेहरु, रेल लाइनहरु, बन्दरगाह र अन्य भौतिक विकासको क्षेत्रमा यो योजना केन्द्रित हुनेछ । बन्दरगाहहरुमध्ये पाकिस्तानमा गोदर, म्यानमारमा सित्वे, बंगलादेशको चित्गाङ, श्रीलंकाको हम्बनटोटा, ताञ्जानियाको दारेसलाममा पनि चीनले आफ्नो ठूला लगानी लगाइरहेको छ । र, यी बन्दरगाहहरुको थप विकास गरिरहेको छ । ओबीओआर योजनाअन्तरगत नै चीनबाट मेड्रिड तथा चीनबाट तेहरानसम्म रेलसेवाहरु सञ्चालन भैसकेका छन् । लगभग १४ दिन समय लाग्ने यी रेल सेवाले चीनका इलेक्ट्रोनिक सामानहरु निकै ठूलो मात्रामा निर्यात गर्न सम्भव भैरहेको छ ।

लगभग ७० वटा देशले हस्ताक्षर गरिसकेको यो योजनाका लागि ९० अरब डलर पैसाको निवेश भैसकेको छ भने १ ट्रिलियन डलर खर्च गर्ने लक्ष्य छ । यसप्रकारको लगानीका लागि चीनले एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक, चाइना डेभलेपमेन्ट बैंक, सिल्क रोड फन्ड लगायतको प्रयोग गरिरहेको छ ।

बीआरआई र भारत

भारतले यो बीआरआई योजनाको शुरुदेखि नै विरोध गर्दै आइरहेको छ । उसले यसलाई अर्थिक विषय मात्र नठानेर राजनीतिक विषय पनि भएको ठान्दै आएको छ । भारतका लागि बीआरआई योजना टाउको दुखाइको विषय किन पनि भएको छ भने यो योजना पाक नियन्त्रित कश्मीर (गिलक्रिट, बालिचिस्तान) हुँदै पाकिस्तानको गोदर बन्दरगाहसम्म पुग्नेछ ।

जुन भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ । यसरी बीआरआई योजना भारतको सम्प्रभुतामा आँच आउने उसको दाबी छ । त्यस्तै ओबीओआरद्वारा स्ट्रिङ अफ पल्र्स (मोतीहरुको माला) को निर्माणले पनि भारतका लागि आपत्तीको विषय भएको हो । पाकिस्तानको गोदार बन्दरगाहदेखि लिएर माले, हम्बनटोटा देखि म्यानमारका बन्दरगाह सबैलाई ओबीओआर अन्तरगत जोडिनुलाई नै मोतीहरुको माला भनिन्छ ।
यो पनि पढ्नुहोस दक्षिणपूर्वी एसियामा चीनको बेल्ट एण्ड रोड

यो अवस्थामा हिन्दमहासागर क्षेत्रमा चीनबाट घेरिने भारतको ठम्याइ छ । स्ट्रिङ अफ पल्र्स सशक्त हुने हो भने सुरक्षाको दृष्टिले भारत कमजोर हुने उसको बुझाइ छ । ओबीओआरमार्फत चीनले इन्डोप्यासिफिक क्षेत्रमा ओयल सिपिङ लेन पनि निर्माण गरिरहेको छ । यो अवस्थामा भारत लगायत अन्य मुलुकहरुका लागि तेलको व्यापारको क्षेत्रमा ठूलो झट्का लाग्ने छ ।
बीआरआईको पक्षमा महत्वपूर्ण समाचार के छ भने जी–७ को महत्वपूर्ण देश इटली यो योजनामा जोडिएको छ । यो अवस्थामा इटलीका पोर्टहरुमा चीनले ठूलो मात्रामा लगानी गर्नेछ र उसको चलखेल यो क्षेत्रमा बढ्दै जानेछ । यसप्रकारको नयाँ परिस्थितिमा सबैभन्दा चिन्ताको विषय अमेरिकाका लागि भएको छ । यो अवस्थामा बीआरआईको पकड युरोपभरि फैलिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

वास्तवमा सन् २०५० सम्म चीन विश्वमा आर्थिकरुपमा एक नम्बरमा पुग्न चाहन्छ । त्यसका लागि उसले आफ्नोे उत्पादनलाई विश्व बजारमा फैलाउनुपर्ने हुन्छ । बीआरआई अझ पूर्णरुपमा सम्पन्न नहँुदै चिनको रणनीति धेरै हदसम्म सफल भैसकेको पनि छ । कमजोर देशको कमजोर अर्थतन्त्रका आधारमा चीनले आफ्नो महात्वाकांक्षी योजनालाई अगाडि बढाउदै लगिरहेको अवस्था पनि हो । यसले चीन आर्थिकरुपमा साम्राज्य कायम गर्न सक्षम हुने पनि छ । तर, कमजोर देशहरु चीनको डेब्थ ट्रेपमा जकडिँदै जाने प्रष्ट नै छ ।

सी विचारधारा के हो ?

चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१७ मा भएको नेशनल कांग्रेसले ‘नयाँ युगमा चिनियाँ विशेषतासहित सी विचारधारा’ पारित गरेको छ । माओत्सेतुङको निधनपछि चीनमा प्रतिक्रान्ति भयो । समाजवादतर्फ अगाडि बढिरहेको चीनले पुँजीवादी बाटो समात्यो । मुसा मार्ने त हो नि, मुसा मार्नलाई बिरालो कालो भए पनि, सेतो भए पनि के फरक पर्छ र ? भन्दै माओपछिका नेता देङ स्याओ पिङले कम्युनिष्ट पार्टी तथा समाजवादी मूल्य मान्यतामाथि नै आक्रमण गरे । यसरी पूँजीवादी दिशामा अगाडि बढ्दै जाँदा चिकपाको १९ औं कांग्रेसले विधानमा नै सी विचारधारा समावेश गरेको छ ।

सी विचारधारामा मुख्य गरेर निम्न सिद्धान्तहरु समावेश गरिएका छन्–

समृद्ध एवं नियन्त्रित समाजको निर्माण, गरीबी उन्मूलन तथा ग्रामीण क्षेत्रको विकास योजनामा गहन सुधार, कानुनी शासनको अधीनमा रही राज्य सञ्चालन, पार्टी अनुशासनमा कडाई, विज्ञान र प्रविधिलाई थप प्रोत्साहन, पर्यावरणीय संरक्षण, हरित विकासको अवधारणा, चिकपाको अधीनमा चिनियाँ जनमुक्ति सेना, एक चीन नीतिलाई थप जोड दिँदै हङकङ र मकाऊमाथिको प्रभाव बढाउने र ताइवानलाई आफ्नो मुलकमा गाभ्ने, उर्जा तथा वातावरणीय संरक्षण, सन् २०५० सम्म चीनलाई संसारकै समृद्ध र समुन्नत राष्ट्रमा परिणत गर्ने, वैचारिक, आर्थिक र सैन्य शक्तिको रुपमा विश्वको अग्रणी राष्ट्रका रुपमा स्थापित गर्ने, कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धिमा साझा स्वामित्व कायम गर्ने ।

इन्डोप्यासिफिक रणनीति के हो ?

हिन्द महासागर र प्रशान्त महासागरसित जोडिएका देशहरुमा समुद्री व्यापार गर्दै आफ्नो साम्राज्य कायम गर्दै जाने अमेरिकी रणनीतिलाई नै इन्डोप्यासिफिक रणनीति भनिन्छ । रसिया, चाइना, भारत, इन्डोनेशिया, उत्तर कोरिया, जापान, दक्षिण कोरिया र पूर्वीअफ्रिकी मुलुकहरु यो क्षेत्रमा पर्छन् ।

विश्वमा ठूला–ठूला आणविक हतियार भएका देश, ठूला ठूला बन्दरगाहहरु, शक्तिशाली व्यापारिक देशहरु यही क्षेत्रमा पर्छन् । यी सबै कारणले पनि यो क्षेत्रमा आफ्नो साम्राज्य कायम गर्नु अमेरिकाको रणनीतिक महत्वको विषय हो । र, उसको भविष्य पनि इन्डोप्यासिफिक रणनीतिको सफलताले निर्धारित गर्दछ ।
यो पनि पढ्नुहोस बीआरआई के हो ? कस्ता छन् नेपालका सम्भावना र चुनौती ?

इन्डोप्यासिफिक शब्द जर्मन भूराजनीतिज्ञ कार्ल हाउसोफरले सन् १९२० मा आफ्नो शैक्षिक कार्यमा उल्लेख गरेका थिए । त्यसपछि सन् २००७ मा भारतीय नेवि अफिसर गुरुप्रित खुरानाले इन्डोप्यासिफिक शब्दलाई प्रयोग गर्दै एउटा लेख लेखेका थिए । सन् २००७ मा जापानी प्रधानमन्त्री सिन्जो आबे भारतीय संसदमा भाषण गर्दै, ‘इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउनुपर्ने’ आवश्यकता माथि जोड दिएका थिए । सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका गए । उक्त भ्रमणपश्चात् नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा ‘ इन्डोप्यासिफिक रिजनमा शान्ति र स्थायित्वका लागि संयुक्तरुपमा क्रियाशील हुने’ बताइयो ।

इन्डोप्यासिफिक क्षेत्रलाई अमेरिका लगायतका साम्राज्यवादी मुलुकहरुले निकै महत्व दिनुका विभिन्न कारणहरु छन् । पहिलो कारण हो– साउथ चाइना सी ।

यो क्षेत्रमा हाइड्रोकार्बन उत्पादनको पनि निकै सम्भावना छ । इण्डोनेशियाकोे नजिकमा रहेको स्टेट अफ मलाका पनि रणनीतिक दृष्टिले निकै महत्वपूर्ण क्षेत्र हो । ग्वाम र मार्शल आइसलेण्ड, हवाई पनि यही क्षेत्रमा नै पर्दछन् । तेलको व्यापार हुने क्षेत्रहरु–रेड सी, गल्फ अफ अडन, पर्सीयन गल्फ पनि यही पर्छ । यहाँ हाइड्रोकार्बन पनि अत्यधिक मात्रामा उत्पादन हुन्छ । यो क्षेत्रमा पर्ने माल्दिभ्समा चीनको बढी नै प्रभाव छ । यसरी हाइड्रोकार्बन, अन्तराष्ट्रिय व्यापार, विश्व बजारमाथि कब्जा, चीन उदीयमान शक्तिको रुपमा विकास हुँदै जानु लगायतका कारणले पनि अमेरिकाको लागि इन्डोप्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव बढाउनु महत्वपूर्ण बिषय बन्न गएको छ । उसको साम्राज्यवादी संरचनालाई अझ शक्तिशाली बनाउनका लागि पनि इन्डोप्यासिफिक क्षेत्र उसको रणनीतिक बिषय बन्न गएको छ ।

साउथ चाइना सीमा चीनको प्रभाव निकै बढ्दै गैरहेको अवस्था हो । यो प्रभावका कारण नै अमेरिका तथा क्वाड(भारत, जापान, अष्ट्रेलिया र अमेरिका)को लागि टाउको दुखाईको विषय बन्दै गैरहेको छ । समुद्री व्यापारमा एकलौटी प्रभाव कायम गर्दै आइरहेको अमेरिकाको लागि हिन्द महासागर र प्रशान्त महासागरलाई कनेक्ट गर्नु निकै महत्वपूर्ण बिषय हो । त्यसप्रकारको कनेक्टिभिटीको लागि साउथ चाइना सी नै रणनैतिक दृष्टिले महत्वपूर्ण भूमि हो, जुन क्षेत्रमा चाइनाको प्रभाव छ ।
यो पनि पढ्नुहोस बीआरआई कार्यान्वयनमा अलमल : नेपाललाई पराधीन बनाइ राख्ने ?

भारत र जापानका बीचमा व्यापार गर्नुपर्‍यो भने पनि साउन चाइना सीलाई नै प्रयोग गर्नुपर्दछ । यी लगायतका कारणले पनि साउथ चाइना सीको महत्वको पुुष्टि हुन्छ । अहिले त चीनले त्यो क्षेत्रमा मेजिकल आइसलेण्ड बिल्डिङ मेशिनको प्रयोग गरेर कृत्रिम आइसल्याण्डहरु समेत बनाउँदै गैरहेको छ । यसप्रकारको आइसल्याण्डको क्षेत्रफल नै दुई लाख ९० हजार वर्ग किमि छ ।

यसरी, रणनैतिक दृष्टिले एकदमै महत्वपूर्ण साउथ चाइना सीलाई प्रयोग गरेर चीनले इण्डोप्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । यसरी साउथ चाइना सीमा चाइनाको प्रभाव अमेरिकका लागि टाउको दुखाइको विषय हुने नै भयो । अहिलेसम्मको स्थितिको मूल्यांकन गर्दा साउथ चाइना सीमा चिनियाँ प्रभावका विरुद्ध अमेरिकाले कुनै विशेष रणनीति बनाउन नसकिरहेको अवस्था पनि हो ।

चीनको साम्राज्यवादी चरित्र

विश्वस्तरमा साम्राज्यवादी चलखेल तथा प्रतिस्पर्धाका रुपमा बीआरआई, इण्डोप्यासिफिक रणनीति लगायतका गतिविधिहरु जारी छन् । अमेरिकाको त विश्वस्तरमा नै दादागिरी चल्दै आइरहेको छ । उसको आर्थिक, राजनीतिक, सांस्कृतिक साम्राज्यलाई केही हदसम्म भए पनि चीनले चुनौति दिन खोज्नाले पनि केही द्वन्द्वको स्थिति सिर्जना भएको हो ।

अर्को पक्ष के पनि हो भने चीनले समाजवादी बाटोलाई परित्याग गरिसकेको हुनाले उसको चरित्र पनि साम्राज्यवादी प्रकारको हुने नै भयो । नेपाललाई नोक्सान हुने गरी उसको केही चलखेल नभए पनि विश्वका अन्य मुलकहरुमा उसले साम्राज्य विस्तार गर्दै गैरहेको अवस्था हो ।
एशिया, अफ्रिका, युरोपका कमजोर देशहरुमा पुँजी निवेश गर्ने, विभिन्न विकास निर्माणका कार्यहरुमा संलग्न हुने । त्यस प्रकारको भौतिक निर्माणपश्चात ती कमजोर मुलुकहरु चीनको ऋणी हुने गर्छन् । त्यसप्रकारको ऋण चुक्ता गर्न नसक्दा एक प्रकारको उपनिवेश बनाउने कार्य चीनले गर्दै आइरहेको छ । वास्तवमा चीनले यति धेरै पुँजी निवेश गर्छ कि लगानी गरिएको पुँजीबाट सम्बन्धित देशले त्यो लगानीबाट आम्दानी प्राप्त गर्न नै सक्दैनन् । अनि ती देशहरु चीनको आर्थिक चंगुलमा फस्ने स्थिति सिर्जना हुन्छ ।

श्रीलंकाको हम्बनटोटामा यही स्थिति सिर्जना भयो । चीनको ऋण चुक्ता गर्न नसक्दा अहिले हम्बनटोटा चीनको उपनिवेशजस्तो नै भएको छ । ९९ बर्षको लागि उसले त्यो बन्दरगाहलाई लिजको रुपमा लिएको छ ।

पर्यटकीय तथा सैनिक दृष्टिले एकदमै महत्वपूृर्ण म्यानमारको क्यूकपु पोर्टमा पनि चाइनाको ७० प्रतिशत स्वामित्व भैसकेको छ । माल्दिभ्समा राजनैतिक द्वन्द्वको फाइदा चीनले लिइरहेको छ । त्यस्तै पाकिस्तान, बंगलादेश, इञ्डोनेसिया लगायतका देशहरु पनि चीनको डेब्थ ट्रेपमा फस्दै गैरहेका छन् ।

नेपालको रणनीति

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणको सन्दर्भमा पनि रेल सम्झौता लगायत विभिन्न सम्झौताहरु गर्ने सम्भावना छ । तर, चीनले नेपालमा सित्तैमा नेपाल रेल ल्याइदिने त होइन होला । त्यसप्रकारको सम्झौता गरिँदा उसको ‘डेब्थ ट्रेप’ मा परिने त होइन ? यो पक्षमाथि ध्यान दिनुपर्छ । साझा प्रयत्न, साझा लगानी र उपलब्धिमा साझा स्वामित्व भनिएको सी विचारधारालाई वास्तवमा नै कार्यान्वयन गरिने हो वा होइन ? यो विषयमा चनाखो हुनुपर्छ ।

चीनले समाजवादी बाटोलाई परित्याग गरिसकेको हुनाले उसको चरित्र पनि साम्राज्यवादी प्रकारको हुने नै भयो । नेपाललाई नोक्सान हुनेगरी उसको केही चलखेल नभए पनि विश्वका अन्य मुलकहरूमा उसले साम्राज्य विस्तार गर्दै गइरहेको अवस्था हो

नेपालको राजनीति, अर्थनीति तथा संस्कृति दक्षिणतिर मात्र ढल्किरहेको परिपे्रक्षमा यो भन्दा अघिको ओेली नेतृत्वको सरकारले चीनसित व्यापार तथा पारवहन सन्धी गर्नु सकारात्मक कुरा हो । अब चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भमा पनि मुलुकको संप्रभुतामा आँच नआउने गरी व्यापार तथा पारवाहन सम्झौताहरु गरिनुपर्दछ । कुनै पनि जनविरोधी तथा राष्ट्रघाती सन्धी सम्झौताहरु गरिनुहुँदैन ।

सी विचारधारा, कम्युनिष्ट तथा समाजवादी विचारधारा नभए पनि त्यसका कैयौं राम्रा पक्षहरु छन् । विकास, संमृद्धि, गरीबी निवारण, संगठनात्मक प्रणाली लगायतका विषयहरुमा हामीले त्यहाँबाट थुप्रै कुराहरु सिक्नुपर्ने हुन्छ । उसका राम्रा तथा सकारात्मक पक्षहरु ग्रहण गर्दैमा मुलुक चीनवादी भैहाल्छ भन्ने होइन । चीन मात्र होइन, हामीले भारतलगायत विश्वका अन्य पूँजीवादी मुलकहरुबाट त्यहाँका सकारात्मक पक्षहरुलाई ग्रहण गर्न सक्दछौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले सोमबार बालुवाटारमा शिष्टाचार भेट गर्दै । तस्वीर : सौजन्य/प्रधानमन्त्रीको सचिवालय

चीन, भारत लगायतका न्यायप्रेमी जनतासित घनिष्ट सम्बन्ध बनाउने दिशातर्फ हाम्रो लक्ष्य हुनुपर्छ । त्यसको विपरीत इण्डोप्यासिफिक रणनीति, बीआरआई लगायतका साम्राज्यवादी रणनीतिका लागि नेपाली भूमि तथा नेपाली जनताको प्रयोग हुनुहुँदैन । यसप्रकारका साम्राज्यवादी चलखेलको सशक्तरुपमा प्रतिकार गरिनुपर्दछ ।

निष्कर्ष

हाम्रो देश अर्धऔपनेवेशिक भएको नेपाली जनताका कारण होइन, सत्ताधारीहरुका कारणले नै हो । नेपाली जनतामा धेरै हदसम्म बलभद्र कुँवर, अमरसिंह थापा तथा थुप्रै शहिदरुमा भएको बलिदानी स्वभाव कायम छ । नेपाली जनताको स्वाभिमानी संस्कृतिले गर्दा नै विश्वमा हाम्रो मुलुकको बेग्लै पहिचान कायम छ । भारतीय नाकाबन्दीको समयमा पनि त्यसप्रकारको स्वाभिमानी संस्कृति सशक्तरुपमा देखिएको थियो । विश्वस्तरमा देखा पर्दै गएका विभिन्न साम्राज्यवादी चलखेलका सन्दर्भमा पनि नेपाली जनताको त्यसप्रकारको स्वाभिमानी संस्कृतिको आवश्यकता छ । चाहे बीआरआई होस्, चाहे इण्डोप्यासिफिक रणनीति होस्, नेपाल तथा नेपाली जनता कुनै पनि साम्राज्यवादी जालोमा फस्नु हुँदैन ।
यो पनि पढ्नुहोस बीआरआई नेपालको ऐतिहासिक अवसर

हामीले आफ्नो स्वाभिमानी चरित्रलाई अझ दरिलो प्रकारले प्रस्तुत गर्नुपर्छ । सत्ताधारीहरुमा मात्र भरोसा गर्नुभन्दा पनि नेपाली जनता स्वयं सचेतरुपमा आफ्नो सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।

बीआरआई, इण्डोप्यासिफिक रणतीति जस्ता विदेशी राजनीतिसित हाम्रो के सरोकार ? हामी त आफ्नै देशको राजनीति गर्ने हो भन्ने पनि तर्क गरिन्छ । तर, हामीले नचाहँदा नचाहँदै पनि विदेशी साम्राज्यवाद घुमाउरो पाराले हाम्रो देशमा प्रवेश गरिरहेको हुन्छ ।

विदेशी साम्राज्यवादको जालोमा फस्दा के अवस्था हुन्छ ? अफगानिस्तान तथा सिरियाली जनताको वर्तमान अवस्थाबाट पनि हामी अनुमान गर्न सक्छौं । भारत र पाकिस्तानको निहित स्वार्थको चपेटामा पर्दा कश्मीरी जनताको के अवस्था छ ? यी अनुभवहरुबाट शिक्षा ग्रहण गर्दै नेपाली जनता, आफ्नो भविष्यका बारेमा सचेत हुनुपर्छ । बीआरआई, इण्डोप्यासिफिक रणनीति भनेका साम्राज्यवादी स्वार्थमा आधारित रणनीतिहरु हुन् । नेपाल तथा नेपाली जनता कतैतिर ढल्किने भन्दा पनि मुलुक र जनताको हितमाथि केन्द्रित हुँदै हाम्रो देशको रणनीति निर्धारित गरिनुपर्छ ।



source https://www.onlinekhabar.com/2019/10/800539

विप्लव समूहका तीन विद्यार्थी नेतामाथि मुद्दा

१४ असोज, नवलपरासी । नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन् । कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय विक रुपन्देहीका जिल्ला सदस्य हुन् । यसैगरी रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय खड्का अखिल क्रान्तिकारी चितवनका पूर्वजिल्ला सदस्य हुन् ।

शुक्रबार सुनवल–४ तुरिया पुलमा शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले जाँच गर्न खोज्दा प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमै बाधा पुर्याएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/10/800524

राशी अनुसार देवीहरुको आराधना

नवरात्रिमा हामी नौ देवीहरुको पुजा आराधना गर्छौ । त्यहि क्रममा हामी विभिन्न देवीहरुको दर्शन गर्न मन्दिर जान्छौं । नवरात्रिका नौ दिनसम्म कतिले त पुजापाठ सहित ब्रत पनि बस्ने गर्छन् । हामीलाई हाम्रा हरेक देवीप्रति समान आराधना र विश्वास रहेको हुन्छ । तर आफ्नो राशी अनुसार देवीको पाठपुजा गर्नाले र ब्रत बस्नाले हरेक क्षेत्रमा आफुले चाहे अनुसारको सफलता प्राप्त हुन्छ । कुन राशीले कुन देवीको पुजा आराधना गर्ने भन्ने बारेमा केहि जानकारीहरु प्रस्तुत गरिएको छ ।

मेष राशि

यो राशि भएका व्यक्तिले नील–सरस्वती अथवा माता शैलपुत्रीको साधना गर्नु पर्छ । मेष राशि भएका व्यक्तिहरुले यी देवीको पाठ–पुजा गर्नाले आफुले चाहेको सफलता प्राप्त हुन्छ ।

बृष राशि

यो राशि भएका व्यक्तिहरुले भगवती षेडशी–श्री बिद्या अथवा माता ब्रम्हाचारिणीको साधना गर्नु पर्छ ।

मिथुन राशि

यो राशि भएका व्यक्तिले माता भुवनेश्वरी अथवा माता चन्द्रघण्टाको उपासना गर्नु पर्छ ।

कर्कट राशि

यो राशि भएका व्यक्तिले माता सिद्धिदात्रीको उपसाना गर्नु राम्रो हुन्छ ।

सिंह राशि

यो राशि भएका व्यक्तिले पीताम्बरा अथवा माता कालरात्रिको उपासना गर्नु पर्छ ।

कन्या राशि

यो राशि भएका व्यक्तिले माता भुवनेश्वरी अथवा माता चन्द्रघण्टाको उपासना गर्नु पर्छ ।

तुला राशि

यो राशि भएका व्यक्तिले श्री बिद्या माता षोडशी अथवा माता ब्रम्हाचारिणीको उपासना गर्नु पर्छ ।

वृश्चिक राशि

यो राशि भएका व्यक्तिले भगवती तारा अथवा माता शैलपुत्रीको उपासना गर्नु पर्छ ।

धनु राशि

यो राशि भएका व्यक्तिले माता मंगला अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।

मकर राशि

यो राशि भएका व्यक्तिले माता जयंती अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।

कुम्भ राशि

यो राशि भएका व्यक्तिले माता भद्रकाली अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।

मीन राशि

यो राशि भएका व्यक्तिले माता कमला अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।



source https://www.onlinekhabar.com/2019/10/800528

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।

नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो ।

पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्ने छन् ।

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।

समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् ।

सम्झौता तथा समझदारीअनुसार दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने छन् ।

दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने सहसचिव आचार्यले जानकारी दिए । नेपालको हकमा अष्ट्रेलियाका गन्तव्य विन्दुभन्दा परको रुपमा न्युजील्याण्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउने छन् भने अष्ट्रेलियन पक्षको हकमा नयाँदिल्ली बाहेक नेपालका गन्तव्य विन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने छन् ।



source https://www.onlinekhabar.com/2019/10/800534

नवरात्रीको तेस्रो दिन चन्द्रघण्टाको पूजा कसरी गर्ने ?

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकेर्युता ।

प्रसादं तनुने महं चन्द्रघण्टेति विश्रुता ।।

नवरात्रि भरि हामी नौ देवीको पुजा आराधना गर्छौं । नवरात्रिको तेस्रो दिन अर्थात आज चन्द्रघण्टाको पुजा आराधना गर्नु पर्छ । देवीको यो स्वरुप परम शान्तिदायक र कल्याणकारी हुन्छ । त्यसैले हामीले निरन्तर उनको पवित्र विग्रहलाई ध्यान दिएर उनको साधना गर्नु पर्छ भन्ने भनाई रहिआएको छ ।

उनको ध्यान गर्नाले हामीलाई पृथ्वीलोक र परलोक दुवैको लागि कल्याणकारी र सदगति प्राप्त हुन्छ । यो देवीको निधारमा घण्टिको आकारको आधा चन्द्रमा छ ।

यी देवीको शरीरको रंग सुन जस्तै चम्किलो हुन्छ । यी देवीका दश हात छन् र ती हातहरु खड्ग र अन्य शस्त्र–अस्त्रहरुले विभूषित छन् । सिंहमा सवार यी देवीको मुद्रा युद्धको लागि उद्धत् हुने किसिमको छ । उनको घण्टको भयानक ध्वनीले अत्याचारी दानव–दैत्य र राक्ष्“स काम्न थाल्छन् ।

नवरात्रिको तेस्रो दिन यी देवीको पुजा–पाठको भिन्दै महत्व रहेको छ । यी  देवीको कृपाले साधकलाई अलौकिक बस्तुहरुको दर्शन हुन्छ । दिव्य सुगन्धिहरुको अनुभव हुन्छ र धेरै प्रकारका ध्वनीहरु सुनिन थाल्छ । यी क्षणहरुमा साधकले धेरै नै सावधान रहनु पर्छ । यी देवीको आराधनाले साधकमा विरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुन्छ ।

त्यसैले हामीले मन,वचन र कर्मका साथै कायालाई विहित विधि–विधान अनुसार परिशुद्ध–पवित्र गरेर चंद्रघन्टाको शरणमा परेर उनको उपासना– आराधना गर्नु आवश्यक छ । यसो गर्दा सम्पूर्ण कष्टहरुबाट मुक्त भएर सजिलै परम पदको अधिकारी बन्न सक्नु हुन्छ । यी देवी कल्याणकारी छिन् ।



source https://www.onlinekhabar.com/2019/10/800533

सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ ।

संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका छन् ।

‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, प्रेस सल्लाहकार मल्लद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएको छ ।

ती महिलाले आइतबार राति ८ बजे महरा रक्सीसहित आफ्नो कोठामै आएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । रक्सीले मातिएका महराले चश्माको खोल आफ्नो कोठामै छाडेको दाबी पनि ती महिलाको छ ।

तर, प्रेस सल्लाहकार मल्लले महरा दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यालय पुगेर दिउँसो २ बजे बालुवाटार निवासबाट फर्किएपछि त्यस दिन अन्यत्र कही नगएको दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस सभामुखमाथि लाग्यो गम्भीर आरोप, महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन्

कर्मचारी समायोजमा उनले केन्द्रमै रहन चाहेको र भनेजस्तो नभएपछि त्यसको रिस पोखेको दाबी पनि प्रेस सल्लाहकार मल्लले गरेका छन् ।

 



source https://www.onlinekhabar.com/2019/10/800513

अफिसमा काम गर्ने महिलाहरु मोटोपनको रोगी

मोटोपन धेरैको समस्या हो । यसलाई न्यूनीकरण गर्नको लागि अनेकानेक प्रयास समेत असफल भएर धेरै मानिसहरु उदासिन बनेका पनि धेरै उदाहरणहरु पाईन्छ ।  स्वास्थ्य सम्बन्धी एक संस्थाले गरेको रिपोर्टले भने घरबाहिरको काममा सक्रिय हुने महिलाहरु धेरै मोटोपनको शिकार हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

हुन त यो अध्ययन भारतिय कामकाजी महिलामा आधारित छ । भारतकै विभिन्न भेगमा गरिएको अध्ययनबाट निकालिएको नतिजा हो । यद्यपि कामको प्रकृति र त्यसको असर भने भने हाम्रो सन्दर्भमा पनि मेल खान्छ ।

सो संस्थाले भारतको विभिन्न शहरहरु र केही औद्योगिक क्षेत्रमा समेत गएर सो सर्वेक्षण गरेको थियो । जसमा बाहिरी काममा लाग्ने महिलाहरु धेरै मोटोपनको शिकार भएको प्रतिवेदन तयार पारिएको छ । सो अध्ययनका अनुसार कूल सर्वेक्षण गरिएको संख्या मध्ये ६३ प्रतिशत कर्मचारीहरु मोटोपनको शिकार भएको पाईएको छ ।

सो रिपोर्टमा एक वर्षको अवधिमा २० भन्दा धेरै कम्पनीका झण्डै ६० हजार जति कर्मचारीहरुको कार्यशैली र उनीहरुको खानपिनको बारेमा अध्ययन गरिएको छ । यो सर्वे दिल्ली, मुम्बई, बेङ्लोर, चेन्नई, हैदराबाद, कोलकता जस्ता महानगरहरुको साथमा विभिन्न अन्य स्थानको समेत कारखानाहरुमा कार्यरत अधिकारीहरुको स्वास्थ्य अवस्था र मोटोपनाको अवस्थाबारे अध्ययन गरिएको थियो ।

सेवा क्षेत्रमा काम गर्नेहरु बढी अल्छी

सो अध्ययनका अनुसार उत्पादनसँग जोडिएको क्षेत्रमा काम गर्ने मानिसको तुलनामा सेवा क्षेत्रका मानिसहरु अल्छी हुने गरेका छन् । सो अध्ययनले यो पनि पुष्टि गरेको छ कि प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरु सप्ताहन्तको दिन ज्यादा सुस्त देखिने गर्दछन् । उनीहरुमध्ये अधिकांश जिम जान छाडेका छन् । जसका कारण उनीहरुमा क्यालोरी वर्न हुने स्तर ३०० बाट घटेर २०० मा सीमित भएको छ ।

कसरी रहने फिट ?

सो अध्ययनले नै फिट रहने तरिका समेत सुझाएको छ । सोही अध्ययनले सेवा क्षेत्रका अधिकांश कर्मचारीहरु फिट पनि नरहेको र जसका कारण उनीहरुको कार्यसम्पादनमा नकारात्मक असर पारेको समेत देखाएको छ ।

जानकारहरुले यस्तो समस्याबाट मुक्ति पाउनको लागि नियमित अफिसमै पनि केही समय निकालेर अभ्यास एवं शारीरिक गतिविधिहरु गर्न सकिने बताएका छन् । जस्तो दैनिक एकछिन बरालिनु, दौडनु जस्ता कामहरु दैनिक गर्नैपर्ने चिकित्सकहरुको सुझाव छ । केही समय निकालेर अफिसमै योगा समेत गर्न पनि सकिने जानकारहरुले बताएका छन् ।

तौल घटाउने सजिलो तरिका

– खाने कुरा छनोट गर्दा कार्बाेहाईड्रेडको मात्रा कम हुनुपर्दछ । जसको कारण शरीरको तौल कम गराउन मद्दत पुग्दछ ।

– कुनैबेला भोक लाग्छ भने त्यतिबेला पेटभर खाना खानुपर्दछ । तर, कार्बाेहाईड्रेड कम गराउनुको साथै फ्याट कम गर्नु हुँदैन । कम मात्रामा नौनी र घिऊ खानुपर्दछ ।

– प्रशोधित र लो कर्ब सहितको खाना खाने गर्नुपर्दछ ।

– कुनैपनि यस्तो खानेकुरा खानुहुँदैन, जसमा कृतिम रुपमा गुलियो बस्तुहरु खानुहुँदैन । यसको सेवनबाट झनै वजन बढ्ने गर्दछ । चिकित्सकहरुका अनुसार धेरै गुलियो बस्तुहरु स्वास्थ्यको लागि हानिकारक हुने गर्दछ ।

७५ प्रतिशत मोटोपनको चपेटामा किन पर्छन्

शहरमा रहने २५ देखि ५० वर्षको उमेरका ७५ प्रतिशत कामकाजी महिलाहरु मोटा रहेका छन् । सर्वेको समयमा अधिक महिलाहरुले आफूहरु ८ देखि ९ घण्टासम्म कम्प्युटरहरुमा काम गर्ने गरेका छन् । उनीहरु त्यो समयावधिभरीमा मुस्किलले दुईदेखि ३ पटक मात्रै आफ्नो कुर्सीबाट उठ्ने गरेका छन् । त्यो पनि क्यान्टिनमा गएर चिया वा कफी लिनको लागि मात्रै । मोटोपनको एउटै मात्रै कारण भनेको लामो समयसम्म एकै ठाउँमा बसिरहनु पनि हो । साथै स्वस्थबद्र्धक खाना नखानु पनि यसको कारण हो ।



source https://www.onlinekhabar.com/2019/10/800526

अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने तेस्री दूर्गाको पूजा आज

आज यो वर्षको नवरात्रको तेस्रो दिन अर्थात् नवदूर्गामध्येकी तेस्री दूर्गा चन्द्रघण्टाको पूजा हुने दिन । नवदूर्गा मध्येकी तेस्री देवीको नामको शाब्दिक अर्थ खोतल्ने हो भने चन्द्रमा र घण्टको प्रतीकको रुपमा उनको नाम तयार पारेको पाइन्छ । हिन्दू शास्त्रका व्याख्याताहरुले मनको उतारचढावलाई नियन्त्रण गरेर यसलाई एकाग्र हुन सिकाउने देवीको रुपमा चन्दघण्टालाई मान्ने गरेका छन् ।

धार्मिक मान्यता अनुसार माता पार्वतीको सुहागिन स्वरुप नै चन्द्रघण्टा हो । चन्द्रघण्टाको स्वरुप पनि चन्द्रमा जस्तै सुशोभित रहेको छ । चन्द्रघण्टाको आराधना गर्ने व्यक्तिमा रहेको अहंकार नष्ट हुनुका साथै उनीहरुको मनमा असीम शान्ति र वैभवता समेत प्राप्त हुने धार्मिक विश्वास छ । चन्द्रघण्टाको ध्यान मन्त्र, स्तोत्र एवं कवच पाठबाट साधकको मणिपुर चक्र जागृत हुन्छ । जसका कारण साधकहरुलाई सांसारिक कष्टहरुबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

हाम्रो मन जस्तोसुकै उल्झनमा रहेको भएपनि त्यसबाट विकास हुने ईर्ष्या र घृणाबाट मुक्ति पाउनको लागि यी देवीको आराधना आवश्यक मानिन्छ । हाम्रो छायाँ समानको यो घृणा र द्वेषलाई मुक्त गराउनको लागि चन्द्रघण्टाको आराधना गर्नुपर्ने धार्मिक विश्वास छ ।

भनिन्छ यी देवीको नाम जोडिएको चन्द्रघण्टामा ‘चन्द्र’ शब्दले हाम्रो बदलिँदो भावना र विचारलाई प्रतिकात्मक रुपले जनाउँछ । घण्टाको प्रतिकात्मक अर्थ निरन्तर एउटै तालमा बजिरहने भन्ने हुन्छ । त्यसैले चन्द्रघण्टाले मनको बदलिँदो भावनाहरुलाई निरन्तर सत्मार्गमा लैजानको लागि इश्वरप्रति समर्पित भएमा त्यसबाट दैवी शक्ति प्राप्त हुन्छ भन्ने भाव बोकेको छ ।

चन्द्रघण्टा देवीको पौराणिक कहानी

देवता र असुरहरुको बीचमा लामो समयसम्म युद्ध चलिरहेको थियो । असुरहरुका स्वामी महिसासुर थिए भने देवताका स्वामी थिए ईन्द्र । युद्धमा असुरहरुले ईन्द्रलाई हराएर स्वर्गलोकको सिंहासनमा राज गर्न सुरु गरिसकेका थिए । यसबाट देवतागणहरु चिन्तित भएर यस समस्याबाट मुक्तिको लागि त्रिदेव ९ब्रह्मा, विष्णु र महेश्वर० को साथमा गए ।

देवतागणहरुले राक्षसका कारण अव देवताहरु पनि धर्तीमा पलायन हुनुपर्ने अवस्था सुनाए । त्यति सुनेपछि आक्रोशित भएका त्रिदेवहरुले एक देवीलाई अवतरण गराए । ती देवीलाई भगवान शंकरले त्रियशूल र भगवान विष्णुतले चक्र प्रदान गरे । साथै अन्य देवी देवताले पनि विभिन्न हतियारहरु देवीलाई दिए । सोही समयमा इन्द्रले भने आफ्नो ऐरावत हात्तीबाट उत्रिएर देवीलाई एक घण्टी दिए । सूर्यले आफ्नो तेज र तरवार दिए । साथमा उनालाई वाहनको लागि सिंह दिए । देवी अब महिषासुरसँग युद्धको लागि पूरा तयार थिईन् ।

यसरी हतियार सहित गएकी देवीले एकै पटकमा महिसासुरका सेनाहरुलाई बध गरेर देवताहरुलाई असुरहरुबाट अभयदान दिएको भन्ने पौराणिक कहानी छ।

चन्द्रघण्टाको पूजा विधि

चन्द्रघण्टाको पूजा रातो वस्त्र धारण गरेर गर्नु राम्रो मानिन्छ ।
चन्द्रघण्टालाई रातो पुष्प,रक्त चन्दन र रातो पछ्यौरा समर्पित गर्नु उत्तम मानिन्छ ।
चन्द्रघण्टालाई केसरी पानीले स्नान गराउनु पर्दछ ।
चन्द्रघण्टालाई सुनौलो रंगको वस्त्र पहिराउनु पर्दछ र आफैं पनि त्यही रंगको वस्त्र लगाउनु पर्दछ ।
चन्द्रघण्टालाई केसरी(दूधबाट बनेको मिठाइहरुको भोग लगाउनु पर्दछ ।
चन्द्रघण्टालाई सेतो कमल र पहेँलो गुलाबको माला अर्पण गर्नु पर्दछ ।
चन्द्रघण्टालाई पञ्चामृत, चीनी वा मिश्रीको भोग लगाउनु पर्दछ ।
यी देवीकोआशीर्वाद पाउनको लागि यस मन्त्रको १०८ पटक सम्म जप गर्नुपर्ने उल्लेख छ ।

चन्द्रघण्टाको ध्यान मन्त्र

वन्दे वांछित लाभाय चन्द्रार्धकृत शेखरम्।
सिंहारूढा चंद्रघंटा यशस्वनीम्॥
मणिपुर स्थितां तृतीय दुर्गा त्रिनेत्राम्।
खंग, गदा, त्रिशूल,चापशर,पदम कमण्डलु माला वराभीतकराम्॥
पटाम्बर परिधानां मृदुहास्या नानालंकार भूषिताम्।
मंजीर हार केयूर,किंकिणि, रत्नकुण्डल मण्डिताम॥
प्रफुल्ल वंदना बिबाधारा कांत कपोलां तुगं कुचाम्।
कमनीयां लावाण्यां क्षीणकटि नितम्बनीम्॥

चन्द्रघण्टाको स्तोत्र पाठ

आपदुध्दारिणी त्वंहि आद्या शक्तिः शुभपराम्।
अणिमादि सिध्दिदात्री चंद्रघटा प्रणमाभ्यम्॥
चन्द्रमुखी इष्ट दात्री इष्टं मन्त्र स्वरूपणीम्।
धनदात्री, आनन्ददात्री चन्द्रघंटे प्रणमाभ्यहम्॥
नानारूपधारिणी इच्छानयी ऐश्वर्यदायनीम्।
सौभाग्यारोग्यदायिनी चंद्रघंटप्रणमाभ्यहम्॥



source https://www.onlinekhabar.com/2019/10/800523

पशुपतिको भेटी बिदाको दिन पनि बैंकमा जम्मा गरिने

१४ असोज, काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ ।

पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गरेका हुन् ।

कोषले वि.सं. २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । भेटघाटी पारदर्शी गर्नुअघि कोषले नियमावली नै जारी गरेर पशुपतिनाथका भट्टहरुलाई तलब दिने व्यवस्था गरेको थियो । यो व्यवस्था गरेदेखि कोषकै कर्मचारीले भेटी गणना गरी बैंकमा दाखिला गर्ने गरेका थिए ।

कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक बिदाका दिन भेटी बैंकमा दाखिला हुन सक्दैन थियो ।

कोषका तर्फबाट कोषाध्यक्ष डा. मिलनकुमार थापा, लेखा एवं संस्कृति शाखा प्रमुख प्रेमहरि ढुंगाना र प्रशासकीय अधिकृत गौरीशंकर पराजुली तथा बैंकका तर्फबाट बत्तीसपुतली शाखा प्रबन्धक टीना श्रेष्ठ र जनसम्पर्क अधिकृत श्रुति राणाले गणनाको अनुगमन गर्ने छन् ।

दैनिक भेटीघाटी गणना गरी बैंक दाखिला गर्ने क्रममा कोषको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मुचुल्का उठाउने छन् ।



source https://www.onlinekhabar.com/2019/10/800522

युनिटीले जस्तै भारतीय ओरियन्स कम्पनीले नेपालीलाई ठग्दै

१४ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेपाल खुला दिसामुक्त घोषणा र सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्राथमिकताका साथ छापिएको छ । दशैंमा महंगीको मार र भारतीय ओरियन्स नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ ।

नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले युनिटीले जस्तै नेपालीहरुलाई ठग्दै आएको समाचारमा उल्लेख छ । ‘भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चालेको फेला परेको हो,’ समाचारमा लेखिएको छ, ‘युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बीमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो ।’

नागरिकमा सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई मात्र होइन, उनीहरुको सल्लाहकार र स्वकीय सचिवलाई समेत दशैं खर्च दिने निर्णय मन्त्रिपरिषद बैठकबाट गरेको समाचार पनि छ ।

कान्तिपुर दैनिकले हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको समाचार छापेको छ । ‘खुलामै शौच, हचुवामा घोषणा’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ, ‘सरकारले पूर्ण सरसफाइका सामान्य मापदण्ड नै पूरा नगरी मुलुकलाई दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ । सरकारी तथ्यांकहरुअनुसार मुलुकमा १ करोड ४८ लाख ५० हजारभन्दा बढी घरपरिवार रहेकामा करिब ५६ लाख ६० हजार मात्र शौचालय छन् ।’

कान्तिपुरको भित्री पृष्ठमा चिनियाँ राष्ट्रपति सी जिनफिङ, उनकी श्रीमती पेङ लियुआन, विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको समाचार छ । समाचारमा लेखिएअनुसार गृह मन्त्रालयले सेनासँग समन्वय गरेर आन्तरिक सुरक्षा कार्यविधि बनाउँदै छ । ‘राष्ट्रपति सीका लागि चीनबाटै एयर चाइनाका दुई वटा जहाज र एरोहेड कारकेड सेट आउने स्रोतको भनाइ छ । एरोहेड कारकेड एक देशका राष्ट्रप्रमुख अर्को देशको राजकीय भ्रमणमा जाँदा धनुषवाण आकारमा गरिएको भीभीआईपी सवारी सुरक्षा व्यवस्थापन हो,’ कान्तिपुरले लेखेको छ । राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन र आन्तरिक तयारीलाई सरकारले गोप्य राखेको पनि समाचारमा उल्लेख छ ।

राजधानी दैनिकमा सशस्त्रका २२ पूर्ववरिष्ठ अधिकृतहरुले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेको मुख्य समाचार छ । १२ एआईजी र ११ डीआईजी गरी २२ जनाले सुरक्षा माग गरेको सशस्त्र प्रहरी मुख्यालय स्रोतलाई उद्धृत गर्दै समाचार लेखिएको छ ।

समाचारमा लेखिएको छ, ‘सुरक्षा निकायमा पूर्ववरिष्ठ अधिकृतहरुले कैयौं सुरक्षाकर्मीलाई सुरक्षाको बहानामा घरेलु कामदारका रुपमा राखिरहेको तथ्य सार्वजनिक भएपछि गृह मन्त्रालयले तीन महिनाअघि मात्रै प्रहरीका पूर्वअधिकृतको घरमा राखिएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरेको थियो । गृह मन्त्रालयले फिर्ता गरेको तीन महिना बित्न नपाउँदै पूर्वअधिकृतले सुरक्षाको बहानामा पुनः सुरक्षाकर्मी माग गरेका हुन् ।’

सुरक्षा माग गर्नेहरुमा पूर्वएआईजीहरु रविराज थापा, रोहित थापा, नारायणराज पाण्डे, कृष्णबहादुर श्रेष्ठ, डाक्टर ठाकुरमोहन श्रेष्ठ, ऋषवदेव भट्टराई, जीवनकुमार थापा, डा. कृष्णकुमार तामाङ, जितबहादुर पुन, प्रेमकुमार शाही, प्रकाश ओझा, निराकारविक्रम शाह छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा राज्यले निजी क्षेत्रसँग सहजीकरण गरी रोजगार सिर्जना, आय विस्तार, उत्पादकत्व वृद्धिमा ध्यान केन्दि्रत गर्नुपर्नेमा उद्यम र व्यवसायलाई नियमन गर्न एकसाथ धेरै नियम ल्याउँदा निजी क्षेत्र त्रसित बनेको समाचार छ ।

गोरखापत्र दैनिकले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको, नेपाल समाचारपत्र दैनिकले ग्रान्डी अस्पतालले बच्चाको उपचारमा लापरबाही गरेको र कारोबार दैनिकले अमेरिकी अनुदानका आयोजना कार्यान्वयनका लागि सम्झौता भएको समाचार छापेका छन् ।



source https://www.onlinekhabar.com/2019/10/800512

भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल मजदुर आन्दोलित

१४ असोज, काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा होटल क्षेत्रमा काम गर्ने मजदुर आन्दोलित बनेका छन् । होटल, क्यासिनो तथा रेष्टुरेन्टमा काम गर्ने मजदुर श्रम ऐन अनुसार होटल सञ्चालकले न्यूनतम पारिश्रमिकसमेत नदिएको, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा श्रमिकले कानूनी रुपमा पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कको कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेर आन्दोलित भएका हुन् ।

मजदुरहरुले आफूले राखेको पाँचबुँदे मागपत्रको कार्यान्वयन नभएमा सशक्त आदोलनका कार्यक्रम गर्ने समेत चेतावनी दिएका छन् । सोमबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू) ले २१ दिनभित्र मजदुरको माग सम्बोधन नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

यूनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले होटल, क्यासिनो तथा रेष्टुरेण्ट क्षेत्रका श्रमिकको माग २१ दिनभित्र पूरा नभए सम्पूर्ण होटल, क्यासिनो तथा रेष्टुरेण्ट क्षेत्र ठप्प पार्ने चेतावनी दिए । मागलाई हल्लाको रुपमा चित्रण नगर्न भन्दै उनले नेपाल सरकार र व्यवस्थापन पक्षको ध्यानाकर्षण समेत गराए । ‘सरकारले पर्यटनलाई देशकै आर्थिक विकासको मेरुदण्ड मानेको छ । यसै विषयलाई मध्येनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० घोषण गरिएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रका मजदुरलाई बेवास्ता गरिरहेको सन्दर्भमा यो कसरी पूरा होला, हामी सरकार र व्यवस्थापकलाई प्रश्न गर्न चाहन्छौँ ।’

उनले हाम्रा माग श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना तत्काल लागू हुनु हो भन्दै नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा केही अवरोध भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

यो पनि पढ्नुहोस श्रमिकले पाउने सेवा शुल्कको हिस्सा वृद्धि, होटल मजदुरको आम्दानी बढ्दै

यूनियनका महासचिव लक्ष्मण तिवारीले क्यासिनोहरुले श्रमिकका सेवा सुविधा कटौती गरी सञ्चालन गरेको भन्दै क्यासिनोलाई मर्यादित, व्यवस्थित र कानूनी मान्यताअनुसार प्रक्रियामा गई जिम्मेवार व्यवसायको रुपमा विकास गरी १० प्रतिशत सेवा शुल्कलाईसमेत लागू गर्न आग्रह गरे ।

दश प्रतिशत सेवा शुल्क कार्यान्वयनका लागि होटल संघ नेपाल (हान) र केन्द्रीय ट्रेड युनियन संघबीच भएको सम्झौता कार्यान्वयन गराउन हानले बेवास्ता गरेको उनको आरोप छ । दुई पक्षबीच भएको सम्झौता अक्षरश: कार्यान्वयन नहुँदा श्रमिक आन्दोलनमा जान बाध्य भएका हुन् ।

होटल क्षेत्रका मजदुरहरुले १० प्रतिशत सेवा शुल्कको माग राख्दै विभिन्न चरणमा आन्दोलन समेत गरेका थिए । उनीहरुको आन्दोलन र माघका विषयमा रेवान र श्रम तथा रोजगार विभागमा बैठक तथा छलफल भई हाल उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई भव्य रुपमा सफल पार्न पर्यटन क्षेत्रका श्रमिकको प्रतिनिधित्व हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ, नेस्वहोमयूले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।



source https://www.onlinekhabar.com/2019/10/800511

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

१४ असोज, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

निर्देशक पराजुलीले अझ एक महिना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताए ।

गत वर्ष ८४ हजार ४०० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रूपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।



source https://www.onlinekhabar.com/2019/10/800510

दशैंमा टेलर्सको गुनासो – रेडिमेडले खायो

१३ असोज, काठमाडौं । दशैंका धेरै विशेषताहरुमध्ये एउटा हो– नयाँ लुगा लगाउने । गाउँ होस् वा सहर, सम्पन्न होस् वा विपन्न, हरेक परिवारले दशैंका लागि नयाँ लुगाको जोहो गरेकै हुन्छन् ।

खासगरी गाउँघरका बालबालिकाका निम्ति दशैंको प्रमुख आकर्षण नै नयाँ लुगा हो । पाका उमेरकाहरु पनि दशैंमा नयाँ लुगामै सजिन चाहन्छन् । कतिले रेडिमेड लुगा किन्छन्, त कतिले टेलरमा सिलाउन दिन्छन् । टेलरहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन हो । सुचीकारहरुलाई दशैं अगाडि भात खानेसम्म फुर्सद हुँदैन ।

दशैं शुरु हुन केही दिनमात्रै बाँकी रहँदा हामीले काठमाडौंका केही कपडा पसल चहार्‍यौं। अधिकांश विक्रेताहरुले यसपालि पहिलेजस्तो व्यापार नभएको गुनासो गरे ।

रेडिमेड कपडा पसलेहरुको यो गुनासो सुनेपछि हामी काठमाडौंका केही टेलर्सहरुमा पुग्यौं । टेलर्सहरुको पनि उस्तै गुनासो सुनियो । उनीहरुले रेडिमेड कपडाको व्यापकताले आफूहरुको ब्यापार खर्लप्पै खाएको बताए ।

विगतमा टेलर्सको व्यापार राम्रो हुने गरेको भए पनि रेडिमेड मार्केटतर्फ मानिसहरु झुम्मिएपछि टेलरको व्यवसाय ओरालो लागेको उनीहरुको भनाइ छ । कपडा किनेर नाप मिलाएर सिउन दिनुभन्दा बजारमा छानीछानी रेडिमेड कपडा किन्न उपभोक्ता अभ्यस्त बनिरहेको उनीहरुले बताए ।

‘व्यवसायबाट पलायन हुने अवस्था आयो’

काठमाडौंको पुतलीसडक, बागबजारलगायतका स्थानमा टेलरिङ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले पलायन हुने अवस्था सिर्जना हुन लागेको बताए । विगत ३० वर्षदेखि यस व्यवसायमा आवद्ध पर्साका रमेश चौधरीले यस वर्षको जस्तै हालत हुने हो भने व्यवसायबाटै हात झिक्नुपर्ने चिन्ता व्यक्त गरे ।
आफू टेलरिङ व्यवसायमा जोडिएयताकै सबैभन्दा कम व्यापार यस वर्ष भएको चौधरीको भनाइ छ । काठमाडौंको पुतलीसडकमा दी टप लाइन कलेक्शन सञ्चालन गर्दै आएका उनले खर्च धान्नसमेत धौधौ परिरहेको बताए ।

‘विगतका दशैं अगाडि भ्याई/नभ्याई हुन्थ्यो, यस वर्ष तपाईले देखिहाल्नुभयो पसल सुनसान छ,’ उनले भने ।

चौधरीले पढ्दापढ्दै टेलर्समा जागिर खान थालेका थिए । लामो अनुभवपछि ९ वर्षअघि आफैंले पसल खोलेका हुन् । ‘मेरो अनुभवमा यस्तो न्यून व्यापार कहिल्यै भएको थिएन । यही गति हो भने व्यवसाय गर्न सकिँदैन,’ उनले भने ।

चौधरीलाई भेटिसकेपछि हामी पुतलीसडकको अर्को टेलर्स ‘स्टाइल टप कलेक्शन’ मा पुग्यौं । प्रवन्ध निर्देशक ताराचन्द्र राय साथीसँग गफमा मस्त थिए ।

‘व्यापार कस्तो छ ?’ हामीले प्रश्न तेर्सायौं ।

प्रश्न भूईमै खस्न नपाउदै उनले भने, ‘भो, व्यापारको कुरा नगरौं ।’

लामो समयदेखि टेलरिङ व्यवसायमा आवद्ध रहेका उनले पुतलीसडकमा पसल खोलेको भने धेरै भएको छैन । पसल खोलेदेखि नै व्यापारले गति नलिएको उनको गुनासो छ ।

‘लामो अनुभव थियो, व्यापार राम्रै हुन्छ होला भन्ने लागेको थियो,’ रायले भने, ‘तपाईले नै देखिहाल्नु भयो, व्यापार छैन । साथीसँग चिया पिएर बसिरहेको छु ।’

पसलमा ग्राहक नै नआएका कारण व्यवसाय धेरै नटिक्ने हो कि भन्ने चिन्ता लागेको उनले सुनाए । सिलाएर लाउनभन्दा सिधै किनेर लगाउँदा सहज ठानेर मानिसहरु रेडिमेड कपडातर्फ आकर्षित भएको रायको अनुमान छ ।

बागबजारको काठमाण्डू टप कलेक्शनका सञ्चालक हरिकृष्ण श्रेष्ठ पनि दशैंको माहोलले आफूहरुलाई खासै नछोएको बताउँछन् । विगतका वर्षहरुमा जति व्यापार यस वर्ष नहुने निश्चित भसइसकेको उनको भनाइ छ । ‘पोहोर परार दशैं शुरु हुनुभन्दा १५ दिन अगाडि नै अर्डर आउन थाल्थे,’ उनले भने, ‘सिलाउने समय पनि चाहिने भएको हँुदा यतिबेलासम्म अर्डर राम्रो आउनुपर्ने थियो, त्यो आएन ।’

दशैं हाम्रो सिजन होइन : व्यापारीहामी पुगेका केही टेलर्स सञ्चालकहरुले दशैं टेलर्सको सिजन नभएको बताए । टेलर्समा कपडा सिलाउन आउनेहरु दशैंमा नभएर तिहारपछि धेरै आउने गरेको उनीहरुको अनुभव छ ।

पुतलीसडकको ग्लोबल टेलर्सका सञ्चालक कृष्ण अर्याल भन्छन्, ‘हाम्रो मुख्य सिजन भनेको तिहार र त्यसपछि हो, तिहारपछि मंसिरमा धेरै बिहेहरु हुन्छन्, त्यसबेला हाम्रो व्यापार फस्टाउँछ ।’

अर्यालले आफ्नो पसलमा अहिले पनि व्यापार निराशाजनक भने नभएको सुनाए । ‘अहिले थोरै भए पनि व्यापार बढेको छ । तर, बिहेको सिजनमा जस्तो दशैंमा हुँदैन’ अर्यालले भने, ‘दशैंमा त रेडिमेड चलिहाल्छ, विवाहको सिजनमा चाहिँ सुट लगाउने चलनले गर्दा त्यसबेला राम्रै व्यापार हुने गरेको छ ।’



source https://www.onlinekhabar.com/2019/10/800498

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More