Saturday 18 February 2023

कर्णाली खेल्दो छ …!

६ फागुन, सुर्खेत । अबको दुई बर्षभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता वीरेन्द्रनगर सुर्खेतमा आयोजना हुँदैछ । कर्णालीमा आयोजना हुन लागेको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो । 

पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट दशौंको झण्डा कर्णालीलाई हस्तान्तरण गरिएको थियो । कर्णालीमा २०८१ मंसिर २ देखि ९ गतेसम्म राष्ट्रिय प्रतियोगिता हुनेछ । 

कर्णालीले प्रतियोगितालाई तोकिएकै समयमा सञ्चालन गर्नेगरी आफ्नो तर्फबाट तयारी गर्दैछ । सुर्खेतमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम भइरहेको छ । रंगशालाबाहेक सुर्खेतका अरु ठाउँ र प्रदेशका अन्य जिल्लाहरुमा बनाउनुपर्ने संरचनाहरुको लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव गरिएको छ ।

कर्णालीमा आयोजना हुने उक्त राष्ट्रिय प्रतियोगिता र कर्णालीको समग्र खेलकुदको विषयमा कर्णाली उत्सवमा विमर्श गरिएको छ । उत्सवको पहिलो दिनको दोस्रो सत्र ‘कर्णाली खेल्दो छ’ मा खेल क्षेत्रसँग सम्बन्धि व्यक्तिहरुबीच बहस गरिएको हो । 

बहसमा सहभागी कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले कर्णाली प्रदेशको खेलुदलाई विकास गर्न पाँच वटा आधारस्तम्भ बनाएर सरकार अघि बढेको बताए ।

उनका अनुसार खेलकुदका पूर्वाधार, खेलाडीलाई प्रशिक्षण, प्रतियोगिता, पुरस्कार तथा प्रोत्साहन र प्रतिभा छनोट यहाँको खेलकुद विकासका आधारस्तम्भ हुन् । यी आधारस्तम्भलाई मनन् गरी खेलकुद परिषद र सरकार अघि बढे आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दुई अङ्क ल्याउने उनको दावी छ । 

‘यसअघि हामीले पूर्वाधार नभएकाले नवौं प्रतियोगिता गर्न पाएनौं, त्यतिबेला पूर्वाधार नभएकै कारण हामीलाई प्रतियोगिता गर्न नसक्ने कमजोर प्रदेशका रुपमा हेरिएको थियो’, सञ्ज्यालले भने, ‘अब प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गरेपछि कर्णालीलाई दशौं प्रतियोगिता गर्न दिनैपर्छ भन्ने मनस्थिति केन्द्रमा बनेको हो ।’

खेलाडीको सुनिश्चितताका लागि कर्णाली प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको उनले बताए । उनका अनुसार मुख्य कानुनका लागि आवश्यक मस्यौदा बन्ने क्रममा रहेका छन् । प्रदेश सरकारले नवौं प्रतियोगितामा मेडल जितेका कर्णालीका खेलाडीलाई पुरस्कारको घोषणा गरेको थियो । 

उनीहरुले त्यो पुरस्कार पाइसकेका भने छैनन् । सदस्यसचिव सञ्ज्यालले अब खेलाडीहरुले पाउने पुरस्कार तथा प्रोत्साहनको सुनिश्चितता कानुनमार्फत् नै प्रदेश सरकारले गर्न खोजेको छ ।

अब कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीले नतिजा प्राप्त गर्ने परीक्षाको रुपमा पनि बुझ्न सकिने उनको भनाई छ । कर्णालीमा समयमै प्रतियोगिता सञ्चालन गर्न पूर्वाधार आवश्यक भएकाले यसमा सरकारले लगानी गरिरहेको सञ्ज्यालले बताए ।

उनले कर्णालीमा बन्ने सबै खेल पूर्वाधार अपांगमैत्री बन्ने बताए । कर्णालीमा खेलकुदको सम्भावना धेरै भएकोले आगामी राष्ट्रिय प्रतियोगिताबाट त्यसलाई प्रमाणित गर्ने उनले दावी गरे ।

बहसमा सहभागी राष्ट्रिय भलिबल प्रशिक्षक जगदिश भट्टराईले कर्णाली प्रदेश खेलकुदमा अग्रसर भएर अघि बढे खेल छोडेर विदेशिनुपर्ने खेलाडीको बाध्यता अन्त्य हुने बताए । खेलाडिको भविष्य नेपालमै स्थापित गर्न कर्णालीले खेलमा लगानी गर्नुपर्ने उनले बताए ।

कर्णाली प्रदेशमा खेलकुदका सम्भावना धेरै भएकाले यसलाई अघि बढाउन राज्यको लगानी अपरिहार्य भएको प्रशिक्षक भट्टराईले बताए । ‘कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा लगानी हुँदैछ, तर खेलाडीले जित्नुपर्छ भनेर लगानी गरिएको छैन,’ उनले भने ‘हामीले यहाँका खेलाडीलाई सहज हुनेगरी खेलमा फोकस गर्नुपर्छ ।’

उनले कर्णालीको खेलकुदलाई विकास गर्न आफ्नो सहयोग जारी हुने प्रतिबद्धता जनाए । बहसमा सहभागी राष्ट्रिय खेलकुद परिषदका सदस्य नन्दा बस्यालले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सञ्चालन गर्नुपर्ने बताईन् । 

‘कर्णालीमा राष्ट्रिय खेलकुद गराउन धेरै चुनौती छन्, चुनौतीका बावजुद पनि हामीले तोकिएकै समयमा प्रतियोगिता गर्नुपर्छ,’ उनले भनिन्, ‘अब आउने प्रतियोगितामा सहभागी हुने यहाँका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएर पनि निखार्नुपर्छ, लगानी पनि त्यही अनुसार गर्नुपर्छ ।

उनले कर्णाली प्रदेश सरकारले खेलकुदका लागि भौतिक संरचनामा जस्तै लगानी खेलाडीमा गर्नुपर्ने उनको भनाइ छ । ‘यहाँ कुन प्रतियोगिता गर्दा मेडल जित्छौं, त्यो खालको खेल खेलाउनुपर्छ । यहाँ प्रशिक्षक ल्याउने कुरामा पनि पनि सक्दो लगानी गर्नुपर्छ ।’



source https://www.onlinekhabar.com/2023/02/1265085

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More