Tuesday 28 February 2023

प्रदेश १ : कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने

१७ फागुन, विराटनगर । प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए ।

पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले बताए ।



source https://www.onlinekhabar.com/2023/03/1270529

कांग्रेस-माओवादी सम्बन्ध नयाँ ढंगबाट सुरु : विमलेन्द्र निधि

१७ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस-माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस-माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा अहिलेको सरकार अल्पमतमा नपर्ने पनि उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको र फेरि दिने भएकाले सरकारमाथि कुनै खतरा नरहेको उनको भनाइ छ ।

वर्तमान राजनीति सही दिशामा हिँडेको भन्दै उनले चुनावको समयमा भएका गठबन्धनकारी दलबीच नयाँ समीकरणले जनताको मतको सम्मान भएको जिकीर गरे ।

कांग्रेस र माओवादीबिच दूरी बढ्दा मुलुक जहिले पनि असहज दिशातिर जाने गरेको बताउँदै उनले अबको पाँच वर्ष अहिलेको गठबन्धनका सरकारको विकल्प नभएको बताए ।

कांग्रेस र माओवादीबीच द्वन्द्व बढ्दा लोकतन्त्रवादीहरु निराश भएकाले कांग्रेसले कोर्ष परिवर्तन गरेको निधिले बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि शुरु भएको कोर्ष परिवर्तनकै कारण राष्ट्रपति निर्वाचनमा आठ दलबीच सहमति जुट्न सकेको उनको भनाइ थियो ।

नेता निधिले आठ दलको समर्थन नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा रहेको बताउँदै मुलुकको आगामी राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित भएको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने- ‘ढोक्सामा माछा परिसक्यो ।’



source https://www.onlinekhabar.com/2023/03/1270456

टुरिन डर्बीमा युभेन्ट्स विजयी, पोग्बाको पुनरागमन

१७ फागुन, काठमाडौं । दोस्रो पटक युभेन्ट्समा अनुबन्ध भएका पउल पोग्बाले चोटपछि पुनरागमन गर्दै मंगलबार पहिलो खेल खेलेका छन् ।

पोग्बाले गत अप्रिलपछि पहिलो खेल खेल्दै पुनरागमन गर्दा युभेन्ट्सले सिरि ए को टुरिन डर्बीमा टोरिनोलाई ४-२ ले पराजित गरेको छ ।

मिडफिल्डर पोग्बाले पछिल्लो पटक २०२२ मार्चमा लिभरपुलविरुद्ध म्यानचेष्टर युनाइटेडका लागि खेलेका थिए ।

२९ वर्षीय पोग्बा त्यसपछि पोग्बा जुलाईमा पुन: युभेन्ट्समा अनुबन्ध भए । तर चोटका कारण उनी मैदान बाहिर रहे । पोग्बाले कतारमा भएको विश्वकप समेत गुमाए ।

फ्रेन्च खेलाडी पोग्बाले टोरिनोविरुद्ध वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनले ६८औं मिनेटमा एन्जो बारानेचेएलाई रिप्लेस गरेका थिए ।

खेलमा युभेन्ट्सले दुई पटक पछि परेर पनि पुनरागमन गरेको थियो ।

युभेन्ट्सका लागि जुवान क्वाड्राडोले १६औं, डानिलोले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै ब्रेमरले ७१औं र एड्रिए राबिओले ८०औं मिनेटमा गोल गरे । टोरिनोका लागि यान कारामोले दोस्रो र एन्टोनिओ सानाब्रिअले ४३औं मिनेटमा गोल गरे ।

जितपछि युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2023/03/1270421

पोखरा महानगर : गुमाउँदै स्रोत, खुम्चिँदै राजश्व

१७ फागुन, पोखरा । नदीजन्य पदार्थ पदार्थ बिक्रीवितरण गरेर अघिल्ला आर्थिक वर्षहरुमा बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी पोखरा महानगरले गर्दै आइरहेको थियो । तर, ३३ मध्ये चालु आर्थिक वर्षमा १६ वटा घाटभन्दा बढी ठेक्कामा जानै सकेका छैनन् ।

पटकपटक टेन्डर आह्वान गर्दा पनि कुनै पनि निजी कम्पनी आवेदन दिन इच्छुक नभएपछि चालु आर्थिक वर्षमा महानगरको करिब १४ करोड रुपैयाँ राजश्व गुम्ने निश्चित छ ।

घाट ठेक्का आह्वान गर्दा प्रत्येक पटक आह्वान गरिएको टेन्डर मूल्य अघिल्लो पटकभन्दा आएको छ । स्रोतका अनुसार कर्मचारी, जनप्रतिनिधि र ठेकेदार कम्पनीकै मिलेमतोमा जानाजान आवेदन नदिने र बोलकबोल रकम घटाउँदै ठेक्का आह्वान भइरहेको छ ।

तर, महानगरका राजश्व प्रमुख झंकनाथ पौडेल समयसीमा सकिँदै जाँदा तोकिएको बराबरमात्रै नदीजन्य पदार्थ उत्खनन् हुने हुँदा सोहीअनुसार टेन्डर रकम घटेको बताउँछन् । ‘अब टेन्डर परे पनि सबै धेरै माल पाइँदैन । त्यही नभएपछि टेन्डर रकम घट्नु स्वाभाविकै हो,’ उनी भन्छन् । टेन्डर नपरे पनि घाटहरुबाट गिट्टीबालुवाजन्य पदार्थको अवैध उत्खनन् भने रोकिएको छैन ।

पोखराका सडकमा पार्किङ शुल्क उठाउँदै आइरहेको फेवा सावित्री जेभीसँग महानगरले पुस ८ मा सम्झौता रद्द ग¥यो । बक्यौता रकम नतिरेको र म्याद पनि गुज्रिसकेको भन्दै महानगरले जेभीलाई सडक पार्किङ शुल्क उठाउन रोक लगायो ।

जेभीसँग तत्कालीन मेयर मानबहादुर जिसीले ०७७ मंसिर १४ मा सम्झौता गरेका थिए । सम्झौता अनुसार दुई वर्षका लागि जेभीले ३ करोड १६ लाख रुपैयाँमा ठेक्का पाएको थियो । जसमा प्रत्येक किस्तामा ६३ लाख ३४ हजार रुपैयाँ बुझाउनुपर्ने उल्लेख थियो ।

पोखराको न्युरोड

महानगरले अहिले सवारी पार्किङ व्यवस्थापन गर्ने भन्दै मुख्य बजार क्षेत्र नयाँबजार, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुललगायत क्षेत्रमा सडक पार्किङ बन्द गरेको छ । जसमा केही निजी क्षेत्रलाई शुल्क लिएर पार्किङ गर्न पाउने सुविधा दिएको छ भने महानगर आफूले भाडामा लिएको जग्गामा निःशुल्क पार्किङ व्यवस्था मिलाएको छ ।

दीर्घकालीन योजनाबेगर नै सडक पार्किङ बन्द गरेको भन्दै यात्रु, व्यवसायीबाट चर्को विरोध भएपछि सवारी पार्किङमुक्त सडक पूर्णरुपमा लागू गर्न महानगरले सकिरहेको छैन नै, सडक पार्किङबाट उठ्ने गरेको आम्दानीसमेत गुमाउन पुगेको छ ।

महानगरले ०७६ मा दुई वर्षका लागि सम्झौता गरेको पोखरा केआईसिंह पुलस्थित सेतीगर्ज अवलोकन पार्कका लागि गरेको ठेक्का सम्झौता गत पुसमा सकियो । ठेकेदार कम्पनी भण्डार थोडुङले सम्झौता सकिएको झन्डै सात महिनाभन्दा बढी समयसम्म अवैधरुपमा पर्यटकसँग शुल्क उठाइरह्यो ।

म्याद सकिँदा पनि ठेकेकार कम्पनीले अवैध रुपमा शुल्क असुलिरहेको विषय चर्को रुपमा उठेपछि महानगरले भदौमै शुल्क उठाउन बन्द गराइसकेको छ । तर, नयाँ ठेक्का लगाउन नसक्दा सेती गर्ज पार्कको ताल्चा खिया लाग्ने अवस्थामा पुगिसकेको छ ।

सेती गर्ज पार्क ठेक्का नलाग्दा महानगरको ६६ लाख रुपैयाँ भन्दा बढी राजश्व गुम्ने जोखिम छ ।

पोखराका बजार क्षेत्रमा भएका राष्ट्रिय विभूति तथा शहीदहरु सबैको शालिक एकै ठाउँमा व्यवस्थापन गर्ने योजनासहित पोखरा १८ जामुनबोटमा महानगरले शहीद पार्क बनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत हालसम्म २ करोड ६१ लाख रुपैयाँभन्दा बढी लगानी सोही पार्कमा लगाइसकेको छ ।

पार्कका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन भएको छ । उक्त बजेटले शहीद पार्कमा बहुउद्देश्यीय हल बनाउने प्रदेशको योजना छ । हल बनाउन अहिले टेन्डर प्रक्रियामा पनि गइसकेको छ ।

तर, ठूलो लगानी गरेर बनाइएको उक्त पार्कमा महानगरभरिका सबै शालिक स्थानान्तरण गरिनसक्दै भत्कन सुरु गरिसकेको छ । पार्क व्यवस्थापन तथा अवलोकनका लागि ठेक्कामा दिन नसक्दा त्यहाँबाट हुने आम्दानीसमेत महानगरलाई शून्य छ । प्रवेश शुल्क तथा व्यवस्थापनका लागि अघिल्लोचोटि १० लाख रुपैयाँमा गएको शहीद पार्कबाट यो वर्ष आम्दानी शून्यजस्तै छ ।

गुफा र तालको आम्दानी विद्यालयलाई

भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरले आफ्नो दायित्वभित्र पर्ने आम्दानी कसरी गुमाउँदै गइरहेको छ भन्ने यी केवल उदाहरणमात्रै हुन् । महानगरले निःशुल्क रुपमा प्राप्त गरेको तालतलैया, गुफा आदिबाट पनि वार्षिक करोडौं राजश्व गुमाउँदै आएको छ ।

तालतलैया तथा गुफा लगायत प्राकृतिक स्रोतमा उपभोक्ता समितिको नाममा हालीमुहाली चल्दा महानगरले करको दायरामा ल्याउनै सकेको छैन । अधिकांश गुफाबाट संकलन हुने आम्दानी विभिन्न विद्यालय व्यवस्थापन समितिले राख्दै आएका छन् ।

मेयर धनराज आचार्य

मेयर धनराज आचार्य अब विद्यालयलगायत विभिन्न समितिको नाममा गइरहेको प्राकृतिक सम्पदाको राजश्वसमेत पोखरा महानगरलाई आउने गरी छलफल भइरहेको जानकारी दिए । ‘विद्यालयहरु पनि महानगर मातहत हुन्, एउटा विद्यालयले आम्दानी पाउँदा छेउछाउका अरु विद्यालयले किन नपाउने भन्ने कुरा पनि आएको छ,’ उनले भने, ‘यसबारे महानगरले छलफल अगाडि बढाइसकेको छ ।’

खुम्चियो राजश्व, लक्ष्य नभेट्ने निश्चित

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गएको नगरसभामा चालु आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । जसमध्ये ३४ प्रतिशत अर्थात् ३ अर्ब १ करोड रुपैयाँ आन्तरिक राजश्वबाट उठाउने महानगरले लक्ष्य राखेको थियो ।

लक्षित राजश्व कम उठ्दा विकास निर्माणका योजनालाई असर पुग्ने देखिएको मेयर धनराज आचार्य बताउँछन् ।

तर, माघ मसान्तसम्म महानगरले ५८ करोड ९६ लाख रुपैयाँमात्रै आन्तरिक राजश्व उठाउन सकेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा महानगरले माघ मसान्तसम्म ७१ करोड ८७ लाख रुपैयाँ उठाएको थियो । कोभिड महामारीले प्रभाव पार्दासमेत अघिल्लो आर्थिक वर्षको माघ मसान्तसम्म हालकोभन्दा धेरै राजश्व उठाएको थियो ।

महानगरले करको दर नभई दायरा बढाउने उद्घोष गर्दै सम्पत्ति, व्यवसाय, घरभाडालगायत करको दर घटाएको थियो । जसमा मापदण्डविपरीत बनेका भवन तथा संरचनालाई करको दायरामा ल्याएर वैध बनाउने र घटेको कर परिपूर्ति गर्ने योजना महानगरको रहेको मेयर आचार्यले बताएका थिए । तर, उक्त योजनासमेत अहिलेसम्म कार्यान्वयन भएको छैन ।

चालु आर्थिक वर्षमा महानगरको राजश्व घट्नुको कारणबारे मेयर आचार्य नेपाल सरकारको भूमिसम्बन्धी ऐन, आर्थिक मन्दी र निर्वाचन अवधिलाई कारकतत्व मान्छन् । आर्थिक मन्दीले अर्थ चलायमान नहुँदा वर्षको अन्तिममा कर तिर्ने करदाताको मनस्थिति पनि रहेको हुन सक्ने उनको भनाइ छ ।

‘नेपाल सरकारको भूमिसम्बन्धी ऐनले बैशाखबाटै भूमि वर्गीकरणको निर्देशन जारी भयो । त्यसपछि हामीले मंसिर २७ गतेसम्म भूमि वर्गीकरण गरेर पठाउँदा कित्ताकाट भएन, त्यसको कारोबारै छैन भन्दा पनि हुन्छ,’ मेयर आचार्यले भने, ‘एउटा निर्वाचनले गर्दा आर्थिक क्रियाकलाप ठप्प भयो र देशैभरि आर्थिक मन्दी हुँदा राजश्व पनि अन्तिममै तिरौंला भन्ने हुनसक्छ ।’

माघ मसान्तसम्मको राजश्वको संकलनको स्थिति विश्लेषण गर्दा निर्धारित लक्ष्यमा पुग्ने सम्भावना कम रहेको मेयर आचार्य स्वीकार्छन् । ‘अघिल्लो आर्थिक वर्षको बजेटभन्दा २ अर्ब बढी ल्याएका छौं । राजश्वमा अघिल्लो वर्षभन्दा प्लस नै हुन्छौं । तर, अहिलेको साइज भेट्न सक्दैनौं कि भन्ने पनि देखिँदैछ आजको दिनसम्म,’ उनले भने । उनले मापदण्डविपरीतका संरचना करको दायरामा ल्याउन तथ्यांक संकलनका लागि कर्मचारी खटिइसकेको जानकारी दिए ।

लक्षित राजश्व कम उठ्दा विकास निर्माणका योजनालाई असर पुग्ने देखिएको मेयर आचार्य बताउँछन् । उनका अनुसार हालम्म पुँजीगत खर्च १० प्रतिशतभन्दा पनि कम छ । ‘राजश्व कम भयो भने स्वाभाविक रुपमा विकास निर्माणलाई असर गर्छ । पूरै उठ्छ भनेर योजना बनाएका छौं,’ उनले भने, ‘तर, निर्वाचनका कारणले खर्च पनि हाम्रो कम भएकाले मेकअप त हुन्छ ।’



source https://www.onlinekhabar.com/2023/03/1270388

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

१७ फागुन, काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्त ा गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । त्यसैले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

कोकोलाई लाग्छ आचारसंहिता ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ ।

आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई निर्वाचन खर्चको सीमा अधिकतम चार लाख रुपैयाँ तोकिएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् ।



source https://www.onlinekhabar.com/2023/03/1270392

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मनोनयनमा फुटबल र क्रिकेट हावी

१६ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करणको मनोनयनमा फुटबल र क्रिकेटका खेलाडी तथा प्रशिक्षक हावी भएका छन् ।

वर्ष २०७८ मा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा गरेको प्रदर्शनलाई आधारमा मानेर अवार्डका प्रमुख चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको हो । पल्सर स्पोर्टस अवार्ड २०७८ आगामी २३ फागुनमा आयोजना हुँदैछ ।

कोरोना महामारीले प्रभावित वर्ष २०७८ मा करिव ७ महिना घरेलु खेलकुद ठप्प रह्यो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको सहभागिता रहेन । यो वर्ष राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट, दुई देशीय तथा त्रिदेशीय शृंखला र आईसीसी क्रिकेट विश्वकप लिग टूको एक शृंखला खेलेको थियो ।

वर्ष २०७८ मै नेपाली फुटबल टिमले माल्दिभ्समा आयोजित साफ च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गर्दै फाइनलमा पुगेको थियो । सोही वर्ष नेपालको महिला भलिबल टिमले सेन्ट्रल एसियन सिनियर वुमेन्स भलिबलको उपाधि लगातार दोस्रोपल्ट जितेको थियो । एसियाली जुनियर बक्सिङ तथा ढाका म्याराथनसहित केहि केहि अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक अन्य सहभागिता रहेन ।

मंगलबार एनएसजेफले सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ट वर्ष खेलाडीका लागि फुटबलका अन्जन विष्ट र कप्तान किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा सो वर्ष ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्स दाहाल छन् । फुटबलका अन्जन पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा छन् ।

उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा क्रिकेटकी कप्तान रुविना क्षेत्री र सीता रानामगर, बक्सिङकी पसनम रावल, एथलेटिक्सकी पुष्पा भण्डारी र भलिबलकी कप्तान अरुणा शाही छन् ।

त्यस्तै युवा वर्ष खेलाडी अवार्डका लागि फुटबलका प्रिती राई र मनिष डाँगी, ब्याडमिन्टनकी रशिला महर्जन, बक्सिङका छिरिङ वाङदी शेर्पा र भलिबलकी उषा भण्डारी मनोनयनमा छन् । उषा पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा परेकी छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पनि फुटबल, क्रिकेट र भलिबलकै प्रशिक्षकहरु छन् । फुटबलका तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र क्रिकेटका तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर, महिला भलिबल प्रशिक्षक जगदीश भट्ट, बक्सिङ प्रशिक्षक दीपक महर्जन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको छनोट समितिले खेलाडी तथा प्रशिक्षकको मूल्यांकनका आधारमा मनोनयन सार्वजनिक गरिएको हो । २३ फागुनमा प्रज्ञा भवनमा हुने अवार्ड समारोहमा ९ विधामा अवार्ड दिइनेछ । वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

उत्कृष्ट पाराएथ्लिट सम्मान, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् । एसियन स्पोर्टस जर्नलिष्ट अवार्डका रुपमा एकजना पत्रकारलाई पनि सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष
अन्जन विष्ट फुटबल
किरण चेम्जोङ
कुशल भुर्तेल
दीपेन्द्रसिंह ऐरी
प्रिन्स दाहाल

वर्ष उत्कृष्ट खेलाडी महिला
सीता रानामगर
रुविना क्षेत्री
पुनम रावल
अरुणा शाही
पुष्पा भण्डारी

वर्ष उत्कृष्ट खेलाडी युवा
प्रिती राई
रशिला महर्जन
छिरिङ वाङ्दी शेर्पा
उषा भण्डारी
मनिष डाँगी

वर्ष उत्कृष्ट प्रशिक्षक
अब्दुल्लाह अल्मुताइरी
डेभ ह्वाटमोर
दीपक महर्जन
कविराज नेगी लामा
जगदीश भट्ट



source https://www.onlinekhabar.com/2023/02/1270113

Monday 27 February 2023

कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार, स्नेही काखले आश्रय दिने

काठमाडौं । अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ । उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ ।

बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।

राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । ‘उपचार र आश्रय गर्नेगरी हाम्रो रोहवरमा उहाँहरुको उद्धार गरिएको छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि हामीले रकम जुटाउँछौं र उहाँहरुलाई निको तुल्याउँछौं ।’ फिल्म निर्देशक सुरेशदर्पण पोखरेल र सविनले यसतर्फ पहल गरेका छन् । अन्य केही फिल्मकर्मीले पनि उपचार र व्यवस्थापनमा सहयोग गर्ने वचन दिएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् ।

अभिनेता श्रेष्ठले पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रियता दर्शाएका छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले कलाकारको हकहितलाई चुनावको प्रमुख एजेण्डा बनाएका छन् ।



source https://www.onlinekhabar.com/2023/02/1270110

ब्लुमबर्गको दाबी- एलन मस्क फेरि विश्वको एक नम्बर धनी

१६ फागुन, काठमाडौं । एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा परेका छन् । ब्लुमबर्गको दाबी अनुसार एलन मस्क विश्वका धनाढ्यहरुको सूचीको दोस्रो स्थानबाट पुनः पहिलो स्थानमा उक्लिएका हुन् ।

टेस्लाका सीईओ मस्कलाई गत वर्षको डिसेम्बरमा फ्रान्सका बर्नार्ड अर्नाल्टले पछि पारेका थिए । ब्लुमबर्गको सूचीमा दुई महिनासम्म बर्नार्ड अर्नाल्ट पहिलो र मस्क दोस्रो स्थानमा थिए । अहिले फेरि मस्कलाई पहिलो स्थानमा राखिएको छ ।

ब्लुमबर्गको दाबी अनुसार सोमबारसम्म मस्कको कुल सम्पत्ति १८७.१ बिलियन डलर र अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन डलर छ ।

गत वर्ष मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीको शेयर बजारमा गिरावट आएको थियो । साथै ट्वीटरमा पनि समस्या आएको थियो ।

गत वर्षको अन्त्यमा उनले २०० मिलियन डलरको सम्पत्ति गुमाएका थिए । नोभेम्बर २०२१ मा उनी करिब ३४० बिलियन डलर सम्पत्तीका मालिक थिए । तर डिसेम्बर २०२२ मा उनको सम्पत्ति १३७ बिलियन डलरमा झरेको थियो ।



source https://www.onlinekhabar.com/2023/02/1270047

सरकारमा जान मेरो दाबी छैन : पूर्णबहादुर खड्का

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।

कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन:स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेको थियो । उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।



source https://www.onlinekhabar.com/2023/02/1270012

राष्ट्रपति चुनाव : आज उम्मेदवारी फिर्ताको समय

१६ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तर उनीहरुले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । दुवै उम्मेदवारहरु विरुद्ध उजुरी र दावी विरोध पनि परेको छैन ।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदैछ ।

 



source https://www.onlinekhabar.com/2023/02/1269970

Sunday 26 February 2023

दुनियाँका खरबपतिले कति कार्बन उत्सर्जन गर्छन् ?

विश्व उष्णीकरण तथा अर्थात् विश्वको तापक्रम बढ्ने क्रम लगातार चलिरहेको छ । उष्णीकरण तथा जलवायु परिवर्तनको मुख्य कारक तत्वको रुपमा हरितगृह ग्याँसहरू रहेका छन् । हरितगृह ग्याँसहरूमध्ये पनि कार्बन डाइअक्साइड जलवायु परिवर्तनमा सबैभन्दा धेरै भूमिका खेलिरहेको ग्याँस हो । त्यसैले हरितगृह ग्याँस उत्सर्जनलाई सरल भाषामा कार्बन उत्सर्जन पनि भनिन्छ ।

विश्वमा चीन, अमेरिका, भारत, युरोपेली युनियन, रुस जस्ता देशहरू सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशका रुपमा रहेका छन् । अर्थात् धनी देशहरु नै कार्बन उत्सर्जनका मुख्य कर्ता हुन् । एक अध्ययनले चाहिँ विश्वमा देशगत रुपमा भन्दा मानिसहरुको आर्थिक क्षमताका आधारमा कति कार्बन उत्सर्जन गर्दछन् भन्ने रोचक डाटा निकालेको छ । जस अनुसार विश्वमा धनी मानिसहरुको कार्बन फुटप्रिन्ट आमसर्बसाधारण मानिसहरुको भन्दा सयौं-हजारौं गुणा धेरै रहेको छ ।

आखिर कार्बन फूटप्रिन्ट भनेको के हो त ? वास्तवमा कुनै व्यक्ति, संस्था वा मुलुकले नियमित रुपमा जति कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ त्यसैलाई नै कार्बन फूटप्रिन्ट भनिन्छ । केवल कार्बन मात्र हेाइन मिथेन, नाइट्रस अक्साइड जस्ता अन्य विभिन्न विषाक्त ग्याँसहरू पनि मानिस विभिन्न गतिविधिहरुका क्रममा उत्सर्जन हुने गर्दछन् । ती सबैलाई संयुक्त रुपमा हरितगृह ग्याँस भनिन्छ, जो विश्वको तापक्रम बढाउनका लागि जिम्मेवार छन् ।

यी ग्याँसहरू हाम्रो जीवनशैलीबाट पनि निस्किने गर्दछन् । जस्तै हामीले के खान्छौं, के लगाउँछौं, हामीले कस्तो घुमफिर गर्छौं र कसरी छुट्टी मनाउँछौं, घुमफिरमा सार्वज्निक यातायात प्रयोग गर्छौं कि निजी भन्ने जस्ता कुराबाट पनि हामीले कति धेरै प्रदूषण गरिरहेका छौं भन्ने अनुमान गर्न सकिन्छ ।

शोधकर्ताहरुका अनुसार देश तथा केवल केही धनाढ्यहरुले मात्रै पनि यदि आफ्नो कार्बन फूटप्रिन्ट अलिकतिमात्रै कम गर्न सक्नेहो भने विश्व उष्णीकरणको गतिमा ठूलो ब्रेक लगाउन सकिन्छ । फ्रान्सको पेरिसस्थित वर्ल्ड इनइक्वालिटी ल्याबले यो विषयमा अध्ययन गरेको छ । उक्त अध्ययन अनुसार विश्वका केवल १० प्रतिशत मानिसहरु मात्रै कुल कार्बन उत्सर्जनको ५० प्रतिशत भन्दा धेरै हिस्साका लागि जिम्मेवार छन् । त्यस्तै सबैभन्दा धेरै धनी मानिसहरुको कार्बन फूटप्रिन्ट सर्वाधिक छ ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयस्थित मानवशास्त्र विभागका शोधकर्ताहरुले विश्वका कुन कुन खर्बपतिहरुको फूटप्रिन्ट सबैभन्दा धेरै छ भनेर अध्ययन गरे । त्यसका लागि उनीहरुले सन् २०२० को फोब्र्सको सूचिमा रहेका २०९५ जना खर्बपतिहरुमाथि सर्भे गरे । यद्यपि धेरै धनाढ्य व्यापारी हरुकेा निजी जिवन तथा सुख सुविधाका बारेमा पर्याप्त जानकारीहरु सार्वजनिक वृत्तमा जानकारी नभएका कारण उक्त अध्ययनको निष्कर्ष पूर्ण छैन । तथापि सो अध्ययनले केही महत्वपूर्ण खुलासा भने गरेको छ ।

रुसी नेता तथा व्यापारी रोमन अब्रामोविचको नाम विश्वमा सबैभन्दा धेरै प्रदूषण फैलाउन व्यक्तिकेा रुपमा रहेको छ । करिब २० खर्ब डलरका मालिक रोमनको व्यापार केवल रुसमा मात्र होइन विश्वका धेरै देशमा फैलिएको छ ।

लण्डनको चेल्सी फुटबल क्लबका मालिक रहेका रोमनको मूख्य व्यवसाय तेल तथा ग्याँस हो । उनले आफ्नो व्यवसायमा धेरै वातावरणीय मापदण्डलाई नजरअन्दाज गर्ने गरेका धेरै प्रदूषण फैलाउने गरेको आरोप लाग्ने गरेको छ ।

ती रुसी खर्बपतिको कार्बन फूटपि्रन्ट निजी जीवनमा पनि अत्यधिक छ । उनीसँग कैयन् निजी जेट विमान तथा सामुद्रिक याच छन् । उनीसँग एउटा कस्टमाइज्ड बोइङ ७६७ छ जसमा ३० सिटर डाइनिङ रुम पनि छ । त्यसैले ती रुसी खर्बपतिले हावा र पानी दुवैमा प्रदूषण फैलाइरहेका छन् निजी स्तरमा पनि । सन् २०१८ मा मात्रै रोमनले आफ्ना निजी जिवनको ऐशआरामका लागि करिब ३४ हजार मेट्रिक टन कार्बन उत्सर्जन गरेका थिए ।

उनीपछि अरु धेरै व्यापारीहरुकेा नाम आउँछ जसले आफ्नो जीवनशैलका कारण अधि कार्बन उत्सर्जन गर्दछन् र बढ्दो विश्व उष्णीकरणका लागि जिम्मेवार छन् । यद्यपि धेरै खर्बपतिहरुले सुरक्षा चुनौतीका कारण आफ्नो जीवनशैलीका कुरा लुकाएर राख्दछन् । त्यसैले कुन खर्बपतिको कार्बन फूटप्रिन्ट ठ्याक्कै कति छ भनेर मापन गर्न कठिन हुन्छ ।

अक्सफामले गत नोभेम्बरमा सार्वजनिक गरेको एक रिपोर्ट अनुसार विश्वका १२५ जना डलर अर्बपतिहरुले नै वार्षिक करिब ४० करोड मेट्रिक टन कार्बन उत्सर्जन गरिरहेका छन् । सन् २०२१ मा विश्वको वार्षिक कार्बन उत्सर्जन करिब ३७ अर्ब डलर थियो । अर्थात् संसारका सवा सय खर्बपति एकातिर र बाँकी जनसंख्या एकातिर । यति हुँदा पनि उनीहरुले अझै चेतिरहेका छैनन् ।

विश्व उष्णीकरणका लागि जिम्मेवार ती धनाढ्यहरुलाई उनीहरुको जिम्मेवारी स्मरण गराउनका लागि पश्चिमा विश्वमा बेलाबेलामा विभिन्न खालका अभियान चलाइरहन्छन् । जस्तै सन् २०१४-१५ मा क्यालिफोर्नियामा ठूलो खडेरी पर्‍यो ।

मानिसहरु पानी तथा खाद्यान्नको कमीसँग जुधिरहेका थिए । तर त्यहीँबेला धनाढ्यहरुले चाहीँ यस्ता गतिविधिहरु गरिरहेका थिए जसले पानीको अत्यधिक खर्च भैरहेको थियो । त्यस परिस्थितिमा त्यहाँका मिडिया तथा आम मानिसहरुले Drought Shaming नाम अभियान चलाए । उनीहरुले गाडी धुने, घर बाहिरकेा दूँबो हरियो बनाउने तथा पौडी खेल्ने जस्ता धनीहरुका क्रियाकलापलाई गिज्याउन थाले ।

त्यस्तै स्विडेनमा ३ वर्षअघि एउटा नयाँ शव्द प्रचलनमा आयो -Flygskam अर्थात् फ्लाइंग शेम । कम दूरीमा पनि हवाई यात्रा गर्ने मानिसहरुको विरुद्धमा उक्त अभियान लक्षित थियो । त्यसको निकै राम्रो प्रभाव पर्यो र मानिसहरुले छोटो दूरीका लागि बस वा रेलबाट यात्रा गर्न लागे ।

यात्राका क्रममा निस्कने कार्बनका विषयमा पनि विभिन्न अध्ययन भएका छन् । यस्तै एक अध्ययन अनुसार विश्वमा वर्षैनी उत्सर्जन हुने कूल कार्बनको झण्डै १० प्रतिशतमा यात्राहरुको हात रहेको छ ।

सजिलो भाषामा भन्नुपर्दा तपाइँ लण्डन देखि न्युयोर्कसम्मको हवाई यात्रामा जति कार्बन उत्सर्जन हुन्छ त्यो कार्बन शोषण गर्नका लागि एक एक्कड जमिनमा फैलिएको घना जंगललाई पूरै एक वर्ष लाग्दछ । त्यसैले हवाई यात्रा पर्यावरणका लागि निकै खतरनाक छ । अनि धनाढ्यहरु निजी जहाज राखेर प्रदुषणलाई चरम विन्दुमा पूराइरहेका छन् ।

एजेन्सी



source https://www.onlinekhabar.com/2023/02/1269418

दरबारमार्ग क्षेत्रका सटर आज एक घण्टा बन्द हुने

१५ फागुन, काठमाडौं । दरबारमार्ग क्षेत्रको सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज एक घण्टा सटर बन्द गर्दैछन् ।

काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा आज अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म (एक घण्टा) सटर बन्द गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।

दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेध गरिएको विरोधमा सटर बन्द गरेर काठमाडौं महानगरपालिकाको सांकेतिक विरोध जनाउन लागिएको बताए । दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न गर्दै दरबारमार्ग विकास बोर्डको अगुवाइमा त्यहाँका व्यवसायी/व्यापारीहरुले विरोध जनाउँदै आएका छन् ।

दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको दरबारमार्गमा दुईतर्फी दुई/दुई लेन सडक छाडेर एकातर्फ एक लेनमा पार्किङ राखिँदै आएको थियो । व्यापारीहरुकै योजना अनुसार सुरुमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि पछि काठमाडौं महानगरपालिकाले सवारी धनीहरुबाट पार्किङ शुल्क उठाउँदै आएको थियो ।



source https://www.onlinekhabar.com/2023/02/1269413

कांग्रेस राजनीतिको नर्सरी नेविसंघ इतिहासकै कमजोर अवस्थामा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नर्सरी संगठनको रूपमा रहेको नेपाल विद्यार्थी संघ पार्टी नेता उत्पादन गर्ने ‘कारखाना’ का रूपमा परिचित छ । तर, नेविसंघ अहिले नर्सरी न कारखानाको अवस्थामा छ । पार्टी गुटले चरम समस्यामा फसेको नेविसंघका लागि देखाउने गर्विलो इतिहास छ । तर, विद्यार्थी तथा युवालाई देखाउने सुनौलो योजना छैन । नेविसंघ गन्तव्य र उद्देश्यविहीन देखिन्छ ।

माउ पार्टी कांग्रेसले प्रमुख भ्रातृ संस्था माथि हस्तक्षेप बढाउँदा संघको भविष्य नै अन्योलग्रस्त देखिएको छ । कुनै बेला पञ्चायती व्यवस्थालाई सडकबाट चुनौती दिने सामथ्र्य राख्ने नेविसंघ अहिले आफ्नै पार्टी नेतृत्वसँग लम्पसार छ । यतिसम्म कि ऊ आफ्नो खुट्टामा उभिएर महाधिवेशन समेत गराउन सक्ने अवस्थामा छैन । पार्टीले महाधिवेशनका लागि सहजीकरण गरिदिएहुन्थ्यो भनेर माउ पार्टीको मुख ताकेर बस्छ ।

टिके प्रथा विकृतिको स्रोत

नेविसंघको नेतृत्व चयनका लागि अपनाइएको विधिले पार्टी आलोचित हुँदै आएको छ । प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छनोट गर्ने लोकतान्त्रिक परम्परा कुल्चिएर टिके मनोनीत बाटो समाउँदा नेतृत्वलाई त आफ्नो मान्छो छनोट गर्न सजिलो भएको छ तर कांग्रेसको प्रमुख भ्रातृ संस्थामा विकृति चरम मौलाएको छ ।

नेपाल विद्यार्थी संघका हालसम्म २० अध्यक्ष छन् । तीमध्ये महाधिवेशनबाट चुनिएका ११ जना छन् । नेविसंघको ५२ वर्षे इतिहासमा ११ वटा मात्रै महाधिवेशन भएका छन् । नियमित महाधिवेशन भएको भए २७औं अध्यक्ष महाधिवेशन मार्फत चुनिएको हुने अवस्था हुन्थ्यो । पूर्व सभापति सुशील कोइरालाको समयदेखि नेविसंघमा तदर्थवाद हाबी भएको संस्थापक अध्यक्ष विपिन कोइराला दाबी गर्छन् । ‘सुशीलले सुरु गरेको गलत कामलाई देउवाले पनि साथ दिए’, कोइराला भन्छन् ।

६ वैशाख २०२७ मा स्वयम्भूको सत्तलमा नेता कृष्णप्रसाद भट्टराईबाट उद्घाटित पहिलो महाधिवेशनबाट विपिन कोइराला संस्थापक अध्यक्ष बनेका थिए । मार्शलजुलुम शाक्यलाई पराजित गरेर उनी नेविसंघको पहिलो अध्यक्ष बनेका थिए ।

पञ्चायती व्यवस्था विरुद्ध सक्रिय भएको आरोपमा कोइरालालाई तत्कालीन सरकारले पक्राउ गर्‍यो । उनी जेलमा रहेको बेला २०२८ सालमा दोस्रो महाधिवेशन भयो । यो महाधिवेशनबाट नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा संघको दोस्रो सभापति बनेका थिए । तर महाधिवेशन भए पनि देउवा मनोनीत सभापति भएको संस्थापक अध्यक्ष कोइराला दाबी गर्छन् ।

नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला ।

दुईवर्षे कार्यकाल रहेको संघमा आठ वर्षपछि (२०३६ सालमा) मात्रै देउवाले पद छोडे । राजनीतिक व्यवस्थाका कारण समयमै तेस्रो महाधिवेशन गरी पद हस्तान्तरण गर्न नसकिएको देउवाको जिकिर थियो । ‘प्रतिकूल समयमा संगठन बनेको हो । अलि अलि धरपकड त हुन्थ्यो’ संस्थापक अध्यक्ष विपिन कोइराला भन्छन्, ‘म जेल बसेरै दोस्रो महाधिवेशन गराएको हुँ । खास कुरा देउवाले महाधिवेशन गराउन चाहनुभएन ।’

२०३६ सालमा भएको तेस्रो महाधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष चुनिए । यो महाधिवेशनमा पनि निर्वाचन भएन । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले उनलाई सभापति मनोनीत गरे । विधिवत् ‘टिके प्रथा’ यसै महाधिवेशनबाट सुरु भयो । महेन्ऽनारायण निधिको छोरा हुनु र मधेशको ‘सेन्टिमेन्ट क्याच’ गर्न बीपीले निधिलाई अध्यक्ष तोकेको विश्लेषण कांग्रेसमा हुने गरेको छ ।

२०३९ सालमा चौथो सभापति बनेका ज्ञानेन्ऽबहादुर कार्की, २०४० सालमा पाँचौं सभापति बनेका बलबहादुर केसी र २०४४ मा छैटांै सभापति बनेका बालकृष्ण खाँण तीनैजना मनोनीत अध्यक्ष हुन् । दुईवर्षे पदावधि हुने संघमा पञ्चायतकाल ३० वर्षमा मात्रै ३ वटा महाधिवेशन भएका थिए । नेतृत्व हस्तान्तरण गर्ने क्रममा विना महाधिवेशन जिम्मेवारी सुम्पिएको थियो ।

बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४८ असोजमा भएको सातौं महाधिवेशनबाट एनपी साउद अध्यक्ष बने । व्यवस्था परिवर्तन भएर खुला राजनीतिको वातावरण हुँदा समेत आठौं र नवौं अध्यक्ष मनोनीत नै भए । २०५२ सालमा अध्यक्ष बनेका धनराज गुरुङ र २०५३ सालमा नवौं अध्यक्ष बनेका गोविन्द भट्टराई मनोनीत अध्यक्ष हुन् ।

हाल पार्टी महामन्त्री रहेका विश्वप्रकाश शर्मा २०५७ सालमा निर्वाचित अध्यक्ष भए । २०५९ सालमा अध्यक्ष बनेका गुरुराज घिमिरे पनि निर्वाचित ११औं सभापति हुन् । त्यसै समय पार्टी विभाजन पछि कांग्रेस (प्रजातान्त्रिक) तर्फको संघको अध्यक्ष किशोरसिंह राठोर बनेका थिए । पार्टी विभाजनपछि सभापति देउवाले उनलाई जिम्मेवारी दिएका थिए । २०६० सालमा अध्यक्ष बनेका केशव सिंह र २०६२ मा नेविसंघको नेतृत्व सम्हालेका महेन्द्र शर्मा पनि मनोनीत अध्यक्ष हुन् ।

१५औं अध्यक्ष बनेका प्रदीप पौडेल २०६४ सालमा निर्वाचन मार्फत चुनिएका थिए । संघका १६औं अध्यक्ष कल्याण गुरुङ र १७औं अध्यक्ष रञ्जित कर्ण मनोनीत हुन् । गुरुङ कांग्रेस प्रजातान्त्रिक निकटको विद्यार्थी संगठनबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बीच पार्टी एकीकरण हुँदा विद्यार्थी संगठनको नेतृत्व मूल धारको कांग्रेस (गिरिजा पक्ष) को भागमा पर्‍यो ।

२०६४ मा भएको महाधिवेशनपछि एकै चोटि २०७३ सालमा महाधिवेशन भएर अध्यक्षमा नैनसिंह महर चुनिए । उनी संघको १८औं अध्यक्ष हुन् । त्यसपछि बनेका राजीव ढुङ्गाना र दुजाङ शेर्पा (हाल अध्यक्ष) दुवै मनोनीत हुन् । १३औं महाधिवेशनपछि तदर्थ समिति बनाउने र मनोनीत गर्ने कार्यमा थप वृद्धि भएको संघका पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।

यसरी महाधिवेशन गर्ने जिम्मेवारी पाएर तदर्थ समितिको अध्यक्ष हुनेहरूमा ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठोर, केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्ण, राजीव ढुङ्गाना र दुजाङ शेर्पा हुन् ।

मनोनीत नेतृत्व र गुटगत राजनीति

नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन्

राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्था लागू गरेपछि बहुदलीय व्यवस्थाको आन्दोलनमा सक्रिय बनाउन कांग्रेसले गठन गरेको भ्रातृ संस्था हो, नेविसंघ । नेताहरू जेल तथा निर्वासनमा भएको समय आन्दोलनलाई ऊर्जा र निरन्तरता दिन नेविसंघको महत्वपूर्ण भूमिका थियो ।

जनकपुर अञ्चलका ६ जिल्लाबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थीले २०१९ सालमा ‘गौरीशंकर छात्र समिति’गठन गरेका थिए । जनकपुर अञ्चलका विद्यार्थीले गठन गरेको छात्र समितिको अनुसरण अन्य अञ्चलबाट आएका विद्यार्थीले पनि गरे ।

प्रजातन्त्रवादी विद्यार्थीको संगठनको आवश्यकता रहेको सुवर्णशमशेरले पार्टीमा सुनाए । उनकै परामर्श बमोजिम कांग्रेस निकटका विद्यार्थी एकत्रित हुन पुगेको नेविसंघका संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । त्यसबेला पार्टी प्रतिबन्धित हुँदा व्यवस्था परिवर्तनका लागि हुने आन्दोलन प्रभावकारी नहुने विश्लेषणसहित सशक्त संगठनको परिकल्पना गरिएको थियो ।

हुन पनि बहुदलीय व्यवस्था पुनर्बहाली तथा गणतन्त्र स्थापनामा नेविसंघले उल्लेखनीय भूमिका निर्वाह गर्‍यो । जनमत संग्रह विद्यार्थी आन्दोलनबाट नै सम्भव भएको संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे दाबी गर्छन् ।

‘जनमत संग्रह पार्टीहरूका कारणले भएकै होइन, विद्यार्थी संगठनका कारण सम्भव भएको हो’ पूर्व अध्यक्ष घिमिरे भन्छन्, ‘पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले लाठी चार्ज गर्दा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसपछि जनमत संग्रह गर्न शासकहरू तयार भएका हुन् ।’

व्यवस्था परिवर्तनका लागि विद्यार्थी राजनीतिबाट उदाएका शेरबहादुर देउवा अहिले कांग्रेसको पार्टी सभापति छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिको जग पनि नेविसंघ नै हो । पदाधिकारीमा रहेका अनुहारमध्ये अधिकांशको पृष्ठभूमि नेविसंघ हो । तर, यति महत्वपूर्ण स्रोत नेविसंघ इतिहासकै कमजोर भ्रातृ संस्था बनेको छ ।

११औं महाधिवेशन गरेको नेविसंघमा त्यसपछि दुई अध्यक्षले तदर्थ समितिको नेतृत्व गरे । तर अहिलेसम्म महाधिवेशनको सुरसार नै छैन । पछिल्लो समय त कार्यसमितिले पूर्णता पाउन सकेको समेत छैन ।

२०७३ सालमा अध्यक्षमा निर्वाचित भएका नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएका थिए । समयमा महाधिवेशन गराउन नसकेको भनेर पार्टीले उनको राजीनामा मागेको थियो । ‘यो त्यो भन्दिनँ मैले राजीनामा दिनुपर्छ भनेर त्यसबेला सबै लागेका हुन्’, महरले अनलाइनखबरसँग भने । तर, उनले राजीनामा दिएको एक वर्षसम्म संगठन नेतृत्वविहीन भयो ।

एक वर्षपछि बनाइएको तदर्थ समितिको नेतृत्वमा राजीव ढुङ्गाना आए । पदाधिकारीले समेत पूर्णता नपाएको उक्त समितिले दुई वर्षसम्म अधिवेशन गराउन सकेन । कोरोना महामारी बहाना बन्यो । यसै बीचमा ढुङ्गाना पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७८ चैतमा आएर सभापति देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरे । हालसम्म यो तदर्थ समितिमा अध्यक्ष मात्रै छन् । माघको मध्यतिर संघले पूर्णता पाउने नेताहरूले दाबी गरे पनि यो कार्यान्वयन हुन सकेन । विधानतः १०१ सदस्यीय कार्यसमिति हुने भनिए पनि पार्टीभित्रका फरक-फरक समूहलाई भाग पुर्‍याउन तदर्थ समिति ठूलो आकारको बन्ने सम्भावना छ । आ-आफ्नो समूहले नाम संकलन गरे पनि तदर्थ समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइसक्दा पनि तदर्थ समितिले पूर्णता नपाउँदा नेविसंघ अन्योलमा देखिन्छ । तथापि, आफूहरू स्ववियु निर्वाचनको तयारीमा लागेको नेविसंघका अध्यक्ष शेर्पा बताउँछन् ।

नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको नजिकै पनि निर्वाचनमार्फत नेतृत्व चयन गर्‍यो । प्रतिस्पर्धी दलको राजनीतिबाट समेत सिक्ने चेत नहुँदा संघका कार्यकर्तामा मूल नेतृत्वप्रति चर्को असन्तुष्टि छ । हुन पनि प्रतिस्पर्धी संगठनले स्ववियु निर्वाचनको मुखमा चुनाव गराएर नयाँ नेतृत्व चयन गर्दा कांग्रेसले मनोनीत समेत गर्न सकेको छैन ।

नेविसंघ बेथितिपूर्ण रूपमा सञ्चालनमा रहेको सदस्यताको वितरण तथा नवीकरणको अवस्थाले बताउँछ । नेविसंघमा आवद्ध विद्यार्थीको यकिन अभिलेख संघको केन्द्रीय कार्यालयमा छैन । नेविसंघका कार्यालय सचिव विजय खड्का नवीकरण र नयाँ सदस्यको यकिन विवरण नभएको स्वीकार गर्छन् । आसन्न स्ववियु निर्वाचनलाई ध्यानमा राखेर काठमाडौं र बाहिर सदस्यता वितरण जारी रहेको उनले बताए ।

२०६० सालतिर करिब पाँच लाख विद्यार्थी नेविसंघमा आवद्ध रहेको पूर्व अध्यक्ष घिमिरे दाबी गर्छन् । घिमिरेका अनुसार कतिपय अध्यक्षले सदस्यताको रसिद समेत छपाएनन् । उनका भनाइमा, ‘नेविसंघ नै अस्तव्यस्त भएकाले संघको कार्यालय व्यवस्थित हुने सम्भावना नै रहेन ।’

पार्टीको संस्थापन पक्षबाट अध्यक्ष बनेका शेर्पाले एकलौटी निर्णय गरेको भन्दै शेखर-गगन पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि गरिरहेका छन् । संघका अध्यक्ष शेर्पाले त्यसले मान्यता नपाउने बताइसकेका छन् । तर, जिल्ला र क्याम्पसमा आफू निकटलाई अध्यक्षले आफूखुसी संयोजक तोकेका कारणले बाध्य भएर समानान्तर गतिविधि गरेको शेखर-गगन पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगर बताउँछिन् ।

हुँदाहुँदा पछिल्ला दिनमा नेविसंघ आफैं संचालन हुने स्वतन्त्र संगठन हो भन्ने नै लाग्दैन । विधान नै पार्टीले बनाइदिने गरेको छ । पार्टी सभापतिले आफूप्रति वफादारलाई मनोनीत गर्ने परम्पराले यो ऐतिहासिक संस्थामा क्षयीकरण भएको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।

‘संस्थागत निर्णय छोडेर नेताले आफू निकटलाई मनोनीत गर्ने र मनोनीत भएको व्यक्ति पनि मनोनीत गर्ने नेताप्रति वफादार हुने प्रवृत्ति झांगियो’, घिमिरे भन्छन् । यसमा संस्थापक अध्यक्ष कोइराला पनि सहमत छन् । उनी भन्छन्, ‘मनोनीत नेतृत्व खोज्ने परम्पराले पार्टीभित्र स्थायी गुट बनाउन मलजल गरिरहेको छ ।’

जो हिजो सक्रिय थिए, आज विरक्तिए

नेपाल विद्यार्थी संघमा कुनै बेला क्रियाशील हुँदा सम्भावना बोकेका भनिएका कतिपय व्यक्ति अहिले सक्रिय राजनीति छोडेर बसेका छन् । कांग्रेसप्रति आस्थावान भए पनि उनीहरूले माउ पार्टीको राजनीतिमा चासो दिएनन् । यीमध्ये कतिपय विदेश पुगेका छन् भने केही नेपालमै भए पनि पार्टी राजनीतिमा छैनन् । नेविसंघको राजनीति गर्दागर्दै विदेश पुगेका कतिपय भने कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिमा आबद्ध छन् ।

स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ

नेविसंघको स्थापनाकालमा सक्रिय देवेन्द्रराज नेपाली एक उदाहरण हुन् । जो कांग्रेस राजनीतिमा टिक्न सकेनन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलका समकालीन उनी नेविसंघको स्थापनाकालमा प्रमुखमध्ये एक भएको संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । वीरगञ्ज निवासी उनको परिवारका सदस्य भने अहिले पनि कांग्रेस राजनीतिमा क्रियाशील छन् ।

नेविसंघ स्थापनाकालका सक्रिय डा. टीका पोखरेल कांग्रेस राजनीतिमा आएनन् । नेविसंघको पहिलो कार्यसमितिमा पोखरेल महामन्त्री थिए । नेविसंघको संस्थापक महामन्त्री पोखरेल सामाजिक संघसंस्थातिर लागे । २०४१ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका जनकपुरका युवराज खाती पनि कांग्रेस राजनीतिमा सक्रिय भएनन् ।

२०४८ सालमा नेविसंघको महामन्त्री बनेका भक्ति सिटौलाले कांग्रेस परित्याग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका उनी हाल प्रदेश-१ को मन्त्री छन् । झापाका सिटौला कांग्रेस केन्द्रीय सदस्य एनपी साउद नेविसंघको अध्यक्ष हुँदा (२०४८ सालमा) महामन्त्री थिए ।
२०५९ सालमा गुरुराज घिमिरेसँग नेविसंघको अध्यक्षमा पराजित यादव पण्डित अहिले अमेरिकामा छन् । त्यसअघि विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष हुँदा उनी महामन्त्री थिए । अध्ययन गर्न अमेरिका पुगेका पण्डितले परमाणु विज्ञानमा विद्यावारिधि गरेका छन् ।

उनले प्युठानबाट नेविसंघको राजनीति सुरु गरी संघको केन्द्रीय राजनीतिमा महामन्त्रीसम्म भएका थिए । सबैजसो विद्यार्थी नेता पार्टी राजनीतिमा आफ्नो ठाउँ बनाउन लागेको तर शैक्षिक क्षेत्र सुधारमा भूमिका निर्वाह गर्न नसकेको पण्डित बताउँछन् । उनले भने, ‘सक्रिय राजनीति छोडेर शैक्षिक क्षेत्रमा गरेको प्रगतिबाट म खुसी छु ।’

विद्यार्थी राजनीतिमा देखिएको सक्रियता र क्षमताबाट माउ पार्टीमा समेत स्थान बनाउन सक्ने आशा राखिएका नृप विष्ट विदेशिए । अछामका विष्ट नेविसंघको नेपालगञ्ज महाधिवेशनमा अध्यक्षमा कल्याण गुरुङसँग पराजित भएका थिए । त्यसअघि उनी उपाध्यक्ष पदमा थिए ।

यस्तै महिलाबाट कांग्रेस राजनीतिमा सम्भावना बोकेकी उर्मिला पञ्जियार पनि अमेरिका पुगिन् । विद्यार्थी राजनीतिमा सक्रिय उनी स्ववियु सभापति समेत बनेकी थिइन् । पद्मकन्या क्याम्पसको स्ववियु सभापति टीका चौधरी पार्टी राजनीतिमा अट्न सकिनन् । केन्द्रीय सदस्य कल्याण गुरुङसँग वैवाहिक जीवन सुरु गरेकी उनी पहिलो संविधानसभामा कैलालीमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी थिइन् । हाल उनी अमेरिकामा छिन् ।

नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन् ।

त्रिविमा नेविसंघको नेतृत्व गरेका प्रदीप शर्मा, लोकराज भट्ट कांग्रेस राजनीतिमा सक्रिय छैनन् । पार्टीले उनीहरूलाई स्पेस दिएन । अघिल्लो स्थानीय निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिएपछि भट्टलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।

पूर्वअध्यक्ष घिमिरेको कार्यकालका उपाध्यक्ष राजु थापा सञ्चार क्षेत्रमा छन् । एक समय नेविसंघको राजनीतिमा राम्रै स्थान बनाएका भीम भण्डारी, पूर्ण तिमिल्सिना, कृष्ण गिरी विदेशिएका छन् । नेविसंघको राजनीति बीचमै छोडेर विदेशिनेको संख्या उल्लेख्य छ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायत देशमा यस्ता थुप्रै व्यक्ति छन् । पार्टीभित्रको षड्यन्त्र र आफ्नो स्वाभिमान जोगाउने मान्यताले संघको राजनीति छोड्नेहरूको संख्या उल्लेख्य रहेको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।

समय-समयमा कांग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने, पार्टीका नीति र कार्यक्रम बताउने जिम्मेवारी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको हुन्छ । अहिले उपसभापति पूर्णबहादुर खड्का उक्त प्रतिष्ठानको प्रमुख छन् । तर, उनी नेतृत्वको प्रतिष्ठानले पनि पूर्णता पाउन सकेको छैन । भर्खरै मात्र स्ववियु निर्वाचनलाई लिएर प्रशिक्षणका गतिविधि सुरु भएका छन् । स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण समितिको संयोजकमा एलिजा ढकाल मनोनीत भएकी छिन् ।

‘भ्रष्टाचार गर्न सिक्ने ठाउँ’

विद्यार्थीको ज्ञान, सीप बढाउने शैक्षिक मुद्दामा संघको कुनै तदारुकता देखिन्न । शिक्षा क्षेत्रको गुणस्तर बहस-विमर्श गर्न चुकिरहेको नेविसंघले विश्वविद्यालयका पदाधिकारीमा भने भाग खोज्न आन्दोलन गर्ने गरेको देखिएको छ ।

सामुदायिक विद्यालयको खस्किंदो शिक्षाका सम्बन्धमा नेविसंघले आवाज उठाएको सुनिएको छैन । सामुदायिक विद्यालयमा विद्यार्थी घट्न नदिने विषयमा हुने बहस छलफलमा कहींकतै नेविसंघ देखिंदैन । विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्दो छ । निजी विद्यालयमा रहेका विद्यार्थीसम्म नेविसंघ कसरी पुग्ने भन्नेमा नेतृत्वलाई कुनै चासो देखिएको छैन । विगतमा देशको ध्यान तान्ने गरी संयुक्त विद्यार्थी आन्दोलन भएको उदाहरण छ । तर अरू विद्यार्थी संगठनसँग मिलेर संयुक्त रूपमा भएका विद्यार्थी आन्दोलनका कारणले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भने नभएको संघका पूर्व अध्यक्ष महर बताउँछन् ।

स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ ।

‘बाहिरबाट आएका कतिपय विद्यार्थीले काठमाडौंका क्याम्पसमा भर्ना नपाउने हुँदा विद्यार्थी नेताहरूको सहयोग खोजे । भर्ना पाउनकै लागि हजार/पन्ध्रसय थप तिर्न मञ्जुर भए । त्यो पैसामा विद्यार्थी नेताहरू पल्किए’ घिमिरे भन्छन्, ‘स्ववियुमार्फत विद्यार्थी नेताले भ्रष्टाचार गर्न सिकेका कारण पनि संगठनहरू कमजोर हुँदै गए ।’



source https://www.onlinekhabar.com/2023/02/1269375

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुगेर होली खेल्ने

१५  फागुन, जनकपुरधाम । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा आज महाेत्तरीकाे भंगहा नगरपालिका-९ स्थित कञ्चनवन आइपुग्दै छ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन ८ गते सुरु भएको परिक्रमा आठौं दिन  कञ्चनवन आइपुग्ने भएको हो ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ  ।

तीर्थालुहरूलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख सञ्जीव साहलले जानकारी दिए।

कञ्चनवनमा त्रेतायुगमा सीता र भगवान् रामले एकआपसमा रंग अविर लगाइ होली मनाएको धार्मिक विश्वास छ।

यहाँ आउने श्रद्धालुले एकअर्कालाई रङ, अबिर दलेर होली शुभारम्भ गर्ने धार्मिक एवं पौराणिक परम्परा रहेको छ ।

तीर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित बिहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचा सरसफाइ गरी चिटिक्क पारिएको छ । परिक्रमा यात्रीले कञ्चनवमा होली खेलेपछि मिथिलामा यो पर्व विधिवत सुरु भएको मानिन्छ ।

आज राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री मंगलबार क्रमशः धनुषाको  पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।

जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन् ।

जम्मा १३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमावासीहरु यस अवधिभरीको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन् ।

परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।



source https://www.onlinekhabar.com/2023/02/1269350

आज मगर एकता दिवस, केही पालिकामा सार्वजनिक विदा

१५ फागुन, काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने नेपाल मगर संघका सचिव हेमन्त बुढाथोकीले बताए ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

तर केही पालिकाहरुले भने फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

यसैगरी मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/02/1269310

ललितपुर महानगरले गर्‍यो १० सहकारी खारेज 

१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ ।

महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो ।

महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ ।

महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’

हेर्नुहोस् खारेजीको सूचीः

 



source https://www.onlinekhabar.com/2023/02/1268975

Saturday 25 February 2023

पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चल्यो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे ।

तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो ।

श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको मिडिया विवरण बाहिर आएका थिए । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् ।

जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामै छन् । यी दुईले खुलेरै प्रेमबारे नखुलाएपनि प्रेमको चर्चा भने सामाजिक सञ्जालमा चुलिएको छ ।



source https://www.onlinekhabar.com/2023/02/1268941

हात्तीपाइले विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीसँगै खटिए जनप्रतिनिधि

१४ फागुन, दाङ । फागुन ११ गतेयता देशभर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ ।

विगतमा वर्षमा स्वास्थ्यकर्मी र स्वयंसेविकाले खुवाउँदै आएको हात्तीपाइल विरुद्धको औषधि सेवन अभियानमा यसपटक भने जनप्रतिनिधि पनि सहभागी भएका छन् ।

अघिल्ला वर्षहरुमा लक्ष्य अनुसारको जनसंख्याले औषधि नखाइदिंदा लुम्बिनी प्रदेशका तीन जिल्लामा १३ वर्षसम्ममा पनि हात्तीपाइले रोग निवारण हुँन सकेन । यहीकारण यो वर्षदेखि जनप्रतिनिधिलाई समेत अभियानमा जोडेर औषधि खुवाउने काम भइरहेको छ ।

प्रदेशका दाङ, बाँके र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि पनि घर-घरमा पुगिरहेका छन् । औषधि सेवनमा अभियानमा वडाका अध्यक्षदेखि सदस्य नियमित जसो स्वास्थ्यकर्मीसँगै गाउँ बस्ती गइरहेका छन् ।

‘हात्तीपाइले औषधिबारे फैलिएको भ्रमहरुले औषधि खुवाउँन समस्या थियो’ दाङ तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसी भन्छन्, ‘यसपालि जनप्रतिनिधिलाई पनि स्वास्थ्यकर्मीसँगै हिडाएर औषधि खुवाउन लागेका छौं ।’

अहिले स्वास्थ्यकर्मीसँगै घरदैलोमा पुगिरहेका जनप्रतिनिधिहरुले नागरिकलाई औषधि खान आग्रह गरिरहेका छन् ।

औषधिबारे नकारात्मक धारण चिर्न जनप्रतिनिधिहरु पनि स्वास्थ्यकर्मीसँगसँगै हिँडेका हुन् । ‘अघिअघि जनप्रतिनिधि, पछिपछि स्वास्थ्यकर्मी भएर औषधि खुवाउने काम भइरहेको छ,’ उनले भने, ‘जनप्रतिनिधि साथमा हुँदा नागरिकले ढुक्कले औषधि खान थालेका छन् । स्वास्थ्यकर्मीलाई पनि औषधि खुवाउँन सजिलो भएको छ ।’ यसले स्वास्थ्यकर्मीलाई पनि औषधिबारे बुझाउन सजिलो भएको उनले बताए ।

लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगको जोखिम मानिन्छ । ६ वर्षभित्रै रोग उन्मुलन गर्ने लक्ष्य राखिए पनि दाङ र बाँकेमा १३ वर्ष र कपिलबस्तुमा १५ वर्षसम्म पनि उन्मुलन हुन सकेको छैन ।

कुल जनसंख्याको ८० प्रतिशत जनसंख्याले औषधि सेवन नगर्दा अभियान प्रभावकारी हुन सकेको थिएन । जसकारण १५ वर्षसम्म पनि जिल्लामा पनि औषधि सेवन अभियान चलिरहेको छ ।

दाङ र बाँकेमा ०६७ र कपिलबस्तुमा ०६४ सालदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु गरिएको थियो ।

अहिले बाँके र दाङमा हात्तीपाइलेको संक्रमणको दर ४ प्रतिशतमा झरेको छ भने कपिलवस्तुमा ८.३९ प्रतिशत छ ।

संक्रमणको दर २ प्रतिशत भन्दा कम भएमात्र रोग निवारण भएको मानिन्छ ।

६ वर्ष नियमित औषधि खाए रोग निवारण हुने भएपनि केही व्यक्तिहरुले औषधि नखाइदिदा १३ वर्षसम्म अभियान चलाउनु परेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द बताउँछन् ।

‘औषधिको असरबारे गलत बुझाइ र भ्रमहरुले गर्दा औषधि नखाइदिदा समस्या भयो,’ उनले भने, ‘गाउँदेखि शहरी क्षेत्रका शिक्षित व्यक्तिहरुले नै औषधि नखाइदिंदा १३ वर्षसम्म पनि अभियान सफल हुन सकेन ।’ यसपटक अभियान सफल बनाउन सबै स्थानीय तहका जनप्रतिनिधि, नागरिक तहका दल संघसंस्थासँग सहकार्य गरी हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान चलाइएको उनले बताए ।

एउटै वर्ष अभियान सुरु भएको बाँके र दाङ हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्यको नजिक छन् । ‘सम्भवतः यही वर्ष अन्तिम वर्ष भनेर अभियानलाई सफल बनाउने गरी औषधि सेवनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ’ चन्द भन्छन् ।

साढे १९ लाखलाई औषधि खुवाइँदै

प्रदेशका दाङ, बाँके र कपिलवस्तुमा फागुन ११ गते खुवाउँन लागिएको हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान फागुन मसान्तसम्म चल्नेछ । यो वर्ष यी तीन जिल्लामा गरी साढे १९ लाख बढीलाई औषधि खुवाइँदैछ ।

दाङमा ६ लाख ८७ हजार, बाँकेमा ६ लाख १६ हजार र कपिलवस्तुमा ६ लाख ४२ हजार जनसंख्यालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

जिल्लाका सबै स्थानीय तह मार्फत घर-घरमा स्वाथ्यकर्मी खटाएर औषधि सेवन भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत उमेशचन्द्र घिमिरेले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्दछ ।



source https://www.onlinekhabar.com/2023/02/1268897

अलैँची बेचेर लमजुङका किसानले कमाए २० करोड

१४ फागुन, लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।

विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि सात सयसम्ममा र गत वर्ष ९५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।

यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए ।

कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले ३३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए ।

विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए ।

दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ । उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उनको भनाइ छ । उनले भने, ‘विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।’ सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् ।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।’

मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन ।

जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् ।

जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ ।

उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।



source https://www.onlinekhabar.com/2023/02/1268861

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे निर्वाचित

१४ फागुन, गुल्मी । गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घासमा भएको गुल्मी चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाबाट पाण्डेको अध्यक्षमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको हो ।

समितिको उपाध्यक्षमा वीरेन्द्र भुसाल, रेमलाल पाण्डे, सीता विश्वकर्मा निर्वाचित भएको निर्वाचन समिति संयोजक गोपालप्रसाद खनालले बताए । महासचिवमा यज्ञप्रसाद पन्थी, सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे, हरिकिरण ठकुरी निर्वाचित भएका छन् ।

समितिको कोषाध्यक्षमा युवराज पाण्डे, सह–कोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएका छन् । जिल्ला समितिमा निर्वतमान अध्यक्ष पदेन सदस्य रहने र २ जना सदस्य कार्यसमितिले मनोनीत गर्ने भएको गुल्मी चेम्बर अफ कमर्शका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।

अधिवेशनको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उदघाटन गरेका थिए ।

०७५ सालमा गुल्मी जिल्लामा विस्तार भएको गुल्मी चेम्बर अफ कमर्समा हाल २५० जना साधारण सदस्य रहेका छन् ।



source https://www.onlinekhabar.com/2023/02/1268810

Friday 24 February 2023

अछाम आगलागीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१३ फागुन, काठमाडौं । आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ कोसेडीका दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/02/1268623

कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी, राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसै बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूलेब ताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब पक्का जस्तै छ ।

नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको ५ ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । राष्ट्रपतिको मतदान यही फागुन २५ गते हुँदैछ ।



source https://www.onlinekhabar.com/2023/02/1268584

द्वन्द्वग्रस्त प्यालेस्टाइनको विश्वकप सपना, इजरायलको ज्यादती बावजुद विश्वकप खेल्ने अठोट

प्यालेस्टाइन टोलीले हालसम्म विश्वकप खेलेको छैन। तर सन् २०२२ को विश्वकपमा त्यस क्षेत्रको उपस्थिति भने थियो। समर्थकहरू सञ्चार संस्थाले अन्तर्वार्ता लिइरहेका बखत फ्री प्यालेस्टाइन भन्दै कराए। क्वाटरफाइनल चरणमा पोर्चुगललाई स्तब्ध बनाएसँगै खुशियालीमा मोरक्कन खेलाडीहरूले प्यालेस्टाइनको झण्डा फहराए।

सन् २०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्रको नाममा रेकर्ड बनाएको थियो। सन् १९४८ मा इजरायलको स्थापना भएदेखि नै इजरायल र प्यालेस्टाइनबीच मध्यपूर्वमा निरन्तर तनावको स्रोत बनेको छ। सन् १९६७ मा गाजा र पूर्वी जेरूसेलम इजरायलले कब्जा गरेपछि तनाव झन् बढ्दो छ।

इजरायल राज्य बनेको क्षणलाई प्यालेस्टाइनहरू नक्बा भन्छन्। अरबीमा यसको अर्थ विपत्ति हो। ७ लाख प्यालेस्टाइनहरू भागेर गएपछि इजरायल बनेको उनीहरू बताउँछन्। यता इजरायलीहरू त्यस दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँछन्। त्यसैले उनीहरूबीच एक-आपसमा भीडन्त भइरहन्छ।

इजरायलको गतिविधिले प्यालेस्टाइनको समग्र गतिविधिलाई असर पुर्‍याएको प्यालेस्टाइनहरू बताउँछन्। फुटबल पनि त्यसबाट अछुतो नरहेको प्यालेस्टाइन गोलकिपर रामी हमादको भनाइ छ। तमाम संकट र खतराका बीच प्यालेस्टाइनले फुटबलमा आफ्नो गतिलो उपस्थिति जनाउने हमादको विश्वास छ। ‘चाहे खेलाडीहरू गिरफ्तार परून् वा मारिउन् वा प्रतिबन्धमा परून् तर फुटबलमा आफ्नो जादू देखाउन खेलाडीहरू प्रतिबद्ध छन्। सन् २०२३ मा एएफसी एशिया कपको छनोट चरणमा हाम्रो टोलीले यस कुरालाई प्रमाणित गरिसकेको छ’, उनले भने।

सन् २०२२ मा प्यालेस्टाइनका २३ वर्षीय फुटबलर अहमद दरामेगलाई इजरायली रक्षा बलले गोली हानी हत्या गर्‍यो। इजरायलले उनको हत्या गरेपछि गाजाको सशस्त्र समूह हमासले अहमद आफ्नो सदस्य रहेको दाबी गरेको थियो।

प्यालेस्टाइन खेलाडीहरूलाई इजरायलले गिरफ्तार पनि गरेको छ। सन् २००९ मा इजरायली अधिकारीहरूले फुटबलर महम्मद सराजलाई गैरकानुनी लडाकू नीति अन्तर्गत गिरफ्तार गरेर प्रशासनिक नजरबन्दमा राखेको थियो। त्यस नीति अनुसार इजरायली अधिकारीहरूले प्यालेस्टाइनहरूलाई अनिश्चितकालसम्म हिरासतमा राख्न सक्छन्। सराज सन् २०१२ मा प्यालेस्टाइन नीति विरुद्ध आमरण अनशन बसे। त्यस अनशनपछि मात्रै उनलाई इजरायलले रिहा गरेको थियो।

सराजलाई इजरायलले इस्लामिक जिहादी समूह भएको आरोप लगाएको थियो। इजरायली आरोपको खण्डनमा सराज भन्छन्, ‘मलाई लगाइएका सम्पूर्ण अभियोगहरू म अस्वीकार गर्छु। म एक स्वतन्त्र फुटबलर हुँ र आफ्नो खेलमार्फत प्यालेस्टाइनको न्यायको लागि पहल गर्छु। इजरायली अन्यायको विरोध र विश्व शान्तिको कामना गर्छु।’

गत वर्षको एएफसी कपको क्वालिफायरमा प्यालेस्टाइनले सफल नतिजा निकाल्यो। फिलिपिन्सलाई ४-० ले स्तब्ध बनाएको प्यालेस्टाइनले मंगोलिया र यमनलाई पनि हरायो। खेलाडीहरूलाई विभिन्न बाधा–व्यवधान रहे पनि राष्ट्रको पक्षमा नतिजा निकाल्ने र अब विश्वकप खेल्ने सपना प्यालेस्टाइनले लिएको छ। ‘राष्ट्रिय टोलीले विश्वकपमा छनोट हुने सपना राखेको छ र यसलाई सफल बनाउनेछौं’, हमाद भन्छन्।

प्यालेस्टाइन खेलाडीहरुका लागि एउटै चुनौती भनेको इजरायली सेनाले प्यालेस्टाइन खेलाडीहरूलाई दिने पहिचान हो। इजरायलले कब्जा गरेको वेस्ट बैंक र गाजाका बासिन्दाका लागि हरियो परिचयपत्र दिइएको छ। यस्तै जेरूसेलममा रहेका प्यालेस्टाइनका लागि नीलो कार्ड दिइएको छ। इजरायलको प्रशासनले भ्रमण अनुमति नदिएसम्म उनीहरू एकअर्काको इलाकामा जान पाउँदैनन्।

फुटबल खेल्नका लागि प्यालेस्टाइन खेलाडीहरूले विशेष पासका लागि आवदेन दिनुपर्छ। ती आवेदन इजरायलले अस्वीकृत गर्न पनि सक्छ। सन् २०१९ मा गाजाका फुटबल टोलीलाई वेस्ट बैंक आउन इजरायलले अनुमति दिएको थिएन।

प्यालेस्टाइन फुटबल एशोसिएसनका अध्यक्ष जिब्रिल राजूब इजरायलको दमनका बावजुद पनि आफूहरूले खेलमा राम्रो सुधार गरेको बताउँछन्। इजरायलको यस गतिविधिलाई आफूहरूले फिफामा निरन्तर उठाइरहेको उनको भनाइ छ। ‘इजरायलको क्रूर कब्जा र दमनबारे हामीले फिफामा बारम्बार कुरा उठाउँदै आएका छौं।

लण्डनमा आधारित एक संस्थाले गरेको सर्वेक्षण अनुसार प्यालेस्टाइन राहदानी विश्वकै कमजोरमा पर्छ। त्यस राहदानी बाहकले विश्वका ३८ देशमा मात्रै आगमनलगत्तै भिसा पाउँछन्। यसकारण पनि खेलाडीहरूलाई छनोट चरणमा सहभागी हुनका लागि झन्झट छ। अधिकांश प्रतियोगिता रद्ध गर्न उनीहरू बाध्य छन्।

सन् २००७ मा सिंगापुरलाई हराएको प्यालेस्टाइन राष्ट्रिय टोली फिफा २०१० को छनोट चरणमा उपस्थित हुनसकेन। गाजातर्फका खेलाडीलाई इजरायलले अनुमति नदिंदा उपस्थित हुन नसकिएको प्यालेस्टाइनले जवाफ पठायो। प्यालेस्टाइन टोली आउन नसक्दा सिंगापुर स्वत: छनोट भयो।

यात्राको राजनीति

३० जना रहेका प्यालेस्टाइन टोलीलाई ट्युनिसियाका पूर्व फुटबल खेलाडी मकरम डाबुले प्रशिक्षण दिन्छन्। यात्राको राजनीति विभाजनकारी हुनसक्ने उनी बताउँछन्। हाम्रो तालिम केन्द्र वेस्ट बैंकमा छ। म त्यहाँ जान र तालिम दिन सक्छु। तर म गाजामा जान सक्दिनँ तिनीहरू पनि वेस्ट बैंकमा आउन सक्दैनन्’, डाबु भन्छन्।

गाजामा सन् २००७ देखि इजरायली र इजिप्टियन सेनाले जमिन, हवाई र समुद्री रूटमा नाकाबन्दी गरेको छ। त्यस क्षेत्रमा कूटनीतिज्ञ, पत्रकार र सहायता सम्बन्धी काम गर्ने संस्थाका कर्मचारीलाई मात्रै प्रवेश दिइन्छ। ‘प्रशिक्षण शिविर वा खेलहरूमा भाग लिने सन्दर्भमा आवागमनको स्वतन्त्रता गाह्रो छ। स्वीकृति लिनै एकदिन भन्दा बढी लाग्छ’, डाबुले भने।

यस विषयमा फिफाका प्रवक्ता भन्छन्, ’भिसाको विषयमा आयोजक राष्ट्रकै भूमिका प्रमुख हुन्छ। यद्यपि एएफसी एशियन कपको हकमा एएफसी र फिफाको प्रतियोगिताको हकमा फिफा जिम्मेवार हुन्छ।’

वेस्ट बैंक, जेरूसेलम, गाजा, इजिप्ट र पोर्चुगलमा आफ्ना खेलाडीहरू छरिंदा प्यालेस्टाइन फुटबल टोलीले विभिन्न चुनौतीको सामना गरिरह्यो। तर हाल, यात्रा प्रतिबन्धको बावजुद प्यालेस्टाइन टोली सन् २०२४ को एशिया कपलाई लिएर आशावादी छ।

सन् २०२१ मा डाबु प्रशिक्षक भएर आएदेखि प्यालेस्टाइन टोलीको खेलमा विस्तारै सुधार आएको छ। ‘विगत केही महिनादेखि हामीले उल्लेखनीय उपलब्धि हात लगाउँदै आएका छौं। एशियन कपमा छनोट हुनु हाम्रा लागि निकै महत्वपूर्ण क्षण हो’, डाबुले भने।

सन् २०२२ मा एएफसीले फिफा २०२६ का लागि ३२ बाट ४८ राष्ट्रलाई सहभागी गराउने बतायो। सन् १९९८ पछि एशियाली टोलीका लागि अब चारस्थान थपिएको छ। अब आठ वटा एशियाली मुलुक विश्वकपमा छनोट हुनेछन्। सन् २०२६ को विश्वकपमा एशियाली मुलुकको संख्या बढ्ने भएसँगै यसले प्यालेस्टाइन टोलीमा नयाँ संभावनाको आशा जगाएको छ। सन् २०२३ मा एएफसी खेल्नुअघि प्यालेस्टाइनले वेस्ट एशियन फुटबल फेडरेसनमा आफ्नो कौशल देखाउनेछ। यी दुवै प्रतियोगिता विश्वकप छनोट खेल्नुअघिका महत्वपूर्ण खेल हुनेछन्। ‘सन् २०२६ को विश्वकपको छनोट चरणमा हामीले राम्रो खेल्नेछौं भन्नेमा आशावादी छु। राष्ट्रिय टोलीबाट सेन्टर ब्याकमा खेल्ने यासिर हम्मद भन्छन्।

 फुटबलप्रतिको प्रेम

 प्यालेस्टाइन टोली एशिया कपको खेलका कारण उर्जामा छ। हम्मद सन् २०२६ को विश्वकपका लागि निकै आशावादी छन्। उनी प्यालेस्टाइन पिता र स्पेनी आमाका सन्तान हुन्। आफ्नो फुटबल करियरमा पिताले नै प्रोत्साहन गरेको उनी बताउँछन्। ‘जब मेरो बुवा प्यालेस्टाइनबाट स्पेन जानुभयो, त्यहाँ उहाँले फुटबल खेल्नुभयो र उहाँमा यो खेलप्रति असाध्यै लगाव बस्यो। त्यसैले होला सानैदेखि म पनि यो खेलप्रति असाध्यै आकर्षित थिएँ’, उनले भने।

सिंगापुरविरूद्धको खेलमा हम्मदले गोल गरेका थिए। स्पेनी नागरिकताधारी उनी स्पेनबाटै खेल्न पाउँछन्। तर उनी राष्ट्रिय खेलहरू प्यालेस्टाइनबाट खेल्ने गर्छन्। ‘म प्यालेस्टाइन भएकोमा गर्व गर्छु त्यसैले प्यालेस्टाइनबाट खेल्दा जति मज्जा अन्त खेल्दा आउँदैन। मेरो खेल एकप्रकारले न्यायको लागि लडाइँ पनि हो’, हम्मद भन्छन्।

फिफा २०२६ को बाटो तयका लागि महाद्वीपीय छनोट खेलको यात्रा नोभेम्बर १६ बाट सुरू हुनेछ। एशियन कपको लागि राष्ट्रिय टोली छनोट भएपछि प्यालेस्टाइन फुटबल एशोसिएसनले खेलाडीको मेडिकल कार्यक्रमका लागि सहयोग जुटायो। त्यसमा चिकित्सक, पोषणविद् र फिटनेश प्रशिक्षक छन्। ‘एक कुशल खेलाडी बन्नका लागि शारीरिक र मानसिक तन्दुरूस्ती आवश्यक छ। हामीले दुवै तरिकाले आफूलाई फिट राखेपछि मात्रै राम्रो प्रदर्शन गर्न सक्छौं’, सहिन भन्छन्।

राष्ट्रिय टोलीमा पोषणविद्को समेत साथ रहने भएपछि टोलीले उच्च प्रदर्शन गर्ने विश्वास सहिनको छ। उनी स्वयं पोर्चुगिज लिगमा चम्किरहेका छन्। सहिनसँगै प्यालेस्टाइन फुटबल एशोसिएसनले पनि आफ्नो राष्ट्रिय टोली अब विश्वव्यापी मापदण्ड अनुसार प्रशिक्षणमा रहेर राम्रो नतिजा निकाल्नेमा आश्वस्त छन्।

पूर्वाधारका परियोजना

प्यालेस्टाइनले फिफाको सदस्यता सन् १९९८ मा लिएको थियो। यद्यपि पीएफए र फिफाको सम्बन्ध सुमधुर छैन। पीएफएले फिफामा इजरायली ज्यादतीविरुद्ध कैयौं उजुरी दिएको छ। फिफाले इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइन खेलकुदलाई आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको छ। सन् २०१५ मा पीएफएले इजरायली फुटबल एशोसिएसनको सदस्यता खारेजीका लागि फिफासँग माग राखेको थियो। इजरायली सरकारले प्यालेस्टाइन खेलाडीलाई बन्धक बनाएर अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेकाले फिफाले दण्डित गर्नुपर्ने उसको माग थियो।

फिफाले इजरायलले कुनै पनि कानुनको उल्लंघन नगरेको बतायो भने पीएफएलाई उजुरी फिर्ताको दबाव पनि दियो। यो तनावका बीच पीएफएले फिफाबाट २१ करोड डलर बराबरको सहयोग पाएको छ। ‘प्यालेस्टाइनमा फूटसल बनाउनेदेखि रंगशाला निर्माणमा फिफाले सहयोग गरिरहेको छ’, फिफाले भनेको छ।

विश्वकपमा मोरक्कोको सफलताले हौसिएको प्यालेस्टाइन

सन् २०१३ मा युरोपियन फुटबल संघले अण्डर २१ च्याम्पियनसिपको आयोजना इजरायललाई दिने निर्णय गर्‍यो। धेरै मानवअधिकारवादी संघ–संस्थाले त्यसको विरोध जनाएका थिए। फिफा २०२६ आउन अझै तीन वर्ष बाँकी छ। तर गएको विश्वकपमा मोरक्कोको प्रदर्शनबाट प्यालेस्टाइन पनि हौसिएको छ। ‘हाम्रो टोलीलाई तयार बनाउनका लागि हामीसँग योजनाहरू छन्। त्यही योजनालाई कार्यान्वयन गर्दै एशिया कपदेखि विश्वकप छनोटसम्म हामी राम्रो नतिजा निकाल्नेछौं’, पीएफएका महासचिव अबु हिलालले भने।

एशियाका लागि थपिएको कोटामा आफूहरूले स्थान बनाउने प्रशिक्षक डाबुको भनाइ छ। ‘मोरक्कोले राम्रो नतिजा निकाल्दा हामीले पनि नसक्ने भन्ने हुँदैन। सन् २०२६ को थपिएको कोटामा हामी पर्छौं नै र विश्वकपमा छनोट भएरै छाड्नेछौं’ डाबु भन्छन्, ‘मोरक्कोको झैं जादु हामी पनि देखाएरै छाड्छौं।’



source https://www.onlinekhabar.com/2023/02/1268558

राष्ट्रपतिको मनोनयन दर्ता आज

१३ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ ।

मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।

राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् ।

गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।



source https://www.onlinekhabar.com/2023/02/1268563

भलिबललाई आफ्नो पहिलो प्रेम मान्ने उषा

१३ फागुन, काठमाडौं । भाग्य होस त उषा भण्डारीको जस्तो । अरू परिवारमा भए, आफ्ना छोरीछोरीले अर्कै केही बाटो रोजे हुन्थ्यो भन्ने इच्छा हुँदो हो ।

उषाको परिवार चाहन्थ्यो, आफ्ना छोरी खेलाडी नै होस । अहिले पनि उनीसँग बुबा गजेन्द्र भण्डारीसँगै परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक ।’

हामी कुरा गरिरहेका छौं, भलिबलको उदयमान १८ वर्षीय खेलाडी उषाको ।

सुन्दर छिन् उनी । मन्द मुस्कान गज्जब छ । उनी नेपाली महिला भलिबलमा ग्ल्यामर भित्र्याउन पनि उत्तिकै सक्षम छिन् । खेल क्षेत्रलाई यो चाहिन्छ पनि । परिवारमा उनी सबैभन्दा कान्छी त भइन नै, भलिबलकी पनि उनी कान्छी नै हुन् ।

सैले मायाले कान्छी भन्दा मख्ख पनि पर्छिन् । हल्का पुलपुलिएर हुर्केकी थिइन्, परिवारको एउटै इच्छा थियो, आफ्ना यिनै छोरीले खेलेर देशको नाम राखोस । अब कोही खेलाडीले यो भन्दा बढी के नै चाहन्छन् र भने ?

तनहुँकी उषा पुलिसबाट खेलिन्छन् र पुलिसले पछिल्लो समय प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन् । ओपन स्पाइकरको भूमिकामा खेल्छिन् । उचाइ रहेको छ, पाँच फिट सात इञ्च भन्दा केही बढी । ‘जम्प’ पनि गज्जब छ ।

एक प्रकारले अलराउन्डर पाराकी खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको नाम मनोनयन गरेकोमा यसपल्ट उनी पनि परेकी छिन् ।

मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवान लामा रहेका छन् । जति बेला यसबारे उनले पहिलो पल्ट जानकारी पाए, घरमा आराम गरिरहेकी थिइन् । लाग्यो, सपना हो । अभैm लाग्छ, यो सपना नै हो । तर उनलाई के पनि थाहा छ भने उनले सपना देखेकी पनि थिइन्, कुनै दिन यो अवार्डको मनोनयनमा पर्ने । भन्छिन्, यो होडमा नेपाली भलिबल, यसका प्रशंसक र अनि पुलिस परिवार उनको साथमा हुनेछ नै ।

सानोमा उनको रूचि अरू मै खेलमा थियो, बुबाले भलिबलमै डोहोर्‍याए । बुबालाई लागेको थियो, यो खेलमा उनको भविष्य छ । नभन्दै उनी सन् २०१९ आइपुग्दा नपुग्दै राष्ट्रिय टिममा परिन । अवसर थियो, १३ औं दक्षिण एसियाली खेलकुद ।

उनी भर्खर १४ वर्षकी थिइन् । त्यही उमेरमा ऐतिहासिक रजत पदक जितिन् । सन् २०२१ यता त उनी राष्ट्रिय टिमकी नियमित सदस्य भएकी छिन्, नियमित मात्र होइन्, महत्वपूर्ण पनि । पुलिसलाई च्याम्पियन बनाउनको उनको योगदानबारे त कति मात्र चर्चा गर्ने ?

त्यही वर्ष बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन हुँदा त्यसकी प्रमुख सदस्य थिइन् । नेपाली महिला भलिबल वृत्तमा उनीबारे चर्चा छेडिनु पर्छ, सुन्न पाइन्छ, उनी यो खेलमा ‘लामो रेसका घोडा’ हुन ।

उनले अझै लामो समय खेल्न सक्छिन्, अझ उनीबाट राष्ट्रिय टिममा कुनै न कुनै दिन कप्तानको पनि अपेक्षा गर्न सकिन्छ । साँच्चै नेपाली भलिबलका लागि धेरै योगदान दिन सक्ने बाटोमा छिन्, उषा ।

माल्दिभ्समा व्यावसायिक भलिबल खेलेको पनि उनीसँग अब राम्रै अनुभव भइसकेको छ । माल्दिभ्समा उनी कति धेरै लोकप्रिय छिन् भने उनको नाम लिएर समर्थकहरू खुसीले झुम्ने गर्छन् ।

केही बेर उनीसँग भलाकुसारी गर्नु पर्छ, साहै मिजासिला देखिन्छिन् । उनी भन्छिन्, ‘मन मिल्नेसँग साह्रै नजिकिने बानी पनि छ ।’ उनी आफ्ना आमा बुबाको सबैभन्दा नजिक छन् नै, अचेल भलिबललाई आप्mनो पहिलो प्रेम पनि मान्छिन् । अब उनलाई पिपुल्स च्वाइस अवार्डमा उनलाई विजेता बनाउने काम तपाई खेल प्रेमीको हो, धेरै भन्दा धेरै मत दिएर ।



source https://www.onlinekhabar.com/2023/02/1268488

क्रसर उद्योगीलाई जन्मकैद, तर सन्तुष्ट छैन पीडित परिवार

१२ फागुन, जनकपुरधाम । दिलीप महतोका बुबा रामजीवन छोरी लक्ष्मी र संगमका साथ शुक्रबार बिहान १० बज्दा नबज्दै धनुषा जिल्ला अदालत पुगे । उनका उदास आँखाले इजलास नं. ६ ताकिरहेका थिए । कति बेला न्यायाधीश आउलान् र दिलीपको हत्यामा दोषी ठहर भएका ३ जनालाई सजाय सुनाउलान् भन्ने पर्खाइमा थिए उनी ।

अपरान्ह ४ बजेतिर न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीप हत्याका मुख्य दोषी विपिन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५–२५ वर्ष कैद र क्षतिपूर्ति बापत पाँच–पाँच लाख रुपैयाँ जरिवाना हुने फैसला सुनायो ।

मतियार जितेन्द्र महतोलाई पनि साढे १२ वर्ष कैद र साढे दुई लाख रुपैयाँ जरिवाना हुने फैसला आएको छ ।

इजलास अधिकृत विष्णु भट्टराईका अनुसार दोषीहरुको सम्पत्तिबाट क्षतिपूर्ति बापतको रकम असुल नभए सरकारको विपन्न खाताबाट परिवारजनलाई उपलब्ध गराउने अदालतको आदेश छ ।

इजलासले ३ फागुनमा विपिन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो । विपिनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवले भने सफाइ पाएका थिए ।

चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र उनका दुई सहयोगीलाई अदालतले तोकेको सजायप्रति पीडित परिवार भने असन्तुष्ट छ । उनीहरुलाई आजीवन कैद हुनपर्थ्याे भन्दै दिलीपकी बहिनी लक्ष्मी भन्छिन्, ‘चार जनालाई त अदालतले सफाइ दियो । यसमा पनि हाम्रो चित्त बुझेको छैन ।’

चार जनालाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत जाने रामजीवन बताउँछन् । ‘तीन जनाले मेरो छोराको हत्या गर्दा बचाउन नखोजी हेरेर बस्नेहरु पनि हाम्रो नजरमा दोषी छन्’ उनले भने, ‘उनीहरुलाई पनि सजाय नभएसम्म मेरो छोराको आत्माले शान्ति पाउँदैन, हामी परिवारलाई पनि चैन मिल्दैन ।’ विना मुचुल्का शव उठाउने इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालीन इन्स्पेक्टर रामकुमार यादव र मिथिला नगरपालिका वडा नं. ५ का तत्कालीन वडाध्यक्ष श्याम यादवलाई अभियुक्त नै नबनाएकोमा पनि महतो परिवार असन्तुष्ट छ ।

२५ पुस २०७६ मा घरभन्दा ५०० मिटर पर औरही खोलामा २४ वर्षीय दिलीप महतोको हत्या भएको थियो । बिहान ४ बजे डोजर चल्न थालेको थाहा पाएपछि साथी रोशनलाई लिएर उनी खोलामा पुगेका थिए । दिलीपको हत्या भएको खबर रोशनले नै ल्याएका थिए ।

दिलीप महतो र उनलाई ठक्कर दिएको टिपर ।

दिलीपलाई पहिले उद्योगमा पेचकसले काखीमा घोचेर बेहोस पारिएको थियो । त्यसपछि ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर सवारी दुर्घटनाको अवस्था सिर्जना गर्न खोजिएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का नै नगरी शव उठाएको थियो ।

रामजीवन महतोका ६ छोरी र दुईछोरा मध्येमा जेठो थिए दिलीप । उनी भारतको भोपालमा बीई तहको अन्तिम परीक्षा दिएर घर आएका थिए ।

उनी सिभिल इन्जिनियरिङ पढ्न भोपाल जानुभन्दा अगाडि नै गाउँ छेउछाउका खोला दोहन विरुद्ध अभियानमा थिए । मारिनुभन्दा डेढ वर्षअघि दिलीपले आफ्नो गाउँपश्चिमको बसही खोलामा पत्रकार सम्मेलन गरेर क्रसर माफिया विरुद्ध लड्ने घोषणा गरेका थिए । ढुंगा–गिटी–बालुवा कारोबारीका लागि उनी पहिल्यैबाट टाउको दुखाइ बनेका थिए । अन्ततः उनको हत्या भएको थियो । हत्याको केही समयपछि आएको बीई तहको नतिजामा उनी सफल भएका थिए ।

हत्यापछि क्रसर चल्दै, खोलामा वितण्डा

दिलीपको हत्यापछि गाउँलेले क्रसर उद्योग चलाउन नदिने निर्णय गरेका थिए, तर साधारण तारेखमा रिहा भएका विनोद महतोले उद्योग सञ्चालन गरे ।

दिलीपका परिवार र गाउँलेले रोकेपछि विनोदले २० चैत २०७७ मा दिलीपका बुवा रामजीवन, आमा चन्द्रकलादेवी, बहिनीहरू संगम र लक्ष्मीविरुद्ध उच्च अदालत जनकपुरमा निषेधाज्ञा रिट दर्ता गराए । ३१ चैतमा रिटमा सुनुवाइ गर्दै उच्च अदालतले उद्योग सञ्चालनमा हस्तक्षेप नगर्न आदेश दियो । त्यसयता क्रसर चलिरहेको छ र, औरही खोलामा १५ फिटसम्म गहिरो उधिनिएको छ ।

‘छोरा मारिएको खोलामा चलेको यो क्रसरले हामीलाई गिज्याइरहेको छ’ रामजीवन महतो भन्छन्, ‘प्रहरी प्रशासन, नेता सबै मिलेका छन् । मेरो छोरा व्यर्थै मारिएजस्तो लागिरहेको छ ।’



source https://www.onlinekhabar.com/2023/02/1268499

Thursday 23 February 2023

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । तेस्रोपटक निर्वाचित हुँदै उनले घरेलु फिल्मको प्राविधिकको छाता संस्थालाई नेतृत्व गर्ने अर्को मौका प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जानकारी दिए । उनका अनुसार ‘के घर के डेरा’ फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

अन्य पदका लागि निर्वाचन भैरहेको छ । अध्यक्षको रुपमा ह्याट्रिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्राविधिक र उनीहरुका सन्तानको शिक्षा र स्वास्थ्यबारेका एजेण्डा पनि उनका छन् । उपचारमा छूटको व्यवस्था गर्नेदेखि उपचारमा आर्थिक सहयोग प्रदान गर्ने योजना उनका छन् । साथै, फिल्म अध्ययनमा प्राविधिक र उनीहरुका सन्तानलाई कलेज तथा विश्वविद्यालयमा विशेष छूटका लागि पहल गर्ने योजना समेत छ ।

आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना समेत उनको छ । लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकी संस्करणको नेफ्टा फिल्म अवार्ड समेत आयोजना हुँदैछ । यसमार्फत फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उनको योजना छ ।

साधारण सभाको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आफूले पहल गर्ने वचन दिएका थिए । निजामती अस्पतालमा प्राविधिक र कलाकारलाई उपचारमा ५० प्रतिशत छूट दिन पहल गर्ने आश्वासन पनि उनले दिए ।

नेफ्टाको साधारण सभाका लागि विहिबार देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु राजधानी आइपुगेका थिए ।



source https://www.onlinekhabar.com/2023/02/1267987

काठमाडौं महानगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बाह्य विज्ञापन निर्देशिका बनाएको छ । अब महानगरभित्र विज्ञापन गर्न महानगरले तोकेको मापदण्ड भित्र ३५ दिने सूचना अनुसार राख्नुपर्ने भएको छ ।

निर्देशिका अनुसार अब महानगरभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने भएको छ । यस्तै महानगरपालिकाले शहरी सौन्दर्य, सांस्कृतिक, पुरातात्विक, पौराणिक क्षेत्रमा विज्ञापन राख्न नपाउने भएको छ ।

महानगरले बनाएको विज्ञापन निर्देशिका अनुसार स्वास्थ्य, धार्मिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रलाई विज्ञापन निषेधित क्षेत्र घोषणा गर्न सक्ने छ ।

बाह्य विज्ञापन नियमन गर्न प्रशासन विभाग प्रमुखको संयोजकत्वमा नियमन समिति समेत गठन गर्ने भएको छ ।

निर्देशिकामा छापा तथा विद्युतीय सञ्चारमाध्यममा आउने विज्ञापनहरु प्रचलित कानुन बमोजिम महानगरबाट अनुमति लिएका विज्ञापनहरु पुरा गरेको नगरेको हेर्ने, प्रचलित कानुन बमोजिम र निर्देशिका विपरीत पाएमा कारबाही गर्न लेखी पठाउन सक्ने व्यवस्था रहेको छ ।

निर्देशिका अनुसार महानगरभित्रका विज्ञापन दाताले फोहोर मैला व्यवस्थापन सचेतना सम्बन्धी विज्ञापन समेत गर्नुपर्ने छ । महानगरपालिकाले विज्ञापनको टेन्डर खोल्दा प्रतिस्पर्धामा आएको रकम विज्ञापन कल्याण कोष बनाएर सञ्चालन गर्ने भएको छ ।



source https://www.onlinekhabar.com/2023/02/1267906

पुलिसलाई हराउँदै सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा

११ फागुन, काठमाडौं । केपी ओली कप फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७१ औं मिनेटमा दिपकराज सिंह ठकुरीले दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाएका हुन् ।

सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्ने छ ।

आर्मी र एनआरटीबीचको खेल भोलि शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार नै दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/02/1267871

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

११ फागुन, काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए । सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, कांग्रेससँग पनि कुरा गरौं भन्नुभएको छ,’ एक नेताले भने ।

कांग्रेससँग साँझ ५ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ३ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।



source https://www.onlinekhabar.com/2023/02/1267682

Wednesday 22 February 2023

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

११ फागुन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघकाअनुसार छापावfल सुनको मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख ३ हजार, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।



source https://www.onlinekhabar.com/2023/02/1267608

म्यानचेष्टर सिटी बराबरीमा रोकियो

११ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा म्यानचेष्टर युनाइटेडले जर्मन क्लब आरबी लाइपजिगसँग १-१ को बराबरी खेलेको छ ।

लाइपजिगको मैदानमा बुधबार राती भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन ।

रियाद महारेजले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा जस्को गार्डिओलले लाइपजिकका लागि बराबरी गोल गरे ।

यी दुईबीचको दोस्रो लेगको खेल मार्च १४ मा हुनेछ ।



source https://www.onlinekhabar.com/2023/02/1267494

Tuesday 21 February 2023

उम्मेदवार टुंगिएको छैन तर एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुन्छ : राजन भट्टराई

१० फागुन, पाल्पा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल पाल्पाले तानसेनामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताए ।

केही नेताहरुले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताए ।

एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरे पनि उनले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुंगिएको बताए ।

राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यहरुबाटै मतदान गर्ने भएकाले पनि नाम टुंगाउन हतार नगरेको नेता भट्टराईको भनाइ छ ।

माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा पार्टीको धारणाबारे पत्रकारहरुको जिज्ञाशामा नेता भट्टराईले एमालले अघि सारेको अवस्थामा जुनसुकै व्यक्ति निर्वाचित हुने दाबी गरे ।

 



source https://www.onlinekhabar.com/2023/02/1267056

प्रधानमन्त्रीलाई भेट्न बालुवार पुगे चिनियाँ राजदूत

१० फागुन, काठमाडौं । चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बालुवाटार पुगेका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार, आज बिहान चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन् । केही दिन अगाडि मात्रै चिनियाँ राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

५ फागुनमा ओलीलाई भेट्न उनी बालकोट नै पुगेका थिए । राष्ट्रपतिको मनोनयन दर्ता हुने समय नजिकिदै गर्दा राजदूत सङको भेटवातलाई चासोका साथ हेरिएको छ ।

१३ फागुनमा राष्ट्रपतिको मनोनयन दर्ता हुने भएपनि अहिलेसम्म दलहरुले उम्मेद्वार टुंग्याउन सकेका छैनन् ।



source https://www.onlinekhabar.com/2023/02/1267005

लोसपा नेताहरु देउवा निवासमा, राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह

१० फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भइरहेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता केशवकुमार झाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।



source https://www.onlinekhabar.com/2023/02/1267003

प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

‘अहिलेसम्म दोहा जाने नै भन्ने छ, तर राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति कस्तो बन्छ, त्यसमा डिपेन्ड गर्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बतायो । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।



source https://www.onlinekhabar.com/2023/02/1266977

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

१० फागुन, काठमाडौं ।मौसम आज पनि बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य प्रभाव परेको हो ।

आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली  रहनेछ।

प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



source https://www.onlinekhabar.com/2023/02/1266957

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More