Saturday 31 October 2020

खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान

१६ कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न पछि पर्दैनन् ।

सिरहामा एउटा यस्तै घटना भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको थियो । घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनले लगाए । उनले यो आरोप मात्रै लगाएनन्, निर्घात कुटपिट गर्दै दिसा खुवाउने प्रयाससमेत गरे । ‘दिसा खुवाउनै लाग्दा पुगेको प्रहरी टोलीले बचाएको थियो,’ सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले भने ।

रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने शर्माले बताए ।

सुदामाका दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी थिइन् । गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भइन् ।

तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।

शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906566

चीनको मुखपत्र ग्लोबल टाइम्सले भन्यो– पम्पियो एसियाली मुलुकका लागि विष हुन्

१५ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसिया भ्रमणको विषयलाई लिएर चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले एक कडा सम्पादकीय प्रकाशित गरेको छ ।

सो सम्पादकीयमा भनिएको छ, ‘पम्पियो एक विग्रहकर्ता हुन् तर एसियामा अहिले निर्माण चाहिएको छ । निश्चिय नै एसिया क्षेत्रमा विभिन्नखाले विवादहरु रहेका छन् तर ती विवादहरुलाई क्षेत्रलाई डोमिनेट गर्न दिनु हुन्न । पम्पियो यो क्षेत्रका लागि विष भएका छन् । सामान्य अवस्थामा कोही पनि विष खान चाहँदैन । पम्पियो आए र गए तर एसियाली मुलुकले घर छेउको कुनै कुनामा रहेको विषको रुपमा मेमोरीमा राख्ने छन् ।’

सो पत्रिकाले भियतनाम, श्रीलंका, माल्दिभ्स लगायतका मुलुकमा पम्पियोले गरेका भ्रमण र त्यहाँ उनले व्यक्त गरेको विचारको समेत आलोचना गरेको छ । सो सम्पादकीयको शीर्षक छ ः पम्पियो एक विष जुन जसका विरुद्ध एसियाली मुलुकले आफूलाई जोगाउनुपर्छ ।

श्रीलंका भ्रमणको क्रममा पम्पियोले चीनलाई भक्षक भएको बताएका थिए ।



source https://www.onlinekhabar.com/2020/11/906565

श्रीलंकाले एमसीसी सहयोग नलिँदैमा दुईपक्षीय सम्बन्धमा असर पर्दैन : अमेरिका

१६ कात्तिक, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गतको सहयोग लिने कि नलिने भन्ने सम्बन्धमा श्रीलंकामा तीव्र बहस भइरहेको बेला अमेरिकाले, श्रीलंकाले सो सहयोग लिन्न भनी निर्णय गर्न सक्ने बताएको छ ।

एउटा परियोजना अस्वीकृतिले दुईपक्षीय सम्वन्धमा कुनै असर नगर्ने अमेरिकाको भनाइ छ ।

श्रीलंकाले एमसीसीका लागि दुई पटक म्याद गुजारिहेको सम्बन्धमा सोधिएको प्रश्नमा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भनेका छन्, ‘यदि श्रीलंकाको लागि यो उपयोगी छैन भने यसलाई नलिने निर्णय गर्न सक्छ । हाम्रो दुईपक्षीय सम्बन्धको गहिराइ कुनै एउटा कारोबार र अवसरभन्दा निकै माथि छ । पर्याप्त सहयोग हुनेछ । यी विषयमा हामी श्रीलंकाको सरकारसँग नजिकबाट काम गर्छौं ।’

नेपालमा पनि एमसीसीबारे चर्को बहस भइरहेको छ । नेपालले एक पटकको म्याद गुजारिसकेको छ ।



source https://www.onlinekhabar.com/2020/11/906563

के भनेर राजीनामा लेख्नु, त्यसैले संकेत दिएँ : मन्त्री रावल

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफूलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जाल मार्फत् जानकारी दिएको बताएका छन् । मन्त्री रावलले आज बिहान सामाजिक सञ्जाल मार्फत् आफू मन्त्रालयबाट बाहिरिन लागेको संकेत दिएका छन् ।

मन्त्री रावलले लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’ रावलले यो फेसबुक स्टाटस अहिले हटाइसकेका छन् ।

हिजो साँझ मात्रै मुख्यमन्त्री शाहीले राजीनामा मागेको मन्त्री रावलले अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँले हामी दुई जना (रावल र नन्दसिंह बुढा) प्रधानमन्त्री पक्षकाले हटिदिनुपर्ने संकेत गर्दै राजीनामा लेख्न भन्नु भयो । कुनै गल्ती नगरेकाले के भनेर राजीनामा लेख्नु ? त्यसैले बिहानै सामाजिक सञ्जालबाट संकेत दिएको हुँ ।’

उनीसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई राजीनामा मागिएको मन्त्री रावलले बताए ।

मुख्यमन्त्री शाहीले हटाए हट्ने, तर रावल र बुढाले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा राजीनामा नदिने, बरु हटाए हट्ने तयारी भएको स्रोतले जनायो ।

मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीहरु हटाउने तयारी गरेकोबारे हिजो साँझ नै बालुवाटारले सूचना पाएको थियो । यसपछि प्रधानमन्त्री ओली निकटका नेताहरु छलफलमा समेत बसेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको थियो । तर, अविश्वासको प्रस्तावबाट नेता नेपाल पक्षका सात सांसद पछि हटेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको थियो ।

त्यसबेला शाहीले नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने सहमति जनाएका छन् । तर, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद पुनर्गठन रोकिदिए ।

यसपछि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाए पनि ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । स्रोतका अनुसार, प्रचण्डले नरोके आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ ।

नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरिसकेको छ ।

यसअघि नै मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् भने अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/11/906561

राष्ट्रिय सुरक्षाको लागि घरेलु उत्पादन र वितरण प्रणाली आवश्यक : चिनियाँ राष्ट्रपति सी

१६ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफैंले नियन्त्रण गरेको, सुरक्षित र भरपर्दाे उत्पादन तथा वितरण प्रणालीको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

यसो गर्न सकिएमा सामान्य अवस्थामा पनि मुलुकको अर्थतन्त्र चल्न सक्ने उनले बताएका छन् ।

कोभिड–१९ को महामारीपछि चीन केन्द्रित उत्पादन र वितरण प्रणाली परिवर्तन गर्नुपर्ने आवाज पश्चिमा मुलुकमा चलिरहेको समयमा उनले सो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

उनले महत्वपूर्ण बस्तुको उत्पादन र वितरण प्रणालीमा कम्तीमा एउटा भरपर्दाे आन्तरिक विकल्प तयार पार्नुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘चीनको औद्योगिक र राष्ट्रिय सुरक्षा प्रत्याभूत गर्नका लागि हामीले आफैंले नियन्त्रण गरेको, भरपर्दाे घरेलु उत्पादन र वितरण प्रणालीको विकास गर्नुपर्छ ।’



source https://www.onlinekhabar.com/2020/11/906558

पर्यटन व्यवसायीले पुष्कर शाहको नेतृत्वमा महाकाली–मेची साइकल यात्रा गर्ने

१६ कात्तिक, काठमाडौं । पर्यटन व्यवसायीहरुले विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा गर्ने भएका छन् ।

यही कात्तिक १७ गते सुदूरपश्चिमको महेन्द्रनगरबाट सुरु हुने साइकल यात्रा पूर्वको काँकडभिट्टा पुगेर २४ औं दिनमा समापन हुने कार्यक्रम संयोजक शाहले जानकारी दिए । यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिएको छ ।

कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रलाई यो साइकल यात्राले उत्थानमा सहयोग पुग्ने विश्वास लिएको साइकल यात्रामा सहभागी एवं पर्यटन व्यवसायी मुक्ति पाण्डेले बताए ।

साइकल यात्रामा विश्व साइकल यात्री पष्स्कर शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, सीएन पान्डेलगायत छन् । सोे टोली पश्चिम महेन्द्रनगरबाट धनगढी, चिसापानी, विरेन्द्रनगर, नेपालगन्ज, अमेलिया, तुल्सीपुर, घोराही, स्वर्गद्वारी, भालुबाङ, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, बागलुङ, पोखरा, नारायणघाट, हेटौंडा, सिन्धुलीगढी, जनकपुर, गाईघाट, धरान, ईटहरी, विराटनगर, दमक, विर्तामोड हुँदै काकडभिट्टा पुग्ने छ ।

पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुने शाहले जानकारी दिए ।

महाकाली–मेची साइकल यात्राको उदघाटनमा १५ जना मात्रै सहभागी भए पनि बिभिन्न स्थानमा पुग्दा स्थानीय साइकल यात्रीहरुको पनि सहभागीता रहने छ । कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएकालाई मात्र यात्रामा सहभागी गराइएको उनले बताए ।

साइकल यात्रीहरुको समूहलाई नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बोर्डको कार्यालय भृकुटीमण्डपबाट बिदाइ गर्ने कार्यक्रम संयोजक शाहले बताए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा टान, नाटा र नेपाल पर्वतारोहण संघको सहयोगमा कार्यक्रम हुन लागेको हो ।



source https://www.onlinekhabar.com/2020/11/906545

दया र विमलाको ‘आउन माया’

गायिका मेलिना राई र गायक सुमन राइको स्वरमा ‘आउन माया’ बोलको गीत सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा संगीतमा तयार भएको यो गीतले माया प्रेम र विछोडलाई प्रस्तुत गरेको छ ।

मायालु साथमा हुँदा वेवास्ता गरेको प्रेमीले मायालु टाढिएपछि उनको महत्व वुझेको बिषयलाई गीतमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा नायक दयाहाङ राई र मोडल विमला खजुमको अभिनय छ ।

किरण चाम्लिङ राइको निर्देशन रहेको भिडियोमा अनिल रानाको सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन छ ।



source https://www.onlinekhabar.com/2020/11/906551

पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ

१६ कात्तिक, काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

खोभारी राय

खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय छन् ।



source https://www.onlinekhabar.com/2020/11/906546

टाइगरसँग ताराको जोडी

चलचित्र ‘हिरोपन्ती’मा काम गरेपछि नायिका कृती सेननको करिअर चम्किएको थियो । अब, यो चलचित्रको सिरिज निर्माण हुँदैछ । डिसेम्बर महिनाबाट नायक टाइगर श्राफले यो चलचित्रको छायांकन सुरु गर्दैछन् ।

चलचित्रको छायांकन सुरु हुनुभन्दा २ महिना अगाडि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका पक्का गरेको छ ।

चलचित्र ‘हिरोपन्ती २’मा नायिकाको रुपमा तारा सुतरियालाई फाइनल गरिएको हो । ‘स्टूडेन्ट अफ दि इयर्स २’ डेब्यू नायिकाले चलचित्रमा टाइगरसँग रोमान्स गर्नेछिन् ।

साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको यो चलचित्रलाई अमेद खानले निर्देशन गर्दैछन् । ताराले साजिदकै निर्माणमा बन्न लागेको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भैसकेको छ । चलचित्रको कथामा तारा फिट भएपछि निर्माणपक्षले उनीसँग संझौता गरेको भारतीय मिडियाले जानकारी दिएका छन् ।

ताराले ‘स्टूडेन्ट अफ दि इयर्स २’मा पनि नायक टाइगर श्राफसँग नै काम गरेकी थिइन् । २ बर्षपछि यी दुइको जोडी फेरि पनि पर्दामा देखिन लागेको हो । यो चलचित्रमा टाइगरको एक्सनलाई नयाँ तरिकाले खिचिने बताइएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906549

युटुबमा पाइरेसी भयो ‘छ माया छपक्कै’

गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ युटुबमा पाइरेसी भएको छ । कपिराइट सङअल नामक च्यानलबाट यो चलचित्र शनिबार अपलोड गरिएको छ । यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ ।

चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’मा पनि यो चलचित्र रिलिज भएको छ । यस्तै, चलचित्रलाई डीस होममा पनि रिलिज गरिएको छ ।

यो चलचित्रको युटुब राइट्स आमा अग्नी कुमारीसँग छ । निर्माता रोहित अधिकारीले चलचित्रको पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको र कानुनी कारवाही गरिने बताए । उनले, प्रहरीमा उजुरी गर्ने समेत जनाएका छन् । निर्माता रोहित अधिकारीले चलचित्र एपबाट यो चलचित्र डाउनलोड गरेर युटुबमा अपलोड गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । युटुबमा पाइरेसी हुँदा ‘चलचित्र एप’ र आमा अग्नी कुमारीलाई बढी घाटा हुने देखिएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906547

एसएसपीलाई धम्की दिने विप्लव समूहको ललितपुर सेक्रेटरी पक्राउ

१६ कात्तिक, काठमाडौं । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ पक्राउ परेकी छन् ।

ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो । त्यसपछि ललितपुर जिल्ला सेक्रेटरी विदुषीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।

‘जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घर्ने घरपकड गर्ने तथा शारीरिक, मानसिक यातना दिने काम तुरुन्त रोक्न’ विज्ञप्तिमार्फत् भनिएको थियो ।

प्रहरीले पक्राउ गरेका बज्राचार्य भने लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको सो विज्ञप्तिमा उल्लेख थियो ।



source https://www.onlinekhabar.com/2020/11/906544

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु

१६ कार्तिक, काठमाडौं । बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।

कैलालीका पुरक्ष कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोमा शनिबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यसैगरी सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो ।

अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीका अनुसार उनलाई दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको थियो । औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो । तीन दिन अगाडि मात्रै पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु¥याइएको थियो ।

अस्पतालमा आएको एक घण्टाभित्रै उनको मृत्यु भएको डा. केसीले बताए । उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा. केसीले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

source https://www.onlinekhabar.com/2020/11/906543

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर, ओली पक्षका दुई मन्त्री हटाइँदै

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ ।

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

यी हुन् नयाँ बन्ने मन्त्री

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन ।

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

 



source https://www.onlinekhabar.com/2020/11/906541

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

१६ कात्तिक, काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो ।

यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

आगामी डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906531

गौतमसँग काजलको बिहे

बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शनिबार आफ्ना प्रेमी गौतम किचलुसँग बिबाह गरेकी हुन् । उनीहरुले मुम्बइको एक होटलमा बिहे गरेका थिए । बिहेपछि काजल आफैले सामाजिक संजालमा बैबाहिक समारोहका तस्वीर शेयर गरिरहेकी छिन् ।

बिहेमा काजलले ब्राइड रेड लेहेंगा लगाएकी थिइन् । बिहे भन्दा अगाडि संगीत सेरेमोनीको आयोजना गरिएको थियो, जहाँ काजलसँग गौतमका साथीहरुले नृत्य प्रस्तुत गरेका थिए । बिहेपछि गौतम र काजल मुम्बइमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् ।

कोभिड संक्रमणको दर बढिरहेका कारण पनि काजलले बैबाहिक समारोहका सिमित मानिसहरुलाई मात्र निमन्त्रणा गरेकी थिइन् । साउथ चलचित्रकी सफल नायिका काजलले चलचित्र ‘सिंघम’मा नायक अजय देवगणसँग काम गरेपछि उनको चर्चा बलिउडमा पनि सुरु भएको थियो ।



source https://www.onlinekhabar.com/2020/11/906532

गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना



source https://www.onlinekhabar.com/2020/11/906526

‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिए हरि खड्का

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान फुटबलर हरि खड्का हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शोबाट बाहिरिएका छन् । बटम ३ मा दुई पटक परेका हरि यो साता भने बाहिरिएका हुन् । हरि खड्का र उनको कोरियोग्राफर पार्टनर यूमी बलामीले ६ वटा प्रस्तुती यो शोमा दिएका थिए ।

यो साता बटम ३ मा हरि खड्का र यूमी बलामी, प्रियना आचार्य र सुभम् भुजेल, प्रशान्त ताम्राकार र स्वेत्ना योञ्जन परेका थिए ।

शोबाट बाहिरिदै गर्दा हरि खड्काले भने–‘यो शोमा आउनु नै हामी विजेता हुनु हो । नाच्न नै नजानेको मानिस शोमा आएर प्रस्तुती दिन पाउँदा खुशी लागेको छ । विजेता त्यो हो जो हारबाट डराउँदैन ।’यस्तै, यो साताको पर्फमेन्स अफ दि विकको विजेता भने ज्योती मगर र लाउरे भएका छन् ।

हरि खड्का बाहिरिएसँगै अब शोमा ९ जना स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनर रहेका छन् । यो शो हिमालय टेलिभिजनबाट हरेक साताको शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै आएको छ । शोमा नायिका गौरी मल्ल, नायक दिलिप रायमाझी र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई निर्णायकको रुपमा छन् । निर्णायकको मत र दर्शकको भोटको आधारमा एक जना प्रतिस्पर्धीले मञ्च छाडेर विदा हुनुपर्ने शोको नियम छ ।



source https://www.onlinekhabar.com/2020/11/906528

आईपीएल क्रिकेटमा हैदरावाद ५ विकेटले विजयी

१६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ ।

शनिबार राति बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले १९ रन दिएर २ विकेट लिए ।

युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदरावादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो ।

यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो । ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाए । एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए । कप्तान विराट कोहलीले ७ रन मात्रै बनाउन सके ।

हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए । चार ओभर बलिङ गर्दा २० रन खर्चिएर २ विकेट लिएका शर्मा म्यान अफ द म्याच भए ।

अघिल्लो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित हात पारेको थियो ।



source https://www.onlinekhabar.com/2020/11/906521

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

१६ कात्तिक, काठमाडौं । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906522

फ्रान्समा फेरि आक्रमण, गोली प्रहारबाट पादरी गम्भीर घाइते

१६ कात्तिक, काठमाडौं । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन बरामद भएको छ ।

मिडिया रिपोर्टका अनुसार चर्च बन्द गर्ने बेलामा स्थानीय समयअनुसार साँझ करिब चार बजे पादरीमाथि गोली प्रहार भएको थियो । उनको पेटमा दुईवटा गोली लागेको छ । उनलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

पादरीमाथि आक्रमण गर्नुको कारण खुलेको छैन । स्थानीय प्रशासनले भने पादरीको हत्या प्रयास भएको भन्दै अनुसन्धान सुुरु गरेको छ ।

यो घटनाभन्दा अगाडि दक्षिणी फ्रान्सको निस शहरको एक चर्चमा चक्कु आक्रमण हुँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोले यी आक्रमणहरुलाई ‘इस्लामिक आतंकवादी हमला’ भनेका छन् । साथै अतिरिक्त सुरक्षा बललाई सार्वजनिक स्थानहरुमा परिचालित गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/11/906519

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु

१५ कात्तिक, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-९, कास्कीका ६२ वर्षीया महिलाको शनिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

उनलाई कोरोना संक्रमण भएको १३ कात्तिकमा पुष्टि भएको थियो । उनमो कोभिड निमोनियाका साथै मधुमेहको पनि समस्या थियो । आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।



source https://www.onlinekhabar.com/2020/10/906478

बालुवाटार पुगे प्रचण्ड

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेका हुन् ।

गएको कात्तिक ४ पछि ओली-प्रचण्ड बीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न मानिरहेका थिएनन् ।

शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका थिए । त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए ।  तर, प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए ।

लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/10/906476

राससका महाप्रवन्धक शर्मालाई कोरोना संक्रमण

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महाप्रवन्धक शर्मा हाल होम आइसोलेशनमा छन् ।

पारिवारिक स्रोतका अनुसार उनमा शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोराना संक्रमणका सामान्य लक्षण देखिएको छ ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित भएको उनले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । शर्माले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह पनि गरेका छन् ।

यसअघि उनका दाजु एवम् नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर), भाउजु लक्ष्मी र भाइ अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

रासस महाप्रवन्धक शर्मा भने स्वास्थ्य मापदण्ड पालना गर्दै नियमित कार्यालयमा उपस्थित रहेको राससले जनाएको छ । महाप्रवन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ । उनी पनि होम आइसोलेशनमा छन् ।



source https://www.onlinekhabar.com/2020/10/906472

बाँसघारीमा जुवा खेलिरहेका तीन जना ३ लाखसहित पक्राउ

१५ कात्तिक, जनकपुरधाम । बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमा जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।

जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको छ ।

उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/10/906470

कविता : वर्षादका थोपा

कहाँ लेख्न सक्नु र यो धर्तीको बयान

एकदुई जन्मले आँक्नै असम्भव छ

यहाँका बान्की र बनावट

नारद हो र

एउटा नारायणको महिमा गाउन एकतारे भए पुग्ने

यहाँ त सयतारेले हजारौं भाका रचेर

हजारौं–हजार गीत पो गाउनु छ !

जब बादल हानिँदै पर्वत शृंखलाहरूमा टकराउँछ

ती असंख्य प्रवाहहरूको सङ्गीत भरौं कि

तिनै बादलहरू मूल भै निस्केको विज्ञान पर्गेलौं

कि मूल वरिपरि फुलेका सभ्यताको इतिहास लेखौं !

कुवाका ठट्यौलीहरू के लेखौं भन्छु

घुरका न्यानोपनले मस्त लठ्याउन थाल्छन्

मिथिलातिरका कलामा जब डुब्न खोज्छु

ठाँटीका ढाँचा दङ्गदास पार्न आइहाल्छन्

 

गुफाभित्रका रहस्य खोतल्नै त कहाँ छ कहाँ

मन्दिर,मस्जिद र देवलका ज्ञानहरु कहिले बुझौं

एउटा बुद्ध थाहा पाउँदा संसार चकित छ

दर्जनौं आदिबुद्ध उजगार गरेर कहिले सकौं !

 

ती शान्त पोखरी र गहिरा इनारहरूको

तकनिकि त यसो लेखौंला

लोक्ताहरुले कागज बनाएको शीप पनि बुझौंला

डण्डीबियो, गिर अनि बाघचालका आविष्कार कहाँ पाउँ

ढुङ्गे बारीमै लहलह फलाउने ती

ज्ञान–गाथा खोजेर कहिले सकौं ?

 

गन्न सकिएला बरु वर्षादका थोपा अनि आकाशका तारा

तर सकिँदैन आँक्न यी बान्की र बनावट सारा

प्रयत्न अवश्य गरिरहुँला जुनी–जुनीसम्म

नेपाली भएर दिइरह्यौ भने यहीँ जन्म ।



source https://www.onlinekhabar.com/2020/10/906465

राप्ती प्राविधिक शिक्षालय : बन्ला त लुम्बिनी प्रदेशको ‘सिंहदरबार’ ?

१५ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको छ । यो बैठकलाई ‘ऐतिहासिक’ बनाउन मुख्यमन्त्रीको कार्यालय र संसद सचिवालय गृहकार्यमा जुटेका छन् । तिहारलगत्तै स्थायी राजधानी दाङ देउखुरीमा प्रदेशसभाको पहिलो बैठक बसाल्ने तयारी उनीहरुको छ ।

यही तयारीअनुसार सभामुख पूर्णबहादुर घर्ती नेतृत्वको टोलीले दाङ देउखुरीका भौतिक पूर्वाधारको अवस्थाबारे शुक्रबार स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीको औपचारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन । तर अनुगमन टोलीका सदस्य एवम् प्रदेशसभा सदस्य इन्द्रजित थारु भने दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयलाई प्रमुख प्रशासनिक केन्द्र बनाउन सकिने र प्रदेशको हिउँदे अधिवेशनको बैठक पनि बसाल्न सकिने निष्कर्ष निकालिएको बताउँछन् ।

सिटिइभिटीका प्राविधिक विषयहरु पढाइ हुने राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाटमा छ । १६ बिघा जग्गामा फैलिएको राप्ती प्राविधिक शिक्षालय परिसरमा तीन सय जना अटाउने सभा हल र साना–ठूला ३५ वटा भवनहरु छन् । यीनै संरचनाहरु प्रयोग गर्दै  संसद बैठक बसाल्ने प्रदेश सरकारको योजना छ ।

हालसम्म अस्थायी राजधानी रुपन्देहीको बुटवलबाट प्रदेश सरकार र संसद सन्चालन हुँदै आएको छ । गत २० असोजमा बसेको प्रदेशसभाको बैठकले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशसभाको नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । त्यसलगत्तै स्थगित संसद बैठक हालसम्म बसेको छैन ।

आगामी हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको बेला शुक्रबार सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी नेतृत्वको टोलीले राप्ती प्राविधिक शिक्षालयको शुक्रबार स्थलगत अवलोकन गरेको छ । साथै स्थानीय पालिकाका प्रमुख र व्यवस्थापन समितिसँग छलफल पनि गरेको छ ।

अनुगमन टोलीमा रहेका दाङका प्रदेशसभा सांसद इन्द्रजित चौधरीका अनुसार राप्ती प्राविधिक शिक्षालयको व्यवस्थापन समिति सम्पूर्ण संरचनाहरु उपलब्ध गराउन तयार छ । चौधरीले अनलाइनखबरसँग भने, ‘सबै भवनहरु उपलब्ध भएमा यसैलाई सिंहदरबारजस्तै प्रशासनिक केन्द्र बनाउन सकिन्छ, संसद बैठक पनि बसाउन सकिन्छ भनेर अनुगमन टोलीले निष्कर्ष निकालेको छ । राप्ती प्राविधिक शिक्षालयको सन्चालक समितिका सरहरुले पनि हामी उपलब्ध गराउन तयार छौं । बाँकी प्रक्रिया माथि नै मिलाउनुस् भन्नुभएको छ ।’

चौधरीका अनुसार अब सभामुख र आन्तरिक मामिला मन्त्रीसहितको टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई ब्रिफिङ गर्ने छ । त्यसपछि शिक्षा मन्त्रालयलगायतका निकायमा आवश्यक प्रक्रिया मिलाइने प्रदेशसभा सदस्य चौधरीले बताए ।

छलफलमा सहभागी दाङका प्रमुख जिल्ला अधिकारी एवम् राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष जय नारायण आचार्यले प्रदेश सरकारले प्रयोग गर्न चाहे यहाँका सबै संरचना उपलब्ध गराउन सकिने बताए । ‘हिउँदे अधिवेशनको बैठक बसाल्न सकिन्छ, हामी यी संरचना दिन सक्छौं, के कति संरचना चाहिन्छ निर्देशन भएमा सोही अनुसार गर्छौं,’ प्रजिअ आचार्यले भने । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिने विकल्पबारे पनि सोच्न उनले सभामुख घर्ती नेतृत्वको टोलीलाई सुझाव दिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी सन्चालनका लागि आवश्यक सबै जिम्मेवारी बहन गर्न आफूहरु तयारी अवस्थामा बसेको जानकारी दिए । उनले प्रदेश मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, संसद भवन, दलका कार्यालयहरु बनाउन सुरक्षित र व्यवस्थित ठाउँ राप्ती प्राविधिक शिक्षालयबाहेक अरु विकल्प नभएको बताए ।

प्राविधिक शिक्षालयको विकल्प के ?

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको मौरीघाटमा २०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा हाल ११ सय विद्यार्थीहरुले बिभिन्न प्राविधिक विषय पढिरहेका छन् । त्यहाँ सिटिइभिटीअन्तर्गतका आईएससीएजी, जेटिए, सबओभरसियर, सिएमए लगायतका पढाइ हुनुका साथै छोटो समयको प्लम्बिङ, मोटरसाइकल मर्मत, हाउस वायरिङ लगायतका तालिम दिइन्छ ।

यहाँ प्रदेश राजधानीको प्रशासनिक केन्द्र बनेमा राप्ती प्राविधिक शिक्षालय अन्यत्र सार्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा उपयुक्त निर्णय गर्ने अनुगमन टोलीमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताए । उनले भने, ‘हामीले शिक्षालयको अध्ययन गर्यौं अब मुख्यमन्त्री ज्यूलाई ब्रिफिङ गर्छौं र उपयुक्त निर्णय गर्छौं ।’

मौरीघाटमा सन्चालित राप्ती प्राविधिक शिक्षालय हाल राप्ती गाउँपालिकाकै लालमटियास्थित आदर्श उच्च मावि वा गढवा गाउँपालिकाको गोबरडिहास्थित सरस्वती उच्च माविमा सार्ने विकल्प छ ।

सरस्वती उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष यमनारायण पोख्रेल ‘विश्वास’ले राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहामा ल्याउने पहल भइरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘राप्ती प्राविधिक शिक्षालय सन्चालनका लागि हामीसँग भवनहरु र जग्गा पर्याप्त छ । यहाँ विद्यार्थीहरुको पढाइमा असर नपर्ने गरी टेक्निकल स्कुल सन्चालन गर्न सकिन्छ । यदि थप आवश्यक पर्यो भने पनि सम्पूर्ण रुपले सहयोग गर्न हामी तयार छौं ।’

प्रदेशसभा र सरकारको टोलीले मंगलबार सरस्वती उच्च माविको टोलीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

सरस्वती माविलाई कहाँ सार्ने ?

सरस्वती माविको भवन

२०१७ सालमा स्थापना भएको सरस्वती उच्च माविमा हाल १३ सय विद्यार्थीहरु छन् । विद्यालयको आफ्नै जग्गामा निर्मित ५० कोठाका आधा दर्जन भवनहरु छन् । पुरानो १८ कोठे एउटा पुरानो भवनलाई हालै सबलीकरण गरिएको छ । त्यसबाहेक १२, ८, ४ र २ कोठे अरु भवनहरु पनि छन् । उच्च मावि सन्चालन भएपछि अलग सन्चालन गरिएको प्रावि कक्षाको भवन पनि छ । कम्प्युटर ल्याब, साइन्स ल्याब, कृषिका टनेल, पोखरीलगायतका संरचनाहरु पनि निर्माण गरिएको छ । करिब १८ बिघाको सिङ्गै प्लट जग्गा पनि सरस्वती उच्च माविसँग छ ।

यदि राप्ती प्राविधिक शिक्षालय आएमा सरस्वती उच्च मावि गोबरडिहामा पढ्दै आएका विद्यार्थीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने प्रश्न आउँछ । जनप्रतिनिधिहरुले त्यसको विकल्प पनि सोचिसकेका छन् ।

साविकको गोबरडिहा गाविसको धैरेनी घर भएका लुम्बिनी प्रदेशसभा सांसद इन्द्रजित चौधरी नजिकका विद्यालयहरुमा विद्यार्थीहरुको व्यवस्थापन गर्न सकिने बताउँछन् । उनले भने, ‘केही विद्यार्थीहरु गोबरडिहामै रहेको रात्री प्राविमा, केही पर्सेनी माविमा र केही अरु छेउछाउँका स्कुलहरुमा ब्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा गोबरडिहाको रात्री स्कुललाई माविमा स्तरोन्नती गर्ने विकल्प पनि सोचिएको छ ।’

लालमटियाका प्रधानाध्यापक भन्छन्– हामी सबै प्रकारले सहयोग गर्छौं

राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा रहेको आदर्श नमूना माविका प्रधानाध्यापक किरण पोख्रेलले पनि आफूहरुसँग राप्ती प्राविधिक शिक्षालय सन्चालनका लागि पर्याप्त पूर्वाधारहरु रहेको बताए । पोख्रेलले अनलाइनखबरसँग भने, ‘हामीसँग पर्याप्त भौतिक संरचना र जग्गा छ, सरकारले निर्णय गरेमा पढाइमा असर नपर्ने गरी राप्ती प्राविधिक शिक्षालय चलाउन सकिन्छ ।’

प्रअ पोख्रेलका अनुसार आदर्श मावि लालमटियासँग करिब तीन सय मिटरको दुरीमा दुईवटा ठूला भवनहरु छन् । २२ कोठे पुरानो एउटा भवन अलि जिर्ण छ । त्यसलाई मर्मत सम्भार गरेर प्रयोग गर्न सकिन्छ । अर्को नयाँ भवनमा ४२ वटा कोठा छन्, जसमा सूचना प्रविधि (आईटी) विषय पढाइ हुन्छ । यसका साथै गोर्खा वेलफेयरले बनाइदिएको १० कोठे भवन पनि छ । ८ कोठे अर्को भवन, प्रशासनिक भवन, जाइकाले बनाइदिएको भवन, हल कोठा, विज्ञान ल्याब लगायतका संरचनाहरु पनि छन् ।

आदर्श नमूना माविको भवन

आदर्श नमूना माविले आदर्श बहुमुखी क्याम्पसलाई ९९ वर्षको लागि लिजमा दिएको साढे चार बिघा जग्गा र सो जग्गामा बनेको भवन पनि छ । पुरानो भवन रहेको स्थानमा करिब अढाइ बिघा जग्गा पनि रहेको प्रअ पोख्रेलले बताए ।

देउखुरीमा रहेका भौतिक पूर्वाधार र जग्गाको अवस्थाबारे प्रदेश सरकारको छुट्टा छुट्टै टोलीले पटक पटक स्थलगत अनुगमन गरी जानकारी लिएको छ । सभामुख नेतृत्वको टोलीभन्दा अगाडि प्रदेश प्रमुख सचिवको टोलीले पनि देउखुरी क्षेत्रको अनुगमन गरेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ८ र ९ को भूभागलाई समेटर राजधानी बसाल्ने निर्णय गरेको छ ।

मास्टर प्लान बनाएर राप्ती नदीले चर्चेको ऐलानी जग्गामा सुन्दर शहर बसाल्ने मुख्यमन्त्री शंकर पोखरेलले बताउने गरेका छन् । यद्यपि लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरण गठन भइसकेको दुई वर्षसम्म पनि कार्यालय स्थापना भइसकेको छैन । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले अब छिट्टै राप्ती गाउँपालिकामा प्राधिकरणको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।

प्रदेशसभा, मन्त्रालय, प्रशासनिक कार्यालयका संरचना कहाँ रहने भन्ने टुंगो लागिसकेपछि अन्य पूर्वाधार निर्माण सुरु हुने चर्चा छ । पूर्वाधार निर्माण गर्नुअघि कृषि, आवासीय, हरित क्षेत्र, औद्योगिक, सांस्कृतिक, प्रशासनिकलगायतका क्षेत्र छुट्याइने छ । ‘मास्टर प्लान बनिसकेपछि कुन ठाउँमा के रहने भन्ने निर्क्यौल हुन्छ,’ मजगैयाँले भने ।

प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेलगत्तै जग्गा कित्ताकाट र किनबेचमा रोक लगाइएको छ । तर देउखुरी क्षेत्रमा चर्को मूल्यमा, अवैध रुपमा जग्गाको कारोबार भइरहेको छ ।



source https://www.onlinekhabar.com/2020/10/906457

Friday 30 October 2020

कथा : गाउँ कहाँ छ ?

अविनाशले कतारबाट फोन गर्यो, ‘बाबा, म घर आउने भएँ दसैंमा ।’

घनश्याम खुसी भयो । छोरो अविनाश गाउँ नआएको पनि पाँच वर्ष भइसकेको थियो । कान्छो विवेक बुहारीसहित बिर्तामोडमा थियो । बुहारी दुई जीउकी छे, यो पालि दसैंमा घर आउन सक्दैनौं भनेर समाचार पठाएको थियो ।

दसैं खल्लो हुन्छ कि भनिरहेका बेला अविनाशको फोनले घनश्यामलाई खुसी तुल्यायो ।

‘अर्को हप्ता अलिकति पैसा पठाइदिन्छु आइएमई गरेर । खसीचाहिँ अलि ठूलो ल्याइरहनू है ।’

‘खसी  पाए पो ल्याउनु गाउँमा !’

‘बाबा पनि हँसाउनुहुन्छ । याङ्मामा खसी पाइँदैन ?’

‘पाइँदैन । भन्दैछु त । बोका चैँ पाइन्छन् ।’

‘बा पनि क्या जोक हान्दिनुहुन्छ । बोका नल्याउनू है पाए पनि । मासु गन्हाउँछ । अनि घरमा अरू केके चाहिएको छ ? धेरै ल्याउन त दिँदैन । तीस किलो दिन्छ ।’

‘आफू आइज न । अरू सबै छ त घरमा ।’

‘ल ल । म आफैं विचार गरेर ल्याँउछु । अहिले राखें । खसीचाहिँ…’

अविनाशले फोन राख्यो । उसलाई थाहा थियो– घरमा के चाहियो भनेर सोध्दा बा–आमाले यो चाहियो भनेर कहिल्यै भन्दैनन् । उसले अघिल्लोचोटि आउँदा पनि उनीहरूले नभनी एउटा रेकर्ड–प्लेयर, दुईवटा कम्बल र केही लुगाफाटा ल्याएको थियो ।

गाउँमा दसैंको चहलपहल सुरु भइसकेको थियो । घनश्याम र रुक्मिणी पनि आफ्नै ढङ्गले तयारीमा लागे ।

दसैंको तयारी, कहिल्यै एकमुष्ठ नहुने । आज एउटा कुरा किनेर ल्यायो, भोलि केही छुटिरहेको अनुभव हुन्थ्यो । फेरि अर्को बान भर्यो, चाहिएको केही छुटिरहेको । अनि फेरि घटस्थापना लागेदेखि नै घनश्यामले कि बिब्ल्याँटे जाने, कि इलाम बजारै जाने र बजार भर्ने गरिरहेको थियो । आवश्यकता र विस्मरणले हरेक दिन बजार जा भन्थ्यो । तर उकालो र लामो बाटो । गोडाका जोर्नी पनि दुखिरहन्थे अचेल । डाक्टरलाई देखाउँदा भनेको थियो– गाउट्स हो । धेरै नहिँड्नू ।

तर को जाने त बजार ? रुक्मिणी नभ्याउने । त्यसैले, सकीनसकी बुढा घनश्याम आफैं जान्थ्यो बजार, तीन दिनमा एक दिन ।

घनश्याम करिब पचास वर्ष कटेको थियो होला । बाल्यकालदेखि नै हिँडिरहेको थियो ऊ यो बाटो, उकालो–ओरालो । ओरालो–उकालो । पछि ठूलो भएपछि, बिहेदान भएपछि, घरको जिम्मेवारी आफ्नो काँधमा आएपछि र रहरहरू बाध्यतामा परिणत भइसकेपछि त उसलाई यो बाटो नहिँडी धरै पाएन ।

उसले धेरै दिन तलमाथि गरेर दसैं भित्र्यायो । बाटो तलमाथि नापिरहँदा सम्झ्यो– उहिले उहिले बजारबाट ल्याउनुपर्ने चिज र ल्याउनु नपर्ने चिजको सूची आजको भन्दा बिल्कुलै फरक हुन्थ्यो ।

केरा, चिउरा, दूध, दही, घिउ, पिठो…गाउँमै पाइन्थ्यो । त्यो दिन, जुन दिन चामल, तेल, बेसार र तरकारी पनि पसलमा पाइन्छ भन्ने थाहा पायो, उसलाई संसारको एउटा नौलो आश्चर्यसँग साक्षात्कार गरेजस्तो लागेको थियो । बजारबाट ल्याउने भनेको औषधि, साबुन, नुन, चिनी, बिस्कुट, लुगाफाटा, जुत्ता–चप्पल, कापी–कलम, घडी, टर्च, ब्याटरी, रेडियो, सियो–धागो यस्तैयस्तै । सानो सूची थियो ।

अचेल, बजार भर्न जाने भनेपछि प्रथमतः यिनै सामान उनको सूचीको शीर्ष भागमा आउने गरेका थिए । यसरी सूची लम्बिएको करिब एक दशक भएको थियो ।

घरबाट करिब आधा घण्टा ओरालो हिँडेपछि गाउँलेहरू एउटा बर–पीरल डाँडोमा पुग्थे, जहाँबाट उँधो बिब्ल्याँटेतिर जाने ओरालो निकै तलसम्म दखिन्थ्यो ।

दसैं नजिकिँदै जाँदा यो ओरालो बाटो पूर्ण रूपमा रङ्गीन देखिन्थ्यो ।

एक त पाकेर पहेँलपुर भएको धानको स्वर्णीम आभा, अथवा पाक्ने तयारीमा झुलिरहेका धानका बालाको वयस्क हरियाली, बाटाका दायाँबायाँ उभिएका घरहरूका अँँगन, करेसाबारी, अथवा छेउछाउका आलीमा फुलेको सयपत्रीको मादक सुगन्ध र आकर्षक रङ्गको खेल फरक हुन्थ्यो । र, यसका अतिरिक्त बजार भरेर घर फर्कने, अथवा देश–विदेशबाट दसैं मान्न गाउँ फर्कनेहरूका नयाँनयाँ लुगा, झोला, सुटकेस, उस्ताह, प्रेम र अलि अलि रवाफले छरेको रङमा पुलकित हुन्थ्यो यो बाटो । घर फर्कँदै गरेका आफन्त, दाजु–दिदी वा छोराछोरी हेर्न यस बरडाँडामा आइपुगेका विभिन्न वयका गाउँलेहरू धेरै तलदेखि चिनेजस्तो गर्थे आफ्नो परिवारको छाया ।

घर पुग्दासम्म यो चकलेटको पाकेट उसलाई नदी किनारमा भेटेको दर्शनढुङ्गो जस्तो लाग्यो, जसलाई घर नल्याउनू भनेर आमा भन्थिन्

जति नजिक आउँछ, त्यति नै अधीर हुन्थे । अझ नजिक, बरडाँडैमा आइपुग्दा अनुहारहरूमा घाम पोखिन्थ्यो, र वास्तवमै दसैंले गाउँ टेकेको अनुभूत गर्थे । अझ बालबालिकाहरू दसैं भित्रिएको सङ्केत गर्ने पहेँली चरीकै प्रतीक थिए ।

त्यस बरडाँडादेखि तल बिब्ल्याँटेसम्मको लामो, चिप्लो, पट्टेरलाग्दो र साँघुरो ओरालो बाटोले पनि दसैं आउँदा सामूहिकताको आभास दिन्थ्यो । उँधो झर्ने र उँभो आउने मान्छे जताततै । उनीहरूका दसैं–गफ र आपसी संवादले बाटाभरिको एकान्त झाडी, खोल्साखोल्सी, उत्तीस घारी र अम्लिसो घारी सबै बोर हुन्थे । लाग्थ्यो, वर्षभरि सुतेको बाटो एक्कासी उठेको छ, र वर्षभरिको अनुभव गाउँलेहरूलाई सुनाइरहेको छ ।

तर यो भयो सुदूर विगतको कुरा ।

अचेल पनि त घनश्याम यही बाटो बजार भर्न जान्छ दसैंमा ।

तर अचेल, कथा फरक छ ।

अधिकांश परिवारको नयाँ पुस्ता तराईतिर झरेको छ । बुधबारेदेखि बिर्तामोड, चारआली, काँकडभिट्टा अथवा दमकतिर । सक्नेहरू काठमाडौं नै बस्न थालेका छन् । अरू बेला उनीहरूसँग व्यस्तता छ । दसैंमा बहाना छन् । गाउँ एक्ला बाआमाको  खातामा परेको छ । अचेल गाउँमा:

–मान्छे हिँड्छन् दसैंमा त्यही बाटो, तर थोरै । ओरालो जाने धेरै छोराका घर, छोरीका घर । उकालो आउने फाटफुट ।

–उहिले–उहिले जवानहरू उकालो हिँड्थे, बूढाबूढी गाउँमा हुन्थे । अचेल बूढाबूढी ओरालो झर्छन् । जवानहरू अन्यत्रै छन् ।

– उहिले–उहिले दसैं घरमा आउँथ्यो । अचेल दसैं परदेशमा जान्छ वा सहर जान्छ,  गाउँघरमा बाक्लो अँध्यारो पोतेर ।

–रङ्गहरू ओरालो हिँड्छन् । अनि दसैंमा एउटा सन्नाटा गाँउ पस्छ, र त्यहाँ भएका थोरै गाउँलेहरूका ओठमा विरह पोतेर जान्छ ।

–उहिले दसैं आउँदा गाउँमा मान्छेहरू खसीबोकाप्रति संवेदना दिन्थे । अचेल, खसीबोकाहरू गाउँलेहरूलाई संवेदनाको दृष्टिले हेर्छन् ।

–उहिले–उहिले गाउँमा कुद्ने गाडीमा खुट्टो टेक्ने ठाउँ हुँदैनथ्यो । अचेल, गाडी  थुप्रै छन्, तर खाली खाली कुद्छन् ।

****

यति कुरा सोचिसक्दा घनश्याम बिब्ल्याँटे बजार पुग्यो । धेरैबेर अल्मल्लिइरहन मन लागेन ।  गाडी पाउन समस्या भएन । केही मान्छेमात्रै थिए । सिट सजिलै पायो ।  केही खत्र्याकखुत्रुक किनेर घर गयो ।

भोलिपल्ट षष्ठी । अविनाश पनि घर आइपुग्यो । गाडीमै आयो । आश्चर्य कसैलाई लागेन ।  घरछेउको कुइनेटोमा झर्यो । अँ, काम लागिहाल्ला भनेर आएको ड्राइभरको फोन नम्बर पनि टिप्यो ।

दुई हातमा सरसामान बोकेर घरतिरको उकालो लाग्दा ऊ एक्लै थियो । छेउछाउका घरबाट पुलुक्क हेर्नेले देखे, तर आश्चर्य मानेनन् । अँ, उसलाई भने अनौठो लाग्यो । उसलाई लिन मोडसम्म कोही आएको थिएन ।

उसका पछिपछि कुद्न कुनै बालबच्चा पनि आएका थिएनन् । यसमा भने उसलाई अलिकति आश्चर्य लाग्यो । बाटैमा घेर्न आउँछन् बालबालिका भनेर एक पाकेट चकलेट हातपुगाउ घुसारेको थियो झोलामा । त्यो त्यसै रह्यो ।

घर पुग्दासम्म यो चकलेटको पाकेट उसलाई नदी किनारमा भेटेको दर्शनढुङ्गो जस्तो लाग्यो, जसलाई घर नल्याउनू भनेर आमा भन्थिन् ।

अविनाश घर पुग्यो । आमा संघारमा आइन्  र भनिन्, ‘ए, आइपुगिस् ? अनि गाडी पाइयो ?’

हातका सरसामान भुइँमा राखेर ढोगदियो, र भन्यो, ‘पाएँ । पाइँदोरै’छ ।’

आमा रुक्मिणीले प्राकृतिक खुसी व्यक्ति गरी । लामो टिकेन । अनि अलिकति कृत्रिम हाँसो पनि दिई । तेल–पानीजस्तै गरी छुट्टियो ।

‘खोई बा ?’

‘माथि मुर्चुङ्गेकहाँ गा’का छन् । भोलि पूजा गर्ने हाँस लिन ।’

‘पूजा ? भोलि ?’

‘भोलि सप्तमी होइन त ?’

अविनाशको मनमा चिसो पस्यो । तर केही भनेन ।

भित्र पस्यो । झोला राख्यो । सरसामान मिलायो, लुगा फेर्यो । हात–मुख धायो । रुक्मिणीले चिया पकाई, कालो । खायो । अनि फुत्त निस्कियो घरबाट । वरिपरि हेर्यो घुमीघुमी । गोठमा गयो । करेसामा गयो । घरअगाडि हेर्यो । पछाडि हेर्यो ।

अनि उदास मन लिएर फेरि भित्र पस्यो ।

‘आमा, खसी नल्या’को ?’

‘पाए पो ल्याउनू ! काँ–काँसमन् पुग्नुभो’ बा गोडा दुखाईदुखाई । पाइँदैन खसी । बोकै मात्रै पाइन्छन्  । बोका नल्याउनू भनेको थिस् अरे । खसी पार्ने मान्छे नै छैन गाउँमा । त्यै भर त हाँस खोज्न गए त ।’

अविनाशलाई भत्भती पोल्यो । भित्रैसम्म दुख्यो ।

ऊ फुत्त निस्कियो घरबाट । अलि पर्तिर, ठाडो बाटोछेउको कुइनेटोमा पुग्यो र लाग्यो ओरालो बिब्ल्याँटेतिर । भर्खर यही बाटो आएको ।  पहिले–पहिले हो भने मान्छेले सायद सोध्थे, ‘अहिले यही बाटो आएको होइन ? फेरि किन तुरुन्तै ओरालो ?’

तर कसैले सोधेन । सोध्न कोही आएन पनि बाटोमा ।

राति, करिब नौ बजेतिर एउटा टाटा मोबाइल रिजर्भ गरेर अविनाश एउटा खसी लिएर घर आइपुग्यो ।

‘अचम्म ! काँबड ल्याइस् ?’ रुक्मिणीले भनी ।

‘इलाम बजारै पुगेँ नि । खसी नभई केको दसैं ? मैले झन् बालाई अस्ति नै भनेको ।’

‘अनि बजारमा पाइन्छ त खसी ?’ रुक्मिणीले फेरि भनी ।

‘अचेल खसी–बजार लाग्छन्त, आमा ! काँक्काँबड ल्याका हुन्छन् ।’

गाउँको आरोलो बाटोमा कतै बच्चाले हालेका लहराका पिङ सुकेर हावामा हल्लिरहेका देखिन्थे । दसैंले बिटुल्याएर गएका घर र समयले एक्ल्याएर हिँडेका गाउँले भने कुनै वृद्धाश्रममा मोक्ष कुरेर बसेका वयोवृद्धजस्ता देखिन्थे

रुक्मिणीले जिब्रो टोकी । घनश्यामले पनि एउटा सानो हाँस ल्याएको थियो । देखायो । खासै उत्साह आएन अविनाशको अनुहारमा ।

‘अब छोड्दे पनि भो यो टिउरो । खसी नै भएपछि के गर्नु यो टिउरो’, उसले भन्यो ।

‘अँ, छोड्दिस् ! यत्ति पनि काँ पुगेर ल्याको, गोडा दुखाईदुखाई ।’

रातको खाना भयो । आफूले ल्याएका सरसामान देखायो अविनाशले । दिनुपर्ने जिम्मा दियो । एलसीडी टिभी आफैंले माझ कोठामा फिट ग¥यो । सबै बसेर केहीबेर नयाँ टिभी हेरे, अनि सुते ।

भोलिपल्ट सप्तमी । नित्य पूजापाठ सके । खसी पूजाको तयारी पनि गरे । अलि पर्तिर बारीमा केराका थाम र पात प्रयोग गरेर थान पनि बनाए । रुक्मिणीले बाबर र धूपबत्ती तयार गरी ।

‘मार त तँ हान्लास् नि !’ घनश्यामले भन्यो ।

‘म हान्दिनँ । काँ हान्छु ? अहिलेसम्म हानेको छैन । आबुई ।’

‘कसले हान्छ त ? मैले आजसम्म मार हानेको देखेको छस् ? अचेल त, मासु पनि नखाऊँजस्तो लाग्छ, मारका कुरा । कस्सम, यी हातले झिँगो पनि नमारेको पाँच वर्ष भयो ।’

‘पहिलेपहिले त हान्नुहुन्थ्यो त ?’

‘कहिले देखिस् हौ मार हानेको ? पचास वर्षको भएँ, आजसम्म कट्टी समातेको छुइनँ ।’

एकछिन हेराहेर गरे बाउछोराले ।

‘गाउँमा कोही छैनन् त ?’ अविनाशले सोध्यो ।

‘सोधीखोजी पनि पो गरिनँ । बेलुकासमम खसीको कुरै थेन । हाँस मुला त काट्लास् नि भन्ठानें ।’

अनि अविनाशले गाउँमा कोही छ कि खोज्न जान्छु भन्यो । बाउछोराले सम्भावित नाममा छलफल पनि गरे । तिनै नाम मनमा लिएर अविनाश घरबाट निस्कियो ।

यस समयलाई गाउँमा भएको दसैंको चहलपहल हेर्ने मौकाको रूपमा पनि लियो उसले ।

कल्पना थियो– मन्दिरमा घटस्थापनाकै दिनदेखि दुर्गा थापेर बसेका छन् पण्डितजी । आज सप्तमी– बिहानै फूलपाती टिप्ने शोभायात्रा निस्कने छ । गाउँका चहुरभरि बाँस गाडेर पिङ हालेका छन् लाठेहरूले । पिङमा पालो पर्खनेको घुइँचो देखिने छ चौरमा । सेतो र रातो माटोले मिलाएर पोतेका घर दुलहीजस्ता देखिने छन् । वर्षभरिको दुःख त विरासदमा पाएको गरिबीलाई छक्याएर गाउँलेहरू शरदको घाममा खुसी नाप्न निस्किएका छन् ।

तर त्यस्तो केही देखेन । स्कुलकै प्राङ्गणमा भएको मन्दिरमा दुर्गा थापेनछन् । कसैले अविनाशलाई भन्यो, ‘भाँडरी बाजे दमकतिर हिँडेपछि दुर्गा थाप्ने मान्छे नै छैन । याँ अचेल सराद गर्ने पुरेत त सुरुङ्गाबड आउँछन्, पूजाको कुरा ।’

केही खस आर्य र केही लिम्बूले मिलेर आफ्नै ज्ञानअनुसार निकालेका रहेछन् फूलपातीको जुलुस  । ‘दुर्गा माताको, जय !’ भनेको सुनेपछि पुलुक्क  हेर्यो । थिए होलान् बीसजना जति । बूढाबूढी र केटाकेटी ।  दुर्गा बोक्नेचाहिँ दुईचार जना अधबैंसे पनि थिए । केटाकेटी बाटो मिच्दै, खेतबारी नभनी कुदिरहेका देखिन्थे । बूढा बाआमाहरू आफैंले पनि नसुनिने गरी थपडी मार्दै, ओठमा बिना आवाजको जयगान फट्फटाइरहेका थिए, ‘दुर्गा माताको, जय !’

एकाध ठाउँमा पिङ पनि देख्यो, रूखका हाँगामा जङ्गली लहरा अथवा परालका डोरी बाँधेर केटाकेटीले हालेका ।

उदास, लिपपोत नभएका, गाह्राको माटो लडेर भुइँमा थुप्रो लागेका, भित्राका ढुङ्गा बाहिरैबाट देखिने गरी उद्रिएका, र बाहिरफेर झारले पुर्न आँटेका घर मुर्दाघरजस्ता देखिन्थे । रित्ता–रित्ता टाट्नाहरू । खाली–खाली गोठहरू ।

करिब दुई घण्टाजति घुम्यो अविनाश गाउँभरि । अनि अपराह्न घर आइपुग्यो ।

गाउँमा मार हान्ने कुनै लाठे भेटिएन । अन्ततः हाँसकै पूजा भयो । आँखा चिम्लेर, अर्कोतिर हेरेर काट्यो अविनाशले हाँस !

पकाएर खाऊँ जस्तो पनि लागेन उसलाई ।

अघिल्लो दिन आफू घर आएको गाडीलाई फोन लगायो । गाडीवालाले भन्यो, ‘माइपोखरीमा छु । एकैछिनमा आइपुग्छु ।’

एकछिनपछि आयो पनि । केही मान्छे थिए गाडीमा । अविनाश आफ्नो खसीसहित चढ्यो ।

‘हिँजो उँधैबड ल्याको होइन ? आज फेरि किन उँधै ?’

‘धम्की हान्दोरै’छ । बिरामी खसी त पुज्नु भएन नि ? साट्न हिँडेको ।’

‘ए, अनि पूजा गर्नुपर्ने होला । आइपुगिन्छ त तलबाड अर्को लेर ?’

‘पूजा गर्न हाँस छ ।’

‘त्यही त । कस्ता–कस्ता खसी ल्याउँछन् बजारमा !  गाउँमा भए कस्ता बलिया, चिल्ला हुन्थे’, कसैले भन्यो ।

‘गाउँको कुरा छोड्नु दाजु । गाउँ कहाँ छ अचेल ?’ चालकले भन्यो ।

अविनाशले खसी बिब्ल्याँटे बजारमा झार्यो । गाडी उँधो इलामतिर लाग्यो । बजारमा केही मान्छेले सोधे, ‘गाउँको हो ? कतिमा दिने ?’

ऊ भने सरासर बुच्चडकहाँ गयो र केही पैसा तिरेर खसी काट्न लगायो । बाह्र–पन्ध्र किलो खसीको मासु पोको पारेर ऊ पुनः गाडी लाग्ने ठाउँमा पुग्यो ।

साँझ घरमा रुक्मिणीले सोधी, ‘बुच्चडे त केके जातका हुन्छन् ! भो, म त खान्नँ ।’

‘तेरा जात’ घनश्यामले भन्यो र आक्रोशपूर्ण दृष्टिले हेर्यो ।

तीनजनाको जहान, बाह्र–पन्ध्र किलो खसी । घनश्याम र रुक्मिणीले पचास टेकेपछि मासुभन्दा सागपातमा मन अड्याएर बस्न थालेका थिए । दूधदहीको समय विस्मृत बन्दै गएको थियो । सक्नेहरू घिउ बजारबाट किनेर गाउँ लान्थे ।

दसैं हो, छोराको मन थाम्नकै लागि भए पनि अलिअलि मासु खाए घनश्याम र रुक्मिणीले । तर लामो समय त्यसै मासुमा मन अल्झाइरहन सकेनन् ।

टिको लगाउन कोही आएन । आफन्त थिएनन् गाउँमा ।

अविनाशले पनि एक्लै कति खानु ! आधा मासु कीराको दसैं भयो ।

****

दुई महिनापछि अविनाशले बा–आमालाई कान्छो भाइसँग मिसाइदियो बिर्तामोडमा । र आफू पुनः फर्कियो कतारतिरै ।

गाउँको आरोलो बाटोमा कतै बच्चाले हालेका लहराका पिङ सुकेर हावामा हल्लिरहेका देखिन्थे । दसैंले बिटुल्याएर गएका घर र समयले एक्ल्याएर हिँडेका गाउँले भने कुनै वृद्धाश्रममा मोक्ष कुरेर बसेका वयोवृद्धजस्ता देखिन्थे ।

(पौड्यालको  ‘त्यसपछि फुलेन गोदावरी ‘ कथासंग्रह प्रकाशित छ।)



source https://www.onlinekhabar.com/2020/10/906454

भानुचोकको मधुशाला चियालय !

१५ कात्तिक, धरान । भानुचोकमा आदिकवि भानुभक्त आचार्य शालिक बनेर टोलाइरहेका छन् । यहीँ, भानुचोक छेवैमा छ – मधुशाला (चियालय) ।

मधुशाला चियालय ! यसका सञ्चालकको नामै मधु हो । मधुकर शाक्य, वर्ष ५६ । उनलाई ग्राहकले ‘मधु प्याला’ उपनामले चिन्छन् ।

चियापसलमा मधुकरले ग्राहकका लागि पुस्तक,पत्रपत्रिका राखेका छन् । पुस्तक राखिएको हुनाले यो ‘पुस्तकालय’ पनि हो । चियाघर र पुस्तक आलय मिलेर ‘चियालय’ बन्न पुगेको मधुकर बताउँछन् ।

अनि मधुशाला चाहिँ ?

मधु भन्छन्, ‘चियालयमा पसेपछि हातमा रहेको गिलासलाई मदिरा, मह वा जल सम्झेर पिउने, अनि घर्रामा रहेका पुस्तक, पत्रपत्रिका, म्यागेजिन मस्तसँग, मादकतासँग पढ्ने । अनि भएन त मधुशाला ?’

‘मधुले यहाँ चियालय खोलेको आठ वर्ष हुन लाग्यो । उनले १० कक्षासम्म औपचारिक अध्ययन गरेका छन् । सोह्र–सत्र वर्षको छँदा उनी कविता, गजल लेख्थे । धरानमा आयोजना हुने कविता गोष्ठीमा आफ्ना रचना सुनाउँथे । अरूलाई कविता र गजल सुनाउन पाउँदा मख्खै पर्थे ।

पुस्तक पढ्ने आदत थियो उनमा । आफ्ना साथीहरूलाई पुस्तक पढ्न आग्रह गर्थे र आफूसित भएका पुस्तक सित्तैमा दिन्थे । साथीले पढिसकेपछि फिर्ता माग्थे । पढेको पुस्तकबारे छलफल गर्थे ।

किशोरावस्थामा धरानमा आयोजना हुने विविध साहित्यिक कार्यक्रमहरूमा गइरहने मधु आजकाल भने आफ्नो चियालयको व्यस्तताले गर्दा कतै पनि जान पाउँदैनन् ।

मधुकर बिहानै साढे ४ बजे उठ्छन् । भेटिएजति सबैजसो पत्रपत्रिका र म्यागेजिनहरू किनेर बिहान ५ बजेतिर चियालय अगाडिको खाटमा मिलाएर राखिदिन्छन् । ग्राहक आउने क्रम बिस्तारै बढ्छ । ग्राहकसँगै चिया सुरुप्प पार्दै मधु पनि पत्रपत्रिका पढ्न र गफ गर्न थाल्छन् ।

जो ग्राहक चियालयमा पस्छन्, उनीहरू नपढी फर्किंदैनन् । मधुकर भन्छन्, ‘अरूले पढेको देख्दा मलाई ऊर्जा प्राप्त भएको महसुस हुन्छ ।’

बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म जुनसुकै बेलामा पनि कोही न कोही चियालयमा पुस्तक, म्यागेजिन अथवा पत्रपत्रिका पढिरहेका भेटिन्छन् ।

पहिले किताब बेचे, अहिले किन्छन्

केही वर्षअघि मधुकरले आफ्ना पुस्तकहरू चियालय अगाडि आधा मूल्यमै बेच्न राखेका थिए । कयौं दुर्लभ पुस्तकहरू मानिसहरूले किनेर लगे ।

एक दिन उनले सोचे, ‘म आफ्ना भगवानसरि पुस्तकहरू बेचेर अलिकति पैसा कमाएर के गरिरहेको छु ? किन म यो पापी काम गरिरहेको छु ? किन म आफूलाई पुस्तकविहीन बनाइरहेको छु ?’

यस्तो आकस्मिक सोचले उनको सोच बदलिदियो ।

त्यसपश्चात् बाँकी भएका पुस्तक उनले जोगाएर चिया पसलकैर्‍याकमा राखे । अनि निरन्तर पुस्तकहरू किन्न थाले । सुरुसुरुमा चिया पसल खोल्दा फगत एक–दुई पत्रपत्रिका राख्ने उनी आज भने ‘चियालय’मा भेटिएजति सबैजसो पत्रपत्रिका, म्यागेजिन र पुस्तकहरू किनेर राख्छन् । आफ्ना लागि र अरुका लागि पनि ।

चियालयका भित्तामा जताततै लेखक, साहित्यकारका लेख रचना टाँसिएका छन् । कविता र गजलहरू फ्रेममा सजाएर सबैले देख्ने ठाउँमा झुन्ड्याइएका छन् । मधुले आफूलाई मनपरेका लेखहरू फ्रेम बनाएर सुरक्षितसाथ राखेका छन् ।

उनलाई मनपर्ने वर्तमान लेखकहरू निभा शाह, आहुति, सिके लाल, युग पाठक, कुमार नगरकोटी, नरेन्द्र जङ्ग पिटर, सम्झना वाग्ले भट्टराई र अन्य धेरै मानिसका लेखका ‘कटिङ’हरू उनले चियालयका भित्तामा प्रेमसाथ टाँसिदिएका छन् ।

आफ्नो निजी कर्मसँगै पुस्तक, पत्रपत्रिका आदिसँगै रमाइरहने कर्मशील पुस्तकप्रेमी र अध्ययनशील मधु प्यालालाई नारायण वाग्ले, अमर न्यौपाने, आहुति र अन्य धेरैका पुस्तक मनपर्छ । उनलाई मनु मन्जिल, भूपी शेरचन, विनोदविक्रम केसीका कविताहरू पनि मनप्रिय लाग्छ ।

उनलाई लाग्छ, वीपीको ‘हिटलर र यहुदी’ साथसाथै विश्व बुक्स प्रकाशनका पुस्तकहरू सबैले जीवनमा एकपटक पढ्नुपर्छ ।

उनका प्रिय पुस्तकहरू भने कुमार नगरकोटीको ‘मोक्षान्त : काठमान्डु फिभर’, अमर न्यौपानेको ‘सेतो धरती’, राकेश नाथको ‘क्या ईश्वर है ?’, ओशोको ‘शिक्षा में क्रान्ति’, पारिजातको ‘शिरीषको फूल’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ आदि हुन् ।

मधुको दर्शनशास्त्र !

मधु पुस्तक पढ्दा हातमा रातो मसी भएको कलम भएन भने पढ्नै सक्दैनन् । मनपरेका वाक्य, अनुच्छेद र नबुझेका शब्दहरूमा ‘अन्डरलाइन’ गर्छन् । उनी भन्छन्, ‘पाठकहरूले पुस्तक पढ्दा मूर्ति भएर पुस्तक नपढून् । हातमा सिसाकलम अथवा कलम बोकेर आफूलाई मनपर्ने र नबुझिएका वाक्यहरूमा अनि गाह्रो लागेका शब्दहरूमा अन्डरलाइन गर्दै, कोर्दै, लेख्दै पुस्तक पढून् ।’

जिविकोपार्जनका लागि चियापसल चलाइरहेका कर्मयोगी मधुकरलाई दर्शनतिर विशेष रुचि छ । उनी आफूलाई ‘स्वघोषित नास्तिक’ भन्छन् ।

आफ्नोे चियालयको एक ठाउँमा हिन्दु, मुस्लिम, बौद्घ, इसाईका तस्बीर एकै ठाउँमा झुन्ड्याएका उनी भन्छन्, ‘यो हिन्दु, मुस्लिम, बौद्घ, इसाई आदि भनेको मानवीय भाइरसहरूको नाम हो । मानवको निम्ति धर्मभन्दा प्रिय मानवता रहन्छ । आजसम्म जति पनि ठूलाठूला युद्घ भएका छन्, ती सबै धर्मकै नाममा भएका छन् । धर्मले कि पाखण्डी जन्माउँछ, कि त आतङ्ककारी जन्माउँछ । पुस्तक पठनले नै मलाई मानव बन्न सिकायो ।’

उनको थप दर्शन छ– ‘समयको कुशल सदुपयोग र विशाल ज्ञान आर्जनको निम्ति पुस्तक पढ्नुपर्छ । विद्यालय, कलेज र विश्वविद्यालयका शिक्षाले मानिसलाई फगत जागिरे बनाउँछ । पुस्तकहरूले मानिसहरूलाई विचारक, चिन्तक र तर्कशील बनाउँछ । उत्सुक बनाउँछ ।  बहस गर्ने बनाउँछ । बाहिरी पुस्तक पढेर मात्र देश र समाजको अवस्था भित्रसम्मै थाहा पाइन्छ । हाम्रो समाज र समुदायमा विद्यमान विभिन्न कुसंस्कार, कुचलन आदिलाई जरासमेत उखेलेर सदाको निम्ति मिल्काउन र मानवीय सचेतना जगाउन पनि पुस्तक पढ्नु अनिवार्य र अपरिहार्य छ ।’

मधु ‘पुस्तक पठन’ भन्दा पनि ‘व्यवस्थित पुस्तक पठन’ मन पराउँछन् । उनी भन्छन्, ‘औषधिको पनि साइडइफेक्ट भएझैं अव्यस्थित पठनको पनि प्रतिकूल असर हुने गर्छ । कर्महीनतायुक्त किताब पढेर सपनीलोकमा मात्र रमाउने, राति नसुती नसुती पढिरहने आदिजस्ता अव्यस्थित पुस्तक पठन नगरेर हामीले आफ्नो काम, स्वास्थ्य आदिलाई पनि सन्तुलनमा राखेर व्यवस्थित पुस्तक पठन गर्नुपर्छ ।’

मधुको आरोप छ, आजका युवाहरूमा नयाँ र गहन प्रश्नहरू छैनन् । स्कुल र कलेजले उनीहरूलाई रेडिमेड प्रश्न सिकाइदिएका छन् । युवाहरूमा गहनता छैन । उनीहरू हावामा उडेर हावालाई नै ब्रह्माण्ड भनिरहेका छन् । युवाहरू सोच र कर्मले निकै बूढा भइसकेका छन्, जसमा कुनै सोच्ने शक्ति विद्यमान छैन ।

मधु कहन्छन्, ‘सरकारलाई प्रश्न मनपर्दैन । तर, आजका विशेषतः युवाहरूले सरकारलाई प्रश्नैप्रश्नका फलामे जालमा पार्न सक्नुपर्छ । जब युवाहरू प्रश्न गर्न थाल्छन्, तबमात्र उनीहरू वास्तविक युवा बन्छन् ।’

(धरानबाट विकेश कविनको सहयोगमा)



source https://www.onlinekhabar.com/2020/10/906448

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

१५ कात्तिक, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो ।

दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।

भट्टराईका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले जानकारी दिए । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ । उनले भने, ‘यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।’

होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी

गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उनले भने, ‘व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।’ राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले जानकारी दिए ।

 निकुञ्जभित्र जीप सफारी र हात्ती सफारी शुरु

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहेका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताए । आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । उनले भने, ‘पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।’ सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनको भनाइ छ ।

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।



source https://www.onlinekhabar.com/2020/10/906446

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयन

१५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् ।

संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यो कार्यान्वयन भएको थिएन । संघीय सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् ।

नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ वटा साना किसान कृषि सहकारीहरु किसानको धान खरिद गर्ने आवश्यक तयारीमा जुट्न सहमत भएका नगर प्रमुख बासुदेव घिमिरेले बताए । नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायतका विषयमा छलफल गरेपछि सहकारीहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका मूल्य र स्थानमा खरिद गर्न तयार भएका हुन् । यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न थाल्नेछन् ।

किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।

धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसानलाई र व्यापारीलाई समेत सरकारी दर रेटअनुसार खरिद गर्न निर्देश गरेको छ ।

सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन् । न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने नगरपालिकाको विश्वास छ ।

कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ । हाल तिलोत्तमामा टिकुलिगढ, गंगोलिया, करहिया, मधवलिया, शंकरनगर, आनन्दवन साना किसान सहकारी संस्था छन् ।



source https://www.onlinekhabar.com/2020/10/906445

बीपी प्रतिष्ठानमा झापाका संक्रमितको ज्यान गयो

१५ कात्तिक, चितवन । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका थिए ।



source https://www.onlinekhabar.com/2020/10/906444

पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

१५ कात्तिक, चितवन । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।

उनकाअनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।

 



source https://www.onlinekhabar.com/2020/10/906438

अमेरिकामा अरिङ्गालले खैलाबैला, पहिलोपटक भेटियो गोलो

हामीकहाँ दशैँको बेलामा अरिङ्गालको गोलो निकालेर भुटेर खाएका तस्वीरहरु धेरै देखिए फेसबुकमा । अरिङ्गाल यत्रतत्र पाइने र साहसिला मान्छेहरुले अरिङ्गालका गोला निकालेर भुटभाट पार्ने कामसमेत सबैतिर हुने हुनाले अरिङ्गालको समाचार बन्दैन । तर अमेरिकामा चाहिँ अरिङ्गालको गोलो फेला परेको र त्यो गोलोलाई नष्ट गरिएको घटना ठूलो महत्वको समाचार बनेको छ ।

नबनोस् पनि किन ? इतिहासमै पहिलोपटक अमेरिकामा अरिङ्गालको गोलो फेला परेको हो । अनि अमेरिकामा पहिलोपटक भेटिएको अरिङ्गालको उक्त गोलो सफलतापूर्वक नष्ट गरिएको छ ।

वाशिङटन राज्यस्थित ब्लेइने सहरमा एक रुखको टोड्काभित्र फेला परेको उक्त अरिङ्गालको गोलोलाई राज्यको कृषि मन्त्रालयका किटविज्ञहरुले हटाएर ठूलो संख्यामा अरिङ्गालहरु समाउन सफल भएको खबर अमेरिकी सञ्चारमाध्यमहरुले प्रमुखताका साथ प्रकाशन गरेका छन् ।

वाशिङ्गटन राज्यका विभिन्न ठाउँमा विगत केही समयदेखि केही अरिङ्गालहरु देखा परेपछि किटविज्ञहरु चिन्तित बनेका थिए । खासगरी एसियाली मुलुकहरुमा पाइने अरिङ्गाल अमेरिकामा पुगेपछि त्यसलाई खतरनाक मिचाहा जीबको रुपमा लिँदै विज्ञहरुले पासो थापेर अरिङ्गाल समाउँदै रेडियो ट्रयाकर जडान गरेर छाडिदिएका थिए ।

त्यसो गर्दा अरिङ्गालको गोलो पत्ता लगाउन सकिने उनीहरुको ध्येय थियो । अन्ततः त्यसैगरी जडान गरिएको रेडियो ट्रयाकरका सहायताले विज्ञहरुले अमेरिकामा पहिलोटक अरिङ्गालको गोलो पत्ता लगाएका हुन् ।

अघिल्लो हप्ता विहीबार उनीहरुले रुखको टोड्कामा अरिङ्गालको गोलो पत्ता लगाएर शनिवार त्यसलाई नष्ट गर्न सफल भएका हुन् ।

रुखको टोड्काभित्र रहेको गोलाबाट ठूलो संख्यामा अरिङ्गालहरु भ्याकुमले तानिएको छ भने गोलोमा रहेका रानी अरिङ्गालहरु समेत निकालिएको छ ।

टोड्कामा रहेका खाली गोलो र त्यसमा रहेका अरिङ्गालका फुल र बच्चाहरु निकाल्नका लागि रुख नै काट्नुपरे पनि काट्नका लागि सम्बन्धित घरधनीले अनुमति दिएको बताइएको छ ।

अमेरिकाको वाशिङ्गटन राज्यमा गत डिसेम्बरमा पहिलोपटक एसियन जाएन्ट हर्नेट भनिने अरिङ्गाल फेला परेको थियो । त्यसपछि अरिङ्गाल समाउने पासोहरु यत्रतत्र राखिएकोमा जुलाई महिनामा पहिलोपटक जालीमा अरिङ्गाल परेको थियो ।

अमेरिकामा अरिङ्गाल देखिएपछि त्यसले माहुरीपालनलाई ठूलो असर पर्ने भन्दै किटविज्ञहरु चिन्तित बनेका छन् । अरिङ्गालले घारमा आक्रमण गरी माहुरी (मौरी)लाई मार्ने गर्दछ ।

– सिएनएनबाट



source https://www.onlinekhabar.com/2020/10/906440

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ ।

जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा सामसुङले पहिलो स्थान कायमै राखेको छ ।

विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा सामसुङले आफ्नो स्थान सुरक्षित गरिरहँदा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पनि आफ्नो दोश्रो स्थान कायमै राख्न सफल भएको छ ।

आईडीसीको रिपोर्ट अनुसार गत त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले घटेको छ । कोभिड–१९ महामारीका कारण विश्वका विभिन्न देशमा लकडाउनका कारण बजार बन्द भएका कारण स्मार्टफोनको बिक्रीमा समेत नकारात्मक असर परेको हो ।

तर महामारीका कारण स्मार्टफोन बजारमा जुन स्तरमा नकारात्मक असर पर्ने अनुमान गरिएको थियो, त्यो भन्दा स्मार्टफोनको बिक्री राम्रो देखिएको छ । तेश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ९ प्रतिशतको गिरावटको आशंका गरिएको थियो ।

तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा विश्व बजारमा ३५ करोड ३६ लाख वटा स्मार्टफोन बिक्री भएका छन् ।

एप्पलको स्थान खस्कियो

रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा २२.७ प्रतिशत हिस्साका साथमा दक्षिण कोरियाली कम्पनी सामसुङ पहिलो स्थानमा छ । यस अवधिमा सामसुङले ८ करोड ४ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामसुङले २.९ प्रतिशत धेरै स्मार्टफोन बजारमा पठाउन सफल भएको छ ।

त्यस्तै १४.७ प्रतिशत बजार हिस्साका साथ हुवावे दोश्रो स्थानमा छ । उसले यस अवधिमा ५ करोड १९ लाख गोटा स्मार्टफोन बेचेको छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा हुवावेका स्मार्टफोनको शिपमेन्टमा २२ प्रतिशतको गिरावट आएको छ ।

उता विश्वको सर्वाधिक मूल्यवान कम्पनी एप्पलले भने विश्वको सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा आफ्नो तेश्रो स्थान गुमाउन पुगेको छ । एप्पललाई चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पछाडि पारेको छ । शाओमीले आफ्नो बजार हिस्सा १३.१ प्रतिशत पुगेको छ । तेश्रो त्रैमासिकमा शाओमीले ४ करोड ६५ लाख ओटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

खासगरी विकासशील विकासोन्मुख देशहरुमा सुपथ तथा मध्यम मूल्यका स्मार्टफोनको मागमा भएको उच्च वृद्धिका कारण शाओमीका स्मार्टफोनको बिक्रीमा उल्लेख्य बढोत्तरी गरेको छ । गत वर्षको तेश्रो त्रैमासिकको तुलनामा यो वर्षको तेश्रो त्रैमासिकमा शाओमीले ४२ प्रतिशत धेरै स्मार्टफोन बेच्न सफल भएको हो ।

चौथो स्थानमा झरेको एप्पलको बजार हिस्सा ११.८ प्रतिशतमा खुम्चिएको छ । तेश्रो त्रैमासिकमा एप्पलले ४ करोड १६ लाख थान आइफोन बेचेको छ ।

अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो चौथो स्थानमा छ, जसको बजार हिस्सा ८.९ प्रतिशत रहेको छ । यस अवधिमा भिभोले ३ करोड १५ लाख वटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/10/906437

दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

१५ कात्तिक, घोराही । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।

उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके जिल्लामा मात्रै ३० जनाको मृत्यु भएको छ ।



source https://www.onlinekhabar.com/2020/10/906435

रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

१५ कात्तिक, काठमाडौं । रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ ।

ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार उनको निधन भएको हो ।

३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थापाले २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाएका थिए ।

थापाका श्रीमती र दुई छोरा छन् ।



source https://www.onlinekhabar.com/2020/10/906433

आज विश्व शहर दिवस, मन्त्री श्रेष्ठ भन्छन्- विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण

१५ कात्तिक, काठमाडौं । ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।

शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।



source https://www.onlinekhabar.com/2020/10/906432

पश्चिमा देशले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न सक्दैनन् : इमरान खान

१५ कात्तिक, काठमाडौं । फ्रान्स र मुस्लिम देशबीच तनाव जारी रहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा उनले जोड दिए ।

इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले भने, ‘इस्लामलाई मान्नेहरुमा पैगम्बर मोहम्मदप्रति जुन भावना छ, त्यसको बारेमा पश्चिमी देशहरुलाई कुनै जानकारी छैन । पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् । उनीहरुसँग ती किताब छैनन्, जो हामीसँग छन् । त्यसैले उनीहरुले बुझ्न सक्दैनन् ।’

यो बुझाउन मुसलमान बहुल देशका नेताहरुले नसकेको उनको भनाइ छ । उनले मुलसमान बहुल देशका नेताहरुले इस्लामको विरोध (इस्लामोफोबिया)को मुद्दामा चर्चा गर्नुपर्नेमा जोड दिए ।

आवश्यक परे आफूले पनि यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने बताउँदै प्रधानमन्त्री खानले भने, ‘मैले इस्लामिक देशका समूहका सबैसँग भनेको छु पश्चिममा इस्लामोफोबिया बढिरहेको छ र यसको समस्या समाधानका लागि सबै मुसलमान देशहरु एकजुट भएर बहस छेड्नुपर्ने आवश्यक छ ।’

कुनै देशमा अल्पसंख्यक रुपमा रहेका मुसलमानहरु इस्लामोफोबियाका कारण सबैभन्दा बढी प्रभावित हुने प्रधानमन्त्री खानको भनाइ छ ।

मुसलमानहरु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध छन् र संकिर्ण मानसिकताका छन् भनेर पश्चिमा देशहरुले मुसलमानहरुविरुद्ध अभियान चलाएको खानको भनाइ छ । उनले भने, ‘इस्लामको विरोधमा एउटा सानो तप्का छ, जसले गलत नजरले देखाउन चाहन्छ । हामीले सबैलाई भन्नुपर्छ कि यसले मुसलमानहरुलाई दुःख दिनेवाला छ ।’ उनले शार्ली एब्दो जस्ता घटनाको पछाडि पनि यस्तै तप्काका केही मानिसहरु रहेको बताए ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कक्षा ९ देखि १२ सम्म विद्यालयको पाठ्यक्रममा इस्लामका पैगम्बर मोहम्मदको बारेमा जानकारी समेट्नुपर्ने कानुन ल्याउने बताए । यसो गरेमा विद्यार्थीहरुलाई इस्लामको बारेमा जानकारी मिल्ने उनले बताए ।

सो कार्यक्रममा सहभागी पाकिस्तान प्रशासित कश्मिरका प्रधानमन्त्री रजा फारुक हैदर पनि सहभागी थिए । उनले प्रदेशमा सबै प्रकारका फ्रान्सेली उत्पादनहरु बहिस्कार गर्न अपिल गरे ।



source https://www.onlinekhabar.com/2020/10/906431

कोरोना उपचार : जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क !

१५ कात्तिक, काठमाडौं । सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस (कोभिड–१९) परीक्षण कतथा उपचार निःशुल्क गर्न छाडेको छ ।

लक्षित समूहमा नपरेका सर्वसाधारणले खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे उपचार खर्च व्यहोर्ने सरकारले भनेको छ । तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी अस्पतालहरुले पनि उपचारका लागि धरौटी जम्मा गर्न धमाधम उर्दी जारी गरेका छन् ।

तर, नेपाल सरकारका मन्त्री तथा संघीय सांसदहरुले भने कोरोना परीक्षण र उपचारको खर्च आफ्नो खल्तीबाट हाल्नु पर्दैन । उनीहरुको उपचार सरकारी खर्चबाटै हुन्छ ।

कसरी ?

संक्रमण भएको शंका लाग्यो, कन्ट्रयाक ट्रेसिङमा प¥यो वा लक्षण देखियो भने मन्त्री र सांसदहरू परीक्षण र उपचार गर्न नजाने कुरै भएन ।

अर्थ मन्त्रालयका एक सहसचिवले भने- नेपालमा कोरोना परीक्षण र उपचारको खर्च आफैँ व्यहोर्छु भन्ने एक जना सांसद वा नेता वा मन्त्री भेटिएका छैनन्

त्यसपछि उनीहरूले परीक्षण र उपचारमा लागेको खर्चको बिल सांसद सुविधा शाखामा पेश गर्छन् । सरकारी अस्पतालमा परीक्षण र उपचार गरेको भए पुरै रकम प्राप्त गर्छन् । निजीमा परीक्षण र उपचार गराएको भए आधा रकम प्राप्त गर्छन् ।

‘ऐनले नै दिएको सुविधा अन्तर्गत रहेर सांसदहरूले परीक्षण र उपचारमा लागेको खर्च बिल बमोजिम सचिवालयबाट लिन सक्छन्,’ संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन् ।

मन्त्रीको हकमा पनि ठीक यस्तै व्यवस्था छ ।

सांसद् नरहेका बाहेक सबै मन्त्रीले सांसद सुविधा शाखाबाट यो परीक्षण र उपचार खर्च लिन सक्छन् । तर मन्त्रीहरूलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने अर्को पनि बाटो छ । उनीहरूले मन्त्रीको हैसियतले सम्बन्धित मन्त्रालयबाट उपचार खर्च लिन सक्छन् ।

मन्त्रीहरूले दुईमध्ये एउटा व्यवस्थाअनुसार कोरोना परीक्षण, उपचार र खर्च प्राप्त गर्छन् ।

मन्त्रीहरूले संसद सचिवालयबाट भन्दा मन्त्रालयबाटै उपचार खर्च लिने गरेको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिए । ती सहसचिव भन्छन्, ‘भारतमा सांसदहरुको तलब बापतको रकम कोराना रोकथाममा लगाइएको छ । तर नेपालमा कोरोना परीक्षण र उपचारको खर्च आफैँ व्यहोर्छु भन्ने एक जना सांसद वा नेता वा मन्त्री भेटिएका छैनन् ।’

यो पनि पढ्नुहोस १३ सय रुपैयाँ पनि छोड्दैनन् माननीयहरु !

संघीय संसद सचिवालयका अनुसार हालसम्म ३ जना मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना अस्पतालमा उपचाररत छन् । ६ जना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

उनीहरूमध्ये कसैले पनि जनताले सशुल्क कोरोना उपचार गर्नुपर्ने भएपछि म पनि खर्च लिन्नँ भनेका छैनन् । कोरोनाको निःशुल्क उपचार गराएका सांसदहरूले सरकारले भनेजसरी आफू विपन्न, अशक्त, असहाय वा अति अपांगता भएका व्यक्ति, एकल महिला र जेष्ठ नागरिक (७० वर्षमाथि) पुगेको घोषणा पनि गरेका छैनन् ।

‘जनताको उपचार नगर्नु असंवैधानिक’

सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते कोरोनासम्बन्धी परीक्षण, उपचार लगायतका सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ ।

कानूनविदहरूका अनुसार सर्वोच्चको आदेश विपरीत जनतासँग कोरोना परीक्षण र उपचार शुल्क लिनु अदालतको अवहेलना हो । त्यति मात्रै होइन यो व्यवस्था संविधान र प्रचलित ऐन विपरीत पनि छ ।

संविधानको धारा ३५ र मौलिक हक कार्यान्वयनका लागि बनेको जनस्वास्थ्य सेवा ऐन, २०७५ ले पनि संक्रामक रोगको उपचार निःशुल्क हुने व्यवस्था गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँण कुनै पनि नागरिकको उपचार गर्नु सरकारको दायित्य भएको बताउँछन् । उनी भन्छन्, ‘तर, सरकार जिम्मेवारीबाट पन्छिरहेको छ । ओलीजी र उहाँको मन्त्रीमण्डललाई सरकार होला, आम नागरिकलाई सरकार छैन ।’

अदालतको आदेश नमान्ने, संसदीय समितिको निर्देशन नमान्ने, आम नागरिकको आग्रह नसुन्ने, एक्लै हिँड्ने सरकारको प्रवृत्तिविरुद्ध खरो रुपमा स्वयम् कांग्रेस पनि उत्रिन नसकेको उनको भनाइ छ । कांग्रेस सांसदहरूले पनि कोरोना उपचार खर्च नलिने घोषणा गरेका छैनन् ।



source https://www.onlinekhabar.com/2020/10/906418

गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान

१५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ ।

पञ्जाबका लागि ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले भने टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।

४१ वर्षीय जमैकनको नाममा १००१ छक्का दर्ता भएको छ । त्यसमध्ये ३४९ छक्का आईपीएलमा प्रहार गरेका हुन् । यो संख्या आईपीएल इतिहासको पनि कीर्तिमान हो । गेलले सीपीएलमा १६२, बीपीएलमा १३२ र टी–२० विश्वकपमा ६० छक्का हानेका छन् ।

आईएपीएलमा एउटै म्याचमा सर्वाधिक रन जोडेको कीर्तिमान पनि उनकै नाममा छ । सन् २०१३ मा गेलले १७ छक्का र १३ चौका सहित ६६ बलमा १७५ रन बनाएका थिए ।

टी–२० मा गेलपछि सर्वाधिक ६९० छक्का किरोन पोलार्ड र ४८५ छक्का ब्रेनडोन म्याक्लुमले प्रहार गरेका छन् ।

यो पनि पढ्नुहोस आईपीएल : राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

source https://www.onlinekhabar.com/2020/10/906428

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More