१६ साउन, काठमाडौं । कुमार महाराज पुराना वाद्यवादक हुन् । ५७ वर्षीय उनले वर्षौंदेखि ढोलक, तबला, मादल बजाइरहेका छन् ।
उनले स्वरसम्राट नारायणगोपालको गीतमा पनि वाद्ययन्त्र बजाएका छन् । नारायणगोपालको ‘मन्दिरमा छ कि मूर्तिमा माया’ बोलको गीतमा वाद्ययन्त्र बजाउँदाको किस्सा रोमाञ्चक हुँदै सुनाउँछन् । शम्भुजित बास्कोटाको संगीत रहेको सो गीतमा कुमारले शुरूआतमा तबला, ढोलक बजाएका थिए । त्यसपछि नारायणगोपालले भनेछन्, ‘बाबु, यो नेपाली गीत हो । नेपाली गीतमा तबला, ढोलक मात्रै बजाएर हुँदैन । यो हाम्रो सांस्कृतिक बाजा पनि होइन । यसमा त मादल हुनुपर्छ ।’
अर्को दिन नारायणगोपाल गीत रेकर्डिङ गर्न स्टुडियो पुग्दा कुमारले ‘ट्रयाक’मा मादलको धुन राखिदिएका रहेछन् । कुमार सुनाउँछन्, ‘मादलको धुन सुनेर उहाँ खुशी हुनुभयो । अनि गीत गाउनुभयो ।’
त्यसयता कुमारको दैनिकी स्टुडियो दौडधुपमा बित्न थाल्यो । कहिले चलचित्रका गीतमा, कहिले आधुनिक त कहिले लोकदोहोरीका गीतमा उनले ढोलक, तबला वा मादलको धुन भरिरहे । समय यस्तो थियो, एकैदिन ८–१० वटा गीतमा वाद्ययन्त्र बजाउनुपर्थ्यो । हालसम्म कति गीतमा बाजा बजाए होलान् ? कुमार भन्छन्, ‘२०–२५ हजार पुग्यो होला ।’ अहिले पनि कुमार उत्तिकै सक्रिय छन् ।
हिजोआज पनि स्टुडियोमा बाजा बजाएरै दिन वितिरहेको छ । ‘भगवानको कृपा भनौं, अहिलेसम्म काम गरिरहेको छु । सम्झिएर बाजा बजाउन बोलाउनुहुन्छ’ कुमारले भने । कमाइ पनि राम्रै हुने गरेको उनले बताए ।
खासमा उनी गायक बन्न चाहन्थे । तर, मन्दिरमा भजन गाउँदा अग्रजहरूले उनलाई ‘तबला बजाइदेऊ’ भन्थे । उनी विस्तारै तबला बजाउन पोख्त हुँदै गए । ‘त्यसपछि गाउनेभन्दा बजाउनेतिर चासो हुन थाल्यो । अनि यतै लागियो’ उनी सुनाउँछन्, ‘रेकर्डिङ स्टुडियोमा बाजा बजाउन थालेकै ३८ वर्ष पुगेछ ।’
****
हेमन्त कान्छा रसाइली त्यति परिचित नाम होइन । मात्र उनी सारंगी वादक हुन् । एउटा गीतमा सारंगीको धुन भरिदिए बापत १५ सयदेखि २ हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्छन् । र, एकदिनमा औसत पाँच वटासम्म गीतका लागि सारंगी बजाउँछन् । यस हिसाबले उनको दैनिक आर्जन, लगभग ८ हजार पुग्छ ।
वाद्यवादकहरू गुमनाम छन् । गुमनाम नै सही, मालामाल छन् । संगीतकर्मबाट उनीहरूले जुन आर्जन गर्छन्, त्यसले उनीहरूमा सरस्वती मात्र होइन लक्ष्मी पनि दाहिना भएको संकेत गर्छ ।
हेमन्त मात्र होइन, बाँसुरी फुक्नेदेखि तबला ठोक्नेसम्मको अवस्था यही छ । उनीहरू वाद्ययन्त्र बजाएर गुजारा मात्र चलाइरहेका छैनन्, लोभलाग्दो जीवन पनि बाँचिरहेका छन् । यो त्यस्तै वाद्यवादकहरूको कथा हो, जसले वाद्यवादनबाट जीवनलाई सुमधुर बनाइरहेका छन् । उनीहरूले एउटा वाद्ययन्त्र बजाए बापत हजारको अंकमा पारिश्रमिक बुझ्छन् । दिनमै आधा दर्जन गीतका लागि बाजा बजाइदिन्छन् ।
हेमन्त कान्छा रसाइली गायक बन्न चाहन्थे । उनले आफ्नो आवाजमा गीत रेकर्ड पनि गराए, काँचो सुन्तला । यो दुई दशक अघिको कुरा हो । यसपछि उनले अविच्छिन्न केही अल्बम सार्वजनिक गरे, ‘कहिले तिम्रो बन्न सकिन’, ‘म्याग्दी तिरैमा’ लगायत ।
तर, गायकीबाट उनले उँभो लाग्ने छाँट देखेनन् । विपन्न परिवार । आर्थिक बोझले थाप्लो बोझिलो बनाएकै थियो । उनले सोचे, अब जापान जानुपर्ला । यसका लागि आवश्यक तारतम्य मिलाए ।
संयोग भनौं, सोही बखत राकेश सोनीले हेमन्तलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा बोलाए र गीतका लागि सारंगी बजाइदिन भने । उनी सारंगी त गज्जबले बजाइदिन्थे । त्यसदिन उनले अरू कसैको गीतमा सारंगीको धुन मिसाइदिए । यसबापत उनलाई पकेट खर्च मिल्यो, १०० रुपैयाँ ।
यही मोडबाट उनले जीवनमा नसोचेको यात्रा तय गरे । गायकीबाट थाकेका, जापान जान खुट्टा उचालेका हेमन्त कान्छा रसाइलीको दिन–दैनिकी अब रेकर्डिङ स्टुडियोको फन्को लगाउँदैमा बित्न थाल्यो । उनलाई गीतमा सारंगीको धुन भर्नका लागि निम्तोको ओइरो लाग्न थाल्यो । यो क्रम आजको दिनसम्म पनि जारी छ । औंला भाँचेर हिसाब गर्दा उनले दशौं हजार गीतमा सारंगी रेटिसकेका रहेछन् । उनी सुनाउँछन्, ‘प्रसाद चलचित्रको लैलै, सेल्फी किंग चलचित्रको जिन्दगीको के छ र भर, दर्पण छायाँ–२ लगायत धेरै चलचित्रका गीतमा सारंगी बजाएको छु ।’
उनले माधवप्रसाद घिमिरेको मृत्युपछि सार्वजनिक ‘यसरी होस् मरण’मा सारंगी बजाए । प्रकाश सपूतको ‘मेरो पनि हैन र यो देश’मा बजाए । शिशिर योगी, रामकृष्ण ढकाल, राजेशपायल राई, नारायण रायमाझी, पशुपति शर्मा, खेम सेञ्चुरीका स्वरमा उनले सारंगीको धुन भरे ।
उनीसँग एकैदिन ३४ वटा गीतमा सारंगी बजाएको अनुभव छ । सामान्य अवस्थामा दिनमा पाँच वटा बढी गीतमा सारंगी बजाउने उनकोे दैनिकी बनेको छ । यसरी हेर्दा उनको महीनामा न्यूनतम डेढ लाख रुपैयाँ बढी आम्दानी हुने गरेको छ । उनी आफ्नो वाद्यवादन यात्रालाई लिएर अहिले निकै खुशी छन् ।
‘कैयौं सारंगी बजाउनेहरू हुनुहुन्छ । त्यसमा धेरै कलाकारसँग सहकार्य गरेर यसरी काम गर्न पाउनु निकै सौभाग्य हो’ उनी हर्षित हुँदै सुनाउँछन्, ‘जापान जान मिलेको भए पनि मैले धेरै गल्ती गरेको हुने रहेछु । धन्न गएनछु जस्तो लाग्छ ।’
****
गोपालदेव घतानी पनि पुराना बाँसुरीवादक हुन् । ४१ वर्षीय उनी विगत दुई दशक भन्दा लामो समयदेखि नेपाली गीतमा बाँसुरीको धुनले श्रोता–दर्शकको मन जित्दै आएका छन् । गोपालदेव म्युजिक सिक्ने भन्दै १४ वर्षको उमेरमा काठमाडौं आएका थिए । उनले रेडियो नेपालका संगीतकार एवं बाँसुरीवादक सुशील विश्वकर्मा लगायतसँग बासुँरीवादन सिकेका थिए ।
उनलाई बाँसुरीवादनमा लागेर भविष्य बन्ला भन्ने थिएन । उनी सुनाउँछन्, ‘पछि गएर कमाउँला भन्ने केही थिएन । केवल बाँसुरी बजाउन सिक्नु थियो । त्यसमा पोख्न बनुँ भन्ने थियो ।’ केही सीमित स्टुडियोहरू थिए । म्युजिक नेपालका एरेन्जर गणेश परियारले शुरुआतमा अवसर दिएको गोपालदेव सुनाउँछन् । विस्तारै कार्यक्रमहरूमा पनि बाँसुरी बजाउन थाले । स्टुडियोहरू थपिंदै गए । लोकदोहोरी गीतको लहर ह्वात्तै बढ्यो । ‘त्यो समयमा एकैदिन २०–२५ वटा गीतमा काम हुन्थ्यो’ त्यो समयको व्यस्तता सम्झन्छन् ।
त्यसयता हालसम्म कति गीतमा बाँसुरी बजाए–बजाए । संख्या गनेर भन्न नसक्ने उनी बताउँछन् । गीतका नामहरू पनि ठ्याक्कै सम्झन नसक्ने उनले बताए । ‘हजारौं गीतमा काम गरें’ सम्झने प्रयास गर्दै उनले भने, ‘पुरानो हुँदैन माया, यश कुमार, शिव परियार, सत्यराज–स्वरुपराज आचार्य, राजु लामाका गीतहरू, लोकदोहोरी धेरै गीतहरूमा काम गरेको छु ।’
उनी चलचित्रका गीतहरू बारे पनि भन्छन्, ‘बसन्त सापकोटा, शम्भुजित बास्कोटा, राजनराज शिवाकोटीको संगीत रहेका धेरै गीतमा काम गरेको छु । सागर सरी, सिम्पल सिम्पल कान्छीको लगायतका गीतहरू सम्झिन्छु ।’
हिजोआज पनि उनको दैनिकी रेकर्डिङ स्टुडियोमै बित्ने गरेको छ । हिजोआज दैनिक चार–पाँच वटासम्म गीतमा बाँसुरी बजाउने गरेको बताए । एउटा गीतमा १ हजारदेखि १५०० आम्दानी हुने गरेको छ । हिजोआज महीनामा झण्डै १ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए ।
****
खड्ग बुढा मगर (५८) मादलवादकका रूपमा ३३ वर्षदेखि सक्रिय छन् । उनको परिचय मादल वादक मात्र भने होइन । दुई सय बढी गीतमा स्वर दिएका उनी राष्ट्रिय नाचघरका जागिरे समेत हुन् । उनले हालसम्म आउँदा २० हजार बढी गीतमा मादल बजाएका छन् ।
‘लमजुङ तुर्लुङकोट, भन्नु नभाको, फूलमा भमरा, जापान टोकियो, सुनपानीले छर्क मायालु, सान्नानीले झुक्यायो मलाई, नेपथ्य ब्याण्डका अधिकांश गीतहरू, सालको पानी माछीले खानी’ लगायत गीतमा मादल बजाएका छन् । त्यस्तै थुप्रै चलचित्र ‘बन्धकी’देखि ‘क्याप्टेन’ चलचित्रको गीत, सालैजो, थारु, टप्पा लगायत गीतहरूमा समेत उनको मादलको धुन सुन्न सकिन्छ ।
हिजोआज पनि खड्ग उत्तिकै सक्रिय छन् । एकपछि अर्को स्टुडियोमा पुगेर गीतका लागि मादल बजाइरहन्छन् । अहिले पनि दिनमा पाँच वटासम्म गीतमा मादल बजाउने गरेको खड्ग बताउँछन् । एउटा गीतमा मादल बजाएको एक हजारदेखि दुई हजारसम्म पारिश्रमिक हुने गरेको छ । मासिक झण्डै एक लाख कमाइ हुने उनी बताउँछन् ।
पर्दापछाडिका हिरो
गीतमा वाद्यवादकको भूमिका अपरिहार्य हुन्छ । वाद्यवादकहरू एक हिसाबले पर्दापछाडिका हिरो मानिन्छ ।
गीत–संगीतमा वाद्यवादकको भूमिका अपरिहार्य भए पनि उनीहरूको चर्चा कमै सुनिन्छ । उनीहरू कहिल्यै लाइमलाइटमा आएको पाइँदैन । उनीहरू सधैं पर्दापछाडि रमाउँदै गीतलाई कर्णप्रिय बनाउन लागिपर्छन् ।
उनीहरूलाई चर्चाको लोभ त्यस्तो देखिंदैन । आफूहरू सधैं साधनामा तल्लीन हुने भएकाले चर्चाको लोभ नै खासै नहुने वाद्यवादकहरू बताउँछन् । बाँसुरीवादक घतानी भन्छन्, ‘संगीतमा साधना प्राप्त गर्न सकूँ, राम्रो संगीत बनाउन सकूँ भन्ने बढी आकांक्षा हुन्छ । नाम आइदेओस् भन्ने त्यति धेरै लोभ हुँदैन ।’
उनी वाद्यवादनमा साधना एकदमै आवश्यक रहेको बताउँछन् । साधना गर्नेहरूले काम पाइरहने हुँदा आम्दानी राम्रो रहेको घतानी बताउँछन् । यद्यपि दुःख भने धेरै हुने बताउँछन् ।
उनी वाद्यवादकहरूको कमाइलाई विदेशमा गएर दुःख गरेर कमाउने नेपालीको कमाइसँग तुलना गर्छन् । ‘विदेशतिर गएर दुःख गरेर कमाउनेहरूको जस्तै हो । कमाइ राम्रै हुन्छ तर दुःख बढी गर्नुपर्छ’, उनले भने । मादल वादक खड्ग बुढा मगर पनि वाद्यवादनमा साधना अपरिहार्य रहेको बताउँछन् । उनले भने, ‘म्युजिक बुझेको, पढेको मात्र खास वाद्यवादक हुनसक्छ ।’ साधना/कला हुनेहरूको कमाइ राम्रो हुने बुढाको भनाइ छ ।
वाद्यवादकहरू धेरैमा छनोट भएर आउने र आएपछि कमाइ राम्रो हुने संगीतकारहरू बताउँछन् । एक चलेका संगीतकारले अनलाइनखबरसँग भने, ‘वाद्यवादनमा राम्रो गर्नुपर्यो, बाजाअनुसार उत्कृष्ट तीनभित्र पर्नुपर्यो । उहाँहरूको कमाइ मासिक दुई लाखभन्दा बढी नै हुने गरेको छ ।’ चलेका हरेक वाद्यवादकले पेशाबाट राम्रो कमाइ गर्ने गरेको ती संगीतकारले बताए ।
गुनासो पनि
गीत गाउनेहरू मात्र कलाकार हुन्, वाद्यवादकहरू कलाकार नै होइनन् भन्ने परिपाटी पनि रहेको बाँसुरीवादक गोपालदेवको गुनासो छ ।
यता मादकवादक खड्ग बुढा मगर पनि सो प्रवृत्ति रहेको बताउँछन् । यद्यपि संगीत बुझेको व्यक्तिले भने सम्मान गर्ने उनी बताउँछन् । उनको गुनासो भने पछिल्लो समय गीतहरूमा बाजाहरूको ‘स्याम्पलिङ’को प्रयोग बढेको प्रति छ । उनले भने ‘त्यसप्रति साह्रै गुनासो छ । यो स्रष्टाप्रतिको गद्दारी हो । यद्यपि स्याम्पलिङ प्रयोग गर्ने स्टुडियो, एरेन्जरहरू पलायन हुन समय लाग्दैन ।’
पहिलेभन्दा वाद्यवादकहरूको नाम भने हिजोआज बढी आउने गरेको छ । पहिलेका गीतहरूमा वाद्यवादकहरूको नाम गीतमा नहुने सम्झँदै भन्छन्, ‘पहिलेका गीतहरूमा नाम नै हुँदैनथ्यो । कसले बजायो सम्बन्धित व्यक्तिहरूलाई मात्र थाहा हुन्थ्यो । हिजोआज गीतमा नाम उल्लेख हुन थालेको छ ।’
source https://www.onlinekhabar.com/2021/07/991826
0 comments:
Post a Comment