Wednesday, 28 October 2020

१०१ बर्षका ओगनाथ नेपालसँग भलाकुसारी, के हो दीर्घजीवनको रहस्य ?

नेपालीको औसत आयु ७२ बर्ष । यो उमेर पार गरेर १०१ बर्षमा हिँडिरहेका छन्, ओगनाथ नेपाल । उनी वि.सं. १९७७ सात कार्तिक ९ गते सिन्धुपाल्चोकको मेलम्ची–५ सिन्धुकोटमा जन्मिएका हुन् ।

ओगनाथ नेपाल एउटा कालखण्डको जीउँदो साक्षी हुन् । उनको समय कस्तो थियो ? चलचलन के थियो ? खानपान, पहिरन कस्ता थिए ? यावत् कुरा हाम्रो निम्ती रुचीकर हुनसक्छ । यसै सन्दर्भमा चिरञ्जिवी आचार्यले ओगनाथ नेपालसँग भलाकुसारी गरेका छन् ।

एक सय वर्ष पूरा हुनुभयो, कस्तो महसुस भइरहेको छ ?

अँ भएछु । नातिहरुले सुनाएपछि बल्ल थाहा पाएँ । यस्तै छ, राम्रोसँग भेउ पाउँदिनँ । आफू सय वर्ष पूरा भएको पनि अरुले सुनाउनुपर्छ । कस्तो महसुस हुनु, यस्तै छ सकुञ्जेल काम गर्ने, काम गर्न सक्न छाडेपछि सकेसम्म आफ्नो कामचाहिँ आफैँ गर्ने र त्यो पनि नसके त उही नारायण (भगवान्) सम्झने बस्ने । समय नआउञ्जेल त्यही हो, आफूले भनेर हुने कुरा होइन क्यारे ।

एक सय वर्ष वर्ष पूरा हुनुभयो, तपाइँले त पहिलाको र अहिलेको समाज आफ्नै आँखाले नियाल्ने मौका पाउनुभयो । कस्तो थियो त्यो बेलाको समाज ?

समाज परिवर्तन त समयले गराउने परिवर्तन हो । सधैं अलिअलि परिवर्तन त भइरहन्छ । तर, आफ्नो लागि त आफैंले गर्नुपर्छ । समाजका ठूलाबडाहरुका लागि हो शासन परिवर्तन भने पनि राजनीतिक परिवर्तन भने पनि हामीजस्ता सर्वसाधारणका लागि त आफैंले हाडछाला जोत्न सक्यो भने खायो नत्र भोकै बस्यो, दुःख पाइराख्यो । पहिला पनि नहुनेले दुःख पाउँथे र ठूलाले शोषण गर्थे, अहिले पनि त्यस्तै हो । मैले जानेदेखि धेरै किसिमको शासन व्यवस्था आयो र गयो पनि तर मलाई यी कुनै पनि सत्ता परिवर्तनले केही भएको छैन ।

अब अरु सडक आउने, गाडी आउने बाहिरका सामानहरु आउनेजस्ता परिवर्तन चाहिँ भए । मैले गाडी देखेकै ठूलो भइसकेपछि काठमाडौं जाँदा हो । अहिले त यी….. घरकै आँगनमा ५-७ ओटा आइकल (मोटरसाइकल) छ ।

त्यतिबेला खानलाउनको समस्या थिएन ?

समस्या थियो, किन नहुनु । केहीले त राम्रो खान र लाउन पाउँथे तर धेरैलाई भने समस्या नै थियो । दुःखजेलो गरेर बल्ल बल्ल खान पुग्ने हो । म आफैँले पनि चार दिनसम्म केही नखाई खेत खनेको छु । चार दिन पछि खाँदा त मागेको गुन्द्रुक र लप्सीको भरमा एक पाथी पिठोको ढिँढो खाएछु । पछि पनि ऋण लाग्यो, घरमा बसेर कसरी ऋण तिर्ने ? त्यसपछि २०११ सालतिर होला, कलकत्ता भासिएँ । त्यता गएर १८ महिना बसेँ हुँला, त्यसपछि घर आएँ । घर आउँदा पनि उताको साहूले घर गएको भागको पनि पैसा दिन्छु आइजो है भनेको थियो, यता आएपछि घरकाले जानै दिएनन् । अनि गइएन । उता गएर आएपछि चाहिँ यता आफूले लिएको ऋण सकाएँ । त्यसपछि ऋणको पीरचाहिँ भएन । तर, खेतीपाती गर्ने गाईवस्तु पाल्ने सधैँको चटारो त फेरि पनि छँदै छ ।

अहिलेको जस्तो दूध बेच्ने चलन थिएन । दूधबाट घिउ बनाउने अनि काठमाडौंको असन इन्द्रचोकसम्म पुगेर घिउ बेच्ने गर्थेँ । पढ्न नजानेको मान्छेलाई व्यापरीहरुले पनि ठग्दा रहेछन् । पहिला खेतीपाती, घिउ, गाईवस्तु सबै गर्दा पनि पिठो खानलाई समस्या हुन्थ्यो । अहिलेका मान्छेहरु त एउठा भैंसी पालेको भरमा भात नै खान्छन् ।

त्यतिबेला आफूले फलाएको धान ढिकीमा कुटेर चामल लगेर साँखु, सुन्दरीजलसम्म लगेर बिक्री गर्थ्यौं । धेरै पछि गाउँमै मिल आयो, मिल आएपछि पनि चामल कुटेर लगेर बिक्री गर्थ्यौं। अहिले त आफ्नो खेतबाटै धान बेच्छन्, धान कुट्ने, बोकेर लैजाने समस्या नै हुँदैन ।

पहिलाको समाजमा चडपर्वहरु कसरी मनाइन्थे ?

चाडपर्वहरु कसरी मनाउनु, अहिलेकै जसरी त हो नि । अलि हुनेले भात खान्थे, नहुनेले त अघिपछि जे खान्थे त्यही खाने हो । दशैंका लागि बाहिरबाट भेडा, च्याङ्ग्राहरु पनि ल्याउँथे । त्यतिबेला १२ धार्नी भेडाको मासुको लागि २३ रुपैयाँ पर्थ्यो ।

मैले पनि एकपटक भेडाको मासु खाएको छु, तर अमिलो हुँदो रहेछ । मलाई त त्यति मिठो लागेन । त्यसपछि चाहिँ बोका, बाख्राको मासु मात्र खाएँ । बोका, बाख्राहरु त आफैँले पाल्थे मानिसहरु । त्यस्तै हो भएसम्म मिठो खाने, राम्रो लगाउने नभए जस्तो छ त्यस्तोमा चलाउने । अहिले पनि त्यस्तै हो पहिला पनि त्यस्तै हो ।

लामो आयु कसरी पाउने ?

लामो आयु कसरी पाउने त मैले पनि केही गरेको होइन । त्यस्तै हो आफ्नो काम गर्ने, आफ्नो स्वधर्मबाट विचलित नहुने, अर्काको कुभलो नगर्ने आफूले गर्ने भनेको त्यही हो, बाँकी त सबै नारायण (भगवान्)को कुरा हो । आफूले भनेर हुने कुरा होइन ।

आफूले आँटेको काम गर्दै जानुपर्छ, दान, धर्म र सत्कर्ममा सधैं मन लगाइराख्नुर्छ । आयु त्यत्तिकै लामो हुन्छ ।

तपाइँको दिनचार्याचाहिँ कसरी बित्थ्यो त ?

मेरो दिनचर्या यस्तै त हो नि  गाइवस्तु हेर्ने, खेतीपाती गर्ने, गाउँबेसी गर्ने, सहर जाने-आउने । एक-एक ओटा काम भइ नै रहन्थ्यो । ऊबेला मोटर हुने होइन, हिँडेर नै गाउँबेशी गर्ने सहर जाने-आउने गर्नुपथ्र्यो । अरु त के हुनु र । दिनचार्या राम्रो बनाउनैको लागि भनेर चाहिँ केही गरिएन ।

कस्तो खानेकुरा खानुहुन्थ्यो ?

खानेकुरा आफ्नै बारीमा फलेका खानेकुरा खाने त हो नि । त्यसबेला अहिलेको जस्तो किनेर खाने चलन पनि थिएन र पाउँदा पनि पाइँदैनथ्यो । आफैंले आफ्नै बारीमा रोप्यो अनि आफैं खायो । गाईवस्तुको दूध, दही, मही, घिउ खायो, त्यही हो । आफैंले फलाएको मकै, कोदो, गहुँ खायो, ढिकीमा कुटेर चामल बनाएर भात खायो । बाहिरको खानेकुरा खाने खाइनँ । अहिले पनि चामलचाहिँ मिलमा कुटेर ल्याउँछन्, अरु त गाउँमा खाने नै त्यही त हो नि । पहिला लसुन प्याज खान हुँदैन भन्थे तर तराइतिर प्याज नखाए विसन्चो भइहाल्ने, त्यतिबेला प्याज खान परिहल्यो । नेपाल आएपछि चाहिँ प्याज चाहिँ खाएको छैन । लसुन त खान्छु ।

सानो सानोमा चुरोट, गाँजा पनि खान्थे । तर, एकपटक काशी गएको बेलामा मैले अब चुरोट र गाँजा खान्न भनेर प्रतिज्ञा गरेँ र चुरोट र गाँजा फालिदिएँ । त्यतिबेला म २५-३० वर्षको थिएँ होला । त्यसपछि चाहिँ मैले अहिलेसम्म चुरोट र गाँजा खाएको छैन । तर, सुर्तीचाहिँ अलिअलि अहिले पनि खान्छु ।



source https://www.onlinekhabar.com/2020/10/906016

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More