Monday 31 August 2020

संस्थागत कार्टेलिङलाई सरकारी संरक्षण : ठेक्कादेखि एयरपोर्टको ट्याक्सीसम्म

१६ भदौ, काठमाडौं । नेपाल खुला बजार अर्थतन्त्र भएको देश हो । तर पनि यहाँ पटक–पटक सिन्डिकेट र कार्टेलिङको विषय चर्चामा रहन्छ । एकाधिकारवादी बजार खडा गरेर उपभोक्तालाई ठग्नेदेखि राज्यस्रोतको दोहनसम्म गर्ने काममा यस्ता कार्टेलिङ खडा गर्ने गरिएको छ ।

पछिल्लो सयममा त यस्ता सिन्डिकेट र कार्टेलिङ संस्थागत हुँदै गएका छन् । केही वर्षअघिसम्म यस्ता सिन्डिकेट तथा कार्टेलिङहरुमा केही हदसम्म सरकारी हस्तक्षेपहरु हुन्थे । तर, अहिले त खुल्लमखुल्ला कार्टेलिङ मौलाएको छ ।

बजारमा प्रतिस्पर्धालाई प्रभावित गर्ने कार्टेलिङ उक्साउन सरकार नै अघि सरेको छ । कुनै क्षेत्रमा विगतको एउटा स्वरुपमा रहेको सिन्डिकेट अर्को स्वरुपमा लगेर सरकारले सिन्डिकेटलाई संस्थागत गर्न सघाइरहेको छ । सिन्डिकेट र कार्टेलिङ रोक्ने गरी बनेका कानुनको धज्जी उडाउने गरी अन्य कानुन बनाएर सरकारले सिन्डिकेटको पक्षपोषणमा काम गर्दै आएको छ ।

यस्ता कार्टेलिङ संविधान र कानुनसम्मत हैनन् । तर, सीमित व्यक्ति तथा संस्थालाई लाभ मिल्ने गरी हुने गरेका कार्टेलिङमा सरकारको नै अग्रसरता देखिन थाल्नु दुःखद् भएको विज्ञहरु बताउँछन् । यस्ता संस्थागत कार्टेलिङलाई प्रधानता दिनेमा बसन्त नेम्वाङले नेतृत्व गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अग्रभागमा छ ।

संविधानको धारा ५१ (घ) को उपधारा ७ मा भनिएको छ, ‘कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने ।’

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन–२०६३ को दफा ३ ‘ञ’ मा भनिएको छ, ‘कुनै पनि वस्तु वा सेवाको ढुवानी वा वितरणमा चक्र प्रणाली (सिन्डिकेट) लागू गर्न पाइने छैन ।

यसबाहेक कालोबजार तथा केही सामाजिक अपराध तथा सजायँ ऐन–२०३२, उपभोक्ता संरक्षण ऐन–२०५४ लगायतका ऐन र त्यससँग सम्बन्धित विभिन्न नीति, नियम, निर्देशिकाले पनि सिन्डिकेट, कार्टेलिङ, कृतिम अभाव लगायतका उपभोक्ता हित प्रतिकूल हुने गतिविधिलाई दण्डनीय मानेको छ । तर, पनि निर्माणदेखि यातायात क्षेत्रसम्म संस्थागत रुपमा सरकार र व्यवसायीको साँठगाँठमै कार्टेलिङ हुँदैछ ।

सरकारको छातामुनि रेलमा कार्टेलिङ

अहिले पूर्व–पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी टेन्डरको चर्चा छ । यो टेन्डर नौलो विकास प्रक्रियाका कारण नभई ठेक्का अघि गरिएको कार्टेलिङ र सेटिङका कारण चर्चित बनेको छ । यसको नेतृत्वसहित संरक्षण गर्ने काम नेपाल निर्माण व्यवसायी महासंघले गरेको छ ।

निर्माण व्यवसायीको छाता संगठनले विरोध गरेमा मिलेमतोमा गरिएको टेन्डर असफल हुने भएपछि महासंघका अध्यक्ष रवी सिंहलाई ५४ वटामध्ये केही प्याकेजमा प्रवेश दिने गरी कार्टेलिङ गरिएको छ ।

पूर्वाधारविद सूर्यराज आचार्य स्वच्छ बजार प्रतिस्पर्धामा सहभागी हुनु पर्ने पेशा–व्यवसायका संघ÷संगठन कार्टेलिङ र सिन्डिकेट देखिनु गलत भएको बताउँछन् । ‘यस्ता संघ÷संगठनलाई अहिलेकै कानुनअनुसार सरकारले तुरुन्त खारेज गरोस्, कानुन छैन भने नयाँ बनाओस्, यो क्यान्सरको बेलैमा उपचार भएन भने लोकतन्त्रलाई यसले खाइछाड्ने छ,’ उनले ट्विटरमा लेखेका छन् ।

सीमित कम्पनी मात्र सहभागी हुन सक्नेगरी टेन्डर गरिन लागेकाले यसमा सेटिङ भएको स्पष्टै भएको छ । नेपालमा सेटिङ भएका ठेक्काको बनावटी मूल्यांकन गर्ने चलन बसेको छ । रेलमा पनि कुन ठेक्का, कसले पाउने भनेर पहिले नै तय छ ।

टेन्डर स्पेसिफिकेसनबाटै अरूलाई दाबी विरोधको ढोका पनि बन्द गरिएको छ । शक्ति केन्द्रहरुको आशीर्वाद प्राप्त कम्पनीहरूका लागि खोलिने यस्ता ठेक्कामा कुन नम्बरको ठेक्का क–कसले, कति मूल्यको टेन्डर हाल्दैछ भन्ने सूची पहिल्यै रेल विभागमा पुगेको छ । ‘मूल्यांकन’ सकेको कागजात पनि टेन्डर नखोल्दै तयार भइसकेको छ ।
नेपालमा प्रतिस्पर्धा नै नहुने अवस्था सिर्जना गरेर अर्बौंको ठेक्का हत्याउने धन्दा १० वर्षयता मौलाएको छ । यसमा निर्माण क्षेत्रका सिन्डिकेटवाला कम्पनीहरूको एकछत्र रजगज छ । यस्ता ठेकेदार कम्पनीहरूले उपल्लो तहका राष्ट्रसेवक र नेताहरूलाई पट्याएर आफ्नो दुनो सोझयाउँछन् ।

कतिपय नेताहरू नै सेटिङमा अग्रसर हुन्छन् । राष्ट्रसेवक कर्मचारीलाई यति, सम्बन्धित मन्त्री र नेतालाई यति भनी भाग पुर्याएर यस्तो सेटिङ गरिन्छ ।

विज्ञहरूका अनुसार सिण्डिकेट लागू गरिरहेका यातायात सञ्चालक समितिहरूलाई फुटाएर कम्पनीहरू बनाउने विगतको योजना सरकारकै कारण असफल भएको छ

अहिले रेलमार्गको ठेक्कामा गरिएको सेटिङमा नेकपा र कांग्रेस दुवै पार्टीको ‘सहमति’ रहेको उनीहरूले साँधेको मौनताले देखाइरहेको छ । तालुकदार भौतिक पूर्वाधार मन्त्रालयको हतारो रेल विभागमै देखिरहेको छ । सबैजना लागत अनुमानभन्दा एक प्रतिशत कममा परियोजना आ–आफ्ना ठेकेदारलाई दिएर लाभ लिन हतारिएका छन् ।

ठेक्कामा मौलाएको कार्टेलिङले स्वच्छ प्रतिस्पर्धा हुन नदिएको बताउँछन् सार्वजनिक खरिद विज्ञ डा. राजेन्द्रप्रसाद अधिकारी । यसले मध्यम पुँजी भएका ठेकेदारहरूलाई प्रतिस्पर्धामा आउन रोकेर देशलाई अर्बौं घाटा लगाइरहेको छ ।

कांग्रेस सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन, राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन, कांग्रेस सांसद जिपछिरिङ लामाको लामा कन्स्ट्रक्सन, रमेश शर्माको शर्मा एण्ड कम्पनी र ऋषि सुवेदीको तुँदी कन्स्ट्रक्सन ठूला ठेक्का ‘फिक्सिङ’ गर्नेमा अगाडि देखिन्छन् । यिनीहरूको सिन्डिकेटमा अहिले बलराम महतो, याल्जे शेर्पा लगायत उदयीमान व्यवसायीहरू मिसिएका छन् ।

यो पनि पढ्नुहोस राज्य संरक्षित १८ भाइ ठेकदार : ५३ प्रतिशत ठेक्का कब्जा

फरक–फरक कामको ठूलो प्याकेजको टेन्डर हाल्न मध्यमस्तरका कम्पनीहरूको नियमअनुसार तोकिएको वार्षिक कारोबार रकम नै पुग्दैन । साना प्याकेजमा भने अनुभव धेरै मागेर बाहिर पारिन्छ । अहिलेको विवादास्पद रेल्वेको ठेक्कामा पनि यही शैली अपनाइएको छ ।

महासंघको नेतृत्वमा भएको यो सेटिङमा सरकारकै डिजाइनमा भएको छ । यसबारे बाहिर चर्को विवाद हुँदा पनि सरकारले करिब ७ देखि १० अर्ब बढी लागत पर्ने यो रेलमार्गको ठेक्का लगाउँदैछ ।

यसअघि पनि विभिन्न ठूला निर्माण परियोजनामा यस्ता कार्टेलिङ भएका थिए । जसलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रत्येक वर्षको रिपोर्टमा औल्याउँदै आएको छ । तर, स्रोतका अनुसार अहिले रेलमार्गको यो ठेक्कामा प्रधानमन्त्री कार्यालयको प्रमुख संरक्षण छ ।

यातायातको सिन्डिकेटलाई कानूनबाटै संरक्षण

केपी ओली नेतृत्वको सरकारले आफ्नो दुई वर्षे उपलब्धीको चर्चा गर्दा सार्वजनिक यातायातको सिन्डिकेट हटाएँ भनिरहन्छ । ०७६ जेठमै सरकारले घोषणा गरेको थियो– ‘सार्वजनिक सवारीमा सिन्डिकेट सकियो ।’

तर, गत असारको अन्तिम साता यातायात व्यवसायीले सरकारको घोषणालाई लोप्पा खुवाए । लकडाउन खुकुलो भएपछि जिल्लाभित्र आन्तरिक सार्वजनिक सवारी साधन चलाउने सरकारी निर्णयलाई यातायातका सिन्डिकेटधारीले अमान्य बनाइदिएका थिए । सरकारले सार्वजनिक साधन चलाउने आदेश दिए पनि सिन्डिकेटकै कारण सार्वजनिक गाडी सडकमा ननिस्किएपछि यातायात विभागले दौडधुप र वार्ता गरेर बल्ल–बल्ल दुई हप्तापछि सार्वजनिक सवारी चल्ने वातावरण बनाउन सक्यो ।

लकडाउनका कारण चरम समस्या भोगिरहेका व्यवसायीहरु गाडी सडकमा निकाल्न हतार गरिरहेका थिए । तर, सरकारले मान्यता दिएको यातायात व्यवसायीका दुई महासंघहरुले गाडी ननिकाल्न उर्दी दिए । महासंघमा आवद्ध केही कम्पनीहरुले उर्दी बहिस्कार गरे भने कतिले स्वीकारेर चुपचाप बसे ।

यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नखोलिन्जेल बसका चक्का सडेको, ब्याट्री बिग्रेको अनि खिया लागेर गाडीहरू नचल्ने अवस्थामा पुग्न लागेको भन्दै चलाउन पाउनु पर्ने माग राख्दै आएका थिए । मागअनुसार सरकारले असार २६ गते ५० प्रतिशत बढी भाडा लिन पाउने गरी सम्बन्धित जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात खुल्ला गर्ने निर्णय गरेको थियो । तर, सरकारी निर्णय आउनासाथ व्यवसायीहरूले सर्तैसर्त तेस्र्याएर चक्काजामको नीति लिए ।

यसबाट यातायात व्यवसायीहरुको सिण्डिकेट तोडिएको छैन भन्ने प्रष्टै गर्यो । विज्ञहरूका अनुसार सिण्डिकेट लागू गरिरहेका यातायात सञ्चालक समितिहरूलाई फुटाएर कम्पनीहरू बनाउने विगतको योजना सरकारकै कारण असफल भएको छ ।

सार्वजनिक यातायातका विज्ञ आशिष गजुरेलका अनुसार, सार्वजनिक सवारीमा अझैसम्म सिन्डिकेट हटेको छैन, समितिहरुबाट कम्पनीमा सरेको मात्र छ । उनी भन्छन्, ‘सिन्डिकेट सार्ने काम सरकारकै सहयोगमा भएको हो ।’ कसरी ?

२०७५ फागुन १९ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा तीन महिनाभित्र दर्ता हुने कम्पनीमा जति पनि सेयर सदस्य राख्न पाइने व्यवस्था गरियो । समितिबाट कम्पनीमा जान अटेर गरेका व्यवसायीहरूको मागलाई तत्कालीन यातायात मन्त्री रघुवीर महासेठले पूरा गरिदिए ।

कम्पनी ऐनअनुसार सयभन्दा बढी सेयर सदस्य भएका कम्पनी दर्ता हुन नसक्ने भएपछि व्यवसायीले असीमित सेयर सदस्य राख्न दिन माग गरेका थिए । तत्कालीन यातायात मन्त्री महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र गृहमन्त्री रामबहादुर थापाले सहमति गरेर ऐन संशोधनमार्फत व्यवसायीलाई कम्पनीमा रहन दिने गरी संसदमा विधेयक लगेर आफैंले सिन्डिकेटलाई बचाए ।

त्यसपछि यातायात समितिहरूले पुरानै संस्थागत सदस्यलाई सेयर सदस्य बनाएर कम्पनीमा रुपान्तरण गरे ।

सिन्डिकेट चलाइरहेका यातायात समितिहरूलाई जस्ताको त्यस्तै कम्पनी बन्न दिएपछि उनीहरूले पुरानै शैलीमा सवारी रुटदेखि ‘डायलिङ सिस्टम’सम्म कायम राखे ।
सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि बसपार्कहरूको व्यवस्थापन, रुट अध्ययन, ई–टिकेटिङ, राजमार्गअनुसार गाडी संख्या निर्धारण, दुर्घटना बीमा, क्षतिपूर्ति, समितिहरुको सम्पत्तिबारे निर्णयलगायत सबै विषयलाई अन्योलमै छाडिदिएको थियो ।

२०७५ वैशाख २४ मा भएको सहमतिअनुसार अध्ययन कार्यदल गठन गरेर तयार भएको प्रतिवेदन पनि सरकारले थन्क्याएर राखेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सहसचिव केशवप्रसाद शर्मा नेतृत्वको सुझाव कार्यदलको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

सरकारले आफ्नै दायित्व भुल्दा पनि यस्तो अवस्था आएको तर्क गर्छन् विज्ञ गजुरेल । उनका अनुसार नेपालमा सार्वजनिक सवारी भद्रगोल हुनमा सरकारी अकर्मण्यता र सिन्डिकेट प्रमुख कारण हो । सरकारले सिन्डिकेटलाई समितिबाट कम्पनीमा सारिदिएपछि व्यवसायीको बार्गेनिङ पावर झन् बढेको छ ।

ट्याक्सीमा सरकारकै सिन्डिकेट

सरकारले ट्याक्सी सेवामा पनि आफैंले सिन्डिकेटलाई संरक्षण गरेर राखेको छ । अहिले सरकारले कुनै पनि अञ्चलमा नयाँ ट्याक्सीको दर्ता गर्दैन । यसले ट्याक्सी सेवामा नयाँलाई प्रवेश मात्र रोकेको छैन, भएका ट्याक्सीमा एकाधिकार र विकृति थपेको छ ।

ट्याक्सी सेवामा रहेको सिन्डिकेटलाई सक्रिय रहेका विभिन्न ट्याक्सी व्यवसायी संघ र समितिहरुले पक्षपोषण गर्दै आएका छन् । नयाँ ट्याक्सी रोकेबापतको भाग मन्त्री र विभिन्न दलका नेताहरुसम्म पुर्याउने गरिएको चर्चा हुने गरेको छ ।

पुराना व्यवसायीले एउटा ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा अर्को गाडी किनेर ट्याक्सीकै रुपमा चलाउन सरकारले अनुमति दिने गरेको छ । कसैले ट्याक्सी चलाएर गुजारा गर्न चाहन्छ भने उसलाई सरकारले नै नयाँ ट्याक्सी चलाउन दिँदैन ।

‘सट्टा दर्ता’का नाममा अहिले पनि पुरानै व्यवसायीले ट्याक्सी सेवा कब्जा गरिरहेका छन् । यसले नयाँ व्यवसायीलाई स्तरीय सेवा दिन आउन निषेध गरिरहेको छ । किनकी एउटा ट्याक्सीको नम्बर प्लेटका लागि १० लाखसम्म तिर्नु पर्ने बाध्यता छ ।

सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार छ । काठमाडौंमा हाल ९ हजार ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् । जब कि झण्डै १५ वर्षअघि काठमाडौंमा ११ हजार ट्याक्सी थिए ।

ट्याक्सी चल्ने सम्भावना रहेका धेरै शहरमा सरकारले अहिले पनि दर्ता खोलेको छैन । सरकारको यही सिन्डिकेटकै कारण ट्याक्सी सेवामा प्रतिस्पर्धाको वातावरण बन्न सकेको छैन र यसकै आडमा सेवामा मनपरीतन्त्र हाबी भएको छ । सरकारले निर्णय गरेको मिटर बिलिङ सिस्टमसमेत कार्यान्वयन हुन सकेको छैन ।

खुलारुपमा ट्याक्सी दर्ता भएर प्रतिस्पर्धा गर्न दिए ट्याक्सीको भाडादर स्वतः घट्ने र थोत्रा ट्याक्सी आफैं विस्थापित हुने थिए । तर, अहिले काठमाडौं उपत्यकालगायत देशभर थोत्रा ट्याक्सीको बाहुल्य छ । जसमा पैसा तिरेर पनि यात्रा गर्न सहज र सुरक्षित छैन ।

यातायात व्यवस्था विभागका अधिकारीले पनि स्वीकार गरेका छन् कि नेपाली मात्र होइन, केही विदेशी ट्याक्सी कम्पनीहरुले समेत आउने इच्छा देखाएका छन् । तर, सरकारकै सिन्डिकेटले कोही पनि यो व्यवसायमा आउन पाउने अवस्था छैन ।

विमानस्थलका ट्याक्सी पनि सीमित पहुँचवालाहरुको कब्जामा छ । त्यहाँ रहेका २ सयबाहेक हरियो प्लेटका ट्याक्सी थप्न पाउने अवस्था छैन । त्यहाँका ट्याक्सीले महँगो मूल्यमा यात्रुलाई सेवा दिने गरेका छन् भने बाहिरबाट जाने ट्याक्सीलाई विमानस्थलमा यात्रु उठाउन निषेध छ ।

त्यहाँ पनि प्रिपेड ट्याक्सी संघ छ, जसलाई सरकारका अधिकारीहरुको संरक्षण छ । त्यहाँ कसैले नयाँ ट्याक्सी थप्न सक्ने अवस्था छैन ।



source https://www.onlinekhabar.com/2020/09/893158

काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता

१६ भदौ, काठमाडौं । काठमाडौं रातोपुलमा दीलीप श्रेष्ठको साता आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्डभित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेका छन् ।

दिलिपले कौसीमा तरकारी र फलफूल फलाउन थालेको २७ वर्ष भयो । नेपालमा फल्ने अधिकांश जातका तरकारी र ६ प्रकारका फलफूल आफ्नै घरमा फल्ने गरेको उनी बताउँछन् ।

‘मलाई रुख कटहर, आलु, स्कुस, न्यूरो किन्नुपर्छ, बाँकी सबै घरमै फल्छ,’ श्रेष्ठले भने । घिरौँला, बोडी, साग, लसुन, प्याजदेखि सबै खाले सिजनको तरकारी र अम्बा, किवी, अनार, एभोकाडो, मेवा, स्ट्रोबेरी, कागती र ड्रागन फ्रुट घरमै फल्ने गरेको उनले सुनाए । हरेक मौसमसँगै बगैचा, कौसी र छतमा फल्ने तरकारी तथा फलफूलले मनै आनन्द हुने श्रेष्ठ बताउँछन् ।

काठमाडौंकै रानीवनमा रहेको तीन तले घरको छतमा सोनी केसीले हरियाली तरकारी तथा फलफूल बगैंचा बनाएकी छिन् । छिमेकी घरमा गरिएको खेती देखेर आफूलाई पनि गरौँ–गरौँ लागेको र अहिले बजारमा तरकारी किन्न खासै जान नपरेको उनले सुनाइन् ।

‘आलुलगायतका तरकारी मात्रै किन्ने हो अरु त पर्दैन,’ केसीले भनिन्, ‘घरको तल रहेको जमिन, छत र कौसीमा फलेको तरकारीमा विषादी पनि नहुने र बजारको महँगीबाट पनि जोगिने रहेछ ।’

पछिल्लो ६ वर्षदेखि छतमा तरकारी फलाइरहेको उनले बताइन् । उनको घरको छतमा काउली, काँक्रोदेखि अनारसम्म फल्ने गरेको छ ।

सोनी केसी

खर्च र मेहनत

घरमा निर्वाहमुखी तरकारी तथा फलफूल खेती गर्न ठूलो खर्च नलाग्ने रातोपुलका दिलीप श्रेष्ठको अनुभव छ । सानो खेती गर्न घरबाटै उब्जनी भएको खाद्यमल, घरकै पुराना भाँडाकुँडाले पुग्ने उनी बताउँछन् ।

‘तर गरिसकेपछि राम्रै गरौँ भन्ने हो भने ५० हजार वा त्योभन्दा धेरै बिउपूँजी लाग्न सक्छ,’ उनले भने, ‘मलिलो माटो, गमला, बिउ, रसायनिक मल लगायतमा गरिने खर्च नै कौसी खेतीको पहिलो लगानी हो,’ श्रेष्ठले भने ।

दैनिक व्यायामको लागि छुट्याइने समय मात्रै खर्च गर्ने हो भने पनि घरमै गज्जबको खेती गर्न सकिने रानीवनकी सोनी बताउँछिन् । कौसी खेतीलाई कुरेर वा धेरै बल लगाएर काम गर्न नपर्ने उनको अनुभव छ ।

‘हरेक सिजन अनुसारको बिउ रोप्ने र सामान्य रेखदेख गर्ने हो, मर्निङ वाकको समय वा घरमा बस्दा बोर लागेको समय यसका लागि छुट्याए पुग्छ,’ उनले भनिन् ।

दैनिक आधा घण्टाको मेहनतले कुनै सिजनमा आफ्नो परिवारलाई पुर्याएर पनि आफन्त नाता गोतालाई समेत बाँड्न तरकारी पुग्ने गरेको उनको भनाइ छ ।

महँगी र विषादीबाट छुटकारा

घरायसी प्रयोगका लागि फलाइने भएकाले कौसी खेतीको उत्पादनमा विषादी र रसायनिक मलको प्रयोग दुर्लभ हुने गरेको केसी बताउँछिन् । घरको भान्सामा उत्पादन हुने फोहोरबाटै मल बनाउन सकिने र आफूले चाहेको बेलामा बजारबाट किनेरै भए पनि अर्गानिक मल घरमै उत्पादन गर्न सकिने उनको भनाइ छ । बजारबाट पिना किनेर ल्याएर मल बनाउने गरेको केसीले सुनाइन् ।

सिजनअनुसार बजारमा तरकारीको महँगीबाट जोगिन कौसी तथा छतमा गरिने स–साना तरकारी खेती अचुक उपाय भएको श्रेष्ठ बताउँछन् । ‘दिनमा एक घण्टा मेहनत गर्र्दा मलाई बजारमा तरकारीको मूल्य बढेको समाचारले कहिल्यै अत्याउँदैन,’ श्रेष्ठ थप्छन्, ‘गमलामा स्ट्रोबेरी फल्छ, लहरामा किवी झुलेको छ, अम्बा पाक्दैछ यसले मलाई हरेक दिन आनन्दित तुल्याउँछ ।’

आफ्नै वा भाडाकै घरको भए पनि छत वा कौसीमा नहिच्किचाई खेती गर्न सबैलाई उनको सुझाव छ ।

काठमाडौं उपत्यकामा सम्भाव्यता

बढ्दो सहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको क्षयीकरण तीव्र छ । ९ वर्ष अघिको जनगणनालाई आधार मान्ने हो भने उपत्यकामा साढे तीन लाख हाराहारी घरहरु थिए । पछिल्लो ९ वर्षमा थपिएका घरहरुको छत झण्डै १० लाख हाराहारी हुन सक्ने अनुमान गरिन्छ ।

ती सबै घरका छत र कौसी तथा करेसाबारीमा तरकारी र फलफूल खेती हुने हो भने काठमाडौं उपत्यकाको घरायसी खपतको ठूलो हिस्सा कौसी खेतीले पूरा गर्ने काठमाडौं महानगरपालिकाको विश्वास छ । काठमाडौं महानरगमा मात्रै दुई लाख ५४ हजार २ सय ९२ वटा कुल घरधुरी रहेको महानगरले जनाएको छ । नाकाबन्दी र लकडाउनपछि महानगरमा कौसी खेतीको प्रचलन बढेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

स्थानीय तहको प्रोत्साहन कार्यक्रम 

यसै आर्थिक वर्ष पाँच सय घर धुरीलाई कौसी खेतीमा सक्षम बनाउने गरी कार्यक्रमहरु पारित भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । कौसी खेती गर्न चाहने सर्वसाधारणले आफ्नो वडामा निवेदन दिन सकिने  र इच्छुकहरुको समूह तयार भएपछि महानगरले तालिम प्रदान गर्ने प्रवक्ता डंगोल बताउँछन् ।

‘आफ्नो घरको लागि पुग्ने आधारभूत तरकारी सर्वसाधारणले घरमै फलाउन सकुन् भन्ने महानगरको इच्छा हो,’ प्रवक्ता डंगोलले भने । महानगरले सञ्चालन गरेको तालिममा १२ सय जना सहभागी भएको महानगरले जनाएको छ ।

तरकारी र फलफूल उत्पादन बढाउन सरकारको नीति तथा कार्यक्रममै कौसी खेतीको अवधारणा समावेश गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ । कौसी खेतीको सन्दर्भमा नीति मन्त्रालयको भए पनि कार्यक्रम र आयोजनाहरु भने प्रदेश र पालिकाहरुकाबाट मात्रै सञ्चालन हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरबहादुर केसी बताउँछन् ।

‘कौसी खेतीको अवधारणा स्पष्ट नभएका कारण यकिन तथ्यांक छैन तर धेरैजसो प्रदेश र पालिकाले कार्यक्रम गरिरहेका छन्,’ केसीले भने । कौसी खेतीको परिभाषा र अवधारणा छिट्टै तयार हुने र यसलाई परिणाममुखी बनाइने मन्त्रालयको तयारी छ ।



source https://www.onlinekhabar.com/2020/09/893170

बुटवलमा पनि सञ्चालन भयो फुड बैंक

१६ भदौ, बुटवल । लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानले बुटवल–११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताए ।

एक परिवारलाई ३ केजी चामल, १ केजी दाल, १ पोका तेल, एक पोका नुन, एक पोका सोयाबिन, चाउचाउ, चिउरा, सम्भव भएसम्म हरियो तरकारी तथा मास्क र सेनिटाइजर समेत वितरण गरिने डुम्रेले बताए । वडा कार्यालय, टोल विकास संस्था र स्थानीय क्लबहरुसँगको समन्वयमा खाद्यान्न लिनेहरुको अभिलेखीकरण गरी दुरुपयोग हुन नदिइने उनले बताए ।

फुड बैंक सञ्चालनमा देवीनगर अस्थायी प्रहरी चौकीले समेत सहयोग गरेको छ । दैनिक २५ देखि ४० परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको डुम्रेले बताए । बुटवलको देवीनगर बुटवल उपमहानगरकै सबैभन्दा धेरै ७० हजार बढी जनसंख्या भएको वडा भएको र यहाँ सुकुम्वासी, मजदुर तथा विपन्न वर्गको संख्या धेरै भएकाले देवीनगरमा फुड बैंक सञ्चालन गरिएको अभियन्ताको भनाइ ।

हाल लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकलाई भविष्यमा पनि व्यवस्थित ढंगले स्थायीरुपमा सन्चालन गर्ने लक्ष्य रहेको अभियानले जनाएको छ ।

यसअघि रुपन्देहीको भैरहवामा मायादेवी च्यारिटेबल फाउण्डेसनले पनि फुड बैंक सञ्चालनमा ल्याएको छ ।



source https://www.onlinekhabar.com/2020/09/893168

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

१६ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ । उनले भने, ‘शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाइरोटरी फेलियर भयो । बचाउन सकिएन ।’

पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । घरवारविहीन र पहिचान समेत नखुलेका उनी सडकमै बेवारिसे अवस्थामा जीबन व्यतित गर्दै आएका थिए ।

यसअघि जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता मात्रै ५० जनाको मृत्यु भएको छ । मृत्यु भएका ५४ जनामध्ये पर्साका ३९ जना, बाराका ११ जना र रौतहटका ४ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

यो पनि पढ्नुहोस वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

source https://www.onlinekhabar.com/2020/09/893163

कञ्चनपुरमा नदीमा डुबेर २ जनाको मृत्यु

१६ भदौ कैलाली । कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । एक जनालाई स्थानीयले उद्धार गरेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘सोमबार दिउसो नदीमा माछा मार्न गएका उनीहरु डुबेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरे ।’

दुवैको शव बगेको स्थानबाट करिब तीन सय मिटर टाढा फेला परेको उनले जानकारी लिए ।



source https://www.onlinekhabar.com/2020/09/893161

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

१६ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘अस्पतालमा ल्याउँदा निकै गाह्रो भैसकेको थियो,’ अस्पतालका निर्देशक डा.लम्सालले भने, ‘किन ढिला ल्याएको भनेर मैले सोध्दा अस्पतालमा कोरोना सर्न सक्छ भनेर जवाफ दिएका थिए ।’

चितवनमा कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन् ।

यो पनि पढ्नुहोस चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

source https://www.onlinekhabar.com/2020/09/893159

सिरहाका संक्रमितको धरानमा ज्यान गयो

१६ भदौ, जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

एक साताअघि अस्पतालमा भर्ना भएका ६५ वर्षका पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामीसमेत थिए ।

योसँगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/09/893157

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

१६ भदौ, विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गराएका मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण देखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिनयता होम आइसोसनमा बसेका थिए । ‘होम क्वारेन्टाइनमा बसेर जाँच गराउँदा मेरो रिपोर्ट पोजेटिभ आयो,’ मन्त्री घिमिरेले भने, ‘कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेट्यो ।’

दुई दिनयता ज्वरो आएको र पखला लागेको मन्त्री घिमिरेले बताए ।

प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणमा मन्त्री घिमिरे सक्रिय थिए ।



source https://www.onlinekhabar.com/2020/09/893155

रुट इंग्ल्याण्डको टी-२० टिममा परेनन्

१६ भदौ, काठमाडौं । इंग्लयाण्ड टेष्ट टिमका कप्तान जो रुट अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-२०आई सिरिजका लागि टिममा पर्न असफल भएका छन् ।

अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको ओडिआई सिरिजका लागि टिममा परेका रुट तीन खेलकै टी-२० सिरिजका लागि भने परेनन् ।

इओन मोर्गनको कप्तानीमा ओडिआईको लागि १३ र टी-२०का लागि १४ सदस्यीय इंग्लिस टोली घोषणा भएको छ ।

रुटसँगै अलराउण्डर क्रिस वोक्स पनि ओडिआई टिममा मात्र छन् । जोस बटलबर जोफ्रा बर्चर साम कुरन मार्क उड भने दुवै टोलीमा छन् ।

बेन स्टोक्स भने टिममा छैनन् । आफ्नो बुबा बिरामी भएका कारण पाकिस्तानविरुद्धको अन्तिम दुई टेष्ट गुमाएका स्टोक्स बिरामी बुबा भेट्न न्यूजिल्याण्ड गएका छन् ।

तीन खेलको टी-२० सिरिज सेप्टेम्बर ३ देखि सुरु हुँदैछ । ओडिआई सिरिज सेप्टेम्बर ११ देखि सुरु हुनेछ ।

 

टी-२० टिम : इओन मोर्गन (कप्तान) मोइन अली, जोफ्रा आर्चर, जोनी बेयर्‍स्टोव, टम ब्यान्टन, साम बिलिङ्स, जोस बटलर, साम कुरन, टम कुरन, जोए डेन्ली, क्रिस जोर्डन, डेविड मालान, एदिल रसिद, मार्क उड

रिजर्भ : लियम लिभिङ्गस्टोन, साकिव महमुद

ओडिआई टिम : इओन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयर्‍स्टोव, टम ब्यान्टन, साम बिलिङ्स, जोस बटलर, साम कुरन, टम कुरन, जोए रुट, क्रिस वोक्स, एदिल रसिद, मार्क उड

रिजर्भ : जोए डेन्ली, साकिव महमुद



source https://www.onlinekhabar.com/2020/09/893147

ज्याक ग्रेलिस पहिलो पटक इंग्लयाण्डको टिममा

१६ भदौ, काठमाडौं । एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिस पहिलो पटक इंग्ल्याण्डको सिनियर टिममा परेका छन् । मार्कुस रासफोर्ड र ह्यारी विङ्क्सले टिमबाट नाम फिर्ता लिएपछि ग्रेलिसले गारेथ साउथगेटको टिममा स्थान बनाएका हुन् ।

युइएफए नेसन्स लिग अन्तर्गत इंग्ल्याण्डले आइसल्याण्ड र डेनमार्क विरुद्ध खेल्ने टोली घोषणा भएको हो ।

२४ वर्षीय ग्रेलिसले यसअघि यंग्लयाण्डको यू-२१ टोलीबाट खेलिसकेका छन् । उनी सन् २०१६ मा साउथगेटकै टुलुन टुर्नामेन्ट जित्दाको टिममा थिए ।

यस्तै कोनोर कवएडी र अइन्सले मइटलान्ड नाइल्सलाई पनि शनिवार टिममा कल गरिएको थियो ।

ग्रेलिसले इंग्ल्याण्डको टिममा पर्नु आप्नो लागि सपना पूरा भएको बताएका छन् ।

इंग्लिस टिम

गोलकिपर : डिन हेन्डरसन जोर्डन पिकफोर्ड निक पोव

डिफेण्डर : ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, कोनोर कोडी, एरिक डायर, जोए गोमेज, माइकल किन, अइन्सले मइटलान्ड नाइल्स, ट्राइओन मिङ्ग्स, किरन ट्रिपिएर, केल वाल्कर

मिडफिल्डर : फिल फोडेन, मासन माउन्ट, केल्भिन फिलिप्स, डेक्लान रिस, जेम्स वार्ड प्रोवस, ज्याक ग्रेलिस

फरवार्ड : टमी अब्राहम, मासोन ग्रीनउड, ड्यानी इङ्ग्स, ह्यारी केन, जाडोन सान्चो, रहिम स्ट्रलिङ



source https://www.onlinekhabar.com/2020/09/893153

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टि

१६ भदौ, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भदौ १५ गते ४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पीसीआर पोजेटिभ १८ जनामध्ये १८ जना पर्साका र २ जना बाराका छन् ।

यीमध्ये दुई जनामा जीन एक्सपर्ट विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । जीन एक्सपर्टमा कोरोना पोजेटिभ देखिएको दुवै पुरुष हुन् । उनीहरु मध्ये १ जना पर्सा र एक जना बाराको रहेको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

पछिल्लो पटक १८ जना संक्रमित थपिएसँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । यसअघि पर्सामा ४ सय ९० जना महिलासहित २ हजार १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २४ जना भारतीय नागरिक, १ सय ३५ जना स्वास्थ्यकर्मी, १ सय ८ जना सुरक्षाकर्मी, १४ जना पत्रकार, १ सय ७ जना कैदी थुनुवा, ४९ जना अस्पतालका सफाइकर्मी, गार्ड, कार्यालय सहयोगी र ३ जना एम्बुलेन्स चालकमा कोरोना देखिएको हो ।

सोमबारका २१ जनासहित हालसम्म पर्सामा ७ सय ५ जना कोरोनामुक्त भइसकेका छन् । अस्थायी कोभिड अस्पतालमा ३१ जना महिलासहित १ सय ६ जना कोरोना संक्रमितको उपचार जारी छ । जसमध्ये २७ जना आइसियूमा छन् । २ सय २३ जना महिलासहित १ हजार १ जना होम आइसोलेसनमा छन् ।

२० हजार २३ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ५० वटा स्वाब नमुना परीक्षण गर्न बाँकी छ । कोभिड–१९ का कारण पर्सामा मात्रै ३८ जनाको मृत्यु भइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/09/893152

इब्राहिमोभिच थप एक वर्ष मिलानमै रहने

१६ भदौ, काठमाडौं । स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच थप एक वर्ष इटालियन क्लब एसी मिलानमै रहने भएका छन् । इब्राहिमोभिचले मिलानसँग एक वर्षको सम्झौता नवीकरण गरेका हुन् ।

३८ वर्षीय स्वडिस फरवार्डले गत जनवरीमा यता मिलानका लागि ११ गोल गरेका थिए । उनी जनवरीमा ६ महिनाका लागि मिलानमा अनुबन्ध भएका थिए ।

इब्राहिमोभिचले पहिलो पटक सन् २०१० मा मिलानका लागि खेलेका थिए र सिरी ए को उपाधिसमेत जितेका थिए । इब्राहिमोभिचले सोमबारदेखि टिमसँग प्रि-सिजनको ट्रेनिङ पनि सुरु गरिसकेका छन् ।

इब्राहिमोभिचले यसअघि इटलीकै युभेन्ट्स र इन्टर मिलान, नेदरल्याण्ड्सको अयाक्स, स्पेनको बार्सिलोना, फ्रान्सको पिएसजी, इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेड र अमेरिकाको एलए ग्यालेक्सीका लागि खेलेका थिए ।



source https://www.onlinekhabar.com/2020/09/893151

हाम्रो जीवन किन यति तनावग्रस्त ?

तनाव एक मानसिक स्थिति हो । तर, यसको सोझो सम्बन्ध शरीरसँग हुन्छ । हामीमा जति-जति तनावको स्तर बढ्दै जान्छ, स्वास्थ्य स्थिति उत्तिकै नाजुक बन्छ ।

मनोचिकित्सकहरु भन्छन्, तनाव शरीरका लागि त्यती नै हानिकारक छ जति खराब खानपान र जीवनशैली । मदिरा पिउनु, चुरोट सेवन गर्नु आफैमा हानिकारक छ । यस्तै हानिकारक छ, तनाव पनि ।

हामी अक्सर तनावरहित जीवन विताउने यत्नमा हुन्छौं । तर, कुनै न कुनै कारणले हामीलाई तनावग्रस्त बनाइदिन्छ । हामी सुनिरहेका हुन्छौं, भनिरहेका हुन्छौं, ‘तनाव लिनुहुन्न ।’ यद्यपि हामी तनावको भुँमरीबाट बाहिर निस्कनै सक्दैनौं । केही न केही कुराले हामीलाई तनावको स्थितिमा पु¥याउँछ ।

तनावलाई पूर्णत निषेध गर्न संभव छैन । व्यवहारिक जीवन जिउने क्रममा हाम्रो वातावरण नै यसरी निर्माण भएको हुन्छ, जसले तनावलाई एउटा हिस्सा बनाउँछ । त्यसैले हामीले आफ्नो जीवनलाई तनावबाट एकदमै अलग राख्न सक्दैनौं । त्यसो भए के तनावमुक्त जीवन संभव छैन ?

तनावलाई निषेध गर्ने होइन, व्यवस्थापन गर्ने हो ।

संसारका हरेक व्यक्ति तनावको घेराबाट बाहिर छैनन् । सबैलाई कुनै न कुनै कारणले तनाव भएकै छ । तर, कसैले तनावले अत्याधिक पिरोलेको छ भने कतिपयले तनावलाई एक सामान्य रुपमा स्विकारेका छन् । यसको अर्थ कसैले तनाव लिन्छन् भने कसैले त्यसको सही व्यवस्थापन गर्छन् । त्यसैले तनाव व्यवस्थापन एक महत्वपूर्ण आवश्यक्ता हो ।

हाम्रो जीवनमा तनाव आफुमात्र आउँदैन । त्यसले अरु विकारहरु पनि साथमा लिएर आउँछ । जसै हामी तनावग्रस्त बन्न पुग्र्छौं, त्यसले हाम्रो उर्जा, सीप, दक्षता, कार्यकुशलता, धैर्यता, सहनसिलता सबैलाई नराम्ररी प्रभावित बनाइदिन्छ । साथसाथै यसले शरीरका भित्री अंगहरुको कार्य संचालनमा अवरोध पु¥याउँछ । हृदयरोगदेखि रक्तचापसम्मको स्थितिमा पु¥याउँछ ।

त्यती मात्र होइन, हामी उभिएको माहौल नै खराब बनाइदिन्छ । परिवार, साथीभाई सबैलाई त्यसले कुनै न कुनै रुपमा असर गर्छ । त्यसैले त सदियौंदेखि तनावमुक्त जीवनको खोजी हुँदै आएको छ ।

एउटा अनुसन्धानले के देखाएको छ भने पुरुषको तुलनामा महिलाहरु बढि चिन्ता लिन्छन् र तनावमा आउँछन् । त्यसैले पुरुषहरुको तुलनामा महिलाहरुको स्वास्थमा तनाव र चिन्ताले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अनुसन्धानले नै के देखाएको छ भने हृदयघातबाट मृत्यु हुने पुरुषहरु ३८ प्रतिशत छन् भने महिलाहरुको संख्या ४७ प्रतिशत छ ।

कमजोरी हुनु, टाउको दुख्नु,पेटसम्बन्धी समस्या देखापर्नु, वाकवाकी लागे जस्तो हुनु, मांशपेशीमा तनाव हुनु, मांशपेशी दुख्नु, छातीमा पीडा  हुनु, मुटुका धड्कन बढ्नु, राम्ररी निद्रा नलाग्नु, चिडचिडाहट हुनु, एक्लोपन महसुस हुनु, शारीरिक रुपमा थकान अनुभव गर्नु आदि तनाव भएपछि हुने शारीरिक लक्षणहरु हुन् ।

तनावको स्थितिमा भोक लाग्दैन, कुनै पनि काम गर्न मन लाग्दैन, सम्झने शक्ति नै कमजोर हुन्छ, तौल बढ्ने अथवा घट्ने सम्भावना देखिन्छ, यौन इच्छामा समेत कमी आउँछ ।

तनावलाई कसरी हटाउने ? तनावमुक्त जीवन कसरी पाउने ? तनाव व्यवस्थापनको विधी के हुन् ? यावत् विषयमा खोज र अभ्यासहरु भएका छन् । कतिपय शारीरिक क्रियाबाट समेत तनावमुक्त हुने विधीहरु पहिल्याइएका छन् । प्राणायाम त्यस्तै विधीमध्ये एक हो ।

जब तपाईं कुनै कुराले दुःखी, चिन्तित वा तनावग्रस्त बन्नुहुन्छ, गहिरो वा लामो सास लिएर फरक अनुभव गर्न सक्नुहुनेछ । यस्ता व्यवस्थित विधी अपनाएर पनि तनाव व्यवस्थापन गर्न सकिन्छ ।

कुनैपनि कुराको उपचार गर्नुअघि त्यसको कारणहरु खोजिन्छ । त्यसैगरी तनाव व्यवस्थापनका लागि पनि पहिले त त्यसको जरा पहिल्याउनुपर्ने हुन्छ । जस्तो के कारणले तनाव भइरहेको छ ।

हामीलाई तनाव हुने कारणहरु प्रसस्त छन् । सोच जस्तो काम नहुनु, कामको चाप बढ्नु, आर्थिक रुपले समस्या पर्नु, प्रतिस्पर्धात्मक जीवनशैली अपनाउन थाल्नु, घरपरिवार तथा अफिसको कामको दोहोरो जिम्मेवारी वहन गर्नु, करियर र पारिवारिक सम्बन्धलाई सन्तुलन राख्न नसक्नु जस्ता कारणले हामीमाझ तनाव उत्पन्न हुन्छ । यावत् कारणहरु पहिल्याएर तनाव के कारणले भएको छ र त्यसलाई कसरी व्यवस्थापन वा समाधान गर्ने भन्ने कुरा खोज्नुपर्छ ।



source https://www.onlinekhabar.com/2020/09/893149

पूर्वराजदूत रिचर्डको शव चार महिनापछि भेटियो

१६ भदौ, काठमाडौं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए ।

ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको हो ।

मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।

यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन पटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जुन तस्वीर नेपालमा खिचिएको थियो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो ।

बेपत्ता हुनुअघि उनी फिजीमा बेलायती उच्चायुक्त नियुक्त भएका थिए ।

उनका तीन सन्तान र एक श्रीमती छन् ।



source https://www.onlinekhabar.com/2020/09/893146

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो, ५ जना घाइते

१६ भदौ, चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।

दुर्घटनास्थलमा अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट चार जनाको टोली र विपद व्यवस्थापन तालिम केन्द्रबाट सशस्त्र प्रहरी निरीक्षक अजय थापाको नेतृत्वमा ९ जनाको टोली उद्धारमा खटिएको थियो । सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको प्राथमिक उपचार पनि गरेको थियो ।



source https://www.onlinekhabar.com/2020/09/893145

चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

१६ भदौ, चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको बताए ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।

योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना छन् ।

यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट चार वर्षे बालिकासहित ७ जनाको मृत्यु

source https://www.onlinekhabar.com/2020/09/893142

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

१६ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२:४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् ।

जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।



source https://www.onlinekhabar.com/2020/09/893143

डेभिड शिल्भालाई कोरोना संक्रमण

१६ भदौ, काठमाडौं । स्पानिस ला लिगा क्लब रियल सोसिडाडका मिडफिल्डर डेभिड शिल्भालाई कोरोना संक्रमण देखिएको छ ।

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमा १० वर्ष खेलेर उनी नयाँ सिजनका लागि सोसिडाडमा अनुबन्ध भएका हुन् ।

ला लिगा क्लब सोसिडाडले शिल्भालाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो । यद्यपि उनलाई कुनै लक्षण देखिएको छैन र सेल्फ आइसोलेसनमा बसेका छन् ।

क्लबले उनलाई सोमबार सोसिडाडको मैदान एनोएटा स्टेडियममा प्रस्तु गरेको थियो र त्यही दिन कोरोना संक्रमण भएको क्लबले पुष्टि गरेको हो ।



source https://www.onlinekhabar.com/2020/09/893140

नयाँ सिजनको पहिलो एल क्लासिको अक्टोबरमा

१६ भदौ, काठमडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२०-२१ को पहिलो एलक्लासिको अक्टोबरमा हुने भएको छ । ला लिगाले सार्वजनिक गरेको खेल तालिका अनुसार दुई जायन्ट क्लब बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो खेल २५ अक्टोबर २०२० मा क्याम्प नोउमा हुनेछ ।

यस्तै रिटर्न लिग ११ अप्रिल २०२१ मा रियलको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

ला लिगाको नयाँ सिजन दुई सातापछि अर्थात यही १३ सेप्टेम्बरदेखि सुर हुँदैछ । जसमा साविक विजेता रियलले पहिलो खेल गेटाफेसँग खेल्दै उपाधि रक्षा अभियान सुरु हुनेछ । यस्तै बार्सिलोनाल एल्चेसँग खेल्नेछ ।

 



source https://www.onlinekhabar.com/2020/09/893138

मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ ।

तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएकाले इन्द्र जात्राको उल्लास छैन ।

पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको सम्बन्धलाई उजागर गरेको जानकारहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2020/09/893137

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

१६ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीको सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा. सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गरेका हुन् ।

नवनियुक्त पदाधिकारीलाई सोमबार नै पद तथा गोपनीयताको शपथ गराइएको थियो । प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीले पनि सोमबार नै शपथ ग्रहण गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/09/893135

स्पेनमा अनलाइन नृत्य प्रतियोगिताको उपाधि रिस्ताले जितिन्

बार्सिलोना । स्पेनमा पहिलो पटक आयोजना भएको अनलाइन नृत्य प्रतियोगिताको उपाधि बिल्बाउ निबासी रिस्ता सुनारले जितेकी छिन् । २२ जना प्रतियोगीहरुबीच उनले पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा बार्सिलोना निबासी सोनिया सोनिया भण्डारी र शिक्षा भट्टराई क्रमशः दोस्रो र तेस्रो बने ।

प्रवासी नेपाली एकता मञ्च स्पेनले हरितालिका तीजको अवसरमा अनलाइन नृत्य प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको बिजेतालाई २ सय १ युरो, दोस्रोलाई १ सय ५१ युरो र तेस्रो स्थानप्राप्त गर्ने प्रतियोगीले १ सय १ युरो नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा रिचा पन्त (पाईसभास्को), सुमित्रा सिग्देल (म्याड्रिड), दिया भण्डारी (बार्सिलोना), सुस्मिता गिरी (म्याड्रिड), रिस्ता सुनार (बिल्बाउ), श्रिया उपाध्याय (बार्सिलोना), मेरिना सुबेदी (बार्सिलोना), मोनिका खनाल (बार्सिलोना), लिदिया भुसाल (बार्सिलोना), ईसिका अधिकारी (बार्सिलोना) र नविना पुन (म्यालेन्सिया) प्रतिस्पर्धामा उत्रिएका थिए ।

यस्तै सिरिसा दाहाल (बिल्बाउ), शिक्षा भट्टराई (बार्सिलोना), नेयसा श्रेष्ठ (बार्सिलोना), सुजता कँडेल (बार्सिलोना), सरिता सिग्देल (म्याड्रिड), स्वेता आचार्य (बार्सिलोना), सोनिया भण्डारी (बार्सिलोना), इन्द्रवती श्रेष्ठ (म्याड्रिड), प्रेरेना रिजाल (बार्सिलोना), अनिता कार्की (म्याड्रिड) र बिबिका गौतम (बार्सिलोना) पनि सहभागी बनेका थिए।

फेसबुकमा सेयर भएको भिडियोमा प्राप्त लाइक र कमेन्टलाई आधार मान्दै ३० प्रतिशत र बाँकी निर्णायक मण्डलको निर्णयबाट मूल्यांकन गरिएको थियो । निर्णायक मण्डलमा चर्चित नृत्य निर्देशक शंकर बिसी, ईनास युरोपका संयोजक शन्त कुमार थापा र विश्व कलाकार संघ स्पेनका उपाध्यक्ष अजय लोप्चन रहेका थिए । निर्णायक मण्डलका सदस्य थापाले प्रतियोगिताको नतिजा भिडियो कन्फेरेन्समार्फत सुनाएका थिए ।

सोमबार सम्पन्न अनलाइन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले कार्यक्रम निरन्तरताका लागि शुभकामना व्यक्त गरिन् । सहभागीहरुलाई हौसला प्रदान गर्दै राजदूत शेर्पाले यस्ता गतिविधिले नेपाली कला र संस्कृतिको पहिचान झल्कने बताइन् ।



source https://www.onlinekhabar.com/2020/09/893132

कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ

१६ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ ।

बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो ।

डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए ।

उनले भने, ‘सबै देशहरुले ट्रायल पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने खालको काम होइन ।’

यो पनि पढ्नुहोस कोरोनाको खोपका लागि अझै कति समय पर्खनुपर्छ ?

डब्ल्यूएचओका अनुसार हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् ।

यसका साथै डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।

डब्ल्यूएचओले भनेको छ– जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसहरुलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुन्छ ।



source https://www.onlinekhabar.com/2020/09/893130

Sunday 30 August 2020

कोरोनाको डरले अर्थमन्त्री क्याबिनेट बैठकमा अनुपस्थित

१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित भएनन् । दिनभर अर्थ मन्त्रालयमै रहेका मन्त्री खतिवडा बालुवाटारको बैठकमा नदेखिएपछि कतिपय मन्त्रीले खासखुस गरे, उहाँलाई कोरोना पो लागेछ कि क्या हो १

मन्त्री खतिवडालाई कोरोना लागेको चाहिँ होइन, कोरोनाको डर मात्रै लागेको हो । बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला कि भन्ने डरका कारण मन्त्री खतिवडा बालुवाटार नगएका हुन् ।

मन्त्री खतिवडा बैठकमा नआउनुको कारणबारे अर्का एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘आइसोलेसनमा बस्नुभएका ईश्वर पोखरेल र बादल पनि हिजो साँझको बैठकमा आउनुभएको थियो, त्यसैले कोरोना सल्कने डरले गर्दा उहाँ नआउनुभएको बुझियो ।’

तर, क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयमा भने नियमित उपस्थित भएर काम गरिरहेकै छन् । सोमबार पनि उनी सधैंझै बिहान ८ बने नै अर्थमन्त्रालय पुगेका छन् । हरेक दिन उनी बिहानदेखि साँझसम्म मन्त्रालयको काममा खट्छन् ।

मन्त्री खतिवडा स्वास्थ्यको हिसाबले कोरोनाको उच्च जोखिम भएका व्यक्ति हुन् । उनी मुटुका बिरामी हुन् । सुगर र प्रेसरको बिरामी भएका कारण उनले स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै आएका छन् ।

भदौ २० मा कार्यकाल सकिँदै

त्यसो त मन्त्री खतिवडाको पदावधिसमेत अबको पाँच दिनपछि अर्थात् भदौ २० गते सकिँदैछ । उनी सांसद पदमा नरहेरै मन्त्री बनेको २० गते ६ महिना पुग्ने भएकाले त्यसपछि स्वतः मन्त्री पदबाट बाहिरिनुपर्ने हुन्छ ।

सांसद नरहेको व्यक्ति संविधानअनुसार ६ महिनाभन्दा बढी मन्त्री बन्न पाउँदैन । यसवीचमा राष्ट्रियसभाका पूर्वसांसद खतिवडालाई फेरि राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री ओलीको ईच्छा रहेको अनौपचारिक चर्चा पनि छ ।

तर, नेकपाभित्रको अर्को पंक्तिचाहिँ अर्थमन्त्री बहालवाला सांसदबाटै बनाउनुपर्ने पक्षमा देखिन्छ । यसका लागि विष्णु पौडेल र सुरेन्द्र पाण्डे लगायतलाई नेकपाभित्र नयाँ अर्थमन्त्रीको दाबेदारका रुपमा हेरिँदै आएको छ ।

यो पनि पढ्नुहोस मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

source https://www.onlinekhabar.com/2020/08/892925

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

१५ भदौ, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ ।

मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६४ हजार १५८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ३३९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि पाँच लाख ९५ हजार ८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसका चार हजार १२९ नयाँ संक्रमित थपिएका हुन् ।

मेक्सिकोमा पछिल्लो समय कोरोना भाइरसका नयाँ संक्रमित तथा मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपि सरकारले कोरोना भाइरसका संक्रमितको वास्तविक संख्या आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने बताएको छ ।

स्रोत : अलजाजिरा



source https://www.onlinekhabar.com/2020/08/892921

मेसीलाई पुरानै क्लब फर्किन अर्जेन्टिनी राष्ट्रपतिको आग्रह

१५ भदौ, काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लिओनल मेसीलाई आफ्नै गृहभूमिमा फर्केर नेवल्स ओल्ड ब्वाइजमा करियर अन्त्य गर्न आग्रह गरेका छन् ।

मेसीले आश्चर्यजनक रुपमा क्लब छाड्ने घोषणाले पछिल्लो साता धेरै हेडलाइन्स बने । ला लिगाले मेसीले क्लब छाड्न रिलिज क्लज लागु हुने जनाएपछि यसमा नयाँ ट्वीस्ट थपिएको छ । यदि अन्य क्लबले मेसीलाई अनुबन्ध गर्न चाहेमा ७०० मिलयन युरो रिलिज क्लज तिर्नुपर्नेछ ।

मेसी भने समरमा नयाँ सिजन सुरु हुनुअघि क्याटलान क्लब जसरी पनि छाड्न चाहन्छन् । क्लब भने जसरी पनि मेसीलाई क्लबमा राख्न कसरत गरिरहेको छ ।

यसै सन्दर्भमा अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजले मेसीलाई आफ्नै देशमा फर्केर खेलेको हेर्न चाहेको बताएका छन् । नेवल्स ओल्ड ब्वाइजका फ्यानहरुले पनि रोसारियोमा परेड निकाल्दै मेसी क्लबमा फर्कनुपर्छ भनेर समर्थन गरेका थिए । ‘तिमी हाम्रो मुटुमा छौँ र हामीले कहिल्यै पनि हाम्रो देशमा तिमीले खेलेको देखेका छैनौँ । तिम्रो क्लब नेवल्समा करियर अन्त्य गरेको हेर्ने अवसर हामीलाई देउ,’ फर्नान्डेजले सी फाइभ एनमार्फत मेसीलाई पठाएको सन्देशमा भनेका छन् ।

फर्नान्डेजले बोएनस आयर्स साइड क्लब अर्जेन्टिनो जुनियर्सको समर्थन गर्छन् र उनले आफू डिएगो म्याराडोनाका ठूलो फ्यान भएको बताएका छन् । ‘म्याराडोनाको सबैभन्दा ठूलो कुरा भनेको उनले एक्लै विश्व विरुद्ध खेले,’ फर्नान्डेजले भने, ‘मैले म्याराडोना जस्तो खेलाडी देखेको छैन । म उनीबाट एकदमै प्रभावित छु, मेसीभन्दा बढी, इमान्दार भएर भन्दा, किनकी उनी अर्जेन्टिनोस युथबाट आएका थिए । उनी ग्लाडिएटर जस्ता थिए, उनमा अविश्वसनीय शक्ति थियो ।’



source https://www.onlinekhabar.com/2020/08/892919

बुटवलमा स्वास्थ्य सामग्रीमा कालोबजारी

१५ भदौ, बुटवल । कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै बुटवलका केही व्यवसायीले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएको छ ।

कोरोना महामारी फैलिएसँगै बढी माग भएका मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु व्यवसायीले चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।

बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गर्दा तीन सय रुपैयाँमा पाइने एक प्याकेट सर्जिकल मास्कलाई ६ सय रुपैयाँमा र ब्लिचिङ पाउडर तथा सेनिटाइजर पनि दोब्बर मूल्यमा बिक्री गरेर कालोबजारी गरेको पाइएको हो ।

व्यवसायीहरुले स्वास्थ्य सामग्रीको कृत्रिम अभाव श्रृजना गरेर खरिद मूल्यभन्दा दोब्बरदेखि चार–पाँच गुणा बढी मूल्यमा बिक्री गरेको पाइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

‘खरिद बिल र बिक्री बिल मागेर अनुगमन गर्दा व्यवसायीले खरिद मूल्यभन्दा दोब्बरदेखि चार–पाँच गुणा बढी मूल्यमा सामान बेचेर कालोबजारी गरेको पायौं,’ उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक आचार्यले भनिन्, ‘पहिलोपटकलाई सचेत बनाएर छोडिएको छ, अर्कोपटक पनि कालोबजारी गरेको भेटिए कानुअनुसार हदैसम्म कारबाही गर्छौं ।’

अनुगमन समिति आएको थाहा पाएपछि केही व्यवसायीले पसल बन्द गरेर हिँडेका वाणिज्य कार्यालयका प्रमुख हरि शर्माले बताए ।  कालोबजारी हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने र कारबाही प्रभावकारी बनाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठक बताउँछन् । बजार अनुगमन मौसमी र देखाउनका लागि मात्रै गरिँदा उपभोक्ताहरु सधैं ठगिनुपरेको पाठकको गुनासो छ ।

विषम परिस्थिति र संकटका बेला कालोबजारी झनै मौलाउने हुँदा सरकारको पर्याप्त ध्यान जानुपर्ने उनले सुझाए ।



source https://www.onlinekhabar.com/2020/08/892917

महिला च्याम्पियन्स लिग : लियोनले जित्यो लगातार पाँचौ उपाधि

१५ भदौ, काठमाडौं । फ्रेन्च क्लब लियोनले लगातार पाँचौ पटक युइएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जर्मन क्लब वल्फ्सवर्गलाई ३-१ ले पराजित गर्दै लियोन च्याम्पियन बनेको हो ।

लगातार पाँचौ पटक उपाधि जितेपछि लियोनले रियल मड्रिडको पुरुष टिमले ५० र ६० को दशकमा जितेको लगातार पाँच उपाधिको कीर्तिमान बराबरी गरेको छ ।

स्पेनको सा सेबास्टिनमा भएको फाइनलमा लियोनका लागि युगुइने सोमर, साकी कुमाग्नी र सारा बोर्कगुन्नाडोटिरले गोल गरे । वल्फ्सवर्गका लागि एलेजान्द्रा पोपले एक गोल फर्काए ।

समग्रमा लियोनले सातौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । लियोन सर्वाधिक च्याम्पियनसमेत हो ।



source https://www.onlinekhabar.com/2020/08/892915

बार्सिलोनाको पक्षमा ला लिगा

१५ भदौ, काठमाडौं । लिओनल मेसीको विषयमा स्पानिस क्लब बार्सिलोनालाई त्यहाँको लिग ला लिगाले समर्थन गरेको छ ।

ला लिगाले मेसी सम्झौता अर्को सिजनको अन्त्यसम्म रहेकोले उनको ७०० मिलियन युरो रिलिज क्लज कायमै रहेको जनाएको छ । ला लिगाका अनुसार यदि मेसीलाई अन्य कुनै क्लबले अनुबन्ध गर्न चाहेमा ७०० मिलियन युरो नै तिर्नुपर्नेछ ।

गत मंगलबार मेसीले क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको घोषणा गरेपछि यस विषयले अहिले विश्व फुटबल तरंगित बनेको छ ।

मेसी तत्कालै क्लब छाड्न चाहन्छन् भने बार्सिलोना उनलाई बाँकी एक सिजन जसरी पनि क्लबमा राख्ने कसरत गरिरहेको छ ।

उनको रिलिज क्लज ७०० मिलियन युरो रहेकोले अन्य क्लबलाई पनि त्यो रकम तिरेर लैजान कठिन हुनेछ । त्यसैले ला लिगाको पछिल्लो धारणाले गर्दा मेसीलाई अब कठिन पर्न सक्छ ।

मेसीले आफ्नो सम्झौताअनुसार सिजनको अन्त्यमा रिलिज क्लज रद्द गर्न सकिने बुँदा रहेको उल्लेख गर्दै क्लब छाड्न अनुमति माग गरेका छन् । तर बार्सिलोनाले भने त्यो विकल्प जुनमै समाप्त भइसकेको जनाउँदै आएको छ ।

यदि मेसीले यो सिजन बार्सामै खेलेमा अर्को सिजन उनी फ्रि ट्रान्सफरमै अर्को क्लबमा जान सक्नेछन् जसले गर्दा क्लबलाई पनि घाटा हुन सक्नेछ । यस्तै मेसीले बार्सिलोना छाडे ला लिगालाई नै घाटा पर्ने हुँदा ला लिगाले पनि विज्ञप्ती निकाल्दै बार्साको सपोर्ट गरेको देखिन्छ ।



source https://www.onlinekhabar.com/2020/08/892913

मनाङको स्याउ विश्व बजारमा

१५ भदौ, मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ ।

हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ । गोराहरु उकालो लागे, पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई ‘क्याच’ गर्नबाट मनाङ चुकिरह्यो । छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ, आलु, फापर जस्ता अन्नबालीमा निर्भर रह्यो ।

सर्पमा विख र मान्छेमा इख चाहिन्छ भन्छन् । राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैँ मनाङमा केही गर्न चाहन्थे । उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे। करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुस्साहस नै थियो ।

परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । सत्ताइस वर्षका लागि रु १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका सङ्घीय सांसदसमेत रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ ।

मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो । बिरुवाहरु इटाली र सर्भियाबाट ल्याइएको थियो । ‘हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ’, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङ भन्छन्, ‘अहिलेसम्म रु ३० करोड लगानी भएको छ, हाम्रो आठ जनाकै परिवार यही फार्ममा संलग्न छौँ ।’

उनका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले रु दुई करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए ।

अहिले स्याउ हरियै छ । करिब साढे दुई महिनापछि स्याउ पाक्छ, फार्ममा रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा यही वर्ष थपिएको छ । ‘यो पटक ६०० टन उत्पादन होला, मूल्यचाहिँ गुणस्तरअनुसार लिने हो’, व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भने, ‘बजारको समस्या छैन । कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ ।

स्याउ त सबै ठाउँमा फल्छ

विश्व बजारमा निर्यातको सपना पालेका युवराजले दुई हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ को नाममा ‘ब्राण्डिङ’ गरिरहेका छन्। मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनी बताउँछन् ।

यो स्याउ फार्म एसियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २६/२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २२/२४ जनाले पनि काम पाउने युवराजको भनाइ छ ।

फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा शुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो ।



source https://www.onlinekhabar.com/2020/08/892912

कुन खानेकुराबाट कस्तो पोषक तत्व पाइन्छ ?

भनिन्छ, खाना नै ओखती हो । अर्थात हाम्रो प्राण बचाउन मात्र होइन, निरोगी राख्न, तन्दुरुस्त राख्न, उर्जावान राख्न पनि खानेकुराकै भूमिका हुन्छ । खानेकुराले नै हामीलाई बलियो, स्वस्थ राख्छ । शरीरमा लाग्ने अनेकन रोगबाट बचाँछ ।

शरीर संचालन एवं जीवित रहनका लागि विभिन्न पोषक तत्वको खाँचो हुन्छ । त्यस्ता अधिकांश पोषक तत्वको स्रोत खानेकुरा हुन्, जो हामी दैनिक खाइरहेका हुन्छौं । चामल, आलु, दाल, गोलभेडा, सागपात, फलफूल, दुध आदि सम्पूर्ण खानेकुराबाट हाम्रो शरीरले पोषक तत्व ग्रहण गर्छ । यसरी सन्तुलित हिसाबले जब शरीरलाई पोषक तत्व प्राप्त हुन्छ, हामी निरोगी र तन्दुरुस्त रहन्छौं ।

अतः शरीरलाई आवश्यक पोषक तत्व विभिन्न खानेकुराबाट पाइन्छ । हरेक खानेकुरामा भिन्न भिन्नै पोषक तत्व हुन्छ । जस्तो अन्न एवं आलुमा जुन पोषक तत्व प्रचुर मात्रामा हुन्छन्, फलफूल एवं सागपातमा अर्कै पोषक तत्व पाइन्छ । यसरी शरीरलाई आवश्यक पोषक तत्वका लागि हामीलाई थरीथरीका खानेकुरा आवश्यक हुन्छ ।

सन्तुलित भोजनको सेवनले  शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ ।

पोषणविद्हरुका अनुसार सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे«ट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ  । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।

सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गर्नुपर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल,  सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।

दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा कोषको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मुख्य भूमिका खेल्छ ।



source https://www.onlinekhabar.com/2020/08/892907

चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

१५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा. पौडेलले बताए ।

चितवनमा कोरोनाबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका ६ जना, मकवानपुरका ३ जना, बाराको निजगढ, नबलपरासीको विनयत्रिवेणी र गोरखा आँबुखैरहनीका १–१ जना छन् ।



source https://www.onlinekhabar.com/2020/08/892909

राम्रा गीत विस्तारै चल्छन्, तर चल्छन्…

अहिले एउटा गीत निकै चर्चामा छ । ‘तिनपाते…देखेर तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको ३ साता भयो । गीतको भिडियोमा करिब ३८ लाख भ्यूज छ । तर, यो गीतको भिडियोमा लाइक गर्नेको संख्या १ लाख २० हजारको हारहारीमा छ ।

यो गीतमा चलेका मोडल छैनन् । न यो गीतको भिडियोको मेकिङ रंगिन पाराले गरिएको छ । गीतमा सुजन चापागाँई र विद्या तिवारीको छ । यो गीत सार्वजनिक भएको सुरुवाती दिनमा दर्शकको आँखा यसमा परेको थिएन । तर, अहिले भने यो गीतले गती लिइरहेको छ ।

भिडियोको मेकिङमा गाउँले परिवेश, बाल्यकादेखि यूवा अवस्थाका साथीहरुको कथा बुनिएको छ । निकै साधारण शैलीमा तयार पारिएको भिडियो आकर्षक छ । तर, एकपटक सुनेर मात्र यो गीतको धित मर्दैन । बारम्बार सुन्न मन लाग्छ । सामाजिक संजालमा गीतले मोहनी लगाएका स्टाटस प्रशस्त भेटिन्छन् । यो गीत ढिलो चल्यो तर गज्जबले चलिरहेको छ ।

हुनत, अहिलेको जमाना भाइरलको हो भनिन्छ । उट्पट्याङ शब्द, टिकटकमा १५ सेकेन्डको अंश चलेपछि मेरो गीत चल्यो भनेर हल्ला फिजाउनेहरुको त कुनै कमी सांगीतिक दुनियाँमा छैन । तर, धेरै गीत आएका छन्, २ दिन चलेका छन् र गायब भएका छन् । गीत बनाउनेहरु युटुबको ट्रेन्डिङ र टिकटकमा १५ सेकेन्डको अंश चलेको भरमै गीत चलेको भ्रममा बाँचिरहेका छन् ।

तर, यो भ्रमबाट बाहिरिएर केही गीतहरु बन्छन् जुन विस्तारै चल्छन् तर चल्छन् । यस्तै, उदाहरणका पर्छ अर्को गीत ‘के माया लाग्छ र’ । निशान भट्टराइ र एलिना चौहानको आवाजमा समावेश यो गीतले सार्वजनिक भएको केही दिन गती नै लिएन । भाइरल गीतहरुको बजारमा यो गीत ओझेल परेको थियो । तर, जब विस्तारै यो गीतलाई सुन्ने दर्शकको संख्या बढ्न थाल्यो गीतको चर्चा पनि ब्यापक बन्दै गयो ।

यो गीतलाई अहिले युटुबमा १ करोड ३६ लाख भन्दा बढीले हेरिसकेका छन् । २ महिना अगाडि सार्वजनिक भएको यो गीतले जब गती समात्यो, यसपछि रोकिएन । गीत युटुबको ट्रेन्डिङको पहिलो स्थानमा पनि आयो । टिकटकमा यसका टुक्राहरुमा थुप्रैले अभिनय गरे । तर, मुख्यकुरा यो गीतको मिठासले सबैलाई मोहनी लगायो । सायद, यो गीत लामो समयसम्म बाँच्छ र दर्शकको मनमा बस्छ । गीतमा सुरविना कार्की र मुकुन भुषालको अभिनय छ ।

एक महिना अगाडि एउटा गीत सार्वजनिक भयो, ‘म हाँसे हाँस्छौं र’ । देवेन्द्र बब्लु र मेलिना राइको आवाजमा समावेश यो गीत विस्तारै लोकप्रिय बन्दैछ । यो गीतलाई १ महिनामा २३ लाख भन्दा बढी दर्शकले हेरेका छन् । गीतको भिडियोमा रोशनी कार्की र देवेन्द्र बब्लुको अभिनय हेर्न सकिन्छ । यो गीतले पनि अब लोकप्रियताको दौड समातिसकेको छ । दर्शकले यो गीतलाई रुचाएका छन् । गीतका शब्द, स्वर र संगीत कर्णप्रिय छन् । यो गीत पनि लामो समयसम्म सांगीतिक क्षेत्रमा चम्किनेमा दुइमत छैन ।

गायक प्रकाश सपुतले देवी घर्तीको आवाजमा ‘बदला बरिलै’ बोलको गीत सार्वजनिक गरे । यो गीत सार्वजनिक भएको केही दिन यसको स्पिड कम थियो । प्रकाश आफैले पनि अपेक्षा गरे अनुसार युटुबमा यसको भ्यूज देखिएको थिएन । तर, सार्वजनिक भएको १ महिनामा गीतलाई ५६ लाख भन्दा बढीले हेरिसकेका छन् ।

यो गीतको बिषयमा विभिन्न खालका तर्क र बहस पनि भैरहेका छन् । तर, गीतले जुन मर्म बोकेको छ, यसले गीतकार सपुतलाई नेपाली सांगीतिक दुनियाँमा अर्कै उचाई दिएको छ । गीतको सफलताको मापन भ्यूज, ट्रेन्डिङ र टिकटकमा मात्र सिमित हुनु हुँदैन । यसले सर्जकको श्रृजनालाई न्याय गर्दैन ।

गायक चक्र बम र गायिका गीता ढुंगानाको आवाजमा समावेश ‘ओई काजल’ गीत सार्वजनिक भएको १ महिना भयो । १ महिनामा यो गीतलाई १ करोड पटक हेरिएको छ । सुरुवाती दिनमा दर्शकको नजरमा नपरेको यो गीतले जब भ्यूजको दौड समात्यो, रोकिएन । गीतलाई दर्शकले अत्याधिक रुचाए । न चलेका महंगा मोडल, न फिल्मका कलाकार । तैपनि गीत उत्कृष्ट हुँदा दर्शकले यसलाई रुचाए । यो गीत पनि विस्तारै चल्यो तर गज्जबले चलिरहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा  केही यस्ता सिमित गीतहरु बनेका छन्, जुन गीत विस्तारै चलेका छन् तर चलेका छन् ।



source https://www.onlinekhabar.com/2020/08/892900

चकलेट दिएर ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ 

१५ भदौ, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् । उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले । छिमेकीबाट भएको जघन्य अपराधबारे बालिकाले आफन्तलाई भन्न सकिनन् ।

‘घटनाबारे बालिकाका आफन्तले सुइँको पाएछन् । त्यसपछि अभियुक्त फरार भए । बालिकालाई फकाएर सोध्दा उनले घटनाको सबै यथार्थ बताएपछि आफन्तले जाहेरी दिए,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘त्यसैका आधारमा आइतबार राति उनलाई पक्राउ गरी पोखरा ल्याइएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौं ।’

बालिकाले ४÷५ महिनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/08/892905

मोर्गन र मालानको अर्धशतकमा इंग्ल्याण्डको जित

१५ भदौ, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको दोस्रो टी-२० क्रिकेटमा ५ विकेटको जित हात पारेको छ ।

कप्तान इओन मोर्गन र डेविड मालानको शतक प्रेरित इंग्ल्याण्डले पाकिस्तानलाई पराजित गर्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।

म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा भएको खेलमा १९६ रनको लक्ष्य सहित ब्याटिङ गरेको इंग्लयाण्डले ५ बल बाँकी छै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । कप्तान इओन मोर्गानले ३३ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए ।

त्यस्तै डेविड मलानले अविजित ५४ रन जोडे । उनले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । यस्तै जोनी बेयर्‍स्टोवले ४४ रन जोडे । पाकिस्तानका लागि सदाब खानले ३ विकेट र हरिस राउफले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा गरेको पाकिस्तानले कप्तान बाबर अजाम र मोहम्मद हाफिजको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । हफिजले सर्वाधिक ६९ रन बनाउँदा कप्तान बाबर आजमले ५६ रन बनाए ।

यस्तै फकर जमानले ३६ रन जोडे । इंग्ल्याण्डका एदिल रसिदले २ तथा क्रिस जोर्डन र टम कुरनले एक-एक विकेट लिए ।



source https://www.onlinekhabar.com/2020/08/892896

सीपीएल : पुरनको शतकमा गायाना विजयी, जुक्सको रोमाञ्चक जित

१५ भदौ, काठमाडौं । निकोलस पुरनले यस सिजनको पहिलो शतक प्रहार गर्दा गायना अमेजन वारियर्सले क्यारेबियन प्रिमियर लिग सीपीएलमा तेस्रो जित हात पारेको छ ।

पुरनले अविजित १०० रन बनाएपछि गायानाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ७ विकेटले पराजित गरेको हो । पुरनको करियरको यो पहिलो टी-२० शतक समेत हो ।

क्वीन्स पार्क ओभलमा भएको खेलमा प्याट्रिओट्सले दिएको १५१ रनको लक्ष्य गायानाले पुरनको शतकको मद्दतमा १७.३ ओभर खेल्दै ३ विकेट गुमाएर सहजरुपमा पूरा गरेको हो । पुरनले ४५ बल खेल्दै ४ चौका र १० छक्का प्रहार गरे ।

यस्तै रोस टेलरले २५ अविजित २५ रन जोडे । २५ रन हुँदा ३ विकेट गुमाए पनि पुरन र टेलरले चौथो विकेटका लागि अविजित १२८ रनको साझेदारी गरे ।  प्याट्रिओट्सका जन रस जागेशरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रिओट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो ।

प्याट्रिओट्सका जोसुअ डा शिल्भाले सर्वाधिक ५९ र दिनेश रामदिनले ३७ रन बनाए । गायनाका कप्तान क्रिस ग्रीनले २ विकेट लिए ।

तेस्रो जितपछि ७ खेलबाट ६ अंक जोडेको गायाना तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २ अंक मात्र रहेको प्याट्रिओट्स अन्तिम स्थानमा छ ।

जुक्सको रोमाञ्चक जित

लो स्कोरिङ खेलमा सेन्ट लुसिया जुक्सले बार्डोस ट्राइडेन्ट्समाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । जुक्सले दिएको ९३ रनको लक्ष्य पछ्याएको बार्बेडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । बार्बेडोसका लागि ओपनर जोन्सन चार्ल्सले ३९ रन बनाए पनि जितसम्म पुग्न पर्याप्त भएन । जुक्सका लागि जाभेल ग्लेन र केसरिक विलियम्सले २-२ विकेट लिए ।

त्यसअघि क्वीन्स पार्क ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्स १८ ओभरभित्रै ९२ रनमा अलआउट भएको थियो । जुक्सका लागि नजिबुल्ला जद्रानले सर्वाधिक २२ रन बनाउँदा लेनिको बाउचरले १८ र रोस्टन चेजले १४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बार्बेडोसका हेएडन वाल्सले ३ र रेएमन रेइफरले २ विकेट लिए ।

जितपछि ७ खेलबाट १० अंकसहित जुक्स दोस्रो स्थानमा छ । समान खेलबाट ४ अंक मात्र रहेको बार्बेडोस पाँचौ स्थानमा छ ।

ट्रिनबागो ३ खेल अगावै सेमिफाइनलमा

बार्बेडोस र प्याट्रिओट्सको हारपछि शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्सको सेमिफाइनलमा स्थान पक्का भएको छ ।

यस सिजनको एक्लो अपराजित टिम ट्रिनबागो ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ ।

बार्बेडोस र प्याट्रिओट्सले बाँकी खेल जितपनि ट्रिनबाऊलाई भेट्न सक्ने छैन जसले गर्दा शीर्ष चारमा उसको स्थान पक्का हुनेछ ।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टिमहरु सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।



source https://www.onlinekhabar.com/2020/08/892899

‘सेल्फी हानौला’ गायकको ‘सार्टनको चोली’मा सरोज र आश्मा

गायक शंकर थापा र गायिका दीपा लामाको स्वरमा समावेश ‘सार्टनैको चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा शंकरको संगीत छ भने अम्बिका गुरुङको शब्द छ । गीतकार गुरुङले कोरेका धेरै गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका छन् ।

यो गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ । सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी छ ।

गायक थापाले आफ्ना अघिल्ला गीत जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरे । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।



source https://www.onlinekhabar.com/2020/08/892897

समाज लघुवित्तको आईपीओ ५ लाख आवेदकले नपाउने

१५ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज सोमबार बाँडफाँट हुने भएको छ । संस्थाले निश्कासन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो ।

सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्ससँगै समाजले पनि आईपीओ निश्कासन गरेको थियो । रिलायन्सको गत शुक्रबार नै बाँडफाँट भइसकेको छ ।

समाजको आईपीओका लागि ५ लाख ४७ हजार तीन सय ७० जनाले आवेदन दिएका थिए । यी आवेदकमध्ये ८ हजार ७० जनाले १० कित्ताको दरले साधारण सेयर पाउने भएका छन् । बाँकी करिब ५ लाख ३९ हजारको भने हात रित्तै हुनेछ ।

संस्थाले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निश्कासन गरेको थियो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निश्कासनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो । बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।



source https://www.onlinekhabar.com/2020/08/892891

चीनमा खानेकुरा नष्ट नगर्न र खाद्य सुरक्षाको कुरा किन गरिदैछ ?

चीनका राष्ट्रपति सि जिनपिङले यही महिना ‘क्लीन योर प्लेट क्याम्पेन’को नयाँ संस्करण सार्वजनिक गरे र मान्छेहरुलाई खानेकुरा नष्ट नगर्नका लागि आग्रह गरे । यसका साथै उनले कम खर्च गर्न पनि प्रोत्साहित गरे ।

चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चि जिनपिङले खानेकुरा नष्ट गर्नुलाई ‘दुखदायी र निरासजनक’ बताउँदै यस मुद्दामा जागरुकता फैलाउनुपर्ने बताए । उनले भनेका छन्, यस्तो सामाजिक वातावरण तयार गरौं कि जसमा खानेकुरा नष्ट गर्नुलाई लाजको विषय मानियोस् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जिनपिङलाई उद्गृत गर्दै भनेको छ, ‘अहिलेसम्म चीनले पर्याप्त उत्पादन गर्दै आएको छ तर अहिलेपनि खाद्य सुरक्षाको लागि जागरुकता फैलाउन जरुरी छ । कोभिड–१९ हाम्रा लागि अलार्म जस्तै हो ।’

सरकारी सञ्चार माध्यामले राष्ट्रपति जिनपिङको कुरालाई तुरुन्तै अनुसरण गर्दैै विभिन्न मञ्च मार्फत खानेकुरा बर्बाद नगर्नका लागि सर्वसाधरणलाई प्रोत्साहित गरिहेका छन् । यसका लागि सरकारी मिडियाले तथ्यांक पनि बताइरहेका छन् । उक्त तथ्यांक अनुसार चीनका उपभोक्ताले सन् २०१५ मा ठूला शहरहरुमा १७ देखि १८ टनसम्म खाना बर्बाद गरेका थिए ।

चीनका अर्का सरकारी संचार माध्याम सीसीटीबले ति व्यक्तिहरुको आलोचना गरेका छन् जो आफ्ना प्रशंसकका लागि लाइभ स्ट्रिमिङ गर्दै धेरै खानेकुरा सेवन गर्छन् र पछि वान्ता गरिदिन्छन् । यसले मान्छेमा गैरजिम्मेवारी बढाएको र यस्तो व्यवहारले खाद्य संकट निम्त्याउनेतर्फ सूचित गरिएको छ ।

चीनका संचार माध्यामले कोभिड–१९ वा केही प्रान्तमा प्राकृतिक विपत्तीको कारण अन्नबाली नष्ट भएर खाद्य संकट आएको कुरामा भने कुनै कुरा उप्काएको छैन । तर, चीनको खाद्य उत्पादन, सलहको प्रकोप र महामारीको असरलाई राम्ररी नियन्त्रणमा राखिएको छ । सरकारी संचार माध्यामले वर्षाको कारण मुलुकको दक्षिणी भेगमा आएको बाढीले अन्नबाली नष्ट भएपनि खाद्य सुरक्षाको मोर्चामा चीन पूर्ण रुपमा तयार छ । विभिन्न प्रकोप एवं विपत्तीको बावजूत पनि आगमी दिनमा राम्ररी अन्नबाली सप्रने कुरामा आवश्वस्त भएको बताइन्छ । चीनका संचार माध्यामले के पनि उल्लेख गरेको छ भने मुलुकमा धान, गहुँ र अर्को अन्नपातको पर्याप्त भण्डार बाँकी छ । साथै यसपाली धान उत्पादन अरु बढ्ने कुरा पनि बताइएको छ । चीनको कृषि मन्त्रालयको तथ्यांक उल्लेख गर्दै चीनमा सन् २०१९ मा कुल अन्न उत्पादन ६६६ मिलियन टन भएको बताइन्छ ।

चीनका टेलिभिजन च्यानल सीजीटीएनका अनुसार यसमा २१० मिलियन टन चामल र १३४ मिलियन टन गहुँ छ । जबकी अहिले मुलुकमा चामलको खपत १४३ मिलियन टन र गहुँको खपत १२५ मिलियन टन छ ।

ग्लोबल टाइम्सको रिपोर्टमा लेखिएको छ कि चीनका लागि महामारी वा बाढीको कारण हुने खाद्यन्न अभाव भन्दा ठूलो संकट खानेकुरा नष्ट गर्ने प्रवृत्ति हुनसक्छ ।

बिबिसीबाट भावनुवाद



source https://www.onlinekhabar.com/2020/08/892893

वीरगञ्जका मेयर विजय कुमार सरावगीलाई पितृशोक

१५ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीका बुवा चिरञ्जीविलाल सरावगीको मृत्यु भएको छ । ७८ वर्षीय उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५ मृत्यु भएको हो ।

नगर प्रमुख सरावगीले सकेको कोसिस गर्दा पनि बुवालाई बचाउन नसकिएको बताए । ‘लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो, १० दिन अगाडि नै कोभिड वार्डबाट जनरलमा सारिएको थियो,’ उनले भने, ‘अन्य दीर्घ रोगबाट गलिसक्नुभएको रहेछ, चिकित्सकले सकेको प्रयास गरेका हुन् तर बचाउन सकिएन ।’

साउन १४ गते नगर प्रमुख सरावगीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनका बुवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौं लगिएको थियो ।

स्थिति गम्भिर बन्दै गएपछि साउन २४ गते उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । भदौ २ गते गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका थिए । तर मुटु र मिर्गौलामा जटिल समस्या देखिएपछि अस्पतालको अति सघन कक्षमा राखेर उपचार चलिरहेको थियो ।

भदौ १५ गते सोमबार बिहान १० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको दाहसंस्कार गर्ने कार्यक्रम तय गरिएको छ । वि.सं. २००० सालमा जन्मिएका चिरञ्जिवी सरावगी वीरगञ्जमा समाजसेवीको रुपमा परिचित छन् ।

व्यापार व्यवसायसँगै उनले वीरगञ्ज उधोग वाणिज्य संघको अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लबको गभर्नर लगायत दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारी सम्हालेका थिए ।

उनका नगर प्रमुख विजय कुमार सरावगीसहित दुई छोरा र एक छोरी छन् ।



source https://www.onlinekhabar.com/2020/08/892890

कालिकोट पहिरो : मृतकको संख्या १० पुग्यो, घटनास्थलमै पोष्टमार्टम

१५ भदौ, काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए । शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भए पनि नाग्ममा पसल थियो ।

यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको इन्सपेक्टर जोशीले जानकारी दिए ।

घटनास्थलमा पोष्टमार्टम 

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार मृतकको पोष्टमार्टम घटनास्थलमा गरिँदै छ । त्यसका लागि डाक्टरहरुको टोली खटाइसकेको उनले जानकारी दिए ।

‘शवहरु सदरमुकाम ल्याउन सम्भव छैन । त्यसैले आज विहान सातै बजे पोष्टमार्टम गर्न जाऊ भनेर मैले डाक्टरहरुलाई खटाइसकेको छु,’ प्रमुख जिल्ला अधिकारी गैरेले अनलाइनखबरसँग भने, ‘सायद अहिलेसम्म टोली हिँडिसक्यो होला ।’

घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट तीन घण्टाको दुरीमा पर्दछ । हाल ठाउँ–ठाउँमा पहिरो गएकाले चार घण्टासम्म लाग्न सक्ने प्रजिअ गैरेको भनाइ छ । त्यसैले शवहरु सदरमुकाम नल्याउन र घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउन आफूले निर्देशन दिएको प्रजिअ गैरेले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/08/892885

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More