Saturday 31 July 2021

निरोगी जीवनका लागि जान्नैपर्ने खानपानको पाँच सर्त

खाना नै औषधि हो । र, विष पनि । अर्थात स्वस्थ्यकर, पोषिलो, सुपाच्य, मौसमी खानपानले शरीरलाई निरोगी र जवान राख्छ । तर, खराब खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ । यसैले खानपानका बारेमा केही आधारभूत कुरा जान्न जरुरी छ ।

खाना त हामी खाइरहेकै हुन्छौं । दिनमै दुई–चार पटक खाना खान्छौं । तर, कस्तो खाना ?

खानाको छनौट र खानपानको शैलीले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । खानपानमा लापरबाही गरे शरीर रोगी हुन्छ । खानपानमा सर्तक र सजग भए शरीर तन्दुरुस्त रहन्छ ।

गुलियो खाने कि टर्रो ?

खानपानको सम्बन्धमा एउटा घतलाग्दो तथ्य छ । हामीलाई मिठो लाग्ने खानेकुराको सूची तयार गरौं त । सबैभन्दा मिठोबाट क्रमस नमिठो खानेकुराको सूची तयार गर्दा यस्तो बन्छ–

एक, गुलियो । दुई, नुनिलो । तीन, पिरो । चार, अमिलो । पाँच, तितो । छ, टर्रो ।

अब मिठोको यो सूचीलाई ठिक पछाडिबाट राख्नुपर्छ, जो स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छ । अर्थात स्वास्थ्यका लागि क्रमस टर्रो, तीतो, अमिलो फाइदाजनक मानिन्छ । गुलियो खानेकुरा स्वास्थ्यका कम प्राथमिकतामा पर्छ ।

आर्युवेदले खानाको यी ६ स्वाद नै पहिचान गरेको हो । सन्तुलित खानाका लागि हामीलाई तितो, अमिलो, पिरो, गुलियो सबै किसिमको स्वाद आवश्यक हुन्छ । तर, हाम्रो जिब्रो गुलियो, नुनिलो खान्कीमा जति पल्किएको छ, तीतो, टर्रोमा उति पल्किएको छैन ।

भनिन्छ, आर्युवेदमा सन्तुलित भोजनको व्यवस्था हजारौं बर्षअघि भएको हो । शरीरलाई आवश्यक सबै किसिमका पोषक तत्व सम्मिलित भोजनलाई आर्युवेदले ६ वटा स्वादमा पहिचान गरेको छ । गुलियो, नुनिलो, अमिलो, पिरो, तितो, टर्रो प्रमुख स्वाद हुन् ।

मौसमी खानेकुरा कि वेमौसमी ?

प्रकृतिले हामीलाई सबै स्वाद, रंगको खानेकुरा दिएको छ । ति खानेकुराको स्वाद, रंग अनुसार प्राप्त हुने पोषण तत्व फरक–फरक छ । सन्तुलित आहारका लागि सबै किसिमको स्वाद मिसाए जस्तै रंग–विरंगी खानेकुरा पनि सामेल गर्नुपर्छ । रंग विरंगी भनेको कृतिम रंग मिश्रण गरिएको होइन, प्राकृतिक रंग हो ।

हामीले खानेकुरा सेवन गर्दा मौसमी खानेकुरा नै रोज्नुपर्छ । जाडो याममा पाक्ने फल, सागसब्जी र बर्षा याममा फल्ने फल एवं सागसब्जी एकैनास नहुन सक्छ । कतिपय खानेकुरा जाडोमा पाक्छ, कति गर्मीमा । यसरी प्राकृतिक रुपले उत्पादन भएको  मौसमी खानेकुुरा सेवन गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । किनभने जुन मौसममा हाम्रो शरीरमा जुन किसिमको पोषक तत्व आवश्यक हुन्छ, प्रकृतिले त्यही अनुसारको फल, सागसब्जी, अन्न फलाउँछ ।

अहिले वेमौसमी सागसब्जी, फलफूल उत्पादन गर्ने प्रचलन छ । भण्डारण गरेर पनि फरक मौसमको फलफूल, तरकारी अर्को मौसममा बिक्री गरिन्छ । यसले हाम्रो स्वाद त फेरिन्छ, स्वास्थ्यलाई भने हानी गर्छ । वेमौसमको फल, सागसब्जी स्वास्थ्यमैत्री खान्की होइनन् ।

काँचो खाने कि पकाएर ?

हामीले खाने कतिपय खानेकुरा पकाएर खान मिल्छ, कति काँचो । पकाएर खाइने खानेकुरा पनि कसरी पकाउने, कति समय पकाउने, कति खाने भन्ने कुरामा हेक्का राख्नुपर्छ । हामी स्वादको लागि खानेकुरा लामो समय पकाएर खान्छौं । अनेकथरी मरमसला मिसाउँछौं । यसले खानेकुरामा रहेको पोषक तत्व नष्ट हुने मात्र होइन, पाचन प्रणालीलाई बोझिलो बनाउन सक्छ ।

एकसाथ धेरैथरी खाने कि एकथरी ?

हामी एकसाथ धेरैथरी खानेकुरा बनाएर सेवन गर्छौं । यसरी थरीथरीका परिकार बनाएर सेवन गर्दा शरीरले सबै किसिमको पोषक तत्व प्राप्त गर्छ भन्ने हामीलाई लाग्छ । भोजभत्तेर वा कुनै विशेष समारोहमा पनि थरीथरीका खानेकुरा एकसाथ खाने गरिन्छ । वास्तवमा यसरी एकसाथ धेरैथरी खानेकुरा सेवन गर्दा ति खानेकुरा आपसमा मिल्दैनन् । यसले प्रतिकुल असर गर्छ । सन्तुलित खानेकुरा खानुपर्छ भन्नुको अर्थ एकै पटकमा सबै किसिमको खानेकुरा खाने भन्ने होइन । बरु पटक पटक भिन्न भिन्नै पोषक तत्वयुक्त खानेकुरा सेवन गर्नु हो ।

कतिपय खानेकुरा विजातिय हुन्छन्, जो आपसमा मिसाएर सेवन गर्दा पाचन यन्त्रमा विभिन्न समस्या निम्त्याउँछ । त्यस्ता खानेकुरा आपसमा मिसिएर विषाक्त पनि बन्छ । त्यसैले सन्तुलित आहार भन्दैमा एकसाथ थरीथरीका खानेकुुरा सेवन गर्नु होइन ।

धेरै खाने कि थोरै ?

धेरै खानेकुरा सेवन गर्दा पोषिलो हुन्छ भन्ने हामीलाई लाग्छ । जतिसक्दो धेरै खानेकुरा सेवन गरेपछि बलियो, निरोगी भइन्छ भन्ने लाग्छ । तर, धेरै खानेकुरा खाएर होइन, बरु पचाएर स्वस्थ्य हुने हो ।

एकसाथ धेरै खानेकुरा सेवन गर्दा पाचन यन्त्रमा भार पर्छ । खानेकुरा पच्दैन । यो शरीरका लागि हानिकारक हुन्छ । बरु थोरै, थोरै तर पटक पटक सेवन गर्नु राम्रो मानिन्छ ।



source https://www.onlinekhabar.com/2021/08/992170

मेरियट इन्टरनेसनलले काठमाडौंमा मोक्सी होटल खोल्ने

१७ साउन,  काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिट्यालिटी ए‍ण्ड होटल प्रालीको लगानीमा काठमाडौंमा ‘मोक्सी काठमाडौ होटल’ खोल्ने भएको छ । काठमाडौंको कमलादीमा बन्ने होटल एक सय आठ कोठाको हुनेछ। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ ।

मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनको लागि इन्टरनेसलन हिमालय हस्पिट्यालिटिसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताए ।

‘मोक्सी जस्तो ब्राण्ड पहिलो पटक सुरु गर्न लागेकोमा म निकै खुशी छु’ इन्टरनेशलन हिमालय हस्पिट्यालिटिको मातृ कम्पनी एम एस ग्रुपपका निर्देशक गौरव अग्रवाल थप्छन्, ‘म्यारियटसँगको सहकार्यमा यो नेपालको तेस्रो होटल हो।’

विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकोले परम्परागत होटल भन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ । होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ । त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहनेछन् ।



source https://www.onlinekhabar.com/2021/08/992166

अमेरिकन पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा पाँचौ स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका छन् ।

उनले आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले पनि स्वर्ण संख्या थपे ।

ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे।

टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रेसल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक बनेका छन् ।

त्यसअघि आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा उनले २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

२४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए भने १०० मिटर बटरफ्लाईमा नयाँ विश्वकीर्तिमान बनाएका थिए । चार गुणा १०० मिटर मिक्स्ड मिडले रिलेमा भने ड्रेससहितको अमेरिकन टिमले पाँचौ भएको थियो ।

‘नेक्स्ट माइकल फेल्प्स’को रुपमा समेत हेरिएको ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् ।

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।



source https://www.onlinekhabar.com/2021/08/992159

उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको निधन, त्रियुगाको २ नम्बर वडा सिल

१७ साउन, काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन कोरोना संक्रमणबाट भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।

वडाअध्यक्ष खत्रीले मंगलबार वा बुधबार गाउँमा पीसीआर परीक्षण गराउने तयारी भइरहेको जानकारी पनि दिए ।



source https://www.onlinekhabar.com/2021/08/992156

चाणक्य नीति : सुखी जीवनका लागि मननयोग्य तीन कुरा

चाणक्य महान चिन्तक एवं दार्शनिक हुन् । उनी राजनीतिक र कूटनीतिका ज्ञाता थिए । उनैले नन्द वंशका नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी सम्राट चन्द्रगुप्ताका सल्लाहकार थिए ।

उनलाई राजधर्मका प्रणेता, आर्थिक दर्शनका प्रतिपादक र सामाजिक दर्शनकार पनि मान्ने गरिन्छ ।

उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि  अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ ।

धन खर्च गर्दा सोंच विचार गरौं

धन आफैमा पूर्णता होइन । तर, यसले हाम्रो जीवनका अभाव र आवश्यक्ताहरु परिपूर्ति गर्न सघाउँछ । जब धन हुँदैन, हामी थुप्रै कुराको उपभोगबाट बञ्चित हुन पुग्छौं । सामान्य दैनिकी पुरा गर्न पनि हामीलाई धन चाहिन्छ । धनले सुख दिदैन, तर सुख प्राप्त गर्ने साधनहरु दिन्छ । धनले स्वस्थ्य बनाउँदैन, तर स्वस्थ्य जीवन यापनका लागि आवश्यक्ताहरु पुरा गरिदिन्छ । तर, धन त्यही मात्र हो, जो नितान्त तपाईंको बलबुतोले कमाइ गरिएको होस् । अर्कालाई झुक्याएर, छलेर, लुटेर कमाएको धनले तपाईंलाई कहिले पनि सुख र सन्तुष्ट दिदैन । बरु, त्यसले सधै शंका, भय, त्रास, मोहको दलदलमा फसाइदिन्छ । त्यसैले धन आफ्नो पसिना, बुद्धि–विवेकबाट आर्जन गरेको हुनुपर्छ । यसरी कमाएको धनले मात्र तपाईंको मनलाई शितल तुल्याउँछ । अन्य ढंगले आर्जन गरेको धनले तपाईंको मनलाई पोल्छ ।

जब हामी आफ्नो श्रम, आफ्नो लगाव, आफ्नो मेहनत, आफ्नो विवेक प्रयोग गरेर धन आर्जन गर्छौं, संञ्चय गर्छौं, त्यो धनले हामीलाई शक्ति दिन्छ । अतः यसरी आर्जन गरेको धन त्यही कुरामा खर्च गरौं, जसले सकारात्मक नतिजा दिन्छ । आफ्नो स्वस्थ्यका लागि, शिक्षाका लागि, घर–घडेरीका लागि, सुख–सुविधाका लागि खर्च गर्न सकिन्छ । तर, यसरी खर्च गर्दा सोच विचार गर्नुपर्छ कि, आफुले जुन कुरामा धन खर्च गरिदैछ त्यो कति उपयोगी छ ?

मदिरापान गर्ने, जुवातास खेल्ने जस्ता कुरामा आफ्नो आर्जन वा मेहनतको कमाई खर्चनु हुँदैन । त्यसो गर्नु भनेको हाम्रो वुद्धि भ्रष्ट हुनु हो । जब वुद्धि भ्रष्ट हुन्छ, हामी मान्छेको खोल पहिरिएका राक्षस जस्तो हुन पुग्छौं । वुद्धि भ्रष्ट भएपछि हामी कुकर्ममा लाग्र्छौं, हिंसामा लाग्छौं । जीवन नष्ट हुन्छ । खुसी र सुखहरु टाढा भाग्छन् । दुख, भय, लोभ आदिले सताउन थाल्छ ।

चाणक्यले भनेका छन्, ‘कुबेरले पनि आफ्नो आयभन्दा बढी खर्च गर्न थालेमा कंगाल हुनेछ ।’ अर्थात धन खर्च गर्दा आवश्यक्ताको प्राथमिकतालाई ध्यानमा राखेर खर्च गर्नुपर्छ । कुन अति आवश्यक कुरा हो, कुन नभई नहुने कुरा हुन्, कुन कुरा नभए पनि हुन्छ । यस्ता कुरामा ध्यान दिएर मात्र खर्च गर्नुपर्छ ।

धन आर्जन गरौं । बचत गरौं । संयमित भएर खर्च गरौं ।

अल्छीपन त्यागौं

हाम्रो सबैभन्दा ठूलो सत्रु को होला ? कसले हामीलाई प्रगति गर्नमा बाधा पु¥याएको होला ? कसले हाम्रो अनमोल समय वर्वाद गरिरहेको होला ?

छिमेकी, आफन्त, साथीभाई, सहकर्मी कोही पनि यसका दोषी होइनन्÷हुँदैनन् । दोषी हामी आफैभित्र छ । त्यो हो, अल्छीपन ।

जब हामी केही गर्न खोज्छौं, हामी भित्रको अल्छीपनले रोक्छ । जब हामी कुनै काम गर्न चाहन्छौं, हामी भित्रको अल्छीपनले छेक्छ । जब हामी मनमनै बुनिएको योजना कार्यन्वयन गर्ने सोंच बनाउँछौं, हामी भित्रको अल्छीपनले बाधा पु¥याउँछ । अर्थात आलस्य एवं अल्छीपन नै हाम्रो प्रगतिको वाधक हो ।

सफल व्यक्तिहरुको कथा पढौं, उनीहरुको दैनिक तालिका हेरौं, कतिपनि अल्छी गरेका पाइदैन । उनीहरुमा जाँगर हुन्छ । जाँगरसँगै उर्जा हुन्छ । उर्जासँगै रचनात्मक क्षमता हुन्छ । त्यही कुराले उनीहरुलाई प्रगतिपथमा अगाडि बढाउँछ ।

संसारमा जति गरिब छन्, त्यसमा धेरैजसो कारण उनीहरु आफै हुन् । हामी गरिब हुन्छौं, कमजोर हुन्छौं भने त्यसमा अरु भन्दा बढी हामी आफै जिम्मेवार छौं । किनभने फुटपाथबाट उठेर पनि कतिपयले विश्वलाई हाँक दिएका छन् । अर्थात पुटपाथमा जन्मनु नै समस्या होइन । एउटा प्रचलित भनाई छ नि, ‘तिमी गरिबको कोखमा जन्मियौं, त्यो तिम्रो गल्ती होइन । गल्ती त त्यो हो, तिमी गरिब भएरै म¥यौं ।’

हामी गरिब हुन्छौं, कमजोर हुन्छौ भने त्यसमा सबैभन्दा ठूलो कारक हो, अल्छीपन । जाँगर गर्नेहरु कहिल्यै कमजोर हुँदैनन् । जीवनलाई सार्थक बनाउने, जीवनमा प्रगति गर्ने हो भने अल्छीपन त्याग्नुपर्छ । जाँगर गर्नुपर्छ, श्रम गर्नुपर्छ ।

बर्तमानमा बाँच्न सिकौं

हामी आसपासका छिमेकी, आफन्त, साथीभाईसँग सोधौं, उनीहरु भविष्यप्रति चिन्तित छन् । विद्यालय धाउने बच्चालाई भोलिको परीक्षाको भय छ । कुनै उद्यम सुरु गर्न लागेका तन्नेरीलाई भोलिको बजारको भय छ । छोराछोरी हुर्काइरहेका दम्पतीलाई उनीहरुको भविष्यको भय छ ।

हामी आज ढुक्कले बाँचेका छैनौं । किनभने हामीलाई भोलिको चिन्ताले भयभित तुल्याएको छ । हामी जे गर्छौ, जे गरिरहेका छौं, भोलिका निम्ति भनेर गरिरहेका छौं । अर्थात भोलिका निम्ति हामीले हाम्रो आजलाई त्याग गरिरहेका छौं ।

हामी भोलिको कुराबाट मात्र चिन्ताग्रस्त छैनौं । हिजोका कुराले पनि हामी पिरोलिएका छौं । हिजोको दिनमा भएका गल्ती, कमजोरीले हाम्रो मन पोलिरहन्छ । हिजो त्यसो गरेको भए हुन्थ्यो, त्यसो नगरेको भए हुन्थ्यो भन्ने औडाहले दुखी बनाइरहेको छ ।

हिजोको चिन्ता र भोलीको भय त्यागेर आजको दिनलाई सर्वोत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ । आजको अर्थात वर्तमानलाई हामी जति रचानत्मक, जति उत्कृष्ट बनाउँछौं, भोलि र हिजोको डर एवं चिन्ता त्यसै हराउनेछ ।

चाणक्यको अनमोल वचन

-मानिस एक्लै जन्मन्छ, एक्लै मर्छ । साथै उसले आफ्नो राम्रो र नराम्रो दुबै कामको फल पनि आफैले भोग्छ । उनी एक्लै स्वर्ग वा नर्क जान्छ ।

-तपाईं के गर्ने सोंचमा हुनुहुन्छ यो कुरालाई व्यक्त नगर्नुहोस् । बुछिमानीपूर्वक यसलाई रहस्यमै राख्नुहोस् र कामको लागि दृढ रहनुहोस् ।

-शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्ति हरेक स्थानमा सम्मानित हुन्छन् । शिक्षाले सौन्दर्य र यौनलाई परास्त गर्न सक्छ ।

-जब भय तिम्रो सामुन्नेमा आइपुग्छ, त्यसलाई आक्रमण गरेर नष्ट गरिदिनुहोस् ।

-सर्प, सिंह, होहल्ला गर्ने भिड, सानो बालक, अर्काको कुकुर र मुर्ख । यिनीहरुलाई निद्राबाट जगाउनु हुँदैन ।

-सबैभन्दा ठूलो गुरुमन्त्र हो, कहिले पनि आफ्नो राज अर्कालाई बताउनु हुँदैन । यदि त्यसो गर्नु भएन भने तपाईं बर्बाद हुनसक्नुहुन्छ ।

– सन्तुलित मस्तिष्क जस्तो कुनै सादगी हुँदैन, सन्तोष जस्तो कुनै सुख हुँदैन, लोभ जस्तो कुनै विराम हुँदैन र दया जस्तो कुनै पूण्य हुँदैन ।

-त्यो ज्ञान, जो किताबमा सीमित छ । त्यो धन, जो अर्काको कब्जामा छ । यी दुबै आफ्नो आवश्यक्ता परेको बेला काम लाग्दैन ।

– सारसले जस्तै एक बुद्धिमान व्यक्तिले आफ्नो इन्द्रियलाई नियन्त्रणमा राख्नुपछृ । आफ्नो उदेश्यलाई स्थानको जानकारी, समय र योग्यता अनुसार प्राप्त गर्नुपर्छ ।



source https://www.onlinekhabar.com/2021/08/992152

मित्रहरू ! पाखण्डको पनि सीमा हुन्छ

‘लाल-बुझक्कड’ प्रामाणिक पात्र हैनन् । ‘लाल-बुझक्कड’ का कविता र कथाहरू कसरी, कहाँबाट, कहिले बने, प्रष्ट छैन । तर जनश्रुतिमा भने उनी प्रामाणिक राजा-महाराजा, सन्त, कवि र कथाकार भन्दा कम लोकपि्रय र स्थापित छैनन् ।

भनिन्छ लाल-बुझक्कड प्राचीन भारत वर्षको कुनै गाउँका प्रधानपञ्च थिए । आम जनसमुदाय अनपढ र अशिक्षित भएको समय थियो, त्यो । जनता अनेक समस्या र नसुल्झिएका रहस्य लिएर उनीसामु जान्थे । उनी जनसमुदायलाई ‘म सबैथोक जान्ने मान्छे हुँ’ भन्ने भ्रम दिन अनेक नाटक र अभिनय गर्थे । अनेक रोचक अड्कलबाजी र अर्थ निर्माण गर्थे ।

एकपटक मध्यरातमा गाउँको बाटो हुँदै हात्तीको हूल हिंड्यो । सारा गाउँ सुतेको थियो, हात्ती हिंडेको कसैले सुइँको पाएन । त्यो गाउँको छेउछाउमा हात्ती हुँदैनथ्यो । गाउँले कसैले हात्ती देखेका, हात्तीबारे जानेका, सुनेका थिएनन् ।

भोलिपल्ट बिहान गाउँको बाटो र खेतबारीमा हात्तीका खुट्टाका ठूल्ठूला डोब वा छाप देखेर गाउँले आश्चर्यचकित भए । हिजो साँझसम्म यस्तो थिएन । आज बिहान एकाएक यो के भयो ? कसैले बुझ्न, बताउन सकेनन् । जिज्ञासायुक्त गाउँले भेला भएर प्रधानपञ्च ‘लाल-बुझक्कड’ कहाँ गए । उनीहरूले हात्तीको हूलले छोडेका छापहरू देखाए । सोधे- लाल-बुझक्कडज्यू ! यो के हो ? हाम्रो गाउँमा आज राति के भयो ? कसरी यी डोबहरू बने ?

‘लाल-बुझक्कड’ ले पनि हात्ती देखेको थिएन । हात्तीबारे जानेको, सुनेको थिएन । ऊ आफैं समस्यामा पर्‍यो । यी छाप कसरी बने ? उसले बुझ्न सकेन । तर, कुनै न कुनै उत्तर दिनु नै थियो । उसले ‘म जान्दिनँ’ भन्न हुँदैनथ्यो । त्यसो भन्दा ‘हाम्रो प्रधानपञ्च नजान्ने रहेछ’ भन्ने भावना जनतामा उत्पन्न हुन सक्थ्यो । लाल-बुझक्कड एकक्षण सोचमग्न भयो । अन्ततः उसको मुखबाट फुत्त निस्कयो-

जो बुझे लाल-बुझक्कड और नबुझे कोही
पैरमे चक्की बाँधबर हिरन दौडी हुई

अर्थात्- लाल-बुझक्कडले भन्यो कि उसलाई सबै थाहा छ । उसले नबुझेको नै के छ र ? उसले बुझे जति अरू कसले बुझ्न सक्दछ ? ती डोबहरू हरिणले आफ्नो खुट्टामा जाँतो बाँधेर दौडिएको कारणले बनेका हुन् ।

जनता खुशी भए, लाल-बुझक्कडको जयकार गरे । लाल-बुझक्कड जस्तो आत्मज्ञानी प्रधानपञ्च पाएकोमा मक्ख परेर खुशी हुँदै घरघर फर्किए । र दोहोर्‍याई तेहर्‍याई भन्न थाले-

जो बुझे लाल-बुझक्कड और नबुझे कोही,
पैरमे चक्की बाँधबर हिरन दौडी हुई ।

लाल-बुझक्कडका कथा/कविता केवल मिथक मात्र हैन, हामीले आफ्नै जीवनमा त्यस्ता परिबन्दहरू बारम्बार भोगेका छौं । जस्तो कि गत वर्ष प्राज्ञ डा. जगमान गुरुङले भने- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरले भन्दा राम्रो इन्जिनियरिङ, डाक्टरले भन्दा राम्रो डाक्टरी जानेका छन् । कविले भन्दा कविता लेख्न र ज्योतिषले भन्दा राम्रो भविष्यवाणी गर्न सक्दछन् ।’

‘लाल-बुझक्कड’लाई पत्याउने जनता र ओलीलाई ‘सर्वज्ञ’ देख्ने प्राज्ञ खासै फरक हैन, समयको फरक मात्र हो, प्रवृत्तिको हैन । एक्काइसौं शताब्दीका प्राज्ञलाई प्राचीन प्रधानपञ्च लाल-बुझक्कडका अनपढ जनतासँग तुलना गर्न मिल्ने कुरै भएन ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मामा शायद लाल-बुझक्कडको परकाया-प्रवेश थियो । त्यसैले त उनले कहिले हिमाली चिसो हावा, कहिले अम्बाको पातको गार्गिल, कहिले बेसार-पानी र कहिले ठोरीमा वास्तविक अयोध्याको कुरा गरिरहे । यी सबैभन्दा अझ रोचक त उनले चिकित्सकहरूको एक भेलामा दिएको भाषण थियो- ‘आजका सर्जन के सर्जन ? आजका डाक्टर के डाक्टर ? सर्जन हुन त महादेवजस्तो, डाक्टर हुन त भोलेबाबा जस्तो, जसले गणेशलाई हात्तीको र दक्ष प्रजापतिलाई बोकाको टाउको जोडेर जीवित बनाइदिए ।’

शासनकालको उत्तरार्द्धतिर पुग्दा ओलीले माक्र्स, लेनिन, स्टालिन, माओ, क्यास्त्रो, किम इल सुङ, चारु मजुमदार सबै बिर्सिसकेका थिए, जो उनको युवा जीवनका आदर्श थिए । सबै हिन्दू मिथकहरू आजको नेपाल सरहदभित्रै घटित भएका हुन्, सबै हिन्दू पात्रहरू नेपालभित्रै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न उनले राम्रै समय खर्चिए । जबकि स्वयं ‘हिन्दू’ शब्द नै आजको नेपालभित्र जन्मिएको हैन । ‘हिन्दू’ शब्द ‘सिन्ध’ वा सिन्धुको अपभ्रंश हो, जो आजको पाकिस्तानमा पर्दछ ।

भारतीय योग गुरु रामदेव स्वामीले केही महीनाअघि एलोप्याथिक चिकित्सा प्रणालीबारे यस्तै यस्तै प्रकृतिको टिप्पणी गरेका थिए । उनले भनेका थिए कि ‘ती डाक्टरहरू जो आफैंलाई बचाउन सक्दैनन्, तिनले बिरामीलाई के बचाउँछन् ?’ आफ्नो भनाइलाई प्रमाणित गर्न उनले कोरोना कालमा निधन भएका स्वास्थ्यकर्मीहरूको गलत विवरण प्रस्तुत गरेका थिए । मानौं कि रामदेव स्वामीको आयुर्वेद र योगाभ्यास गर्ने वैद्य चाहिं अजम्बरी हुन्छन् । तर, तिनै रामदेव बारम्बार अस्पताल बस्छन्, डायरिया हुँदा शरीरमा स्लाइन लगाउँछन्, त्यस्तो बोलेको केही दिनपछि नै कोरोनाको खोप समेत लगाए ।

दक्षिणपन्थको पहिलो र मुख्य स्रोत नै ‘मिथक’ हो । ‘मिथक’ मा रम्नु, आफैं मक्ख पर्नु र अरूलाई मक्ख पार्नु हो । अक्सर दक्षिणपन्थी चिन्तकहरू कुशल वक्ता हुन्छन् । मिथकका राम्रा व्याख्याता हुन्छन् । हाम्रा पुर्खाले ‘राइट दाजु-भाइ’भन्दा अगाडि नै पुष्पक विमान बनाइसकेका थिए, भाष्करले न्यूटनभन्दा अगाडि नै गुरुत्वाकर्षणको नियम पत्ता लगाइसकेका थिए, टेलिभिजनको आविष्कार हुनु हजारौं वर्षअघि नै सञ्जयले कुरुक्षेत्र युद्धको प्रत्यक्ष प्रसारण धृतराष्ट्रलाई सुनाइसकेका थिए, नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्नुअगाडि नै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुुनु चन्द्र एक’ कविता लेखिसकेका थिए जस्ता तर्कको आधार मिथ हो, विज्ञान तथा प्रविधि हैन । पुष्पक विमानको एअरपोर्ट कहाँ छ, त्यसले कहाँदेखि कहाँसम्म कहिले-कहिले उडान भर्छ ? के कति यात्रु बोक्छ ? हाम्रा दक्षिणपन्थी महाशयहरू पुष्पक विमान चढेर कहाँकहाँ पुगेर आए ? यसको उत्तर न केपी ओलीले देलान्, न कमल थापाले न रवीन्द्र मिश्रले ।

दक्षिणपन्थ दक्षिणएशियाको विशेषता वा हिन्दूत्वको वैचारिकी हो भन्ठान्ने हो भने त्यो निकै ठूलो भूल हुनेछ, महाभूल भन्न मिल्ने । अरू धर्म, समाज र सभ्यतामा पनि दक्षिणपन्थीहरू उत्तिकै हुन्छन् । तिनले उसरी नै आ-आफ्नो समाजको मिथकलाई पक्रेर जनताको मनोवैज्ञानिक शोषण गर्दछन् । बेतुकका कुरालाई राजनीतिका मुद्दा बनाउँछन् । जनतालाई सत्य, न्याय, विज्ञान, प्रविधि र आधुनिक सीपबाट विमुख बनाउन खोज्दछन् ।

मुस्लिम धर्म सम्प्रदाय बाहुल्य देशमा बोकोहराम, अलकायदा, मुजाहिद्दिन, आईएसआईएस, तालिवान जस्ता थुप्रै अतिवादी राजनीतिक संगठन छन्, जसको अस्तित्व र शक्तिको स्रोत दक्षिणपन्थ नै हो । क्रिश्चियन समाजमा हिन्दू समाजमा भन्दा कम अन्धविश्वास र कुरीतिहरू थिएनन्, अझै छन् । ब्रुनोलाई जिउँदै जलाउने काम क्रिश्चियन समाजमा भएको थियो ।

क्रिश्चियन मिथोलजीले ‘मान्छेको जन्म’ लाई नै ‘पापको प्रतिफल’ मान्दछ । पापीहरूलाई मुक्ति दिन क्राइष्टको जन्म र चर्चको स्थापना भएको ठान्दछ । पोप र पादरीहरू पापी मान्छेलाई मुक्ति दिने र परमात्मासँग भेट गराइदिने उद्धारकर्ता मानिन्छन् । सत्रौं शताब्दीको उत्तरार्द्धसम्म चर्चका पोपहरू ‘पापमोचन पत्र’ बिक्री गरेर कुस्त पैसा कमाउँथे । क्रिश्चियन धर्मान्धताको विरुद्धमा धर्मसुधार आन्दोलन हुँदा ‘प्रोटेस्टानिज्म’ जन्मिएको थियो । यो आन्दोलनमा मार्टिन लुथर किङको ठूलो भूमिका थियो ।

बुद्धिज्म हिन्दू समाजभित्रको प्रोटेस्टानिज्म हो । शंकराचार्यको ब्रहृमसूत्र र सिद्धार्थ गौतमको ‘अनित्य’ मत बीच लामो संघर्ष भएको थियो । ‘अहं ब्रहृमास्मि’ लाई मूल मन्त्र बनाएका शंकराचार्य र ‘संसारमा कुनै पनि कुरा अमर छैन, आत्माको कुनै अस्तित्व हुँदैन’ भन्ने बुद्धको दर्शनलाई एउटै ठानेर ‘बुद्धलाई भगवान विष्णुको अवतार’ ठान्नुमा कुनै संगति थिएन/छैन ।

मिथकलाई सत्य ठान्दा कैयौं भ्रान्तिको जन्म हुन्छ । जस्तो कि भारतीय जनता पार्टीले कम्युनिष्टहरूले ‘लाल-सलाम’ भने जस्तै ‘जय श्रीराम’ लाई राजनीतिक अभिवादन बनाउँछ । रामायणमा वणिर्त ‘राम’ यो धर्तीमा जन्मिएका कुनै मनुष्य नै थिए कि महाकाव्यका काल्पनिक पात्र थिए भन्ने विषयमा विवाद छ । इतिहासकार तथा पुरातत्वविद्हरू ‘राम’ लाई काल्पनिक पात्र मान्दछन्, वास्तविक हैन । आज कथा वा उपन्यास लेखे जस्तो, नाटक मञ्चन र सिनेमा बनाए जस्तो त्यो काव्य र महाकाव्यको युग थियो । कविता मार्फत कथा भनिन्थ्यो ।

आजका कथा, उपन्यास, नाटक र सिनेमामा अनेक नामका नायक भए जस्तो ‘राम’ रामायण महाकाव्यका ‘काल्पनिक नायक’ नहोलान् भन्न सकिन्न । काव्यकारको कल्पनाले उभ्याएको नायक न अयोध्यामा जन्मिन्छ न ठोरीमा । तर, हजारौं मानिस त्यही एक पात्रको लागि आज आफ्नो जीवन दिन तयार छन् । एकअर्को विरुद्ध लड्न, मर्न, मार्न तयार छन् । रामका नाममा अयोध्या काण्डमा त्यतिका धेरै मानिस मरे । यही नै दक्षिणपन्थको शक्ति हो । दक्षिणपन्थलाई कहिल्यै कमजोर आँक्न हुन्न । किनकि यो आस्थामा आधारित हुन्छ, सत्यमा हैन । सत्यको संपरीक्षण हुन सक्दछ, आस्थाको कुनै संपरीक्षण हुँदैन ।

दक्षिणपन्थको दोस्रो मुख्य स्रोत इतिहासको अतिगौरवीकरण हो । आधुनिक विश्व-राजनीतिमा त्यसका दुई ठूला उदाहरण मुसोलिनीको फाँसीवाद र हिटलरको नाजीवाद थिए । फाँसीवाद भन्ने शब्द नै इटालियन भाषाको ‘फासेस’ बाट बन्यो । त्यो एक प्रतीक चिन्ह हो, रोमन साम्राज्यको । हिटलरको स्वस्तिक पनि त्यस्तै चिन्ह हो, उत्तरी जर्मन जातिको । रोमन वीरताको अतिगौरवीकरण गर्दा फाँसीवाद जन्मियो, जर्मन वीरताको अतिगौरवीकरण गर्दा नाजीवाद । फाँसीवाद र नाजीवादको उदयकै कारण संसारमा लाखौं हैन, करोडौं मानिसले ज्यान गुमाउनु पर्‍यो ।

कुनै पनि जाति, इतिहास, धर्म, दर्शन, सभ्यता र संस्कृतिलाई अतिगौरवीकरण गर्दा त्यसका पक्षधरमा उच्चताबोध र ‘अन्य’ प्रति घृणा र ‘ती नीच हुन्’ भन्ने भावनाको जन्म हुन्छ । घृणा, वर्चश्व, प्रतिशोध र अन्यताको राजनीति भनेकै यही हो । संसारमा कुनै पनि जाति उँच वा नीच हुँदैनन् । कुनै पनि धर्म महान् र तुच्छ हुँदैनन् । कुनै पनि सभ्यता पूर्ण वा अर्थहीन हुँदैनन् । ती मौलिक हुन्छन् । ती आ-आफ्नो विशेषता अनुरूपका हुन्छन् । ती सबैको उत्तिकै स्थान, सम्मान र सहभागिता हुनुपर्दछ भन्ने भावनालाई ‘बहु-सांस्कृतिकतावाद’ भनिन्छ ।

यथार्थ त के हो भने विगततिर चाहेर पनि फर्किन सकिन्नँ, त्यो बूढो मानिसले बाल्यकालको रोचक स्मरण गरे जस्तो मात्र हो । ‘बच्चा हुन पाए कति रमाइलो हुन्थ्यो होला’ भनेर सोच्न, कल्पिन त पाइन्छ तर के बूढो मान्छे पुनः बच्चा हुन्छ ?

‘बहुसांस्कृतिकतावाद’ को अवधारणाबाट ‘बहु-राष्ट्रिय राज्यको सिद्धान्त’ र ‘संघीय शासन प्रणाली’ निःसृत हुन्छ । अचम्म के छ भने सबैको उत्तिकै स्थान, सम्मान, सहभागिता, समावेशिता, स्वायत्तता, स्वशासन र साझेदारी हुनुपर्छ भन्ने विचारलाई चाहिं दक्षिणपन्थले विखण्डन, जातीयता र धान्न नसकिने खर्चिलो व्यवस्था भन्दछ । जबकि कुनै एक जाति, भाषा, धर्म, संस्कृति, भेषभुषा, रहनसहनको वर्चश्वको पक्षपोषण र त्यसअनुरूपको एकात्मक शासन प्रणालीलाई चाहिं ‘राष्ट्रिय’ मान्दछ । कुनै एक ‘राष्ट्रिय’ हुन्छ कि सबैको ‘साझा’ चाहिं राष्ट्रिय हुन्छ ? यति सरल सत्यको अर्थ सोध्न कुनै लाल-बुझक्कड कहाँ गइरहन जरूरी छैन ।
दक्षिणपन्थको तेस्रो मुख्य चरित्र हो- क्रान्तिप्रतिको वितृष्णा, परिवर्तनप्रतिको अनिच्छा । वर्तमानप्रति वितृष्णा राख्ने र असहिष्णु हुने, भविष्य नदेख्ने, विगतसँग वर्तमानको तुलना गर्ने र वर्तमान गलत छ, भविष्यतिर नजाऊँ किनकि त्यो अनिश्चित छ, बरु विगततिर फर्किनु सहज हुन्छ भन्ने । विगततिर फर्किंदा कहाँसम्म फर्किने ?

गणतन्त्रबाट शाहवंशीय राजतन्त्रमा फर्किने, राजतन्त्रबाट पञ्चायतमा फर्किने, पञ्चायतबाट राणाशासनमा फर्किने, राणाशासनबाट नेपाल-अंग्रेज युद्धमा फर्किने, त्यहाँबाट गोर्खा राज्यमा फर्किने ? पछाडि फर्किएर हिंडेपछि त्यसको सीमा कसैले भनेकै विन्दुमा रोकिन्छ भन्ने के ग्यारेन्टी छ ? के यसरी फर्किन सकिन्छ ?

सभ्यता कहिल्यै पनि पछाडि फकिर्ंदैन, चाहे वर्तमान जतिसुकै कष्टकर किन नहोस्, त्यो भविष्यतिरै हिंड्छ । ठीक छ, हामी वर्तमानसँग असन्तुष्ट छौं भने भविष्य राम्रो बनाऔं न ? किन विगततिर फर्किने ? दक्षिणपन्थ र अग्रपन्थको सोच यहाँनेर प्रष्ट देखिने गरी भिन्न हुन्छ ।

यथार्थ त के हो भने विगततिर चाहेर पनि फर्किन सकिन्नँ, त्यो बूढो मानिसले बाल्यकालको रोचक स्मरण गरे जस्तो मात्र हो । ‘बच्चा हुन पाए कति रमाइलो हुन्थ्यो होला’ भनेर सोच्न, कल्पिन त पाइन्छ तर के बूढो मान्छे पुनः बच्चा हुन्छ ? राणाशासन फर्काउन भनेर बनेको गोर्खा परिषदले राणाशासन फर्कायो ? पञ्चायत फर्काउन भनेर बनेको राप्रपाले के पञ्चायत फर्कायो ? प्रयास त गरे तर किन सकेनन् ?

सजिलै बुझ्न सकिन्छ- नेपाली दक्षिणपन्थको रीस यतिखेर यथार्थमा ‘लोकतान्त्रिक गणतन्त्र’ प्रति छ । तर, सीधै भन्न नसकेर ‘संघीयता’, ‘धर्मनिरपेक्षता’ र ‘आरक्षण’ माथि खनिने गरेको छ । मण्डलेहरू त सीधै भन्दैछन्- ‘राजतन्त्र फर्किनुपर्दछ ।’ नवमण्डलेहरूको भाषा अलिक फरक छ- ‘संघीयता, समावेशिता र धर्मनिरपेक्षता’ खारेज हुनुपर्‍यो । यी दुवै कुराको सार एउटै हो- क्रान्तिप्रतिको रीस र प्रतिक्रान्तिको चाहना ।

दार्शनिक तहमा ‘सम्वर्द्धनवाद’ र ‘नवसम्वर्द्धर्नवाद’ बीच पातलो विभाजन-रेखा हुन्छ । ‘सम्वर्द्धनवाद’ ले ‘परम सत्य’ को कुरा गर्दछ । त्यो भनेको राजनीतिमा निरंकुशता, तानाशाही, वंशवाद, नश्लवाद, वर्चश्ववाद हो । ‘सम्वर्द्धनवाद’ ले आफ्ना निरंकुश र घटिया आकांक्षाहरू सीधै भन्छ । तर, ‘नव-सम्वर्द्धनवाद’ भने ‘छद्म र सूक्ष्म’ हुन्छ । यसले आफ्ना कुरा सीधै भन्दैन, घुमाउरो गरी भन्छ । तर, सारमा त्यहीं पुग्छ जहाँ सम्वर्द्धनवाद हुन्छ । जस्तो यसले सीधै राजतन्त्र, वंशवाद र निरंकुशता भन्दैन, कहिले ‘नरम तानाशाह’ भन्छ, कहिले ‘परोपकारी राज्य’ भन्छ, कहिले ‘इतिहासको अविच्छिन्नता’ ।

रवीन्द्र मिश्रले बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, प्रचण्ड, बाबुराम वा उपेन्द्र यादवको साटो पृथ्वीनारायण शाह, जंगबहादुर, चन्द्रशमशेर, राजा महेन्द्रलाई महान् देख्नु राजा ज्ञानेन्द्रको सत्ता विदेशी षडयन्त्रमा ‘जबरजस्त खोसिएको’ ठान्नु, जनयुद्ध, मधेश जनविद्रोह र १९ दिने जनआन्दोलनमा भएको जनसहभागिता र योगदानलाई ‘विदेशी’ देख्नु त्यही नवसम्वर्द्धनवादको धङधङी न हो । क्रान्तिप्रतिको वितृष्णा न हो ।

दार्शनिक तहमा सम्वर्द्धनवाद र नवसम्वर्द्धनवाद बीच जति भिन्नता छ, नेपालका मण्डले र नवमण्डले बीच त्यति नै भिन्नता छ । कमल थापाभन्दा केपी ओली र रवीन्द्र मिश्र बीचको भिन्नताको वैचारिक तथा दार्शनिक आधार यही हो ।

दक्षिणपन्थी लाल-बुझक्कडहरूले अहिले नयाँ सिद्धान्त आविष्कार गरेका छन्- देशको दुर्गतिको कारण संघीयता हो, यसलाई खारेज गरौं । मानौं कि देश हजारौंहजार वर्षदेखि संघीय थियो । देशको दुर्गति भएको सत्य हो । देशको उन्नति हुन नसकेको सत्य हो । तर, के यसको कारण संघीयता हो ? के संघीयता र आरक्षणभन्दा अघि नेपाल संसारको सबैभन्दा धनी देश थियो ? करीब पाँच वर्ष यता एकाएक गरीब भएको हो ? निःसन्देह हैन ।

यहाँनेर जनताले सोच्नुपर्ने कुरा छ- संघीयताको विरोधको कुनै वैज्ञानिक कारण छ कि यो प्रतिक्रान्तकारी कुण्ठा मात्र हो ? साँच्चै हात्ती हिंडेका डोबहरू हुन् कि ‘हरिणले खुट्टामा जाँतो बाँधेर दौडिएको’ मात्र हो ? हात्ती साँच्चै हिंडेको हो भन्ने लाग्छ भने आउनुहोस् बहस गरौं, कति दिन शास्त्रार्थ गर्ने हो ? तथ्यांकहरू सामुन्ने राखौं । विश्व अनुभवहरू सामुन्ने राखौं । संघीयताको आर्थिक लागत एकएक हिसाब गरौं । वैज्ञानिक तवरले कसैले पुष्टि गर्दछ कि आजको संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा हिजोको राजतन्त्रात्मक एकात्मक शासन प्रणाली ठीक थियो, निहुरिएर हजार पटक उसको खुट्टैमा ढोगौंला ।

तर, हात्तीका डोबहरूलाई ‘हरिणले खुट्टामा जाँतो बाँधेर’ हिंडेको भन्नेहरूसँग के तर्क गर्ने ? लाल-बुझक्कडहरूको कुनै औषधि हुँदैन । संघीयता विरोधीहरूको त्यही एउटा तर्क छ कि महँगो भयो, धान्न सकिएन ? अरू के छ ? ‘भ्रष्टाचार वडा-वडामा पुग्यो’ भन्नुको अर्थ के हुन्छ ? भ्रष्टाचार नारायणहिटी र सिंहदरबारले मात्र गर्न पाउनुपथ्र्यो भन्ने हो ?

वडा-वडामा भ्रष्टाचार हुनु निःसन्देह नराम्रो हो तर के नारायणहिटी र सिंहदरबारमा भ्रष्टाचार हुनु चाहिं राम्रो थियो ? उदाहरणका लागि हिजोका शाह राजा-महाराजा, कुनै राणा खान्दान, पञ्चायतको अञ्चलाधीश र संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै वडाध्यक्षको सम्पत्तिको तुलना गरौं त कसले धेरै भ्रष्टाचार गरेछ ?

भ्रष्टाचार रोक्न नसक्नु संघीयताको समस्या हैन, त्यो भिन्नै समस्या हो । त्यो कुशासनको समस्या हो । भ्रष्टाचार राजतन्त्रात्मक तथा गैरराजतन्त्रात्मक, एकात्मक र संघीय, एकदलीय वा बहुदलीय सबै प्रकारको शासन व्यवस्थामा हुन सक्दछ । त्यसलाई रोक्ने संयन्त्र हुनुपर्दछ । भ्रष्टाचार कहींकतै क्षम्य हुनुहुँदैन । चाहे संघमा होस् वा प्रदेशमा वा स्थानीय सरकारमा । भ्रष्टाचारको प्रश्न संघीय शासन प्रणालीको प्रश्न हैन, शासकीय क्षमता र गुणस्तरको प्रश्न हो । भ्रष्टाचार हात्तीको डोब जस्तो हो । संघीयताले भ्रष्टाचार वडा-वडासम्म पुर्‍यायो भन्नु चाहिं ‘खुट्टामा जाँतो बाँधेर हरिण दौडियो’ भन्नु जस्तो हो ।

मानौं कि वडा-वडासम्म भ्रष्टाचार पुग्यो, के अब बजेट वडा-वडामा नदिने ? विकास सबै नारायणहिटी र सिंहदरबार वरिपरि गर्ने ? पैसा पनि यहीं राख्ने, भ्रष्टाचार पनि यहीं गर्ने ? एउटा सिंहदरबारले पुग्ने भए, ‘देश भनेकै सिंहदरबार हो, सिंहदरबार भनेकै देश हो’ भनेर घोषणा गर्दिऊँ न त ? हुन्छ ? के काठमाडौंवासीलाई मात्र प्रशासनिक सेवा-सुविधा नजिक चाहिएको छ ? झापादेखि कञ्चनपुर, पाँचथरदेखि बैतडी, ताप्लेजुङदेखि दार्चुलासम्मका जनतालाई चाहिं आˆनो नजिकमा प्रशासनिक केन्द्र र सेवा-सुविधा चाहिन्न ?

काठमाडौंका रवीन्द्र मिश्रलाई नागरिकता बनाउन ताप्लेजुङ र पासपोर्ट बनाउन दार्चुला जाऊँ भन्दिने हो भने के गर्थे होला ? के हविगत र हालत हुन्थ्यो होला ? हो, हामी धेरैले यस्ता अप्ठ्यारा आफ्नै जीवनकालमा भोगेका छौं । संघीयता हाम्रा लागि कुनै सिद्धान्त हैन, जीवन भोगाइ र अनुभवको सार हो ।

काठमाडौंमा वर्षेनि सयौं प्रशासनिक भवन बन्न हुने अन्यत्र राम्रा कार्यालय भवन बन्नै नहुने ? अन्यत्र बजेट जानै नहुने ? अन्यत्र स-साना शहरी सुविधाकेन्द्र विकास हुनै नपाउने ? अन्यत्रका मान्छेले गाडी चढ्नै नहुने ? यदि पैसा सिंहदरबारमा मात्र राख्ने, गाउँ नपठाउने हो भने के गाउँको पैसा छाप्ने भिन्नै राष्ट्र बैंक छ ?

पालिकाहरूको रीस किन ? वडाको रीस किन ? प्रदेशको रीस किन ? त्यही दरबारको शक्ति तल-तलसम्म गयो भन्ने चिड्चिडाहट हैन, त्यो ? सिंहदरबारको स्रोतसाधन छिरलियो, एक्लै खेलाउन पाइएन भन्ने औडाहा हैन त्यो ? काठमाडौं कमजोर भयो, अन्यत्रका मान्छे पनि शक्तिशाली भए भन्नेे मनोवैज्ञानिक पीडा हैन, त्यो ?

कमल थापा त्यही संघीयताको विरोध गर्ने, मानौं कि उनको जस्तो वैचारिकीमा चलेको २४० वर्षे नेपाल तन्नम थिएन, स्वर्ग थियो । भ्रष्ट थिएन, रामराज्य थियो । गोकुल बास्कोटा र महेश बस्नेत जस्ता ओलीका निकटस्थहरू त्यही संघीयताको विरोध गर्ने, मानौं कि सेक्युरिटी प्रेसमा ७० करोडको बार्गेनिङ सिंहदरबारमा बसेर बास्कोटाले हैन, कुनै दूरदराजको गाउँको वडाको वडाध्यक्षले गरेको हो । रवीन्द्र मिश्र त्यही संघीयताको विरोध गर्ने मानौं कि उनी काठमाडौंमा ठूला घरमा बस्दैनन्, गाडी चढ्दैनन्, स्टर्लिङ पाउण्डको जागिर कहिल्यै खाँदैनथे, गाउँमै बसेर निःशुल्क जनताको सेवा गर्थे सधैं ।

पाखण्डको पनि सीमा हुन्छ मित्रहरू ! निःसन्देह कमजोरी छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प किमार्थ राजतन्त्र, हिन्दुत्व वा एकात्मकता हुन सक्दैन । दक्षिणपन्थको विषाक्त हावाले केही समय मानिसलाई लठ्याउन सक्दछ तर अन्तिम नियति के हुन्छ- अमेरिकाका डोनाल्ड ट्रम्पदेखि नेपालका ओलीसम्मको हालत र हविगत हेरेर अनुमान गर्दा हुन्छ ।



source https://www.onlinekhabar.com/2021/08/992151

टोकियो ओलम्पिकमा ७ पदक जित्दै अष्ट्रेलियन एम्मा म्याककेओनले बराबरी गरिन् कीर्तिमान

१७ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अष्ट्रेलियन स्वीमर एम्मा म्याकेओनले चार स्वर्णसहित सात पदक जितेर सन् १९५२ को हेलसिन्की ओलम्पिकमा सोभियन युनियनकी जिम्न्यास्ट मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरेकी छन् ।

एम्माले एकै ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गरेकी हुन् ।

एम्माले टोकियोमा सातौं पटक आइतबार चार गुणा १०० मिटर मिडले रिलेमा जितेकी हुन् । जसले उनलाई एउटै ओलम्पिकमा धेरै पदक जित्ने महिला स्वीमर समेत बनायो । त्यसअघि आइतबारै एम्माले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

एस्मा सात वा त्यो भन्दा बढी पदक जित्ने सूचीमा माइकल फेल्प्स, मार्क स्पिट्ज र माट बिओन्डीससंगै समावेश भएकी छन् । अमेरिकन लेजेण्ड स्वीमर फेल्प्सले २००८ को बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेका थिए ।

ब्रिसबनकी २७ वर्षीय एम्मा ओलम्पिकमा ७ पदक जित्ने पहिलो महिला स्वीमर बनेकी छन् ।

एम्माले सन् २०१६ को रियो ओलम्पिकमा पनि ४ पदक जितेकी थिइन् । उनले ओलम्पिक कूल ११ दक जित्दै आफ्नै देशका इयान थोर्प, लेइसन जोन्स जस्ता खेलाडीलाई पछि पार्दै अष्ट्रेलियाको मोस्ट डेकोरेटेड ओलम्पिन बनेकी छन् ।

एम्माले टोकियो ओलम्पिकमा चार गुणा १०० मिटर फ्रिस्टाइल रिले, १०० मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र चार गुणा १०० मिटर मिडले रिलेमा स्वर्ण जित्दा १०० मिटर बटरफ्लाई, चार गुणा २०० मिटर फ्रिस्टाइल रिले र चार गुणा १०० मिटर मिक्सड मिडले रिलेमा कांस्य जितिन् ।



source https://www.onlinekhabar.com/2021/08/992146

शरीर विज्ञान : कसरी हामी बुढो हुन्छौं ?

मान्छेलाई बुढ्यौलीसँग डर लाग्छ । जब–जब शरीर बुढ्यौलीतर्फ धकेलिदै जान्छ, शरीरका अंगहरु शिथिल हुँदै जान्छन् । यसले उर्जा र उत्साह पनि घटाउँछ । अनेक रोगहरुले च्याप्न थाल्छ । त्यसैले मान्छे सधै जवान बन्न चाहन्छ ।

तर, बुढ्यौली एक शारीरिक प्रक्रिया हो । जन्म र मृत्यु जसरी निश्चित छ, उसैगरी बुढ्यौली पनि । आजको बालक भोलि बुढ्यौलीबाट गुज्रिनै पर्छ । यद्यपि कोही चाडै बुढ्यौलीमा प्रवेश गर्छन्, कोही ६५–७० बर्षसम्म पनि जवान दिन्छन् । आखिर के कारणले हामी चाडै बुढो हुन्छौं ? विज्ञहरु भन्छन्, ‘यसमा हाम्रो वंशानुगत गुण र जीवनशैली जिम्मेवार छ ।’

डिएनएको क्षति

हाम्रो डिएनए एक किसिमको जेनेटिक कोड हो जुन कोषको बीच सञ्चारित हुन्छ । उमेर बढ्दै जाँदा यो जेनेटिक कोडको संरचनामा गडबड हुन सुरु हुन्छ । विस्तारै विस्तारै यो कोषमा जम्मा हुन सुरु हुन्छ ।

यो प्रक्रियालाई आनुवांशिक अस्थिरताको रुपमा मानिन्छ र यो विशेष रुपले त्यतिखेर प्रासंगिक हुन्छ जब डिएनएले स्टेम कोषहरुलाई प्रभावित गर्छ ।

वंशाणुगत अस्थिरताले स्टेम कोषहरुको भूमिकालाई खतरामा पार्न सक्छ । यदि अस्थिरता बढेमा यो एक क्यान्सरमा पनि परिवर्तन हुन सक्छ ।

क्रोमोजोम्स कमजोर हुने

हरेक डिएनए शुत्रको अन्तिम छेउमा क्याप जस्तो संरचना हुन्छ जसले हाम्रो क्रोमोजोमलाई सुरक्षित राख्छ । यसको बिल्कुल त्यस्तै संरचना हुन्छ जसरी हाम्रो जुत्ताको फिताको अन्तिम भागमा एक प्लाष्टिकको क्याप लगाइएको हुन्छ ।

यसलाई टेलोमर्स भनिन्छ । हाम्रो उमेर जति जति बढ्दै जान्छ यो क्यापरुपी संरचना हट्न थाल्छ र क्रोमोजोमको सुरक्षा कम हुँदै जान्छ । यसै कारणले समस्या पैदा हुन सक्छ ।

शोधकर्ताहरुका अनुसार टेलोमर्सको संरचनामा जब गडबडी आउँछ त्यतिखेर कैयौं रोगहरु हुने खतरा बढ्छ । यसको कारणले फोक्सोसँग जोडिएका समस्याहरु र एनिमियाको खतरा बढ्छ । यी दुवै रोग शरीरको प्रतिरक्षासँग जोडिएका गम्भिर समस्या हुन् ।

कोषहरुको व्यवहार प्रभावित हुन्छ

हाम्रो शरीरमा एक विशेष प्रकारको प्रक्रिया हुन्छ जसलाई डिएनए एक्सप्रेसन भनिन्छ । जसमा कुनै एक कोषमा रहेको हजारौं जिन्सले त्यो कोषलाई के गर्ने हो भनेर तय गर्छन् ।

त्यो कोषलाई छालावाल कोषको रुपमा काम गर्नु पर्ने हुन सक्छ वा मस्तिस्कको कोषको रुपमा । तर, समय र जीवनशैलीले यी निर्देशनलाई बदल्न सक्छ । यस्तोमा कोषहरुले पनि आफूलाई तय गरिएको व्यवहारभन्दा फरक किसिकले व्यवहार गर्न सक्छन् ।

कोषहरुको नविनीकरण क्षमता सकिन्छ

हाम्रो कोषहरुमा क्षतिग्रस्त घटकको संचयलाई रोक्नको लागि शरीरमा नविनीकरणको क्षमता हुन्छ तर, बढ्दो उमेरसँगै यो क्षमता विस्तारै विस्तारै कम हुँदै जान्छ ।

यस्तोमा कोषहरुमा बेकार वा विषालु प्रोटिन जम्मा हुन्छ, जुन कैयौंपटक अल्जाइमरको कारण बन्छ । कैयौं पटक यसको कारणले पार्किन्सन्स र मोतिबिन्दुको खतरा पनि बढ्छ ।

कोषहरुले मेटाबोलिज्म नियन्त्रण गुमाउँछन्

बढ्दो उमेरसँगै कोषहरुले चिल्लो र चिनीको तत्वलाई सोस्ने क्षमता गुमाउँछन् । यसैको कारण धेरै मानिसलाई उमेर बढ्दै जाँदा मधुमेहको समस्या हुन्छ ।

बढ्दो उमेरमा जो मानिसलाई मधुमेहको देखिन्छ उनीहरुमा विशेष रुपले यो कारणको असर हुन्छ । उमेर बढ्दै जाँदा शरीरले ती सबै पोषक तत्वलाई ग्रहण गर्न सक्दैन जुन उनीहरुले खान्छन् ।

माइटोकन्ड्रियाले काम गर्न बन्द गर्छ

माइटोकन्ड्रियाले शरीरलाई उर्जा प्रदान गर्ने काम गर्छ तर, बढ्दो उमेरमा यसले आफ्नो क्षमता गुमाउन थाल्छ । यो कमजोर हुँदै जाँदा डिएनएमा पनि नकरात्मक असर पर्छ ।

गत जुनमा विज्ञान पत्रिका ‘नेचर’मा प्रकाशित भएको एक अध्ययनमा दावी गरिए अनुसार वैज्ञानिकले माइटोकन्ड्रियालाई रिस्टोर गरेर मुसामा चाँयालाई टाढा गरिदिएका छन् ।

स्टेम सेलले आफ्नो क्षमता गुमाउँछ

उमेर बढ्दैजाँदा कोषहरुको पुनरुत्पादक क्षमतामा कमी आँउछ । स्टेम कोषहरु थाक्न लाग्छन् । हालै गरिएका अध्ययनहरुबाट स्टेम कोषहरुको कायाकल्पले बढ्दो उमेरको शारीरिक लक्षणहरुलाई अगाडि आउनबाट रोक्न सक्ने तथ्य पत्ता लागेको छ ।

कोषहरु एकअर्कासँग सम्पर्क बन्द हुन्छ

कोषहरु सँधै एक अर्कासँग सम्पर्कमा रहन्छन् तर, जति जति उमेर बढ्दै जान्छ उनीहरुको यो आपसी सम्पर्क घट्न थाल्छ । उनीहरु बीच सम्पर्क नहुनाको कारण शरीर सुन्निन थाल्छ ।

यसको नतिजास्वरुप यो रोगजनक र घातका कोषहरुप्रति सक्रिय हुँदै । सेरानोका अनुसार हुन त यो एक यस्तो प्रक्रिया हो जसलाई रोक्न सकिँदैन तर एक स्वस्थ जीवनशैलीले यसको प्रभावलाई जरुर कम गर्न सक्छ ।



source https://www.onlinekhabar.com/2021/08/992138

संयुक्त विद्यार्थीद्वारा मप विश्वविद्यालयमा थप आन्दोलन घोषणा

१७ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

विभिन्न १८ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आइतबार आज विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने कार्यक्रम रहेका छन् ।

आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुको भनाइ छ । विद्यार्थीहरु सँगै प्राध्यापकहरू केही दिन अघिदेखि उपकुलपतिविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्नेलगायतका १८ बुँदे माग गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल छेठौं सम्बद्ध विद्यार्थीहरु आन्दोलमा छन् ।

विश्वविद्यालयले भने विद्यार्थीहरुसँग वार्ताका लागि भन्दै मानविकी संकायका डीन सहप्राध्यापक डा. लिलाधर तिवारीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समस्या समाधान समिति गठन गरेको छ ।

‘हामी उहाँहरुसँग निरन्तर वार्तामा बसिरहेका छौं, विश्वविद्यालयले तोकिएका परीक्षाकहरु समेत स्थगित गरेर वार्ताको प्रयास जारी राखेको छ, अवको एक/दुई दिनभित्रै सहमति जुट्छ,’ तिवारीले भने ।

उनका अनुसार वार्ताको क्रममा दुईटा विद्यार्थी संगठनहरूसँग सहमति भएको छ । विप्लव निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियु (ओली पक्ष) सँग सहमति भएको हो ।

विद्यार्थी संगठनहरूले उठाएको ‘वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने’ र प्राध्यापक संगठनले उठाएको ‘बर्खास्त गरिएका उपप्राध्यापकलाई बहाली गर्नुपर्ने’ दुईटा माग विश्वविद्यालयको कार्यकारी परिषदले सम्बोधन गर्न नसक्ने उच्चस्तरीय वार्ता समितीले बताएको छ ।



source https://www.onlinekhabar.com/2021/08/992125

सिन्धुपाल्चोकमा बाढी : रातो पुल पनि बगायो

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो ।

गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुल (रातो पुल)ले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो एकमात्र पक्की पुल (ट्रस्ट ब्रिज) पनि बगेपछि हेलम्बुसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गतेको बाढीमा रेडियो मेलम्चीको भवन डुबानमा परेको थियो ।
मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन ।

हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । बाढी अहिले पनि नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

गएराति बाढी आउने सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित रहन भनिएको थियो । कतिपयलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो ।

 



source https://www.onlinekhabar.com/2021/08/992124

साताको सेयर बजार : आत्तिएका लगानीकर्ता उत्साहित

१७ साउन, काठमाडौं । पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर बजारमा पटक-पटक नयाँ रेकर्ड कायम भएको छ ।

साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक तीन हजार ५९ अंकमा पुगेर उच्च विन्दु क्रस गर्‍यो । त्यसको भोलिपल्ट झिनो अंकले घटेको नेप्से परिसूचक मंगलबार तीन हजार ८० पुगेर नयाँ रेकर्ड बन्यो । नयाँ रेकर्ड बन्ने क्रम बुधबार पनि जारी नै रहृयो ।

सक्रिय लगानीकर्ता नयन बास्तोला पछिल्लो समय सेयर लगानीकर्ताहरुका लागि उत्साह थपिएको बताउँछन् । बजारको घटबढलाई सामान्य रुपमा लिनु पर्ने भए पनि केही समयअघि बजार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । तर अहिले लगानीकर्ताहरुमा पुनःउत्साह देखिएको उनी बताउँछिन् ।

०००

बुधबार नेप्से परिसूचक तीन हजार ९५ अंकमा पुगेर ऐतिहासिक उचाइ कायम गर्‍यो । यो हालसम्मकै उच्चविन्दु हो । बिहीबार भने नेप्से परिसूचक घटेर तीन हजार ८० अंकमा झरेर बन्द भएको छ । गत जेठ मसान्तसम्म पनि सेयर बजारमा उत्साह देखिएको थियो । समग्रमा बजार बढ्नु राम्रै भए पनि केही कम्पनीहरुको अस्वभाविक मूल्य बढेको भन्दै बोर्डले बजारको विषयमा विशेष अध्ययन नै गर्‍यो ।

बोर्डले अध्ययनको प्रारम्भिक रिपोर्ट भन्दै ५१ कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेको भन्दै कम्पनीको नामै तोकेर लगानीकर्ताहरुले सचेत भएर लगानी गर्न आग्रह गर्‍यो । जेठ अन्तिम साता सेयर कारोबार मापन नेप्से परिसूचकले तीन हजार माथि पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । नेप्से परिसूचकसँगै दैनिक २० अर्ब रुपैयाँको कारोबार भएर सेयर कारोबार रकमका साथै कारोबार संख्याले समेत रेकर्ड राखेको थियो ।

बोर्डले ५१ वटा कम्पनीको नाम नै तोकेर लगानीका लागि जोखिमयुक्त भने पछि भने बजारको अवस्था फरक रहृयो । बोर्डले १ असारमा यस्तो विज्ञप्ति जारी गरेको थियो, त्यसको भोलि पल्ट सोमबार नेप्से परिसूचक ५१ अंकले घट्यो ।

जोखिमयुक्त भनिएका मात्रै होइन राम्रा मानिएका कम्पनीहरुको पनि सेयर मूल्य त्यपछि लगातार घट्यो । बोर्डको विज्ञप्तिको असर निकै लामो समयसम्म टिक्न भने सकेन । नीति निर्माण तहमा राजनीतिक परिवर्तनले ठूलो असर गर्छ । असार अन्तिम साता नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन भएर नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको छ । पुुँजी बजारको तालुक मन्त्रालय अर्थको जिम्मा माओवादी नेता जनार्दन शर्माले पाएका छन् ।

असार अन्तिममा भएको सरकार परिवर्तनपछि भने सेयर बजारमा पुनः चकम देखिन सुरु गर्‍यो । नेप्से परिसूचक घटेर दुई हजार ८ सय नजिक झरे पनि अहिले पुनः तीन हजार एक सय नजिक पुग्न लागेको छ । कारोबार रकममा खासै उत्साह नदेखिए पनि औसतमा राम्रै देखिएको छ । गत बिहीबार करीब ११ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।

बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै हरियाली

पछिल्लो सातामा नेप्से परिसूचक २.०६ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १२ वटा समूहृगत सबइन्डेक्समध्ये दुई वटा झिनो अंकले घटेका छन् । दुईवटा सबइन्डेक्सहरु बैंकिङ १.१६ प्रतिशत र म्युचुअल फण्ड २.८२ प्रतिशतले घट्दा बाँकी सबै समूहगत सबइन्डेक्सहरु बढेका छन् ।

सबैभन्दा धेरै बढ्नेमा होटल तथापर्यटन समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ७.८६ प्रतिशतले बढेको छ । ६.६२ प्रतिशतले बढेर दोस्रोमा जलविद्युत् समूह देखिएको छ भने धेरै बढ्ने तेस्रोमा देखिएको फाइनान्स समूह ५.८९ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादनमूलक समूह ५६.८८ प्रतिशत, लगानी ४.५१ प्रतिशत, जीवन बिमा ४.१०, निर्जीवन बिमा ४ प्रतिशत, अन्य ३.०१, विकास बैंक २.३२, माइक्रोफाइनान्स १.८० र व्यापार समूह १.७७ प्रतिशतले बढेको छ ।

युनाइट मोदी कारोबारमा पहिलो

साताभरमा धेरै सेयर कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । यस कम्पनीको एक अर्ब ४६ करोड ८९ लाख ८६ हजार ४७० रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकमका आधारमा दोस्रो नम्बरमा नेसनल हाइड्रो र तेस्रो नम्बरमा एनआईसी एशिया बैंक देखिएको छ ।

नेशनल हाइड्रोको सातामा एक अर्ब ४६ करोड ७४ लाख ६८ हजार १८ रुपैयाँको सेयर कारोबार भएको छ भने एनआईसी एसियाको एक अर्ब ३९ करोड ७९ लाख २० हजार १७५ रुपैयाँको सेयर कारोबार भएको छ ।

३० प्रतिशतभन्दा धेरैले मूल्य बढ्यो

यस साता रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले ३० प्रतिशतभन्दा धेरै कमाएका छन् । धेरै कमाउने कम्पनीको सूचीहरुमा पहिलो नम्बरमा देखिएको रिडीको सेयर मूल्यप्रतिकित्ता ५६० रुपैयाँबाट सुरु भएर साताको अन्तिमसम्म यस कम्पनीको सेयर मूल्य ७२९ रुपैयाँ पुगेको छ । सातामा रिडीको ३०.१८ प्रतिशतले सेयर मूल्य बढेको हो ।

दोस्रो नम्बरमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४९४ बाट करिब २७ प्रतिशतले बढेर सातामा ६२७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य धेरै बढेको छ ।



source https://www.onlinekhabar.com/2021/08/992119

कांग्रेसमा १३ निर्वाचन क्षेत्रको विवाद, जसले महाधिवेशन नै अनिश्चित बनायो

१७ साउन, काठमाडौं । पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो ।

तर कांग्रेस क्रियाशील विवादमै अल्झिएको छ । छानविनका लागि छुट्टै समिति बनाएर काम गर्दा पनि १३ वटा निर्वाचन क्षेत्रको विवाद अझै टुंगिएको छैन । सिन्धुपाल्चोक, रसुवा, धनुषा–४, सर्लाही–२, बारा र पर्साको क्रियाशील सदस्यताको विवाद के हो ? किन छानविन समितिले टुंगो लगाउन सकेन त ?

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा समायोजनको विवाद बढी पेचिलो छ । दुई  निर्वाचन क्षेत्र रहेको यो जिल्लामा राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुका लागि १३ सय क्रियाशील सदस्यता फारम उपलब्ध गराइएको थियो । तर केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाले आफू निकट कार्यकर्तालाई क्रियाशील वितरण गरेको भन्दै राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुले उजुरी दिए ।

छानविनका क्रममा दुबैले आफ्नो क्षेत्रमा अर्कोलाई निषेध गर्ने मनसायका साथ क्रियाशील बाँडेको पाइएको छ । ‘उहाँहरुबीच क्षेत्र नै भागण्डा गरेर क्रियाशील सदस्यता वितरण गरेको पाइयो । विकास लामाले क्षेत्र नं. २ र मोहन बस्नेतले क्षेत्र नं. १ मा आफूखुसी सदस्यता वितरण गरे,’ क्रियाशील सदस्यता छानविन समितिका एक सदस्यले भने, ‘दुबैले आफ्नो क्षेत्रमा अर्काे पक्षलाई पूर्णरुपमा निषेध गर्ने र बुथबाटै रोक्ने गरी सदस्यता वितरण गरेको देखिन्छ ।’

सिन्धुपाल्चोकमा समायोजनबाहेक नयाँ र पुरानो गरी करिव १६ हजार क्रियाशील सदस्य छन् ।

रसुवा

रसुवामा नयाँ र पुरानो गरी ३२०० क्रियाशील सदस्य पुगेका छन् । यसमा समायोजनबाट १२०० थपिएका छन् । त्यही थपिएको १२०० क्रियाशीलमा विवाद छ ।

तत्कालीन नयाँ शक्तिबाट कांग्रेस प्रवेश गरेका प्रेम तामाङको समूहलाई समायोजनमार्फत क्रियाशील दिइएको थियो । कांग्रेसले बनाएको मापदण्डअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक बाहेक अन्य दलबाट आएकाहरुको हकमा वडाबाटै सिफारिस हुनुपर्ने मापदण्ड बनाएको थियो । तर रसुवामा नयाँ शक्तिबाट ठूलो संख्यामा वितरण गरिएको क्रियाशील सदस्यताको सूची सिधै जिल्ला सभापतिले इन्ट्री गरेका छन् । ‘वडाबाट सिफारिस नगरी जिल्ला सभापतिले सिधै समायोजनबाट आएकाको क्रियाशील सदस्यता इन्ट्री गरेको भन्दै उजुरी गरेका थिए,’ छानविन समिति सदस्य प्रदीप पौडेल भन्छन्, ‘प्रक्रिया नै नमिलेकाले हामीले शीर्ष नेताहरुलाई नै विवाद मिलाउन सिफारिस गरेका हौं ।’

धनुषा-४

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वमन्त्री महेन्द्र यादवको क्षेत्र हो धनुषा क्षेत्र नं. ४ । यहाँ १३ औं महाधिवेशनकै  क्रियाशील सदस्यताको विवाद छ, नयाँ र समायोजनबाट आएका क्रियाशीलको विवाद थपिएपछि छानविन समितिले सहमति जुटाउन सकेन । क्रियाशील विवादलाई लिएर चन्द्रमोहन पार्टी कार्यालय सानेपामा एक साता आमरण अनसनमा बसेका थिए । माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि उनले बिहीबार आमरण अनसन तोडेका छन् । तर विवाद मिलेको छैन ।

क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसले रमेश लेखकको नेतृत्वमा समिति बनाएको थियो, जसले १५२ निर्वाचन क्षेत्रको विवाद सुल्झाएको छ भने १३ क्षेत्रको विवाद पहिचान गरेको छ । तर निर्णय गर्ने जिम्मा नेतृतवलाई दिएको छ ।

सर्लाही-२

यहाँको क्रियाशील विवाद पनि समायोजनसँग जोडिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता जंगीलाल यादव प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस सभापति विमलेन्द्र निधि संयोजक रहेको समयोजन समितिले ५०० क्रियाशील सदस्यता दिएको थियो । कांग्रेस प्रवेश गरेको भन्दै व्यक्ति पिच्छे ठूलो संख्यामा क्रियाशील सदस्यता वितरण गरेको भन्दै पूर्वजिल्ला सभापति लक्ष्मण रायसहितका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा छन् । रायले भने,‘समायोजनका नाममा तीन हजारभन्दा बढी क्रियाशील सदस्यता प्रक्रिया विपरीत बाँड्ने काम भएको छ ।’

बारा र सप्तरी

क्रियाशील सदस्यता छानविन समितिले बारा र सप्तरीको क्रियाशील सदस्यताको फाइल नै खोलेन । ढिलो गरी सदस्यता इन्ट्री भएको भन्दै समितिले दुई जिल्लाबारे आवश्यक निर्णय गर्ने जिम्मा पार्टी पदाधिकारीलाई सिफारिस गरेको छ । चार/चार वटा निर्वाचन क्षेत्र भएका दुबै जिल्लामा पार्टीको संगठन समायोजनमै विवाद देखिएको छ । छानविन समितिका प्रवक्ता प्रदीप पौडेल भन्छन्, ‘वडा तहमै दुई वटा कमिटी पाइयो । निर्वाचन समितिले आधिकारिता नदिएको वडा कमिटीले क्रियाशील वितरण गरेको पाइयो ।’

बाराका पूर्वसांसद रामअयोध्या यादवसहित नेता कार्यकर्ता तीन सातादेखि पार्टी कार्यालय सानेपाको मूलढोकामा धर्नामा छन् । पूर्वसांसद यादवले भने, ‘वडा सभापतिको हस्ताक्षरबिना नै ४०० प्रतिशतसम्म पनि नयाँ क्रियाशील भरिएको छ ।’

जिल्ला सभापति जयचन्द्र चौरासियाको नेतृत्वमा अर्काे धर्ना पनि सानेपामै जारी छ । प्रक्रियागत रुपमै क्रियाशील सदस्यता वितरण गरिएकाले सबै सदर गर्नुपर्ने यो समूहको माग छ ।

कतिपयले भने फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव र उमाकान्त चौधरीको स्वार्थ केन्द्रीत राजनीतिले बाराको क्रियाशील सदस्यता विवाद यो हदमा पुगेको बएएका छन् ।

शीर्ष नेता छलफलमा

क्रियाशील सदस्यता छानविन समितिले सहमति जुटाउन नसकेका क्षेत्रबारे आवश्यक निर्णय गर्न शीर्ष नेताहरुले सक्रियता देखाएका छन् । बिहीबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जटिल विवाद देखिएका १३ निर्वाचन क्षेत्रको सदस्यता टुंगो लगाउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी तोकेको थियो । पाँच दिनको समय पाएका शीर्ष नेताहरुले शुक्रबारदेखि छलफल सुरु गरेका छन् ।

क्रियाशीलकै कारण महाधिवेशन सार्न खोज्नु गलत

क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसले रमेश लेखकको नेतृत्वमा समिति बनाएको थियो, जसले १५२ निर्वाचन क्षेत्रको विवाद सुल्झाएको छ भने १३ क्षेत्रको विवाद पहिचान गरेको छ । तर निर्णय गर्ने जिम्मा नेतृतवलाई दिएको छ ।

तर भदौ १६–१९ मा तोकिएको महाधिवेशन अनिश्चित बनेको छ, किनकी साउन १२ मा हुने पर्ने वडा र १६ मा हुनुपर्ने गाउँ तथा नगर कमिटीको अधिवेशन हुन सकेन । तर क्रियाशील सदस्यताकै कारण महाधिवेशन अनिश्चित बनेको आरोप गलत भएको दावी गर्छन्, समिति सदस्य श्याम घिमिरे । ‘१३औं महाधिवेशनमा ३५ वटा निर्वाचन क्षेत्रमा विवाद थियो । अहिले त समायोजनबारे पार्टीले आवश्यक निर्णय गर्ने वित्तिकै सिन्धुपाल्चोक र रसुवामा विवाद मिलाउन सकिन्छ,’ उनले भने, ‘विवाद भएको ठाउँमा नयाँको हकमा स्थगन गर्ने वित्तिकै बढी दश वटा निर्वाचन क्षेत्रमा विवाद बाँकी रहला । यस्तो अवस्थामा महाधिवेशन गर्न नसकिने भन्ने हुँदैन ।’

समिति प्रवक्ता पौडेलले पनि विवाद देखिएका निर्वाचन क्षेत्रमा अधिकतम २० हजार क्रियाशील सदस्य महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट बञ्चित हुने बताउँछन्् । ‘अघिल्लो पटक ४ लाख ७० हजार क्रियाशील सदस्य थिए, यसपटक ८ लाख ५२ हजार छन् । उनीहरुमध्ये बढीमा २० हजार क्रियाशील महाधिवेशनबाट बञ्चित हुन्छन्,’ उनले भने, यस्तो अवस्थामा केहि क्षेत्रको विवाद देखाएर महाधिवेशन नै अनिश्चित बनाउनु बहाना मात्रै हो ।’



source https://www.onlinekhabar.com/2021/08/992120

फरेस एल बाखले जिते कतारका लागि पहिलो ओलम्पिक स्वर्ण

१७ साउन, काठमाडौं । कतारका फरेस एल बाखले जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत पुरुष वेइटलिफ्टिङ ९६ केजीमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

उनले कूल ४०२ केजी भार बहन गर्दै ओलम्पिक कीर्तिमान बनाए । एल बाखले स्न्याचतर्फ १७७ केजी भार उठाएका थिए भने क्लिन एण्ड जर्कतर्फ २२५ केजी भार उठाए ।

उनले क्लिन एण्ड जर्ककमा कीर्तिमान बनाएका हुन् ।

एल बाखको स्वर्ण कतारले ओलम्पिकमा जितेको अहिलेसम्मकै पहिलो स्वर्ण हो । यसअघि कतारले रजत र कास्य मात्र जितेको थियो ।

यस इभेन्टमा भेजेजुएलाका जिओभान भालेनिला सान्चेजले कूल ३८७ केजी भार उठाउँदै रजत जिते । उनले स्न्याचमा १७७ र क्लिन एण्ड जर्कमा २१० केजी भार उठाए ।

कांस्य जितेका जर्जियाका एन्टोन प्लेसनोइले पनि स्न्याचमा १७७ र क्लियन एण्ड जर्कमा १७७ केजी भार उठाए ।

 



source https://www.onlinekhabar.com/2021/08/992116

मध्यरातमा लुटिइन्छ कालीगण्डकी

१७ साउन, गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा- बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए ।

यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोल्न खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ ।

सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानकर्मी आरके अदिप्त गिरीसहितका युवा, पत्रकार तथा अधिकारर्मीसहितको टोली कालीगण्डकी दोहनको अवलोकन गर्न कालीगण्डकीमाथिको पुलमा पुगेको थियो । कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसिभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरु परिचालन गरिएको थियो । लाग्छ उनीहरु नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए । राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो । लस्ती बगर, दम्मुवाखोला, कालाखोला बगर, मालढुङ्गाको वारिपारि बगर र जलजलाका अधिकांश स्थनामा रातभर नदी दोहन हुने गरेको छ ।

राज्यले ठेक्का लगाएको समयमा दिउँसै अवैध उत्खनन गर्ने कालीगण्डकी दोहनकर्ताहरु ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालीगण्डकी लुटिरहेका छन् । कालीगण्डकीको छातीमा दोहनकर्ताले रातभर रजाइँ गरेको श्रव्यदृश्यसमेत मध्यरातमा अवलोकनका लागि पुगेको उक्त कालीगण्डकी बचाऊ अभियान टोलीले कैद गरेको छ ।

रातको १२ बजेदेखि २ बजेसम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ, भोलिपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धवलागिरिको साविक सदरमुकाम रहेको बागलुङ बजारबाट कालिका मन्दिरसम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरीसमेत भए पनि उनीहरु मौन बस्ने गरेका छन् ।

कालीगण्डकीलाई लुटेर खान पल्केकाविरुद्ध कालीगण्डकी बचाऊ अभियानको निरन्तर खबरदारी हुने कालीगण्डकी बचाऊ अभियानका मुख्य अभियानकर्मी तथा प्राकृतिक विषयमा पत्रकारिता गर्ने गिरीले बताए । “हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौँ, केही स्थानमा सकरात्मकरूपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन रोक्न सकिएको छैन, प्रहरीले २४सै घण्टा नदी दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले साङ्केतिकरूपमा रातको १ बजे बत्ती बालेर दोहनस्थलमा विरोध जनाएका छौँ”, गिरीले भने, “यसमा बागलुङ, म्याग्दीसहित अन्य जिल्लाका युवा तथा पत्रकारको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ ।”

असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने गण्डकी प्रदेशको कानून भए पनि राज्यसत्ताको मिलेमतोमा मध्यरातमा कालीगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताए ।

नेपालकै पुरानो सभ्यतामध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एक मात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवाज उठ्न थालेको छ । पर्वत प्रहरीले २४सै घण्टा नदी किनारामा प्रहरी खटाइएको दाबी गर्दै आएको छ । प्रहरीले २४सै घण्टा दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाएको र केही मात्रमा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

“म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरूपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै सवारीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौँ, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ”, बुढाथोकीले भने, “हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, राति बत्ती निभाएर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुनसक्छ, यसरी नै नागरिकस्तरबाट दबाब सिर्जना भए कालीगण्डकी बचाउन सम्भव छ ।”

यसैगरी नदीको दोहन भइरहने हो भने कालीगण्डकी सभ्यता र यस वरपर रहेका मठ, मन्दिर र देवालयको अस्तित्व सङ्कटमा पर्ने कालीगण्डकी बचाऔँ अभियानमा सक्रिय रुपेस सापकोटाले बताए ।



source https://www.onlinekhabar.com/2021/08/992107

उदयपुरमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु

१७ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उनले बताए ।

खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण-पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ ।

गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/08/992108

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज ड्रेसलले जिते चौथो स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ ।

आइतबार बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । उनले ब्राजिलका सेलार सेइलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडे । यस इभेन्टमा विश्व कीर्तिमान पनि उनै सेइलोको नाममा रहेको छ । उनले २००९ मा २०.९१ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

फ्रान्सका फ्लोरेन्ट मालाउडे २१.५५ सेकेण्ड समय निकनल्दै रजत जिते भने ब्राजिलका ब्रुनो फाटासले २१.५७ सेकेण्डसहित कास्य जिते ।

टोकियोमा ड्रेसलको यो चौथो स्वर्ण हो । २४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए भने १०० मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका थिए ।

नेक्स्ट माइकल फेल्प्सको रुपमा समेत हेरिएको ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा दुई स्वर्ण जितेका थिए । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिक पछि सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् ।

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।

यस्तै महिला ५० मिटर फ्रिस्टाइलमा अष्ट्रेलियाकी इम्मा म्याककेओनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेकी छन् । उनले २३.८१ सेकेण्ड समयसहित स्वर्ण जितिन् । यस इभेन्टमा सन् २०१७ मा विश्व कीर्तिमान बनाएकी स्वीडेनकी साराह सोएस्ट्रोएमले भने २४.०७ सेकेण्ड समय लगाउँदै रजत जितिन् । डेनमार्ककी पेर्निल ब्लुमले २४.२१ सेकेण्डसहित कांस्य जितिन् ।



source https://www.onlinekhabar.com/2021/08/992094

अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, भिडन्त जारी

१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ ।

अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो ।

आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । तालिबानले ग्रामिण क्षेत्रहरु कब्जा जमाउँदै गएको छ । यद्यपि प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।

दुईपक्षीय भिडन्तका कारण अफगानिस्तानमा गम्भीर मानवीय संकट आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकाको एक संस्था साइगरले अफगानिस्तानको अहिलेको अवस्थामा सुधार नभए सरकारको अस्तित्व संकटमा पर्न सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/08/992100

हेलम्बुमा बाढीपीडित सरोकार समिति गठन

१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् ।

गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश र केन्द्र कुनै पनि सरकारले प्रभावितको समस्या सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।

सो अवसरमा अध्यक्ष थापाले आवश्यक पर्दा समितिले तिनै तहका सरकारसँग समन्वय र संघर्ष गर्ने जानकारी दिए । बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापित गर्दै क्षति भएका पुनःसंरचनालाई उठाउनका लागि सहयोग पुर्याउन सर्वदलीय, सर्वपक्षीय समिति गठन गरिएको थापाको भनाइ छ ।

असार १ को बाढीमा हेलम्बुका ९० घर पूर्ण रुपमा क्षति भएको छ भने सयौँ विस्थापित भएका छन् ।



source https://www.onlinekhabar.com/2021/08/992098

परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो ।

साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनुअघि विद्यार्थीको नि:शुल्क कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए ।

नेविसंघले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि माग गरेको छ ।



source https://www.onlinekhabar.com/2021/08/992093

बार्सिलोना वियजी

१७ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जित हात पारेको छ ।

मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले २१औं, युसुफ डेमिरले ३६औं र रिकार्ड पुइजले ७४औं मिनेटमा गोल गरे ।

यस्तै अर्को जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब नापोलीसँग ३-० ले नै पराजित भएको छ । म्युनिकमा भएको खेलमा नापोलीका लागि भिक्टोर ओसिमहेनले ६९औं र ७१औं मिनेटमा गोल गरे । यस्तै जिनेदिन माचाचले ८५औं मिनेटमा एक गोल थपे ।

रोमा र सेभियाले भने गोलरहित बराबरी खेले ।

इंग्लिस क्लब म्यानचेष्टर सिटीले ब्रान्सलेलाई ४-० ले सहनै हरायो । सिटीका लागि घरेलु मैदामानमा सामुएल एडोजोइ, बेन नाइट, रियाद महारेज र नाथन एकेले एक-एक गोल गरे ।



source https://www.onlinekhabar.com/2021/08/992088

टर्कीमा बढ्दो गर्मीका कारण आगलागी, ७ जनाको मृत्यु

१७ साउन, काठमाडौं । टर्कीमा बढ्दो गर्मीका कारण जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार स्याटेलाइटबाट प्राप्त तस्वीरमा मर्सिन र एन्टालयामा लागेको आगोको धुवाँ १५० किलोमिटर टाढा साइप्रस द्वीपसम्म पुगेको देखिएको छ ।

टर्कीमा गर्मी मौसममा डढेलो लाग्नु सामान्यजस्तै मानिन्छ । तर सरकारी अधिकारीहरुले यसपटकको डढेलो ठूलो क्षेत्रमा फैलिएको बताएका छन् ।

टर्कीको कृषि एवम् वनमन्त्रीले भनेअनुसार हालसम्म आगलागीका ९८ घटना आएका छन् । तीमध्ये ८८ स्थानको आगो नियन्त्रणमा लिइएको छ ।

यस समय टर्कीका दक्षिणी क्षेत्रमा तटीय प्रान्तहरु जस्तै अदाना, उस्मानिया, एन्टाल्या, मर्सिनमा आगो लागेको छ । पश्चिमी तटीय प्रान्त मुगलामा पनि आगो लागेको घटना सार्वजनिक भएको छ ।

टर्कीका मौसमविदका अनुसार भूमध्यसागरीय तटीय क्षेत्रमा तापक्रम औसतमा ४ देखि ६ डिग्री सेल्सियस बढ्न सक्ने अनुमान गरिएको छ ।



source https://www.onlinekhabar.com/2021/08/992084

एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन् ।अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २५७ मतान्तरले पराजित गर्दै पन्त निर्वाचित भएका हुन् । राईले ५७१ मत प्राप्त गरिन्।

एक हजार ५९५ पंजीकृत सदस्यहरूरहेको जर्मनीमा एक हजार ४३३ जनाले अनलाइनमार्फत मतदान गरेका थिए ।

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि शंकर डाँगी ९४३ मत ल्याई विजयी बने । अर्का प्रत्यासी विनोद अधिकारीले ३६९ मत प्राप्त गरेका छन्।

खुल्ला उपाध्यक्षमा लोकमणि ढकाल र मेनका त्रिपाठी, महिला उपाध्यक्षमा करुणा तुलाधर राई, महासचिवमा राजेश सुनार, सचिवमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला निर्वाचित भएका छन् । यस्तै हामवर्गबाट केन्द्रीय सदस्यमा मिरा कार्की र प्रशान्त पोखरेल विजयी भएका छन् ।

यसअघि नै कोषाध्यक्षमा भरतकुमार चलाउने, युवा संयोजकमा, सुदीप सापकोटा, साँस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजक सोनी तुलाचन निर्विरोध बनेका थिए।

एनआरएनए स्पेनको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेपछि एनआरएनए जर्मनीले पनि स्पेनिस कम्पनी साइटल इलेक्सन टेक्नोलोजी एसएल बार्सिलोनालाई जिम्मेवारी दिएको थियो ।



source https://www.onlinekhabar.com/2021/08/992081

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको उनले जानकारी दिए । चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् ।



source https://www.onlinekhabar.com/2021/08/992074

भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

१६ साउन, काठमाडौं । संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

यो पनि पढ्नुहोस एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसे नेपाली नागरिक

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै विद्यार्थी नेताहरुले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग समेत गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/07/991908

कुन औषधि कतिबेला खानु बढी प्रभावकारी ?

हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौ । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ । किनभने हाम्रो शरीरको अंग, अलग–अलग समयमा सक्रिय हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर औषधि सेवन गर्नु बढी प्रभावकारी हुन्छ ।

खासगरी त्यस्तो औषधी, जसलाई एक पटक सेवन गर्नुपर्छ । हालै भएको एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । अतः यहाँ औषधि सेवनको सहि समयबारे दिइएको छ । यद्यपी औषधि सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनैपर्छ ।

उच्च रक्तचापको औषधि

जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । हालै स्पेनमा भएको एक अध्ययनबाट के थाहा भएको छ भने, जसले राती सुत्नुअघि उच्च रक्तचापको औषधि सेवन गर्छ, उनीहरुलाई हृदयघाट वा स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ । शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आर्टरिजलाई आरम मिल्छ । त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औषधि राती सुत्नुअघि सेवन गरिन्छ ।

हाइ क्लेस्टोरको औषधि

कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।

हाटबर्नको औषधि

रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ । यदि एसिड कम गर्ने एचटु औषधि सेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ । यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ ।

आस्टियो आर्थराइटिसको औषधि

यस किसिमको रोगीलाई अलग अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च सोधकर्ताले गरेको अध्ययन अनुसार, आस्टियो आर्थराइटिसमा लिइने औषधि दुख्नुभन्दा छ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यन्हको समय धेरै दुख्छ भने बिहान औषधि सेवन गरौ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यन्हमा औषधि सेवन गर्नुपर्छ ।

एलर्जीको ओषधी

एलर्जीको लागि लिइने एन्टि हिस्टामाइन्स ट्याबलेट्स लिएपछि निन्द्रा लाग्छ । यस्तो अवस्थामा दिउँसुो औषधि सेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ । त्यसैले एलर्जीको औषधि राती नै सेवन गर्नुपर्छ ।

डिप्रेसनको औषधि

डिप्रेसन एवं चिन्ता हटाउने औषधि एन्टि डिप्रेसेन्ट सेवन गरेपनि निन्द्रान लाग्छ । यसकारण यो औषधि पनि राती सुत्नुअघि सेवन गर्नु राम्रो हो ।



source https://www.onlinekhabar.com/2021/07/991906

‘छोरा, मानवीय मूल्य जोगाऊ है !’ 

प्यारो छोरा मिरोभ,

तिमी युगको त्यो सँघारमा जन्मिएका छौ, तिम्रो अगाडि भविष्यको अग्लो पहाड छ र म इतिहासको यो कठघरामा उभिएको छु, मेरोसामु ‘नोस्टाल्जिया’ को गहिरो सागर छ । त्यसैले, तिमीलाई तिम्रो यो जन्मदिनमा उपहार दिन मसँग केही छैन, शिवाय शुभकामनाका केही शब्दहरू !

छोरा, मानव केवल मासुको डल्लो होइन अनि मानव ज्ञानी, विवेकी तथा चेतनशील मात्र पनि छैन । मानव त माया, दया, करुणा, रीस, आवेग, संवेग, घृणा, आक्रोश लगायतको पुञ्ज हो । ‘त्यसो भए मानव के हो त ?’ तिमीले सोधौला । यो आफैंमा दार्शनिक प्रश्न बन्न पुग्छ । ‘मानव कस्तो हुनुपर्छ त ?’ यो फेरि आदर्शवादी प्रश्न हो । मानिस विभिन्न रंग, आकार र स्वरुपका हुन्छन् तर फेरि मानव उस्तै हुन्छन्, सामान्यतः उत्रै हुन्छन् । फेरि मानवले नै मानवलाई भन्छ, ‘यो ज्ञानी छ, विवेकी छ, महान् छ, यो देवता हो ।’ फेरि अर्काेतर्फ फर्किएर भन्छ, ‘यो अपराधी हो, कायर हो, हत्यारा हो, पिपासु हो ।’ यो मान्छेले बनाएको सीमारेखा हो । मानव एउटा चेतनशील जीव हो र प्रकृतिका दृष्टिमा सबै बराबर छन् ।

छोरा, मानव सामान्य प्रकृतिप्रदत्त जीव हो । यसले आफू बाँच्न र अस्तित्वको बोध गर्न समाज बनायो । राज्यव्यवस्था र प्रणाली बनायो । मूल्य र मान्यताको निर्माण गर्‍यो । अनि यसै प्रणाली र मूल्यहरूमा बाँधिन पुग्यो । अहंको निर्माण भयो । त्यही जिजीविषामा यसले जीवनलाई बचाइरहेछ । आफूमा महानता बोधको प्रयासमा क्रियाशील छ । यही समाजले निर्माण गरेका मूल्य र मान्यताको जगमा कोही मानिस महान् भएका छन् भने कोही मूल्यहीन । महान् हुने प्रयासमा मानिसले विभिन्न कार्यहरू गरेको छ । स्रोत र साधनमाथिको हस्तक्षेप अनि स्वामित्वमा एकाधिकार, शक्ति, सत्ताको निर्माण, ज्ञान, सीप, विज्ञान र प्रविधिको निर्माण यसैका परिणाम हुन् ।

छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनू

मानिसले सिक्न चाह्यो र अर्काेभन्दा आफूलाई श्रेष्ठ बनाउने तथा अहम्को विकास गरी त्यसमा आनन्द लिने, नार्सिसस जस्तै आफैंले हेरेर आफैं आनन्दित हुने । इतिहासको कालखण्डमा समाज र राज्य व्यवस्थाले हामीलाई संस्कृतिका रूपमा धेरै राम्रा कुराहरू उपहार दिएको छ । त्यही उपहारले आजको नेपाली समाज विविधतामा एकताले भरिपूर्ण छ । सहयोग, सहकार्य तथा सामाजिक एकता हाम्रा अमूल्य निधि हुन् । आदर्शहरू हाम्रा मूल्य हुन् । त्यसको जगमा हामीले नेपाली संस्कृति निर्माण गर्‍यौं । तर, समयले सधैं राम्रा कुरा मात्र विकास गर्दाे रहेनछ, धेरै खराब कुराहरू संस्कृतिका रूपमा विकसित भएका छन् । त्यसैले, हाम्रो मस्तिष्कमा भएका धेरै फोहोर आउँदो दशकमा हामीले सफा गर्नुपर्नेछ ।

छोरा, तिमीले मलाई सोधेका थियौं, ‘शिक्षा भनेको के हो ? अनि यो समाजमा कसरी उपयोगी बन्न सक्छ ?’ वास्तवमा तिम्रो प्रश्न जति सरल छ, त्यति नै महान् । जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु, जीवनका कठिनतम् क्षण, असफलतामा आफूलाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड्नुलाई सामान्य विषय मान्दै नहडबढाइ उठ्ने र सम्हालिएर फेरि हिंड्न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो । शिक्षा जीवनको मूल्यलाई अधिक बनाउने साधन हो । मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ । सभ्य मानव, समुदाय र समाजको निम्ति उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा । त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन् । सिक्ने र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ । यो निरन्तर प्रक्रिया हो ।

मेरो सामान्य अनुभव, अनुभूति र सुनेअनुसार नेपालमा २०४० सालभन्दा अघि एस.एल.सी.को परीक्षाफलमा उत्तीर्ण हुनेहरूलाई सामान्यतः डिभिजन सोधिंदैनथ्यो । पास र फेल मात्र जनसरोकारको विषय थियो । ४० देखि ५० को दशकमा दोस्रो श्रेणीलाई नै उच्च उपलब्धिका रूपमा हेरिथ्यो । ५० देखि ६० को दशकमा पहिलो श्रेणीलाई उच्च उपलब्धिका रूपमा हेरिन्थ्यो । तेस्रो श्रेणीलाई सामान्यतः कमजोर र दोस्रो श्रेणीलाई मध्यम मानिन्थ्यो । ६० देखि ७० को दशकमा विशिष्ट श्रेणीलाई उच्च उपलब्धिका रूपमा हेरियो । त्यसभन्दा मुनिका श्रेणीलाई कमै महत्व दिइयो र फेल हुनेलाई अत्यन्तै अपमानजनक रूपमा हेर्न थालियो । ७० देखि ८० को दशकमा सबै श्रेणीहरू फिका भए । अंकहरू मूल्यहीन भए । त्यसैले ग्रेडिङ प्रणालीको विकास गरियो । साथै ‘फेल’ भन्ने शब्दले मानवीय मूल्यमा अपमान गरेको बोध गरी फेल हुने प्रणालीलाई हटाइयो । त्यही रूपमा हेर्दा अब ८० देखि ९० को दशक के हुने त ? अझ त्यसभन्दा पछि के हुने ? अहिले प्रश्नहरू अनुत्तरित नै छन् । तर अबको दशकमा अंक, श्रेणी, ग्रेड तथा किताबी ज्ञानहरूको युग सकिने निश्चितप्रायः छ । किनकि अबको दशक भनेको ज्ञानको दशक होइन; विवेक, संवेदना र मानवीय मूल्यको दशक हुने कुरा निर्विवाद छ ।

छोरा, अबको दशक व्यवस्थापनको दशक हुनु अपरिहार्य छ । ज्ञान, सूचना तथा तथ्यांक सबै इन्टरनेटको फराकिलो नेटवर्कमा अनन्तकालसम्मलाई स्टोर भइसकेको छ । अझ आगामी दशकमा प्रविधिले योभन्दा धेरै ठूलो परिवर्तन गर्ने नै छ । यसरी हेर्दा आगामी दशकमा किताबहरू हुने छैनन्, रट्नुपर्ने कुराहरू हुने छैनन्, मात्र जीवन भोग्नुपर्ने छ । त्यसैले शिक्षामा आगामी दशक मानवीय मूल्य, संवेदना र व्यवस्थापनको युग हुनेछ । त्यस बेला शायद पढाइँदैन, बोध गराइन्छ, किनकि मानवीय मूल्य र संवेदना बोध गर्ने कुरा हो । व्यवस्थापनका लागि विवेक चाहिन्छ, पढेर विवेकको अभिवृद्धि हुँदैन । ठूलो मान्छे होइन, असल मान्छे बन्नका लागि उत्प्रेरित गरिन्छ । धेरै ठूला मान्छेहरूले देशलाई बर्बादीको दिशामा लगेको उदाहरण दिइन्छ, ठूला मान्छेहरूले गरेका भ्रष्टाचार, दुराचार, अपराधका कथाहरू सुनाइन्छ । अहिलेको कतिपय शहरिया स्कूलहरूले आफ्नो स्कूलको गुणस्तर राम्रो छ भन्ने देखाउन र परीक्षामा राम्रो नतिजा ल्याउनका लागि लडेको मान्छेलाई उठाउनुपर्छ भन्ने रटाउँछन् । तर बाटामा लडेको मान्छेलाई कसरी उठाउने भनेर सिकाउँदैनन् । परीक्षामा सोही प्रश्न आउँदा पूर्णांक बराबर अंक ल्याएको विद्यार्थी आफ्नो जिन्दगीमा वास्तविक रूपमा लड्दा उठ्नै नसक्ने हुन्छ । त्यस्तो शिक्षाको अर्थ छैन भन्ने कुरा सिकाइनेछ । मान्छेलाई मान्छेको रूपमा चिन्न, श्रमको सम्मान गर्न र विभेद गर्न हुन्न भन्ने बोध गराइनेछ ।

डाक्टर, इन्जिनियर मात्र होइन, यो दुनियाँमा सबै पेशाका मान्छेहरू उत्तिकै आवश्यक छन् । एउटाको अभावमा अर्काेको अस्तित्व संकटपूर्ण हुन्छ । मानवीय मूल्यका दृष्टिमा सबै बराबर छन् । यदि कसैले आफूलाई अरू मान्छेभन्दा विशिष्ट र ठूलो ठान्छ भने त्यो पाखण्डी र अनपढ मान्छे हो भन्ने कुरा सिकाइनेछ । किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ । जीवन अमूल्य छ तर यसलाई मौद्रिक मूल्यमा हिसाब गर्ने, जीवनलाई किनबेच गर्ने र वस्तुका रूपमा बुझ्ने मानव सभ्यताका शत्रुहरू हुन् भन्ने बुझाइनेछ । आँखा चिम्लियो भने संसार अँध्यारो देखिन्छ, त्यसैले आफूले देखेको कुरा मात्र सधैं सत्य हुँदैन । सत्यका विविध आयाम हुन्छन् । सत्यलाई बोध गर्नका लागि संवेदनशील र बहुआयामिक हुनुपर्नेछ । दुःख र सुख अनुभूतिजन्य विषय हुन्, यिनको आकार हुँदैन र यी स्थायी पनि हुँदैनन् । यी त आफूले आफैंलाई बोध गर्न नसक्दाका परिणाम हुन् । आफ्नो खुशीमा संसारको खुशी अन्तरनिहित छ, त्यसैले सधैं खुशी रहनुपर्छ । शक्ति, सत्ता, सम्पत्ति र प्रतिष्ठाले मानिसलाई अन्धो बनाउँछ । तर यी पानीका फोका जस्तै हुन्, जुनसुकै बेला पनि फुट्न सक्छन् । त्यसैले अबको शिक्षाले यसको प्रयोग सही रूपमा सर्वहितमा गर्नुपर्छ भन्ने कुरा सिकाउनेछ ।

अन्त्यमा, छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनू । पैसालाई जीवनको साध्य मान्नेहरू र त्यसको मेसिनमा मान्छे बनाइरहेकाहरू तिखा नङ्ग्रा र दाह्राहरू सहित त्रासदी इतिहास निर्माण गर्ने होडमा हिंडेका छन् । यस यथार्थलाई बोध गर्दै यो अत्यन्तै जटिल, पेचिलो र संगीन लडाइँमा सचेततापूर्वक पाइलाहरू चाल्नु । तिमीलाई मेरोतर्फबाट अनेक–अनेक शुभकामना ।

उही तिम्रो प्यारो बाबा

डिजन



source https://www.onlinekhabar.com/2021/07/991891

सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे ।

‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताए ।

‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो भन्छन् । जनताका ती जायज माग हुन्,’ नेता सिंहले भने ‘सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनुपर्दछ ।’

उनले अगाडि भने, ‘कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नु पर्छ ।’ कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने उनको जोड थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गर्दै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसदमा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ । अब त्यही अनुसारको कदम चाल्नु पर्यो नि । कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’

कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गरेकाहरुलाई सम्मान समेत गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/07/991895

Friday 30 July 2021

तौल कसरी बढाउने ?

यहाँ धेरैलाई तौल घटाउने चिन्ता छ । कसरी तौल नियन्त्रण गर्ने ? उनीहरु अनेक उपाय खोजिरहेका छन् । त्यसो त तौल घटाउने चक्करमा क्लिनिक धाउनेहरु पनि उत्तिकै छन् । छिटो र सजिलो ढंगले तौल घटाउने व्यापार पनि राम्ररी फस्टाउँदैछ ।
तर, चिन्ता तौल घटाउने मात्र होइन, तौल बढाउने पनि छ । कतिपयलाई भने घट्दो तौल वा शरीरको मापदण्डभन्दा कम तौलले चिन्ता बढाएको छ । मान्छेको तौल उसको उचाईबाट निर्धारण गरिन्छ । कति उचाईको मान्छेका लागि कति तौल उपयुक्त हुन्छ भनी निर्धारण गरिएको छ ।

हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो ।

तौल किन बढाउने त ?

स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न । त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ । लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् । तर, कसरी ?

कसरी बढाउने तौल ?

शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

केरा र दुध

केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषक तत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । साथै केरा स्वास्थ्यका लागि लाभदायक पनि छ ।

अब कुरा गरौं दुधको । दुध क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी बलियो बनाउँछ । केरा र दुधलाई एकसाथ सेवन गर्दा मोटोपन बढाउन सहयोग गर्छ । खासगरी ब्रेकफास्टमा केरा र दुधको कम्बिनेसन ठिक हुन्छ । तर, याद राख्नुपर्ने कुरा चाहि, दुध शुद्ध हुनुपर्छ । केरा पनि प्राकृतिक रुपमै पाकेको हुनुपर्छ ।

घिउ र सख्खर

घिउ र सख्खर हरेकजसो घरमा सजिलै प्राप्त हुन्छ । यस दुबैको मिश्रणले पोषक तत्व पैदा हुन्छ, जो शारीरिक स्वस्थ्यका लागि एकदमै लाभदायक हुन्छ । त्यसैले दैनिक शख्खर र घिउ मिलाएर सेवन गर्नुपर्छ, दुब्लोपन कम हुन्छ ।

हरियो मटर

हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

दुध र मह

नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ ।

वर्कआउट

खानपानले मात्र सबै कुरा पर्याप्त हुँदैन । त्यसका लागि नियमित वर्कआउट पनि चाहिन्छ । बिहान चाडै उठेर घुम्न निस्कनुपर्छ । यसले शरीर बलियो हुन्छ । शारीरिक कमजोरी हटाउने यो प्राकृतिक उपाय हो ।

तनावमुक्त रहने

राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।

खाना खाइसकेपछि

दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि तीस मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ ।

दैनिक स्याउको सेवन

दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।



source https://www.onlinekhabar.com/2021/07/991896

तक्मे बुढाको रेसेपी

तक्मे बुढा अर्थात विल्सन विक्रम राई कुनैबेला भाते थिए । भात भनेपछि हुरुक्कै । उनलाई भातमा केही नचाहिने, एउटै पापड भए पुग्ने । पापडसँग फुको भात जतिपनि खाइदिने । उनी सुनाउँछन्, ‘दिनमा पाँच पटकसम्म भात खान्थें ।’ उनी बेलाबखत साथीभाईलाई पनि निम्त्याएर मीठोमसिनो ख्वाउथे । ‘मलाई भेराइटी बनाउन त अल्छी लाग्दैन कि’ विल्सनले थपे, ‘तर, भात भएपछि अरु केही चाहिँदैनथ्यो । स्वादले खाइदिन्थें ।’

उनले साँच्चै स्वादिलो बनाउने परिकार चाहिँ के हो ?

‘पोर्क’ उनले भने ।

‘कसरी बनाउनुहुन्छ ?’, हामीले जान्ने प्रयास ग¥यौं ।

‘पोर्क चाहिँ म घरमा जस्तै नर्मल तरिकाले बनाउँछु’ उनले भने, ‘पाए त्यसमा रायोको साग मिसाउँछु, नभए चाइनिज साग ।’

सुँगुरको मासुको कुरा गर्दागर्दै उनले घुटुक्क थुक निले । अनि थपे– ‘एग करी हुन्छ नि, अण्डाको, त्यो चाहिँ म दामी बनाउँछु ।’

एग करी

 एग करीको विलसन रेसीपी यस्तो छ :

चार जनाका लागि हो भने, पाँचवटा अण्डा ल्याउने । आलु र अण्डा उसिन्ने । चारवटा अण्डालाई तेलमा रातो हुने गरी फ्राइ गर्ने ।  बाँकी रहेको एउटा अण्डालाई मसिनो गरी टुक्राउने । आलुलाई पनि टुक्रा गर्ने ।

तेलमा प्याज फुराउने । प्याज रातो भएपछि त्यसमा अदुवा र लसुनको पेस्ट हाल्ने । अब मगमग बास्ना आउन थाल्छ । त्यसपछि थोरै धनियाको धुलो, बेसार हाल्ने ।    आलु र टुक्रा गरेको अण्डा हालेर राम्ररी फ्राइ गर्ने । त्यसपछि ठिक्क पानी हालेर भकभक उमाल्ने । झोल उम्लिन थालेपछि चारवटा अण्डा पनि त्यसैमा मिसाइदिने ।

‘यसरी बनाइएको एग करीमा अण्डाको फ्लेबर हुन्छ, अरुमा जस्तो आलुको मात्रा बढी हुँदैन’, उनले भने ।

विल्सनलाई खानेकुरा बनाएको हेर्न खुब चाख लाग्छ । उनी यात्रा र खानासम्बन्धी च्यानल ‘टीएलसी’ हेर्छन् । देश विदेश चाहर्दा स्ट्रिट फुडमा चोर आँखा दौडाउँछन् ।

विल्सनले बैंकक भ्रमणमा यसरी नै माछाको परिकार बनाउन सिके । काठमाडौं फर्केपछि त्यसलाई प्रयोग गरे । उनको भाषामा ‘भयानक मीठो’ भयो ।

फिस बोयल

माछा पकाउने उनको रेसीपी यस्तो छ :

अलि ठूलो माछा ल्याउने । त्यसलाई मःम पकाउने भाँडोमा बफ्याउने । बफ्याउनुअघि भाँडाको पानीमा अदुवा सहित लसुन र प्याजको पातलाई मसिनो हुनेगरी काटेर हाल्ने । त्यसमा नुन राख्ने । अनि माछा बफ्याउने ।  यसरी बफ्याइएको माछामा त्यससँगै तयार गरिएको रस हालेर सेवन गर्न सकिन्छ ।

‘मेरो सानो भाञ्जा छ कि, उसले त मेरो यो रेसीपी खुब मन पराएको छ’ विल्सनले भने ।

दाल चिकेन करी बनाउन पनी उनी सिपालु रहेछन् ।

‘भान्सामा नयाँ परिकार तयार गर्न मलाई कम्ता जाँगर चल्दैन’ विल्सनले थपे, ‘भाँडा माझ्न मात्र हो, अल्छी लाग्ने ।’

केदार घिमिरे (माग्ने बुढा) , रोज मोक्तान र विल्सन युरोप गएको बेला अपार्टमेन्ट लिएर बसेका थिए । त्यहाँ अस्थायी रुपमा अपार्टमेन्ट लिएर बस्न पाउने व्यवस्था रहेछ, जो सस्तो र सजिलो हुने उनको भोगाइ छ । अपार्टमेन्टमा आफै खाना पकाउनुपर्ने । हरेक छाक पकाउने जिम्मा, विल्सनकै ।

केदार घिमिरे भन्थे रे, ‘बरु म भाँडा माझ्छु, पकाउने जिम्मा चाहिँ विलसनको ।’



source https://www.onlinekhabar.com/2021/07/991883

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ ।

त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक इतिहासमै एकै संस्करणमा १७औं स्वर्ण जितेको हो ।

जापानले यसअघि सन् १९६४ मा आफैं आयोजक हुँदा २००४ को एथेन्स ओलम्पिकमा समान १६ स्वर्ण जितेको थियो ।

घरेलु भूमिमा भइरहेको ३२औं गृष्मकालिन ओलम्पिकमा जापानले अहिलेसम्म जुडोबाट ९ स्वर्ण जितिसकेको छ । यस्तै पौडीबाट युई ओहासीले एक्लै दुई स्वर्ण जितिन् ।

पहिलो पटक ओलम्पिकमा समावेश स्केटबाेर्डिङमा जापानले दुई स्वर्ण जित्दा मोमीजी निसिया ओलम्पिकमा स्वर्ण जित्ने जापानको सबैभन्दा कान्छी खेलाडी बनिन् ।

यस्तै जापानले टेबल टेनिस मिक्स्ड डबल्स र पुरुष फेन्सिङमा पनि स्वर्ण जितेकाे छ ।

जापानले आठाैं दिनसम्म आइपुग्दा ४ रजत र ७ कास्य समेत जितेकाे छ । अझै ९ दिनकाे खेल बाँकी रहेकाले जापानले पदक थप्ने सम्भावना धेरै छ ।

जापान १७ स्वर्णसहित दाेस्राे स्थानमा छ । १९ स्वर्ण जितेकाे चीन शीर्ष स्थानमा छ ।

जापानले एथेन्समा १६ स्वर्ण जित्दा २८ खेलकाे ३०१ इभेन्ट समावेश थियाे । यसपटक ३३ खेलकाे ३३९ इभेन्ट समावेश छ ।



source https://www.onlinekhabar.com/2021/07/991887

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीपलामा तामाङ र बारा फेटा गाउँपालिका ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई पक्राउ गरेको हो । अभियुक्तहरुले लुटपाटपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

घटनामा संलग्न भारत बिहारको पूर्वी चम्पारण जिल्ला मोतीहारी घर भई हाल वीरगञ्ज– १६ नगवा बस्ने रवि सर्राफ फरार छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज आएका थिए । साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।

बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे । त्यहाँ उनीहरुले मादकपदार्थ सेवन गरे । साउन १४ गते बिहीबार बिहान १ः३० बजे काठमाडौंबाट आएका दुईजनालाई छोडेर ज्ञानुलाई थप बियर किन्ने बहाना गरी बाहिर लगे । रामटोलकै एकान्त ठाउँको खाली जग्गामा ज्ञानुको घाँटीमा लक लगाइ हत्या गरे । त्यसपछि उनीहरुले सुनको सिक्री, सुनको औंठी, घडी र नगद १० हजार रुपैयाँ लुटे । लुटपाटपछि लुटेको समान सहित रवी भागे । बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।

केही समयपछि भ्यानमा प्रहरीको अर्को टोली समेत आइपुग्यो । खोजतलासको क्रममा रामटोलको खाली जग्गामा एक युवक लडेको देखियो । उनीहरुले त्यही नै आफ्नो साथी भएको बताएपछि उनलाई नारायणी अस्पताल लगियो । अस्पतालले मृत घोषित गर्यो । मृतकको औंलामा औंठी निकालेको घाउ देखेपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लियो । जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान गर्दा उनीहरुले घटनाबारे जानकारी दिएका थिए । प्रहरीले दीपलामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा समेत बरामद भएको जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले ज्ञानुसँग भएको नगद र सुनका गहना लुटेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल बताउँछन् ।

‘फरार अभियुक्त रवी पहिले पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । उनीहरुले योजनाबद्ध ढंगले कुहिनाले घाँटीमा लक लगाएर ज्ञानुको हत्या गरेको पाइएको छ,’ उनले भने, ‘ज्ञानुसँग धेरै पैसा छ भन्ने भ्रममा उनीहरु रहेछन्, तर सुनको सिक्री, नगद गरेर २ लाख बराबरको मात्रै समान फेला पारेको देखिन्छ ।’



source https://www.onlinekhabar.com/2021/07/991882

डब्ल्युएचओको चेतावनी : अब डेल्टाले मृत्युको जोखिम बढाउन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वभर अनियन्त्रित रुपमा बढिरहेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेको छ । उसले सबै मुलुकलाई चेतावनी दिदै भनेको छ, यदि खोप अभियान तिब्र रुपमा पुरा गरिएन भने डेल्टा समेत कोरोनाको नयाँ भेरियन्टले वर्तमान धेरैको ज्यान लिनसक्छ ।

डब्ल्युएचओका इमर्जेन्सी डाइरेक्टर माइकल रेयानले भनेका छन्, ‘डेल्टा भेरियन्ट हाम्रो लागि ठूलो चुनौती भएको छ । यसलाई हराउनका लागि हामीले चाडो भन्दा चाडो पहल गर्नुपर्नेछ । खोप अभियानलाई अरु तिब्र बनाउनुपर्नेछ ।’

डेल्टा भेरियन्टको खतरनाक परिणामलाई मूल्यांकन गर्दै डब्ल्युएचओले यसलाई तत्काल रोक्न नसके ठूलो क्षति हुने चेतावनी दिएको हो ।

तिब्र रुपमा फैलिइरहेको डेल्टा भेरियन्ट अहिलेसम्म एक सय ३२ मुलुकमा फैलिइसकेको छ । डब्ल्युएचओले सेप्टेम्बरको अन्तिमसम्म सबै देशसँग अपिल गरेका छन्, कम्तीमा आफ्नो मुलुकको कुल जनसंख्याको १० प्रतिशतलाई खोपको पुरा डोज लगाउनु पर्नेछ । र, सालको अन्त्यसम्ममा कुल जनसंख्याको ४० प्रतिशतलाई पूर्ण खोप लगाइसक्नु जरुरी छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधनोम घ्रेबेसिसले भनेका छन्, अहिलेसम्म चार भेरियन्टको चिन्ता छ । जबसम्म कोरोना फैलिइरहन्छ यसको नयाँ नयाँ भेरियन्ट पनि आउने जोखिम छ । उनले भनेका छन् पछिल्लो चार हप्तामा औसत ८) प्रतिशतको दरले संक्रमण बढिरहेका छन् ।

विश्वभर कोरोना भाइरस महामारी संक्रमितको संख्या बढेर १९ दशमलव ६६ करोड पुगेको छ । यसबाट अहिलेसम्म ४१ दशमलव ९९ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा सबैभन्दा बढी कोरोनाको कहर अमेरिकामा देखिएको छ । अहिलेसम्म त्यहाँ ३ दशमलव ४७ करोड भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् र ६ लाख बढीको मृत्यु भएको छ ।



source https://www.onlinekhabar.com/2021/07/991875

प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी

१६ साउन, डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।

प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते पनि एक÷एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेको प्रहरीले जानकारी दिएको छ ।

श्रोतकाअनुसार सक्कली परीक्षार्थीसँग न्युनतम एक लाखदेखि दुर्इ लाख रुपैयाँसम्म लिएर उनीहरु नक्कली परीक्षार्थी भई अन्तरवार्ता दिन गएका हुन् । अन्तरवार्ता दिने क्रममा उनीहरुमाथि शंका लागेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नक्कली परीक्षार्थी र रकम दिई अन्तरवार्तामा आफ्नो सट्टा अरुलाई पठाउने दुवैमाथि किर्ते गरेको आरोपमा आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तरवार्तामा समेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।

तालिम केन्द्र दिपायलले शारीरिक प्रतिस्पर्धा र लिखितमा उत्तीर्ण भएका परीक्षार्थीहरुको साउन ७ गतेदेखि अन्तरवार्ता लिन सुरु गरेको छ । उक्त अन्तरवार्ता आइतवारसम्म चल्ने छ ।



source https://www.onlinekhabar.com/2021/07/991862

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More