Friday, 27 September 2019

कथा : रानी

रानी बिस्तारामा लडेको हिजो दुई महिना पुगेछ । रानी कुनै दरबारकी रानी थिइन्, उसको रानी नाम उसको बुबा-आमाले राखेको पनि होइन, न त पण्डित, लामाले नै । ऊ स्वयमलाई पनि थाहा छैन रानी नाम कसले र कति बेला राख्यो, तर उसको सहरी जीवनको परिचय बन्न पुग्यो ‘रानी’ साथै मानिस, समय र परिस्थिति अनुसारको फरक-फरक थर पनि । उसको बाले उसलाई राखेको नाम त तारा थियो । तारा बि.क. ।

रानी बिरामी भई बिस्तारामा लड्दा पनि उसलाई स्याहार गर्ने, पानी, खानासम्म पनि सोध्ने कोही छैन ।

त्यसो त उसको पछि कुनै समय सयौँ केटा बिहे र एक रात सम्मको प्रस्ताव लिएर आउथे । उसका लागि अनौठा र महँगा उपहारहरु दिन्थे । उसँगै नाच्ने, पिउने अनि घुम्नसम्म जाने धेरै संगी थिए । तर, आज रानी एक्लै लासजस्तै बिस्तारामा लडेकी छे । तीन दिनदेखि उठ्न पनि नसक्ने अवस्थामा आउँदा उसलाई एक घुट पानीसम्म दिने कोही छैन ।

काठमाडौंको खाल्डोमा सिनामंगल बाग्मती किनाराको सानो अँध्यारो, खिया लागेको टिनको छाप्रोको एउटा अँध्यारो कोठाबाहेक उसको अहिले साथी एक सेट पुरानो र मैलो बिस्तारा, पुरानो चारखुट्टे खाट, सानो टेबल र टेबलमाथिको पुरानो रेडियो मात्रै हो । रानी विस्तारामा निरन्तर लडिरहेकी छ । भोकसँग युद्ध गर्दै एकोहोरो त्यही खिया लागेको टिनको छतमा हेर्दै समय काट्नुको विकल्प थिएन ।

सञ्जय गौतम

अब त उसको साथी टेबल र रेडियो पनि बैरी भएका छन् । भोक र अनिद्रा नयाँ साथीका रुपमा जोडिएसँगै । उसले एकोहोरो छतमा हेरेर आफ्नो विगतलाई सम्झन्छे । उसका आँखाबाट दायाँ-बायाँ किनार हुँदै आसु बगेर कानसम्म पुग्छन् । यो अवस्थासम्म पुग्ने दोष आफूभन्दा पनि बढी आमालाई थुपार्छे ।

रानी आफ्नो बाल्यकाल सम्झन्छे ।

जिल्ला सदरमुकामदेखि एक दिन  हिँडेर पुगिने गाउँ । बिजुली, सडक, खानेपानी, साथै अन्य भैतिक पूर्वाधार केही नपुगेको उसको गाउँ प्राकृतिकरुपमा निकै सुन्दर थियो । दुई खहरे खोलाको वीचमा रहेको दलित बस्ती, दुवै खोला पारि बाहुन र गाउँमाथि क्षेत्री बस्ती थियो । उसकी आमा र बाको प्रेम विवाह भएको थियो । विवाह गर्दा बा भर्खर सोह्र र आमा चौध वर्षकी मात्र थिए ।

बिहे गरेको एक वर्षमै जेठको महिना, असंख्य ताराहरु मात्र लागेको औँसीको रातमा जन्म भएकाले उसका बाले उसको नाम तारा राखिदिए । ताराको जन्मसँगै ताराको बा वीरबहादुरलाई आर्थिक संकटले च्याप्न थाल्यो । गाउँमा वीरबहादुरको जग्गाका नाममा त्यही सानो छाप्रोजस्तो घर भएको जग्गा बाहेक केही थिएन ।

वीरबहादुरका बा भारततिर लागेका थिए । वीरबहादुर जन्मने वर्ष एउटा रेडियो र केही सामान लिएर आएका बा त्यसपछि कहिल्यै फर्केनन् । त्यसको पाँच वर्षपछि गाउँमा झाडापखालाको प्रकोपले वीरबहादुरकी आमासँगै गाउँका अन्य बाह्र जना मानिसको पनि ज्यान लियो ।

पाँच वर्षको भए पनि वीरबहादुरलाई आमाको अलिकति याद थियो । तर, उनलाई बाको अनुहार सम्झना थिएन । उनले बालाई त्यही रेडियो देख्दा सम्झन्थे । कुनै निश्चित अनुहारबेगर वीरबहादुरलाई खहरे खोला पारिका दुई बाहुन गाउँ र उपल्लो क्षेत्रीको घरमा हली काम गर्नुको विकल्प थिएन । मौसमी हली भएर उसले आफ्नो परिवार पाल्न सकेन र दुई वर्षकी छोरी र प्रेम विवाह गरी ल्याएकी प्यारी बुढी छाडेर हिँड्यो नेपाल प्रहरीमा भर्ती हुन ।

वीरबहादुर जागिरे भएपछि ताराको घर राम्रो र खुसीयालीरुपमै चल्दै थियो । दुई छाक गास र वर्षको एक-दुईचोटि कपास किन्नसम्म पुग्दै थियो । भर्ती भइ सकेपछि बीरबहादुर वर्षको एक-दुईचोटि मात्र घर छुट्टीमा आउन पाउँथे । हरेकचोटि छुट्टीमा आउँदा कपडा वा जुत्ता ताराका लागि ल्याउँथे ।

तारा हुर्कदै गई । स्कुल जान थाली । विस्तारै पढाइसँगै कक्षा उक्लँदै गई ।

देश आन्तरिक द्वन्द्वमा रुमलिँदै थियो । सर्वहारा वर्गको संघर्ष भनी देशमै लालसेना सरकारविरुद्ध शाही सेना र प्रहरीमाथि युद्ध गर्दै थिए । भाइ-भाइको युद्ध चल्यो ।

तारा ७ कक्षामा पढ्दा एक दिन बीस/तीस जना मान्छे स्कुलमा आए । भिडमा आठ/दश जना महिला पनि थिए । सबैका हातमा हतियार र निधारमा रातो पट्टी थियो । विद्यालयमा सांस्कृतिक कार्यक्रम भयो । विद्यार्थीको कमिटी बनाएर जनयुद्धका बारेमा लामो र आधा मात्र बुझिने भाषण गरेर गए ।

त्यसको तीन दिन पछि त्यस्तै पन्ध्र/बीसजनाको समूह ताराको घरमा आए । त्यो भिडले ताराको घरमा खाना पकाउन लगाए । खाना खाइसके पछि ताराको बालाई जागिर छाड्न लगाएर महान जनयुद्धलाई समर्थन गर्न लगाउनुहोस् भन्दै गाउँका चिनाजानकै काका पर्नेले आदेशउन्मुख शैलीमा ताराकी आमालाई भने । टोली ठाडो बाटो उकालो लाग्यो ।

बीरबहादुर गाउँमा आउन नसक्ने परिस्थिति सिर्जना भयो । आठ महिनासम्म बीरबहादुर गाउँ आउन सकेनन् । केही समयपछि तीजको मुखैमा ताराकी आमा गाउँकै हर्कबहादुर काकासँग पोइला हिँडी । तारा अब एक्ली भई । गाउँलेहरुले ताराका बालाई खबर गरिदिए । तारालाई सदरमुकाम ल्याइदिन बीरबहादुरले गाउँमा खबर पठाए ।

तीजको दिन । भदौको महिना । रातभर पानी परेको थियो । तारा चार बजे नै उठेर सामान बाँध्न थाली । केही कपडा, किताब र हजुरबुबाको त्यही पुरानो रेडियो ।

पानी केही कम भयो । तारा ठूलोबुबाको पछि-पछि लागेर सहर हिँडी । बिहान पाँच बजे हिँडेका उनीहरुले साँझ धेरै घरमा विश्राम मागे । तर, जातको कारण देखाउदै उनीहरुले कहीँ बास पाएनन् । न त खाना नै । आखिर खोलाको दुई घुट पानी खाएर उनीहरु पुरानो पाटीमा सुते । बिहान सबेरै हिँडेर दिनको बाह्र बजेतिर जिल्ला सदरमुकाम पुगे ।

सानो गैह्रीजस्तो देखिने ठाउँमा घरैघर भएको सहर थियो । ताराले पहिलोचोटि गाउँका विष्ट बाको घरभन्दा ठूला ठूला घरहरु एकै ठाउँमा देखी । ठूला-ठूला पसल र मोटर गाडी देखी । बजारको मुख्य चोकमा उसका बा उनीहरुलाई कुरिरहेको ताराले देखी । ऊ दौडेर बालाई अंगालो हाल्न पुगी ।

बाले उनीहरुलाई अलि अगाडिको होटलमा लगे । ताराले पहिलोचोटि मीठो मानेर जेरी र पुरी खाई ।

ठूलाबाले धान गोड्ने काम छ भन्दै त्यहीँबाट बिदा मागे । बीरबहादुरले केही पैसा दिएर पठाए ।

तारा र बीर बहादुर नजिकैको एउटा होटलमा गए, होटलको नाम तारा होटेल थियो, ताराले होटलको नाम दुई/तीन चोटि पढी, बालाई सुनाई बीरबहादुर मुसुक्क मुस्कुराए ।

तारा बासँगै होटलको रुममा गई । तारालाई यहाँ जात सोधेर मात्र बास दिने या नदिने केही भएन । नजिकै चर्पी रहेछ । उसले गाउँमा विष्ट बाको घरमा मात्र यस्तो चर्पी देखेकी थिई । लुकेर चर्पी हेर्न जाँदा विष्टिनी आमैले, चर्पीको पानी छोई होली भनेर, बाल्टीको पानी पोखेको सम्झिई । बाले पानी छुँदा हुन्छ भनेपछि ऊ ढुक्क भई ।

उनीहरु त्यो दिनभर बजार घुमे । चोकमा लामो दाह्री भएको, तर जुङ्गा काटेको मान्छेको पसलमा चुरा किने र होटेलमा आएर खाना खाएर सुते । बिहान सबेरै काठमाडांैको गाडी चढ्न उनीहरु बसपार्क लागे, सुरुमा गाडी नजिकैबाट देख्दा र गाडीको आवाजले तारा डराएर उसले बाको  हात च्याप्प समाई ।

उनीहरु गाडीमा बसे । तारालाई बीरबहादुरले झ्यालतिरको सिटमा राखे । गाडी गुडेसँगै बाहिरका रुख विरुवा पनि पछि सरेजस्तो तारालाई लाग्यो । वीचवीचमा रोकिन्थ्यो, मानिसहरु गाडीबाट झर्थे । आफ्ना-आफ्ना समान बोकेर निस्कन्थे । खाली गाडीलाई सुरक्षाकर्मीले चेक गरे पछि चेकपोष्टको अर्को पट्टी अलि टाढा गएर रोकिन्थ्यो ।

मानिसहरु सबै लाइनमा बसेर सुरक्षाकर्मीलाई झोला देखाउँथे । सुरक्षाकर्मीले हरेक मान्छेका झोला ओल्टाई पल्टाई जाँच गर्थे र पठाउँथे । ताराका बाले चाहिँ नजिकै अरुले नदेख्ने गरी प्रहरीको परिचयपत्र देखाउँथे, उनीहरुको जाँच सजिलो हुन्थ्यो ।

उनीहरु भोलिपल्ट बिहान काठमाण्डौ पुगे । ताराले सदरमुकाममा भन्दा अझै अग्ला अग्ला घरहरु देखी । बाले उसलाई बसपार्कको पल्लोपट्टी पसलमा लगेर मःम खुवाए । ताराले पहिलोचोटी ममः खाई ।

त्यसरात उनीहरु होटलमा बसे होटेलको नाम सपना गेष्ट हाउस थियो । बीरबहादुर सपना गेष्ट हाउसको बेडमा पल्टेर ताराको सुनौलो भविष्यको बारेमा सपना देख्न थाल्यो । ताराले त्यो दिन थपी थपी खसीको मासुसँग भात खाई ।

भोलिपल्ट बिहान उसका बाले तारालाई एउटा आवासीय विद्यालयमा भर्ना गरिदिए । बीरबहादुरले छोरीलाई आवश्यक हरेक समान उपलब्ध गराइदिन र पैसा बिलमा चढाइदिन पि्रन्सिपललाई आग्रह गरे । तारा बोर्डिङ स्कुलमा पाँच कक्षामा भर्ना भई । बीरबहादुरको जागिर मुग्लिनमा थियो । तारालाई त्यही विद्यालयमा छाडेर उनी जागिरतिर लागे ।

तारालाई सुरुमा सहरी वातावरणमा भिज्न निकै गाह्रो भयो । तर, विस्तारै घुल्दै गई । ऊ पाँच कक्षाको बाषिर्क परीक्षामा फेल भई । तर, निकै रोएपछि बाले बिन्ती गरेर कक्षामा पठाए ।

तारा नित्य प्रतियोगितामा प्रथम हुन्थी । उसले कथा, कविता लेख्न थाली । उसलाई द्वन्द्वले आफ्नो घर, समाज र समग्र राष्ट्रमै असर पारेको थाहा थियो । तारा चौध वर्षको उमेरमा छ कक्षामा पढ्दा, तीजको अवसरमा विद्यालयमा भएको गायन प्रतियोगितामा भाग लिएर प्रथम भई । आफैंले लेखेको गीतमा पनि द्वन्द्वले निम्त्याएको दुःख व्यक्त थियो ।

आज मैले एउटा  चिठी लेखे बरै खरर ।

टुहुराका आँखाबाट आँसु बरर ।।

कति आमा बेसाहारा छोराछोरी मरेर ।

कति चेली विधवा भए बूढा मरेर ।।

बिस्तारै दिन बित्दै गए  । तारा सबैकी प्रिय भई । ताराको बा असईमा बढुबा भएर डोल्पाको दुनैमा सरुवा भए । दशैंमा लिन आउँछु, हामी पोखरा घुम्न जाउँला भनेर हिँडेका बाको माओवादी आक्रमणमा परेर मृत्यु भयो । पन्ध्र वर्षमै तारा टुहुरी भई । ताराको विद्यालयमा पैसा आउने बाटो बन्द भयो ।

हिजोसम्म सबैकी प्यारी, फुर्तीली, तेज दिमाग भएकी भनी तारिफ गर्ने तारालाई खराब आचरण तथा ब्यवहार गरेको भनी विद्यालयले निस्कासनमा गर्‍यो ।

तारा अब घर न घाटकी भई । ऊ निकै दिन भैंतारिइरही । अन्त्यमा उसले एउटा होटलमा काम पाई ।

सुरुमा भाँडा धुने कामदारका रुपमा प्रवेश गरेकी ताराले विस्तारै यौनकर्मीको रुपमा काम गर्नुपर्‍यो । सोह्र वर्षकै उमेरमा ताराको पुष्ट शरीर, कसिलो जिउडाल र पोटिलो वक्षस्थल हिंस्रकहरुको पञ्जामा पर्‍यो ।

होटेलका ग्राहकको लहैलहै र चिनजानमा उसले डान्सबारमा डान्स गर्ने अवसर पाई । दिन बित्दै गयो, ऊ डान्सबारभित्र मात्र होइन, ग्राहकको घरमा र होटलमासमेत रात्रि ग्राहक बढ्दै गए । अंग्रेजी स्कुल पढेकी ताराका विदेशी ग्राहक पनि थिए । रक्सीको मातमा धेरैले विवाहको प्रस्ताव राखे ।

तारा विस्तारै ताराबाट रानी नामले सहरमा परिचित हुन थाली । उसलाई तारिफको कुनै कमी थिएन । साथै उपहार र टिप्सको पनि कमी भएन । तर, पैसा कमाउन्जेल रानीले पैसाको वचत गर्नुपर्छ भन्ने कहिल्यै जानिन । उसलाई जे देख्यो खाने, जुन राम्रो लाग्यो, लाउने लत लाग्यो ।

चिसो मौसममा पनि छोटा कपडा र चिसो बियरले रानी बिरामी हुन थाली । सुरुवातमा हल्का खोकी र सामान्य ज्वरो लाई बैसको तालमा उसले वास्ता गरिन । बारको साहुले पनि ग्राहक कम हुने लोभले, केटाकेटीको जाडो बोकाले खान्छ भनेर आँखा झिम्काउथ्यो । विस्तारै खोकी लहरे खोकीमा र सामान्य ज्वरो उच्च ज्वरोमा परिणत भयो । उसको छाला र ओठ नीलो देखिन थाल्यो । रानी थला परी ।

डाक्टरलाई चेकअप गर्दा उसको फोक्सोमा निमोनिया भएछ । रानीलाई साथीले दुई/चार दिन साथ दिए तर काम नगरी माम खान नपुग्नाले उनीहरु रानीलाई एक्लै छाडेर आफ्नो काममा फर्के । अब उसलाई भेट्न न कोही साथी आउँथे । न त देशी, विदेशी ग्राहक ।

पुराना दिन सम्झेर आँसु बगाउनु सिवाय रानीसँग अब बाँकी केही थिएन ।

पुराना कुरा सम्झँदा उसको सिरानी लगभग पूरै भिजेको थियो । ऊ जीवनको अन्तिम स्वास फेर्दै थिई । उसले खोक्दा पनि खोकी अड्केर लगातार खकखक आवाज मात्र आउँथ्यो । उ प्यासले छटपटाउन थाली । छटपटाउँदा कतिबेला उसको हातबाट रेडियो थिच्चिएर बज्न पुगेछ ।

रेडियोमा युद्धपञ्चात संविधानसभामा बहुमत प्राप्त पार्टीका सर्वोच्चव नेता तथा जनयुद्धका सुपि्रम कमाण्डर, प्रधानमन्त्रीले विशाल जनसभाको अध्यक्षता ग्रहण गर्दै भाषण गर्दै थिए । रानीलाई असैह्य पीडा भयो । उसले सकी नसकी रेडियो बन्द गर्न खोजी । तर, रेडियो भुइँमा लड्यो । भुइँमा खसेको रेडियोमा निरन्तर युद्धको गुणगान र विजय प्राप्ति भएको तथा जनयुद्ध सफल भएको घोषणा गर्दै, देश र जनताले मुक्ति पाएको भन्दै भाषण चल्दै थियो ।

रानीलाई झन् पीडा बढ्न थाल्यो । ओठ, मुख सुक्खा भयो । आँखा विस्तारै धमिला हुँदै गए । उसले अन्तिमचोटि असह्य पीडामा कोल्टे फेर्दा भुइँमा लडेर रेडियो स्टेशन चेञ्ज भयो । अर्को स्टेशनमा पनि क्रान्तिका अर्का नेता जनयुद्धमा विजय प्राप्त गरेको अनुभव सुनाउँदै थिए ।

क्रान्तिको अनुभव सुन्ने रानीका कान सदाका लागि बन्द भए ।



source https://www.onlinekhabar.com/2019/09/799827

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More