टेलिभिजनमा कुनै विज्ञापन अथवा सिरियलहरुमा देख्नुभएको होला, जसमा दुई साथीहरु धेरै समयपछि भेट हुन्छ । पहिली महिलाले दोस्री महिलालाई के गर्छौ ? भनेर सोध्छिन् । गर्वका साथ दोस्री महिलाले आफू बैंकमा काम गर्ने जवाफ दिन्छिन् । उनले पनि त्यही प्रश्न पहिली महिलालाई सोध्छिन् । ‘म केवल गृहिणी मात्र हुँ, पहिली महिला अफ्ट्यारो मान्दै जवाफ दिन्छिन् ।
टेलिभिजनमा देखिने यस प्रकारका दृष्यहरुले हाम्रो समाजमा गृहिणीको मूल्यांकन कसरी गरिएको छ भन्ने कुरा प्रष्ट हुन्छ । स्वयं गृहिणीहरुपनि आफूलाई कामकाजी महिलाको तुलनामा कम सम्झन्छिन् । तर, एउटा गृहिणीको योगदान कुनै कामकाजी महिलाभन्दा कम हुँदैन । एउटा गृहिणीको जागिर त्यस्तो जागिर हो जसमा उनले दिनभरी काम गर्नुपर्छ । उनले कहिल्यै छुट्टी पाउँदिनन् । कुनै स्तरोन्नती हुँदैन, कुनै तलब पाउँदिनन् ।
गृहिणीले जसरी आफ्नो घरको काम गर्छिन्, त्यसरी हजारौ रुपैयाँ दिएर पनि कसैले गर्न सक्दैन ।
हिजोआज शहरमा मात्र होइन, स–साना गाउँहरुमा पनि घरेलु कार्यको लागि हजारौं भुक्तानी गर्नुपर्छ । घरको सरसफाई गर्नेहरुले सामान्य कामको लागि पनि ५ देखि १० हजार रुपैयाँसम्म लिने गर्छन् । खाना बनाउनको लागि त झन् अझ बढी पैसा दिनुपर्छ । त्यस्तै बच्चाको ट्युसनको कुरा होस् अथवा बुढा आमा–बुबाको सेवा, लुगा धुने कुरा होस् अथवा २४ घण्टा परिवारको सदस्यहरुको सेवामा लागिरहने, गृहिणीद्वारा गरिने कामको सूची धेरै लामो हुन्छ ।
श्रीमतीलाई अर्धाङ्गिनी भन्ने गरिन्छ । तर, उनी त्यो भन्दा पनि बढी छिन् । हरेक कुरामा आफ्ना श्रीमानको लागि श्रीमतीको भूमिका ठीक त्यस्तै हुन्छ, जुन बच्चाको लागि एउटा आमाको हुन्छ । श्रीमानलाई हरेक बिहान चिया, नुहाउनको लागि तातो पानी, शरीर पुछ्न फेता, बिहानको अभ्यासमा जानको लागि जुत्ता, अफिस जाँदा रुमाल र घडी तयार पार्ने श्रीमती नै हुन्छिन् । उनी श्रीमानका हरेक पाइलामा सहयोगी हुन्छिन् ।
त्यस्तै, बच्चालाई बिहान उठ्नासाथ दूध पिउन दिनु, नुहाउनु, खाना खुवाउनु, स्कूलको लागि तयार गर्नु, बच्चा स्कूलबाट फर्केपछि गृहकार्य गराउनु र बच्चासँग बच्चा नै बनेर खेल्नुसम्मको जिम्मेवारी पनि गृहिणीहरुले निभाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने गृहिणीले आमाको रुपमा बच्चालाई जे गर्छिन्, त्यो लाखौं रुपैयाँ लिएर पनि अरु कसैले गर्न सक्दैन । श्रीमतीको सहयोगका कारण नै धेरै श्रीमान् आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्छन् । बच्चालाई आफ्नो पूर्ण समय दिएर उसलाई भावनात्मक रुपले पूर्ण बनाउने, राम्रो संस्कार दिने गृहिणीको मूल्यांकन धनसँग गर्न सकिँदैन ।
धेरै महिलाहरु आफ्ना बच्चा र बृद्ध सासु–ससुराको राम्रो हेरचाहको लागि कामकाजी महिला पनि गृहिणी भएका छन् । जसकाकारण श्रीमानहरु ढुक्क भएर बाहिरी कामकाज गर्न सक्छन् र सफल पनि हुन्छन् ।
आमाहरुले सबैभन्दा धेरै तलब पाउनुपर्छ भन्ने धारणा पूर्व मिस वल्र्ड मानुषी छिल्लरको रहेको छ । उनका अनुसार महिलाहरुद्वारा गरिएको कामको न प्रशंसा हुन्छ न त त्यसको उनीहरुले कुनै तलब नै पाउँछन् ।
एक रिपोर्टका अनुसार महिलाहरु दिनमा करिब ६ घण्टा त्यस्ता काम गर्छन्, जसको लागि उनीहरुले कुनै मूल्य पाउँदैनन् । यदि त्यही काम बाहिरको अन्य कसैलाई लगाउने हो भने यसको एउटा निश्चित मूल्य तिर्नुपथ्र्यो ।
गृहिणीको कामको सही मूल्याकंन हुने हो भने उनीहरुद्वारा गरिने कामको मौद्रिक आंकलन गरेर उनीहरुलाई त्यस बराबरको मूल्य आफ्नो श्रीमानद्वारा प्राप्त हुने व्यवस्था हुनुपर्छ । गृहिणीहरुले घरको कामको लागि कुनै मूल्य नपाए पनि उनीद्वारा गरिने काम आर्थिक गतिविधिहरुमा समावेश गरेर यसलाई पनि राष्ट्रिय आयमा जोड्ने व्यवस्था हुनु आवश्यक छ । यस्तो व्यवस्था नभएको कारण हामी आर्थिक विकासमा महिलाहरुको सहभागिता कम गरिरहेका छौं ।
गृहिणीको आर्थिक मूल्यांकनको सन्दर्भ कुरा गर्दा उनीहरुको कार्यको वार्षिक मूल्य कराडांै डलर बराबरको हुन्छ । घरेलु कामको मूल्य निर्धारण नगरिएको कारण नै महिलाहरुको स्थिति उपेक्षित रहेको छ । त्यसैले घरेलु कार्यमा गृहिणीको भूमिकाको बारेमा पनि ध्यानदिनु आवश्यक छ ।
source https://www.onlinekhabar.com/2019/09/799531
0 comments:
Post a Comment