Wednesday, 28 July 2021

ऐश-आरम र सुविधाभोगी जीवनशैलीले बनाउँदैछ रोगी

हामीलाई ऐश आरम चाहिन्छ । सुविधा चाहिन्छ । हिँड्ने, काम गर्ने बानी हराउँदै गएको छ । हाम्रो खाने, बस्ने, हिँड्ने सबै कुरा अव्यवस्थित हुँदै गएको छ । यसले क्षणिक रुपमा त सुख दिएको छ, तर दीर्घकालका लागि रोग ।

गाडी, मोटरसाइकल चढ्नेहरु अहिले कम्मर दुखाईबाट ग्रसित हुन थालेका छन् । किनभने उनीहरुले बाइकराइडिङमा, गाडी ड्राइभिङमा जुन पोजिसन लिन्छ, त्यो एकदमै गलत छ । त्यस किसिमको पोजिसनमा लामो समय बस्नु नै समस्याको जड हो ।

गाडीमा, बाइकमा बस्ने सहि आसन छ । खासमा मेरुदण्डलाई सिधा पारेर सिटमा सहज रुपमा बस्नु राम्रो हो । त्यसो भन्दैमा झुक्नु हुँदैन भन्ने होइन । झुक्ने, घोप्टो पर्ने सबै सहि आसनमा गर्नुपर्छ ।

हामी कार्यलयमा पनि लामो समय एउटै कुर्सीमा बस्छौ, एउटै पोजिसनमा । त्यसरी बस्दा हाम्रो मेरुदण्ड लगायत शरीरका भित्री अंगहरुलाई समेत असर पुगिरहेको हुन्छ । झट्ट त्यसको प्रतिक्रिया नदेखिने भएकाले हामीले आफ्नो पोजिसन बदल्दैनौ । तर, समयक्रममा त्यो पोजिसनले हामीलाई समस्या आउन थाल्छ ।

अहिले हाइ हिल लगाउने चलन व्यापक छ । फर्मल वेयरमा हाइ हिल अनिवार्य जस्तै भएको छ । यसले पनि ब्याक पेनको समस्या चाडै निम्त्याउने गरेको छ । अक्सर अहिले धेरैले ल्यापटपमा काम गर्छन् । ल्यापटपमै फिल्म हेर्ने, फोटो, भिडियो हेर्ने, फेसबुक चलाउने गरिन्छ । काखमा ल्यापटप राखेर एउटै पोजिसनमा घन्टौ बस्दा ढाँड, गर्दन दुख्छ । ्

बस्नु, हामीलाई एकदमै सामान्य जस्तो लाग्छ । तर, बस्ने सहि आसन छ । अक्सर बस्दा हामी कतै झुकेर, लत्रेर, मोडिएर बस्छौ ।

तर, बस्ता मेरुदण्डलाई एकदम सिधा राखेर बस्नुपर्छ । यसले गर्दा हाम्रो शरीर भित्रको कार्यसंचालन राम्ररी हुन पाउँछ । मुटु, मृगौला, पाचनयन्त्र, फोक्सो सबैले सहज रुपमा काम गर्न पाउँछ । मांशपेसीमा असर पर्दैन । रक्त प्रवाह राम्ररी हुन पाउँछ । यसले गर्दा हामीलाई कुनै समस्या आउँदैन ।

तर, हामी अधिकांश नेपाली अर्थात ९० प्रतिशतलाई बस्न नै आउँदैन । चाहे कार्यलयको कुर्सीमा होस्, चाहे गाडीमा, चाहे बाइकमा । सहि ढंगले बस्न आउँदैन ।

आर्मी एवं फौजमा भएका मान्छेहरु सिधा पोजिसन उभिन्छन् । पहिले यसको कारण थाहा थिएन । खासमा त्यस किसिमको पोजिसनमा उभिनु, बस्नु स्वस्थ्यमैत्री शैली रहेछ ।

हाम्रो सुत्ने पोजिसन पनि ठीक छैन । सुत्दा कसरी सुत्ने भन्ने सहि पोजिसन छ । त्यस्तो पोजिसनमा सुत्दा रक्त प्रवाह, श्वासप्रश्वास, पाचन प्रक्रियामा असर गर्दैन । तर, हामीलाई सुताइको त्यो ढंग थाहा छैन ।

हामी कार्यलयमा बसेर काम गर्दा घण्टौ एकै आसनमा बस्छौं, जसले शारीरिक जटिलता ल्याउँछ । कामको धुनमा आफु कुन अवस्थामा बसिएको छ भन्ने हेक्का राखिदैन । यहि भूलले पछि समस्या निम्त्याउँछ । जब समस्या आइसक्छ, त्यसबेला सुधार गर्न निकै समय लाग्छ । उपचारमा समय लाग्छ, पैसा लाग्छ ।

तपाईं जहाँसुकै बसेर काम गर्नुहुन्छ, एउटै पोजिसनमा घन्टौ नबस्नुहोस् । बढीमा एक घण्टामा पोजिसन परिवर्तन गर्नुहोस् । यताउता टहल्नुहोस् । आनन्द महसुष गर्नुहोस् । सहज ढंगले काम गर्नुहोस् । यस क्रममा गहिरो सास लिने र छाड्ने उपक्रम दोहो¥याइरहनुहोस् । पानी पर्याप्त पिउनुहोस् । पानी पिएपछि पिसाब फेर्नका लागि पनि उठिन्छ ।

। भ्रम के छ भने, काम गर्नु वा शारीरिक काम गरेपछि व्यायामको आवश्यक हुँदैन । त्यही व्यायाम हो । यो गलत धारणा हो ।

काम गर्दा हाम्रो शरीरको सबै अंगको सन्तुलित रुपमा व्यायाम हुँदैन । एकातिर बढी दबाव हुन्छ । तनाव हुन्छ । त्यसैले काम गर्दा शरीरले पाउनुपर्ने व्यायाम पाउँदैन ।

व्यायाम त्यो व्यवस्थित कर्म हो, जसले शरीरका अंग–प्रत्यंगलाई सहि रुपमा संचालन गराउँछ ।

नसा च्यापिने, हड्डी खिइने, गर्दन अर्ररो हुने, ढाँड दुख्ने समस्याको जड हाम्रो खराब जीवनशैली हो । हाम्रो खराब बसाई, सुताई, काम गराई हो । त्यसैले यसको प्राकृतिक समाधान भनेको जीवनशैली परिवर्तन नै हो । तपाई रोग बोकेर अस्पताल धाउनुहुन्छ, तर जीवनशैली परिवर्तन गर्नुहुन्न भने अस्पताल धाउने क्रम निरन्तर जारी रहन्छ । त्यो कहिल्यै टुंगिदैन ।

त्यसैले कसरी सुत्ने, कसरी बस्ने, कसरी काम गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । घोप्टो नपर्नुहोस्, नझुक्नुहोस्, नखुम्चिनुहोस् भन्न मिल्दैन । तर, कसरी घोप्टो पर्ने, कसरी झुक्ने भन्ने कुरा जान्नुपर्छ ।

१. बस्दाँ सधै सिधा ढाँड बनाएर बस्नुहोस् ।

२. कुर्सी, गाडीको सिट वा कतैपनि बस्दा हिप र घुँडाको पछाडिको भाग कुर्सीमा मिलेको हुनुपर्छ ।

३. एकै ठाउँमा लामो समय नबसौ । बेलाबखत बिश्राम लिने, यताउता गर्ने । शरीरलाई चलाउने ।

४. गाडी कुदाउँदा धेरै झुकेर होइन, सिटमा सिधा बसेर कुदाउने । बाइक कुदाउँदा पनि मेरुदण्डलाई खुम्चन नदिने ।

५. सुत्दा घोप्टिने, बाँया कोल्टो परेर सुत्ने, कुप्रो परेर सुत्ने पोजिसन सहि होइन ।

६. उपरखुट्टी लगाएर बस्नु पनि स्वास्थ्यका लागि घातक हुनसक्छ ।

अहिलेका मान्छेको जीवनशैली मात्र होइन, रोगको प्रकृति पनि बद्लिएको छ । यी रोग विगतमा थिएन । वा हाम्रा पिता–पूर्खालाई नलागेको रोगले हामीलाई गाँजिरहेको छ ।

यसलाई म ‘आधुनिक रोग’ भन्छु । आधुनिकताले निम्त्याएको रोग । सुविधाभोगी भएकाले पैदा भएको रोग ।



source https://www.onlinekhabar.com/2021/07/990966

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More