आश्विन शुक्ल दशमीका दिन विश्वभरका हिन्दूहरुले विजयादशमी मनाउने गरेका छन् । विजयादशमीको सम्बन्धनमा फरक फरक पौराणिक कथाहरु पाईन्छ । नेपालमा धेरै दूर्गा र महिषासुरको कथा चर्चित छ भने नेपालबाहिर राम र रावणसम्बन्धी कथा चर्चित छ । यसमध्ये दूर्गा र महिषासुरको कथालाई प्राचीन मानिन्छ भने सोही दिन त्रेता युगमा समेत रामले रावणमाथि समेत विजय हाँसिल गरेका थिए ।
आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको उपलक्ष्यमा नेपालसहित छिमेकी मुलुक भारत र बंगलादेशका हिन्दूहरुले समेत धुमधामका साथ शारदीय नवरात्र पूरा भएपछि विजयादशमी मनाउने गरेका छन् । नेपालको समेत पूर्वको र पश्चिममा दशैं मनाउने चलन भिन्न छ । समुदाय अनुसार भिन्न भिन्न रुपले दशैं मनाउने गरिन्छ । तर, हामीले असत्यमाथि सत्यको विजय भएको अवसरमा दशैं मनाइरहँदा भारतका केही गाउँहरुमा भने सोही दिन महिषासुरको पूजा गरेर शोक दिवस मनाउने गरिन्छ ।
यो परम्परा भारतको झारखण्डको हो । उक्त प्रान्तको नेतरहाटको पहाडमा बस्ने असुर आदिवासीहरुले विजयादशमीका दिन महिषासुरको पूजा गरेर शोक मनाउने गर्दछन् । उनीहरु आफूलाई महिषासुर वंशीय मानेर पूर्खाको पूजा गर्नेगर्दछन् । यस्तो पूजा झारखण्डका साथसाथै पश्चिम बंगालको पुरुलिया जिल्लाको काशीपुर प्रखण्डमा समेत गर्ने गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
महिषासुरको पूजा गर्ने यो प्रचलन पुरानो भने छैन । सन् २०११ देखि मात्रै यी गाउँहरुमा महिषासुरको पूजा एवं शोक दिवस मनाउन थालिएको हो । अहिले यी दुबै गाउँमा उक्त जनजातिको संख्या तेज रुपमा घटिरहेको छ । झारखण्ड, पश्चिम बंगाल र छत्तिसगढमा समेत असुर आदिवासीहरुको बस्ती छ । उनीहरुले पनि यो दिन महिषासुरको स्मरण गर्दछन् ।
बिबिसी हिन्दीमा छापिएको एक रिपोर्टका अनुसार आदिवासीहरुले महिषासुरलाई हुडुर दुर्गाको नामबाट चिन्ने गर्दछन् । उनले महिलामाथि हतियार नउठाउने प्रतिज्ञा गरेका थिए । जसका कारण देवगणले दुर्गालाई अगाडि सारेर छलकपटपूर्ण रुपले हत्या गरेको आदिवासीहरुको मत छ । उनीहरुले आफ्नो नामको पछाडि असुर नाम राख्ने गरेका छन् ।
एकमात्र असुर कथाकार सुष्मा असुर भन्छिन्, मैले स्कूलको किताबमा देवताहरुले असुरहरुको संहार गरेको पढें । हाम्रो पूर्वजलाई देवताहरुले सामूहिक हत्या गरेका थिए । त्यसैले देवताहरुको व्याख्या लिनेहरुले विजयादशमी मनाइरहँदा हामी असुरका सन्तानहरुले शोक दिवस मनाउन किन नहुने ?
कर्नाटकको मैसूरमा महिसासुरको विशाल प्रतिमा खडा गरिएको छ । त्यहाँका बच्चाहरु समेत माटोले बनाएको सिंहको प्रतिमा बनाएर त्यसैमाथि खेल्ने गर्दछन् । तर, त्यस्तो प्रतिमामा सिंहको शीर छेद गरिएको हुन्छ । सिंह दूर्गाको सवारी हो । जसले उनीहरुको पूर्खाको संहार गरेको थियो । त्यसैको आक्रोशमा माटोको प्रतिमामाथि पूर्खाको रिस पोख्ने गरिन्छ ।
सन् २००८ को विजयादशमीमा तत्कालीन मुख्यमन्त्री शिबू सोरेनले राँचीको मोराबादी मैदानमा हुन लागिरहेको रावण दहन कार्यक्रममा उपस्थित हुन अस्वीकार गरेका थिए । उनले रावण आदिवासीहरुको पूर्वज भएको भन्दै त्यो दहनमा अनुपस्थित भएका थिए । आदिवासीहरुका अनुसार सन् ९७ देखि नै यो उत्सव मनाउन थालिएको हो । तर, यसलाई सन् २०११ देखि यसको धुमधामका साथ मनाउन थालिएको हो ।
महिसासुर नायक कि खलनायक ?
आसुरी शक्तिका नायक मानिने ‘महिषासुर’ मूल रूपले ‘महिष’ र ‘असुर’ शब्दको संयोग हो । ‘महिष’ शब्दको सर्वाधिक पुरानो अर्थ ‘महा शक्तिमान’ भन्ने हुन्छ । यो ‘मह’ धातु मा ‘इषन’ प्रत्यय जोडेर बनेको छ । जसमा गुरूताको भाव रहेको हुन्छ । गुरूताको भावकोलागि ‘मह’ धातुबाट अनेक शब्द बनेको हुन्छ ।
भारतमा जतिबेलासम्म राजतन्त्रको विकास भएको थियो । त्यतिबेला ‘महिष’को एक नयाँ अर्थ ‘राजा’ भन्ने थियो । त्यसैले अहिले पनि रानीलाई ‘महीषी’ नामले चिनिन्छ । भारतीय वाड्मयमा ‘महिष’को अर्थ ‘भैंसी’ भन्ने हुन्छ । तर, स्मृतिग्रन्थहरुमा महिष शब्दको अर्थ भैंसी भन्ने पाईंदैन ।
त्यसैले, शाब्दिक अर्थलाई हेर्ने हो भने महिषासुरको अर्थले खलनायक जनाउँदैन । तर, हाम्रा पौराणिक कहानीहरुले दैवी शक्तिलाई दुख दिएको कारणले मात्रै महिषासुरलाई खलनायकको रुपमा व्याख्या गरिएको हो ।
source https://www.onlinekhabar.com/2019/09/800215
0 comments:
Post a Comment